`

सङ्घीय सरकारले तीन करोडभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्छ : अर्थमन्त्री महत

त्रिशूली  । अर्थमन्त्री डा प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले  तीन करोड भन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सङ्घीय सरकारले  तीन करोडभन्दा माथि र प्रदेश सरकारले  एक करोडभन्दा माथिको योजना मात्रै सञ्चालन गर्ने नयाँ नियम बनाइएको जानकारी दिएका हुन् ।

“तीन तहमा रहेका सरकारले के–कस्तो योजना कार्यान्वयन गर्ने भन्ने अस्पष्टता अन्त्य गर्दै योजनामा बजेटको आकारको सीमा तोकिएको हो ।” उनले भने, “ससाना र टुक्रे योजना निरुत्साहित गर्न कुन सरकारले कति आकार बजेटको योजना कार्यान्वयन गर्ने भन्ने नयाँ नियम बनाइएको छ । तोकिएको आकारभन्दा कमको योजना ल्याउन पाइन्न भने त्योभन्दा बढी आकारको ल्याउन प्रोत्साहन गरिनेछ ।”

उनले राज्य पुनःसंरचना पश्चात अधिकार सम्पन्न तीन तहको सरकारको स्थापना भएकाले जनताको माग, गुनासो र समस्याको समाधान गर्न तीनै तहको सरकार सक्रिय भएर लागेको बताए । योजना, कार्यक्रम र बजेटको कार्यान्वयनमा तीन तहमा रहेका सरकारले जनताको समस्याको प्राथमिकीकरण गरेर सम्बोधन गर्दै आइरहेकाले सोहीअनुसार विकासको गति पनि तीब्र गतिमा रहेको उनको भनाइ छ ।

“संघीय, प्रदेस र स्थानीयतहले कुन–कुन योजनालाई सम्बोधन गर्ने भन्नेमा समन्वयन गरेर योजना कार्यान्वयनमा लागि रहेका छौँ ।” उनले भने, “नुवाकोटसहित प्रत्येक जिल्लामा सम्बन्धित क्षेत्रको प्रतिनिधिसँगको समन्वयनमा तर्जुमा गरिएका योजनाको प्रभावकारी कार्यान्वयनमा तीन तहको सरकार प्रतिबद्ध छ ।”

नुवाकोटमा पछिल्ला वर्षमा बजेटको आकार घटेको र बहुवर्षीय योजनामा सुनिश्चित भएका योजना अपूर्ण रहेकाले यस वर्ष अन्य जिल्लाको भन्दाबढी बजेट विनियोजन गरिएको उनले जानकारी दिए । “सडक, सिँचाइ, खानेपानीलगायत बजेटको आधार बढाइएको छ । अझै अपुग योजनालाई आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनेछ ।” उनले भने ।

बुटवलका मुख्य सडकको विद्युतीय प्रसारण लाइनमा ‘मोनोपोल’

लुम्बिनी, १ माघ : बुटवलमा आधुनिक सडकका रुपमा विस्तार हुन थालेको कालिका पथमाको बीचभागमा विद्युत्को मुख्य प्रसारण लाइनका पोलले सडकको सुन्दरतालाई कुरुप बनाइदिएको छ । यतिमात्र होइन सडकको मुख्य भागमा रहेका ठूलाठूला पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढेको छ ।

नेपाल विद्युत् प्राधिकरणले मुख्य सडकको बीच भागमा रहेको समस्यालाई समाधान गर्न मुख्य प्रसारण लाइनमा चारखुट्टे विद्युतीय खम्बा हटाएर मोनोपोल (सिङ्गलपोल) राख्ने काम गरेको छ । मुख्य सडकको बीचमा रहेको अहिलेको विद्युत्को प्रसारण लाइनको सट्टा मोनोपोल राख्ने काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण बुटवल ग्रिडका प्रमुख सुरज गौतमले जानकारी दिनुभयो । बुटवल ग्रिड प्रमुख सुरज गौतमले मोनोपल निर्माणले सडक आकर्षक देखिने बताउनुभयो । प्राधिकरणले यसलाई सकेसम्म छिटो हटाएर मोनोपोल राख्नेगरी सम्पन्न गरिने उहाँले बताउनुभयो ।

अहिलेको प्रसारण लाइनको खम्बाले सडकको धेरै भाग ओगटेकाले देख्दा भद्दा र दुर्घटनाको जोखिम बढेकाले मोनोपोल राख्न लागिएको उहाँले बताउनुभयो । । यो खम्बा राखिएपछि कालिकापथ सडक थप आकर्षक र सुरक्षित हुने सडक फराकिलो हुँदा दुर्घटनाको जोखिम कम हुने बुटवल वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरण बुटवल योगीकुटी ग्रिडका इञ्जिनियरका सूर्यप्रसाद पाण्डेकाअनुसार हाल रहेका चार वटा विद्युतीय खम्बा हटाउने काम सुरु भएको छ । प्राधिकरणका इञ्जिनियर पाण्डेका अनुसार मुख्य प्रसारण लाइनमा यो अभ्यास पहिलोपटक गर्न लागिएको हो । काठमाडाँैमा मोनोपोल राखिए पनि मुख्य प्रसारणमा नभई सहायक प्रसारण लाइनमा रहेको छ । अहिलेको खम्बाभन्दा उचाइमा पनि बढी हुने र सडक क्षेत्रमा कम भाग ओगट्ने भएकाले बजार क्षेत्रमा धेरै प्रभावकारी हुने उहाँको भनाइ छ ।

चीन र स्विट्जरल्याण्ड एफटीए स्तरवृद्धि गर्न सहमत

चीन र स्वीट्जरल्याण्डले चीन-स्वीजरल्याण्ड स्वतन्त्र व्यापार सम्झौता (एफटीए) को स्तरोन्नति गर्ने संयुक्त सम्भाव्यता अध्ययन पूरा गरेका छन् । औपचारिक रूपमा एफटीए स्तरवृद्धि वार्ताको प्रारम्भिक शुरुवातलाई समर्थन गर्न सहमत सोमबार भएका छन्।
चिनियाँ प्रधानमन्त्री ली छ्याङ र स्वीस कन्फेडेरेसनका अध्यक्ष भियोला एमहेर्डबीचको वार्तामा उक्त सहमतिको घोषणा गरिएको हो।

दुई पक्षले यसै वर्षभित्र चीन-स्विजरल्याण्डको विदेश मन्त्री स्तरको रणनीतिक वार्ताको नयाँ चरण, वित्त र ऊर्जा सम्बन्धी कार्यदलको बैठक, शिक्षा नीति वार्ता र संयुक्त राष्ट्र सुरक्षा परिषद्का विषयमा परामर्श गर्ने बताइएको छ ।

चितवनका थारु समुदायले मनाए ‘खिचरा पर्व’

भरतपुर ( चितवन) , १ माघ : चितवनका थारु समुदायले आज धुमधामका साथ ‘खिचरा पर्व’ मनाएका छन् । चितवनका आदिवासी समुदाय थारुले माघ १ गतेलाई ‘खिचरा पर्व’ मनाउँदै आएका छन् ।

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी भाञ्जालाई दान दक्षिणा दिइ विशेष परिकारका रूपमा थारु समुदायले माछासँग चिचरको पोका खाने गर्छन् । आजकै दिनमा खोला नदी र तीर्थस्थलमा गएर स्नान गर्ने प्रचलन रहिआएको छ ।

परापूर्वककालमा अरुको घरमा काम गर्न बस्ने चलन भएको समयमा खिचराको दिनदेखि साहुमहार्जनको सेवाबाट छुटकारा पाउने भएकाले यस दिनलाई स्वतन्त्र उत्सवको दिनका रुपमा मनाउने प्रचलन रहेको थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्सद् वासुदेव चौधरीले बताउनुभयो । उहाँले पछिल्लो समय खिचरालाई यस क्षेत्रमा पनि माघीसमेत भन्न थालिएको जानकारी दिनुभयो

पुसमा पकाएको माछालगायतका खानेकुरा माघमा ९खिचराको दिन० खाने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । उहाँले थारु संस्कार संस्कृति तेस्रो पुस्तालाई हस्तान्तरण गरिसकेको भन्दै संस्कृति जोगाउन नसके पहिचान नरहने बताउनुभयो ।

माघ १ गतेको दिनलाई पश्चिम क्षेत्रमा माघ अथवा माघी, नवलपरासी क्षेत्रमा खिचरी, चितवनमा खिचरा र पूर्वी नेपालमा तिलासङ्क्रान्तिका रुपमा मनाउने प्रचलन रहेको थारु पत्रकार सङ्घका केन्द्रीय कोषाध्यक्ष कारी महतो बताउनुहुन्छ । उहाँका अनुसार आजदेखि थारुको नयाँ संवत्समेत सुरु भएको छ । चितवनमा करिब ७० हजार थारु समुदायको बसोबास छ । पहाडी भूभाग रहेको इच्छाकामना गाउँपालिकाबाहेकका सबै पालिकामा थारु समुदायको बसोबास छ ।

थारु कल्यणकारिणी सभा चितवनका सचिव शन्तकुमार चौधरीले आधुनिकताका नाममा मौलिक संस्कृति लोप हुने खतरा बढेको बताउनुभयो । “यस पर्वको महत्वबारे युवापुस्तामा जानकारी कम हुँदै गएको छ”, उहाँले भन्नुभयो, “पहिले चिचर सबैको घरमा पाक्थ्यो अहिले पकाउन छाडेका छन् ।” उहाँले खिचरा पर्वसँगै थारु संस्कार संस्कृति र खानाको प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले खिचराका अवसरमा हरेक वर्ष जस्तै यस वर्ष पनि खिचरा महोत्सव आयोजना गरेको छ । खैरहनी नगरपालिका–५ को गौचरनमा आयोजना गरिएको महोत्सवमा थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवद्र्धन गरिएको थारु कल्याणकारिणी सभाका पूर्वजिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताउनुभयो । महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित एक सय ५० वटा स्टल राखिएको मूल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा थारु समुदायका परिकार घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टल महोत्सवमा छन् । थारु समुदायका मौलिक गीत र नाच महोत्सवमा प्रस्तुत गरिनेछ । पछिल्लो समय हराउँदै जान लागेका ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाचजस्ता सांस्कृतिक नृत्य महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताउनुभयो ।

महोत्सव स्थलमा थारु समुदायको ब्रह्म थानदेखि हस्तकलाका सामग्री र घोगी र चिच्चर पोकाको मूर्ति प्रदर्शनीका लागि राखिएको छ । विसं २०७० देखि आयोजना गरिएको महोत्सवको नवौँ संस्करणसम्म आइपुगेको छ ।

सङ्घीयतापछि विकासले गति लियो : मुख्यमन्त्री पाण्डे

पर्वत, १ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गर्नुभएको छ ।

पर्वतको फलेबास नगरपालिका-३ शङ्कपोखरीमा आज आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको सरकार बनेपछि विकासमा पहुँच पुगेको बताउनुभयो । ठूला योजना सङ्घले, मध्यमखालका प्रदेशले र साना योजनाको जिम्मा स्थानीय तहले लिँदा विकास निर्माणमा एकरुपता आएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पाण्डेले दुई सय ४० वर्ष लामो राजतन्त्रका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै बहुदलीय व्यवस्था आएपछि मुलुकमा चौतर्फी विकास भएको दाबी गर्नुभयो । लामो समयदेखिको खानेपानी समस्या झेलेको शङ्करपोखरीवासीको समस्यालाई इङ्गीत गर्दै मुख्यमन्त्री पाण्डेले राजा महेन्द्रको पालामा राखिएको खानेपानीको योजनाको समस्या अझै पनि समाधान हुन नसकेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । आर्थिक गतिविधि बढाउनका लागि युवालाई गाउँमा नै बस्ने वातावरण बनाएर कृषिमा लगाउनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारीलाई पानीका स्रोतको सुनिश्चितता गर्न अनुरोध गर्नुभयो । स्रोतको सुनिश्चितता भएमा प्रदेश सरकारले पुराना केही योजनालाई बहुवर्षे योजनामा रूपान्तरण गर्नुका साथै नयाँ योजना पनि राखिदिने आश्वासन दिनुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले स्व तिवारी जनताको अधिकारका पक्षमा लड्दालड्दै सहिद बनेको बताउनुभयो । सहिदहरू पार्टीका लागि मात्रै नभएर समग्र देशवासीका लागि भएको भन्दै उहाँले यही कारण नै अहिले लोकतन्त्रमा सबैले खुलारूपमा विचार राख्न पाएको उहाँको भनाइ छ

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा पाँच लाख भक्तजन

दमौली (तनहुँ), १ माघ : माघेसङ्क्रान्ति मेला भर्न तनहुँको पवित्र धार्मिकस्थल देवघाटधाममा करिब पाँच लाख भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समिति तनहुँका कार्यकारी निर्देशक सदन बरालले आज बिहानैदेखि देवघाटमा करिब पाँच लाख भक्तजनले मेला भर्नुका साथै वेणीसङ्गममा स्नान गरेको बताउनुभयो ।

बरालले भन्नुभयो, “देवघाटमा हिजो बेलुकादेखि नै भक्तजनको आगमन भएको थियो । आज बिहानैदेखि झन् भीड बढ्यो । हाम्रो लक्ष्यबमोजिमको उपस्थिति भएको अनुमान छ ।” मेलालाई सभ्यरुपमा सम्पन्न गराउनका लागि शान्तिसुरक्षाको प्रबन्ध मजबुद बनाइएकाले पनि कुनै घटना नभएको उहाँको भनाइ छ ।

देवघाटस्थित वेणीसङ्गममा स्थान गर्दा पुण्य प्राप्ति हुने धार्मिक मान्यता र विश्वासका कारण यहाँ हजारौँको सङ्ख्यामा भक्तजन आउने गरेको बताइन्छ । पद्मम पुराणकाअनुसार सूर्य मकर राशीमा गएका बेला माघ महिनाभर देवघाटधाममा स्नान गर्नाले पुण्य प्राप्ति हुने विश्वास रहेको उहाँको भनाइ छ । देवघाटधाम ऐतिहासिक, पौराणिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको धार्मिक तीर्थस्थल हो । गोसाइँकुण्डबाट आएको त्रिशूली र दामोदर कुण्डबाट आएको कालीगण्डकीको मिलन एवं नारायणी नदीको मुहानका रुपमा रहेको देवघाटधामको वेणीसङ्गम भएकाले यो पर्वको विशेष महत्व रहेको छ ।

मेलामा सुरक्षाका लागि तनहुँबाट एक सय नेपाल प्रहरी र ४५ जना सशस्त्र प्रहरी र चितवनबाट एक सय नेपाल प्रहरी, ३५ जना सशस्त्र प्रहरी तथा ३० जना नेपाली सेना परिचालन गरिएको थियो । मेला अवधिमा सवारीसाधन चितवनको रामनगर हुँदै देवघाट वा रामनगर–ठिमुरा हुँदै देवघाट वा दासढुङ्गा भएर देवघाटबाट प्रवेश गर्ने र फर्कंदा देवघाट–बागेश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको थियो ।

साथै मुग्लिनतर्फ देवघाट आउने सवारीसाधनलाई दासढुङ्गाबाट सिधै देवघाटधाम प्रवेश गर्ने र फर्कंदा सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको थियो । चितवनतर्फ सवारीसाधनको पार्किङका लागि साना सवारीसाधनका लागि सीताराम संस्कृत माविको कम्पाउण्डभित्र व्यवस्था मिलाइएको थियो भने ठूला सवारीसाधन (बस, मिनिबस, माइक्रो) आदिको पार्किङ व्यवस्था दाहसंस्कार स्थल प्रवेशद्वार (चन्द्रलोक स्वर्गद्वार) देखि उत्तर पूर्वक्षेत्रमा सवारीसाधनलाई सहजरुपमा पार्किङ गर्ने प्रबन्ध मिलाइएको छ । तनहुँतर्फ ठूला तथा साना सवारीसाधनको पार्किङ देवघाट–५ को खेलकुद मैदानमा व्यवस्था मिलाइएको थियो ।

इन्डोनेसियामा कराओकेमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ जना घाइते

इन्डोनेसियाको मध्य जाभा प्रान्तको तेगल शहरमा रहेको तीन तले कराओके लाउन्जमा सोमबार बिहान भएको आगलागीमा ६ जनाको मृत्यु हुनुका साथै ९ जना घाइते भएका छन् । शहर प्रहरीले जनाए अनुसार स्थानीय समय बिहान ८ बजे आगलागी भएको र दुईवटा दमकल र एउटा क्रेन ट्रकसहितको दमकल तत्काल घटनास्थलमा पठाइएको छ ।

यसैबीच, शहरको स्वास्थ्य एजेन्सीका प्रमुख जेनल अबिदिनले १५ जनालाई बाहिर निकालेर नजिकैको अस्पतालमा ल्याइएको बताउनु भएको छ।विषाक्त ग्यासको धुवाँबाट ६ जनाको मृत्यु भएको र घाइते ९ जनाको अस्पतालमा सघन उपचार भइरहेको उहाँले बताउनुभयो ।आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

टुँडिखेलमा भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुग्यो

काठमाडौँ, १ माघः माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरुबीच भागदौड हुँदा घाइते हुनेको सङ्ख्या १६ पुगेको छ । माघे सङक्रान्तिको अवसरमा मगर र थारु समुदायले आज टुँडिखेलमा आयोजना गरेको छुट्टा–छुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा १६ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।

घाइतेहरुको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको उहाँको भनाइ छ । महोत्सवमास्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरु घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते भएकामा १२ वर्षीया त्रिसना मगर, १२ वर्षीया अञ्जना तामाङ, १९ वर्षीया रेजिना घले, १६ वर्षीया निकिता मगर, ३० वर्षीया रेखा चौधरी, १६ वर्षीया अनिसा केसी छन् । साथै २५ वर्षीया कल्पना चौधरी, २२ वर्षीया मन्दिरा बस्नेत, ४० वर्षीया मिना थापा, १९ वर्षीया रिजा रेस्मी मगर, प्रहरी जवान पृथ्वी बुढामगर, २५ वर्षीया निशा राना थापा, २२ वर्षीया निर्मला श्रेष्ठ, २७ वर्षीया रश्मी नेपाल, ११ वर्षीया युनिका बराल, १४ वर्षीया करिश्मा मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक ढुङ्गेलले बताउनुभयो ।

धनुषवाण प्रतियोगितामा पर्शुराम राई प्रथम

खोटाङ, १ माघ : किरात यले संवत् अर्थात् यलेदुङ ५०८४ को उपलक्ष्यमा खोटाङको दिक्तेलमा आयोजित धनुषवाण (आर्चरी) प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका पर्शुराम राई प्रथम हुनुभएको छ । किरात गणराज्य मोर्चा खोटाङले आज दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको धनुषवाण प्रतियोगितामा सहभागी ५४ जना प्रतिस्पर्धीलाई पछि पार्दै राई प्रथम हुनुभएको हो ।

जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका सुमन राई दोस्रो र सोही नगरपालिकाको वडा नं १४ बुइँपाका राजकुमार राई तेस्रो हुनुभएको छ । विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजित प्रतियोगितामा विजयी खेलाडीलाई क्रमशः नगद रु पाँच हजार, रु तीन हजार र रु दुई हजार पुस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा विजयी खेलाडीलाई पूर्वपर्यटनमन्त्री गोपाल किरातीले पुरस्कार हस्तान्तरण गर्नुभयो । धनुषवाण प्रतियोगिता समापनका अवसरमा यले संवत् ५०८४ को शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकले जनाएको छ ।

किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय कार्यसमितिले यलेदोङ (यलम्बर संवत्)लाई राष्ट्रिय संवत् घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । कलाकार सङ्घले राजा यलम्बरको स्मृतिमा चलेको सम्वत यलदोङ (यलम्बर संवत्)लाई राष्ट्रिय संवत् घोषणा गरी लागू गर्न विज्ञप्तिमार्फत माग गरेको हो ।

सङ्घका केन्द्रीय अध्यक्ष सालिक शातासक राईले लिच्छवीकालभन्दा अगाडि ३२ पुस्ता शासन गरेका किरातीका प्रथम राजा यलम्बरको स्मृतिमा स्थापित यलदोङ÷यले तङ्बे÷यलम्बर संवत्लाई राज्यले राष्ट्रिय संवत् घोषणा गर्नुपर्ने माग गर्नुभयो ।

नयाँ यलेदोङ (यलम्बर संवत्)का अवसरमा ललितपुरको नखिपोट खेल मैदानमा उपत्यका केन्द्रित किराती नयाँ वर्ष यलेदुङको कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव पद्म थुलुङले जानकारी दिनुभयो । उदयपुरको चौदण्डीगढी, धनकुटाको मदनचोक, सुनसरीको धरान, झापा, मोरङ तथा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा पनि किरात राई सांस्कृतिक कलाकार सङ्घका जिल्ला शाखाले विभिन्न कार्यक्रम गरी यलम्बर जयन्ती मनाएका छन् ।

पाकिस्तानमा हुन लागेको राष्ट्रिय निर्वाचनको प्रचारप्रसार शुरु

पाकिस्तान – पाकिस्तानमा हुन गइरहेको राष्ट्रिय निर्वाचनका लागि सोमबारदेखि प्रचारप्रसार शुरु गरिएको छ । अदालतको फैसलाले पूर्व प्रधानमन्त्री इमरान खानको विपक्षी दललाई निर्वाचनको दौडबाट बाहिर धकेलेपछि अन्य राजनीतिक दलले निर्वाचनलाई तीव्रता दिन प्रचारप्रसार अभियान थालेका छन् । विश्लेषकहरूका अनुसार तीन पटक प्रधानमन्त्री भएका नवाज शरीफलाई समर्थन गर्दै खानलाई बहिष्कार गर्ने योजना बनिरहेको र सेनाको त्यसमा हात रहेको विभिन्न अड्कलबाजी भइरहेका छन् ।

सोमबारमात्रै शरीफको पाकिस्तान मुस्लिम लिग (नवाज) पार्टीले पूर्वी शहर ओकारामा चुनावी अभियान शुरु गर्दा हजारौं समर्थकहरू उपस्थित थिए । “यस देशलाई माया गर्नेहरूले नवाज शरीफ बाहेक अरू कसैलाई भोट दिन सक्दैनन्,” उनकी छोरी मरियम नवाज शरीफ, पीएमएल-एन पार्टीकी उपाध्यक्षले भनेकी छन् ।

यसैबीच खान – देशका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ – जेलमा परेका छन् र निर्वाचनमा भाग लिन प्रतिबन्धित छन् । शनिबार सर्वोच्च अदालतले उनको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीलाई चुनाब चिन्ह क्रिकेट ब्याट अस्वीकार गरेर नयाँ झटका दिएको छ ।

यस कदमले पीटीआईका उम्मेद्वारहरूलाई स्वतन्त्र रूपमा उम्मेदवार हुन बाध्य पारेको छ भने लाखौं निरक्षर मतदाताहरूलाई फेब्रुअरी ८ को चुनाबमा पार्टीका उम्मेदवारहरूलाई चिन्न गार्हो पर्ने देखिन्छ ।आइतवार, दक्षिणी शहर कराँचीमा आयोजित पीटीआई भेलालाई प्रहरीले आयोजकहरूलाई गिरफ्तार गर्दै तितरबितर पारेको छ ।

शुरुमा नोभेम्बरमा हुने भनिएको निर्वाचन आयोगले नयाँ जनगणनापछि निर्वाचन क्षेत्र पुन: निर्धारण गर्नेर बताएपछि ढिलाइ भएको हो । विश्लेषकहरूले खान र पीटीआईको सम्भावनालाई ध्वस्त पारेर सैन्य शक्ति जुर्मुराउन सक्ने प्रक्षेपण गरेका छन् ।

“यो विवादास्पद चुनाव हुन गइरहेको छ: एउटा पार्टीले यसलाई लोकतन्त्रको पूर्ण निषेधको रूपमा हेर्छ,” टफ्ट्स विश्वविद्यालयको इतिहासकी प्राध्यापक आयशा जलालले एएफपीलाई बताएकी छन्। उता नवाज शरीफ भने सोमबारको र्याालीमा देखा परेनन् र गत वर्षको अन्तमा बेलायतमा स्वयम् निर्वासनबाट फर्किएदेखि सार्वजनिक कार्यक्रममा प्रायः अनुपस्थित छन्।

भूकम्पीय जोखिमबारे सचेतना अभिवृद्धि गर्न भूकम्प सुरक्षा दिवस मनाईदै

काठमाडौं, १ माघ : विस १९९० को विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे समाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइदैँ आएको छ ।
भूकम्पले क्षति पु¥याएका संरचनाको पुनः निर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि सरकार, सरोकारवाला निकाय र संघसंस्थाले दिवसलाई जागरण फैलाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गर्दै आएका छन् । यसै सन्दर्भमा ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ ११’ भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस– २०८० विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएईदैँछ ।

सङ्घीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षिता आवास निर्माणबारे आमनागरिकलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउदैँ आएको हो ।
भूकम्प सुरक्षा दिवस मूल समारोहको कार्यक्रम भोलि माघ २ गते मङ्गलबार चन्द्रागिरी नगरपालिकामा हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा भूकम्प दिवसको औपचारिक समारोह आयोजना हुने गृहमन्त्रालय मातहतका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका उप–सचिव एवं प्रवक्ता ध्रुव बहादुर खड्काका अनुसार भूकम्पबाट कसरी सुरक्षित रहने र संरचना कसरी सुरक्षित बनाउनेभन्नेबारे प्रदर्शनी गरिनेछ । आजदेखि तीन दिनसम्म राष्ट्रिय गोष्ठी आयोजना हुनेछ । दिवसको सन्दर्भमा यही पुस २८ देखि माघ १५ सम्मसरकारी निकाय, संघसंस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम निर्धारित रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

दिवसलाई भव्य रुपमा सफल बनाउन गृहमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । उपत्यकाका तीन स्थान काठमाडौँको चन्द्रागिरी, ललितपुर र भक्तपुरमा मूख्य समारोह आयोजना हुनेछ । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । उक्त दिन दिउँसो २ः२४ बजे गएको ८।४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो । असी हजार घर ध्वस्त भएका थिए । ध्वस्तघरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको थियो । यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो ।

वरिष्ठ भूकम्पविद अधिकारीले विगतका भूकम्पबाट पाठ सिकेर भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचना निर्माणमा पूर्वतयारी र आवश्यक सचेतना अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“पछिल्लो जाजरकोट, बझाङ र डोटीको भूकम्पदेखि विगतको ९० सालको भूकम्पबाट पाठ सिकेर अहिलेसम्म तयारी राम्रो पुगेको छैन भन्ने कुरा हाम्रो वर्तमान पूर्वतयारीको अवस्थाले देखाउछ ।”
२६औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको हालैको बैठकले प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमहरु सहित भूकम्प सुरक्षा दिवस मनाउन सबै प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत्, जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयमार्फत् र जिल्ला समन्वय समिति एवं स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गर्ने निर्णय गरेको थियो ।

बैठकले भूकम्प सुरक्षा दिवस मार्गदर्शन, २०७१ को व्यवस्था बमोजिम चन्द्रगिरी नगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उप–समिति, सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उप–समिति गठन गरेको छ । उक्त मार्गदर्शनअनुसार दुबै उप–समितिमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट० ले सदस्य–सचिवको रुपमा कार्य गर्ने जनाइएको छ ।
भूकम्प सुरक्षा दिवसको नारासहितको पोष्टर लगायतका सामग्री मुलुकभरका विद्यालयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् उपलब्ध गराई भूकम्प सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै सो दिन सम्भव भएसम्म प्रत्येक स्थानीय तहका विद्यालयसँग भूकम्प सुरक्षा विषयमा कक्षा सञ्चालनका साथै कृत्रिम घटना अभ्यास गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् अनुरोध गर्ने निर्णय पनि भएको छ ।

बैठकले उपत्यकाभित्र र बाहिरका कम्तिमा एक÷एक उद्योगमा भूकम्पीय जोखिम न्यूनीकरण तथा सुरक्षित संरचना निर्माण सम्बन्धी सचेतना कार्यक्रमका साथै पूर्वाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरेको छ ।

बैठकले भूकम्प सुरक्षा दिवसका सन्दर्भमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन नागरिक समाज, संयुक्त राष्ट्र संघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, सामुदायिक संस्थाहरु, सञ्चार माध्यम, निजी क्षेत्र लगायत आह्वान गरेको छ । यसका साथै बैठकले भूकम्प सुरक्षा दिवस मार्गदर्शन, २०७१ लाई हालको संघीय प्रणाली अनुरुप हुने गरी परिमार्जन गरी कार्यविधिको मस्यौदाको रुपमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिमा पेश गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ ।

‘घिउ, चाकु र तरुलसँग कविता’मा वसन्त गौतम

गण्डकी, १ माघ : पोखरामा क्रियाशील साहित्यप्रेमीको ‘पुच्छारसिटे अभियान’अन्तर्गत आज ‘घिउ, चाकुु र तरुलसँग कविता’ मा कवि डा वसन्त गौतमले कविता वाचन गर्नुभएको छ ।

पुछारसिटे अभियान, पोखराद्वारा आयोजित एकल कविता वाचनको नाम नै थियो- ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा वसन्त’ । पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको आठौँ शृङ्खलामा कविता वाचकका रूपमा कवि वसन्त गौतमलाई ल्याइएको अभियानका संयोजक सञ्जीव पौडेलले बताउनुुभयो ।

विभिन्न साहित्यिक प्रतिभालाई अभियानका माध्यमबाट अघि सार्ने गरिएको पौडेलले बताउनुुभयो । कार्यक्रममा पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आउनुुभएका गौतमले सुुरुमा

“जुनेली साँझ
म यात्राको तयारीमा छु
लाग्छ,
म सधैँभरि यात्राको तयारीमा छु
भगवान !
जीवन के हो ?
यात्रा वा यात्राको तयारी ?” 

भन्दै आफ्नो कविता वाचन सुरु गर्नुुभएको थियो । कविता वाचनकै कममा आफ्ना जीवनका भोगाइ र अनुुभवसहित करिब डेढ दर्जन कविता प्रस्तुत गर्नुुभएको थियो । प्रेम, समाजका विद्यमान अवस्था, बेथितीका साथै राजनीतिक विसङ्गति आदि उहाँका रचनामा प्रस्तुत भएको थियो ।

विसं २०७४ मा स्थापित अभियानले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले हरेक असार १५ मा दही, चिउरासँग कविता र माघ १ का घिउ, चाकु र तरुलसँग कविता गरी दुई एकल कविता वाचन नियमित आयोजना गर्दै आएको छ । यसअघि पुुछारसिटे अभियानअन्तर्गत प्रकट पङ्गेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’ एकल कविता वाचनमा प्रस्तुत भइसक्नुुभएको छ ।

चिउरा, तरुल, सखरखण्ड, खुँदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरासमेतको व्यवस्था गरिएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, विश्लेषक विश्व सिग्देल, पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, साहित्यकार डा ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, गनेस पौडेल, रिता अधिकारी, अल्पज्ञानी, निष्प्रभ सजीलगायतको उपस्थिति थियो ।

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघेसङ्क्रान्ति

त्रिशूली (नवाकोट), १ माघ : नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसङ्क्रान्ति पर्वका मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो ।

गोरु जुधाइ मेलाका लागि नेपालमै उद्गमस्थल मानिएको तारकेश्वर गाउँपालिका-३ तारुकाको चन्दनीमा १७ हल र विदुर नगरपालिका-१० स्थित रसुवाको सङ्गमस्थल बेत्रावतीमा नौ हल गोरु जुधाइएको छ । पञ्चकन्या गाउँपालिका-३ पीपलडाँडामा आठहल र शिवपुरी गाउँपालिका-५ शेराबगरमा चारहल गोरु जुधाएर माघेसङ्क्रान्ति पर्व मनाउने नुवाकोटको फरक शैलीलाई निरन्तरता दिइएको हो ।

शिवपुरी गाउँपालिका-५ शेराबगरमा आयोजित गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले विकासका लागि किसानलाई प्रेरणा गर्ने कार्यक्रमलाई राज्यले प्राथमिकता दिएको बताउनुभयो । उहाँका अनुसार किसानलाई अनुदानमार्फत सक्षम बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम ल्याइएको छ ।

“किसानले नेतृत्व गरेको गोरु जुधाइलाई समय सान्दर्भिक बनाउन सरकारीस्तरबाट सहयोग हुन्छ”, उहाँले भन्नुभयो, “पर्व, संस्कृति र प्रतियोगिताले अर्थतन्त्र बलियो बनाउन र विकासको सूचाङ्क बढाउन केन्द्रित गराउनुपर्छ ।”

तत्कालीन बझाङी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा मनोरञ्जन दिन गोरु जुधाएर देखाइएको र त्यसलाई निरन्तरता दिन थालिएको माघेसङ्क्रान्ति गोरुजुधाइ महोत्सव व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार किसानले ठाउँठाउँमा स्वःस्फूर्तरुपमा जुधाउने गोरुलाई विसं २०६२ देखि समितिमार्फत व्यवस्थितरुपमा प्रतियोगिताका रुपमा सञ्चालनमा ल्याइएको हो । “गोरु जुधाइ प्रतिस्पर्धाले पशुचौपायको अधिकारको हनन् हुन्छ भने टिप्पणी भए पनि जुधाउने गोरुपालक किसानबाट पूर्वप्रशिक्षण, प्रतिस्पर्धामा आचारसंहिताको पालना, स्वास्थ्योपचारलगायत समिति सचेत हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “गोरु जुधाइले जिल्लाको पर्यटन प्रवर्द्धन, संस्कृतिको सम्वर्द्धनसहित बद्लिँदो परिवेशको मौलिकपनलाई समेत सुरक्षित बनाउन योगदान पुर्‍याएको छ ।”

माघेसङ्क्रान्ति पर्वका अवसरमा बेत्रावतीमा आयोजित गोरु जुधाइ पर्वलाई सांस्कृतिक महोत्सवका रुपमा थप बृहत् बनाउँदै लगिएको छ ।बेत्रावतीमा २०५३ सालदेखि गोरु जुधाउन सुरु भए पनि २०६७ देखि स्थानीय बेत्रावती युवा क्लबले नेतृत्व लिएर प्रतियोगिताका रुपमा व्यवस्थित गरेको संयोजक सुरज लवटले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल र भोट (चीन)बीच भएको युद्धअन्तर्गत विसंं १८४९ मा बेत्रावतीमा भएको सन्धिपश्चात् नेपाली पक्षको जीतको उत्सवमा तत्कालीन समयमा गोरु जुधाएको स्मरणमा निरन्तरता दिइएको हो । तारुका र बेत्रावतीको गोरु जुधाइ परम्पराको सुरुआतको तथ्यमा इतिहासविद्को भने फरक-फरक राय पाइन्छ ।

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री


काठमाडौँ, १ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँको टुँडिखेलमा मगर समुदायले माघी पर्वका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जानकारी दिनुभयोे ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘शासक वर्गको कठोर निरंकुशता विरूद्ध लड्न जनस्तरबाट उठेका एक क्रान्तिकारी नेता लखन थापालाई राष्ट्रिय विभूति बनाउनुपर्छ भन्ने तपाईहरूको मागप्रति म पूर्ण रूपमा सहमत छु । यसले देशभक्तिको पक्षमा, जनताको परिवर्तनको पक्षमा, निरंकुशताको विरूद्ध लोकतन्त्रको पक्षमा बलिदान गर्ने सम्पूर्ण सहिदप्रति उच्च सम्मान हुनुका साथै नेपालको क्रान्तिकारी आन्दोलन र राजनीतिक योद्धाको सम्मान हुनेछ ।”

नेपालमा बसोबास गर्ने विविध जाति एवं जनजातिहरूले आआफ्नै ऐतिहासिक मान्यता र संस्कृतिअनुसार फरक–फरक रूपमा मनाउने माघे सङ्क्रान्ति र माघी पर्वको सुखद् अवसरमा प्रधानमन्त्रीले शुभकामना व्यक्त गर्नुभयो ।
यो पर्व सांस्कृतिक विशेषता र विविधतायुक्त मात्र नभएर वैज्ञानिक मान्यतामा आधारित रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “प्रकृतिवादी समुदाय हुनुको नाताले मगर समुदायका आफ्ना गतिविधि, परम्परा र संस्कृति प्रकृतिमा आधारित रहने गर्दछन । माघी पर्व, उधौली–उभौली जस्ता संस्कृतिहरू मगर समुदायले ऐतिहासिक परम्परा र जीवनवृत्तिमा आधारित छन् ।”

प्रकृतिको सम्मान स्वरूप पूजापाठ गर्ने, आफ्नो पितृलाई सम्झने–पूज्ने र चेलिबेटीलाई आफ्नो घर बोलाएर मिष्ठान भोजन खुवाउने प्रचलन मगर समुदायमा रहिआएको छ ।

माघी पर्व शिकारी युगबाट कृषि युगमा प्रवेशको संक्रमणपूर्व प्रकृतिमा पाइने तरूल, भ्याकुर, कन्दमुल जस्ता परिकार खुवाउने, आशिर्वाद दिने जस्ता कार्यहरू हुने भएकाले माघे सङ्क्रान्ति मगर जातिको राष्ट्रिय सांस्कृतिक पर्व रहेको उहाँको कथन छ । सोही यथार्थलाई सम्बोधन गर्न आफ्नो नेतृत्वको सरकारले माघी पर्वमा राष्ट्रिय विदा दिने निर्णय गरेको समेत उहाँले स्मरण गर्नुभयो ।

भौगोलिक रूपले यति सानो मुलुकमा हामीले जातीय, भाषिक, सांस्कृतिक रूपमा जुन विविधता प्राप्त गरेका छौँ, यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्ति भएको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री दाहालले माघे सङ्क्रान्ति र माघी पर्वले हाम्रो सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई राम्रोसँग प्रमाणित गर्ने बताउनुभयो ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा मगर समुदायको अग्रणी भूमिका र योगदान रहँदै आएको स्मरण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “आज हामीले पहिचान र अधिकारसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राजनीतिक प्रणाली प्राप्त गरेका छौँ, त्यसको पृष्ठभूमिमा नेपालका प्रथम सहिद लखन थापा लगायतका क्रान्तिकारी योद्धाको बलिदान महत्वपूर्ण छ ।”

