`

एक करोड आठ लाख नगदसहित जुवातास खेलाउने तीन जना पक्राउ

काठमाडौँ, १९ माघ : नेपाल प्रहरीले अनलाइनमार्फत जुवातास खेलाउने तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित क्यासिनो प्यालेसको अण्डरग्राउण्डमा अनलाइनमार्फत जुवा खेलाउने र विदेशी मुद्रा कारोबार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत पञ्जावका ३२ वर्षीय रिसव पावा, भारतको सिद्धार्थ पोष्टमौका ५२ वर्षीय गुलाव सिंह र भारत विकासपुरीका ३९ वर्षीय गौरव सिंह छन् । परिसरका सूचना अधिकारी एव प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले नेपालको कानुनले बन्देज गरेको अवैध जुवा र नेपाल राष्ट्र बैंक ऐन, २०५८ विपरीत विदेशी तथा स्वदेशी मुद्राको वित्तीय कारोबार गर्ने गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले अवैध अनलाइन जुवा खेलाउने विद्युतीय उपकरण, तास, कागजात, ठूलो मात्रामा स्वदेशी तथा विदेशी मुद्रा बरामदसमेत गरेको छ । उनीहरूसँग प्रहरीले रु एक करोड नौ लाख चार सय ४५ बरामद गरेको छ भने तीन थान ल्यापटप, सात थान कम्युटर बरामद गरेको छ । पक्राउ परेका तीनैजनालाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

नागढुङ्गामा बस चेक जाच गर्दा सवार सप्तरीका २६ वर्षीय पासवान समातिए

काठमाडौँ, १९ माघ : अवैध लागुऔषधसहित प्रहरीले आज काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला घर भएका २६ वर्षीय इन्द्रजित पासवान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रित लागुऔषध बुप्रेनुर्फिन एक सय ४५ एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड एक सय ४५ एम्पुल र डाइजेपाम एक सय ४५ एम्पुलसहित प्रहरी प्रभाग नागढुङगा र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको टोलीले निजलाई आज पक्राउ गरेको हो ।बाप्र०३–००१ख २५४९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई उक्त लागुऔषधसहित पक्राउ गरी सो विषयमा आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो ।

चेतावनी बत्ती ठिक गर्न टेस्लाले २२ लाख सवारी फिर्ता गर्दै

उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता गरिरहेको छ ।

अमेरिकी सुरक्षा नियामकहरूले शुक्रबार पोस्ट गरेको कागजातमा अनलाइन सफ्टवेयर अपडेटका साथ सवारी फिर्ता लिने बताइएको छ । यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३, सन् २०१९ देखि सन् २०४ को मोडल वाई र सन् २०२४ को साइबरट्रक समावेश छन् ।

ब्रेक, पार्क र एन्टिलक ब्रेक चेतावनी बत्तीहरूको फन्ट आकार सङ्घीय सुरक्षा मापदण्डहरूको अपेक्षामा साना भएको जनाएइको छ । यसबाट महत्त्वपूर्ण सुरक्षा जानकारी पढ्न कठिन हुनसक्ने र दुर्घटनाको खतरा बढ्नसक्ने बताइएको छ ।

टेस्लाले पहिला नै सफ्टवेयर अपडेट जारी गर्न सुरु गरिसकेको छ र सवारी धनीहरूलाई मार्च ३० देखि पत्रद्वारा सूचित गरिने जनाएको छ । एनएचटिएसका अनुसार जनवरी ८ मा नियमित सुरक्षा पालना अडिटमा समस्या थाहा भएको हो ।

टेस्लाले सम्भावितरूपमा समस्यासँग सम्बन्धित तीन वटा वारेन्टी दावी पहिचान गरेको छ तर दुर्घटना वा चोटपटकको कुनै रिपोर्ट छैन ।

शान्ति सेनामा तैनाथ दोलखाका थापाको मृत्यु

काठमाडौँ, १९ माघ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ ।

दोलखा निवासी थापा उक्त गण हडक्र्वाटरको बङ्करमा ड्युीमा रहँदा माघ १८ गते आफैँले बोकेको हतियारबाट गोली लागि घाइते फेलापरेका उनको उपचारका क्रममा मृत्यु भएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । हाल उक्त मिसन तैनाथ रहेको लेबनानको सीमावर्ती इलाकामा लडाइँ चलिरहेको हुँदा त्यसको मनोवैज्ञानिक असर हो वा अन्य कुनै कारण हो भन्नेबारेमा बुझ्ने कार्य भइरहेको उहाँले बताउनुभयो । त्यहाँ तैनाथ उक्त गणमा रहेका सकल दर्जाको एक वर्ष कार्य अवधि पुग्ने क्रममा रहेको थियो ।

‘आर्थिक समृद्धि हासिल गर्न दलहरुबीचमा थप एकता आवश्यक – एमाले उपाध्यक्ष पोखरेल

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), १९ माघ ः नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका साथै आर्थिक समृद्धि हाँसिल गर्न दलहरुबीचमा एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

आज पश्चिम नवलपरासीको रामग्राम स्तूप अवलोकन गर्दै उहाँले पछिल्लो समय आर्थिक, समाजिक तथा विकासका एजेण्डा हराउँदै गएको छ भन्नुभयो । उपाध्यक्ष पोखरेलले भन्नुभयो, “उद्योग, कृषि, पर्यटन विकासमा सरकारले विशेष जोड दिनु आवश्यक छ ।”

विदेश जानेको सङ्ख्या बढ्दै गएको हुँदा यसलाई रोक्न स्वदेशमा नै रोजगारी सिर्जना गर्न उपाध्यक्ष पोखरले जोड दिनुभयो ।

आसन्न दोहा सम्मेलनमा सक्रिय भूमिकाका लागि अफगान महिलाहरूद्वारा राष्ट्रसङ्घसँग आग्रह

अफगानी महिला आन्दोलनका प्रमुख सदस्यहरूले अफगानिस्तानमा हुने दोहा सम्मेलनमा महिलाहरूको सक्रिय सहभागिताको वकालत गर्न संयुक्त राष्ट्रसङघलाई आग्रह गरेको खामा प्रेसले जनाएको छ ।

संयुक्त राष्ट्रसङघलाई पठाइएको पत्रमा अफगान महिलाहरूसँग परामर्श नगरी अफगानिस्तानको भाग्यबारे हुने कुनै पनि निर्णय स्वीकार्य नहुने बताइएको छ ।
राष्ट्रसङलाई पठाएको खुला पत्रमा लगभग १० वटा विरोध आन्दोलनका हस्ताक्षरहरु समावेस छन् । महिला अधिकारकर्मीहरूबीचको भर्चुअल बैठकपछि बुधवार उक्त पत्र जारी गरिएको हो ।

संयुक्त राष्ट्रसङघको दोहा सम्मेलन फेब्रुअरी १८–१९ का लागि तय भएको छ । अफगानिस्तानको बिषयमा केन्द्रित यो दोस्रो दोहा सम्मेलन हो । संयुक्त राष्ट्रसङघले लगभग आठ महिना अघि पहिलो सम्मेलन आयोजना गरेको थियो ।

प्रारम्भिक दोहा सम्मेलनमा अफगान महिलाहरूको प्रतिनिधित्व नभएको बताइएको छ ।यसबाहेक, संयुक्त राष्ट्रसङघलार्ई पठाइएको पत्रमा अफगानिस्तानमा केटीहरूको मानहानि हिरासत, लैङ्गिक हिंसादेखि लैङ्गिक रङ्गभेदका कार्यसहित महिला अधिकारको उल्लङ्घनलाई ध्यानमा राख्दै महिलाको अर्थपूर्ण उपस्थिति महत्वपूर्ण रहेको उल्लेख गरिएको छ ।

यस सम्मेलनमा सहभागी हुन तालिवान सरकारका अधिकारीहरूलाई पनि निमन्त्रणा गरिएको छ ।अफगानिस्तानमा महिलाहरू आधारभूत मानव अधिकारबाट वञ्चित भएकाले विगत साढे दुई वर्षदेखि तालिबानले महिलाविरुद्ध गरेको कठोर कारबाहीविरुद्ध महिला अधिकारकर्मीहरू लडिरहेका छन् । पछिल्लो समयमा उनीहरूलाई सम्मेलनमा अर्थपूर्णरूपमा समावेश गर्नुपर्ने तर्क गरिरहेका छन् ।

महिला अधिकारकर्मीहरू मध्येका एक मिना रफीकले तालिबानको नीतिलाई सक्रिय रूपमा विरोध गर्ने महिलाहरूलाई दोहा सम्मेलनमा आमन्त्रित गर्नुपर्ने कुरामा जोड दिनुभएको छ । अघिल्ला सम्मेलनहरूमा, वास्तविक महिला प्रतिनिधिहरू अनुपस्थित रहेकाले प्रभावकारी नभएको बताउदै दोहा सम्मेलनमा तालिवानका नीतिहरूको सक्रिय रूपमा विरोध गर्ने र लड्ने महिलाहरूलाई आमन्त्रित गर्नुपर्ने उहाँले बताउनुभयो ।

खामा प्रेसका अनुसार दोहा सम्मेलनले टर्कीका पूर्व कूटनीतिज्ञ फेरिदुन सिनिरिओग्लुले राखेका प्रस्तावहरूबारे छलफल र वार्ता गर्नु हो ।स्रोतका अनुसार यस सम्मेलनमा अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङघका लागि नयाँ दूत नियुक्तिका बारेमा छलफलसमेत हुनेछ ।

इजरायली सेनाद्वारा गाजा कारबाहीका क्रममा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा

प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार जनाएको छ । गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताए अनुसार रिहा गरिएका केही प्यालेस्टिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएको कारण राफाह सहरको नज्जर अस्पतालमा लगिएको छ ।

‘युरो–मेड ह्युमन राइट्स मोनिटर’का अनुसार गाजा पट्टीमा आफ्नो स्थल अभियानको क्रममा इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई पक्राउ गरी अज्ञात स्थानहरूमा राख्दै आएको थियो ।

