`

राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा

काठमाडौँ, ८ भदौः राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घर तथा सवारी कर्जामा विशेष सुविधा घोषणा गरेको हो ।

कर्जा सुविधाअन्तर्गत अधिकतम रु पाँच करोडसम्मको सीमा रहेकोे घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने बैंकले जनाएको छ । उक्त घर कर्जाका लागि प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने कर्जाको अवधि २० वर्षको हुनेछ ।

त्यसैगरी सवारी कर्जातर्फ विद्युतीय गाडी खरिदका लागि ६.१० प्रतिशत ब्याजदर र इन्धन गाडी खरिदका लागि ६.८० प्रतिशत ब्याजदरमा अधिकतम रु एक करोडसम्म कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ । दुवै किसिमका सवारी कर्जाको प्रशोधन शुल्क ०.५० प्रतिशत तोकिएको छ भने कर्जाको अवधि सात वर्षको हुने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वका अवसर पारेर सो सुविधा घोषणा गरेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिनुभयो । देशका सबै जिल्लामा रहेका तीन सय १० शाखा कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको जनाएको छ ।
–––

पुँजीपतिको व्यापारिक प्रवृत्तिले तीजलाई विकृत बनाएको छः उपाध्यक्ष भुसाल

काठमाडौँ, ८ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई पुँजीपतिको व्यापारिक प्रवृत्तिले विकृत बनाएको बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय छात्रा विभागले आज यहाँ आयोजना गरेको ‘तीज जनसंस्कृति र प्रगतिशील’ विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष भुसालले नाफा कमाउन बजारमा लामो समयसम्म व्यापार गर्ने, तडकभडकलाई प्रोत्साहन दिने र मौलिक संस्कृतिलाई मेट्ने कार्य बढिरहेको बताउनुभयो । यस्तो प्रवृत्तिलाई रोक्न जरुरी रहेको उहाँको भनाइ थियो ।

उपाध्यक्ष भुसालले समाजमा महिलालाई अझै दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने सोच कायम रहेको उल्लेख गर्दै तीजलाई महिला उत्पीडनसँग जोडिएको पर्वका रूपमा पनि बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले तीजलाई भड्किलो र खर्चिलो नबनाई मौलिक लोकगीतको संरक्षण, महिला अधिकारप्रतिको सचेतना र महिलालाई सङ्गठित गर्ने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजयप्रसाद सापकोटाले तीजलाई सांस्कृतिक, सामाजिक र मूल्यमान्यतालाई अगाडि बढाउने प्रगतिशील माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो । कार्यक्रममा छात्रा विभागकी अध्यक्ष ममता अधिकारीले तीजलाई सामाजिक मूल्य–मान्यतालाई आत्मसात् गर्दै मनाउनुपर्ने र विभाग आगामी दिनमा पनि महिला उत्थानका लागि सक्रिय रहने विश्वास व्यक्त गर्नुभयो ।

विपिन रिहाइको पहलका लागि थप प्रयत्न गर्न आमा र बहिनीको परराष्ट्रमन्त्रीसँग आग्रह

काठमाडौँ, ८ भदौः प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको पहलका लागि विपिनकी आमा र बहिनीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई धन्यवाद दिँदै आगामी दिनमा थप पहल गर्न आग्रह गर्नुभएको छ ।

विपिनकी आमा र बहिनीले आज परराष्ट्र मन्त्रालयमा भेट गर्दै मन्त्री डा राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै यसलाई आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता दिन आग्रह गर्नुभएको हो । मन्त्री डा राणाको पहल एवं नेपालस्थित इजरायली राजदूतावासको समन्वय तथा सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न तथा उहाँको रिहाइका लागि अपिल गर्न हालै इजरायल जानुभएको थियो । इजरायलबाट फर्केपछि आज उहाँहरुले मन्त्री डा राणालाई भेटेर यसबारेमा जानकारी गराउनुभएको हो ।

दुवै जनाले आफूहरु इजरायलमा रहँदा त्यहाँस्थित नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डित र इजरायल सरकारका अधिकारीहरुले सहयोग गर्नुभएको तथा त्यहाँ राष्ट्रपतिदेखि उच्चसरकारी अधिकारीहरुसँग भेटेर विपिनको रिहाइका लागि अपिल गर्न पाएको जानकारी दिनुभएको थियो । त्यस अवसरमा मन्त्री डा राणाले सरकारले विपिनको रिहाइमा सक्दो कूटनीतिक प्रयत्न गरिरहेको र आगामी दिनमा यसलाई थप सशक्त बनाउने बताउनुुभयो ।

मन्त्री डा राणाले उहाँहरुसँग भन्नुभयो, “यो एक वर्षमा म उपस्थित भएका संयुक्त राष्ट्रसङ्घीय महासभादेखि अन्तरराष्ट्रिय मञ्चहरु, विभिन्न द्विपक्षीय तथा अन्तरराष्ट्रिय बैठक तथा भेटवार्ताहरुमा विपिनको रिहाइको आग्रह गरिरहेकै छु । हामीले कूटनीतिक माध्यमबाट गर्न सक्ने र मिल्नेजति पत्राचार एवं अन्य आवश्यक पहल जारी राखेका छौँ ।”

आफूले इजरायल, इजिप्ट, इरान, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीदेखि लिएर अन्य देशका विदेशमन्त्री एवं अधिकारीसँगको भेट एवं फोनवार्ताका साथै संयुक्त राष्ट्रसङ्घदेखि अन्य अन्तरराष्ट्रिय फोरममा पनि विपिन रिहाइको मुद्दालाई सशक्त रुपमा राख्दै आएको मन्त्री डा राणाले जानकारी दिनुभयो । सन् २०२३ अक्टोबरमा इजरायलबाट विपिन हमास समूहको अपहरणमा परेका थिए ।

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौँ, ८ भदौः नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुुआनसँग नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको छ ।

भियतनामका अनररी कन्सुलर एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीले उपराष्ट्रपति सुुआनसँग आज भेट गरी सो विषयमा छलफल गर्नुभएको हो ।

बैठकमा दुवै देशबीचको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल भएको कमर्सले जनाएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएका अवसरमा भएको उक्त भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने सम्भावनाका रुपमा हेरेको जनाएको छ ।

उपराष्ट्रपति सुआनले नेपाल चेम्बर अफ कमर्स र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ट समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिनुभयो ।

चेम्बर अफ कमर्सले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

संविधान घोषणाको दशकलाई विशेष रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौँ, ८ भदौः नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप जनताबाट निर्वाचित संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थासहितको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवस मानिन्छ । यस वर्ष संविधान जारी भएको १० वर्ष पुगेकाले दिवसलाई थप हर्षाेल्लासपूर्ण र भव्य बनाउन नेपाल सरकारले तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बसेको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोग र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनुहुनेछ । बैठकले विषयगत उपसमिति पनि गठन गरेको छ ।

दिवसका अवसरमा असोज ३ गते काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा आमनागरिकको उपस्थितिमा मूल समारोह हुनेछभने प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रम प्रस्ताव गरिएका छन् । यसैगरी, दिवसका अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको साङ्गीतिक महोत्वस (नेसनल डे कन्सर्ट) आयोजना, झाँकी प्रदर्शनीलगायत कार्यक्रम प्रस्ताव गरिएको छ । दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्त्व, संविधानमा अन्तरनिहित पक्षमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सृजनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणाको १० वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेष रूपमा मनाउन आग्रह गर्नुभयो । उहाँले संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तीकरण, समावेशिताका चरित्र, लोककल्णयकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिक रूपमा जनतालाई संविधानको उपलब्धि र महत्त्वसँग एकाकार गराउन आग्रह गर्नुभयो ।

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने

दमौली (तनहुँ), ८ भदौः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा उहाँले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा पारदर्शी र सुशासनयुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

राजनीति गर्नेका लागि जनता नै सबैभन्दा माथि रहने भन्दै मन्त्री न्यौपानेले जनताको सुविधाका लागि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड थियो । उहाँले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न सम्बोधन गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो ।

मन्त्री न्यौपानेले भन्नुभयो, “जनता खुसी र सुखी हुनुपर्छ । सार्वजनिक निकायले पारदर्शी भएर सेवालाई चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ । जनताले गर्ने प्रश्नबाट भाग्ने होइन समाधान गर्ने हो ।” उहाँले विकासका कामले गति लिए पनि जनता यत्तिमै सन्तुष्ट नरहेकाले गति बढाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले समाजलाई नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताउनुभयो ।त्यस क्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाले प्रवाह गरिरहेको सेवाका बारेमा मन्त्री न्यौपानेलाई जानकारी गराउनुभएको थियो ।

‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन

काठमाडौँ, ८ भदौः भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गर्नुभएको उक्त प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्धित १३५ प्रदर्शनी कक्ष रहेका छन् । यस वर्षको प्रदर्शनीमा विगतका तुलनामा ३० नयाँ उत्पादनलाई समेटिएको आयोजक संस्था नाडाले जनाएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेता, उद्योगी, युवा व्यवसायी तथा सर्वसाधारणले अभिरुचिका साथ अवलोकन गरेका थिए ।

