`

शेयर लगानीकर्ता अग्रवालसहित तीन जना पक्राउ

काठमाडौँ, ५ साउन : प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर लगानीकर्तालाई पक्राउ गरेको छ ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवालसमेतले शेयर दिलाई दिने भन्दै खातामा रु छ करोड ४५ लाख रकम हाल्न लगाई सो रकम फिर्ता नगरेको र शेयर पनि नदिलाएकाले ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा आज पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार ठगी तथा आपराधिक विश्वासघात मुद्दा शीर्षकमा गत असार ३० गते मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

एमाले केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न, भोलि पुनः बस्ने

काठमाडौँ, ५ साउन : नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटीको आजको बैठक सम्पन्न भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको पहिलो दिनको बैठकमा ४९ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि आआफ्ना धारणा राख्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठकमा दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राख्नुभयो ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार आज गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीका ४९ केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखेका छन् ।

अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् । बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी सदस्य नविकरण गरेको विषयले पनि प्रवेश पाएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । बैठकमा आफ्नो धारणा राख्न केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको थियो ।

बैठकमा बहस नोट लेखनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य रहेको कमिटी गठन गरिएको छ । बैठक भोलि पुनः ११ बजे बस्ने जनाइएको छ ।

फिल्म परिवर्तनको सुटिङ चलिरहँदा शंकरले ल्याए आँफै हिरो बनेको म्यूजिक भिडियो

काठमाडौँ । गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुङको स्वर रहेको सर्यो सर्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शैलु आचार्यको शब्द शृजना तथा किरण भुजेलको संगीतमा तयार गीतको भिडियोको कन्सेप्ट पनि गायक स्वयमकै हो । एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी र मर्मस्पर्शी बिछोडका भावनाहरुलाई समेटिएको भिडियोमा गायक शंकर र नायिका गरिमा शर्माको अभिनय गज्जब देख्न सकिन्छ । भिडियोमा गरिमा र शंकर दुवै रोमान्टिक अवतारमा देखा परेका छन् ।

दुई प्रेमील मन एक हुँदा कुन हदसम्मको माया बढ्छ भन्ने कुरालाई गरिमा र शंकरका माध्यमबाट निर्देशक शान थापाले देखाउन खोजेका छन् । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको सम्पादन दिनशन शाहले गरेका हुन् । गायक श्रेष्ठ गायक सँगसँगै अभिनयमा पनि औधी रुची राख्छन् । बुधबारे झापाका गायक श्रेष्ठ अहिले अशोक दर्जीको मन बिनाको धन नामक फिल्मको छायांकन सकेर अहिले परिवर्तन नामक फिल्मको छायांकनमा व्यस्त छन् ।

मन बिनाको धन नामक फिल्म अशोक दर्जीको जीवनिमा आधारित फिल्म हो । जसलाई टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्दैछन् । लामो समयदेखि यूएईमा रहेर व्यबसाय गर्दै आएका गायक श्रेष्ठ गायन सँगसँगै अभिनयमा पनि औधी व्यस्त छन् । गायक श्रेष्ठको सर्यो सर्यो बोलको गीतको भिडियो हालै गायक कुमा सागरको एक कार्यक्रमकाबिच रिलिज गरिएको हो । विषम आचार्यको एरेन्ज, साजन शाहको मिक्सिगं मास्टरिंग रहेको गीतको छयांकन अर्जुन तिवारीले गरेका हुन् ।

यी हुन् फेस अफ नेपाल २०२५ मा विजेताहरु

काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘फेस अफ नेपाल २०२५’ का बिजेता छानिएका छन् । आयोजक एमएस प्रोडक्सन नेपालले आइतबार साँझ हायात रिजेन्सीमा फिनाले गरेर चार बिजेतालाई छनोट गरेको हो । जसमा पुरुषतर्फबाट सौगात प्रधान र योगेश शर्मा छन् भने महिलातर्फबाट सदिक्षा श्रेष्ठ र दिब्यस्वरी आचार्य रहेका छन् ।

चारैजना बिजेताहरुले कोरियामा आयोजना हुने फेस अफ एसियाका लागी नेपालबाट प्रतिनिधित्व गर्न पाउनेछन् । आउँदो अक्टोबरमा कोरिया जाने तालिका रहेको फेस अफ नेपालकी राष्ट्रिय निर्देशक मेनुका माझीले जानकारी दिइन् । माझीले गतबर्ष जस्तै यसबर्ष पनि विजेताहरुले कोरियामा गएर नेपाललाई चिनाउने काम गरेर फर्केनेमा विश्वस्त छिन् । गतबर्षबाट फेस अफ नेपाल एमएस प्रोडक्सन नेपालले आयोजना गर्दै आएको छ । विजेताहरुले १५ लाख बराबरको बिभिन्न अवसरसँगै उपहार प्राप्त गरेका छन् ।

फिनालेमा फेस अफ एसियाकी अन्तर्राष्ट्रिय निर्देशक राउल इनली उपस्थित भएकी थिइन् । साथै फिनालेमा जज्को रुपमा अन्तर्राष्ट्रिय निर्देशक राउलसँगै कलाकार तथा उद्घोषिका रिमा विश्वकर्मा, मिस नेपाल २००२ माल्भिका सुब्बा, राष्ट्रिय निर्देशक मेनुका माझी, चलचित्र निर्देशक सरोज पौडेल, ब्यवसायी मनिष कुमार खेम्का थिए । सेसेमी लिम्बुले होस्ट गरेको फेस अफ नेपालको कोरियोग्राफरको रुपमा दिक्पाल कार्की रहेका थिए भने स्मिता भुसाल र बिशाल श्रेष्ठ सहायक कोरियोग्राफर थिए । इभेन्ट म्यानेजरको रुपमा प्रज्ववल ताम्राकार र बजार ब्यवस्थापन नितु अग्रवाल खेम्काले गरेकी थिइन् । अफिसियल फोटो ग्राफर निशान्त सरकार र अनवेस देवकोटा हुन् ।

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

खोटाङ, ५ साउन: विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आजदेखि सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।

बोलबमको अवसर पारेर यहाँ लगाइएको मेलामा गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी आवतजावत गर्ने प्रमुख मार्ग मध्यपहाडी लोकमार्गमा सामूहिक रूपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै खाली खुट्टा पैदलयात्रा गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै छ ।

मेलाको पहिलो दिन आज १२ हजार ४७५ जनाले मन्दिर दर्शन गरेका हलेसी सूचना केन्द्रका प्रमुख रमेश राईले जानकारी दिनुभयो । “हलेसी दर्शन गर्न आएका अधिकांश दर्शनार्थी भारतीय नागरिक रहेका छन् । तीमध्ये धेरैजसो आफ्नै सवारीसाधन प्रयोग गरेर आएका छन्”, उहाँले भन्नुभयो ।

हलेसी विकास समितिका अध्यक्ष डिल्ली चाम्लिङले तराईबाट हलेसीसम्म आउने सडक विस्तार भएपछि बोलबम मेलामा उत्साहजनक उपस्थिति बढेको बताउनुभयो ।

मनोकांक्षा पूरा हुने विश्वासका साथ हलेसी मन्दिरको प्रमुख गुफाभित्र अवस्थित शिवलिङ्गमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएको जल चढाउने गरिन्छ ।

नारायणी नदीमा पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु

भरतपुर, ५ साउनः नारायणी नदीमा पौडी खेल्न गएका एक किशोरको डुबेर मृत्यु भएको छ । आज ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–१६ गणेश मन्दिर नजिकै नारायणी नदीको छेउमा जमेको पानीमा पौडी खेल्न गएका भरतपुर–१५ सूर्यनगरका १५ वर्षीय किशोर मेक्सन पुन मगरको डुबेर मृत्यु भएको हो ।

उनीसहित पाँच जना साथीहरु पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापनसहितको टोलीले उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल पु¥याएको थियो ।

मगरलाई भरतपुर अस्पताल ल्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरीका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो ।

गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरे : सभापति देउवा

पाटन (ललितपुर), ५ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा पुस्तकालय स्थापना र सहयोगी दाताहरुलाई सम्मान कार्यक्रममा सभापति देउवाले प्रतिस्पर्धी पार्टीहरुको भन्दा नेपाली कांग्रेसको सिद्धान्त राम्रो भएको उल्लेख गर्दै आमजनमानसमा बुझाउन पुस्तकालयको महत्त्वपूर्ण भूमिका हुने धारणा राख्नुभयो ।

“मैले त तल्लो तलामै राखौँ भनेको हो, माथि राख्नुभयो, तर पनि राम्रो छ, धेरै बहुमूल्य किताब छन्, उसै त कांग्रेसीहरु पढ्दैपढ्दैनन् भन्ने छ, यहाँबाट साथीहरूले आजको जमानामा पार्टीको सिद्धान्त, आदर्श राम्रो छ भन्ने थाहा पाउँछन्, व्यापक बुझाउनु छ, मिडियालगायतका सम्पूर्ण साथीहरूमा बुझाउन सकियो भने सबैभन्दा पुरानो पार्टीले बहुमत ल्याउन सक्छ, सिद्धान्त र आदर्श धेरै महत्त्वपूर्ण र राम्रो छ,” उहाँले भन्नुभयो ।

सभापति देउवाले पुस्तकालय सञ्चालन र व्यवस्थापनले पार्टीलाई ऊर्जा मिल्ने धारणा राख्नुभयो । उपसभापति धनराज गुरुङले अध्ययनले ज्ञानको अभिवृद्धि हुने भएकाले अध्ययन बिना द्वन्द्व, झगडा र विनाशको शृङ्खला बढ्ने बताउनुभयो । उहाँले अध्ययनको कमीले गर्दा नेपाली राजनीतिमा ज्ञानको शृङ्खला घट्दै गएको र कांग्रेसले पुस्तकालय निर्माण गरेर यसलाई चिर्ने प्रयास गरेको बताउनुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय पार्टी विभागको काम गर्ने तरिका बदलिएको बताउनुभयो । पार्टीका विभाग सक्रिय भएका छन्, पार्टीको केन्द्रीय कार्यालय परिसर ज्ञानको मन्थनको केन्द्र हुनुपर्छ, ज्ञानको उत्पादनलाई परिणामसँग कसरी जोड्ने भनेर ध्यान दिएका छौँ, पुस्तकमाथि छलफल गर्ने हामीमाथिको प्रश्न र चुनौतीलाई चिर्न सक्नुपर्नेछ, पुराना कुरा इतिहासको संरक्षण गर्दै नयाँ समाजका नयाँ कुरालाई सिक्न र ग्रहण गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो ।

उहाँले आकर्षक पुस्तकालय निर्माण गर्न रु ६० लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउने व्यक्ति सम्पर्कमा नआएकाले यसका बाबजुद पनि रु एक करोडको कोष जम्मा भएको बताउनुभयो । उहाँले पार्टीको स्रोत र साहित्य सिर्जनाका कुराहरुमा काम गर्ने समेत विभागको काम रहेको भएकाले पार्टीमा योगदान गर्नेहरूको ग्रन्थ समेत प्रकाशन गर्ने सोच रहेको बताउनुभयो ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले पुस्तकालयलाई व्यवस्थित बनाउँदै पार्टीको विचार, आस्था र सिद्धान्तलाई परिस्कृत बनाउँदै नेपालको विभिन्न आन्दोलनमा नेपाली कांग्रेसले पु¥याएको योगदान हरेक नेपालीसम्म पु¥याउँदै सकारात्मक सन्देश दिन ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्वेले नेपाली कांग्रेसले सबैलाई आफ्नो विचारमा सशक्त बनाउन पुस्तकालय तथा स्रोत केन्द्रमार्फत प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।

पार्टी कोषाध्यक्ष उमेश श्रेष्ठले प्रबुद्ध व्यक्तिहरुलाई पार्टी कार्यालयमा बोलाएर बहसको शृङ्खला चलाएर गतिशील बनाइरहेको बताउँदै संस्थागत कोष अभिवृद्धिमा जोड दिनुभयो । उहाँले पार्टी कार्यालयलाई बहसको थलो बनाएर राम्रो र सकारात्मक कुराहरुको प्रवर्द्धन गर्न आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयोे ।

पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख एवं केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले २०८१ साल साउन २२ गते विभाग गठन भई काम अगाडि बढेको बताउँदै नेपाली कांग्रेस मतदाता र शुभेच्छुकको बलमा सञ्चालन भएको बताउनुभयो ।

कार्यक्रममा सभापति देउवाले ग्रीनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले प्रकाशन गर्नुभएको पुस्तक विमोचन गर्नुभएको थियो । उहाँले पुस्तकालय सञ्चालनमा योगदान पु¥याउने प्रताप पौडेल, युवराज पाण्डे, शङ्कर तिवारी, मनोजमणि आचार्य, रागभ आचार्य, दिलबहादुर महर्जनलगायतलाई सम्मान गर्नुभएको थियोे ।

‘सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ’ – सिके राउत

बारा, ५ साउन: जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गर्नुभएको छ ।

बारा सदरमुकाम कलैयामा आज आयोजित बृहत् पार्टी प्रवेश तथा सभा कार्यक्रममा उहाँले देशमा सङ्घीयता आए पनि विभिन्न प्रकारले कमजोर पार्नका लागि ठूला पार्टी नै लागि आरोप लगाउनुभयो ।