अस्पतालमा सिन्ह्वाका प्रतिनिधिले भेटेका केही कैदीहरूलाई नजरबन्दको क्रममा कुटपिट, अपमान र यातना दिइएको बताएका छन् तर उनीहको दावीलाई स्वतन्त्ररूपमा पुष्टि भने गर्न सकिएको छैन ।

मलेसियाका पूर्वप्रधानमन्त्री नजिबको कारागार सजायले आधा घटाइयो

मलेसियाले भ्रष्टाचारको आरोपमा कारागारमा रहनुभएका पूर्वप्रधानमन्त्री नजिब रजाकको कारागार सजाय आधाले घटाएर छ वर्ष बनाएको मुलुकको क्षमा बोर्डले शुक्रबार बताएको छ ।

अर्बौं डलरको १एमडिबी वित्तीय घोटालामा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँग सम्बन्धित अपराधमा नजिबलाई सन् २०२२ मा १२ वर्षको कारागार सजाय सुनाइएको थियो । “राय र सल्लाहमाथि विचार गरेपछि क्षमा बोर्डले नजिब रजाकको सजाय र जरिवानामा ५० प्रतिशतले कटौती गर्ने फैसला गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

एक उत्तराधिकारीलाई सिंहासन हस्तान्तरण गर्नु दुई दिनअघि पूर्वराजा सुल्तान अब्दुल्लाको अध्यक्षतामा रहेको क्षमा बोर्डको सोमबारको बैठकले उक्त निर्णय गरेको हो । बोर्डमा अन्य अधिकारीका साथै महान्यायाधिवक्ता पनि रहनुभएको थियो ।

लामो सुनुवाइपछि नजिबलाई सन् २०२० मा पूर्व १एमडिबी एकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी बैंक खातामा चार करोड २० लाख रिङ्गिट (८९ लाख अमेरिकी डलर) को हस्तान्तरणमा सत्ताको दुरुपयोग, मनी लन्ड्रिङ र आपराधिक उल्लङ्घन गरेको दोषी पाइएको थियो ।

कारागार सजाय उल्ट्याउने उहाँको प्रयासलाई मुलुकको सर्वोच्च अदालतले खारेज गरेको थियो । सन् २००९ देखि सन् २०१८ सम्म प्रधानमन्त्री रहनुभएका ७० वर्षीय नजिबले निष्पक्ष सुनुवाइ नभएको दाबी गर्नुभएको थियो । उहाँले एक न्यायाधीशको स्वार्थको द्वन्द्व भएको र आफ्नो कानूनी टोलीलाई मुद्दाका कागजातहरू अध्ययन गर्न पर्याप्त समय नदिइएको आरोप लगाउनुभएको थियो ।

मलेसियाका राजनीतिक संरक्षक महाथिर मोहम्मदको विपक्षी गठबन्धनले सन् २०१८ को निर्वाचनमा घोटालाका आक्रोशका बिच उहाँलाई सत्ताबाट बाहिर पुर्याएको थियो ।

इरानले आक्रमणको ‘कडा जवाफ’ दिनेछ– राष्ट्रपति

इरानका राष्ट्रपति इब्राहिम रायसीले जोर्डनमा तीन अमेरिकी सैनिकको मृत्युको जवाफमा अमेरिकाको कुनै पनि सम्भावित आक्रमणविरुद्ध शुक्रबार कडा चेतावनी दिनुभएको छ ।

“हामी कुनै पनि युद्धको सुरुआत गर्ने छैनौँ भनेर हामीले धेरैपटक भनेका छौँ तर यदि कुनै मुलुकले क्रुर शक्तिले धम्की दिन चाहन्छ भने इस्लामिक गणतन्त्र इरानले त्यसको दृढतापूर्वक जवाफ दिनेछ”, उहाँले दक्षिणी प्रान्त होर्मोजगानको भ्रमणका क्रममा भन्नुभयो, “यस क्षेत्रमा इरानको सैन्य शक्ति कुनै पनि मुलुकका लागि खतरा थिएन र छैन तर इरानमाथि भरोसा गर्ने सुरक्षाको स्रोत हो, आज दुश्मनसँग हामीविरुद्ध केही पनि गर्न सक्ने क्षमता छैन किनकी हाम्रा सेना शक्तिशाली र सक्षम छन् भन्ने उनीहरूलाई थाहा छ ।”

जोर्डनमा एक सैन्य अड्डामा भएको ड्रोन हमलामा अमेरिकी सैनिकको मृत्यु अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रमा शत्रुतापूर्ण गोलाबारीमा पहिलो अमेरिकी सैन्य क्षति हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले हमलाका लागि ‘कट्टरपन्थी इरान समर्थित आतङ्कवादी समूहहरू’ लाई दोष दिनुभएको छ ।

उहाँले आफूले घातक बमबारीमाथि अमेरिकी प्रतिक्रियाको प्रकृतिमाथि निर्णय गरिसकेको उल्लेख गर्नुभयो तर सार्वजनिकरूपमा योजना वा समयको बारेमा विस्तारमा केही बताउनुभएन । उहाँले आफूले मध्यपूर्वमा व्यापक युद्धको माग नगरेकामा जोड दिनुभयो ।

ह्वाइट हाउसले हमलाको जवाफमा ‘धेरै कारवाही’ गर्न सकिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले शुक्रबार अमेरिकामा फिर्ता भएका शवहरूको निरीक्षण गर्नुहुनेछ । त्यहाँ मृतक सैनिकहरूलाई सैन्य सम्मानका साथ स्वागत गरिनेछ ।

इरानले अमेरिकी सैनिकहरूमाथि भएको आक्रमणसँग कुनै पनि प्रकारको सम्बन्धलाई अस्वीकार गरेको छ र मध्यपूर्वमा युद्धको ‘विस्तार’ नचाहेको बताएको छ । इजराइल–हमास युद्धपछि सिरिया, इराक, लेबनान र यमनमा इरान समर्थित समूहरू समावेश हुँदा क्षेत्रीय तनाव बढेको छ । इस्लामिक गणतन्त्र इरानले यसअघि नै यस क्षेत्रका ‘प्रतिरोधी समूहहरू’ लाई समर्थन गर्ने ‘कर्तव्य’ मानेको तर निर्णय लिन र कारवाही गर्न ‘स्वतन्त्र’ रहेको बताएको छ ।

मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : गण्डकी प्रदेश फाइनलमा

दोधारा चाँदनी (कञ्चनपुर),१९ माघ – कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।

आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजीत गर्दै फाइनलमा स्थान बनाएको हो । त्यसैगरि दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र विभागिय टोली एपीएफबीच प्रतिस्पर्धा भइरहेको जिल्ला भलिबल सङ्घका महासचिव उत्तम विष्टले जानकारी दिनुभयो । “प्रतियोगिताको फाइनल खेल समापनसँगै शनिबार दिउँसो हुन्छ ।” उहाँले भन्नुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागिय टिम गरी १० वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेता उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको थियो ।

आहा !रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार

कास्की, १९ माघ ः मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ ।

प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोली हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रिस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदैछन् ।

त्रिभुवन आर्मी क्लबले हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।

थ्रिस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्दछ । मनाङ मस्र्याङदी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रिस्टार । थ्रिस्टारले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने शनिबार भोली छैटौँ उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ ।

थ्रिस्टार यसअर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ । आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रिस्टार विसं २०७५ मा फाइनलमा भिडेका थिए ।

तत्कालीन समयमा टाइब्रेकरमा थ्रिस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रिस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रिस्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रिस्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रिस्टार । प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रिस्टार हुनेछ ।

आर्मीका प्रशिक्षक मेघराज केसी विगतको इतिहासलाई विर्सदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताउनुहुन्छ । पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुशी दिने आफ्नो योजना रहेको उहाँले सुनाउनुभयो । “हामी इतिहास दोहो¥याँदैनौँ, नयाँ इतिहास रचेर समर्थकलाई खुसी दिनेछौँ ।”

प्रशिक्षक केसीले फाइनल खेल रोमाञ्चक हुने उल्लेख गर्नुभयो । टोलीमा केही इन्जुरीको समस्या रहेपनि खेलाडी पर्याप्त रहेको उहाँले बताउनुभयो ।
थ्रिस्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताउनुभयो । उपाधि जित्ने योजना बनाएको उहाँले उल्लेख गर्नुभयो । प्रशिक्षक लामाले भन्नुभयो,“आर्मीको टोली संगठित छ, फाइनल खेल पक्कै गाह्यो हुनेछ तर हामी उपाधि चुम्ने गरी खेल्नेछौँ ।”
लामा आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने उल्लेख गर्नुभयो । पोखरामा जारी प्रतियोगितामा आर्मीले प्रिक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल पुगेको हो । थ्रिस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो ।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ – ओली

काठमाडौँ, १९ माघ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले बैंकले एकतर्फी रुपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमति बिना ब्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

“बैंकबाट नौ प्रतिशतमा लिएको ऋण केही समय १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “उक्त ऋण तिर्न जाँदा ब्याजले सेवाग्राहीलाई समस्यातर्फ धकेलिरहेको हुन्छ ।” उहाँले ऋण लिने र दिने दुवैको सहमतिबाट ब्याजको दर फेरवदल गर्नुपर्ने धारणा राख्नुभयो ।

“नौ प्रतिशतमा ल्याइएको ऋणको ब्याज १२–१४ प्रतिशत कहाँबाट ल्याएर तिर्ने ? ऋणीलाई कहाँबाट प्रतिफल आउँछ र तिर्ने ?”, अध्यक्ष ओलीले भन्नुभयो, “हामीलाई मर्का प¥यो त्यस कारण ब्याजको दर बढायौँ । अर्का ऋणीलाई परेको मर्का कसले हेर्ने ? सहमतिका आधारमा निश्चित मापदण्ड बनाएर ऋण लिने र दिने व्यवस्था गर्नुपर्छ ।” धितो र ऋण असुल गर्नुमात्र बैंकको काम नभएकोसमेत उहाँले बताउनुभयो ।

बैंकले लगानी गरेपछि उक्त रकम सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । बैंक विकासको सहयोगी बन्नुपर्ने भन्दै उहाँले सानो पुँजीबाट केही सुरुआत गरौँ भन्नेलाई बैंकले ऋण दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था बिग्रिरहेकाले सरकारले सुधार गर्नुपर्ने बताउनुभयो ।