यस पटकको प्रदर्शनीमा अवलोकनकर्ताको मुख्य आकर्षण उड्ने कार र रोबर्टप्रति रह्यो । प्रदर्शनी समापनका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उत्कृष्ट प्रदर्शनीकक्ष सञ्चालन गर्ने उत्पादनकर्तालाई प्रशंसापत्र प्रदान गर्नुभयो । समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले मुलुकमा सबैभन्दा बढी राजस्व प्राप्त गर्ने र उपभोक्ता जोडिएको क्षेत्र अटोमोबाइल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आफ्ना उत्पादनबारे जानकारी दिन र त्यसमा उत्पादकले विश्वास हासिल गर्न यस्ता प्रदर्शनी महत्वपूर्ण साबित हुनेछन ।”नेपालले अटोमोबाइल क्षेत्रमा उत्पादन बढाउन र आत्मनिर्भर बन्नेतर्फ पाइला अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्री पौडेलले सडक यात्रालाई दुर्घटनारहित तुल्याउन तथा वातावरण मैत्री अटोमोबाइलका सामान उत्पादन गर्नेतर्फ ध्यान पु¥याउनुपर्छ भन्नुभयो ।

नाडाका अध्यक्ष करणकुमार चौधरीले नाडाका हरेक संस्करण स्मरणयोग्य भइरहेको दाबी गर्दै नेपालले पनि नयाँ प्रविधि र उपकरण उत्पादन गरी समृद्धिको यात्रामा अघि बढनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भविष्यको नयाँ नेपालको विश्वासको ढोका यस वर्षको प्रदर्शनीले खोलेको छ ।” प्रदर्शनीमा पछिल्लो समय उत्पादन भएका विभिन्न प्रकारका विद्युतीय सवारीसाधन, पाटपुर्जा, टायर र लुब्रिकेटजस्ता सामग्री राखिएका थिए ।

वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति

काठमाडौ । खानेपानीमन्त्री प्रदीप यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलवीच वीरगन्जमा देखिएको हैजा संक्रमण नियन्त्रण तथा रोकथामका विषयमा छलफल भएको छ ।आइतबार मन्त्री यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यमन्त्री पौडेलसँग प्रत्यक्ष भेट गरी वीरगंजमा देखिएको हैजा संक्रमणका सम्बन्धमा ध्यानाकर्षण गराउँदै विस्तृत छलफल भएको मन्त्री यादवको स्वकीय सचिवालयले जनाएको छ ।

उक्त छलफलमा वीरगंजका प्रभावित क्षेत्रमा कोलेरा किट तत्काल व्यवस्था गर्ने, लक्षणको आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, प्राइभेट अस्पतालहरूमा निःशुल्क परीक्षणको व्यवस्था गर्ने र आवश्यक थप मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट तथा नर्सलगायतको जनशक्ति तत्काल परिचालन गर्ने सहमति भएको खानेपानीमन्त्री यादवले जानकारी दिए ।

हैजा नियन्त्रणका लागि केन्द्र र स्थानीय सरकारबीच समन्वय गर्दै आवश्यक सबै कदमहरू तत्काल लागू गर्ने निर्णय गरिएको छ ।
वीरगंज महानगरपालिकाका विभिन्न वडा र टोलहरूमा देखापरेको हैजा संक्रमण नियन्त्रणका लागि आफ्नो प्रयास अविच्छिन्न रूपमा जारी रहेको मन्त्री यादवले बताए ।

उनले भने,‘वीरगंजमा फैलिरहेको हैजा नियन्त्रणका लागि हामी पूर्ण रूपमा सक्रिय छौं । यस कार्यमा सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज र स्थानीय समुदायको सहकार्य अपरिहार्य रहेको हुँदा सबैलाई साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।’

भारतबाट ईभी आयातमा वृद्धि

काठमाडौं । नेपालमा भारतबाट आयात हुने विद्युतीय गाडि (ईभी) आयातमा वृद्धि भएको छ । विशेषगरी नेपालमा चीनबाट धेरै ईभी गाडि भित्रिने भएपनि बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतबाट ईभी आयातमा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको हो ।

चालु आर्थिक वर्ष २०८२÷८३ को साउन महिनामा नेपालमा भारतबाट ८५ ओटा र चीनबाट ६० ओटा गरी कुल १६० ओटा चारपांग्रे ईभी आयात भएका छन् । अघिल्लो वर्षको तुलनामा चीनबाट आयात हुने ईभी सङ्ख्या घटेको देखिएको छ ।

अघिल्लो आव २०८१÷८२ को सोहि अवधिमा नेपालमा कुल ३८१ ओटा ईभी आयात भएका थिए । जसमध्ये चीनबाट २०२ ओटा र भारतबाट १७८ ओटा मात्रै आयात भएको विभागको तथ्यांकले देखाएको छ ।नाडा अटोमोबाइल्स एशोसिएशनका अनुसार बाढी पहिरोका कारण उत्तर तर्फका दुबै नाका रसुवागढी र तातोपानी ठप्प भएपछि भारतीय ईभी आयातमा वृद्धि भएको देखिएको हो ।

गत असार २४ मा नेपाल–चीन सिमास्थीत लेहेन्दे खोलमा आएको विनकाशकारी बाढीले नेपाल–चीन जोड्ने मित्तेरी पुल समेत बगाएपछि रसुवागढी बाट दुई देश बिच हुने व्यापार ठप्प छ । त्यसैगरी, अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर ठप्प बनेको तातोपानी नाका १८ दिनपछि बल्ल सञ्चालनमा आएको छ ।

मकवानपुरका स्थानीय तहका सशर्त अनुदानतर्फको बजेट फिर्ता

बागमती, ८ भदौ : मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको रु ३२ करोड २२ लाख फिर्ता गरेको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१/८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता गरेको हो । आव २०८१/८२ मा सशर्त अनुदानतर्फ रु दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ रु एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ रु पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ रु तीन करोड ५० लाख भुक्तानी गरिएकामा खर्च गर्न नसकेर रु ३२ करोड २२ लाख फिर्ता आएको हेटौँडाका कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिनुभयो ।

विभिन्न कारणले स्थानीय तहहरूले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताउनुभयो ।

त्यसैगरी, बागमती प्रदेश सरकारले आव २०८१/८२ मा खर्च गर्न नसकेको रु ४२ करोड फिर्ता भएको प्रमुख रेग्मीले बताउनुभयो । बागमती प्रदेश सरकारलाई आव २०८१/८२ मा रु ११ अर्ब ९६ करोड बजेट भुक्तानी दिए पनि रु ११ अर्ब ४७ करोडमात्र खर्च गर्न सकेकाले रु ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।
–––

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसनुसार, आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३२, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ३७, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४०, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

यस्तै, काउली स्थानीय प्रतिकिलो १३०, काउली (तराई) प्रतिकिलो ११०, रातो मूला प्रतिकेजी ५०, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ४५, भन्टा लाम्चो प्रतिकिलो ४०, भन्टा डल्लो प्रतिकिलो ५५, तने बोडी प्रतिकिलो १०० र मकै बोडी प्रतिकिलो ९० निर्धारण गरिएको छ ।
यसैगरी समितिले घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११०, टाटे सिमी प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १००, तीतो करेला प्रतिकिलो ८०, लौका प्रतिकिलो ८०, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ४०, घिरौला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ७०, फर्सी पाकेको प्रतिकिलो ४०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ७०, सलगम प्रतिकिलो ९०, भिण्डी प्रतिकिलो ६० तोकिएको छ ।
समितिले पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ३५, रायोसाग प्रतिकिलो १५०, पालुङ्गो साग प्रतिकिलो १००, तोरीको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो २००, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ३५०, न्यूरोे प्रतिकिलो ९०, ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ६०, सजिवन प्रतिकिलो १८०, रातो बन्दा प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो १३००, सौफको साग प्रतिकिलो १२०, पुदिना प्रतिकिलो ७००, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १०० र गुन्द्रुक प्रतिकिलो २५० निर्धारण गरिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २२०, स्याउ (फुजी) प्रतिकिलो २८०, केरा (दर्जन) १३५, कागती प्रतिकिलो १३०, अनार प्रतिकिलो ३३०, सुन्तला (भारतीय) प्रतिकिलो ३००, तरबुजा हरियो प्रतिकिलो ७०, मौसम प्रतिकिलो १४०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिगोटा १४०, काँक्रो (लोकल) प्रतिकिलो ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, रुखकटहर प्रतिकिलो ४०, नासपाती (लोकल) प्रतिकिलो ९०, नासपाती (चाइनिज) प्रतिकिलो २२०, मेवा (नेपाली) प्रतिकिलो ५०, मेवा (भारतीय) प्रतिकिलो ९०, अम्बा प्रतिकिलो २२० र लप्सी प्रतिकिलो ५०, किबी प्रतिकिलो ३५० र आभोकाडो प्रतिकिलो २५० तोकेको छ ।

थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदै

देउखुरी (दाङ) ८ भदौः पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व उनीहरूका लागि महत्त्वपूर्ण पर्व हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा छ ।

घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर दिदीबहिनीका लागि (अग्रासन) दिदी–बहिनीका लागि छुट्याइने परिकार छुट्याई बनाइएका पारिकार खाँदै यो पर्व मनाउने प्रचलन रहिआएको छ । “अटवारी पर्व महत्त्वपूर्ण पर्व हो, हिन्दूहरूको तिजजस्तै महत्त्वपूर्ण छ । हाम्रो समुदायमा दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्छन्”, उहाँले भन्नुभयो, “थारू समुदायमा यो पर्वको छुट्टै महत्व छ ।”

व्रत बसेको पहिलो दिन पनि अग्रासन छुट्याइ अग्नि देवतालाई चढाइसकेपछि खाना खाने गरिन्छ । दोस्रो दिन बिहान भात, तरकारी पकाई भात तरकारीको अग्रासन दिने गरेको घोराही उपमहानगरपालिकाका–३ का सुरज चौधरीले बताउनुभयो । “यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्छौँ, यो पर्व कुसेऔँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आफ्ना दिदीबहिनीका घरमा कोसेली पुगेपछि अटवारी पर्व समाप्त हुन्छ । यो पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध पनि प्रगाढ हुने विश्वास थारू समुदायमा छ । आफ्ना दिदीबहिनीलाई फलफूल, रोटी र विभिन्न किसिमका परिकार घरमा पुर्याउने गरिन्छ ।

पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकका रूपमा मान्दै आएको थारु संस्कृतविद् अशोक चौधरी बताउनुहुन्छ । अटवारी पर्व ऐतिहासिक घटनासँग जोडिएको छ ।

दाङका थारूराजा दङ्गीशरण र पाँच पाण्डवमध्ये भीमसँग सम्बन्धित छ । महाभारतका पाँच पाण्डव र दाङका थारूराजा दङीशरणबीचमा लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द«ोपदी सबै सुर्खेतको काँक्रेविहारमा घुम्न गएका बेला दाङका थारूराजा दङ्गीशरणको राज्यमा शत्रुहरूले आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छाडेर पाँच पाण्डवमध्ये भीम भोकैपेटमा पानीसमेत नखाई राजा दङ्गीशरणको पक्षमा लडेका थिए । भीमले राजा दङ्गीशरणको पक्षमा लडेर शत्रुलाई हराउन सफल भएका थिए । त्यही विजयोत्सवका अवसरमा थारू समुदायले अटवारी मनाउँदै आएका छन् । भीमजस्तै बलियो हुनका लागि पानीसमेत नखाई थारू समुदायका पुरुषले व्रत बस्ने गरेका छन् ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बर्का अट्वारी पर्वका अवसरमा आज सर्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका छ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको हो ।

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले थारू समुदायको अटवारी पर्वका अवसरमा आइतबार(आज)सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशका थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।

थारू समुदायको बसोबास बढिरहेको दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको हो ।

पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत बस्ने गर्दछन् ।
शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने तथा आइतबार बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन रहेको छ ।

साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बंगलादेश भिड्दैँ

काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ ।
खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ

नेपाल र बंगलादेश दुवैले अहिलेसम्म २ खेलबाट १ जित र १ हार प्राप्त गरेका छन् । नेपाल भारतसँग ७–० ले पराजित भएपनि भुटानलाई २–१ ले हराएको थियो भने बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार हारेको थियो ।

प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा छन् । आजै भारत र भुटानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

समाजवादी महिला संघ धनुषाद्वारा जनकपुरधाममा झाडुसहित प्रदर्शन

जनकपुर । जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ धनुषाले जनकपुरधाममा झाडुसहित विरोध प्रदर्शन गरेको छ ।
शनिबार संघका महिला सदस्यहरुसहित जसपा नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सडक अवरुद्ध गर्दै सरकार विरुद्ध प्रर्दशन गरेका छन् । उनीहरुले उपेन्द्र यादव जिन्दावाद, झुठो मुद्या खारेज गरे, ओली सरकार मुर्दावादलगायतका नारासमेत लगाएका छन् ।

जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जसपा नेपालका समानुपातिक मधेश प्रदेश सांसद ममता मण्डलले जानकारी दिईन ।
सरकारले उपेन्द्र यादवविरुद्धको मुद्या फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रीने उनले चेतावनीसमेत दिईन । उनले आज (आइतबार) पाँच हजार जना जनकपुरधामको सडकमा उतार्ने बताईन ।

गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो । ०६३ चैत ७ गते रौटहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक : कुलमान घिसिङ

स्पेन । युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काद्वारा संयुक्त रूपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले नेपालको समग्र रूपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताए ।
उनले भने, ‘मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र बिदेसिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक छ । अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन ।’
देशको हरेक क्षेत्रमा उज्यालो हुनुप¥यो भनेर उज्यालो नेपाल अभियान सुरु गरेको उनले बताए ।

घिसिङले भने, ‘म प्राधिकरणमा आउँदा हाम्रो कुल विद्युत् उत्पादन ८०० मेगावाट थियो, अहिले झन्डै ४ हजार मेगावाट पुग्न लागेको छ। पाँच गुना बढी उत्पादन भई रहेको छ। अरू हजारौँ मेगावाटका आयोजनाहरू निर्माणाधीन छन्। अहिले रु २५ अरब वार्षिक महसुल उठाई रहेका छौँ । प्राधिकरणलाई आर्थिक रूपमा सबल बनायौँ। आम जनताको सहयोग नभएको भए यो सम्भव हुने थिए ।’

यस्तै, उनले मुलुकको हरेक क्षेत्रमा रहेको अँध्यारो हटाउने, आशा जगाउन र हरेक नेपालीको अनुहारमा उज्यालो छर्ने सङ्कल्पका साथ अगाडी बढेको भन्दै यसकै लागि खाडी मुलुकहरू, अमेरिका, युके, बेल्जियम, द नेदरल्याण्डस, माल्टा हुँदै स्पेनको भ्रमणबाट हिनेको बताए ।
आफ्नो भेटघाटमा प्रवासमा रहेका सबै नेपालीले छिटो भन्दा छिटो नेपालको समृद्धि कसरी हुन् सक्छ ? हामीले के गर्न सक्छौँ ? नेपालमा लगानीको वातावरण कसरी राम्रो बन्छ ? भनेर चासो र चिन्ता व्यक्त गरेको उनले बताए ।

उनले भने, ‘प्रवासमा साथीहरूले धेरै राम्रो व्यवसाय, काम गरिरहनु भएको छ। यो नेपालको लागि ठुलो सम्पत्ति हो। ५० लाख नेपालीले विदेशमा बसेर अनुभव हासिल गर्नु भएको छ, विज्ञता हासिल गर्नु भएको छ। यो सबै विज्ञता नेपालको विकास र रूपान्तरणमा जोड्नु पर्छ ।’
उनले छिट्टै आवश्यक कानुन ल्याएर गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन गर्नु पर्ने पनि बताए । उज्यालो नेपाल बनाउने अभियानमा जोडिन उनले सबैलाई आग्रह पनि गरे ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्काका अध्यक्ष केशर बहादुर थापाले राष्ट्रको सेवामा लागेका कुलमान घिसिङजस्तो व्यक्तित्वको कुरा सुन्न पाउँदा निकै खुसी लागेको बताए । उनले प्रवासमा बसे पनि आफूहरू मातृभूमिको सुख दुखमा सधैँ हातेमालो गर्दै आएको बताए । सन् २०१५ मा महाभूकम्पमा रकम सङ्कलन गरेर नेपाल पठाएको स्मरण गर्दै अध्यक्ष थापाले उज्यालो नेपाल अभियानको सफलताको कामना गरे ।

कार्यक्रममा एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष विपिन कुमार बिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा घिसिङलाई कदर पत्र सहित सम्मान पनि गरिएको थियो। कलाकार सरोज लामिछानेले साङ्गीतिक प्रस्तुति गरेका थिए । विभिन्न संघ संस्थाले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश पठाएको कार्यक्रम संयोजक असीम लोप्चन तामाङले बताए ।

बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाकोे पूर्वानुमान

काठमाडौँ, ८ भदौ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा हुरीबतासको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागका केही स्थान र बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो

गाईघाट (उदयपुर), ८ भदौः त्रियुगा नगरपालिका क्षेत्रसहित अन्य क्षेत्रमा अहिले भाइरल ज्वरोको प्रकोप बढेको छ । जिल्ला अस्पतालका अनुसार साउन अन्तिम हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिकासहित जिल्लाको अन्य क्षेत्रमा पनि फैलन थालेपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या वृद्धि हुँदै गएको छ ।

जिल्ला अस्पतालका प्रमुख वीरेन्द्र मण्डलका अनुसार निरन्तर पानी पर्न थालेपछि सामान्य जमिनको पानीमा प्रदूषण र पिउने पानीको प्रदूषणका कारण पनि भाइरलको प्रकोप बढ्न थालेको हो । जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेका अनुसार अहिले दैनिक चार सय ५० देखि पाँच सय सयको सङ्ख्यामा भाइरलका बिरामी उपचार गर्न अस्पताल आउने गरेका छन् । अस्पतालमा आकस्मिक, ओपिडीसहित अन्य कक्षमा गरेर दैनिक पाँच सयका हाराहारीमा बिरामी बढ्दै गएपछि उनीहरूलाई बेडमा राखेर उपचार गर्न पनि समस्या हुन थालेको अस्पताल प्रशासनले जनाएको छ ।

साउनको अन्तिम हप्तादेखि फाटफुट्ट भाइरलका बिरामी अस्पतालमा उपचारमा आउन थालेका र भदौ सुरु हुनासाथ वृद्धि भएर चार सय ५० देखि दैनिक पाँच सयको सङ्ख्यामा बिरामी वृद्धि भएको सूचना अधिकारी पाण्डेले बताउनुभयो । भदौ लागेसँगै भाइरलको प्रकोप बढ्न थालेपछि जिल्ला अस्पतालसहित स्थानीय निजी अस्पताल, क्लिनिक र स्वास्थ्यचौकीमा पनि भाइरलका बिरामी उपचारमा आउने सङ्ख्या बढ्दै जान थालेको स्थानीय निजी अस्पताल तथा क्लिनिकले जनाएका छन् ।

वर्षासँगै मौसम प्रदूषण भएपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रका वडा नं १ जोगीदह, ३ मोतिगडा, २ खैजनपुर, ७ चुहाडे, ८ शाहीखोला, राजाबास, असारी, पोर्ताह, गाईघाट, लक्ष्मीपुरसहितका क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेपछि विद्यालय जाने उमेरकालाई समेत प्रभाव पार्न थालेको त्रियुगा–१२ का वडाध्यक्ष नवीनकुमार राईले बताउनुभयो ।

त्यसैगरी बेलका नगरपालिकाको भागलपुर, परनदह, आम्बासी, तपेस्वरीसहित चौदण्डीगढी नगरपालिकाका हँढिया, सुन्दरपुर, सिवाई बेलही देवधार क्षेत्रमा भाइरलको प्रकोप फैलन थालेको हँडियाका समाजसेवी युवा देवनारायण चौधरीले बताउनुभयो ।

छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

गोदावरी (कैलाली), ८ भदौः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो ।

गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन । पानीको स्रोत सुनिश्चितता नभएका कारण बजेट फ्रिज हुँदै आएको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि आव २०७५/७६ मा रु २० लाख र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिका कार्यालयले रु एक लाख ५० हजार विनियोजन गरेको थियो । आव २०७९/८० मा योजना निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले रु छ करोड विनियोजन गरे पनि खर्च हुन नसकेर फ्रिज गएको थियो । आव २०८०/८१ मा रु १२ करोड विनियोजन गरेको प्रदेश सरकारले २०८१÷८२ मा रु पाँच करोड रकम विनियोजन गरिए पनि खर्च हुन नसकेर फ्रिज भएको जनाइएको छ ।

आयोजना अघि बढाउन हरेक वर्ष बजेट विनियोजन गरिँदै आए पनि पानीको स्रोत सुनिश्चितता नभएकाले आयोजना निर्माणका लागि पुनः डिपिआर तयार गर्नुपर्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर टेकराज विनाडीले बताउनुभयो । उहाँले आव २०८१/८२ मा कार्यालयले आयोजनालाई ठेक्का प्रक्रियामा लैजान रु ४४ करोड लागत अनुमानको प्रतिवेदन तयार गरी आर्थिक मामिला मन्त्रालयमा पेस गरेको भए पनि मन्त्रालयले रु ३० करोड लागत अनुमानको प्रतिवेदन स्वीकृत गर्दा ठेक्का सम्झौता कार्य अघि बढ्न नसकेको बताउनुभयो । उहाँले सो आयोजनाको डिपिआरका लागि बजेटको माग गरिएको बताउँदै बजेटको सुनिश्चितता भएपछि डिपिआरको काम अघि बढ्ने जानकारी दिनुभयो ।

झण्डै दुई दशकअघि भत्केको बाँध अहिलेसम्म बन्न नसकेपछि किसान नहरको पानी उपभोग गर्नबाट वञ्चित हुँदै आएको स्थानीय दयाराम चौधरीले बताउनुभयो । वर्षौँ पुरानो सिँचाइ आयोजनामध्ये गुर्गी सिँचाइ आयोजनाको बाँध २०२६ सालमा तत्कालीन जमिनदार रामदिन महतो, छिमानन्द र देशराज महतोले आफ्ना रैतीमार्फत बनाएको बताइन्छ । आव २०६२/६३ मा पक्की बाँध बनाइए पनि २०६४ सालमा आएको बाढीले आयोजनाको बाँध भत्काएपछि सो आयोजना निर्माणको काम अहिलेसम्म अघि बढ्न नसकेको चौधरीको गुनासो छ ।

आयोजना बन्द भएर नहरसमेत अतिक्रमण भएपछि कैलारीका वडा नं १, २, ५ र ७ वडाका किसानले सिँचाइ अभावमा सो क्षेत्रका किसानले अकासे पानी र बोरिङको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता छ । जिल्लाकै नमूना रहेको सो योजनाबाट झण्डै छ हजार बढी किसान लाभान्वित हुँदै आएका थिए । बाढीले योजनाको बाँध भत्काएछि अकासे पानीको भर पर्नुपरेको किसानको गुनासो छ । उक्त सिँचाइ योजनाबाट एक हजार चार सयभन्दा बढी हेक्टर जमिनमा सिँचाइ उपलब्ध हुँदै आएको जनाइएको छ ।

सिँचाइ विकास डिभिजन कार्यालयको सर्भेअनुसार योजनाको लागत रु ४४ करोड अनुमान गरिएको छभने एक हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ । योजनाबाट कैलारी–१ का बिसनपुर, लवलपुर, मनाउ, हरिनगर, डम्मरा गाउँ, वडा नं ५ का सडकपुर, पबेरा, गोब्रैला, जग्दहवा, मनिकापुर, बैसपुर गाउँ र वडा नं ७ का रतनपुर, सिउपुर, नारायणपुर, वसन्ता, छटकपुर वसन्ता, भुँइयाफाटा, रामपुर गाउँका किसान लाभान्वित हुने जनाइएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशसभाअन्तर्गतको संसदीय उपसमिति अर्थ, विकास तथा प्राकृतिक समितिले एक हप्ताअघि सो बाँधको स्थलगत अनुगमनपश्चात सार्वजनिक सुनुवाइ गरेको थियो । आयोजना ढिलाइ सम्बन्धमा समितिले सो क्षेत्रका किसानसँग सुनुवाइ कार्यक्रम सुरु भएलगत्तै स्थानीय किसानले कार्यक्रम नै बहिष्कार गरेको प्रदेशसभा सदस्य शिवसिं वलीले जानकारी दिनुभयो ।

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ ।

इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुस्कार प्राप्त गरेका छन् ।

मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु २० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । सेकेन्ड रनरअप भई सीतु महर्जनले रु १० लाखसहित सिटिजन्स लाइफबाट रु १५ लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगदसहित सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ ।

यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु २५ लाख नगदसहित रु २० लाखबराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख र १५ लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । थर्ड रनरअप वाङ्गे गुरुङले रु छ लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा, फोर्थ रनरअप प्रशान्त पोखरेलले रु पाँच लाख नगद, रु १० लाखबराबरको बिमा तथा फिप्थ रनरअप दीपराज राईले नगद रु चार लाख तथा सिटिजन्स लाइफबाट रु १० लाखबराबरको बिमा प्राप्त गर्नुभएको छ ।

कल्चरल ग्रुप डान्स प्रतिस्पर्धामा भुटनिज रेफुजी डान्स ग्रुपले विजेता भई रु २५ लाख र गिफ्ट ह्याम्पर प्राप्त गरेको छ भने फस्ट रनरअप कल्चरल ग्रुप डान्समा मनास्लु वर्ड कलेजले रु १५ लाख प्राप्त गरेको छ । त्यसैगरी, युमा महारानी नृत्य समूह सेकेन्ड रनरअप हुन सफल भइ रु १० लाख प्राप्त गरेको छ । थर्ड रनरअप भएर नेपाल प्रहरीले रु पाँच लाख प्राप्त गरेको छ भने सामूहिक नृत्यतर्फ तरेली सांस्कृतिक ग्रुपले फोर्थ अनरअप भई रु तीन लाख पुरस्कार प्राप्त गरेको छ ।

विजेतालाई सभामुख देवराज घिमिरे, गृहमन्त्री रमेश लेखक, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायतले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभयो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९० रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ४४ पैसा र बिक्रीदर १०० रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २८ पैसा र बिक्रीदर चार रुपैयाँ ३० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३३ रुपैयाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७१ पैसा र बिक्रीदर २१ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३७२ रुपैयाँ २७ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ, ८ भदौः सङ्घीय संसद् विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि दफावार छलफल हुने कार्यसूची छ ।

