`

विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छ – मन्त्री पुन

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशका विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गरी गैरराजनीतिक र योग्य व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल उच्चशिक्षा प्रतिष्ठान (एनएचएफ)ले तिनकुनेस्थित भिएस निकेतनमा आज आयोजना गरेको ‘नेपालीको उच्चशिक्षाका लागि नीतिगत ढाँचा’ विषयक छलफल कार्यक्रममा मन्त्री पुनले विश्वविद्यालयका कुलपति र उपकुलपति पदमा राजनीतिक पहुँचभन्दा योग्यता, इमानदारी र स्वतन्त्र निर्णय क्षमता भएका व्यक्तिको नियुक्ति अनिवार्य हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न राजनीतिक भागबन्डा सबैभन्दा ठूलो बाधक बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री कुलपति हुने व्यवस्था रहँदा विश्वविद्यालयमा राजनीतिकरण भएका छन् भन्ने गुनासो सधैँ आइरहेका छन् । विश्वविद्यालय सुधारका लागि अब गैरराजनीतिक र नेतृत्व गर्नसक्ने योग्य व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ ।”

हाल नेपालका १८ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था रहेको जनाउँदै मन्त्री पुनले उपकुलपति, रेक्टर, रजिस्ट्रार तथा डिनहरूको नियुक्ति प्रधानमन्त्रीमार्फत हुने भएकाले त्यसमा राजनीतिक भागबन्डा, आफ्नो मान्छे नियुक्त गर्ने प्रवृत्ति मौलाउँदै गएको बताउनुभयो । “यस्तो अवस्था अन्त्य गर्नका लागि योग्य व्यक्ति नेतृत्वमा आउनुपर्छ । विश्वविद्यालयको शैक्षिक गुणस्तर, अनुसन्धान र स्वायत्ततालाई गुणस्तरीय र स्वतन्त्र बनाइनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्री पुनले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति रहने व्यवस्था हटाउन आवश्यक कानुन संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री कुलपतिमा नबस्ने र बोर्ड अफ ट्रस्टी वा काउन्सिलमार्फत योग्य, निष्पक्ष र गैरराजनीतिक व्यक्तिलाई कुलपति चयन गर्ने व्यवस्था हुनुपर्छ ।”

मन्त्री पुनले सहिद दशरथचन्द विश्वविद्यालय, गेटाका लागि उपकुलपति (भिसी) नियुक्तिको विषयमा समेत जानकारी गराउँदै तीन पटक आवेदन आह्वान गर्दा पनि कुनै आवेदन नपरेकाले अब पुनः अर्को पटक आवेदन माग गर्ने तयारी भइरहेको बताउनुभयो ।

“तीनतीन पटक भिसीका लागि आवेदन माग गर्दा कसैको पनि आवेदन नपर्नु दुःखको कुरा हो,” मन्त्री पुनले भन्नुभयो, “यदि राजनीतिक भागबन्डाबाट नियुक्ति हुने हो भने धेरैको आवेदन पथ्र्यो होला । अहिले त्यस्तो चलन रोकिएको छ, त्यसैले आवेदन नपरेको हुनसक्छ ।”

कार्यक्रमका सहभागी शिक्षाविद्हरूले पनि विश्वविद्यालय सुधारका लागि राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्राध्यापक डा मिनबहादुर विष्ट, उपप्राध्यापक डा दीपेन्द्र पराजुली, उपप्राध्यापक मनोजकुमार कर्णलगायतले विश्वविद्यालयलाई ज्ञान उत्पादनको केन्द्र बनाउने हो भने नेतृत्व चयन पूर्ण रूपमा गैरराजनीतिक, पारदर्शी र योग्यतामा आधारित हुनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाल उच्चशिक्षा प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा तीर्थराज खनियाले कार्यक्रमको उद्देश्य र सान्दर्भिकतामाथि प्रकाश पार्दै नेपालको उच्चशिक्षा प्रणालीलाई समयानुकूल सुधार गर्न नीतिगत स्पष्टता, संस्थागत स्वायत्तता र उत्तरदायी नेतृत्व अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा उच्चशिक्षाको वर्तमान अवस्था, चुनौती, अवसर र सुधारका सम्भावित नीतिगत उपायबारे विस्तृत छलफल गरिएको थियो । सहभागीले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गरी अनुसन्धान, नवप्रवर्तन र अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउनु आजको मुख्य आवश्यकता रहेको धारणा राख्नुभएको थियो ।

दमकको आदिवासी रङ्गशालाबाट राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा

झापा । राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले देशमा सुशासन नभएकै कारण आज युवाहरु मिलेर नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको बताएका छन् ।शनिबार दमकको आदिवासी रङ्गशालामा राष्ट्रिय परिवर्तन पार्टीको औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पोर्तेलले देशमा भ्रष्टहरुलाई कारवाही नभएकै कारण आज देश विकाराल अवस्थामा पुगेको र जेनजीहरुको उदय भएको उनले बताए ।

जेनजी आन्दोलनका क्रममा दाहिने खुट्टा गुमाएका पोर्तेलले असली जेनजीहरु ओझेलमा परेको र नक्कली जेनजीहरु हावी भएको आरोप लगाए ।v आफू सक्कली घाईते तथा जेनजी नै भएको बताउँदै अध्यक्ष पोर्तेलले जेनजी आन्दोलनलाई दमन गर्नेहरुलाई कानुनी दायराम ल्याउन वर्तमान सरकार असक्षम रहेको आरोप लगाए ।सो अवसरमा जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले वर्तमान सरकारले जेनजीको भावना विपरितका गतिविधिहरुलाई बढावा दिएको आरोप लगाए ।

उनले सुशीला कार्की नेतृत्वको सरकारले काम गर्न नसके राजीनामा दिन सुझाव दिए । त्यस्तै जेनजी युवा अजयले जेनजीलाई कमजोर नठान्न चेतावनी दिए ।ठूलो संख्यामा स्थानीय र जेनजी युवाहरुको सहभागिता रहेको भेलालाई सम्बोधन गर्दै उनले भने,‘देशको मायाले सानै उमेरमा म राजनीतिमा होमिन बाध्य भए ।’ देशलाई दुरदर्शी नेताको खाँचो रहेको बताउँदै उनले भ्रष्टाचारका कारण आज देश थिलोथिलो भएको बताए ।

तर अब राष्ट्रिय परिवर्तन पार्टीको उदयसँगै यसले राष्ट्रिय राजनीतिमा पनि प्रभाव पार्ने दाबी गरे ।जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण सभामा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो । जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा गर्न सभा गरिएको हो ।

जनताको चाहनाअनुसार काम गरे देशमा समृद्धि हासिल हुन्छः मन्त्री घिसिङ

लेखनाथ (कास्की) – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजनीतिक पार्टीले नेपाली जनताको चाहनाअनुसार काम गरेमा मुलुक छिट्टै समृद्ध बन्ने बताउनुभएको छ ।

उज्यालो नेपाल पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक दलहरूले विभिन्न समयमा मुलुकमा परिवर्तन ल्याए पनि जनमुखी शासकीय क्षमता प्रर्दशन गर्न नसक्दा जनतामा असन्तुष्टि उत्पन्न भई विद्रोह सुरु भएको बताउनुभयो ।

सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, जवाफदेहीताको अभाव, प्रक्रियागत जटिलताले शासन व्यवस्था सुस्त हुँदा पछिल्लो क्रममा जेनजी आन्दोलन उत्पन्न भएको उहाँको भनाइ छ । देशमा आर्थिक समृद्धि हासिल गर्दै सुशासन, समाजिक न्याय, रोजगारीतर्फ अगाडि बढ्दै आपसी सहकार्य समन्वयमार्फत जनचाहना अनुसार सबैले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

छिमेकी देश चीन र भारतले दु्रत गतिमा विकास गरिरहँदा नेपाल प्राकृतिक स्रोतसाधनले धनी भएर पनि पछाडि पर्नुको कारण खोज्नुपर्ने मन्त्री घिसिङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक नेतृत्वमा सही व्यक्ति र युवा आउन जरुरी छ ।” पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

पार्टीकी केन्द्रीय सदस्य रिमा विश्वकर्माले सरकारले भ्रष्टाचाररहित सुशासन, पारदर्शी सेवा, उत्तरदायी नेतृत्व दिन सक्नुपर्नेमा जोड दिनुभयो ।

पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने

जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाकोे एक समूह पोल्याण्डमा पठाउने बताएको छ ।मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्यान्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्रादको रूसी भू–भागलाई समेट्ने गरी आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो ।

बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताले पोल्याण्डमा जर्मन सैनिकको मुख्य जिम्मेवारी ‘इन्जिनियरिङ गतिविधि’ हुने बताएका छन् । यसमा ‘किल्लाहरू निर्माण, खाडलहरू खन्ने, काँडेतार बिछ्याउने वा ट्याङ्क अवरोधहरू खडा गर्ने’ समावेश हुन सक्छ ।

जर्मन रक्षा मन्त्रालयले भनेको छ, “सहयोगस्वरूप जर्मन सैनिकहरूले प्रदान गरेको सहयोग केबल इन्जिनियरिङ् गतिविधिहरूमा सीमित रहनेछ।”प्रवक्ताले संलग्न सैनिकहरूको यकिन सङ्ख्या भने बताउनुभएन । यो केवल दुई अङ्कको सङ्ख्या हुनेछ।उनीहरूले सन् २०२६ को दोस्रो त्रैमासिकदेखि सन् २०२७ को अन्त्यसम्म परियोजनामा भाग लिने अपेक्षा गरिएको छ ।

“तैनातीका लागि संसदीय अनुमोदन आवश्यक छैन किनकि ‘सैन्य संघर्षबाट सैनिकहरूलाई तत्काल कुनै खतरा छैन’,” जर्मन प्रवक्ताले बताउनुभयो । केही अपवादात्मक अवस्थाहरू बाहेक, जर्मन संसदले विदेशमा देशको सशस्त्र बलको तैनातीलाई अनुमोदन गर्नुपर्दछ।

सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि वार्साले किएभलाई दृढतापूर्वक समर्थन गरेको छ र युक्रेनका पश्चिमी सहयोगीहरूले आपूर्ति गरिरहेका हतियारहरूको लागि ट्रान्जिट मार्ग बनेको छ।वार्साले आफ्नो सेनालाई पनि आधुनिकीकरण गरेको छ र रक्षा खर्च बढाएको छ ।

जर्मनी संयुक्त राज्य अमेरिकापछि युक्रेनको दोस्रो ठूलो सैन्य सहायता आपूर्तिकर्ता हो र उसले किएभलाई सहयाग गर्न हवाई रक्षा प्रणालीदेखि बख्तरबन्द गाडीसम्मका उपकरणहरू पठाएको छ ।

मुलुकलाई संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन होः कार्यवाहक सभापति खड्का

काठमाडौँ – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने एकमात्र आधार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन रहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक अवस्थालाई संविधानभन्दा बाहिर जान नदिनका लागि संवैधानिक निकासको मार्ग भनेको निर्वाचन रहेको बताउनुभयो ।

कार्यवाहक सभापति खड्काले हाल सरकार गठन, प्रतिनिधिसभा विघटनलगायत सर्वोच्च अदालतमा विचाराधीन रहेका विषयलाई सर्वोच्चको क्षेत्राधिकारभित्र रहनदिनुपर्ने धारणा राख्नुभयो । उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरण निर्माण गर्नु सरकार र निर्वाचन आयोगको दायित्व रहेको बताउँदै यसमा सबै राजनीतिक दलले समन्वय र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

“निर्वाचनका लागि शान्तिसुरक्षाको अवस्था सामान्य बनाउने, नागरिकलाई ढुक्क भएर मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्ने जिम्मेवारी सरकारको हो । यसमा राजनीतिक दलले समन्वय गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै खड्काले प्रदर्शनको आवरणमा विभिन्न आपराधिक समूह कारागारबाट बाहिर निस्किएका, हजारौँ हातहतियार र लाखौँ गोली लुटिएका घटनाले नागरिकमा गम्भीर त्रास फैलिएको बताउनुभयो ।

लोकतान्त्रिक प्रणालीको मुख्य आधार निष्पक्ष र धाँधलीरहित आवधिक निर्वाचन भएको उल्लेख गर्दै कार्यवाहक सभापति खड्काले स्थापित राजनीतिक दलहरूलाई कमजोर पार्न खोज्ने शक्तिहरू सक्रिय हुनसक्ने भएकाले लोकतन्त्र ल्याउन र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरू आन्तरिक रूपमा एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताउनुभयो ।

पार्टी जुट्दा र फुट्दा दुवै अनुभव नेपाली कांग्रेसले भोगिसकेको उल्लेख गर्दै खड्काले बहुदलीय व्यवस्थामा दलहरू सुसङ्गठित, व्यवस्थित र जनप्रिय हुनु उत्तिकै आवश्यक रहेको धारणा राख्नुभयो । एमालेले ११औँ महाधिवेशनमार्फत पार्टीलाई थप परिष्कृत र समयसापेक्ष बनाउँदै सर्वसम्मत विधिप्रक्रियाबाट अनुभवी र सक्षम नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बहुदलीय संसदीय शासन व्यवस्थामा जनताको सङ्गठित शक्ति भनेकै राजनीतिक दलहरू भएको उल्लेख गर्दै कार्यवाहक सभापति खड्काले विविध विचार र सिद्धान्तका आधारमा सङ्गठित दलहरूमध्ये जनताले रोजेका दलले शासन सञ्चालन गर्ने प्रणाली आजको विश्वमा सबैभन्दा बढी रुचाइएको बताउनुभयो । “विभिन्न खालका निरङ्कुश व्यवस्थाबाट संसारका मुलुकहरू ढिलोचाँडो यही प्रणालीतर्फ रूपान्तरण भइरहेका छन्”, उहाँले भन्नुभयो ।

लोकतन्त्रको सुदृढता र दिगोपनको अर्थ जनताले रुचाउँदा सत्ता र नरुचाउँदा सत्ता बाहिर रहने व्यवस्था भएको उल्लेख गर्दै खड्काले दलहरूको परीक्षण हरेक पाँच वर्षमा सबै तहका निर्वाचनमार्फत हुने स्पष्ट गर्नुभयो । राज्य सञ्चालन जनप्रिय दलले गर्ने हो भने दलको नेतृत्व पनि जनप्रिय व्यक्तिहरूमध्येबाट चयन हुनुपर्ने उहाँको भनाइ छ ।

“जसरी जनता मतदानमार्फत दल छान्छन्, त्यसैगरी दलभित्रका लोकप्रिय नेता पनि पार्टी सदस्यहरूले अधिवेशन वा महाधिवेशनबाट छान्ने परम्परा लोकतान्त्रिक दलहरूको आत्मा हो”, उहाँले भन्नुभयो । राजनीतिक दलका अधिवेशन र महाधिवेशनहरू सम्बन्धित दलका लागि मात्र नभई समग्र मुलुक र लोकतान्त्रिक व्यवस्थाका लागि महत्वपूर्ण हुने खड्काको निष्कर्ष थियो ।

एमाले नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी दलका साथै मुलुक सङ्कटमा पर्दा नेपाली कांग्रेससँग सहयात्रीका रूपमा उभिएको कार्यवाहक सभापति खड्काले स्मरण गर्नुभयो । उहाँले लोकतन्त्र, संविधान र स्थायित्वमाथि सङ्कट आउँदा कांग्रेस, एमाले र अन्य लोकतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर प्रतिवाद गर्दै आएको इतिहास उल्लेख गर्नुभयो ।

गत भदौ २४ गतेपछि मुलुकको राजनीति पुनः अनिश्चितताको भूमरीमा फसेको टिप्पणी गर्दै खड्काले भदौ २३ गते सुशासनको मागसहित शान्तिपूर्ण रूपमा गरिने भनिएको युवाहरूको सडक प्रदर्शन अप्रत्याशित रूपमा हिंसात्मक बन्दा यस्तो घटना घटेको चित्रण गर्नुभयो । “त्यो दिन र भोलिपल्ट भएका आक्रमण, तोडफोड, लुटपाट र आगजनीका घटनामा सुरक्षाकर्मी र नागरिक गरी ५७ जनाले ज्यान गुमाउनुप¥यो, जुन अकल्पनीय र अमानवीय क्षति हो”, उहाँले भन्नुभयो ।

हिंसात्मक घटनाका क्रममा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विभिन्न मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका संरचना, मालपोत कार्यालय, प्रदेश तथा स्थानीय तहका कार्यालय, प्रहरी कार्यालयलगायत अत्यावश्यक सेवा र सुरक्षा प्रदान गर्ने निकाय, निजी घर र व्यापारिक केन्द्रमा आक्रमण, तोडफोड र आगजनी गरिनु दुखद् रहेको खड्काले बताउनुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका ऐतिहासिक स्थल विराटनगरको कोइराला निवास, काठमाडौँ चाक्सीबारीस्थित गणेशमान सिंह निवास र ललितपुर बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रमसमेत जलाइएको घटनालाई उहाँले लोकतान्त्रिक इतिहासमाथिको आक्रमणका रूपमा व्याख्या गर्नुभयो । यी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन गठन गरिएको उच्चस्तरीय न्यायिक छानबिन आयोगले निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्ने उहाँको माग थियो ।

“नागरिकको जीउधनको सुरक्षा गर्ने सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र निजी सम्पत्ति नष्ट गर्नेहरूलाई कानुनी राज्यले न्यायको कठघरामा उभ्याउँनैपर्छ”, कार्यवाहक सभापति खड्काले भन्नुभयो ।

राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी

काठमाडौँ, २७ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निवार्चन समयमा सम्पन्न गराउन सबैले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँ मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौती सामना गर्न महाधिवेशन राष्ट्रहिततर्फ केन्द्रित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

महामन्त्री बुर्लाकोटीले भन्नुभयोे,“राजनीतिक सङ्क्रमणको अन्त्य गर्दै आगामी निर्वाचन समयमा नै सम्पन्न गर्न र लोकतन्त्रलाई लिकमा ल्याउने वातावरण बनाउन एमालेपछि हट्ने छैन । यसका लागि राष्ट्रिय दलहरू सकारात्मक र प्रशंसनीय भूमिका निर्वाह हुने अपेक्षा गर्दछौँ।”

उहाँले अनावश्यक क्षेत्रमा दलीय र चरम राजनीतिकरण रोक्नुपर्नेमा जोड दिँदै पुराना दलहरूले लोकतन्त्रको स्थापनाका लागि केही त्याग गर्न तयार हुनुपर्ने धारणासमेत व्यक्त गर्नुभयो । मुलुकमा सुशासन, समन्वय, लोकतन्त्रको स्थापनासहित लोककल्याणकारी राज्य निर्माणमा सबै राजनीतिक दल जुट्नुपर्नेमा बुर्लाकोटीको जोड थियो ।

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड

काँक्रेविहार (सुर्खेत – नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताउनुभएको छ ।

आज यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताउनुभयो ।

संयोजक दाहालले १४ भन्दा बढी पार्टी मिलेर विगतका कमजोरी सच्याउँदै अगाडि बढ्ने सङ्कल्प गरेको उल्लेख गर्दै देशका विभिन्न स्थानमा भएका एकतासभामा देखिएको सहभागिताले अभियानलाई नयाँ उचाइमा पु¥याउने विश्वास जागेको धारणा राख्नुभयो । उहाँले विसं २०४१/४२ देखि नै पार्टी माधव नेपाल र आफूबीचमा एकताका लागि छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका सामयमा पनि निरन्तर छलफल भएको धारणा राख्नुभयो ।

संयोजक दाहालले भन्नुभयो,“हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ, सशस्त्र युद्ध सुरु भएको दुई वर्षदेखि नेपाल र आफूहरूले देशको विकास र नेपाललाई कसरी उचाइमा पु¥याउन सकिन्छ भनेर छलफलमा जुटका थियौँ । एमाले र माओवादी सहमति भएपछि मात्र देशमा १२ बुँदे सहमति भएको थियो । ४० वर्षदेखि एकताका काम भइरहेका थिए ।”

उहाँले कर्णाली नेपाली सभ्याताको जननी, जडीबुटी, जलस्रोतको भण्डार रहेको भन्दै यहाँको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अब विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण तयार गर्न आफूहरू क्रियाशील भएको दाहालको भनाइ थियो । पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलगअलग पार्टीलाई एकै ठाउँमा ल्याएर राजनीतिमा महत्वपूर्ण काम गरिएको र यसले सबैमा उत्साह थपिएको बताउनुभयो ।

उहाँले जनता र देशको हितका पक्षमा काम गर्ने पार्टीको रूपमा नेकपालाई स्थापित गरिने उहाँको भनाइ छ । सहसंयोजक नेपालले भन्नुभयो,“देशका हरेक महत्वपूर्ण समयमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको मालिक बनाउनका लागि लोकतन्त, गणतन्त्र चाहिएको छ । यसर्थ देशको स्वतन्त्रतता, स्वाधीनता, देशभक्त पार्टीको रुपमा नेकपालाई स्थापित गर्र्नेगरी हामी लागिरहेका छौँ ।”

एनपिएल : रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् । उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् ।

यसअघि काठमाडौँ गोर्खाजका शाहव आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए । पोखरा एभेञ्जर्सविरूद्ध ह्याट्रिकसहित छ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए । शाहव एकै खेलमा छ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा एभेञ्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र पोखराका धनन्जय लक्षन रहेका छन् ।

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ, २७ मङ्सिर – विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति राष्ट्रको रूपमा मात्र नभएर आगामी शताब्दीलाई पनि आफ्नो अनुकूल हिँडाउन सक्षम रहने यसले लिएका आर्थिक विकासका रणनीतिहरूले सहजै अनुमान लगाउन सकिन्छ ।

उक्काइसौँँ शताब्दीको जटिल र परस्पर सम्बद्ध विश्वमा चीनले आफ्नो अनौठो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक अनुभवका आधारमा विकास, सुशासन र अन्तरराष्ट्रिय सम्बन्धका लागि एक व्यवस्थित दृष्टिकोण विकास गरेको छ । यो दृष्टिकोण केवल आर्थिक सूचाङ्कमा मात्र केन्द्रित नभएर मानव समुदायको भविष्यका लागि साझा भाग्यको एक सामूहिक खोजीमा आधारित छ ।

भूगोलले मात्र नभई सदिऔँदेखिको सम्बन्धले नेपाल चीनको असल मित्रराष्ट्र हो तर चीनबाट नेपालले जे जति सहयोग लिन सक्नुपर्ने हो त्यसमा भने सन्तुष्ट हुन सक्ने ठाउँ रहेको छैन । चीनले लिएका पछिल्ला नीतिहरूका बारेमा नेपालले गहन रूपमा आत्मसात गर्न नसकेको मात्र होइन, त्यसको त्यसको अन्त्र्यलाई बुझ्नुभन्दा अपव्याख्या गर्ने प्रवृत्तिले गर्दा पनि अनावश्यक विवाद सिर्जना भई सहयोगका ढोकाहरू राम्ररी खुल्न सकेका छैनन् । आम सर्वसाधारणमा मात्र होइन, राजनीतिक नेतृत्वहरूमा नै चीनप्रतिको बुझाइ निकै कम रहेको अवस्थामा चीनले लिएका पछिल्ला रणनीतिहरूका बारेमा स्पष्ट गराउने गरी लामो समय चीनमा रहेर पत्रकारिता गर्दै आउनुभएका पत्रकार चेतनाथ आचार्यद्वारा लिखित चिनियाँ दृष्टिकोण नामक पुस्तक नेपालका राजनीतिकर्मी, विद्यार्थी, प्राध्यापक, पत्रकार, कूटनीतिकर्मी, खोज अनुसन्धानकर्तालगायत चीनका बारेमा चासो राख्ने सर्वसाधारण सबैका लागि लाभदायक नै हुनेछ । आचार्यले यस अगाडि पनि चीनका बारेमा थुप्रै पुस्तक लेखिसक्नुभएको छ ।

पुस्तकमा चिनियाँ दृष्टिकोणका आधारभूत मान्यताहरू जस्तै जिडीआई, जिएसआई, जिसीआई, बिआरआई, जिजीआई र चीनमा कार्यमूलक लोकतन्त्रको महत्त्वका बारेमा जानकारी दिइएको छ । यी नीतिहरूका बारेमा विस्तृत रूपमा अध्ययन पुस्तकबाट सम्भव नहुने भए पनि सारभूत कुराहरू थाहा पाउन भने सकिन्छ । चीनले विश्वव्यापी समृद्धिका लागि ल्याएको जिडीआई, जीएसआई, जिसीआइजस्ता मान्यताहरूलाई नै चिनियाँ दृष्टिकोण भनिन्छ । यिनै विषयवस्तुहरूलाई लेखकले पुस्तकमा विवेचना गर्न खोज्नुभएको छ । पुस्तकमा समाविष्ट अधिकांश सामग्री अङ्ग्रेजी भाषाबाट अनुवाद र सम्पादन गरिएको कुरालाई लेखकले स्वीकार्नु मात्र भएको छैन, सन्दर्भ सामग्रीका रूपमा मूलस्रोतका लिङ्कहरू राखिदिएकाले त्यसमा थप अध्ययन गर्न चाहनेहरूका लागि ढोका पनि खोलिदिनुभएको छ । पछिल्लो समय चीनले नेपालबाट विभिन्न क्षेत्रका व्यक्तिहरूलाई आमन्त्रण गरेर यी र यस्तै विषयमा प्रशिक्षणहरू सञ्चालन गर्दै आए पनि ती पर्याप्त हुन सक्दैनन् । यस पुस्तकले त्यो अप्रयाप्ततालाई पूरा गर्न सहयोग गर्ने नै छ ।

जिडीआई चिनियाँ विदेश नीति र विश्वशासन दर्शनको मूलभूत सिद्धान्त हो । जिडीआईले आर्थिक असमानता, जलवायु परिवर्तन र महामारीजस्ता विश्वव्यापी चुनौतीहरूको सामनाका लागि एकजुट हुन आवश्यक रहेको कुरामा जोड दिने गरेको छ । जिडीआईले विकासलाई प्राथमिकता दिन्छ, विशेष गरी संयुक्त राष्ट्र सङ्घको सतक विकास लक्ष्य २०३० लाई पूरा गर्ने सङ्कल्पलाई बलियो बनाउँदछ । गरिबी निवारण, खाद्य सुरक्षा र स्वच्छ ऊर्जाजस्ता क्षेत्रहरूमा सहकार्यलाई बढावा दिँदै यस पहलले विकासशील राष्ट्रहरूलाई ‘सही क्षमता निर्माण’मार्फत आत्मनिर्भर बन्न र विश्व अर्थतन्त्रमा सहभागी हुन सहयोग गर्ने उद्देश्यले विश्वव्यापी विकास असमानतालाई घटाउने प्रयत्न गर्छ ।

एक्काइसौँ शताब्दीमा परम्परागत र गैरपरम्परागत चुनौतीहरू थपिँदै गएको सन्दर्भमा चीनले विश्वव्यापी सुरक्षा अभियान ‘जिएसआई’ ल्याएर समस्याहरूको सामूहिक निराकरणमा अग्रसरता देखाएको छ । एक अकार्काको सांस्कृतिक सभ्यताको सम्मान गर्दै सद्भावपूर्ण वातावरण सिर्जना गर्नका लागि चीनले अगाडि सारेको विश्वव्यापी सभ्यता अभियान ‘जिसीआई’ अहिले लोकप्रिय बनेको छ । विश्वव्यापी सभ्यता पहलअर्थात् जीसीआई भनेर चिनिने एक नयाँ अन्तर्राष्ट्रिय पहल चीनले सार्वजनिक गरेको छ । यसको मुख्य उद्देश्य अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिएर विश्वव्यापी चुनौतीहरू समाधान गर्नु हो । यसले सार्वभौमिक समानता, अन्तरराष्ट्रिय कानुन, बहुपक्षवाद, मानव केन्द्रित दृष्टिकोण र ठोस कार्यहरूमा केन्द्रित नीति बोकेको छ । चीनले संयुक्त राष्ट्रसङ्घको केन्द्रीय भूमिकालाई कायम राख्न र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउन यो पहल ल्याएको हो । यो पहल भविष्यको विश्व व्यवस्थाका बारेमा चीनको दृष्टिकोणको एक भाग हो ।

जिडीआई, जिएसआई र जिसीआईका सिद्धान्तहरूलाई कार्यान्वयन गर्ने एक व्यावहारिक र ठोस मञ्च हो बीआरआई । यो एसिया, युरोप, अफ्रिका र अन्य क्षेत्रहरूबीच आधारभूत संरचना, व्यापार र वित्तीय एकीकरणलाई बढावा दिने एक महत्त्वाकांक्षी परियोजना हो । यसले सडक, रेलवे, बन्दरगाह र ऊर्जा परियोजनाहरूमार्फत यातायात लागत घटाएर व्यापार र लगानीलाई सुविधाजनक बनाउँछ । अहिले पनि धेरै विकासशील राष्ट्रहरूले आधारभूत संरचनाको अभाव भोगिरहेका छन् । बीआरआईले ती देशहरूलाई आर्थिक विकासका लागि आवश्यक भौतिक आधार निर्माण गर्न सहयोग गर्दछ । बीआरआईले एक पक्षीय लाभको सट्टा पारस्परिक रूपले फाइदाजनक सहकार्यमा जोड दिन्छ । यसले सहभागी राष्ट्रहरूको अर्थतन्त्रलाई गति दिन्छ भने चीनलाई नयाँ बजारहरू र साझेदारहरू प्राप्त हुन्छन् । शान्ति, सहकार्य, सद्भाव र पारस्परिक लाभमा आधारित विश्वको पुनः कल्पना गरेका छन् ।