टोखामा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाइँदै

काठमाडौँ, १९ माघ : काठमाडौँको टोखा नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाउन सुरु गरेको छ ।

टोखा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्नका वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैधरुपमा बनाइएका संरचना हटाउन सुरु गरेको हो ।

उक्त समितिले आज टोखा नगरपालिका–११ स्थित बानियाँटार पुलदेखि मनोरथ तीर्थसम्मका अवैध संरचना हटाएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले विष्णुमति करिडोरमा आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले यस वरपर सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाभित्रका सबै सार्वजनिक जग्गाको खोजी गरिने बताउनुभयो ।

नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सार्वजनिक सम्पत्तिको संरक्षणका लागि पालिकाले काम गरिरहेको बताउनुभयो । टोखामा एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा रहेको भन्दै यसलाई संरक्षणको योजना अनुसार काम थालिएको उहाँले उल्लेख गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका अवैध संरचना हटाएको बताउनुभयो । “टोखाभित्र अतिक्रमण गरिएका जग्गा खाली गराउने काम तीव्र गतिमा भइरहेको छ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले आजै टोखा–८ बानियाँटारस्थित फ्लोसेन्ट स्कुल आसपासमा अवैधरुपमा बनाइएका संरचना हटाउने जनाएको छ ।

रामग्राम स्तूप निर्माणसम्बन्धी परियोजना खारेज गर्न माग

काठमाडौँ, १९ माघ : धर्मोदय सभाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक रामग्राम स्तूपको निर्माण एवं उत्खनन् कार्य गर्न एक निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा दिने भनी तयार पारिएको परियोजना र विदेशी संस्थासँग गरिएको भनिएको समझदारीपत्र तत्काल खारेज गर्न माग गरेको छ ।

सभाले आज विज्ञप्ति प्रकाशन गरी उक्त समझदारीपत्र नेपाल सरकार, अर्थ मन्त्रालय र पुरातत्व विभागले विधिसम्मत छैन भनिसकेकाले उक्त परियोजना रद्द गरी विश्वभरका बौद्धहरुको भावनामा चोट नपुग्ने गरी नेपाल सरकारकै नेतृत्वमा स्तूपको विकास निर्माण तथा उत्खनन् कार्य अघि बढाउन आग्रह गरेको छ ।

आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्याग्न डा ओममूर्तिको आग्रह

काठमाडौँ, १९ माघ : वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा. अनिलले राससलाई बताउनुभयो ।

कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग गर्‍यो भने त्यो सफल हुने सम्भावना बढ़ी हुन्छ । साथै अविस्मरणीय र महत्वपूणर् पनि हुने भएकाले त्यस दिनदेखि धूमपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरूलाई उहाँले आह्वान गर्नु भएको छ ।

‘प्रणय दिवस’का अवसरमा तपाई फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस् । त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा. अनिलले भन्नुभयो-“यदि तपाईं आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र ?” अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ । कुलत त्याग्नेजस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ ? डा. अनिलको प्रश्न छ ।

कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो । चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयु मात्रै लम्बिदैन परिवारको आयु पनि बढ्ने हुँदा ‘स्मोकर्स आर नट सेल्फिस्’ भन्ने नारालाई जोड दिइएको उहाँको भनाइ छ । कुलत छुटाउन प्रोत्सहान गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘धूमपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद् परिणामको अपेक्षासहित राखिएको डा. अनिलले स्पष्ट पार्नुभयो ।

डा. अनिलकाअनुसार मानिसको मृत्युका कारणमध्ये धूमपान प्रमुख रहेको अध्ययनहरूबाट प्रमाणित भएको छ । तमाखु सेवन गर्ने हरेक दुई जनामध्ये एक जनाको मृत्यु हुने गरेको छ । प्रत्येक एक खिल्ली चुरोटले सेवनकर्ताको ११ देखि १३ मिनेटसम्म आयु घटाउने भन्दै त्यस्ता मानिसको जीवनमा १० महिनाको वर्ष हुन्छ । अर्थात् सेवनकर्ताको हरेक वर्ष औसत दुई महिना आयु घट्दै जाने उहाँको भनाइ छ ।

धूमपान गर्नेलाई दुईदेखि चार गुणा हृदयाघात हुने खतरा छ भने फोक्सोको क्यान्सर हुने जोखिम २५ गुणासम्म रहेको उहाँले बताउनुभयो । त्यस्तै एक वयस्क मानिसले अत्यधिक चुरोट सेवन गरेमा १५ वर्षदेखि २५ वर्षसम्म छिटो मृत्युको जोखिम रहेको अध्ययनले देखाएको भनाइ छ ।

कुनै व्यक्तिले धूमपान गर्दा उसलाई मात्रै होइन, वरिपरिका मानिसलाई पनि गम्भीर असर गर्दछ । यसबाट विशेषगरी गर्भमा रहेका शिशु, बालबालिका र सास फेर्न समस्या भएका व्यक्तिहरूलाई सबैभन्दा बढी जोखिममा हुन्छ । यसले सेवनकर्ता, वरिपरिका मानिस र सेवनकर्ताले प्रयोग गरेका सामग्रीबाट पनि अरुको स्वास्थ्यमा असर गर्छ ।

एक अध्ययनअनुसार धूमपानबाट ८० लाख जनाको मृत्यु हुँदा १३ लाखले अन्य धूमपानकर्ताले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा अनिलले जानकारी दिनुभयो धूमपानको भयावह स्थिति नेपालजस्ता गरीब मुलुकमा उच्च रहेको उल्लेख गर्दै विश्वका १ दशमलव ३ अर्ब जना धूमपान गर्ने मानिसमध्ये ८० प्रतिशत गरीब देशका नागरिक रहेको अध्ययनमा देखिएको उहाँको भनाइ छ ।

धूमपान नगर्दा आफू अकाल मृत्युबाट जोगिनुको साथै अभिभावत्वको जिम्मेवारी पूरा गर्न सकिने र परिवारको आर्थिक, सामाजिक सुरक्षा गर्न सकिन्छ । “जीवन मेरो मात्रै होइन, ममाथि धेरै जना आश्रित छन्” भन्ने बुझ्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । धूमपानको लत छुटाउने अभियान शुरू गर्नु भएका डा. अनिलले त्यस्ता व्यक्तिलाई प्रोत्सहान गर्न उहाँले आफ्नो फेसबुक पेजमा गुगल फर्मसमेत राख्नुभएको छ । जहाँ आफूले धूमपान परित्याग गरेको प्रतिबद्धता व्यक्त गर्न सकिन्छ ।

सामाजिक सञ्जालबाट चेतनामूलक अभियान चलाउने क्रममा विश्व कीर्तिमान कायम गर्नुभएका डा अनिलकोे बिहीबार फेसबुक लाइभमा छ हजार ६७२ जना प्रत्यक्ष जोडिएका थिए भने तत्काल करिब ५० जनाले सुर्तीजन्य पदार्थको सेवन छाड्ने प्रतिबद्धता जनाएका थिए ।

गाउँमा सडक पुग्यो, मासिए सम्पदा

गलेश्वर (म्याग्दी), १९ माघ : उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।

गाउँ गाउँमा सडक सञ्जाल पुगेपछि जिल्लाका प्रायः सबै ठाउँका पुराना गोरेटो बाटो र बिसाउने चौतारीका अवस्था यस्तै छ । सडकका कारण गाउँ पुग्ने गोरेटा बाटा नासिएका छन् । सडकबाटै मानिस आवतजावत गर्ने भएपछि मर्मतसम्भारको अभावमा गाउँ पुग्ने गोरेटो बाटा भत्किएका छन् भने कतिपय बाटोको त नामोनिसान पनि मेटिएको छ ।

“गोरेटो बाटोको नामोनिसान छैन । जताततै मोटर गुड्न थालेपछि यात्रुले थकाइ मेटाउने चौतारी तथा बिसाउनी नसिएका छन् । कँुवा, धारो र पँधेरा देखिन छोडेका छन्”, खबराका यामबहादुर घिमिरे भन्नुहुन्छ, “वनजङ्गल पनि उराठलाग्दो बनेका छन्् । मानिस आउन छोडेपछि जङ्गल त घना भएको छ । घाँस दाउरा र स्याउला, प्रयोग गर्न छोडेपछि त जङ्गलको बाटो हिँड्न पनि उराठलाग्दो छ ।”

गोरेटो बाटो नासिँदै गएपछि गाउँको सुन्दरता र मानिसबीचको आत्मीयता पनि कम हुँदै गएको खबराका चन्द्रबहादुर कार्की बताउनुहुन्छ । “डिम्मराको उकालो उक्लेर गौडालाउनेको चौतारीमा पुगेपछि आँत हरर्र हुन्थ्यो । यहाँको सितल हावा र चिसो पानीले बेनीदेखि उकालो बाटो हिँडेर गौडालाउनीसम्म आइपुग्दाको दुःख बिर्साउदथ्यो”, उहाँ भन्नुहुन्छ, “बाटो हिँडेर घरमा आउजाउ गर्दा, बाटोमा भेटिएका दौतरीसँग दुःखसुखको कुरा गर्दै हिँड्दा, अनि साँझमा घर आएर महीसँग मकै चपाउँदाको आनन्द अब कहाँ पाउनु ?”

गाउँ गाउँमा पुगेका सडकका कारण गाउँलेलाई सुविधा र सास्ती दुवै मिलेको बताउनुहुन्छ, मालिका गाउँपालिका वडा नं २ का टेकबहादुर विक । “बस्ती बस्तीमा गाडी आउँछ, दरबाङ, बेनी जहाँबाट मगायो त्यहीँबाट सामान घरको आँगनमा नै ल्याइपु¥याइदिन्छ । बिरामी हुँदा अस्पतालसम्म गाडी चढेरै जान पाइन्छ यो त राम्रो हो”, विक भन्नुहुन्छ “तर, वर्षामा भने न गाडी आउँछ न माटो बग्न रोक्निछ । पहिरोले उठिबास लगाउने डर हुन्छ ।”

वातावरणीय मूल्याङ्कन नगरिकन जथाभावी खनिएका ग्रामीण सडकले गाउँको सौन्दर्य त नास भएको छ नै, भूस्खलन र बाढी पहिरोको जोखिम पनि बढाएको छ । भिरालो भूगोलमा भएका गाउँ थप जोखिममा परेका छन् । ती गाउँसम्म जाने गोरोटो बाटो नासिए पछि गाउँलेलाई घुमाउरो बाटो प्रयोग गरेर गाउँसम्म पुग्नुपर्ने वाध्यता छ । “सडक खन्दा घुमाउरो (नागबेली) पारेर खन्छन्, गाउँका खोल्सा खाल्सी, सत्तल, पाटी, चौतारो, कुवा, गोरेटो केही पनि बचेनन्”, धौलागिरि गाउँपालिका ५ मल्काबाङका कर्म छन्त्याल भन्नुहुन्छ, “गाडी चढेर गाउँमा नौला मान्छे त आउँछन् तर सहर बजार झरेका आफन्तलाई भेट्न चाडपर्व नै कुर्नुपर्दछ ।”

सडकले गोरेटो बाटो मासेपछि वस्ती पनि टाढा टाढाजस्ता भएका छन् । पहिला छोटो गोरेटो बाटो प्रयोग गरेर एक गाउँदेखि अर्को गाउँमा पुग्न सकिन्थ्यो तर अब गोरेटो बाटो नै नरहेपछि सडक हुँदै जाँदा घुमाउरो हुन्छ । चाहेको बेलामा छिमेकीकहाँ पुग्न पनि नसकिने अवस्था भएको उहाँको भनाइ छ । सडकले गोरेटो बाटो मात्रै मासेको होइन, ग्रामीण पहिचान बोकेका अनेकौँ सम्पदा पनि नासिएका खबराका चन्द्रबहादुर कार्की उल्लेख गर्नुहुन्छ ।

उहाँ बेनी ज्यामरुककोटको गोरेटो बाटो नासिएपछि राजा भर्तिवम मल्लका अङ्गरक्षकले हातहतियार उधाउने बञ्चरेढु्गा अस्तित्वविहीन भएको छ भन्नुहुन्छ । भर्तिवम मल्लले पानी खाने गरेको राजकुवा अहिले पुरिने अवस्थामा पुगेकाले स्थानीय बुद्धिजीवी टीकाबहादुर कार्कीको पहलमा संरक्षणको प्रयास गरिए पनि त्यो प्रयास पर्याप्त नभएको कार्कीको भनाइ छ ।

यस्तै त्यसबेलाका राजा र उनका सहयोगी शिकार खेल्न जाँदा आराम गर्ने गरेको कैडा लाउनेको चौतारो अवशेषका रुपमा रहेको र अहिलेसम्म मर्मत गर्नेतर्फ कसैको ध्यान नपुगेको स्थानीय बूढापाका बताउँछन् । “नासिएर गएका सम्पदालाई फिर्ता ल्याउन नसके पनि यहाँको इतिहाससँग जोडिएका बचेको प्राकृतिक सम्पदा संरक्षण हुन नसक्नु ज्यादै दुःखद् कुरा हो, इतिहासको संरक्षण गर्न सकिएन भने भोलिको पुस्ताले हामीलाई सराप्ने छ”, स्थानीय सोही ठाउँ निवासी टीकाबहादुर कार्की गुनसो गर्नुहुन्छ ।

गोरेटो बाटो (पदमार्ग) मासिएपछि घोडेपानी पुनहिलजस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या पनि घट्दै गएको र उनीहरुको बसाइ पनि कम हुँदै गएको छ । पर्यटक घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नु नै मानिएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोका कारण विदेशी पर्यटकको आकर्षण घट्दै गएको घोडेपानीका पर्यटन व्यवसायी क्या डमबहादुर पुन बताउनुहुन्छ । “पर्यटक यहाँ गाडी चढ्न र पिज्जा, बर्गर खानमात्र आउने होइनन्, रमणीय डाँडाकाँडा र पहाडमा पदयात्रा गर्न आउने हुन्, अब सडक नै सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकलाई धुलो धुँवा खुवाएर हिँडाउनुपर्छ, यो उनीहरूलाई मन पर्ने कुरा भएन”, उहाँको गुनासो छ ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी छ स्थानीय तह रहेको म्याग्दीमा ४५ वडा छन् । ती वडामध्ये धौलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अरु सबै वडाका बस्तीमा सडक पुगेको छ ।

बागमती प्रदेश सरकारले बनायो ७८ कानुन

मनहरी (मकवानपुर), १९ माघ : बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् ।

प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ विधेयकमध्ये ७७ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएका छन् भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको सचिवालयले जनाएको छ ।

प्रदेशसभामा मूल ऐन ४७ वटा रहेका छन् भने ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँकाअनुसार सो अवधिमा २० ऐन संशोधनसहित पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएका छन् ।

प्रदेशसभामा हालसम्म १३ अध्यादेश जारी भएका छन् । त्यस्तै १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएका प्रवक्ता गुप्ताले बताउनुभयो । उहाँकाअनुसार सो अवधिमा चार वटा अध्यादेशका प्रतिस्थापन विधेयक फिर्ता भएका छन् भने तीन अध्यादेशका प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएका छन् ।

सो अवधिमा दुई वटा कार्यविधि, एक नियमावली र एक नियमावली संशोधन पारित भएका प्रवक्ता गुप्ताले जानकारी दिनुभयो ।

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य

बागमती, १९ माघ : सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।

सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन् । विगत चार आर्थिक वर्षदेखि निरन्तर घाटामा रहेको उक्त उद्योगबाट सिमेन्ट उत्पादन नहुँदा थप आर्थिक समस्या बढ्दै गएको उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले बताउनुभयो । रकम अभावले कोइलासमेत खरिद गर्न समस्या भइरहेको उहाँको भनाइ थियो ।

रकम अभाव भएपछि अवकाशप्राप्त कर्मचारीले पाउने सेवा सुविधासहितको उपदान नपाएको गुनासो आइरहेको छ । उक्त उपदान नपाउने कर्मचारीको सङ्ख्या १५ रहेको उद्योग प्रशासनले जनाएको छ ।

दैनिक सात सय पँचास मेट्रिक टन सिमेन्ट उत्पादन हुनुपर्ने सो उद्योगबाट असोजदेखि उत्पादन शून्य भएको छ । हाल विगतमा उत्पादित मौज्दात सिमेन्ट बिक्री वितरण भइरहेको छ । उद्योग प्रशासनका अनुसार चालु आर्थिक वर्षमा दुई लाख ४९ हजार चार सय ५६ बोरा सिमेन्ट हालसम्म बिक्री भइसकेको छ ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योग सञ्चालनसँगै निरन्तररुपमा सिमेन्ट उत्पादनका लागि कोइला खरिद प्रक्रिया सुरु गरिएको बताउनुभयो । कोइलाको आपूर्ति हुनासाथ काम अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । उद्योगले एकपटक बोलपत्र आह्वान गर्दा १३ हजार टन कोइला आपूर्ति हुने गरेको छ ।

आव वर्ष २०७६/७७ देखि २०७८/७९ सम्ममा उद्योगलाई रु ६५ करोड ४७ लाख १६ हजार सात सय ८२ नोक्सान भएको थियो । गत आवमा मात्र रु २३ करोड ५५ लाख नोक्सान भएको थियो ।

उद्योग सञ्चालनको माग गर्दै अखिल नेपाल मजदुर सङ्घले आन्दोलन गरिरहेको छ । उद्योगमा हाल ज्यालादारी तथा स्थायी गरी करिब तीन सय कर्मचारी कार्यरत रहेका छन् । यसैबीच हेटौँडामा निजी क्षेत्रबाट सञ्चालित शिवम् र ऋिद्दीसिद्दी सिमेन्ट उद्योग निन्तर सञ्चालित छन् ।

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय दरबारमार्गबाट पक्राउ

काठमाडौँ, १९ माघ : प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट रु एक करोड बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरब चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

उहाँले भन्नभयो, “क्यासिनो प्यालेसको अण्डर ग्राउण्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक करोड एक लाख २६ हजार बराबरको विदेशी मुद्रा बरामद गरिएको छ ।” उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

‘बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका’- उपप्रमुख सुनिता डङ्गोल

काठमाडौँ, १९ माघ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बालमैत्री समाज निर्माणमा नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँ जिल्लाभित्रका सामुदायिक विद्यालयअन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको बाल प्रतिभालाई उजागर गर्ने उदेश्यले आज आयोजना गरेको ‘शान्ति सुरक्षामा नेपाल प्रहरीको भूमिका’ विषयक कार्यक्रममा डङ्गोलले अपराध नियन्त्रणमा प्रहरीको भूमिका सराहनीय रहेको बताउनुभयो । “सुरक्षाका दृष्टिकोणमा प्रहरीको भूमिकालाई बालबालिकाले कसरी हेरिरहेका छन् भन्ने विषयलाई यस्ता कार्यक्रमले प्रष्ट पार्ने गर्दछन्”, उहाँले भन्नुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले समाजसेवा तथा शिक्षालाई जोडेर श्रीमती सङ्घले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रहरीमा आमजनताको आकर्षण कसरी बढाउने भन्नेबारे वतृत्वकलामा छलफल हुने विश्वास व्यक्त गर्नुभयो ।

श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले सामाजिक क्षेत्रमा क्रियाशील सङ्घले पहिलोपटक वतृत्वकला गरेको भन्दै खुसी व्यक्त गर्नुभयो । उक्त वतृत्वकलामा काठमाडौँभित्रका सामुदायिक विद्यालय र नेपाल प्रहरी विद्यालयमा अध्ययनरत २६ जना छात्रछात्राले भाग लिएका छन् । वतृत्वकलामा प्रथम हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु सात हजार र तेस्रो हुनेलाई रु पाँच हजार नगदसहित सम्मान गरिने श्रीमती सङ्घले जनाएको छ ।

