`

लोसपाले केन्द्रीय समितिलाई पूर्णता दियो

काठमाडौँ, ८ असोज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पदाधिकारीसहित केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो । उहाँका अनुसार लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहनुभएको छ । वरिष्ठ नेतामा नेतात्रय राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिलकुमार झाले जिम्मेवारी पाउनुभएको छ । पार्टीको वरिष्ठ सहअध्यक्षमा नेता सर्वेन्द्रनाथ शुक्लालाई जिम्मेवारी दिइएको छ ।

यस्तै नेताहरु जितेन्द्र सोनल, उमाकान्त झा, लक्षणलाल कर्ण, अकवाल अहमद शाह निर्जला राउत गरी ६ जना वरिष्ठ उपाध्यक्ष र १५ उपाध्यक्ष रहनुभएको छ । महासचिवमा १६, सहमहासचिव आठ, सचिव ११, कोषाध्यक्षमा दुई, प्रवक्ता र सहकोषाध्यक्ष एक–एकजना रहनुभएको छ । कोषाध्यक्षमा दुई जनालाई जिम्मेवारी दिइएको छ ।

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन : महामन्त्री थापा

पाटन, ८ असोज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको भारी हो भनेर नेपाली कांग्रेसले भन्ने तथ्य ठीक नभएको बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा उहाँले भन्नुभयो, “सङ्घीयता ठीक ढङ्गले चलिरहेको छैन भन्ने कुरा ठीक हो, यसमा हामीले सुधार गर्नुपर्ने कुरा धेरै छ, तर यो चाहिँ कसैले बोकाइदिएको भारी हो भन्ने कुरा चाहिँ तथ्यका हिसाबले मिल्दैन ।”

नेपालका मूल धारका तत्कालीन राजनीतिक दलहरुमध्ये अधिवेशनबाट निर्णय गरेर एकात्मक राज्य प्रणलीबाट प्रस्थान गरी सङ्घीय लोकतान्त्रिक जनप्रतिनिधिमूलक शासन व्यवस्था कायम गर्ने भनेर निर्णय गर्ने कांग्रेस पहिलो पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो ।

“संसद्बाट बनाउनुपर्ने ४० वटाभन्दा बढी महत्त्वपूर्ण कानुन नबनाएर आफैँले आन्दोलनबाट स्थापित प्रणालीलाई असफल हुने बाटोतिर लिएर गएर हामीले कसलाई दोष दिइरहेका छौँ ?”, महामन्त्री थापाले प्रश्न गर्नुभयो । उहाँले कांग्रेसले २०८४ को चुनावको चिन्ताभन्दा पनि वर्तमान संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सद्भाव ठीक बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

“यो संविधानभित्र चलिरहेको देशभित्र सामाजिक सद्भाव कायम गर्ने जिम्मेवारी कांग्रेसबाहेक अरूले लिन पनि सक्दैन र लिँदा पनि लिँदैन, त्यो जिम्मेवारीबाट अलग भएर हाम्रा छलफलहरु हुन सक्दैनन्”, महामन्त्री थापाले भन्नुभयो । उहाँले सङ्घीय सरकारका मन्त्रीहरुलाई सहभागी गराएर खुलेर छलफल गर्न, समस्याहरु समाधान गर्न, सुझावहरु दिन केन्द्रीय समितिको एउटा बैठक आयोजना गर्नुपर्ने धारणा राख्नुभयो ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ– चिनियाँ प्रधानमन्त्री

बेइजिङ, ८ असोज : चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताउनुभएको छ । हाल चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिनुभएको छोटो स्वागत मन्तव्यमा उहाँले सो धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताउनुभयो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पु¥याउनुभएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राख्नुभएको थियो । हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ ।

स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि मुक्त कमैया परिवार विस्थापित हुँदै

कञ्चनपुर, ८ असोज ः शुक्लाफाँटा नगरपालिका–१२ मरघटैयाका मुक्त कमैया परिवार स्याली नदीको बाढीले जग्गा कटान गर्न थालेपछि विस्थापनामा पर्न थालेका छन् । पाँच परिवार मुक्त कमैयाको जग्गा नदीको बाढीले बगाएर लगेपछि विस्थापनामा परेका छन् ।

कमैया मुक्तिको घोषणापश्चात् विसं २०५८ मा यस क्षेत्रमा २५ बढी परिवारलाई जग्गासहित पुनः स्थापना गरिएको थियो । पुनः स्थापना गरिएका पाँच परिवारको जग्गा नदीले बगाएर बगरमा परिणत गरेपछि ती परिवार बस्ती छाडेर बासस्थानको खोजीमा अन्यत्र गइसकेका छन् । बस्तीमा रहेका छ परिवार विस्थापनाको सँघारमा पुगेका छन् ।

नदीको बाढीले बगाउने डरले घरभित्रको सरसामान छिमेकीको घरमा राख्दै आएको फालुराम चौधरीले बताउनुभयो । “नदीले जग्गा कटान गरी घर नजिकै भएर बग्न थालेको छ”, उहाँले भन्नुभयो, “नदीकै कारण घरमा बस्न पाएका छैनौँ, दिनमा हेरचाहका लागि यहाँ पुग्छौँ, साँझ हुन थालेपछि छिमेकीको शरणमा पुग्नुपर्ने बाध्यता छ ।”