मकालु प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो पुस्तकमा २७ वटा लेखहरू समावेश गरिएका छन् । चीनले विश्वलाई बाँडिरहेको विकास, शान्ति, सुरक्षा, सभ्यताजस्ता दृष्टिकोणलाई समेटेर लेखिएको यो पुस्तक ‘चिनियाँ दृष्टिकोण’ प्रकाशन गर्न पाउँदा गौरवान्वित भएको बताउँदै प्रकाशन गृहका प्रमुख वासुदेव ढकालले प्रकाशकीयमा लेख्नुभएको छ–चीनले आफू मात्र विकसित नभई छिमेकी मुलुकहरूलाई पनि विकासका भँगालाहरूमा समेट्दै अगाडि बढ्दा चीनले प्राप्त गरेको समृद्धि अरू मुलुकलाई पनि बाँड्दै आएको छ । चीनका यी दृष्टिकोण चीनका लागि मात्र नभएर बाह्य जगतका लागि लाभदायक छन् । विश्वलाई विकासका उल्लिखित नमूना वितरण गर्ने हैसियत बनाएको चीनले आन्तिरिक रूपमा चाहिँ अनुपम प्रजातन्त्र अँगालेको छ । समग्रमा पुस्तक जीडीआई, जिएसआई, जिसीआई, बिआरआई र कार्यमूलक लोकतन्त्र विश्व शासन र विकासका लागि दूरदर्शी र रोडम्याप बुझ्नका लागि उपयोगी छ ।

‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ, २७ मङ्सिर : काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।

यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन सङ्घको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम) मा प्रस्तुतिकरण दिँदै उपप्रमुख डङ्गोलले यस्ता कार्यक्रममा स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनुपर्ने धारणा राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रूपमा मात्र हेर्नु हुँदैन । यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नुपर्छ । अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ । यसका लागि ‘प्रोजेक्ट डिजाइनिङ’ चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो ।” उहाँले भन्नुभयो, “यसअघि अन्तरराष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरण अगाडि स्थानीय सहभागिता देखिँदैन ।”

युरोपेली सङ्घका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल ‘गेटवे’ लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो । त्यस अवसरमा नेपालबाट उपप्रमुख डङ्गोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी) सहभागी हुनुहुन्थ्यो ।

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

बेलबारी (मोरङ) – हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीया भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा पर्नुभएको थियो । आज बिहान करिव ६ः३० बजे बिराटचोकस्थित बस्तीको बीचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी – म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ ।

म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गर्नुभएको हो । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ ।

प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युत्गृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पु¥याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिने जानकारी दिनुभयो ।

“पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ”, उहाँले भन्नुभयो, “सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ ।”

अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ । विद्युत् खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ । बाँध र विद्युत्गृहको हेड ३३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट रु १६ करोड अनुमान गरिएको केसीले बताउनुभयो ।

रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभिए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ । दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ ।

धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् । पैँसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताउनुभयो ।

प्रेम, रोमान्स र बिछोडले भरिएको मजा आगईलमा लोसिना

राज कुश्मी र सोनु कुश्मीको स्वर रहेको थारु भाषाको ‘मजा आगईल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक राज स्वयमका शब्द रहेको गीतमा गणेश चौधरी र राजको संगीत रहेको छ । सार्वजनिक गीतमा मोडल लोसिना लामिछानेको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा लोसिनाका अलावा दिप श्रेष्ठ , गणेश चौधरी, चन्द्रा चौधरी, बाबु निरज लगायतको अभिनय रहेको छ ।

आँफुलाई भन्दा बढी माया गरेकी प्रेमीकाले पैसाका पछि लागेर चोखो माया गर्ने प्रेमीलाई दिएको धोकापछि पाएको दुख र भोग्नु परेको असहज परिस्थितीलाई निर्देशक राजले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । डान्सिगं शैलीमा तयार पारिएको प्रेम, रोमान्स र बिछोडका किस्साहरुले भिडियो समय सान्दर्भिक देखिन्छ । करिब १७ मिनेट लामो गीतको भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आईरहेको निर्देशक समेत रहेका राजले बताए । प्रदीप थारुको कोरियोग्राफी, अर्जुन तिवारीको डिओपी तथा बिर बहादुर थारुको सम्पाद रहेको भिडियो आर प्रोडक्सनबाट बजारमा आएको हो ।

राजले यसैका आफूका आफ्ना गीतहरूलाई दर्शक श्रोताले माया गरेजस्तै यस गीतमा पनि मायाको अपेक्षा राखेका छन्। राजका यसअघिका कमरीया, चुपकचुपक , पत्ली कमरिया, दुला रुलाल, बन्दिया बोलाए सजना लगायतका गीत हिट छन्।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २७ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ५०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, बन्दा (तराई) प्रतिकिलो रु ५०, बन्दा (नरिवल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १३०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १३०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १३०, तिते करेला प्रतिकिलो रु १२०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो १६०, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकेजी रु १००, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु २००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १४०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ११०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु १४०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी भुइँऐँसेलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो रु २२० र आभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २३०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १४०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ५५ निर्धारण गरिएको छ ।

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।

नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । उपाधि भीडन्त पुस ६ गते हुनेछ ।

सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको सुरुमै युरोपेली संघमा सामेल हुन सक्ने यस विषयमा जानकार एक वरिष्ठ स्रोतले शुक्रबार एएफपीलाई बताएको छ।

इयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतया वर्षौं लिन्छ र समूहका सबै २७ सदस्यहरूको सर्वसम्मत मत आवश्यक पर्दछ । केही देशहरू र विशेष गरी हङ्गेरीले लगातार युक्रेनको इयूमा सामेल हुने विरोधमा आवाज उठाउँदै आएका छन्।

द्रुत प्रवेशको विचार युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको पछिल्लो संस्करणमा समावेश गरिएको योजनाले युक्रेनले रूसलाई केही भूमि सुम्पिने उल्लेख गरिएको छ। हालैका हप्ताहरूमा युरोपभरि कूटनीतिक उन्माद निम्त्याएको छ ।

युक्रेनको सदस्यताको विरोध गर्ने नेताहरूलाई आफ्नो अडान परिवर्तन गर्न मनाउन वाशिङ्गटनसँग आवश्यक शक्ति छ, राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार एएफपी लगायतका पत्रकारहरूसँगको भेटमा भन्नुभयो ।

“संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घमा हाम्रो बाटो खोल्न कदम चाल्न सक्छ”, उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिसँग प्रभावका विभिन्न उत्तोलकहरू छन् र यसले युक्रेनलाई रोक्नेहरूमा प्रभाव पार्नेछ।”

किएभले लामो समयदेखि युरोपेली सङ्घको सदस्यताका लागि प्रयास गरिरहेको छ र सन् २०१४ को युरोपेली समूहको समर्थक क्रान्तिदेखि नै सुधारहरू कार्यान्वयन गर्दै आएको छ तर स्थानीय भ्रष्टाचार उन्मूलनका लागि सङ्घर्ष गरिरहेको छ जुन ईयूमा सामेल हुनको लागि एक मुख्य शर्त हो।

गत हप्ता युरोपको कूटनीतिक भ्रमण पूरा गरेपछि जेलेन्स्कीले योजनाबारे थप वार्ताका लागि सोमबार बर्लिन जाने कार्यक्रम सार्वजनिक गर्नुभएको थियो तर उहाँले वार्ताको पूर्ण विवरण सार्वजनिक गर्नुभएको थिएन ।

“यदि सुरक्षाले साथ दिएमा उहाँ त्यहाँ उपस्थित हुनुहुनेछ,” ती अधिकारीले एएफपीसँग बताउनुभयो ।

मस्कोले ऊ अमेरिकी योजनालाई संशोधन गर्ने प्रयासको बारेमा शंकास्पद भएको शुक्रबार सङ्केत गरेको थियो । यद्यपि, आफ्ना अधिकांश मुख्य मागहरू पूरा गरेको मस्कोले योजनाको धेरै हदसम्म समर्थन गर्दै आएको छ ।

बन्दरगाह र ऊर्जा सुविधाहरूमा ‘सीमित युद्धविराम’को लागि पुटिनलाई दबाब

टर्कीका राष्ट्रपति रेसेफ तैयप एर्दोगानले रूसको युक्रेनसँगको युद्धमा ‘सीमित युद्धविराम’ भएपनि लागु गर्न आह्वान गर्नुभएको छ। बन्दरगाह र ऊर्जा सुविधाहरूलाई लक्षित गर्दै शुक्रबार आफ्नो रूसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रत्यक्ष वार्तामा ‘सीमित युद्धविराम’ भएपनि लागु गर्न आह्वान गर्नुभएको हो ।

उहाँको कार्यालयले एर्दोगानले तुर्कमेनिस्तानमा भएको शिखर सम्मेलनको दौरानमा रूसी नेतासँग भएको भेटमा ‘युद्ध अन्त्य गर्ने प्रयासहरू मूल्यवान छन् । विशेषगरी, ऊर्जा सुविधाहरू र पोर्टहरूलाई लक्षित गर्दै सीमित युद्धविराम लागू गर्नु लाभदायक हुनसक्छ’ भन्नुभएको जनाएको छ।

