`

अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

वासिङ्टन डिसी, १६ कात्तिक : परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गर्नुभएको छ ।

मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताउनुभयो । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रुपमा विकास गर्न कुनै कसर नराख्ने उहाँको भनाइ थियो ।

अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका मन्त्री साउदले अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधवार वासिङ्टन डिसीमा अन्तक्र्रिया गर्नुहुँदै उक्त आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, “विश्वमा कार्बन उत्सर्जनलाई कम गर्न स्वच्छ ऊर्जाको उपयोग बढाउँदै लैजानुपर्ने अवस्थामा नेपालमा भएको बिजुली ठूलो मात्रामा छिमेकी देशमा उपलब्ध गराउन सकिन्छ, यसका लागि अमेरिकी निजी क्षेत्रले आर्थिक तथा प्राविधिक स्रोत परिचालन गरेर लाभ हासिल गर्न सक्छन् ।”

मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को संभावना भएको उल्लेख गर्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता आदि कारणले यसमा लगानी गर्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो– “नेपालको आर्थिक रुपान्तरणमा सूचना प्रविधि गेम चेञ्जर हुनेमा म विश्वस्त छु ।” सूचना प्रविधीको कम्पनी स्थापनाका लागि सय रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक प्रत्यक्ष लगानी गर्नसक्ने गरी सरकारले नयाँ नीति लागू गरेको उहाँले बताउनुभयो । अरु क्षेत्रका लागि न्यूनतम रु दुई करोड लाग्ने मन्त्री साउदको भनाइ थियो ।

मन्त्री साउदले वैदशिक लगानीका लागि वाणिज्य विभागमा एकद्वार प्रणालीमार्फत सहजीकरण गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “नेपालले वैदेशिक लगानीको स्वचालित प्रणालीअनुरुप रु १० करोडसम्मको लगानीका लागि पूर्वस्वीकृत लिन नपर्ने व्यवस्था गरेको छ ।”

उक्त अवसरमा अमेरिकाको चेम्वर अफ कमर्सले नेपालमा स्थापना भएको अमेरिकन चेम्बर अफ कमर्स इन नेपाललाई वैधानिकता प्रदान गरेको थियो । सो अवसरमा एमच्याम्वरका संस्थापक अध्यक्ष अजित शाहले वैधानिकताको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका प्रमुख जोन मुर्फे र अर्का उपाध्यक्ष अतुल कश्यपले नेपालमा अमेरिकी लगानीकर्ताको चासो बढेको बताउनुभएको थियो ।

कार्यक्रममा अमेरिकन चेम्बर्स अफ कमर्सका प्रतिनिधि, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन्, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीलगायत दूतावासका अधिकारी, परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति थियो । नेपालले पछिल्ला वर्षमा आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखेर वैदेशिक लगानी, पर्यटन प्रवद्र्धनलगायत क्षेत्रमा नेपाली नियोगलाई परिचालन गर्दै आएको छ ।

गाजा शरणार्थी शिविरमा भएको आक्रमणको संयुक्त राष्ट्रसङ्घद्वारा निन्दा, जोर्डनले राजदूत फिर्ता बोलाउने

संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा हमासका एक कमाण्डरलाई लक्षित गरी गरिएको आक्रमणमा दर्जनौँ सर्वसाधारण व्यक्तिको मृत्यु भएको भन्दै बुधबार त्यसको भत्र्सना गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यजारी गर्दै भन्नुभएको छ, “गाजाका जनतामाथि परेको यो पछिल्लो ज्यादती हो, जहाँ युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको छ ।”

यसैबीच, जोर्डनबाट प्राप्त समाचार अनुसार अक्टोबर ७ मा भएको आक्रमणको विरोधमा इजरायलले गाजाका हमास शासकविरुद्ध लिएको कदमको विरोधमा जोर्डनले आफ्नो राजदूतलाई ‘तत्काल’ फिर्ता बोलाउने बताएको छ ।

’जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गर्नुभएको छ,” विदेश मन्त्रालयले भनेको छ, “गाजामा निर्दोष मानिसको ज्यान लिने इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको हो ।”

नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ, १६ कात्तिक : आइसिसी टि–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल अहिले ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केहीबेर अघि नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

ओमानले अहिले ब्याटिङ गरिरहेको छ । ओमानले पहिलो ओभरको पाँचौँ बलमा नै कश्यप प्रजापतिलाई गुमाएको छ । उनी करण केसीको बलमा विकेटकिपर आशिफ शेखद्वारा क्याचआउट हुन पुगेका हुन् । प्रजापतिले पाँच बलमा दुई चौकाको मद्दतमा आठ रन बनाए ।समूह चरणका यसअघिका दुवै खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । ओमान नेटरनरेटका आधारमा समूह ‘ए’ को शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा रहेको छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । आजको खेलबाट समूह ‘ए’ को विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै खेलाडीलाई निरन्तरता दिएको छ । नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

जनप्रतिनिधि जनताको घेराबन्दीमा हुन्छ : सांसद ढकाल

काठमाडौँ, १६ कात्तिक : प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकाल जनताको घेराबन्दीको बीचमा रहेर सांसदले काम गर्नुपर्ने हुँदा कानुन बनाउने काम मात्र गर्छु भनेर पन्छिन नमिल्ने बताउनुहुन्छ । नेकपा (एमाले) का तर्फबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँ सांसदलाई विकास निर्माण र जनताको सुख, दुःखमा साथ दिने भनेर नै समाजले बुझ्ने गरेको बताउनुहुन्छ ।

एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद ढकालले भन्नुभयो, “जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कानुन बनाउने, आफू निर्वाचित भएको क्षेत्रमा अधिकतम बजेट लैजाने र जनतासँगको सम्बन्ध सम्पर्कलाई जीवन्त बनाउने नै जनप्रतिनिधिको मुख्य काम हो । जनप्रतिनिधि भएपछि गाउँको विकासमा ध्यान दिन्छन् भन्ने जनताको बुझाइ छ ।”

एमाले बाँकेका इञ्चार्जसमेत रहनुभएका सांसद ढकाल सदन सुरु भएको करिब आठ महिना बितिसक्दा पनि कानुन बनाउने कामले तीव्रता नपाउनुमा संसद् र सांसद मात्र दोषी हो जस्तो लाग्दैन । “संविधान अनुकूल र अन्य कानुन बनाउन ढिलाइ हुनुमा संसद् र सांसदको मात्र दोष छैन”, उहाँले भन्नुभयो, “सरकारले सदनलाई दिएको विजनेसका आधारमा कानुन बन्ने हो ।” सदनले प्रभावकारी तरिकाले काम गर्न सकेन भन्नुको कुनै अर्थ नरहेको सांसद ढकालको भनाइ छ ।

“सरकारकै कारण सदनले प्रभावकारी ढङ्गले काम गर्न सकेन, सरकारले विकास निर्माणका कामलाई पनि निरन्तरता दिएन”, उहाँले भन्नुभयो, “जनताका कुरा प्रत्यक्ष जोडिएका विषयमा राज्यले ध्यान दिनुपर्छ, दैनिक उपभोग्य सामग्रीको महँगी अत्यधिक बढ्ेको छ, त्यसको नियन्त्रणका लागि कुनै पहल भएको छैन, लाखौँ युवा विदेश पलायन भइरहेका छन् । यस्ता विषयमा प्रतिपक्षी दलले आवाज उठाउनैपर्ने हुन्छ ।”

सरकार र जनताको आवाजको पुलको रुपमा काम गर्ने सांसदले संसद अवरोध गर्नु ठीक नभएको सांसद ढकालको बुझाइ छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डताको विषयमा प्रश्न उठेपछि र ठूलो मात्रामा सुन तस्करी भएको थाहा पाएपछि त्यसको छानबिनका लागि सदन अवरोध गरिएको उहाँको भनाइ छ । सत्तापक्षले प्रतिपक्षलाई कहिलेकहीँ संसद् अवरोध गर्न बाध्य बनाउने अवस्था पनि आउने गरेको तर एमाले सैद्धान्तिक र व्यवहारिक हिसाबले संसद् अवरोध गर्ने पक्षमा नभएको सांसद ढकाल बताउनुहुन्छ ।

कानुन बनाउने सांसदले अलि बढी स–साना विकास निर्माणका काममा लागेजस्तो देखिन्छ । सांसद भनेको मूलतः कानुन बनाउने व्यक्ति हुन भनेर स्थापित हुनुपर्ने थियो तर नेपालमा त्यो कुरा स्थापित हुन नसक्दा सांसदले समाजमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, त्यस क्षेत्रको विकासमा पूर्णरुपमा ध्यान दिनुपर्ने अभ्यास हुँदा त्यसविपरीत जान नसक्ने उहाँको अनुभव छ ।

“निर्वाचनका बेलामा जनतालाई मत माग्न जाँदा धेरै आश्वासन दिने बानी छ, गाउँमा जाँदा विद्यालय बनाउने, मन्दिर बनाउने, सडक बनाउने विषयमा बोल्नै पर्ने मान्यता छ”, सांसद ढकालले भन्नुभयो, “त्यो कुरा एउटा सांसदले तोड्न सक्दैन, जनताको घेराबन्दीमा भएको सांसदले म यो गर्न सक्दिन भन्न सक्दैन ।” राज्य प्रभावकारी तरिकाले अघि बढ्नका लागि राज्यका प्रमुख तीन अङ्गबीच शक्ति सन्तुलनका हिसाबले पनि प्रभावकारी तरिकाले अघि बढ्नुपर्छजस्तो उहाँलाई लाग्छ ।

विसं २०२९ वैशाख ६ गते बाँकेमा जन्मनुभएका सांसद ढकालले २०४५ सालदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि राजनीतिक यात्रा सुरु गर्नुभएको हो । उहाँले युवा सङ्घको केन्द्रीय सचिव, उपाध्यक्ष भएर काम गर्नुभयो । पार्टीमा गाउँ कमिटीको सचिव, जिल्ला अध्यक्ष, प्रदेशको सचिवालय सदस्य हुँदै केन्द्रीय सदस्य भएर ढकालले काम गरिरहनुभएको छ ।

 सांसद विकास कोष सांसदमा रु पाँच करोड छुट्याएको थियो । जनप्रतिनिधिले आफ्नो ठाउँको विकासका लागि हरेक पाउनु राम्रो हो तर जनप्रतिनिधिलाई व्यक्तिगतरुपमा पैसा दिनुभन्दा पनि राज्य कोषबाटै विकासमा लगानी गर्दा राम्रो हुने उहाँको बुझाइ छ । “जनताको प्रतिनिधिलाई कुन क्षेत्रको विकास कसरी गर्नुपर्छ, त्यहाँको आधारभूत आवश्यकता के हो भन्ने थाहा हन्छ तर जनताको प्रत्यक्ष जनजीविकासँग जोडिएका विषय पनि हुन्छन्”, सांसद ढकालले भन्नुभयो, “सांसद विकास कोषबाट सांसदलाई पैसा दिनुभन्दा पनि अध्ययन गरेर कुन कुन ठाउँमा के के विकास गर्न जरुरी छ भनेर अध्ययन गरेर दिँदा राम्रो हुन्छ ।”

जनताको प्रतिनिधि भएर सदनमा बोल्दा मर्यादित भएर बोल्नुपर्ने उहाँको बुझाइ छ । पहिला बोल्ने अनि रेकर्डबाट हटाउनेजस्ता अभ्यास राम्रो हुँदैन भन्ने उहाँको ठम्याइ छ । “पहिला बोल्ने अनि रेकर्डबाट हटाउने गरिन्छ, आफूले बोलेको कुराको पछिसम्म असर रहन्छ भने सोच छैन”, उहाँले भन्नुभयो, “एउटा मापदण्ड बनाउन जरुरी छ, बोल्दा खेरी मर्यादित भएर नै आफ्नो कुरा राख्न जरुरी हुन्छ ।”

तिहारका लागि विद्यालयमा फूल उत्पादनमा जुटे विद्यार्थी

धुलिखेल, १६ कात्तिक- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ मेथिनकोटस्थित जनक माध्यमिक विद्यालयका विद्यार्थी तिहारका लागि फूल उत्पादनमा जुटेका छन् । उनीहरुले विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका छन् ।

‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत फूल खेती गरिएको हो । विद्यालय संयोजक एवं जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीका अनुसार रु ३० हजार लगानीमा एक हजार पाँच सय बोट सयपत्री रोपिएको छ । अहिले फूल फुलेर ढकमक्क भएको छ ।

“करिब दुई रोपनी जग्गामा फूल खेती गरेका छौँ”, उहाँले भन्नुभयो, “रु एक लाख ५० हजार आम्दानी हुने अनुमान छ ।” विद्यालय परिसर पनि आकर्षक देखिने र आम्दानी पनि लिन सकिने भएकाले व्यावसायिकरुपमा फूल खेती गरिएको उहाँले बताउनुभयो । त्यसबाट प्राप्त रकमको ३५ प्रतिशत विद्यार्थीलाई प्रदान गरिने छ भने बाँकी रकम विद्यार्थी कल्याण कोषमा राखिने छ ।

विद्यालयले पहिलो पटक फूल खेती गरेको हो । आगामी वर्षदेखि फूल खेती विस्तार गरिने संयोजक अधिकारीको भनाइ छ । दसैँ तिहार बिदाका कारण रेखदेख गर्न कामदार राखेको उहाँले बताउनुभयो । विद्यालयले विद्यार्थीलाई दैनिक दुई घण्टा उपार्जनको काममा अनिवार्य काम गर्नुपर्ने विद्यालयले नियम बनाएको छ । त्यसरी काम गरेबापत छात्राबासमा बस्ने विद्यार्थीका लागि खाने र बस्ने निःशुल्क व्यवस्था गरिएको संयोजक अधिकारीले बताउनुभयो ।“उत्पादन गरेको फूल बिक्रीको टुङ्गो लागिसकेको छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा पाँच वर्षदेखि पशु विज्ञान विषयमा पठनपाठन गरिँदै आएको छ । विगत दुई वर्षदेखि ‘पढ्दै कमाउँदै’ कार्यक्रमसमेत लागू गरिएको छ । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई यसमा संलग्न गरिएको छ । विद्यालयले सुरु गरेको तरकारी खेतीदेखि धान खेती, कुखुरा र बाख्रापालनसँगै अहिले विद्यालयले दूध उत्पादन गर्ने गरी पशु विज्ञान प्रयोगशालाका लागि भवनसमेत निर्माण गरिसकेको छ । विद्यालयले १७ रोपनी जग्गामा खेती गर्दै आएको छ ।

विद्यालयका प्रधानाध्यापक प्रदीप पोख्रेलले ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न मद्दत पुगेको बताउनुभयो ।

आममाफी दिने निर्णयमा आज सर्वोच्च अदालतले फैसला सुनाउने

काठमाडौँ – सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ बुधबार सकिएको छ भने अदालतले आज निर्णय सुनाउदै छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज निर्णय सुनाउने भएको हो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि बुधबार लागि सुनुवाइ निर्धारण भएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।

दश महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौँ – सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०२२ को सोही अवधिमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा एक लाख १३ हजार आठ सय १६ पर्यटक नेपाल आएका थिए ।

अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार चार सय ८०, अमेरिकाबाट १४ हजार आठ सय ७९, बेलायतबाट आठ हजार दुई सय १७, चीनबाट छ हजार आठ सय ८०, अष्ट्रेलियाबाट छ हजार ७५, जर्मनीबाट पाँच हजार नौ सय ११, फ्रान्सबाट पाँच जहार दुई सय ७१, बङ्गलादेशबाट चार हजार दुई सय ९२, श्रीलङ्काबाट दुई हजार पाँच सय ७ र इटालीबाट दुई हजार चार सय ६७ पर्यटक नेपाल आएका थिए ।

त्रिवेणी–कोरला सडक प्रदेश सरकारको प्राथमिकतामा

मध्यविन्दु (नवलपरासी) – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुम्कीवासदेखि त्रिवेणी जोड्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले असहयोग गरे पनि जनताको बलमा निर्माण गरिने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)स्थित हुप्सेकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीवासबाट त्रिवेणी पुग्ने मोटरबाटो बनाउन सङ्घीय सरकारले सहजीकरण नगरे जनताको साथ लिएर बाटो निर्माण गरिने बताउनुभएको हो ।

“केन्द्र सरकारले प्रदेश सरकार पनि स्वायत्त सरकार हो भनेर बुझ्नुपर्दछ, यदि दुम्कीवास–त्रिवेणी मोटर बाटो बनाउने कुरामा अल्झाइरहने हो भने हामी स्वायत्त सरकारको हैसियतले केन्द्रसँगको सम्बन्ध तोडेर अघि बढ्छौँ”, उहाँले भन्नुभयो, “नवलपरासी (बर्दघाट सुस्तापूर्व) लाई प्रदेशसँग जोड्न नसक्दा यो जिल्लाले एक्लिएको महसुस गरेको छ ।”

भारत र चीनको नाका जोड्ने त्रिवेणी–कोरला सडक प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । प्रदेशको ‘लाइफलाइन’ मानिएको यो सडकखण्ड निर्माणका लागि त्रिवेणीदेखि दुम्कीवाससम्म चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्ने भएकाले सडक निर्माण हुन सकेको छैन ।

“केन्द्र सरकार र निकुञ्जले यो सडक निर्माणमा सहजीकरण नगरेमा प्रदेश आफैँले सडक निर्माण गर्ने छ”, उहाँले भन्नुभयो, “चीनसँग जोडिएको कोरला नाका केही समयपछि खुल्दै छ, यसले प्रदेशको आर्थिक गतिविधिमा वृद्धि हुनेछ ।”

नवलपरासी (बर्दघाट सुस्तापूर्व) बाट प्रदेश राजधानी पोखरा पुग्ने सडक नहँुदा जनताले धेरै दुःख पाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाको वडा नं ४ झ्यालबासमा निर्माण गरिएको तीनतले नयाँ प्रशासकीय भवनको आज उद्घाटन भएको हो । करिब रु आठ करोड लागतमा भवन निर्माण सकिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो ।

“अहिलेसम्म साविकको गाउँ विकास समितिको भवन वाट कार्यालय सञ्चालन गर्नुपर्दा जनप्रतिनिधि, कार्यालय र शाखा छुट्टाछुट्टै छरिएर सञ्चालन हुँदै आएको थियो  अब एकै ठाउँमा काम हुँदा सेवाग्राहीलाई सहज हुने भएको छ”, उहाँले भन्नुभयो । भवनको पहिलो तला पहिलो चरणमा निर्माण गरिएको थियो भने बाँकी निर्माण दोस्रो चरणमा पूरा गरिएको हो ।

“भवनको पहिलो तला प्रदेश सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो भने दोस्रो र तेस्रो तला सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको हो”, उहाँले भन्नुभयो ।

ह्याविट्याट कन्सट्रक्सन इन्जिनियर्स प्रालि काठमाडौँले २०८१ जेठ मसान्तसम्म निर्माण सक्नुपर्ने गरी सम्झौता गरेकोमा समयअगावै निर्माण सकिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टङ्कनाथ घिमिरेले बताउनुभयो ।

“भवनको दोस्रो र तेस्रो तला आगामी जेठ मसान्तसम्म सम्पन्न गर्ने गरी निर्माण कम्पनी सँग सम्झौता भएको थियो, सम्झौता मितिभन्दा अगाडि नै भवन निर्माण सकिएको छ”, उहाँले भन्नुभयो ।

सात सय ५० वर्गमिटरमा बनेको भवन भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताउनुभयो ।

दसैँमा रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन मनोमानी

काठमाडौँ । दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ ।जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए ।

तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।
ओभरलोड गरेका टिप्परले डिपोमा लगी चुली झारेर सम्म बनाई ग्राहकलाई दिने गर्दछन् । चुलीमा गरिएको ढुवानी डिपोको अतिरिक्त कमाइ हुने गर्दछ । मङ्गलबार राति मात्र जिल्ला प्रहरी कार्यालय काभ्रेले १३ वटा त्यस्ता टिप्पर नियन्त्रणमा लिई कारबाही गरेको छ ।

लामो समयसम्म त्यस्तो कार्य नदेखेको प्रहरीले पनि दसैँअघि भने आक्रामक रूपमा कारबाही थालेको थियो । त्यसबेला दैनिक ८० भन्दा धेरै टिप्परले ल्याएको ओभरलोड कटिङ गरिरहेको थियो । प्रमाणसहित टिप्परलाई नियन्त्रणमा लिए पनि सामान्य कारवाही गरेर छाडिदिने गरेका कारण ओभरलोडको समस्या नरोकिएको स्थानीय यज्ञप्रसाद सापकोटाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले ओभर लोड बोक्ने टिप्परको समस्या समाधानका लागि पूरै जनशक्ति केन्द्रित गरेर लागेको उल्लेख गरेको छ । कार्यालयका निमित्त प्रमुख वरिष्ठ सई राजेश दाहालले ओभर लोडको कटिङसँगै अधिकतम जरिवाना गर्ने गरेको उल्लेख गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

‘गत वर्ष ६ लाख आम्दानी गरेका स्याङ्जाका किसानको कागती यसपाली बोटमै’

वालिङ (स्याङ्जा), १६ कात्तिक : स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गर्नुभएको थियो । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उहाँले हालसम्म बिक्री गर्न सक्नुभएको छैन । कागतीले बजार नपाउँदा पौडेल चिन्तित हुनुहुन्छ र्। उत्पादन भएको कागतीले बजार नपाउँदा चिन्तित हुनुभएको हो ।

“गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।”

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताउनुहुन्छ । “कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ”, उहाँले भन्नुभयो । स्थानीय बजारमा दैनिक १०÷१५ किलोमात्रै कागती खपत हुने गरेको उहाँले बताउनुभयो । “दिनभर बजार डुलाउँदा मुश्किलले १०÷१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ”, पौडेल भन्नुहुन्छ ।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आउनुभएको छ । उहाँले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाउनुभएको थियो । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाउनुभएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । “सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ”, उहाँले भन्नुभयो, “कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।” सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उहाँले बताउनुभयो ।

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उहाँ बताउनुहुन्छ । कागती भण्डारण गर्न शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । “भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।

दसैँको रोक खुलेलगत्तै बढ्यो टिप्परको मनोमानी

काठमाडौँ । दसैँमा सडक दुर्घटना बढाउने सम्भावनाका कारण रोकिएका टिप्परको आवागमन खुला गरेकै दिन टिप्परको अनियमितताको हद नाघेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ दिनसम्म टिप्पर सञ्चालनमा लगाएको रोक खुल्नेबित्तिकै मङ्गलबार राति बालुवा र गिट्टीको चुली बनाएका (ओभरलोड) टिप्पर सडकमा गुडेका थिए ।

तीमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले कारबाही गरेको छ तर प्रहरीको आँखा छलेर उत्तिकै टिप्पर पार भएका छन् ।

ओभरलोड गरेका टिप्परले डिपोमा लगी चुली झारेर सम्म बनाई ग्राहकलाई दिने गर्दछन् । चुलीमा गरिएको ढुवानी डिपोको अतिरिक्त कमाइ हुने गर्दछ । मङ्गलबार राति मात्र जिल्ला प्रहरी कार्यालय काभ्रेले १३ वटा त्यस्ता टिप्पर नियन्त्रणमा लिई कारबाही गरेको छ ।

लामो समयसम्म त्यस्तो कार्य नदेखेको प्रहरीले पनि दसैँअघि भने आक्रामक रूपमा कारबाही थालेको थियो । त्यसबेला दैनिक ८० भन्दा धेरै टिप्परले ल्याएको ओभरलोड कटिङ गरिरहेको थियो । प्रमाणसहित टिप्परलाई नियन्त्रणमा लिए पनि सामान्य कारवाही गरेर छाडिदिने गरेका कारण ओभरलोडको समस्या नरोकिएको स्थानीय यज्ञप्रसाद सापकोटाले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले ओभर लोड बोक्ने टिप्परको समस्या समाधानका लागि पूरै जनशक्ति केन्द्रित गरेर लागेको उल्लेख गरेको छ । कार्यालयका निमित्त प्रमुख वरिष्ठ सई राजेश दाहालले ओभर लोडको कटिङसँगै अधिकतम जरिवाना गर्ने गरेको उल्लेख गरे । यो समाचार गोरखापत्र दैनिकमा छ ।

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

चितवन, १६ कात्तिक : चितवनको राप्ती नगरपालिका–५ भण्डारा बजारमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइने भएका छन् । सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए ।

राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार त्यहाँ बसोबास गर्दैआएकालाई घरटहरा हटाउन तीन महिनाको समय दिइएको थियो । सो म्याद आज सकिँदैछ । “शुक्रबारदेखि घरटहरा भत्काउन थाल्छौँ”, उहाँले भन्नुभयो । उक्त ठाउँमा सिँचाइ विभागको दुई बिघा १० कट्ठा तथा हुलाकको पाँच कट्ठा जग्गा छ । विसं २०५० मा राप्ती नदीको बाढीले घरवारविहीन बनाएका परिवारलाई त्यहाँ राखिएको थियो ।“तत्कालीन समयमा १० वर्षका लागि राखिएको पाइएको छ, जग्गाको स्वामित्व भएका दुई कार्यालयले खाली गरिदिन पत्राचार गरेपछि सहजीकरण गर्न लागेका हौँ”, प्रमुख लामाले भन्नुभयो । सो ठाउँमा सुरुआतमा दुई सय २३ परिवार बसेका थिए । पछि केही पुरानै ठाउँमा फर्किएपछि हाल सो ठाउँमा एक सय ४६ परिवारको बसोबास छ ।प्रमुख लामाका अनुसार १७ परिवार मात्रै भूमिहीन रहेका छन् । उनीहरुलाई विकल्प दिएर खाली गर्न लागिएको उहाँको भनाइ छ । भूमिहीनलाई राप्ती–७ मा जग्गा दिनका लागि राष्ट्रिय भूमि आयोगसँग छलफल गरिएको प्रमुख लामा बताउनुहुन्छ । उहाँले सो ठाउँमा घर बनाउनका लागि नगरपालिकाले रु एक करोड बजेट विनियोजन गरेको बताउनुभयो ।सो ठाउँमा अधिकांश थारु समुदायको बसोबास रहेको छ । थारु कल्याणकारिणी सभा (थाकस) चितवनले थारु समुदायको घर नभत्काउन आग्रह गरेको छ । सभाले विज्ञप्ति जारी गरी बिना विकल्प घर भत्काउन अगुवाइ नगर्न नगरपालिका र दलहरुलाई आग्रह गरेको छ । थाकस चितवनका सभापति ललित चौधरी र सचिव सन्तुकमार चौधरीले विज्ञप्ति जारी गर्दै विकल्प खोजेर मात्र जग्गा खाली गराउन आग्रह गरेको छ ।

खाना पकाउने ग्यास आयात आठ अर्बले घट्यो

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो ।

पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ । नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७९÷८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ ।

आव २०७८÷७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा आठ अर्ब रुपियाँ बराबरको ग्यास आयात कम भएको छ ।

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले खाना पकाउनका लागि बिजुुलीको प्रयोग बढ्दै गएपछि ग्यासको आयातमा कमी आएको जानकारी दिए । आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको उनको भनाइ छ ।

विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उहाँको भनाइ छ । बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ ।

ग्यास बिव्रmेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिए । आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उनको भनाइ छ ।

मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

मन्त्री साउद र सिनेटर होलेनबीच भेटघाट

वासिङ्टन डिसी, १६ कात्तिक : परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच बुधबार यहाँ भेटघाट भएको छ ।

भेटघाटमा दुई पक्षीय सम्बन्धको बारेमा छलफल भएको थियो । साथै नेपाल र अमेरिकाबीचको संसदको अनुभव आदानप्रदानका विषयमा समेत छलफल भएको थियो । सिनेटर होलेनले गत सेप्टेम्बर महिनामा नेपालको भ्रमण गर्नुभएको थियो । अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोक्टेक्डेड स्टाटयस (टीपीएस) मार्फत स्थायी बसोबासका लागिसमेत बिल तयार पार्नुभएका, मेरिल्यान्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने सिनेटर होलेन डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटर हुनुहुन्छ ।

सिनेटर होलेनसँगको भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, उपनियोग प्रमुख कुमार खरेललगायत उपस्थित हुनुहुन्थ्यो । मन्त्री साउद हाल अमेरिकाको औपचारिक भ्रमणमा हुनुहुन्छ ।

अख्तियारले सरकारका २१ वटै मन्त्रालयका सचिव र महानिर्देशकलाई गरायो सचेत

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका काम कारबाही गर्न आवश्यक निर्देशन दिएको छ ।

अख्तियारले विभिन्न विकास निर्माण र भौतिक पूर्वाधारको जिम्मेवारी पाएका मन्त्रालय र सेवा प्रवाहको जिम्मेवारीमा रहेका मन्त्रालयलका सचिव तथा महानिर्देशकहरूलाई दुई भागमा विभाजन गरी सोमबार र मंगलबार दुई दिनसम्म अख्तियारमा नै बोलाएर विशेष निर्देशन दिएको हो ।

अख्तियारले गत वर्ष पनि सरकारका सचिव तथा महानिर्देशकहरूलाई बोलाएर विकास निर्माण, सार्वजनिक खरिदमा पारदशर्शीता तथा सुशासन कायम गर्ने विषयमा महत्वपूर्ण सुझाव दिएको थियो ।

तर, सचिवहरूले अख्तियारले दिएको सुझाको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै अख्तियार सचिवहरूसँग रुष्ट बनेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले सरकारका सचिव तथा महानिर्देशकलाई अख्तियारमा नै बोलाएर छलफल गर्दै विगतका दिइएको सुझावको कार्यान्वयन गर्न विशेष निर्देशन दिइएको जानकारी दिए ।

स्रोतका अनुसार सरकारका अधिकांश सचिव तथा महानिर्देशकहरू स्वार्थप्रेरित काममा मात्रै लाग्ने गरेको, मन्त्रीको एसम्यान बन्ने गरेको, कानुनले गर्न नमिल्ने काम पनि आफ्नो स्वार्थका लागि गर्ने गरेको, बिचौलिया र माफियाको निर्देशनअनुसार चल्ने गरेको भन्दै उनीहरूको कामका कारण मुलुकमा कुशासन र बेथिति बढेको गुनासो अख्तियारसमक्ष पुगेको थियो ।

लगातार यस्ता गुनासाहरू आएपछि अख्तियारले सचिव र महानिर्देशकलाई बोलाएर सचेत पार्दै आगामी दिनमा सुशासन कायम गर्ने गरी काम गर्न विशेष निर्देशन दिएको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

‘आर्थिक समृद्धि हासिल गर्न सरकार प्रयत्नरत’ – मन्त्री ज्वाला

पाटन – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आर्थिक समृद्धि हासिल गर्न सरकारले भरमग्दुर प्रयत्न गरिरहेको बताउनुभएको छ । यातायात क्षेत्रको कनेक्टिभिटीले जनताको आर्थिक समृद्धिमा सहयोग पु¥याउने धारणा उहाँले राख्नुभएको हो । नेपाल जेएसपीएस एल्मुनाई एसोसिएसन (एनजेएए)ले बुधबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा यातायात सञ्जाल विस्तार ः अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री ज्वालाले सम्पूर्ण विकासमा सहयोग पु¥याउनुका साथै महत्वपूर्ण आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको बताउनुभएको हो ।

“ट्रान्सपोर्ट कनेक्टिभिटी’ले जनताको आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पु¥याउँछ, आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको छ । सडक सञ्जालको पर्याप्तता, पूर्वाधारको विकासका साथै मर्मतसम्भार र कार्यकुशलतासँग यी कुरा जोडिएका छन् । वर्तमान समयमा यी कुरा महत्वपूर्ण सरोकार र चासोको विषय हो ।” मन्त्री ज्वालाले भन्नुभयो ।

उहाँले जापान सरकार र जाइका नेपालको यातायात क्षेत्रको विकासको ठूलो र महत्वपूर्ण साझेदार भएको वताउँदै विज्ञान प्रविधि र ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’मा जापानको सफलताबाट सिकेर राम्रो सेवा प्रदान गर्न क्रियाशील रहने बताउनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा दिलीप सुब्बाले यातायात क्षेत्र आर्थिक क्षेत्रको मेरुदण्ड भएको बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले अग्लाअग्ला पहाड, धेरै खोला भएको देशमा लागत व्यवस्थापन गरेर दीर्घकालीन रुपमा टिकाउ हुने गरी सडक पूर्वाधारको निर्माण, त्यसको व्यवस्थापन र मर्मतसम्भारका साथै आवश्यकताअनुसार पुलको निर्माण गर्नु निकै कठिन र चुनौतीपूर्ण रहेको धारणा राख्नुभएको हो ।

मन्त्रालयका सचिव केशव शर्माले नेपालको यातायात क्षेत्रको विकासका साथै यहाँका जनतालाई सडक सञ्जालको पहुँचमा पु¥याउन जापान सरकार र जाइकाले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । उहाँले रेल्वेको क्षेत्रमा जापानबाट धेरै सिक्न सकिने बताउँदै ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ मा जापान एसियाकै उत्कृष्ट रहेको धारणा राख्नुभयो ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले दिगो विकास लक्ष्य २०३० अनुसार ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’, विज्ञान तथा प्रविधिका क्षेत्रमा जापानले नेपाललाई आवश्यकताअनुसार सहयोग, समन्वय र सहकार्य गर्ने बताउनुभयो । यातायात र कनेक्टिभिटी विकासका लागि सधैँ महत्वपूर्ण हुने उहाँले बताउनुभयो । राजदूत युताकाले यसका लागि जापानी सरकार, नागरिक नेपालसँग अनुभव आदानप्रदान गर्न र विज्ञान तथा प्रविधिका क्षेत्रमा नयाँनयाँ प्रविधिको हस्तान्तरण गर्न सधैँ हातेमालो गर्ने बताउनुभयो ।
–––

मापदण्डविपरीत सञ्चालित खानेपानी उद्योग ‘सिल’

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतको टोलीले बुधबार नाम ठेगाना नखुलेको एक उद्योगको स्थलगत निरीक्षण तथा अनुगमन गरी सिल गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक पद्मराज भुसालले उद्योगको भौतिक, पूर्वाधार प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिकाविपरीत रहेका कारण अनुगमन टोलीले प्रशोधन कक्षको दुई ढोकामा सिलछाप गरी उत्पादन कक्ष बन्द गराएको जानकारी गराउनुभयो ।

सेवा प्रदायकको दर्ता प्रमाणपत्र र सञ्चालक फेला नपरेको तर उद्योग परिसरभित्र ‘कञ्चनजङ्घा नेचुरल स्प्रिङ मिनरल वाटर इन्डस्ट्रीज’ लेखेको स्टिकर, जार भर्ने धारामा कपडा लगाएको, कार्यालय कक्षको भित्तामा नेपाल बोटल वाटर उद्योग सङ्घले मेरिना कायस्थलाई सहकोषाध्यक्षको प्रमाण पत्र दिएको प्रमाणपत्रलगायत प्रमाण फेला परेका छन् । सम्बन्धित स्थानीय निकाय, प्रहरी प्रभाग, टोखासहित अनुगमन टोलीले मापदण्डविपरीत सञ्चालित उक्त उद्योगको मुचुल्का खडा गरी उत्पादन कक्ष बन्द गरेको हो ।

उक्त टोलीले बुधबारआक्वा मिनरल्स नेपाल प्रालि र ग्राण्ड खानेपानी सेवा प्राइभेट लिमिटेडको पनि अनुगमन गरेको छ । खानेपानी गुणस्तरका पारामिटरमध्ये केही परीक्षण गरिएकामा न्यूनतम मापदण्ड पूरा भएको तर थप परीक्षणको विवरण आउन बाँकी रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिव विक्रम राणाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा सम्बन्धित टोलीले मङ्गलबार कागेश्वरी मनोहरा नगरपालिका–४, थलीस्थित उत्तरबाहिनी फुड एण्ड वेभरेज प्रालिमा गरिएको स्थलगत अनुगमनमा खानेपानीको गुणस्तरमा न्यूनतम मापदण्ड पूरा नभएको जनाएको थियो ।

प्रालिमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डमा उल्लेखित पारामिटरमध्ये पीएच स्केल (हाइड्रोजन विभव) मापन गर्दा ५ दशमलव ५ रहेको पाइएको छ । यसमा पीएच स्केलको स्तर न्यूनतम मापदण्ड ६ दशमलव ५ हुनुपर्ने छ । प्रालिले उपभोक्तालाई पानीको गुणस्तर र स्वच्छतातर्फ ध्यान दिन नसकेको अनुगमनका क्रममा पाइएकोे मन्त्रिपरिषद् कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिनुभयो ।

खानेपानी वितरणको जिम्मेवारी लिएका उपभोक्ता समिति, संस्थागत वा निजी कम्पनी जस्ता सेवा प्रदायक संस्था कानुनतः उपभोक्तालाई गुणस्तरीय पानी बिक्री वितरणका लागि जिम्मेवार हुन्छन् । खानेपानी सञ्चालन प्रणालीको उचित रेखदेख, निरीक्षण, सम्भार, नियमित परीक्षण र पानी उपचार विधिको अवलोकन गर्ने जिम्मेवार पक्ष सेवा प्रदायक नै हो र उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय पानी उपलब्ध गराउने जिम्मेवारी सेवाप्रदायको हुन्छ । तर व्यवहारमा भने सो नभएको पाइएको छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये ५७ प्रतिशत परिवारले धारा तथा पाइपको पानी प्रयोग गर्ने गरेका छन् । २९ दशमलव आठ प्रतिशतले ट्युबवेल तथा हातेपम्पबाट, चार दशमलव छ प्रतिशतले जार तथा बोतलबाट, तीन दशमलव नौ प्रतिशतले मूल धाराबाट, दुई दशमलव एक प्रतिशतले खुला इनार तथा कुवाबाट, एक दशमलव पाँच प्रतिशतले ढाकिएको इनार तथा कुवाबाट र शून्य दशमलव चार प्रतिशतले नदी तथा खोलाको पिउने पानी प्रयोग गरेका छन् ।

नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने पक्राउ

काठमाडौँ – सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाल रहेका छन् ।

सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन गरेकाले कारवाहीका लागि नेपाली सेनाले पत्राचार गरेपछि साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्ने क्रममा खनालको संलग्नता रहेको खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जसपा नेपाल ललितपुरको अध्यक्षमा महर्जन

ललितपुर (गोदावरी) – जनता समाजवादी पार्टी ललितपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कर्म महर्जनलाई अध्यक्षमा सर्वसम्मतरुपमा चयन गरेको छ ।

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा किरणकुमार महर्जन र सुमन खड्का तथा सचिवमा सुरेन्द्र महर्जन, उपसचिवमा अस्वेन्दर् महर्जन र कोषाध्यक्षमा सविनकुमार महर्जन चयन हुनुभएको छ ।

यसैगरी १६ सदस्य चयन गरिएको छ । कार्यक्रममा जसपा नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवं बागमती प्रदेश इञ्चार्ज सुशीला श्रेष्ठ, केन्द्रीय समिति सदस्य भगवती सुवेदीलगायतको उपस्थिति थियो ।

मानव अधिकार आयोगको प्रतिष्ठा जोगियो

काठमाडौँ – अन्ततः राष्ट्रिय मानव अधिकार आयोगको प्रतिष्ठा जोगिएको छ । ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलका अनुसार गानरीको पछिल्लो बैठकबाट आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको छ । सरकार र सरोकारवालाको सहयोगका कारण आयोग घटुवाबाट जोगिएको हो ।

पेरिस सिद्धान्तअनुरुप आयोगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियोभने मानवअधिकार संरक्षणसम्बन्धी कानुन संशोधनमा सरकार र आयोग सरकारात्मक रहेकाले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको हो । यसअघि गानरीमा नेपाललाई घटुवा गर्न सिफारिस भएको थियो ।

एक्काइस मुहारचित्रमा ओली

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका २१ मुहार चित्र यतिबेला नेपाल कलापरिषद् बबरमहलमा प्रदर्शनमा राखिएका छन् । उहाँलाई प्रत्यक्ष हेरेर कलाकारले क्यान्भासमा भरेका चित्रले ओलीको जीवनकालका हरेक मोडलाई झल्काएको छ । चित्रमा अध्यक्ष ओलीका राजनीतिक जीवनकालका आरोहअवरोह र राजनीतिक उतारचढाव देख्न पाइन्छ ।

कलाकार राजेश महर्जनले बनाएका छ्वाली आर्टमा देश प्रेमसमेत देखाइएको छ । छ्वालीमा ओलीको तस्वीर दुरुस्त पाइन्थ्यो । चित्र सिर्जनाकर्ता महर्जनले मुहार चित्रको छेउमा चन्द्र र सूर्यसहितको सिर्जनाले देश प्रेमको भाव झल्काएको पाइन्थ्यो ।

महर्जनले भन्नुभयो, “ओलीको मुहआर चित्रसँगै एउटै क्यान्भासमा चन्द्र र सूर्य नेपाली झण्डाको प्रतिक बनाएको छु, यो नेपालको शान हो, त्यसलाई विम्ब बनाएर देशप्रेम झल्काउने प्रयास गरेको छु ।”

त्यस्तै अर्का कलाकार रत्नकाजी शाक्यले ओलीको १४ वर्षे जेल जीवनलाई स्मरण गराउने गरी क्यान्भासमा उहाँको चित्र भर्नुभएको छ । उहाँले भन्नुभयो, “आफ्नो पनमा जेल बस्दाको भाव बनाएको हुँ । उक्त सिर्जनाले जेलमा १४ वर्ष बिताउँदाको आभाष गराउँछ ।”

सात महिनाअघि नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा कला कार्यशाला आयोजना गरिएको थियो । त्यसको संयोजन कलाकार सुष्माराज भण्डारीले गर्नुभएको थियो । अध्यक्ष ओलीलाई त्यही बेला कलाकारसामु उभ्याइएको थियो । उहाँलाई त्यहाँ प्रत्यक्षरुपमा हेर्दै कलाकारले मुहार चित्रलाई क्यान्भास रङ्ग्याउनुभएको थियो । कलाकार दीपेन्द्रमान बनेपालीले ओलीको गम्भीर मुद्राको मुहार चित्र बनाउनुभएको छ ।

अर्का कलाकार एनवी गुरुङ सिर्जनामा केही नियाल्दै गरेको तर चिन्तन मनन गरिरहेको भाव देख्न सकिन्छ । सात महिना अघिका ओलीका मुहार चित्र नै अहिले प्रदर्शनीमा राखिएका हुन् । यी सबै मुहार चित्र हेरेर अध्यक्ष ओली दङ्ग पर्नुभयो । चित्र नियाल्दै उहाँले भन्नुभयो, “मलाई नै तस्वीरमा उतार्नु भएछ, तस्वीरमा धेरै प्रकारका भाव देखेँ, यसरी कला सिर्जना गर्नुभएकामा तपाईंहरुलाई धन्यवाद ।”

कलाकार सुष्माराज भण्डारीको एकल चित्रकला प्रदर्शनीसँगै ओलीका मुहार चित्र पनि राखिएका छन् । सो क्रममा कलाकारहरुले आफूले बनाएका चित्रका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।

हेर्नुहोस् कार्तिक १६ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे / मेष राशि – बल तथा प्रराक्रममा बृद्धि हुनेयोग रहेकोछ । मित्रजनहरु सगँको सम्बन्धमा प्रगाढता छाउनेछ । स्वास्थमा सामान्य सुधारको योग रहनेछ । आम्दानिको क्षेत्र मध्यम रहनेछ । धार्र्मीक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ । दुर्घटनापुर्ण यात्राको सम्भावना रहेकोले सजग भइ यात्रा गर्नुहोला ।

बृष राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग बन्नेछ । स्वास्थमा सामान्य तनाबको योग बन्नेछ । आम्दानिको क्षेत्रमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य सम्पादनमा गोपनियताको आवश्यकता रहनेछ । मित्रजनहरु सगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – नयाँ कार्य थालनिको निम्ती उत्तम समय रहेकोछ । मनमा सामन्य चिन्ता ले सताउने छ । साजेदारी काममा हात नहाले कै बेस रहने छ । शारिरिक आलस्यता ले सताउने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ । दाम्पत्य सम्बन्धमा सामान्य खटपट आई पर्ला ।

कर्कट राशि – मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

सिंह राशि – हरकोहिको पुर्ण बिश्वास नगर्नु होला धोका हुन सक्छ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

कन्या राशि – मान्यजनको साथ सहयोग प्राप्त नहुनाले मनमा चन्चलताको बास रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्राको कारणले शारिरिक आलस्यता ले सताउला । पठनपाठनको क्षेत्र भने त्यति राम्रो नरहला । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

तुला राशि – यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन ।

बृश्चिक राशि- शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक परिश्रम खर्चीनुपर्नेछ ।

धनु राशि – प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय को क्षेत्रमा मध्यम दिन रहेको छ । तपाईले कसैमाथी गरेको बिश्वासमा बिश्वसघात हुन सक्छ । अधीक आत्मविश्वासको कारण बन्न लागेका कार्यहरु बिफल हुनेछन । मान्यजनको स्वास्थ्यमा नकारात्मक असर देखा पर्नेछन । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

मकर राशि – तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ । टाढाको मित्रसँग अप्रत्यासित मिलन हुनेछ । सामुहिक कार्यमा खर्च हुनाले मनमा प्रशन्नता छाउनेछ ।

कुम्भ राशि – पारीवारिक झोर झमेलाले सताउन सक्छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आँट र शाहासको बृद्यि हुनेछ पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँकार्य थालनिका अवसरहरु प्राप्त रहनेछन ।

मिन राशि – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । प्रतिस्ठीत ब्यक्तिहरुको सहयोग प्राप्त हुनाले मन प्रशन्न रहेतापनि अरुको अनुशरण गर्दा प्रिय ब्यक्तिहरु टाढीन सक्ने सम्भाबना रहेको छ । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । सामाजिक कार्यको क्षेत्रमा जुट्ने समय रहेकोछ ।

आममाफी दिने निर्णयमा भोलि फैसला सुनाउँदे सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ आज सकिएको छ भने अदालतले भोलि निर्णय सुनाउने भएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा भोलि निर्णय सुनाउने जानकारी दिएको हो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफासिरसँगै ढकाल कारागारमुक्त भएका थिए । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि आजका लागि सुनुवाइ निर्धारण भएको थियो ।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ढकाललाई आममाफी दिन सिफारिस गर्नुपर्नाको कारणसहितको सम्पूर्ण सक्कल मिसिल असोज २४ गतेभित्र अदालतमा प्रस्तुत गर्न आदेश दिएको थियो ।

भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध

काठमाडौँ, १५ कात्तिक: नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङले आज प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गर्नुभएको छ । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

व्यावहारिक राजनीतिका नाममा कांग्रेसले आफ्नो सिद्धान्त नछाड्ने

लेखनाथ, १५ कात्तिक : नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई कांग्रेसले छाड्न नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको आज पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा कोइरालाले भन्नुभयो– “सिद्धान्तहिन राजनीति अगाडि बढ्दा कांग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ । आउँदो निर्वाचनमा कांग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ ।”

नेता कोइरालाले कांग्रेस एकढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख गर्नुभयो । अहिले कांग्रेसलाई कांग्रेसले नै हराइरहेकाले सो कार्य बन्द हुनुपर्ने उहाँको भनाइ थियो । “ कांग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र दल लाग्नुपर्नेमा जोड दिँदै नेता कोइरालाले भन्नुभयो, “महँगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी छ । महँगी नियन्त्रणका बारेमा कांग्रेसले आवाज उठाउनुपर्दछ । वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लाग्नुपर्दछ ।”

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेसलाई बलियो बनाउन सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताउनुभयो । उहाँले नेपाली जनताको विश्वास कांग्रेसमाथि भएकाले जनताको सेवामा कांग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कांगे्रसले गरेका काम प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा कांग्रेस सरकारको पालामा धेरै उपलव्धि भएको भनाइ उहाँको थियो ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, गण्डकीका सभापति शुक्रराज शर्मा, कास्कीका सभापति किशोरदत्त बराल, कांग्रेस नेता यज्ञबहादुर थापा, कृष्ण केसीलगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

बोलिभियाले इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्यो

दुई ल्याटिन अमेरिकी देशले बढ्दो मानवीय सङ्कटका कारण इजराइलबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएसँगै बोलिभियाले गाजामा ‘असमान’ हमलालाई लिएर इजराइलसँगको कूटनीतिक सम्बन्ध तोडेको मङ्गलबार बताएको छ ।“बोलिभियाले गाजापट्टीमा भइरहेको आक्रामक र असमान इजराइली सैन्य हमलाको खण्डन र भर्त्सना गर्दै इजराइलसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ”, उपविदेशमन्त्री फ्रेड्डी मामानीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

राष्ट्रपतीय मन्त्री मारिया नेला प्रादाले पनि गाजामा मानवीय सहयोग पठाउन लागिरहेको घोषणा गर्नुभयो । “हामी गाजापट्टीमा हमला अन्त्य गर्न माग गर्दछौँ, हमलाका कारण अहिलेसम्म हजारौँ नागरिकको मृत्यु भएको छ र प्यालेस्टिनीहरू जबरजस्ती विस्थापित भएका छन्”, सोही पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

अक्टोबर ७ मा हमासको आक्रमणसँगै विभाजनकारी सङ्घर्ष सुरु भएपछि वामपन्थी लुइस आर्सेको सरकार इजराइलसँग सम्बन्ध तोड्ने पहिलो ल्याटिन अमेरिकी सरकार बनेको छ । हमासले गरेको हमलामा एक हजार चार सयभन्दा बढी मानिस मारिएको इजराइली अधिकारीहरूले बताएका छन् ।

इजराइलले बुधबार बोलिभियाको कदमलाई ‘आतङ्कवादसामु आत्मसमर्पण’ भन्दै आलोचना गरेको छ । “यस्तो कदम चालेर बोलिभिया सरकारले स्वयंलाई हमास आतङ्कवादी सङ्गठनसँग जोडिरहेको छ”, इजराइली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले एक विज्ञप्तिमा भन्नुभयो ।

बोलिभियाले गाजापट्टीमा अघिल्लो आक्रमण भएको एक दशकपछि सन् २०१९ मा इजराइलसँग कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने घोषणा गरेको थियो । हमासले मङ्गलबार बोलिभियाको निर्णयको सराहना गर्दै बोलिभियालाई ‘उच्च सम्मानमा राखेको’ बताएको छ । उसले इजराइलसँग आफ्नो सम्बन्धलाई सामान्य बनाएका अरब मुलुकहरूलाई पनि बोलिभियाको जस्तै निर्णय लिन आग्रह गरेको छ ।

कोलम्बिया र चिलीका नेताहरूले पनि मङ्गलबार हमासमाथि इजराइली हमलाविरुद्ध बोलेका छन् । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले इजराइली हमलामा अहिलेसम्म दुई तिहाई महिला र बालबालिकासहित आठ हजार पाँच सय प्यालेस्टिनी मारिएको बताएको छ ।

“मैले परामर्शका लागि इजराइलमा आफ्नो राजदूत (मार्गारिटा मन्जरेज) लाई फिर्ता बोलाउने निर्णय गरेको छु, यदि इजराइलले प्यालेस्टिनी नागरिकको नरसंहारलाई रोकेन भने हामी त्यहाँ रहने छैनौँ”, कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

अरब संसारबाहिर सबैभन्दा धेरै प्यालेस्टिनीहरूको जनसङ्ख्या भएको चिलीले मङ्गलबार इजराइलको ‘अन्तर्राष्ट्रिय मानवीय कानूनको अस्वीकार्य उल्लङ्घन’ को विरोधमा इजराइलबाट आफ्नो राजदूतलाई फिर्ता बोलाएको बताएको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्थायी अध्यक्षता गरेको ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युद्धविरामका लागि आग्रह गर्नुभएको छ ।

इजराइलविरुद्ध प्यालेस्टिनी आतङ्कवादीहरूको ‘आतङ्ककारी हमला’ ले गाजामा ‘लाखौँ निर्दोष’ को हत्यालाई औचित्यपूर्ण मान्न नसकिने उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा लाइभ सम्बोधनमा भन्नुभएको छ, “हमासले इजराइलविरुद्ध आतङ्कवादी हमला गरेका कारण इजराइलले पनि लाखौँ निर्दोष मानिसलाई मार्नुपर्छ भन्ने होइन ।”

राजस्व सङ्कलन विधेयक प्रदेशसभामा प्रस्तुत हुँदै

विराटनगर, १५ कात्तिक: कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशको राजस्व सङ्कलन विधेयक, २०८० प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ वार्षिक प्रतिवेदनका साथै अन्य आयोगका वार्षिक प्रतिवेदन सभामा पेश गर्ने निर्णय गरेको हो ।

साथै बैठकले झापाको अर्जुनधारा नगरपालिकालाई जापानको इवाते प्रान्तको तोवो नगरसँग भगिनीसम्बन्ध कायम गर्न स्वीकृति दिएको बिनाविभागीय मन्त्री शम्शेर राईले राससलाई जानकारी दिनुभयो ।

बेलायती पुँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

काठमाडौँ, १५ कात्तिक : नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा जलविद्युत्लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितता बारे लगानीकर्तासँग छलफल भएको छ ।

सम्मेलनका प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले आन्तरिक स्रोत परिचालनसँगै वैदेशिक लगानी अपरिहार्य भएको बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । लगानीमैत्री वातावरण बनाउन सरकारले आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको बजेटमार्फत पनि लगानीकर्तालाई प्रोत्साहन गरिएको बताउँदै अर्थमन्त्रीले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिनुभयो । नेपालमा लगानीमैत्री वातावरण बनेकाले आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा नेपालले बाह्य लगानी भित्र्याउन चाहेको बताउनुभयो । नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश निर्यात गर्न तयारी गरेको जानकारी दिनुभयो ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले पछिल्ला वर्षहरुमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको बताउनुभयो । नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सहज बन्दै गएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण बनेको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आह्वान गर्नुभयो । अध्यक्ष ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह पनि गर्नुभयो ।

लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्रमा ठूलो पूँजीको आवश्यकता रहेको बताउँदै लगानीकर्ताका लागि यस क्षेत्रमा अथाह अवसर रहेकाले पुँजी परिचालन गर्न अनुरोध गर्नुभयो

उक्त दूतावासका अनुसार सम्मेलनमा बेलायती बैंक, निजी लगानीकर्ता, बीमा कम्पनी, अन्य युरोपेली मुलुकका वित्तीय संस्थाका प्रतिनिधि, सरकारी प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।

एकै दिनमा थपिए तनहुँमा एक सय बयासी डेङ्गु सङ्क्रमित

तनहुँ, १५ कात्तिक : तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

जिल्लामा सोमबारसम्म छ हजार चार सय ८४ जना डेङ्गु सङ्क्रमित रहेकोमा वृद्धि भई छ हजार छ सय छैसठ्ठी जना पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकामा ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यसअघि पाँच हजार चार सय १५ रहेको यस पालिकामा थपिएर पाँच हजार चार सय ७५ जना पुगेको छ । डेङ्गु सङ्क्रमितका कारण निजी क्लिनिक र अस्पतालमा दैनिक भीडभाड हुने गरेको छ भने कतिपय पोखरा र चितवनसम्म धाउन थालेका छन् ।

जिल्लाको अन्य पालिकामा शुक्लागण्डकी नगरपालिकामा चार सय ९६, ऋषिङ गाउँपालिकामा एक सय ९४, भिमाद नगरपालिकामा एक सय ८४, म्याग्दे गाउँपालिकामा एक सय १०, भानु नगरपालिकामा ८४, बन्दीपुर गाउँपालिकामा ४७, आँबुखैरेनी गाउँपालिकामा ३९, देवघाट गाउँपालिकामा २२ र घिरिङ गाउँपालिकामा नौ जना सङ्क्रमित भएका छन् ।

यसबाट बच्न बयस्क एडिज जातको लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको घर वरिपरि पानी जम्न नदिने, सुत्दा झुलको प्रयोग गर्ने, पूरा बाउला भएका कपडा लगाउनेलगायतमा सतर्कता अपनाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताउनुभयो ।

डेङ्गु सङ्क्रमित भइसकेको अवस्थामा चिकित्सकको परामर्शअनुरुप औषधि सेवन गर्ने, झोलिलो खानेकुरा प्रसस्त पिउने, फलफूल खाना र आराम गर्न उहाँले सुझाव दिनुभयो ।

कृषिमा आधारित रोजगारी सिर्जना गर्न प्रदेश लागेको छ – मुख्यमन्त्री पाण्डे

त्रिवेणी (नवलपरासी), १५ कात्तिकः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताउनुभएको छ । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा आयोजित प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रमसम्बन्धी अभिभुखीकरण कार्यक्रममा उहाँले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोहीअनुसार कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको र युवाहरू पनि कामको सिलसिलामा विदेश जानेक्रम बढेकाले आफ्नै ठाउँमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफलपछि प्रदेशले कृषिलाई पहिलो प्राथमिकता दिएर काम अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । “कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफल पछि पहिलो प्राथमिकता कृषिलाई दिएका छौँ, कृषिमा आधारित भएर रोजगारी सिर्जन गर्न सक्छौँ, कृषिमा आधारित उद्योगहरू पनि स्थापना गर्न सक्छाँै, हामीले सोहीअनुसार कार्यक्रम गर्दैछाँै”, उहाँले भन्नुभयो ।

कृषिलाई आधार मानेर फलफूल खेती, आलु खेती, चैते धान बालीसहित अन्य नगदे तरकारी खेतीका कार्यक्रमसमेत प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । गण्डकी प्रदेश सरकारले कृषि उत्पादनलाई बढाउन अहिले उत्पादनको आधार र अनुदान उपलब्ध गराउने नीति लिइएको उहाँको भनाइ थियो ।

कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले उत्पादन क्षेत्र घट्दै जानु चिन्ताजनक भएको बताउनुभयो । पहाडी क्षेत्रमा जमिन बाँझो हुने क्रम बढ्दै जाने र अर्कोतर्फ सहरीकरण बढ्दै जाँदा कृषि उत्पादन हुने क्षेत्र घट्दै गएकाले खाद्यान्नको अभाव हुने स्थिति आउन सक्ने भएकाले किसानलाई प्रोत्साहन गर्ने र जमिनको सदुपयोग गर्ने योजना ल्याउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा दुई सय १० बिघा जमिनमा प्रशोधनयोग्य आलु प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । गण्डकी प्रदेशका सबै जिल्लामा यो कार्यक्रम अघि बढेको र यसलाई कृषक समूह वा सहकारीमार्फत कार्यक्रम सञ्चालन हुने र कम्तीमा ४५ कट्ठा जमिनमा खेती गर्नुपर्ने उहाँको भनाइ थियोे ।

कार्यक्रममा आबद्ध समूह र सहकारीलाई बीउ, यन्त्र उपकरण, साना सिँचाइका पूर्वाधार, बजार प्रवद्र्धनलगायतमा ज्ञान केन्द्रका तर्फबाट सहयोग प्रदान गरिने कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।

नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा महत

काठमाडौँ, १५ कात्तिक : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको र त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ ।

बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले वैदेशिक लगानी अपरिहार्यतामा जोड दिनुभएको उहाँको सचिवालय तथा लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले ‘सिटी अफ लन्डन’ को ‘म्यान्सन हाउस’मा मङ्गलबार एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो ।

सो अवसरमा अर्थमन्त्री डा महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको समेत बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय वित्त बजारबाट पूँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरुमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयो । नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युत्बाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा सिटी अफ लन्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लन्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लन्डनको सहयोग रहने बताउनुभयो ।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बेलायती संसद्मा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताउनुभयो । युके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १ दशमलव ५ बिलियन पाउन्डसम्म लगानी गर्न युके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिनुभयो ।

विशेषगरी नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरहरुका बारेमा ब्रिटिस कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांस फिर्ता लैजाने प्रक्रिया सरलीकरण गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको लगानीकर्तालाई आश्वासन दिनुभयो । लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानीका लागि नेपालको विभिन्न क्षेत्रमा रहेका अवसरका बारेमा प्रस्तुति दिँदै वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिबद्ध रहेको बताउनुभयो ।

त्यसैगरी, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्र विशेषगरी कार्यान्वयनमा रहेका जलविद्युत् परियोजनाहरु, भारत तथा चीनसँग विद्युत् विकास तथा खरिदका लागि भएका सम्झौताहरु एवं जलविद्युत् विकासका लागि नेपाल सरकारको आगामी योजनाका बारेमा उल्लेख गर्दै यसका लागि ठूलो पूँजीको आवश्यक रहेकाले लगानीकर्ताहरुका लागि यस क्षेत्रमा ठूलो अवसर रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण भएको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आग्रह गर्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानीका अवसरका बारेमा जानकारी दिँदै नेपाल सरकारको भूमिका सकारात्मक रहेकाले वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।

ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका प्रबन्ध निर्देशक कोलिन बक्ली तथा डोल्मा इम्प्याक्ट फन्डका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा आफूहरुले गरेको लगानी फलदायी रहेको बताउँदै उत्तरदायी लगानीका लागि नेपाल उपयुक्त देश भएको औँल्याउनुभयो ।

सम्मेलनमा नेपालमा लगानी गरिरहेका विकास वित्तीय संस्थाका तर्फबाट इन्भेस्ट फर इम्प्याक्ट नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले विकास वित्तीय संस्थाहरुको लगानीका बारेमा प्रस्तुति दिनुभयो । साथै सो अवसरमा नेपाल सरकार अर्थ मन्त्रालय तथा नेपालमा लगानी गरिरहेका छ वटा विकास वित्तीय संस्था— ब्रिटिश इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्यान्ड, बायो, बेल्जियम, फिनफन्ड, फिनल्यान्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीट्जरल्यान्डबीच नेपालमा विकास वित्तीय संस्थाहरुको लगानी सहजीकरण गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

सो अवसरमा अर्थमन्त्री डा महतले हिन्दुजा ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष जिपी हिन्दुजासँग नेपालमा लगानी भित्र्याउने विषयमा छलफल गर्नुभएको थियो । सो सम्मेलनमा बेलायती बैङ्कर्स, निजी लगानीकर्ताहरु, बीमा कम्पनीहरु, बेलायतलगायत युरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधिहरु, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, नेपाली डायस्पोरा, नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीहरुलगायत गरी करिब सय जनाको उपस्थिति रहेको थियो ।

नेपालको पूर्वाधार विकासमा लगानी गर्न महासङ्घका अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, १५ कात्तिक : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ ।

बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानी स्थल रहेको बताउनुभयो ।

जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पार्नुभयो । बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युत्का लागि थप बजार सृजना भएको उहाँले सम्बोधनका क्रममा बताउनुभएको महासङ्घद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ ।

अध्यक्ष ढकालले भन्नुभयो, “दुई ठूला आकर्षक ऊर्जा बजार लक्षित नेपालको जलविद्युत्मा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरूका साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई विशेष आमन्त्रण गर्दछु ।” नेपाल बेलायती पर्यटकका लागि पहिलेदेखि नै लोकप्रिय गन्तव्य रहेको उल्लेख गर्दै उहाँले थप पर्यटकहरूलाई स्वागत गर्न तयार र उत्साहित रहेको बताउनुभयो ।

“काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति भएको तथा भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र प्रसिद्ध पर्यटकीय गन्तव्य पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएकाले पर्यटकहरूलाई नेपाल घुम्न थप सहज भएको छ”, अध्यक्ष ढकालले भन्नुभयो, “त्यसैले बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिमपार्क, हिल स्टेसन र स्तरीय होटेलजस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना रहेको छ ।”

बहुराष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेकाले उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो । उहाँले निर्यात बजार विस्तार भइरहेको र विभिन्न मुलुकसँग सहुलियतपूर्ण व्यापार सम्झौताहरू समेत भएकाले नेपालमा निर्यात केन्द्रित लगानीको अवसर रहेकोतर्फ लगानीकर्ताको ध्यानाकर्षण गराउनुभयो ।

लगानीका अवसरहरूको खोजी गर्न र लगानीमा हुने अवरोध हटाउन महासङ्घले लगानीकर्तालाई सहयोग गर्न संरचना तयार गरेको जानकारी दिँदै अध्यक्ष ढकालले विश्वस्त भएर नेपालकमा लगानी गर्न आह्वान गर्नुभयो ।

बेलायतस्थित नेपाली राजदूतावासको पहलमा आयोजित लगानी सम्मेलनमा, अर्थमन्त्री डा प्रकाश शरण महतसहित बेलायतको अन्तर्राष्ट्रिय लगानी निकायका उच्च अधिकारीहरू तथा बेलायती निजी लगानीकर्ताहरूले लगानीका अवसरहरूबारे छलफल भएको थियो ।

दोधारा चादँनीको सीमाबस्तीमा हात्तीको त्रासदी

महेन्द्रनगर (कञ्चनपुर), १५ कात्तिक : कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो । नेपाल–भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि विसं २०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।

“पारी भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक दशक भन्दा बढी समय भइसक्यो”, दोधारा चादँनी नगरपालिका–१ का वडाध्यक्ष हरिसिंह धनाडीले भन्नुभयो, “अहिलेसम्म हात्तीलाई गाउँ पस्नबाट रोक्न कुनै दीर्घकालीन सामाधानका उपाय खोज्न सकेका छैनौँ ।” उहाँका अनुसार पछिल्लो एक महिनामा मात्रै हात्तीले चार स्थानीयवासीका घर भत्काएका छन् भने धेरै धानबालीमा क्षति पुर्‍याएको छ ।

जोगबुढा नदी पारीमा बडुवाल टोलमा तीन सय परिवारको बसोबास छ । यहाँ दशकौँदेखि बसोबास रहेपनि स्थानीयले जग्गाको पुर्जा नपाउँदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउँदा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन् ।

“यसअघि हात्तीको आक्रमणबाट स्थानीयवासीले ज्यान गुमाउँदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागे”, वडाध्यक्ष धनाडीले भन्नुभयो, “विसं २०२४ देखि सीमामा दुःखसुख गरेर बस्ने नागरिकले जमिनको पुर्जासम्म नपाउनु असह्य पीडाको विषय हो ।” भौगोलिक रुपले विकट रहेको उक्त बस्तीमा धान र गहुँ खेतीका बेला हात्तीले क्षति गर्न थालेपछि शसस्त्र प्रहरीको पेसा क्याम्पसमेत राखिएको उहाँले बताउनुभयो ।

“वडाबाट पनि हात्ती धपाउन हामीले गाउँमा टर्च, साइरन र बत्तीको व्यवस्था गरेका छौँ”, धनाडीले भन्नुभयो, “गाउँ पस्न पल्किसकेका हात्ती नछोड्दो रहेछन् ।” उहाँले भारतबाट आउने जङ्गली हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा करेन्टसहितको तारजालीको सुरुवात गरिएको भन्दै त्यो पूर्णरुपमा कार्यान्वयनमा नआएको बताउनुभयो । “यो समयमा यहाँका टोलवासीले राति सुत्नसमेत पाउँदैनन्”, उहाँले भन्नुभयो, “यो समस्या समाधानका लागि प्रदेश सरकारसँग सहयोग मागेका छौँ । अहिलेसम्म कुनै सुनुवाइ भएको छैन् ।”

बडुवाल टोलबाट दोधारा चादँनी नगरपालिकाको कार्यपालिकामा रहनुभएका लक्ष्मी रानाले हात्तीकै कारण राति सुत्न नपाएको धेरै समय भइसकेको बताउनुभयो । “स्थानीयवासीले खेती त लगाउँछन् तर भित्र्याउन नपाएको धेरै वर्ष भइसक्यो”, उहाँले भन्नुभयो, “जग्गाको पुर्जा नभएकाले राज्यबाट सहयोग पनि पाएका छैनन् ।”

यहाँका तीन सय घरधुरीमध्ये १०/१२ परिवारसँग मात्रै जमिनको पुर्जा रहेको रानाले जानकारी दिनुभयो । “अन्नबाली खानका लागि हात्ती बस्ती पुगेर क्षति पुर्‍याउन थालेको १२/१३ वर्ष नै भइसक्यो”, उहाँले भन्नुभयो, “एक बिघामा धान लाउनेले मुस्किलले दुई/तीन बोरा पाउँछन् ।” मङ्गलबार राति पनि हात्ती बस्ती बस्दा स्थानीय रातभरी जाग्राम बसेका थिए ।

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने

काठमाडौँ, १५ कात्तिक ः नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा आज जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले उक्त प्रतियोगिताको फाइनल खेलमा पनि नेपाल विजयी भएमा थप रू पाँच लाख प्रदान गर्ने विज्ञप्तिमा जनाएको छ ।

नोबेल मेडिकल कलेज टिचिङ अस्पतालका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक र हाल मोरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य डा सुनिलकुमार शर्माको अगुवाइमा उक्त अस्पतालले खेलाडीहरुलाई निःशुल्क एवम् सहुलियत शुल्कमा स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको पनि सो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालमा क्रिकेट खेलको विकासमा सानो भए पनि सहयोग पुगोस् र खेलाडीमा हौसला प्रदान होस् भनेर सो प्रोत्साहन रकमको व्यवस्था गरिएको सांसद डा शर्माले बताउनुभयो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा भइरहेका उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै विजयी भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएउँदै सेमिफाइनलमा पुगेको हो ।

अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी २० विश्वकपको अन्तिम छनोटमा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छ्न । जसमा प्रतियोगिताबाट शीर्ष दुई टोली विश्वकपको लागि छनोट हुनेछन् ।

नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा सिङ्गापुर, मलेसिया र ओमान छन् । त्यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, बहराइन र कुवेत छन् । नेपालले अब आफ्नो तेस्रो खेल भोलि ओमानसँग खेल्नेछ ।

आममाफी पाएका थापा ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ

भरतपुर, १५ कात्तिक : अपहरण गरी ज्यान मार्ने धम्की दिँदै रु २५ लाख माग गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक ८ गते भरतपुर महानगरपालिका–१ बस्ने सोमराज सुवेदीलाई फोन गरी अपहरणको धम्की दिने ५५ वर्षको रामचन्द्र थापालाई प्रहरीले भरतपुरको मालपोत चोकबाट रकम माग गर्दै गरेको अवस्थामा सोमबार पक्राउ गरेको हो । उनले गत जेठ १५ गतेको गणतन्त्र दिवसमा आममाफी पाएका थिए ।

पत्रकार सम्मेलन गरेर पक्राउ परेको थापालाई सार्वजनिक गर्दै चितवन प्रहरीले बारम्बार अपरिचित मोबाइल नम्बरबाट फोन गरी उनले अपहरणको धम्की दिएको जानकारी दिएको छ । थापाले हिन्दी भाषा प्रयोग गरी सुवेदी र उनको छोरालाई गोली हानी हत्या गर्छु भन्दै सो को बदलामा रु २५ लाख माग गरेको चितवन प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक उमाशङ्करप्रसाद साहको नेतृत्वमा विशेष प्रहरी टोली परिचालित भई सोमबार साँझ अभियुक्त थापालाई पक्राउ गरिएको जनाइएको छ ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका स्थायी ठेगाना भएका थापा भरतपुर महानगरपालिका–९ मा बस्दै आएको प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । चितवन प्रहरीका अनुसार अभियुक्त थापाविरुद्ध यसअघि चोरीसम्बन्धी कसुर, डाँका कसुर, लागुऔषधसम्बन्धी कसुरमा विभिन्न समयमा मुद्दा दर्ता भएको थियो । अभियुक्त थापा चितवन जिल्ला अदालतबाट डाँका मुद्दामा ९ वर्ष कैद तोकिएकामा गत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा ४ वर्ष ६ महिना तीन दिन कैद भुक्तान गरी भरतपुर कारागारबाट छुटेका थिए ।

नारायणी नदी किनारमा कृषि तथा व्यापार महोत्सव गरिने

चितवनको नारायणी नदी किनारमा चितवन रिकभरी जनचेतना, संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने भएको छ । लागुऔषध तथा मद्यपान प्रयोगकर्ताहरुको उपचार तथा पुनःस्थापनाका लागि स्थापित संस्था रिकभरिङ युनाइटेड प्रालिले यही मङ्सिर ६ गतेदेखि १६ गतेसम्म नागरिकलाई सचेतना दिन महोत्सव गर्न लागेको हो ।

कार्यक्रम संयोजक महेश श्रेष्ठले भरतपुर महानगरपालिका–१ को सिफारिस र भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनको स्वीकृतिमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । लागुऔषध तथा दुव्र्यसनीविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्दै चितवनको मौलिक परम्परा, वेशभूषा र स्थानीय कला तथा संस्कृति संरक्षण गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो ।

दश दिनसम्म चल्ने महोत्सव बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहने जनाइएको छ । महोत्सवमा स्कुल तथा क्याम्पसका विद्यार्थीलाई लागुऔषधविरुद्धको विभिन्न नाटक, कविता, साहित्य, वादविवाद, गीतसङ्गीत तथा नृत्य प्रतियोगिता गराइनेछ ।

महोत्सवमा बाल उद्यानको साथमा रोटेपिङ, नाउँ, झुला, ड्रागन, कार तथा मोटरसाइकल रेस र सर्कसहरु मनोरञ्जनका लागि राखिनेछ भने औद्योगिक उत्पादनहरु, खाद्यान्न र हस्तकलाका सामानको स्टल राखिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । दैनिक पाँच हजार नागरिकले अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा प्रवेश शुल्क रु ७० राखिएको छ । पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ ।

भ्रमण वर्ष सफल बनाउन पत्रकारसँग छलफल

चितवन, १५ कात्तिक ः भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पत्रकारहरुसँग छलफल गरेको छ । महानगर कार्यालयमा आज आयोजित छलफलमा महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षको तयारी अघि बढेको जानकारी दिनुभयो । उहाँकै संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूलसमिति बन्दै गरेको सो अवसरमा जानकारी गराईएको थियो । यस्तै उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा कार्यसम्पादन समिति र २८ वटा उपसमिति निर्माण गरेर काम अघि बढाईएको उहाँले बताउनुभयो ।

भ्रमण वर्षमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि बाघ देखाउने गरी तयारी भइरहेको छ । यसैगरी दियालो बङ्गला क्षेत्र पर्यटकको लागि खुला गर्न पहल भइरहेको उहाँले बताउनुभयो । उपप्रमुख अधिकारीले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा प्रचार गरी भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो । उहाँले हालसम्म तयारीका काम धेरै अघि बढेको भन्दै आर्थिकरुपमा अप्ठ्यारो अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउने गरी कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना र पर्यटन विज्ञ डा विश्व सुवेदीले हालसम्मका तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

भ्रमण वर्षका लागि महानगरपालिकाले रु तीन करोड ७० लाख बजेट विनियोजन गरेको छ । सो कार्यका लागि प्रदेश सरकारले र सङ्घीय सरकारसँग थप बजेट पनि माग गरेको सो अवसरमा जानकारी गराईयो । महानगरपालिकाको एकातर्फको भूभाग चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । महानगरबाट दुई नाकामार्फत् निकुञ्ज प्रवेश गर्न सकिन्छ । यसका अतिरिक्त सूर्याेदय अवलोकनका लागि चौकीडाँडा र सूर्यास्तका लागि गोलाघाट यही महानगरमा पर्दछ । महानगरले २९ वटा पर्यटकीय गन्तव्य पहिचान गरेको छ ।

तीमध्ये सात वटा मुख्य पर्यटकीय गन्तव्य हुन् ।कार्यक्रमा पत्रकारहरुसँग भ्रमण वर्ष सम्पन्न गर्न आवश्यक सुझाव लिइएको थियो ।

पुराना ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ : मन्त्री किराती

काठमाडौँ, कात्तिक १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको विकासका लागि यस सम्बन्धी पुराना ऐन तत्काल संशोधन गर्नुपर्ने बताउनुभएको छ । आज यहाँ नेपाल पर्वातारोहण सङ्घको ५०औँ वार्षिकोत्सव समारोहमा उहाँले ऐन संशोधनसँगै विदेशी पर्यटकप्रति गर्ने व्यवहारमा सुधार गर्नुपर्ने बताउनुभयो ।

“हाम्रा ऐनहरु पुराना छन् । ऐनहरु समय सापेक्षित रुपमा सच्चाउनुपर्नेछ”, मन्त्री किरातीले भन्नुभयो, “आजै जोगमुनिबाट फोन आएको थियो । विदेशी पर्यटकले एउटा पाँच तारे होटलमा रू २५ हजारको कोठा बुक गर्नुपर्ने हुन्छ । तर २५ हजार भारु भन्दा बढी रकम बोक्न नपाइने प्रावधान भएकाले सो स्थितिप्रति उहाँहरुले गुनासो गर्नुभयो ।” विदेशी पर्यटकलाई जहाजको भाडा दोब्बर गर्दा विश्वमा नकरात्मक सन्देश गएको उहाँको भनाइ थियो ।

मन्त्री किरातीले ‘फेक रेस्क्यु’ले नकरात्मक सन्देश दिने भन्दै सरकारी, गैरसरकारी र निजी क्षेत्र यस्ता विषयप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिवर्तनको असरप्रति ध्यानाआर्कषण गराउँदै कतिपय स्थानमा पर्यटकका लागि निषेधित क्षेत्र भएकाले पर्यटनमा असहजता भएको बताउनुभयो ।

“एडभेन्चर, नेचर र कल्चर नेपाली पर्यटनको मौलिकता हुन् । यसलाई विश्व समुदायमा नयाँ ढङ्गले बजारीकरण (रिब्राण्डीङ) गर्न सके पर्यटनबाट समृद्धि सम्भव छ”, मन्त्री किरातीले भन्नुभयो । उहाँले सङ्घले हिमाल तथा हिमाली पर्यटन प्रवद्र्धन क्षेत्रमा खेलेको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

सङघको ५०औँ स्वर्ण महत्वसका अवसरमा सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले सुरक्षित पर्वातारोहण, तत्काल उद्धार र हिमालमा फोहर व्यवस्थापनका लागि सबैको सहकार्यका लागि आह्वान गर्नुभयो ।

‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई संस्थागत गरिने

जानकी (बाँके), १५ कात्तिक : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता’ लाई आगामी बजेटमा राखेर निरन्तरता दिने बताउनुभएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघामा ‘मुख्यमन्त्री गोल्डकप प्रतियोगिता–२०८०’ को उद्घाटन सत्रमा आज मुख्यमन्त्री चौधरीले प्रतियोगितालाई संस्थागत गरी सरकारले सम्पूर्ण खर्चको व्यवस्थापन गरेर नीतिगत निर्णय गर्ने बताउनुभयो ।

उहाँले खेल क्षेत्रको कुनै जात धर्म नहुने भन्दै समूहमा एकता भयो भने मात्र टिमको बिजय हुने बताउनुभयो । “खेलको जात हुँदैन न त धर्म नै हुन्छ । खेलले समाजमा सद्भाव कायम गर्छ”, उहाँले भन्नुभयो, “खेलमा विजयी प्राप्त गर्नका लागि टिममा एकताको भावना हुन आवश्यक छ ।”

लुम्बिनी खेलकुद परिषद् सदस्य सचिव जयप्रकाश भट्टराईले खेलमा कसैले पनि राजनीतिक हस्तक्षेप गर्नु नहुने बताउनुभयो । खेल र खेलाडी राष्ट्रका गहना भएकाले खेल क्षेत्रलाई स्वतन्त्र रुपले सहयोग गर्न र खेलाडीलाई हौसला प्रदान गर्न उहाँले सुझाव दिनुभयो ।

सोही कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगर क्षेत्रलाई खेलकुदको नामले चिनाउन प्रदेश सरकारले गरेको आर्थिक सहयोगको लागि कृतज्ञता ज्ञापन गर्नुभयो । साथै उहाँले आगामी दिनमा व्यावसायिक खेलाडी जन्माउन चुनौती भएको बताउनुभयो । नगर प्रमुख आर्चायले खेलाडीका लागि नगरपालिकाले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्घाटन सत्रको क्रममा प्रदेश समाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले प्रतियोगिताले यस क्षेत्रको खेल विकासलाई अगाडि बढाउन सहयोग पुग्ने बताउनुुभयो ।

प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड काठमाडौँ, गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहरा क्लब कोहलपुर, विएफसी चितवन क्लब चितवन, एभिनियर एफसी क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागी छन् ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसीसहित नेपालका ए डिभिजनका सात क्लब सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेलाई रु आठ लाख, दोस्रो हुनेलाई रु चार लाखसहित ट्रफी रहेको छ ।

रचनात्मक सहरका लागि चलचित्र विधा छनोट

काठमाडौँ, १५ कात्तिक : काठमाडौँ महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका सात क्षेत्रमध्ये चलचित्र विधा छनोट गरेको छ । कामपाले चलचित्र विधाबाट काठमाडौँ युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क) मा जोडिन उक्त विधा छनोट गरेको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

“नेटवर्कमा आवद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधालाई छान्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “रचनात्मक सहरका सबै विधा काठमाडौँसँग सम्बन्धित छन् । चलचित्र विधाबाट सबै क्षेत्र समेट्न सकिने भएकाले याे विधा छनोट गरिएको हो ।”

प्रवक्ता मानन्धरले फरक दृष्टिकोण, अर्थव्यवस्था र संस्कृति भएका भिन्नभिन्न सहरलाई रचनात्मक सहरको सञ्जालमा जोडेर विकासको साझा दृष्टिकोण बनाउने रचनात्मक सहरको अवधारणा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सञ्जालमा जोडिएकामध्ये काठमाडौँसहित पाँच सहर चलचित्र विधामा छानिएका छन् ।

सङ्गीत विधामा १६, डिजाइनमा छ, शिल्प तथा लोककलामा सात, साहित्यमा १०, खानाका परिकारमा सात, मिडिया कलामा चार वटा सहर जोडिएका छन् । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम र गतिविधि कार्यान्वयन गर्नेछन् ।

“जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्तअमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौँलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ”, मानन्धरले भन्नुभयो, “जात्रा पर्व, मौलिक वेषभूषा, खानपान काठमाडौँसँग जोडिएर आउने बिम्ब हुन् ।”

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा र वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहभागी हुन छात्रवृत्ति प्रदान गर्नेलगायत काम नेटवर्कले गर्दै आएको छ ।

अन्तरर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तरर्राष्ट्रिय चलचित्र महोत्सव, फिल्म एक्स्पो, फिल्म समिट गर्ने मानन्धरले जानकारी दिनुभयो । नेटवर्कका कार्यक्रम सञ्चालनका लागि कामपाले रू पाँच करोड विनियोजन गरेको छ । सञ्जालमा एक सय भन्दा धेरै देशका तीन सय ५० सहर आवद्ध भइसकेका छन् ।

प्रस्तावित क्यानडाका राजदूत पौडेलको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौँ, १५ कात्तिक : सङ्घीय संसद् सुनुवाइ समितिले प्रस्तावित क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले प्रस्तावित राजदूत पौडलको सुनुवाइ प्रक्रिया अघि बढाउने सिलसिलामा १० दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयका सचिव पौडेललाई मन्त्रिपरिषद्को यही कात्तिक २ गते बैठकले क्यानडाका लागि राजदूत नियुक्त गर्न सिफारिस गर्दै संसदीय सुनुवाइका लागि समिति पठाएको थियो । उहाँलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन अनुरोध गर्दै सबैको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्ने समितिले निर्णय गरेको हो ।

सरकारले उहाँलाई क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)का लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको छ ।