सो विधेयक, २०८१ पुस २३ गते राष्ट्रियसभामा दर्ता भएको थियो । सो विधेयकमाथि २०८१ फाुगन ४ गते सामान्य छलफल भएको थियो । सोही दिन नै समितिमा दफावार छलफलका लागि पठाइएको थियो ।

जैविक वा निर्जीव वस्तु, प्रमाण, कुनै लिखत, मालसामान, भौतिक वस्तु तथा विद्युतीय सामग्री वा अनुसन्धानसँग सम्बन्धित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि प्राप्त वस्तुलाई वैज्ञानिक विधि र पद्दतिको प्रयोगद्वारा प्रमाणको सङ्कलन गर्न प्रयोगशाला स्थापना गरिनेछ ।

प्रयोगशालाको स्थापना, काम कर्तव्य र अधिकार, सञ्चालक समितिको गठन तथा काम कर्तव्य र अधिकार, परीक्षणसम्बन्धी व्यवस्था, कार्यकारी निर्देशक र कर्मचारीको व्यवस्था, प्रयोगशालाको कोष, लेखा तथा लेखापरीक्षणलगायतको व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती, ७ भदौः पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना भाइते भएका छन् ।

रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा प्र ०३–००५प ९०६९ नंको मोटरसाइकल ना७ख ५०१० नंको बसमा समेत ठोक्किएको थियो ।

दुर्घटनामा प९०६९ नंको मोटरसाइकल पछाडि सवार पर्साको वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी ४३ वर्षीया कविता जोशी श्रेष्ठको र ४८ वर्षीय प्रवीण श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । दुवै जना श्रीमान् श्रीमतीको हुन् ।

दुर्घटनामा परी गम्भीर कविताको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । प्रवीणको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन सरकारले आवश्यक सहयोग गर्छः स्वास्थ्यमन्त्री पौडेल

पथरी (मोरङ), ७ भदौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले यहाँको मिक्लाजुङ गाउँपालिकास्थित मिक्लाजुङ अस्पताललाई व्यवस्थित बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ । आज यहाँ बालमैत्री अस्पताल भवनको उद्घाटन गर्दै उहाँले सहज सेवा प्रवाहका लागि चाँडै व्यवस्थित परीक्षण प्रयोगशाला बनाउन आवश्यक उपकरण र अन्य सुविधा उपलब्ध गराउने बताउनुभएको हो ।

मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) सँग देशका विभिन्न एक सय स्थानमा प्रयोगशाला बनाउने सम्झौता भएको र त्यसमध्ये मिक्लाजुङ अस्पतालमा पनि व्यवस्थित प्रयोशाला बनाइने घोषणा गर्नुभयो । उहाँले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार सरकारको प्राथमिकता रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष बबिकुमार राईले अस्पतालमा दन्त उपचार सेवा शीघ्र सुरु हुने जानकारी दिनुभयो । उपाध्यक्ष दिनेश पौडेलले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर निरन्तर काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका लागि जग्गा प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा करिब रु एक करोड ९८ लाख ६१ हजार २८३ को लागतमा यहाँ बालमैत्री अस्पताल भवन निर्माण गरिएको हो ।

सुदूरपश्चिममा डेङ्गी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित

सुदूरपश्चिम, ७ भदौः सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ ।

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताउनुहुन्छ । डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।

“गमला, साइकल वा गाडीको टायर, खाली ड्रम जस्ता पानी जम्नसक्ने भाँडा तथा खाल्डामा लामखुट्टेले सजिलैसँग फुल पारेर आफ्नो वृद्धि विकास गर्ने भएकोले यस्ता सतर्कता अपनाउन आवश्यक छ”, जोशीले भन्नुभयो,“यस्ता सम्भावित स्थानको खोजीगरी लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ ।”

दुई वर्षअघि डेङ्गीका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो । निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले रोगको रोकथामका लागि लामखुट्टे मार्न ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनु आवश्यक रहेको बताउनुभयो । “यसमा हरेक स्थानीय तहको महत्त्वूर्ण भूमिका हुन्छ । आफ्नो क्षेत्रमा रोग सङ्क्रमणको अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । यसवर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।

सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्क उपचार हुने गरेको छ । लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

अर्घाखाँचीमा बाघको आक्रमणले सात बाख्रा मरे, आठ बेपत्ता

अर्घाखाँची, ७ भदौः जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट सात वठा बाख्रा मरेका छन् भने आठ वटा बेपत्ता छन् । शितगङ्गा–१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रा बाघले आक्रमण गरेको हो ।

“बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वटा बाख्रा हराएका थिए । तीमध्ये एउटा घाइते अवस्थामा र १४ वटा सकुशल फार्ममा फर्किएका थिए । अन्य बाख्रा खोजी गर्दा सात वटालाई बाघले आक्रमण गरी मारेको पायौँ, अझै आठ बाख्रा हराइरहेका छन्”, फार्म सञ्चालक घनश्याम अधिकारीले भन्नुभयो । बुधाबारदेखि निरन्तर खोजी गरिरहेको बताउँदै आज पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उहाँले बताउनुभयो ।

यतिका दिनसम्म बाख्रा फेला नपर्नुले ती बाख्रालाई पनि बाघले खाएको हुनसक्ने अधिकारीले आशङ्का व्यक्त गर्नुभयो । उहाँका अनुसार मृत बाख्रा करिब एक किलोमिटर दूरीमा पर्ने देउराली–पारे सामुदायिक वन क्षेत्रमा भेटिएका थिए ।

दुई वर्ष अगाडि बाख्रापालनका लागि रु १२ लाख लगानीमा संरचना बनाइएको जनाउँदै अर्का सञ्चालक विष्णु पौडेलले बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिलेसम्म रु ३५ लाख लगानी भइसकेको छ ।

बाघले गर्दा फार्मका ठूलो क्षति पुगेको बताउँदै पौडेलले गत जेठमा दुई हजार ५०० ब्रोइलर कुखुरा पालेकामध्ये एकै दिन एक हजार २०० मरेका जानकारी दिनुभयो । लगातारको क्षतिले फार्म सञ्चालक चिन्तामा छन् । स्वदेशमा केही गर्नुपर्छ भनेर पशुपन्क्षीपालनमा लगानी लगेको भन्दै सोचेजस्तो नतिजा आउन नसकेको उहाँहरूको भनाइ छ ।

पछिल्लो समय यस क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको स्थानीय बताउँछन् । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका चार बाख्रा जङ्गली जनावरले मारेको, एउटा बाख्रालाई घाइते बनाएको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

वीरगञ्ज (पर्सा), ७ भदौः पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु भएको छ । नारायणी अस्पताल, वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले उपचारको क्रममा झाडापखालाको लक्षण देखापरेका एक जना बिरामीको आज मृत्यु भएको जानकारी दिनुभएको छ । उहाँले बिरामीको हैजाको परीक्षण गर्न नपाउँदै मृत्यु भएको बताउनुभयो ।

यस्तै, वीरगञ्ज हेल्थ केयरमा उपचाररत अर्का एक बिरामीको शुक्रबार मृत्यु भएको बताइएको छ । स्वास्थ्य कार्यालयले झाडापखालाका कारण मृत्यु भए पनि हैजा थियो वा थिएन भन्नेबारे जाँच भइनसकेको जनाएको छ ।

‘डेडिकेटेड बेड’ छुट्याई उपचार गरिने

जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले हैजा र झाडापखालाका बिरामीलाई यहाँका सबै अस्पतालमा ‘डेडिकेटेड बेड’ छुट्याएर उपचार गर्न निर्देशन दिएको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले हैजाको सङ्क्रमण बढेको अवस्थामा उपचारका लागि पर्याप्त रूपमा ‘डेडिकेटेड बेड’ छुट्याई उपचार गर्न र जनशक्ति व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको हो ।

बैठकले झाडापखाला रोकथामका लागि सबै सरोकार भएका निकायको समन्वयमा जनचेतनामूलक घरदैलो कार्यक्रम सुुरु गर्ने निर्णय गरेको निमित्त प्रजिअ कार्कीले जानकारी दिनुभयो ।

यस्तै, सरसफाई प्रवर्द्धनका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकारवाला निकायलाई प्रभावकारी परिचालन गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोध गरेको पनि उहाँले बताउनुभयो ।

झाडापखाला, हैजाका लागि जिम्मेवार मानिएको भिब्रिओ कोलेरा जीवाणु रोकथामका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेसागत सङ्घसंस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्थालगायतको समन्वयमा आवश्यक सामग्रीको व्यवस्थापन गरी जागरण अभियानसमेत सञ्चालन गरिने जनाइएको छ ।

समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन मन्त्री खड्काको आग्रह

खाँदबारी (सङ्खुवासभा), ७ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले समृद्धिको यात्रामा सबै दललाई सहभागी हुन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन सङ्खुवासभाले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले ठूला राजनीतिक दललाई देश र जनताको हितप्रति बढी जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