एर्दोगानको भनाइ ‘रेड सी’ मा रूससँगको सम्बन्धित ट्याङ्करहरूमा भएको केही आक्रमणहरूको पृष्ठभूमिमा आएका हुन्, जसमा केही ड्रोन आक्रमणहरू किएभले गरेको दाबी गरिएको छ ।

यसले अङ्काराको तर्फबाट कडा आलोचना भएको छ । यसै बिषयलाई लिएर अङ्कराले रूस र युक्रेनका प्रतिनिधिहरूलाई सोधपुछका लागि बोलाएको र यस्तो आक्रमणहरूको ‘चिन्ताजनक वृद्धि’ प्रति चेतावनी दिएको छ।

टर्कीले युद्धभरि मस्को र किएभसँगको सम्बन्धमा सन्तुलन कायम राख्न खोजेको छ । युक्रेनी अन्न र रूसी तेललाई भूमध्य सागरतर्फ पठाउने प्रमुख मार्ग बोस्फोरस स्ट्रेट (जलमार्ग) को बचाउका लागि भुमिका खेल्दै आएको छ।

एर्दोगानले गत नोभेम्बरमा युक्रेनका सहयोगीहरूको अनलाइन बैठकको क्रममा ऊर्जा र पोर्ट पूर्वाधारलाई समेट्ने युद्धविराम सम्झौताले समग्र शान्ति सम्झौताका लागि वार्ताको सम्भावित आधारको रूपमा काम गर्न सक्ने बताउनुुभएको थियो ।

मटिअर्वा–मानमत सडक निर्माण छिट्टै सुरु हुन्छः मन्त्री घिसिङ

बारा – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले बाराको मटिअर्वा–मानमतअन्तर्गतको साढे तीन किलोमिटर सडक निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको छ ।

उहाँले कलैयाको सडक निरीक्षण गर्दै सडक विस्तारमा भइरहेको ढिलाइका विषयमा ठेकेदारले नसकेको अवस्थामा ठेक्का तोडेर भएपनि चाँडोभन्दा चाँडो सो सडक निर्माण अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । “नागरिकले वर्षायाममा भोग्दै आएको समस्यालाई हामीले बुझेका छौँ । त्यसैले यो सडक निर्माणतर्फ म निकै संवेदनशील छु”, मन्त्री घिसिङले भन्नुभयो । मन्त्री घिसिङले महागढी नगरपालिकाको शक्तिपीठ गढीमाई मन्दिरमा पुजापाठ गर्नुभएको थियो ।

भारतीय निर्माण कम्पनी भिस्वा कन्ट्रक्सनले २०६८ सालमा बाराको मटिअर्वा–मानमतअन्तरगतको २७ किलोमिटर सडक कालोपत्रे सुरु गरेको थियो । हुलाकी मार्ग आयोजनाअन्तर्गत तत्कालीन समयमा कम्पनीले २३ किलोमिटर मात्रै कालोपत्र गरी साढे तीन किलोमिटर अधुरै छाडेको थियो । त्यसयताका १४ वर्षमा कालोपत्र गर्न बाँकी सडक हालसम्म अलपत्र छ ।

पछि आशीष÷डिएस जेभीले २०७३ कात्तिक ३ मा ठेक्का लिए पनि निर्माण सम्पन्न गरेन । पछिल्लो कम्पनीले दुई वटा प्याकेजमा ठेक्का लिएको थियो । पहिलो प्याकेज २३ करोड ७३ लाख ४२ हजार रुपैयाँ र दोस्रो प्याकेज २२ करोड ४५ लाख ९३ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।

सप्तकोशी जलाधार÷ओम साइ एण्ड कम्पनीले २०७८ पुस २७ मा सो खण्डको ठेक्का लिएको थियो । कम्पनीले जम्मा १८ प्रतिशत मात्रै काम गरेको छ । हुलाकी मार्ग आयोजना वीरगन्जका सूचना अधिकारी धर्मेन्द्रकुमार दासका अनुसार २२ करोड ३१ लाख ८६ हजार रुपैयाँमा ठेक्का लागेकोमा चार करोड १५ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

राजस्व चुहावट नियन्त्रणमा सशक्त बन्दै पर्साको सशस्त्र प्रहरी

वीरगञ्ज (पर्सा) – सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी ढङ्गले काम गर्दै आइरहेको छ ।

सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको पाँच महिनामा मात्रै सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरेर भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य पर्ने वस्तु तथा सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै अवैध चोरी/तस्करी गरेर भित्र्याइने वस्तु तथा सामान नियन्त्रणमा लिने क्रम ह्वात्तै बढेको जानकारी दिनुभयो ।

“सशस्त्र प्रहरीले गत आवभरिमा रु २८ करोड ९२ लाख ५० हजार मूल्य पर्ने अवैध चोरी तस्करीका सामान बरामद गरेका थियौँ”, उहाँले भन्नुभयो, “चालु आवमा पनि बरामदी हुने सामानको उल्लेखनीय मात्रामा बढेकाले पनि गत आवको भन्दा धेरै बरामदी हुने आशा गरेका छौँ ।”

सशस्त्र प्रहरी बल नेपाल पर्साले चालु आवको झण्डै पाँच महिनाको अवधिमा बिलविजकभन्दा बढीका रु आठ करोड ५९ लाख ७२ हजार ७५० मूल्य पर्ने सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । जबकी सशस्त्र प्रहरीले गत आवभरिमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य पर्ने बिलविजकभन्दा बढीका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको थियो ।

सशस्त्र प्रहरी उपरीक्षक भट्टले पर्सामा १०७ किलोमिटर खुला सीमानाका छिमेकी मुलुक भारतसँग जोडिएकाले पनि सशस्त्र प्रहरले चोरी तस्करी नियन्त्रणमा प्रभावकारी कदम चाल्दै आइरहेको बताउनुभयो ।

“हामीले तालिमप्राप्त कुकुरदेखि २४ औँ घण्टा सशस्त्र प्रहरी सीमा क्षेत्रमा खटाएर चोरी तस्करी नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाल्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा कदम चालेसँगै वीरगञ्ज भन्सार कार्यालयले पनि उत्साहजनक ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको छ ।”

वीरगञ्ज भन्सार कार्यालयले चालु आवको रु चार महिनामा ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ । जबकी गत आव सोही अवधिमा भने कार्यालयले रु ६६ अर्ब ७३ करोड मात्रै राजस्व सङ्कलन गरेको छ । गत आवको चार महिनाको तुलनामा चालु आवको चार महिनाको अवधिमा वीरगञ्ज भन्सार कार्यालयले १३ प्रतिशतअर्थात् रु आठ अर्ब ७६ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक भट्टले चालु आवमा बेमौसमी बर्सात, जेनजी प्रदर्शन, छिमेकीमुलुक भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलगायतको बाबजुत पनि राजस्व सङ्कलनमा उत्साहजनक देखिनु सकारात्मक पाटो रहेको बताउनुभयो ।

“सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक कार्यसम्पादन गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले पर्सा जिल्लामा हुने चोरी तस्करी नियन्त्रणमा पनि सबैको साथ र सहयोगको कारणले पनि उल्लेखनीय प्रगति हासिल गर्न सकिरहेका छौँ ।” सशस्त्र प्रहरी बल पर्साले विपद्मा उद्धार पनि उत्तिकै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । गत असोज १८ र १९ गतेको बाढीमा पनि यहाँ भएको डुबानमा सुत्केरी महिलालगायतको उद्धारमा सक्रियतापूर्वक खटिएको थियो । त्यस्तै गरी सशस्त्र प्रहरीले कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

सशस्त्र प्रहरीले चालु आवको झण्डै पाँच महिनाको अवधिमा ३५० किलोग्राम गाँजा नियन्त्रणमा लिएको छ । त्यस्तै गरी सोही अवधिमा ३० दशमलव ९८ किलोग्राम चरेश पनि नियन्त्रणमा लिएको छ ।

कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा पक्राउ

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको रु १० लाख २३ हजार ५०० नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथ देवलबाट फरार रहेका नुवाकोट बेलकोटगढी–९ का दीपक गजुरेललाई ठमेलबाट पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार गजुरेलले यही मङ्सिर २६ गते राति १२ः३० बजे काठमाडौँ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तल्लामा रहेको नेपाल होलिडे टे«क एण्ड ट्राभल्सको कार्यालयबाट चोरी गरेको पाइएको छ । गजुरेलले काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलस्थित राज फाइनान्सबाट पनि यही मङ्सिर २४ गते चोरी गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले आरोपी गजुरेलबाट नगदसहित खैरो रङको व्याग, चोरी गर्दा प्रयोग गरेको हरियो रङ्को हुडी, क्यानन क्यामेरा, हार्ड ड्राइभलगायतका सामग्री बरामद गरेको छ ।

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै, देशभरबाट करिब तीन लाख सहभागी हुने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिनुभयो । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशन जनपरिचालनका सञ्चालक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईकाअनुसार भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कुटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिको शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न एमालेको २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० बढी स्वयंसेवक ‘ड्रेसकोड’मा खटिने जनाइएको छ । जनसेवालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन १० हजार तालिम प्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई एमालेले मुख्य स्वरुपमा राखेर उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिर एकै ठाउँ देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

टाढासम्म रहेका सहभागीले वक्ताले बोलेको प्रस्ट देखिने गरी मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा ‘एलइडी स्क्रिन’ राखिएका छन् । तीन किलोमिटर परसम्म सुन्न सकिने ११५ वटा उच्च गुणस्तरका ‘साउन्ड सिस्टम’ जडान गरिएको र मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद एवं विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सी राखिएको छ ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालका अनुसार कलाकारले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा सुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ ।

महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हँुदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ । उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य ¥याली गरी आउने व्यवस्थासमेत गरिएको छ ।

केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैङ्कले सूचना प्रकाशित गरी आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेस गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले एक बर्षका लागि लगानी गर्न लागिएकाले यही मङ्सिर २९ गतेभित्र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।

राष्ट्र बैङ्कले ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु पाँच अर्ब २८ करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु ९९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीमा रु ३३ करोड बराबर लगानी गर्न लागिएको सूचनामा उल्लेख छ ।

बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पूरा भएको, तोकिएको न्यूनतम कुल कर्जा पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेकोलगायतका शर्त पूरा गरेको हुनुपर्नेछ ।

त्यसैगरी केन्द्रीय बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । एक वर्षका लागि लगानी गर्न लागिएको उक्त रकमको व्याजदरसहित प्रस्ताव गर्न सूचनामा आग्रह गरिएको छ ।

सूचनाअनुसार ‘क’ वर्गका वाणिज्य बैङ्कमा रु ८० करोड, ‘ख’ वर्गका विकास बैङ्कमा रु १५ करोड र वित्त कम्पनीमा रु पाँच करोड बराबर लगानी गर्न लागिएको हो । यही मङ्सिर २८ गतेसम्म आवश्यक कागजात र विवरणसहित निवेदन दिन केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८२ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४६ पैसा र बिक्रीदर २० रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १५ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८ रुपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ५८ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ५४ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ५६ पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो ।

सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका थिए ।

सो निर्वाचन प्रणालीतर्फ १०० दलले आवेदन दिएको भएपनि दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिन्हमा भाग लिने गरी आवेदन दिएकाले कूल ९३ वटा निर्वाचन चिन्ह कायम भएको उहाँको भनाइ छ ।

आयोगले २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्राप्त गरेको समानुपातक मतका आधारमा क्रमसङ्ख्या र निर्वाचन चिन्ह प्रदान गरिएको जनाएको छ । अन्यका हकमा दर्ताका आधारमा चिन्ह प्रदान गरेको छ ।

आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटाँैमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिन्ह निर्धारण गरेको छ ।

त्यसैगरी पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घर, हँसियालगायतका चुनाव चिन्ह रहने छन् ।

यसैगरी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह बस प्राप्त गरेको छ । राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले एकल चिन्हका रूपमा चकिया (जाँतो) चुनाव चिन्ह पाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी), नेपाल कम्युनिस्ट पार्टीले कोदालो र सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले जगर भएको सिंह एकल चिन्ह पाएको आयोगले जनाएको छ ।

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने

काठमाडौँ – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।

सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।

दिपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।

गत संस्करणमा लिग चरणबाटै बाहिरिएको रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनी यसपटक जसरी भए पनि ट्रफी भित्र्याउने दाउमा छ । लिग चरणमा भएको यी दुबैबीचको खेलमा सुदूरपश्चिमले ७ विकेटको जित हात पारेको थियो ।

एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्नेछ ।

नेपाल क्रिकेट सङ्घ(क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको थिए ।

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौँ – हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था – देशभर मुख्यतया सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राती देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ ।

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघामा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो ।

विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको जानकारी दिँदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालय च्यासलमा आज सम्पन्न भएको बताउनुभयो ।

कार्यक्रममा महाधिवेशन जनपरिचालनका संयोजक एवं एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराईले महाधिवेशनको उद्घाटनसत्रमा देशभरबाट नेता तथा कार्यकर्ताको उपस्थिति रहने बताउनुभयो । उहाँले कार्यक्रममा नेपालको एकताको प्रतीकका रूपमा दुई सयभन्दा बढी नेपाली विभिन्न जातजातिको कला, संस्कृति झल्काउने झाँकीको प्रदर्शन गरिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायतका नेताहरू आउने प्रतिबद्धता जनाइसकेको जानकारी दिँदै विभिन्न १६ वटा पार्टीको अध्यक्ष एवं नेताहरूको सहभागिता रहने बताउनुभयो । उहाँले भ्रातृत्व, मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका विदेशी कूटनीतिक नियोग एवं विभिन्न पार्टीका प्रतिनिधिहरूको शुभकामना सन्देश प्राप्त भइरहेको बताउनुभयो ।

त्यसैगरी, महाधिवेशन स्वयंसेवक परिचालन समितिको संयोजक भानुभक्त ढकालले महाधिवेशन शान्तिपूर्ण भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीको २४ वटा जनसङ्गठनहरूको प्रतिनिधित्व रहनेगरी पाँच सय बढी स्वयंसेवक ड्रेसकोडमा खटिने व्यवस्था गरेको बताउनुभयो । जनसभालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने बताउनुभयो । पत्रकार सम्मेलनमा मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले मञ्च व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको र रातिसम्ममा सम्पूर्ण कार्य पूरा हुने बताउनुभयो ।

समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ

चन्द्रपुर (रौतहट) – भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले समयमै पूर्वाधार निमार्ण सम्पन्न नगरे निर्माण कम्पनीको ठेकेदारसँग ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । आज रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित चाँदीनदीमा रहेको अलपत्र पुलको अनुगमन गर्दै उहाँले ठेकेदारले निर्धारित समयमा काम सक्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री घिसिङले ठेकेदार दयाराम साहलाई अनुगमनस्थलमा बोलाएर यथाशीघ्र अलपत्र पुलको काम सम्पन्न गर्न निर्देशन दिनुभयो । ठेकेदार साहले जेठभित्र कुनै पनि हालतमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि मन्त्री घिसिङले यदी काम गर्न नसक्ने हो भने ठेक्का तोड्ने दिने चेतावनी दिनुभयो ।

ठेकेदार साहले पुलको करिब ७५ प्रतिशत काम सम्पन्न भइसकेको जनाउँदै बाँकी आगामी जेठभित्र बाँकी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । पुल निर्माण गर्न पप्पु शिवशङ्कर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा सम्झौता गरेको थियो । पुल सम्पन्न नहुँदा गैडाटारवासीले सास्ती खेप्दै आइरहेका छन् ।

मन्त्री घिसिङले हुलाकी राजमार्गअन्तर्गत रौतहट र सर्लाही जोड्ने गरी बागमती नदीमा बनाउन लागिएको बडहर्वा पुलको पनि अनुगमन गर्नुभयो । दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल १५ वर्षदेखि अलपत्र छ ।

विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल तथा भौतिक निर्माण तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संयुक्त रूपमा उक्त पुलको शिलान्यास गर्नुभएको थियो । उक्त पुल निर्माण हुन नसक्नुको कारणबारे आफूले छानबिन गर्ने मन्त्री घिसिङले बताउनुभयो । विकासको मुख्य आधार भनेको पुल भएकाले यस्ता पूर्वाधार निर्माण र विकास रोक्न नहुने उहाँले धारणा राख्नुभयो ।

पूर्वाधार निर्माणको अनुगमनसँगै मन्त्री घिसिङले आजै धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको रौतहटको शिवनगरस्थित शिव मन्दिरको अवलोकन गर्नुभएको छ । आज बिहान उहाँले रौतहटको चन्द्रपुर–८ मर्धरमा ‘जन्मदिनलाई सतकर्ममा जोडौँ’ भन्ने अभियानअन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उदघाटनसमेत गर्नुभएको थियो ।

वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यार्थीहरूका लागि ‘पढ्दै, सिक्दै र कमाउँदै’ को वातावारण सृजना गर्न पाठ्यक्रम परिमार्जन गर्न जरुरी रहेको बताउनुभएको छ ।

बागमती प्रदेश विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरूसँगको सम्झौता कार्यक्रममा आज उहाँले पाठ्यक्रममा आवश्यक परिमार्जन गरी शिक्षा नीतिमा रोजगार सृजना गर्ने र डिजिटल प्राणाली अवलम्बनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

विगतको शिक्षा प्राणलीले बढी अप्राविधिक जनशक्ति उत्पादन गरेकाले बेरोजगार बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अबको शिक्षालाई प्रविधि र सीपसँग जोड्नुपर्ने धारणा राख्नुभयो । एक्काइसौँ शताब्दी र एआइको युगमा शिक्षालाई प्रविधि, सीप र तालिमसँग जोडेर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उहाँले परम्परागत प्रणालीमा परिवर्तन गरी प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसअघि अभिभावकविहीन अवस्थामा देखिएको शैक्षिक संस्थालाई अब प्रदेश सरकारले आफ्नो अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसहरूलाई सबल र सक्षम बनाउन निगरानी र सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेश विश्वविद्यालय र पाँचवटा क्याम्पसबीच आङ्गिक क्याम्पसका रूपमा सम्झौता भएको छ । भवानीशङ्कर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पससँग बागमती प्रदेश विश्वविद्यालयले सम्झौता गरेको हो ।

खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन

खोटाङ – यो वर्ष खोटाङमा तीन हजार ४१० मेट्रिकटन सुन्तला उत्पादन भएको छ । जिल्लाका अधिकांश कृषकले उत्पादन गरेका सुन्तला ठेकेदारले बगानबाटै खरिद गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा उत्पादित सुन्तला प्रतिकिलो सरदरमा रु १०० का दरले बिक्री गर्दा यो वर्ष रु ३४ करोड १० लाख आम्दानी हुने केन्द्रका अर्थविज्ञ दीपक चौहानले जानकारी दिनुभयो । “यो वर्ष सबैभन्दा बढी जन्तेढुङ्गा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकाबाट रु चार करोड ५० लाखभन्दा बढीको सुन्तला बिक्री भएको छ”, उहाँले भन्नुभयो, “कृषक आफैँले बजार लगेर बिक्री गर्दा प्रतिकिलो रु १३० सम्म पर्छ । कृषकबाट खरिद गरिएका सुन्तला व्यापारीले प्रतिकिलो रु १५० मा बिक्री गर्छन् ।”

