`

इराकी सुरक्षाकर्मीहरू १० वर्षपछि मतदान गर्दै

इराकी सुरक्षाकर्मीहरूले १० वर्षको अन्तरालपछि सोमबार हुने प्रान्तीय निर्वाचनअघि शनिबार देशका १८ प्रान्तमध्ये १५ वटा प्रान्तमा मतदान गरेका छन् ।स्थानीय समयानुसार बिहान ७ बजेपछि मतदान शुरु भएको थियो । इराकको राजधानी बगदाद र नजिकका तीन प्रान्तबाहेक देशका अन्य १५ प्रान्तका विभिन्न शहरहरूका मतदान केन्द्रहरूमा सैनिक र प्रहरीहरू मतदान गर्न लाइनमा बसेका देखिन्थे।

इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगको तथ्याङ्क अनुसार १५ वटा प्रान्तका ५६५ मतदान केन्द्रमा १० लाखभन्दा बढी सुरक्षाकर्मी मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ।इराकमा पछिल्लो प्रान्तीय निर्वाचन सन् २०१३ अप्रिलमा भएको थियो।

‘चुनावको होइन देशको चिन्ता गरौँ’ : कांग्रेस महामन्त्री शर्मा

गण्डकी, ३० मङ्सिर : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताउनुभएको छ । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याउनुभयो ।

“कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?”, महामन्त्री शर्माले भन्नुभयो, “२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।” उहाँले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाउनुभयो ।

महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताउनुभयो । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उहाँले बताउनुभयो । “देशको जितको खोजी प्रमुख कुरा हो, कांग्रेसको जित महत्त्वपूर्ण कुरा होइन”, उहाँले भन्नुभयो, “अहिले देशको मुद्दा प्रगतिको बाटो हो, समुन्नति हो ।” उहाँले कांग्रेस समयले मात्र जेठो नभई सिद्धान्तले पनि जेठो पार्टी रहेको भन्दै सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो

संस्कार, संस्कृतिको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ, ३० मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संस्कार, संस्कृति र परम्पराको जगेर्नामा नयाँ पुस्ता सक्रिय हुनुपर्ने बताउनुभएको छ ।आज यहाँ आयोजित मध्यपश्चिमाञ्चल साहित्य परिषद्को सातौँ साधारणसभामा मन्त्री शर्माले युवाको सक्रियताबाटै मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भएको प्रसङ्ग उल्लेख गर्दै समाजका विकृति, विसङ्गति अन्त्य र संस्कृति जगेर्ना गर्न नयाँ पुस्ता सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

“व्यवस्था परिवर्तनका लागि जसरी हामी एकजुट भयौँ, सोहीअनुसार व्यवस्था सुदृढीकरणका लागि सबै निष्ठापूर्वक लाग्नुपर्ने जरुरी छ । समाजका विकृति, विसङ्गती हटाई संस्कार, संस्कृतिको जगेर्ना गर्ने जिम्मेवारी नयाँ पुस्तालाई हस्तान्तरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

समाजका हरेक क्षेत्रमा पहुँच र शक्तिवालाको बोलवाला चलेको उल्लेख गर्दै मन्त्री शर्माले रीति, थिति र अनुशासन कायम गर्न युवाको भूमिका रहनुपर्ने बताउनुभयो । “पहुँचमा रहेकाहरू माथि पुग्ने र निष्ठापूर्वक काम गर्ने पछाडि पर्ने स्थिति छ । यसलाई तोड्नु चुनौतीको विषय हो । यस्तो चुनौती चिर्नका लागि अग्रज व्यक्तिले विगतमा निर्वाह गरेका भूमिका र संस्कार नयाँ पुस्तालाई पनि हस्तान्तरण गर्न जरुरी छ”, मन्त्री शर्माले भन्नुभयो ।

उक्त कार्यक्रममा मध्यमाञ्चल साहित्यिक परिषद्का वरिष्ठ उपाध्यक्ष समिर शाहले देशको कला, संस्कृतिलाई जगेर्ना गर्न परिषद्ले अझ सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो । विसं २०५१ मा स्थापित परिषद्ले पुराना प्रतिभालाई संरक्षण गर्ने र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार तथा सम्मान गर्दै आएको छ ।

साहित्यिक परिषद्का संस्थापक अध्यक्ष केशव गिरीले यस क्षेत्रका भाषा, साहित्य संरक्षणमा अझ सशक्तरूपमा लैजान नयाँ पुस्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

आज साहित्यिक परिषद्ले लोकसंस्कृतिको संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गरेको छ । साथै आजै परिषद्को ‘खसानी’ गोष्ठीपत्र विशेषाङ्क लोकार्पण गरिएको छ । यो विशेषाङ्कमा २०७४ देखि हालसम्ममा मध्यपश्चिमका साहित्यिक अवस्थाका सम्बन्धमा सिर्जना गरिएका विभिन्न लेख, रचना समेटिएको छ ।

साहित्यिक परिषद्का संस्थापक उपाध्यक्ष प्रा डा जिवेन्द्र गिरीले खसानी गोष्ठीपत्र विशेषाङ्कमा विशिष्ट अनुसन्धानात्मक गोष्ठी पत्र, मध्यपश्चिमको साहित्यक इतिहास, विभिन्न कालखण्डका साहित्यिक व्यक्तिको अभिलेख, त्यस क्षेत्रका नृत्य, भाषा, प्रथा, परम्परागत वेशभूषा, जाति, कला संस्कृतिलगायत विषय समेटिएको बताउनुभयो । सोही कार्यक्रममा मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न नेपाली कला, साहित्य क्षेत्रमा योगदान पुर्याएका १२ जना प्रतिभालाई पुरस्कृत गरेको छ ।

सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित :दीपकबहादुर सिंह

काठमाडौँ, ३० मङ्सिर : सङ्घीय संसद््अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताउनुभएको छ । संसद््को विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का काम सहजरूपमा अघि बढ्न नसकेका हुन् ।

प्रतिनिधिसभाका अघिल्ला दुई अधिवेशनमा निकै कम विधेयक दर्ता भएका र पारित भएका विधेयकको सङ्ख्या नगन्य भएपछि संसद््को प्रभावकारिताबारे प्रश्न उठिरहेका् छ । विधायिकी भूमिकासँगै जनताका गुनासा सुन्नु र जनजीविकामा देखिएका समस्याका गाँठा फुकाउनु पनि निर्वाचित प्रतिनिधिको जिम्मेवारी हो । यी दुवै भूमिकामा सांसदहरू कमजोर देखिएको भन्दै आलोचना भइरहेको छ । संसद्् मात्र नभई संसदीय समितिले आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्न नसकेको सांसद सिंह स्वीकार गर्नुहुन्छ ।

“म सभापति रहेको समितिमा धेरै सांसद नेकपा (एमाले) र नेपाली कांग्रेसका हुनुहुन्छ । उहाँहरू आफ्ना दलका कार्यक्रममा व्यस्त हुँदा समितिका काम प्रभावित भइरहेका छन्”, उहाँ भन्नुहुन्छ, “बहुमत उहाँहरूको छ तर १५ दिन, महिनौँसम्म कुनै बैठक नराख्नु भन्नुहुन्छ । यस्तो अवस्थामा समितिका कार्यसम्पादन कसरी सम्भव हुन्छ ? अहिले कुनै पनि समितिमा गणपूरक सङ्ख्या पुग्ने अवस्था छैन । सबै समितिमा यही गुनासो छ ।” गत कात्तिक १६ गतेदेखि सङ्घीय संसद््को अधिवेशन अन्त्य भएपछि संसदीय समितिले गति लिन सक्नुपथ्र्यो । समितिमा दर्ता भएका उजुरी तथा गुनासा सम्बोधनका साथै विधेयकमाथिको छलफलमसमितिले चलाउन सक्नुपथ्र्यो तर सांसदहरू समिति बैठकमै आउन छोडेपछि काम प्रभावित भएको सांसद सिंहले बताउनुभयो ।

प्रतिनिधिसभाको गत निर्वाचनमा मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित सांसद सिंहको बुझाइमा संसद्् चलेको बेला पनि सांसदहरूले स्वतन्त्र ढङ्गले काम गर्न र निर्णय लिन सकिरहेका छैनन् । संसद््मा दलको छाया देखिने गरेको उहाँ बताउनुहुन्छ । “कुनै विषयले संसद््मा प्रवेश पाइसकेपछि संसद््मै छलफल भएर छिनोफानो हुनुपथ्र्यो तर ठूला दलका शीर्ष नेताले एउटा कोठामा बसेर सहमति गरेपछि ती दलका सबै नेताले त्यसैलाई मान्नुर्छि भन्छन् । दलहरूको छाया संसद््मा देखिन्छ”, सांसदसँग रासस संवादका क्रममा उहाँ भन्नुहुन्छ, “संसद््मा साना दलका आवाज सुनिँदैन । विवादित प्रकृतिका कानुन निर्माणमा पनि ठूला दलले हालीमुहाली गर्छन् । हामी लाचार छौँ ।”

संसदीय जिम्मेवारी पूरा गर्नतर्फ सबै सांसदको ध्यान जानुपर्नेमा सत्तापक्ष र प्रतिपक्षबीच जुँगाको लडाइँ देखिन थालेको सांसद सिंह बताउनुहुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा सुन भित्रिएको प्रकरण, पशुपतिको जलहरी प्रकरणलगायतका विषय संसद््मा छलफलका लागि आउँदा सत्तापक्ष र प्रतिपक्षको जुँगाको लडाइँले लामो समय संसद्् बन्धक बन्नुपरेको उहाँले स्मरण गर्नुभयो । “अनेक काण्डका नाममा संसद्् चल्न दिइएन । तर ठूला दलहरुले आफू–आफूबीच सहमति गरेपछि संसद््को अवरोध हट्यो । कसैलाई कुनै आरोप लागेपछि सदन मै छिनोफानो हुनुपथ्र्यो । तर ठूला दलहरुले आफूखुसी र आफू अनुकूल हुने गरी ती विषय मिलाए”, सांसद सिंहको आरोप छ ।

विधायिकी भूमिकामा मात्र नभई जनजीविकासँग जोडिएका विषयमा पनि संसद् संवेदनशील र जिम्मेवार हुन नसकेको सांसद सिंह बताउनुहुन्छ । सरकार आफैँले वार्षिक बजेटमार्फत घोषणा गरेका योजना र कार्यक्रम कार्यान्वयन नगर्नु त्यसैको उदाहरण भएको उहाँले बताउनुभयो । “बजेटमा हरेक प्रदेशको राजधानीमा ठूला अस्पताल, हरेक प्रदेशमा चक्रपथ बनाउने योजना छन् । किसानलाई समयमै बीउबिजन र मल उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाइएको छ तर घोषणा भएका योजना र कार्यक्रम कार्यान्वयनको अवस्था सुस्त छ । ठेक्कापट्टाको प्रक्रिया अघिबढ्न सकेको छैन”, सांसद सिंह भन्नुहुन्छ, “सरकार आफैँले गरेका प्रतिबद्धता पूरा गर्न सकेको छैन । आयातित सागपात र फलफूलले बजार कब्जा गर्दा किसानले आफ्नो उत्पादनको मूल्य पाएका छैनन् । किसानले उत्पादन गरेको दूधको भुक्तानी सरकारले गरेको छैन । यस्तो अवस्था कहिलेसम्म चलिरहने ?”

