`

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

काठमाडौँ, ७ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गर्नुभएको छ । राष्ट्रकवि स्व घिमिरेको १०४औँ जन्मजयन्तीका अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आज शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले रु एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गर्नुभएको हो ।

राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहनेगरी रु १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उहाँको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसअघि उहाँले विसं २०३४ मा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । प्राडा त्रिपाठीले नेपाली साहित्यको विशिष्ट प्रतिभा राष्ट्रकविको नाममा स्थापित पुरस्कार पहिलोपटक आफूले पाउँदा ज्यादै भाग्यमानी महसुस भएको बताउनुभयो । उहाँले नेपाली वाङ्मय र साहित्यको क्षेत्रलाई अगाडि बढाउन राष्ट्रकवि घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र सङ्घका पूर्वराजदूत एवं पुरस्कार छनोट समितिका सदस्य प्राडा जयराज आचार्यले पुरस्कारको आधार बनाएर पुरस्कार छनोट गरिएको बताउनुभयो । उहाँले राष्ट्रकवि पुरस्कार ज्येष्ठ, उत्कृष्ट र वरिष्ठताका आधारमा प्राडा त्रिपाठीलाई प्रदान गरिएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं पुरस्कार छनोट समितिका संयोजक विजयराज न्यौपानेले नेपाली भाषा, कला, समालोचना, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनको योगदानका आधारमा पुरस्कार वितरण गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रकविको मूर्ति स्थापना गर्ने लक्ष्य राखेको उल्लेख गर्नुभयो । पुरस्कार छनोट समितिमा अध्यक्ष न्यौपाने, विज्ञ आचार्यसहित पुरस्कारदाताका तर्फबाट डा हेमाङ्गराज अधिकारी सदस्य हुनुहुन्थ्यो ।

राष्ट्रकवि घिमिरेका सुपुत्र राजीव घिमिरेले राष्ट्रकविलाई साहित्यमार्फत चिरकालसम्म सम्झनका लागि अक्षयकोष स्थापना गरेर पुरस्कार घोषणा गरिएको बताउनुभयो । उहाँले उक्त पुरस्कार राष्ट्रकविको जन्मजयन्तीका अवसरमा हरेक वर्ष प्रदान गरिने उल्लेख गर्नुभयो ।

सो अवसरमा साहित्यकार विजयराज न्यौपानेद्वारा लिखित बाल साहित्यकार स्व एकाराम सिंहको जीवनी समेटिएको पुस्तक लेखक न्यौपानेले राष्ट्रपति पौडेललाई हस्तान्तरण गर्नुभएको थियो ।

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक

काठमाडौँ, ७ असोज ः-नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो ।

महाशाखाले दस ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । दस ग्राम सिक्काको रू एक हजार छ सय र २५ ग्राम सिक्काको रू चार हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई लगाएर मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले दस ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

बेइजिङ, ७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नुहुँदै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गर्नुभयो ।

चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले आयोजना गरेको सम्मेलनमा उहाँले भन्नुभयो, “हामीले लगानीमैत्री वातावरण बनाउनका लागि सम्बन्धित नीति तथा कानून संशोधन तथा अद्यावधिक गरेका छौँ, त्यसैले अहिले नेपालमा लगानीको वातावरण राम्रो बनेको छ ।”

प्रधानमन्त्री दाहालले नेपालमा पर्यटन, पूर्वाधार, उर्जा, कृषि, औषधिजन्य उत्पादनलगायतका क्षेत्रमा लगानीको राम्रो सम्भावना भएको भन्दै लगानी गरी लाभ लिन पनि आग्रह गर्नुभयो । “नेपालमा पछिल्लो समय लगानीको वातावरण बनेको छ, सम्भावना भएका क्षेत्रमा लगानी गरी लाभ लिन म यहाँहरूसमक्ष आग्रह गर्दछु”, चिनियाँ लगानीकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालमा श्रम कानून पनि लगानीमैत्री र लचिलो छ ।”

उहाँले नेपालमा कर पनि तुलनात्मकरूपमा कम रहेको भन्दै लगानीको उचित वातावरण बनेको स्पष्ट पार्नुभयो । नेपालमा लगानीको सुरक्षा र आवश्यक एवं उचित वातावरण निर्माणका लागि सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले नेपाल र चीनबीचको सम्बन्ध प्राचीन तथा ऐतिहासिक भएको उल्लेख गर्नुभयो । “पाँचौँ शताब्दीमा नेपाली भिक्षु बुद्धभद्रले चीनको भ्रमण गर्नुभएको थियो भने सातौँ शताब्दीमा नेपालकी राजकुमारी भृकुटीको तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरी दुई देशबीचको सम्बन्ध अझ सुमधुर भएको थियो, १३औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले चीन आएर वास्तुकलाको क्षेत्रमा योगदान दिनुभएको थियो”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले सोही समयदेखि हिमालवारि र हिमालपारिको व्यापार सुरु भएको समेत भनाइ राख्नुभयो ।

सो अवसरमा उहाँले चीन नेपालका लागि प्रत्यक्ष वैदेशिक लगानीका लागि ठूलो स्रोत र व्यापारका दृष्टिले दोस्रो मुलुक भएको बताउनुभयो । नेपालको चीनसँग व्यापार घाटा ठूलो रहेको भन्दै त्यसलाई घटाउनका लागि उत्पादन क्षमतामा वृद्धि, भौतिक पूर्वाधार सुधार आवश्यक रहेको बताउनुभयो ।

“नेपालबाट चिया, जडीबुटी, कागती, भैँसीको मासु, कफी, अदुवालगायतका उत्पादन निर्यातको प्रचुर सम्भावना भएकाले यी वस्तुको उत्पादनमा हामीले प्राथमिकता दिएका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यसका लागि हामीले प्राविधिक अवरोध न्यूनीकरण गर्दै यस्ता उत्पादन प्रशोधनका क्षेत्रमा काम गरिरहेका छौँ ।”

नेपाल सन् २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख देशमा स्तरोन्नति हुने तयारीमा रहेको भन्दै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा पुग्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । “हामीले सन् २०१७ मा चीन सरकारसँग ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’मा आबद्ध भएका छौँ, अहिले हामी कार्यान्वयनको अन्तिम तयारीमा छौँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले दुई देशबीचको क्रस बोर्डर कनेक्टिभिटी बढाउनका लागि महत्त्वपूर्ण अग्रसरता लिएको उल्लेख गर्दै आर्थिक सम्बन्धमा जोड दिइएको बताउनुभयो । नेपालमा विद्युत् आपूर्ति उल्लेख्यरूपमा बढेको उल्लेख गर्दै उहाँले नेपाल यतिबेला विद्युत् निर्यात गर्ने अवस्थामा आइपुगेको बताउनुभयो ।

सो अवसरमा चीनका वाणिज्य उपमन्त्री लि फाइले नेपाल र चीन सदियौँदेखिको घनिष्ट मित्र भएको भन्दै चीनले नेपालको सदैव उन्नति र समृद्धि देख्न चाहेको बताउनुभयो । उहाँले दुई देशबीच विभिन्न क्षेत्रमा लगानीका अधिक सम्भावना रहेकाले आपसी समृद्धि, विकास र आर्थिक उन्नतिका लागि नेपालमा लगानीका क्षेत्र पहिचान गर्नका लागि दुवै देशले सामूहिक प्रयास गर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल लगानीको विश्वासिलो गन्तव्य भएको भन्दै अझ बढी चिनियाँ लगानीको अपेक्षा रहेको बताउनुभयो ।

उहाँले चीन नेपालका लागि दोस्रो ठूलो व्यापार साझेदार मुलुक भएको बताउनुभयो । नेपालले कूल आयातको १६ प्रतिशत चीनबाट गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालबाट चीनतर्फको निर्यात कम भएकाले यसलाई बढाउनपर्नेमा जोड दिनुभयो ।

“नेपालमा लगानी गर्ने बहुराष्ट्रिय कम्पनीहरूले उच्च प्रतिफल लिइरहेका छन्”, उहाँले भन्नुभयो, “नेपाल विदेशी लगानी भित्र्याउन र प्रविधि हस्तान्तरणका लागि तयार छ ।” उहाँले यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेखनीय प्रगति भएको, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र पर्यटकीय गन्तव्य सञ्चालनमा आएको भन्दै लगानीको सम्भावना बढेर गएको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घले वैदेशिक लगानीकर्तालाई लक्षित गरी एकद्वार प्रणालीमार्फत वैदेशिक लगानी ल्याउनका लागि एफडीआई हेल्प डेस्क स्थापना गरेको समेत जानकारी गराउनुभयो । उहाँले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा राम्रो सम्भावना भएको भन्दै लगानीका लागि आग्रह गर्नुभयो ।

सो अवसरमा चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीका उपाध्यक्ष झाङ शाङगङले नेपालमा लगानीका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र सिसिपिआइटीको संयुक्त प्रयासमा लगानीका क्षेत्र पहिचान गरी लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका प्रत्यक्ष वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति मनोज पौडेलले नेपालमा युवा जनशक्तिको सङ्ख्या ठूलो भएको उल्लेख गर्नुहुँदै नेपालमा युवा उद्यमशीलता समेत बढेको बताउनुभयो । उहाँले नेपालमा भएको युवा जनशक्तिको पूर्ण उपयोग गरी लाभ लिन चिनियाँ लगानीकर्ता समक्ष आग्रह गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल

काठमाडौँ, ७ असोज : प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल सुरु गरेको छ ।

समितिको आज बसेको बैठकमा प्रस्तुत विधेयक माथिको छलफल अघि बढाउने क्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, उत्तरदायी र जनसहभागिता बढाउँदै सुशासनको प्रत्याभूति दिलाउन विधेयक ल्याउनु परेको बताउनुभयो ।

भ्रष्टाचारविरुद्धको अभियान र शून्य सहनशिलता अपनाउन विधेयक महत्वपूर्ण हुने बताउँदै मन्त्री गुरुङले मुलुकलाई भ्रष्टाचारको दलदलबाट माथि उठाउन र सुशासन कायम गरेर लैजान सबै प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । विधेयकमाथि गहन छलफल गरी समृद्ध बनाउनुपर्ने उहाँको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयकलाई समितिले मसिनो, विस्तृत, मिहीन ढङ्गले हेरेर गम्भीरतापूर्वक छलफल गरी अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “विधेयकमाथि गम्भीरतापूर्वक छलफल हुनेछ, हाम्रो सोच भनेको नेपालबाट भ्रष्टाचार उन्मूलन गरौँ भन्ने हो, यसका लागि सरकार र समितिबीच सहयोग र समन्वयकासाथ छलफल हुनुपर्छ, विधेयकबारे विश्वास दिलाउने काम गरिनुपर्छ ।” उक्त विधेयक विसं २०७६ मा राष्ट्रियसभामा पेस भएकामा विसं २०७७ मा विधायन समितिबाट पास भएको थियो । राष्ट्रियसभाले उक्त विधेयकमा १२ वटा बुँदामा संशोधन गरेको थियो ।

उक्त विधेयकमाथि प्रतिनिधिसभामा भने २७ वटा संशोधन परेको छ । कानुन प्रभावकारी बनेर कार्यान्वयन भयो भने परिणाम देखिने गरी काम गर्न सकिने बताउँदै मन्त्री शर्माले यसबाट सुशासनसमेत कायम हुने भएकाले प्रभावकारीरुपमा छलफल गरी कानुनलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

कानुन राम्रो बन्यो, कानुन कार्यान्वयनलाई बाध्यकारी बनाउन सकियो भने हाम्रासामू रहेका धेरै अनियमितता र भ्रष्टाचारलगायतका विषय नियन्त्रण हुने बताउँदै मन्त्री शर्माले विधेयकलाई व्यवस्थित ढङ्गले हेरिने र छलफल गरी समृद्ध तुल्याउने विषयमा समितिले विशेष ध्यान पु¥याउनुपर्ने सुझाव दिनुभयो । विधेयकमाथि दफावार छलफल गर्नुपूर्व समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग छलफल गर्ने निर्णय गरेको छ । समितिले आजै निमित्त मुख्यसचिव एकनारायण अर्याल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री कार्यालयको कानुन हेर्ने सचिव लीलादेवी गड्तौला लगायतसँग विधेयक ल्याउन पर्नाका कारण, विधेयकको उद्देश्य र कार्य क्षेत्र लगायतकाबारे छलफल गरी जानकारी लिएको छ ।

यसैबीच समितिको आजको बैठकले समितिको बैठक सञ्चालनसम्बन्धी आन्तरिक कार्यविधिसमेत पारित गरेको छ । यसअघि बैठकमा सदस्यहरु राजेन्द्र राई, रवि लामिछाने, रघुजी पन्त, दिलेन्द्रप्रसाद बडू, चित्रबहादुर केसी, प्रकाश अधिकारीलगायतले मुलुकका समसामयिक विषय र विधेयकबारे विभिन्न पाटो र पक्षबाट धारणा राख्नुभएको थियो ।

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छ : परराष्ट्रमन्त्री साउद

बेइजिङ, ७ असोज : परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताउनुभएको छ ।

बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चामत्कारिक आर्थिक प्रगति प्रशंसा गर्नुभयो । उहाँले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताउनुभयो ।

“नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यहाँहरूले निरन्तर काम गरिरहनुभएको छ”, नेपाली समुदायलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “दुई देशबीचको शताब्दीयौँदेखि घनिष्ट एवं मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हितका विषयमा सहकार्य अभिवृद्धि गर्दै जाने दिशामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो औपचारिक भ्रमणलाई दुवै पक्षले अत्यन्त महत्त्वपूर्ण रूपमा लिएका छौँ ।”

उहाँले प्रधानमन्त्री र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयहरूमा सारगर्भित कुराकानी भएको भएको जानकारी दिनुभयो ।

“दुई असल एवं परम्परागत छिमेकीका रूपमा नेपाल र चीनबीच मित्रता र सांस्कृतिक आदानप्रदानको लामो इतिहास छ । हामीले पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित घनिष्ठ सम्बन्ध कायम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै नेपालको भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिनेमा आफूहरू दृढरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । साथै नेपालको सार्वभौमिकता, अखण्डता तथा राष्ट्रिय स्वतन्त्रताप्रति चीनको निरन्तर समर्थन र दृढ नीतिको सराहना समेत गर्नुभयो ।

उहाँले नेपाल सरकार नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरूलाई हरसम्भव सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको भन्दै यसका लागि संस्थागत, नीतिगत, व्यवस्थापकीय, व्यवहार र अन्य पक्षमा सुधार गरेको बताउनुभयो । उहाँले आवश्यकतानुसार थप सुधार गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

“नेपाली जनताको समृद्धिका लागि आर्थिक विकासलाई तीव्रता दिन नेपाल अहिले प्रयासरत छ । सन् २०२६ मा हामी अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदैछौँ र यस स्तरोन्नतिलाई सहज र अपरिवर्तनीय बनाउन हामी प्रयासरत छौँ”, उहाँले भन्नुभयो ।

विद्यमान व्यापार घाटा कम गर्न चिनियाँ बजारमा नेपाली उत्पादनको सहज पहुँचका लागि हामीलाई चीनको सद्भाव र सहयोगको आवश्यकता रहेको भन्दै परराष्ट्रमन्त्री साउदले नेपालमा उत्पादकत्व सुधार गर्न र चिनियाँ बजारमा नेपाली उत्पादनलाई प्रतिस्पर्धी बनाउन चीनलाई प्रविधि हस्तान्तरण गर्न अनुरोध गरेको बताउनुभयो ।

“व्यापार, लगानी, प्रविधि हस्तान्तरण, जलविद्युत्, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी, गरिबी निवारण, शिक्षा, संस्कृति, कनेक्टिभिटीलगायतका क्षेत्रमा हाम्रो सहयोग र सहकार्य अभिवृद्धि गर्ने प्रशस्त सम्भावना छन्”, उहाँले भन्नुभयो ।

परराष्ट्रमन्त्री साउदले नेपाल–चीन आर्थिक साझेदारी अभिवृद्धि गर्नका लागि सीमापार सम्पर्क सञ्जाल विस्तार अत्यावश्यक रहेको भन्दै नेपाल सरकारले नेपाल–चीनबीचका सबै सीमा नाकालाई नियमित सञ्चालन गर्ने, दुई देशको सीमामा पूर्वाधार निर्माण गर्ने, सीमा नाकामा परीक्षण र मान्यताका लागि पूर्ण सुविधासम्पन्न प्रयोगशाला स्थापना गर्ने, नेपाल–चीन सीमामा बन्दरगाह सुविधा निर्माणलाई तीव्रता दिने कामलाई प्राथमिकता दिँदै आएको बताउनुभयो ।

१९ औँ एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

हाङ्जाउ (चीन), ७ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ । नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो ।

शनिबार गोङ्गशु क्यानल जिमेन्जियममा भएको समुह चरणको खेलमा समुह एफ मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको थियो । महिलातर्फ नेपालकी सिक्क सुवाल भारतीय खेलाडी दिया पराग चितालेसित ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन् । यस्तै नविता श्रेष्ठ भारतकी यहिका मुखर्जीसित ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन् । यस्तै इभान थापा मगर भारतीय खेलाडी सुतिर्था मुखर्जीसित ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन् ।

यसैगरी नेपालको पुरुष टोली पनि उत्तर कोरियासित नेपाल ३–० ले पराजित भएको छ ।

पुरुषतर्फ समुह बी मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा ११–५ अकले पराजित भए । अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए ।

ऊर्जा क्षेत्रको विकासका लागि यस्ता छन् ८५ बुँदे कार्यक्रम

काठमाडौँ, ७ असोज ः सरकारले मुलुकको ऊर्जा क्षेत्रको बृहत्तर विकासका लागि विभिन्न ८५ बुँदे कार्यक्रम तय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा ती कार्यक्रम प्रस्ताव गरिएको हो । ती कार्यक्रममा कुन निकायले के–कति समयमा कसरी काम गर्ने भन्ने समयसीमासमेत निर्धारण गरिएको छ ।

सरकार र सरकार मातहत रहेका सबै निकायलाई उत्तिकै जिम्मवार र जवाफदेही बनाउने, नीतिगत तथा कानुनीरूपमा रहेको अड्चन हटाउने तथा प्रक्रियागतरूपमा लाग्दै आएको समय कम गर्दै दिगो र दीर्घकालीन विकासलाई प्रमुख प्राथमिकता दिने विषयलाई उच्च महत्व दिइएको छ । मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रले विकास गरेपछि त्यसलाई नै थप अगाडि बढाउने लक्ष्यका साथ स्पष्ट काार्ययोजना अगाडि सारिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सो प्रस्तावित कार्यक्रममा ऊर्जाको माग प्रवर्द्धन तथा व्यवस्थापनसम्बन्धी अध्ययन एवं नीगित सुझाव प्रदान गर्न जल तथा ऊर्जा आयोगको भूमिकालाई थप विस्तार गरिनेछ । सो काम तत्काल गरिनेछ । यस्तै राष्ट्रिय प्रसारण ग्रिडको सञ्चालन, विस्तार तथा व्यवस्थापन गर्न एक छुट्टै निकाय तोकिने छ । यसबाट प्रसारण प्रणालीको विकासमा थप सहयोग पुग्नेछ ।

जलविद्युत् आयोजनाहरूमा लगानी सुनिश्चितताको प्रत्याभूतिका लागि एक सय मेगावाटमाथिका विद्युत् बिक्री सम्झौता भई वित्तीय व्यवस्थापन गर्न बाँँकी रहेका स्वदेशी लगानीमा आधारित नदी प्रवाही र अर्धजलाशययुक्त आयोजना र आगामी दिनमा विद्युत् बिक्री सम्झौता गरिने आयोजनाको अधिकतम १७ प्रतिशत बराबरको स्वपुँजीमा प्रतिफल रहनैपर्ने प्रावधान हटाइने भएको छ । सो काम प्राधिकरणले गर्नेछ । त्यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक सहजीकरण गर्ने भएको छ ।

प्रस्तावित कार्यक्रममा विद्युत् उत्पादन, प्रसारण, वितरण तथा व्यापारसम्बन्धी व्यवस्थालाई समयसापेक्ष बनाई स्वच्छ, भरपर्दो, गुणस्तरीय, सुरक्षित तथा सर्वसुलभ विद्युत् आपूर्ति गर्न विद्युत् ऐनलाई शीघ्र प्रक्रियामा अगाडि बढाउने उल्लेख छ । विद्युत् ऐन सङ्घीय संसद्मा पेस भइसकेको छ ।

जलविद्युत् आयोजनाको विकास एवं निर्माणका लागि जग्गा प्राप्ति गर्दा हालको ७५ रोपनीको हदबन्दीको सीमालाई पुनरावलोकन गरिने भएको छ । सो सीमाका कारण आयोजना निर्माणमा बाधा पर्दै आएको छ । सो कार्य आगामी पाँच महिनाभित्र एउटा निष्कर्षमा पुर्याउने लक्ष्य राखिएको छ ।

विद्युत् प्रसारण लाइनको अध्ययन, विकास एवं निर्माण गर्दा सम्भव भएसम्म निजी जग्गाको प्रयोग कम गर्ने गरी सरकारी वा वन क्षेत्रको जग्गा उपयोगलाई प्राथमिकता दिने व्यवस्था मिलाइनेछ । सो कार्यका लागि वन तथा वातावरण मन्त्रालयलाई थप जिम्मेवार बनाउने प्रस्ताव गरिएको छ । निजी क्षेत्रको जग्गा प्रयोगको विषय आफैँमा सबैभन्दा कठिन विषय बन्दै गएको छ । आवश्यकताभन्दा बढी माग राख्ने र अधिकांश स्थानमा आयोजना प्रभावितले अवरोध गरेर आयोजनाको समय र लागत दुवै बढेका कारण सरकारी जग्गा वा वन क्षेत्रको प्रयोगलाई बढी प्राथमिकता दिन लागिएको हो । एकाध टावर बनाउन वर्षौँ लाग्ने, मुआब्जा वितरण प्रक्रिया असाध्यै झन्झटिलो भएपछि सरकारले त्यसको विकल्प खोज्न लागेको हो ।

जलविद्युत् आयोजनामा निर्माण गरिने बाँध तथा तल्लो तटीय क्षेत्रको सुरक्षाका लागि बाँध सुरक्षा गाइडलाइन तयार पारिनेछ । जलवायु परिवर्तनका कारण नदी जलाधार क्षेत्रमा अत्यधिक वर्षालगायतका कारण आयोजनाको बाँध निर्माणलाई विशेष ध्यान दिनुपर्ने अवस्थाको सिर्जना भएको छ ।

पूर्वी नेपालमा गत असारमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा पारेको प्रभावका आधारमा पनि सो प्रबन्ध गर्न लागिएको हो । तल्लो तटीय क्षेत्रको सुरक्षालाई महत्व दिएर यस खालको प्रबन्ध गरिन लागिएको हो ।

यस्तै प्रस्तावित कार्यक्रममा विद्युत् प्रसारण तथा वितरण संरचनामा खुला पहुँचको व्यवस्थाका लागि आवश्यक निर्देशिका जारी गरिने भएको छ । यसबाट निजी क्षेत्रले अधिकतम लाभ हासिल गर्न सक्छ । स्वच्छ ऊर्जा रुपान्तरणका लागि मुलुकमा विद्यमान हरित हाइड्रोजन उत्पादनको प्रचुर सम्भावनालाई उपयोग गर्न हरित हाइड्रोजन नीति जारी गरिनेछ । सो काम आगामी छ महिनाभित्रै गर्ने ऊर्जा मन्त्रालयको तयारी छ । प्रसारण पूर्वाधारको तीव्र विकासका लागि निजी लगानी आकर्षित गरिनेछ । त्यसका लागि प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिनेछ ।

विद्युत् आयोजनाको विकास एवं निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गरेवापत प्रवर्द्धकले बुझाउनुपर्ने रकमको पुनरावलोकन गरिनेछ । वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अप्ठ्यारोका कारण आयोजनाहरूले ठूलो समस्या भोग्दै आएका छन् । यस्तै प्रसारण लाइन निर्माण गर्ने क्रममा प्रसारणमार्गमा परेका जग्गा प्राप्तिमा देखिएको हालको समस्या समाधानका लागि विद्यमान क्षतिपूर्तिको व्यवस्थामा पुनरावलोकन गरी समयसापेक्ष बनाइनेछ । यसबाट विद्यमान सबै समस्या समाधान हुनेछ । सो काम पनि आगामी छ महिनाभित्रै पूरा गरिनेछ ।

यसैगरी सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन जारी गर्ने तयारी गरेको छ । त्यस्तै राष्ट्रिय ऊर्जा सुरक्षा नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ । विद्युत् आयोजनाको निर्माणमा आइपर्ने व्यवधानलाई छिटो सम्बोधन गरी तीव्र निर्माणका लागि विशेष कानुनको प्रबन्ध गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ । स्वदेशी तथा अन्तरदेशीय विद्युत् व्यापारका लागि लागि छिमेकी देशको नीतिगत व्यवस्था तथा प्रचलनलाई समेत मध्यनजर गरी विद्युत् व्यापार निर्देशिका जारी गर्ने योजनासमेत अगाडि सारिएको छ ।

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति

निजी क्षेत्रलाई उचित कानुनी प्रबन्ध गरेर विद्युत् व्यापारका लागि सहजरूपमा अनुमति दिने भएको छ । लामो समयदेखि निजी क्षेत्रले आफूहरूलाई पनि विद्युत् बिक्रीका लागि अनुमति दिन माग गर्दै आएको सन्दर्भमा सरकारले त्यसतर्फ सकारात्मक प्रयास थालेको हो । सोही प्रयोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीय संसद्मा विद्युत् विधेयक, २०८० दर्ता गरिसकेको छ । सम्भव भएसम्म सो विधेयकलाई सङ्घीय संसद्को चालु अधिवेशनमा नै पारित गर्ने सरकारको तयारी छ ।

विद्युत् उत्पादनमा निजी क्षेत्रले देखिने गरी प्रगति गरेको छ । नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रको हिस्सा धेरै छ । प्रणालीमा २४ हजार पाँच सय ७० मेगावाट घण्टा बराबरको बिजुली निजी क्षेत्रले उपलब्ध गराएको छ । निजी क्षेत्रको मागअनुसार नै कानुनी एवं संरचनागत प्रबन्ध गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो । निजी क्षेत्रले भारत र बङ¬्गलादेशका निजी क्षेत्रका व्यवसायी तथा विद्युत् व्यापार कम्पनीहरूसँग सहकार्य गर्ने र विद्युत् बिक्रीका लागि थप वातावरण बनाउने बताउँदै आएका छन् ।

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन (बागलुङ), ७ असोज ः दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लोकमार्गको निसीखोला गाउँपालिका–४ कानाबगरस्थित कालापैराखोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वीरुकुम खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वीरुकुमदेखि काठमाडौँ, पोखरा, बागलुङलगायतका स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन सडकमा ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् । रातभर भारी वर्षा भएको अहिले केही कम भएको हुँदा खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिनुभयो ।

बाढीले करिब दुई सय मिटर कालोपत्र सडकमा क्षति पुर्याएको अध्यक्ष पौडेलको भनाइ छ । कानाबगर हुँदै ओखरेनी जोड्ने शाखा सडकमा पहिरो जाँदा कालापैरा खोलामा बाढी आएर सडक अवरुद्ध बनाएको उहाँ बताउनुहुन्छ । बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौँ र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उहाँको भनाइ छ ।

“यो ठाउँमा पानी पर्यो भने माथिबाट लेदोसहितको ठूलो बाढी, बाढीले एकै छिनमा सबै सडक पुरिदिन्छन्, सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र पर्दै आएका छन्, बर्खा लागेपछि अहिलेसम्म धेरै पटक यहाँ बाढी आएर सडक अवरुद्ध बन्यो, जतिपटक बाढीले सडक अवरुद्ध बनाउँछ, त्यतिपटक लोकमार्गसँग सहकार्य गरेर खुलाएका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “अब केही छिनमा सडक खुल्ने छ, आज पनि वर्षा होलाजस्तो छ ।”

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आइतबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसारहाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आज राती कोशी र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ।

बैकुण्ठे तालमा डुबेर नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजयको मृत्यु

चितवन, ७ असोजः जिल्लाको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।

फिर्के खोलाको सिमाङ्कन प्रतिवेदन पोखरा महानगरलाई बुझाइयो

कास्की, ७ असोज : पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन पोखरा महानगरलाई बुझाइएको छ । फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो ।

प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले शनिबार महानगरप्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनुभएको हो । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका बाबजुद खोलाको खोला नापजाँच सम्पन्न गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक पौडेलले बताउनुभयो ।प्राविधिक समितिले एक महिना लगाएर गत साउन ३ देखि भदौ ३ गतेसम्म खोलाको नापजाँच गरेको थियो । फिर्केखोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनसहित ४० परिचालित भएका थिए । संयोजक पौडेलका अनुसार खोलाघर माथि स्थायीदेखि अस्थायी प्रकृतिका एक सय ६० संरचना निर्माण गरेको पाइएको छ ।फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचना र ३५ वटा स्थायी संरचना निर्माण गरेको पाइएको छ । खोलामाथि १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । साविक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं १८, २, ४, ५, ७, ८, ६ र १७ भएर फेवातालमा मिसिने फिर्केखोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ ।यो खोला कम्तीमा तीन दशमलव ३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चारदेखि नौ मिटरसम्म गहिरो रहेको पाइएको छ ।फिर्केखोलाको प्राविधिक नापजाँचपछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सीमास्तम्भ गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोलामाथि २५ वटा पुल तथा कल्भर्ट रहेका छन् । यसको नापजाँचकार्य ३२ दिनसम्म दुई सय ८८ घण्टामा सम्पन्न गरिएको हो ।उहाँले भन्नुभयो, “महानगरले हामीलाई फिर्केको सिमाङ्कनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी सबैको साथ र सहयोगबाट सम्पन्न गरी प्रतिवेदन बुझाएका छौँ । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक सङ्घसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइयो ।”प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नापजाँचसहितको एक महत्त्वपूर्ण दस्तावेज तयार भएको बताउनुभयो । प्रतिवेदनले खोलाघरमाथिको अवस्था देखाइदिएकाले यसको कार्यान्वयनका लागि महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरी उपयुक्त निर्णय गरिने उहाँले बताउनुभयो ।महानगर प्रमुख आचार्यले भन्नुभयो, “सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खोला मिचेर बनाइएका संरचना हटाइनेछ ।” दिगो पर्यटन विकास परियोजनाअन्तर्गत यसको संरक्षण, संवर्द्धन र विशेष सौन्दर्यीकरणको उद्देश्यसहित फिर्के करिडोरको विकास कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।उपप्रमुख मञ्जुदेवी गुरुङले फिर्केखोलामाथि बनेका संरचना हटाउने कार्यमा आम पोखरेलीको साथ र सहयोग रहने अपेक्षा गर्नुभयो । महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलाघर खाली गर्ने बताउँदै उहाँले यसको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । समितिले सम्बन्धित वडाका वडाध्यक्षको रोहवरमा प्रतिवेदन महागनरलाई बुझाएको हो ।प्रतिवेदनमा फिर्के तथा बुलौदीखोला हँुदै फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहर तथा सिसा र विषाक्त रसायनका कारण प्राणी जीवन सङ्कटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरूको जोखिम बढ्ने गरी वातावरणीय प्रदूषण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

विद्युत् नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय घरधुरीमा सौर्य ऊर्जा

गण्डकी, ७ असोज : राष्ट्रिय प्रसारण लाइन नपुगेका गण्डकी प्रदेशका सात स्थानीय तहका १२ सय पाँच घरधुरीमा घरेलु सौर्य ऊर्जा प्रविधि जडान गरिएको छ । मुस्ताङ, म्याग्दी, मनाङ र गोरखाका विकट गाउँमा सौर्य ऊर्जामार्फत बिजुली पुर्याइएको हो ।

प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार बागलुङको ढोरपाटन नगरपालिका–६ का तीन सय ९१ घरधुरीमा सौर्य ऊर्जा जडानको क्रममा छ । तत्काल राष्ट्रिय प्रसारण लाइन जोडिने सम्भावना नभएका ठाउँमा प्रदेश सरकारको अनुदान सहयोगमा सौर्य ऊर्जा जडानको काम भइरहेको छ ।मन्त्रालयको ऊर्जा शाखाका इन्जिनियर जीवन श्रेष्ठले सौर्य ऊर्जा प्रविधि जडानका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान दिने गरेको बताउनुभयो । प्रदेश सरकारका मन्त्रालय र सम्बन्धित कार्यालयमा पनि विद्युत् सेवा नियमित गर्न संस्थागत सौर्य ऊर्जा जडान गरिएको उहाँको भनाइ छ ।उर्जा मन्त्रालयमा ३०, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा २९, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ४१ र विभिन्न जिल्लामा ९२ किलोवाट गरी कुल एक सय ९२ किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको हो ।“राष्ट्रिय प्रसारण लाइन नपुगेका र लघुजलविद्युत् आयोजना पनि नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरिएको हो”, इन्जिनियर श्रेष्ठले भन्नुभयो, “प्रदेशका सबै घरधुरीमा बिजुली पुर्याएर यसै वर्षभित्र उज्यालो गण्डकी प्रदेश घोषणा गर्ने सरकारको तयारी छ ।”मन्त्रालयको तथ्याङ्कअनुसार राष्ट्रिय प्रसारण लाइन र नवीकरणीय ऊर्जामार्फत गरी प्रदेशका ९९ दशमलव ५० प्रतिशत घरधुरीमा बिजुलीको पहुँच पुगेको छ । बाँकी रहेका शून्य दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुर्याउने कार्य भइरहेको छ । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार २८ सय ८४ घरधुरीमा मात्र विद्युत् सेवा नपुगेको देखिएको इन्जिनियर श्रेष्ठले बताउनुभयो ।ऊर्जाको लक्ष्य हासिल गर्नका लागि प्रदेश सरकारले पछिल्ला पाँच वर्षमा ९० लघुजलविद्यत् आयोजनाको मर्मतसम्भार गरेको छ । जीर्ण आयोजना मर्मत गरिएपछि तीन हजार दुई सय ९५ किलोवाट बिजुली उत्पादन नियमित भएको मन्त्रालयले जनाएको छ ।ती आयोजनाबाट १५ हजार चार सय ४० घरधुरी लाभान्वित भएका छन् । प्रदेशमा झण्डै चार सय लघुजलविद्युत् आयोजना छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत तीन सय ७१ र बाँकी अरु संस्थाले आयोजना निर्माण गरेका हुन् । सौर्य ऊर्जा र लघुजलविद्युत्बाट प्रदेशको तीन दशमलव ८२ प्रतिशत घरधुरीमा बिजुली पुगेको मन्त्रालयले जनाएको छ ।प्रदेश सरकारले आफ्नै लगानीमा मनाङको नासो गाउँपालिकामा ३० किलोवाटको भिमताङ लघुजलविद्युत् आयोजना निर्माण गरिरहेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । अन्ठानब्बे किलोवाटको स्याङ्जाको पुतपुते खोला लघुजलविद्युत् आयोजनाको बिजुली पनि गत वर्ष राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा बिजुली पुर्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । ऊर्जा शाखाका अनुसार प्रदेशका पाँच लाख ७४ हजार सात सय ९८ घरधुरी बिजुलीको पहुँचमा छन् । जसमध्ये राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत्, नवीकरणीय ऊर्जा आदिको छ ।

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

गण्डकी, ७ असोज – पोखरा विश्वविद्यालय र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्क (एनआरइएन)बीच राष्ट्रिय र विश्वव्यापी अनुसन्धान र शिक्षा समुदायहरूसँग उच्च गतिको अनुसन्धान र शिक्षा ‘नेटवर्क’ स्थापना गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा पोखरा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र एनआरइएनका अध्यक्ष ई लोचनलाल अमात्यले हस्ताक्षर गर्नुभएको छ । समझदारीसँगै एनआरइएनले एसिया प्यासिफिक एडभान्स नेटवर्क, युएस एडभान्स अनुसन्धान र शिक्षा नेटवर्क, ट्रान्स–युरेसिया सूचना नेटवर्क, युरोपमा उन्नत नेटवर्क टेक्नोलोजीको डेलिभरी, एसियाली इन्टरनेट इन्टरकनेक्सन पहल, वाइड प्रोजेक्ट जापानमार्फत विश्वविद्यालयलाई उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्क जडान प्रदान गर्नेछ ।

यसबाट विश्वविद्यालयलाई विश्वव्यापीरूपमा विद्यार्थी, अनुसन्धानकर्ता र शैक्षिक संस्थाबीच कम्प्युटेसनल नेटवर्क स्थापित गर्न बाटो खुलेको छ । यसको पहुँचबाट विद्यार्थी तथा अनुसन्धानकर्तालाई उन्नत अनुसन्धान र शिक्षाको विकासलाई गति दिन आवश्यक पर्ने तथ्याङ्क हासिल गर्न सहज हुने विश्वास लिइएको छ ।

साथै एनआरइएनमा आबद्धतापछि विश्वविद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई उनीहरूको आफ्नैबाहेक राष्ट्रिय–अन्तर्राष्ट्रिय भ्रमण गर्दा इडुरोम वाइफाई इन्टरनेट पहुँच रोमिङ सेवा प्राप्त हुनेछ । विश्वविद्यालयमा अनुसन्धान तथा शिक्षा नेटवर्क सञ्चालनका लागि निकट भविष्यमा एक सूचना तथा सञ्चार प्रविधि (आइसिटी) केन्द्र स्थापना गर्ने पोखरा विश्वविद्यालयको लक्ष्य रहेको उपकुलपति प्रा डा अर्यालले बताउनुुभयो ।

कार्यक्रममा एनआरइएनका अध्यक्ष अमात्य, पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्रा डा अमर नागिला, विज्ञान तथा प्रविधि सङ्कायका निमित्त डीन प्रा डा माधवप्रसाद कोइराला, पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक सह प्रा डा नमराज धामी, एनआरइएनका कार्यकारी निर्देशक डा राजन पराजुलीलगायतले समझदारीसँगै उच्च गतिको अनुसन्धान र शिक्षा नेटवर्कमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने बताउनुुभयो ।

बीआरआई कार्यान्वयनमा प्रस्ताव गर्दै चीन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभाको बैठक सकेर चीन पुगेका छन् ।आठदिने चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चिनियाँ प्रधानमन्त्री ली छ्याङलगायत अन्य उच्च अधिकारीसँग भेट्ने कार्यक्रम रहेकोमा पहिलो दिन नै राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गरेका छन् ।

शनिबार साँझ नै प्रधानमन्त्री दाहाल एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका छन् । साथै चिनियाँ अरबपति ज्याक माको स्वामित्वमा रहेको अलिबाबा समूहको मुख्यालय भ्रमण गरेका छन् । माले असारको अन्त्यमा नेपाल भ्रमण गरे पनि प्रधानमन्त्री दाहाललाई भेटेका थिएनन् ।‘नेपाल र चीन असल मित्र, नजिकका छिमेकी र भरपर्दो साझेदारका रूपमा उत्कृष्ट द्विपक्षीय सम्बन्ध रहेको छ,’ परराष्ट्र मन्त्रालयले भ्रमणबारे जानकारी दिँदै भन्यो, ‘यस बलियो सम्बन्धको आधार संस्कृति, इतिहास र भूगोलमा धेरै समानता छन् । यो भ्रमणले हाम्रो सदियौं पुरानो द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउनुका साथै पारस्परिक हितका विभिन्न क्षेत्रमा सहयोगका क्षेत्रलाई विस्तार गर्नेछ ।’बेइजिङमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार बेइजिङले नेपालसँग मिलेर काम गर्न इच्छुक रहेको र यस भ्रमणलाई रणनीतिक आपसी विश्वासलाई प्रगाढ बनाउने, व्यावहारिक सहयोग विस्तार गर्ने, उच्च गुणस्तरको ‘बेल्ट एन्ड रोड’ संयुक्तरूपमा निर्माणको अवसर रहेको बताएका थिए ।साथै नेपाल–चीन रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने बताएका थिए । चीनले जारी गरेको विज्ञप्तिअनुसार चीनले बीआरआई सम्झौता अघि बढाउन पुनः एकपटक प्रस्ताव गर्ने संकेत देखिएको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

गैरआवासीय नेपालीलाई नागरिकता दिने बाटो खुला

काठमाडौं । नेपाली नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० नेपाल राजपत्रमा प्रकाशित भएसँगै देशभरका जिल्ला प्रशासन कार्यालयबाट आमाको नाउँबाट र गैरआवासीय नेपालीहरूलाई नागरिकता दिने बाटो खुलेको छ ।

मन्त्रिपरिषद्बाट पारित नागरिकता नियमावली गत बिहीबार साँझ राजपत्रमा प्रकाशित भएसँगै नागरिकतासम्बन्धी कानून पूर्ण रूपमा कार्यान्वयन गर्ने बाटो खुलेको हो ।


यसअघि बुबाको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बुबाको पहिचान नभएका व्यक्तिले अबदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका छन् । संशोधित नियमावलीमा बुबाको पहिचान नभएका व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेस गर्नु पर्ने र विदेशी मुलुकको नागरिकता नलिएको भनेर स्वघोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तो नागरिकता पाउने व्यक्तिको आमाको पनि मृत्यु भइसकेको वा होस ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन् । स्वघोषणाको ढाँचा नियमावलीमा अनसूचीमा उल्लेख गरिएको छ ।

नियमावलीमा गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ : सांसद डाँगी

काठमाडौँ, ७ असोज-“सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारे राससको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको स्वीकार्नुभयो ।

सांसदसँग राससको अन्तक्र्रियामा उहाँले आफ्नो संसदीय अभ्यासको अनुभव यसरी व्यक्त गर्नुभयो, “म आफँैलाई आफ्नो अपेक्षामा खरो उत्रिन सकेको छैन कि जस्तो लाग्छ । एक वर्षमा के–के नै गर्न सकिन्छ भन्ने लागेको थियो । मेरो व्यक्तिगत प्रयासका बाबजुद समग्र सदनको अभ्यास ‘प्यासिभ’ भएकै हो । सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन ।”विधायिकाको भूमिकामा प्रभावकारी काम गर्ने हुटहुटीका बाबजुद संसदीय अभ्यासमा सक्रिय हुन नसकेको उहाँको बुझाइ छ । “सदनदेखि संसदीय समितिमा राम्रो ‘पर्फमेन्स’ दिन्छु, अध्ययनशील बन्छु, राम्रो गर्छु, नेतृत्व गर्छु भन्ने हिसाबले लागिपरेको छु । तर न समिति सक्रिय भइदिन्छ, न सदनमा जनताको आवाज बोल्ने पर्याप्त समय पाइन्छ”, उहाँले भन्नुभयो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापनासँगै राजनीतिक यात्रा सुरुआत गर्नुभएकी २६ वर्षीय डाँगी प्रतिनिधिसभासदस्य मध्ये कम उमेरकी सदस्य हुनुुहुन्छ । उहाँ पार्टीको खस आर्य समूहमा समानुपातिक तर्फ निर्वाचित हुनुभएको थियो । उहाँ रास्वपाको संसदीय दलको सचेतक पनि हुनुहुन्छ । सत्र वर्षको उमेरदेखि नै प्रत्यक्षरूपमा सामाजिककार्यमा संलग्न उहाँ अपाङ्ग सङ्घसंस्था, महिला पुनःस्थापना केन्द्र, सरसफाइ कार्यक्रम अभियान र वृद्ध तथा बालबालिकाको हकहित जगाउने गतिविधिमा संलग्न हुनुहुन्थ्यो ।कम उमेरमा संसदीय अभ्यासको पहिलो अनुभव बटुल्दै गर्नुभएकी उहाँले आफ्नो भूमिका ओजपूर्ण बनाउन प्रयत्नशील रहेको कुराकानीका क्रममा बताउनुभयो । “मेरो राजनीतिक पृष्ठभूमि छैन । तर मभित्र समाजमा कुनै पनि हिसाबले योगदान पुर्याउनुपर्छ भन्ने सोच पहिल्यैदेखि थियो । अब विधायिकाको जिम्मेवारी प्राप्त गरेसँगै मलाई अल्मलिने न समय छ न छुट ।”प्रतिनिधिसभा, पूर्वाधार विकास समितिको सदस्यसमेत रहनुभएकी डाँगीले समितिको बैठक नियमितरूपमा बस्न नसक्दा विधेयकमाथिको छलफलले तीव्रता पाउन नसकेको गुनासो गर्नुभयो । “धेरै बजेट खर्च हुने र धेरै मन्त्रालय सम्बन्धित हुने समिति पूर्वाधार विकास समिति हो । तर समितिको सभापति चयन हुनुभएको एक महिना बित्दा पनि कुनै विधेयकमाथि दफावार छलफल सुरुआत हुनसकेको छैन”, उहाँले भन्नुभयो, “यस समितिअन्तर्गतका सम्बन्धित सातवटा विधेयकमध्ये कुनैमा पनि छलफल सुरु भएको छैन । मैले समिति सचिवालयमा लिखितरूपमा ‘एजेण्डा’ पेस गर्दा पनि चासो व्यक्त भएन ।” यस्तै उहाँले समितिमार्फत नै विधेयकलाई राम्रोसँग छलफल गरेर लग्नुपर्नेमा जोेड दिनुभयो ।सदनमा युवा सांसदको प्रतिनिधित्व कम नै छ । ऊर्जाशील युवा सांसदको प्रतिनिधित्व गरिरहनुभएकी उहाँले भन्नुभयो, “मलाई लाग्दथ्यो, राजनीतिक नेतृत्वले सबै कुरा गर्न सक्छन्, इच्छाशक्तिको अभाव हो । तर एक–दुई जनाले मात्र चाहेर हुने कुरा होइन रहेछ । बहुमतले चाहेको खण्डमा मात्र सबै सम्भव हुने रहेछ ।”उहाँका अनुसार सदनलाई सरकारले ‘बिजनेस’ नदिने र सांसदहरूले सकारात्मक दबाब सिर्जना गर्न नसक्दा पनि सदन क्रियाशील नदेखिएको हो । “हामी कति पुराना कानुनमा चलिरहेका छौँ तर सरकारले ‘बिजनेस’ दिँदैन । स्वयं हामीले घच्घच्याउन सकेनाँै । त्यसमा सिङ्गो सदनसँगै म पनि सांसदको रूपमा चुकेको हुँ कि जस्तो लाग्छ ”, उहाँले भन्नुभयो ।संसदीय अभ्यासको अनुभव सुनाउने क्रममा उहाँले सदनमा हुने जनताका मुद्दा बाहिरका तथ्यहीन आरोप–प्रत्यारोपले सफल संसदीय अभ्यासबारे नै प्रश्न उठ्नु चिन्ताजनक भएको बताउनुभयो । लामो समय राजनीति र संसदीय अभ्यासको अनुभव प्राप्त जनप्रतिनिधिले समेत संसदीय मर्यादाविपरीत बोलेको देख्दा सांसद डाँगीलाई आश्चर्य लाग्ने गरेको छ ।“कति कुरा देखाउनका लागि मात्र हँुदोरहेछ । उहाँहरू सदन बाहिर मिलेजस्तो गर्नुहुन्छ तर जनतालाई देखाउन आरोप–प्रत्यारोप गर्ने गरेको देख्छु”, उहाँले भन्नुभयो, “नियमावलीमा के बोल्न हुन्छ÷हुँदैन भन्ने स्पष्ट लेखिएको छ । अझ अनौठो लाग्ने कुरा नियमावली लेख्दा छलफलमा बस्नुभएका सांसदहरू नै सदनमा संसदीय मर्यादाविपरीत बोल्नुहुन्छ ।”उहाँले पार्टीले ‘ह्वीप’ जारी गर्दा सांसदको स्वतन्त्र भूमिका खुम्चिने कुरामा सहमत हुँदै भन्नुभयो, “हाम्रो पार्टीमा हुँदैन म भन्दिनँ तर अन्य राजनीतिक पार्टीको तुलनामा हामी धेरै हदसँग स्वतन्त्र छौँ । पार्टीभन्दा पहिले सांसद जनप्रतिनिधि हो, जनताप्रति बढी उत्तरदायी हुनुपर्छ भन्ने सोचलाई कार्यान्वयन गर्न सकेमात्र पनि संसद्को भूमिका अझ बढी प्रभावकारी हुने थियो ।”उहाँले जनतामा मत माग्दा दिएको आश्वासनलाई पूरा गर्न सके जनप्रतिनिधि आफ्नो भूमिकामा धेरै हदसम्म सफल हुने बताउनुभयो, “तर एउटा नमीठो सत्य के हो भने आफ्नो मुख्य भूमिका, कानुन निर्माणभन्दा विकास निर्माणको आश्वासन बाँडेर मत माग्ने र त्यही पूरा गर्नमा अल्झियौँ । सांसदको भूमिकाबारे सांसद आफँै सचेत हुनुपर्छ भन्ने जनतालाई पनि यसबारे जानकारी हुनुपर्छ”, उहाँले भन्नुभयो ।उहाँले जनताको मुद्दा सदनमा प्रस्तुत गर्न एथेष्ट समय नपाएको बताउनुभयो । “पछिल्लो समय दोस्रो अधिवेशनमा बोल्न पर्याप्त समय दिइँदैन । जनताका धेरै मुद्दा हुन्छन्, सदन दुई घण्टा सञ्चालन हुँदा हाम्रो पार्टीले आठ मिनेट पाउँछ, त्यो आठ मिनेटमा कति कुरा राख्ने ?” 

जसपाले आजदेखि विधान अभिमुखीकरण गर्दै

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि मुलुक बाहिर रहेका नेपालीका लागि विधानमाथि अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।

जसपा, नेपालका विभिन्न १८ वटा मुलुकमा गठन भएका नेपाली समाजका प्रतिनिधि जुम एपमार्फत अभिमुखीकरण कार्यक्रममा सहभागी हुने सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, पार्टीका राजनीतिक समिति सदस्यद्वय आङकाजी शेर्पा र खगेन्द्र माखिमले विधानबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।कार्यक्रमको आयोजक पार्टी सम्बद्ध प्रवास विशेष प्रदेश समिति रहेको छ । जसपाको अमेरिका, बेलायत, इजरायल, थाइल्याण्ड, पोर्चुगल, युएई, कतार, कुवेत, हङ्कङ, बहराइनलगायतका मुलुकमा प्रवास सङ्गठन रहेको बस्नेतले बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेको छ । गत भदौ पहिलो साता कामपाले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार हालसम्म चार सय आवेदन परेको कामपा प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार कामपाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको थियो, सोहीअनुसार महानगरले आवेदन माग गरेको हो ।

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रमुख राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कामपा केन्द्रमा एक महिनामा चार सय आवेदन परेको छ । कामपाका ३२ वटै वडामा पनि केही आवेदन आएको जानकारी प्राप्त भएको छ । कामपाले अहिले श्रम बैंक सञ्चालनका लागि कार्यविधि तयार गर्ने काम गरिरहेको छ । सङ्कलन भएका आवेदनबाट प्राथमिकीकरण, वर्गीकरणको काम पनि भइरहेको छ ।”

प्रमुख राईका अनुसार बेरोजगारका लागि एउटा आधार तयार गरिदिएको भन्दै, श्रम बैंकमा आबद्ध भएका श्रमिकलाई कामपाले मात्रै नभएर आवश्यकताअनुसार जोसुकैले पनि प्रयोग गर्न सक्नेछन् ।

कामपाले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम लिस्ट हुन्छ । जहाँ श्रमिकको ज्याला दर, कामको प्रकार फोन नम्बर र श्रमिक कहाँ बस्नेसमेत उल्लेख गरिएको हुन्छ । यस कार्यक्रमको मुख्य उद्देश्य भनेको सहजरूपमा श्रमिक उपलब्ध गराई सीप, क्षमता भएका श्रमिकलाई काममा लगाई उचित पारिश्रमिकको व्यवस्था गरी रोजगार दिलाउनु हो ।

कामपाले चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत भर्नुपर्ने छ । आवेदन फारममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएको छ । फारम आफू बसेको वडा अथवा कामपाको रोजगार सेवा केन्द्रमा बुझाउन पर्नेछ ।

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने बताइएको छ । यस कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था रहेको छ ।

प्रधानमन्त्री दाहाल चीनमा, उच्चस्तरीय भेटवार्ता र विभिन्न कार्यक्रममा व्यस्त

बेइजिङ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाल शनिबार चीनको हाङ्चाउ सहर आइपुग्नुभएको हो । शनिबार स्थानीय समयअनुसार बिहान साढे १० बजे उहाँ सो सहरको हाङ्चाओ विमानस्थलमा अवतरण गर्नुभएको थियो । उहाँलाई सो विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभएको थियो । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि हुनुहुन्थ्यो ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट नै चीन आउनुुभएको हो । यही सेप्टेम्बर २२ मा नेपालका तर्फबाट सो महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल चीनको औपचारिक भ्रमणका लागि यहाँ आउनुभएको हो । प्रधानमन्त्री दाहालको भ्रमणदलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अन्य सदस्यहरू पनि हुनुहुन्छ ।त्यसैगरी आजै प्रधानमन्त्री दाहाल सोही सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा पनि सहभागी हुनुभएको थियो । त्यहाँ उहाँलाई चिनियाँ खेलकुद अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।त्यसैगरी आजै हाङ्चाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चीनफिङले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी हुनुभएको थियो । त्यस अवसरमा नेपालको भ्रमण दलका अन्य सदस्यहरू पनि सहभागी हुनुभएको थियो ।आजै प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरूबीचको सो वार्तामा द्घिपक्षीय हित र चासोका साथै नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।त्यस्तै प्रधानमन्त्री दाहाल भोलि आइतबार चीनको राजधानी सहर बेइजिङ आउनुहुने कार्यक्रम छ । उहाँ आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ ।बेइजिङमा भोलि हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।त्यस्तै सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ । त्यस्तै सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ ।उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिनुहुने कार्यक्रम रहेको छ ।त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कनुहुने कार्यक्रम छ ।

ध्यान विज्ञानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजना गरिएको एक दिवसीय स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्याशालाको समापन गर्नुहुँदै उहाँले ध्यान र योगाभ्यासले मानिसमा तनाब कम गराउन मद्दत गर्ने बताउनुभयो ।

कार्याशाला सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनेप्रति आभार प्रकट गर्दै उहाँले भन्नुभयो, “ध्यान सजगता हो, होसको स्थिति हो, विधि र प्रक्रियाअनुसार ध्यानको स्थानमा पुग्न सकियो भने यसले जीवन चिन्न र सार्थक तुल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ ।”

उहाँले गृह मन्त्रालयले अब मातहतका निकायमा योगाभ्यास तथा ध्यान अनिवार्य गराउने पनि बताउनुभयो । उहाँले कार्यालय सुरु भएपछि बिहान १५ मिनेट योग, ध्यान गराउने पनि बताउनुभयो । यसअघि आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्याशालाको उद्घाटन गर्नुभएको थियो । बिहान ७ः३० देखि सुरु भएको कार्यशाला साँझमात्रै सकिएको थियो ।

नेपाल सरकार गृह मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले योग र ध्यानलाई तन, मन र वचनका साथ गर्न सक्यौँ भने हामीले गर्ने प्रत्येक कार्यहरूमा खुसी प्राप्त हुने बताउनुभएको थियो ।

कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सहसचिव, उपत्यकास्थित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको सहभागिता रहेको थियो ।

क्यानको नयाँ कार्यसमितिलाई कार्यवाहक प्रधानमन्त्री खड्काको बधाई

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज सम्पन्न नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बधाई एवं शुभकामना दिनुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काले सामाजिक सञ्जालमार्फत अध्यक्षमा निर्वाचित चतुरबहादुर चन्द, सचिवमा निर्वाचित पारस खड्कासहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो ।

उहाँ शुक्रबारदेखि सुरु भएको क्यानको केन्द्रीय साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पदमबहादुर खड्का निर्विरोध हुनुभएको छ । महिला सदस्यमा जयन्ती भट्ट तथा सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णाली प्रदेशबाट श्रीधर केसी पनि सर्वसम्मत हुनुभएको छ । अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना र खुला पाँच सदस्यका लागि निर्वाचन भएको थियो ।

तेश्रो बिवाहका लागि उखुबारीमा छोरीलाई बाँधेर आमा फरार भएपछि…

महेन्द्रनगर । आफ्नै कोखबाट जमाएको सन्तान सबैलाई प्यारो हुन्छ रु तर आफैले जन्माएको एक सन्तानलाइ आफैले राती एक अन्जान ठाउँ त्यो पनि सुनसान उखुबारीमा एक हातमा दुप्पटाले हात बाधेर उखुको बोटमा बाधेर आउँदा त्यो आमाको मन कस्तो भयो होला रु



आफैले जन्म दिएकी आमा कति निर्दयी बन्न सकिन होला रु ९ महिने दुधे शिशु छोरीलाई उखुबारीमा बाँधेर परपुरुषसँग भागेकी एक महिला कञ्चनपुरको बेलडाडी गाउँ पालिकाबाट पक्राउ परेकी छिन ।

शुक्रबार बिहानै ९ महिने शिशुलाई बेलौरी नगरपालिका ७ बैरैया हातिबोझाको उखुबारीमा हात बाँधेर परपुरुषसंग भाग्न लागेकी महिला पक्राउ परेकी हुन । पुनर्वास नगरपालिका २ अमरैया माईती घरमै बस्दै आएकी सर्मिला चौधरी पक्राउ परेकी छन् । चौधरीले आफैले जन्माएकी छोरीलाई उखुबारीमा एक हात बाधेर छोडेको आरोपमा पक्राउ परेकी हुन् ।

शर्मिलाले यस अघि बेलौरी नगरपालिकाका अजय चौधरीसँग भागी बिबाह गरेकी थिइन । केही समय बिबाहित जीवन राम्रो चले पनि पछि अजयलाई छोडेर उनले बैलौरीकै सुन्दर चौधरीसंग भागी विवाह गरेकी थिईन । सर्मिलाबाट जन्मिएको शिशु कसको बच्चा हो, भन्ने पहिचान नभएपछि श्रीमान सुन्दर्वचौधरीसंग विवाद भएपछि बेलडाँडी ३ वैवाहका प्रेम डगौरासंग भाग्न लागेकी सर्मिला शनिबार पक्राउ परेकी हुन ।

शिशुका कारण श्रीमानसंग रातदिन झै झगडा किचलो हुन थालेपछि समाजिक सञ्जाल फेसबुक मार्फत वैवाहका प्रेम डगौरासंग भागेर विवाह गर्न लागेकी महिलालाई प्रहरीले सनिवार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बच्चालाई उखुबारीमा छाडेर फरार हुने सर्मिला चौधरीलाई पक्राउ गरेर आवश्यक अनुसन्धान अघि बढाईएको बताए । ‘नौ महिने शिशुलाई उखुबारीमा अलपत्र छाडेर भाग्ने आमा सर्मिलालाई प्रहरीले पक्राउ गरिसकेको छ, ‘प्रहरी प्रवक्ता डाँगीले भने, ‘ईप्रका बेलौरीमा सर्मिलामाथि आवश्यक अनुसन्धान भइरहेको छ ।’ यो समाचार राजधानी दैनिकमा छ ।

एमालेलाई धेरै समस्या छैन : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा (मोरङ)- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमालेका अगाडि धेरै समस्या नरहेको बताएका छन् । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी सङ्घ (पिपीएलए)को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै उहाँले कोशीमा एमालेले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरूक्क उठ्नुपथ्र्यो, त्यसरी उठेन, बरू एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागी भएको पाइयो ।” तत्कालीन प्रदेश नं १ को कोशी नामकरण ठीक भएको तथा यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।

कोशी नामकरणविरूद्ध जबर्जस्ती आन्दोलन उठाइएको बताउँदै उहाँले स्थानीयस्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीको सहयोगमा काठमाडौँदेखिका मानिस ल्याउन थालिएको दाबी गर्नुभयो । उहाँले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको आरोपसमेत लगाउनुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरे पनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा प्रस्ट नआएकामा आश्चर्य व्यक्त गर्नुभयो । सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी हुन आएका कानुन व्यवसायी सहभागी थिए ।

१९औँ एसियाली खेलकुदको भव्य उद्घाटन, प्रधानमन्त्री दाहाल सहभागी

हाङ्जाउ (चीन)-१९औँ एसियाली खेलकुद २०२२ को चीनको हाङ्जाउमा भव्य उद्घाटन भएको छ । हाङ्जाउ ओलिम्पिक रङ्गशालामा आज एक भव्य समारोहबीच चीनका राष्ट्पति सि चीनफिङले प्रतियोगिताको उद्घाटन गर्नुभयो । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो । साथै परराष्ट्र मन्त्री एनपी साउद, यूवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङलगायत उद्घाटन समारोहमा सहभागी हुनुभयो ।

उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो । उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी वीरबहादुर महराले बोक्नुभएको थियो । दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेदकुद प्रतियागितामा स्वर्ण पदक जित्नुभएको थियो । यस प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी हुँदैछन् । जसमा महिला १२७ र पुरुष १२६ रहेका छन् ।उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो ।प्रतियोगिता विभिन्न ४५ देशका १२ हजार चारसयभन्दा बढी खेलाडी ४० खेलमा सहभागी हुँदैछन् । नेपालले सन् २०१८ मा इन्डोनेसियाको जकार्तामा सम्पन्न १८औँ एसियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङमा रजत पदक प्राप्त गरेको थियो । प्रतियोगिताको उद्घाटन आज भए पनि फूटबल, क्रिकेट, भलिबल र टेबुलटेनिसका खेलहरु यसअघि नै सुरु भइसकेका छन् ।सन् २०२२ मा हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारणले यसवर्ष आयोजना हुन लागेको हो । प्रतियोगितामा यसवर्षको नारा ‘हर्ट टु हर्ट’ अर्थात् ‘मुटुदेखि मुटुसम्म’ रहेको छ । चीनले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि सन् १०९० र २०१० मा पनि चीनले प्रतियोगिता आयोजन गरेको थियो । एसियाली खेलकुदको सुरुवात सन् १९९१ मा भारतको नयाँ दिल्लीबाट भएको थियो ।नेपालबाट यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औँ एसियाली खेलकुदमा दुई सय तीन खेलाडी सहभागी भएका थिए भने सन् २०१८ को इन्डोनिसियाको जकार्तामा सम्पन्न प्रतियोगितामा एक सय ८५ खेलाडी सहभागी थिए ।नेपालले हालसम्म एसियाली खेलकुद प्रतियोगिताबाट तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङ खेलबाट दुई रजत र २२ कास्य पदक प्राप्त गरेको छ । 

संस्कृति र प्रकृतिमैत्री पर्यटन हुनुपर्छ : पर्यटनमन्त्री किराती

कास्की, ६ असोज : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अबको पर्यटन संस्कृति र पर्यटनमैत्री हुनुपर्ने बताउनुभएको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको ‘हेम देवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार–२०८०’ अर्पण समारोहलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले नेपाली पर्यटनलाई नेपालको मौलिकतामा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको पर्यटनको विकासको ‘मोडालिटी’ संस्कृति र प्रकृतिमैत्री हुनुपर्दछ, अर्काको देशको नक्कल गरेर हामीले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैनौँ, नेपाली मौलिकताको पर्यटन संस्कृति र प्रकृतिको समायोजननै हो ।”

पर्यटनमन्त्री किरातीले केही वर्षमा नै नेपाल संसारकै पर्यटनको केन्द्र बन्ने उल्लेख गर्नुभयो । विश्वका लाखौँ पर्यटक एकान्तमा ध्यानका लागि नेपालजस्तो सुन्दर भूमिमा आउने उल्लेख गर्दै उहाँले प्रत्येक चोक, मन्दिर, वेशभूषा तथा भाषाभाषी पर्यटनका गन्तव्य बन्ने जिकिर गर्नुभयो ।

गण्डकी प्रदेशका दुई प्रख्यात धार्मिकस्थल मुक्तिनाथ र विन्ध्यवासिनीलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा उहाँले जोड दिनुभयो । “पाहुनाको सुन्दर मनलाई विन्ध्यवासिनीको दर्शनले थप सुन्दर बनाउने छन्, तपाईको जति सफा हृदय छ त्यति नै यहाँ आएर थप शुद्धता भएर जानुपर्दछ भनेर पर्यटकलाई आकर्षित गर्नु आवश्यक छ”, मन्त्री किरातीले भन्नुभयो ।

कार्यक्रममा मन्त्री किरातीले मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य महाराज (मुक्तिनाथ बाबा)लाई ‘हेम देवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार–२०८०’बाट पुरस्कृत गर्नुभयो । पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले आफ्ना बुबा÷आमाको नाममा रु १५ लाखको अक्षयकोष खडा गरी सो पुरस्कार स्थापना गर्नुभएको हो । समितिका अध्यक्ष गणेबहादुर श्रेष्ठले नेपालको पवित्र तीर्थस्थल मुक्तिनाथ, विन्ध्यवासिनी, बागलुङको पञ्चकोटलगायतका धार्मिकस्थल तथा शक्तिपीठको विकास एवं सनातन धर्म संस्कृतिमा पु¥याएको योगदानस्वरुप स्वामी कमलनयनाचार्यलाइृ सो पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

नेपालको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्ने गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो । यसअघि यस पुरस्कारबाट सत्यमोहन जोशी, आत्मानन्द गिरी, तुलसी दिवस र दुर्गा घिमिरे पुरस्कृत भइसक्नुभएको छ ।

मन्त्री आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

पाटन (ललितपुर), ६ असोज : महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार गरिएको छ ।

उद्धार गरिएका किशोरीलाई मन्त्री निवास पुल्चोकमा आज स्वागत गर्दै मन्त्री आचार्यले भन्नुभयो, “सुर्खेतबाट किशोरी बेचबिखनमा परेको खबर आयो, त्यसपछि भारतमा रहेको नेपाली राजदूतावास र मानव बेचबिखनमा परेकालाई उद्धार गर्ने संस्थासँग समन्वय भयो र दिल्ली महिला आयोग, दूतावासको समन्वयमा मेरै पहलमा हामीले दिल्लीबाट सफलतापूर्वक उद्धार गर्यौं, यसका लागि शक्ति समूहको महत्वपूर्ण भूमिका छ ।”

बेचिएका किशोरीको उद्धार कार्यको जानकारी गराउँदै शक्ति समूहकी अभियानकर्मी चरिमाया तामाङले बेचबिखनमा परेकालाई स्वदेश फिर्तिको नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या भएको बताउनुभयो ।

“स्वदेश फिर्तिको स्पष्ट नीतिनियम र कार्यविधि नहुँदा उद्धारमा समस्या परेको छ, भूकम्पका कारण धेरै बालबालिका बेचबिखनमा परेँ, त्यसपछि उद्धारमा धेरै काम गर्यौं, परिवारले सूचना ल्याएपछि कर्मचारी परिचान गर्दा हामीले १७ नेपाली एकै पटक उद्धार गर्यांै, उद्धार गरिएका फेरि २०१८ मा हराए, फेरि दुई वर्षपछि उद्धार गरेर ल्यायौँ, दलालले दिने डर, त्रास, धम्की र प्रलोभनमा पारेर परिवारका सदस्यलाई प्रभावित पार्नेलगायतका विभिन्न समस्याले गर्दा हाम्रा काम प्रभावकारी हुन सकिरहेका छैनन्, यसका लागि मन्त्रालय र मन्त्रीज्यूले आवश्यक पहलकदमी लिइदिनहुन्छ भन्ने आशा छ”, तामाङले भन्नुभयो ।

सामाजिक अभियानकर्मी इन्द्रराज भट्टराईले उद्धारका लागि अझै प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले बेचबिखनमा पर्न नदिनका लागि सचेतना र सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा लाग्नुपर्छ : मुख्यमन्त्री पाण्डे

तनहुँ, ६ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास लाग्नुपर्ने बताउनुभएको छ ।

सहरी विकास मन्त्रालय काठमाडौँद्वारा आज आयोजित व्यास नगरपालिका–३ सिथ्त बिपी वनबाटिकामा निर्माण गरिएको दमौली सभाहल उद्घाटन कार्यक्रममा उहाँले सबै दल, सबै राजनीतिक शक्ति, सबै जनता एक ठाउँमा उभिएर अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संरक्षण गर्नु आजको आवश्यकता भएको औँल्याउनुभयो ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक मुलुक नेपाल भएको उल्लेख गर्दै उहाँले केही तत्वले सामाजिक सद्भावलाई खल्बल्याउने प्रयत्न गरिरहेको बताउनुभयो । सामाजिक सद्भाव खल्बलाएर उद्देश्य पूर्ति गर्न खोज्नु प्राप्त भएका उपलब्धिलाई समाप्त पार्ने खेल भएकाले यस्ता तत्वदेखि सदैव सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

“भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सिँचाइ क्षेत्रमा चित्त बुझ्दो किसिमले काम भइरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक समृद्धिको क्षेत्रमा अलि पछि रहेकाले अबको प्रत्येक क्रियाकलाप आर्थिक समृद्धितर्फ जोडिनुपर्छ ।” गण्डकी प्रदेश सरकारले हरेक विकासे अड्डालाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेको उहाँको भनाइ थियो ।

कृषकलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरेका छौँ, उहाँले भन्नुभयो, “स्वदेशमा बसेर केही गर्न चाहने युवालाई कृषि, उद्योगलगायतका क्षेत्रमा अनुदानसहित सहयोग गर्न गइरहेका छौँ ।” सङ्घ, स्थानीय र प्रदेश सरकारको संयुक्त प्रयासमा आर्थिक समृद्धि बढाउने किसिमका कार्यमा सक्रिय भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली क्रिकेटलाई भारत र पाकिस्तानको उचाइमा पु-याउने चुनौती छ : नवनिर्वाचित अध्यक्ष चन्द

काठमाडौँ, ६ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट टिमलाई भारत र पाकिस्तानको उचाइमा पु¥याउने चुनौती रहेको बताउनुभएको छ ।

क्यानको निर्वाचनबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष बन्नुभएका चन्दले आज सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले क्रिकेटको विकासका लागि सरकारले भौतिक संरचनामा ध्यान दिएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको हो ।

“आगामी तीन महिनाभित्र घरेलु संरचनालाई नयाँ किसीमले बदल्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष चन्दले पद पाएसँगै जिम्मेवारी पाएको उल्लेख गर्दै क्रिकेटलाई नयाँ ढङ्गले अगाडि बढाउने बताउनुभयो । अघिल्लो कार्यकालभन्दा यसपटक केही नयाँ किसिमबाट राम्रो काम गर्ने उहाँको भनाइ छ । यस्तै क्यानको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित हुनुभएको छ ।

सचिवमा पूर्वकप्तान खड्का निर्वाचित

नेपाल क्रिकेट सङ्घ (क्यान)को सचिव पदमा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का विजयी हुनुभएको छ ।क्यानको आज भएको केन्द्रीय निर्वाचनमा पूर्वकप्तान खड्का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ललाई पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँ क्यानको बागमती प्रदेशका अध्यक्षसमेत हुनुहुन्छ । कुल ८५ मतदाता रहेकामा खड्काले ४८ पत प्राप्त गर्नुभयो । उहाँको प्रतिद्वन्द्वीले ३७ मत प्राप्त गर्नुभयो ।

निर्वाचित सचिव पारसले क्रिकेट खेलका लागि जिल्ला र प्रदेशलाई बलियो बनाउँदै अगाडि बढाउने विचार व्यक्त गर्नुभयो । क्रिकेट खेलमा लागेर बाँच्न सकिने वातावरणको सिर्जना गर्न आफू प्रयासरत रहनेसमेत उहाँको भनाइ छ ।

त्यस्तै क्यानको अध्यक्षमा चन्द पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष खड्का निर्विरोध निर्वाचित हुनुभएको थियो ।महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित हुनुभयो । सदस्यमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी पनि सर्वसम्मत चयन हुनुभयो ।

अरु पाँच प्रदेशबाट प्रतिनिधित्व गर्ने एक–एक जना सदस्य र खुला पाँच सदस्यका लागि पनि चुनाव भएको थियो । त्यसमा कोशीबाट अर्जुन पौडेल ४७ मत प्राप्त गर्दै विजयी हुनुभयो । मधेस प्रदेशबाट माधवकुमार कर्मचार्य र मोहम्मद दाउद अन्सारीको भोट ४२ बराबर हुँदा गोलाप्रथाबाट माधवकुमार कर्माचार्य विजयी हुनुभयो ।

त्यस्तै गण्डकीबाट सुदीप शर्मा ५२ मतसहित विजयी हुनुभयो भने बागमतीमा दिवाकर घले ४६ मत ल्याएर विजयी हुनुभयो । सुदुरपश्चिमबाट विक्रम विष्ट ४९ भोट प्राप्त गर्दै विजयी हुनुभयो । खुला सदस्यमा धीरेन्द्र साउद ५९ र दुर्गाराज पाठक ५४ ल्याएर निर्वाचित हुनुभयो ।

त्यस्तै आयुष श्रेष्ठले ५१ मत प्राप्त गर्नुभयो भने वीरेन्द्र चन्द ३४ मत ल्याएर विजयी हुनुभयो । करण महतरा क्षेत्री र ऋषिराम गौतमले बराबर २६ मत प्राप्त गर्नुभयो र गोलाप्रथा गर्दा महतरा विजयी हुनुभयो ।पाँच प्रदेशबाट चयन हुने एक–एक सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको थियो । खुलातर्फका पाँच जनाका लागि १३ को उम्मेदवारी परेको थियो । क्यानको निर्वाचनमा कुल ८५ जनाले मतदान गर्नुभएको थियो ।

बर्दियामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

बर्दिया, ६ असोज : मधुवन नगरपालिका–३ खातामा आज ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

मधुवन–३ भगतपुरमा रहेको एकता सामुदायिक वनमा घर लिप्ने माटो खन्न गएका बेला स्थानीय ६० वर्षीया भदैया थारुको ढिस्कोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

साफ च्याम्पियनसिप : पाकिस्तान सेमिफाइनलमा

काठमाडौँ, ६ असोज : राजधानीमा जारी यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पाकिस्तान माल्दिभ्ससँग बराबरी खेल्दै सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्ससँग १–१ गोलको बराबरीमा खेल्दै सेमिफाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

आजको खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लिएको थियो । माल्दिभ्सका खेलाडी सानन रसिद रसादले खेलको ३९ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८४ औँ मिनेटमा पाकिस्तानका साह जहानले एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन र पाकिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो ।

समूह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् । पाकिस्तानले दुई खेलमा चार अङ्क जोडेको छ भने एक खेल खेलेको माल्दिभ्सको एक अङ्क छ । नेपाल अङ्कविहीन छ । नेपाल र माल्दिभ्सबीच यही असोज ८ गते प्रतिस्पर्धा हुनेछ । त्यसको विजेता टोली सेमिफाइलनमा पुग्नेछ ।

सबै हिसाबले नेपालको भूमि उर्वर छ : राष्ट्रिसभा अध्यक्ष तिमिल्सिना

नवलपरासी (बर्दघाट सुस्तापश्चिम), ६ असोज : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको भूमि सबैका लागि उर्वर रहेको बताउनुभएको छ । उहाँले नेपाल उर्वर भूमि भएकै कारण सबै जातजाति र धर्महरूको फुल्न पाउने अधिकार रहेको बताउनुभएको छ ।

पश्चिम नवलपरासीको परासीमा आयोजित राष्ट्रिय एकता सम्मेलन कार्यक्रमा उहाँले नेपालमा कुनै पनि जातजाति तथा धर्मलाई दबाएर नराखिएको बताउनुभयो । “आफ्नो मौलिक धर्म, संस्कृतिलाई बचाउन सबै लाग्नुपर्छ, नेपाल एक यस्तो फूलबारी हो जहाँ सबै प्रकारको फूल फुल्छन्, कुनै पनि धर्ममा हुने कुरीति तथा भेदभाव हामीलाई माथिबाटै हाम्रा भगवान्ले सिकाएर पठाएको होइन, धर्मका नाममा हुने कुरीति तथा भेदभावलाई सबै मिलेर अन्त्य गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

नेपालमा पनि कतै–कतै धर्मका नाममा द्वन्द्व हुने अवस्था देखियो तर त्यसो हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न जरुरी रहेको उहाँको भनाइ थियो । “नेपाल एक सुन्दर र एकताको बगैँचा हो, यसलाई कायम राखिरहन सबै लाग्न आवश्यक रहेको छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “सबै धर्मको आस्थाको आधारमा अगाडि बढ्नुपर्छ न कि एकले अर्कालाई हेला गर्ने, दबाउने वा अशिक्षा, गरिबीको नाममा कसैको आस्थालाई परिवर्तन गराउने काम गर्नु भएन, सबैको सम्मान, इज्जत र कदर गर्नुपर्छ ।”

धार्मिक एकता तथा राष्ट्रिय एकता कायम राख्नका लागि सबै धर्मका गुरुहरूलाई कार्यक्रममा बोलाइएको थियो । यस्तै एकता तथा शान्तिको सन्देश दिनका लागि परेवा उडाइएको थियो । अध्यक्ष तिमिलसिनाले सुस्ताको झोलुङ्गे पुलको समेत आवलोकन गर्नुभएको थियो । उहाँले नेपाल–भारतबीचको भूमि विवाद हुने ठाउँ सुस्तामा पुग्नका लागि नारायणी नदीमा बन्दै गरेको झोलुङ्गे पुलको अवलोकन गर्नुभएको हो ।

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म

काठमाडौँ, ६ असोज : किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो ।

“लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्”, डा गौतमले भन्नुभयो, “त्यही भएर लक्षित किशोरीलाई खोप लगाउनका लागि समय थप गरिएको हो ।” तीज, संविधान दिवस र शैक्षिक हडतालले खोप लगाउने कार्य प्रभावित भएको उहाँको भनाइ थियो ।

डा गौतमका अनुसार अहिलेसम्म ६४.४३ किशोरीले मात्र एचपिभी खोप लगाएका छन् । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकामा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका उहाँले जानकारी दिनुभयो ।

कोशी प्रदेशका सबै किशोरीले खोप लगाइसकेका छन भने मधेस प्रदेशको वीरञ्गजस्थित नारायणी अस्पतालमा एक हजार दुई सय ७२, बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा आठ सय २५, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ सय ५९, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँकेमा चार सय ८९, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत सात सय ८५ र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमामा एक सय ९३ जना किशोरीले एचपिभी खोप लगाइसकेका खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सबभन्दा कम प्रसूति अस्पतालमा २७ प्रतिशत किशोरीले मात्र खोप लगाएका छन् ।

यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले दिइने र छ महिनापछि दोस्रो मात्रा दिइनेछ ।

एचपिभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा गौतमले बताउनुभयो । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनी

काठमाडौँ, ६ असोज: अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो देखाउनुभएको छ । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैब सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

पहिलो पटक नेपाल भ्रमण आउनुभएका उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौँमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रबद्र्धनका लागि सक्रिय हुने बताउनुभयो । “मेरो खुसीको सीमा छैन”, भोजनीले भन्नुभयो, “अमेरिकामा रहनुहुने नेपालीहरुको सहयोगले नै आज म यो स्थानमा आइपुगेको छु, त्यसैले मलाई नेपाल र नेपालीप्रति असाध्यै धेरै माया र सद्भाव जहिल्यै रहिरहन्छ ।”

पाकिस्तानी मुलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुनुहुन्छ । उहाँ नेपाली समुदायबीच निकै लोकप्रिय हुनुहुन्छ । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण गर्दै भोजनीले नेपाल र नेपालीको हितका लागि सदैब सक्रिय भइरहने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “टेक्सासमा नेपाली समुदायको बाहुल्यता छ, निर्वाचनका बेला मैले नेपालीमा कुराकानी गरेर भोटमागे मलाई जिताउनुस् म तपाईंहरुको सेवामा समर्पित हुनेछु ।”

नेपालको प्रकृति र संस्कृति विश्वकै अनुपम भएको भन्दै उहाँले पर्यटनको माध्यमबाट नेपालले आर्थिक समृद्धि हासिल गर्नसक्ने बताउनुभयो । “पर्यटन नेपालको अर्थतन्त्र उकास्ने महत्वपूर्ण माध्यम हो । विश्वको सर्वोच्च शिखर सगरमाथा, पशुपतिनाथ, लुम्बिनीजस्ता ऐतिहासिक सम्पदा नेपालको सान र गौरव हुन् यसैबाट नेपालले समृद्धितर्फको यात्रा तय गर्न सक्छ”, सांसद भोजनीले भन्नुभयो ।

सन् २००३ मा टेक्सासको एक ग्यास स्टेशनमा काम गर्ने भोजनीको जीवन संघर्ष र सफलता निकै प्रेरणादायी छ । काम गर्दै अध्ययनलाई पनि अघि बढाउनुभएका उहाँ आज अमेरिकाको प्रतिष्ठित पदमा पुग्ने भाग्यमानी पुग्नुभएको छ । उहाँले आगामी दिनमा नेपालको पर्यटन प्रवद्र्धन, दिगो शान्ति विकास र नेपाललाई सहयोग गर्न परिवारसहित नेपाल आइरहने वाचा पनि गर्नुभयो ।

भोजनी टेक्सास राज्यमा नेपाली समुदायबीच घुलमिल हुनुहुन्छ । नेपालीलाई आइपरेका समस्या समाधानमा सधै लागि पर्नुहुन्छ । वरिष्ठ अधिवक्तासमेत रहनुभएका भोजनीले नेपाल डे पारित गरेर नेपालप्रति अगाथ प्रेम दर्शाउनुभएको छ । टेक्सासमा दशैँ, तिहार र तीज पर्वमा बिदाको मान्यता दिलाउन पनि उहाँले अहम् भूमिका खेल्नुभएको थियो । अमेरिकामा रहने नेपालीहरुका नागरिकतालगायत समस्या समाधानका लागि आफूले प्रयास गरिरहेको उहाँले सुनाउनुभयो ।

सो अवसरमा भोजनीले स–साना कामदेखि अधिवक्ता हुँदै सफल व्यवसायिक आइकन र टेक्सास राज्यको प्रतिनिधि बन्नेसम्मको आफ्नो संघर्षका कथाहरू सुनाउनुभयो । उहाँले नेपाली कला, संस्कृति, चार्डपर्वलाई जर्गेना गर्न महत्वपूर्ण भूमिका, केहि नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरु समाधान, नेपाली समुदायका ज्येष्ठ नागरिकलाई भाषामा पर्न जाने समस्या समाधानका लागि भाषा अनुवादकहरुको व्यवस्था लगाएतका काम गर्नुभएको छ ।

पर्यटन गीत
सो अवसरमा मिशन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटनसम्बन्धी बाल गीतको एनिमेटेड भिडियो ‘नेपाल हेर्न जाऔँ’ सार्वजनिक गरिएको थियो । उक्त गीतमा नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको आकर्षक प्रस्तुत गरिएको छ । गीतले युवा पुस्तालाई पर्यटन विकासमा सक्रिय हुन बाल शिक्षा र सन्देश दिएको छ । उक्त भिडियोमा डा भोला रिजालले शब्द रचना, बीपी वाग्लको संगीत र भद्र ओली, सरगमश्री भट्टराई र विदित अधिकारीले स्वर रहेको छ ।

पर्यटन गीत लोकार्पण एवं अन्तरक्रियामा सहभागी नेपाली सांगीतीक क्षेत्रका चर्चित सष्टाहरुले अमेरिकी सांसदले नेपालप्रति देखाएको मोहलाई नेपालीले लाभ लिनसक्नुपर्ने बताउनुभयो । गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ । भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु भएको संगीतका बिपी वाग्लेले बताउनुभयो ।

साहित्यका एवं चिकित्सक डा भोला रिजालले नेपाली समुदायमा घुलमिल भएका मिलनसार सांसद भोजनीले नेपालको प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ गीतले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

बरिष्ठ संगीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली संगीतलाई टेक्सास मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवर्द्धन गर्न मिलेर काम गर्न भोजनीलाई आग्रह गर्नुभयो ।

लेखापढी पेशालाई मर्यादित बनाउनुस् : मन्त्री चौधरी

चितवन, ६ असोज : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले पेशालाई मर्यादित बनाएर काम गर्न लेखापढी, कानुन व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल खेलापढी कानुन व्यवसायी एशोसिएसनको सातौँ राष्ट्रिय परिषद् बैठकको आज यहाँ उद्घाटन गर्दै उहाँले मालपोत तथा नापी कार्यालयमा फर्जी र नक्कली काम हुन नदिन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

“तपाईहरुले मालपोत, नापी र सेवाग्राहीको पुलका रुपमा काम गर्नुभएको छ । यसलाई अझै व्यवस्थित र मर्यादित बनाएर अघि बढ्नुस्”, उहाँले भन्नुभयो । सेवाग्राही र कर्मचारीसँगको नियमित छलफल र अन्तक्र्रियाबाट व्यवसायका साथै सरकारी कामलाई व्यवस्थित गर्न सकिने मन्त्री चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “तपाईहरुलाई सेवाग्राहीबाट दुःख दिने र लाभ लिने गरेको आरोप लाग्ने गरेको छ । यसबाट मुक्त हुनुपर्छ ।” मालपोत र नापी कार्यालको सेवा अनलाइनबाट दिन सुरु गरिएको बताउँदै मन्त्री चौधरीले यसलाई अझै व्यवस्थित गर्न लेखापढी कानुन व्यवसायीको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले लेखापढी कानुन व्यवसायीले सेवाग्राहीलाई सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । मालपोत र नापीको कामलाई थप व्यवस्थित गर्न मन्त्रालय लागिपरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल बार एशोसिएसनका महासचिव अजिता खनाल, बार पूर्वमहासचिव लीलामणि पौडेल, एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोख्रेल, न्यायिक समितिका संयोजक कृष्णप्रसाद ढुङ्गानालगायतले लेखापढ व्यवसायमा देखिएका कानुनी समस्या तथा समाधानका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारेमा धारणा राख्नुभएको थियो ।

एशोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा सुरु भएको बैठक आइतबारसम्म सञ्चालन हुनेछ । बैठकमा देशभरबाट एक हजार तीन सयको सहभागिता रहेको छ । बैठकले विधान संशोधनलगायतका विषयमा छलफल गर्नेछ । बैठकले चितवन घोषणापत्र जारी गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणमा पोखरा विमानस्थलका बारेमा उच्चस्तरीय छलफल : पर्यटमन्त्री किराती

कास्की, ६ असोज : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताउनुभएको छ ।

पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताउनुभयो ।

मन्त्री किरातीले चीन र भूटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको जानकारी दिनुभयो । “पोखरामा दुई वटा चार्टर विमान उडाएका छौँ, यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको चीन भ्रमणमा यसका बारेमा गम्भीरतापूर्वक छलफल हुन्छ । चीनका विभिन्न सहरबाट काठमाडौँ आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको छ ।”

मन्त्री किरातीले पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो । उहाँले आफ्नो सात महिनाको कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएको उल्लेख गर्नुभयो ।

वायुसेवा निगमका क्षेत्रमा जहाज खरिद गर्ने, पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था र नागरिक उड्डयनका क्षेत्रमा नेपालको आकासलाई कालोसूचीबाट हटाउने अन्तिम कोशिस लगायतका मध्यमस्तरको परिणाम दिने काम भएको मन्त्री किरातीले बताउनुभयो ।

मन्त्रालयले नयाँ पर्यटन ऐनका लागि मस्यौदा समिति बनाएको र जनताबाट सुझाव माग गरिएको उहाँले जानकारी दिनुभयो । संस्कृति ऐन निर्माणका लागि समिति गठन गरिएको र सो समितिको दिशानिर्देशअनुसार पहिलो पटक कानुन निर्माण गरिने मन्त्री किरातीको भनाइ थियो ।

मन्त्री किरातीले दुर्गम क्षेत्रमा सेवा दिने गरी स्टल रुटको साना आकारका तीनबाट जहाज गरिद गर्न लागिएको जानकारी दिनुभयो । “अहिले पनि २२ विमानस्थल खाली छन् । तीनको व्यावसायिक सञ्चालनका लागि साना जहाज चाहिन्छ । तीन वटा जहाज किनेपछि हामीसँग छ जहाज हुन्छन्”, उहाँले भन्नुभयो, “यसबाट खाली रहेका विमानस्थल सञ्चालन गर्न सकिन्छ । विमानस्थल सञ्चालन भएका नागरिकले सेवा पाउँछन् ।” सरकारले अन्तर्राष्ट्रियस्तरमा उडान भर्ने गरी ‘न्यारो बडी’ जहाज खरिदको योजना गरिरहेको पनि मन्त्री किरातीले जानकारी दिनुभयो ।

विदेशबाट काठ ल्याउन रोक्नपर्छ : मुख्यमन्त्री जम्कट्टेल

नारायणगढ (चितवन), ६ असोज : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विदेशबाट काठ ल्याउन रोक्नुपर्ने बताउनुभएको छ । नवजागृति सामुदायिक वन उपभोक्ता समूह भरतपुर चितवनकोे रजत महोत्सव समापन समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले यहाँ भएका काठ सुकेर जाने गरेको र अर्बौंका काठ विदेशबाट ल्याइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ हामी काठ काट्न नदिने अनि विदेशबाट काठ ल्याउने ! नेपालीलाई चाहिने काठ नेपालमै छ । विदेशबाट काठ ल्याउन हामीले रोक्नुपर्छ ।” उहाँले बागमती प्रदेश सरकारले ऐनमा संशोधन गरेर उपभोक्तालाई आवश्यक काठ दिने नीति बनाउन लागेको बताउनुभयो । उहाँले थप्नुभयो, “हामी जथाभावी काठ काट्न दिदैँनौँ तर काठ दिन रोक्न पाइँदैन ।”

उहाँले वन जङ्गल जोगाउनु सबैको कर्तव्य भएको भन्दै वनबाट फाइदा पनि लिनपर्ने बताउनुभयो । हाम्रोजस्तो विविधताले भरिएको मुलुक अन्त कतै नभएको भन्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले वनबाट झरेको पातबाट प्राङ्गारिक मल बनाउन लागेको जानकारी दिनुभयो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा राखेर प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राङ्गारिक मल कारखाना स्थापना गर्नेतर्फ सरकार लागेको उहाँको भनाइ थियो । सङ्घीय लोकतात्रिक गणतन्त्र नेपाललाई समृद्घ नेपाल बनाउने जिम्मेवारीका साथ सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने भन्दै उहाँले नयाँ तरिकाले कृषि कर्म गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “किसानका नाममा धेरै प्रतिशत अनुदान दुरुपयोग भएको छ । अब व्यक्तिलाई अनुदान नदिई समुदायमा आधारित कृषि उत्पादनको मोडेलमा बागमती प्रदेश सरकार जान लागेको छ ।”

फरक प्रसङ्गमा मन्त्री जम्कट्टेलले नर्सिङ पढ्नका लागि बागमती प्रदेश सरकारले क्षमता भएका कलेजमा पढ्नका लागि खुला गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब नर्स पढ्न बागमती प्रदेशमा बन्देज हुँदैन ।” उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपाली नर्स तथा चिकित्सकको माग बढिरहेको अवस्थामा यहाँ पढ्नै नपाउन गरी रोक्न नहुने बताउनुभयो । कतिमा पढाउने भन्ने कुराको पनि सूचना आइसकेको उहाँले जानकारी गराउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश सरकारले विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेको बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा आम सेवाग्राहीको स–साना गुनासासमेत सम्बोधन गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै कामको थालनी गरेका छौँ, कतिपय कामको सकारात्मक प्रतिफल पनि आइसकेको छ ।”

कार्यक्रममा वन क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तिको सहभागिता रहेको थियो । ‘हाम्रो लगानी हरेक बोट, जनजनमा सामुदायिक वन संरक्षणको २५ औँ वर्षको रजत महोत्सव’ भन्ने मूल नाराका साथ नवजागृति सामुदायिक वन उपभोक्ता समूहले विभिन्न कार्यक्रम गरी रजत महोत्सव समापन गरेको हो ।

प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग

बेनी (म्याग्दी), ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रमणमा निस्किनुभएपछि कोरला नाका सञ्चालन हुने विषय पुनः चर्चामा आएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मूर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका सञ्चालनमा आउने विश्वास बढेको हो ।

नेपालसँग कोरलालगायतका विभिन्न थप आठ नाका खोल्ने सहमति भएपछि चिनियाँ पक्षले कोरला नाकामा आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा गरेको छ । चीनले आफ्नो भूमिलाई तारबार गरेर सुरक्षा गरेको छ । सीमानाकाको दशगजा क्षेत्रमा सुरक्षाको प्रबन्धसँगै भवन पनि बनाइसकेको छ । नाकासम्म नै सडक कालोपत्रे गरिसकेको चिनियाँ पक्षले बन्दरगाह, सुरक्षा पोस्ट, भन्सारलगायतको सम्पूर्ण तयारी गरिसकेको छ ।

कोरला नाका सञ्चालनको लागि चीनले सबै तयारी पूरा गरेको र नेपाल पक्षबाट समेत तयारी सँगसँगै सुरक्षा संवेदनशीलताको ‘ग्यारेन्टी’ चाहेको मुस्ताङका प्रदेशसभा सदस्य नाम्डु गुरुङले बताउनुभयो । चीनले नाका सञ्चालनको सबै तयारी पूरा गरेकाले गण्डकी प्रदेशको आर्थिक विकासको ‘लाइफ लाइन’ मानिएको कोरला नाका सञ्चालनको लागि प्रधानमन्त्री दाहालको भ्रमणको क्रममा सम्झौता हुनसक्ने आशा पलाएको उहाँले बताउनुभयो ।

“यो नाका पारवहन र पर्यटन दुवै दृष्टिकोणमा महत्त्वपूर्ण छ । नाका सञ्चालनमा ल्याउन सकेमा अन्तरदेशीय व्यापार र धार्मिक पर्यटनको ओहोर–दोहोर सुरु हुन्छ । समग्रमा मुस्ताङ र गण्डकी प्रदेशको विकासमा यो नाकाले भूमिका खेल्छ । हामीले प्रदेश सरकार र प्रदेशसभामा यो विषयमा निरन्तर आवाज उठाउँदै आएका छौँ । सङ्घीय सरकारलाई समेत यो विषय जानकारीमै छ”, गुरुङले भन्नुभयो ।

उजाड हिमाली मरुभूमिको समथर फाँटमा रहेको कोरला नाकामा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर मात्रै सीमा क्षेत्रमा नेपालतर्फको देखिने चिनारी रहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मार्चमा भएको औपचारिक भ्रमणका बेला चीनसँग व्यापार र पारवहन सम्झौता भएको थियो । सन् २०१८ जुनमा भएको भ्रमणका समयमा दुई देशबीच थप नाका खुलाउने समझदारी भएको थियो ।

यसै नाकालाई लक्षित गरेर निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक आयोजनाको म्याग्दी खण्डको काममा ढिलासुस्ती भएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्त्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने गरी निर्माणाधीन कालीगण्डकी कोरिडोर सडक कोरला नाकाको आधारभूत पूर्वाधार हो । घाँसादेखि जोमसोम हुँदै कोरलासम्मको सडक कालोपत्रे र ग्राभेलसहित स्तरोन्नतिको काम अन्तिम चरणमा पुगे पनि बेनीदेखि घाँसा खण्डमा निर्माण व्यवसायीको ढिलासुस्ती र बाढी, पहिरो तथा नदी कटानको कारण कालोपत्रेको काम प्रभावित भएको छ ।

दुई देशबीचको बहुप्रतिष्ठित कोरला नाका चर्चामा रहँदा परम्परागत रुपमा कोरला नाकामा अर्धवार्षिकरुपमा लाग्दै आएको व्यापार मेलासमेत चार वर्र्षदेखि बन्द भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताउनुभयो । यो वर्र्ष नाका सञ्चालनको सम्पूर्ण पूर्वाधार निर्माणको काम सकेको चिनियाँ पक्षले व्यापार मेला नगरेर नाका नै खुलाउने इच्छा देखाएको र प्रधानमन्त्रीको भ्रमणका क्रममा समेत यो विषय समावेश हुने खबरले नाका सञ्चालनमा थप प्रगति हुनेमा मुस्ताङवासी विश्वस्त रहेको उहाँको भनाइ छ ।

कोरला नाका परिसरमा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणको लागि करिब एक हजार रोपनी जग्गा अधिग्रहणको काम सम्पन्न भएको छ भने हालै माटो परीक्षणसमेत गरिएको छ । वाणिज्य मन्त्रालयबाट सर्वे र डिपिआरको लागि बजेट विनियोजन भएपछि माटो परीक्षण गरिएको हो ।

माटो परीक्षणको लागि आएको टोलीले गत असार १५ गतेदेखि कोरला नाकामा पूर्वाधार बनाउने सम्भावित ठाउँको माटो परीक्षण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

कोरला नाकालाई लक्षित गरेर लोमान्थाङमा सीमा प्रहरीचौकी र छोसेरको नेचुङमा इलाका प्रहरी कार्यालय रहेको छ । सीमा सुरक्षालाई मध्यनजर गर्दै कोरला नाकादेखि करिब २० किलोमिटरयता नेचुङमा सशस्त्र प्रहरी बलको विओपी पोस्ट स्थापना भइसकेको छ ।

राष्ट्रपति पौडेलद्वारा विपी कोइरालाको सालिक अनावरण

दमौली, ६ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिका निर्माण गरिएको विपी कोइरालाको सालिक अनावरण गर्नुभएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले विपी कोइरालाको सालिक अनावरण गर्नुभएको हो । नेपाली कांग्रेस व्यास नगर समितिले दमौली सभागृहको आडैमा निर्माण गरेको विपी कोइरालाको पार्कको उद्घाटनसँगै कोइरालाको अर्धकदको सालिकको पौडेलले अनावरण गर्नुभएको हो ।

विसं २०३६ मा दमौली आउँदा विपी कोइरालाले पहिलोपटक सम्बोधन गरेको ठाउँमा कांग्रेसले विपी पार्क निर्माण गरेको हो । उक्त पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु १० लाख सहयोग गरेको थियो ।

शिक्षकसँगको सहमति कार्यान्वयन सांसदको हातमा : शिक्षामन्त्री राई

काठमाडौँ, ६ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल शिक्षक महासङ्घसँग भएको छबुँदे सहमति कार्यान्वयन सार्वभौम संसद्का सदस्यको हातमा रहेको बताउनुभएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को २० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री राईले संसद्मा दर्ता भइसकेको विद्यालय शिक्षासम्बन्धी विधेयकमा सम्बोधन हुनुपर्ने विषय संसद्ले गर्ने स्पष्ट गर्नुभयो ।उहाँले सोका लागि सरकारले सहजीकरण गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता बद्री पाण्डेले संसद्मा पुगेको विधेयकबारे सम्बन्धित समितिले गम्भीर छलफल गरेर सहमतिका आधारमा निष्कर्ष निकाल्ने बताउनुभयो ।नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले सरकार शैक्षिक सरोकारका विषयमा संवेदनशील नभएकाले शिक्षकले आन्दोलन गर्न बाध्य हुनुपरेको टिप्पणी गर्नुभयो । नेकपा (माआवादी केन्द्र) का नेता दिनानाथ शर्माले लामो समयको प्रतीक्षापछि शिक्षा विधेयक तयार हुनु सकारात्मक भएको र यसलाई राजनीतिक दल र सांसदले गहन छलफल गरेर भविष्यका कर्णधारको गुणस्तरीय शिक्षाको अधिकार स्थापित गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष गौरी प्रधान, भूपराज खड्का, दीर्घनारायण श्रेष्ठ, राजकुमार गन्धर्व, डिल्लीराम भट्टराईलगायतलाई सम्मान गरिएको थियो । नेपाल सरकारसँग शुक्रबार छबुँदे सहमतिपछि महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको थियो ।–

सभामुख घिमिरेद्वारा आयरल्याण्डका राष्ट्रपति हिगिन्ससँग शिष्टाचार भेट

काठमाडौँ, ६ असोज ः आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले शुक्रबार साँझ आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्ससँग शिष्टाचार भेट गर्नुभएको छ ।राजधानी डब्लिनस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बारेमा छलफल भएको सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिनुभयो । भेटमा सभामुख घिमिरेले कूटनीतिक सम्बन्ध विस्तार भएको २४ वर्षमा दुई मुलुकबीच उच्चस्तरीय सम्बन्ध एवं सम्पर्क गहन हुँदै गएको बताउनुभयो ।

“सन् २०१९ सेप्टेम्बरमा आयरल्याण्डको प्रतिनिधिसभाका सभामुखले गर्नुभएको नेपाल भ्रमणले दुई संसद्बीचको सम्बन्धलाई घनिष्ट बनाएको छ”, उहाँले भन्नुभयो ।

सभामुख घिमिरेले नेपाल र आयरल्याण्ड भौगोलिक रुपले टाढा भएता पनि कला, साहित्य, सङ्गीत तथा संस्कृतिका माध्यमले नजिक रहेको उल्लेख गर्नुभयो । “हाम्रा दुई मुलुकबीच विश्व शान्ति, मित्रता एवं सद्भाव जस्ता समान मूल्य मान्यताहरु हुन् । लोकतन्त्र, मानवअधिकार, विधिको शासन र स्वतन्त्रता हाम्रा साझा प्रतिबद्धतारहेका छन्”, सभामुखको भनाइ थियो ।

सभामुख घिमिरेले सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको जानकारी दिँदै नेपालको आर्थिक विकासको लागि कृषि, पर्यटन, जलविद्युत्, भौतिक पूर्वाधार तथा सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्न राष्ट्रपतिमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभयो । उहाँले लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक कानुनी एवं नीतिगत सुधार भइरहेको जानकारी दिनुभयो ।

सभामुख घिमिरेले जलवायु परिवर्तनको चुनौती सामना गर्न विश्व मञ्चमा नेपाल र आयरल्याण्डबीच सहकार्यमा जोड दिनुभयो । उहाँले आयरल्याण्डमा शिक्षा हासिल गर्न नेपाली विद्यार्थी आकर्षित भएको बताउँदै आवश्यक सहजीकरणका लागि आग्रह गर्नुभयो । भेटमा आयरल्याण्डका राष्ट्रपति माइकल डी. हिगिन्सले नेपाल राजतन्त्रात्मक शासन अन्त्य गर्दै लोकतन्त्रको बाटोमा अघि बढेकाबारे आफू जानकार रहेको बताउँदै प्राकृतिक रुपमा दुवै मुलुक धनी रहेको उल्लेख गर्नुभयो । उहाँले सर्वोच्च शिखर सगरमाथा र हरित पर्यटनका लागि नेपाल जान आइरिस नागरिक लालयित रहेको बताउनुभयो ।

राष्ट्रपति हिगिन्सले नेपाल–आयरल्याण्डमैत्री समूहमार्फत नेपालको कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गर्न सकिने धारणा राख्नुभयो । तीन सदस्यीय प्रतिनिधमण्डलको नेतृत्व गर्दै आयरल्याण्ड भ्रमणमा रहनुभएका सभामुख घिमिरे आइतबार बिहान १०ः१५ बजे काठमाडौँ फर्कने कार्यक्रम छ । भ्रमण टोलीमा सभामुखसँगै प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्छ ।

आयरल्याण्डमा रहँदा सभामुख घिमिरले संसद्को माथिल्लो सदन सिनेटका अध्यक्ष र तल्लो सदन प्रतिनिधिसभाका सभामुखसँग भेट गर्नुभएको थियो । उहाँले सरकार मन्त्री र तथा उच्च अधिकारीसँग भेट गरी दुई पक्षीय सम्बन्ध विस्तारका विविध विषयमा छलफल गर्नुभएको छ ।

आइरिस राष्ट्रपतिका कविता सङ्ग्रहको सम्झना भेटमा सभामुख घिमिरेले आइरिस राष्ट्रपतिको कविता सङ्ग्रह स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईंले लेखको कविता सङ्ग्रह नेपाली भाषामा अनुवाद भएको छ । अत्यन्त राम्रो छ । नेपालीले रुचाएका छन् ।”

तत्कालीन बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) द्वारा अनुवादित तथा सम्पादित ‘सुप्रसिद्ध आइरिस कवि माइकल डि हिगिन्सका प्रतिनिधि कविता’ नामक कविता सङ्ग्रह नेपाली भाषामा प्रकाशित छ । राष्ट्रपति डि हिगिन्सले नै पाँच वर्षअघि डब्लिनमा भएको कार्यक्रममा कविता सङ्ग्रह लोकार्पण गर्नुभएको थियो ।सभामुख घिमिरेले राष्ट्रपति डि हिगिन्सको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै नेपाल भ्रमणका लागि आमन्त्रण गर्नुभएको छ ।