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार जिल्लाका १० वटै स्थानीय तहमा गत वर्षको तुलानामा यसवर्ष १५ हेक्टर जमिनमा सुन्तला उत्पादन घटेको छ । गत वर्ष ९९५ टेक्टरमा सुन्तला उत्पादन भएकामा यस वर्ष विभिन्न रोगको सङ्क्रमणका कारण ९८० हेक्टर खेती गरिएको ।

व्यवसायिक सुन्तलाखेती गरिरहनुभएका जन्तेढुङ्गा–६ दिप्लुङका जगत किरातीले यो वर्ष रु सात लाख आम्दानी गरेको जानकारी दिनुभयो । “यातायातको सुविधाले यस वर्ष बगानबाटै सुन्तला बेचियो”, उहाँले भन्नुभयो, “सुन्तलाखेतीलाई विस्तार गरिरहेको छु । आगामी वर्ष अझ बढी आम्दानी हुने अनुमान छ ।”

फलफूल तथा तरकारीको व्यावसायिक खेती गर्नुभएका किरातीले २५० वटा बोटमा फलेका सुन्तला बेचेर मङ्सिरमा मात्रै रु सात लाख आम्दानी भएको जानकारी दिनुभयो । दिप्लुङका किराती मात्र नभई अन्य कृषकले सुन्तला बिक्रीबाट लाखौँ आम्दानी गरेका गाउँपालिकाले जनाएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने यो गाउँपालिकाको घोर्ले, सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, खुटा, कात्तिकेलगायत क्षेत्रका किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । बुढापाकाले खानका लागि रोपेका सुन्तला यातायातको सुविधा आएसँगै आम्दानीको स्राते बन्न थालेको कृषकहरूको भनाइ छ ।

जन्तेढुङ्गा–५ चिसापानीस्थित घोर्ले गाउँका कृषकले यसवर्ष रु एक करोड बढीको सुन्तला बिक्री गरेका गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिनुभयो । “घोर्लेमा ३१ परिवारको बसोबास छ । सबैका घरमा सुन्तलाको बगान छन् । सबै घरले हरेक वर्ष रु तीन लाख बढीको सुन्तला बिक्री गर्छन्”, उहाँले भन्नुभयो, “घोर्लेमा पुर्खाकै पालादेखि सुन्तला उत्पादन हुन्थ्यो । पहिले खानका लागि पुर्खाले रोपेका सुन्तला अहिले आम्दानीको स्रोत बनेको छ । यसलाई प्रवर्द्धन गर्न गाउँपालिकाको तर्फबाट सहयोग गर्दै आएका छौँ ।”

दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका कृषक रामबहादुर कुँवरले यो वर्ष सुन्तलाबाट कम्तीमा रु १२ लाख आम्दानी हुने अनुमान गर्नुभएको छ । गत वर्ष रु नौ लाख आम्दानी भएकामा यो वर्ष उत्पादन बढेकाले आम्दानी बढ्ने उहाँले बताउनुभयो ।

खोटेहाङ गाउँपालिकाका किसानले सुन्तला बिक्रीबाट बर्सेनि लाखौँ आम्दानी गर्ने वडा नं ६ इन्द्रेणी पोखरीका युवा कृषक इन्द्र नारथुङेले बताउनुभयो । गाउँपालिकामध्ये सबैभन्दा ठूलो (नौ वडा रहेको) यो पालिकामा गत वर्षको तुलनामा यसवर्ष सुन्तलाको उत्पादन घटेको कृषकहरूले बताएका छन् ।

कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार यसवर्ष रावाबँेसी गाउँपालिकामा सुन्तलाको उत्पादनमा कमी आएको छ । खोटाङमा सुन्तलाको राजधानी भनेर चिनिने रावाबेँसी–३ लामीडाँडामा रोग र सङ्क्रमणले क्षति पु¥याउँदा उत्पादन घटेको केन्द्रका अर्थविज्ञ चौहानले जानकारी दिनुभयो ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित रुधालुङका कृषकले उत्पादन गरेका सुन्तलामा यसवर्ष बगानबाटै बिक्री भएका स्थानीय शुभचन्द्र राईले जानकारी दिनुभयो । खार्मीमा उत्पादित सुन्तला सालपा कृषि कम्पनी खोटाङले प्रतिकिलो रु ६० मा खरिद गरेको छ ।

आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा सञ्चालन भइरहेको आइटिएफ वल्र्ड टेनिस सर्किट–२ प्रतियोगितामा नेपालकी शिभाली गुरुङले ‘गल्र्स सिङ्गल्स’तर्फ फाइनलमा स्थान बनाएकी छिन् । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा जारी प्रतियोगितामा आज उनले उत्कृष्ट प्रदर्शन गर्दै महिला एकलतर्फ उपाधि नजिक पुग्न सफल भएकी हुन् ।

गुरुङले भारतकी कर्थिका पद्मकुमारसँगको खेलमा ६–३, ५–७, ६–३ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेकी हुन् । उनले जारी प्रतियोगिताको सर्किट–१ मासमेत उपाधि जितेकी थिइन् । गुरुङले फाइनलमा सर्किट–१ कै उपविजेता रहेकी ताइपेकी केचि सुसँग भेट पक्का गरेकी छन् । केची सुले सेमिफाइनलमा भारतकी शतक्शिका सहायकलाई ६–१, ६–४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।

यसैगरी आजै सम्पन्न भएको ‘गल्र्स डबल्स’ फाइनलमा ताइपेकी केचि सुसँग जोडी बनेर शिभालीले उपाधि जितेकी छिन् । उनीहरूको जोडीले फाइनलमा भारतकी तेजस्वी मन्नेनी र न्युजिल्याण्डकी बोइदेही उकिललाई ६–२, ६–१ ले सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेका हुन् ।

जारी प्रतियोगिताअन्तर्गत ‘ब्वाइज सिङ्गल्स’मा ताइपेइका टिङहो याङले चीनका जियालियाङ गुओलाई ६–२, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गर्दा दक्षिण कोरियाका युलहो जुङले श्रीलङ्काका गनुका फर्नान्डोलाई ६–३, ६–० को सहज जित हात पार्दै याङसँग फाइनल भिड्ने पक्का गरेका छन् ।

त्यसैगरी, ‘ब्वाइज डबल्स’ फाइनलमा कोरियाली जोडी ह्यो जिन हा र युल हो जुङको जोडीले भारतीय जोडी प्रतीक शेओरन र अनुज अभिजित तशिलदारलाई ६–३, ७–६ (४) ले पराजित गर्दै उपाधि हात पारेका छन् । ‘सिङ्गल्स’ तर्फका फाइनल खेल शनिबार हुने कास्की टेनिस सङ्घका सचिव भीष्मराज पौडेलले जानकारी दिएका छन् । पोखरामा जारी प्रतियोगितामा १६ देशका ८० खेलाडीको सहभागिता थियो ।

एनपिएल टोली जनकपुरले क्रिकेट एकेडेमी सञ्चालन गर्ने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले क्रिकेट एकेडेमी सञ्चालन गर्ने भएको छ । बोल्ट्सले आज यहाँ पत्रकार सम्मेलन गर्दै ‘जेबी क्रिकेट एकेडेमी’ सञ्चालन गर्ने आधिकारिक घोषणा गरेको हो ।

पहिलो संस्करणको विजेता जनकपुर जारी सिजनमा भने प्लेअफमा नपुग्दै खेलबाट बाहिरियो । जनकपुरका व्यवस्थापकीय निर्देशक उत्सव सिग्देलले मधेस प्रदेशलाई प्राथमिकतामा राखेर एकेडेमी सञ्चालन गर्ने जानकारी दिनुभयो । घोषणा कार्यक्रममा दोस्रो सिजनको एनपिएलमा मुख्य प्रशिक्षक रहेका शिवनाराइन चन्द्रपलको उपस्थिति थियो ।

जनकपुरले प्रशिक्षक चन्द्रपलसँग आगामी वर्षहरूका लागि पनि सम्झौता भएको जनाएको छ ।

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – उपरथीमा विशेष बढुवा हुनुभएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा विशेष बढुवा हुनुभएका क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

नेपाली सेनाको जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति हुनुभएका एक–एक जना महासेनानी तथा प्रमुख सेनानीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति हुनुभएका रथीवृन्त तथा अधिकृतहरूका परिवारजनको पनि उपस्थिति थियो ।

अमेरिकाले भनेजुएली नागरिकको ‘देश निकाला’का लागि तय गरेको उडान रद्द

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराकासले जनाएको छ।

दुई देशबीच खुला द्वन्द्व बढ्ने डरलाई मध्यनजर गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय भएको शुक्रबारको ‘डिपोर्टेशन’ उडान रद्द गरेको छ।

भेनेजुएलाको गृह मन्त्रालयले बिहीबार टेलिग्राममा भनेको छ, “भेनेजुएलाका नागरिकहरूको फिर्तीलाई ‘एकतर्फी रूपमा स्थगित गर्ने अमेरिकी सरकारको निर्णय’ भेनेजुएलाले शुक्रबार प्राप्त गरेको छ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको महिनौँको दबाबपछि भेनेजुएलाको उडान निलम्बन गरिएको हो । अमेरिकाले यस क्षेत्रमा ठूलो नौसैनिक निर्माण भएको र कथित लागूऔषध तस्करी डुङ्गाहरूमा आक्रमण गरेको छ । आक्रमणमा करिब ९० जनाको ज्यान गएको छ।

वासिङ्टनले भेनेजुएलाको तटबाट एक तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो र बिहीबार भेनेजुएलाका नेता निकोलस मदुरोका आफन्तहरू र दक्षिण अमेरिकी देशको तेल ढुवानी गर्ने छ कम्पनीहरूविरुद्ध प्रतिबन्ध लगाएको थियो।

अमेरिकाको गृह मन्त्रालय र अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन कार्यालयले उडान रद्द भएको पुष्टि गर्न सोधिएको इमेलको तत्काल जवाफ दिइसकेको छैन ।