मन्त्री खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण हुने भएकाले सरकार बाहिर बसेका दललाई अनावश्यक टिकाटिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गर्नुभयो । उहाँले कानूनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले झुठा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठूला वा साना सबै दल जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।”

सङ्खुवासभाको सन्दर्भमा उहाँले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गर्नुभयो । सङ्खुवासभा अन्तरदेशीय त्रिदेशीय मार्गको सामरिक महत्त्व रहेको बताउँदै उहाँले यसले नेपालको समृद्धिमा मात्र नभइ त्रिदेशीय सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले किमाथाङ्का नाका शीघ्र सञ्चालनमा ल्याउन सरकार प्रयासरत रहेको बताउँदै अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।

प्राकृतिक स्रोत वायु, पानी र सौर्यमाथि प्रत्येक नागरिकको समान अधिकार रहने जनाउँदै मन्त्री खड्काले सरकारले विपन्न वर्गलाई बिना धितो रु पाँच लाखसम्मको साहुलियत ऋण उपलब्ध गराउने योजना अघि सारेको उल्लेख गर्नुभयो । ती वर्गलाई समेटेर राष्ट्रसँगै समृद्धिको बाटोतर्फ अघि बढाउने यात्रा आरम्भ भएको उहाँको भनाइ छ ।

मन्त्री खड्काले भन्नुभयो, “गरिबीको रेखामुनि रहेका नागरिक पनि समृद्ध हुनेछन् भने मुलुक समृद्धितर्फ अघि बढ्नेछ । विकास र समृद्धि सबैको चाहना भएकाले सबै दल एकै ठाउँमा आएर राष्ट्रलाई समृद्ध बनाउन योगदान दिनुपर्छ ।”

कोशी राजमार्गको हुङ्गुङ खण्डमा पहिरो जाँदा तीन दिनदेखि आवागमन अवरुद्ध

खाँदबारी (सङ्खुवासभा), ७ भदौः कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ । खाँदबारीबाट किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोले पूर्ण रूपमा ठप्प बनेको हो ।

उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरसहित ढुङ्गा, माटो र झाँडी मिसिएको ठूलो पहिरो खसेको छ । “सडक निर्माणाधीन भएकाले पहिरो पन्छाउन उपकरण प्रयोग गर्न सक्ने अवस्था छैन । भिरालो भूभाग हुनुका साथै लगातारको वर्षाले पहिरो पन्छाउने काम चुनौतीपूर्ण भएको छ”, उहाँले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ । तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रु समस्यामा परेका छन् ।

गुरुङले वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो ठूलो र जोखिमपूर्ण भएकाले सडक कहिलेदेखि सञ्चालन हुने यकिन भन्न नसकिने बताउनुभयो । प्राविधिक टोलीले पहिरो पन्छाउने प्रयास जारी राखेका बताउँदै उहाँले तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना भने नदेखिएको जानकारी दिनुभयो ।

पहिरोले अवरुद्ध बनेको त्रिभुवनराजपथ सञ्चालन

मकवानपुर, ७ भाद्रौः त्रिभुवनराजपथको हेटौँडा-काठमाडौँ खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–१ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक आज सञ्चालनमा आएको छ । ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटाैँडा-काठमाडौँ खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका-८ भर्‍याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो सो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।

तीज महिलाहरूको चाड, पुरुषहरूले ताली बजाएर साथ दिनुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले तीज विशेष कार्यक्रममा महिलाको पर्वमा पुरुषहरूले सहयात्रीको भूमिका मात्र निर्वाह गर्नुपर्ने बताएका छन् ।काठमाडौंमा आयोजित हरितालिका तीज विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले तीज महिलाहरूको विशेष चाड भएकाले पुरुषहरूलाई भाषण होइन, ताली बजाएर समर्थन जनाउनुपर्ने बताएका हुन् ।

‘तीज भनेको महिलाहरूको चाड हो विशेषगरी,’ मन्त्री पौडेलले भने, ‘लोग्ने मान्छेहरूले हेर्ने, सहभागी हुने, साथ दिने, ताली बजाउने र एक्यबद्धता जनाउने हो। यो दिदीबहिनीहरूको पर्व हो ।’

उनले नेपाली समाजमा पुरुषप्रधान सोच अझै विद्यमान रहेको उल्लेख गर्दै त्यसविरुद्ध उभिनुपर्नेमा जोड दिए ।
‘हाम्रो एउटा मनोविज्ञान के छ भने पुरुष ठूलो हो भन्ने सोच अझै कायम छ,’ उनले भने, ‘जतिबेला पनि लोग्ने मान्छेलाई ठूलो ठान्ने, लोग्ने नभएसम्म केही हुँदैन भन्ने प्रचलन हटाउनुपर्छ ।’

कार्यक्रममा मन्त्री पौडेलले महिलाहरूले आजको दिनमा पुरुषहरूले गर्न नसकेका कामहरू गर्न सफल रहेको पनि बताए ।
उनले भने, ‘महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैन । त्यसकारण महिलाहरू सृष्टिका महान हुन् । तर महिलाले गर्न सक्ने सबै काम लोग्ने मान्छेले गर्न सक्दैनन् ।’

शिक्षा विकृति हटाउने प्रमुख माध्यम हो : मन्त्री सिंह

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शिक्षा विधेयक संविधानको मर्म र भावना अनुरूप हुनुपर्नेमा जोड दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंका पूर्व जिल्ला अध्यक्ष सम्मान कार्यक्रम तथा विद्यालय शिक्षा विधेयक सम्बन्धी सचेतना सभामा बोल्दै मन्त्री सिंहले शिक्षा क्षेत्रमा आवश्यक सुधार र नीतिगत परिवर्तन अपरिहार्य भएको बताए ।

‘अहिलेको समयलाई हामी सबैले राम्रोसँग बुझ्न जरुरी छ,’ मन्त्री सिंहले भने, ‘संविधान सभाबाट जारी भएको संविधानको मर्मअनुसार शिक्षामा आमूल परिवर्तन आवश्यक छ । अहिलेको शिक्षा विधेयक संसदमा पास हुने चरणमा रहेको छ, यसलाई गम्भीर ढंगले लिनुपर्छ ।’

उनले शिक्षा क्षेत्रलाई समाज परिवर्तनको मूल आधारका रूपमा व्याख्या गर्दै भने, ‘शिक्षा यस्तो माध्यम हो जसले समाजमा रहेका विकृतिहरू हटाउन महत्त्वपूर्ण भूमिका खेल्दछ । यस क्षेत्रमा उचित लगानी गर्न सके समाजलाई तीव्र गतिमा अगाडि बढाउन सकिन्छ ।’

कार्यक्रममा उनले शिक्षा प्रणालीलाई समावेशी, गुणस्तरीय र समतामूलक बनाउने दिशामा सबै सरोकारवालाले योगदान दिनुपर्ने आवश्यकता औँल्याए ।

भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

काठमाडौँ, ७ भदौः समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा हुनुहुन्छ । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उहाँ आज काठमाडौँ आउनुभएको हो ।

भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा गर्नुहुन्छ । नेपाल र भियतनामबीच १९७५ मे १५ मा औपचारिक दौत्य सम्बन्ध स्थापना भएको थियो ।

त्यसयता दुवै मुलुकबीच पारस्परिक सद्भाव र विविध क्षेत्रमा सहकार्य हुँदै आएको छ । दुई देशबीच यसप्रकारका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सरकारीस्तरमा मात्रै नभइ व्यापार, व्यवसाय र जनस्तरमा समेत द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउन योगदान पुग्ने विश्वास गरिएको छ ।

राजदूत ओलीले भन्नुभयो, “दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको सन्दर्भमा भियतनाका उपराष्ट्रपतिबाट नेपाल भ्रमण भएको छ, यो उच्चस्तरीय भ्रमणबाट नेपाल र भियतनामबीच व्यापार, लगानी, पर्यटन र सांस्कृतिक आदान–प्रदानलगायत आपसी सहकार्यका विविध क्षेत्रलाई नयाँ आयाममा लैजान पहल गर्नुपर्छ ।”

भियतनामका उपराष्ट्रपति सुआनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति यादव, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र र स्वयम्भूनाथको भ्रमण गर्ने कार्यक्रम छ ।

दुई देशबीच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसवर्ष दुवै मुलुकमा विविध कार्यक्रम आयोजना गरिएका छन् । नेपालले आउँदो अक्टोबरमा भियतनामको हनोइमा विशेष कार्यक्रम आयोजना गर्ने राजदूत ओलीले जानकारी दिनुभयो । कार्यक्रममा कृषि, पर्यटन, लगानी, व्यापार र सांस्कृतिक आदान–प्रदानलाई प्राथमिकताका साथ अघि बढाइने योजना छ । त्यस कार्यक्रममा नेपालका तर्फबाट पनि उच्चस्तरीय भ्रमणको सम्भावना छ ।