उहाँका अनुसार पुनः स्थापना गरिँदा नदी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भएर बग्ने गरेको थियो । चार वर्ष यतादेखि नदीले धार परिवर्तन गरी बस्ती भएर बग्न थालेपछि जग्गा कटान तीव्र बनाएको छ । बस्ती जोगाउन प्रदेश सरकारले तीन वर्षअघि निर्माण गरेको तारजालीको तटबन्ध नदीको बाढीले यस वर्ष बगाइ दिएपछि मुक्त कमैया परिवारले असुरक्षा महसुस गर्दै आएका छन् ।

बस्तीकी लक्ष्मी चौधरीले भन्नुभयो, “पुनः स्थापना गराउँदा पाइएको दश कट्ठामध्ये आधा जग्गा नदीले बगाइ सक्यो बचेको आधा जग्गा पनि बग्ने सँघारमा पुगेको छ, नगरपालिकादेखि प्रदेशसम्म नदी नियन्त्रण गरिदनका लागि अनुयविनय गर्दा पनि सुनुवाइ हुन सकेको छैन ।”

अन्यत्र सुरक्षित ठाउँमा पुनः स्थापना गराई दिनका लागि आग्रह गरिँदा पनि बेवास्ता हुन थालेको फुलराम चौधरीले बताउनुभयो । “नजिकको सरकार भनेकै नगरपालिका हो”, उहाँले भन्नुभयो, “चुनावका बेला मत माग्न आउँदा गरेको प्रतिबद्धता विजयी भएका नगर प्रमुख, उपप्रमुखले बिर्सिएका छन् ।” वडाध्यक्षले बेलाबखत अनुगमन गर्दै आएको उहाँले बताउनुभयो । “वडाको थोरै बजेटले नदीमा तटबन्ध निर्माण गर्न सकिँदैन, त्यसका लागि ठूलै बजेट चाहिन्छ”, रामसिंह रानाले भन्नुभयो, नगरपालिकाबाट बजेटको टुङ्गो लगाइनुपर्छ, नसकिने भए सङ्घ र प्रदेश सरकारसँग समन्वय गरी तटबन्ध बनाइ बस्तीलाई सुरक्षित बनाई दिनुप¥यो ।” वडाध्यक्ष नवलसिंह रानाले नदीले बर्सेनि जग्गा कटान गर्न थालेपछि मुक्त कमैया परिवार विस्थापनामा पर्न थाले पनि कुनै पनि निकायको ध्यान जान नसकेको बताउनुभयो ।

“वडाको बजेटले ठूलो तटबन्ध बनाउन सकिँदैन”, उहाँले भन्नुभयो, “थोरै बजेटले तटबन्ध निर्माण हुन सक्दैन, यसका लागि नगरपालिकाको कार्यपालिका बैठकमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ हुन सकेको छैन ।” प्रदेशमा पनि मुक्त कमैया बस्ती जोगाउनका लागि तटबन्धका लागि पहल गरिरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री चीन भ्रमण : द्विपक्षीय वार्ता सुरु

बेइजिङ, ८ असोज : चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो ।

यसअघि प्रधानमन्त्री दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । उहाँहरूबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ ।

सो भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको समेत सहभागिता रहेको छ । भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५ : १५ बजे हुने छ ।

महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। जापानले भने पहिलो खेलमा बंगलादेशलाई ८–० गोलअन्तरले पराजित गरेको थियो ।

समूह डी मा रहेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ। उक्त समूहमा जापान शीर्ष स्थानमा रहेको छ । यस्तै भियतनाम दोस्रो स्थानमा तथा बंगलादेश अंक तालिकाको पुछारमा रहेको छ। नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बंगलादेशसित खेल्ने छ ।

लिम्बूको घुँडाको शल्यक्रिया सफल

यसैबीच भियतनामविरुद्धको पहिलो खेलमा घाइते भएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बूको घुँडाको शल्यक्रिया सफल भएको छ । उनको आइतबार चीनको हानझाउस्थित लोङवान अस्पतालमा घुँडाको शल्यक्रिया गरिएको हो ।

भियतनामविरुद्धको पहिलो खेल खेल्ने क्रममा लिम्बू खेलको ३५औँ मिनेटमा घाइते भएकी थिइन् । उनको घुँडाको मांसपेसी च्यातिएको थियो । लिम्बूले १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका बाँकी खेल गुमाउने भएकी छिन् ।

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर,८ असोज ः सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप आज बिहान कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

जीप सडकबाट साढे तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । –––

प्रधानमन्त्री दाहाललाई ‘गार्ड अफ अनर’

बेइजिङ, ८ असोज : छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । त्यसअघि प्रधानमन्त्री दाहाललाई उहाँका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गर्नुभएको थियो । केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदैछ ।

सांसद भएपछि मन्त्री नै हुुनुपर्छ भन्ने मान्यताले कानुन निर्माण ओझेलमाः प्रकाश अधिकारी

