हिंसा होइन, विकासको बाटो रोज्न रास्वपा सांसद सिंहको मधेशवासीलाई अपिल
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले मधेशमा पटक–पटक हुने आन्दोलन, जातीय तथा धार्मिक हिंसाले प्रदेशलाई अशान्त बनाउनुका साथै विकासलाई दशकौँ पछाडि धकेलेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले यस्ता गतिविधिले भौतिक संरचनामा क्षति पुग्ने, शैक्षिक गतिविधि अवरुद्ध हुने, व्यापार–व्यवसाय ठप्प हुनेलगायतका असरले समग्र मधेशलाई नै ठूलो धक्का पुग्ने उल्लेख गरेका छन्।
उनले अब आन्दोलन र हिंसाको बाटो छाडेर सबै समुदाय र वर्ग एकजुट हुँदै मधेशको समुन्नत विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि र युवाको रोजगारीलाई केन्द्रमा राखेर दीर्घकालीन विकासतर्फ अघि बढ्नुपर्ने उनको जोड छ।
सिंहले सम्पूर्ण मधेशवासीलाई सामाजिक सद्भाव बिगार्ने र समाजलाई विभाजित गर्ने कुनै पनि असामाजिक तत्वको प्रभावमा नपर्न आग्रह गरेका छन्। समाजमा हिंसा र द्वन्द्व फैलाउने व्यक्ति वा समूह जुनसुकै समुदाय वा वर्गका भए पनि उनीहरू मधेशको विकासका विरोधी रहेको भन्दै त्यस्ता गतिविधिलाई सामाजिक रूपमा अस्वीकार गर्न उनले अपिल गरेका छन्।
।
उनले सामाजिक सञ्जालमा लेखेका छन् –
प्रिय मधेशवासी
पटकपटक को आन्दोलन, जातिय र धार्मिक हिंसाले मधेशलाइ अशान्त मात्र होइन १० बर्ष पछाडि धकेलेको छ। यस्ता हरेक गतिविधिले मधेशको भौतिक संरचना भत्काउने ,शैक्षिकसत्र अबरुद्ध हुने,ब्यापार व्यवसाय ठप्प हुने जस्ता ले मधेशलाइ नै धक्का लाग्ने गरेको छ।
अब समय आएको छ सबै बर्ग सामुदाय मिलेर मधेशको सम्मुनत बिकासको एजेन्डा लाई अगाडि सारेर अघि बढन , अब मधेशले कुनैपनी हिंसात्म्क गतिविधि नगरेर सम्पुर्ण मधेश एक ढिक्का भएर मधेशको शिक्षा,स्वास्थ्य,भौतिक पुर्वाधार ,कृषि र युवाको रोजगारी मा दीर्घकालीन बिकासमा जोड दिने समय हो।
म सम्पुर्ण मधेशवासी आमा बुवा दाजुभाइ दिदिबहिनी मा अपिल गर्न चाहन्छु कुनैपनि असमाजिक तत्व जस्ले एकजुट भएर बसेको समाजको शान्ति,सद्भाव खलबलाउने ब्याक्तीको पछाडि नलाग्न अनुरोध गर्दछु। त्यस्ता गतिविधि गर्ने जुनसुकै सामुदाय या बर्गको भएपनी त्यो मधेशको बिकासको बिरोधी हो बुझ्नुपर्छ र त्यास्ता लाई समाजिक बहिष्कार गर्नुपर्छ।