चालु आर्थिक वर्षको बजेटमा समावेश भएका कति योजना र कार्यक्रमको ठेक्का प्रक्रिया सुरु भयो ? र कतिको सकियो ? भनेर पूर्वाधार विकास समितिले प्रश्न गर्दा सरकारले त्यसको जवाफ दिन नसकेको उहाँले उल्लेख गर्नुभयो । सरकारले विकास–निर्माणका काममा विभेद गरेको र आर्थिक अनुशासन कायम नगरेको उहाँको आरोप छ । चालु आवको बजेट विनियोजनमा पहुँचवाला सांसदको हालीमुहाली भएको विषय सत्तापक्षकै सांसदले पनि संसद्मा उठाउनुभएको थियो । सांसद सिंह पनि चालु आवको बजेट विनियोजनको ठूलो हिस्सा सत्तापक्ष ठूला नेताको जिल्लामा गएको दाबी गर्नुहुन्छ ।

सुशासनका सवालमा पनि सरकार चुकेको आरोप सांसद सिंहले लगाउनुभयो । आर्थिक अनियमिततामा पनि राजनीतिक दल मुछिन लागेको सांसद सिंहको भनाइ छ । “सञ्चारमाध्यमले विभिन्न घोटाला र अभियमितता सार्वजनिक गरेका छन् । यदि ती घोटाला झुटा हुन् भने सरकारले आफ्नो प्रतिरक्षा र गलत सूचना दिनेलाई कारबाही गर्न किन सक्दैन”, उहाँ प्रश्न गर्नुहुन्छ, “एनसेल प्रकरणमा एक जना सांसदले सरकारमा रहेका दल र केही व्यक्तिको संलग्नता भनेर आरोप लगाइरहनुभएको छ । यदि त्यो झुटो हो भने सरकारले ती सांसदलाई कारबाही गर्न सक्नुपर्यो ।

संसद्को प्रभावकारिताका लागि सरकारको पनि महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ छ । “संसद्लाई नतिजामुखी बनाउन सांसदको मात्र होइन सरकारको पनि दायित्व हुन आउँछ । सरकारले विधेयक सही ढङ्गले ल्याउन सक्नुप¥योे, ‘बिजनेस’ दिन सक्नुप¥यो तर संसद्मा सत्तामा रहेका दलको बोलवालाजस्तो देखियो”, उहाँ भन्नुहुन्छ ।

पुराना र लामो समयदेखि संसदीय अभ्यासमा रहेका दल तथा तिनका नेताभन्दा नयाँ दल र नेताले संसदीय अभ्यासको परिपालनामा परिपक्वता देखाएको बुझाइ पछिल्लो समय आम मानिसमा बन्दै गएको छ । पुराना दल र सांसदले संसदीय अभ्यास र सांसदको भूमिका तथा जिम्मेवारी सिकाउने भन्दा पनि त्यसलाई उल्लङ्घन गरेर स्वार्थ केन्द्रित क्रियाकलाप बढी गर्न थालेको आरोप सांसद सिंहको छ । “नयाँ आएका सांसदलाई सही मार्ग देखाउनुपर्ने ठाउँमा आफ्नो स्वार्थपूर्तिका लागि उहाँहरु आफैँ गलत बाटो लिइरहनुभएको छ,” उहाँले दुखेसो गर्नुभयो ।

प्रतिनिधिसभा निर्वाचन भएको एक वर्ष बित्यो । यो एक वर्ष अवधिमा संसद््को, सरकारको र आफ्नोसमेत समीक्षा गर्दा सन्तोष गर्ने धेरै ठाउँ नरहेको उहाँको बुझाइ छ तर सरकारले जनचाहना पूरा गर्ने प्रयास भने गरेको उहाँलाई लागेको छ । यद्यपि त्यो पर्याप्त नभएको उहाँ बताउनुहुन्छ ।

कोदो र फापर फलाउने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि किसानहरु उत्साहित

मनहरी, ३० मङ्सिर: मकवानपुरको भीमफेदी गाँउपालिकाले कोदो र फापर खेती गर्ने किसानलाई अनुदान प्रदान गर्ने घोषणा गरेपछि स्थानीय किसानहरु उत्साहित भएका छन् । गाउँपालिकाले वडा नम्बर– ३ मा कोदो उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । पालिका अध्यक्ष हिदम लामाले शुक्रबार नगद अनुदान वितरण गर्दै सहरबजारमा कोदो र फापरको उपभोग बढेकाले उत्पादन बढाएर मुनाफा आर्जन गर्न किसानलाई आग्रह गर्नुभयो ।

भीमफेदीको एक हजार ६० रोपनी जग्गामा दुई सय ६६ किसानले कोदो रोपेका र त्यसबाट एक सय मेट्रिक टन कोदो उत्पादन हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा रु २० लाख कोदो उत्पादन बढाउन पालिकाले अनुदानको व्यवस्था गरेको अध्यक्ष लामाले बताउनुभयो । यो वर्ष अपेक्षाअनुसार मकै उत्पादन नभएकाले कोदोले त्यसको अभाव परिपूर्ति गर्ने उहाँले बताउनुभयो । अनुदान पाएका किसान बाहेक पालिकाका अन्यले पनि कोदो खेती गर्दै आएका तथा भीमफेदीमा मात्र दुई हजार रोपनीभन्दा बढी क्षेत्रफलमा कोदो खेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गाँउपालिकाले पालिका भित्र उत्पादित रैथाने बाली कोदो र फापरको न्युनतम समर्थन मूल्य पनि निर्धारण गरेको छ । गाउँपालिकाको आर्थिक विकास समितिको निर्णयअनुसार चालु आथिएक वर्षका लागि कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी रु ५५ र फापर प्रति केजी रु एक सय निर्धारण गरिएको छ ।

धार्मिक पर्यटकीयस्थलमा परिणत हुँदै तनहुँको प्रसिद्ध थानीमाई मन्दिर

दमौली, ३० मङ्सिर : तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई मन्दिरमा अन्य दिनको तुलनामा मङ्गलबार र सार्वजनिक बिदाका दिन भीड हुने गरेको छ ।

सडकको सहज पहुँचका कारण पछिल्लो केही वर्षयता थानीमाई धार्मिक पर्यटकीयस्थलका रूपमा पनि विकास हुन थालेको छ । देशका विभिन्न जिल्लाबाट यहाँ भक्तजन आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगर बताउनुहुन्छ ।

यहाँ विशेष गरी मङ्गलबार फूलको डोली लिएर भक्तजन आउने गरेका छन् । अध्यक्ष थापाका अनुसार फूलको डोली लिएर तनहुँका अतिरिक्त छिमेकी जिल्ला कास्की, स्याङ्जा, गोरखा, लमजुङ, चितवनबाट भक्तजन यहाँ आउने गर्दछन् । थापाले भन्नुभयो, “मन्दिरमा विशेष गरी कात्तिक र मङ्सिरको मङ्गलबार धेरै फूलको डोली भित्रिन्छ । यो पटक कात्तिकमा दसैँ र तिहार पर्दा कात्तिकमा कम डोली भित्रियो ।” उहाँका अनुसार मन्दिरमा कात्तिकको मङ्गलबार प्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ र फागुन महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत चित्ताकर्षक हिमशृङ्खला देख्न सकिन्छ ।

सरकारले स्वदेशमा युवा शक्ति बस्न सक्ने गरी व्यवस्था गर्नुपर्छ – सभामुख

लुम्बिनी – सभामुख देवराज घिमिरेले युवाहरुको अन्तर्निहित प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न सक्ने गरी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । उहाँले पछिल्लो समयमा युवा पुस्तामा देशमा नै केही गर्नुपर्दछ भन्ने अभियानको विकास भएको भन्दै यसको लागि सरकारी निकायबाट पनि युवा पुस्ता पलायन रोक्नको लागि कदम चाल्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले जेसिजका कतिपय अभियान राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गर्नुभयो । उहाँले युवामैत्री नीति, कानुन र योजना निर्माणमा गर्नुपर्ने बताउनुभयो । “युवाको पक्षमा कानुन बनाउन नेपालको संसद् प्रतिबद्ध रहेको छ”, उहाँले भन्नुभयो, “अहिलेका युवामा देखिएका निरासा अन्त्य गर्नुपर्छ ।” उहाँले जेसिजको मूल्य मान्यता अझै बढी पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताउनुभयो । सभामुख घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य सङ्घ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।

नेपाल जेसिजका पूर्व अध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले जेसिजको नियमबाट अन्यले पनि पाठ सिक्न जरुरी रहेको बताउनुभयो । उहाँले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको विकास हुनुपर्ने बताउनुभयो । बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा जेसिजको महाधिवेशनले राष्ट्रिय सन्देश दिएको बताउनुभयो ।

जेसिजका पूर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष अनुपमान सैँजुले नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनले बुटवलबाट नयाँ सन्देश दिएको बताउनुभयो । ‘सक्षम युवा सुदृढ देश ः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारासहित भएको महाधिवेशनमा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष विकास मानन्धर, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, नेपाल पत्रकार महासङ्का अध्यक्ष विपुल पोखरेल लगायतले जेसिजको कार्यबाट सबैले सिक्नुपर्ने बताउनुभयो । महाधिवेशनमा नेपाल जेसिजका एक सय ७८ शाखाबाट एक हजार दुई सय ४६ प्रतिनिधि सहभागी रहेका छन् ।

टर्की एयरलाइन्सले ३५५ एयरबस जेट खरिद गर्ने

टर्किस एयरलाइन्सले आगामी दशकमा ३५५ वटा एयरबस विमानहरू अर्डर गर्ने निर्णय गरेको छ । यो एयरलाइन्स विश्वको सबैभन्दा ठूलो वाहक बन्न खोजिरहेको बताइएको छ।

‘३५५ वटा विमान खरिद गर्ने निर्णय भएको छ,’ टर्किस एयरलाइन्सका प्रमुख कार्यकारी बिलाल एक्सीले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।”म हाम्रो देश र हाम्रो कम्पनीको लागि शुभकामना चाहन्छु,” एक्सीले भन्नु भयो ।

३२ करोडमा बन्यो चाँंगुनारायण नगरपालिकाको अत्याधुनिक भवन, नगरप्रमुख खत्रीद्धारा उद्घाटन

भक्तपुर, ३० मङ्सिर: चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको हिजो उद्घाटन गर्नुभयो । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा रु ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ मा निर्माण भएको होे ।

त्यस अवसरमा नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाउँदै नगरप्रमुख खत्रीले नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो ।

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले रु तीन करोड, केन्द्र सरकारबाट रु सात करोड ५० लाख प्राप्त भएको र बाँकी रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।

युक्रेन इयुमा सामेल हुन अझै धेरै बाँकी छः फ्रान्सेली राष्ट्रपति

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनले युरोपेली संघको अन्तिम सदस्यता प्राप्त गर्न अझै धेरै बाँकी रहेको बताउनु भएको छ।युक्रेनको ठूलो कृषि क्षेत्रलाई युरोपेली संघमा स्वागत गर्दा फ्रान्सका किसानहरूमा पर्ने असरबारे सोधिएको प्रश्नको जवाफ दिँदै म्याक्रोनले तयारी गर्न अझै समय बाँकी रहेको जवाफ दिनु भएको छ ।

“हामी युक्रेनको इयुमा हुने भनिएको प्रवेशबाट धेरै टाढा छौं कुनै पनि अवस्थामा विस्तार गर्नुपर्ने भए पनि हाम्रा नियमहरूमा गहिरो सुधार आवश्यक हुनेछ र यो ठूलो कोष वृद्धिबाट मात्र सम्भव हुनेछ,” उहाँले भन्नु भयो।राष्ट्रपतिको यो टिप्पणीबाट युक्रेनले सहजै छिट्टै इयुको सदस्यता पाउने सम्भावना निकै कम देखिन्छ ।

सागसब्जी उत्पादनबाट आत्मनिर्भर बनेका दाङका थारु महिला,वार्षिक तीन लाख बचत गर्दै

दाङ, ३० मङ्सिर : बिहान ४ बजेदेखि नै तुलसीपुरका विभिन्न चोकमा कठ्याङ्ग्रिने चिसोको परवाह नगरी छिटुवामा सागसब्जी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छन् दाङका थारु महिला । तुलसीपुर बजारका चोकचोकमा किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा भेटिन्छन् । चिसो सडकमा ग्राहकको पर्खाइमा बस्नेमध्येकी एक हुनुहुन्छ तुलसीपुर उपमहानगरपालिका–१० पड्डाकी ४० वर्षीया रामकुमारी चौधरी । उहाँ व्यावसायिरूपमा काउली र आलुखेती गरेर आत्मनिर्भर हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषिकर्मबाट राम्रो आम्दानी भएको छ ।”