काठमाडौँ, ८ असोज ः संसद्् सार्वभौम जनताको प्रतिनिधित्व गर्ने मुख्य थलो हो । जनभावना र राष्ट्रिय आवश्यकता अनुरुप ऐन, कानुन निर्माण गर्ने र जनताको माग पूरा गर्ने दायित्व पनि सांसदको हो । यो मुख्य जिम्मेवारीलाई नै ओझेलमा पारेर जनप्रतिनिधिको माथिल्लो निकाय संसद्् र सांसद अन्य गतिविधिमा केन्द्रित हुनु हुँदैन । यदि यस्तो प्रवृत्ति देखिएमा यसलाई पक्कै पनि सामान्यरुपमा लिन सकिन्न ।

यसै सन्दर्भमा सांसदसँग राससको संवादमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले सांसद भइसकेपछि मूल दायित्व भनेको कानुन निर्माण नै भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “संसदीय प्रणालीमा सांसद भएपछि मन्त्री हुनैपर्ने अस्वस्थ्य प्रतिस्पर्धाको बुझाइ र कानुन निर्माणको मुख्य जिम्मेवारीभन्दा अरु कार्यलाई प्राथमिकता दिने प्रवृत्तिले सांसद आलोचित हुने गरेको छ ।” तत्कालीन नेपाल विद्यार्थी फेडेरेसनबाट विसं २०३० बाट राजनीतिक यात्रामा प्रवेश गर्नुभएका उहाँ विसं २०३२ मा नेपाल कम्युनिष्ट पार्टीमा आबद्ध भई निरन्तर मुलुकको प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा सक्रिय हुँदै आउनुभएको छ ।

विसं २०४२ को सत्याग्रह र बाम आन्दोलनमा सहभागी हुँदा करिब डेढ वर्ष जेल जीवन बिताउनुभएका अधिकारी विसं २०४६ को जनआन्दोलनको क्रममा तीन महिना जेल जीवन बिताउनुभयो भने दर्जनाँै पटक हिरासतमा बस्नुभएको थियो । हाल उहाँ जसपाका तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने नेता अधिकारीलाई विभिन्न समय र घटनाक्रमले मुलुकको परिपक्क र सुझबुझपूर्ण नेताका रुपमा स्थापित गरेको छ ।

सांसद अधिकारीले भन्नुभयो, “सांसद भएर संसद््मा आइसकेपछि मूल दायित्व कानुन नियम बनाउने नै हो । तर, नेपालमा पूर्णरुपमा यो संस्कृति विकास हुन सकिरहेको छैन । धेरैजसो सांसदको ध्यान जनताको काम गर्नेभन्दा पनि मन्त्री बन्नेतिर केन्द्रित हुने गरेको देखिन्छ, यसले जनसरोकारका सवालसमेत ओझेलमा पर्ने गरेको छ ।”

जनताको अपेक्षा पनि व्यक्तिगत, पारिवारिक र सामाजिक समस्यामा एवं विभिन्न सङ्घसंस्थाको काममा सांसद पुग्नुपर्ने बाध्यता छ । यसले गर्दा संसदीय अभ्यास र प्रक्रियामा बढी समय दिन नसकिरहेको यथार्थ भएको उहाँ बताउनुहुन्छ ।

अहिले अभ्यासमा रहेको निर्वाचन प्रणाली र शासकीय प्रणाली रुपान्तरणको आवश्यकता औैँल्याउँदै उहाँले भन्नुभयो, “संसदीय अभ्यास र शासकीय स्वरुप बदल्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।” सांसद अधिकारीले संसदीय अभ्यासमा रहने जनप्रतिनिधिले मुख्य जिम्मेवारी र कर्तव्यलगायतका आधारभूत कुरालाई ध्यान नदिने हो भने संसद् संसद्जस्तो र सांसद सांसदजस्ता हुँदैनन् भन्नुभयो ।

संसद् बैठक छोडेर जिल्लामा मतदाताले बोलाउने विभिन्न कार्यक्रममा जानुपर्ने बाध्यताले रहेको जनाउँदै सांसद अधिकारीले त्यस्ता कार्यक्रममा सहभागी नहुने हो भने भोलिको निर्वाचनको परिणाम नै प्रभावित हुने बताउनुभयो ।

अहिले वास्तवमा संसद्को परिकल्पनाअनुरुप सांसद प्रभावकारी हुन नसकेकाले यसमा सुधारको आवश्यकता रहेको जनाउँदै उहाँले मुख्य जिम्मेवारीलाई बेवास्ता गरिँदा संविधान जारी भएपछि तत्काल बनाउनुपर्ने अझै पनि धेरै ऐन कानुन थाँती रहेको उल्लेख गर्नुभयो । संसद्लाई बलियो बनाएर कानुन निर्माणमा बढी केन्द्रित हुनुपर्ने अपरिहार्य भएको सांसद अधिकारीको भनाइ छ ।

उहाँले संसद्मा प्रतिपक्षमा रहेको दलको पनि प्रभावकारी अभ्यास हुन नसकेको, आपसी खिचातानी र राजनीतिक स्वार्थमा केन्द्रित हुँदा संसद्ले विजनेश पाउन नसकेको प्रतिक्रिया दिनुभयो । संसद्मा सरकार र प्रतिपक्षको भूमिका पनि चुस्त र दुरुस्त हुन नसकेको उल्लेख गर्दै उहाँले संसद्मा विचाराधीन र आवश्यकताअनुरुप ऐन कानुन निर्माण गरेर अहिले देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

संसद्मा प्रतिपक्षले स–साना र औचित्य पुष्टि नहुने कतिपय विषयमा समेत संसद् अवरोध गर्ने परिपाटीको विकासले गलत संसदीय अभ्यास भइरहेको होकी भन्ने समीक्षा गर्न जरुरी भएको उहाँले बताउनुभयो ।

सांसद अधिकारीले भन्नुभयो,“कुनै राम्रा काम भएका छन् भने पनि त्यसको नकारात्मक प्रचार गर्ने र समाजलाई त्यसतर्फ लैजाने प्रवृत्ति बढेको छ, यसका कारण संसद्प्रति जनविश्वास गिर्दो छ । राजनीतिक दल यस्ता विषयमा बेलैमा सच्चिन जरुरी छ ।”

मुलुकको राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सञ्चार माध्यमले पनि समाजलाई सकारात्मक सन्देश पुग्ने सामग्री सम्प्रेषण गरी सामाजिक जागरण फैलाउन जरुरी रहेको उहाँको धारणा छ । “सदनमा सांसदले बोलेको विषय ‘रेकर्ड’बाट हटाउनुपर्ने अवस्था आउनु सुहाउँदो विषय हैन, रेकर्डबाट हटाउने व्यवस्थानै खारेज गर्नुपर्छ, सांसदले स्वतन्त्रपूर्वक अभिव्यक्ति दिन पाउनुपर्र्छ”, उहाँले भन्नुभयो ।

संसद्मा उठेका र प्रवेश पाएका विषयवस्तुलाई समयमै सम्बोधन गर्न सभामुख र सरकारको पनि प्रभावकारी भूमिकाको आवश्यकता औँल्याउँदै उहाँले सदनमा सांसदले पनि नियमावली र अरु विषयवस्तुको पूर्ण अध्ययन गरी अनुशासित र मर्यादित ढङ्गले प्रस्तुत भएमा मात्र जनप्रतिनिधिको इज्जत र प्रतिष्ठा कायम रहने धारणा व्यक्त गर्नुभयो ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि अख्तियारलगायत राज्यका सबै संयन्त्र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै सांसद अधिकारीले सुशासन कायम गराउने सवालमा त्यस्ता संरचना र निकायले पनि स्वतन्त्र र निष्पक्ष भएर कार्यसम्पादन गर्नुपर्ने तथा यसमा राजनीतिक हस्तक्षेप पनि हुन नहुने उल्लेख गर्नुभयो ।

पोखरामा बजार अनुगमन : म्याद गुर्जिएका सामान बिक्री गर्ने पसललाई जरिवाना

कास्की, ८ असोज ः पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ ।

जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा अनुगमन गर्दा म्याद गुर्जिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि पाएएपछि रु ५० हजार जरिवाना गरेको हो ।

सो स्टोर्समा म्याद गुज्रेको १३ लिटर साजन र आठ लिटर हेलो तेल गरी २१ पोका खानेतेलसहित लेवल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो नौ सय ग्राम सुपारी र केही कुहेको नरिवल फेला परेको थियो । ती सबै सामग्री अनुगमन समितिले नष्ट गरेको छ ।

स्टोर्समा बिक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको तीन बोतल फ्यान्टा, प्रतिकिलो रु ९७ मा खरिद गरेको चिनी रु एक सय २० मा बिक्री गरेको र पसलमा मूल्यसूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले स्टोर्सका सञ्चालक विवेककुमार गुप्तालाई तीनदिन भित्र कागजपत्र लिएर जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ । त्यसैगरी समितिले पोखरा–५ प्रस्र्याङमा रहेको केसी स्टोर्सलाई रु १५ हजार जरिवाना गरेको छ ।

स्टोर्सले नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि तीन दिनभित्र प्रशासनमा हाजिर हुन सञ्चालक तेजवहादुर केसीलाई निर्देशन दिएको छ । त्यसैगरी अनुगमन समितिले मालेपाटनमा रहेको आदर्श स्टोर्समा लेभल नलगाएको किरा परेको ओखर र कपुर फेला पारेको बताइन्छ ।

पोखराका दुई दर्जन खाद्य स्टोर्सको बारेमा प्रशासनमा गुनासो आएपछि समितिले अनुगमन थालेको बताइन्छ । मुख्य चाडपर्व सुरु भएसँगै स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ ।

प्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता

बेइजिङ, ८ असोज ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल आफ कंग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । उहाँहरूबीच यहाँको ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो । सो अवसरमा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि प्रकाश पार्नुभयो । उहाँले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै सुरु भएको उल्लेख गर्नुभयो ।