मेलम्ची पानी नियमित आपूर्तिका लागि रास्वपाले दबाब कार्यक्रम गर्ने

काठमाडौँ, १९ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलम्ची खानेपानी आयोजनाबाट राजधानीमा नियमित पानी आपूर्तिको माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ । रास्वपा संसदीय दलको आजको बैठकले यही माघ २१ गते मेलम्ची बजारदेखि दबाबमूलक कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो ।

सो पार्टीका सचेतक निशा डाँगीले दबाबमुलक कार्यक्रम अनुसार मेलम्ची बजारबाट आयोजनास्थल पुगी घैलामा पानी बोकेर ल्याउने निर्णय भएको बताउनुभयो । “दबाब कार्यक्रम अनुसार मेलम्ची बजारमा २१ जना सांसद सबै भेला भएर खाली घैलो लिएर आयोजनास्थल जाने र पानी भरेर फर्किने कार्यक्रम तय भएको छ”, सचेतक डाँगीले भन्नुभयो ।

रास्वपाले हालै पूर्वाधारका अलपत्र रहेका आयोजनाको दबाब यात्रा गर्ने निर्णय गरेको छ । जसअनुसार पार्टीले यही माघ २१ गतेदेखि चैत २१ गतेसम्म २१ वटा आयोजनामा दबाबमुलक कार्यक्रम गर्दैछ ।

सो पार्टीका सांसद बिनिता कठायतले सदन र संसदीय समितिको बैठक प्रभावित नहुने गरी पार्टीले सो कार्यक्रम गर्ने बताउनुभयो ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा गैरसरकारी विधेयकको तयारीबारे समेत छलफल भएको थियो । सचेतक डाँगीका अनुसार पूर्वनिधारित मुद्दाअनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको तयारी र पार्टीका सासदलाई विधेयकसम्बन्धी गरेको तयारीका विषयमा पनि आजको बैठकमा छलफल भएको थियो । “गैरसरकारी विधेयक दर्ता गर्नुमात्र ठूलो कुरा होइन, त्यसलाई पास हुने गरी काम गर्ने विषयमा छलफल भयो । मुख्यत पाँच गैरसरकारी विधेयकको तयारी गरिरहेका छौँ, त्यसबारे छिट्टै सार्वजनिक गर्नेछौ ।”

भारत भ्रमणमा रहेको संसदीय प्रतिनिधिमण्डल र भारतीय विदेशमन्त्री भेट

काठमाडौँ, १९ माघ : भारत भ्रमणमा रहेको नेपाली सांसदहरुको प्रतिनिधिमण्डलले आज राजधानी नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेको छ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदूताबासले जनाएको छ ।

सो भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको विदेशमन्त्री एस जयशङ्करले सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको छ ।भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल यही माघ १६ गते भारतको राजधानी नयाँ दिल्ली पुगेको थियो ।

योजना छनोट गर्दा दोहोरोपना नहुने गरी तयारी गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, १९ माघ : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय प्रणालीलाई बलियो बनाउनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने बताउनुभएको छ । ऊर्जा मन्त्रालयमा आज सङ्घ, प्रदेश र स्थानीय तहबीचमा ऊर्जा जलस्रोत र सिँचाइ क्षेत्रको विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नेगरी कार्यक्रम, बजेटको तय गरिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय प्रणालीले निदृष्ट गरेअनुरुपको कार्यक्रम बनाउनुपर्छ । त्यसले अधिकांश जनताको माग र चाहनालाई सम्बोधन गर्न सकोस् भन्नेतर्फ विशेष ध्यान दिनुपर्छ । यसपटक हामी त्यसलाई विशिष्टरूपमा नै अगाडि बढाउँछौँ ।” मन्त्री बस्नेतले योजना छनोट गर्दा दोहोरोपना नहुनेगरी आवश्यक तयारी गर्न प्रदेशका सम्बन्धित क्षेत्र हेरेका मन्त्रालय र मन्त्रीहरूले विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।विशेषगरी कृषि क्षेत्रको विकास र विस्तारका लागि सिँचाइ सुविधा विस्तार गर्ने कामलाई यसपटक सङ्घीय सरकारका तर्फबाट विशेष ध्यान दिइने उल्लेख गर्दै उहाँले प्रदेश र स्थानीय सरकारले पनि यसमा ख्याल गर्नुपर्ने बताउनुभयो ।सिँचाइ सुविधा पुग्न बाँकी रहेका १० लाख हेक्टरलाई विशेष प्राथमिकतामा राखेर योजना अगाडि बढाइने जानकारी दिँदै उहाँले पहाडी क्षेत्रमा लिफ्ट सिँचाइलाई विशेष ध्यान दिनैपर्ने बताउनुभयो । भूमिगत, सतह र लिफ्ट सिँचाइलाई लागत साझेदारीका हिसाबले अगाडि बढाउनुपर्ने सोचका साथ काम गर्नुपर्ने उहाँको कथन छ । यस्तै सोही ढाँचाअनुसार नै उज्यालो अभियानसमेत सञ्चालन गर्नुपर्ने भएकाले योजना तय गर्दा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।यसपटक सङ्घीय सरकारले निर्माणमा रहेका ठूला आयोजना सम्पन्न गर्नेतर्फ विशेष ध्यान दिने भएकाले प्रदेश र स्थानीय सरकारले योजना तय गर्दा त्यसलाई ख्याल गर्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, “योजनाको प्राथमिकता क्रम निर्धारण गर्नु जरुरी छ । अत्यावश्यक भएका, सिर्जनात्मक एवं विशिष्ट खालका योजना तय गरौँ । त्यसबाट स्थानीयवासीले अपेक्षित लाभ हासिल गर्न सकून् ।”मन्त्री बस्नेतले स्थानीय जनताको माग सम्बोधन हुन नसक्दा विगतमा तय भएका, निर्माणमा रहेका आयोजनाले समेत लाभ दिन नसकेको तथ्यलाई यसपटक आत्मसात् गर्नैपर्ने बताउनुभयो । मन्त्रालयका तर्फबाट सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले चालु आर्थिक वर्षको बजेट कार्यक्रमको कार्यान्वयनको अवस्था, आगामी आवको नीति तथा कार्यक्रम र बजेट, सोहौँ योजना, जलाधार र वातावरण संरक्षण, सिँचाइका लागि विद्युतीकरण र सडकबत्ती, जनताको जलविद्युत् कार्यक्रम र समन्वयलगायतका विषयमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।सङ्घीय सरकारले राष्ट्रिय जलस्रोत नीति २०७७, ग्रिन हाइड्रोजन नीति २०८०, राष्टिय सिँचाइ नीति २०८०, नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति २०८०, नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ । यस्तै जल तथा मौसम विज्ञान नीति २०८०, राष्ट्रिय ऊर्जा नीति, २०९० तयारीको चरणमा रहेको छ ।त्यस्तै विद्युत् विधेयक २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, जलस्रोत विधेयक पनि आवश्यक प्रक्रियामा छन् । मस्यौदा तयारीको क्रममा रहेका कानुनमा सिँचाइ विधेयक २०८०, नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन विधेयक छन् । यसैगरी विद्युत्को आन्तरिक खपत बढाउने तथा खनिज इन्धनको खपत घटाउने कार्ययोजना, २०८० र ऊर्जा विकास मार्गचित्र र कार्ययोजना, २०८० स्वीकृत भई कार्यान्वयनको चरणमा छन् ।बैठकमा कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जामन्त्री उर्मिला विक, सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थबहादुर लामा, गण्डकी प्रदेशका जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारी, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरीको उपस्थिति थियो । उहाँहरूले सङ्घीय सरकारका तर्फबाट सानाभन्दा साना योजनामा समेत हाल हालेको भन्दै त्यसमा सुधार जरुरी रहेको बताउनुभयो । बैठकमा ऊर्जा सचिव गोपालप्रसाद तिवारी, जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीलगायतको उपस्थिति थियो ।

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, १९ माघ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

रास्वपाको संसदीय दलका सचेतक निशा डाँगीका अनुसार आगामी अधिवेशनमा पार्टीले उठाउने मुद्दा, अधिवेशनको पूर्ण तयारी र दलको नेताले सदस्यलाई तयारीबारे गरेका प्रश्नउपर छलफल गर्ने बैठकको मुख्य ‘एजेन्डा’ रहेको छ ।

उहाँले भन्नुभयो, “आगामी अधिवेशनका लागि ४० विधेयकमध्ये आ¬–आफ्नो समितिमा जाने विधेयक कुन कुन हुन् र त्यसको तयारी के छ भन्ने विषयमा छलफल हुनेछ । यस्तै, यस अधिवेशनमा हामीले उठाउन चाहेका मुद्दाका बारेमा समेत छलफल हुनेछ ।”

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौँ । विश्वभर मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईंले दोस्रो कार्यकालका लागि कार्यभार सम्हालेका छन् । उनी दक्षिण एसिया एवं नेपालबाट सो पदमा पुग्ने पहिलो नेपाली हुन् ।

पहिलोपटक सन् २०२० फेब्रुअरी २ मा चापागाईंले उक्त पदको पहिलो चारवर्षे कार्यकाल सम्हालेका थिए । स्विट्जरल्यान्डको जेनेभामा गत वैशाखमा सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्षअगाडि नै उनलाई दोस्रो कार्यकालका लागि पुनः समयावधि थप गर्ने निर्णय गरेको थियो । बोर्डमा विश्वका २९ देश सहभागी हुने जनाइएको छ । अब चापागाईं सन् २०२८ को जनवरीसम्म आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा रहनेछन् ।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गरिराखेको छ । महासचिव चापागाईंले मानवीय सेवाका क्षेत्रमा पुर्याएको काम तथा कुशल नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाउँदै आएको छ ।

दोस्रो कार्यकालको पदावधि थप गर्ने निर्णय पछि महासचिव चापागाईंले भने, “आइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष केट फोब्र्सको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित छु । यो ठूलो जिम्मेवारी हो र त्यहाँ थुप्रै चुनौती हुनेछन् तर हामी समाधान खोज्न तथा हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”

तीन दशकभन्दा बढी मानवीय सेवामा अनवतर रुपमा तल्लीन चापागाईंले गत वर्ष नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेका थिए । विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् ।

सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फूर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गरेका थिए । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ ।