“सङ्घीयता आए पनि प्रदेशमा आफ्नो प्रहरी प्रशासन छैन । सङ्घ सरकारकै मातहतमा कर्मचारी, प्रहरी प्रशासन रहेकाले प्रदेश सरकारले चाहेअनुसार काम गर्न नसक्ने अवस्था छ”, अध्यक्ष राउतले भन्नुभयो,“सङ्घीयताका लागि सरकार र देशका ठूला पार्टीहरूकै राम्रो भूमिका खेद्यन सकेनन् ।”

उहाँले तराई मधेसको हकअधिकारलाई स्थापित गर्न यहाँबाट प्रतिनिधित्व गर्ने सबै दल एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष डा राउतले संंविधान संशोधनको माध्यमबाट तराई मधेसलगायत देशका समस्या सम्बोधन गर्न अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले सरकारले जनतामा आशा जगाउने गरी आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो । “नेपाली जनताको आशा र भरोसा गरेका कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । यसले जनतामा रहेको निरासा हटाउने गरी काम गर्नुपर्छ, तर हालको भूमिका राम्रो नभएका हाम्रो बुझाई छ”, डा राउतले भन्नुभयो ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गठबन्धन सरकार भएको कारण मधेसमा चाहेजस्तो विकास गर्न नसकिएको धारणा राख्नुभयो । विविध समस्याका बाबजुत प्रदेश सरकार मधेसी जनताको विकासको चाहना र अधिकार रक्षाका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष शवनाथ पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य प्रमोद गुप्ता, मधेस प्रदेशसभाका निवर्तमान सदस्य पारस साहलगायत विभिन्न पार्टीका नेता कार्यकर्ता जनमतमा प्रवेश गरेका छन् ।

नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ ५ साउन : नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालय, बढुवा समिति सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको हो । बढुवा सिफारिस हुनेमा तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयाल हुनुहुन्छ ।

उहाँहरूलाई प्रहरी नियमावली, २०७१ को नियम (२७) को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य–सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ता

चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी) ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए ।

सन् २०२५ जुनसम्ममा चीनमा इन्टरनेट पहुँच ७९ दशमलव सात प्रतिशत पुगेको छ । यो सन् २०२४ डिसेम्बरको तुलनामा एक दशमलव एक प्रतिशत विन्दुले वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार १४औँ पञ्चवर्षीय योजना अवधि (२०२१–२०२५) मा चीनले इन्टरनेट विकासमा उल्लेखनीय प्रगति गरेको छ । विशेष गरी, इन्टरनेटलाई थप समावेशी बनाउने प्रयासहरूले वृद्ध र ग्रामीण बासिन्दाहरू जस्ता प्रमुख समूहहरूलाई यस प्रगतिको फाइदामा साझेदारी गर्न अनुमति दिएको छ ।

सन् २०२५ जुनसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिका १६ करोड १० लाख इन्टरनेट प्रयोगकर्ताहरू थिए र ३२ करोड २० लाख ग्रामीण क्षेत्रमा बसोबास गर्थे । यी समूहहरूमा इन्टरनेट पहुँच क्रमशः ५२ प्रतिशत र ६९ दशमलव दुई प्रतिशत पुगेको छ ।

यसैबीच, चीनमा इन्टरनेटको निरन्तर विकासले चिनियाँ संस्कृतिलाई घरेलु र अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको चिनियाँ अनलाइन साहित्य र खेलहरूको बढ्दो निर्यातका साथसाथै लोकप्रिय वेब सिरिज र सम्बन्धित पर्यटन गन्तव्यहरू बीचको बढ्दो तालमेलको उदाहरण दिँदै प्रतिवेदनमा भनिएको छ ।

बङ्गलादेशको ढाकामा लडाकु विमान दुर्घटना, १६ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।
चिनियाँ निर्मित एफ–७ बीजेआई (एफ–७ बीजेआई) लडाकु विमान दिउँसो १ः०६ बजे प्रशिक्षणका लागि उडेपछि केही समयमै ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको क्याम्पसमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जसमध्ये ८३ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । घटनास्थलमा तत्कालै उद्धार कार्य सुरू गरिएको थियो र आगलागी नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा दमकलकर्मीहरूले अथक प्रयास गरेका थिए ।
एक जना विद्यार्थी शफिउर रहमान शफीले भन्नुभयो,“हामी खेलमैदानमा थियौं । अचानक ठूलो आवाज आयो, जमिन काम्पियो, अनि विमान खसेको थाहा पाइयो । त्यसपछि आगो लाग्यो र केहीबेरमै सेना आइपुगे ।”

सरकारले मंगलबारलाई राष्ट्रिय शोक दिवस घोषणा गरेको छ । घाइतेहरूको उपचार भइरहेको छ भने मृतक विद्यार्थीहरूको परिवारजना अहिले गहिरो शोकमा छन् । अभिभावकहरूले अस्पताल पुगेर आफ्ना बालबालिकाको पहिचान गर्न प्रयास गरिरहेका छन् ।

अन्तरिम प्रधानमन्त्री मुहम्मद युनुसले एक सन्देशमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै लेख्नुभएको छ,“वायुसेना, विद्यार्थी, शिक्षक, अभिभावक र मिलस्टोन स्कुलका कर्मचारीहरूमाथि परेको यो क्षति अपूरणीय छ । यो सम्पूर्ण राष्ट्रका लागि अत्यन्त पीडादायक क्षण हो ।”

बंगलादेशमा यसअघिको सबैभन्दा ठूलो विमान दुर्घटना सन् १९८४ मा भएको थियो, जसमा ४९ जनाको ज्यान गएको थियो ।

अफगानिस्तानमा बालबालिकालाई लक्षित गर्दै पोलियो खोप अभियान सुरु

अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ ।सोमबारदेखि बिहीबारसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत देशका ३४ मध्ये १९ प्रान्तमा पाँच वर्षमुनिका करिब ७३ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप प्रदान गरिनेछ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरखेलले जानकारी दिँदै भन्नुभयो,“संक्रामक रोगको नियन्त्रणमा स्वास्थ्य मन्त्रालय प्रतिबद्ध छ। यस अभियानमार्फत हामी देशभर पोलियो फैलिन नदिन सबै आवश्यक उपाय अपनाउँदै छौं ।”

उहाँले समुदायका अगुवा, धार्मिक विद्वान तथा अभिभावकहरूलाई खोप कार्यान्वयनमा पूर्ण सहकार्य गर्न आग्रह गर्नुभयो। उहाँले थप भन्नुभयो,“बालबालिकाको उज्वल भविष्य सुनिश्चित गर्न हामी सबैको सहकार्य आवश्यक छ ।”
स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई पोलियो खोप अभियानमा सक्रिय सहभागिता जनाई, स्वास्थ्यकर्मीहरूसँग सहकार्य गर्न अनुरोध गरेको छ ।

पब्जी ‘इ-स्पोर्ट्स  विश्वकप’मा नेपालले भाग लिँदै

काठमाडौँ, ५ साउनः नेपालको ‘टिम होरा इ—स्पोर्ट्स’ले साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाईल इ—स्पोर्ट्स विश्वकपमा सहभागिता जनाउने भएको छ ।
यही साउन ९ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाली पब्जी टोलीले भाग लिन लागेको इ-स्पोर्ट्स सङ्घ नेपाल (ईशान)द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । सङ्घका अध्यक्ष अन्जन धमला, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पब्जी मोबाइल इ–स्पोर्ट्स विश्वकप खेल्ने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
सदस्य सचिव घिसिङले इ-स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको भन्दै विदेशी भूमिमा नेपाली खेलाडीले राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पब्जी टोलीमा खेलाडीको रूपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, टोलीको व्यवस्थापकमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।
काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होरा विश्वकपमा छनोट भएको थियो ।

यस्ता छन् कृषिमन्त्री रामनाथ अधिकारीका बर्ष दिनका उपलब्धिहरु

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरि कृषकहरुलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधारहरु भएको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक वर्षमा भएका प्रमुख उपलब्धिहरु सार्वजनिक गर्दै मन्त्री अधिकारीले मन्त्रालयले कृषि उत्पादन उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानहरूको जीवनस्तर सुधार लाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गरेका हुन् ।

मन्त्री अधिकारीले भने, ‘यो अवधीमा आफ्नो सोच अनुरुपका सबै काम गर्न नसके पनि मुलुकको समग्र कृषि क्षेत्रको सुधार र किसानका पक्षमा रहेको यस अवधिमा म र मन्त्रालय मार्फत भएका निर्णयहरुले पनि पुष्टि गरेको छ ।’

यस अवधीमा विगत लामो समयदेखि समस्याका रुपमा रहेको रासायनिक मल खरिद तथा वितरणलाई सहज बनाउन नीतिगत पहल गरिएको, जसमा रासायनिक मल खरिद सम्बन्धी नियमावली संशोधन र मल वितरण सम्बन्धी कार्यविधी संशोधन गरिएको साथै यसबाट मल आपूर्ती तथा वितरण व्यावस्थापनमा देखिएका समस्या सम्बोधन हुने अपेक्षा राखेको मन्त्री अधिकारीले उल्लेख गरे ।
विगत सात वर्षदेखि बल्झिरहेको नेपाल कृषि सेवातर्फका कर्मचारीहरुको समायोजन अनुसारको संगठन संरचनामा आवश्यक सुधार गरी १२९ नयाँ दरबन्दी थप गरि संगठन सुदृढ तथा व्यवस्थापन गरिएका,बीउ विजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको, कृषि तथा पशुपन्छी विमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको जस्ता यस अवधीमा गरिएका कामहरु मन्त्री अधिकारीले बताए ।

त्यस्तै कृषि क्षेत्रको एकिकृत कानुनको रुपमा रहेको कृषि विधयेक तथा राष्ट्रिय कृषि नीति तर्जुमा भैइ मन्त्री परिषद्मा लैजाने अन्तिम तयारी रहेको, त्यसैगरि पशु कल्याण ऐनलाई पनि अन्तिम रुप दिइएको पनि मन्त्री अधिकारीले जानकारी गराए । केही वर्ष देखि थन्किएर रहेको खाद्य गुणस्तर परीक्षण गर्ने चारवटा मोबाइल भ्यान संचालनमा आएको बताए ।

मन्त्री अधिकारीले उल्लेख गरेका प्रमुख उपलब्धिहरु यस्ता छन ः
जीवनाशक विषादीको गुणस्तर परीक्षण तथा अनुसन्धान प्रयोगशाला संचालनार्थ क्वारेन्टाइन केन्द्र, प्रदेश सरकार, विश्वविद्यालय लगायत सरोकारवाला संस्थाहरूसँग परामर्श र समन्वय गर्नेगरी आवश्यक संरचना, मोडेल र कार्यक्रमबारे नीतिगत निर्णय भई प्रक्रिया अघि बढाइएको छ ।

दुग्ध विकास संस्थान ९डिडिसी० सम्बन्धी अध्ययन गरी पूर्नसंरचना एंव व्यवसायीक सूधारका लागि २३ बूँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ।चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजिकरण सम्बन्धी कार्य गरिएको छ ।

खोरेत रोग मुक्त क्षेत्र घोषणागर्न संघीय सरकार र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको ईलाम जिल्लाका ३ वटा क्षेत्रमा जोनिङ्ग तथा कम्पार्टमेन्टलाईजेसन कार्य थालनी भएको छ। यसबाट पशुजन्य पदार्थ ९मासु, दुध, छुर्पी, घिऊ० को अन्तराष्ट्रिय बजार पहिचान गर्न महत्वपूर्ण रहने विश्वास लिएको छु ।

रैथाने बालीको संरक्षण ,प्रर्वद्धन एंव यसको महत्वको प्रचार प्रसार गर्न मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदको बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

यस अघि हिमाली क्षेत्रको आनुवंशिक स्रोत तथा र्दुलभ हुदै गएको याकको संरक्षणका लागि बैशाख ७ गतेलाई याक दिवसको रुपमा मनाउने घोषण गरि पहिलो राष्ट्रिय याक दिवस मनाइएको छ।

बीउ बिजनसँग सम्बन्धित दर्ता, अनुमतीपत्र नवीकरण ,प्रमाणीकरण लगायतका कार्य अनलाइन मार्फत संचालन भई कार्यसम्पादन छिटो, छरितो र लागत प्रभावकारी बनाईएको छ । गत मंसिर देखि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला अन्तर्गत पाँच वटा पशुपन्छी रोग प्रयोगशालाहरुमा ल्याबरेटोरी ईन्फ्रमेसन म्यानेजमेन्ट सिस्टम सुचारु भएका छन् ।

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न विधामा ७ प्रदेशका १४ जना उत्कृष्ट किसानलाई राष्ट्रिय उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित गरिएको छ। यसले कृषि पेशालाई सम्मानित बनाउन एवं युवा जनशक्तिलाई कृषि उद्यम प्रति उत्प्रेरित गर्ने मेरो बुझाई रहेको छ ।
त्यस्तै मन्त्रालय अन्तर्गतका निकायहरुमा नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा लामो समयदेखि रिक्त रहेका नेतृत्वदायी पदहरुमा सबल नेतृत्व प्रदान गरिएको छ ।

चालु आर्थिक वर्षका केही प्रमुख कार्यक्रम ,
चालु आर्थिक वर्षमा बाँदर लगायतका कृषि हानिकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम¸बाच्छी मात्र जन्मने विर्य (सेक्सड सिमेन) प्रविधि लागु गर्ने कार्यक्रम, प्रांगारिक कृषि प्रवद्र्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, निर्यातजन्य बाली÷वस्तुहरु जस्तैः चिया, कफी, अलैंची, छुर्पी, आदिको उत्पादन वृद्धि, प्रांगारिक प्रमाणीकरण र निर्यात सहजीकरण जस्ता केही नवीन र परिणाममुखी कार्यक्रमहरू अघि सारेका छौँ । यसले कृषकको जीवनस्तर सुधारसँगै राष्ट्रिय कृषि प्रणालीलाई दीगो, व्यावसायिक र निर्यातमुखी बनाउन सघाउने विश्वास लिएको छ ।

गठबन्धनको भावना अनुसार सरकारले काम गर्नुपर्ने कांग्रेस नेताहरुको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका नेताहरूले छलफल गरेका छन् । सोमबार कांग्रेसबाट सरकारको नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री समेत रहेका प्रकाशमान सिंहको निवासमा कांग्रेस संस्थापन पक्षको बैठक बसेको हो ।

उक्त बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता कृष्णप्रसाद सिटौलाले गठबन्धनको भावना अनुसार सरकारले जनताको पक्षमा काम गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको बताए । उनले सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्ने समेत बताए ।

उनले भने, ‘देशको समसामयिक राजनीतिक परिस्थितका बारेमा छलफल गर्यौं । सरकारले प्रभावकारी ढंगले जनताको हितमा काम गर्न सक्नुपर्छ भनेर हामीले नेपाली कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भनेका छौं । गठबन्धनको भावनालाई कायम राख्नुपर्छ, यो गठबन्धन ०८४ को निर्वाचनसम्मै जान्छ । त्यो जानेगरी विश्वासका आधारमा काम गर्नुपर्छ ।’

साथै उनले आजको बैठकको निष्कर्ष मन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीसँग पनि कुरा गर्ने बताए । गठबन्धन निर्माण हुँदा सहमति अनुसार दुई दलबीच भएको संविधान संशोधनको विषय अगाडि नबढेको समेत बैठकले निष्कर्ष निकालेको छ ।

‘काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक’ :सभापति देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सबै जातजाती र समुदायको समर्थन काङ्ग्रेसले प्राप्त गर्ने हो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्ने बताएका छन् । सोमबार नेपाली काङ्ग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले पुस्तकालय स्थापना र सञ्चालनमा सहयोग गर्ने दाताहरुलाई सम्मान पत्र वितरण गर्न आयोजित कार्यक्रममा उनले काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सबैको साथ आवश्यक रहेको भन्दै त्यसको लागि पुस्तकालयको पनि भूमिका हुने बताए ।

उनले भने, ‘नेपालमा काङ्ग्रेस मात्रै एउटा ठूलो पार्टीको रुपमा छँदैछ । अझ बहुमत प्राप्त गर्ने पार्टी पनि हुन सक्छ । यद्यपी अहिलेको समानुपातिक समावेशीतामा आधारित जुन व्यवस्था छ । सबैलाई समावेश गर्ने खालको व्यवस्था छ । सबै जातजाती, समुदायको समर्थन प्राप्त गर्न सक्यो भने बहुमत प्राप्त गर्न सक्ने पार्टी बन्न सक्छौ । यसमा यो पुस्तकालयले ठूलो भूमिका खेल्न सक्छ ।’साथै, उनले यस पुस्तकालयमा रहेका किताबहरु एकदमै बहुमूल्य भएको भन्दै पार्टीको सिद्धान्त र आदर्श पुस्तकालयमार्फत सबैलाई बुझाउन सक्नुपर्ने बताए ।

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

काठमाडौँ, ५ साउन: नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

पार्टी अध्यक्ष ओलीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आआफ्ना धारणा राख्ने क्रम सुरु भएको हो ।

अध्यक्ष ओलीले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रचार विभाग प्रमुख गौतमका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यले विधान संशोधनका विषयमा धारणा राख्न सुरु भएको छ ।

हालसम्म केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राखिसक्नुभएको छ ।

उहाँहरूले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संसोधन प्रस्तावलाई समर्थन गरेका छन् । त्यसक्रममा केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताउनुभयो ।केन्द्रीय सदस्य पहारीले अध्यक्ष ओलीको नेतृत्वमा एमालेले मिसन ०८४ मा बहुमत ल्याउनुपर्ने बताउनुभयो ।आजदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।

कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन् पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै पूरानो, थोत्रो, खराब र मूल्यहीन हो भन्ने कुरालाई चिर्नु रहेको बताए ।

समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पूरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनको भनाइ थियो । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर कांग्रेस अघि बढिरहेको उनको भनाइ थियो ।

‘आज नेपाली कांग्रेसका लागि चुनौती भनेकै पार्टी पुरानो, थोत्रो भयो भन्ने भाष्यलाई चिर्नु हो । पार्टीलाई मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ । त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । विचारको मन्थन हुनुपर्छ,’ उनले अगाडि भने,‘हामी कसैको निम्तालु भएर जाने होइन, हामीले पो कसैलाई निम्तालु बनाएर बोलाउने हो । छलफल र बहस गर्ने विषय यही नै हो ।’

त्यस क्रममा नेपाली कांग्रेस भित्र एउटा व्यवस्थित पुस्तकालय बन्न जरुरी थियो त्यो बनेको जिकिर गरे । विभागीय प्रमुख अजयबाबु शिवाकोटीको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीलाई योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

एनआरएनए मलेसियामा एकता अधिवेशन गर्न सहमति, ३० र ३१ अगष्टमा एकताको अधिवेशन

मलेसिया – मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अधिवेशन ३० र ३१ अगष्ट, २०२५ मा गर्न सहमति जुटेको छ ।शनिबार क्वालालम्पुरस्थित होटल ग्रान्ड कन्टिनेन्टलमा आयोजित ‘एकताको निम्ति बृहत् भेला’ मा एकताको अधिवेशन गर्न सहमति जुटेको हो । मलेसियामा रहेका विभिन्न संघसंस्था, गैर आवासीय नेपाली संघ मलेसियाका संरक्षक, पूर्व अध्यक्ष, पदाधिकारी तथा विभिन्न संघ संगठनको सहमतिमा मिति तय गरिएको हो । उक्त सहमतिपछि एनआरएनए मलेसियामा देखिएको विवाद अन्त्य भएको र संस्था अब एकजुट भएको आइसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।
सहमति अनुसार ३०–३१ अगष्ट, २०२५ मा अधिवेशन हुने, २१ जुलाईदेखि लागु हुने गरी दुई हप्ताभित्र नयाँ सदस्यता वितरण तथा नवीकरण गरि सक्नु पर्ने र सदस्यता शुल्क २० रिङ्गेट प्रतिव्यक्ति तोकिएको छ ।

‘एकताको निम्ति बृहत भेला’ लाई सम्बोधन गर्दै एनआरएनए आईसीसी उपाध्यक्ष खगेन्द्र न्यौपानेले संस्था फुट्न नदिई सबैलाई समेटेर एकीकृत रूपमा अधिवेशन गर्नुपर्ने बताए । मलेसियाले विश्वभरका एनआरएनएलाई सकारात्मक सन्देश दिएको उनले बताए । उनले केन्द्रमा जेसुकै विवाद रहे पनि मलेसियामा आपसी मेलमिलाप र एकता अपरिहार्य रहेको बताए । “एनसिसि कुनै गुटको होइन । सबै देशका एनसीसीहरु सर्वाधिकार हुन्छन् । मलेसियामा रहेका सबै संघसंस्था र राजनीतिक दलहरू मिलेर साझा अधिवेशन गर्नुपर्छ,” न्यौपानेले स्पष्ट पारे ।

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष विनोद थापाले समस्याको समाधान संवादमार्फत खोज्नुपर्ने आवश्यकता औंल्याए । “समस्या आयो भन्दैमा तिललाई पहाड बनाउनु हुन्न,” उनले भने, “एक अर्कामाथि दोषारोपण गर्नुको सट्टा समाधानतर्फ अघि बढ्नु पर्थ्यो। “अहिले त्यो भएकोले आफू खुशी रहेको उनले बताए ।
एनआरएनए मलेसियाका संरक्षक शंकरबहादुर पौडेलले नेपाली समाजमा आपसी सहयोग, भ्रातृत्व र एकताको संस्कृति रहेको भन्दै एनआरएनएमा पनि त्यही भावना झल्किनुपर्ने बताए ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेश महतोले पनि बृहत् भेलाको निर्णयप्रति सहमति जनाउँदै विगतका कटु अनुभवहरू बिर्सेर संस्थालाई अघि बढाउनुपर्ने धारणा राखे । समाजभन्दा बाहिर कोही जान सक्दैन, त्यसैले आफुहरु सबै सहमतिमा आएको उनले बताए ।

संस्थाका उपाध्यक्ष इन्द्रबहादुर लिम्बूले दुई अध्यक्षबीच पालैपालो नेतृत्व दिने समझदारी अनुसार अघिल्लो अधिवेशन सम्पन्न भएको भए पनि कार्यान्वयनमा कमजोरी हुँदा समस्या उत्पन्न भएको बताए । “अब विगत कोट्याउने होइन, संस्था समृद्ध बनाउनेतर्फ लागौं,” उनले सुझाव दिए ।

मलेसियाका लागि नेपालका पर्यटन दुत एवं रास्वपा मलेसियाका संयोजक नेत्र केसिले एनआरएनए मलेसियामा नयाँ ऊर्जा र एकताका साथ सहमति भएकोमा खुशी व्यक्त गर्दै अब थप उर्जाका साथ अघि बढ्न आह्वान गरे ।

नेकपा एमाले मलेसियाका अध्यक्ष दयाराम कुमालले केही व्यक्तिका कारण संस्था कमजोर बनिरहेको टिप्पणी गर्दै अब फुट होइन, मिलनको मार्ग अपनाउनुपर्ने आवश्यकतालाई औल्याउँदै संस्था एकजुट भएर अगाडि बढेकोमा आफू खुशी भएको बताए ।
नेकपा माओवादी केन्द्र मलेसियाका अध्यक्ष प्रेम पाण्डेले संवाद नै समस्याको स्थायी समाधान भएको जनाउँदै एनआरएनएको गरिमा कायम राख्न सबैको भूमिका अपरिहार्य रहेको बताए । उनले अहिले देखिएको समस्या समाधान भएकोमा आफू खुशी रहेको बताए ।

एनआरएन मलेसियाका युवा संयोजक राजु लामा, राष्ट्रिय युवा संघ नेपालका प्रतिनिधि मोहन घिमिरे, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, नेकपा एमाले मलेसियाका निवर्तमान अध्यक्ष एबम व्यवसायी शेरबहादुर गुरुङ, व्यवसायी विजय मण्डल, एनआरएनए मलेसियाका उपाध्यक्ष दिलकुमार केरुङ लगायतका वक्ताले साझा मञ्चमार्फत एनआरएनए मलेसियामा नयाँ ऊर्जासहित एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए ।

आइतबार भएको सहमतिअनुसार अध्यक्ष राकेश महतोको संयोजकत्वमा अधिवेशन समिति गठन गरिने र भब्यताकासाथ अधिवेशन सम्पन्न गराउन जिम्मा दिइएको छ । उक्त सहमतिपत्रमा मलेसियामा रहेका सबै संस्थाले हस्ताक्षर गरेका छन् ।

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना गर्ने भएको छ ।
एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसिसीका महासचिव बाबुराम (बी आर) लामाले जानकारी दिए । नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने संघले जनाएको छ ।

सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने महासचिव लामाले बताए ।यसैगरी अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अध्यक्ष श्रेष्ठको अगस्टमा हुने युरोप भ्रमण पनि स्वीकृत गरेको छ । अगस्टमै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको र सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिने संघका प्रवक्ता गंगाधर गौतमले बताए । यस्तै सेप्टेम्बरमा आइसिसीले विशेषा साधारण सभा गर्ने निर्णय पनि गरेको छ । युएईमा सेप्टेम्बर २१ मा साधरणासभा गरी विधानमा अहिले देखिएका वाधाहरू फुकाइने संघले जनाएको छ ।

पहिरोले घर खेत बगाएपछि विस्थापित भएका बोहराको दुई दशकदेखि राजमार्गको पुलमुनि बास

दोधारा चाँदनी (कञ्चनपुर), ५ साउन : यहाँको शुक्लाफाँटा नगरपालिका–११ का दलबहादुर बोहरा दुई दशकदेखि पूर्वपश्चिम राजमार्गको बनहरा पुलमुनि बस्दै आउनुभएको छ । डडेल्धुराको आलितालमा पहिरोले घर खेत बगाएपछि विस्थापित हुनुभएका बोहरा विसं २०६२ देखि बनहरा पुलको ओत लागेर बस्न थाल्नुभएको हो । “सम्पत्तिका नाममा केही छैन गरिखान मजदुरी गर्न कहिले मिल्छ कहिले मिल्दैन ।” बोहराले दुःखेसो गर्दै भन्नुभयो, “यो पुलमुनि ओत लागेर बस्न थालेको २० वर्ष भयो ।”

बोहरा मात्रै होइनन् । २८ परिवारले पुलमुनि जीवन बिताउँदै आएका छन् । यहाँ बसोबास गर्नेले पुल छेउमै पाल टाँगेर टहरा बनाएका छन् । बनहरा नदीमा आउने बाढीबाट बच्न अग्लो स्थानमा पाल टाँगेर अस्थायी रुपमा बस्ने ठाउँ बनाएको बोहराको भनाइ छ । “हिउँदमा जेनतेन दिन बित्छ तर वर्षादको समय निकै कष्टपूर्ण हुन्छ ।” उहाँले भन्नुभयो, “बाढी आउने डरले राजमार्गको अग्लो स्थानमा पाल टाँगेर बसेका छौँ ।”

उहाँले मुलुकमा व्यवस्था परिवर्तन भए पनि सरकारले आफूहरुको सुरक्षित बासको व्यवस्था गर्न नसकेको गुनासो गर्नुुभयो । “वर्षादमा बाढीको डर, जङ्गली जनावरको र सर्पको डरैडरमा बस्नुपरेको छ, बालबच्चा जोगाउनै मुस्किल छ ।” उहाँले भन्नुभयो, “गाउँगाउँमा सिंहदरबार आयो भन्छन् हामीले त्यो महसुस गरेका छैनौँ ।”

राजमार्ग छेउमै टहरा बनाएर बस्नुभएका लक्ष्मण विष्टको अवस्था उस्तै छ । “राजमार्गमा सङ्घीयदेखि स्थानीय तहका जिम्मेवार पदाधिकारी गाडीमा ओहरदोहर गरिरहन्छन् । हाम्रो पीडा कसैले बुझदैनन्”, विष्टले भन्नुभयो, “वडा र नगरपालिकामा हामीलाई सुरक्षित बासको व्यवस्था गरिदेउ भन्छौँ कसैले सुन्दैनन् ।” उहाँले सरकारले आफूहरुको सुरक्षित स्थानमा बस्ने व्यवस्थापन गरिदिए मजदुरी गरेर जीविकोपार्जन गर्ने बताउनुभयो ।

प्राय ः मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका सुकुम्वासी पछिल्लो समय मजदुरी गर्न नपाएको गुनासो गर्छन् । “म १७ वर्षको उमेरमा रोजगारीका लागि भारत गएको हुँ । त्यहाँ केही सीप नचलेर यहाँ आएँ”, सुकुम्वासी बस्तीका प्रेमबहादुर साउदले भन्नुभयो, “अहिले यहाँ मजदुरी गराँै भने पनि पाइँदैन परिवारको साँझ बिहानको छाक टार्ने मुस्किल छ ।” उहाँ १३ वर्ष भारतमा मजदुरी गरेर नेपाल फर्किनुभएको हो ।

दुई दशकदेखि घनघोर जङ्गल र पुलको छेउमा बसोबास गर्दै आए पनि आफूहरुको पुनःस्थापनाको चासो सरकारले नदिएको उहाँको गुनासो छ । त्यसैगरी यहाँ बस्दै आउनुभएका तुलाराम बोहराले सुरक्षित बसोबासको आश गरेको दुई दशक बितेको छ ।

निर्वाचनका समयमा आउने नेताहरुले सुरक्षित बसोबासको व्यवस्था गर्ने बाचा गरेको एक दशक बितेको उहाँ बताउनुहुन्छ । “आश्वासन दिएर जान्छन् । त्यसपछि अर्को निर्वाचनसम्म देखिदैनन्”, उहाँले भन्नुभयो, “यहाँका बालबालिकाले विद्यालय जान पाएका छैनन् ।” सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने भने पनि विभिन्न बहानामा लिइने शुल्क तिर्न नसक्दा यहाँका बालबालिका पढाइबाट वञ्जित छन् । शुक्लाफाँटा नगरपालिकाले सुकुम्वासीहरुलाई निस्सा वितरण गरे पनि आवासका लागि जग्गा उपलब्ध गराउन सकेको छैन ।

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

काठमाडौँ ५ साउन : काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिनुभयो । तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिनुभयो ।

रसुवा बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

काठमाडौँ, ५ साउन : रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । नेको इन्स्योरेन्समा रु पाँच करोड २० लाख बराबरको तीन वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा रु तीन करोड ४१ लाख ५० हजार बराबरको सात वटा दाबी परेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा रु एक करोड २८ लाख ५० हजार बराबरको १२ वटा, सानिमा जीआइसी इन्स्योरेन्समा रु ७७ लाख बराबरको छ वटा, आइजीआई प्रूडेन्सियलमा रु ७५ लाख ५० हजार बराबरको नौ वटा बिमा दाबीको आवेदन परेको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी युनाइटेड अजोडमा रु ६८ लाख बराबरको तीन वटा, एनएलजी इन्स्योरेन्समा रु ४७ लाख बराबरको छ वटा, सिद्धार्थ प्रिमियरमा रु ३१ लाख बराबरको सात वटा बिमा दाबी परेको छ । प्राधिकरणका अनुसार कूल ६३ वटा बिमा दाबी परेको छ ।

रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण नेपाल चीन जोड्ने मितेरी पुल, सीमामा अवस्थित निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय र आसपासमा पार्किङ गरिएका सवारीसाधन बगाएको थियो । रसुवागढी जलविद्युत् आयोजनालगायतका अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको थियो ।

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दैछ । सोमबार बिहान ११ बजे ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्ने भएको हो ।

बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

आजबाट सुरु भएको बैठकमा यसअघि सचिवालय र पोलिटब्यूरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमा छलफल हुनेछ । यो बैठक दुईदिन सम्म चल्ने छ ।

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढ्दै ,दैनिक १२ सर्पदंशका बिरामी

चितवन, ५ साउनः यहाँको भरतपुर अस्पतालमा विगत तीन महिनामा दुई सय ९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै यस अस्पतालमा सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।

अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाख ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । तीमध्ये पाँच जना विशालु सर्पले डसेका थिए । यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिनुभयो ।

यस अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) तनहुँ, गोरखा लमजुङ्देखिका आउने गरेका छन् । अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गरिने गरेको उहाँले बताउनुभयो ।

विशालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पहरुले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नशालाई असर पु¥याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उहाँले बताउनुभयो ।

विशालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमानै राखेर उपचार गरिँदै आएको छ । अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उहाँले बताउनुभयो ।

बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला

काठमाडौँ, ५ साउन : साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले सो जानकारी दिँदै दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमा गरी व्यवस्था मिलाएको बताउनुभयो ।