उहाँले यस भ्रमणका क्रममा आफ्नो प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भई नयाँ समझदारी निर्माण गरेको आफूले महसुस गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उँचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो उहाँले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई ज्ञापन गर्नुभयो ।

त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशिलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने स्पष्ट पार्नुभयो । चिनियाँ राष्ट्रपति सि चिनफिङले यस भ्रमणलाई महत्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उहाँले बताउनुभयो ।

अध्यक्ष चाओले नेसनल पिपल अफ कंग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३३ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२९ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६८ रुपैयाँ रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४१.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.७० रुपैयाँ, बेलायती पाउण्ड एकको खरिद दर एकको खरिद दर १६२.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.७९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.२५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३७ रुपैयाँ, साउदी रियाल एकको खरिद दर ३५.३० रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ।

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान

बेइजिङ, ८ असोज : “नेपालमा लगानीका सम्भावना अधिक छन् । हामी यहाँहरुको लगानीलाई पूर्णतः सुरक्षा प्रदान गर्दछौँ र यहाँहरुले गर्ने लगानीको उचित वातावरण निर्माणका लागि के गर्नुपर्छ, त्यो गर्छौं । हामीसँग प्राप्त लगानीको सम्भावनाबाट यहाँहरुलाई लाभ लिन म हार्दिक अपिल गर्दछु ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार चीनको राजधानी बेइजिङमा आयोजित नेपाल चीन लगानी सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ उद्योगी व्यवसायीलाई अपिल गर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “मैले पहिले पनि भन्दै आएको हुँ कि सरकार एक्लैले नेपालको समग्र विकास सम्भव छैन । यसका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ । निजी क्षेत्र नेपालको समृद्धिका लागि एउटा इन्जिन हो, त्यसैले उनीहरुसँगको सहकार्य र समन्वय आवश्यक छ र त्यसको वातावरण बनाउन सरकार पनि तयार छ ।”

यही आसय र आवश्यकता प्रधानमन्त्री दाहालले करिब तीन महिना अघि भारत भ्रमणका क्रममा पनि राख्नुभएको थियो । नयाँदिल्लीमा आयोजित नेपाल भारत विजनेस फोरमलाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको थियो । चिनियाँजस्तै भारतीय उद्योगीलाई पनि नेपालमा लगानीका लागि उहाँले अपिल गर्नुभएको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा आयोजित सो सम्मेलनमा प्रधानमन्त्रीले चिनियाँ लगानीकर्तालाई नेपालमा आउन यसरी आमन्त्रण गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले तीन महिनाको बीचमा आफ्ना दुई विशाल भूगोल र जनसङ्ख्या भएका छिमेकीको भ्रमण गरी त्यहाँका उद्योगी व्यवसायीलाई आग्रह गरेपछि नेपालमा वैदेशिक लगानीको ढोका विगतको भन्दा बढी मात्रामा खुला त ? यो प्रश्न दुवै भ्रमणमा सहभागी नेपाली उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मेलनमा सहभागी पत्रकारले सोधेका थिए ।

ढकाल नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको अवस्थामा विगतको तुलनामा फरक आउनेमा विश्वस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, “म जहिले पनि जुनसुकै काम गर्न पनि सकिन्छ, सम्भव छ भनेर सकारात्मक सोच राख्ने मान्छे हुँ, हुन त नेपालमा सरकारले आग्रह गरे जसरी तथा हामीले नै निजी क्षेत्रका तर्फबाट गर्ने गरेका प्रयासअनुरुप नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सकिएको छैन । तर पनि तीन महिनायताका हाम्रा विशाल छिमेकीमाझ हामीले गरेका यी प्रयासको प्रतिफल पक्कै पनि राम्रै प्राप्त हुनेछ । उहाँहरुलाई नेपालमा लगानी गर्न हामीले आग्रह गरेका मात्रै छैनौँ, नेपालमा लगानी गरे मुनाफा प्राप्त हुन्छ भनेर आश्वस्त पनि पारेका छौँ ।”

चिनियाँ लगानीका लागि नेपाल पनि एक विश्वासिलो र अधिक सम्भावनायुक्त गन्तव्य हो भन्ने कुराको पूर्ण विश्वास नेपालले यहाँका लगानीकर्तालाई गराउन सक्नुपर्ने उहाँको धारणा छ । नेपालमा नीतिगतरुपमा त कुनै समस्या छैन तर पनि विदेशी लगानीकर्तालाई देशभित्रै कतिपय अवरोध खडा नगरी सहज, सरल र स्वागतयोग्य वातावरण निर्माण गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

नेपालमा वैदेशिक लगानी अपेक्षित भित्रिन नसक्नुका कारण यथार्थपरक रुपमा खोज्नुपर्नेमा उहाँको जोड छ । नेपालमा लगानीको प्रतिबद्धता सुरुमा धेरै आए पनि त्यसअनुरुप नभएर निकै थोरै मात्रामा मात्र प्रत्यक्ष वैदेशिक लगानी आउने गरेकाले देशभित्रै विदेशी लगानीकर्तालाई उचित वातावरण दिन नसकिएको हो या उनीहरुले आफ्नो लगानीको के कस्तो प्रकारको सुरक्षा खोजेका हुन् भन्ने विषयको अनुसन्धान हुनुपर्ने अध्यक्ष ढकालको भनाइ छ ।

बेइजिङमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ व्यवसायीको संस्था सिसिपिआइटीद्वारा संयुक्तरुपमा आयोजित विजनेस समिटलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले चिनियाँ लगानीकर्ताका लागि नेपाल उचित गन्तव्य हो भन्नुभयो । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक रहेको तर पनि चीनतर्फ नेपालको निर्यात अत्यन्त न्यून रहेकाले आगामी दिनमा नेपालको निर्यात बढाउन र यसका लागि चिनियाँ लगानीकर्तालाई बढीभन्दा बढी मात्रामा आकर्षित गर्न अब केही गर्नुपर्ने उहाँको धारणा थियो ।

नेपालमा हाल लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीले राम्रो प्रतिफल प्राप्त गरिरहेको अवस्थाको अध्ययन गरेर आगामी दिनमा विदेशी लगानीकर्तालाई आकर्षित गर्नुपर्ने दृष्टान्त पनि उहाँले सो सम्मेलनमा पेश गर्नुभएको थियो ।

“यस वर्ष नेपालमा पर्यटकीय पूर्वाधारमा उल्लेख्य प्रगति भएको छ, दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भई सञ्चालनमै आएका छन् । पछिल्लो समय नेपालमा पर्यटक आगमनमा सकारात्मक मात्रामा वृद्धि भएको छ र त्यसमा पनि चिनियाँ पर्यटक बढेका छन् । हामी अबका दिनमा थप प्रगतिका साथ अघि बढ्न विदेशी लगानीलाई प्रवद्र्धन गर्न चाहन्छौँ”, अध्यक्ष ढकालले भन्नुभयो ।

सोही समारोहमा आइएमइ ग्रुप र चीनको सिएएमसिइ कम्पनीबीच नेपालमा एकीकृत पर्यटकीय गन्तव्य निर्माण गर्ने विषयमा सम्झौता पनि भएको थियो । सोही समिटमा आइएमइ ग्रुपको अध्यक्षका हैसियतले ढकाल र चिनियाँ कम्पनीका प्रतिनिधिबीच संयुक्त लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही सम्मेलनमा नै नेपालको सिजी मोटर्स् र चीनको जिएसी मोटर्स्का बीचमा पनि आगामी दिनको संयुक्त लगानी एवं सहकार्यको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । चीनका कम्तीमा पनि एक सय २० उद्योगी व्यवसायीको उपस्थिति रहेको सो संयुक्त लगानीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर पनि नेपालमा चिनियाँ लगानी आकर्षित गर्न गरिएको सामान्य सुरुआतका रुपमा लिन सकिने सम्मेलनमा उपस्थित नेपाली र चिनियाँ व्यवसायीले बताएका थिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घको लगानी तथा वैदेशिक मामिला फोरमका सभापति मनोज पौडेलले नेपालमा शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, स्टार्टपलगायतमा अहिले लगानीका अधिक सम्भावना रहेकाले नेपालमा लगानी गर्ने जुनसुकै विदेशी लगानीकर्ताले पनि राम्रो प्रतिफल लिन सक्ने बताउनुभयो ।

महासङ्घले पनि प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहित गर्न आवश्यक परेका ठाउँमा सहजीकरण एवं सहायता गर्न एफडिआइ हेल्प डेस्क स्थापना गरेर काम गरिरहेको जानकारी दिँदै आर्थिक कूटनीतिका माध्यमबाट नेपाल सरकार र यसका सबै विदेशी नियोगले नेपालमा विदेशी लगानी भित्र्याउने वातावरणका लागि काम गर्नुपर्ने सुझाव सो सम्मेलनमा उहाँले दिनुभयो ।

सम्मेलनमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतका उद्योगी व्यवसायीले नेपालमा वैदेशिक लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेर नेपाल सरकारले आफ्ना निकाय एवं नियोगलाई पनि परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सो सम्मेलनमा नेपालका करिब ५० जना उद्योगी व्यवसायीको सहभागिता रहेको छ ।

सो सम्मेलनमा सहभागी चिनियाँ वाणिज्य उपमन्त्री लि फेइले नेपालमा लागनीका क्षेत्र पहिचान गर्ने मात्र नभई ती क्षेत्रमा लगानीको सुनिश्चितताका लागि चीन र नेपालका उद्योगी व्यवसायीले सामूहिक पहल थाल्नुपर्ने बताउनुभयो । उहाँले सदियौँ पुरानो सम्बन्ध रहेका चीन र नेपाल असल छिमेकी पनि रहेकाले चीन सदैव नेपालको आर्थिक विकास र समृद्धिको पक्षमा रहेको बताउनुभयो ।