सात लाखभन्दा बढी कर्मचारी र झन्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यामा बर्सेनि आइएफआरसीले मानवीय सहायता पुर्याउने गरेको छ । साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता सात आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्दछ ।

६ वर्षमा पूरा भयो विमानस्थल विस्तार गर्ने मेयर दाहालको सपना

चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको निर्णय गरेको कुरा रहेछ । प्रमुख दाहाल आफ्नो कुर्सीबाटै जुरुक्क उठिन् र हर्षित हुँदै धन्यवाद व्यक्त गरिन् ।

काठमाडौँबाट फोनमा थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चितवनमा महानगर प्रमुख दाहाल । सम्वाद बाबुछोरीको थियो । हामीले फोनबाट सुनेको धन्यवाद पनि उनले आफ्ना पिता दाहाललाई नै दिएकी थिइन् । तर यो संवादले भरतपुर विमानस्थललाई ठूलो जहाज बस्नेगरी विस्तार गर्ने सरकारको निर्णयको खुसीको खबर बोकेको थियो । जुन काम महानगरप्रमुख दाहालको अघिल्लो कार्यकालदेखिकै सपना थियो । त्यसैले महानगर प्रमुख दाहालले प्रधानमन्त्रीसहित नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गरेकी थिइन् ।

निर्णयपछि कार्यकक्षमा पुगेका सञ्चारकर्मीसँग महानगर प्रमुख दाहालले भनिन्, “मैले पहिलो कार्यकालको सुरुआतमै राखेको ‘एजेन्डा’ थियो यो । आज सरकारले निर्णय गरेपछि आफ्नो वाचा र चितवनका जनताको माया अकस्मात सम्झिएँ र निकै खुसी भएँ ।”

निरन्तर लागेर छ वर्षपछि मन्त्रिपरिषद्बाट निर्णय गराउन सफल हुँदा निकै खुसी लागेको उनले बताइन् । उनले भनिन्, “नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोर स्थानान्तरण गरेर विमानस्थलको धावनमार्ग विस्तार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । अब यो निर्णयलाई साकार पार्न यसअघि र अहिलेजस्तै चितवनका सबै नागरिकको साथ र सहयोग आवश्यक छ ।”

हालका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित ६ वर्षमा छजना मन्त्रीसँग विमानस्थल विस्तारका लागि छलफल गरेको महानगर प्रमुख दाहालले सुनाइन् । उनले आफ्नो मोबाइलमा तस्बिर देखाउँदै भनिन्, “जिल्लाका सरोकारवालालाई जम्मा गरेर धेरै पटक बैठक बसियो । कहिले निराशा त धेरै आशा नै पलाएको हो । मलाई लाग्छ त्यसैले आज यो निर्णय हुन सकेको छ ।”

विमानस्थल विस्तार भएपछि ठूला जहाज उडान भर्न सक्नेछन् । रात्रिकालीन उडानसमेत हुनेछन् । यससँगै सस्तो मूल्यमा यात्रुले टिकट पाउनेछन् । अहिले भरतपुर–काठमाडौँको हवाई टिकट चार हजार आठ सय हाराहारी पर्दछ । यकिन नभए पनि ठूला जहाज उड्दै गर्दा रु तीन हजार हाराहारीमा टिकटको मूल्य झर्ने अनुमान छ ।

प्रमुख दाहालले भनिन्, “बिहान काठमाडौँ गएर दिनभरि काम गरेर साँझ फर्किन सकिन्छ ।” दुई साताअघि भरतपुरस्थित नेपाली सेनाको ब्यारेकमा आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रमुख दाहाललाई बोलाएका थिए । संयोग त्यतिबेला दाहाल काठमाडौँ थिइन् । उनले विमानस्थल विस्तारका लागि सकारात्मक पहल गर्न प्रमुख दाहाललाई बोलाएका थिए ।

प्रमुख दाहालले निरन्तररुपमा विमानस्थल विस्तारका लागि पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्ड यसलाई सार्थक बनाउन लागिपरेकी थिइन् । रक्षा मन्त्रालय, नेपाली सेना, पर्यटन मन्त्रालय सबैलाई समेटेर यो काम गर्नुपर्ने अवस्था थियो । प्रमुख दाहालले भनिन्, “धेरै पटक म महानगरपालिकाको निर्णय बोकेर मन्त्री र प्रधानमन्त्री कार्यालयमा पुगेकी छु”, उनले भनिन्, “पर्यटन र रक्षा मन्त्रालयमा धेरै पटक छलफल गर्यौं ।” भरतपुर विमानस्थलमा टर्मिनल भवन बन्दै गरेकाले अबको केही समयमै नयाँ टर्मिनल र ठूला जहाज अवतरण हुने विमानस्थल बन्ने उनी बताउँछिन् ।

यसैले पनि यथासक्य छिटो विमानस्थल विस्तार गर्नुपर्नेमा प्रमुख दाहालको जोड थियो । उनले भनिन्, “चितवनबासी मात्रै होइन, छिमेकी जिल्लाका बासिन्दालाई पनि विमानस्थल विस्तार हुँदै गर्दा प्रत्यक्ष फाइदा पुग्छ ।” नवलपरासीको दाउन्ने पूर्वदेखि हेटौँडासम्मका बासिन्दाको पायक विमानस्थल यही नै हो । त्यसो त तनहुँ, गोरखा, लम्जुङ, धादिङबासीका लागि पनि यो विमानस्थल उपयोगी छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्य भएकाले चितवन आउने पर्यटकका लागि विमानस्थल महत्वपूर्ण हुने प्रमुख दाहाल बताउँछिन् । उनले भनिन्, “हामीले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला बनाउँदैछौँ, देश विदेशका खेलाडी र दर्शक यहाँ आउँछन् । त्यसका लागि पनि विमानस्थल विस्तार आवश्यक थियो ।”

भरतपुरको नेपाली सेनाको ब्यारेक विमानस्थलसँग जोडिएको छ । ब्यारेकमा ७० बिगाहा आठ कठ्ठा चार धुर जग्गामध्ये १९ बिगाहा चार कठ्ठा चार धुर विमानस्थल विस्तारका लागि आवश्यक पर्ने देखिएको छ । यससँगै यहाँको घोडा प्रजनन केन्द्रलाई जिल्लाकै कालिका नगरपालिकाको शक्तिखोरस्थित ब्यारेक हाताभित्र स्थानान्तरण गरिने उनले बताइन् ।

यो विमानस्थल २०१५ सालमा स्थापना भएर २०१८ सालदेखि सञ्चालन हुँदै आएको हो । विमानस्थलको हाल कूल क्षेत्रफल ६२ बिगाहा रहेको छ जसमा एक हजार दुई सय मिटरमात्र धावनमार्ग छ । यो विमानस्थलबाट अहिले काठमाडौँ र पोखरा उडान हुँदै आएको छ । छोटो धावन मार्गका कारण साना जहाज दिउँसोमा मात्रै उडान हुँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता छ ।

दोस्रो नेपाल चरा उत्सव आउँदो सातादेखि हुने

मध्यविन्दु (नवलपरासी), १९ माघ : दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो ।

तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवद्र्धधन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिनुभयो । नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको थियो । पछि सन् २०१९ मा कास्कीको पोखरामा चरा उत्सव आयोजना गरिएको थियो । उक्त उत्सवमा पाँचबुँदे घोषणापत्र जारी गरिएको थियो । कोभिड–१९ का कारण रोकिएको उत्सव पुनः आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

उत्सवमा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ सङ्घसंस्थाका प्रतिनिधि, भारत, भूटान, श्रीलङ्का, मलेसिया, हङकङ, सिङ्गापुर, फिलिपिन्स, जापान, स्विजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायतलगायत देशबाट प्रतिनिधिको सहभागिता रहने ‘वल्र्ड एजुकेसन सोसाइटी’का अध्यक्ष टीकाराम गिरीले बताउनुभयो । उत्सवमा पक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षीकला प्रतियोगिता, पक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जङ्गल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी सँगोष्ठी, कक्ष प्रदर्शनी, निःशुल्क स्वास्थ्य शिविरलगायत गतिविधि गरिने छन् ।

नेपालमा आठ सय ९४ प्रजातिका पक्षी पाइन्छन् । नवलपुरको नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास पाँच सय ६५ प्रजातिका चरा पाइन्छन । नेपालमा विश्वमै दुर्लभ मानिएका ४३ प्रजातिका चरा पाइने गरेकामा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्ज आसपास ३९ प्रजातिका चरा पाइन्छन् । पोखरा पक्षी समाजको आयोजना, जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र वर्ड एजुकेसन सोसाइटीको सहआयोजनामा चरा उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सवको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पन्छी संरक्षण सङ्घले समन्वय गरेका छन् ।

विश्व सिमसार दिवस : अत्यधिक दोहनले सङ्कटमा सिमसार

काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ । यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ ।

सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसको मूल नाराका साथ जनचेतना फैलाउँदै बबरमहलस्थित वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गरिने जनाएको छ । यसैगरी निकुञ्ज विभाग र वन तथा भू–संरक्षण विभागको सहकार्यमा राष्ट्रियस्तरको गोष्ठी कार्यक्रम गरी दिवस मनाउन लागेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले राससलाई जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरिरहेका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो । सम्मेलनको खास उद्देश्य सिमसार क्षेत्रका जलपक्षीको संरक्षण गर्नु थियो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोसीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको हो । सन्धिको पक्षधर भएकाले नेपाल सिमसार संरक्षणका लागि कानुनी रूपमा प्रतिबद्ध छ ।

रामसार सूचीमा हाल नेपालका कोसीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, रारा ताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत रहेको उपमहानिर्देशक ढकालले बताउनुभयो । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैवविविध बासस्थानमध्ये एक हो, र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । संसारको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् । साथै सिमसारको समृद्ध जैविक विविधताले संसारभरका मानिसको जीवनको गुणस्तर, खाद्य सुरक्षा र पोषणमा समेत टेवा पुग्छ ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । त्यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

जलवायु परिवर्तन र अत्यधिक दोहनको असर सिमसारमा

विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रुपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । निकुञ्ज विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले प्राकृतिक स्रोतको अधिकतम दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको अभाव भएर सुक्खाक्षेत्रको वृद्धि भएसँगै सिमसार संरक्षणमा चुनौती थपिएको बताउनुभयो । सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहँुदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उहाँले जानकारी दिनुभयो ।

सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको महानिर्देशक ढुङ्गानाले बताउनुभयो । विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।

निर्वाचन प्रणाली खर्चिलो भएकाले महिलाको उम्मेदवारी कमजोर – नेत्री थापा

काठमाडौँ । सङ्घीय सांसदको जिम्मेवारीमा आएको एक वर्ष भयो । संसद्को मूल जिम्मेवारी कानुन निर्माण नै हो । कानुन निर्माणको दृष्टिकोणबाट पहिलो एक वर्ष सोचेजस्तो भएन । एक वर्षमा एउटा मात्रै कानुन पारित भयो । कानुन निर्माणका हिसाबले संसद् प्रभावकारी हुन सकेन । जति विधेयक सदनमा आउन पर्ने थियो, सरकारले त्यो सङ्ख्यामा विधेयक ल्याउन सकेन । त्यसमा कमजोरी भयो । कानुन निर्माणमा सत्ता र प्रतिपक्ष दुवै अग्रसर हुनुपर्थाे । प्रतिपक्ष  यसबीचमा कसरी सत्ताप्राप्ति गर्न सकिन्छ भन्ने मै केन्द्रित हुनपुग्यो । त्यसले पनि  ऐन बनाउने विषयले कम महत्व पाएको जस्तो अनुभूति भएको छ ।


चुनावमा दलहरुले आ–आफ्ना ‘एजेन्डा’ लिएर मत माग्न जानु स्वाभाविक हो । कानुन निर्माणमा भने दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने थियो । यस बीचमा त्यो भएको महसुस भएन । उता सांसदमा नवप्रवेशी र महिला सांसदलाई तुलनात्मकरुपमा कमजोर हुन्छ भन्ने सम्झने र बुझ्ने चलन छ । नेपालको परिवेशमा सांसदको भूमिका कानुन निर्माणमा मात्र सीमित छैन । मतदाताले सांसदलाई विकासका कामसँग जोडेर हेर्ने चलन छ । तथापि, कानुन निर्माण नै प्राथमिकता हो भन्ने विषयमा स्वयं सजग र सचेत हुनुपर्छ । 


कतिपय  विधायकले आफ्नो मुख्य जिम्मेवारी छुट्याउन नसक्दा संसद् र संसदीय समितिमा मात्रै होइन, संसदीय दलमा समेत गणपूरक सङ्ख्याको  प्रश्न उठ्दै आएको छ । मैले यो विषयमा दलमा पटकपटक आवाज उठाउँदै आएको छु । विधेयकमा हुने छलफलमा  विभिन्न कोणबाट प्रश्न उठ्दा सांसदले मलाई थाहा भएन भन्न मिल्दैन । त्यसका लागि बैठकमा उपस्थित अनिवार्य बनाउनुपर्छ । छलफलमा उपस्थित नभएपछि विषयवस्तु र कानुनी प्रभावबारे कसरी थाहा पाइन्छ ? कानुन निर्माण गरिँदा वा नगरिँदा के कस्तो दीर्घकालीन असर पर्छ अर्थात् के गर्दा के हुन्छ भन्ने कुरा जान्नुपर्छ, थाहा पाउनुपर्छ । संसद् र समितिमा उपस्थित न्यूनतम सङ्ख्या नपुग्दा जिम्मेवारी बोध भएन कि कसो भन्ने लाग्छ । निर्वाचन क्षेत्र र जिल्लाका समस्या एवं भूगोल बुझेको हुनाले एउटा सांसद मन्त्री हुनुहुन्न, अरू कोही भन्ने तर्क त्यति व्यावहारिक हुँदैन । पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो भएकै कारण प्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारी कमजोर बन्न पुगेको छ । 


आर्थिक पाटोमा महिलाको अधिकार नभएका कारण प्रत्यक्ष निर्वाचनमा महिलालाई टिकट नै नदिने प्रवृत्ति छ । त्यसकारण सामानुपातिकमा पुरुषको सङ्ख्या तुलनात्मकरुपमा कम हुन पुगेको छ । यस विषयमा दलका शीर्ष तहका नेताले सोच्नुपर्ने बेला आइसकेको छ । रुकुम पूर्व देशकै कान्छो र नयाँ जिल्ला हो । जिल्लाको भूगोल अप्ठ्यारो छ । यो पहिले पाल्पा गौडा मातहतमा थियो । पछि कहिले डोल्पा, कहिले रुकुममा गाभियो । सदरमुकामबाट जहिले पनि टाढा रहेपछि विकासका हिसाबले पछि प¥यो । नयाँ जिल्ला भएकाले अभाव धेरै छ । शिक्षा, स्वास्थ्य, सडक  र पूर्वाधार विकासका हिसाबले धेरै पछि परेको छ । जिल्लाभरमा एउटा पालिकाको एउटा वडामा मात्र पूर्ण विद्युतीकरण भएको छ । पालिका केन्द्र पुग्न अझै दुई दिन हिँड्नुपर्ने बाध्यता छ । जिल्लाको भूगोल र बजेट विनियोजनको पाटोबाट आफ्नो पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न पाएको छैन । सबै हिसाबबाट उपेक्षित छ ।


अर्काेतर्फ संसद्मा पनि कतिपय अवस्थामा महिला भएकै कारण विभेद भएको महसुस गरेको छु । शून्य समयमा हामी महिलाले समसामयिक र जिल्लाका कुरा उठाउँदै आएका छौँ । विशेष समय र अरू बेला पुरुषले पहिला र बढी समय पाउनुहुन्छ । हामीलाई थोरै समय दिइन्छ ।  त्यो पनि सबै बोलेर हिँडिसकेपछि अन्तिम समयमा बोल्ने अवसर मिल्छ । त्यहाँ  त्यसबेला खाली कुर्सीमात्रै हुन्छन् ।


  महिलालाई समानुपातिक भनेर दोस्रो दर्जाका रुपमा हेरिने चलन छ । व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । प्रणाली परिवर्तन भयो तर प्रवृत्ति बदल्न सकेनौं । प्रजातन्त्रको पुनः स्थापनापछि शासकीय र सत्तामा पुगेका नेतृत्व तहले देश र जनताप्रति जिम्मेवारी महसुस गरेनन् । फलस्वरुप जनतामा असन्तुष्टि देखिन पुग्यो । राज्यप्रति जनताको विश्वास कमजोर भयो । विद्यार्थी र युवा विदेश पलायन हुन बाध्य भए । सत्ता र सरकारी संयन्त्रको निर्णायक तहमा बस्नेले ठीक समयमा सही निर्णय गर्न सकेनन् । त्यसको एउटा उदाहरणका रुपमा कतिपय विश्वविद्यालय, कलेजमा विद्यार्थी सङ्ख्या अहिले ह्वात्तै घटेको छ । 


प्रतिस्पर्धाका आधारमा अब्बल व्यक्ति छान्नुपर्नेमा राजनीतिक भागबन्डामा कुलपति, शिक्षाध्यक्ष, क्याम्पस प्रमुख नियुक्ति गर्ने होडबाजीले नेपाली युवालाई विदेश जान मलजल गरेको छ ।  यही अवस्था रहेमा अबको १० वर्षपछि नेपालमा ज्येष्ठ नागरिक मात्रै रहने हुन् कि भन्ने स्थिति बनेको छ । यो अवस्था अन्त्य गर्न राजनीति नेतृत्वले समयमै सोच्नुपर्छ भन्ने लाग्छ । 


देशलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन हामी अहिलेजस्तो भूमिकामा छौँ, नेतृत्वलाई सजग र सचेत गराउने काम दृढताका साथ गर्छाैं । विश्वका कतिपय देश हिउँ नै हिउँले ढाकिएका छन् । कोही देश मरुभूमि र बगर मात्रै छन् ।  नेपाल भने प्राकृतिक विविधताले भरिपूर्ण  र सुन्दर छ । नेपाली युवा विद्यार्थीको भविष्य यहीँ छ । विदेशमा सिकेका ज्ञान स्वदेशमै प्रयोग गर्नुपर्छ । भ्रष्टाचारको अन्त्य र सुशासन प्रवद्र्धन गर्नेतर्फ सबैको जोडबल हुनुपर्छ । अनि छोटो समयमै मुलुकलाई समृद्ध तुल्याउन सकिन्छ । अब धेरै कुर्न पर्दैन । स्वर्ग यहीँ छ, देशलाई माया गरौँ ।


 (सांसद कुसुमदेवी थापासँगको कुराकानीमा आधारित)

जनताका समस्या अब टालटुले ढङ्गले नभइ दिगो समाधान पहिल्याउन आवश्यक – महामन्त्री थापा

महोत्तरी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका समस्या अब टालटुले ढङ्गले नभइ दिगो समाधान पहिल्याउन आवश्यक भएको बताउनुभएको छ । महोत्तरीमा ‘समुदायमा कांग्रेस’ र ‘हुलाकी राजमार्ग संवाद’ अभियानमा सरिक हुनुभएका नेता थापाले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि जनताले कांग्रेसप्रति आशा गरेका बताउनुभयो ।

“म झापाबाट अभियानमा सरिक हुँदै महोत्तरी आइपुगेको छु, जनताका समस्या सुनेको छु, विद्यमान राजनीतिले समाधान नदिने जनताले बताएका छन्” महामन्त्री थापाले भन्नुभयो, “संविधानभित्रका महिला, दलित र अन्य आरक्षण क्षेत्रको ‘समावेसी व्यवस्था’ राजनीतिक प्रतिनिधित्व नभइ ठूलाबडा नेताका घरपरिवारको बन्दोबस्त मिलाउने ठाउँ बन्यो भन्ने असन्तोष छ ।” कांग्रेसले मधेसका जनता, पार्टीका नेता कार्यकर्तामा देखिएको असन्तोष चिर्दै अघि बढ्ने उहाँले दृढता जनाउनुभयो ।

प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका महामन्त्री थापाले मुलुकको बजेट अर्थमन्त्री र ठूलाबडा नेता, पूर्वप्रधानमन्त्रीको तजविजमा बन्ने अवस्था अन्त्य गरी यसलाई संस्थागत र खास प्रक्रियाबाट अघि बढाउने प्रयत्न आपूmबाट भइरहेको उल्लेख गर्नुभयो ।

दुर्घटनाग्रस्त रुसी ११-७६ सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग

युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी-एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिएका थिए।

उक्त विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।

सामाजिक कल्याण परियोजनाद्वारा ७ हजार व्यक्ति लाभान्वित

सामाजिक कल्याण परियोजनाद्वारा चीनमा ७ हजार व्यक्ति लाभान्वित भएका छन् । दिग्गज व्यक्तिहरूलाई आवश्यक सहयोग गर्ने उद्देश्यले स्थापित सामाजिक कल्याण परियोजनाले सन् २०२० मा भेटेरन मामिला मन्त्रालय र विभिन्न सामाजिक संस्थाहरूले संयुक्त रूपमा शुरु गरेदेखि चीनभर करिब ५३ हजार दिग्गज व्यक्तिहरूलाई लाभान्वित गरेको मन्त्रालयले बिहीबार जनाएको छ ।

विगत तीन वर्षमा मन्त्रालयले सामाजिक संस्था, उद्यम र व्यक्तिहरूसँगको संयुक्त सहकार्यमा परियोजना मार्फत दिग्गजहरूलाई सहयोग गर्न करिब २८० लाख अमेरिकी डलर भन्दा बढी रकम सङ्कलन गर्न सफल भएको छ।

मन्त्रालय र यसका सहयोगी संस्थाहरूले हालै सन् २०२४ को लागि सहयोग योजना सार्वजनिक गरेका हुन् ।योजना अनुसार यस परियोजनाले अमेरिकी आक्रामकता र सहायता कोरिया (१९५०-१९५३) को प्रतिरोध गर्न युद्ध प्रभावित करिब ७ हजार व्यक्तिहरूलाई सहयोग गर्नेछ।

संखुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का (सङ्खुवासभा), १९ माघ : सङ्खुवासभा जिल्ला अस्पतालबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ । एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विमल पौडेलका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुवैजनाको उद्धार गरिएको हो । पाँचखपन नगरपालिका–३ की सुत्केरी २५ वर्षीया विना मगर र खाँदबारी नगरपालिका–११ खर्तुवाकी गर्भवती सपना राईको हेलिकप्टरमा उद्धार गरिएको हो । दुवैजनालाई काठमाडौँ लगिएको छ । सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती र सुत्केरीको हेलिकप्टरमा निःशुल्क उद्धार गर्दै आएको छ ।

गर्भवती राईको गर्भमै शिशुको मृत्यु भएको थियो । अत्यधिक रक्तस्राव भएपछि उनलाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत विकास आर्चायले जानकारी दिनुभयो । त्यसैगरी, सुत्केरी मगर र उनको शिशुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि काठमाडाँै लगिएको हो । जिल्लामा हालसम्म १९ भन्दा बढी सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासलाई प्रवर्द्धन गर्ने मङ्गोलियाका प्रधानमन्त्रीको प्रतिबद्धता

मंगोलियाले शहरी र ग्रामीण विकासलाई सन्तुलनमा राख्न आफ्नो क्षेत्रीय विकासलाई प्राथमिकता दिइने प्रधानमन्त्री लुभ्सन्नमस्राई ओयुन–एर्डेनले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

“मंगोलियाली सरकारले सन २०२४ लाई क्षेत्रीय विकासलाई सहयोग गर्ने वर्ष घोषणा गरेको छ। हाम्रो देशको अर्थतन्त्रलाई विविधीकरण गर्न हामीले आधारभूत विषयहरूमा ध्यान दिनु आवश्यक छ, मंगोलियन इकोनोमिक फोरम–क्षेत्रीय विकास“ नामक दुई दिने राष्ट्रिय मञ्चको उद्घाटन समारोहमा उहाँले सो धारणा राख्नु भएको हो ।

देशको ३५ लाख जनसङ्ख्या राजधानी उलान बातोरमा बसोबास गर्छन् जसले देशको कुल जमिनको ०.३ प्रतिशत मात्र ओगटेको छ ।

यसको परिणामस्वरूप राजधानीले वायु प्रदूषण, ट्राफिक जामजस्ता थुप्रै समस्या झेल्नु परेको छ । अर्थतन्त्र धरापमा परेको र आय असमानता पनि बढेको छ । यसै सन्दर्भमा उलान बातोरका धेरै समस्याहरू समाधान गर्न शहरी र ग्रामीण विकासलाई सन्तुलनमा राख्नुपर्ने प्रधानमन्त्रीको धारणा छ ।
यसैबीच एसियाली राष्ट्रले आफ्ना २१ प्रान्तहरूलाई उत्तरी क्षेत्र, खङ्गाई वा हिमाली क्षेत्र, पश्चिमी क्षेत्र, मध्य क्षेत्र, पूर्वी क्षेत्र र दक्षिणी गोबी क्षेत्र जस्ता विभिन्न क्षेत्रहरूमा विभाजन गरेर आफ्नो क्षेत्रीय विकासलाई सहयोग गर्ने उपायहरू अवलम्बन गर्ने अपेक्षा पनि गरिएको छ।

स्वीडेनको केन्द्रीय बैंकद्वारा प्रमुख ब्याजदर यथावत कायम

स्वीडेनको केन्द्रीय बैंक, रिक्स बैंकले बिहीबार आफ्नो बेन्चमार्क ब्याज दर (नीति दर) लाई ४ प्रतिशतमा यथावत् राख्ने निर्णय गरेको छ । यद्यपि यो पहिलेको अपेक्षाभन्दा चाँडो घट्ने सम्भावना रहेको बताएको छ ।

यद्यपि नोभेम्बर र डिसेम्बर महिनामा मुद्रास्फीति निरन्तर सुस्ताएको तथ्याङ्कमा आधारित रहे पनि मुद्रास्फीतिलाई लक्षित २ प्रतिशतको हाराहारीमा स्थिर राख्न मौद्रिक नीति संकुचनात्मक रहनुपर्ने विज्ञको राय छ ।

स्विडेनी अर्थतन्त्र सुस्त भएको छ र ज्यालामा सामान्य वृद्धि भएको छ जसले मुद्रास्फीति थप घट्ने सम्भावना रहेको सङ्केत गर्छ, बैंकले भनेको छ। यद्यपि बैंकको कार्यकारी बोर्डले त्यहाँ अनिश्चितताहरू रहेको भन्दै मुद्रास्फीति फेरि उठ्न सक्ने बताएको छ । भूराजनीतिक असहजता, कर्पोरेट मूल्य निर्धारण व्यवहारहरू सामान्य हुन बाँकी र स्वीडिस मुद्रा क्रोनाको पर्याप्त कमजोरीका कारण आपूर्ति झटकाको जोखिम यथावतै रहेको बताइएको छ ।

हालको नीति दर सन् २००८ पछिको उच्च हो । केन्द्रीय बैंकले सन् २०२२ को मे महिनामा आफ्नो नीति दर बढाउन शुरु गर्नु अघि, यो सात वर्ष भन्दा बढीको लागि शून्य वा तल रहेको थियो।

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज अपराह्न २ बजे सङ्घीय संसद् भवनमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

बैठकमा आगामी सोमबारदेखि हुने हिँउदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले बताए । संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरुमा हुस्सु कुहिरो लागेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

गण्डकीलाई पाँच वर्षमा आत्मनिर्भर बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

वालिङ (स्याङ्जा)-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताउनुभएको छ । स्याङ्जाको वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौँ वालिङ महोत्सवको  उद्घाटन गर्दै उहाँले प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै एक क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभयो ।

“गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा सके दूध, मासु, तरकारी र फलफूल सबैमा आत्मनिर्भर बनाउने गरी अगाडि बढेका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “जहाँसम्म हाम्रो लक्ष्य पूरा भएरै छाड्छ । सबै भएन भने पनि कुनै एउटामा आत्मनिर्भर हुन्छौँ ।” प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडि बढाएकाले निर्धारित लक्ष्य प्राप्त हुनेमा उहाँले विश्वास व्यक्त गनुभयो ।

मुख्यमन्त्री पाण्डेले युवाको बसाइँसराइँ दर घटाउने र प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमा आत्भनिर्भर बनाउने लक्ष्य रहेको जानकारी दिनुभयो । “युवा विदेशिने क्रम विश्वका हरेक देशमा छन् । यो क्रम जहाँतही चलिरहन्छ”, उहाँले भन्नुभयो, “यो शून्यमा झर्दैन तर यसका सन्दर्भमा युवालाई स्वदेशमै दक्ष बनाएर आकर्षित गर्ने खालका नीति तथा कार्यक्रम ल्याएर कम गर्न सकिन्छ ।”

गण्डकी प्रदेशले ११ वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजना अगाडि बढाइरहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवले यहाँका स्थानीय उत्पादनको प्रचारप्रसार, प्रवद्र्धन तथा बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।

नेकपा एमालेका नेता महेश बस्नेत, गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल, लेखा समितिका सभापति सुधीरकुमार पौडेललगायतले महोत्सवले समग्र जिल्लाको कृषि, हस्तकला, सांस्कृतिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार र आर्थिक विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो ।

आजदेखि सुरु भएको महोत्सव यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करिब दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

हेर्नुहोस् माघ १९ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मीथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मिन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनमा आठ लाख युनिट विद्युत् उत्पादन गर्यो

बनियानी (झापा)-: झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो ।

कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही माघ १३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको  पत्रकार सम्मेलनको आयोजना गरी इनर्जीका सञ्चालक सुवास भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ ।हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भएको भट्टराईले बताउनुभयो । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाले बताउनुभयो ।परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद, बिक्रीका विषयमा सम्झौता भइसकेको छ भने उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट रू ७.३० कायम गरिएको छ ।मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो ।नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परियोजनाबाट हाल छ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिनुभयो । उहाँले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिनुभयो । विद्युत् उत्पादनसँगै भोल्टेजको समस्यासमेत समाधान हुने उहाँको भनाइ थियो ।—