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले पैदल त कहिले अटो चढेर आउने रामकुमारी पनि सडकमा कृषि उपज बेचेर आत्मनिर्भर हुनुभएको छ । दैनिक गर्जो टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उहाँको कृषि आम्दानीले थेगेको छ । पाँचदेखि कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उहाँले वार्षिक रु दुईदेखि साढे दुई लाखसम्म बचत गर्दै आएको सुनाउनुभयो । बचत रकमबाट नै उहाँले मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आउनुभएको छ ।

त्रिपन्न वर्षीया आश्मानी चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राख्नुभएको छ । पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेडा फलाउने उहाँ धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउनुहुन्छ । उहाँले गत वर्ष रु तीन लाख आम्दानी गरेको बताउनुभयो ।

तुलसीपुर १६ की ४० वर्षीया राजपति चौधरी पनि १२ कट्ठा जमिनमा व्यावसायिकरूपमा सागसब्जी लगाएर गरेर आत्मनिर्भर बन्नुभएको छ । उहाँले वार्षिक रु साढे तीन लाखसम्म आम्दानी हुने गरेको बताउनुभयो । सागपात बेचेर नै उहाँले आफ्ना दुई छोराछोरीलाई कृषि प्राविधि पढाउनुभएको छ । परिश्रमअनुसार पर्याप्त प्रतिफल प्राप्त हुने कृषिकर्ममा नै आफ्ना सन्तानलाई लगाउने आफ्नो सोच रहेको उहाँले राससलाई बताउनुभयो ।

हिमाली जिल्ला मनाङ र मुस्ताङमा पानी जम्न थाल्यो, बस्ती रित्तिँदै

काठमाडौँ । चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन् । चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन् । तापक्रम निकै नै ओरालो लाग्दै जाँदा खोलानालाको पानीसमेत जम्न थालेको छ । चिसोले जमेपछि पाइपको धारामा पानी आउन छाडेको छ । हिमाली जिल्ला मनाङमा रातिको तापक्रम माइनस १७ डिग्रीसम्म ओर्लेको छ ।

मनाङ सदरमुकाम चामेसमेत यतिबेला सुनसान बन्दै गएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार अहिले सदरमुकाम चामेको तापक्रम रातिको समयमा माइनस १७ डिग्रीमा झर्ने गरेको छ । दिउँसोमा भने तापक्रम शून्यमा भरेको छ । ‘चिसो अधिक बढेको छ । रातिको तापक्रम माइनस १७ डिग्रीमा झर्ने गर्छ,’ लामिछानेले भने, ‘दिउँसोमा भने केही न्यानो हुन्छ । दिउँसोको समयमा घाम लाग्दा केही न्यानो त हुन्छ तर लामो समय घाम लाग्दैन ।’ उनका अनुसार मुहानमा जमेपछि पाइपबाट पानी आउनै छाडेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

एकै दिन चार सदस्यको अध्यक्षता

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको एक वर्ष पूरा भइसकेको छ । विषयगत समिति सभापति चयनको पनि चार महिना भइसकेको छ । तर सङ्घीय संसद्को संयुक्त समिति सभापति चयन अझै हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर समिति सञ्चालनमै परेको छ । जसको पछिल्लो उदाहरण हो– शुक्रबार सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ ।

शुक्रबार करिब चार घण्टाको बैठकमा चार पटक नै सभापति परिवर्तन भए । ज्येष्ठ सदस्यको रोलक्रम अनुसार चार पटक अध्यक्ष फेरिए । स्थायी सभापति चयन नहुँदा संसदीय सुनुवाइमा लगातार यो अभ्यास हुँदै आएको छ । सुनुवाइ समिति सभापति नेपाली कांग्रेसले पाउने गरी भागबन्डा टुङ्गिए पनि चयन भएको छैन । शुक्रबार बैठकको प्रारम्भ ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले गरे । प्रस्तावित न्यायाधीश सारङ्गा सुवेदीसँगको सवालजवाफ चलिरहँदा सांसद जबरा शौचालय निस्किए । ५–७ मिनेटसम्म नआएपछि खोजी नै सुरु भयो । नआएपछि त्यसपछिका ज्येष्ठ सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सञ्चालन गरे ।

ज्येष्ठ सदस्य जबरा शौचालयबाट फर्किने भएकाले सांसद कार्की सभापति आसनको कुर्सीमा बस्न गएनन् । तर एमाले सांसद महेश बर्तौलाले ‘सभाध्यक्षको कुर्सी खाली राखेर बैठक नचलाऔँ’ भनेपछि कार्की सभापति आसनमा बस्न गए । सांसद कार्कीले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्ने अनुमति दिएलगत्तै सांसद जबरा बैठक कक्षमा प्रवेश गरे । तत्कालै कार्कीले आसन छाडे ।

सुनुवाइ जारी रहँदा सांसद जबरा पुनः बैठकबाट निस्किए । त्यसपछि पुनः कार्कीले सभापतित्व गरे । केही क्षणको सुनुवाइपछि कार्कीसहितका अन्य कांग्रेस सांसद बाहिर निस्किए । उमेरका हिसाबले बैठकको सभापतित्वको जिम्मेवारी एमाले सांसद देवेन्द्र दाहालको काँधमा आयो । प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानको सुनुवाइ प्रारम्भसँगै सांसद दाहाल पनि बैठकबाट बाहिरिए । त्यसपछि सभापतित्व गर्ने पालो आयो कांग्रेस सांसद ईश्वरी न्यौपानेको । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यी २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध

काठमाडौँ । सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारले राजपत्रमा सूचना प्रकाशन गर्दै हडताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरेको हो। आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको सूचना राजपत्रमा प्रकाशित गरेको छ।

प्रकाशित डाक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवालाई हडताल निषेधित क्षेत्र घोषणा गरिएको हो ।

त्यसै गरी प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवालाई हडताल निषेधित क्षेत्रका रूपमा घोषणा गरिएको राजपत्रमा उल्लेख छ।

पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत ) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरू), औषधी निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा, फोहोरमैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन स्थान, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवामा हडताल गर्न नपाइने उल्लेख छ।

त्यसै गरी बै‌ङ्किङ क्षेत्र, विमान सेवा, विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुहरूको पैठारी, ढुवानी भण्डारण तथा वितरणसम्बन्धी सेवा, मौसम पूर्वानुमान तथा पूर्वसूचना सेवा, माक्ससम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट सेवालाई हडताल गर्न निषेधित घोषणा गरेको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आज काठमाडौँका यी स्थानहरूमा बिजुली काटिने

काठमाडौँ-नेपाल विद्युत् प्राधिकरणले आज बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

 उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ । त्यस्तै ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा विद्युत् कटौती हुनेछ । आज  बिहान नौ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिँदै प्राधिकरणले आज एक सूचनामार्फत त्यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।  

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

‘नेपालको विविधतालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्छ’ – डा रामवरण यादव

जनकपुरधाम – प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालको सामाजिक, सांस्कृतिक र जैविक विविधताका साथै विविध सांस्कृतिक चेतनालाई संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउनुपर्ने बताउनुभएको छ । जनकपुरधाममा शुक्रबार  आयोजित पाँचौ अन्तर्राष्ट्रिय साहित्य उत्सवको समुद्घाटन गर्नुहुँदै प्रथम राष्ट्रपति यादवले भाषा, साहित्य र कलाको संरक्षणले मात्रै देश समृद्ध हुने बताउनुभयो ।

त्यसैगरी नेपाल र भारतले एकअर्काको फरक सभ्यता, इतिहास, सांस्कृतिक चेतना र विविधतालाई बुझ्न हिन्दी भाषा र साहित्यले सहज बनाएको भन्दै प्रथम राष्ट्रपति यादवले साहित्य उत्सवले त्यसका विविध आयामबारे वृहत छलफल गरी विकासका लागि रणनीति तय गर्ने विश्वास व्यक्त गर्नुभयो । वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलले नेपाल र भारतलाई राजनीतिक सीमाले विभाजन गरे पनि हिन्दी भाषा, साहित्य र संस्कृतिले दुई देशको भावनालाई जोड्ने काम गरेको भन्दै यो विशिष्ट सम्बन्धलाई कायम राख्न सबैले सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।

भारतीय साहित्यकार प्राध्यापक प्रणव चट्टोपाध्याय, डा रामचन्द्र रायले हिन्दी भाषा र समान सांस्कृतिक सभ्यताका कारण नेपाल—भारतबीच रोटिबेटीको सम्बन्ध रहेको धारणा राख्नुभयो । उहाँहरुले नेपाल—भारतबीचको त्यो सम्बन्ध र नेपालमा हिन्दी भाषाको दशा र दिशाबारे चर्चा गरिनुपर्ने धारणा राख्नुभयो ।

सांसद रेखा यादवले हिन्दीलाई नेपालमा सम्पर्क भाषाका रुपमा मान्यता दिनुपर्ने र त्यसका लागि लागि आफूले पनि संसद्मा आवाज उठाइरहेको बताउनुभयो । महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत श्री देवि साहाय मिनाले नेपाल—भारत भाषा र सांस्कृतिक रुपमा अविछिन्न रहेको भन्दै त्यसलाई मजबुत बनाउने दायित्व दुबै देशका सरोकारवालाको रहेको बताउनुभयो । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम अध्यक्ष राघबेन्द्र साहलगायतले नेपाल—भारत सम्बन्धमा हिन्दी भाषाको महत्वका विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

नेपाल हिन्दी प्रतिष्ठान जनकपुरधाम र शान्तिनिकेतन हिन्दी प्रचारसभा पश्चिम बङ्गाल भारतको संयुक्त आयोजनामा सुरु भएको साहित्य उत्सवमा सर्वभाषा कवि सम्मेलन, विभिन्न सांस्कृतिक तथा साहित्यीक पक्षमाथि छलफललगायत कार्यक्रम हुने कार्यतालिका छ ।

हेर्नुहोस् मंसिर ३० गते शनिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ ।

बृष राशि – मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

मिथुन राशि- सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ ।

कर्कट राशि – ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ ।

कन्या राशि- बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ ।

तुला राशि- ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

धनु राशि- नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

मकर राशि – पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

कुम्भ राशि – झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि – बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ विकास परियोजना सुरु

भैरहवा (रुपन्देही), ३० मङ्सिर : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास–निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क (एडिबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडिबीले सघाउने जानकारी दिएको छ ।

“हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ”, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भन्नुभयोे, “अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।” उहाँले आफुहरू नगरको विकासका निम्ति लागिपरेको र अन्य परियोजना पनि नगर क्षेत्रमा समावेश गराउन डटेर लागेको बताउनुभयो ।

एडिबीको ऋण सहयोगमा नगरपालिका क्षेत्रका सडकमा पैदलयात्री मार्ग, पानीको निकासका निम्ति नाला, साइकल चलाउन बेग्लै बाटो, डण्डा नदीलाई करिडोरको रुपमा विकास गरिनेछ ।
परियोजनाअन्र्तगत साढे २६ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

यही मङ्सिर २८ गते एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न रु १६ अर्ब ६० करोडको वित्तीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो ।

पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त सहायता घोषणा भएको थियो ।

तेस्रो संस्करणको सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

फुङ्लिङ, २९ मङ्सिर : ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुरको देउराली स्पोटिङ कल्बले उपाधि हात पारेको छ । आज तेल्लोक माविको खेल मैदानमा भएको खेलमा ज्यू स्टार झापालाई दुई शून्य गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्बले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो ।

देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो । पहिलो हाफको २४औँ मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए । पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमासमेत एक गोल गरेको थियो । इलामका लागि दोस्रो हाफको २२औँ मिनेटमा विकेश लिम्बूले गोल गर्दै टिमले जीत हात परेको जनाइएको छ । झापाली टिमले केही अवसर प्राप्त गरे पनि अवसर सिर्जना गर्न नसक्दा उपविजेतामा सीमित भएको छ ।

विजेता भएको देउराली स्पोटिङ कल्बले ट्रफी मेडल प्रमाणपत्रसहित नगद रु दुई लाख दुई हजार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको झापाली एक लाख ११ हजार रुपैयाँ चित्त बुझाएको छ । किरात लिम्बू साहित्यकर तथा लिम्बू भाषा लिविका पुनरुत्थान कर्ता सिरिजङ्गा सिंह थेवेको जन्म जयन्तीको अवसर पार्दै तेल्लोक स्पोटिङ कल्बले २०७७ सालदेखि गोल्ड आयोजना गर्दै आएको छ ।

‘सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्छ’ : मन्त्री बस्नेत

काठमाडौँ, २९ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रमा पछिल्ला दिनमा गुणात्मक परिवर्तन भएको र यसैका आधारमा थप प्रगतिको मार्गमा अगाडि बढ्ने बताउनुभएको छ । ऊर्जा क्षेत्रलाई थप समृद्ध बनाउन सरकार र निजी क्षेत्र एक अर्कामा परिपूरक भएर अगाडि बढिरहेको तथा त्यसबाट परिणाम पनि देखिएको मन्त्री बस्नेतले स्पष्ट पार्नुभयो ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकबीच आज आयोजित समझदारीपत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मुलुकमा केही पनि भएन भनेर निर्माण गर्न खोजिएको भाष्य नै गलत भएको बताउनुभयो । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि सबैभन्दा प्रगति भएको क्षेत्रका रुपमा ऊर्जा नै भएकाले यसलाई अपेक्षित रुपमा अगाडि बढाउनु प्रमुख कार्यभार भएको उहाँको भनाइ छ । सरकार निजी क्षेत्रलाई साथमा नै लिएर अगाडि बढ्न प्रयासरत रहेको र एक अर्काको परिपूरकको रुपमा अगाडि बढिरहेको स्पष्ट पार्दै उहाँले एक अर्काका सीमा र परिधिको पनि ख्याल गर्नुपर्ने बताउनुभयो ।

सरकारले विद्युत् विधेयक, बाढीपहिरोबाट क्षतिग्रस्त आयोजनाको पुनः निर्माणलगायत यस क्षेत्रसँग जोडिएका सबै प्रकारका समस्या समाधानका लागि प्रयास गरिरहेकाले केही पनि भएन भन्ने कोणबाट प्रचार गरिनु गलत भएको मन्त्री बस्नेतको भनाइ छ । उहाँले सङ्घीय संसद्मा विचाराधिन अवस्थामा रहेको विद्युत् विधेयकलाई निजी क्षेत्रमैत्री बनाउन मन्त्रालयको तर्फबाट आवश्यक पहल भएको र अन्तिम निष्कर्ष आउने समयसम्म त्यसले सार्थकता पाउने बताउनुभयो ।

गत असारमा गएको बाढीका कारण क्षति पुगेका आयोजनाको पुनः निर्माणका लागि मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको स्पष्ट पार्दै मन्त्री बस्नेतले विभिन्न कारणले अगाडि बढ्न नसकेका आयोजनालाई आवश्यक सहजीकरण गर्ने प्रयास गरिएको जानकारी दिनुभयो ।

निजी क्षेत्रले गर्न नसक्ने काममा राज्यकातर्फबाट जिम्मेवारी लिनै पर्ने स्पष्ट पार्दै मन्त्री बस्नेतले भन्नुभयो, “सरकारले केही पनि छुन पाउँदैन, सबै निजी क्षेत्रलाई दिनुप¥यो भन्ने तर्क नै गलत छ । जिम्मेवार नागरिक र व्यवसायीले यसो भन्दैन । बरु, सरकार र निजी क्षेत्र एक आपसमा मिलेर अगाडि बढौँ भन्ने मान्यता राख्छ ।” नेपालको संविधानले अवलम्बन गरेको तीन खम्बे आर्थिक नीतिको आधारमा नै सरकारले आफ्ना गतिविधि अगाडि बढाएको उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार मन्त्रालय र मन्त्रीका हैसियतले आफू दिनरात प्रयासरत रहेको स्पष्ट पार्दै भन्नुभयो, “समस्या देखाएर मात्रै बस्ने कि समाधानको उपायसहित अगाडि बढ्ने भन्ने प्रश्न नै अहिलेको अहम प्रश्न हो ।” उहाँले निजी क्षेत्रका सबैजसो माग मन्त्रालयले सम्बोधन गरेको र आगामी दिनमा पनि थप सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । मन्त्री बस्नेतले विद्युत् उतपादन, प्रसारण र वितरणको एकीकृत कार्ययोजना बनाएर अगाडि बढ्नैपर्ने भएकाले सोही अनुसार सरकार अगाडि बढेको बताउनुभयो ।

केही महत्वपूर्ण प्रसारण लाइन निर्माण सम्पन्न हुने चरणमा रहेकाले उत्पादित बिजुली प्रणालीमा जाँदैन कि भन्ने जोखिम नरहेको समेत मन्त्री बस्नेतले बताउनुभयो । उहाँले नदी करिडोरलाई केन्द्रमा राखेर सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माण अगाडि बढाएको स्पष्ट पार्नुभयो । भेरी, कर्णाली, सेती करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको उहाँको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले सरकारले आफ्नो जिम्मेवारी शतप्रतिशत पूरा गर्ने विश्वास दिलाउँदै सोहीअनुरुप निजी क्षेत्रले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था नेपाल (इपान)का उपाध्यक्ष भरत खत्रीले निजी क्षेत्रले उठाएका माग तत्काल सम्बोधन गरी सहज वातावरण बनाइदिन मन्त्री बस्नेतको ध्यानाकर्षण गराउनुभयो ।

प्रसारण ग्रीड कम्पनी र तीन आयोजनाका प्रवद्र्धकबीच समझदारी

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नेत्र ज्ञवाली र समृद्धि इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाई, नेपाल पोर्टफोलियो इनर्जी प्रालि र विजबेल इनर्जी प्रालितका अध्यक्ष खगेन्द्र ओझाले प्रसारण प्रणाली जडानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

पश्चिम सेती नदी करिडोरमा पहिचान भई निर्माणमा विभिन्न चरणमा रहेका आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध गर्न बझाङ जिल्लामा चैनपुर सवस्टेशन निर्माण गरिनेछ । सो सबस्टेशन हुँदै डोटी जिल्लाको पश्चिम सेती सवस्टेशनसम्म जोड्नका लागि कूल ६० किलोमिटर लामो प्रसारण लाइन निर्माण गरिनेछ । यस्तै पश्चिम सेतीदेखि कञ्चनपुरको दैजीसम्म जोड्नका लागि ७८ किलोमिटर लामो चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नं १ स्थित चैनपुरमा सवस्टेशन र डोटी जिल्लाको शिखर नगरपालिका १० वनलेकमा सबस्टेशन निर्माण गर्ने लक्ष्य राखिएको छ ।

चैनपुर सबस्टेशनमा चैनपुर सेती जलविद्युत् आयोजनाको दुई सय १० मेगावाट बिजुली जोडिनेछ । यस्तै, कूल ८६ मेगावाट क्षमताको सेती नदी तेस्रो, २५ मेगावाट क्षमताका सुनिगाढ जलविद्युत् आयोजना, ४६ मेगावाट क्षमताको सन स्टार, ६० मेगावाट क्षमताको बडीमालिका, ६० मेगावाट क्षमताको न्यादी, ६४ मेगावाट क्षमताको मालुमेला सेती नदी जलविद्युत् आयोजनाको बिजुली पनि जोडिनेछ । पश्चिम सेती सबस्टेशनमा पश्चिम सेती आयोजनाको सात सय ५० मेगावाट र यसैगरी बचाञ्च हबमा तीन सय मेगावाट क्षमताको विद्युत् जम्मा गर्ने लक्ष्य राखिएको छ । ती सबै आयोजनाको कूल एक हजार आठ सय २७ मेगावाट बिजुली कैलालीको दोदोधारामा निर्माण हुने सबस्टेशनमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइएको छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बझाङको जयपृथ्वी १ स्थित कैलाशमा सबस्टेशन निर्माणका लागि एक लाख ४३ हजार सात सय २० वर्गमिटर जग्गा अधिग्रहण गरिसकेको छ । त्यसैगरी डोटीको शिखर नगरपालिका–१० मा सवस्टेशन निर्माणका लागि ७० हजार चार सय २५ वर्गमिटर जग्गा अधिग्रहण गरिसकेको छ ।

कम्पनीले हाल पश्चिम सेती प्रसारण लाइन आयोजनाअन्तर्गत तीन वटा प्रसारण लाइनको अध्ययन गरिरहेको छ । ती प्रसारण लाइनको चालु आवमा अध्ययन सम्पन्न गरी आगामी आवमा निर्माणका लागि ठेक्का प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो । ती प्रसारण लाइन आव २०८६/८७ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्च्याउन कांग्रेस सदैव तत्पर रहनुपर्छ :उपसभापति खड्का

काठमाडौँ, २९ मङ्सिर : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्च्याउन सदैव तत्पर रहनुपर्ने बताउनुभएको छ । आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहनुभएका उपसभापति खड्काले प्रशिक्षणले ती कमीकमजोरी सच्च्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सुधार्नुपर्ने कमीकमजोरीप्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिनुभयो । बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर कांग्रेसलाई जनजनमा पु¥याउन, समयसापेक्ष परिवर्तन हुन र जनताप्रति जिम्मेवार र उत्तरदायी भएर काम गर्न पनि उपसभापति खड्काले निर्देशन दिनुभयो ।     प्रतिष्ठानले आयोजना गरेको तीनदिने प्रशिक्षणमा बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रबाट एक–एकजनाले भाग लिएका थिए । 

दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन भूमिआयोग र महालक्ष्मी नगरपालिकाबीच सम्झौता

पाटन, २९ मङ्सिर : अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन राष्ट्रियभूमि आयोग जिल्ला समिति ललितपुर र महालक्ष्मी नगरपालिकाबीच सम्झौता भएको छ ।अव्यवस्थित बसोबासी, भूमिहीन दलित तथा सुकुम्बासीलाई आवश्यक प्रक्रिया पूरा गरी जग्गा उपलब्ध गराउन आज नगर कार्यपालिकामा सम्झौता भएको राष्ट्रियभूमि आयोग ललितपुरका संयोजक श्रीगोविन्द महर्जनले जानकारी दिनुभयो ।

“ललितपुरका ६ वटा स्थानीय तहमध्ये चार पालिकामा निस्सा वितरणको काम सम्पन्न हुने तयारीमा रहँदा हामीले महालक्ष्मी नगरपालिकासँग सम्झौता गर्न सफल भयौँ । महाकाल गाउँपालिकामा आगामी पुस २ गते निस्सा वितरण गर्ने तयारीमा छौँ । बागमती र कोञ्ज्योसोममा सो कार्य सम्पन्न भइसकेको छ । गोदावरीका केही ठाउँमा बाँकी छ । बाँकी ठाउँमा छिटोभन्दा छिटो निस्सा वितरण सम्पन्न गर्ने तयारीमा छौँ ।” संयोजक महर्जनले भन्नुभयो ।

पटक–पटक ताकेता गर्दा पनि ललितपुर महानगरपालिकासँग अझै सम्झौता हुन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । “हामीले ताकेता गरी नै रहेका छौँ, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हामीकहाँ सोध्न आइराख्नु भएको छ तर स्थानीय सरकारका हैसियतमा रहेको महानगरले सम्झौता गर्ने तत्परता देखाएको छैन ।” महर्जनले भन्नुभयो ।

भूमिआयोग ललितपुरका विज्ञ सदस्य प्रतीक तामाङका अनुसार सम्झौतासँगै वडा तहबाट लगत सङ्कलन गर्नका लागि सूचना प्रकाशन गर्न भूमि आयोगलाई बाटो खुलेको छ ।

“भूमि आयोगको केन्द्रीय कार्यालयले गोरखापत्रमा लगत सङ्कलनका लागि ३५ दिने सूचना प्रकाशित गर्छ । वडाले लगत सङ्कलन गर्छ, त्यसपछि तथ्याङ्क तयार गरेपछि निस्सा तयार हुन्छ ।” विज्ञ सदस्य तामाङले भन्नुभयो ।

आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेका अनुसार बागमती र कोन्ज्योसोम गाउँपालिकाका साथै गोदावरी नगरपालिका–३, ७, ९, १२ र १४ मा निस्सा वितरण भइसकेको छ । अब पुस २ गते महाकाल गाउँपालिकामा निस्सा वितरण गर्नेगरी तयारी भइरहेको छ । राष्ट्रियभूमि आयोग जिल्ला समिति ललितपुरले २०८० जेठ ३१ गते बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेर उपत्यकामै पहिलो पटक निस्सा वितरणको काम सुरु गरेको थियो ।–

प्राकृतिक सम्पदा संरक्षणमा समाजका सबै वर्गको सहभागिता चाहिने

काठमाडौँ, २९ मङ्सिर : वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले प्राकृतिक सम्पदा संरक्षण गर्न समाजका सबै वर्गको सहयोग आवश्यक भएको बताउनुभएकोे छ ।

भारतीय संस्था ‘सिएमएस वातावरण’ले आज यहाँ आयोजना गरेको जैविक विविधतासम्बन्धी तीनदिने चलचित्र महोत्सवको उद्घाट्न गर्दै उहाँले जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका मुद्दामा केन्द्रित प्रदर्शनी जैविध विविधता संरक्षणमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको हिमालय क्षेत्रले जलवायु परिवर्तनका कारण धेरै क्षति बेहोरिरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री महतोले बदलिएको मौसमी ढाँचाले हिमनदी पग्लने, ताल सुक्ने, बाढी, खडेरीलगायत चरम मौसमी प्रतिकूलता झेल्नुपरेको वास्तविकता सुनाउनुभयो । वातावरणीय शिक्षा, नागरिकमा जिम्मेवारी र चेतनाको भावना विकास गर्न, उनीहरूलाई जलवायु परिवर्तनका दुष्प्रभावबारे जानकारी दिन महोत्सवमा प्रस्तुत हुने चलचित्र प्रभावकारी हुने बताउनुभयो ।

महोत्सव अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ, वन तथा वातावरण मन्त्रालय, विश्व वन्यजन्तु कोष नेपाल, जुलोजिकल सोसाइटी अफ लन्डन, नेपाल वातावरण पत्रकार समूहलगायत संस्थाको सहकार्यमा महोत्सव आयोजना गरेको हो ।

बर्दघाटमा प्रहरी पोष्ट स्थापना, प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहने

नवलपरासी, २९ मङ्सिर : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस सोसाइटीको जग्गामा निर्माण गरिएको हो ।

बर्दघाट नगरपालिकाको रु चार लाख आर्थिक सहयोगमा प्रहरी पोष्ट निर्माण भएको छ । लागुऔषध, तस्करीलगायत अन्य अपराधको ‘ट्रान्जिट पोइन्ट’को रूपमा रहेको सो क्षेत्रको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पोष्टको स्थापना गरिएको हो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल एवम् प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले आज संयुक्त रूपमा प्रहरी पोष्टको उद्घाटन गर्नुभयो ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले महेशपुर र भुजहवा नाका हुँदै यहाँबाट तस्करीलगायत अन्य अपराधका घटना बढ्दो गएको उल्लेख गर्दै प्रहरी पोष्ट स्थापनापछि शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

पार्षद्वारा बैठकमा ग्रेनेड प्रहारः २६ जना घाइते

एक जना युक्रेनी गाउँ पार्षद्ले बैठकमा सहकर्मीहरूमाथि हाते ग्रिनेड प्रहार गर्दा २६ जना घाइते भएका छन् । घटना शुक्रबार बिहान पश्चिमी युक्रेनको केरेटस्की गाउँ परिषद्को मुख्यालयमा भएको हो।

टेलिग्राममा प्रहरीले पोस्ट गरेको भिडियोमा कालो पहिरन लगाएका एक जना व्यक्ति काउन्सिलको बैठकमा बहस भइरहेका बेला प्रवेश गरेको देखाइएको छ।त्यसपछि उनले आफ्नो खल्तीबाट तीन वटा ह्यान्ड ग्रेनेड निकालेर विस्फोट गराएको देखिन्छ ।

प्रहरीका अनुसार विस्फोटबाट २६ जना घाइते भएका छन् जसमध्ये छ जनाको अवस्था गम्भीर छ पछिल्लो समय रूससँगको युद्धका कारण थुप्रै युक्रेनीहरूसँग हतियारको सहज पहुँच छ । हतियारको सहज पहुँचले यस्ता अनपेक्षित दुर्घटना घटिरहेको पाइएको छ ।

कांग्रेसले पुस १६ देखि माघ १६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

काठमाडौँ, २९ मङ्सिर : नेपाली कांग्रेसले आगामी पुस १६ देखि माघ १६ गतेसम्म वडा तहका पार्टी प्रतिनिधि परिचालन गरी ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले ‘समुदायमा कांग्रेस’ अभियानका लागि केन्द्रीय कार्यसमितिबाट ७७ वटै जिल्लामा प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा भएको बैठकले आगमी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन नेपालको संविधानबमोजिम कांग्रेसलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न सभापति देउवालाई जिम्मेवारी दिने निर्णय भएको छ । निर्वाचन प्रयोजनका लागि संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा कांग्रेस दल दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न मुख्य सचिव कृष्णप्रसाद पौडेलाई जिम्मेवारी प्रदान गरिएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय भएको मुख्य सचिव पौडेलले राससलाई जानकारी दिनुभयो ।

कांग्रेसको नियमावलीको नियम ५(२)(क) अनुसूची ७ मा निर्दिष्ट गरिएको क्रियाशील सदस्यताको प्रमाणपत्रको ढाँचा सरल र स्पष्ट बनाउन क्रियाशील सदस्यता प्रमाणपत्र परिमार्जित गर्ने निर्णय गरेको छ । बैठकले जाजरकोट–रूकुम पश्चिममा भूकम्प प्रभावित जनताका लागि अस्थायी आवास निर्माणमा पार्टीका तर्फबाट विभिन्न चरणमा परिचालन भएको पार्टीका सबै तहका नेताकार्यकर्ताको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

बैठकले सरकारका तर्फबाट अस्थायी आवास निर्माणका लागि उपलब्ध गराएको रकम यथाशीघ्र भूकम्पप्रभावित परिवारलाई वितरण गर्न मन्त्रिपरिषद्को ध्यानाकर्षण गराएको छ ।बैठकले पार्टीको महासमिति बैठकको मिति परिमार्जन गरी आगामी फागुन ७ देखि १० गते, ललितपुरमा गर्ने निर्णय गरेको छ । यसैगरी पार्टी केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १२ गते दिउँसो १ बजे केन्द्रीय कार्यालयमा हुने भएको छ ।

संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यामा

काठमाडौँ, २९ मङ्सिर ः गोकर्णेश्वर नगरपालिका–१ स्थित वाग्मती नदीको किनारमा रहेको संसारीमाई मन्दिरमा राजेन्द्र रेग्मी १६ दिनदेखि निराहार तपस्यारत हुनुहुन्छ । महालक्ष्मी नगरपालिका–८, ललितपुरका रेग्मी १६ दिनदेखि सिसी क्यामेराको निगरानीमा पानी पनि नपिई तपस्यामा लीन हुनुभएको हो ।

गत वर्ष फागुन ३ गते सपनामा अलौकिक शक्ति प्राप्त भएको अनुभूति भएपछि पानी पनि नखाई समय बिताउँदै आएको दावी उहाँले गर्नुभएको छ । पानीसमेत नखाएको पनि आफूलाई केही फरक नपरेको, भोक नलागेको उहाँले जानकारी गराउनुभयो । अलौकिक शक्ति प्राप्त भएपछि १२० केजीका रेग्मीको तौल घटेर ८० केजी भएको पनि मन्दिर परिसरमा राखिएको ब्यानरमा उल्लेख गरिएको छ । मङ्सिर १४ गतेदेखि भने उहाँ संसारीमाई मन्दिर परिसरमा सिसीक्यामेराको निगरानीमा केही नखाई बस्नुभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

उहाँको निगरानी सिसीक्यामेरा, स्थानीयवासी र प्रहरी प्रशासनले पनि गरिरहेको छ । निराहार व्रत बसिरहनुभएका उहाँको दर्शनका लागि आउने भक्तजनको सङ्ख्या पनि मन्दिर क्षेत्रमा बढ्न थालेको छ । निराहार तपस्यामा रहनुभएका रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न सङ्घीय सांसद सन्तोष चालिसे, वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरी र गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपककुमार रिसाललगायत पुग्नुभएको गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयमा रेग्मीसँगै काम गर्नुभएका सिग्देल सहकर्मीमा एक्कासी आएको परिवर्तनले आफु पनि आश्चर्यचकित भएको बताउनुहुन्छ ।

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : न्याय किन महँगो भयो ?

काठमाडौँ, २९ मङ्सिर : “न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ?”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गर्नुभयो, “न्याय महँगो भयो, सर्वसाधारणले कहिले न्यायको अनुभूति गर्न पाउँछन् ?”

सांसद कार्कीको जस्तै सांसद महेश बर्तौलाको प्रश्न  थियो, “न्यायालयप्रति जनआस्था डगमगाएको छ, न्यायालयको ढोकादेखि इजलाससम्म न्याय किनबेच हुन्छ भन्ने आरोप छ नि ? यस्लाई नियन्त्रण गर्ने योजना के छ ? सांसदहरु ईश्वरी घर्तीको प्रश्न उस्तै थियो, “सर्वसाधरणले न्यायको अनुभूति कहिले गर्ने हो ?” सांसद पदम गिरीको प्रश्न पनि “न्याय महँगो भयो भन्ने आम गुनासो छ नि” भन्ने नै थियो ।

प्रस्तावित दुई न्यायाधीशको आज भएको संसदीय सुनुवाइमा अधिकांश सांसदले सार्वसाधरणको पहुँचमा न्याय हुन नसकेको, मुद्दा फछ्र्यौटको समयावधि लामो हुने गरेको, न्याय प्राप्तिमा ढिलाइ हुँदा पीडित अझ धेरै पीडामा पर्ने गरेको र अदालतले मुुलुकको विकास निर्माणमा रोक्दा मुलुकलाई ठूलो क्षति पु¥याउने गरेको विषयमा प्रश्न राख्नुभएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश सुवेदीले छिटो न्याय दिनका लागि न्यायालयले योजना नै बनाएर काम गरिरहेको र पछिल्लो समयमा मुद्दाको तीव्र रुपमा  सुनुवाइ भइरहेको बताउनुभयो । “मुद्दामा कानुन, प्रमाण हेर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “छिटो न्याय दिने भनेर मुद्दाको प्रक्रिया पूरा नगरी निर्णय गर्न मिल्दैन ।” न्यायाधीश सुवेदीले मुद्दाको सुनुवाइ गर्दा न्यायिक मनको प्रयोग नगरी कानुन, तथ्य र प्रमाणका आधारमा आदेश वा फैसला गर्नुपर्ने जानकारी दिँदै थप्नुभयो, “मुद्दामा न्यायिक मन प्रयोग गर्न पाइँदैन कानुन र प्रमाण हेर्नु नै पर्ने हुन्छ, प्रमाण बुझ्नका लागि समय लाग्छ, छिटो न्याय दिन्छु भनेर प्रक्रिया पूरा नगरी हुँदैन ।”

आफूले २१ वर्ष वकालत गरेको र १४ वर्ष अदालतमा न्यायाधीशका रुपमा काम गरेको अनुभवलाई  सर्वोच्च अदालतमा काम गर्ने स्पष्ट पार्नुभयो ।  

प्रस्तावित न्यायाधीश मुसलमानले पेसीमा तोकिएको मुद्दा इमान्दारीपूर्वक पूरा समय काम गरेमा छिट्टै मुद्दाको फर्छ्यौट हुने सुनाउनुभयो  । “छिटो न्याय दिनका लागि इमान्दारीपूर्वक पेसीमा तोकिएको मुद्दाको सुनुवाइ गर्नुपर्छ, समयावधिभरि मुद्दा हेरेर दैनिक पेसी सूचीका मुद्दा सक्नुपर्छ, काम गर्नुपर्छ ।”

सांसदहरु रमेश लेखक, जनार्दन शर्मा, जीवन परियार, ईश्वरी न्यौपाने, डोलप्रसाद अर्याल, रमेशजङ्ग रायमाझी, प्रकाश अधिकारी र देवेन्द्र दाहालले सार्वजनिक सरोकारका मुद्दा अदालतमा रिट निवेदनका रुपमा आउने र विकास निर्माणका काम रोकिने गरेको विषयमा प्रश्न राख्नुभएको थियो । प्रस्तावित न्यायाधीशद्वयले अदालतमा मुद्दा लिएर आएपछि पीडित पक्षको कुरा सुन्नुपर्ने भएकाले केही प्रभाव परेको भए पनि कानुन र प्रमाणका आधारमा न्याय निरुपण गर्ने गरेको जवाफ दिनुभएको थियो । मुलुकको विकास निर्माणमा अवरोध गर्ने कुनै पनि योजना नरहेको उहाँहरुको भनाइ थियो ।  

सांसदहरुले प्रश्न गर्ने सिलसिलामा अदालतमा बाबुको पालामा परेको  मुद्दा नातिको पालामा पनि नसकिने परिपाटीको अन्त्य हुनुपर्ने धारणा राख्नुभएको थियो । विसं २०८० कात्तिक मसान्तसम्मकोे तथ्याङ्कलाई हेर्दा सर्वोच्च अदालतमा २८ हजार एक सय ६४, उच्च अदालतमा २९ हजार एक सय ४५ र जिल्ला अदालतमा एक लाख २१ हजार नौ सय ५१ थान मुद्दा बाँकी रहेको छ ।  

प्रस्तावित न्यायाधीशद्वयको कार्ययोजना

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय सुवेदी र मुसलमानले सर्वोच्च अदालतमा गएर काम गर्ने कार्ययोजना तयार गर्नुभएको छ । छिटोछरितो गुणस्तरीय  न्याय सम्पादनका लागि मुद्दाको फर्छ्यौटमा शीघ्रता ल्याउने, मुद्दाको व्यवस्थापन पद्धतिमा सुधार ल्याउन फरक मुद्दा व्यवस्थापन पद्धति लागू गरिएको छ ।

न्यायिक काम कारबाही तथा मुद्दाको फैसलामा गुणस्तरीयता अभिवृद्धि गर्ने, मुद्दामा रहेको विवाद समाधान गर्न वैकल्पिक उपायहरु (मेलमिलाप पद्धति) लाई प्रभावकारी बनाउने, फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने समेतको प्रयासहरु निरन्तर जारी राख्ने उल्लेख छ ।

न्यायमा पहुँच अभिवृद्धिका लागि अवरोधहरु पहिचान गरी सम्बोधनको प्रयास गर्ने, अदालतबाट प्रवाह हुने सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने विभिन्न प्रयासहरु भएका गर्ने रहेको छ । कानुनी सहायतालाई प्रभावकारी बनाउने, न्यायिक प्रक्रिया र प्रणालीका बारेमा सर्वसाधारणको जानकारीका लागि सूचना सम्प्रेषण गर्ने कार्य भइरहेको उल्लेख छ ।

न्यायिक सुशासनको प्रवद्र्धनका लागि न्यायिक स्वतन्त्रता र स्वायत्तता प्रवद्र्धन गर्ने, न्यायिक उत्तरदायित्व र जवाफदेहिता अभिवृद्धि गर्ने, न्यायिक जनशक्तिको कार्य शैलीमा सुधार गर्ने अदालतबाट सम्पादन हुने काम कारबाहीको अनुगमन निरीक्षणलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख छ ।

व्यवस्थापकीय सुधारका लागि मानव संसाधनको व्यवस्थापन, भौतिक र सेवा पूर्वाधारमा सुधार, वित्तीय व्यवस्थापन, सूचना प्रविधिको संस्थागत सुदृढीकरण, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने, न्यायिक अध्ययन अनुसन्धान पद्धतिको विकास, योजना कार्यान्वयन प्रणालीको विकास गर्ने समेतका व्यवस्थापकीय सुधारका प्रयास गर्ने रहेको छ ।

 न्यायपालिकाको जनआस्था र विश्वास अभिवृद्धिका लागि अदालतबाट प्रवाह हुने सेवाबाट सेवाग्राहीलाई सन्तुष्टि दिने प्रयास गरिएको कार्ययोजनमा छ । न्यायिक काम कारबाहीको सूचना सञ्चार सम्प्रेषण पद्धतिलाई सुधार गर्ने प्रयास भएको र सरोकारवालासँग सम्बन्ध र सहयोग सुदृढ गर्ने प्रयास भएका छन् भने योजनाको मूल्याङ्कन, अनुगमन र समीक्षा गर्ने गरिएको छ ।

सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदका लागि न्याय परिषद्को यही मङ्सिर ५ गते बसेको बैठकले छ जना न्यायाधीश सिफारिस गरेको थियो । तीमध्ये आज प्रस्तावित न्यायाधीशद्वय सुवेदी र मुसलमानको सुनुवाइ भएको हो ।

नौ वर्षसम्म पूरा भएन उत्तरी चीन जोड्ने ९१ किलोमिटर गमगढी–नाकच्यालाग्ना सडक

मुगु, २९ मङ्सिर : नौ वर्ष अघिदेखि निर्माण गर्न सुरु गरिएको सदरमुकामबाट उत्तरी चीन जोड्ने ९१ किलोमिटर सडक अझैँ सम्पन्न हुनसकेको छैन । गमगढी–नाकच्यालाग्ना सडक निर्माणमा बजेट अभाव भन्दै ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको हो । उक्त सडक परियोजना जुम्ला सडक डिभिजन कार्यालयको मातहतमा रहेको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनीयर वीरबहादुर जिटीले गमगढी–नाकच्यालाग्ना सडक २०७२ सालदेखि २०८० सालसम्ममा रु ३० करोड रकम खर्चेर १९ दशमलव ५ किलोमिटर ट्याक खोलेको बताउनुभयो ।

सडक विस्तार र स्तरोन्नति गर्न चालु आर्थिक २०८०/८१ का लागि छायाँल र माँग्रीमा पर्ने १ दशमलव २ किलोमिटर चट्टानी पहरो ब्लास्टिङ्ङ गर्न र ७ दशमलव ५ किलोमिटर ग्राबेलका साथ नाला निर्माणका लागि रु छ करोड ५० लाख रकम सङ्घीय सरकारबाट विनियोजित भएको छ । इञ्जिनीयर जिटीका अनुसार उक्त सडक निर्माणको ठेक्का अवधि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रहेको छ ।

उक्त अवधिभित्र योजना सम्पन्न नहुँदा सडक निर्माणको जिम्मा पाएका कम्पनीले पुनः योजना सञ्चालनका लागि सम्बन्धित निकायबाट म्याद थपेर अनुमति लिएका छन्। साढे एक किलोमिटरको पहिरोमा ब्लास्टिङमार्फत सडक निर्माण गर्ने जिम्मा पाएको थोदुङयाराभान जेभीले हाल छाँयालबाट स्काभेटरद्वारा सडक निर्माण गरिरहेको कम्पनीका सञ्चालक कार्मा तामाङले बताउनुभयो ।

राष्ट्रपति सीद्वारा गुआङ्सीलाई चिनियाँ आधुनिकीकरणको नयाँ अध्याय लेख्न आग्रह

चीनका राष्ट्रपति सी चिन फिङले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई आधुनिकीकरणको अध्याय लेख्न आग्रह गर्नु भएको छ ।बिहीबारदेखि शुक्रबारसम्म दक्षिणी चिनियाँ क्षेत्रको निरीक्षण भ्रमणका क्रममा राष्ट्रपति सीले गुआङ्सी जुआङ स्वायत्त क्षेत्रलाई नवप्रवर्तनोन्मुख हुँदै सामुद्रिक अर्थतन्त्रको प्रवर्द्धन गर्न समेत विशेष आग्रह गर्नु भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सीले तटीय क्षेत्रलाई चिनियाँ आधुनिकीकरणलाई अगाडि बढाउने गरी नयाँ अध्याय लेख्न आग्रह गर्नुभएको हो ।

मौलिक कला जोगाउनुपर्नेमा उड्डयनमन्त्री किरातीको जोड

काठमाडौँ, २९ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५आँै प्राज्ञसभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री किरातीले नेपालका विभिन्न भेगमा छरिएर रहेका मौलिक कला तथा सम्पदा जोगाउन सकेमा पर्यटन क्षेत्रको विकास अझ सहज हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कला, संस्कृतिको उत्थानका लागि प्राज्ञिक क्षेत्रको विशेष योगदानको अपेक्षा सरकारले गरेको छ ।” प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सृजना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै सृजनात्मक गधिविधि विस्तारमा प्रतिष्ठानले हरसम्भव प्रयास गरिरहेको जानकारी दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै प्रतिस्थानले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तिनका अधिकार प्रदेशमा पनि प्रत्यायोजन गरिएको बताउनुभयो ।सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले कला, संस्कृति सङ्गीत तथा नाट्य क्षेत्रको विकासमा प्रतिष्ठानहरु लाग्नुपर्नेमा जोड दिनुभयो । प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तरराष्ट्रिय कलासम्मेलन आयोजना गर्न सुझाव दिनुभयो

पुस १० गतेदेखि चितवनमा १७औँ हात्ती तथा पर्यटन महोत्सव हुँदै

चितवन, २९ मङ्सिर : १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आगामी पुस १० गतेदेखि हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा महोत्सव हुन लागेको हो । कोभिड महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि गर्न लागिएको मेला संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो । कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसायलाई अझैमाथि उठाउन महोत्सव आयोजना गरिएको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा गरी पाण्डेले बताउनुभयो ।

हात्ती बिना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने बताउँदै उहाँले पर्या–पर्यटनसम्बन्धी गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गरी राष्ट्रियस्तरमा पहिचान गराउन महोत्सव फलदायी हुने उहाँले बताउनुभयो । महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रबद्र्धन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा अग्रज, उत्कृष्ठ पथप्रदर्शक, सुरक्षाकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक लगायतलाई सम्मान गरिनेछ । सन् २०१८ पछि हात्ती महोत्सव अहिले हुन लागेको हो । महोत्सवको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा ५० वटा बिक्रीकक्ष रहने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यसवर्ष चितवनमा हात्ती तथा पर्यटन महोत्सव हुँदै चितवन, २९ मङ्सिर : १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सव २०८० आगामी पुस १० गतेदेखि हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजनामा महोत्सव हुन लागेको हो ।

कोभिड महामारीका कारण स्थगन गरिएको हात्ती महोत्सव चार वर्षपछि गर्न लागिएको मेला संयोजक ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो । कोभिड–१९ का कारण थलिएको पर्यटन व्यवसायलाई अझैमाथि उठाउन महोत्सव आयोजना गरिएको आज आयोजना गरिएको पत्रकार सम्मेलनमा गरी पाण्डेले बताउनुभयो ।

हात्ती बिना समग्र चितवनको पर्यटन कल्पना गर्न नसकिने बताउँदै उहाँले पर्या–पर्यटनसम्बन्धी गतिविधि र स्थानीय उत्पादनलाई बजारीकरण गरी राष्ट्रियस्तरमा पहिचान गराउन महोत्सव फलदायी हुने उहाँले बताउनुभयो । महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, मैत्रीपूर्ण खेलकुद प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै चितवनमा पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया, स्थानीय वेषभूषा तथा कला संस्कृतिसहित झाँकी प्रदर्शन, हात्तीको दिनचर्याबारे जानकारी, स्थानीय कृषि उत्पादनको प्रबद्र्धन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा अग्रज, उत्कृष्ठ पथप्रदर्शक, सुरक्षाकर्मी, माउते, डुङ्गा चालक, जीप सफारी चालक लगायतलाई सम्मान गरिनेछ । सन् २०१८ पछि हात्ती महोत्सव अहिले हुन लागेको हो । महोत्सवको दैनिक पाँच हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी महोत्सव गर्न लागिएको हो । महोत्सवमा ५० वटा बिक्रीकक्ष रहने क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला गरिँदै आएको छावाको फुटबल, पोलो, हात्ती दौडजस्ता गतिविधिले हात्तीलाई दुःख हुने गरेको गुनासो बढेपछि यसवर्ष त्यस्ता गतिविधि नगरिने भएको छ । यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा हात्ती महोत्सव हुँदै आएकोमा यसपटक मैनाहा चौरमा हुने उहाँले बताउनुभयो ।

रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ, २९ मङ्सिर : प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा हुनुभएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उहाँलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मनुभएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी हुनुभएको थियो । आजै जङ्गी अड्डामा आयोजित कार्यक्रममा प्रधानसेनापतिले रथी सिग्देलका साथै उपरथीमा बढुवा हुनुभएका सहायक रथी सन्तोष वल्लभ पौडेललाई पनि दज्र्यानी चिह्न प्रदान गर्नुभयो । रथी सिग्देल बलाधिकृत र उपरथी पौडेल पश्चिम पृतनापतिमा नियुक्त हुनुभएको छ ।

भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक पक्राउ

काठमाडौँ, २९ मङ्सिर : भिजिट भिसामा तीनसय जना विदेश पठाउने कार्यमा संलग्न मेनपावर सञ्चालक र उनका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।निमा छिरिङ ट्राभल्सका सञ्चालक तथा काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–३ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ३७ वर्षीय मनोज तामाङ (लामा) तथा रामेछाप दोरम्भा गाउँपालिका–७ घर भई हाल काठमाडौँ गोकर्णेश्वर बस्ने वर्ष ३३ का पदम लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत तथा प्रहरी उपरीक्षक मिलन केसीले राससलाई जानकारी दिनुभयो ।

केसीका अनुसार मनोज र पदम नजिकको नातेदार भएको र निजहरुले नक्कली कागजातका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीलाई सेटिङ मिलाई प्रतिव्यक्ति रु ४० हजारदेखि रु ५५ हजारसम्म लिई युवायुवतीलाई विदेश पठाउने गरेका थिए । यही मङ्सिर २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्कालाई उक्त कार्यको अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको थियो ।

निज अधिकृत खड्कामार्फत पक्राउ परेका मनोज र निजको सालो पदमले तीन सय जना सेटिङ मिलाएर पठाएको अनुसन्धानबाट खुलेको उपरीक्षक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकालाई लिखितसम्बन्धी कसूर समेतका अपराधमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।”

आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधार कोषमा २० लाख बढी सङ्कलन

दमौली, २९ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिकाको शिक्षा सुधार कोषमा रु २० लाख बढी सङ्कलन भएको छ । गाउँपालिकाले शिक्षा सुधारका लागि सुरु गरेको शिक्षा सुधार कोषमा विभिन्न सङ्घ संस्था तथा व्यक्तिबाट उक्त रकम सङ्कलन भएको हो । गाउँपालिकाभित्र सञ्चालित उद्योग, विभिन्न सहकारी, टोल सुधार समिति, सङ्घ संस्थाले पालिकाको उक्त अभियानमा हातेमालो गर्दै सहयोग गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाको आह्वान अनुसार सहयोग जुट्ने क्रम जारी छ । उक्त कोषमा एकैदिन साँढे छ लाख सहयोग प्राप्त भएको छ ।

गाउँपालिकामा रहेका विभिन्न उद्योगले शिक्षा सुधार कोषमा रु छ लाख ५० हजार सहयोग गरेका हुन् । आँबुखैरेनी गाउँपालिका–२ स्थित अभनिष डिष्टिलरी प्रालिले रु तीन लाख, सूर्य ब्लेन्डर्स प्रालिले रु एक लाख, मकालु डिष्टिलरी प्रालिले रु एक लाख ५० हजार र तिरुमाला प्लास्टिक इण्डष्ट्रिजले रु एक लाख सहयोग गरेको छ ।

गाउँपालिकाले सुरु गरेको शैक्षिक सुधार कार्यक्रमलाई थप टेवा पु¥याउने उद्देश्यसहित शैक्षिक क्षेत्रमा गरेको सहयोगप्रति गाउँपालिकाका अध्यक्ष चुमानले धन्यवाद ज्ञापन गर्नुभएको छ । अध्यक्ष चुमानले भन्नुभयो, “हामी गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेका छौँ ।

त्यसका लागि हातेमालो गरेर यहाँका सङ्घ संस्थाले सामाजिक उत्तरदायित्व वहन गरेको छ ।” गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुआत गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार वटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । चुमानले भन्नुभयो, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।” रुप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका सबै छात्रछात्रालाई निःशुल्क ट्र्याकसुट, झोला, जुत्ता मोजा तथा टिसर्ट वितरण गरिएको छ । गाउँपालिकाले आँबुखैरेनी गाउँपालिका–४ भाँगेस्थित छिम्केश्वरी मावि र मस्र्याङ्दी आधारभूत विद्यालयमा पुराना डेस्क बेन्च हटाएर नयाँ व्यवस्था गरेको छ ।

शैक्षिक सुधार अभियान अन्तर्गत विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क बेन्च फेर्ने, नर्सरीदेखि कक्षा दुईसम्म स्मार्ट टिभी राखी सिकाइ सहज गर्ने र केही विद्यालयमा बस प्रदान गर्ने योजना छ । उहाँले भन्नुभयो, “कतिपय विद्यालयका विद्यार्थी विद्यालयसम्म पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता छ, त्यस्ता विद्यालयलाई बस उपलब्ध गराउँछौँ । त्यसले गर्दा विद्यालय आउजाउका लागि हिँड्नुपर्ने समय विद्यार्थीले अध्ययनमा लगाउन सक्छन् ।

” सिकाइ गुणस्तर योजना अन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको वार्षिक मूल्याङ्कन शिक्षण प्रतिवेदन अनुसार समस्याको पहिचान गरी समाधान तर्फ पहल गरिन उहाँले बताउनुभयो । विषयगत पर्याप्त दरबन्दी पठाउन गाउँपालिकाबाट नै आफ्नै स्रोतमा शिक्षक परिचालन गर्ने योजना रहेको चुमानको भनाइ छ । प्रोत्साहन योजनाअन्तर्गत जनप्रतिनिधिको छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउने निर्णय कार्यान्वयनमा आएको छ ।

“सामुदायिक विद्यालयमा अपनत्व बढाउने गरी सो निर्णय कार्यान्वयनमा आएको छ,” उहाँले भन्नुभयो, “जनप्रतिनिधिका छोराछोरी निजी विद्यालयमा पढाउने अनि सामुदायिक विद्यालय गुणस्तरको कुरा गर्न सुहाउँदैन ।” आँबुखैरेनी गाउँपालिकाका–६ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले सामुदायिक विद्यालयमा पढाउने परिवारलाई कर छुट दिने नीति ल्याउन लागेको चुमानले बताउनुभयो । त्यस्तै सामुदायिक विद्यालयमा छोराछोरी पढाउने वडा नं ४, ५ र ६ का परिवारका लागि पालिकाले निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिने उहाँले बताउनुभयो

कोहलपुरमा जीपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवानको मृत्यु

जानकी (बाँके), २९ मङ्सिर : बाँकेको कोहलपुरमा जीपको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । पश्चिमदेखि पूर्वतर्फ आउँदै गरेको भे १ च ३४०७ नम्बरको जीपले ठक्कर दिँदा डिउटीमा तैनाथ प्रहरी जवान २९ वर्षीय विशाल वलीको ज्यान गएको हो ।

जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार ३२ वर्षीय लालबहादुर बुढाक्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता नारायाण डाँगीले जानकारी दिनुभयो ।गए राति पूर्व पश्चिम राजमार्गमा पर्ने कोहलपुरको मदनचोकमा डिउटीमा खटिएका प्रहरी जवान वली र प्रहरी सहायक हवल्दार बुढाक्षेत्रीलाई जीपले ठक्कर दिएको हो ।

घाइते बुढाक्षेत्रीको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको छ । जीपको ठक्करबाट प्रहरी जवान वलीको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिएर फरार भएका जीपका चालक दाङको घोराही उपमहानगरपालिका–११ का २० वर्षीय अर्जुन बस्नेतलाई प्रहरीले कोहलपुर–२ बाट नियन्त्रणमा लिएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धार्मिक व्यक्ति जहिले पनि सत्य, न्याय र समानताका पक्षमा हुन्छ – नेता साह

काठमाडौँ, २९ मङ्सिर : बलियो चुनावी दलीय गठबन्धनलाई पाखा लगाउँदै स्वतन्त्र उम्मेदवारका हैसियतले प्रतिनिधिसभा सदस्य चुनावको नतिजा आफ्ना पक्षमा पार्न सफल किरणकुमार साह संसद्को पहिलो बैठकमा बेग्लै पहिचान स्थापित गरी चर्चामा आउनुभयो । अधिकांशले नेपाली र केहीले आआफ्ना मातृभाषामा सपथ लिइरहेका बेला उहाँले प्रतिनिधिसभाको पहिलो बैठकमा संसारको पुरानो संस्कृत भाषामा पद तथा गोपनीयताको शपथ लिएर आश्चर्यमा पार्नुभयो ।

धार्मिक व्यक्ति जहिले पनि सत्य, न्याय र समानताका पक्षमा हुने तर्क दिँदै नेता साहले आफूले नेपाली भाषाको जननी संस्कृतमा शपथ लिएर सारा नेपालीलाई आफ्नो संस्कार र सस्कृति संरक्षणका लागि प्रेरित गरेको जिकिर पनि गर्नुभयो । उहाँले भन्नुभयो, “अरूलाई सम्मान गर्ने हाम्रो संस्कार थियो, नैतिक शिक्षा पढाइन्थ्यो, सामाजिक शिक्षाले समाजलाई बुझ्ने अवसर दिलाएको थियो । हाम्रा सबै गौरव हटाउँदा अनेकौँ विसङ्गति र विकृति जन्मिएको छ ।”

निर्वाचनपछि नेकपा (एमाले) लाई समर्थन गर्दै आउनुभएका साह रौतहट निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य हुनुहुन्छ । विसं २०५६ देखि नेकपा (माओवादी) मा आबद्ध उहाँ २०७० मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यका प्रतिस्पर्धी हुनुुुहुन्थ्यो ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकारको प्रभावकारिता नदेखिएको आरोप लगाउँदै उहाँले अपराधीलाई राष्ट्रिय दिवसमा मुक्त गर्ने परम्परा उचित नभएको ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, “परिवर्तनका लागि भएका आन्दोलन र सङ्घर्षमा जनतालाई गाँस, बास र कपास सुनिश्चित गर्छाैं भनियो तर सत्तामा गएपछि नेताका बुद्धिमा बिर्काे लाग्यो, सुशासन कायम गर्न तिनको सोच, विचार र आचरण सुध्रिनुपर्छ, कानुन कार्यान्वयन हुनुपर्छ ।”

रौतहटबासीसँग गरिएको प्रतिबद्धता कार्यान्वयनलाई मूर्तरूप दिन दृढ सङ्कल्पका साथ आफू अघि बढेको जनाउँदै उहाँले त्यही जगमा उभिएर देशलाई नै समृद्धिका बाटामा हिँडाउन आफूले अरूलाई दबाब र प्रेरणा प्रदान गर्ने विश्वास दिलाउनुभयो ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समिति सभापति साह कानुन निर्माणका अतिरिक्त निर्वाचन क्षेत्रका प्राथमिकता सम्बोधन गर्नु आफ्नो मूल सङ्कल्प भएको बताउनुहुन्छ । प्रत्यक्ष निर्वाचन जितेर आएकाले विधि तर्जुमासँगै निर्वाचन क्षेत्रका समग्र विकास निर्माण र जनताको पीरमर्का सम्बोधन गर्नु आफ्नो पहिलो कर्तव्य भएको उहाँको ठम्याइ छ । नेता साहले भन्नुभयो, “चुनाव लड्दा जनताका माग पूरा गर्छाैं भनी विश्वास दिलाएकाले जितेर आएको हुँ । मैले जनतालाई त्यस बेला पढाइ, कमाइ, दबाइ, सिँचाइजस्ता एजेन्डामा प्रतिबद्धता दिलाएको थिएँ ।”

बालबालिकाका लागि गुणस्तरीय शिक्षा, आफ्नै निर्वाचन क्षेत्रमा रोजगारी, ज्येष्ठ नागरिकलाई औषधिसहितको वृद्धाश्रम, किसानका लागि सिँचाइजस्ता विषयमा गरिएको प्रतिबद्धता पूरा गर्न मन्त्रालय जानु र नेतृत्वसँग भेट गर्नुलाई अन्यथा लिन नहुने उहाँको तर्क छ । सांसद साहले मन्त्री र सचिवको ढोका ढकढक्याएर चालु आर्थिक वर्षमा विभिन्न योजनाका लागि आफ्नो निर्वाचन क्षेत्रमा करिब रु ३२ करोडको योजना लैजान आफू सफल भएको जानकारी दिनुभयो ।

स्वतन्त्र विधायक साहले सांसदलाई मुख्य जिम्मेवारीमा संलग्न गराउन सरकार, सदन र संसदीय समितिले विधेयकमाथिको छलफललाई प्राथमिकता दिँदै निरन्तर बहस चलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गएको एक साताभित्र विषयगत समितिको बैठक बस्न सदस्यलाई तीन पटक आह्वान ग¥यौँ तर गणपूरक सङ्ख्या नपुगेर स्थगन हुँदैआएको छ । यसले सांसद सदनप्रति जवाफदेही नदेखिएको स्पष्ट हुन्न र ! ” पार्टीले संरक्षण गरिहाल्छ भन्ने आडमा हुने यस्ता कार्यलाई निरुत्साहन गर्दै लैजानुपर्ने बताउँदै सभापति साहले भन्नुभयो, “यस्ता अवस्थामा विधायकले न कानुन, न नीति, न विकास र समृद्धिलाई नै अघि लैजान सक्छ ।”

सकारात्मक सोच र समयमै जिम्मेवारी पूरा गर्ने सङ्कल्प भएमा मात्र देश बनाउन सकिन्छ भन्दै उहाँले यस्ता गतिविधिले अनेकाँै समस्या नित्याएको विचार प्रकट गर्नुभयो । साहका अनुसार आफूले चुनाव जितेपछि सपथ ग्रहण गर्दैगर्दा राष्ट्रका लागि केही गरौँला भन्ने सोच थियो तर एक वर्षको कार्यकाल हेर्दा धेरै नेताहरू नै भ्रष्टाचार, नातावाद र कृपावादमा जोडिएको देखियो । देश बनाउनेतर्फ कसैको ध्यान देखिएन ।

समानुपातिकका नाममा आफ्ना नातागोतालाई ल्याउने होड चल्यो । अर्थतन्त्र ‘रेड जोन’ मा परेको अवस्था छ । “त्यसको समाधानको सट्टा राजनीतिक स्वार्थप्रेरित कैयौँ विषय दलीय भागबन्डामा टुङ्ग्याउने प्रयास भइरहेको छ । यस्ता घटनाले नेताप्रतिको ओज कमजोर मात्र नभई लोकतन्त्रको खिल्ली पनि उडेको छ । देशमा भएका कैयौँ घटनाले आफूहरुलाई सांसद र नेता भन्न लाज लाग्ने स्थिति पैदा भएको छ । देश, जनता र निर्वाचन क्षेत्रमा केही गरौँला भन्ने सपना पूरा सकेन । कानुन बनाउँदा देशको दीर्घकालीन हितलाई ध्यान दिनुपर्नेमा बहुमत र अल्पमत पक्ष पो देखियो । यस्ता अवस्थामा सुधार ल्याउन नेताहरू स्वयं सुध्रिन र सच्चिन आवश्यक छ”, उहाँ भन्नुहुन्छ ।

देशलाई बनाउने हो भने सत्ता र प्रतिपक्ष मिलेर न्यायालयदेखि विभिन्न आयोगसम्ममा भागबन्डामा भइरहेका राजनीतिक नियुक्ति अन्त्य गरिनुपर्नेमा जोड दिँदै उहाँले दलको सिफारिसमा नियुक्त व्यक्तिबाट स्वतन्त्र निर्णयको सुनिश्चितता हुनै नसक्ने तर्क गर्नुभयो । राज्यका संयन्त्रमा हुने नियुक्ति प्रतिस्पर्धा र मेरिटका आधारमा हुनुपर्छ भन्दै नेकपा (माओवादी) का तर्फबाट लामो राजनीति गर्नुभएका साहले महत्त्वपूर्ण नियुक्ति र कानुन तर्जुमा गर्दा दलीय घेराभन्दा माथि उठ्नुपर्ने सुझाव दिनुभयो ।

एक वर्षका कार्यकालमा दुई÷तीन वटा मात्रै विधेयक पारित हुनु दुःखद् भएको बताउँदै उहाँले समयमा कानुन बन्न नसक्दा प्रदेश र स्थानीय तहले आआफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउन चुनौती खडा भइरहेको प्रतिक्रिया दिनुभयो । उहाँले मुलुकका बाल सुधार केन्द्रलाई व्यवस्थित गर्न तुरुन्त कानुन संशोधनको आवश्यकता औँल्याउँदै भन्नुभयो, बाल सुधारगृहमा युवा र बालबालिकालाई एकै ठाउँमा राख्दै थप आपराधिक क्रियाकलाप हुँदैआएको पनि बताउनुभयो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा मातहतका समितिमा रहेका तथा लोकतन्त्र र सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण मानिएका विधेयक आगामी संसद् अधिवेशनमा पारित गर्नुपर्ने औँल्याउँदै उहाँले कानुन निर्माणमा सत्ता र विपक्ष भावना नभई सर्वसम्मति हुनुपर्ने धारणा राख्नुभयो । नीति र कानुन बनाउने जिम्मेवारी रहेको सार्वभौमसत्ता सम्पन्न संसद्मा सत्ताको भागबन्डा तथा सत्तामा पुग्ने र टिक्ने प्रतिस्पर्धाले मुुुख्य जिम्मेवारीलाई ओझेलमा पारेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “प्रमाणित नै हुन नसक्ने सानो विषयलाई नियतवश फुस्स प्रवेश गराएर सदन अवरुद्ध गराउने प्रचलन पनि देखियो । यस्ता क्रियाकलापले सदन लोकदोहोरी खेल्ने थलो बनेको छ ।”

सदनलाई कसरी प्रभावकारी र परिणाममुखी बनाउने भन्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने औँल्याउँदै उहाँले कतिपय अवस्थामा सदन र संसदीय समितिका बैठक छाडेर सांसद अरू नै क्रियाकलापमा संलग्न हुने गरेको उदाहरण प्रस्तुत गर्नुभयो । उहाँका अनुसार, संसदीय मर्यादा र गतिविधि बाहिर गएर जनप्रतिनिधि नै बैठकमा प्रस्ुतत हुँदा मतदातामा गलत सन्देश प्रवाह हुनसक्छ । यो सांसद र संसद्का लागि सुहाउँदो विषय होइन । उहाँहरूले संसद्को गरिमालाई बुझ्नुपर्छ । कतिपय अवस्थामा त्यो देखिन्न । उहाँले भन्नुभयो, “सबैलाई स्वीकार्य हुने कानुन बनाए मात्र राष्ट्रलाई हित हुन्छ । त्यो भएन भने कार्यान्वयन नहुँदै आन्दोलन हुन्छ अनि लागू गर्न कठिन हुन्छ । सर्वसम्मतिमा कानुन तथा सर्वदलीय आधारमा नीति र कार्यक्रम बनाएर जानुपर्छ ।”

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। शुक्रबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको १ को १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा रहेको छ।

यस्तै युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५३ पैसा र बिक्री दर १६९ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर ९८ रूपैयाँ ९१ पैसा तथा बिक्री दर ९९ रूपैयाँ ३५ पैसा रहेको छ।

अष्ट्रे्लियन डलर एकको खरिद दर ८९ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ८९ रूपैयाँ ७५ पैसा, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४१ पैसा तथा बिक्री दर ९ रूपैयाँ ४५ पैसा, चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ६५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७३ पैसा , साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४६ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६२ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २२ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ३९ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको छ।

बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग, राष्ट्र बैंकलाई बुझाइयो ज्ञापनपत्र

लुम्बिनी, २९ मङ्सिर : बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानीयोग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ ।

सङ्घको टोलीले बिहीबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्फत ऋणको ब्याजदर घटाउन माग गरेको हो । टोलीले मुलुकको अर्थतन्त्रको सुदृढीकरण र उद्योगी व्यवसायीका व्यावसायिक समस्या सुधारका लागि सुझावसमेत दिएको छ । सङ्घले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्यन्द्रराज सुवेदीमार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत पर्याप्त हुँदा पनि कर्जा विस्तार हुन नसक्नु, कर्जाको दरमा उल्लेख्य मात्रामा कमी आउन नसक्नु तथा खराब कर्जाको मात्रामा उल्लेख्यरुपमा वृद्धि हुनुले पनि समस्या कायम रहेको उल्लेख छ ।

“उद्योग व्यवसायको क्षमता प्रयोग निरन्तररुपमा घटिरहेको र रोजगारी तथा आयमा कमी आई उपभोग्य वस्तुको मागमा कमी आएको छ”, सङ्घका अध्यक्ष अर्यालले भन्नुभयो । व्यवसाय धराशायी भएको सन्र्दभमा व्यवसायीले ऋणको ब्याज तथा सावाँ भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुनःतालिकीकरण गर्ने र हर्जाना मिनाहा गर्नका लागि प्रबन्ध मिलाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

व्यावसायिक ऋण भुक्तानीमा समस्याका कारण देखाउँदै गरिने धितो लिलाममा ब्याज भुक्तान भएका सम्पूर्ण लिलामी रोक्का गरी ऋण पुनःतालिकीकरण गर्नसमेत अनुरोध गरिएको छ । महिला उद्यमी कर्जालाई सर्वसुलभ र सरलीकृत गर्दै सबै बैंक तथा वित्तीय संस्थाले प्राथमिकताका साथ ऋण प्रदान गर्ने व्यवस्था अवलम्बन गर्नुपर्ने, ओभरड्राफट ऋणमा केही समयदेखि लागु गरिएको व्यवस्थाको सट्टा पूर्ववत् स्वीकृत ओभरड्राफट ऋणको सीमाभित्र पटकपटक आवश्यकताअनुसार निकाल्न र भुक्तानी गर्ने मिल्ने व्यवस्था मिलाउन आग्रह गरिएको अध्यक्ष अर्यालले बताउनुभयो । सो अवसरमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुवेदीले सुधारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।