नेपाल दुई ठूला छिमेकी मुलुकको बीचमा छ । उत्तरी चीन र दक्षिणी भारतको जनसङ्ख्या झण्डै पौने तीन अर्ब छ । यो जनसङ्ख्या पनि नेपालमा हुने कुनै पनि लगानीको बजार हो । त्यस्तै उनीहरु बाह्य मुलुकमा पर्यटक भएर पुग्दा यता नेपालका विश्वकै उत्कृष्ट पर्यटन गन्तव्य छानिदिए भने हामी केही लाख पर्यटक खोज्न अरु देशतिर धाउनै पर्दैन । नेपालमा लुम्बिनी, पोखरा, मनाङ, मुस्ताङजस्ता विश्वका उत्कृष्ट गन्तव्य छन् र पछिल्लो समयमा पर्यटन पूर्वाधार पनि निर्मण भइरहेका छन् । त्यसैले पर्यटन क्षेत्रमा भित्र्याउन सक्ने वैदेशिक लगानीले पनि हाम्रो समृद्धिको यात्रा धेरै छोट्याउने छ ।

त्यसैले लगानी या विजनेस सम्मेलन गरी लागनीका लागि आह्वान गर्नुको साथसाथै अपेक्षितरुपमा नेपालमा वैदेशिक लगानी किन आउन सकेको छैन भन्ने बारेमा पनि खोज्नुपर्छ । हामीलाई लगानीका लागि बाचा दिएका विदेशी लगानीकर्ता अन्तिममा किन नेपालप्रति आकर्षित हुन सकिरहेका छैनन् भन्ने विषयको खोजीका लागि आर्थिक कूटनीतिको औजार प्रयोग गर्नसके त्यसको जवाफ भेटिन सक्छ ।

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै

राँझा (बाँके), ८ असोज ः नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिएपछि बाँके र बर्दिया जिल्लावासीमा उत्साह थपिएको छ ।

साँघुरो सडक, कालोपत्रे भत्किएर खाल्डैखाल्डा भएका कारण हिउँदमा धुलाम्मे र वर्षादमा हिलाम्मे हुनुपर्ने बाध्यता हटेकाले सर्वसाधारणमा उत्साह छाएको जानकी गाउँपालिकाका अगुवा पदमबहादुर धितालले बताउनुभयो ।

“पहिला साँघुरो सडक हुँदा धेरै दुःख थियो, ठूला गाडीले सडक च्याँपेर आउँदा मोटरसाइकल चलाउनेलाई धेरै कठिन हुने गर्दथ्यो”, उहाँले भन्नुभयो, “अहिले चारलेन सडक भएपछि धेरै राम्रो भएको छ ।”

साँघुरो सडकलाई विस्तार गरेर चारलेन बनाउने कार्यले गति लिएपछि बाँकेको जानकी, खजुरा र बर्दियाको बढैयाताल गाउँपालिकामा बजार क्षेत्रको मुहारै परिवर्तन भएको छ । बर्सातको समयमा निर्माणको काम भइरहँदा आवतजावतमा केही समस्या भए पनि सडक निर्माणको काम द्रुत गतिमा भइरहेको खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

उहाँले नेपालगञ्ज–गुलरिया सडक बाँके र बर्दियावासीको लाइफलाइनका रुपमा रहेकाले यसको विस्तारले दुवै जिल्लाका नागरिकमा खुसीयाली छाएको उल्लेख गर्नुभयो । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकामा बर्सातको समयमा पनि काम भइरहेको छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार योजनाको काम धमाधम भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार ३२ दशमलव नौ किलोमिटर लम्बाइको रहेको नेपालगन्ज–गुलरिया सडकमध्ये २२ दशमलव सात किलोमिटर चार लेन र १० दशमलव दुई किलोमिटर दुई लेनको निर्माण गरिनेछ । यस सडकमध्ये एक दशमलव आठ किलोमिटर चार लेन सडक निर्माण भइरहेकाले ३१ दशमलव एक किलोमिटर सडक स्तरोन्नति हुनेछ । बस्ती भएको क्षेत्रमा चार लेन र बाँकी क्षेत्रमा दुई लेन सडकको रूपमा स्तरोन्नति हुनेछ ।

सडक स्तरोन्नतिका लागि रु दुई अर्ब ६९ करोडमा खर्च हुने जनाइएको छ । गत भदौ अन्त्यमा बोलपत्र तथा शिलान्यास भएको यो सडक ठेक्कासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्माणकार्य सुरु भएको हो । यो सडक निर्माणपछि बाँकेको खजुरा क्षेत्रसहित कैलाली र बर्दियाका बासिन्दालाई नेपालगञ्ज पुग्न सहज हुने भएकाले यसलाई गौरवको योजनाका रूपमा लिइएको इञ्जिनियर पाण्डेले बताउनुभयो ।

सडक निर्माणको जिम्मा पाएको कम्पनीका प्रतिनिधि नवीन शर्माले नेपालगञ्ज–गुलरिया सडकविस्तार सम्झौताको समयावधिभित्रै सम्पन्न गर्ने गरी दु्रत गतिमा काम भइरहेको बताउनुभयो ।