प्रधानमन्त्रीले पछिल्लो समय देशको अर्थतन्त्रले चुनौतीपूर्ण अवस्थाको सामना गर्नुपरेकाले माघी पर्वका सन्दर्भमा सरकारको सहयोग रहोस् भन्ने माग सम्बोधन गर्न नसकिएको यथार्थ प्रस्तुत गर्नुयो । उहाँले भन्नुभयो, “मेरो नेतृत्वको सरकारले अर्थतन्त्रमा सुधार ल्याउन गरेको लगातारको प्रयासले अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ । आगामी वर्ष अर्थतन्त्रमा गुणात्मक सुधार आउनेछ । त्यसले तपाईहरूले उठाउनुभएको माग सम्बोधन गर्नसमेत सहज हुने मैले विश्वास लिएको छु ।” कार्यक्रममा मगर समुदायका विभिन्न झाँकी प्रस्तुत गरिएको थियो ।

‘सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ’ – अध्यक्ष ढकाल

ढोरपाटन (बागलुङ), १ माघ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभएको छ । आज बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दैै उहाँले विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरु उत्पादन गरेको बताउनुभयो । उहाँले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सो विद्यालयका पूर्वविद्यार्थीसमेत रहनुभएका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिनुभयो । सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उहाँको सुझाव थियो ।

अध्यक्ष ढकालले भन्नुभयो, “यो विद्यालयले मुलुकका महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ ।”

गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको भन्दै शैक्षिक उन्नयन र विकासका लागि आफू लागिपर्ने बताउनुभयो । शिक्षाको विकास नभई मुलुकको विकास नहुने भएकाले सबै क्षेत्रका विद्यालय र विश्वविद्यालयको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताउनुभयो । सोही अनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वरीप्रसाद ढकाल सम्मानित हुनुभएको थियो । विसं २००७ मा स्थापना भएको थियो । विद्यालयले लामो समयसम्म विभिन्न समस्याका बाबजुद पठनपाठनलाई प्रभावकारी बनाउँदै आएकामा पछिल्लो समय भौतिक संरचना र शैक्षिक गुणस्तर बढ्दै गएको प्रधानाध्यापक तिलक आचार्यले बताउनुभयो ।

संविधान प्रदत्त अधिकारलाई सुदृढ गरेर अगाडि बढौँ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानले पहिचान र अधिकारका क्षेत्रमा धेरै अधिकार संस्थागत गरेकाले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति रचनात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँको टुँडिखेलमा आयोजित थारू समुदायको माघी पर्वलाई सम्बोधन गर्दै उहाँले प्राप्त भएको अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्छ भन्नुभयो । प्रधानमन्त्रीले वर्तमान संविधान राजनीतिक सन्तुलन र सहमतिको दस्तावेज भएको कुरामा जोड दिँदै अधिकारको रक्षा र सुदृढ नगर्दा वर्तमानका उपलब्धीसमेत गुम्नसक्नेतर्फ सम्पूर्ण नेपालीलाई सचेत गराउनुभएको छ ।

प्रधानमन्त्रीले दाहालले भन्नुभयो, ‘‘नेपालको संविधान देशमा विद्यमान राजनीतिक शक्तिहरूको सन्तुलन र सम्झौताको दस्तावेज भएका कारण उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका महत्वपूर्ण मागहरू सम्बोधन भए पनि संविधानमा सम्पूर्ण अधिकार न्यायोचित ढङ्गले व्यवस्था गर्न सकिएको छैन । यसका लागि प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक पहल लिन आवश्यक छ ।”

नेपालका भूमिपुत्र थारु समुदाय कर्मठ र इमानदार जातिका रूपमा आफ्नो छवि र पहिचान रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले अन्य जाति जनजातिलाई पनि श्रम संस्कृति र राष्ट्र निर्माणको पक्षमा सकारात्मक प्रेरणा र ऊर्जा प्रदान गरेको बताउनुभयो ।

“तपाईहरूको संस्कृति र परम्परा कृषि एवं श्रम संस्कृतिमा आधारित रहँदै आएको छ, जसबाट देशको उर्भर भूमि अपार सम्भावनामा परिणत भएको छ । त्यसकारण पनि तपाईहरूको मेहिनत र परिश्रम सिङ्गो देश निर्माणको महत्वपूर्ण आधारशीला रहिआएको छ । त्यही संस्कृतिको प्रवर्द्धन र विकासको रूपमा आज हामी माघी पर्व मनाउँदैछौँ, जुन तपाईहरूको सबैभन्दा ठूलो पर्वसमेत हो ।” प्रधानमन्त्रीले भन्नुभयो ।

नेपालको राजनीतिक आन्दोलनमा थारू समुदायको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा थारु समुदायको संघर्ष र बलिदान रहेको स्पष्ट पार्नुभयो ।

थारू आयोगले थारू सम्वद्ध नीति निर्माणका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने तथा सुझाव दिने, सरकारद्वारा सञ्चालित नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र समुदायको सशक्तीकरणका लागि चेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका प्रधानमन्त्रीको कथन छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा व्यवस्था गरिएका अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निम्ति रचनात्मक ढङ्गले प्रस्तुत हुन प्रधानमन्त्रीले अपिल गर्नुभयो । यस पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय सङ्कल्प र प्राथमिकतामा केन्द्रित हुन थप उत्प्रेरणा मिल्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा थारु समुदायका सांस्कृतिक भेषभूषासहितको प्रदर्शनी गरिएको थियो ।

कारागारमा रहेकी इरानी नोबेल पुरस्कार विजेतालाई नयाँ सजाय

इरानको एक अदालतले सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई कारागारमा रहेका बेला इस्लामिक गणतन्त्रविरुद्ध प्रचार गरेको आरोपमा एक वर्षभन्दा बढी कारागार सजाय सुनाएको उहाँको परिवारले सोमबार बताएको छ ।

मोहम्मदीले बहिष्कार गरेको मुद्दापद्धि रिभोल्युसनरी अदालतले १५ महिनाको कारागार सजाय सुनाएको परिवारले विज्ञप्तिमा बताएको छ । उहाँलाई तेहरानबाहिर दुई वर्ष निर्वासनमा बिताउन आदेश दिइएको थियो भने दुई वर्ष भ्रमणमा प्रतिबन्ध र स्मार्टफोनको प्रयोगमा दुई वर्षको प्रतिबन्ध लगाइएको थियो । यी प्रतिबन्ध उहाँको रिहाइपछि लागु हुनेछ ।

परिवारका अनुसार सन् २०२१ मार्चपछि मोहम्मदीलाई यो पाँचौँ सजाय हो । यसमा अहिले १२ वर्ष तीन महिनाको कैद, एक सय ५४ कोर्रा, दुई वर्षको निर्वासन र विभिन्न सामाजिक तथा राजनीतिक प्रतिबन्ध समावेश छन् ।

परिवारले फैसलाको निन्दा गर्दै भनेको छ, “यो एउटा ‘राजनीतिक वक्तव्य’ जस्तो छ, फैसलाले ‘उहाँले बारम्बार अराजकता र गडबडी उत्पन्न गर्नका लागि इस्लामिक शासनविरुद्ध सार्वजनिक तथा व्यक्तिगत विचारहरूलाई उक्साउनुभएको र प्रोत्साहित गर्नुभएको’ आरोपलाई जोड दिएको छ ।”

मोहम्मदीलाई इरानमा मानवअधिकारका लागि उहाँको अभियानको मान्यतामा सन् २०२३ को नोबेल शान्ति पुरस्कार दिइएको थियो । ओस्लोमा उहाँका तर्फबाट परिवारले उक्त पुरस्कार ग्रहण गरेको थियो । उहाँले पछिल्लो दुई दशकको अधिकांश समय कारागारभित्र र बाहिर बिताउनुभएको छ र सन् २०२१ नोभेम्बरमा आफ्नो सबैभन्दा पछिल्लो सजाय काट्न सुरु गर्नुभएको छ ।

यद्यपि तेहरानको एभिन कारगारमा रहेर पनि उहाँले आफ्नो अधिकारहरूका लागि अभियान सञ्चालन गर्न छाड्नुभएको छैन । उहाँले अधिकारीहरूमाथि व्यवस्थित उल्लङ्घनको आरोप लगाउनुभएको छ र विशेषरूपमा मृत्युदण्डको उनीहरूको प्रयोगको आलोचना गर्नुभएको छ ।

इस्लामिक गणतन्त्र इरानमा अनिवार्य हिजाबको कट्टरविरोधी मोहम्मदीले कारागारभित्र हेडस्कार्फ लगाउने नियमहरूको पनि अवहेलना गर्नुभएको छ । उहाँका परिवारका अनुसार त्यसैले मोहम्मदीलाई धेरै दण्ड दिइएको छ । उहाँलाई विशेषरूपमा फोन गर्ने अधिकारबाट वञ्चित गरिएको छ ।

हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले हाइपरसोनिक युद्धाभ्यासयुक्त नयाँ ब्यालेस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको सोमबार बताएको छ । उक्त परीक्षण दक्षिण कोरियाली र अमेरिकी लक्ष्यहरूलाई धम्की दिनका लागि उन्नत हतियारको खोजीमा पछिल्लो सफलता भएको उसको भनाइ छ ।

प्योङयाङको यस वर्षको पहिलो ज्ञात हतियार परीक्षण र ठोस–इन्धन हाइपरसोनिक मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र (आइआरबिएम) को पहिलो परीक्षण सोलको सेनाले आइतबार दिउँसो पत्ता लगाएको थियो ।

आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) को संक्षिप्त रिपोर्टले ठोस–इन्धन आइबिआरएमबी हाइपरसोनिक युद्धाभ्यास नियन्त्रित वारहेडयुक्त भएको बताएको छ । परीक्षणको उद्देश्य हतियारको ‘ग्लाइडिङ र कौशलता विशेषताहरू’ तथा ‘नयाँ विकसित बहुचरण उच्च थ्रस्ट ठोस–इन्धन इन्जिनको विश्वसनीयता’ लाई प्रमाणित गर्नका लागि भएको केसिएनएले बताएको छ ।

केसिएनएले आइतबारको प्रक्षेपणबाट कुनै पनि छिमेकी मुलुकको सुरक्षामाथि कुनै असर नगरेको र यसको क्षेत्रीय अवस्थासँग कुनै सरोकार नभएकोसमेत बताएको छ ।

यद्यपि प्योङयाङले दक्षिण कोरियासँगको मुलुकको तनावपूर्ण सामुद्रिक सीमा नजिकै लाइभ–फायर अभ्यास आयोजना गरेको केही दिनपछि यो परीक्षण भएको छ । यसले जवाफी अभ्यास र केही दक्षिण कोरियाली सीमावर्ती टापूहरूलाई खाली गर्न आदेशलाई प्रेरित गरेको छ ।

गत साता उत्तर कोरियाली नेता किम जोङ उनले सोललाई आफ्नो ‘प्रमुख दुश्मन’ को संज्ञा दिएपछि र प्रमुख हतियार कारखानाहरूको भ्रमण गर्दा दक्षिण कोरियालाई नष्ट गर्न आफूले कुनै सङ्कोच नमान्ने चेतावनी दिएपछि यस्तो परीक्षण भएको छ ।

सोलको रक्षा मन्त्रालयले प्रक्षेपणको निन्दा गर्दै उत्तर कोरियाले दक्षिणविरुद्ध ‘प्रत्यक्ष उत्तेजना’ गरेको खण्डमा ‘अत्यधिक प्रतिक्रिया’ दिने बताएको छ । उत्तर कोरियाको यो व्यवहार स्पष्टरूपमा उत्तेजित पार्ने खालको छ जसले “ब्यालेस्टिक क्षेप्यास्त्रको प्रयोगमाथि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गर्दछ, साथै हामी कडा चेतावनी जारी गर्दछौँ र यसलाई तुरुन्त रोक्न आग्रह गर्दछौँ ।”

ठोस–इन्धन क्षेप्यास्त्रहरूलाई लुकाउन सजिलो हुन्छ र यसलाई फायर गर्न छिटो हुन्छ । हाइपरसोनिक क्षेप्यास्त्रहरूले सामान्यतया प्रयोगकर्ताहरूलाई लक्ष्यमा राम्रोसँग हिट गर्नका लागि उडानमा कौशलता देखाउन अनुमति दिन्छ । दुवै प्रविधि लामो समयदेखि मिको उद्देश्यहरूको सूचीमा छन् ।

“उत्तर कोरिया एकै समयमा ठोस इन्धन रकेट बुस्टरको प्रयोग गरेर हाइपरसोनिक क्षेप्यास्त्र तथा आइआरबिएमको विकासका लागि अगाडि बढिरहेको छ”, कोरिया रिसर्च इन्स्टिच्युट फर नेसनल स्ट्राटिजीका क्षेप्यास्त्र विशेषज्ञ चाङ यङ–क्युनले भन्नुभयो, “मध्यमदेखि लामो दूरीका हाइपरसोकि क्षेप्यास्त्रहरू अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट बच्न गुआममा हमला गर्न विशेषरूपमा उपयोगी हुनेछन् ।”उत्तर कोरियाको अन्तिम क्षेप्यास्त्र परीक्षण डिसेम्बर १८ मा ह्वासोङ–१८ ठोस–इन्धन अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र (आइसिबिएम) को थियो ।