एमाले सचिवालय बैठक : विधान महाधिवेशनमा पारित विधानका आधारमै नयाँ नेतृत्व चयन गरिने

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमा नै नयाँ नेतृत्व चयन हुने भएको छ ।

सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वाेच्चतालाई स्वीकार गर्दै यो राष्ट्रिय महाधिवेशनमा १५ सदस्यीय पदाधिकारी र दुई सय ५१ सदस्यीय केन्द्रीय कमिटी नै रहनेगरी आजको बैठकले निर्णय गरेको सो पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको बन्दसत्रमा विगतको भन्दा फरक अभ्यासका रूपमा हालको सिङ्गो सचिवालय (१९ जना) नै अध्यक्षमण्डलका रूपमा रहनेछन् ।

बैठकले निर्वाचित र पदेन प्रतिनिधिहरू (दुई हजार १५४) को पाँच प्रतिशत हुन आउने १०८ सदस्य प्रतिनिधि मनोनयन पनि गरेको छ । उक्त नामावली मङ्सिर २७ गते सार्वजनिक हुनेछ ।

बैठकले महाधिवेशनबाट पारित गर्नुपर्ने विशेष प्रस्तावका लागि उपमहासचिव ज्ञवालीको संयोजकत्व र माइन्युटटिङका लागि उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा कमिटी गठन गरेको छ । सचिवालयले बैठकले हालै नेपाल सरकार र जेनजीका प्रतिनिधिबिच भएको १० बुँदे सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कार्यादेश र संविधानविपरीत भएको निष्कर्ष निकालेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

चोरीको १० लाख २३ हजारसहित एक जना पक्राउ

काठमाडौँ – प्रहरीले चोरीको नगद रु १० लाख २३ हजार ५०० सहित एक जनालाई पक्राउ गरेको छ । नुवाकोट बेलकोट नगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिकास्थित ठमेल बस्ने २८ वर्षीय दीपक गजुरेल पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही मङ्सिर २४ गते राति सिनामङ्गलस्थित राजश्री फाइनान्सबाट र गएराति १२ः३० बजे काठमाडौँ महानगरपालिका-१६ सोह्रखुट्टेस्थित होटल लोटस ग्राण्डको पहिलो तलामा रहेको नेपाल होलिडे ट्रेक एण्ड ट्राभल्सको कार्यालयबाट चोरीको रु १० लाख २३ हजार ५०० नगद र विभिन्न सामानसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका गजुरेललाई काठमाडौँ जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । निजविरुद्ध यसअघि सहकारी चोरी, चोरी, लागुऔषध तथा अभद्र व्यवहार शीर्षकमा २२ वटा मुद्दा दर्ता भएका जनाउँदै उहाँले केन्द्रीय कारागार जगन्नाथ देवलबाट भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भागी फरार रहेको देखिएको बताउनुभयो ।

निजको साथबाट चोरीका सामानसहित खैरो रङको सोने लेखेको ब्याग एक थान, चोरी गर्दा प्रयोग गरेको हरियो रङको हुडी एक थान, स्पोर्ट लेखेको पञ्जा एक थान, चाँदीजस्तो धातु देखिने पाएल दुई थान, क्यानन क्यामेरा एक थान, नेक्सजेन लेखेको हार्डड्राइभ एक थान, विड् इलिमेन्टस् लेखेको हार्ड ड्राइभ एक थान, रजिष्टर एक थान, नागरिकता, विभिन्न कागजात तथा बैंकको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

इजरायलली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो ।

प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, बालबालिकालाई विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइनेछ ।”

शिक्षामन्त्री योभ किस्चले भन्नुभयो, “यो नीति ‘इजरायल र विश्वभरको अध्ययन साथै स्वस्थ र सुरक्षित शैक्षिक वातावरणको लागि इजरायली मन्त्रालयको प्रतिबद्धतामा आधारित छ, जसको उद्देश्य विद्यार्थीहरूको फोनको प्रयोगको नकारात्मक प्रभावलाई कम गर्नु हो।”

प्रतिबन्धको कार्यान्वयनसँगै कक्षा कोठामा शैक्षिक कार्यक्रम र अभिभावकसँगको संवादमा सन्तुलित फोनको प्रयोग गर्न सिकाउन, सामाजिक सञ्जालको अत्यधिक प्रयोग (बालबालिकाद्वारा) रोक्न र उमेरको अनुपयुक्त सामग्रीको जोखिम कम गर्न सकियोस् भन्ने हो ।

अबदेखि तत्कालै पनि विद्यालयहरूले उनीहरूको विद्यालय परिसरमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गर्न सक्दछन् तर सरकारी प्रतिबन्ध फेब्रुअरी २ देखि लागु हुनेछ।

सेप्टेम्बरमा स्कूल वर्ष सुरु भएदेखि नगरपालिकाको निर्णयमार्फत तटीय क्षेत्र तेल अभिभका सबै विद्यालयहरूमा स्मार्टफोनमा प्रतिबन्ध लगाइएको छ।अष्ट्रेलिया र फ्रान्सलगायत कैयौँ देशले विद्यालयमा मोबाइल फोनमा यस्तो प्रतिबन्ध लगाइसकेका छन् ।

संयुक्त राष्ट्रसङ्घको संस्कृति तथा शिक्षा निकाय युनेस्कोका अनुसार सन् २०२४ को अन्त्यसम्ममा विश्वभरका ४० प्रतिशत शिक्षा प्रणालीमा विद्यालयमा स्मार्टफोनको प्रयोगमा कुनै न कुनै प्रकारको प्रतिबन्ध लगाइएको थियो । यो सन् २०२३ सम्म ३० प्रतिशत मात्र थियो।

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर – हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । आज बाराको सिमराबाट हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेशको ०३–०३१ प ६९९० नं को मोटर साइकलसहित दुई जनालाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अवैध लागुऔषधको कारोबारमा संकलन रहेको अभियोगमा पर्साको वीरगञ्ज महानगरपालिका–३१ निवासी २१ वर्षीय शिव पासवान र सोही स्थानका २३ वर्षीय निरज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो ।

“निजहरूले जुत्ताको भित्रपट्टी राखी ल्याएको अवैध खैरोहिरोइन १६० मिलीग्रामसहित पक्राउ गरी अनुसन्धान थालिएको छ”, उहाँले भन्नुभयो । निजहरूले सवारीका रूपमा प्रयोग गरेका मधेश प्रदेशको ०३–०३१ प ६९९० नं को मोटरसाइकललाई पनि रातोमाटे प्रहरीले नियन्त्रणमा लिएको प्रहरी कक्षले जनाएको छ ।

यसैगरी लागुऔषध खैरो हिरोइनको कारोबार गर्न वीरगञ्जबाट हेटौँडा बजारतर्फ आएका एक जनालाई स्थानीय सानोपोखराका प्रहरीले आज पक्राउ गरेका सूचना अधिकारी कुर्मीले बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिका–९ त्रिवेणीमा डेरा लिई बस्ने २२ वर्षीय सुमित थापाको साथबाट खैरोहिरोइन चार ग्राम २७० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । निजले प्रयोग गरिएको ना २३ प ४३४ नं को मोटरसाइकललाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवनियुक्त श्रममन्त्री भण्डारी भन्छन् : द्वन्द्व व्यवस्थापन गर्न सघाउँछु

काठमाडौँ – नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताउनुभएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।

पदवहालीपश्चात पत्रकारमाझ उहाँले सरकारको कार्यावधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुतगतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले आफू लामो समय सिआइबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताउनुभयो ।

“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भन्नुभयो, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।” उहाँका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उहाँले सुनाउनुभयो ।

प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उहाँ मन्त्री बन्नुभएको हो । अवकाश अवधिमा लेख, रचना लेख्ने, पठनपाठनमा सक्रिय हुनुभएको उहाँले अब भने श्रम मन्त्रालयमार्फत जनता र मुलुकको सेवा गर्ने बताउनुभयो ।

जिल्लामा नेकपाको एकता सन्देशसभा : पार्टीको नीति र विचार जनस्तरमा पुर्‍याइँदै

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकता सन्देशसभा गरिरहेको छ । पार्टी एकताको सन्देशलाई पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न जिल्ला तहमा एकता सन्देशसभा भइरहेको उक्त पार्टीको केन्द्रीय सदस्य ज्ञामनाथ गैरै ‘अनिल’ले जानकारी दिनुभयो ।

यही मङ्सिर १४ गते प्रदेश राजधानी पोखरामा प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको नेकपाले त्यसयता म्याग्दी, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ र पर्वतमा एकता सन्देशसभा सम्पन्न गरिसकेको छ । शनिबार बागलुङ र नवलपुरमा एकता सन्देशसभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताउनुभयो । मुस्ताङ र मनाङमा कार्यक्रम तय हुन बाँकी रहेको उहाँको भनाइ छ । प्रदेशस्तरीय एकता सन्देशसभा पोखरामा भइसकेकाले कास्कीको छुट्टै कार्यक्रम आयोजना नहुने भएको हो ।

पोखरामा भएको गण्डकी प्रदेशस्तरीय एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्षस्थ नेताहरूले सम्बोधन गरेका थिए । जिल्लास्तरमा भएका एकता सन्देशसभामा पनि केन्द्रीयस्तरका नेताहरू सहभागी भइरहेका छन् । शनिबार बागलुङ सदरमुकाममा हुने एकता सन्देशसभालाई उक्त पार्टीका नेता पम्फा भुसाल, देवेन्द्र पौडेल, दिलकुमारी पन्तलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

एकता सन्देशसभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउने काम नेकपाले गरिरहेको केन्द्रीय सदस्य गैरैले बताउनुभयो । “नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रूपमा प्रवाह भइरहेको छ, यसले पनि निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो । यही मङ्सिर २९ गते पालिकास्तरमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ ।