`

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ८०, बन्दा (तराई) प्रतिकिलो रु ५५, बन्दा (नरिबल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु १४०, काउली तराई प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ७०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ५० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १००, तिते करेला प्रतिकिलो रु १८०, लौका प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु २४०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ५०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ८०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ९० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ४५, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १००, तरुल प्रतिकिलो रु ८०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३००, सिताके च्याउ प्रतिकेजी रु १,००० र कुरिलो प्रतिकिलो रु २,०५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १३०, चुकुन्दर प्रतिकिलो रु ८०, सजीवन प्रतिकेजी रु ४२०, रातो बन्दा प्रतिकिलो रु १००, जिरीको साग प्रतिकिलो रु १३०, गाँठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु २५०, पार्सले प्रतिकिलो रु ६००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५०, गुन्द्रुक प्रतिकिलो रु ४०० र रूखटमाटर प्रतिकेजी रु २६० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २८०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १८०, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु १४०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १२०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु १४०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ८५, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु ११०, लप्सी प्रतिकिलो रु किनु प्रतिकिलो रु १२०, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु १००, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ९०, भेडे खुर्सानी प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ६५०, हरियो लसुन प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २८०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २००, छ्यापी सुकेको प्रतिकिलो रु १६०, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण गरिएको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोलि (आइतबार) बस्ने भएको छ ।बैठक पार्टी सभापतिको निर्देशनअनुसार भोलि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ ।

पार्टीले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ।

देउवा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौं – शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बिहान बस्ने भएको छ ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक आज बिहान ८ बजेपछि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए ।

विशेष महाधिवेशन कुनै विवादको विषय थिएन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको स्पष्ट गर्दै विशेष महाधिवेशन कुनै विवादको विषय नभएको बताएका छन् ।सभापति थापाले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानून तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ । यसप्रति हामी आभारी छौ ।’

विज्ञप्तिमा नेपाली कांग्रेस कुनै एक नेताको चाहनाले नभई आम सदस्यको चाहनाले चल्ने पार्टी भएको दाबी गरिएको छ। विशेष महाधिवेशनमार्फत पार्टी आफ्ना मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्किएको र सुधार (रिफर्म) को यात्रा सुरु भइसकेको जनाइएको छ।

‘पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पार्टीभित्र गुट अन्त्य भइसकेको उल्लेख गर्दै अब गुटगत भागबण्डा नहुने पनि विज्ञप्ति मार्फत भनिएको छ। सबै तहका नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकताबद्ध रहन आग्रह गरिएको छ।

आगामी आर्थिक वर्षको बजेट लेख्न सुरु

काठमाडौं, माघ ३ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्ने गरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ७ मा वार्षिक बजेट बनाउँदा स्रोतको अनुमान र खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ । योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यम कालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत तथा गर्न सकिने खर्चको सीमाको पूर्वानुमान चालु आर्थिक वर्षको माघ मसान्तभित्र गरिसक्नुपर्ने व्यवस्था रहेको छ । यसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति छ । उक्त समितिलाई सहयोग गर्ने गरी अर्को प्राविधिक समिति बनाएर प्रारम्भिक काम थालिसकेको आयोगका सचिव रविलाल पन्थले जानकारी दिए ।

“प्राविधिक समितिको बैठक बसेर काम सुरु भइसकेको छ । समष्टिगत आर्थिक परिसूचकलाई विश्लेषण गरेर स्रोत अनुमान गर्नुपर्ने हुँदा नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय तथ्याङ्क कार्यालय, अर्थ मन्त्रालय तथा अन्य विषयगत मन्त्रालयसँग तथ्याङ्क र विवरण मागिएको छ”, उनले भने, “प्राविधिक समितिले स्रोत अनुमान समितिको बैठकका लागि तयारी गरिरहेको छ । कानुनले तोकेको समयभित्र बजेट सिलिङ पेस हुन्छ ।”

राष्ट्रिय स्रोत अनुमान समितिले माघ मसान्तसम्ममा स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरिसक्नुपर्ने र सो सम्बन्धी प्रतिवेदन प्रत्येक वर्षको फागुन ७ गतेभित्र अर्थमन्त्रीसमक्ष पेस गरिसक्नुपर्ने ऐनको व्यवस्था छ ।

स्रोत अनुमान समितिले आवधिक योजनामा प्रक्षेपित लगानी तथा वित्तीय आवश्यकताको आधारमा आगामी तीन आर्थिक वर्षको लागि सङ्घ, प्रदेश र स्थानीय तहको कुल राष्ट्रिय स्रोत अनुमान गर्नुपर्ने व्यवस्था रहेको छ । हाल कार्यान्वयनमा रहेको १६औँ पञ्चवर्षीय योजना कार्यान्वयन कार्ययोजना बनाएर मन्त्रिपरिषदमा पठाइएको पनि आयोगका सचिव पन्थले जानकारी दिए ।

स्रोत अनुमान गर्दा गत आर्थिक वर्षको आर्थिक र आर्थिक वर्षको छ महिनाको समष्टिगत आर्थिक परिसूचक, आगामी आर्थिक वर्षमा उपलब्ध हुनसक्ने राजस्व, विकास सहायता र आन्तरिक ऋणलगायतका सङ्घीय सञ्चित कोषमा जम्मा हुन सक्ने रकमका आधारमा वस्तुनिष्ठ भई स्रोतको अनुमान गर्नुपर्ने हुन्छ । त्यस्तै, स्रोतको अनुमान भएपछि चालु वर्षको मध्यम कालीन खर्च संरचनासमेतलाई दृष्टिगत गरी खर्चको सीमा निर्धारण गर्नुपर्ने व्यवस्था पनि ऐनमा रहेको छ । खर्चको सीमा निर्धारण गर्दा अनिवार्य दायित्व तथा जनाइएको प्रतिबद्धता बमोजिम भुक्तानी हुन बाँकी रकमसमेत समावेश गरी समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकुल असर नपर्ने गरी गर्नु पर्नेलगायतका विषयहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनमा राखिएका छन् ।

यसअघि आयोगले आयोगले आगामी आवका लागि सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रदेश र स्थानीय तहसँग प्रस्ताव माग गरिसकेको छ । प्रदेश तथा स्थानीय तहका लागि सङ्घीय सरकारबाट उपलब्ध हुने समपूरक तथा विशेष अनुदान लिनका लागि माघ मसान्तभित्रमा प्रस्ताव पेस गरिसक्नुपर्नेछ ।

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, माघ ३ । हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

काठमाडौंका यी स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं, माघ ३ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली कटौती गर्न लागेको हो ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले राष्ट्रपति भवन शितल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य गरिरहेको छ । यस्तै, भूमिगतकार्य सम्पन्न भइसकेका केबलमा प्राविधिक उपकरण जडानका लागि बिजुली कटौती हुन लागेको हो ।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट, पानी पोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, बिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसनधान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म बिजुली कटौती हुनेछ ।

सूचना अनुसार बालुवाटार, चुनदेवी, पञ्चकन्या आसपासका क्षेत्रसमेतमा सोही समयसम्म बिजुली कटौती हुनेछ । प्राधिकरणले बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा त्यसभन्दा पहिले पनि बिजुली आपूर्ति हुन सक्ने प्राधिकरणले उल्लेख गरेको छ ।

निर्वाचन सामग्री आपूर्तिका लागि १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं, माघ ३ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ ।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो ।

आयोगका अनुसार, यसरी छनोट भएका व्यवसायीक फर्ममा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि रहेका छन् । आयोगले हेलिकोप्टर सेवातर्फ पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भएपनि कुनै पनि फर्मले दर्ता गराएका छैनन् ।

यस्तै, ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउनका लागि ११ वटा फर्म सूचीकरण भएका छन् । आयोगका अनुसार यसरी दर्ता भएका सेवा प्रदायकमा हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट छन् ।

यस्तै, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स र एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि सूचीकृत भएका छन् ।

आयोगले गत पुस १७ गतेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनलाई तोकिएको शर्त र बार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती सेवाप्रदायक फर्मलाई सूचीकृत गरिएको जानकारी दिएको छ । ती सेवाप्रदायक संस्थालाई आयोगले निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गर्नेछ ।

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं, माघ ३ । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११२ रुपैयाँ ७० पैसा र बिक्रीदर ११३ रुपैयाँ १६ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ८२ पैसा र बिक्रीदर २० रुपैयाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४० रुपैयाँ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर ३९ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७८ रुपैयाँ ४३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ, २ माघ : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ । कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै आज एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको हो ।

“नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन, निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ”,  उहाँले भन्नुभयो ।  उहाँले कांग्रेसका सदस्य र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको उल्लेख गर्नुभयो ।

सभापति थापाले भन्नुभयो, “पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ, अब कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।” उहाँले विशेष महाधिवेशनमा सहभागी हुनुभएका र नहुनुभएका सबैलाई विधि विधानले प्रधानता पाएको र जय पराजयको विषय नभएको बताउनुभयो ।

“कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ, विश्वास र भरोसा राख्नुहोस् अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ”, सभापति थापाले भन्नुुभयो ।

उहाँले अहिलेको परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका सबैबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वाससमेत लिनुभयो ।

सभापति थापाले आजदेखि पार्टीभित्र गुट र भागबण्डा नहुने बताउनुभयो । जिम्मेवारी फरक भए पनि भुइ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उहाँको भनाइ छ । उहाँले कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै नभई आममानिसको सार्वजनिक पुँजी भएको बताउनुभयो ।

कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गर्नुभयो ।

कांग्रेस आमनेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्ने उहाँले बताउनुभयो । “एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ, अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन”, उहाँले भन्नुभयो, “सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ ।”

सभापति थापाले हिजोका दिनमा पार्टीका अग्रजले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिएजसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने बताउनुभयो । उहाँले यसका लागि सबैको थप साथ र विश्वास चाहिएको बताउनुभयो । उहाँले सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्नुभएको छ । उहाँले देशभरका नवयुवालगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन अपिल गर्नुभएको छ ।

देउवा नेतृत्व कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बिहान बस्ने

पाटन (ललितपुर), २ माघ : शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भोलि शनिबार बिहान ८ बस्ने भएको छ ।पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक भोलि २०८२ माघ ३ गते शनिबार बिहान ८ः०० बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।

पर्यटन क्षेत्रको विकास गर्न कोशी प्रदेश सरकार तयार : मुख्यमन्त्री कार्की

धरान (सुनसरी), २ माघ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी नदी किनारमा आधारित पर्यटन क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार लागिपर्ने बताउनुभएको छ ।पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा लोकप्रिय बन्दै गइरहेको सुनसरीको वराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोसी नदीको किनारमा रहेको ‘बोराबाध’ क्षेत्रको आज अवलोकनपछि मुख्यमन्त्री कार्कीले आधारभूत पूर्वाधार निर्माणमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“हामीसँग पर्यटनको अथाह सम्भावना छ, तर धेरै क्षेत्रहरूमा प्रारम्भिक कामसमेत हुन नसक्नु दुःखद् विषय हो,” उहाँले भन्नुभयो, “नगरपालिका र स्थानीय तह मिलेर कुनै स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको देख्दा खुसी लागेको छ ।”

प्रदेश सरकारले स्थानीय तह र निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विकास गर्ने नीति लिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र तीनै पक्ष मिलेरमात्र यस्ता क्षेत्रको दिगो विकास सम्भव हुने उहाँको भनाइ छ ।

आजदेखि चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट

कीर्तिपुर (काठमाडौँ), २ माघ : चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् ।केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो । माघ १ गते सार्वजनिक बिदा परेका कारण छुटको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।

हाल चन्द्रागिरि केबलकार चढ्नका लागि साधारण टिकटका लागि ८२५ रूपैयाँ तिर्नुपर्छ । यसअघि कम्पनीले चन्द्रागिरिस्थित केबलकारको बेसस्टेसन वरपरका एकदेखि पाँच वडाका बासिन्दालाई २५ प्रतिशत छुट दिइरहेको थियो । “एक वर्षअघि नगर कार्यपालिकाले सबै नगरवासीले अपनत्व लिनेगरी सम्पूर्ण नगरवासीलाई छुट दिलाउने पहल गर्ने निर्णय गरेपछि यस्तो छुटका लागि प्रयास सुरु भएको थियो”, नगरका प्रवक्ता एवं ३ नम्बर वडाका अध्यक्ष कृष्ण खड्गीले राससलाई बताउनुभयो ।

छुट प्राप्तिका लागि लाभग्राहीले आफू चन्द्रागिरि, थाहा वा इन्द्रसरोवरको स्थानीय भएको खुल्ने कागजात अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने र टिकट खरिदका क्रममा स्वयं उपस्थित हुनुपर्ने र सार्वजनिक बिदाका दिनहरूमा यस्तो छुट नपाइने व्यवस्था गरिएको छ ।

सबै नेता, कार्यकर्तालाई समेटेर अगाडि बढ्छौँ : उपभासपति शर्मा

काठमाडौँ, २ माघ : नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा भाग नलिएका सबै नेता कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनुभएको छ ।विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित हुनुभएका शर्माले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिता दिने निर्णय गरेसँगै केहीबेर अगाडि भिडियो सन्देश जारी गर्दै छुटेका नेता, कार्यकर्तालाई समेटेर जाने बताउनुभयो ।

नेपाली कांग्रेस अब नवीन ढङ्गले अगाडि बढ्ने उहाँको भनाइ थियो । उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई आत्मासात् गरेर पार्टीले अगाडि सारेको उदारवादी अर्थतन्त्रलाई आत्मसात् गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई एकपटक नबोलाई गरिएको निर्णय आफूहरूलाई मान्य नहुने बताउनुभयो । निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको उहाँको भनाइ छ ।उहाँले कांग्रेसको संस्थापन पक्ष कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने बताउनुभयो ।

मलेसियामा आर्थिक गति तीव्र, चौथो त्रैमासिकमा उल्लेखनीय वृद्धि

मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ । यो अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा यो जानकारी दिइएको हो ।

विभागका अनुसार ५.७ प्रतिशतको यो वृद्धिदर सन् २०२४ को दोस्रो त्रैमासिकपछि यताकै सबैभन्दा उच्च हो । सन् २०२५ पूरै वर्षको हिसाबले मलेसियाको अर्थतन्त्र ४.९ प्रतिशतले बढेको छ, जुन सन् २०२४ को ५.१ प्रतिशत वृद्धिदरको नजिक छ ।

चौथो त्रैमासिकमा देखिएको बलियो आर्थिक वृद्धिको मुख्य आधार सेवा क्षेत्र रह्यो, जसमा ५.४ प्रतिशतको वृद्धि भएको छ । यसमा थोक तथा खुद्रा व्यापार, यातायात तथा भण्डारण, साथै खाद्य पदार्थ, पेय पदार्थ र आवास उपक्षेत्रको योगदान उल्लेखनीय रहेको विभागले जनाएको छ ।
उत्पादन क्षेत्र ६ प्रतिशतले बढेको छ । यसमा विद्युतीय, इलेक्ट्रोनिक तथा अप्टिकल सामग्री, साथै वनस्पति तथा पशुजन्य तेल, बोसो र खाद्य प्रशोधन उद्योगले प्रमुख भूमिका खेलेका छन् ।
निर्माण क्षेत्रको वृद्धिदर ११.९ प्रतिशतमा कायम रहँदै सशक्त देखिएको छ । गैरआवासीय भवन निर्माण तथा विशेष निर्माण गतिविधिमा भएको तीव्रताले यस क्षेत्रलाई अघि बढाएको हो ।

कृषि क्षेत्रमा पनि उल्लेखनीय सुधार देखिएको छ । तेस्रो त्रैमासिकमा ०.४ प्रतिशत मात्र रहेको वृद्धिदर चौथो त्रैमासिकमा ५.१ प्रतिशत पुगेको छ । यसको मुख्य कारण तेलखजुर उत्पादनमा वृद्धि हुनु हो ।
यस्तै, खानी तथा उत्खनन क्षेत्रमा १.१ प्रतिशतको वृद्धि दर्ता गरिएको छ । कच्चा तेल तथा कन्डेन्सेट उत्पादन सुस्त रहेकाले यस क्षेत्रको वृद्धिदर सीमित रहेको विभागले जनाएको छ ।

चीन र क्यानडाबीच करदेखि र भिसासम्मका लागि ऐतिहासिक सहमति

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटनदेखि भिसा नियमसम्बन्धमा ऐतिहासिक सम्झौताका लागि सहमति भएको छ ।

क्यानाडाका प्रधानमन्त्री कार्नीले चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ अन्तर्गत ‘ऐतिहासिक सम्झौता’ भएको भन्दै यसका लागि चिनियाँ अधिकारीको प्रशंसा गर्नुभएको छ।

सम्झौताले वर्षौँदेखिको कुटनीतिक विवाद, एकअर्काका नागरिकहरूको प्रतिशोधात्मक गिरफ्तारी र विवाद अन्त्य गर्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका उत्पादनहरूमा आक्रामक रूपमा करवृद्धि गरेपछि कार्नीले आफ्नो देशको प्रमुख आर्थिक साझेदार र परम्परागत सहयोगी अमेरिकामाथिको निर्भरता कम गर्न खोजेका छन्।

“क्यानडा र चीनबीच व्यापार अवरोध हटाउन र करवृद्धि घटाउने प्रारम्भिक तर ऐतिहासिक व्यापार सम्झौता भएको छ,” राष्ट्रपति सीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा कार्नीले बताउनुभयो ।

सम्झौता अन्तर्गत क्यानोलाको बीउको लागि क्यानाडाको सबैभन्दा ठूलो बजार चीनमा मार्च १ सम्ममा क्यानोला उत्पादनहरूमा कर घटाएर एक देखि १५ प्रतिशतसम्ममा झार्ने अपेक्षा गरिएको छ,। यो हाल ८४ प्रतिशतको हाराहारीमा रहेको छ ।

सम्झौता अनुसार चीनले क्यानडेली आगन्तुकहरूलाई बिना भिसा प्रवेश गर्न अनुमति दिनेछ।यसको बदलामा, क्यानाडाले ६.१ प्रतिशतको नयाँ प्राथमिकताको करमा ४९ हजार चिनियाँ विद्युतीय सवारी साधन (इभी) आयात गर्नेछ।“यो भर्खरको व्यापार तनावभन्दा पहिले अवस्थित स्तरमा फर्कनु हो,” कार्नीले इभी सम्झौताको बारेमा भन्नुभयो ।

‘ग्रेट हल अफ द पिपुल’मा प्रधानमन्त्री कार्नीलाई स्वागत गर्दै चिनियाँ राष्ट्रपति सीले भन्नुभयो, “गत अक्टोबरमा एपेक शिखर सम्मेलनको अवसरमा दुई देशका नेताबीचको भेटवार्तापछि चीन र क्यानडाको सम्बन्ध नयाँ महत्वपूर्ण मोडमा पुगेको थियो।

राष्ट्रपति सीले क्यानडेली नेतासँग भन्नुभयो, “गत वर्षको हाम्रो बैठकले चीन–क्यानडा सम्बन्धलाई सुधारतर्फ मोड्ने नयाँ अध्याय सुरु गरेको छ ।”

उहाँले थप्नुभयो, “चीन–क्यानडा सम्बन्धको स्वस्थ र स्थिर विकासले हाम्रा दुई देशको साझा हितलाई पूरा गरेको छ।” सहयोग पुनस्र्थापना गर्न पछिल्ला केही महिनादेखि भएको छलफलबाट आफू खुशी रहेको उहाँको भनाइ थियो ।

–सम्बन्ध सही दिशामा–

सन् २०१८ मा अमेरिकी पक्राउ पूर्जी आदेशपछि क्यानडाले हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि र जासुसीको आरोपमा चीनले दुई क्यानेडियालीलाई पक्राउ गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

दुई देशले त्यसपछिका वर्षहरूमा एक अर्काको निर्यातमा कर लगाए । क्यानाडाको चुनावमा चीनले हस्तक्षेप गरेको पनि आरोप लगाइयो।

क्यानडाका प्रधानमन्त्री कार्नीले आफु निर्वाचित भएसँगै चीनसँगको सम्बन्ध सुधारमा पहल गरेको देखिन्छ भने बेइजिङले पनि सम्बन्धलाई ‘सही बाटोमा’ ल्याउन इच्छुक रहेको बताएको छ।

बिहीवार प्रधानमन्त्री ली चियाङसँग भेट गरेका क्यानडाका नेताले व्यापारका विषयमा छलफल गर्न व्यापारिक प्रतिनिधिहरूसँग पनि वार्ता गर्ने कार्यक्रम रहेको छ।

परम्परागत रूपमा अमेरिकाको कट्टर सहयोगी क्यानडामा विशेषगरी ट्रम्पले स्टिल, आल्मुनियम, सवारी साधन र काठमा लगाएको करवृद्धिका कारण नराम्रो आर्थिक प्रभाव परेको छ । अमेरिकी नीतिका कारण क्यानडाको चीनतिरको झुकाब एकाएक बढेको छ।

वाशिङ्गटनको कदमले क्यानाडालाई अन्यत्र व्यवसाय खोज्न प्रेरित गरेको छ।अक्टोबरमा कार्नीले अमेरिकामाथिको निर्भरता कम गर्न क्यानडाले सन् २०३५ सम्ममा आफ्नो गैरअमेरिकी निर्यातलाई दोब्बर बनाउनुपर्ने बताउनुभएको थियो ।

क्यानाडा सरकारको तथ्यांक अनुसार संयुक्त राज्य अमेरिका क्यानडाको सबैभन्दा ठूलो बजार रहेको छ, जसले सन् २०२४ मा लगभग ७५ प्रतिशत क्यानेडियाली सामानहरू खरिद गरेको थियो ।

चीन क्यानाडाको लागि दोस्रो ठूलो बजार हो । सन् २०२४ मा क्यानाडाको निर्यातको चार प्रतिशतभन्दा कम सामान चीनले खरिद गरेको थियो ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी वार्तामा सुरक्षा सुनिश्चितता योजना आउने आशा

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार युक्रेनले रुसको आक्रमण अन्त्य गर्ने योजनामा अर्को हप्ता अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने आशा व्यक्त गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध रोक्न दबाब दिँदै युक्रेनलाई शान्ति सर्तहरू स्वीकार गर्न दबाब दिनुभएको छ। किएभले रूससँग आत्मसमर्पण नगर्ने बताउँदै आएको छ।

किएभ र वाशिङ्गटनको बीचमा मुख्य जोडिने बिन्दुहरू बाँकी छन्, र युक्रेनले सहयोगीहरूबाट योजनाको एक भागको रूपमा के सुरक्षा ग्यारेन्टी प्राप्त गर्नेछ भन्ने बारेमा स्पष्टता खोजिरहेको छ ।

युक्रेनले आफ्नो भूमिमा रूसलाई फेरि आक्रमण गर्नबाट रोक्नको लागि महत्त्वपूर्ण छ भन्ने विश्वास गर्दछ र सुरक्षा सुनिश्चितताको माग गरिरहेको छ। जेलेन्स्कीले एएफपीसहित पत्रकारहरूलाई युक्रेनी वार्ताकारसँग थप वार्ताका लागि अमेरिका जाँदै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अमेरिकी पक्षसँग पहिले नै तयार पारेका कागजात र सबै कूटनीतिक काममा रूसको प्रतिक्रियाको बारेमा हामी आशा गर्छाैँ कि त्यहाँ थप स्पष्टता हुनेछ।

विश्व आर्थिक मञ्चलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, “यदि सबै कुरा टुङ्गो लाग्यो र अमेरिकी पक्षबाट सहमति भयो भने मलाई विश्वास छ कि हाम्रो पक्षबाट सैद्धान्तिक रूपमा सबै काम सकिनेछ र डाभोसमा हस्ताक्षर गर्न सम्भव हुनेछ।”

प्रदेश प्रमुखसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

गण्डकी, २ माघः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष आज आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरूङले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्टलाई प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदन बुुझ्दै प्रदेश प्रमुख भट्टले स्रोत तथा वित्त आयोग मुलुकमा वित्तीय सङ्घीयता लागू गर्ने आर्थिक पाटोतर्फको मेरुदण्ड भएको उल्लेख गर्दै पर्याप्त प्राकृतिक स्रोतले पूर्ण भए पनि देशले पर्याप्त लाभ लिन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक स्रोत भएको देशका रूपमा रहेको बताउँदै उहाँले यसको उपयोगिताका सन्दर्भमा प्रभावकारी उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन समस्या भइरहेको उल्लेख गर्नुभयो । चालु आवका लागि गण्डकी प्रदेश सरकारलाई रु सात अर्ब ७३ करोड ८९ लाख र प्रदेशभित्रका स्थानीय सरकारलाई रु नौ अर्ब २२ करोड ९३ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकामा सङ्घीय सरकारले सोही बमोजिम बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

सङ्घीय सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरे पनि प्रदेश तथा स्थानीय तहलाई पूरै रकम हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयन प्रभावित भएको प्रदेश प्रमुख भट्टको भनाइ छ । आर्थिक वर्ष २०८१/८२ को अवधिमा आयोगले गण्डकी प्रदेश तथा प्रदेशभित्रका स्थानीय सरकारसँग सम्बन्धित विषयमा सम्पादन गरेका कामकारबाहीहरू वार्षिक प्रतिवेदनमा समेटिएकोे आयोगका कार्यवाहक अध्यक्ष गुरूङले जानकारी दिनुभयो ।

कास्की कारागारका एक सय ६० कैदीबन्दी अझै फरार

कास्की – गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कास्की कारागारबाट भागेका कैदीबन्दीमध्ये अझै १६० जना सम्पर्क बाहिर छन् । हालसम्म फरारमध्येमा नौ महिला र १५१ पुरुष रहेका कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार फरारमध्येमा १३ जना विदेशी नागरिक रहेकामा ११ भारतीय र दुई जना चिनियाँ छन् ।

आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट भागेका ७७३ जनामध्येमा कोही तोकिएको समयभित्रमा आफैँ फर्किएको र अन्यलाई प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । कास्कीबाट भागेका मध्येमा केही अन्य जिल्लामा समातिएका थिए ।

त्यसैगरी, अन्य जिल्लाबाट भागेकाहरूलाई समेत यहाँ पक्राउ गरिएको थियो । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिनुभयो । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा फरार कैदीबन्दीलाई सुरक्षा चुनौतीका रूपमा दलहरूले लिएका छन् । राजनीतिक दलहरूले कैदी र लुटिएका हतियारका कारणले निर्वाचन भयरहित र शान्तिपूर्ण हुन नसक्ने आशङ्का गरिरहेको अवस्थामा प्रहरीले कैदीहरुको खोजी तीव्र बनाएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीतिअनुसार काम भइरहेको जानकारी दिनुभयो । “निर्वाचन सुरक्षा योजनाअनुसार आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन विशेष रणनीति बनाइएको छ । यसका लागि प्रहरी टोली खटिएको छ । निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी हुन नदिने गरी जिल्लामा सुरक्षा कार्यान्वयन गरेका छौँ”, उहाँले भन्नुभयो ।

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, धरधनीनै मुख्य योजनाकार

कमलामाई (सिन्धुली) – यहाँको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकारको आरोपमा घरधनी छविलाल स्याङतानसहित बैंक लुटपाटमा संलग्न भएको आरोपमा सात जनाको विवरण जिल्ला प्रहरीले सार्वजनिक गरेको छ ।

गत पुस २९ गते राति बैंक लुटपाट गरिएको थियो । बैंकको शाखा राखिएको घरका धनी स्याङ्तानको मुख्य योजनामा बैंक लुटिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ पर्नेहरूमा सवारी चालक काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय भागवतसिंह थापा, घ्याङ्लेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय सशाङ्क श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक छन् ।

पक्राउ परेकाहरूलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । “बैंक लुटमा मुख्य योजनाकार तीन जना देखिन्छन् । बंैक राखिएको घरका धनी छविलाल स्याङ्तान, स्याङ्तानका जेठान चतुरमान बज्युलाई पक्राउ गरिसकिएको छभने अर्का एक जना फरार छन्”, उहाँले भन्नुभयो ।

बैंकबाट लुटेको दुई करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ नगदसमेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक सुवेदीका अनुसार सुरक्षा गार्डसहितका कर्मचारीहरूलाई नक्कली प्लाष्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको थियो ।

प्रहरीले लुटमा प्रयोग भएको दुई थान खुकुरी, एक थान प्लाष्टिकको पेस्तोल, पाँच थान मोबाइल, ठूलो पानी टेप एक वटा, कालो रङको नकाव तीन थान, रातो रङको नकाव एक थान र कालो पञ्जा एक जोरसमेत बरामद गरेको छ ।

घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उहाँले सूचना आदान–प्रदान गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । बज्यु, उहाँका ज्वाइँ घरधनी स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको र पटकपटक लुटको प्रयास गरिएको पाइएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।

प्रहरीका अनुसार पहिलोपटक पुस २३ गते बैंक लुट्ने योजना बनाएका थिए । उक्त दिन बैंक लुटमा संलग्न चार जना काठमाडौँबाट दुईवटा मोटरसाइकलमा सिन्धुली आएका थिए । तर, त्यसबेला परिस्थिति अनुकूल नभएर फर्केको र दोस्रो प्रयासमा बैंक लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पुस २८ गते पनि उनीहरु बैंक लुट्न आउने गरी काठमाडौँको कोटेश्वरमा जम्मा भए पनि ढिलो भएकाले नआएको र पुस २९ गते सोही ठाउँमा जम्मा भएर सार्वजनिक यातायात चढी बनेपा गएका थिए । बनेपाबाट विएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्भ गरी घ्याङलेख आएको पाइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

बैंकमा आएर २९ गते साँझ उनीहरूले एसबिआई बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड रुद्रबहादुर कार्की र अन्य कर्मचारीलाई नियन्त्रणमा लिई, शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोलामा हालेर भागेको पाइएको उहाँले सुनाउनुभयो ।

बैंक लुटेर भाग्ने क्रममा प्रहरी र स्थानीयको सक्रियतामा अभियुक्त पक्राउ गर्न र पैसा तथा अन्य प्रमाण बरामद गर्न प्रहरी सफल भएको थियो । पक्राउ परेकाहरुका विरुद्ध चोरी तथा डाँकासम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार बैंकबाट रु तीन करोड ७ लाख रुपैयाँ लुटपाट भएको थियो ।

नेपालमा एआई नीति तथा शासकीय व्यवस्थाबारे उच्चस्तरीय परामर्श

काठमाडौँ – नेपालस्थित क्यानडेली दूतावासले क्यानडाको हम्बर पोलिटेक्निकसँगको सहकार्यमा नेपालमा कृत्रिम बुद्धिमत्ता एआईसम्बन्धी नीति तथा नियमन व्यवस्थाबारे सरोकार भएका निकायसँग उच्चस्तरीय परामर्श गरेको छ ।

उक्त परामर्श कार्यक्रम क्यानडा सरकारको इन्डोप्यासिफिक एङ्गेजमेन्ट इनिसिएटिभअन्तर्गत स्ट्रेन्थनिङ गभर्नेस एण्ड रिजनल को–अपरेसन क्षेत्रीय कार्यक्रमअन्तर्गत आयोजना गरिएको हो । यो कार्यक्रम बङ्गलादेश, नेपाल, भुटान, भारत र श्रीलङ्कामा कार्यान्वयन हुँदै आएको छ । यसको उद्देश्य एआई नियमन, साइबर सुरक्षा तयारी तथा जिम्मेवार प्रविधि अवलम्बनमा संस्थागत क्षमता सुदृढ गर्नु र क्षेत्रीय सहकार्यलाई अघि बढाउनु भएको नेपालस्थित क्यानडेली दूतावासले जनाएको छ ।

नेपालमा आयोजित परामर्श कार्यक्रममा नीतिनिर्माता, सरकारी अधिकारी, शिक्षाविद् तथा संस्थागत र उद्योग क्षेत्रका सरोकारवालाहरूको सहभागिता थियो । कार्यक्रममा एआई नियमनसँग सम्बन्धित अवसर र चुनौतीका बारेमा छलफल भएको थियो । छलफलका मुख्य विषयहरूमा नीतिगत तयारी, नैतिक तथा जिम्मेवार एआई प्रयोग र भविष्यका डिजिटल निमयन ढाँचाहरू निर्माणमा सार्वजनिक संस्थाहरूको भूमिका रहेका थिए ।

सोही अवसरमा क्यानेडेली उपराजदूत मार्क एलनले भन्नुभयो, “क्यानडाले एआईबाट नवप्रवर्तन, आर्थिक वृद्धि र सामाजिक लाभ हासिल गर्न सक्ने सम्भावनालाई लामो समयदेखि प्रवर्द्धन गर्दै आएको छ, इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत यस्ता परियोजनामार्फत एआई क्षेत्रमा हाम्रो नेतृत्व राष्ट्रिय सीमाभन्दा बाहिरसम्म विस्तार भइरहेको छ । सुरक्षित, जिम्मेवार र नवप्रवर्तनशील एआई प्रणालीको विकासका लागि दिगो डिजिटल पूर्वाधार र नियमन ढाँचा निर्माणमा नेपाललाई सहयोग गर्ने विश्वासिलो साझेदारका रूपमा क्यानडाको दृढ प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छु ।”

परामर्श कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपालमा एआई क्षेत्रको हालसम्मको प्रगति तथा सम्भावनाहरूबारे जानकारी गराउनुभयो । परामर्श कार्यक्रमपश्चात् क्यानडाको हम्बर पोलिटेक्निकद्वारा एक दशमलव पाँच दिने एआई क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरिएको थियो । कार्यशालामा सार्वजनिक क्षेत्रको शासकीय व्यवस्था र नीतिगत कार्यान्वयनमा एआईको व्यावहारिक प्रयोगमा केन्द्रित प्रशिक्षण प्रदान गरिएको थियो ।

एमालेका उपमहासचिव योगेश भट्टराईले खोले शेरबहादुर देउवाको पोल

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न नहुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् ।

उनले विभाजित कांग्रेस कुनै उपायले पुनः एक हुने अवस्था बनोस् भन्दै शुभकामना समेत दिए ।उपमहासचिव भट्टराईले संविधान विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको स्मरण गर्दै भने, ’संसद् एक महिना नारा लगाएको मलाई सम्झना छ । सभामुखले सुन्नै सुन्नु भएन ।

त्यतिबेला हामीले भनेका थियौ– प्रधानमन्त्रीज्यू कुनै बेला तपाईँलाई पनि आइपर्ला है ? २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालीन सभामुखको भूमिका के थियो ? ’लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको भएको बताए ।

मार्फामा हिउँचितुवाको आक्रमणबाट १७ वटा भेडा मरे

मुस्ताङ – जिल्लाको घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको कार्यालय पछाडि रहेको स्थानीय सन्तोष परियारको खोरमा हिउँचितुवाले आक्रमण गर्दा १७ वटा भेडा मरेका छन् । आज बिहान परियारको भेडाच्याङ्ग्राको खोरमा हिउँचितुवा पसेर आक्रमण गर्दा १७ वटा भेडा मरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।

परियारको परम्परागत खोरको कच्ची ढोकाको बार तोडेर हिउँचितुवा पसी भेडामाथि आक्रमण गरेको एक्यापका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो । उहाँका अनुसार यसबाट परियारलाई करिब रु पाँच लाखको नोक्सान भएको अनुमान छ ।

एक्याप कार्यालयका अनुसार परियारको यसअघि गत मङ्सिर २६ गते पनि हिउँचितुवाले पशुधनमाथि आक्रमण गर्दा १९ वटा च्याङ्ग्रा मरेका थिए । त्यसबाट उहाँलाई करिब रु छ लाखको नोक्सान भएको थियो । पीडित परियारले २०० बढी भेडाच्याङ्ग्रा पालन गरेको बताउँदै उक्त घटनापछि च्याङ्ग्राको बथानबाट भेडाको बथान छुट्याएर अन्यन्त्र स्थानान्तरण गरिएको जानकारी दिनुभयो । सारिएको गोठमा पनि कमजोर पूर्वाधार भएकाले हिउँचितुवा खोरमा पसेर पशुधनमाथि क्षति पुर्याएको कार्यालय प्रमुख गुप्ताले बताउनुभयो ।

घटनापछि एक्यापका कर्मचारी घटनास्थलको निरीक्षण तथा आवश्यक अनुसन्धान गर्न तथा क्षतिको विवरण सङ्कलन गर्न परियारको खोरमा पुगेका छन् । परियारको खोरमा हिउँचितुवा वा चितुवाले आक्रमण गरेको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

करिब ३५ दिनको फरकमा भएका आक्रमणबाट परियारका ३६ वटा भेडाच्याङ्ग्रा मरेका छन् । एक्याप कार्यालयले पीडित पशुपालकलाई वन्यजन्तु क्षति राहत निर्देशिकाबमोजिम क्षतिपूर्तिको राहत रकम उपलब्ध गराउने आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ ।

मुस्ताङमा हिउँचितुवासहित अन्य वन्यजन्तु तथा भुस्याहा कुकुरको जोखिमले पशुपालन गरी बसेका किसानले दुःख पाउँदै आएका छन् । पशुधनको सुरक्षित बासस्थानका लागि भरपर्दो पूर्वाधार नहुने भएकाले पशुपालकले सुरक्षित खोर सुधारतर्फ ध्यान दिनुपर्नेमा एक्यापले जोड दिएको छ ।

पछिल्लो समय हिउँचितुवा र मानवबीचको द्वन्द्वले स्थानीय पशुपालन व्यवसाय सङ्कटमा पर्दै गएको एक्यापका प्रमुख गुप्ताले बताउनुभयो । हिउँचितुवा र मानवबीचको सहअस्तित्व निर्माण हुनेगरी दिगो र सुरक्षित संरचना निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका उच्च लेकमा घाँसको अभाव हुँदा आहारा प्रजाति बस्तीतर्फ झर्ने र आहारको खोजीमा मानिस तथा घरपालुवा पशुमाथि आक्रमण हुने गरेको एक्यापले जनाएको छ ।

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिएको विरोधमा नेपाल विद्यार्थी संघले निकाल्यो मसाल जुलुस

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता लिएको विरोधमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ नेविसंघको कोटेश्वर बहुमुखी क्याम्पस एकाइ समितिको अगुवाइमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

उनीहरूले लामिछानेको मुद्दा फिर्ता लिने निर्णय सच्याउन माग गरेका छन् । महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेविरुद्ध विभिन्न अदालतमा जारी सम्पत्ति सुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् ।

अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने भएको छ ।

काउन्सिलका रजिष्ट्रार डा सतिसकुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि सातवटै प्रदेशबाट चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । यसअघि चिकित्सकलाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि काठमाडौँ आउनुपर्दथ्यो ।

रजिष्ट्रार डा देवले सातवटै प्रदेशमा कहाँ–कहाँ परीक्षा केन्द्र राख्ने अझै निर्णय नभएको बताउनुभयो । उहाँले सातवटै प्रदेशबाट परीक्षाको व्यवस्था गरे परीक्षार्थीलाई यात्रा र समयको बचत हुनेमात्र नभई परीक्षा प्रक्रियाको पारदर्शिता र गुणस्तर पनि बढ्ने बताउनुभयो ।

काउन्सिलले अबदेखि काउन्सिलको निर्वाचन पनि अनलाइनमार्फत गर्ने निर्णय गरेको छ । उहाँले सबै चिकित्सकको सहभागिता गराउन र निर्वाचन प्रक्रियालाई पारदर्शी, सहज र प्रविधिमैत्री बनाउने अनलाइनबाट मतदान गर्ने निर्णय गरिएको बताउनुभयो ।

“चिकित्सक जहाँ हुनुहुन्छ त्यहीँबाट नै अनलाइन मतदान गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “सधैँ बिरामीको उपचारमा खट्ने चिकित्सकलाई अनलाइन मतदान गर्दा निर्वाचनमा पनि धेरै चिकित्सकले सहभागिता जनाउनुहुनेछ ।”

मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन

बागमती, २ माघ : निर्वाचन प्रहरीका लागि मकवानपुरमा दुई हजार २६६ जनाले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि बिहीबारसम्ममा एक हजार ६०२ पुरुष र ६६४ महिलाले आवेदन दिएका हुन् । जिल्लामा एक हजार ९२३ जना निर्वाचन प्रहरी भर्ना गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको दुई वटै निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । क्षेत्र नम्बर १ मा मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरीप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरको मुख्य निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला न्यायाधिश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता देवेन्द्रराज आचार्य नियुक्त हुनुभएको छ ।

कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीको माग

काठमाडौँ – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन वैधानिक भएकाले त्यसको कागजातका आधारमा पार्टी केन्द्रीय समिति अद्यावधिकको निर्णय गर्न माग गरेका छन् ।

कानुन व्यवसायीसहित आज निर्वाचन आयोग आएका केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले थप कागजात पेस गरेका छन् । नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समितिले गरेको निर्णयअनुसार नियमित महाधिवेशन कार्यान्वयन नभएकाले विधानअनुसार विशेष महाधिवेशन गरिएको बताउनुभयो । कांग्रेस विधानको दफा १५ ले महाधिवेशनलाई सर्वोच्च निकाय भनेकाले त्यहाँबाट गरिएका निर्णय कानुनसम्मत रहेको बताउनुभयो ।

“विधान अनुसार ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २८ गते नै विशेष महाधिवेशनको माग गरेका हुन्, विधानको दफा ३ को उपदफा १२ ले केन्द्रीय कार्यालय भन्नाले महामन्त्री भन्ने उल्लेख गरेको छ, विधान कार्यान्वयन नगर्नू कानुनको उल्लङ्घन हुने भन्ने व्यवस्था भएकाले हामीले विधानको व्यवस्थालाई कार्यान्वयन गराएका हौँ, कार्यान्वयन नगरे रु पाँच हजार जरिवानाको व्यवस्था कानुनमा रहेको छ”, उहाँले भन्नुभयो ।

हस्ताक्षर गरेका २९ जना महाधिवेशन प्रतिनिधिले मात्र फिर्ता लिएको जानकारी उपसभापति शर्माले आयोगलाई गराउनुभयो । घर फर्किसकेका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर फिर्ता लिए भनी हल्ला फिँजाइएको उहाँले बताउनुभयो ।

असोज २८ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरिएको निवेदन पार्टी कार्यालयमा दर्ता भएको र दर्ता नं. १०१ रहेको उपसभापति पुष्पा भुसालले बताउनुभयो । दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको र दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेनमा उपस्थित भएर नीति र नेतृत्व पारित गरेको उहाँले जानकारी गराउनुभयो ।

कांग्रेस विधानको दफा १७ (२) अनुसार विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र गर्नैपर्ने व्यवस्थाअनुसार त्यसलाई कार्यान्वयन गरिएको वरिष्ठ अधिवक्तासमेत रहनुभएकी नेतृ भुसालले भन्नुभयो ।

कांग्रेस विशेष महाधिवेशनबाट नवनिर्वाचित महामन्त्री प्रदीप पौडेलले महाधिवेशनले बनाएको नीति, नियम कार्यान्वयन गर्ने काम केन्द्रीय कार्य समिति भएको बताउनुभयो । नीति, नियम र नेतृत्व चयन गर्ने आधिकारिक मञ्च महाधिवेशन नै भएकाले विशेष महाधिवेशन वैध रहेको उहाँको भनाइ थियो ।

विशेष महाधिवेशनबाट नवनिर्वाचित अर्का महामन्त्री गुरुराज घिमिरेले असोज २८ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेको कागजात आफूहरूले नै कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएको र उहाँले नै हस्ताक्षर गरेर दर्ता गराएकामा अहिले विशेष महाधिवेशन कहाँ, कहिले भयो ? थाहा छैन भनी गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउनुभयो ।

नेपाल बार एशोसियशनको पूर्वअध्यक्षसमेत रही सक्नुभएका विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्य प्रेमबहादुर खड्काले ४० प्रतिशतभन्दा धेरै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेमा अनिवार्य रूपमा गर्नुपर्ने व्यवस्थाअनुसार नै भएको बताउनुभयो । पार्टी विधानको यही व्यवस्थाअनुसार दुई जना तत्कालीन महामन्त्रीले आफ्नो काम पूरा गरेको उहाँले सुनाउनुभयो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार विशेष महाधिवेशनले गरेको निर्णय अद्यावधिक गर्न आफूहरू आयोग आएको उहाँले सुनाउनुभयो ।

कांग्रेस निर्वाचन समितिको संयोजकसमेत रहनुभएका वरिष्ठ अधिवक्ता सीताराम केसीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ मा अहिले कुनै विवाद नरहेकाले दफा ५१ अनुसार अद्यावधिक गरिनुपर्ने बताउनुभयो । कांग्रेस विधानअनुसार निर्वाचन कार्यविधि र निर्देशिका बनाएर विधिसम्मत रूपमा विशेष महाधिवेशन सम्पन्न गरिएको उहाँले आयोगलाई जानकारी गराउनुभयो ।

नेपाल बार एशोसियशनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरूले छिटो गरी कांग्रेस केन्द्रीय समितिको सूची अद्यावधिक गर्न माग गर्नुभएको थियो ।

दललाई चुनावी प्रतिस्पर्धामा सहयोग गर्न आचारसंहिता जारी गरिएको छ – कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई चुनावी प्रतिस्पर्धामा जान सहयोग पुगोस् भन्ने उद्देश्यले नै आचारसंहिता जारी गरिएको बताउनुभएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ कार्यान्वयनका सम्बन्धमा आज यहाँ आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा उहाँले प्रतिस्पर्धाका लागि सहयोग गर्ने उद्देश्यले नै महिनौ अघि मस्यौदा तर्जुमा गरी राजनीतिक दल, संवैधानिक निकायलगायत सरोकार भएका सरकारी कार्यालयबाट राय सुझाव माग गरी त्यसका आधारमा अन्तिम रूप दिई जारी गरिएको उल्लेख गर्नुभयो । यसअघि आयोगले जारी गरेका आचारसंहितालाई समसामयिक बनाएर अहिलेको आचारसंहिता तर्जुमा गरिएको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिनुभयो ।

“धेरै ऐन पढ्न नपरोस् भनी त्यहाँ भएका विषयलाई आचारसंहितामा समेटिएको छ, आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्छौँ, चित्त नबुझेमा सजायमुखी प्रावधानअनुसार कारबाही गछौँ, सामाजिक सञ्जालका माध्यमबाट गरिने आचारसंहिता उल्लङ्घनका विषयलाई नियमन गर्न मेटालगायत कम्पनीलाई अनुरोध गरेका छौँ, कुनै दल वा उम्मेदवारले मतदातालाई पैसा बाँडेको सूचना मात्र आयोगलाई दिएमा कारबाही गर्नेछौँ”, उहाँले भन्नुभयो ।

कुनै पनि दल वा उम्मेदवारलाई ‘नो, नट, एगेन’ भनी सामाजिक सञ्जालमा प्रचारप्रसार गर्नु आचारसंहिता विपरीत हुने उल्लेख गर्नुहुँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले त्यस्ता व्यक्तिलाई कारबाही गरिने घोषणा गर्नुभयो । निर्वाचनमा हेलिकप्टर प्रयोग गर्न नदिए आयोगबाट हटेपछि देखाइदिन्छु भनी सन्देश पठाउने पनि छन् तर त्यसबाट आयोगका पदाधिकारी नडराएको उहाँले बताउनुभयो ।

निर्वाचन आयुक्त सगुनशम्शेर जङ्गबहादुर राणाले उम्मेदवार र उनका परिवारका सदस्यको बैंक खाताको अनुगमन गरिने बताउनुभयो । चुनावका क्रममा अनियमित रूपमा आउने धेरै पैसा प्रयोग भयो भन्ने गुनासोलाई सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको उहाँले सुनाउनुभयो । नेपाली सेनाको सहयोग लिएर ‘सोसल मिडिया’ अनुगमन गरिने आयुक्त राणाको भनाइ थियो । यसको अनुगमन गर्न सेनासँग अत्याधुनिक उपकरण भएको जनाइएको छ ।

उम्मेदवारलाई स्वच्छ र निष्पक्ष बनाउन नै आचारसंहिता जारी गरिएकाले उल्लङ्घन गर्ने उम्मेदवारलाई स्पष्टीकरण सोधेर उम्मेदवारी रद्द गर्नेसम्मको कारबाहीमा जान सकिने गरी व्यवस्था गरिएको उहाँले जानकारी गराउनुभयो । निर्वाचनमा प्लास्टिकजन्य चीजबीजको उपयोगन नगरी हरित निर्वाचन गर्ने विषयमा आचारसंहितामा पहिलोपटक राखिएकाले यसतर्फ उहाँले राजनीतिक दलको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दलभित्र आचारसंहिताको प्रचारप्रसार गरी जागरण फैल्याउन भ्याउने गरी यस्तो कार्यक्रम आयोजना गरिएको भए प्रभावकारी हुने बताउनुभयो । पछिल्लो समय सूचना प्रविधि क्षेत्रको उपयोग गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेकाले यसतर्फ आयोगले ध्यान दिनुपर्ने उहाँको माग थियो ।

निर्वाचन दलहरूबीच प्रतिस्पर्धा हुने समय भएकाले यसमा राष्ट्रिय झण्डाको प्रयोग गर्न नहुने सुझाव नेता विश्वकर्माले दिनुभएको थियो । समानुपातिकतर्फको बन्द सूची पेस गर्दा ११० जनाकै सम्पत्ति विवरण बुझाउने विषय व्यावहारिक नभएकाले आगामी दिनमा यस्ता विषयलाई पुनःविचार गर्न उहाँले माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव राजन भट्टराईले लोकतन्त्रलाई स्वस्थ र संस्थागत बनाउन निर्वाचन आचारसंहिता कार्यान्वयन हुनुपर्ने विचार राख्नुभयो । अघिल्लो निर्वाचनमा अव्यावहारिक देखिएका आचारसंहिताका विषय सच्याउन त्यस बेला सुझाव दिएकामा अहिले नसच्चिएकामा उहाँले आयोगका पदाधिकारीको ध्यानाकर्षण गराउनुभयो ।

निर्वाचनमा बालबालिका प्रयोगको विषयलाई प्रष्ट पारिनुपर्ने उहाँको माग थियो । मनोनय पत्र दर्ता गर्न जाँदा २५ जनाभन्दा बढी जान नपाउने आचारसंहिताको व्यवस्था व्यावहारिक नभएकाले यसलाई सच्याउनुपर्ने सुझाव नेता भट्टराईको थियो । निर्वाचनको प्रचारप्रसारका क्रममा पार्टीका १० वटाभन्दा बढी झण्डा लैजान नपाइने व्यवस्था उपयुक्त नभएको उहाँले बताउनुभयो । मन्त्री वा सरकारी तहमा रहेका राजनीतिक मानिसले सरकारी स्रोतसाधनको उपयोग नगरी निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था गर्न पाउने गरी व्यवस्था गर्न पनि उहाँले सुझाव दिनुभयो । माघ ६ गते उम्मेद्वारी दर्ता गरेर निर्वाचनको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाउने व्यवस्था व्यावहारिक नभएको नेता भट्टराईको विचार थियो । सुरक्षाको वातावरण विश्वासनीय बनाउनुपर्ने उल्लेख गर्नुहुँदै उहाँले आचारसंहिता अनुगमनको उपयुक्त संयन्त्र आयोगले बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले निर्वाचनमा दल र उम्मेदवार स्वअनुशासनमा बस्नुपर्ने उल्लेख गर्दै आचारसंहितामा कडा व्यवस्था गर्ने तर कार्यान्वयन फितलो हुनु नहुने सुझाव दिनुभयो । प्रदेश र स्थानीय सरकारले आचारसंहिता कार्यान्वयन गरे, नगरेको अनुगमन गर्ने उपयुक्त संयन्त्र बनाउन उहाँले आयोगसँग अनुरोध गर्नुभयो ।

सूचना प्रविधिको उपयोग गरी डिजिटल रूपमा आचारसंहिता उल्लङ्घनका धेरै काम हुने गरेकाले त्यसलाई नियमनका लागि के संयन्त्र आयोगले बठाएको छ भनी उहाँले प्रश्न गर्नुभएको थियो । प्रविधिको प्रयोग गरेर विद्वेष फैल्याउन सक्ने भएकाले प्राविधिक रूपमा अनुगमनको उपयुक्त संयन्त्र विकास गर्नुपर्ने नेता पुनको भनाइ थियो ।

आयोगलाई सुझाव दिँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले ठूला दललाई वास्ता नगरी साना दललाई मात्र आचारसंहिताका नाममा कारबाही नगर्न माग गरेका थिए । ठूलालाई आचारसंहिता र सानालाई अत्याचार गर्नु नहुने ती.नेताहरूको भनाइ थियो ।

अस्ट्रेलियामा बालबालिका खातामा कडाइ

अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाहरूका रूपमा पहिचान गरिएका करिब ४७ लाख खाताहरू हटाएको वा पहुँच बन्द गरेको अधिकारीहरूले बताएका छन् ।

अस्ट्रेलियाली सञ्चारमन्त्री अनिका वेल्सले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “हामीले यो सम्भव छैन भन्ने सबै तर्कहरू सुनेका थियौँ, विश्वका शक्तिशाली र धनी कम्पनीहरू तथा उनीहरूका समर्थकहरूलाई पनि हेरेका थियौँ । तर अब अस्ट्रेलियाका अभिभावकहरू आफ्ना बच्चाहरूले सुरक्षित रूपमा बाल्यकाल फिर्ता पाउनेछन् भन्नेमा विश्वस्त हुन सक्छन् ।”

डिसेम्बरमा लागू गरिएको यस ऐतिहासिक प्रतिबन्धपछि पहिलो पटक सार्वजनिक भएको तथ्याङ्कले अनलाइन वातावरणले बालबालिकामा पार्ने हानिकारक प्रभावप्रति सरकारको चिन्ता कति गहिरो छ भन्ने देखाएको छ । यो कानूनले प्रविधिको प्रयोग, गोपनीयता, बाल सुरक्षा र मानसिक स्वास्थ्यसम्बन्धी बहसलाई थप चर्काएको छ र अन्य देशहरूलाई पनि यस्तै कदमबारे सोच्न प्रेरित गरेको छ ।

अस्ट्रेलियाली कानूनअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, स्न्यापच्याट, रेडिट, किक, थ्रेड्स र ट्विचजस्ता प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकाका खाताहरू हटाउन पर्याप्त कदम नचालेमा चार करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिवाना हुनसक्छ । ह्वाट्सएप र फेसबुक मेसेन्जरजस्ता सन्देश सेवा भने यस प्रतिबन्धबाट बाहिर छन् ।

उमेर प्रमाणित गर्न प्लेटफर्महरूले पहिचान कागजात, अनुहारबाट उमेर अनुमान गर्ने प्रविधि वा उपलब्ध डाटाको प्रयोग गरेका छन् । अस्ट्रेलियाको सुरक्षा आयुक्त जुली इनमान ग्रान्टका अनुसार आठदेखि १५ वर्ष उमेरका करिब २५ लाख बालबालिका देशमा छन् र विगतका अनुमानअनुसार आठदेखि १२ वर्ष उमेरका ८४ प्रतिशतले सामाजिक सञ्जाल खाता राखेका थिए । उहाँले ४७ लाख खाता हटाइनु वा निष्क्रिय पारिनु उत्साहजनक भएको बताउनुभयो ।

फेसबुक, इन्स्टाग्राम र थ्रेड्सको स्वामित्वमा रहेको मेटाले मात्र प्रतिबन्ध लागू भएको भोलिपल्ट करिब पाँच लाख ५० हजार खाताहरू हटाएको जनाएको छ । मेटाले प्रतिबन्धको आलोचना गर्दै साना प्लेटफर्महरूमा जोखिम बढ्नसक्ने चेतावनी पनि दिएको छ ।

यो कानून आमाबाबु र बाल सुरक्षा अभियानकर्तामाझ लोकप्रिय भए पनि केही गोपनीयता पक्षधर र किशोर प्रतिनिधि समूहहरूले यसको विरोध गरेका छन् । यद्यपि प्रधानमन्त्री एन्थोनी अल्बानिजले ‘केही शङ्का हुँदाहुँदै पनि यो उपाय प्रभावकारी देखिएको र विश्वका अन्य देशहरूले पनि अस्ट्रेलियालाई पछ्याउन थालेको’ बताउनुभएको छ ।

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान (सुनसरी) – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय दुहवीस्थित पशु सेवा तालिम केन्द्रमा स्थापना गरिएको छभने निर्वाचन क्षेत्र नं २ को कार्यालय इनरुवास्थित शिक्षा तालिम केन्द्रमै स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय भने धरान–८ स्थित सभागृहमा स्थापना गरिने सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा मुख्य निर्वाचन अधिकृतका रूपमा प्रकाश राउतलाई तोकिएको छभने निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको छ ।

कार्यलय स्थापना भएसँगै आजदेखि निर्वाचन सम्बन्धी सम्पूर्ण प्रक्रिया निर्वाचन अधिकृतको कार्यालयमार्फत सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो । चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेका छन् ।

अध्यक्ष ओलीको उपस्थितिमा एमालेको राजधानी विशेष कमिटीको घोषणा

काठमाडौँ, २ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संशोधित विधानअनुसार गठित राजधानी विशेष कमिटीको आज घोषणा गरिएको छ । आज आयोजित कार्यक्रममा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सो कमिटीको घोषणासहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको विशेष अभियान सुरु भइसकेको छ ।

एमालेको गत भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनले काठमाडौँ उपत्यकालगायत जिल्ला कमिटीलाई समेटेर प्रदेशस्तरको सङ्गठन कमिटी गठनको व्यवस्था गरेको थियो । उक्त व्यवस्थानुसार एमालेको यही पुस २२ गतेको सचिवालय बैठकले नारायण सिलवाल (काठमाडौँ)को नेतृत्वमा पदाधिकारी तोकेको थियो ।

कमिटीको पदाधिकारीमा उपाध्यक्ष प्रेम महर्जन (ललितपुर), सचिव मिलन धरेल (उपत्यका विशेष), उपसचिवद्वय शशिजङ्ग थापा (भक्तपुर) र वेलिमाया घले (काठमाडौँ) रहनुभएको छ । सो कमिटीको इञ्चार्जमा पार्टीका सचिव डा राजन भट्टराई तोकिनुभएको छ ।

शान्तीश्री परियार र गौरव गिरीको सुन मायालुमा खुलीन् सुन्दरी दीपा शाही

काठमाडौँ । संगीतकार नागेन्द्र श्रेष्ठको सुन मायालु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शान्तीश्री परियार र गौरव गिरीको स्वर रहेको सुन मायालु लोक पप शैलीमा तयार गरिएको छ ।

सुदुर पश्चिमेली भाषालाई संगीतकार नागेन्द्र श्रेष्ठले लोक पप शैली ढालेको सुन माया दर्शकले झट्ट सुन्दा र हेर्दा नै मन छुने किसिमले निर्माण गरिएको निर्देशक तथा गीतकार गौरव गिरी बताउँछन् । भिडियोमा गायक गिरी स्यमकै अभिनय रहेको छ भने अभिनयमा गौरवलाई दीपा शाहीले साथ दिएकी छिन् । प्रेम रोमान्सले भरिएको भिडियो रिलिज भएको छोटो समयमा नै ठूलो संख्यामा टिकटक र रिल्स बनेका कारण गीतले चर्चा पाएको संगीतकार नागेन्द्र श्रेष्ठ बताउँछन् ।

सुदुरपश्चिमको महेन्द्र नगरको लालझाडीमा २ दिन लगाएर छायांकन गरिएको सुन मायालुमा गौरवसँग सुन्दरी दीपा रोमान्टिक शैलीमा खुलेकी छिन् । भिडियो हेर्दा दर्शकले कहीँ कतै अडिनु पर्दैन । आधुनिक गीतका लोकप्रिय संगीतकार श्रेष्ठले पहिलो पटक सुदुर पश्चिमेली भाषालाई लोक पप शैलीमा उतारे लगत्तै दर्शकबाट गज्जबको प्रतिक्रिया पाइरहेको निर्देशक गिरी बताउँछन् । गीतमा एरेन्ज केशव बडुको रहेको छ मिक्सिगं तथा मास्टरिगं श्याम श्वेत रसाईलीको रहेको छ । अनिल के मानन्धरको डिओपी रहेको भिडियोमा जयन्द्र कुँवरको छायांकन रहेको छ ।

निरज सापकोटाको सम्पादन रहेको भिडियोमा गौरव र दीपाका अलावा जीवन थापा, सुरेश भट्ट, बब्लु गौतम, मोनिका सिंह र बबिता तिरुवाको पनि अभिनय देख्न सकिन्छ । भिडियोमा श्याम कुँवरको कलर रहेको छ । भिडियो संगीतकार नागेन्द्र श्रेष्ठको अफिसियल च्यानलबाट बजारमा आएको हो । संगीतकार श्रेष्ठले यसअघि आधा दुख घटाएर, तिमी सुस्तरी लगायतका दर्जनौँ गीत बजारमा ल्याईसकेका छन् ।

केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का

पाटन (ललितपुर), २ माघः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई निर्वाचन आयोगले वैधता नदिने विश्वास व्यक्त गर्नुभएको छ ।

पार्टीको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले पार्टीको अनुशासनभन्दा बाहिर गई भएको विशेष भेलाको निर्णय निर्वाचन आयोगमा पेस गरिएको भन्ने जानकारी आमसञ्चारमाध्यमबाट थाहा पाउनासाथ आयोग पुगी ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

“देश प्रतिकूल अवस्थामा रहेको अवस्थामा संविधान र वर्तमान व्यवस्थाको संरक्षण गर्नुपर्ने सबैको दायित्व हो, तर विशेष महाधिवेशनका नाममा अवैधानिक भेला गरिएर पार्टीमा आन्तरिक समस्या ल्याउने काम भयो, पार्टीको विधानअनुसार महाधिवेशन गराउने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, कुनै व्यक्ति वा पदाधिकारीलाई महाधिवेशन गराउने अधिकार दिएको छैन, विशेष महाधिवेशन बोलाउन विषय खोलेर माग गरेमा केन्द्रीय समिति र केन्द्रीय कार्यालयले सो सम्बन्धमा निर्णय गर्ने हो, महाधिवेशनको कार्यविधि केन्द्रीय समितिले मात्रै बनाउने हो”, खड्काले स्पष्ट गर्नुभयो ।

“निवर्तमान महामन्त्री गगनकुमार थापाको जिम्मेवारीमा रहेको क्रियाशील सदस्य टुङ्गोमा पु¥याउनुपर्ने व्यवस्था कार्यान्वयन हुन सकेन, क्रियाशील सदस्य टुङ्गोमा पु¥याएर नबुझाइ गत पुस १७ गते केन्द्रीय समितिले जारी गरेको कार्यतालिकालाई सभापति र कार्यवाहक सभापतिको जानकारीबिना नै दुई महामन्त्रीले स्थगित गर्नुभयो, पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिमा पनि क्रियाशील सदस्यताको विवरण आएन”, उहाँले भन्नुभयो ।

कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्नेक्रममा गत मङ्सिर १५ गतेको बैठकले नियमित महाधिवेशनको कार्यतालिकासहित प्रक्रियाअघि बढाएपछि विशेष महाधिवेशनको ओैचित्य समाप्त भएको स्पष्ट गर्नुभयो । उहाँले गत पुसमा विशेष महाधिवेशन आयोजना गर्न नसकिने भएसँगै आगामी वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरिएको जानकारी दिनुभयो ।

“केन्द्रीय समितिका सबै बैठकमा महामन्त्रीहरु सहभागी हुनु भएकै हो, फागुन २१ को निर्वाचनका लागि पार्टी र मुलुक अगाडि बढिरहेको छ, विशेष महाधिवेशनको नाममा आएका माग–मुद्दालाई सम्बोधन गर्न हामी सहमत भएकै हो, सभापतिले पनि हदैसम्मको लचकता अपनाउनुभएको हो, विखण्डन रोक्न आह्वान गर्नु भएकै हो, तर त्यसलाई बेवास्ता गरी देशभरका महाधिवेशन प्रतिनिधिलाई बोलाउने काम गरेर पार्टीलाई समस्यामा पार्नुभयो”, उहाँले भन्नुभयो ।

“फागुन २१ गतेको निर्वाचन नेपाली कांग्रेसको पहिलो प्राथमिकता हो, संविधानको संरक्षण र नेपाली जनताको सार्वभौमसत्ताको रक्षा गर्नु नेपाली कांग्रेसको प्राथमिकता हो, तथापि निर्वाचन आयोगले प्रभाव र दबाबमा परेर गलत निर्णय गर्यो भने कांग्रेसले त्यसमा प्रतिकार गर्छ ।” कार्यवाहक सभापति खड्काले भन्नुभयो ।

पार्टीका निर्वाचन समितिका संयोजक एवं अधिवक्ता खम्बबहादुर खातीले कांग्रसको केन्द्रीय कार्यसमितिले गरेको निर्णय उल्टाउने अधिकार महामन्त्रीलाई नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी विधानको धारा ३ को १२ मा प्रष्ट व्यवस्था गरिएको छ, धारा १७ को ५ मा पनि उल्लेख छ, विशेष महाधिवेशन पक्षधरले विधानको धारा ३५ लाई उल्लङ्घन गर्नुभएको छ, विधानको एउटा धारा मात्रै पढेर हुँदैन, नियमित महाधिवेशनको कार्यतालिकासहित प्रक्रिया अघि बढेसँगै विशेष महाधिवेशनको आवश्यकता र औचित्य समाप्त भएको छ ।”

अधिवक्ता खातीले संविधानको धारा २७९ ले हरेक पाँच वर्षमा राजनीतिक दलहरूले अधिवेशन गर्नुपर्ने व्यवस्था गरेको भन्दै मौजुदा ऐन, कानुन र संविधानले विशेष महाधिवेशनलाई चिन्दैन भन्नुभयो । उहाँले यसरी विधि विधानविपरीत गरिएको विशेष महाधिवेशनले कानुनी वैधता प्राप्त गर्न नसकिने जिकिर गर्नुभयो ।

भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान

काठमाडौँ, २ माघ : गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न आह्वान गर्नुभएको छ । २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विपद् जोखिम न्यूनीकरणसम्बन्धी आवश्यक कार्यलाई संस्थागत, दीगो र परिणामुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न जारी रहने बताउनुभयो ।

मन्त्री अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

“प्रविधिमा आधारित बहुप्रकोपीय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन सक्दा पूर्वतयारीमा मद्धत पुग्न गई जनधनको क्षति कम हुन्छ”, गृहमन्त्री अर्यालले भन्नुभयो, “भूकम्पीय सुरक्षाका लागि सबै तहका सरकार र नागरिकको तयारी महत्वपूर्ण हुन आउँछ । भूकम्पबाट सुरक्षित घर, समुदाय एवं राष्ट्र निर्माण हामी सबैको जिम्मेवारी बनेको छ ।”

उहाँले भूकम्पलगायत विपद्बाट सुरक्षित रहन व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको प्रभावकारी र परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभयो । नेपालले विगतका तुलनामा भूकम्पलगायत विपद् प्रतिकार्यमा क्षमता विकास गरिरहेको जनाउँदै गृहमन्त्री अर्यालले भूकम्पलगायत विपद्सम्बन्धी बुझाइका दायरा पनि विस्तार हुँदै गएको बताउनुभयो ।

“पूर्वतयारी तथा बलियो संरचना निर्माणको चेतना विस्तार भएको छ । स्थानीय तहहरूले भवनसंहिताको पालना गराउने कार्यलाई अनिवार्य गराउँदै लगेको छन् । नागरिकमा पनि नक्सा पास गरेर मापदण्डअनुसारको घर निर्माण गर्नुपर्छ भन्ने सोच विकास हुँदै गएको छ”, उहाँले भन्नुभयो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामले भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक पूर्वतयारी र सतर्कता अनिवार्य रहेको बताउनुभयो । “विकास निर्माणमा विपद् जोखिम न्यूनीकरण गर्ने सम्बन्धमा नसोची दिगो विकास सम्भव छैन”, उहाँले भन्नुभयो, “भूकम्पको जोखिम न्यूनीकरण र पूर्वतयारी अनिवार्य सर्त हो ।”

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले भूकम्पलगायत प्राकृतिक प्रकोपको जोखिम न्यूनीकरण तथा पूर्वतयारीका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो । ‘सबै तहका सरकार, सबै नागरिकको तयारी, भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नाराका साथ आज भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति

काठमाडौँ, २ माघ : नेपाल बार एसोसिएसनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता गर्ने निर्णय अनुचित भएको जनाएको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा महान्यायाधिवक्ता कार्यालयको लामिछानेको उक्त मुद्दा फिर्ता लिने निर्णय अनुचित भएको जनाएको हो ।

“अपराधको राजनीतिकरण र राजनीतिको अपराधिकरणले दण्डहीनतालाई प्रश्रय दिई फौजदारी न्यायको आत्मा मार्ने भएकाले कानुनी शासनको प्रत्याभूतिका लागि उक्त निर्णयको विरोध गर्दछौँ”, बारले भनेको छ, “अतः उल्लिखित निर्णय तत्काल फिर्ता लिनका लागि समेत यस एसोसिएसन माग गर्दछ ।”

बारले फौजदारी न्याय प्रशासन स्वतन्त्र, निष्पक्ष र पारदर्शी हुनुपर्दछ भन्ने मान्यता बारले निरन्तर दिँदै आएको र मुद्दा फिर्तासम्बन्धी उक्त निर्णय प्रचलित कानुनी व्यवस्था र यसअघि सर्वोच्च अदालतले मुद्दा फिर्तासम्बन्धी प्रतिपादन गरेका सिद्धान्तविपरीत भएको जनाएको छ ।

“यस प्रकारको छनोटपूर्ण निर्णयले अदालतको क्षेत्राधिकार समेतमा आघात पुगी स्वतन्त्र न्यायापलिकाको अवधारणामा नै असर पुर्याउँदछ”, विज्ञप्तिमा भनिएको छ, “यस विषयले फौजदारी न्याय प्रणालीमा नै गम्भीर विचलन ल्याई कानुनको शासनको उल्लङ्घन भई कार्यकारीको स्वेच्छाचारितालाई बढावा दिने स्पष्ट छ ।”

महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते लामिछानेको ठगी तथा सहकारी ठगीमा दाबी गरिएको अभियोग कायम गरी सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग दाबी निजको हकमा कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम अभियोग संशोधन हुनेगरी स्वीकृति दिने निर्णय गरेको थियो ।

देशमा सुरक्षित संरचना निर्माण केवल इन्जिनियरिङले मात्र सम्भव छैन, समाजसँग सँगै काम गर्नुपर्छ – बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भू–बनोटसँगै विविधतायुक्त समाजलाई माथि उकास्न अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्ने बताउका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामन दिदै यस्तो कुरा गरेका हुन् । उनले २०७२ सालको भूकम्पपछि नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा सुरक्षित संरचना निर्माण केवल इन्जिनियरिङले मात्र सम्भव नहुने बताएका छन् ।

उनले लेखेका छन्, ‘नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो,नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन।’

उनले थप लेखेका छन्, भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ। राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो।’

सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता रहेको उनले बताए ।

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

गण्डकी, २ माघः आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र भएको कास्कीमा आजदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।

कास्की क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय पशुपन्छी अनुसन्धान तथा तालिम केन्द्र रामघाट, क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालय सङ्घीय जलस्रोत तथा सिँचाइ व्यवस्थापन कार्यालय, ड्यामसाइट र क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय मालेपाटनस्थित प्रदेश कृषि मन्त्रालयको भवनमा स्थापना गरिनेछ ।

महेन्द्रनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर, २ माघः बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।

बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ : फ्रान्स

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त ‘डेनिस’ भूमि आवश्यक पर्ने बताएपछि फ्रान्सका विदेशमन्त्री जाँ नोएल ब्यारोँले बिहीबार ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहेको बताउनुभएको छ।

डेनमार्कले खनिज पदार्थले भरिपूर्ण आर्कटिक टापु अमेरिकाले आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखेको बताएपछि ब्यारोँको प्रतिक्रिया आएको हो ।

“आर्कटिक सुरक्षा युरोपेली सुरक्षाबाट अविभाज्य छ,”ब्यारोँले भन्नुभयो ।

“हामी डेनमार्कको समर्थन र ऐक्यबद्धतामा उभिएका छौँ । जसरी हामी डेनमार्कको समर्थन र ऐक्यबद्धतामा भरोसा गर्न सक्षम हुने आशा गर्दछौँ, हामी आजको जस्तै अवस्थामा रह्यौँ भने समर्थन कायम रहिरहनेछ।”

“ग्रिनल्याण्ड एक युरोपेली क्षेत्र हो जुन नेटोको संरक्षणमा राखिएको छ”, ब्यारोँले भन्नुभयो, “नेटो, नेटोका सहयोगीहरू, युरोपेली देशहरू जहाँबाट आए पनि कुनै पनि खतराबाट आफ्नो भूमिको रक्षा गर्न पूर्ण रूपमा सक्षम छन्।”

यसअघि बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ग्रीनल्याण्डमा हुने सैन्य अभ्यासमा सहभागी हुन फ्रान्सले छिट्टै थप ‘स्थल, वायु र समुद्री’ सेना पठाउने बताउनुभएको थियो ।

“फ्रान्सेली सेवा सदस्यहरूको पहिलो टोली पहिले नै सैन्य अभ्यासस्थलमा छ र आगामी दिनहरूमा सुदृढ हुनेछ,” उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज आज सार्वजनिक बिदा दिएको छ।माघेसंक्रान्ति र थारु समुदायको माघी पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

प्रदेश राजपत्रमा जारी सूचना (२०८१ चैत २१ गते) अनुसार बिदा दिने निर्णय लागू गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले यो जानकारी दिएका छन्।