केसिएनएले आफ्नो सोमबारको रिपोर्टका साथ क्षेप्यास्त्र परीक्षणको एउटा तस्बिर पनि जारी गरेको छ जसमा परीक्षणको निरीक्षण गर्न किम उपस्थित भएको उल्लेख गरिएको छैन । अमेरिकास्थित विश्लेषक अङ्कित पाण्डाले विशेषज्ञ साइट एनके न्युजसँग तस्बिरले क्षेप्यास्त्रमा एउटा कथित म्यानुभरेबल रि–इन्ट्री वाहन (एमआरभी) पनि देखाएको बताउनुभयो । उहाँका अनुसार प्योङयाङले उन्नत सटीकता र क्षेप्यास्त्र प्रतिरक्षालाई ‘राम्रोसँग आरपार गर्ने’ क्षमतायुक्त हतियार विकसित गर्ने प्रयास गरिरहेको छ ।

गत वर्ष किमले संविधानमा आणविक शक्तिका रूपमा मुलुकलाई स्थायी हैसियतमा पुर्याएपछि र उन्नत आइसिबिएमको परीक्षण गरेपछि दुवै कोरियाबिचको सम्बन्ध दशकौँमा सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।

यसैबिच परम्परागत सहयोगी रुस र उत्तर कोरियाले हालै सम्बन्धलाई बढाएका छन् । किमले सेप्टेम्बरमा रुसको सुदूरपूर्वमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न एउटा दुर्लभ विदेश भ्रमण गर्नुभएको थियो ।

मस्कोका रक्षा तथा विदेशमन्त्रीसहित वरिष्ठ रुसी अधिकारीहरूले पनि गत वर्ष उत्तर कोरियाको भ्रमण गरेका थिए । दुवैतर्फको भ्रमणबाट सम्भावित हतियार सम्झौताको सम्भावनामाथि किएभका सहयोगीहरूबिच चिन्ता बढेको थियो ।

केसिएनएको रिपोर्टअनुसार सोमबार विदेशमन्त्री चो सोन हुईको नेतृत्वमा उत्तर कोरियाली सरकारको एक प्रतिनिधिमण्डल आधिकारिक भ्रमणका लागि मस्को पुगेको छ । गत वर्ष प्योङयाङले एउटा जासुसी उपग्रह सफलतापूर्वक अन्तरिक्ष कक्षमा स्थापना गरेको थियो । यसलाई दक्षिण कोरियाले युक्रेनमा मस्कोलाई युद्धका लागि हतियारको खेपको बदलामा रुसी सहयोग प्राप्त भएको दाबी गरेको थियो ।

कठिन आर्थिक स्थिति भए पनि प्योङयाङले सन् २०२३ मा आफ्नो पहिलो ठोस–इन्धन आइसिबिएमयुक्त हतियारहरूको परीक्षणको रेकर्ड–ब्रेकिङ शृङ्खला आयोजना गरेको थियो । यसलाई विश्लेषकहरूले ठूलो प्राविधिक सफलता भनेका छन् ।
–––

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

वीरगञ्ज (पर्सा), १ माघ : कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानाका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो ।

सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ । भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।

संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएको जानकारी दिनुभयो । जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा आउनेहरुको स्क्रिनिङ गर्ने गरिएको र त्यसमध्ये शङ्कास्पद व्यक्तिको मात्र एन्टिजेन परीक्षण गर्ने गरिएको यादवको भनाइ छ । एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाउने गरिएको उहाँले बताउनुभयो ।

हेल्थ डेस्कमा हाल दुई स्टाप नर्स, तीन हेल्थ असिस्टेन्ट, दुई ल्याब टेक्निसियन र एक ल्याब असिस्टेन्ट गरी आठजना स्वास्थ्यकर्मी परिचालन गरिएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ । पछिल्लो केही समययता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, तेलागनलगायत राज्यमा पुनः कोरोना सङ्क्रमण फैलिन थालेपछि भारतीय सीमासँग जोडिएका क्षेत्रमा स्वास्थ्य सतर्कता बढाइएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

होल्डिङ सेन्टर तयारी अवस्थामा

वीरगञ्जस्थित सीमानाकामा स्थापना गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको छ । कोभिड– १९ को पहिलो लहर फैलिएपछि सरकारको विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना रोकथाम तथा नियन्त्रणकोे उद्देश्यका साथ यहाँस्थित सीमानाकामा होल्डिङ सेन्टर निर्माण गरिएको थियो ।

निर्माण गरिएको होल्डिङ सेन्टर तयारी अवस्थामा राखिएको वीरगञ्ज महानगरका स्वास्थ्य शाखा संयोजक यादवले जानकारी दिनुभयो । कोरोनाको पहिलो तथा दोस्रो लहरमा क्वारेन्टिन अभावका कारण विद्यालय र कलेजलाई क्वारेन्टिन बनाइएको भन्दै आलोचना भएपछि निर्माण गरिएको होल्डिङ सेन्टरलाई अहिले नेपाली सेनाले सुरक्षा दिएर राखेको उहाँको भनाइ थियो ।

भारतबाट आएकालाई क्वारेन्टिनमा राख्नका लागि पर्सामा करिब रु २८ करोडको लागतमा कूल ६० भवन निर्माण गरिएका यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवनमा १३ भान्सा घर र २२ शौचालय बनाइएका छन् ।

उक्त क्वारेन्टिनमा एक हजार शय्या छन् । जसमध्ये नौ सयमा सामान्य लक्षण भएकालाई र एक सय शय्यामा जटिल अवस्थाका बिरामीलाई राखिने छ । त्यस्तै, अन्य तीन वटा एसिसहितका भवन अनुगमन गर्न आउने सरकारी प्रतिनिधिका लागि निर्माण गरिएको संयोजक यादवले बताउनुभयो ।

संविधान कार्यान्वयन गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राष्ट्रपतिको आग्रह

काठमाडौ १ माघ :राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा छाएको बताउँदै सङ्घीय संसद्मा रहेका दललाई संविधान कार्यान्वयनका लागि तत्काल आवश्यक कानुन बनाउन आग्रह गर्नुभएको छ ।

माघीका अवसरमा शीतल निवासमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई सम्बोधन गर्दै उहाँले समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपतिले भन्नुभयो–“यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको छ । जनतालाई यो अधिकार दिइएकामा विश्व समुदायले पनि हाम्रो संविधानको प्रशंसा गरेको छ । संविधान व्यावहारिक रूपमा पूर्णरुपेण कार्यान्वयन हुन बाँकी छ । जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न शीघ्र कानुन बनाएर जनताको निराशालाई आशामा परिणत गरौँ ।” उहाँले नेपाली जनताले कहिल्यै पछाडि फर्कन नचाहेको स्पष्ट पार्नुभयो । “नेपाली जनताको चाहना मैले पनि बुझेको छु । नेपाली जनता कहिल्यै पछाडि फर्कन चाहँदैनन् । उनीहरूको चाहनाअनुसार अगाडि बढ्ने हो । त्यसैले समावेशी सङ्घीय लोकातान्त्रिक गणतन्त्रलाई साकार पारेर जनताको त्यो चाहना पूरा गर्ने तपाई हामी सवै मिलेर आजको दिनमा प्रण गरौँ,”राष्ट्रपति पौडेललाई उद्धृत गर्दै राष्ट्रपतिको निजी सचिवालयका एक अधिकारीले राससलाई बताउनुभयो ।

त्यस अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रियसभाका उपाध्यक्ष, सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका संसदीय दलका नेता, संसदीय समितिका सभापति र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो ।

चितवनमा देशभरका कुमाल समुदायले मनाए माघे सङ्क्राति

भरतपुर, १ माघ : आफ्नो पहिचान र संस्कृतिको संरक्षणको लागि देशभरका कुमाल समुदाय अगुवाहरु चितवनमा भेला भएर माघे सङ्क्राति पर्व मनाएका छन् । कुमाल समाज नेपालले पहिलोपटक चितवनको गोलाघाटमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कार्यक्रमको शुभारम्भ गर्नुहुँदै सबै जातजाति र धर्मसंस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले कुमाल समुदायको संस्कार संस्कृति संरक्षणका लागि सहायोग गर्ने बताउनुभयो । यही पुस २८ गतेबाट सुरु भएको कार्यक्रम आज प्रकृतिको पूजासँगै समापन हुँदैछ ।कुमाल समुदायले माघे सङ्क्रान्तिलाई माघे सङ्क्राति भन्छन् । आफ्नो पहिचान स्थापित गराउनका लागि पहिलोपटक ठूलो मेला लगाएको कुमाल समाज नेपालका केन्द्रीय अध्यक्ष तेलबहादुर ( कुमालले जानकारी दिनुभयो । राप्ती र नारायणी नदीको सङ्गमस्थल गोलाघाटमा बृहत् सांस्कृतिक कार्यक्रमसहित कार्यक्रम आयोजना गरेर कुमाल समाजको केन्द्रीय समितिले देशभरका कुमाललाई एकै ठाउँमा उभ्याउने प्रयास गरेको उहाँले बताउनुभयो ।सांस्कृतिक कार्यक्रमसहित मौलिक भेषभूषा प्रदर्शनको साथै युवा पुस्तालाई पहिचानसम्बन्धी प्रशिक्षण दिइएको छ । मेला परिसरमा कुमाल जातिको पुरानो मौलिक घरसमेत निर्माण गरिएको छ । गोलाघाटको नदीकिनारमा सबैभन्दा आकर्षणको केन्द्र यही घर बनेको छ ।मेलाका प्रचारप्रसार संयोजक राजन कुमालका अनुसार माघे सङ्क्राति कुमाल समुदायका लागि सबैभन्दा ठूलो पर्व पनि हो । पछिल्लो समय कुमाल जातिको आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा लोप हुँदै गइसकेको हुँदा संरक्षणका लागि नि यस्ता कार्यक्रम आवश्यक पर्न थालेको उहाँले बताउनुभयो । चितवन जिल्लामा अधिकांश कुमाल बाहिरी जिल्लाबाट बसाइ सरेर आएको हुँदा तीन पुस्ता पहिलेदेखि नै भाषा, संस्कृति लोप भइसकेको उहाँले बताउनुभयो ।कुमाल जातिमा माटोको भाँडा बनाउने परम्परा पनि करिब करिब लोप भइसकेको हुँदा मौलिक सीप संरक्षण र संवद्र्धनका लागि पनि यो मेला विशेष हुने उहाँ बताउनुहुन्छ । कुमाल जातिले माटोको भाँडा बनाउने पेसा अपनाउने कुरा थाह पाए पनि चितवनमा अहिलेसम्म कुनै पनि कुमालले यो काम गरेको पाइएको छैन ।नेपाल कुमाल समाजले कुमाल समुदायको लागि माघे सङ्क्रान्ति दसैँ, तिहारभन्दा ठूलो पर्व भएको जनाएको छ । यस पर्वका बारेमा सरकारले सम्बोधन गरोस् भनेर भरतपुरमा यो पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ । कुमाल समुदाय देशका ७० जिल्लामा बसोबास गर्छन् ।पछिल्लो जनगणना अनुसार एक लाख २९ हजार सात सय दुई रहेका छन् । यस कार्यक्रममा ७० जिल्लाबाट झण्डै छ हजार कुमाल समुदायका मानिस सहभागी भएका छन् । आज कुमाल समुदायमा बिहानै घरको मुली खोलामा गएर नुहाएपछि घरमा आइ पितृको नाममा पानी चढाए । त्यस्तै कुखुरा काटेर चामल र रगतमा मुछेको टिका लगाइएको कुमाल समाज नेपालले जनाएको छ । आज माघे सङ्क्रान्तिको दिन छोरी कुटुम्बलाई घरमा बोलाएर पुजिएको छ भने कुखुरा, सुँगुरको मासु, माछा, सेलरोटी, खुदौरो, भाते जाँड जसता मिठामिठा परिकार तथा प्राकृतिक फल खान दिइएको छ ।

मेलम्चीको पानी काठमाडौँवासीलाई नियमित उपलब्ध गराउँछौँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकावासीलाई मेलम्चीको पानी नियमितरुपमा उपलब्ध गराइने बताएका छन् । सिंहदरबारमा सोमबार आयोजित मेलम्ची खानेपानीको पथान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले दिगोरुपमा खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए ।

प्रधानमन्त्री दाहालले खानेपानीको दिगो व्यवस्थापनका लागि दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने उल्लेख गरे । काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई ध्यानमा राखेर खानेपानीको बढ्दो माग र आपूर्ति पूरा गर्नुपर्नेमा उनले जोड दिए ।

“काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत छ । मेलम्ची खानेपानी आयोजनाको हेडबक्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ”, प्रधानमन्त्री दाहालले भने ।

आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई पुनःनिर्माण कार्य कार्यान्वयन गरिने तथा हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रैमास सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन प्रधानमन्त्री दाहालले सम्बन्धित पदाधिकारीलाई निर्देशन दिए । उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सैँ घण्टा उपभोक्ता सदस्यको धारामा वितरण गर्ने व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।

“सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौँ उपत्यकामा नयाँ वितरण प्रणाली र फोहर पानी प्रशोधन प्रणालीसमेत विकास गरिनेछ”, प्रधानमन्त्री दाहालले भने । सिएमसी कम्पनीले बीचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा दिलबहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने उनले बताए ।

चाडपर्वले एकापसमा एकता र सद्भाव कायम गर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, १ माघ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रत्येक जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्वका माध्यमबाट एकापसमा एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

अध्यक्ष नेपालले माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज शुभकामना दिनुहुँदै धार्मिक, सांस्कृतिक, जातीय एवं भाषिक विविधताको संरक्षणबाट राष्ट्रिय एकता सुदृढीकरण गर्न सकिने उल्लेख गर्नुभयो । साझा नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा यस्ता चाडबाडको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उहाँले नेपालीले आ–आफ्नो मौलिकताका साथ मनाउने मकर सङ्क्रान्ति अर्थात् माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्गसहित आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अक्षुण राख्न सबैलाई अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ–आफ्नो समुदायको संस्कृतिअनुसार तरुल, सेलरोटी, घ्यू, सख्खर, तिलको लडडु, खिचडी, ढिक्रीजस्ता परिकार खाँदै मनाइने चलन रहिआएको पर्वका अवसरमा अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको थप प्रगतिको कामना गर्नुभएको छ ।

मुलुकले राजनीतिक प्रतिबद्धता खोजिरहेको छ : सांसद गौतम

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका पछाडि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहास छ । विभिन्न कालखण्डका राजतन्त्र, निरङ्कुशता र केन्द्रीकृत शासन व्यवस्थालाई त्याग्न हामीबीचको एकता तथा साझा प्रतिबद्धताकै कारण अहिलेको व्यवस्था ल्याउन हामी सफल भएका हौं ।

राजनीति भनेको सेवा हो । जबसम्म राजनीति सेवाभावले गरिदैँन तबसम्म सही प्रतिफल प्राप्त गर्न सक्दैँनौ । प्राप्तिको चाहना राजनीति हुन सक्दैँन । लामो सङ्घर्षबाट ल्याएको अहिलेको उत्कृष्ट राजनीतिक प्रणाली व्यवस्थापन गर्न हिजोजस्तै राजनीतिक प्रतिबद्धता मुलुकले खोजिरहेको छ ।

सङ्घीयतालाई व्यवस्थापन गर्नेतर्फ जानुपर्छ भन्नेमा सांसदको दुईमत छैन । एकरुपता नै छ । तर नेतृत्वमा सुधार गर्ने बानी देखिँदैन । सुधारको लक्षण आजको आवश्यकता हो । राजनीतिप्रति निराश भएका जनतालाई विश्वास जगाउनुपर्छ । हामी बहुदलीयता र बहुलवादसहितको खुला समाजमा छौँ । नेपालको संविधानले प्रत्यक्ष र प्रतिनिधिमूलक लोकतन्त्रको सम्मिश्रणसहित प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीको अभ्यास अवलम्बन गरेको छ । तर, संविधानको परिकल्पना तथा भावनाभन्दा बाहिर गएर काम गर्दा हामीमाझ समस्या देखापरिरहेका छन् ।

संविधानले सबै जातजाति, धर्म, वर्ग, सिमान्तकृत समुदायलाई लक्षित गरी ल्याएको समानुपातिक समावेशीताको प्रयोग, मनपरेका व्यक्तिको भर्तीकेन्द्र बनेको छ । संविधानको भावना र सिद्धान्तबाट बाहिर गएपछि समस्या आउँछ । यसैको प्रतिफल अहिले हामी भोग्दै छौँ। कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी लिएका हामीले विषयगत समितिमा छलफल गरिरहेका छौँ । विषयको उठान पनि गरेका छौँ । अबको अधिवेशनमा बाँकी रहेका कानुन बनाउन पहल बनाउनुपर्छ भन्ने छ ।

संसदीय अभ्यासबाट म आफूसँग पनि सन्तुष्ट छैन । एक वर्षमा हामीले जति गर्नुपर्ने थियो त्यति गर्न सकिएन । कानुन बनाउन निर्वाचित भएका हामीले अघिल्लो अधिवेशनमा एउटा मात्र कानुन बनाएका छौँ । कानुन नबनाउने, राजनीतिक व्यवस्थाको व्यवस्थापन नगर्ने, संविधानको परिकल्पना तथा मर्मभन्दा बाहिर गएर कार्यान्वयन गर्ने तर प्रतिफल उत्कृष्ट खोेज्छौँ । समस्या यहाँनिर छ । व्यवस्थामा कमजोरी होइन, हामीमा छ । जसरी हामीले संसदीय अभ्यास गर्नुपथ्र्यो सोहीअनुसार हामीले नगरेका हौँ ।

संसद्ले काम गरेन भनेको मतलब सरकाले संसद्लाई काम दिएन भन्नु हो । म सरकार पक्षकै सांसद हो । एउटा मात्र कानुन बन्नुको पछाडि हामीले संसद्लाई बिजनेस दिन सकेनौँ । त्यसको समीक्षा सरकारले गर्नुपर्छ । हामीले हाम्रो संसदीय दलको बैठकमा, हामी गठबन्धनका नेताहरुसँग, सबै दलका साथीहरुसँग भन्छौं, सरकारले बिजनेस त दिनुप्र्यो नि । कानुन बन्न नसक्नुको दोष सरकारलाई जान्छ ।

सांसदको मुख्य जिम्मेवारी प्रभावकारी बन्न नसक्दा संसद्मा खर्च मात्र भयो, रकम दुरुपयोग, सांसदले यत्ति पैसा खाए, सिध्याएलगायतका नकारात्मक भाष्य निर्माण भएको छ । सांसदलाई निरिह बनाएर राखिएको छ । समाजमा हामीले जुन किसिमको नकारात्मकता निर्माण गरेका छौँ । जहाँ चपाउने दाँत एउटा, देखाउने दाँत अर्को । सरकार संसद्प्रति जिम्मेवार हुनुपर्छ । संसद् पनि आम जनताप्रति उत्तरदायी हुनुपर्छ । यो अन्योन्याश्रित सम्बन्ध छ ।

जनतालाई सुशासनको अनुभूति दिलाउन, हामी सुध्रिनुको अर्को विकल्प छैन । मुलुकमा भ्रष्टाचार मौलाउँदै जानु, सुशासन कायम गर्न नसक्नुमा दोषी अरु कोही होइन, हामी नै हौं । हामी व्यक्ति दोषी हौँ । राजनीतिक दल दोषी हो । हामी सुध्रिनु आवश्यक छ । हामीले आफूलाई सुधार नगरी अर्कालाई दोष लगाएर पन्छिन खोज्ने हो भने झन समाजलाई अर्को ठाउँमा लगिदिन्छ । अहिलेको जनताको सबैभन्दा ठूलो समस्या हामीले सुशासन दिन सकेनौँ ।

तीन तहका सरकारले भ्रष्टाचारलाई नियन्त्रण गरी सुशासनको प्रत्याभूति दिन सके जनतामा आशा, भरोसा, उत्साहको वातावरण सिर्जना हुन्छ । युवाको बहिर्गमन पनि रोकिन्छ । संविधानको परिकल्पना, विधिविधानभन्दा बाहिर जानुहुँदैन । त्यो परिधिभन्दा बाहिर गई कार्यान्वयन गर्दा समस्या आएको छ । तसर्थ सुधारको सुरुआत आफैँबाट गर्नु आवश्यक छ ।

एउटा पुस्ताले दुःख नगरी मुलुक बनेको छैन । त्यसकारण एउटा पुस्ता उच्चरुपमा काम गर्न तयार हुनैपर्छ । अबको समय हामीले आफूलाई त्यसका लागि तयार गर्ने हो । सहरमा विलासी जीवनमा रमाउनुपर्छ भन्ने मानसिकताले मुलुकमा अनियमिता मौलाएको छ । हामीले भ्रष्टाचार नियन्त्रण गर्नैपर्छ । सुशासन दिनैपर्छ । हामीसँग अर्को विकल्प छैन ।

सफल संसदीय अभ्यासलाई प्रभावकारी बनाउन नेतृत्वमा रहेका व्यक्ति इमानदार हुनुपर्छ । संविधानको परिकल्पनाभन्दा बाहिर गएर काम नगर्नेमा प्रतिबद्ध रही कार्यान्वयन गरेमा सोहीअनुसारको प्रतिफल प्राप्त गर्न सकिन्छ । अहिलेको व्यवस्थाप्रतिको जनताको माया अपार छ जसले सांसदको गरिमा बढाएको छ ।

लामो समयदेखि केन्द्रीकृत शासन प्रणाली पाएका जनताले सङ्घीय सरकारको भूमिका कानुन बनाउने, विधिसङ्गत रुपमा शासन सञ्चालन गर्ने, प्रणालीलाई व्यवस्थित गर्नमा केन्द्रित हुन्छ भनी बुझ्न सकेका छैनन् । हामी व्यवस्थाअनुसारको सांसदको भूमिका जनतालाई बुझाउन सकेका छैनौँ । जनताको एकात्मक शासन व्यवस्थामा रहेको मनोविज्ञान केन्द्रीकृत शासन व्यवस्थामा आइपुग्दा पनि परिवर्तन गर्न सकेका छैनौँ ।

जनतालाई सांसदप्रति विश्वासको वातारण निर्माण गर्न आवश्यक छ । मेरो पहिलो कार्यकाल अन्य कार्यकालको तुलनामा बढी प्रभावकारी बन्यो । त्यसपछिका कार्यकाल क्रमशः कम प्रभावकारी बने । कारण हिजोको व्यवस्थामा सांसदको भूमिका आज पनि अपेक्षा गर्नु । सडक निर्माण, खानेपानी, बिजुलीलगायतका विकास निर्माणका काममा स्थानीय सरकारको प्रत्यक्ष भूमिका रहने तर जनताले सङ्घीय सरकारबाट अपेक्षा गर्दा हामीप्रतिको विश्वास घट्दो पाइन्छ । जनताले विकासका पूर्वाधार निर्माणका समस्यालाई सम्बोधन गर्न स्थानीय तथा प्रदेश सरकारलाई सचेत गराउने अप्रत्यक्ष रुपमा भूमिका हामी निर्वाह गरिरहेकै हुन्छौँ । हामी जनताका प्रतिनिधि हौँ । जनताका समस्या सम्बोधनमा सहजीकरण गर्नुपर्छ ।

व्यक्तिगत रुपमा म स्थानीय सरकारलाई अझ बलियो बनाउनुका साथै लगाम पनि लगाउने गर्नुपर्छ भन्ने पक्षमा छु । अझ बढी अधिकार दिई सशक्त तथा सक्षम बनाउनुपर्छ । स्थानीय सरकार भएपछिका कामकारबाही धेरै ठाँउमा राम्रा छन् । तर कतिपय ठाउँमा परिकल्पना बाहिर गएको पाइन्छ । स्थानीय सरकार बेलगाम भएको छ । स्थानीय सरकारले आफैँ खर्च गर्ने, बजेट निर्माण, कानुन निर्माण गर्छ । उसले प्रतिपक्षको सामना गर्दैन । स्थानीय तहलाई प्रतिपक्ष भएको बनाउनुप्र्यो । पार्टीले पालिका प्रमुख उपप्रमुखको टिकट दिएर वडाध्यक्षको नदिई स्वतन्त्र छोडिनुपर्यो । जो मान्छे सक्षम, क्षमतावान् छ उहीँ आउँछ । पार्टीको छत्रछायाँमा हुने अपराधिक गतिविधि सङ्गठित अपराधजस्तो भयो । यसबाट रोक्नुपर्छ ।

मेरो निर्वाचन जिल्ला बर्दिया कृषिको प्रचुर सम्भावना रहेको छ । कृषिमा आधारित अर्थतन्त्र छ । मेरो प्राथमिकता किसान हो । तर किसानले मल, बीउ, सिँचाइ, बजार पाएका छैनन् । जुन मैले मेरा मतदातालाई कृषिका सामग्री दिन सकिन । जनता कहाँबाट खुसी हुनु ? बर्दिया राष्ट्रिय निकुञ्जले ५२ प्रतिशत क्षेत्र ओगटेको बर्दियामा जङ्गली जनावरको आतङ्क छ । राष्ट्रिय निकुञ्जको व्यवस्थापन हामीमाझ ठूलो चुनौतीको विषय हो । तीस वर्षसम्म पनि बबई सिँचाइ आयोजना सम्पन्न हुनसकेको छैन । राज्यको नीतिनिर्माणमा हामी छौँ तर एकथरीले साँचो लिएर बसेको छ खोल्दै खोल्दैन । संसद्मा बोलेर, कराएर मात्र पनि नहुँदो रहेछ । तुलनात्मक रुपमा जनता केही सन्तृष्ट होलान तर अपेक्षाअनुरुप सन्तुष्टिको वातावरण सिर्जना हुन सकेको छैन ।

(सांसद गौतमसँग रासस समाचारदाता सीता भट्टराईले गर्नुभएको कुराकानीमा आधारित )

चिचर र घोगी घरबासका पहिचान

त्रिवेणी (नवलपरासी), १ माघ : नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा अब यहाँको थारू समुदायले सञ्चालन गरेका घरबासको पहिचान बनेको छ । नवलपुरमा सञ्चालित अमलटारी, चिलाहा रतवल, पिप्रहर, शिसवार माझी मुसहर सामुदायिक घरबासलगायतका घरबासमा आउने पाहुनाले स्थानीय परिकारमा चिचर, घोगी र माछाका परिकार नै रोज्ने गरेका पाइएको छ ।

“हाम्रो घरबासमा आउने पाहुना आफैँले चिचर खोज्नुहुन्छ, हामीले दैनिकजसो चिचर पकाउने गरेका छौँ”, अमलटारी सामुदायिक घरबासका सञ्चालक नरबहादुर महतोले भन्नुभयो, “थारू समुदायले खाने परिकार हिजोआज पर्यटकको रोजाइ बनेका छन् ।” चिचरसँगै नुमैचा (भुटेर तयार पारिएको नुन खुर्सानीको धुलो) समेत घरबासमा आउने पाहुनाको रोजाइमा पर्ने गरेको महतोले बताउनुभयो । घरबासमा पर्यटकलाई बिहानको खाजामा सधैँजसो चिचर, नुमैचा र माछा पस्किने गरिएको छ । “अमलटारी घरबास भन्ने बित्तिकै पाहुना चिचर, घोगी र माछा सम्झिन्छन्”, अमलटारी घरबासका अध्यक्ष पे्रमशङ्कर मर्दनिया थारुले भन्नुभयो । थारू समुदायको प्रचलित परिकार घरबासको समेत पहिचान बनेको उहाँले बताउनुभयो । नेपाल घरबास एसोसिएसनका केन्द्रीय अध्यक्षसमेत रहनुभएका मर्दनिया थारूका अनुसार स्थानीय परिकारको संरक्षण र बजारीकरणमा घरबासले सहयोग पु¥याएको छ । साथै ती घरबासलाई स्थानीय परिकारले समेत चिनाउन भूमिका निर्वाह गरेको छ । “घरबासले स्थानीय रहनसहन र खानपानलाई बजारीकरण त ग¥यो नै, बजारीकरण कै क्रममा नवलपुरका घरबासको पहिचान चिचर, घोगी र माछा बन्यो”, मर्दनियाले भन्नुभयो, “घरबासलाई थारू परिकारले समेत चिनाएको छ ।” चिलाहा रतवल घरबासका अध्यक्ष नन्दप्रसाद महतोका अनुसार घरबासमा आउने सबैजसो पर्यटकले स्वादका लागि समेत नयाँ परिकार मानेर चिचर खाने गरेका छन् । थारू समुदायले सञ्चालन गरेका घरबासमा मात्रै प्रायः चिचर, नुमैचा, घोगीजस्ता परिकार पाइने हुँदा अन्यत्रबाट आउने पाहुनाका लागि फरक स्वाद हुने उहाँले बताउनुभयो । “थारू समुदायले मात्रै विशेषरुपमा पकाउने परिकार भएकाले अन्यत्र सजिलै पाइँदैन, धेरैका लागि नयाँ परिकार हुन्छ, हामीले त्यही नयाँ स्वाद पाहुनालाई पस्किन्छौँ”, अध्यक्ष महतोले भन्नुभयो ।

घरबासमा चिचर, घोगी, माछासँगै सोझुवा रोटी, गुन्द्रुकको चटनी, स्थानीय हाँस, कुखुराको मासुलगायतका परिकार तयार पार्ने गरिएको उहाँले बताउनुभयो । अमलटारी घरबासमा मकवानपुरबाट आउनुभएका चिरञ्जीवी अर्यालले चिचर नौलो परिकार लागेको बताउनुभयो । हेर्दा भातजस्तै भए पनि विशेषरुपले पकाएकाले फरक लागेको उहाँले बताउनुभयो । “चिचरसँगै माछा र घोगी मिसाएर खाँदा फरक स्वाद लाग्यो”, अर्यालले भन्नुभयो । थारू समुदायले पहिला तागत दिने खानाका रुपमा चिचर खाने गरेको थारू समुदायका अगुवा एवं कावासोती–१४ का वडाध्यक्ष तुलसीराम थारूले बताउनुभयो ।

अनदीको चामलको तयार पारिने हुँदा पोषिलो हुने र यसले शरीरमा तागत दिने, जिउ दुखेको सञ्चो गराउने भएकाले चिचर खाने गरिएको उहाँले बताउनुभयो । “पहिले पहिले बढी श्रममूलक काम गर्नुपर्ने हुँदा आडिलो भोजनको रुपमा साथै जिउ दुखेको सञ्चो हुन्छ भनेर अनदिको चामल उसिनेर खाने गरिन्थ्यो”, अध्यक्ष महतोले भन्नुभयो । शरीरमा उर्जा बढाउने हुँदासमेत जाडो मौसममा चिचर खाने चलन रहेकामा अहिले अन्य समयमा समेत चिचर खाने गरिएको छ । मुख्य गरी माघी पर्वमा अघिल्लो दिन पकाउने र माघ १ गते यो परिकार खाने गरिएको छ । यसलाई पुसको अन्तिम दिन पकाउने तथा केराको पातमा डल्लो पारेर परालले बाँधेर धानको भुसको मन्द आगोमा राख्ने गरिन्छ । अनी माघीको दिन चिचर निकालेर खाने गरिन्छ ।

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा

वालिङ (स्याङ्जा), १ माघ : स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो ।

चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिनुभयो । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले भूमिका खेल्ने उहाँको भनाइ छ ।“बालबालिकालाई सामुदायिक विद्यालयमा पठाउने अभिभावक वा घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिँदा उपचारमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयप्रति अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्दै जान्छ ।”नगरपालिकाले यसका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । उक्त कार्यक्रमले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुग्नुका साथै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय बनाउनका लागि पनि पालिकाले आवश्यक नीति, कार्यविधि तथा बजेटको सुनिश्चित गरेको नगर प्रमुख खाणले बताउनुभयो ।नगरपालिकाभित्र ४५ सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यका लागि न्यूनतम रु तीन हजार पाँच सय बीमाबापतको रकम नगरपालिकाले भुक्तानी गरिदिने भएको छ । उक्त रकमले पाँच जनासम्मको परिवारले एक वर्षको अवधिसम्म रु एकलाख बराबरको उपचार खर्च गर्न पाउने छन् । पाँच जनाभन्दा बढी जनाको सङ्ख्या भए पालिकाले प्रतिव्यक्ति रु सात सय थप गरिदिने भएको छ ।शिक्षा शाखा प्रमुख बन्दना गुरुङका अनुसार चापाकोट नगरपालिकामा माध्यमिक तहका १६, आधारभूत तह (१–८)का पाँच, आधारभूत (१–५) का १४ र आधारभूत (१–३) का १० विद्यालय रहेका छन् । हाल नगरका १० वडामा रहेका ४५ सामुदायिक विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेका तथ्याङ्क छ ।

सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई लाइसेन्स

काठमाडौँ । यातायात व्यवस्था विभागका कर्मचारी र बिचौलियाको मिलेमतोमा सवारी ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिएको पाइएको छ । एक लाख दुई हजार थान लाइसेन्स अवैध तरिकाले जारी गरिएको सम्बन्धमा छानबिन गर्दा सवारी ज्यान मुद्दाका आरोपितलाई हिरासतमै लाइसेन्स उपलब्ध गराएको पाइएको हो ।

मोटरसाइकलको मात्र लाइसेन्स भएका शशाङ्क बस्याल ( सवारी चालक अनुमति पत्र नम्बर ०१-०८-०१०२१७४९) ले कार चलाउँदा भएको दुर्घटनामा एकजनाले ज्यान गुमाएका थिए । बस्यालले लिएको लाइसेन्समा दुईपांग्रे अर्थात् मोटरसाइकल मात्रै चलाउन मिल्ने ‘क्याटगोरी ए’ मात्रै उल्लेख थियो । तर बस्याल थुनामा रहेका बेला उनको नाममा ‘क्याटगोरी बी’ को लाइसेन्स बनाएर दिइएको थियो ।


उनलाई दिइएको बी क्याटगोरी लाइसेन्स नम्बर ०१-०८-०११६५५०४ छ । यातायात व्यवस्था विभागमा कार्यरत एक कम्प्युटर इन्जिनियरले मिलेमतोमा मोटो रकम लिई हिरासतमा रहेका बस्यालका नाममा कार, जिप, भ्यान चलाउन पाउने ‘बी क्याटगोरी को लाइसेन्स उपलब्ध गराएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।

यातायात क्षेत्रको सुधार : प्रतिवेदन बन्छ, कार्यान्वयन हुँदैन

काठमाडौँ । यातायात क्षेत्रको सुधारका लागि समिति गठन गरिन्छ । प्रतिवेदन पनि बुझाइन्छ । तर प्रतिवेदन कार्यान्वयन हुँदैन । यातायात मन्त्रालयका पूर्वसचिव तुलसी सिटौलाले २०७१ मा आफू नेतृत्वमा बनेको कार्यदलले बुझाएको प्रतिवेदन आंशिक रूपमा कार्यान्वयन भएको बताए । उहाँले रुट पर्मिटको विषयमा अहिलेको व्यवस्थामा सुधार गर्नु पर्छ, अहिलेको व्यवस्था प्रभावकारी छैन भनेर सुझाव दिए तथा सडक सुरक्षाका सन्दर्भमा अरू सुझाव पनि दिइएको बताए ।

उनले भने, “हामीले दिएका सुझावमध्ये रात्रि बसमा दुई जना चालक राख्ने व्यवस्था गरिएको छ, क्षमता अनुसार मात्रै बोक्ने व्यवस्था पनि आंशिक कार्यान्वयनमा आएको छ । तर अरू धेरै विषय कार्यान्वयन भएकै छैनन् ।”

यातायात मन्त्रालयका सहसचिव एवं प्रवक्ता उमेशबिन्दु श्रेष्ठले सडक सुरक्षा अडिट भएको दाबी गरे । उनले भन्नुभयो, “रोड सेफ्टी अडिट गरेर नै फ्लाइओभर बनाउने, फुटपाथ बनाउने गरी हेरेका छौँ । काम गरिरहेका छौँ ।” उहाँले तीव्र गतिकै कारण दुर्घटना हुने बताउँदै चालकलाई दोष दिनुभयो । उहाँले भने, “अरू कारणले धेरै दुर्घटना हुँदैन, तीव्र गतिकै कारण दुर्घटना र ज्यान बढी जाने हुन्छ, दुर्घटनाका कारण सडक मात्रै होइन, गाडीको अवस्था पनि हेर्नु पर्छ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कुवेतद्वारा ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला

काठमाडौँ । कुवेतले ११ दिनमै १४ सय विदेशी कामदारलाई देश निकाला गरेको छ । कुवेतको निर्वासन केन्द्रले पछिल्लो ११ दिनमा विभिन्न मन्त्रालयका क्षेत्रबाट रिफर गरिएका १ हजार ४ सय ७० श्रम कानुन उल्लङ्घनकर्तालाई देश निकाला गरेको जनाएको छ ।

कुवेतले कानुन उल्लङ्घन गर्नेहरूलाई प्रक्रिया पूरा गरी सम्बन्धित देशमा फिर्ता पठाउने कार्यलाई निरन्तरता दिएको हो । आन्तरिक मन्त्रालयका सबै शाखाले सक्रिय रूपमा निवास र रोजगार कानुनको उल्लङ्घन गर्ने व्यक्तिहरूलाई पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको एक सुरक्षा अधिकारीले जनाएका छन् । रेसिडेन्सी र रोजगार कानुन उल्लङ्घन गर्नेहरूको ठुलो समूहलाई लक्षित गरी धरपकड गर्ने जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। साथै हाल बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

दिगो शान्तिका लागि थप अग्रसर हुन चाडपर्वले उत्प्रेरित गर्दछ : उपराष्ट्रपति

काठमाडौँ, १ माघः उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन माघिजस्ता पर्वले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

माघ १ गते मनाइने माघी पर्व, माघसङ्क्रान्ति, तिलासङ्क्रान्ति, मकरसङ्क्रान्ति, उत्तरायण, छार म्हेङ, येले संवत्, मकरस्नान र राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

माघसङ्क्रान्तिका दिन थारू समुदायले माघी पर्व, मगर समुदायले मौलिक पर्व (नयाँ वर्ष), मधेसी समुदायले तिलासङ्क्रान्ति, किराँत समुदायका राई, लिम्बू, सुनुवार, सुरेल, याक्खा, धिमाललगायतले आफ्ना राजा यलम्बरको स्मरणमा येले संवत्, छन्त्याल समुदायले छार म्हेङ (म्हिलाङे सोङ्ती) पर्वका रुपमा बडो हर्षोल्लास, उमङ्ग, उत्साह र धुमधामका साथ मनाउने परम्परा रहिआएको छ ।

हिन्दू धर्मावलम्बीले पवित्र नदीमा मकरस्नान, सूर्यदेवको पूजा–उपासन गर्दै दान–दक्षिणा दिएर मकरसङ्क्रान्ति मनाउँछन् । नेपाल जैविक विविधतामा धनी मुलुक भएको सन्दर्भमा आजकै दिन राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ ।

“एकै दिन यतिका धेरै पर्व, त्योहार, उत्सव, अनुष्ठान र दिवस मनाइनुले नेपालको विविध संस्कृति, परम्परा, रहनसहन, रीतिरिवाजलगायतलाई सबै नेपालीले सहर्ष स्वीकार गर्दै ऐक्यबद्ध भई अघि बढ्न दृढ सङ्कल्पित रहेको सन्देश सञ्चार गर्दछ, यसले ‘अनेकतामा एकता’ हाम्रो मौलिक पहिचान र विविधतालाई अक्षुण्ण राख्न उत्प्रेरित पनि गर्दछ”, उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएकाे छ ।

उपराष्ट्रपति यादवले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर मुलुक नेपालमा मनाइने चाडपर्वले जनजनमा नयाँ उमङ्ग र उत्साह भर्दै सबैखाले आपसी वैरभाव, मनोमालिन्यता, मनमुटाव र विभेद् अन्त्यका लागि प्रेरणाको स्रोत बन्न सकोस् । यस अवसरमा सबै क्षेत्र, भूगोल, भूभाग, जाति, वर्ग, समुदाय, भाषा, धर्म र संस्कृतिको सुदृढीकरण गर्दै राष्ट्रिय एकताका साथै मुलुकको आर्थिक समृद्धि र विकासमा एकीकृत र दत्तचित्त भई लाग्न उहाँले आग्रह गर्नुभएको छ ।

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ – राष्ट्रपति

काठमाडौँ, १ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । उहाँले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक तथा जातीय विविधतालाई आपसमा जोडेर साझा नेपालीको पहिचान निर्माण गर्न सकिए हाम्रो मुलुकलाई विश्वसामु परिचित गराउन महत्वूर्ण भूमिका रहने बताउनुभयो ।

“यस पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै तरिकाले हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन् । थारू समुदायले माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदछन् भने मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । तराईवासीले ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँदछन् । पवित्र नदी एवं त्रिवेणीहरूमा स्नानपश्चात् पूजाअर्चना गरी घीउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता खाद्य परिकार सेवन गर्ने परम्परा छ”, राष्ट्रपतिद्वारा जारी शुभकामनामा उल्लेख छ ।

सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे सङ्क्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउने उहाँको भनाइ छ । “हाम्रा धेरै पर्वहरू यसैगरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर सङ्गम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।

आजदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण

काठमाडौँ, १ माघ : आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।

बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ ।

विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ ।

पाँच महिनामा भित्रियो चार अर्ब विदेशी लगानी

काठमाडौँ । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो ।नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो ।

चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो ।

प्रधानमन्त्री कप क्रिकेट : आज तीन खेल हुने

काठमाडौँ, १ माघ-प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने छन् । मधेस प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले बिहान ९ ः १५ बजे सुरु हुने छ ।

अर्को खेल काठकाडौँको मुलपानी क्रिकेट मैदानमा एपिएफ क्लब र कोशी प्रदेशबीच बिहान ९ ः १५ बजे सुरु हुने छ । आजै तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच अहिले बिहान ९ ः ०० बजे सुरु हुने छ ।मधेस प्रदेश जारी प्रतियोगितामा हालसम्म खेलेको एउटा खेलमा विजयी हुँदै अङ्क तालिकाको शीर्ष स्थानमा छ । मधेसले शनिबार सम्पन्न खेलमा कोशी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । यस्तै आर्मी क्लब भने आज पहिलो खेल खेल्दै छ ।

पर्वले अनेकतामा एकता कायम गर्न भूमिका खेलेका छन् : सभापति देउवा

काठमाडौँ, १ माघ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।

‘मकर सङ्क्रान्ति÷माघे सङ्क्रान्ति’का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको बताउनुभएको छ । साथै उहाँले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न पर्वले सघाएको उल्लेख गर्नुभएको छ ।

‘मकर सङ्क्रान्ति÷माघे सङ्क्रान्ति’ नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएका छन् । नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ । एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा रहेको उल्लेख उहाँले गर्नुभएको छ ।

सभापति देउवाले यस पर्वका अवसरमा यस दिनलाई विशेष पर्वका रुपमा मनाउनु हुने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा कांग्रेस र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधानको रक्षा र गणतन्त्रको सुदृढीकरण अहिलेको राष्ट्रिय कार्यभार – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताउनुभएको छ । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकार सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रविन्दुमा राखेर अघि बढेको छ भन्नुभयाे ।

संविधानले देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई आत्मसात् गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विभिन्न जातजाति, भाषाभाषी, संस्कृतिको आन्तरिक राष्ट्रियता सुदृढ गरी समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

माघे सङ्क्रान्ति र माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सद्भाव, एक-अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल भौगोलिक रुपले सानो भए पनि जातीय, भाषिक, सांस्कृतिक विविधता निकै धनी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो नेपालको मात्र नभएर मानव जातिकै गौरव र साझा सम्पत्तिका रुपमा रहेको उहाँको भनाइ छ ।

उहाँले माघे सङ्क्रान्ति पर्व खस-आर्य, मगर, राई, थारू, लिम्बू, नेवार, गुरुङ, मैथिली, कुमाललगायत जाति जनजातिको आ–आफ्नै संस्कृति र विशेषतामा आधारित विशेष पर्वका रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले माघी पर्वले नेपालको सांस्कृतिक पहिचान र विविधताका साथै विभिन्न जाति जनजातिमा रहेको जातीय पहिचान, परम्परागत संस्था र प्रथाजन्य कानुन, सांस्कृतिक बहुलताको सहअस्तित्व र राष्ट्रिय एकतालाई प्रमाणित गरेको बताउनुभयो ।

वैशाखे सङ्क्रान्तिबाट सुरु भएका सङ्क्रान्तिमध्ये सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने समयावधि हुने भएकाले माघे सङ्क्रान्तिलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । तिल, तरुल, घीउ, सख्खरलगायत परिकार खाने, विभिन्न सांस्कृतिक महोत्सव र झाँक्री, पूजाआजा, पारिवारिक भेटघाट तथा सामाजिक पुनःमिलन गर्ने पर्वका रुपमा माघीलाई लिइन्छ ।

आज देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौँ – प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा आजर विशेष मेलासमेत लाग्ने गर्छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि सूर्य उत्तरायण हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । धर्मसिन्धुमा माघे सङ्क्रान्तिको दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने मान्यता छ ।

सूर्य उत्तरायण हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । सो दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । माघे सङ्क्रान्तिमा दिन घ्यु, चाकु, तिलका लड्डु, खिचडी, सखरखण्ड, तरुललगायतका परिकार पनि खाने चलन छ ।

मकर सङ्क्रान्तिमा शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । माघे सङ्क्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले सोमबार देशभर सार्वजनिक बिदा दिएको छ ।

देवघाटमा माघे सङ्क्रान्ति स्नान गर्न आउने भक्तजनको घुइँचो

चितवन, १ माघ : पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो । अहिले पनि भक्तजन आउने क्रम जारी छ । स्नान गरेर फर्किन पनि सुरु गरेका छन् । नदीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ ।

क्षेत्र विकास समितिले विभिन्न समिति बनाएर काम गरेको छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लङ्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

माघे सङ्क्रान्ति मेलाको अवसरमा हिजो र आज नारायणगढ मुग्लिन सडकखण्डसमेत निर्वाध सञ्चालनमा ल्याइएको छ । पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेकाले दिउँसोमा सवारी रोकी काम गरिँदै आएको थियो । देवघाटमा नेपालसहित भारतलगायत तेस्रो मुलुकबाट समेत भक्तजन स्नानका लागि आउने गर्दछन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ । समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने जनाएको छ । अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको छ ।

हेर्नुहोस् आज माघ १ गते सोमवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – बाणिमा मधुरता छाउनेछ । नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । नयाँ लगानिका निम्ती उत्तम समय रहेकोछ । रचानात्मक कार्यमा जुट्ने समय रहेकोछ । आय आर्जनको लागी राम्रो समय रहेको छ । हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ ।

बृष राशि – सामाजिक कार्यमा अग्रसर रहनाले मान सम्मान प्राप्तीको योग बन्नेछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोमा सजग रहनु होला । गरीरहेको कार्य क्षणिक रुपमा परीर्वतन गर्नु पर्ने समय रहेकोछ । शुभ चिन्तकहरुको साथसहयोग द्वारा अधुराकार्यहरु सम्पादित हुनेछन ।

मिथुन राशि- सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरु बढ्नेछन । मित्रजनहरुको साथसहयोगमा नयाँ कार्यको प्रारम्भ गर्न उत्तम समय रहेकोछ । अरुको पुर्ण बिश्वासमा गरीएका कार्यले अपजस दिलाउनेछ ।

कर्कट राशि- बिश्वासिला ब्यत्तिहरुबाट धोका हुनाले मानसिक तनाबको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थका क्षेत्रमा सामान्य तनाबको सामना गर्नु पर्ने समय रहेकोछ । शुभचिन्तकहरुको माध्यम बाट आम्दानिका श्रोत हरु सबल तुल्याउन सकिने समय रहेकोछ । बाणीका कारण सामान्य वादबिवादको झमेलामा फसिएला ।

सिंह राशि – आर्य आर्जनका निम्ती सामान्य यात्रा निम्त्याउने समय रहेकोछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । समयमा गरीएको सहि निर्णय उत्तम साबित हुनेछन । जिवन साथिको साथ सहयोगमा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने समय रहेकोछ ।

कन्या राशि- प्रतिश्पर्दा जन्य कार्यमा बिशेष सजग रहनुहोला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । सामान्य आर्थीक संकटको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य यात्राको योग बन्नेछ । मानसिक चन्चलताका कारण नजिकका मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

तुला राशि – आय आम्दानिमा बिशिष्ठ ब्यत्तिहरुको सहयोग प्राप्त रहनाले उत्तम रहनेछ । पठन पाठनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । कलाकौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको स्वास्थमा देखिएको समस्या जटिल बन्नाले सामान्य तनाब आई पर्नेछ ।

बृश्चिक राशि – तपाई द्वारा सम्पादितकार्य चर्चा योग्य साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सरिक हुने तथा मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । सामाजिक कार्यमा अग्रसर रहने उत्तम समय रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहने दिन रहेकोछ । सवारी साधनको प्रयोगमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

धनु राशि – कार्यसम्पादनको उत्तम श्रेय तपाईलाई प्राप्त रहनाले मन हर्शित रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । प्रिय मित्रजन सगँको भेटघाटले मन हर्षित रहने योग रहेकोछ । भोजभतेर जन्य कार्यमा सरीक हुने योग रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित हुने योग रहेकोछ ।

मकर राशि- स्थीर क्षेत्रमा गरीएको लगानि दिर्घकालिन आम्दानिको श्रोत बन्नेछ । कला तथा साहित्यका क्षेत्रमा समय ब्यतित गर्दा मन हर्षित रहनेछ । खानपानमा भने सजग रहनु होला । प्रिय मित्रजनहरुसगँको भेटघाटले मनमा प्रशन्नता दिलाउनेछ । बाणीका कारण सामान्य वाद विवादको सामना गर्नु पर्ने समय रहेकोछ ।

कुम्भ राशि- कार्य सम्पादनमा आटँ र शाहसको बृद्यि हुने समय रहेकोछ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहनेछ । नयाँ लगानि गर्न उत्तम समय रहेकोछ । जिवन साथीको साथ सहयोमा नयाँकार्यको थालनि हुने समय रहेकोछ । कार्यसम्पादनमा आएको असहज परीस्थीतिहरु सुधार उन्मुख रहनेछन ।

मीन राशि – गैर ब्यत्तिहरुको बिश्वासमा कार्य नसुम्पीनु उत्तम रहनेछ । तपाईको आलोचना गर्ने ब्यत्तिहरुको कमि नरहला । पारीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । प्रतिश्पर्दा जन्य कार्यमा अब्बल स्थान प्राप्त रहनाले मन प्रशन्न रहला । तात्कालिक खर्चको कारण सामान्य आर्थीक अभाबको सम्भाबना रहेकोछ ।