`

धनगढीमा ‘नाइरोबी फ्लाई’ कीराको समस्या बढ्दै,कीराको सम्पर्कबाट जोगिन नागरिकलाई अनुरोध

Nepal One HD ३१ असार २०८१ ६:४२
जीवनशैली/स्वास्थ्य

सुदूरपश्चिम- कैलालीको धनगढीसहितका क्षेत्रमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणबाट छालामा फोका उठ्ने र पाक्ने समस्या बढ्न थालेको छ । वर्षायाममा देखिने यस कीराले छोएका व्यक्तिमा यस्तो समस्या देखिन थालेको हो ।

यस कीराले छोएपछि निस्किने एकप्रकारको रसायनले मानिसको छालामा फोका हुने र पाक्ने गरेकाले सो कीराको सम्पर्कबाट जोगिन स्वास्थ्यकर्मीले सुझाएका छन् । कीराको सम्पर्कबाट जोगिन बाउला भएको सर्ट र पाइन्ट लगाएर शरीरलाई ढाक्ने, कीराले छोएको ठाउँको छालालाई धुने र सङ्क्रमण भएमा चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

 धनगढी उपमहानगरपालिका कार्यालयले सार्वजनिक सूचनामार्फत कीराको सम्पर्कबाट जोगिन नागरिकलाई अनुरोध गरेको छ ।  उपमहानगर स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थीले उक्त कीराले आफ्नो सुरक्षाका लागि निकाल्ने रसायनले मानिसको छाला पोल्ने, छालामा फोका र दाना उठ्ने भई पीडा हुने गरेको बताउनुभयो । अवस्थीले भन्नुभयो, “यस कीराको सम्पर्कले मानिसको ज्यान जाँदैन तर सम्पर्क हुँदा छाला पोल्ने र घाउ भई पीडा हुन्छ ।” 

खासगरी बेलुकाको समयमा बत्ती बलेको ठाउँमा यो कीरा आउने गरेकाले सतर्क रहन अवस्थीले आग्रह गर्नुभयो । “यस कीराको समस्याले हाल स्वास्थ्य संस्था र अस्पताल धाउनको सङ्ख्या बढिरहेको छ । सङ्क्रमणबाट जोगिन घरबाहिरको बत्ती कम प्रयोग गर्ने र वातावरण सरसफाइमा पनि ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया