`

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। बिहीबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको १ को १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ।

यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७४ पैसा र बिक्री दर १६७ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर ९७ रूपैयाँ ९८ पैसा तथा बिक्री दर ९८ रूपैयाँ ४३ पैसा रहेको छ।

अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ २५ पैसा तथा बिक्री दर ८७ रूपैयाँ ६५ पैसा, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा तथा बिक्री दर ९ रूपैयाँ १८ पैसा, चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ५५ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६३ पैसा , साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ५० पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६६ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २६ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ।

म्याग्दीको दोसल्लेमा सुुन्तलाको बगैँचाभित्र रहेको बिजुलीको नाङ्गो तार हटाउन थालियो

म्याग्दी, २८ मङ्सिर : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा सुुन्तलाका बगैँचाभित्र रहेको विद्युत् वितरण लाइनको नाङ्गो तार हटाउन थालिएको छ । सुुन्तलाको बगैँचाभित्र रहेको विद्युुत्को नाङ्गो तारका कारण दुुर्घटनाको जोखिम बढेको थियो ।

नाङ्गो तारका कारण किसान बगैँचामा पस्न डराउने गरेका थिए । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले सुुन्तला बगैँचाभित्र रहेको नाङ्गो तार हटाउन थालेको दोसल्लेका बासिन्दासमेत रहनुुभएका अन्नपूूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले जानकारी दिनुुभयो । उहाँका अनुुसार नाङ्गो तार हटाएर राखिने एबिसी केबुुल तारसहित मजदुुर र प्राविधिकको टोली बुुधबार दोसल्ले पुुगेको छ ।

“सुुन्तलाको हाँगाले नाङ्गो तार छोएकाले बगैँचाभित्र पस्न जोखिम थियो”, उहाँले भन्नुुभयो । नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रमार्फत तत्कालै तार हटाउने काम सुुरु भएको हो । प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुुख प्रताप बरालले दोसल्लेमा एक किलोमिटरभन्दा बढी वितरण लाइनको नाङ्गो तार हटाएर एबिसी केबुुल राख्न थालिएको बताउनुुभयो ।

बयालिस परिवार बस्दै आएको दोसल्लेमा पूरै गाउँमा सुन्तलाखेती गरिएको छ । नौ हजार सुन्तलाका बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको वितरण लाइनको नाङ्गो तारले हाँगा छुन थालेको थियो । “सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ”, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष प्रेम पाइजाले भन्नुभयो, “तारमा छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्न डर छ ।”

सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका छन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताउनुभयो । स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नाङ्गो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गर्दैआएका थिए । अन्नपूर्णको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युत्को तार व्यवस्थापन गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् ।

कोप–२८ जलवायु सम्झौतामा वैश्विक प्रतिक्रिया

दुबईमा करिब दुई सय मुलुकको बैठकले विश्वबाट जीवाश्म इन्धनबाट टाढा जानका लागि पहिलो पटकको आह्वानमा सहमति जनाएसँगै खुशीदेखि सन्देहका प्रतिक्रियाहरू आएका छन् ।

यो सम्झौता संयुक्त राष्ट्रसङ्घको नेतृत्वको कोप२८ शिखर सम्मेलनमा भएको हो । सम्मेलनको उद्देश्य महङ्गो र विनाशकारी परिणामहरू बोक्ने जलवायु परिवर्तनसँग लड्नु हो ।

यहाँ केही प्रतिक्रिया दिइएको छ ः

‘आशावादको कारण’
“युक्रेन र मध्यपूर्वको युद्ध तथा अन्य सबै चुनौतीहरूले अस्तव्यस्त भइरहेको संसारमा यहाँ सबै खुशी हुनुपर्छ”, अमेरिकी जलवायु दूत जोन केरीले भन्नुभयो, “आशावादका कारण, कृतज्ञताका कारण र केहीका लागि कारण छ, यहाँहरू सबैलाई बधाई ।”

‘पोस्ट–जीवाश्म युग’
युरोपेली युनियन (इयु) का प्रमुख उर्सुला भोन डेर लेयेनले एउटा सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ, “आजको सम्झौता पोस्ट–जीवाश्म युगको सुरुआतको प्रतीक हो ।”

‘कृतज्ञता’
अरब गुटका तर्फबाट साउदी अरबका अधिकारी अलबारा तौफिकले वार्ताका लागि ‘कृतज्ञता’ व्यक्त गर्नुभयो । विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबले सम्झौता मस्यौदामा जीवाश्म इन्धनको ‘चरणबद्ध कमी’ वा ‘चरणबद्ध अन्त्य’ को उल्लेख गरिएकामा कडा विरोध जनाएको थियो ।

‘विकसित राष्ट्रहरूको दायित्व’
चीनका उपपर्यावरणमन्त्री झाओ यिङमिनले दुबईमा कोप२८ लाई भन्नुभयो, “जलवायु परिवर्तनका लागि विकसित मुलुकहरूको अटल र ऐतिहासिक दायित्व छ, त्यसैले विश्वको बाँकी हिस्साभन्दा पहिला एक दशमलव पाँच डिग्री सेल्सियसको मार्गमा अगाडि बढ्न उनीहरूले नेतृत्व गर्नुपर्छ ।”

‘नेतृत्व लिनुहोस्’
ब्राजिलका पर्यावरणमन्त्री मरिना सिल्भाले दुबईमा भन्नुभयो, “जीवाश्म इन्धनबाट टाढा जानका लागि विकसित मुलुकहरूले नेतृत्व लिन महत्त्वपूर्ण छ ।”

‘वृद्धिशील प्रगति’
साना टापु राष्ट्रहरूको गठबन्धनको अध्यक्षता गर्ने मुलुक समोआका प्रमुख वार्ताकार एनी रासमुसेनले भन्नुभयो, “हामीले सधैँ जस्तो व्यापारमा वृद्धिशील प्रगति गरेका छौँ, जबकि हामीलाई वास्तवमै हाम्रा कार्यहरूमा तीव्रताका साथ परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।”

‘रूपान्तरण होइन’
एलायन्स अफ स्मल आइल्यान्ड स्टेट्सले एक विज्ञप्तिमा भनेको छ, “संसारलाई जीवाश्म इन्धनबाट टाढा जानका लागि सम्झौताको आह्वान ‘अगाडिको कदम’ थियो तर यो ‘वृद्धिशील र रूपान्तरणकारी’ थिएन ।”

‘गर्व गर्नुपर्छ’
दुबईमा कोप–२८ को नेतृत्व गर्ने संयुक्त अरब इमिरेट्स (युएई) का तेल प्रमुख सुल्तान अल जाबेरले भन्नुभयो, “हामीले हाम्रो ऐतिहासिक उपलब्धिमा गर्व गर्नुपर्छ र मेरो मुलुक युएईलाई यसलाई अगाडि बढाउनका लागि सहयोग गरेकामा गर्व छ ।”

ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताउनुभएको छ । उहाँले बुधबार इयुको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सो कुरा बताउनुभएको हो ।

“मैले उहाँसँग इयुमा युक्रेन सामेल हुन नपर्ने एउटा कारण बताउन अनुरोध गरेँ, तीन होइन, पाँच होइन, १० होइन मलाई एउटा कारण बताउनुहोस्”, जेलन्स्कीले ओर्बानसँगको कुराकानीका बारेमा ओस्लोमा पत्रकारहरूसँग भन्नुभयो, “मैले जवाफको प्रतीक्षा गरिरहेको छु ।” ओस्लोमा उहाँले पाँच नर्डिक नेताहरूसँग भेटवार्ता गर्नुभयो ।

इयुका नेताहरू बिहीबारदेखि ब्रसेल्समा हुनुहुनेछ र युक्रेनका लागि इयुको समर्थनलाई नवीकरण गर्ने विषयमा छलफल गर्नुहुनेछ । नेताहरूले युक्रेनलाई ५० अर्ब युरोको बृहत् आर्थिक प्याकेज र इयुको औपचारिक सदस्यता वार्ताका साथ छलफल गर्नुहुनेछ ।

ओर्बानले दुवै विषयमा भिटो लगाउने धम्की दिनुभएको छ । रुसले किएभमाथि चौतर्फी आक्रमण सुरु गरेको करिब दुई वर्षपछि युक्रेन र उसको छिमेकी माल्दोभाले इयुको सदस्यता पाउने अपेक्षा गरेको शिखर सम्मेलनलाई उक्त भिटोले असफल बनाउने छ ।

जेलेन्स्कीको युद्धकालीन प्रशासनले भ्रष्टाचारसँग लड्नका लागि पर्याप्त काम नगरेको तर्क दिँदै हङ्गेरीले इयुको सदस्यताका लागि किएभको कदममाथि सैद्धान्तिक आपत्ति रहेकामा जोड दिएको छ । ओर्बानले बुधबार युक्रेनसँग इयुको सदस्यता वार्ता सुरु गर्ने विषयमा उसको विरोध दोहोर्याँदै यसलाई ‘भयानक गल्ती’ भन्नुभएको छ । जेलेन्स्कीले यसबीचमा उहाँले ओर्बानसँग ‘अत्यन्त रचनात्मक बैठक’ हुने आशा गर्दै भन्नुभयो, “किनकी हामीसँग साझा सीमाहरू छन् ।”

हेर्नुहोस् मंसिर २८ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ । अचल सम्पतीमा ह्रास आउनाले कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ ।

बृष राशि- आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ । कुनै पनि निर्णय हतासमा नगरैकै बेश हुनेछ । दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । मालसामान हराउन सक्ला ।

मिथुन राशि- जिबन साथीको सहयोगले गरिएको ब्यापार ब्यवसायमा मनग्य लाभ मिल्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । मान्यजनको साथ सहयोग द्वारा गरीएका कार्यहरु सजिलै पुर्ण हुनेछन । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

कर्कट राशि – शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । अरुको पुर्ण बिश्वासले तपाईलाई आघात दिलाउला । सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला ।

सिंह राशि- आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ । मातृ पक्षको स्वास्थमा देखापरेको असरले सामान्य समस्या पैदा गर्न सक्नेछ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

कन्या राशि – सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला । कार्य क्षेत्रमा लगाईको श्रमको उचित मुल्यांकन हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ ।

तुला राशि – आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ । मनोरञ्जन पुर्ण यात्राको योग रहेको छ । हतासमा गरीएको कार्यले झन्झट दिलाउला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । सामान्य यात्रा हुन सक्छ । भोगबिलासमा समय ब्यतित हुनेछ ।

बृश्चिक राशि – स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ ।सन्तान सम्बन्धी समस्याले सताउला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

धनु राशि – जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । जिद्यी स्वभाब तथा अरुले देखाएको बाटो अनुशरण नगर्नाले सामान्य दुर्घटना निम्त्याउला । सबारी साधनको प्रयोगमा ध्यान दिनु होला । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ । यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ ।

मकर राशि – आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला । अन्य ब्यक्तिको बिश्वास गर्ने बानिमा सुधार ल्याउनु पर्नेछ । लापरबाहले धनमालमा सामान्य क्षति हुने सम्भाबना रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ ।

कुम्भ राशि – आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि- स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला । परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ ।

जथाभावी फोहर फाल्दा तमानखोला र बडिगाडखोला दुर्गन्धित, खोला किनार फोहरको ढङ्गुरले भरियो

ढोरपाटन (बागलुङ), २८ मङ्सिर : बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ । बुर्तिबाङ–बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ । दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् । दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ । यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।

बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशक अघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए । र त्यही जलाउने गरेका थिए । तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ ।

बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ । खोलाले बगाएर फोहर पुनः बजारसम्म पु¥याउँछ । फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ । देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७÷६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ ।

फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ ।

खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताउनुभयो । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उहाँको भनाइ छ । वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउनुहुन्छ । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उहाँको भनाइ छ ।

बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन । सबै फोहर खोलाले बगाएर जताततै पु¥याउँछ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताउनुभयो । आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उहाँको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ।जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।।

आज राती कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बांकी भू-भागको मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

माइनस २६ डिग्री सेल्सियस चिसो सहेर सीमा सुरक्षा

काठमाडौं । बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको अहिलेसम्मकै कम मापन भयो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार बुधबार बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस देखिन गएको हो । यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । बुधबार त्यसभन्दा पनि तल झरेको हो ।

५ डिग्रीभन्दा माथिको तापक्रममा पनि काठमाडौं उपत्यकावासीले चिसो महसुस गरिरहँदा नेपालको उत्तरी सीमामा कार्यरत सुरक्षाकर्मीले कसरी आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् भन्ने कौतूहलता जोसुकैलाई पनि लाग्न सक्छ । किनकि, माइनस २६ डिग्री सेल्सियससम्मको चिसोमा रहेर उनीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था छ ।

समुन्द्री सतहबाट ४ हजार १ सय ३२ मिटरको उचाइमा रहेको सुदूर पश्चिमको दार्चुलास्थित बोर्डर आउट पोस्ट (बीओपी) तिंकरमा कार्यरत सशस्त्र प्रहरीका सुरक्षाकर्मीले अहिले माइनस १० डिग्री सेल्सियससम्मको चिसोमा काम गर्नुपरिरहेको छ ।

यस ठाउँमा विगत चार महिनादेखि सशस्त्र प्रहरी बल नेपालको उपस्थिति छ । व्यास गाउँपालिका–१ तिंकरमा २२ भदौ २०८० मा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको हो । यस क्षेत्रको अन्तर्राष्ट्रिय सीमादेखि करिब ११ किलोमिटरको दूरीमा बीओपी रहेको छ । सदरमुकामबाट १ सय १२ किलोमिटर टाढा रहेको बीओपी तिंकर उच्च हिमाली भेग र भिरालो जमिनमा अवस्थित छ ।

बीओपी स्थापना र सिमानामा सिपाहीको उपस्थिति स्थानीय बासिन्दाका लागि सुरक्षाको प्रत्याभूति र राष्ट्रियताप्रतिको भावनात्मक सम्बन्ध जोड्ने सेतुसमेत भएको छ ।

उता, समुन्द्री सतहबाट ३ हजार ६ सय ४० मिटरको उचाइमा रहेको हुम्लाको हिल्सामा पनि माइनस २६ डिग्री सेल्सियसको तपक्रममा सशस्त्र प्रहरीले काम गर्नुपर्ने अवस्था छ । ६ असार २०७७ मा हिल्सामा बीओपी स्थापना भएको हो ।

यो ठाउँ सदरमुकामबाट ९६ किलोमिटर र अन्तर्राष्ट्रिय सिमानादेखि ३ सय मिटरको दूरीमा अवस्थित छ । हिल्सामा मंसिरदेखि फागुनसम्म हिउँले ढाक्ने भएको हुँदा अत्यन्त चिसोमा सुरक्षाकर्मीले काम गर्नुपर्ने अवस्था छ । यो समाचार राजधानी दैनिकमा छ ।

जलवायुबारे डिजिटल नक्सा तयार गरिने, किसानलाई राहत हुने

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले देशैभर जलवायुको अवस्थाबारे अध्ययन गरी मानचित्र (डिजिटल नक्सा) तयार गर्ने भएको छ । त्यसका लागि सार्क राष्ट्रका कृषि वैज्ञानिकहरू नेपालमा छलफलमा जुटेका छन् । वैज्ञानिकले तयार गर्ने सो नक्सामार्फत एक क्लिकमा आफूले चाहेको ठाउँको जलवायुको अवस्था थाहा पाउन सकिन्छ । यो एक क्लिकले नेपालको मात्र होइन, सार्क राष्ट्रकै जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ ।

जलवायुले धान, गहुँ, मकै, मसुरो, दलहन, तेलहन, तरकारी, माछा तथा फलफूललगायतका बालीमा पारेको प्रभावबारे अध्ययन गरी नक्सा तयार गर्ने छ । कृषि क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न यो डिजिटल मानचित्रले भूमिका खेल्ने नार्क अन्तर्गतका राष्ट्रिय कृषि वतावरण अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अमरबहादुर पुनले बताए ।

यो परियोजना नेपालमा मात्र होइन, सार्कस्तरीय सबै देशमा लागु हुने उनले बताए । अमेरिकाको बिल गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा भारतको बिसा सिमिटले यो आयोजना सञ्चालन गरेको हो । सार्कस्तरीय एउटा छुट्टै वेबसाइट हुन्छ, जसमा सार्क देशका एउटा डिजिटल नक्सा राखिएका हुन्छ । त्यसबाट पनि आआफ्नो देशको जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ ।

त्यसबाहेक देश अनुसार फरक फरक वेबसाइट हुन्छ, त्यसमा आआफ्नो देशको जलवायुको नक्साङ्कन गरी राखिने उनले जानकारी दिए । त्यो नक्सामा जलवायुको जानकारी मात्र होइन, त्यसको समाधान पनि राखिने उनले बताए । कुनै जिल्लाको एक गाउँको जलवायुको अवस्था कस्तो छ भनी थाहा पाउनलाई नक्सामा क्लिक गरेपछि हुन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

मलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ। यसलाई वैदेशिक रोजगारीको अँध्यारो पाटोका रूपमा लिने गरिएको छ।

वैदेशिक रोजगारीमा गएकामध्ये करिब १३ हजार नेपालीले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०र८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा गएका युवाको दैनिक औसत तीन जनाको शव आउने गरेको छ। ती मृतक कामदारका परिवारलाई बोर्डको कल्याणकारी कोषबाट ४ अर्ब ९३ करोड ६६ लाख ६९ हजार रूपैयाँ प्रदान गरिएको छ। सो अवधिमा २ हजार ८ सय ६९ जना बिरामी र अंगभंग भई नेपाल फर्किएका छन्।

लामो समयदेखि विदेशमा मृत्यु र अंगभंग भएका नेपालीको संख्यामा बढ्दै गएको छ। बिदेसिएका कामदारको मृत्यु भए बोर्डले ७ लाख रूपैयाँ दिने गरेको छ। सरकारले मृतक वा अंगभंग हुनेहरूको सहायताका लागि कल्याणकारी कोष स्थापना गरेको छ। वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु, छात्रवृत्ति, अंगभंग बिरामीको अवस्था हेरेर बोर्डले कल्याणकारी कोषबाट आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसबीच वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषले हालसम्म ५ अर्ब ५१ करोड २९ लाख ६० हजार ३ सय १७ रूपैयाँ सहायता शीर्षकमा खर्च गरेको छ।

हालसम्म बिरामी तथा अंगभंग भएका कामदारलाई ६५ करोड १३ लाख ६५ हजार ३ सय १७ रूपैयाँ बोर्डले कल्याणकारी कोषबाट खर्च गरेको छ। संकलित सोही रकमबाट वैदेशिक रोजगार बोर्डले मृतक, गम्भीर बिरामी र अंगभंग भएकाहरूका लागि सहायता उपलब्ध गराउँदै आएको छ। वैदेशिक रोजगारीमा गएका युवाहरू मृत्यु वा अगंभंग भएको अवस्थामा उद्धार गर्ने प्रयोजनका लागि संकलित रकम खर्च गरिने बोर्डले जनाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

कामपामा सुर्तीजन्य पदार्थको बिक्रीवितरमा पूर्ण प्रतिबन्ध


काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ महानगरपालिकाले बिहीबार (भोलि) देखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाउने भएको छ । कामपाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराएको हो

यसका लागि महानगरले यही मङ्सिर १२ गते १५ दिनको अवधि दिएर सार्वजनिक सूचना प्रकाशन गरेको थियो । कामपाका प्रवक्ता नवीन मानन्धरले सुर्तीजन्य वस्तु प्लाष्टिकले बेरेको वा कागजले बेरेको भए पनि हानिकारक हुने भएकाले कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।

कच्चा सुर्ती, खैनी, गुट्खा एवं चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको प्रवक्ता मानन्धरले जानकारी दिनुधयो । उहाँले भन्नुभयो, “सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन, २०६८ को व्यवस्था कार्यान्वयन गराउने अभियान हो, विधि प्रक्रिया तोकिएको छ । सार्वजनिक स्थलमा धुमपान गरे त्यस स्थानबाट निकाल्ने, रु एक सयसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको एक सय मिटर वरपर बिक्रीवितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्नेसम्मको कारबाही गर्न सकिने ऐनमा व्यवस्था छ ।” 

प्रवक्ता मानन्धरका अनुसार भोलिदेखि निरन्तर अनुगमन गरिनेछ, अनुगमनका लागि १० जनाको समूहमा नगर प्रहरीका पाँच वटा टोली, सादा पोशाकमा नगर प्रहरी र कर्मचारी खटिनेछन् । उहाँले भन्नुभयो, “अनुगमन गर्दा पसलमा सुर्तीजन्य वस्तु पाइए सचेत गराउँदै दुई पटकसम्म जफत गर्ने र तेस्रो पटक पनि भेटिए पसल बन्द गराउनेसम्मको कारबाही हुनेछ ।” 

सुर्तीजन्य वस्तुको भण्डारण, बेचबिखन, प्रयोगसम्बन्धी जानकारी पाउने नागरिकले महानगर प्रहरी बलको हटलाइन १८१०५००००६० वा टेलिफोन नम्बर ०१ ५९०१७६३ र ०१ ५९०१७६४ मा खबर गरेर जानकारी दिन पनि कामपाले आग्रह गरेको छ ।  

चुरोट, बिँडी, सिंगार, तमाखु, हुक्का, सुल्फा, कक्कडको प्रयोगलाई धुमपान मानिन्छ । सुर्तीजन्य वस्तुमा कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने वस्तुलाई मान्ने गरिन्छ । कामपाले जारी यसैवर्ष जारी गरेको जनस्वास्थ्य ऐनमा यससम्बन्धी व्यवस्था छ । 

ऐनको दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनसक्ने, निषेध गर्नसक्ने व्यवस्था छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको कामपाको भनाइ छ ।      
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐन, २०६८ मा पनि यससम्बन्धी व्यवस्था छ ।  ऐनको दफा ४ मा सार्वजनिकस्थललाई परिभाषित गर्दै, शिक्षण संस्था, , विमानस्थल, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेष्टुरेन्ट, छात्राबास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायत ठाउँ सार्वजनिक भएको उल्लेख छ ।

सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य :मन्त्री शक्तिबहादुर बस्नेत

जाजरकोट, २७ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नागरिकलाई सङ्घीयताको सुन्दर प्रत्याभूति गराउनका लागि आफूहरु लागिपरेको बताउनुभयो छेडागाड नगरपालिका–५ चङ्खेलीमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्नुहुँदै मन्त्री बस्नेतले यस क्षेत्रका नागरिक अब नागरिकता लगायतको सरकारी कामकाजको लागि ऋण खोजेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको उहाँले बताउनुभयो ।

पश्चिम क्षेत्रको विकास निर्माणका लागि आफूहरु सधँै निरन्तर लागिपरेको उहाँको भनाई छ । सडक, खानेपानी, सिँचाइ तथा पुल निर्माणमा आफूहरुको पूर्णरुपमा जोड रहेको उहाँको भनाइ छ । केही समय पछि पूर्वी क्षेत्रमा पनि इलाका प्रशासन कार्यालय स्थापनाका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

जाजरकोटको पश्चिम क्षेत्रका नागरिकका लागि बहुप्रतिक्षित यो कार्यालयको सुरुवातसँगै नागरिकमा निकै राहत पुगेको छ । आफ्ना घरको खाना खाएर पनि बिना खर्च नागरिकतालगायत सेवा पाउँदा आफूहरू निकै खुसी भएको स्थानीय मानबहादुर बुढाले बताउनुभयो ।

  पश्चिम क्षेत्रका छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिकाका चार वटा वडाका नागरिकले नागरिकता लगायतका  सेवा पाउने भएका छन् ।  यसरी आफ्नै गाउँघरबाट नागरिकता लगायतका सेवा पाउने भएपछि नागरिक अत्यन्तै खुसी भएका भएका छन् ।  कार्यक्रममा पूर्व शान्तिमन्त्री सत्य पहाडीले नागरिकको राज्यको सेवा सुविधा सुलभ रूपमा पाउने अधिकार अन्तरगत कार्यालयले नागरिकलाई सेवा दिने विश्वास व्यक्त गर्नुभयो । 

   छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले इलाका प्रशासन कार्यालय स्थापनासँगै अब यस क्षेत्रका नागरिकका लागि चार हजार रुपियाँ खर्च गरेर सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । यस सेवाले आफूहरूमा निकै सेवा पुग्ने थापाको भनाइ छ ।

अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजान आवश्यक छ : अध्यक्ष राजेन्द्र लिङ्देन

सुदूरपश्चिम, २७ मङ्सिर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लैजानुको विकल्प नरहेको बताउनुभएको छ । राप्रपाद्वारा आज कैलालीको पहलमानपुरमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र अवस्था बदल्नका लागि पार्टी संवैधानिक राजासहितको प्रजातन्त्रका पक्षमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राप्रपा पछाडि फर्किने पनि होइन, पहिलेको र अहिलेको व्यवस्थामा जाने पनि होइन, सम्झौता र सहमति गरेर नयाँ व्यवस्थामा जानुपर्छ ।” उहाँले देशलाई कमजोर अवस्थामा पु¥याएर बेथिति बढाउनमा तीन ठूला दल जिम्मेवार रहेको आरोप लगाउनुभयो । 

राप्रपाका महामन्त्री धवलशम्शेर राणाले व्यवस्था र नेतृत्व परिवर्तन गरी देशमा परिवर्तन ल्याउन पार्टीले अघि बढाएको आन्दोलनमा सहयोग गर्न आग्रह गर्नुभयो । आमसभामा सो पार्टीका उपाध्यक्ष राजेन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतले पनि बोल्नुभएको थियो ।

क्यानाडाका अध्यागमनमन्त्रीको विज्ञप्तीले नेपाली विद्यार्थीहरुमा छैन खुशीको सिमाना

काठमाडौँ । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि हो। विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरुमा उत्साह थपिएको छ ।

क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ । क्यानाडाको अध्यागमन मन्त्रीमा मार्क मिलरले क्युबेकबाट संसदमा प्रतिनिधित्व गर्छन्। उनी मन्त्री बनेसँगै क्यानाडामा आप्रवासी भित्र्याउने कार्यक्रमहरु प्रभावकारी रुपमा लागू गरिँदै आएको मानिन्छ। गत वर्षको नोभेम्बर १५ देखि दिइएको यस्तो अनुमति यही डिसेम्बर ३१ देखि समाप्त हुने भएकाले विद्यार्थीहरूले अत्यन्त चासोका साथ सरकारको यो नीतिको प्रतीक्षा गरिरहेका थिए।

पहिले नै क्यानाडामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू वा डिसेम्बर ७, २०२३ सम्ममा अध्ययन अनुमतिका लागि आवेदन दिएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा धेरै समय काम गरेर खर्च जुटाउन सक्ने यो अवसरका कारण विद्यार्थीहरुमा एक खालको उत्साह भरिएको काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलटेन्सीका सीईओ धिरज कँडेल बताउँछन् ।

अन्तराष्ट्रिय विद्यार्थीहरु क्यानडामा रहुन्जेल आर्थिक हिसाबले कुनै समस्या नहोस् भन्ने उद्धेश्यले क्यानडाले विद्यार्थीहरुलाई त्यहाँको बसाई अर्थपूर्ण बनाउनका लागि यस्तो नयाँ नियम ल्याइएको कँडेलको भनाई छ । जसका कारण उनीहरुको आर्थिक स्तरदेखि सबै कुरामा सहज हुनेछ । जीवन यापनको लागत चुलिएका बेला यो घोषणाले विद्यार्थीलाई अस्थायी राहत दिने गोरेटोका अर्का सिनियर काउन्सलर प्रकाश रेग्मी बताउँछन् ।

अध्यागमन मन्त्री मार्क मिलरले ज्यानुअरि २०२४ बाट लागु हुनेगरी अध्ययन अनुमतिका लागि आवेदन दिने अन्तरास्ट्रिय विद्यार्थीहरूले बार्षिक २० हजार ६३५ क्यानाडियन डलर बराबरको पैसा बस्न तथा खानको लागि विनियोजन गर्न सिफारिस गरेका छन्। रेग्मीका अनुसार बढ्दो जीवनयापन लागतलाई मध्यनजर गर्दै उक्त रकमको बन्दोबस्त गरी जाँदा क्यानाडाको बसाइ सफल, सुखद र झन्झटरहित हुने बताए । यो घोषणासँगै विद्यार्थीका सामु थप आम्दानीको श्रोत देखाउनुपर्ने चुनौती पनि थपिएको अर्का सिनियर काउन्सलर शतिष भट्ट बताउँछन् ।

भट्टका अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले क्यानडाको जीवनयापनको वास्तविक लागत बुझ्नको लागि र जीवनयापन गर्न लाग्ने वास्तविक खर्चको सीमालाई परिमार्जन गर्ने सरकारको निर्णयले बिद्यार्थीकै हित हुन्छ । गोरेटोका सिइओ तथा सिनियर काउन्सलर धिरज कँडेल भन्छन् यी दीर्घकालीन परिवर्तनहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आर्थिक रूपमा कमजोर अवस्था र शोषणबाट जोगाएर समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा नै डोर्‍याउनेछन् ।

पदमार्ग बनाउने श्रम शिविरमा पुगेर मन्त्री र नेताको हौसला

बेनी(म्याग्दी), २७ मङ्सिर : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ माछखर्कमा श्रमदान अभियानबाट निर्माण गर्न लागिएको पदमार्गमा मन्त्री, प्रदेशसभा सदस्य र नेताहरुले श्रमदान गर्नुभएको छ ।

माछखर्कबाट कुनौटाघाट जोड्ने जीर्ण गोरेटोबाटोको पुनःनिर्माणमा माओवादी केन्द्रको वडा कमिटीले सञ्चालन गरेको श्रमदान अभियानमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा आज नेताले श्रमदान गर्नुभएको हो ।

नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समितिका संयोजकसमेत रहनुभएका जुग्जाली, प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, पार्टीका प्रदेश सचिवालय सदस्यसमेत रहनुभएका पूर्वप्रदेशसभा सदस्य विनोद केसी, पार्टीको गण्डकी प्रेदश कमिटी सदस्य रिम कटुवाल, बेनी नगर कमिटीका सचिव ज्ञानेन्द्र सुवेदी, पार्टीको जिल्ला समन्वय समितिका सदस्य नरबहादुर भण्डारीलगायतको टोलीले आज दिनभर श्रम शिविरमा श्रमदान गर्नुभएको थियो ।

पार्टीको जिल्ला समन्वय समितिबाट एक दर्जन बढीले बुधबार पदमार्ग बनाउन श्रमदान गर्नुभएको जनाइएको छ । गत असोज १८ गतेदेखि नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले गाउँदेखि मूल सडक जोडिने जीर्ण पदमार्गको पुनःनिर्माणमा श्रमदान अभियान सुरु गरेको थियो । पार्टीले सुरु गरेको कार्यक्रममा स्वतस्फुर्त रुपमा समुदाय नै श्रमदान र सहयोगमा जोडिने क्रम बढेपछि पदमार्ग निर्माणले निरन्तरता पाएको अभियानको नेतृत्व गर्नुभएका वडा कमिटीका अध्यक्ष बालकृष्ण कटुवालले बताउनुभयो ।

“हामीले चलाएको श्रम शिविरमा आज मन्त्री र सांसद पनि श्रमदानमा जोडिन आउनुभयो, उहाँहरुले श्रम शिविरमै आएर श्रमदान गर्दा हामीलाई थप हौसला थपिएको छ, समुदाय र देश तथा विदेशमा छरिएका स्थानीयवासीले सक्दो सहयोग गर्नुभएको छ, निकट भविष्यमै हामीले लक्ष्य लिएको ठाउँसम्मको काम सम्पन्न गर्छौं”, कटुवालले भन्नुभयो । उहाँका अनुसार, अहिलेसम्म करिब एक किलोमिटर चार सय मिटर पक्की पदमार्ग निर्माण भइसकेको छ । श्रमदान र सहयोगबाट पदमार्ग निर्माणले पूर्णता नपाएमा मन्त्री र प्रदेशसभा सदस्यलाई आवश्यक बजेटको लागि मागसमेत गरिने कटुवालले बताउनुभयो ।

यसैबीच श्रमदान अभियानमा पुगेको नेकपा (माओवादी केन्द्र) को जिल्ला समन्वय समितिको टोलीले पदमार्ग निर्माण अभियानमा आर्थिक सहयोगसमेत गरेको छ । पार्टीको वडा कमिटीले सञ्चालन गरेको माछखर्क–कुनौटाघाट पदमार्ग र स्थानीय युवाले समेत हालै सुरु गरेको सिरवारी आर्यघाटबाट रिसिनचौतारी जोड्ने पदमार्ग निर्माण अभियानमा रु १०÷१० हजार नगद सहयोग प्रदान गरेको हो । श्रम शिविरमा श्रमदान गर्नुभएका मन्त्री जुग्जालीले राज्यले गर्नुपर्ने काममा समुदायकै श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण गरी उदाहरणीय काम गरेको भन्दै अभियानमा जोडिनेको प्रशंसा गर्नुभयो ।

पदमार्ग निर्माणमा स्थानीयवासीले एक महिनासम्म श्रमदान गरेका छन । सहयोगदातामार्फत सङ्कलन भएको रकमबाट बालुवा, गिट्टी, सिमेन्टलगायतका निर्माण सामग्रीको व्यवस्थापन तथा थप जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणलाई निरन्तरता दिने गरिएको पदमार्ग निर्माण समितिका संयोजक भगवान केसीले बताउनुभयो । यो अभियानमा अहिलेसम्म रु १६ लाख बढी सहयोग सङ्कलन भएको जनाइएको छ । अहिले दैनिकरुपमा १५ जनालाई ज्याला नै दिने गरी पदमार्ग निर्माणमा परिचानल गरिएको छ ।

बेनी–जोमसोम सडकखण्डमा पर्ने कुनौटाबाट माछखर्क जोड्ने गोरेटो बाटोमा श्रमदान र सहयोग जुटाएर पक्की पदमार्ग निर्माण हुन थालेपछि पुरानो साँघुरो र जीर्ण बाटो चिटिक्क र सहज बन्न थालेको छ । ज्यालामा काम गर्नेसँगै श्रमदान गर्ने पनि दैनिकरुपमा पदमार्ग निर्माणमा जुट्ने गरेका छन् भने विभिन्न टोल र बस्तीका आमा समूहहरुले श्रम शिविरमा खाजाको बन्दोबस्त गरिरहेका छन् । आवतजावत गर्न सहज हुने गरी पदमार्गलाई साढे एक मिटर फराकिलो बनाइएको छ । भिरालो पाखोमा बनाइएको परम्परागत गोरेटो बाटोको सिँढी भत्किएको, झाडीले ढाकिएको र पानी परेको समयमा चिप्लिएर लड्ने समस्या रहेकामा पदमार्ग निर्माण भएपछि स्थानीयवासीलाई सहज भएको छ ।

बाँकेको चारबाहिनी चोकबाट सुनका गहनासहित भारतीय नागरिक पक्राउ

नेपालगञ्ज, २७ मङ्सिर : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोनीको साथबाट रु छ लाख ७८ हजार एक सय ८५ बराबरको मिनी हार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान र औँठी एक थानसमेत बरामद भएको छ । 

त्यस्तै अन्य सुपर स्पिलिन्डर मोटरसाइकल एक थान, सामसुङ कम्पनीको ट्याब एक थान, ग्यारेन्टीवाला कानमा लगाउने टप ५४ जोर, ग्यारेन्टीवाला कानमा लगाउने बेरुवा बाली ३१ जोर र रातोपोतेमा पाइप लगाइएको थान एकसमेत प्रहरीले बरामद गरेको छ । कहाँबाट कसरी ल्याएको भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताउनुभयो । प्रहरीले शङ्का लागेर जाँच गर्दा सोनी पक्राउ परेको बताइएको छ ।

अदालतले नागरिकताको प्रमाणपत्र दिनू भनी आदेश दिएपनि अझै पाउन नसकेको पीडितको गुनासो

काठमाडौँ, २७ मङ्सिर : विभिन्न तहका अदालतले नागरिकताको प्रमाणपत्र दिनू भनी आदेश दिएपनि अझै पाउन नसकेको भन्दै पीडितले गुनासो गरेका छन् । ‘नागरिकता तथा व्यक्तिगत घटना दर्ताका मुद्दामा फैसला कार्यान्वयनको अवस्था’ विषययमा आज महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा पीडितले फैसला गर्नेसँगै नागरिकता लिन जाऊ भनी जिल्ला प्रशासन कार्यालयका कर्मचारीले भन्ने गरेको गुनासो गरेका हुन् ।

कार्यक्रममा फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक सरोजराज रेग्मीले निरन्तर सहजीकरण गरेपनि अदालतले गरेका सबै फैसला कार्यान्वयन नहुँदा नागरिकता पाउनबाट अझै बञ्चित हुने अवस्था रहेको स्वीकार गर्नुभयो । अदालतले गरेका फैसला कार्यान्वयनमा निर्देशनालय लागिरहने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कार्यक्रममा सानुमैयाँ क्षेत्री, अविनाश थापा र नेहा थापाले अदालतले नागरिकता दिनू भनी फैसला गरेर पटकपटक जिल्ला प्रशासन कार्यालय धाउँदा पनि नागरिकता पाउन नसकेको गुनासो गर्नुभएको थियो ।

म्याग्दीको रितुङ खोलामा पुल निर्माण सुरु, प्रदेश प्रमुख अमिक शेरचनद्धारा शिलन्यास

म्याग्दी, २७ मङ्सिर : म्याग्दीको मालिका गाउँपालिकाको वडा नम्बर ३ र ४ को सिमाना भएर बग्ने रितुङ खोलामा पुल निर्माण थालिएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले २५ मिटर लामो सडक पुल बनाउन लागेको हो ।

सवारी साधनसमेत सञ्चालन गर्न सकिने पुलको आज लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले शिलन्यास गर्नुभयो । हाल चितवन बसोबास गर्दै आउनुभएका प्रदेश प्रमुख शेरचनको जन्मथलो मालिका गाउँपालिकाको वडा नम्बर–४ ओखरवोट हो ।शिलान्यासपछि प्रदेश प्रमुख शेरचनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै काम पूरा गर्न निर्माण व्यवसायी र सम्बद्ध कार्यालयका प्राविधिकलाई निर्देशन दिनुभयो । स्थानीय जनप्रतिनिधि र सरोकारवालालाई आफ्नो गाउँठाउँमा भित्रिएका योजनाको नियमित अनुगमन, निरीक्षण, सहजीकरण र समन्वय गर्न अनुरोध गर्नुुभयो ।प्रदेश प्रमुख शेरचनले म्याग्दीको बेनी–दरवाङ–सोलेडाँडा–तमानखोला–बुर्तिवाङ सडक स्तरोन्नति गरेर मध्य पहाडी लोकमार्गको बागलुुङ खण्डको विकल्प बनाउने प्रयास गरेको बताउनुुभयो । मध्य पहाडी लोकमार्गको बागलुुङ खण्डको तुलनामा म्याग्दीबाट बुर्तिवाङ जान कम समय लाग्छ ।अदिभारा दरवाङ–डाडागाउँ–सोलेडाँडा–तमानखोला सडकअन्तर्गत पर्छ । यो पुुलबाट मालिका गाउँपालिकाको –२, ३, ४ नम्बर वडाका साथै बागलुुङको ताराखोला, तमानखोला गाउँपालिका र आसपासका क्षेत्रका बासिन्दा लाभान्वित हुुनेछन् ।पुल निर्माणका लागि बिमए कोण्डा जेभी (जोइन्ट भेञ्चर) सँग गत असोज अन्तिम साता रु चार करोड दश लाख ८३ हजारमा ठेक्का सम्झौता भएको पूूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णुु पौडेलले बताउनुुभयो ।पुुल निर्माणका लागि रु पाँच करोड चार लाख ३७ हजार लागत अनुुमान गरिएको थियो । सम्झौता भएको १८ महिनाभित्र पुुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ । निर्माण व्यवसायीले पहिलो चरणमा पुुलको पिल्लर रहने ठाउँको जग खन्न थालेका छन् ।यसअघिका दुई आर्थिक वर्षमा वार्षिक योजनामा समावेश भए पनि अदिभाराको पुलका लागि कुल लागत अनुमानको २० प्रतिशतभन्दा बढी बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा कार्यान्वयन भएको थिएन् ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले भन्नुभयो गत जेठमा बजेटको स्रोत सुनिश्चित, क्रमागत र बहुवर्षे योजनामा समावेश गरेपछि योजनामा परेको तीन वर्षपछि ठेक्का प्रक्रिया अघि बढेको बताउनुुभयो ।मन्त्री जुुग्जालीका अनुुसार प्रदेश सरकारको लगानीमा अदिभारादेखि औला–डाँडागाउँ–किटिनी–सोलेडाँडा–तमानखोला सडक स्तरोन्नतिको तयारी भएको छ । चालुु आवमा रु दुई करोड बजेट विनियोजन भएको सो सडकका लागि रु दश करोड बजेट बराबरको बहुुवर्षीय ठेक्का लगाउन छनोट भएको मन्त्री जुुग्जालीले बताउनुुभयो ।अदिभारकाको पुुलको लागि आव २०७८/७९ र चालु आव २०७९/८० मा रु ५०/५० लाख विनियोजन भएको थियो । चालुु आव २०८०/०८१ मा रु एक करोड ५० लाख विनियोजन भएको छ ।अदिभारामा मोटरेबल पुल नहुँदा मालिका गाउँपालिकाको वडा नम्बर २, ३ र ४ नम्बर वडाका बासिन्दालाई पालिकाको केन्द्र दरवाङ आउन जान समस्या भएको थियो । मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले पुल बनेपछि बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी रैथाने संस्कृतिको प्रवर्द्धन गरिने – मन्त्री किराती

काठमाडौँ, २७ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको संस्कृतिलाई पर्यटन, उत्पादन, रोजगारी र उद्योगसँग जोड्ने गरी रैथाने संस्कृतिको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ ।

लोकसंस्कृतिमार्फत पुँजी निर्माण र पर्यटनको टेवा दिने लक्ष्यका साथ सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले आज आयोजना गर्ने ‘माटोको गीत’ नामक ठेट नेपाली सांस्कृतिक कार्यक्रमको आज घोषणा गर्दै मन्त्री किरातीले संविधानको मर्म र समाजवादको लक्ष्यलाई आत्मसात् गर्दै भूगोल र संस्कृतिको सम्वद्र्धनसहित स्थानीय कलाकारलाई राष्ट्रियकरण गर्दै नेपालीपनको पर्यटनको विस्तार गरिने बताउनुभयो । मन्त्री किरातीले विश्वका पाहुना नेपालमा आउँदा नेपाली संस्कृतिको प्रस्तुति हेरुन् र नेपालको सांस्कृतिक तस्बिर दिमागमा लिएर जान सकून, जसले पर्यटन र रोजगारीलाई टेवा दिन सकोस् भन्ने आफूहरुको अभिप्राय भएको बताउनुभयो ।

मुलुकको सांस्कृतिक नीति बनाउन कार्यदल गठन गरिएको र सोको प्रतिवेदनका आधारमा नीति र कानुन बनाई कार्यान्वयन गरिने विश्वास दिलाउँदै मन्त्री किरातीले विश्व मञ्चमा प्रभावशालीरुपमा नेपाललाई उपस्थिति जनाउन सक्ने माध्यमका रुपमा संस्कृतिलाई विकास गरिने बताउनुभयो । हालका ५२ प्रतिशत आयोजना सफल नहुनुमा संस्कृतिमैत्री आयोजना नहुनु पनि कारण रहेको मन्त्री किरातीको भनाइ थियो ।

संस्थानका महाप्रबन्धक अशोककुमार राईले यही मङ्सिर २९ गते विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट ठेट नेपाली सांस्कृतिक कार्यक्रमको उद्घाटन हुने जानकारी दिँदै नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुति समावेश हुने कार्यक्रमलाई टिकट बेचेर साप्ताहिकरुपमा नियमित सञ्चालन गर्ने बताउनुभयो ।

राईका अनुसार लोकसांस्कृतिक प्रस्तुतिसहित गौतमबुद्ध, अरनिको, भृकुटी, सीतालगायतका नेपालका विभिन्न विभूति एवं अग्रज साधकलाई विश्वमाझ चिनाउने जीवनीलाई नाटकीकरण गरिनेछ । सोको डिजिटल अभिलेखीकरण पनि गरिने जनाइएको छ । यो कार्यक्रममा नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रको पनि सहकार्य हुनेछ । नेपालका विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन प्राज्ञ अशोक राईको संयोजकत्वमा मनोज जोशी, कृष्ण गुरुङ, खड्ग बुढामगर र सुदर्शन थापा रहेको छनोट तथा परामर्श समिति गठन गरिएको छ । समितिको सल्लाहकारमा डा भक्त राई, प्रेमनाथ अधिकारी, धीरेन्द्र प्रेमर्षि र नारायणदेवी प्रधान रहनुभएको छ ।

नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुवात गर्नेछौंः प्रधानमन्त्री

काभ्रे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हरित ऊर्जाको प्रचुर सम्भावना रहेको बताएका छन् । उनले ‘क्लिन इनर्जी–ग्रीन इनर्जी’को सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ मा निर्माण हुने ‘महिला उद्यमी हरित औद्योगिक पार्क’को बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले हरित क्रान्तिको नयाँ युग सुरु गर्ने सन्दर्भमा क्लिन इनर्जी–ग्रीन इनर्जीलाई प्राथमिकतामा राखिने बताए ।

“प्रधानमन्त्रीको हैसियतले म पहिला हाइड्रोजन गाडी चढेर हरित क्रान्तिको सुरुवातको सन्देश दिनेछु, यसबाट नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुआत हुनेछ, हाइड्रोजन उत्पादनका लागि प्रचुर सम्भावना भएकाले अब क्लिन इनर्जी–ग्रीन इनर्जीलाई क्यास गर्नुपर्छ”, प्रधानमन्त्रीले भने ।

उनले धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा हालै ल्याइएको हाइड्रोजन गाडी आफू चढेर उद्घाटन गर्ने र हाइड्रोजनबाट चल्ने गाडीको प्रवद्र्धन गरी नेपालमा प्रदूषणको अन्त्य गर्ने अभियानको सुरुवात गर्ने बताए ।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भइसकेकाले अब प्रधानमन्त्री महिला होस् भन्ने चाहेको बताए ।

उनले भने, “अब मेरो इच्छा महिला प्रधानमन्त्री होस् भन्ने छ ।” उनले उक्त पार्कका लागि सरकारले आवश्यक कार्यविधि बनाई र आवश्यक बजेट विनियोजन गर्ने बताए ।

“पार्कका लागि बहुवर्षीय कार्यविधि बनाएर सफल बनाउने दायित्व सबैको भएकाले आउने बजेट नीति तथा कार्यक्रममा नयाँ ढङ्गले लैजाने छौँ”, उनले भने ।

उनले महिला उद्यमी हरित क्रान्तिको निम्ति मञ्चका पदाधिकारीले अग्रिम मोर्चा सम्हालेको उल्लेख गर्दै सरकार पन्ध्रौँ पञ्चवर्षीय योजनाको समीक्षा गर्ने र १६औँ योजनाको तयारीको प्रक्रियामा रहेकाले १६ औँ योजनामा महिला उद्यमी र हरित उद्योगलाई प्राथमिकता दिने गरी अगाडि बढाउने सोच बनाएको बताए ।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर अघि बढिरहेको बताए । उनले भने, “सरकार यो पटक अर्थतन्त्रमाथिको दबाब कम गर्न, अन्तर्राष्ट्रियस्तरमा नेपाल राष्ट्रको छवि र प्रतिष्ठा बढाउन, अन्तर्राष्ट्रिय सहयोग जुटाउन, देशभित्र सुशासन र सामाजिक न्याय कायम गर्नको निम्ति निरन्तर अगाडि बढिरहेको छ र बढ्छ ।”

कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतले पाँचखालमा निर्माण थालिएको महिला उद्यमी हरित औद्योगिक पार्कका लागि आगामी बजेटमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सातवटै प्रदेशमा स्थापना गर्ने तयारीका साथ सरकार अघि बढेको बताए ।

उनले भने, “विदेशिने युवाभन्दा महिला कम छन्, अब महिलाले पुरुषले लिएको अग्रस्थान लिँदैछन्, उनीहरुको भूमिका बढ्दैछ, यो खुसीको विषय बनेको छ ।”

मञ्चको भौतिक संरचना निर्माणका लागि ९६ करोड लाग्नेमध्ये पहिलो चरणमा ४० करोडको ठेक्का लाग्ने जनाइएको छ । पार्कभित्र प्रशिक्षण केन्द्र, गोदाम, कोल्ड स्टोरेजका साथै कृषि उत्पादनको प्याकेजिङ, प्रशोधन, सुकाउने र ग्रेडिङसँग सम्बन्धित कार्य हुनेछन् । नगरले पक्की पहुँचमार्ग निर्माण गरेको छ भने खानेपानीको व्यवस्थापन गरिरहेको छ ।

मञ्चसँग पाँचखाल नगरले वडा नम्बर ७ मा करिब पाँच हेक्टर (९८ रोपनी) जग्गा २५ वर्षका लागि उपलब्ध गराउने त्रिपक्षीय सम्झौता भएको थियो । मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालका अनुसार पार्कभित्र ५० वटा लघु, मझौला र साना उद्योग स्थापना हुनेछन् । स्थानीय कच्चा पदार्थलाई प्राथमिकता दिएर उद्योगमा प्रयोग गरिने रिजालले बताइन् ।

श्रीलङ्काद्वारा नयाँ क्रिकेट छनोटकर्ता नियुक्त

श्रीलङ्का क्रिकेट बोर्डले हालै बर्खास्त गरिएका सदस्यहरूको पुनरबहाली गरेको एक दिनपछि बुधबार नयाँ छनोटकर्ताहरूलाई नियुक्त गरेको छ । बोर्डले पूर्वअन्तर्राष्ट्रिय खेलाडी उपुल थरङ्गालाई दुई वर्षका लागि पाँच सदस्यीय छनोट समितिको प्रमुखमा नियुक्त गरेको छ ।

श्रीलङ्का क्रिकेट बोर्डले एक विज्ञप्तिमा भनेको छ, “छनोटकर्ताहरूको पहिलो काम आगामी महिना जिम्बाब्वेविरुद्ध छ खेलको सेतो बलको शृङ्खलाका लागि टिम छनोट गर्नुहुनेछ ।” छनोट समितिका अन्य सदस्यमा पूर्वक्रिकेटर अजन्था मेन्डिस, इन्डिका डि सरम, थरङ्गा परनाविताना र दिलरुवान परेरा रहेका छन् । उनीहरूले पूर्वखेलाडी प्रमोदय विक्रमासिङ्घेको अध्यक्षतामा रहेको प्यानलबाट जिम्मेबारी सम्हाल्ने छन् ।

यस वर्ष भारतमा भएको एकदिवसीय विश्वकपमा श्रीलङ्काको खराब प्रदर्शनका लागि विक्रमासिङ्घेको प्यानलको खराब छनोटलाई दोष दिइएको थियो । दिवालिया भएको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट लामो समयदेखि भ्रष्टाचारको आरोपमा फसेको छ । यसको परिणाम गत महिना बोर्डको बर्खास्तका रूपमा भएको थियो ।

बोर्ड बर्खास्त गर्ने कदमले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई अधिकारीहरूमाथि राजनीतिक हस्तक्षेपको आरोप लगाउँदै श्रीलङ्का क्रिकेटलाई निलम्बन गर्नका लागि प्रेरित गर्यो । मङ्गलबार खेलमन्त्री हरिन फर्नान्डोले निलम्बन समाप्त गर्नका लागि बर्खास्तलाई रद्द गर्नुभयो । आइसिसीले अलिहेसम्म बोर्डको पुनरबहालीका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

अर्थतन्त्रको अवस्थाबारे अर्थमन्त्रीको आशा

काठमाडौँ, २७ मङ्सिर : ‘अर्थतन्त्रमा दशकौँदेखि थपिँदै आएका समस्या र विसङ्गतिको पहाडलाई एकै धक्का/मुक्काले ढाल्न सकिँदैन । यसका लागि समय लाग्छ । सरकारले सुधारको प्रयास गरिरहेको छ । आर्थिक सूचकहरु सुधारोन्मुख छन्’, अर्थमन्त्री डा प्रकाशशरण महतले आज आयोजना गर्नुभएको सञ्चारकर्मीसँगको अन्तक्र्रियाको सार यही हो ।

विसं २०७९ मङ्सिरको निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको करिब एक वर्ष पुग्न लाग्यो । दाहालले २०७९ पुस १० गते प्रधानमन्त्रीका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसबेलाको गठबन्धन सरकारमा विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो । त्यसपछि नेकपा(एमाले) बाहिरिएर नेपाली कांग्रेस सरकारमा आएपछि डा प्रकाशशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ ।

विसं २०७९ चैत १७ गते अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै गर्दा डा महतले आफ्नो पहिलो जिम्मेवारी मुलुकको अर्थतन्त्र सुधार्नु रहेको बताउनुभएको थियो । अर्थतन्त्र सुधार्न सरकार अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने उहाँको भनाइ थियो । डा महतले कार्यभार सम्हालेयताको करिब नौ महिना अवधिका हरेक औपचारिक/अनौपचारिक कार्यक्रममा उहाँले बोल्न नछुटाउने विषय हो, ‘अर्थतन्त्रसँग जोडिएका सबै क्षेत्रमा खस्केको मनोबल उकास्नु छ । त्यसका लागि सकारात्मक भाष्य सिर्जना र स्थापित गरौँ । नकारात्मकता हावी हुँदा त्यसले अर्थतन्त्र थप शिथिल पारिरहेको छ ।’

आजको अन्तक्र्रियामा पनि अर्थमन्त्री महतले यो विषयलाई महत्व दिएरै उठाउनुभयो । अझ यतिसम्म कि, सञ्चारकर्मी र सञ्चारमाध्यमले नकारात्मक विषयलाई मात्रै बढावा दिए भन्ने आक्षेप पनि उहाँले नरम भाषामा लगाउनुभयो । “आधा भरिएको गिलासलाई आधा खाली भनेर पनि त परिभाषित गर्न सकिन्छ । तर तपाईंहरुले आधा भरिएको देख्नुहुन्न, आधा खाली मात्रै देख्नुहुन्छ”, अर्थमन्त्री महतको सञ्चारकर्मीसँगको गुनासो र आरोप थियो यो । त्यसो त, अर्थमन्त्री महतले यही गुनासो निजी क्षेत्र, कर्मचारी संयन्त्र र राजनीतिक दलहरुसँग पनि गर्दै आउनुभएको छ । अर्थतन्त्रको अवस्थाबारे बुझाइका सन्दर्भमा नकारात्मक भाष्यलाई परिवर्तन गरेर सकारात्मकता हेरिनुपर्छ भनेर उहाँले पटकपटक बोलिरहनुभएको छ ।

त्यसो भए के सकारात्मक धारणा बनाएर मात्रै अर्थतन्त्र सुध्रिन्छ त ? के संरचनागत सुधारको प्रयासबिनै राम्रो सोचेर मात्रै आर्थिक सूचक एकाएक सही लयमा फर्किन्छन् होला ? यी प्रश्नको जवाफमा अर्थमन्त्री महत भन्नुहुन्छ, “संसारमा यस्तो कुनै अर्थतन्त्र छैन, जहाँ समस्या नदेखिएको होस् । हामीकहाँ वर्षौंदेखि थपिँदै र बढ्दै आएका समस्याको सगरमाथा थियो । त्यसलाई एकैपटक हल गर्न सम्भव छैन । तर समस्या बिस्तारै हट्दैछन् । अर्थतन्त्रले चाँडै नै निर्णायक रुप लिन्छ । त्यसका आधार बन्दै गएका छन् ।”

अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको दलिल पेस गर्दैगर्दा अहिलेको अवस्थामा अर्थमन्त्री महतलाई केही सकारात्मक सूचकले साथ पनि दिएका छन् । अर्थतन्त्रको बाह्य क्षेत्रसँग सम्बन्धित परिसूचक अनुकूल छन् । चालु आवको असोज मसान्तसम्म चालु खाता रू ५९ अर्बले र शोधनान्तर स्थिति रू ९९ अर्बले बचतमा छ । अमेरिकी डलर १२ अर्ब ३३ करोड बराबर विदेशी मुद्रा सञ्चिती छ । विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा मात्रै करिब नौ सय मेगावाट बिजुली प्रणालीमा थपिएको छ । यस आवको पहिलो चौमासिक अवधिमा पुँजीगत खर्च छ प्रतिशतले बढेको छ । राजस्व सङ्कलन सात दशमलव ५७ प्रतिशतले बढेको छ । भन्सार राजस्व १३ प्रतिशतले, मूल्य अभिवृद्धि कर (भ्याट) सात दशमलव १९ प्रतिशत र आयकर १२ प्रतिशतले बढेको छ ।

वित्तीय सूचक मात्र नभई मौद्रिक सूचकहरु पनि अहिले केही सहज अवस्थामा छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत् नीतिगत दरलाई साढे छ प्रतिशतबाट घटाएर साढे पाँच प्रतिशत कायम गरेको छ । बैंक दर साढे सात प्रतिशतबाट सात प्रतिशत र निक्षेप सङ्कलनको बोलकबोल दर साढे चार प्रतिशतबाट तीन प्रतिशतमा झारिएको छ । यसबाट ब्याजदर विस्तारै घट्दै जाने र कर्जा प्रवाह सहज हुने अनुमान गरिएको छ । अन्तर बैंकदर साढे दुई प्रतिशत हाराहारीमा छ । गत चैत मसान्तसम्ममा १० दशमलव ४८ प्रतिशत रहेको बैंकहरुको आधार दर गत असोज समान्तसम्ममा नौ दशमलव ९४ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा रू ६८ अर्ब ५५ करोड बराबर रहेकामा चालु आर्थिक वर्षको सोहि अवधिमा रू एक खर्ब ३० अर्ब बराबर पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप गत आर्थिक वर्षको पहिलो चार महिनामा रू ४६ अर्ब ७४ करोड बराबर रहेकामा चालु आर्थिक वर्षको सोही अवधिमा रू दुई खर्ब ४४ अर्ब नाघेको छ ।

आर्थिक सूचक राम्रा बन्दै गएको देखिए पनि नागरिक तहबाट सरकारप्रति गुनासो भने बढ्दो छ । नागरिकले अनुभूत गर्न नसकेको तर अर्थमन्त्रीले भने सुधार भइरहेको दाबी गरेपछि सञ्चारकर्मीबाट थप प्रश्न आए – के तपाईले देखाएका यी सूचकले मात्रै अर्थतन्त्र सुधार भएको सङ्केत गर्छन् ? चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले ल्याएका सुधारका कार्यक्रम कार्यान्वयन सुस्त छ । चालु खर्च कटौतीका लागि भइरहेका प्रयासले नतिजा दिन सकेका छैनन् । पुँजीगत खर्च लक्ष्यअनुसार भएको छैन । आर्थिक अनुशासन पालना र सुशासनमा सरकार चुकेको देखिन्छ । विकास आयोजनाको समयमा ठेक्का लाग्न सकेको छैन । निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् ।

बहुवर्षीय प्रकृतिका थुप्रै आयोजना बजेट नपाएर काम अघि बढ्न सकेका छैनन् । बजार माग खुम्चिएको छ । मूल्यवृद्धि साढे सात प्रतिशतभन्दा माथि छ । बैंक तथा वित्तीय संस्थाका ऋणी प्रतिफल कमाएर कर्जा तिर्न सक्ने अवस्थामा छैनन् । सहकारी क्षेत्र धर्मराएको लामै समय भयो । उपभोक्ता बजार नियमन हुन नसक्दा आलु, प्याजलगायतका वस्तुको मूल्यबृद्धि र कालोबजारी भइरहेको छ । सीमा नाकाबाट हुने चोरी आयात रोकिएको छैन । भन्सारमा ठूलो परिणाममा सुन बरामद भइरहेको छ । यी सबैमा सरकार जिम्मेवार हुनुपर्छ कि पर्दैन ?

यी प्रश्न माथि अर्थमन्त्री महत जवाफ दिनुहुन्छ, “सबैकुरा एकैपटक सुधार गर्न सकिएन । अहिलेका उपलब्धीबाट सरकार सन्तुष्ट छ भन्ने पनि होइन । तर पहिलेको तुलनामा अर्थतन्त्रको समग्र अवस्था सकारात्मक दिशातर्फ अघि बढेको छ भन्ने आधार देखिएका छन् । आर्थिक सूचकले त्यसको पुष्टि पनि गर्छन् ।” चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम, वार्षिक बजेट र मौद्रिक नीतिबाट लिइएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको उहाँको दावी छ । तर अवस्था सुधारका लागि पर्याप्त प्रयास नभएको र भइरहेका प्रयासको पनि अपेक्षित नतिजा देखिन नसकेको महतको बुझाइ छ । आगामी आर्थिक वर्षको बजेटमार्फत् थप सुधारका कार्यक्रम ल्याउनेगरी सरकारले तयारी सुरु गरिसकेको जानकारी पनि उहाँले दिनुभयो । चालु आर्थिक वर्षको बजेटबाट ल्याइएका सुधारका कार्यक्रम कार्यान्वयनमा क्रममा रहेको महतको भनाइ छ ।

“मैले चालु आवको बजेटमार्फत घोषणा गरेका आर्थिक सुधार र बजेट प्रणाली सुधारका विषय अहिले क्रमशः कार्यान्वयनका क्रममा छन् । सरकारी खर्चतर्फ वित्त अनुशासन कायम राख्न जोड दिइएको छ । स्रोतको उपलब्धताका आधारमा बहुवर्षीय ठेक्कामा सहमति दिनेगरी नयाँ मापदण्ड जारी गरिएको छ । जसमा चालु आवको विनियोजनको चार गुणासम्म मात्र सहमति दिन सकिने व्यवस्था गरिएको छ”, अर्थमन्त्री महतले भन्नुभयो, “यस व्यवस्थाले आयोजनाको प्राथमिकीकरण हुनुका साथै भविष्यमा सिर्जना हुनसक्ने दायित्व व्यवस्थापन सहज हुन जान्छ । त्यसैगरी आयोजनाको महत्वका आधारमा बजेट विनियोजन गर्ने प्रणाली बसालिएको छ ।”

अन्तर्राष्ट्रिय विकास सहायतासम्बन्धी नयाँ नीतिको तर्जुमा सुरु गरिएको पनि अर्थमन्त्री डा महतको दाबी छ । अब नेपालले दातृ निकाय र विकास साझेदारको कुरा सुनेर होइन, आफ्नै आवश्यकता र प्राथमिकताका आधारमा विकास सहायता लिने डा महतले स्पष्ट पार्नुभयो । “जुनसुकै परियोजनामा अनावश्यक ऋण सहायता लिने प्रवृत्तिको सट्टा आवश्यकता र औचित्यका आधारमा मात्र ऋण परिचालन गर्न सुरु गरिएको छ । जलवायु परिवर्तनका कारण मुलुकलाई पर्न गएको असरको क्षतिपूर्तिस्वरुप अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालनमा जोड दिने नीति लिइएको छ”, महतले भन्नुभयो, “विभिन्न अन्तर्राष्ट्रिय फोरममा जलवायु परिवर्तनसँग सम्बन्धित दातृ निकाय तथा कोषबाट अनुदान र सहुलियतपूर्ण ऋण सहायता परिचालन हुनुपर्ने विषयमा स्पष्ट धारणा राखिएको छ । यसमा विकास साझेदार पनि सहमत देखिएका छन् । आगामी दिनमा यसको नतिजा आउने मैले विश्वास लिएको छु ।”

डा महतले जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन, बढ्दो सार्वजनिक खर्च, खस्कँदो लगानी अवस्था, बिग्रिँदो बाह्य क्षेत्र, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव, चर्को ब्याजदरलगायत समस्या अर्थतन्त्रमा थिए । कोभिड महामारीका बेला सहज मौद्रिक नीति र त्यसले देखिएका असर व्यवस्थापनका लागि राष्ट्र बैंकले कसिलो नीति लिएको थियो । जसकारण मौद्रिक व्यवस्थापनका क्षेत्रमा केही समस्या देखिएकामा अहिले सुधार हुँदै गएको पनि अर्थमन्त्री महतको तर्क छ ।

“समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारले सकारात्मक लय लिएको छ र जग्गा कारोबार पनि बढ्ने क्रममा छ । तर उत्पादन र रोजगार बढाउन केही समय लाग्छ”, महत भन्नुहुन्छ, “मौद्रिक नीतिबारे अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग निरन्तर छलफल पछि अहिले त्रैमासिक समीक्षामार्फत सुधारका प्रयास थालिएका छन् । राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकको ब्याजदर पनि घट्दो क्रममा छ । ऋणीका समस्यालाई पनि सम्बोधन गर्न खोजिएको छ । पुँजीबजार र घरजग्गा कारोबारमा सुधारका सङ्केत देखिएका छन् ।”

यो बीचमा अर्थमन्त्रालय र राष्ट्र बैंकबीच राम्रो सम्बन्ध कायम हुन सकेन भनेर आलोचनासमेत भयो । तर अर्थमन्त्री महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्यसको बचाउमा आफ्ना अभिव्यक्ति दिइरहे । यद्यपि, अर्थमन्त्री र गभर्नरबीचको घोचपेच भने केही कार्यक्रममा देखिएकै हो । एकले अर्कालाई देखाएर पन्छिने वा जिम्मेवारीबाट भाग्न नहुनेमा भने उहाँहरु दुवैको मतैक्यता देखिन्छ । मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दा राष्ट्र बैंकले अर्थ मन्त्रालयसँग गहनरुपमा छलफल गरेको भन्ने डा महतको आजको अभिव्यक्तिबाट पनि अहिले राष्ट्र बैंकले मन्त्रालयले भनेअनुसार नै काम गरेको रुपमा बुझ्न सकिन्छ ।

राष्ट्र बैंकसँग मात्र नभई अन्तरमन्त्रालय तथा निकायसँगको समन्वयको विषय पनि अर्थमन्त्री महतले आफैँ निकाल्नुभयो । चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि तोकिएका समयसीमाभित्र लक्ष्यअनुसार काम हुन नसक्नुमा अर्थ मन्त्रालयलाई मात्रै दोष देखाउन नहुने उहाँको भनाइ छ । सँगसँगै, आफू पनि अन्य निकायलाई दोष दिएर जिम्मेवारीबाट नपन्छिने उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै, अघिल्ला सरकारले सिर्जना गरेका आर्थिक दायित्वको फरफारक ठूलो चुनौतीका रुपमा रहेको उहाँ स्वीकार्नु हुन्छ ।

विगतमा आर्थिक अनुशासनको धज्जी उड्ने गरी सिर्जना भएका दायित्व अहिले कमजोर राजस्व उठिरहेका बेला अर्थ मन्त्रालयले कसरी व्यहोर्ने भन्नेमा समस्या छ । कोरोना बीमाको दाबी भुक्तानी, स्रोत सुनिश्चितताबिनै ठेक्का लगाइएका बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापन, सहुलियतपूर्ण कर्जाका लागि सरकारलाई सिर्जित दायित्वलगायत विषयलाई सम्बोधन तथा फरफारक गर्न ठूलो सकस परिरहेको अर्थमन्त्री महत बताउनुहुन्छ । कोरोना बीमाको दाबी भुक्तानीका सन्दर्भमा सरकारको दायित्व सिर्जना भइसकेकाले वास्तविक बीमित पहिचान गरेर मात्रै भुक्तानी गर्ने नीति लिइएको उहाँको भनाइ छ ।

सरकारले सुरु गरेका आर्थिक र बजेट प्रणाली सुधारका कार्यक्रमलाई अझ विस्तार गरी सरकार र निजी क्षेत्रबीच उच्चस्तरको समन्वय कायम गर्नेगरी काम गरिरहेको अर्थमन्त्री महतले बताउनुभयो । अर्थतन्त्रमा देखिएको सकारात्मक अवस्थालाई उपभोग र लगानीमा प्रतिविम्बित गराउने, सरकारको खर्चमा मितव्ययिता कायम गर्दै लगानीका अवरोधहरु फुकाउने, जाजरकोट भूकम्पपीडितलाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था गर्ने र युवालाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्ने उहाँको भनाइ छ ।

सरकारले आगामी वैशाख ९ र १० गते अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । सम्मेलनअघि नै लगानीसँग सम्बन्धित कतिपय नीतिगत र कानुनी सुधार गरिने उहाँको भनाइ छ । सम्मेलनमा तुलनात्मक लाभका र आयात प्रतिस्थापन गर्न सकिने क्षेत्रमा सम्भावित लगानीकर्ताको उपस्थितिसहित सम्मेलनलाई सार्थक तुल्याउन सरकार लागिपरेको महतले बताउनुभयो । “दीर्घकालमा आर्थिक सुधारसँग जोडिएका नीति र कानुनको तर्जुमा र कार्यान्वयन गर्दै लगानीको अनुकूल वातावरण सिर्जना गरिनेछ । जलविद्युत्को विकास, पर्यटन, कृषिको व्यवसायीकरण, सूचना प्रविधि क्षेत्रको प्रचुर सम्भावनालाई ध्यानमा राखी स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिनेछ”, उहाँले भन्नुभयो ।

एनसेल आजियटा लिमिटेडको खरिद बिक्री प्रकरणमा नेपालको कानुनभन्दा बाहिर गएर कुनै पनि गतिविधि हुन नदिने महतले स्पष्ट पार्नुभयो । “नेपालको कानुन मान्छु भनेर आएको कम्पनीले अहिले मान्दिन भन्न पाउँदैन । नियामकले यस विषयलाई गम्भीररुपमा हेर्छ । कानुनअनुसार उठाउनुपर्ने कर एनसेलबाट उठाउँछौँ”, उहाँले भन्नुभयो । एउटा कम्पनीको बदमासीका कारणले अरु विदेशी लगानीकर्तामाझ नेपालबारे खराब सन्देश जान नहुनेमा सरकार स्पष्ट रहेको पनि उहाँको भनाइ छ ।

वर्तमान सरकार गठन भएको करिब एक वर्ष पुग्न लाग्यो । पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठन गरी अर्थ मन्त्रालय माओवादी केन्द्र र गृह मन्त्रालय नेपाली कांग्रेसलाई दिने भन्नेबारे गाइँगुई पनि सुनिन थालिएको छ । अन्तक्र्रियामा अर्थमन्त्रीको उपस्थिति र प्रस्तुतिले यसको केही छनक दिएको भनेर केही सञ्चारकर्मीले कानेखुसी पनि गरे । सामान्यतः अर्थ मन्त्रालयको पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैंकका गभर्नर समेतलाई राख्ने चलन थियो ।

तर आज उहाँहरु दुवै जना उपस्थित हुनु भएन । अर्थसचिव कृष्णहरि पुष्कर, मन्त्रालयका विभिन्न महाशाखा प्रमुख र विभिन्न विभागका महानिर्देशक कार्यक्रममा सहभागी हुनुभएको भए पनि मन्त्री महतबाहेक कसैले केही बोल्नुभएन । यसअर्थमा पनि सञ्चारकर्मीलाई शङ्काको सुविधा मिल्यो । तर अर्थमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद् पुनःगठन वा जिम्मेवारी हेरफेरको कुनै तयारी छैन र आजको पत्रकार भेटघाट पनि यो नियतले गरेको होइन, यो नियमित हो ।–

‘देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्छ’ – उपराष्ट्रपति यादव

भक्तपुर, २७ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

भक्तपुर दरबार क्षेत्रमा रहेको श्री पद्य माध्यमिक विद्यालय एक सय वर्षमा पुगेको अवसरमा विद्यालयमा आज आयोजना गरिएको शत्वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै उहाँले देशका लागि आवश्यक जनशक्ति उत्पादनमा विद्यालय लाग्नुपर्ने बताउनुभएको हो ।

उपराष्ट्रपति यादवले विद्यालयलाई उत्कृष्ट बनाउन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकको एकापसमा सहकार्य आवश्यक रहने बताउँदै यो विद्यालयले देशकै नाम उच्च राख्ने गरी गुणस्तरीय शिक्षा प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले २०७२ को भूकम्पले क्षति गरेको विद्यालयको भवन अझै पनि पुनःनिर्माण हुन नसकेको भन्दै नगरपालिकाले नक्सा पास नगर्नु दुर्भाग्य भएको बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा जोशी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तिलकप्रकाश कायस्थ, विद्यालयका पूर्वप्रधानाध्यापक विक्रमबहादुर कायस्थले भक्तपुरको शिक्षाको विकासमा यो विद्यालयले ठूलो योगदान दिएको चर्चा गर्नुभयो ।

विद्यालयका प्राचार्य राम हाडाले विद्यालय र कलेजको प्रगति प्रतिवेदन सार्वजनिक गर्दैै देशभरका एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीलाई अतिरिक्त एवं सामाजिक क्रियाकलापमा सहभागी गराउँदै आएको बताउनुभयो ।

कार्यक्रममा पूर्वप्रधानाध्यापक नृपतिलाल प्रधानाङ्ग, विक्रमबहादुर कायस्थ र रामगोपाल कर्माचार्यलाई सम्मान गरिएको थियो भने उत्कृष्ट छात्रछात्रालाई स्वर्ण पदकसहित सम्मान गरिएको थियो ।

राष्ट्रपति पौडेलसँग विश्व बैंकका देशीय निर्देशकको शिष्टाचार भेट

काठमाडौँ, २७ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैंकका देशीय निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पु¥याएको सहयोगको सराहना गर्नुभएको थियो ।

साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैंकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको सहकार्य सुदृढ रहेको बताउनुभएको थियो ।

सहरमा माग बढेपछि म्याग्दीमा फस्टाउँदै कोदो खेती, तीन हजार तीन सय मेट्रिक टन उत्पादन

लेश्वर (म्याग्दी), २७ मङ्सिरः म्याग्दीको मालिका गाउँपालिका–२ रुमकी तिला बिकले यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउनुभयो ।विगतका वर्षहरुमा खेती गर्ने जाँगर नहुँदा भएको बारी पनि बाँझै छोड्ने गर्नुभएकी बिकले यस वर्ष भने आफ्ने करिब पाँच रोपनी बारीमा कोदो रोप्नुभएको थियो । गत वर्ष तीन मुरी कोदो भित्र्याउनुभएकी बिक यस वर्ष सात मुरी कोदो घरमा भित्र्याउन पाउँदा दङ्ग हुनुभयो ।

त्यसैगरी, मालिका गाउँपालिका–१ निस्कोटका मनवीर सुनरले पनि विगतका वर्षमा भन्दा तीन मुरी बढी कोदो घरमा भित्र्याएको बताउनुभयो । विगतका वर्षहरुमा मुस्किलले दुई मुरी कोदो उत्पादन हुने गरेकामा यस वर्ष पाँच मुरी बढी कोदो घरमा हुल्न पाउँदा उहाँ खुशी हुनुभएको छ ।पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेपछि पश्चिम म्याग्दीका किसान कोदो खेतीप्रति आकर्षित भएका छन् । कोदोको परिकारप्रति सहरिया मानिस र पर्यटकको आकर्षण बढ्न थालेपछि किसान कोदो खेतीमा आकर्षित भएका हुन् ।हिमाली जिल्लाका रूपमा रहेको म्याग्दीमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ । विशेषगरी पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाका साथै उत्तरी म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका कोदो खेतीका लागि उपयुक्त मानिन्छ ।बिस्तारै कोदोको माग बढ्दै गएपछि वर्षौंदेखि बाँझो छोडेको जग्गामा खनजोत गरी कोदो खेती थालेपछि कोदोको उत्पादन बढ्दै गएको निस्कोटका कृषक खिरा विश्वकर्माले बताउनुभयो । केही वर्षअघि सम्म घरअगाडिको भिरालो बारीमा वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका निस्कोट, रुम, देवीस्थान, ओखरबोट, डाँडागाउँलगायत धेरै गाउँमा गत वर्षदेखि कोदो खेती विस्तार गरिएको छ । पश्चिम म्याग्दीका बासिन्दाले अरू खेतीलाई भन्दा कोदो खेतीलाई महत्व दिँदै आइरहेका छन् ।पछिल्लो समय गाउँबाट सहर गएका मानिससमेत बर्खामा गाउँ फर्केर आफ्नो बारीमा कोदो रोप्ने गरेका स्थानीयले बताएका छन् । “सहरमा कोदोको माग उच्च छ, गाउँमा आफ्नो बारी बाँझै रहन्थ्यो, यो वर्ष कोदो रोप्ने समयमा बजारबाट गाउँ फर्किएर खेताला (कृषि मजदुर) खोजी दुई दिन लगाई कोदो रोपेँ, पाँच मुरी कोदो फल्यो”, मालिका गाउँपालिका–४ का कर्णबहादुर पुनले भन्नुभयो, “यति भएपछि जाडोमा ढिँडो र रोटी खान पनि पाइने, बिक्री गर्न पनि पाइने ।”मालिका गाउँपालिका–६ मा पर्ने उपल्लो दरबाङ, दिच्याम गाउँमा यस वर्ष राम्रो कोदो उत्पादन भएको र यहाँका स्थानीयले यस वर्ष दुई सय मुरीभन्दा बढी कोदो उत्पादन गरेका स्थानीय टीका सिउथानी मगरले बताउनुभयो । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खाने गरिन्छ ।कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर रैथाने बालीको समेत संरक्षणमा लागेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।रुम गाउँमा मात्रै तीन सय रोपनीभन्दा बढी बारीमा व्यावसायिकरुपमा नै गरिएको कोदो खेतीबाट यस वर्ष तीन सय मुरीभन्दा बढी कोदो उत्पादन भएको छ । यहाँ उत्पादन भएको कोदोबाट घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गर्न सक्ने हो भने वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने स्थानीय कालिका पुन मगरले बताउनुभयो ।“गाउँमा १० वर्षअघि देखिको कोदो भकारीमा छ । कोदो जति पुरानो भयो घरेलु मदिरा उत्पादनका लागि त्यति नै राम्रो हुने भएकाले स्थानीयले पुरानो कोदो मदिरा उत्पादन र नयाँ कोदो खाद्यान्नका रुपमा प्रयोग गर्ने गर्छौं”, उहाँले भन्नुभयो ।विगतका वर्षमा गाउँघरमा कोदोको उत्पादन कम हुँदै जाँदा सहरका होटलले भने कोदोको परिकारलाई नै आकर्षणका रूपमा राख्ने चलन भने बढ्दै गएको थियो । कोदोको भने जति मूल्य पर्न थालेपछि गाउँका किसान कोदो खेतीतर्फ आकर्षित भएका र यस वर्ष गाउँभरि नै कोदो राम्रो उत्पादन भएको मालिका गाउँपालिका–२ का टीका सुनारको भनाइ छ ।म्याग्दीको सदरमुकाम बेनी, गलेश्वर, दरबाङ, सिङ्गा तातोपानी, भुरुङ तातोपानीलगायत बजार क्षेत्रका होटलमा आउने पाहुनाले बजारमा बेच्न राखिएको चामलभन्दा गाउँमा उत्पादित कोदोको परिकार खोज्ने र मूल्य पनि बढी तिर्ने गरेका होटल व्यवसायीहरुले बताएका छन् । त्यसैगरी गाउँगाउँमा सञ्चालित होमस्टे (घरबास)मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ ।कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्व पाइन्छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ । म्याग्दीमा यस वर्ष कोदोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गत वर्षको तुलनामा ०.६५ प्रतिशतले कोदोको उत्पादन बढेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बास्तोलाले बताउनुभयो ।अनुकूल मौसम, कीराको प्रकोप नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढेको केन्द्रका प्रमुख बास्तोलालेको भनाइ छ । गत वर्ष म्याग्दीमा दुई हजार दुई सय ५० मेट्रिक टन कोदो उत्पादन भएकामा यस वर्ष तीन हजार तीन सय मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सहायक सम्झना आचार्यले बताउनुभयो ।“जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको ‘क्रप कटिङ’ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ,” आचार्यले भन्नुभयो, “धान र कोदो दुवैको उत्पादकत्व बढेको छ ।”एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकामा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३०.८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । यसमध्ये एक हजार ६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ ।

चितवन राष्ट्रिय निकुञ्जमा फिल्डमा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या

चितवन, २७ मङ्सिर : दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानको रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा कार्यक्षेत्र (फिल्ड)मा खटिने कर्मचारी अभाव हुँदा संरक्षणमा समस्या देखिएको छ । फिल्डमा खटिने जनशक्ति दरबन्दी भन्दा आधा कम छन् । निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार श्रेणीविहीन गेम स्काउट १०६ जनाको दरबन्दी भएकोमा जम्मा ४५ कार्यरत छन् ।

सिनियर गेम स्काउट द्वितीय श्रेणी ३४ जनाको दरबन्दी रहेकोमा १४ जना मात्र छन् । सिनियर गेम स्काउट चतुर्थ श्रेणी तीन जनाको दरबन्दी रहेकोमा सबै पद रिक्त छ । रेञ्जर १९ जनाको दरबन्दी रहेकोमा १६ जना कार्यरत छन् । उहाँका अनुसार संरक्षण अधिकृत, प्रमुख संरक्षण अधिकृतसँगै लेखा, प्रशासनका कर्मचारी भने दरबन्दी अनुसार छन् ।

हात्ती बोहकको दुई सय २८ जनाको दरबन्दीमा एक सय ३३ जना कार्यरत छन् । ९५ जनाको दरबन्दी रिक्त छ । ती सबै प्रत्यक्ष फिल्डमा खटिने कर्मचारी हुन ।हात्तीसार तर्फ स्वीकृत दरबन्दी एक सय ५५ जना रहेकोमा एक सय ४४ जना मात्र कार्यरत छन् । हात्ती तर्फ ११ जनाको दरबन्दी रिक्त छ । जुन जनशक्ति प्रत्यक्ष रुपमा फिल्डमा कार्यरत हुन्छ । निकुञ्जको कूल दरबन्दी तीन सय ८३ रहेको छ । यसमध्ये दुई सय ७७ जना कार्यरत रहेका छन् भने १०६ जनाको पद रिक्त रहेको तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “रिक्त रहेका कर्मचारी सबै फिल्डमा खटिने कर्मचारी हुन ।” यो निकुञ्ज नौ सय ५२ दशमलब ६३ वर्ग किलोमिटरमा फैलिएको छ । जसको ६२९ दशमलब ३७ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले निकुञ्जमा आदेश दिने कर्मचारी रहेको तर कार्यक्षेत्रमा खटिने कर्मचारीको दरबन्दीको तुलनामा कम भएकाले काममा कठिनाइ आएको बताउनुभयो । हात्ती, गोही, निकुञ्ज सुरक्षा, मानव वन्यजन्तुद्वन्द्व व्यवस्थापन लगायतका काम प्रत्यक्ष रुपमा फिल्डमा खटिएर गर्नुपर्छ । यस्तै समस्या ग्रस्त वन्यजन्तुको उद्धार तथा व्यवस्थापन, नियमित गस्ती, पेट्रोलिङ्, स्थानीय सरोकारवालासँग समन्वय, मध्यवर्ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम, अध्ययन अनुसन्धान, वन्यजन्तुको बासस्थान तथा व्यवस्थापन जस्ता कार्य कर्मचारी अभावका कारण कठिनाइ भएको उहाँले बताउनुभयो । घडियाल गोही, पाटेबाघ, डल्फिन, एकसिङ्गे गैँडा, हात्ती जस्ता दुर्लभ वन्यजन्तु भएकाले निकुञ्जका सबै क्षेत्रमा पुगेर संरक्षणमा जुट्नुपर्ने हुन्छ ।

जनशक्ति कम हुँदा काममा समस्या परेको विषयमा माथिल्लो निकाय जानकारी भएको उहाँले जानकारी दिनुभयो ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले मुख्य रुपमा गेम स्काउटको दरबन्दी अनुसार जनशक्ति नहुँदा समस्या भएको बताउनुभयो । यो जनशक्ति भर्ना भएपछि छोटो समयमा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा भएर जाने र थप जनशक्तिका लागि समय लाग्ने हुँदा समस्या आएको जानकारी दिनुभयो । गेम स्काउट पदमा रहेकाले खरिदारमा आन्तरिक प्रतिस्पर्धाबाट जानसक्ने भएकाले धेरै त्यस तर्फ जाँदा दरबन्दी रिक्त हुने र लोकसेवा आयोगले पदपूर्ति गर्न समय लाग्ने गरेको छ ।

उहाँले कार्यक्षेत्रमा खटिने जनशक्तिलाई अभाव हुन नदिन नीतिगत रुपमा सुधारका लागि माथिल्लो तहमा पहल भइरहेको बताउनुभयो । यो जनशक्ति अस्थायी रुपमा राख्नुपर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनुभयो । अहिले गेम स्काउट पदमा रहने यहाँको आवश्यकता भन्दा दक्ष हुने भएकाले दिगो रुपमा नरहँदा समस्या भएको उहाँको भनाइ छ ।

‘कानुन नहुँदा जनचाहनाअनुसार काम गर्न सकिएन’: मुख्यमन्त्री पाण्डे

गण्डकी, २७ मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताउनुभएको छ । प्रदेश विकास समस्या समाधान समितिको आठौँ बैठक एवम् आव २०८० /८१ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले प्रदेशलाई काम गर्न बनाइएका कानुन कार्यन्वयनका लागि सङ्घीय सरकारले बनाउनुपर्ने कानुन निर्माण नहुँदा समस्या भएको हो भन्नुभयो ।

“कानुन निर्माणमा माथिबाट सहजीकरण गरिदिनुपर्ने आवश्यकता छ, सङ्घीय सरकारले बनाउनुपर्ने कानुन नबनाएका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न अफ्ठ्यारो परेको छ”, उहाँले भन्नुभयो । सङ्घले कानुन नबनाउँदा प्रदेशले गाली खानुपरेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले निजामती सेवा ऐन, प्रहरी समायोजन ऐन, जग्गा प्राप्ति ऐन, शिक्षा ऐन आउला भन्ने आशा लागेको तर सङ्घीय सरकारबाटै यी विषय कार्यान्वयन नभएको गुनासो गर्नुभयो ।

“सङ्घीयताको नाममा प्रदेशले यो भन्दा बढी गाली खाने अवस्था अब रहँदैन, चाहदाचाहदै अधिकार र कानुन नहुँदा काम गर्न सकिएको छैन”, उहाँले भन्नुभयो । यसअघि पोखरामा सम्पन्न राष्ट्रिय समस्या समाधान समितिको बैठकमा उठेका विषय केही समाधान भएको र धेरै बाँकी रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले छ महिनाभित्र कार्यान्वयन हुनुपर्ने विषय हुन्छ कि भन्ने आशा रहेको बताउनुुभयो । सङ्घीय सरकारले कानुन निर्माण गरिदिनुपर्ने या सङ्घीयताको बारेमा पुनःविचार गर्नुपर्नेमा जोड दिँदै उहाँले संविधान अनुसार एकल र साझा अधिकारको सूचीमा लेखिएको कुरालाई कानुन बनाएर लिपिबद्ध गरी अधिकार बाँडफाँट गर्दा मात्रै सङ्घीयता ‘सिस्टम’ मा जाने बताउनुुभयो ।

सङ्घ सरकार र सङ्घीय सांसदले पनि प्रदेशलाई बनाइदिनुपर्ने कानुन निर्माणमा सहजीकरण नगरेको उहाँको गुनासो छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, सचिव बद्रीनाथ अधिकारी, विभिन्न मन्त्रालयका सचिवले प्रदेशस्तरका आयोजना कार्यान्वयनमा कतिपय सङ्घीय कानुनले अवरोध सिर्जना गर्दा आयोजना समयमा नै सम्पन्न हुन नसकेको लगायतका विषयमा बोल्नुभएको थियो ।

नक्कली कागजपत्र बनाएर विदेश पठाउने तीन अधिकृतसहित ३२ जना पक्राउ

काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले
फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ ।

ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई पक्राउ गरिएको  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ । 

आज पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका अधिकृतहरुले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसअघि सोही आरोपमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएका एक हजार ३२ थान भिसासहितका कागजातबाट अनुसन्धान गर्दा गिरोहले पर्यटक भिसाका लागि फर्जी कागजात बनाई विदेश पठाउने गरेको भेटिएको हो ।”

उक्त प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक छजना, प्रहरी एकजना, पूर्वप्रहरी एकजना, एयरलाइन्सका दुईजना र अन्य ११ जना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार नौजनामाथि सङ्गठित अपराधमा र १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि आठजना भने धरौटीमा छुटिसकेका छन् ।

ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् । 

कागजात मिलाएबापत ट्राभल एजेन्सीहरुले प्रतिव्यक्ति रु १५ हजार लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा रु ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा भने रु ४० हजार लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता रेग्मीले बताउनुभयो ।

तरुण दलले पुस १ गतेदेखि भूकम्पप्रभावित जिल्लामा अस्थायी आवास निर्माण गर्ने

भक्तपुर, २७ मङ्सिर : नेपाल तरुण दलले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिममा अस्थायी आवास निर्माणको अभियान सञ्चालन गर्ने भएको छ ।

तरुण दलले आज भक्तपुरमा आयोजना गरेको शपथ ग्रहणपछिको पहिलो केन्द्रीय कमिटीको बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आगामी पुस १ गतेदेखि जाजरकोट र रुकुम पश्चिमलगायत भूकम्पले क्षति पु¥याएका जिल्लामा अस्थायी आवास निर्माण अभियान सुरु गर्ने बताउनुभयो । 

अध्यक्ष गुरुङले भन्नुभयो, “भूकम्पबाट आफ्नो बास गुमाएका पीडितको बस्ने बासको व्यवस्था गर्न हामी पुस १ गतेदेखि अस्थायी आवास निर्माण अभियान सुरु गर्दैछौँ, जाजरकोट र पश्चिम नेपालका जिल्लामा तरुण दलका दस्ताले ८० देखि एक सय वटासम्म अस्थायी टहरा निर्माण गरेर पीडितलाई हस्तान्तरण गर्नेछ, देशभरका तरुणको सहयोगको साथ ६० जनाको टोली त्यस क्षेत्रमा खटिनेछ ।”

भूकम्प गएपछि तरुण दलले ती क्षेत्रमा न्यानो कपडा र खाद्यान्नका सामग्री वितरण गरिसकेको जानकारी दिँदै  अध्यक्ष गुरुङले अब अस्थायी आवास निर्माण गर्ने अभियान सुरु गर्ने भएको बताउनुभयो । देशभरका वडा, पालिका, नगर, जिल्ला, प्रदेश र केन्द्रका तरुणबाट स्वतस्फूर्तरुपमा सङ्कलन भएको रकमबाट यो अभियान सञ्चालन गरेर अस्थायी आवास निर्माण एवं सामाजिक दायित्वमा देशभरका तरुणको भावना जोड्न लागेको बताउँदै उहाँले अस्थायी आवास निर्माणका लागि बाह्य सहयोग नलिई तरुण दलको आन्तरिक व्यवस्थापनबाटै अभियान सम्पन्न गर्ने बताउनुभयो ।

पार्टीले जिम्मा दिए थप अस्थायी आवास बनाएर फर्कने बताउँदै अध्यक्ष गुरुङले भन्नुभयो, “कांग्रेस केन्द्रीय कमिटीले त्यस क्षेत्रमा एक हजार वटा अस्थायी टहरा बनाउने भएको छ । पार्टी केन्द्रीय कमिटीसँग हामी जाजरकोटबाटै सम्पर्कमा रहनेछौँ, तरुण दलको अभियान सम्पन्न भएपछि पार्टीले व्यवस्थापनसहित जिम्मेवारी दिए, पार्टीको निर्देशनमा थप अस्थायी आवास बनाउने छौँ ।”

पुस १ गतेदेखिको अभियानका लागि तरुण दलले काठमाडौँबाट २५ जना, कर्णालीबाट २० जनाको डकर्मी टोली र अन्य जिल्लाबाट सहभागि हुने तरुणसहित ६० जना अस्थायी टहरा निर्माणमा खटिने उहाँले बताउनुभयो ।

भूकम्पका कारण त्यस क्षेत्रका हजारौँ नागरिक चिसोमा आवास बिहिन हुन पुगेको दुःखद् अवस्था र त्यहाँका वृद्धवृद्धा, बालबालिका, गर्भवतीमा थप समस्या परेको बेलामा नेपाल तरुण दलले अस्थायी आवास निर्माण गरेर राजनीतिमा मात्रै नभई मानव सेवामा पनि तरुण दल अग्रसर हुन्छ भन्ने सन्देश प्रवाह गर्ने भएको उहाँले बताउनुभयो ।

केन्द्रीय बैठकमा पदाधिकारीलगायत केन्द्रीय सदस्यले विभिन्न राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुका साथै भूकम्पपीडित क्षेत्रमा अस्थायी टहरा निर्माणको सवालमा पारदर्शीरुपमा अगाडि बढ्ने र सामाजिक दायित्वलाई निरन्तरता दिने निर्णय गरेको छ  

जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न काठमाडौँ विश्वविद्यालयलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौँ, २७ मङ्सिर-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडाँै विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान र प्रकाशन गर्न प्राध्यापक तथा अध्येतालाई अनुरोध गर्नुभयो ।

विश्वविद्यालयले नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको स्थापना गरेर प्रविधिलाई वैज्ञानिक अनुसन्धान तथा मानव जीवनको उत्थानका लागि प्रयोग गर्न गरिरहेको प्रयत्न निकै सराहनीय रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । “यसबाट ‘आर्टिफिसियल इन्टेलिजेन्सदेखि जलवायु परिवर्तन रोकथामका उपाय, नेपालको कृषि सुधारका लागि आवश्यक ज्ञान, दिगो विकासका नयाँ आयामका लागि बाटो खुलेको छ”, उहाँले भन्नुभयो, “नेपालको दिगो विकासमा टेवा पुग्ने किसिमको थप अनुसन्धान गरी यस केन्द्रलाई वैज्ञानिक मात्र नभएर आम मानिसको हितका लागि प्रयोग गर्न अनुरोध गर्दछु ।”

काठमाडौँं विश्वविद्यालयको प्रारम्भ विज्ञान तथा प्रविधिसम्बन्धी विश्वविद्यालयका रूपमा भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्ला दशकमा विश्वविद्यालयले विस्तार गरेको प्राज्ञिक दायराबाट नेपालको बहुआयामिक विकासमा योगदान मिलेको बताउनभुयो । विश्वविद्यालयले एक हजार शय्याको आफ्नै शिक्षण अस्पताल निर्माण गरी चिकित्सा शिक्षा र अभ्यासलाई सँगसँगै लैजान खोजेकामा आफू अत्यन्त खुसी भएको बताउँदै उहाँले विश्वविद्यालयले चुस्ततापूर्ण बहुविशिष्टीकृत शिक्षण अस्पताल खोल्ने विश्वसा व्यक्त गर्नुभयो । 

“स्थापनाको ३२औँ वर्षपछि आफ्नै शिक्षण अस्पताल स्थापना गर्न विश्वविद्यालयले गरेको प्रयास सराहनीय छ, यो शुभकार्यका लागि म अग्रिम शुभकामना दिन चाहन्छु”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वविद्यालयको कुलपति र प्रधानमन्त्रीको हैसियतले जति सहयोग गर्न सकिन्छ, त्यो सहयोग गर्न म तत्पर छु ।”विश्वविद्यालयले सञ्चालन गरेका बहुविधागत कार्यक्रमले अबको विश्वविद्यालय शिक्षा कस्तो हुनुपर्छ भन्ने उल्लेखनीय उदाहरण पेस गरेका दृष्टान्त दिँदै उहाँले आगामी दिनमा थप ऊर्जा र सिर्जनात्मकताका साथ अध्ययन र अध्यापनका कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो । 

“नेपालको मौलिक ज्ञान, प्रविधि र सीपलाई विश्व परिवेश र ज्ञानको बजारसँग जोडेर नेपालको शिक्षाको अन्तर्राष्ट्रियकरण गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउने जुन दूरदृष्टि छ, त्यो सराहनीय एवम् आवश्यक छ”, उहाँले भन्नुभयो । आफूले आर्जन गरेको ज्ञान र सीपलाई देशको र मानव जातिको हितका लागि अर्पण गर्ने आह्वान गर्दै प्रधानमन्त्री दाहालले थप अध्ययन र अनुभवका लागि विदेशमा रहनुभएका विद्वत्वर्ग एवम् युवालाई पनि आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि सदुपयोग गर्न आह्वान गर्नुभयो । 

फरक प्रसङ्गमा प्रधानमनत्री दाहालले विभिन्न बाध्यताका कारण दुई सय भन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक रहेको बताउनुभयो । उनीहरुलाई सकुशल फिर्ता ल्याउन  सरकारले हरसम्भव प्रयास गरिरहेको प्रधानमन्त्रीले बताउनुभयो । “नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन्”, उहाँले भन्नुभयो, “म आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको काम पनि गर्न सकिन्छ ।”

एकीकृत समाजवादीको सचिवालय बैठक बिहीबारदेखि

काठमाडौँ, २७ मङ्सिर : नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल गरिने उक्त बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सङ्गठन निर्माणमा समर्पित पार्टीको वैचारिक दृष्टिकोणलाई जनतासम्म पुर्याउन सक्षम तथा अहिलेसम्म अवसर प्राप्त नगरेका नेतालाई प्राथमिकतामा राखेर बनाइने मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने उहाँले बताउनुभयो ।

देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा गरिने उक्त बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ । पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उपमहासचिव खतिवडाले जानकारी दिनुभयो ।महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुने सचिवालय बैठक आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारीबारे समीक्षा गरिने छ । उक्त बैठकले गर्ने निर्णयलाई स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गरिने छ । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । 

संविधान खराब भन्ने नकारात्मक भाष्य निर्माण नगरौँ : सांसद पन्थ

काठमाडौँ, २७ मङ्सिर : “कुनै विषयमा सरकार कमजोर हुनेबित्तिकै संविधान र व्यवस्था नै ठिक छैन भन्ने प्रवृत्ति देखिएको छ । ‘सडक भत्कियो भने पनि संविधान खराब भन्ने’, देश नै खत्तम छ भन्ने भाष्य निर्माण हुँदैछ, नकारात्मक भाष्य निर्माण गर्न हुँदैन”, राष्ट्रियसभाका युवा सांसद प्रकाश पन्थले रासससँगको संवादमा भन्नुभयो ।

पछिल्लो समय समाजमा नकारात्मक चिन्तन बढ्दै गइरहेकामा चिन्ता व्यक्त गर्दै उहाँले सचेत नागरिक, युवा, राजनीतिक पार्टीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने औँल्याउनुभयो । “सकारात्मक ढङ्गले अगाडि बढ्न सकियो भने नकरात्मकता कम हुँदै जान्छ । जनताले अपेक्षा गरेअनुसार नभएको हो, केही पनि नभएको भन्ने होइन, अपेक्षाकृत बनाउने काम हुन्छ भन्ने विश्वास दिलाउने वातावरण बनाउनुपर्छ”, सांसद पन्थले भन्नुभयो ।जनताबाट निर्वाचित संविधानसभाबाट जारी संविधान नयाँ भए पनि राजनीतिक दल र कार्यकर्तामा पुरानै अभ्यास रहेकाले पनि जनतामा पुरानै छाप परेको उहाँको भनाइ छ । “ढङ्ग र शैली पुरातनवादी नै छ । यी सबै कारणले संविधान राम्रो हुँदाहुँदै पनि मुलुकले अपेक्षाकृतरूपमा गति लिनसकेको छैन”, सांसद पन्थले भन्नुभयो ।पछिल्लो समय युवा तथा विद्यार्थीको विदेशिने क्रम डरलाग्दो ढङ्गले बढिरहेको छ । युवा पुस्तालाई नेपालमा नै सम्भावना देखाउने गरी राज्य प्रस्तुत हुन नसकेको सांसद पन्थको भनाइ छ । “युवा परिचालन राज्यको प्राथमिकतामा कहिल्यै परेन, बालबालिका भविष्यका कर्णधार हुन मात्रै भनियो तर युवा वर्तमान हुन् भनेर कहिल्यै पनि व्यवहार गरिएन”, उहाँले भन्नुभयो, “मुलुक युवाको काँधमा छ, युवालाई नै मुलुक सुम्पेका छौँ भनेर युवालाई प्रवर्द्धन गर्न सकिएन । युवालाई स्वदेशमै उपयुक्त शिक्षा र रोजगारी दिन हामी चुक्यौँ । सशस्त्र द्वन्द्वलगायत विविध कारणबाट युवा बाहिरिएको अवस्था हो ।”मुलुक शान्ति प्रक्रियामा अघि बढेपछि युवा पलायन रोक्ने नीति बन्न नसक्नु ठूलो कमजोरी भएको सांसद पन्थ ठान्नुहुन्छ । “त्यसकारण युवा विदेश पलायन रोकिएको छैन । युवा नेपालमै सुरक्षित हुने स्थिति अझै पनि छैन, उनीहरूलाई रोक्ने, स्वदेशमै केही गर्न प्रेरित गर्ने, व्यावसायिक बनाउने तथा युवा परिचालन गर्नेमा कमजोरी रह्यो”, उहाँले भन्नुभयो ।यही सम्भव छ, विदेशमा गर्ने दुःख यही गरे नेपालमै सहज जीवनयापन गर्न पुग्छ, यही देशमा केही गर्न सक्छौँ भनेर युवालाई विश्वासमा लिनुपर्नेमा त्यसो हुन नसकेको उहाँको भनाइ छ । युवालाई नेपालमै रहने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै सांसद पन्थ भन्नुहुन्छ, “यहाँ भएका युवालाई यही रोक्न र विदेशमा भएका युवालाई स्वदेश फर्काउने नीति लिनुपर्छ ।”सांसद पन्थले छ वर्षको कार्यकालमा चार वर्ष विधायन व्यवस्थापन समितिको सदस्य भएर काम गर्नुभयो । “नीति निर्माण, कानुन तर्जुमा, समिति तथा संसद्मा बहस र छलफलमा नै केन्द्रित भएँ”, उहाँले विगत सम्झिनुभयो । उहाँ अहिले राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिको सभापति हुनुहुन्छ । समितिको सभापतिका रूपमा उहाँले नेपाल सरकारले अख्तियार गरेको दिगो विकासका लक्ष्यको नेपालमा कार्यान्वयनको अवस्था, सरकार, सरोकारवालाको कार्यशैलीलगायत विषयमा निरन्तर छलफल गरिरहनुभएको छ ।“विभिन्न तहका निकायले दिगो विकासका लक्ष्य प्राप्तिका लागि कसरी काम गरिरहेका छन्, राजनीतिक सहभागिता र अपन्त्व छ कि छैन भन्ने विषयमा हामीले छलफल गरिरहेका छौँ, दिगो विकासका लक्ष्यलाई राजनीतिक अपनत्व लिने गरी तीनै तहका सरकारलाई जिम्मेवार बनाउने गरी काम गरेका छौँ”, सांसद पन्थले भन्नुभयो ।सन् २०१६ मा सुरु भएर सन् २०३० भित्र यो लक्ष्य हासिल गरिसक्नुपर्ने छ । सन् २०२३ सम्म आइपुग्दा मध्यावधि मूल्याङ्कन गर्ने कोसिस गरिएको उहाँको भनाइ छ । “सुशासन प्रवर्द्धन र सन्तुलित विकासलाई पनि हेर्नुपर्ने भएको हुनाले धेरै काम दिगो विकास र केही काम सुशासनका क्षेत्रमा गर्न सक्यौँ”, सभापति पन्थले भन्नुभयो, “यसबीचमा सरकार परिवर्तनलगायत महत्त्वपूर्ण परिघटना भए । थोरै समयमा पनि महत्त्वपूर्ण काम भएका छन् । जनतालाई नयाँ सन्देश दिने गरी काम गरेका छौँ ।”नयाँ संविधान जारी भइसकेपछि मुलुक सही बाटोमा जान्छ भन्ने विश्वासका साथ २०७४ सालको निर्वाचनमा सम्पूर्ण राजनीतिक दलले आर्थिक विकास र समृद्धि अबको एजेण्डा हो भने पनि त्यसको अनुभूति जनताले गर्न नपाएको सांसद पन्थको मत छ । “अब हामी समृद्धिका लागि काम गर्छौँ भन्यौँ । त्यो समृद्धि यति लामो समयसम्म अन्योलमा बस्यो कि समृद्धि भनेको के हो, कहाँबाट सुरु गर्ने हो ? समृृद्धिका आधार के–के हुन् ? भन्नेतर्फ सरकारले कहिले पनि खोजी गरेन । समृद्धि तुहिएर गयो”, उहाँले भन्नुभयो ।संविधान जारी भएपछि यसको कार्यान्वयन र सुशासन तथा सामाजिक न्यायका विषयलाई अगाडि बढाउन नसक्दा मुलुकमा अन्योलको स्थिति देखापरेको उल्लेख गर्दै सांसद पन्थले सुशासन, सामाजिक न्याय र समद्धि प्रमुख एजेण्डा हुनुपर्नेमा पहिले समृद्धिमा पाइला हाल्दा सुशासन र सामाजिक न्याय कमजोर भएको बताउनुभयो ।विसं २०५२ मा आदिकवि भानुभक्त क्याम्पस नेपाल विद्यार्थी सङ्घ स्वतन्त्र विद्यार्थी युनियनको सदस्यबाट राजनीतिमा प्रवेश गर्नुभएका सांसद पन्थसँग सङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको तनहुँ अध्यक्ष भई काम गरेको अनुभव छ । उहाँ हाल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि, संसदीय दल कार्यसमिति सदस्य र लोकतान्त्रिक प्रजातान्त्रिक अपाङ्ग सङ्घको केन्द्रीय अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।तनहुँको व्यास–१ स्थायी घर भई अपाङ्गता अधिकार, मानवअधिकार र समाजसेवामा संलग्न पन्थका विभिन्न पत्रपत्रिका तथा अनलाइनमा लेख रचना प्रकाशित छन् । संविधान जारी भएपछि भएको पहिलो आमनिर्वाचनबाट माथिल्लो संसद्को सदस्यका रूपमा कानुन निर्माणमा काम गर्ने अवसर प्राप्त गरेका बखत लागेको हर्षको अनुभूति स्मरण गर्दै उहाँले संविधान र सङ्घीयता कार्यान्वयनमा आफ्नो कार्यकाल ऐतिहासिक रहेको महसुस गरेको प्रतिक्रिया दिनुभयो ।नेता पन्थले भन्नुभयो, “विभिन्न अधिकार र अभियानमा संलग्न वर्ग, समुदाय, लिङ्ग र क्षेत्रको प्रतिनिधित्व हुने समानुपातिक समावेशी सिद्धान्त अपनाइएपछि हामीलाई पनि सदनमा आउने अवसर मिल्यो । अहिले सोहीअनुरुप कानुन र नीति निर्माणमा सहभागी भएका छौँ ।” उहाँका अनुसार संसद्ले जति कानुन बनाउनपथ्र्याे र सरकारले पनि जति ‘बिजनेस’ दिनपथ्र्याे, त्यो अपेक्षाकृतरूपमा हुन सकेन । केही समय त्यत्तिकै खेर गयो । केही दलले आफ्नै खालको दम्भ देखाए भने केही दल स्वयं अलि कमजोर देखिए । परिवर्तनकारी शक्ति संविधान लेख्ने बेलाजस्तै कानुन निर्माण र कार्यान्वनमा अपेक्षा गरेअनुसार एक ठाउँमा रहेनन् । मुलुकमा जसरी व्यवस्थाको परिवर्तन भयो, त्यसरी अवस्थाको परिवर्तन हुने र जनजीवनलाई नै प्रभाव पार्ने गरी उपलब्धि हासिल हुन नसकेको उहाँको बुझाइ छ ।सङ्घीय संसद्को मुख्य जिम्मेवारी विधि अर्थात् कानुन निर्माण नै भएको उल्लेख गर्दै नेता पन्थले भन्नुभयो, “सांसद स्वयं पनि त्यसैमा व्यस्त हुनुपर्ने, राजनीतिक दलले पनि आफ्ना सदस्यलाई त्यसैका लागि प्रोत्साहन गर्नुपर्नेमा त्यो हुन सकेन ।” तीन तहका सरकार र व्यवस्थापिका गठन भएपछि पनि कार्य प्रणाली परम्परागतरूपमै अघि बढेको भन्दै उहाँले परिवर्तित व्यवस्थाअनुरुप आफ्नो भूमिका फरक रहेको र संविधानले निश्चित दायरा तोकेको भन्नेमा जनप्रतिनिधिमा अलमल देखिएको प्रतिक्रिया दिनुभयो ।उहाँले भन्नुभयो, “व्यवस्था नयाँ भए पनि हाम्रो काम गर्ने शैली र सोच पुरानै अवस्था देखियो । हामीले पुरानै ढाँचा र व्यवहारलाई नछोड्दा हामी कानुन निर्माण र संविधानले अपेक्षा गरेको भूमिकामा स्पष्ट र प्रभावकारी हुन सकेनौँ ।” सांसद पन्थका अनुसार राज्य सञ्चालन गर्ने नेतृत्व तहको मुलुक हाँक्ने दूरदृष्टि र दीर्घकालीन सोच नभएका कारण राजनीतिक परिवर्तनको उपलब्धिलाई तत्काल संस्थागत गर्दै अघि बढ्न विभिन्न किसिमका चुनौतीको समाना गर्नुपरेको छ । व्यवस्था परिवर्तनको आन्दोलनमा राजनीति दलले ठूलो सफलता प्राप्त गरे पनि त्यसपछिका कार्य जिम्मेवारीमा अलमल भएको स्पष्ट देखिन्छ ।नेता पन्थ भन्नुहुन्छ, “जुन शक्तिले व्यवस्था परिवर्तन गर्यो, मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरायो, तीनै शक्ति कार्यान्वयनमा चुक्दा र सँगसँगै हिँड्न नसक्दाको असर र परिणाम तथा अस्तव्यस्तता अहिले हामीले देखिरहेका छौ ।” संविधान जारी गरेपछि प्राप्त उपलब्धि कार्यान्वयनका लागि परिवर्तनकारी शक्ति मिलेर जानुपर्नेमा सबैथोक आयो, भयो, अब केही पनि बाँकी छैन भनी एक्ला–एक्लै कुद्न खोज्दा अहिलेको अवस्था आएको उहाँको भनाइ थियो ।सांसद पन्थले सुशासन, समृद्धि, सामाजिक न्यायका क्षेत्रमा काम गर्न बाँकी नै रहेका बेला स्पष्ट मार्गचित्रसहित ती राजनीतिक शक्ति मिलेर काम गर्नुको साटो जनतालाई अब तिमीहरूका सबै काम भए, अधिकार आए भनी आ–आफ्नो ढङ्गले अघि बढेको आरोप लगाउनुभयो । राजनीतिक, सञ्चारजगत् र समाजमा प्रतिनिधिसभा र राष्ट्रियसभा उस्तै हुन् भन्ने दृष्टि र मनोविज्ञान देखिएको बताउँदै उहाँले संविधानले यी दुवैको प्रतिनिधित्व, भूमिका र काम गर्ने ढाँचा फरक हो भन्ने बुझ्न नसकेको धारणा राख्नुभयो ।नेता पन्थले भन्नुभयो, “प्रबुद्ध समूहको प्रतिनिधित्व रहने राष्ट्रियसभा बेग्लै मर्यादित सभा हो भनी बुझाउन सकिएन, उस्तै–उस्तै हुन् भन्ने मनोविज्ञान बढ्यो । सरोकारवालाले पनि सोही दृष्टिले हेरे । अनि अर्काे सभाको छायाँ परेको जस्तो देखियो ।”–––

मिथिलामा विवाहपञ्चमी उत्सवको रौनक, एक सातासम्म भगवान् राम र माता सीताको विवाह

जलेश्वर (महोत्तरी), २७ मङ्सिर : मिथिलिमा एक सातासम्म भगवान् राम र माता सीताको विवाहका विभिन्न विधि सम्पन्न गरी प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी उत्सवको रौनक देखिएको छ ।

महोत्तरीको मटिहानीबाट राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने विवाह पञ्चमी उत्सवको रौनक यसपालि नेपाल र भारतका सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा भगवान् राम र जनकपुरका राजा जनकक िछोरी सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्याबाट जनकपुर जन्ती आउने र विवाह महोत्सव सम्पन्न गनर््े चलन रहँदै आएको छ । सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधु, सन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी सन्यासी सो विवाह महोत्सवमा उपस्थित हुने चलन छ ।

सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि हजारौँ जन्ती तथा लाखौँ सर्वसाधारण जनकपुर आउने चलन छ । प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावालस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गर्दछन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजाअर्जना गर्ने चलन छ ।

रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ अगाडि रहेको लक्ष्मी सागरबाट विवाहको वेदीको माटो खन्ने चलन रहेको छ । आगामी आइतबार जनकपुरमा हुने विवाह पञ्चमी महोत्सवका लागि अयोध्याबाट दुई दिन पहिलेदेखि नै साधु, सन्त, महात्मा र जन्ती नेपाल प्रवेश गर्न थालेकँ छन् । अयोध्याबाट आउने जन्ती पहिले महोत्तरीको मटिहानी प्रवेश गर्ने हुँदा मटिहानीवासीले जन्तीलाई फूलमाला, अबिरलगायतले स्वागत गर्ने चलन छ । जन्ती मटिहानीमा एक रात विश्राम गरेर विवाहपूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गर्ने चलन रहेको लक्ष्मीनारायण मठका महन्थ रवीन्द्रदास वैष्णवले बताउनुभयो ।

महोत्तरी, धनुषालगायत मिथिला क्षेत्रमा विवाह पञ्चमी उत्सव भएपछि मात्रै सर्वसाधारणले आफ्ना छोराछोरीको विवाह गर्ने परम्परा रहेकाले पनि यो उत्सव सबैले धुमधामसँग मनाउने गर्दछन् । विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा लाखौँ भक्तजन उत्सवमा सहभागिता जनाउने गर्दछन् ।

विवाह पञ्चमी उत्सवअन्तर्गत यसपालि यही मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फूलबारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि तथा आगामी पुस १ गते स्वयम्वर तथा विवाह पञ्चमी (शुभविवाह) र पुस २ गते राम कलेवाको कार्यक्रम तय गरिएको छ ।

आजदेखि काठमाडौं महानगरमा खैनी, सुर्ती खान र बिक्री गर्न नपाइने

काठमाडौँ – काठमाडौंमा आजदेखि खैनी, सुर्ती खान र बिक्री गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले आजदेखि लागू हुने गरी ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरेको हो ।

आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको महानगरको स्वास्थ्य विभागले जनाएको छ । अब आजदेखि बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न यस्तो ऐन ल्याइएको बताएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं। बुधबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको १ को १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ।

यस्तै युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ३५ पैसा र बिक्री दर १६८ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर ९८ रूपैयाँ १२ पैसा तथा बिक्री दर ९८ रूपैयाँ ५६ पैसा रहेको छ।

अष्ट्रे्लियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७३ पैसा तथा बिक्री दर ८८ रूपैयाँ १२ पैसा, जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा तथा बिक्री दर ९ रूपैयाँ २१ पैसा, चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ ५७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६५ पैसा , साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४९ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ६५ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ २५ पैसा तथा बिक्री दर ३६ रूपैयाँ ४२ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको छ।

सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण

वालिङ (स्याङ्जा), २७ मङ्सिर : स्याङ्जाको वालिङ नगरपालिकाले सुरक्षित बसोबासलाई प्रोत्साहन गर्न ‘जोखिम संवेदनशील भू–उपयोग योजना’ निर्माण गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास परियोजना (युएनडिपी)को प्राविधिक सहयोगमा विषय विज्ञहरूद्वारा नगरपालिकाका १४ वटै वडामा पुगेर यन्त्र तथा उपकरणको प्रयोग गरी प्रतिवेदन निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

नगरभित्रको भूमिको बनोट, प्रयोग क्षमता, भूगोलको जोखिम संवेदनशीलतालगायत विषयलाई ध्यानमा राखेर गत वर्ष माघदेखि सम्बन्धित ठाउँमै पुगेर अध्ययनबाट प्राप्त प्रतिवेदन नगरपालिकालाई हस्तान्तरण गरिएको जोखिम विज्ञका रूपमा रहनुभएका निरोज तिमिल्सिनाले बताउनुभयो ।

“अध्ययनका क्रममा पछिल्लो १० वर्षमा ८६ प्रतिशत पहिरो अव्यवस्थितरूपमा खनिएका सडकका कारण गएको पाइएको छ”, उहाँले भन्नुभयो, “जमिनको अध्ययन गरी बाढी, पहिरो, भूक्षयलगायत प्रकोप हुनसक्ने सम्भावित ठाउँ पहिचान गरिएको छ ।” विषम भौगोलिक अवस्था, जटिल भौगर्भिक बनोट, अति भिरालोपनका साथसाथै यत्रतत्र खनिएका बाटाघाटा तथा अव्यवस्थितरूपमा बढ्दै गएको बस्ती विकासका कारण जोखिम बढ्दै गएको छ ।

विपद्लाई विचार नगरी भविष्यमा गरिने विकासले ठूलो धनजनको क्षति हुने र लगानीको जोखिम पनि बढाउँछ । यसले विकास प्रक्रियामा अप्ठ्यारो पार्ने तिमिल्सिनाले बताउनुभयो । नगरपालिकाले बहुप्रकोपीय जोखिमको न्यूनीकरण गर्दै सुरक्षित र नियोजित भू–उपयोगमार्फत अधिकतम लाभ प्राप्त गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

वालिङ नगरपालिकामा विभिन्न प्रकोपबाट भएका क्षतिको अध्ययन विश्लेषण गरी प्रकोपको प्राथमिकीकरण गर्ने, प्रकोप जोखिम सम्भाव्यताको आकलन गर्ने र जोखिमको स्तरअनुसार प्रकोप जोखिमयुक्त क्षेत्र पहिचान तथा नक्साङ्कन गर्ने उद्देश्यले जोखिम संवेदनशील भू–उपयोग योजना निर्माण गरिएको तिमिल्सिनाले बताउनुभयो ।

नगरपालिकाको एकीकृत र समावेशी जोखिम संवेदनशिल भू–उपयोग योजना, भवन मापदण्ड तथा कार्यान्वयन योजनाको अध्ययन गरी कार्यपालिका बैठकबाट स्वीकृत गरिएको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । वातावरणीय अध्ययनबिनाका योजना अपूरा हुने भएकाले आगामी दिनमा योजना बनाउँदा यसैलाई आधार मानेर अगाडि बढ्ने उहाँ बताउनुहुन्छ ।

“विज्ञहरूको टोलीले अध्ययन गरी नगरपालिकालाई हस्तान्तरण गरेको प्रतिवेदन कार्यान्वयन गर्छौँ”, उहाँले भन्नुभयो, “यसबाट विकास निर्माणका काम गर्दा हुने वातावरणीय र प्रकोपजन्य असरलाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास छ ।” भौगर्भिक अध्ययनबिना गरिएका योजनाले बाढी पहिरो जाँदा जनधनको क्षति हुने गरेकाले नगरले आगामी दिनमा योजना बनाउँदा यसको विशेष ख्याल गरिने नगरपालिकाकी उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।

जित्नै लागेको खेलको ९७औँ मिनेटमा गोल, रेफ्रीमाथि मुक्का प्रहार

टर्कीको ‘सुपर लीग’ फुटबल प्रतियोगितामा एउटा खेल सञ्चालन गरिरहेका रेफ्री हालिल उमोद मेल्यारमाथि एउटा क्लबका अध्यक्षले मुक्का प्रहार गरेपछि देशभरि सबै लीगहरू निलम्बनमा परेका छन्।

आफ्नो क्लबले ९७औँ मिनेटमा गोल खाएर खेल १-१ को स्थितिमा पुगेपछि ‘एमकेई आङ्कारागुजु’का अध्यक्ष फारुक कोजा दौडिँदै मैदानमा छिरेर रेफ्रीमाथि आक्रमण गरेका थिए।”सबै लीगहरूका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ,” टर्कीको फुटबल सङ्घ टीएफएफका अध्यक्ष मेहमत बुयुकेच्चले भने।

‘टर्कीको फुटबलमा लाजमर्दो रात’
उनले रेफ्रीमाथि भएको आक्रमणलाई “टर्कीको फुटबलमा लाजमर्दो रात”को सङ्ज्ञा दिएका छन्।फिफाका अध्यक्षले पनि उक्त घटना “पूर्णतः अस्वीकार्य” भएको टिप्पणी गर्दै हिंसाका लागि “हाम्रो खेलकुद वा समाजमा ठाउँ” छैन भनेका छन्।

आक्रमण भएपछि भुइँमा लडेका रेफ्री मेल्यारलाई अरू व्यक्तिले पनि कुटपिट गरेका थिए।उनी घाइते भएका छन्, उनको एउटा हड्डी पनि भाँचिएको छ।

आक्रमण गर्ने पदाधिकारी पनि घाइते
त्यसपछि रङ्गशालामा खेलाडी र क्लबका पदाधिकारीहरूबीच घम्साघम्सी भएको थियो।त्यस क्रममा कोजा पनि घाइते भए। उनलाई अस्पताल लानुपरेको थियो।टर्कीका गृहमन्त्री अलि येर्लिकायाका अनुसार उपचारपछि बल्ल कोजालाई “हिरासतमा लिने प्रक्रिया अघि बढाइने छ”।उक्त घटनामा संलग्न भएका अरू मानिसलाई पक्राउ गरिसकिएको उनले बताए।

रेफ्रीबारे हामीलाई के थाहा छ?
सैँतीस वर्षीय मेल्यारलाई टर्कीमा उत्कृष्ट रेफ्रीमध्ये एक हुन्। उनी फिफाका लागि अन्तर्राष्ट्रिय खेलहरू पनि सञ्चालन गर्छन्। उनी यूईएफको विशिष्ट रेफ्रीहरूको सूचीमा पनि समाविष्ट छन्।

आक्रमणमा परेर घाइते भएपछि उनलाई पनि अस्पताल लगिएको छ।उनलाई लगिएको अस्पतालका चिकित्सक डा मेहमेद योरुबुलुदले भने, “उनको जीवनलाई त्यस्तो ठूलो जोखिम छैन। उनको देब्रे आँखा वरिपरिबाट रगत आएको छ र एउटा हड्डी अलिकति चर्किएको छ।”

“टाउकोमा चोट लागेको हुनाले हामी बिहानसम्म उनको अवस्था निगरानी गर्छौँ। आवश्यक परीक्षणहरू गरेपछि हामी उनलाई बिहान डिस्चार्ज गर्छौँ।”समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा सामान्य बदली रहेको छ।जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चिसोसँगै अस्पतालमा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै

वीरगञ्ज (पर्सा), २७ मङ्सिर : पर्सामा चिसो बढ्ेसँगै रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् ।

वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । दुधेबालकदेखि वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र निमोनियाको समस्याबाट पीडित भएका छन् ।

पछिल्लो केही दिनयतादेखि बढेको चिसोका कारण अस्पतालमा बिरामीको चाप बढेको नारायणी अस्पतालका सूचना अधिकारी डा उदयनारायण सिंहले जानकारी दिनुभयो । रुघाखोकी, ज्वरो, निमोनियालगायतका बिरामी दैनिक ३० देखि ४० जनासम्म उपचारका लागि अस्पताल आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले शय्याको अभाव भएको र भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको डा सिंहले बताउनुभयो ।

‘कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ’:मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

लमजुङ, २७ मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभएको छ ।लमजुङ बेँसीसहर नगरपालिका–८ मा मङ्गलबार आयोजित नेपाली कांग्रेस प्रदेशसभा (क) र कांग्रेस लमजुङको संयुक्त जिल्ला सम्मेलनमा मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोज्दै छन्, यो सम्भव छैन ।” पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उहाँको भनाइ थियो ।“पार्टीभित्रको खाडल चिर्दै एकता र आत्मीयता बढाउँदै कांग्रेसलाई अझ बलियो बनाउन लाग्नुपर्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । सङ्घीयता कांग्रेसको एजेण्डा नभए पनि कांग्रेस, एमाले, माओवादी र तत्कालीन मधेसवादी दलबीचको सहमतिअनुसार कांग्रेसले सङ्घीयता मानेको उहाँको भनाइ थियो ।कांग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले गण्डकी प्रदेशभित्र बस्तीको समस्या रहेको बताउनुभयो । घर भएको ठाउँमा सडक लैजाने कि सडक भएको ठाउँमा घर बनाउने भन्ने समस्या रहेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारले यो समस्याको हल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, डा टकराज गुरुङ, टीका बस्याल, पार्वती तामाङ, संविधानसभा सदस्य चन्द्रबहादुर कुँवर, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, कांग्रेसका पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीलगायत सहभागी हुनुहुन्थ्यो ।