दुई मुलुकबीच कूटनीतिक र सरकारी राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) छुट दिने तथा लगानीसम्बन्धी सम्झौताको तयारी भइरहेको राजदूत ओलीले जानकारी दिनुभयो । “नेपालले लगानीमैत्री वातावरण बनाउन सकेमा भियतनामसँग संयुक्त लगानी गर्ने प्रशस्त सम्भावना छ । विशेषगरी कृषि, पर्यटन, ‘एग्रो–प्रोसेसिङ’, हर्बल उत्पादन र कफी प्लान्टेशनजस्ता क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना छन्”, उहाँले भन्नुभयो ।

भियतनामले उत्पादन र निर्यात क्षमतामा ठूलो प्रगति गरिसकेको छ । विशेषगरी कफी, धान, फलफूल र अन्य उत्पादनमा सफलता हासिल गरेको भियतनामसँग नेपालले अनुभव आदान–प्रदान गर्न सक्ने उहाँको भनाइ छ । कृषि मूल्य श्रृङ्खला विकास, आधुनिक प्रविधि प्रयोग र उत्पादन वृद्धिमा सहकार्य गर्न सकिने सम्भावना रहेको राजदूत ओलीले बताउनुभयो ।

दुई देशबीच पर्यटन अर्को सम्भावित क्षेत्रका रूपमा देखिएको छ । नेपाल र भियतनामबीच हालसम्म प्रत्यक्ष हवाई सम्झौता नभए पनि त्यसको प्रक्रिया सुरु गरिएको छ । यसलाई निष्कर्षमा पु¥याउन सकेमा दुवै देशबीच पर्यटक आदान–प्रदानमा सहजता हुने अपेक्षा गरिएको थाइल्याण्डका लागि नेपाली आवासीय राजदूत ओलीले बताउनुभयो ।

विशेषगरी लुम्बिनीलाई केन्द्र बनाएर ‘चार्टर फ्लाइट’ सुविधा उपलब्ध गराएमा भियतनाममार्ग हुँदै कोरिया, जापानलगायत मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सकिने विश्वास गरिएको छ । यसले बौद्ध पर्यटनलाई अझ प्रवर्द्धन गर्नेछ । “बौद्धमार्गी मुलुक भियतनामले नेपाललाई बुद्ध जन्मभूमि र हिमालको देश भनेर चिन्ने गर्छ । त्यसैले बौद्ध पर्यटन प्रवर्द्धनमा दुवै देशले संयुक्त रूपमा काम गर्न सक्छौँ”, राजदूत ओलीले भन्नुभयो ।

शैक्षिक तथा सांस्कृतिक आदान–प्रदानमा पनि दुई देशबीच सहकार्यको प्रशस्त सम्भावना छ । विशेषगरी लुम्बिनीमा स्थापित बौद्ध विश्वविद्यालय तथा अध्ययन केन्द्रलाई लक्षित गरेर विद्यार्थी आदान–प्रदान कार्यक्रम सञ्चालन गर्न सकिनेछ । यसले दुई देशका युवापुस्ताबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । त्यसैगरी, नेपाल–भियतनाम मैत्री सङ्घ सक्रिय रूपमा लागिरहेको र यसले दुवै देशका नागरिकस्तरीय सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पु¥याइरहेको छ ।

नेपाल र भियतनाम दुवै मुलुक बुद्ध धर्मसँग सम्बन्धित भएकाले सांस्कृतिक नाता गहिरो छ । अन्तरराष्ट्रिय मञ्चमा पनि दुवै देश शान्तिप्रिय राष्ट्रका रूपमा परिचित छन् । जलवायु परिवर्तन, हरित विकास र बहुपक्षीय सहकार्यका विषयमा दुवै देशको साझा दृष्टिकोण रहेको राजदूत ओलीको भनाइ छ । उहाँले भन्नुभयो, “नेपाल र भियतनामले अन्तरराष्ट्रिय मञ्चमा प्रायः समान खालका आवाज राख्ने गरेका छन् । हामीले एकअर्कालाई निरन्तर सहयोग गर्दै आएका छौँ । वातावरणीय विषय, क्षेत्रीय सहकार्य, दिगो विकासलगायत कुरामा हाम्रा समान धारणा छन् ।”

नेपाल–भियतनाम दौत्य सम्बन्धको ५०औँ वार्षिकोत्सव द्विपक्षीय सम्बन्धलाई अझ नजिक ल्याउने महत्त्वपूर्ण अवसर मानिएको छ । राजदूत ओलीका अनुसार भियतनामका उपराष्ट्रपतिको नेपाल भ्रमण दुई देशबीचको सम्बन्ध थप मजबुद तुल्याउने महत्त्वपूर्ण कडीका रूपमा रहने छ ।

यस अवसरलाई प्रयोग गरेर दुई देशबीच व्यापारिक साझेदारी, लगानी प्रवर्द्धन, पर्यटन विकास र सांस्कृतिक आदान–प्रदानलाई नयाँ ढङ्गले अघि बढाउने योजना रहेको छ । “भियतनामका उपराष्ट्रपतिको यो भ्रमण सद्भावको सुरुआत हो । भविष्यमा सहकार्यका प्रशस्त सम्भावना छन् । जति द्विपक्षीय सम्बन्धलाई बढाउँदै लगिन्छ, त्यति नयाँ अवसर खुल्दै जानेछन् । यस भ्रमणको मूल सन्देश भनेकै सम्बन्धलाई अझ मजबुत बनाउने हो”, राजदूत ओलीले भन्नुभयो ।

राजनीतिक प्रणाली र सोचमा गहिरो समस्या छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले वर्तमान नेपाली राजनीतिमा अग्रगामी रूपान्तरणको आवश्यकता औंल्याउँदै विचारकै पुनःसंरचनाको खाँचो रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पुस्तक ‘एन्टिथेसिस’ दोस्रो संस्करणको प्रकाशन सन्दर्भमा आयोजना गरिएको बहस कार्यक्रममा बोल्दै भट्टराईले देशमा विचारको विकास हुन नसकेको बताउँदै नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताए ।

उनले भने, ‘विचारकै पुनःसंरचना गरेर समयको परिस्थिति अनुसार जानु जरुरी छ । अहिले विश्वभर विचारको खडेरी छ, र यो हाम्रो मुल समस्या हो । संसारमा जुन ज्ञान, विज्ञान, प्रविधि र चेतना सिर्जना भएको छ । त्यसमा आधारित भएर नयाँ विचारको निर्माण गर्न जरुरी छ । हामीले विचारको नयाँ संस्करण तयार पार्नुपर्छ ।’

त्यसैगरी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लेखित उपलब्धिहरूको उपभोग जनतासम्म पु¥याउन नसकिएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘संविधानमा प्रगतिका कुरा लेखिएको छ तर ती जनताले भोग्न पाएका छैनन् । संविधानको उपभोग बनाउने अवस्था सिर्जना गर्न हामी चुक्यौं । यो प्रश्न मैंले आफैंलाई गरेको हुँ । तर मेरो आत्मसमीक्षाले अरूलाई डरलाग्छ होला । संसद्मा निरन्तर रही काम गरिरहेकाले यो प्रश्न गर्न मलाई अधिकार छ ।’

शर्माले पछिल्लो समय संसद् प्रणालीप्रति पनि निराशा व्यक्त गरे । ‘अहिले त संसद्मा कानुन नै चोरी हुने अवस्था देखिन्छ । संसद्मा आइएछ, तर केका लागि भन्ने लाग्न थालेको छ । यो सायद अनुभवको थकान वा व्यवस्थाप्रति बढ्दो असन्तुष्टि पनि हुन सक्छ,’ उनले थपे ।
कार्यक्रममा लेखक प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ को दोस्रो संस्करण सार्वजनिक गरिएको थियो । कार्यक्रममा नेपाली राजनीतिको रूपान्तरणबारे विविध धारणा व्यक्त गरिएका थिए ।

मन्त्री यादवको निर्देशनपछि हैजा प्रभावित वीरगन्जमा टोली परिचालन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपश्चात वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ ।

वीरगञ्ज महानगरपालिकामा हैजा रोगका विरामी भेटिएपछि त्यहाँको खानेपानी परिक्षणका लागि आवश्यक सामग्रीसहितको मोबाइल भ्यान टोली खटिएको र टोलीले पानी परिक्षणको कार्य सुरु गरेको मन्त्री यादवले बताए ।
उनले भने, ‘तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या छ । यतिबेला वीरगञ्जमा हैजाका बिरामीहरू देखिनु निकै चिन्ताको विषय हो । हामीले त्यस क्षेत्रको खानेपानी परीक्षण गर्न टोली खटाएका छौँ ।’

यसैगरी मन्त्री यादवले हैजा नियन्त्रणका लागि सरकार पूर्णरूपमा संवेदनशील रहेको बताए । यादव पनि अहिले हैजा प्रभावित क्षेत्रमा पुगेर मुर्ली लगायतका क्षेत्रहरू तथा नागराणी अपस्तामा पुगेर त्यहाँ उपचार गराई रहेका बिरामीहरूको अवस्था, खानेपानीको स्रोत, सरसफाइ र ढल व्यवस्थापनको अवस्था अध्ययन गर्नुभएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

प्रभावित क्षेत्रमा हैजा फैलिन सक्ने सम्भावना भएकाले पानी शुद्धिकरणका लागि ‘पियुष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली तत्कालै वीरगञ्ज पठाइएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।

वीरगंजमा हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर, ७ भदौः पर्साको वीरगंजमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले स्वास्थ्य टोली खटाएको छ । मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभएका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निर्देशनपछि उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका महाशाखा प्रमुख डा विपिनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरलाई वीरगन्ज पठाइएको हो ।

मलेसिया भ्रमणमा रहनुभएका मुख्यमन्त्री सतिशकुमार सिंहसँगको समन्वयमा सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले हरसम्भव उपाय अवलम्बन गर्ने र त्यसका लागि प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयहरूलाई सक्रिय बनाइएको मुख्यमन्त्रीको सचिवालले जनाएको छ ।

यसैगरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पनि प्रभावित क्षेत्रमा खटिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिनुभएको छ । उपचार सेवा थप प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको र वीरगञ्ज खटाइएको टोलीले आवश्यक सुझाव दिएपछि थप कार्य अगाडि बढाइने उहाँले बताउनुभएको छ । वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।

शीप विकासलाई राष्ट्रिय प्राथमिकता बनाउन ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले देशको समृद्धि र दिगो विकासका लागि प्राविधिक शिक्षा र सीप विकासलाई अपरिहार्य ठहर गर्दै यसलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

‘संखुवासभा जिल्लामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको आवश्यकता र औचित्य’ विषयक छलफल कार्यक्रममा उनले आजको युगमा केवल प्रमाणपत्रले मात्र रोजगारीको ग्यारेन्टी नगर्ने भन्दै व्यवहारिक र सीपयुक्त जनशक्ति उत्पादन अनिवार्य भएको प्रस्ट पारेका हुन् ।
उनले भने, ‘शिक्षालाई जीवनोपयोगी र व्यवसायिक बनाउनु अहिलेको आवश्यकता हो। देशको समृद्धिका लागि हामी सबैको समान जिम्मेवारी छ र स्रोतहरूको उच्चतम उपयोग गरेर आधुनिक शिक्षा तथा प्रविधिको माध्यमबाट मात्र गरीबीको ट्याग हटाउन सक्छौं ।’

यस्तै, उनले नेपालमा दक्ष जनशक्ति अभावका कारण महंगो भुक्तानीमा बाहिरबाट जनशक्ति भित्र्याउनुपर्ने बाध्यता रहेको भन्दै व्यवहारिक शिक्षा र सीपयुक्त तालिम विस्तार अपरिहार्य भएको उल्लेख गरे । उनले सरकारले ६४ खर्बको लगानीमा आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरेको गरेर अगाडी बढेको जानकारीसमेत दिएका छन् ।

संखुवासभा जस्तो सम्भावनायुक्त जिल्लामा कृषि, पर्यटन, जलविद्युत् तथा पूर्वाधारसँग सम्बन्धित प्राविधिक तालिमलाई प्राथमिकतामा राख्नुपर्ने पनि उनको भनाई छ । उनले भने, ‘हामीले वैदेशिक रोजगारीका लागि मात्र सीप दिने होइन, आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्ने खालका तालिमलाई प्रवद्र्धन गर्नुपर्छ । सरकार यसतर्फ गम्भीर छ र निजी क्षेत्र तथा स्थानीय तहसँग सहकार्य गरेर सीप विकासलाई सशक्त बनाउँदैछ ।’

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) का सदस्य सचिव महेश भट्टराईले विद्वान हुनु मात्र पर्याप्त नभएको भन्दै अबको समयमा रोजगारमूलक शिक्षा र सीप विकासमार्फत युवालाई सशक्त बनाउनुपर्नेमा जोड दिए । उनले समाजमा ‘मास्टर हुँदा इज्जत नजाने’ भन्ने संस्कृतिलाई प्रोत्साहन गर्दै व्यवहारिक सीपलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

सोही कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यलगायत विभिन्न स्थानीय जनप्रतिनिधि, शिक्षाविद् तथा सरोकारवालाले प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई आधार बनाएर युवालाई अवसर दिन सकिने र यसले दिगो विकासलाई गति दिने विश्वास व्यक्त गरेका थिए ।

सो छलफलमा जिल्लास्थित नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनता समाजवादी पार्टीलगायत विभिन्न राजनीतिक दलका नेताहरू एउटै मञ्चमा उपस्थित भएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको विस्तारमा ऐक्यवद्धता जनाएका थिए ।

‘जनै हराएको मान्छे’ : बुवाको मुख हेर्ने दिनको उपहार हुनेछ

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ आफ्ना बुवाआमालाई हलमा लगेर देखाउन निर्माणपक्षले आग्रह गरेको छ ।शनिबार परेको बुवाको मुख हेर्ने दिनको अवसरमा बुवाआमा हुनेहरूलाई हलमा लगेर देखाउन निर्माण पक्षको आग्रह छ ।

अभिनेत्री केकी अधिकारीले छोरीहरूले चाहेर पनि बुवा, भाइ तथा माइतीका लागि गर्न नसक्ने अवस्थामा रहने कथा चलचित्रले देखाएकाले छोरीहरूले बुवाको मुख हेर्ने दिन यो सिनेमा बुवालाई देखाउनुपर्ने बताउँछिन् ।

यस्तै, अभिनेत्री मिरुना मगरले दर्शकको अनुभव साझा गर्दै भनिन्, ‘हाम्रो समाज अन्तरमुखी छ । धेरै कुरा मनमा राख्छौं तर अभिव्यक्त गर्न सक्दैनौं । दर्शकले यो फिल्मले आफ्नो मनको कुरा बोलेको भन्दै धन्यवाद दिएका छन् ।’

लाविम महल, सिटी स्क्वायर, सिभिल महल, एफक्युबलगायतका महलमा पुगेका विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, भोलाराज सापकोटालगायत कलाकार दर्शकको प्रतिक्रिया लिन हलमा पुगेका थिए । हलमा दर्शकले सिनेमाले बुवाआमालाई सम्झाएको, नोस्टाल्जिक बनाएको बताएका थिए । दर्शकको प्रतिक्रिया पाएपछि विजय र केकीले बुवाको मुख हेर्ने दिन ‘जनै हराएको मान्छे’ देखाउन आग्रह गरेका हुन् ।

शुक्रबारबाट रिलिज भएको ‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’लाई हलमा दर्शकको उत्कृष्ट वर्ड अफ माउथ मिलेको छ । पारिवारिक उतारचढाव देखाएको चलचित्रलाई दर्शकले आफ्नै जिन्दगीको कथासँग रिलेट गरिरहेका छन् ।

अधिकांश दर्शकले सिनेमाले भावुक बनाएको बताएका छन् । कति दर्शक त रोइरहेका भिडियोहरू आइरहेका छन् । यो चलचित्र हेरेका दर्शकले बुवाआमालाई सम्झाएको र भावुक बनाएको प्रत्यक्ष भेटघाटमा पुगेका कलाकारहरुसँग प्रतिक्रिया दिएका थिए ।

‘जनै हराएको मान्छे ः सम्बन्धका धागाहरू’ मा विजय बराल र केकी अधिकारीसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ । हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ७ भदौ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छ ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो प्रतिकिलो रु ५२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३१, आलु रातो (मुडे) प्रतिकिलो रु ४६, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु १२०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु १३०, काउली (ज्यापु) प्रतिकिलो रु १३०, काउली (तराई) प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ५०, भन्टा डल्लो प्रतिकिलो रु ६०, तने बोडी प्रतिकिलो रु १२०, मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (जाज्मा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ९०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ७०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ७०, सलगम प्रतिकिलो रु १००, भिण्डी प्रतिकिलो रु ८० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकिलो रु १२०, तोरीको साग प्रतिकिलो रु ९०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु २८०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु १४००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टेमुला प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १६०, अनार प्रतिकिलो रु ३६०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १५०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३५, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४००, सरिफा प्रतिकिलो रु २५० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु १५०, अदुवा प्रतिकिलो रु १२०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

वीरगञ्जमा हैजाका बिरामी भेटिए, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज (पर्सा), ७ भदौ : वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन् ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले हैजाका बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिनुभयो । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए ।

सो अस्पतालले ठूलो सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरलाई खबर गरेको थियो । नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भित्रियो कोलेरा पाइएको थियो ।

वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् ।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएको बताइएको छ । महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन शुक्रबार रातिदेख नै स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको बताउनुभयो ।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापर्वाही नगर्न सबैलाई अनुरोध गर्नुभएको छ । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले नारायणी अस्पतालको आकस्मिक विभागमा पनि झाडापखालामा गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको जानकारी दिनुभयो । “यो हैजा हुनसक्ने सम्भावना छ । नआत्तिकन आफूले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन अनुरोध गर्दछु”, उहाँले भन्नुभयो ।