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो ।

साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ । साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

पशुपति क्षेत्रमा आउने भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ । कोषले यस वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई सेवा दिने कोषले जनाएको छ । यो सेवा साउनका चार वटै सोमबार निरन्तर रहने जनाइएको छ ।

साउनको पहिलो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं । साउनको पहिलो सोमबार आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । बिहानैदेखि पशुपति मन्दिरमा भक्तजनको घुंइचो देखिएको छ ।

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो । 

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

 

साउनको पहिलो सोमबार देवघाटमा स्नान गर्ने भक्तजनको घुइँचो

भरतपुर, ५ साउनः साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला पवित्र तीर्थस्थल देवघाटधालगायत चितवनका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा व्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाइ शिवको आराधना गरेर मनाउँछन् ।

धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजदेखि बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ ।

त्यसैले बिहान ४ बजेदेखि नै स्नान गर्न भक्तजनहरु देवघाटधाम आइपुगेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार साँझ आएका भक्तजनहरुले बिहान ४ बजे स्नान गरी शिवको पूजा गरी जल लिएर गएको र बिहान आएका भक्तजनहरुको अहिले देवघाटमा घुइँचो छ ।

देवघाटसँगै चितवनको भरतपुरस्थित महाकालेश्वर मन्दिर,कैलाशनाथ महादेव मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, कालिका, रत्ननगरलगायत क्षेत्रका शिवालयहरुमा पनि सोमबारे मेला अर्थात् बोलबम मेलामा भक्तजनहरु पूजाआजामा व्यस्त छन् । यो मेलालाई बोल ओम मेलाको रुपमासमेत मनाइन्छ । महिला तथा पुरुष व्रतालुहरु पहेँलो बस्त्र धारण गरी खाली खुट्टा स्नानका लागि देवघाट आएका छन् ।

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थलमा पर्ने देवघाटधाममा नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत झक्तजनहरु मेला भर्न आउँछन् । देवघाटमा अहिले धूमपान र मध्यपान निशेष गरिएको छ । यसवर्ष देवघाटलाई प्लाष्टिकमुक्त बनाउने अभियानका साथ निषेध गरिएको निर्देशक बरालले बताउनुभयो । उहाँले मेलामा आउँदा अबिर, अक्षता, धूपबत्ती ल्याउन प्रयोग गरिने प्लाष्टिकका कारण नदी प्रदूषित बनेको भन्दै आगामी दिनमा कडाइका साथ निषेध गरिने जानकारी दिनुभयो ।

देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने, परिवारमा शान्ति मिल्ने जनविश्वास रहेको स्थानीय मोहन पोखरेलले बताउनुभयो । साउनको पाँचैवटा सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ । यसरी चढाउँदा बिबाहिता महिलाहरुले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दछन्, भने अविवाहिता महिलाहरुले असल श्रीमान्को कामना गर्दछन् ।

यो समयमा महिलाहरु हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् । सम्भावित घटनालाई मध्यनजर गर्दै मेलामा प्रहरी तथा स्वयंसेवकसमेत परिचालन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यसवर्ष साउन महिनाभर देवघाट आउने भक्तजनको तथ्याङक सङ्कलनको कामसमेत गरिएको समितिले जनाएको छ ।

आईसीसीबाट अवार्ड पाएकोमा बधाई दिँदै प्रधानमन्त्रीले भने- नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले  सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको हो । “गत वर्ष हामीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड प्राप्त गरेका थियौँ ।

दोस्रो पटक पनि नेपाललाई यो अवार्ड प्राप्त भएको छ । नेपालीको नशा नशामा क्रिकेट छ । हामी सबैलाई बधाई !” प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ । सिङ्गापुरमा  भएको आइसिसीको वार्षिक सम्मेलनमा नेपाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।

डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

भेरीगङ्गा (सुर्खेत-सुर्खेतमा गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षमा डेङ्गीका कारण चार जनाको मृत्यु भएको छ । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार सुर्खेतमा गत आवमा एक हजार ८३७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा चार जना मृत्यु भएको हो ।

जनस्वास्थ्य सेवा कार्यालयका डेङ्गी रोग निवारण सम्पर्क व्यक्ति उदय बिसीले यहाँ रहेक वर्ष सङ्क्रमणको जोखिम बढ्दै गएको बताउनुभयो । आव २०७७/७८ मा ६३९ जना सङ्क्रमित भएकामा २०७८/७९ मा त्यो सङ्ख्या बढेर एक हजार ३२२ पुगेको र आव २०७९/८० मा एक हजार ४८४ जना सङ्क्रमित भएका उहाँले जानकारी दिनुभयो ।
आव २०८०/८१ मा भने सङ्क्रमण केही घरेको थियो । त्यस वर्ष ५७१ जनामा सङ्क्रमण देखिएको थियो ।

तीन नगरपालिका उच्च जोखिममा
यहाँका वीरेन्द्रनगर, पञ्चपुरी र गुर्भाकोट नगरपालिका डेङ्गीको उच्च जोखिममा छन् । जोखिमलाई मध्यनजर गरी ती क्षेत्रहरूमा सचेतना अभियान तीव्र पारिएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । विशेषगरी साउनदेखि कात्तिक महिनासम्मलाई सङ्क्रमणको संवेदनशील समय मानी ‘सचेतना महिना’का रूपमा कार्यक्रमहरू सञ्चालन गरिने सम्पर्क व्यक्ति बिसीले बताउनुभयो ।

“प्रत्येक शुक्रबार ‘सरसफाइ शुक्रबार’ नारासहित कार्यालय, विद्यालय र सामुदायिक ठाउँमा सरसफाइ तथा लामखुट्टेको प्रजननस्थल खोजी गरी नष्ट गरिने योजना रहेको उहाँले सुनाउनुभयो ।

स्थानीयले यस अभियानमा समुदायलाई सँगसँगै अगाडि बढाउन आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हर्षविक्रम खड्काले सहरका व्यावसायिक क्षेत्रहरूमा सरसफाइको ख्याल नगरेसम्म सङ्क्रमण नघट्ने भन्दै निजी क्षेत्रले पनि अभियानमा हातेमालो गर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका उपाध्यक्ष सुशील खड्काले सचेतना अभावले महामारीको रूप लिन सक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । उहाँले सञ्चारकर्मीहरूले जनचेतना अभिवृद्धि गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतकी प्रमुख करुणा भण्डारीले स्थानीय तहसँगको सहकार्यमा अभियानलाई प्रभावकारी बनाइने बताउनुभयो । यसका लागि टोल विकास समिति, नागरिक समाज र विद्यालयहरूसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम विस्तार गरिने कार्ययोजना बनाइएको उहाँले जानकारी दिनुभयो ।