`

एक करोड केजी चिया गोदाममा थन्कियो

झापा, २१ मङ्सिर : कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । छ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन् ।

इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ । भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया व्यवसायीले सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको गुनासो गरेका हुन् ।

झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन गरेको करिब ५० देखि ६० लाख केजी सीटिसी चिया असोजदेखि गोदामै थन्किएको बताउनुभयो । उहाँले चिया बिक्री नहुँदा मजदूरलाई समयमै पारिश्रमिक दिन नसकेको बताउनुभयो । उहाँले चिया उद्योगी व्यवसायीको संरक्षणमा सरकार उदासिन देखिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले अक्सन सेन्टर मात्र स्थापना गरिदिए पनि हाम्रो चिया ब्रोकरमार्फत विश्व बजारसम्म पुग्थ्यो । यस्तो समस्या हुने थिएन ।”

यसैगरी, ग्रीनहिल टि–इण्डस्ट्रिज इलामका प्रबन्धक गोपाल दाहालले कोशीका एक सय ७० वटा साना ठूला उद्योगले उत्पादन गरेको अर्थोडक्स चिया बिक्री नभएको बताउनुभयो । उहाँका अनुसार हाल प्रत्येक उद्योगका गोदाममा ३० हजार केजीका दरले तयारी चिया थन्किएको छ ।

चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले नेपालमा सिटिसी चियाको ५० प्रतिशत खपत हुने र बाँकी भारत निर्यात हुने गरेको बताउनुभयो । उहाँले सिटिसी चिया आधा खपत हुने मुलुकमा अर्थोडक्स चिया भने १० प्रतिशत मात्र खपत हुने र ९० प्रतिशत भारतलगायत तेस्रो देश निर्यात हुने गरेको जानकारी दिनुभयो । सिटिसी चियाको तुलनामा अर्थोडक्स चिया महँगो हुने हुँदा मुलुकमा कम खपत हुने गरेको उहाँको भनाइ छ ।

चिया व्यवसायी रामचन्द्र उप्रेतीले चियाको गुणस्तर मापन गर्न सरकारले क्वाटिली टि टेस्टर स्थापना गर्ने, नेपालमा उत्पादित चियाको गुणस्तरबारे जानकारी गराउन सूचना केन्द्र स्थापना गर्नसके तेस्रो मुलुक चिया निर्यातमा सहज हुने बताउनुभयो ।

बाँकेको दशगजाका ७१ सीमास्तम्भको मर्मत सुरु

जानकी (बाँके), २१ मङ्सिर : मन्त्रिपरिषद्को निर्यणअनुसार बाँकेको जमुनाहस्थित नेपाल–भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भको मर्मतसम्भार र पुनःस्थापना थालिएको छ । बुधबार नेपालगञ्ज उपमहानगरपालिका–१६ जमुनाहस्थित नेपाल– भारत सीमा क्षेत्रका ६५१, ११ (३१) नम्बरको सीमास्तम्भमा रङरोगन गरिएको छ ।

नापी विभागका अधिकृत पवनकुमार खत्रीले सीमास्तम्भमा गरिने रङरोगनका बारेमा प्राविधिक सहयोगसम्बन्धी जानकारी बाँकेका सशस्त्र प्रहरीलाई गराइएको बताउनुभयो । विभागबाट प्रतिनिधिका रुपमा आउनुुभएका अधिकृत खत्रीले सीमा क्षेत्रमा ढलेका र हराएका स्तम्भको काम हाल नहुने बताउँदै उक्त कार्य गर्नका लागि दुुवै देशका संयुक्त सीमा प्राविधिक टोलीद्वारा सीमास्तम्भको स्थितिको पहिचान गरिसकेपछि मात्र गरिने जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले राज्यले सुम्पिएको सीमा मर्मत र पुनःस्थापनामा सशस्त्र प्रहरीबल सीमा नं. ३० गणका सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई पूरा गर्नेमा विश्वस्त रहेको बताउनुभयो । सीमास्तम्भको रङरोगन स्तम्भमा रङ लगाएर नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, सशस्त्र प्रहरीबल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाही, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुुख एवं प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, भारतीय सशस्त्र सीमा बल नं. ४२ बटालियनका डेपुटी कमाण्डेन्ट अनिल यादव, असिस्टेन्ट कमाण्डेन्ट वासुकी पाण्डेले गर्नुभएको थियो ।

सशस्त्र प्रहरी बल नं ३० गणका सशस्त्र प्रहरी उपरीक्षक रमेश विक्रम शाहीका अनुसार बाँकेमा मुख्य सीमास्तम्भ ३२ छन् भने सहायक सीमास्तम्भ दुई सय ७९ गरी जम्मा सीमास्तम्भ तीन सय ११ छन् । उहाँले मर्मतसम्भार तथा रङरोगन गर्नुपर्ने सीमास्तम्भअन्तर्गत ३१ वटा सीमास्तम्भ रङरोगन गर्न बाँकी रहेका र ४० वटा सीमास्तम्भ सामान्य मर्मत गर्न बाँकी रहेका बताउनुभयो । बाँकेमा चार वटा मुख्य र ६७ वटा सहायक गरी जम्मा ७१ वटा सीमास्तम्भको रङरोगन तथा मर्मत भइहेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत रुपदेही, कपीलवस्तु, दाङ, बाँके र बर्दिया गरी छ जिल्लामा सीमास्तम्भको मर्मत मर्मत भइहेको छ ।

एनसेलद्वारा कानुन र अर्थ व्यवस्थाको धज्जी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर कारोबारका भएको घोटालाप्रति संसदीय समितिहरू तातिएका छन् । बुधबार प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति र अर्थ समितिको बैठकमा एनसेलको सेयर कारोबारबारे चासो राख्दै तातिएका हुन् ।

सार्वजनिक सञ्चार माध्यममा एनसेलको सेयर कारोबारमा ठूलो चलखेल भएको र राज्यलाई अर्बौं रुपियाँ नोक्सानी भएका समाचार सार्वजनिक भएपछि संसदीय समितिहरूले चासो राख्दै बुधबार दुई समितिको छुट्टाछुट्टै बैठक आह्वान गरिएको थियो । बैठकमा एनसेलको सेयर कारोबारमा देशको प्रचलित नियम कानुनको धज्जी उडाउनुका साथै ठूलो परिमाणमा राजस्व छली र नेपालमा लगानीको वातावरण नभएको जस्ता गम्भीर आरोप लगाइएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए ।

त्यस्तै, एनसेलको सेयर कारोबार प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिँदै यसबारेमा सरकारको थप धारणा बुझ्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रधानमन्त्रीलाई बोलाउने निर्णयसमेत गरेको छ । समितिले यस प्रकरणको विस्तृत अनुसन्धान नहुँदासम्म सेयर खरिद बिक्रीसम्बन्धी कारोबारलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

लेखा समितिले एनसेलको खरिद बिक्रीबारे ३० दिनभित्र छानबिन पूरा गर्ने गरी तत्काल छानबिन शुरू गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । एनसेलको कारोबारमा भ्रष्टाचार र अनियमिताको भएको विषय उठेकाले प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने तथा एनसेल खरिद–बिक्रीका प्रक्रियालाई तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय भएको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सञ्चारकर्मीसँग कुरा गर्दै जानकारी दिए ।

एनसेलको लगानीकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण नभएको आरोपमाथि पनि सरकारले आधिकारिक धारणा सार्वजनिक गर्न पनि लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।

उता, संसद्को अर्थ समितिले यस प्रकरणबारे बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । संसद्हरूले आजियाटाकै सीईओलाई बोलाउनुपर्ने राय दिए पनि कानुनी अड्चनका कारण अहिलेलाई एनसेलका सीईओलाई बोलाउने निर्णय गरिएको हो ।

यसअघि संसदीय समितिलाई नियमक निकाय नेपाल दूरसञ्चार प्राधिकरण, आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्टर्ड कार्यालयले एनसेलको सेयर कारोबारबारे आफूहरूलाई जानकारी नभएको बताएका थिए ।

उता, नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई सेयर कारोबार सोधेको प्रश्नमा एनसेलको सेयरधनी रेनोल्ड होल्डिङ लिमिटेडको शतप्रतिशत सेयर खरिद–बिक्री गर्ने सम्बन्धमा आजियाटा यूके र स्पेक्ट्रलाइट यूकेबीचको सेयर खरिदबिक्री सम्झौताका कागजात संकलनका क्रममा रहेको र कागजात संकलनपछि प्राधिकरणसमक्ष सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गरिने जवाफ पठाएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

गल्याङ, २१ मङ्सिर : स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडबाट यो वर्ष रु दुई करोड ६० लाखको बीउ आलु निर्यात भएको छ ।

जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले दुइ सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको राससलाई जानकारी दिनुभयो । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडमा दुई सय ८४ जना सक्रिय कृषकसहित पाँच सय चार जना अन्य सेयर सदस्य आबद्ध छन् ।

गत वर्ष खानेसहित बीउ आलु सात सय टन निर्यात भएको बताउनुभयो । “यहाँ उत्पादित आलुको बीउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, खोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका छन्”, अध्यक्ष कँडेलले भन्नुभयो, “यी बाहेक अन्य जिल्लाका करिब ३० पालिकामा बीउ आलु निर्यात गरेका छौँ, आलुको गुणस्तर राम्रो भएकाले जातअनुसार ६५ देखि ७० टन सम्म सजिलै बिक्री भएको छ ।”

यहाँ डेढ सय हेक्टर क्षेत्रफलमा खुमल रातो, मुखल उज्ज्वल, जनकदेव, एनएस दशमलव तीन, कार्डिललगायत राष्ट्रिय आलुबाली अनुसन्धान केन्द्रले अनुमोदन गरेका आलु उत्पादिन गरिन्छ । उहाँले आलु उत्पादक किसान भेला भएर बर्सेनि खाने र बीउ आलुको मूल्य निर्धारण भएपछि बजारमा पठाउने बताउनुभयो । “सहकारीले बजारीकरणमा सहयोग गर्ने भएपछि यहाँका किसान आलु उत्पादनमा हौसिएका छन्”, कँडेलले भन्नुभयो, “आलुको गुणस्तर राम्रो भएकाले आलु खोसाखोस हुन्छ, माग धान्नै सकिँदैन ।”

“जिमुहाँको मुख्य पेसा आलु उत्पादन हो, आलु उत्पादन गरेका यहाँका प्रत्येक परिवार आत्मनिर्भर छन्”, उहाँले भन्नुभयो, “आलु र सागसब्जी फलाएर एकल महिलाले पनि वार्षिक रु पाँच लाखसम्म कमाउने गरेका छन् । अध्यक्ष कँडेलका अनुसार यहाँ तीन सय किलोदेखि ४० टनसम्म आलु उत्पादन गर्ने कषक छन् ।

स्थानीय ७१ वर्षीय कृषक ज्योतिलाल ढकालले जिमुहाँमा सिँचाइ सुविधा आएदेखि बसाइँसराइ रोकिएको बताउनुभयो । उहाँले यहाँका सामान्य परिवारले पनि आलु र अन्य सागसब्जी उत्पादन गरेर सजिलोसँग जीवनयापन गरिरहेको दाबी गर्नभयो । “यहाँ पानीको सुविस्ता भएदेखि मैले पनि तरकारी उत्पादन गरेर घर चलाएको छु, छोराछोरी काठमाडौँ पोखरा बसेर पढेका छन्”, उहाँले भन्नुभयो, “दूध बेचेर मासिक रु २५ देखि ३० हजार कमाइ हुन्छ, सागसब्जी बेचेर पनि राम्रो कमाइ गरेका छौँ ।”

शीतभण्डारमा प्राविधिकको काम गर्दै आउनुभएका नारायण अधिकारीले शीतभण्डार सञ्चालनपछि धेरैको जीवन फेरिएको बताउनुभयो । “शीतभण्डार नहुँदा पोखरा, बुटवललगायतको शीतभण्डारमा महँगो मूल्यमा आलु भण्डारण गर्न लैजानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अहिले यहाँको शीतभण्डारमा कृषिउपज भण्डार गरेर उपयुक्त मूल्य पाउने समयमा बिक्री गर्दा धेरैलाई फाइदा भएको छ ।” अधिकारीले शीतभण्डारमा सामान्य समस्या आए पनि ‘स्टक एसी’ भएकाले कृषि उपज नबिग्रने बताउनुभयो ।

अध्यक्ष कंडेलका अनुसार यो वष सहकारीले रु १२ लाख ८३ हजार आम्दानी गरेको छ । “कार्यालय सञ्चालन, कर्मचारी, विद्युत्, ढुवानीलगायतमा वार्षिक रु सात लाख खर्च हुन्छ”, उहाँले भन्नुभयो, “शेयर धनीलाई पहिलोपटक रु आठ लाख र दोस्रो पटक रु चार लाख मुनाफा वितरण ग¥यौँ ।” कँडेलले यसअघिको स्थानीय सरकारले रु १० लाखको जेनेरेटर, रु १० लामा कार्यालय भवन निर्माण गरिदिएको बताउनुभयो । तर अहिलेको सरकारले कुनै पनि सहयोग नगरेको उहाँको गुनासो छ ।

नगरपालिकासँग विद्युत् महसुलमा छुट गरिदिन र नयाँ शीतभण्डारका लागि टाँड निर्माण गरिदिन कँडेलको आग्रह छ । जिमुहाँ शीतभण्डार सहकारीका रु एक करोड १८ लाख र एक करोड ५२ लाखका एकसय ५० टन क्षमताका दुई छुट्टाछुट्टै शीतभण्डार छन् । यहाँ आलु भण्डारका लागि छिमेकी जिल्ला पाल्पाका कृषक पनि आउने गरेका छन् । यहाँ कृषिउपज भण्डारण गर्दा सहकारीले प्रति किलोको रु सात लिने गरेको छ । जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेड २०७५ सालमा स्थापना भएको हो ।

सभामुख घिमिरेद्वारा चिकित्सक, कृषक र गृहिणी पुरस्कृत

झापा – सभामुख देवराज घिमिरेले लाल भागीरथा बानियाँ प्रतिष्ठानद्वारा बुधबार आयोजित एक कार्यक्रममा उत्कृष्ट चिकित्सक, कृषक र गृहिणीलाई पुरस्कृत गर्नुभएको छ । सामाजिक क्षेत्रमा अग्रणी रहेका प्रतिभालाई प्रतिष्ठानले बर्सेनि पुरस्कृत गर्दै आएको हो ।

पुरस्कृत हुनेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा डा सञ्जीव शर्मा, व्यावसायिक रुपमा जैविक खेती गर्दै आउनुभएका मेचीनगरका कृषक बद्री राउत र उदाहरणीय महिला हिमा लुइँटेल पाठक हुनुहुन्छ ।

सभामुख घिमिरेले उहाँहरु तीनै जना प्रतिभालाई मेचीनगर–११ बानियाँ गाउँमा आयोजित समारोहमा जनही रु ३१ हजार नगद, दोसल्ला र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । सभामुख घिमिरेले स्वास्थ्य सेवालाई विपन्न समुदायको पहुँचमा पु¥याउने चिकित्सक, आरोग्यताका लागि अपरिहार्य जैविक कृषि बाली उत्पादन गर्ने कृषक र ज्येष्ठ नागरिकको हेरचाहमा प्रशंसनीय कार्य गर्ने गृहिणीलाई एकैथलोमा पुरस्कृत गर्ने परम्पराको थालनी गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।

झापामा जन्मेर देश विदेशमा ख्याति आर्जन गर्नुभएका प्रतिभालाई प्रतिष्ठानले हरेक वर्ष सम्मान गर्दछ । पुरस्कार प्रदान गर्नका लागि प्रतिष्ठानले रु १० लाखको अक्षयकोष स्थापना गरेको छ । यस वर्ष प्रा डा सञ्जीव शर्मालाई लाल भागीरथा उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको हो । प्रा डा शर्मा विगत २६ वर्षदेखि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु, मिर्गाैला, मधुमेह र सर्पदंश उपचारका लागि विशेषज्ञको रुपमा सेवारत हुनुहुन्छ ।

प्रतिष्ठानका शिक्षाध्यक्षसमेत रहनुभएका उहाँको चिकित्सा क्षेत्रमा १५ वटा विधाका एक सय ६७ वटा अनुसन्धान र सात वटा पुस्तक प्रकाशित भइसकेका छन् । कोशी प्रदेशको दूरदराजमा उहाँको नेतृत्वमा हाल विपन्नका लागि स्वास्थ्य शिविर र टेलिमेडिसन सेवा सञ्चालन भइरहेको छ ।

झापाको मेचीनगर–१४ दुहागढीमा विसं २०२५ चैत १८ गते जन्मनुभएका उहाँ भुँइमान्छेको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन समर्पित चिकित्सकको रुपमा परिचित हुनुहुन्छ ।

यसैगरी, लाल भागीरथा उत्कृष्ट कृषि पुरस्कारबाट पुरस्कृत मेचीनगर–५ निवासी बद्रीकुमार राउतले वैदेशिक रोजगारीबाट घर फर्केर १० कट्ठा जग्गामा व्यावसायिक रुपमा जैविक खेती गरिरहनुभएको छ । उहाँले तरकारी र दुग्धजन्य उत्पादन बजारमा लगेर वार्षिक रु १५ लाखको आम्दानी गर्दै आउनुभएको छ ।

लाल भागीरथा उत्कृष्ट गृहिणी पुरस्कारबाट सम्मानित बिर्तामोड–४ की हिमा लुइँटेल वृद्धावस्था र रोगले थलिनुभएका सासूससुराको स्याहार र सामाजिक क्षेत्रमा असल महिलाको रुपमा परिचित हुनुहुन्छ ।

रोजगारीका लागि युरोप जाने बढे

काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युुवाको रोजगारी युरोपतिर मोडिएको हो । चालुु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा युरोपका क्रोएसिया, माल्टा, रोमानिया र पोल्यान्डमा जाने युुवाको सङ्ख्या १० हजार ६७८ रहेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालुु आवको पहिलो चार महिनामा दुुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर रोजगारीका लागि बिदेसिएकामा त्यत्तिकै सङ्ख्यामा युरोप गएका छन् ।जब कि गत आव २०७९÷८० मा सो अवधिमा व्रmोएसिया, माल्टा र पोल्यान्डमा साढे सात हजार रोजगारीका लागि गएका थिए ।

चालुु आव र गत आवको चार महिना अवधिमा वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क विश्लेषण गरेर हेर्दा विदेश जाने गत वर्ष धेरै भए पनि युरोप जानेको सङ्ख्या यो वर्ष धेरै देखिएको छ । व्यक्तिगत रूपमा जाने धेरैयुरोप रोजगारीमा जाने अधिकांश व्यक्तिगत रूपमा जाने गरेका छन् । युरोपका चार देशमा गएका श्रमिकको सङ्ख्या हेर्दा संस्थागतभन्दा व्यक्तिगत रूपमा जानेको सङ्ख्या उच्च रहेको छ ।

विभागका अनुसार पछिल्लो चार महिनाको अवधिमा युरोपका चार देशमा १० हजार ६७८ जना गएकामा व्यक्तिगत रूपमा जानेको सङ्ख्या नौ हजार ४८ रहेको छ भने संस्थागत रूपमा जानेको सङ्ख्या एक हजार ६७० मात्रै रहेको छ । नेपाल सरकारले युरोपमा रोजगारीका लागि सहजीकरण नगर्दा व्यक्ति तथा कन्सल्टेन्सीबाट जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

त्यसो त कतिपय वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगार नीतिविपरीत व्यक्तिगत श्रम स्वीकृतिमा समेत वैदेशिक रोजगारधन्दा चलाउँदै आएको पाइएको छ । यो आव सुरु भएयता व्रmोएसिया जानका लागि चार हजार आठ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा ५३७ जना मात्र संस्थागत रूपमा रोजगारीमा गएको पाइएको छ ।

त्यस्तै माल्टा रोजगारीका लागि तीन हजार ४१ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा १०२ जनाले मात्र संस्थागत रूपमा श्रम स्वीकृति लिएको पाइएको छ । यता ९०३ जनाले पोल्यान्ड जान व्यक्तिगत श्रम स्वीकृति लिँदा संस्थागत रूपमा रोजगारीमा जानेको सङ्ख्या शून्य रहेको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

लक्षित वर्गमा पुगेन लघुवित्तको ऋण

मुलुकमा लघुवित्तको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको चरम केन्द्रीकरण भएको देखिएको छ । लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको देखिएको एक अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त गरी विपन्न तथा न्यून आय भएका व्यक्ति र महिलालाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत सङ्कलन गरी सामूहिक जमानीमा कृषि तथा लघु उद्यम व्यवसाय सञ्चालन गर्न बिनाधितो लघु कर्जा प्रवाह गर्ने तथा आफ्ना सदस्य वा अन्य व्यक्तिलाई स्वीकारयोग्य धितो लिई लघु उद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने र सीमित मात्रामा सदस्यहरूको बचत सङ्कलन गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ तर नेपाल राष्ट्र बैङ्कले तयार गरेको लघुवित्त अध्ययन प्रतिवेदनका अनुसार लघुवित्त वित्तीय संस्थाको उच्च विस्तार, निश्चित क्षेत्रमा संस्थाहरूको केन्द्रीकरण भएको देखाएको छ ।

त्यसै गरी लघुवित्तमा बहुबैङ्किङ तथा अत्यधिक ऋणको अवस्थासमेत रहेको अध्ययनले देखाएको छ । लघुवित्तमा देखिएको समस्याको पहिचान र समाधानका लागि राष्ट्र बैङ्कले गरेको अध्ययनले लघुवित्त मोडल नै पुनर्विचार गर्नुपर्ने सुझाव दिएको छ । लघुवित्तको सिद्धान्त अनुसार लक्षित वर्गमा केन्द्रित हुन नसकेको अध्ययन प्रतिवेदनको निष्कर्ष रहेको छ ।

लघुवित्त संस्थाहरूको कमजोर आन्तरिक नियन्त्रण प्रणालीका कारण पनि पछिल्लो समयमा समस्या देखिएको अध्ययनमा उल्लेख छ । क्षमताभन्दा अत्यधिक विस्तारित प्रणाली तथा कमजोर संस्थागत सुशासन र बिग्रँदो कर्जा अनुशासनका कारणले पनि लघुवित्तको समस्या जटिलतातर्फ उन्मुख भएको अध्ययनले औँल्याएको छ । अर्थतन्त्रमा शिथिलता, संस्थाहरूको लक्ष्य विचलन जस्ता समस्या रहेको अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार लघुवित्तहरूमा कर्जासम्बन्धी व्यवस्था, ब्याजदर, लघुकर्जा तथा लक्षित वर्ग, पुँजीकोष, कर्जा नोक्सानी, ग्राहक संरक्षण, आन्तरिक नियन्त्रण, सुशासन, कर्मचारीसम्बन्धी व्यवस्थामा सुधार, कर्जा सूचना, ऋण ग्रस्तता, वित्तीय स्रोत, पूर्वाधारमा सुधार आवश्यक छ ।

लघुवित्त वित्तीय संस्थाहरूको सङ्ख्या र भौगोलिक उपस्थिति, लघुवित्त नीतिरऐन, सुपरिवेक्षकीय क्षमतामा सुधार गर्नुपर्नेसमेत अध्ययनले औँल्याएको छ । अध्ययन समितिले लघुवित्तका समस्या समाधानका लागि सुझावसहित सम्बन्धित निकायलाई समयसीमासमेत तोकेको छ ।

समाजको स्वरूप एवं वित्तीय प्रणालीको विकाससँगै लघुवित्तको मोडलका बारेमा निरन्तर अध्ययन, परीक्षण र परिमार्जन गर्न सुझाएको छ । साथै यस प्रकारको मोडलमा परिमार्जन गर्दा दीर्घकालीन असर पर्ने भएकाले चरणबद्ध रूपमा यस्ता नवप्रवर्तनको परिपक्वतापछि मात्र लागु गर्नसमेत अध्ययनले सुझाएको छ ।

सामूहिक जमानीमा आधारित ग्रामीण मोडललाई समायनुकूल परिमार्जन गरी ५० हजार रुपियाँसम्मको कर्जालाई सामूहिक जमानी आवश्यक नपर्ने व्यवस्था गर्न सुझाएको छ । त्यसै गरी ५० हजारदेखि अधिकतम पाँच लाखसम्म सामूहिक वा पारिवारिक जमानी आवश्यक पर्ने र पाँच लाखभन्दा माथि भने धितो लिएर मात्र कर्जा प्रवाह गर्ने व्यवस्था गर्नुपर्ने अध्ययनले सुझाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

अनुकूलन योजना कार्यान्वयनमा जुटेन सहमति

जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्को वर्षसम्मका लागि सारिएको छ। दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा जलवायु अनुकूलनका लागि विश्वव्यापी लक्ष्य (ग्लोबल गोल अन एड्याप्टेसन) को लक्ष्य कार्यान्वयन गर्ने दिशामा गहन छलफल भई निर्णयमा पुग्ने अपेक्षा थियो।

विशेषगरी अल्पविकसित, विकासोन्मुख, तटीय तथा साना राष्ट्रका अनुकूलन योजनालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न कस्तो खाका तयार गर्न सकिन्छ, यो प्रयोजनका लागि कति जलवायु वित्त चाहिन्छ र यी योजना कार्यान्वयन गर्न कस्तो खाले क्षमता अभिवृद्धि चाहिन्छ भन्ने विषयमा निर्णय हुने अपेक्षा थियो।

यसैगरी जलवायुजन्य जोखिम रहेका राष्ट्रको उत्थानशीलता विकास गर्न र प्रविधि हस्तान्तरणलगायत विषयमा अन्य कस्ताखाले सहयोग चाहिन्छ भन्ने विषयमा पनि यस पटकको बैठकले निर्णय लिने अपेक्षा थियो। तर यो विषयमा सहमति हुन नसकेको र यसलाई अर्को वर्षको जुनमा जर्मनीको बोनमा हुने बैठकमा थप छलफल गर्ने निर्णय भएको वार्तामा सहभागी नेपाली अधिकारीले बताएका छन्।

यसअघि सन् २०२१ देखि २०२५ सम्म अन्तर्राष्ट्रिय अनुकूलन कोषलाई दिइने सहयोगलाई दुगुना पार्ने प्रतिबद्धता गरिए पनि यो कार्यान्वयन हुन सकेको छैन। नेपालले हालै राष्ट्रिय अनुकूलन योजना सार्वजनिक–२०२१ बनाएको थियो र यी प्रस्तावित योजना कार्यान्वयन गर्न सन् २०५० सम्मका लागि नेपालालाई ४७ अर्ब अमेरिकी डलर चाहिने प्रक्षेपण गरेको थियो।

‘अनुकूलन योजनाको कार्यान्वयनको विषयमा विकसित राष्ट्र र विकासोन्मुख राष्ट्रबीच सहमति नहुँदा अर्को वर्ष जुनमा जर्मनीको बोनमा आयोजना हुने अनुकूलन समिति सहायक निकाय (सबसिडरी बडी) को बैठकमा छलफल गर्ने निर्णय भएको छ,’ वार्तामा नेपालको तर्फबाट सहभागी प्राक्टिकल एक्सनका जलवायु परिवर्तनविज्ञ डा. धर्मराज उप्रेतीले भने। विशेषगरी अमेरिका, युरोपियन युनियन, अस्ट्रेलिया र जापानले यो विषयलाई तत्काल अगाडि बढ्न नदिने लविङ गरेका थिए।

‘यो विषयमा चाहिने स्रोतसाधनको पर्याप्तता नभएको र पार्टीहरूबाट अत्यधिक माग भएकाले यस विषयमा अहिले नै सहमति जुट्न सकेन,’ डा। उप्रेतीले थपे। अनुकूलनका विश्वव्यापी लक्ष्य हासिल गर्न हालसम्म ३१ राष्ट्रले आफ्नो अनुकूलन योजना तर्जुमा गरिसकेका छन् र चरणबद्ध रूपमा यो कार्यका लागि चाहिने वित्तीय आवश्यकता तथा क्षमता अभिवृद्धिका लागि चाहिने सहयोगको मार्गचित्र युएनएफसिसीसमक्ष प्रस्तुत गरिसकेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।

विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ, २० मङ्सिर : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गर्नुभयो । भेटका बेला उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गर्नुभएको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन तटस्थ प्रशिक्षण केन्द्र बनाउन काम अघि बढाइएको जानकारी दिनुुभयो । त्यसका लागि संयुक्त राष्ट्रसङ्घबाट प्राप्त सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ, शान्ति कार्य विभागका उपमहासचिव जिन पियरर ल्याक्क्रोइक्सले पनि उपप्रधानमन्त्री खड्कासँग भेट गर्नुभयो । त्यस अवसरमा ल्याक्क्रोइक्सले नेपालको योगदानको कदरस्वरुप संयुक्त राष्ट्रसङ्घको मुख्यालय तथा शान्ति मिशनहरूमा नेपाललाई उच्च तहमा थप अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घका महासचिवको हालै सम्पन्न नेपाल भ्रमणको स्मरण गर्दै महासचिवले निरन्तरको तापक्रम वृद्धिका कारण हिमालमा हिउँ पग्लिँदै गएकाले आगामी दिनमा थपिन सक्ने चुनौती तथा असरबारेमा नेपाल चिन्तित रहेको र दुबईमा जारी कोप–२८ मा त्यससम्बन्धमा जोडदार रूपमा नेपालले आवाज उठाएको बताउनुभयो ।

सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग घानाका रक्षामन्त्री मोमिनिक नितिउअलले शिष्टाचार भेट गर्नुभयो । रक्षामन्त्री नितिउअलले नेपालबाट सम्मेलनमा भएको उच्च सहभागिताको प्रशंसा गर्दै नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनामा निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । उहाँले कतिपय शान्ति ‘मिशन’मा घाना र नेपाली शान्ति सैनिकले मिलेर काम गरेको उल्लेख गर्दै घाना नेपालसँग द्विपक्षीय सम्बन्ध विस्तार गर्न र बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्न सधै तत्पर रहेको बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री खड्काले घाना सरकारलाई शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलन आयोजना गरेकामा धन्यवाद दिँदै नेपाली प्रतिनिधिमण्डललाई उपलब्ध गराइएको आतिथ्यताका लागि कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले घाना र नेपालबीच द्विपक्षीय सम्बन्ध विस्तार गर्न पर्यटन, कृषिलगायत क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्कासँग भारतका रक्षा राज्यमन्त्री अजय भट्टले पनि शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध, नेपाली सेना र भारतीय सेनाबीचको सहयोग र सहकार्यका बारेमा छलफल भएको थियो ।

त्यसअघि सोमबार साँझ उपप्रधानमन्त्री खड्काको स्वागतमा घानास्थित गैरआवासीय नेपाली सङ्घले एक कार्यक्रम आयोजना गरेको थियो । गैरआवासीय नेपाली सङ्घ घानाका अध्यक्ष विकास सुवेदीले घानामा करिब एक सय ५० जना नेपाली विभिन्न पेसा–व्यवसायमा आबद्ध रहेका जानकारी दिनुभयो । उहाँले घानासँग नेपालको श्रम सम्झौता नभएका कारण रोजगारीका लागि घाना आउन कठिनाइ भइरहेको र घानामा आर्जन गरेको रकम नेपाल पठाउन समस्या भएको बताउनुभएको थियो ।

उपप्रधानमन्त्री खड्काले नेपालीहरूलाई घानामा रहँदा एकताबद्ध भई आपसी सहयोग आदान–प्रदान गर्न र नेपालको कला, संस्कृति प्रवर्द्धन गरी घानाका नागरिकलाई नेपाल भ्रमण गर्नमा प्रेरित गर्न आग्रह गर्नुभयो ।

नवलपरासीमा धान उत्पादन बढ्यो, बारामा चार अर्ब ९६ करोडको अगहनी धान उत्पादन

मध्यविन्दु (नवलपरासी), २० मङ्सिर : नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले राससलाई बताउनुभयो ।

“गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो ।

सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

“जिल्लामा यस वर्ष खडेरीका कारण क्षेत्रफल घटेको भए पनि बर्खे धान उत्पादनमा सामान्य वृद्धि भएको हो”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “किसानले विषेश गरेर साँवा मन्सुली, सावित्री, रामधान, युस–३१२, अनदीलगायत जातका धान रोपेका थिए ।” जिल्लामा यस वर्ष चैते धानको उत्पादन र लगाइने क्षेत्रफल भने गत वर्षको भन्दा बढ्ने प्रक्षेपण गरिएको छ ।

“आव २०७९÷८० मा जिल्लामा एक हजार दुई सय २२ हेक्टर क्षेत्रफलमा छ हजार एक सय ७१ मेट्रिक टन चैते धान उत्पादन भएकामा यस वर्ष एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सात हजार छ सय पाँच मेट्रिक टन उत्पादन हुने प्रक्षेपण गरिएको छ”, सूचना अधिकारी काफ्लेले भन्नुभयो, “यस वर्ष अघिल्लो वर्षभन्दा थप चार सय ५० हेक्टर क्षेत्रफलमा चैते धानखेती प्रवर्द्धनका लागि बजेट व्यवस्थापन भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको छ ।”

बारामा रु चार अर्ब ९६ करोड बराबरको अगहनी धान उत्पादन

यसैबीच कलैयाबाट प्राप्त समाचारअनुसार खडेरीका कारण यस वर्ष अगहनी धानको उत्पादकत्वमा कमी आउने कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । जिल्लामा किसानले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन अगहनी धान उत्पादन गरेको कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०÷८१ मा बाराका किसानले विभिन्न जातका अगहनी धान ३४ हजार एक सय १० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर चार दशमलव एक मेट्रिक टनले कुल एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको केन्द्रका बाली संरक्षण अधिकृत राजनारायणप्रसाद साहले राससलाई बताउनुभयो ।

खडेरीले गत वर्षको तुलनामा यस वर्ष तीन हजार तीन सय ९१ मेट्रिक टन कमी भएको केन्द्रका कृषि प्रचार अधिकृत रामजीवन ठाकुरले भन्नुभयो । उत्पादित धान कलैया बजारमा प्रतिक्विन्टल तीन हजार चार सयमा बिक्री भइरहेको उपभोक्ताले जनाएका छन् । जिल्लामा करिब रु चार अर्ब ९६ करोड मूल्यबराबरको एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन धान उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष अगहनी धान ३४ हजार एक सय १५ हेक्टर क्षेत्रफलमा गरिएकामा त्यसबाट प्रतिहेक्टर चार दशमलव दुई मेट्रिक टनले एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन उत्पादन भएको थियो ।

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला हुँदै


कास्की, २० मङ्सिर : देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदैछ ।

स्थानीय उत्पादनको प्रवर्द्धनका साथै उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने लक्ष्यका साथ पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलाको सबै तयारी पूरा भएको छ । मेला आगामी पुस १ गतेसम्म सञ्चालन हुनेछ ।

मेलाबाट पोखरालगायत देशक औद्योगिक एवं हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुग्ने सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले राससलाई बताउनुभयो ।

‘लगानीको संवर्द्धनः उद्योग व्यवसायको प्रवर्द्धन’ भन्ने नारासहित आयोजना हुने मेलाले गण्डकी प्रदेशको व्यवसाय विस्तारमा सम्भावनाको खोजीे तथा प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने अपेक्षा गरिएको छ । मेलामा दुई सय ५० प्रदर्शनीकक्ष रहने छन् ।

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय तथा उद्योग पर्यटन एवं वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा मेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका महिला उद्यमीको उत्पादनको प्रदर्शन, प्रवर्द्धनका लागि विशेष कक्षको व्यवस्था गरिएको सङ्घका महासचिव बलराम आचार्यले बताउनुभयो ।

महिला उद्यमशीलता विकासका लागि मेलास्थलमा हस्तकलाका सामग्री बनाउने तालिमका साथै आफै रोजगारीका अवसर सृजना गर्न चाहने महिलाका लागि आवश्यक ‘मेसिनरी’प्रदर्शनीको पनि व्यवस्था मिलाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घले पहिलोपटक २०४२ सालमा औद्योगिक व्यापार मेलाको आयोजना गरेको थियो ।

भिटामिन ‘डी’ को कमी भएमा के गर्ने ? यस्ता छन् लक्षण

काठमाडौँ – सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन गर्दछ ।

पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्।

लक्षणहरु के के हुन् त ??

भिटामिन डीको कमी भए थकान महसुस हुने
बिस्तारै हड्डी कमजोर हुदै जाने
मांसपेशी दुख्ने बाउडिने
डिप्रेशन
मधुमेह
उच्च रक्तचाप र मुटुसम्बन्धी अन्य रोग हुन सक्ने विज्ञहरू बताउँछन्।
कसरि जोगिने :

बिहान ८ बजे देखि १ बजे सम्मको घाममा बस्ने
भिटमिन डी युक्त खाना जस्तै माछा, रातो मासु, अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थहरु सेवन गर्ने
दूध, भटमास, ओट, बदाम, फलफूलको जूस, दही, मार्जरीन, गहुँको पिठो, खाने तेल, सीरीअल जस्ता खानेकुराहरु सेवन गर्ने ।

बाँझो जमिनमा घाँसखेती गर्नेलाई अनुदान, १८ लाख बजेट विनियोजन

गोरखा, २० मङ्सिर : बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका निमित्त प्रमुख डा शर्मिला कुमालले राससलाई जानकारी दिनुभयो ।

कार्यालयले प्रतिरोपनी रु तीन हजारका दरले किसानलाई अनुदान उपलब्ध गराउने छ । “बाँझो जग्गामा घाँसखेती प्रवरद्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा रु १८ लाख बजेट विनियोजन गरिएको छ, कार्यक्रममार्फत अनुदान लिन चाहनेका लागि आवेदन आह्वान गरिसकिएको छ”, निमित्त प्रमुख कुमालले भन्नुभयो ।

किसानले घाँसखेती गरेसँगै त्यसको उपयोगिताका बारेमा अध्ययन गरेर अनुदान उपलब्ध गराइने छ । बाँझो जग्गा भाडामा लिएर घाँसखेती गर्न चाहनेले भने भुइँ घाँसका लागि कम्तीमा पाँच वर्ष र डाले घाँसका लागि कम्तीमा १० वर्ष करार सम्झौता गरेको हुनुपर्ने उहाँले बताउनुभयो ।

अनुदानका लागि स्थानीय वडा कार्यालयबाट तीन वर्षदेखि खेतीयोग्य जमिन बाँझो रहेको तथा बाँझो भूमिमा खेती गर्न ‘प्रोत्साहन अनुदानका लागि योग्य’ रहेको सिफारिस निवेदकले आवेदनका साथ पेस गर्नुपर्नेछ । गोराखा जिल्लामा करिब छ हजार रोपनी बाँझो जमिनमा घाँसखेती गर्ने किसानलाई अनुदान दिने योजना रहेको निमित्त प्रमुख कुमालल बताउनुभयो । बाँझो जग्गामा घाँसखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन मापदण्ड, २०८० बमोजिम अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

ठूलो परिमाणमा स्रोत नखुलेको रकमसहित पक्राउ

धुलिखेल (काभ्रेपलाञ्चोक), २० मङ्सिर : काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित एक जनालाई पक्राउ गरिएको छ । ठूलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार बिल नभएको सुन दुई सय ३५ दशमलव नौ ग्राम, एक हजार नौ सय एक दशमलव २६ ग्राम चाँदी, नेरु पाँच लाख ७६ हजार र भारु २२ हजार बरामद गरिएको हो । निजबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबिआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि बरामद भएको छ ।

अवैधरूपमा औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी

काठमाडौँ, २० मङ्सिर : औषधि व्यवस्थापन विभाग र नेपाल प्रहरीले अवैधरूपमा औषधि बिक्री गर्ने एक फार्मेसीलाई शिलबन्दी गरेको छ ।

विभागको टोलीले कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा मङ्गलबार नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिसँगको सहकार्यमा गरेको बजार अनुगमनका क्रममा अवैधरूपमा औषधि बिक्री वितरण गर्ने बूढानीलकण्ठ नगरपालिका–१० आदर्शनगर चोकस्थित लाइफ केयर फर्मालाई शिलबन्दी गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बूढानीलकण्ठ क्षेत्रका चारवटा औषधि पसल अनुगमन गर्दा अवैधरूपमा औषधि बिक्री गर्ने लाइफ केयरमा शिलबन्दी गरिएको जानकारी दिनुभयो ।

विभागको टोलीले उक्त पसलबाट विभिन्न ३६ प्रकारका औषधिसमेत बरामद गरेको छ । टोलीले ओखलढुङ्गा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराएको प्रवक्ता ढुङ्गेलले बताउनुभयो ।

बागलुङमा समृद्धिका लागि सङ्कल्पयात्रा दुई दिन, ओली आज बागलुङ जाने

गलकोट (बागलुङ), २० मङ्सिर : नेकपा (एमाले) ले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मकोे ‘समृद्धिका लागि सङ्कल्पयात्रा’ बागलुङमा दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बागलुङ आउने र भोलिसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओली नेतृत्वकोे केन्द्रीय टोलीलाई स्वागत गर्न गण्डकी र लुम्बिनी प्रदेशको सीमाक्षेत्र बागलुङको पातिहाल्नेमा गण्डकी प्रदेशका एमालेका नेता पुगेका छन् । अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ । बुधबार गलकोटसम्म हुने सङ्कल्पयात्रा बिहीबार दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रुपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हीराबहादुर केसीले राससलाई बताउनुभयो ।

सङ्कल्प यात्रालाई लक्ष्यित गरी पार्टीले १० स्थानीय तहका गाउँ तथा नगर र वडास्तरसम्म भेला आयोजना गरीसकेको छ । यहाँका कार्यक्रम सफल बनाउन पार्टीका सबै जनसङ्गठन परिचालन भएका छन् ।

परराष्ट्र सचिवको अवकाश, निमित्तमा लम्साल

काठमाडौँ, २० मङ्सिर : परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिनुभएको छ । “करिब ३७ वर्ष लामो सक्रिय निजामती सेवाबाट आजदेखि अवकाश लिएको छु”, सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ । सरकारले श्री पौड्याललाई क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ ।

संसदीय सुनुवाइ समितिले सरकारको उक्त सिफारिसलाई अनुमोदन गरिसकेको छ । सचिव पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाउनुभएको छ । सरकारले उहाँलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।

गाजा ‘मानवताको सबैभन्दा अन्धकार समय’ मा पुगेको छ – डब्लुएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको मङ्गलबार बताएको छ ।

हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको घोषणा गरेको छ । हमासको हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सयको मृत्यु भएको थियो भने हमासले करिब दुई सय ४० बन्धकलाई गाजामा ल्याएको थियो ।

इजराइलले हमासलाई समाप्त पार्ने र सबै बन्धकको मुक्ति सुनिश्चित गर्ने वाचा गरेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले युद्धमा गाजामा करिब १५ हजार नौ सय मानिस मारिएको बताएको छ ।

कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा डब्लुएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले मङ्गलबार दक्षिणी गाजापट्टीको राफाबाट भिडियो लिङ्कको माध्यमबाट जेनेभामा पत्रकारहरूसँग मध्य र दक्षिणी गाजाबाट आउने मानिसको सङ्ख्या अत्यधिक बढेको बताउनुभयो ।

इजराइली सेनाले मङ्गलबार दक्षिणी गाजामा हमास लडाकूसँग युद्ध सुरु गरेको छ । युद्धले सर्वसाधारण घेरामा परेको प्यालेस्टिनी क्षेत्रलाई निरन्तर खुम्च्याएको छ । प्रारम्भमा उत्तरी गाजामा ध्यान केन्द्रित गरेपछि इजराइली सेनाले अहिले दक्षिणमा स्थल सेनालाई पठाएको छ र सर्वसाधारणलाई त्यहाँबाट हट्न आग्रह गरेको छ ।

“स्थिति प्रत्येक घन्टा बिग्रिँदै गइरहेको छ, यहाँ दक्षिणी इलाकासहित चारैतिर तीव्र बमबारी भइरहेको छ, धेरै मानिस हतास छन् र करिब सबै मानिस आघातको अवस्थामा छन्”, पिपरकोर्नले भन्नुभयो, “हामी मानवताको सबैभन्दा अन्धकार घडीको नजिक छौँ, यो बमबारी र जीवनको मूर्खतापूर्ण क्षति रोकिनु पर्छ र हामीलाई दिगो युद्धविरामको आवश्यकता छ ।”

जलवायु वार्ता कठिन हुँदै गर्दा जीवाश्म इन्धनको पैरवी गर्नेको सङ्ख्या बढ्दै

दुबईमा जीवाश्म इन्धनको पैरवी गर्नेहरूको कीर्तिमानी सङ्ख्या प्रत्येक प्रतिनिधिमण्डलभन्दा धेरै हुँदा मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा कोइला, तेल र ग्यासका लागि बोल्ने स्वरहरू कडा भएको कार्यकर्ताहरूले बताएका छन् ।

विभाजन यति गहिरो छ कि नयाँ मस्यौदा सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले समाप्त गर्ने वा यो मुद्दालाई सम्बोधन नै नगर्ने विकल्पहरू समावेश गरिएको छ । यसबाट आगामी साताको अन्त्यमा हुने कठिन छलफलका लागि मञ्च तयार भएको छ ।

विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अरबले कडा धारणा राख्दै जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले बन्द गर्न त के चरणबद्ध तरिकाले घटाउनसमेत आफू बिल्कुलै सहमत नभएको बताएको छ । सात वर्षभित्र विश्वव्यापी तापक्रमले एक दशमलव पाँच डिग्री सेल्सियसको सीमालाई पार गर्न सक्छ भनी वैज्ञानिकहरूले दिएको चेतावनीका बावजुद यस्तो धारणा आएको हो ।

विश्वव्यापी तापक्रममा सबैभन्दा ठूलो योगदान गर्ने जीवाश्म इन्धनको भविष्यमाथिको पेचिलो बहसका लागि तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) ले आयोजना गरेको राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) को बैठक मुख्य रणभूमि हो ।

दुबईमा सम्भावित सम्झौताको पछिल्लो संस्करणमा तीन विकल्प थिए– जीवाश्म इन्धनको ‘व्यवस्थित तथा न्यायसङ्गत’ चरणबद्ध अन्त्य, जीवाश्म इन्धन परियोजनाहरूलाई चरणबद्ध कम गर्नका लागि तीव्र प्रयास वा कुनै पनि विषय समावेश नगर्ने ।

अघिल्लो कोप वार्ताहरूमा अवरोध सिर्जना गरेका राष्ट्रहरूले ती परम्परागत स्थितिमा आफूलाई उभ्याउँदै छन् । साउदी अरबका ऊर्जामन्त्रीले कोप२८ सम्झौतामा जीवाश्म इन्धनलाई चरणबद्ध तरिकाले कम गर्नका लागि आफू ‘बिल्कुल सहमत’ नभएको बताएका छन् । उनले यस्तो परिवर्तनको सम्भावनाबारे समेत प्रश्न गरेका छन् ।

यद्यपि जर्मनीका जलवायु दूत जेनिफर मोर्गनले विश्वव्यापी ऊर्जा प्रणालीलाई रूपान्तरण गर्नु ‘एकमात्र विकल्प’ भएको बताउनुभयो । “नवीकरणीय ऊर्जाहरू भविष्य हुन्, जीवाश्म युगको अन्त्य यहाँ कोप२८ मा मूर्त हुनुपर्छ ।”

धनी अर्थतन्त्रहरूले आफ्नै हाइड्रोकार्बन परियोजनाहरूको विस्तार गर्दा जीवाश्म इन्धनबाट बाहिर निस्कन माग गरेकामा उनीहरूलाई पाखण्डको आरोप लगाइएको छ ।

क्युबाका कूटनीतिज्ञ पेड्रो लुइस पेड्रोसोले विकासोन्मुख मुलुकहरूलाई पर्याप्त सहयोग उपलब्ध नगराई कठोर आर्थिक परिवर्तन गर्न गइरहेको बताउनुभयो । “यदि एउटा अत्यन्त निर्धन मुलुकले तेल पत्ता लगाउँछ र उसलाई कसैले सहयोग गर्दिन भन्यो भने हामीले कसरी उसलाई जीवाश्म इन्धन छुन सक्दैनौ भन्न सक्छौँ ?”, कथित ग्लोबल साउथ राष्ट्रहरूको समूहको नेतृत्व गर्ने पेड्रोसोले भन्नुभयो ।

जर्मन जलवायु दूत मोर्गनले प्रगति भइरहेको बताउनुभयो । उहाँले कहिलेकाहीँ यो सुस्त हुने तर यस्तो स्तरमा यो सामान्य भएको स्वीकार गर्नुभयो । सन् २०१५ मा ऐतिहासिक पेरिस जलवायु सम्झौताका वास्तुकार लरेन्स टुबियानाले वार्ताहरू कठिन छन् भन्नुभयो । उहाँका अनुसार ‘हामी यस्तो चरणमा छौँ जहाँ सबै विकल्प टेबलमा छन् तर हामीले कुनै सन्तुलन विन्दु देखिरहेका छैनौँ ।’

“यस्तो स्तरमा यो सामान्य हो तर यो विशेषरूपमा कठिन देखिन्छ किनकी हामी कोठामा हात्तीको बारेमा छलफल गरिरहेका छौँ जुन जीवाश्म इन्धन हो ।”यद्यपि अमेरिकी जलवायु दूत जोन केरीले वार्ताकारहरूले अगाडिको मार्ग पत्ता लगाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले सिङ्गापुरको प्रसारक सिएनएलाई भन्नुभयो, “तपाइँसामु एक सय ९५ देश वार्तामा आउँदा कठिन हुन्छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्दै हुनुहुन्छ तर विश्वको सबैभन्दा ठूलो जीवाश्म इन्धन उत्पादकमध्येको एक रुसका नेताले कोप२८ को भ्रमण गर्नुहुन्छ वा हुन्न भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

करिब दुई हजार पाँच सय जीवाश्म इन्धन पैरवीकर्ताहरूलाई दुबईमा कोप२८ वार्ताका लागि मान्यता दिइएको अभियान समूहहरूले बताएका छन् । एनजीओ अम्ब्रेला ग्रुप किक बिग पोल्युटर्स आउटका अनुसार जीवाश्म इन्धनको रुचिमा जोडिएका दुई हजार चार सय ५६ मानिसको पहिचान भएको छ । यो गत वर्षको कोप२७ को सङ्ख्याको करिब चार गुणा हो ।

यदि यिनीहरूलाई एउटा समूहमा लिने हो भने उनीहरूको सङ्ख्या ब्राजिल र युएई बाहेक ‘प्रत्येक मुलुकका प्रतिनिधिमण्डल’ भन्दा बढी हुनेछ । युएईको राष्ट्रिय तेल कम्पनी एडिएनओसीका प्रमुख सुल्तान अल जाबेर कोप२८ को अध्यक्षमा नियुक्त भएदेखि अभियानकर्ताहरू जीवाश्म इन्धन पैरवीकर्ताहरूको प्रभावलाई लिएर चिन्तित छन् ।

केन्द्रीय कारागार सुन्धारामा २ दुई सय ६१ विदेशी कैदीबन्दी

काठमाडौँ- मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले राससलाई जानकारी दिनुभयो । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उहाँका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन् ।

साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक÷एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ ।

विदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै

कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उहाँका अनुसार एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहेपनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।

तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ ।

कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउनुहुन्छ । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उहाँ भन्नुहुन्छ ।

केन्द्रीय कारागारमा दुई सय ६१ विदेशी कैदीबन्दी

काठमाडौँ – मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।

विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा हाल तीन हजार चार सय ६९ कैदीबन्दी रहेकामध्ये दुई सय ६१ विदेशी कैदीबन्दी रहेको कारागार प्रशासक ललितकुमार बस्नेतले राससलाई जानकारी दिनुभयो । केन्द्रीय कारागारमा हाल ३१ देशका कैदीबन्दी रहेका छन् । उहाँका अनुसार भारतीय एक सय ३५, चिनियाँ २९, पाकिस्तानका १७, दक्षिण अफ्रिकाका १४, बगङ्लादेश नौ, थाइल्याण्ड आठ, बोलिभिया पाँच, मलेसिया चार, फिलिपिन्स तीन, अमेरिका तीन, जर्मनी तीन, सुडान तीन रहेका छन् ।

साउदी अरब, सुडान, हङकङ, बेलारुस, नर्वेलगायतका देशका एक÷एक जना कैदीबन्दी रहेको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ ।

विदेशी कैदीबन्दीमध्ये लागुऔषधका धेरै

कारागार प्रशासक बस्नेतका अनुसार केन्द्रीय कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये लागुऔषध मुद्दाका बढी कैदीबन्दी रहेका छन् । उहाँका अनुसार एक सय १३ विदेशी नागरिक अवैध लागुऔषध ओसारपसारमा संलग्न रहेकाले कारागार बसेका छन् । त्यसैगरी जबरजस्ती करणीमा ३३ विदेशी नागरिक जेल परेको देखिन्छ । त्यसबाहेक अवैध रुपमा सुन ओसारपसारमा २५, ठगी मुद्दामा १६, कर्तव्य ज्यानमा १०, अपहरणमा आठ, जीउ बेच्ने मास्नेमा सात र विविध मुद्दामा २५ विदेशी नागरिक जेल परेका छन् ।

नेपालकै सबैभन्दा पुरानो र ठूलो कारागार सुन्धारामा स्थान अभावका कारण ५६ कैदीबन्दीलाई भर्खरै नख्खु कारागार स्थानान्तरण गरिएको कारागार प्रशासक बस्नेत बताउनुहुन्छ । नख्खु स्थानान्तरण गरिएका कैदीबन्दीमध्ये ५४ नेपाली र दुई विदेशी रहेका छन् । केन्द्रीय कारागारको क्षमता एक हजार सात सय रहेपनि हाल तीन हजार चार सयभन्दा बढी कैदीबन्दी हुँदा साँघुरो भएको छ ।

तीन वटा कारागार भवन रहेको केन्द्रीय कारागारमा केन्द्र जेलमा एक हजार आठ सय ६६, भद्र जेलमा एक हजार एक सय ३९ र महिला जेलमा चार सय ६४ कैदीबन्दी रहेका छन् । महिला जेलमा ११ नाबालक कैदीबन्दीसँगै रहेको केन्द्रीय कारागार व्यवस्थापनले जनाएको छ ।

कारागार प्रशासक बस्नेत काठमाडौँमा उपचारका लागि विभिन्न जिल्लाबाट कैदीबन्दी स्थानान्तरण हुँदा केन्द्रीय कारागारमा कैदीबन्दीको सङ्ख्या बढ्न गएको बताउनुहुन्छ । “अड्डा अदालतदेखि उपचारका लागि विभिन्न अस्पताल काठमाडौँमा हुँदा विभिन्न जिल्लाबाट केन्द्रीय कारागार आउने कैदीबन्दी बढेका छन्”, उहाँ भन्नुहुन्छ ।

त्रिवि कर्मचारी संघको तीनदिने अल्टिमेटम :माग पूरा नभए दीक्षान्त समारोह हुन नदिने चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले त्रिविले संघसँग गत चैतमा गरेको सम्झौता र गत वर्षको पुसमा बुझाएको ४५ बुँदे माग आज बुधबारसम्म पूरा नगरे दीक्षान्त समारोह हुन नदिने चेतावनी दिएको छ ।

संघले गत सोमबार उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ३ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको थियो । त्रिविले पुस २ गते दीक्षान्त समारोहको आयोजना गर्दैछ ।

संघका अध्यक्ष छत्रबहादुर कार्कीसहितको पदाधिकारीले सोमबार साँझ उपकुलपति प्राडा शिवलाल भुषालसमक्ष ज्ञापनपत्र बुझाएका थिए । संघका वरिष्ठ उपाध्यक्ष भुपेन्द्र लामाका अनुसार ज्ञापनपत्रमा त्रिवि सुधारदेखि कर्मचारी पदपूर्ति, सेवा सुविधालगायतका विषय उठान गरिएको छ ।

त्रिविका करिब ७ हजार कर्मचारीको छाता संगठन संघमाथि माग पूरा गर्न नसकेको आरोप लाग्न थालेपछि ज्ञापनपत्र बुझाएको जिकिर गर्दै उनले भने– ‘माग पूरा गर्न गत चैतमा सम्झौता भएको थियो तर कार्यन्वयन भएन, त्यसको कार्यान्वयन गर्न दबाब दिँदै ज्ञापनपत्र बुझाएका हौं ।

त्रिविले ४५ बुँदे मागमध्ये करिब १० वटा सम्बोधन गरेको थियो । माग सम्बोधन गरेकोमा त्रिवि पदाधिकारीलाई धन्यवाद दिएका थियौं, त्यसपछि कुनै प्रक्रिया अघि बढाएको छैन ।’ ज्ञापनपत्रमा माग पूरा नभए त्रिविको सबै निकायको प्रशासनिक र शैक्षिक कार्यक्रम ठप्प पार्ने चेतावनी पनि दिइएको छ । ज्ञापनपत्र बुझाएको विषयमा उपकुलपति प्राडा भुषालसँग जानकारी लिन खोज्दा उनको मोबाइल उठेन ।

ज्ञापनपत्रमा लामो समयदेखि ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीको स्थायित्वको प्रक्रिया अघि नबढेको, पदोन्नतिको अवसर अवरुद्ध भएको, नियमित विज्ञापन नहुँदा जनशक्तिको अभावमा दैनिक प्रशासन सञ्चालनमा अवरोध सिर्जना भएको, पछिल्लो समय कर्मचारीले खाइपाइ आएको प्रोत्साहन पारिश्रमिक पूर्ण रूपमा कटौती भएकोलगायतका विषय उल्लेख छन् ।

सम्झौता कार्यान्वयन गर्न आलटाल गर्ने पदाधिकारी कुर्सीमा बसिरहनुको अर्थ नभएको टिप्पणी गर्दै संघका अध्यक्ष कार्कीले भने– ‘एक वर्ष कु¥यौं, माग पूरा गर्न चासो देखाइएन । अति भएपछि दीक्षान्त समारोह नै स्थगित गर्ने योजनासहित ज्ञापनपत्र बुझाएका हौं ।’

संघले विगतमा भएको सम्झौता पूर्ण कार्यान्वयन र गुमेको सुविधाहरू यथावत गर्न माग गरेको छ । त्रिविले साउनदेखि कर्मचारीको भत्ता कटौती गरेको थियो भने करिब एक महिनाअघि परीक्षाको हकमा मात्र भत्ता दिन सकिनेगरी कार्यविधि तयार गरेको थियो ।उक्त कार्यविधि हालसम्म लागू हुन नसकेको र कतिपय क्याम्पसलगायतका निकायले अस्वीकार गरेको संघका वरिष्ठ उपाध्यक्ष लामाले जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर

काठमाडौँ, २० मङ्सिर : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उहाँलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उहाँको उपचार गएिको थियो ।

एनसेल प्रकरणमा अर्थ समितिले डाक्यो गभर्नर

निजी टेलिकम कम्पनी एनसेलको मुख्य लगानीकर्ता आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बेचेपछि यसमा आर्थिक अनियमितता भएको आशंकामा संसद्का दुई समितिले अध्ययन थालेका छन्। प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र अर्थ समितिले बुधबार यसबारे छलफल गर्न बैठक डाकेका छन्। दुवै समितिले आर्थिक अनियमितताबारे अध्ययन गर्ने हैसियत राख्छन्।

यस विषयभा सार्वजनिक लेखा समितिले आइतबार सम्बन्धित निकायलाई कागजात उपलब्ध गराउन पत्र पठाएको थियो। मागअनुसार कागजात आए तिनैमा आधारित भएर छलफल गर्ने र नआए समितिका सदस्यबीच छलफल गरी कसरी अघि बढ्ने भन्ने निक्र्योल गर्ने जानकारी सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले दिए।

त्यस्तै अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारी र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्न उनीहरूलाई डाकेको छ। अर्थ समितिले पहिलो बैठकमा प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालसहितलाई र दोस्रो बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बोलाएको छ। प्राधिकरणका पदाधिकारीसँग दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबाट प्राप्त हुने रोयल्टी, राजस्वको तथ्यांक र स्थिति सम्बन्धमा छलफल गरिने अर्थ समितिका सभापति सन्तोष चालिसेले जानकारी दिए।

यस विषयमा सार्वजनिक लेखा समितिले आइतबार प्राधिकरण, राजस्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलाई नौवटा प्रश्न राखेर आवश्यक कागजात उपलब्ध गराउन पत्र पठाएको थियो। पत्रमा मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आफ्नो शेयर बिक्री गरेको विषयमा आधिकारिक जानकारी, सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने हो कि होइन, दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान यस सन्दर्भमा पूरा भएको छ वा छैन, यसअघि भएको कारोबारभन्दा निकै कम मूल्यमा होल्डिङ कम्पनीबीच सेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रूपमा लिएको भन्ने प्रश्न सोधिएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

इराकमा बेचिए सात नेपाली चेली, उद्धारका लागि हारगुहार

काठमाडौं । गैरकानुनी बाटो हुँदै इराक पुगेका सात नेपाली चेली बेचिएका छन् । राम्रो रोजगारीको प्रलोभनमा परेर इराकको कुर्किस्थान पुगेका सिर्जना लिम्बू, शर्मिला कुमाल, अनिता पाइजा मगर, फूलमाया शेर्पा, सफिया गुरुङ, पेम्बा तमु शेर्पा र पासाङ शेर्पा बेचिएका हुन् ।

अनिता पाइजा मगरलाई सात महिनाअघि एजेन्ट किसन राईले राम्रो कमाइ हुने भन्दै गैरकानुनी तरिकाले इराक पु(याएर बिक्री गरेको पाइएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

सिर्जनालाई एजेन्ट प्रमोद गुरुङले, शर्मिलालाई आशा कुमालले, फूलमाया र पेम्बा तमुलाई एजेन्ट अजित श्रेष्ठले इराक पु¥याएर बिक्री गरेका हुन् भने सफिया र पासाङलाई पनि एजेन्टले त्यहाँ लगेर बेचेका हुन् । उनीहरू सबै जना दुई÷तीन महिनाअघि मात्र इराकको कुर्किस्थान आएको, एजेन्टले घरेलु कामदारका रूपमा बिक्री गरेको र समस्या भएपछि उद्धारका लागि अपिल गरेको अध्यक्ष श्रेष्ठले बताए । उनीहरूको अवस्था’दयगत एनआरएनएले जानकारी लिएको समेत उनले बताए ।

‘उनीहरूले उद्धारका लागि अपिल गरेको भए पनि अहिलेसम्म कसैको पनि उद्धार भएको छैन,’ उनले भने, ‘सोफिया र पासाङ काममा गएका छन्, अनिताको एजेन्टले पैसा मिलाउँदै छ, एक साता जति लाग्छ होला, अरूको पर्ख र हेरको अवस्थामा छ ।’

अन्यको हकमा भने रोजगारदातासँग भेटेर छलफल गरिएको छ । ‘यहाँ रोजगारदाताको दोष होइन, जसले नेपालबाट कामदार ल्याउनुहुन्छ, त्यसरी ल्याउँदा खुलस्त भन्नुप¥यो, तपाईंहरूले घरेलु कामदारका रूपमा काम गर्नुपर्छ भनेर, यहाँ आउने सबैलाई राम्रो नै हुन्छ भन्ने छैन । यहाँ अनुमानित १२ देखि १५ हजार महिलाले काम गरिरहेका छन्,’ उनले थपे ।

‘अहिले श्रम बजार पनि खुम्चिएको छ, अब जाडो मौसममा काम पाउन पनि गाह्रो हुन्छ, दिदीबहिनी हरेक दिन समस्यामा परेका छन्, उनीहरूले उद्धारका लागि सहयोग मागिरहेका छन्,’ उनले भने ।अनिताका एजेन्ट किसन राईले भने मुख्य भिसा निकाल्ने अनिल श्रेष्ठ रहेको र त्यहाँ समस्यामा परेको जानकारी आएको भन्दै साता–दस दिनभित्र नेपाल फिर्ता ल्याउने प्रतिबद्धता जनाए ।

‘ऊ मसँगै पढेको साथी पनि हो, उसको आर्थिक अवस्था पनि कमजोर भएकाले हामीले इराक पठाउन सहयोग गरेका हौं,’ किसनले भने, ‘६÷७ लाख रुपैयाँ जति खर्च लाग्ने रहेछ, पैसाको जोहो गर्दै छौं, पैसा हुनेबित्तिकै नेपाल फिर्ता ल्याउँछौं ।’ यो समाचार राजधानी दैनिकमा छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा सामान्य बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘MICHAUNG’ नामक सामुद्रिक आँधी (Cyclonic Storm) को समेत आंशिक प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राती कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हेर्नुहोस् मंसिर २० गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँकार्य थालनी गर्न समयले साथ दिनेछ । मध्यान पश्चात सामान्य खर्चको सम्भाबना बन्नेछ । आफन्त जन सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखा पर्नेछ ।

बृष राशि – सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि- पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि- खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि- कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि- स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि – मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

दलले कामको चिन्ता गर्ने हो, निर्वाचन होइन : महामन्त्री शर्मा

बाजुरा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विसं २०७९ को निर्वाचनमा पाएको जनमतका आधारमा काम गर्ने जिम्मेवारी राजनीतिक दलहरुको काँधमा भएको बताउनुभएको छ ।

अहिलेको अवस्थामा देश र जनताका लागि मिसन ८४ नभई भिजन ९५ बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । नेपाली कांग्रेस बाजुराद्वारा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबै राजनीतिक दल मिलेर अबको १५ वर्षमा देश बनाउने भिजन तयार गर्न आवश्यक रहेको बताउनुभएको छ । “दलले मिसन ८४ को निर्वाचनको होइन, देश निर्माणको चिन्ता गर्नुपर्छ”, महामन्त्री शर्माले भन्नुभयो ।

महामन्त्री शर्माले पुरानो दल एमाले र नयाँ उदय भएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई कटाक्ष गर्दै मिसन ८४ भन्दै विभिन्न अभियान सञ्चालन गर्नुभन्दा देश बनाउने भिजन अबको १५ वर्षभित्रमा बनाउन आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “विद्यार्थीले पढाइमा चिन्ता गर्ने हो”, परीक्षाको होइन । जसले परीक्षाको चिन्ता गर्छ त्यो अब्बल विद्यार्थी होइन ।”

सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ : सभापति देउवा

ओखलढुङ्गा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीयतालाई संस्थागत गर्दै देशको विकासमा पर्ने बताउनुभएको छ । ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मंगलबार सभापति देउवाले सङ्घीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताउनुभएको हो । मुलुकमा सङ्घीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उहाँले गणतन्त्र र सङ्घीयताको अर्को विकल्प नभएकामा जोड दिनुभयो । “देश सङ्घीयताको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ ।

अहिले नै यसको विकल्प खोज्नु उपयुक्त हुँदैन”, उहाँले भन्नुभयो, “यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ । व्यवस्था परिवर्तनको सपना कसैले नदेखे हुन्छ ।” उहाँले आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबैलाई अपनत्व दिलाउँदै सङ्घीयताको संस्थागत विकासमा लाग्न आवश्यक रहेको बताउनुभयो । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवालाई स्वरोजगार बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । देशमा बढ्दो बेरोजगारी समस्या समाधान गर्नुपर्ने भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास गरेर रोजगारीे सृजना गर्न सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । नेता कोइरालाले एनसेलमा भ्रष्टाचारको चर्चा चलिरहेको सन्दर्भमा नेपाली कांग्रेसले सदनमा आवाज उठाउने बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दल अहिल्यै आगामी निर्वाचनको तयारीमा लाग्नु गलत भएको बताउनुभयो ।

सङ्घीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा र भ्रष्टाचार अन्त्यका लागि कांग्रेस लाग्ने बताउनुभयो । छिट्टै सङ्घमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने उहाँले उल्लेख गर्नुभयो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका नागरिकलाई निराश नहुन आग्रह गर्नुभएको छ । अहिले प्रदेशले सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरेको मुख्यमन्त्री कार्कीले बताउनुभयो । प्रदेशमा भइरहेको पहिचानको आन्दोलनको कुनै औचित्य नरहेको बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बे, पार्टी प्रवक्ता मीनबहादुर विश्वकर्मा, कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की, पूर्वमुख्यमन्त्री उद्धव थापा, केन्द्रीय सदस्यहरु रामहरि खतिवडा, प्रदीपकुमार सुनुवारलगायत केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । प्रशिक्षणमूलक सम्मेलन बुधबारसम्म सञ्चालन हुने जिल्ला पार्टी सभापति तेजेन्द्र खनालले जानकारी दिनुभयो ।

पार्टीका पूर्वजिल्ला सभापति र पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेलाई सो अवसरमा सम्मान गरिएको थियो । पूर्वजिल्ला सभापतिहरु महेशकुमार कोर्माेचा, प्रदीपकुमार सुनुवार, गोमा केसीका साथै पार्टी नेतहरु चन्द्रकान्त दाहाल, दुर्याेधन गिरीलाई पनि सम्मान गरिएको थियो । स्वर्गीय नेताहरु डिल्लीराम खनाल, मित्रसेन दाहाललाई मरणोपरान्त सम्मान गरिएको नेपाली कांग्रेस ओखलढुङ्गाले जनाएको छ ।

भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति आए : अध्यक्ष ओली

जाजरकोट – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जाजरकोट र रुकुमका भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आफू प्रभावित क्षेत्रमा आएको बताउनुभएको छ ।

भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न जाजरकोट र रुकुम पश्चिमको सिमानान रिम्ना पुग्नुभएका अध्यक्ष ओलीले पार्टी केन्द्रको निर्णयबाट भूकम्पपीडितका पीडा कम गर्न देशभरबाट स्वयम्सेवक खटाएको जानकारी दिनुभयो ।

“सही चिन्तन नभएसम्म केही काम गर्न सकिँदैन । एमालेमा जुन कार्य क्षमता छ, त्यो अरूसँग छैन, एमालेसँग जुन जनभावना छ, त्यो जनभावना अरूसँग छैन”, उहाँले भन्नुभयो ।

पार्टीले सुरु गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’को छैटौँ दिन सुर्खेतबाट भेरी कोरिडोर हुँदै जाजरकोट पुग्नुभएका अध्यक्ष ओलीसहित पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव पद्मा अर्याललगायतका स्थायी कमिटी, केन्द्रीय कमिटिका नेता सहभागी हुनुहुन्छ ।

रिम्नमा भूकम्प पुनः निर्माण फोटो प्रदर्शनी

एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयम्सेवक विभागले जाजरकोटको रिम्नामा फोटो प्रदर्शनी गरेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले गरेको भौतिक संरचना क्षतिको खोज उद्धार र पुनःनिर्माणका लागि प्रभावित क्षेत्रमा विभागले एक दिने फोटो प्रदर्शनी गरेको हो ।

यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट चिवा भञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’को छैटौँ दिन एमाले अध्यक्ष ओली नेतृत्वको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको अवरसमा विभागले कामका क्रममा खिचिएका तीन सय बढी फोटोको प्रदर्शनी गरेको विभागका संयोजक किरण पौडेलले जानकारी दिनुभयो ।––

सफल गीतकार कमला न्यौपानेले ल्याइन् किनाराको ढुंगा

काठमाडौँ । गीतकार कमला न्यौपानेको किनाराको ढुंगा बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका सज्जा चौलागाईको स्वर तथा न्ह्यू बज्राचार्यको संगीत रहेके गीतमा प्रज्वल लामाको एरेन्ज रहेको छ । भिडियोले आफ्नो प्रेमीको कल्पनामा डुबेकी मायालुको प्रेमाभावलाई बयान गरेको छ । भिडियोमा सुन्दरी मोडल सुयसा पौडेल गज्जबसँग खुलेकी छिन् ।

भिडियोको निर्देशन गायक समेत रहेका अनुप रेग्मीले गरेका हुन् । निर्देशक रेग्मीले भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको बताए । करिब २ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक हुन् अनुप । गायनको क्षेत्रमा एकपछि अर्को सृजना लिएर बजारमा आइरहेका बेला उनले आफ्नै निर्देशनमा किनाराको ढुंगा बोलको गीतको भिडियो बजारमा ल्याएका हुन् ।

रेग्मीको स्वरमा नै रहेको अर्को नयाँ गीतको भिडियो रिलिजको क्रममा रहेको छ । सार्वजनिक भिडियोमा किनाराको ढुंगामा शुशिल बिक्रम शाहको कन्सेप्ट रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियो तरंग द वेभ क्रियशनबाट बजारमा आएको हो ।

‘बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको छ’- मुख्यमन्त्री चौधरी

दाङ, १९ मङ्सिर : प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताउनुभएको छ । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताउनुभयो । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताउनुभयो ।

उहाँले कोरोनापछि बीमा कम्पनीको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले आवश्यकताअनुसार बीमाको नीति, नियम बनाउने बताउनुभयो । विश्वमा बीमा राम्रो छ, उहाँले भन्नुभयो, “बीमा सुविधा प्राथमिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । बीमा नीति आवश्यक छ”, उहाँले भन्नुभयो, “बीमाले त्यो विश्वास दिलाउन सक्नुपर्छ । बीमा कम्पनीको गलत कार्यको नियमन प्राधिकरणले गर्नुपर्छ” ।

कार्यक्रममा सहभागीले बीमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकाले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका छन् । उनीहरुले कोरोना बीमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासोसमेत गरेका थिए । त्यसै गरेर कृषिमा बाली बीमा गर्नुपर्ने, पूर्वाधारको बीमा गर्दा सहज हुनुपर्ने र जीवन बीमा भुक्तानीमा छिटोछरितो गरिनुपर्ने सुझाव दिएका छन् ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्यमन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याललगायतले कार्यक्रममा धारणा राख्नुभएको थियो । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल लगायतले उठेका विषयवस्तुमा प्रष्ट पारेका छन् ।

पुटिनले भोलि साउदी अरब र युएईको भ्रमण गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गर्नुहुने क्रेमलिनले बताएको छ । मस्कोले युक्रेन द्वन्द्वमा पश्चिमबाट अलग्गिए पनि विदेशमा सहयोगीहरूबाट सहयोग पाउने प्रयत्न गरेको छ ।

युक्रेनमा सेना परिचालन गरेपछि पुटिनले आफ्नो अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गर्नुभएको छ र अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले उहाँमाथि युक्रेनी बालबालिकालाई निर्वासित गरेको आरोप लगाउँदै उहाँको गिरफ्तारीको वारेन्ट जारी गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मङ्गलबार पत्रकारहरूसँग भन्नुभयो, “राष्ट्रपति पुटिनले भोलि संयुक्त अरब इमिरेट्स र साउदी अरबको कार्य भ्रमणमा जानुहुनेछ ।” साउदी अरबमा पुटिनले क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग व्यापार, अन्तर्राष्ट्रिय राजनीति र मानवीय सहयोगमाथि छलफल गर्नुहुने क्रेमलिनले घोषणा गरेको छ ।

उहाँले व्यापार, ऊर्जा, पर्यटन र शिक्षाका विषयमा युएईमा आफ्ना समकक्षी शेख मोहम्मद बिन जायद अल नाहयानसँग छलफल गर्नुहुनेछ । क्रेमलिनले इजराइल र हमासबीचको द्वन्द्व दुवै बैठकका एजेन्डा हुने बताएको छ । युएईले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप२८) को आयोजन गरिरहेको छ तर पुटिनले कुनै पनि सम्बन्धित कार्यक्रममा भाग लिने कि नलिने भनेर क्रेमलिनले निर्दिष्ट गरेको छैन ।

सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमाथि ठूलो स्तरमा शत्रुता सुरु गरेदेखि पुटिन विदेशमा धेरै उच्चस्तरीय बैठकहरूमा सहभागी हुनुभएको छैन । ‘राजनीतिक प्रदर्शन’ बाट बच्नका लागि अगस्टमा दक्षिण अफ्रिकामा ब्रिक्स सम्मेलनमा उहाँ सहभागी हुनुभएन ।

उहाँ सेप्टेम्बरमा व्यक्तिगतरूपमा प्रमुख जी२० शिखर सम्मेलनमा पनि सहभागी हुनुभएन । यद्यपि उहाँले नोभेम्बरमा एउटा भर्चुअल जी२० बैठकमा भाग लिनुभएको थियो ।

मार्च महिनादेखि आइसिसीले पुटिनलाई खोज्दै आएको छ । आफ्नो मुलुकमा प्रवेश गरेमा पुटिनलाई आइसिसी सदस्य राष्ट्रहरूले गिरफ्तारी वारेन्टलाई पालना गर्ने अपेक्षा गरिएको छ । आइसिसीको स्थापना सन्धिमा युएई र साउदी अरब दुबै मुलुकले हस्ताक्षर नगरेकाले उहाँलाई त्यहाँ गिरफ्तार गरिने छैन ।

राष्ट्रपति पुटिनले अक्टोबरमा चीनको भ्रमण गर्नुभएको थियो । यस वर्ष पूर्वसोभियत सङ्घबाहिर यो उहाँको पहिलो भ्रमण थियो । धेरै दिनअघि आइसिसीले वारेन्ट जारी गरेपछि उहाँ पहिलो विदेश भ्रमणका रूपमा पूर्वसोभियत किर्गिस्तान जानुभएको थियो ।

यो साता पुटिनको भ्रमणपछि बिहीबार उहाँले इरानका राष्ट्रपति इब्राहिम रायसीलाई भेट्ने अपेक्षा गरिएको छ । रुसले इरानसँगको आर्थिक तथा सैन्य सम्बन्धलाई बलियो बनाइरहेको छ । इरानलाई पनि पश्चिमी प्रतिबन्धको निशाना बनाइएको छ ।

पश्चिमी मुलुकहरूले तेहरानमाथि ठूलो मात्रामा ड्रोन र अन्य हतियार उपलब्ध गराएर युक्रेनमा रुसको आक्रमणलाई समर्थन गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले गत वर्ष जुलाईमा इरानको भ्रमण गर्नुभएको थियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले क्षेत्रीय समकक्षीहरूसँग छलफल गर्नका लागि अक्टोबरमा तेहरानको भ्रमण गर्नुभएको थियो ।

इरानको आधिकारिक समाचार एजेन्सी इर्नाले पुटिनको निमन्त्रणपछि रायसीले मस्कोको भ्रमण गर्नुहुने बताएको छ । “एक दिवसीय भ्रमणको शीर्ष एजेन्डामा आर्थिक अन्तरक्रियासहित द्विपक्षीय मुद्दाका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरू विशेषरूपमा गाजाको स्थितिमा छलफल हुनेछ”, इर्नाले भनेको छ ।

मस्कोले इजराइल र हमासबीचको लामो समयदेखि चलिरहेको द्वन्द्व समाधान गर्न असफल भएकामा अमेरिकालाई दोष दिएको छ । साथै इजराइल र हमास दुवैसँग सम्बन्ध कायम राखेको रुसले स्वयंलाई एउटा सम्भावित मध्यस्थकर्ताका रूपमा राखेको छ ।

लगानी सम्मेलनलाई प्रतिफलमुखी बनाउन गर्नुपर्ने पूर्वतयारीबारे छलफल

काठमाडौँ, १९ मङ्सिर : तेस्रो लगानी सम्मेलन आयोजनाका लागि गठित कार्यान्वयन समितिको पहिलो बैठक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले लगानी सम्मेलनलाई प्रतिफलमुखी बनाउन गर्नुपर्ने पूर्वतयारीबारे छलफल गरेको लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले राससलाई जानकारी दिनुभयो ।

“लगानी सम्मेलनलाई बढी प्रभावकारी र नतिजामुखी बनाउन यसअघिका लगानी सम्मेलनको समीक्षा गरेर के कस्ता कानुनी तथा प्रक्रियागत सुधार गर्दै जानुपर्छ भनेर छलफल भएको छ”, अधिकारीले भन्नुभयो, “उद्योगी व्यवसायीका समस्या के छन् पहिचान गर्ने र समाधान खोज्ने, सार्वजनिक निजी साझेदारीमा लगानी खोज्न सकिने आयोजना र लगानी सम्मेलनमा सोकेसमा राख्न सकिने आयोजनाको सूची तयार पार्ने विषयमा छलफल भएको छ ।”

सम्मेलन अघि पनि विभिन्न कार्यक्रम गर्ने तथा सम्मेलनबारे प्रचार–प्रसारका कामलाई कसरी लैजाने भनेर पनि छलफल भएको अधिकारीले जानकारी दिनुभयो ।

आउँदो वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्र्ने सरकारको तयारी छ । लगानी सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।

सम्मेलनको कार्यतालिका र ढाँचा स्वीकृत गर्ने, लगानी वातावरण बनाउनका लागि आवश्यक नीतिगत सुधारका क्षेत्र पहिचान गर्ने र सम्मेलनको समग्र पक्ष हेर्ने गरी निर्देशक समिति गठन भएको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठित उक्त समितिमा परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार, संस्कृति पर्यटन, उद्योग, कृषि, सहरी र सङ्घीय मामिलामन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, अर्थ सचिव, उद्योग सचिव, निजी क्षेत्रका तीनवटा सङ्गठित संस्थाका अध्यक्ष सदस्य छन् ।

मुख्यसचिवको संयोजकत्वमा विषयगत समिति, मन्त्रालयका सचिव, राष्ट्र बैंकका डेपुटी गभर्नर र निजी क्षेत्रका छाता संस्थाका अध्यक्ष सदस्य रहने गरी कार्यान्वयन समिति बनाइएको छ ।

लगानी सम्मेलनमा प्रस्तुत हुने प्रस्तावित परियोजनाको स्थिति विश्लेषण गरी परियोजनाको अवधारणा बनाउन, सम्मेलनमा प्रस्ताव गर्ने आकर्षक र भरपर्दो आयोजनाको विकास गर्ने सम्मेलनमा गरिने विभिन्न समझदारीपत्र तथा सम्झौताको आवश्यक तयारी गर्नलगायत कामका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव संयोजक रहने गरी विभिन्न मन्त्रालयका सहसचिव सम्मिलित प्राविधिक समिति गठन गरिएको छ ।

टोखामा खाजा घरमा जुवातास खेलिरहेका १४ जना पक्राउ

काठमाडौँ, १९ मङ्सिर : टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवाल समेत नौ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ६१ हजार पाँच सय ९५ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३ महाराजगञ्जस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ चक्रपथ बस्ने काभ्रेपलाञ्चोक घर भएका ६० वर्षीय ओमकृष्ण श्रेष्ठ समेत पाँच जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु ४८ हजार पाँच सय ६० र तीन बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

कोप २८ मा ‘हिमालको पुकार’ प्रदर्शन

दुबइ (युएर्ई), १९ मङ्सिर : संयुक्त अरब इमिरेट्सको दुबईमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–२८) मा नेपालमा भएको जलवायुजन्य क्षति समेटिएको वृत्तचित्र हिमालको पुकार प्रदर्शन गरिएको छ ।

वृत्तचित्रमा सगरमाथा, अन्नपूर्णसहितका हिमाल तीव्रगतिमा पग्लिँदा त्यसले जनजीवनमा पारेको असरलाई देखाइएको छ । जलवायु परिवर्तनका कारण मनाङ, मुस्ताङ, हेलम्बु, मेलम्ची, से फुक्सुण्डो, तराई मधेसका बाढी पहिरो र त्यसले पु¥याएको क्षति वृत्तचित्रमा समेटिएको छ ।

पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ – मन्त्री किराती

फिक्कल (इलाम), १९ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ ।

इलामको प्रमुख पर्यटकीय क्षेत्र माङमालुङको भ्रमणपछि मन्त्री किरातीले देशको पर्यटन क्षेत्रको अधिकतम उपयोग गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्नसकिने बताउनुभयो । नेपाल विश्व पर्यटनको केन्द्र बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउँदै उहाँले भन्नुभयो,“यहाँका हरेक ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् । यहाँका विभिन्न जातजातिको संस्कृति, परम्परा एवं सभ्यता पर्यटकका लागि आकर्षक छन् । धेरैभन्दा धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”

मन्त्री किरातीले प्रकृति र संस्कृतिको संयोजनबाट नै पर्यटन प्रवद्र्धन हुने बताउँदै भन्नुभयो– “हाम्रो प्राकृतिक संरचनाजस्तो छ, त्यसको मौलिकता नमासिने गरी विकास गर्नुपर्छ । अनिमात्र विदेशी पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।” उहाँले माङमालुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन’ – अर्थमन्त्री महत

काठमाडौँ, १९ मङ्सिर : अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताउनुभएको छ । नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो बचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’

‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो ।’–उहाँले भन्नुभयो ।

नेपालको अर्थतन्त्र विग्रियो, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता रहेको उल्लेख गर्नुहुँदै मन्त्री महतले तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरेको, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह गरेकोे, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्नेजस्ता कारण यसको कारक बनेको बताउनुभयो ।

थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्डको आयात रोकिएपछि उद्योग नै नेपाल आएको उहाँले बताउनुभयो । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ’– मन्त्री डा. महतको भनाइ थियो ।

‘राजश्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यत्ति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो’ मन्त्री डा. महतले भन्नुभयो, ‘देशलाई पनि आम्दानी हुने स्रोत र आम्दानीको आवश्यकता छ । सरकारले जति धेरै आम्दानी गर्छ, त्यत्ति नै हामी पूर्वाधारमा लगानी गर्न सक्छौँ । यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’

‘सिआइडी’का कलाकार दिनेश फडनिसको निधन

काठमाडामैं – भारतकै चर्चित टेलिशृंखला ुसिआइडीु का कलाकार दिनेश फडनिसको निधन भएको छ। उनको आज मुम्बईस्थित तुंगा अस्पतालमा निधन भएको भारतिय मिडियामा जनाइएको छ ।

उनी लामो समयदेखि बिरामी रहेका थिए। उनलाई गत शुक्रबार स्वास्थ्यमा समस्या देखिएको हो ।

महाकवि विद्यापतिको स्मृतिमा लक्ष्मण संवत् को चर्चा

राकेशप्रसाद चौधरी/काठमाडौँ – नेपाल विभिन्न भाषा र धर्म मान्नेहरुको साझा थलो हो । यसै साझा फूलबारीमा मैथिली भाषाले आफ्नो छुट्टै विशिष्टता देखाउँदै आएको छ । नेपालभित्रको मिथिला, तराईभित्रको मिथिला वा मधेसभित्रको मिथिला जे भनिए पनि कुनै समयमा यो एउटा स्वतन्त्र र सार्वभौम रुपमा सत्ता सञ्चालन गरेको मात्र नभई गणराज्यमै रहेको थियो ।

मैथिली संस्कृति, भाषा, साहित्य अथवा परम्पराको चर्चा महाकवि विद्यापतिको योगदानबिना असम्भव प्रायः छ । विद्यापतिको इतिहासको चर्चा गर्नेले पटकपटक लक्ष्मण संवत्को चर्चा गर्नैपर्छ । यस संवत्को चर्चाबिना उहाँको इतिहास लेख्न सकिएला तर यो पाठकलाई भ्रमित पार्ने काममात्र हुने देखिन्छ । अहिले पनि केही मिथिलावासीले लक्ष्मण संवत्लाई जीवित राख्ने प्रयास गरिरहे पनि जनजिब्रोमा विद्यापतिको जत्तिकै चर्चा पटक्कै छैन । मिथिलामा प्रचलित अधिकांश पञ्चाङ्गमा लक्ष्मण संवत्् राख्ने गरिएको छ । यसलाई मिथिला संवत्कै रुपमा पनि धेरैले चर्चा गर्ने गरेका छन् ।

बङ्गालको सेनवंशीय शासक बल्लाल सेनको मातहतमा मिथिला क्षेत्रका राजाहरुले कर चुक्ता गरी यस क्षेत्रमा शासनसत्ता सञ्चालन गर्ने गरेका थिए । बल्लाल सेनको शासनकाल सन् ११६० देखि ११७८ सम्म रहेको मानिन्छ । उहाँका पुत्र लक्ष्मण सेन सत्तामा आएपछि सेनशासनकै अधिनमा रही मिथिलामा नरसिंह देवले शासन सञ्चालन गरिरहेको मुगल राजा अकबरका समकालीन मुल्ला तकियाको वयाज (डायरी)मा उल्लेख छ ।

लक्ष्मण संवत्् बल्लाल सेनले सञ्चालनमा ल्याएको देखिन्छ किनभने राजा लक्ष्मण सेनको जन्म सन् १११८ मा भएको हो । उहाँको पहिलो जन्मोत्सवबाट अर्थात् सन् १११९ बाट नै लक्ष्मण संवत्को सुरुआत भएको देखिन्छ । लक्ष्मण सेनले सन् ११७८ मा ६० को वर्ष उमेरमा राजा भई सन् १२०६ सम्म सत्ता सञ्चालन गरेका थिए । त्यसपछि पनि विश्वरुप सेन, केशव सेनसहितका बङ्गालका सेनवंशीहरुले शासन व्यवस्था सञ्चालन गरे पनि लक्ष्मण सेनले कब्जा गरेका केही भूभागहरु मुस्लिम शासकहरुको हातमा पुगिसकेको थियो । पछिसम्म पनि राजा नरसिंह देवले कर तिरेर दिल्लीका मुस्लिम शासक र बङ्गालसँग सम्बन्ध बनाएका थिए ।

शिव सिंहको जन्म हुनुभन्दा अगाडिसम्म रामसिंह देव, भक्तिसिंह देव, भूपालसिंह देव र हरिसिंह देवले यस क्षेत्रमा राज्य सञ्चालन गरेका थिए । यस क्षेत्रमा पटकपटक विदेशी शासकहरुले आक्रमण गरे पनि सत्ता यी राजाहरुकै हातमा थियो । गयासुद्दीन तुगलकको आक्रमणबाट हार खाएका राजा हरिसिंह देव उत्तर पहाडतर्फ पलायन भएका थिए । काठमाडौँ उपत्यकामा राज्य सञ्चालन गरेका प्रताप मल्लको अभिलेखमा समेत यस कर्णटबंशी राजाहरुको नाम उल्लेख छ ।

सिमरौनगढको राज्यको अस्तित्व मेटाएर यस क्षेत्रलाई तुगलकाबाद प्रान्तको रुपमा तिरहुतको प्रशासन दरभङ्गाबाट सञ्चालन गर्दै केही समयपछि पुनः ओइनवार वंशको जिम्मा लगाइएको थियो । यो राज्यका शासकले दिल्लीका बादशाहलाई कर तिर्नुपर्दथ्यो । हरिसिंह देव सन् १३२५ सिमरौनगढबाट पलायन भएको तथा दरभङ्गामा ओइनवार वंशको राज्य व्यवस्था सन् १३५२ देखि सुरु भएको मानिन्छ ।

मिथिलाको हरेक भाषिक, सांस्कृति एवं सामाजिक पक्षमा निरन्तर अनुसन्धान एवं लेखनी गर्ने डा रामदयाल राकेशले कर्णाटवंशीय राजा शिव सिंहले लक्ष्मण संवत् २९३ मा महाकवि विद्यापतिलाई आश्रयका लागि तामपत्र दिएको उल्लेख गर्दै नेपाल सरकारले नेपाल संवत्जस्तै लक्ष्मण संवत्लाई मान्यता दिनुपर्ने धारणा राख्नुहुन्छ । उमेरमा महाकवि विद्यापति राजा शिव सिंहभन्दा दुई वर्ष जेठो हुनुहुन्थ्यो । लक्ष्मण संवत्् २४१ मा विद्यापति तथा २४३ मा शिव सिंहको जन्म भएको कुरामा अधिकांश इतिहासकार एकमत देखिएका छन् । हुनतः कुनै पनि रचनामा उहाँको आफ्नो जन्मकाल उल्लेख छैन । इतिहासकारहरुले ‘कीर्तिलता’ बाट राजा गणेश्वरको हत्या लक्ष्मण संवत् २५२ मा भएको आधारमा दुबैको जन्म तिथि अङ्कित गरेका हुन् ।

भीमनाथ झाको ‘परिचायिका’ कृतिमा अवहट्ट गीतको जगमा लक्ष्मण संवत् २४१ मा महाकवि विद्यापतिको जन्म भएको दाबी गरिएको छ । यसलाई केहीले सन् १३५० तथा केहीले सन् १३६० मा विद्यापतिको जन्म भएको मत दिने गरेका छन् । लक्ष्मणााब्द २९३ शक १३२४ को चैत्र महिनाको कृष्ण षष्ठी ज्येष्ठा नक्षत्र देव सिंहको मृत्यु भएकै दिन राजा शिव सिंहलाई सिंहासन जिम्मा लगाइएको थियो । पटकपटक युद्ध भइरहेको थियो । तीन वर्षपछि यवन सेनासँग असुरक्षित भएपछि रानी लखिमालाई महाकवि विद्यापतिको साथ लगाएर आफ्ना मित्र द्रोणवार वंशी राजा पुरादित्य–गिरी नारायणको आश्रयमा पठाइएको थियो । यो राज बनौली सप्तरी, सिरहा तथा महोत्तरीवासीले आ–आफ्नो जिल्लामा रहेको दाबी गर्दै आएका छन् । तथापि पुरातत्व हिसाबले यसका अवशेषहरु महोत्तरीको बनौली गाउँमा अझै रहेको देखिन्छ । यहाँ रहको पोखरीको किनार तथा नजिकको खेतबाट पुराना इँटा भेटिन्छ । यस किसिमको इँटा खेतधनीले लुकाउने गरेको पुराना पत्रकार बैधनाथ चौधरी बताउनुहुन्छ । विद्यापति डिह भनेर चिनिने यस गाउँमा विद्यापति प्रवेशद्वार समेत बनाइएको छ । त्यही प्रदेश सरकारले डिह नजिक रहेको पोखरीलाई सौन्दर्यकरण गरिरहेको छ ।

बनारस विश्वविद्यालय हिन्दी विभागका शिवप्रसाद सिंहले सन् १९५७ मा प्रकाशन गरेको विद्यापति विशेषमा मैथिली इतिहास एवं विद्यापति साहित्य कालको बारेमा अध्ययन गरेका कीलहार्न तथा जयसवालले सन् १११९ बाट लक्ष्मण संवत् प्रचलनमा आएकोमा एकमत रहेको लेखेका छन् । कीलहार्नले छ वटा तथा जयसवालले डेढ दर्जन प्राचीन मैथिली पाण्डुलिपिको आधारमा अध्ययन गरी कर्णाट, ओइनीवार वंशमा लक्ष्मण संवत्् उल्लेख दस्तावेज एवं रचनाहरुमा १११९ जोडेर काल निर्णय गर्न सकिने दाबी गरेका छन् । त्यही सन् १५३० पछिका दस्तावेज तथा रचनाहरुमा ११०९ जोड्दा मात्र वर्ष गणना गर्न सकिने उहाँहरुकै दाबी छ ।

प्रेम बहादुर खत्रीले २०४४ चैत्र महिनाको गरिमा वर्ष ६ अङ्क ४ मा प्रकाशन गराउनु भएको सिम्रौन गढ–एक विलुप्त नगरको चर्चामा उपत्यकाका मल्ल राजाहरु आफूलाई पनि कर्णाटबंशीय भनेर गौरव गर्ने गरेको उल्लेख छ । राज बनौलीमा १२ वर्ष निर्वासन बसेका बेला महाकवि विद्यापतिले लक्ष्मण संवत् २९९ मा संस्कृत भाषामा लिखनावली तथा ३०९ मा श्रीमद्भागवत पुराणको पदावली स्थानीय भाषामा रुपान्तरण गर्दै रानी लखिमादेवीलाई सुनाएका थिए । निर्वासनबाट आफ्नै गाउँ मिथिलाको विसफी फर्केका उहाँको २० वर्षपछि निधन भएको तर्क इतिहासहरुले गर्ने गरेका छन् । यसलाई अधिकांशले लक्ष्मण संवत्् ३४१ अर्थात सय वर्षको उमेरमा महाकवि विद्यापतिको निधन भएको बताउने गरिएको छ ।

यस क्षेत्रमा ‘विद्यापतिक आयु अवसान कार्तिक धवल त्रयोदशी जान’ भाष्य जनजिब्रोमा भएकोले हरेक वर्ष यस तिथिलाई आधार मानेर स्मृति दिवस मनाउने गरिएको छ । यो दिवसलाई आधार मानेर विभिन्न ठाउँमा हप्ता दिनसम्मको कार्यक्रम समेत गर्ने गरिन्छ । नेपालमा प्रचलित विभिन्न संवत््हरूबारे अध्ययन गर्नुभएका शङ्करमान राजवंशीले ‘विभिन्न संवत््हरूमध्ये लक्ष्मण संवत्् र तिनको सम्बन्ध’ विषयक अनुसन्धानपत्रमार्फत् नेपालसंवत््, विक्रमसंवत्् र शक संवत््बीचको वर्ष अन्तरबारेको जानकारी सार्वजनिक गर्नभएको छ । राजवंशीको अनुसन्धानपत्रमा नेपाल संवत््सँग ३५३–५४, शक संवत््सँग ११५४–५५ तथा विक्रम संवत््सँग १२८९–९० बर्षको फरकमा लक्ष्मण संवत्् रहेको उल्लेख छ ।

महोत्तरी चकवा निवासी पण्डित कृष्णदेव मिश्रका अनुसार अङ्ग्रेजी वर्षबाट ११०९ घटाएर लक्ष्मण संवत्् प्रयोगमा ल्याउने गरिएको छ । लक्ष्मण संवत््को नयाँ वर्ष प्रायः माघेसङ्क्रान्तिको अगाडि नै मनाउने गरिन्छ । महाकवि विद्यापतिले आफ्नो जीवनकालमा भूपरिक्रमा, विभाग सागर, दान वाक्यावली, पुरुष परीक्षा, शैवसर्वस्वसार, शैवसर्वस्यसार प्रमाणभूत पुराण सङ्ग्रह, गङ्गावाक्यावली, दुर्गाभक्ति तरंगणी, मणिमञ्जरी, खिनावली, गयापत्तलक, लर्षकृत्य तथा व्याडिभक्ति तरङ्गणी संस्कृत, कीर्तिलता तथा कीर्तिपताका अवहट्टमा एवं गोरक्ष विजय नाटक संस्कृतमा रचना गर्नुभएको हो । साथै, संस्कृत, अवहट्ट तथा मैथिली भाषाका सयौं पदावली रचना गरिएको हो । नेपालको पुस्तकालयमा समेत महाकवि विद्यापति लिखित पदावली सुरक्षित छ । नेपालमा मैथिली भाषाका महाकवि विद्यापतिलाई राष्ट्रिय विभूतिको मान्यतासँगै लक्ष्मण संवत््लाई नेपालको अन्य संवत्् जस्तै मान्यता दिइए अन्तरराष्ट्रिय स्तरमा प्रशंसा हुने देखिन्छ । (लेखक पत्रकार हुनुहुन्छ)