उहाँले सडकमा पानी जम्न नदिन खाल्डाखुल्डीमा नियमितरुपमा आवश्यक ग्राभेल गरी आवतजावतमा सहज बनाउन कामदार परिचालन गरिएको जानकारी गराउनुभयो । “हामीले सोचेभन्दा बढी मात्रामा पानी परेकाले केही समस्या भएको छ”, उहाँले भन्नुभयो, “सर्वसाधारणलाई आवतजावतमा समस्या हुन नदिन र फसेका मालवाहक सवारीसाधन निकाल्न आवश्यक तयारी गरेका छौँ ।”

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – सोमबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थनमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी र बागमती प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रधानमन्त्री चीन भ्रमण : आज द्विपक्षीय वार्ता हुँदै

बेइजिङ, ८ असोज : चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उहाँका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०ः५५ मा भेटवार्ता हुन लागेको हो ।

त्यसअघि प्रधानमन्त्री दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्ताका लागि प्रधानमन्त्री दाहाल ग्रेटहल अफ दि पिपलमा आईपुग्नुभएको छ । प्रधानमन्त्री दाहालाई ग्रेट हलमा स्वागत तथा गार्ड अफ अनर प्रदान गरिएको छ ।नेपाल–चीन द्विपक्षीय भेटवार्तापछि आज दुई देशबीचम विभिन्न सहयोग एवं सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालको सम्मानमा चिनियाँ प्रधानमन्त्री लि छ्याङले दिवा भोजको आयोजना गर्नुभएको छ ।

हेर्नुहोस् असोज ८ गते सोमवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

बृष राशि – पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

मिथुन राशि – शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

कर्कट राशि – जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

सिंह राशि – स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

कन्या राशि – आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

तुला राशि – पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

बृश्चिक राशि – आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

धनु राशि – आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

मकर राशि- परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

कुम्भ राशि – शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

मीन राशि – यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।

‘जिल्ला अदालतका न्यायधीश न्यौपानेको सरुवामा कानूनमन्त्रीको हात छैन’

काठमाडौँ- कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको सचिवालयले जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेको सरुवामा कानूनमन्त्रीको कुनै हात नरहेको बताएको छ ।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले आईतबारएक विज्ञप्ति जारी गरी नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीश न्यौपानेलाई मन्त्रीले सरुवा गरेको भनेर विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रथि गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।“न्यायाधीश सरुवामा न्याय परिषद्को सचिवालयले प्रस्ताव तयार पारी पेश गर्ने र परिषद्बाट निर्णय हुने विधि, प्रक्रिया र अभ्यास रहेको छ, न्यायाधीश न्यौपानेको सरुवाका लागि मन्त्री गुरुङले कुनै प्रस्ताव गर्नुभएको छैन”, विज्ञप्तिमा भनिएको छ ।सचिवालयले मन्त्री गुरुङले मन्त्रालयको जिम्मेवारीमा आउनुभन्दा अघिदेखि नै भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि आवाज उठाउँदै आएको बताएको छ । “राजनीतिक जीवन सुरु गर्दादेखि नै सधैँ कानूनी राज्यको पक्षमा वकालत गर्दै आउनुभएको र हाल स्वयं कानूनमन्त्रीको जिम्मेवारीमा रहनुभएको सन्दर्भमा कुनै गलत नियत नराखी कार्यसम्पादन गर्दै आइरहनुभएको छ”, सचिवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

१९औँ एसियाली खेलकुद : नेपालको निराशाजनक खेल प्रदर्शन

हाङ्जाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे । चौध खेलाडी सहभागी रहेको उक्त स्पर्धामा सिजालीले नौ दशमलव सात सय तीन स्कोर गरे । सो स्पर्धामा आयोजक चीनका खेलाडीले स्वर्ण पदक जिते भने इन्डोनेसियाले रजत तथा मकाउले कास्य पदक प्राप्त गरेको छ ।

यसैगरी उसुको सान्सौं (फाइट) तर्फ नेपालकी एलिना चौधरी र रोहित चुनारा पनि पराजित भए । महिला ५२ किलोतर्फ चौधरी इरानकी खेलाडीसित पराजित भइन् । पुरुष ५६ किलोतर्फ चुनरा किर्गिस्तानका खेलाडीसित पराजित भए । यस्तै ६० किलोमा नेपालका मगलप्रसाद थारु पनि किर्गिस्तानका खेलाडीसित पराजित भए । यस्तै महिला ताइजियानमा नेपालकी सविता राई आठ दशमलव सात सय ९६ स्कोरका साथ अन्तिम स्थानमा रहिन् । उक्त स्पर्धामा चीन पहिलो, ब्रुनाइ दोस्रो तथा थाइल्यान्ड तेस्रो भयो । यस्तै ७० किलोतर्फ नेपालका पदम राई क्वाटरफाइनलमा लाओसका खेलाडीसित पराजित भए ।सुटिङमा पनि नेपालले आइतबार निराशाजनक खेल प्रदर्शन गर्यो । सुटिङको १० मिटर महिला एयर राइफल्समा श्लिषा भण्डारी ४७औं र सुस्मिता नेपाल ५८औं स्थानमा रहे। उक्त स्पर्धामा ५९ खेलाडी सहभागी भएका थिए।इ फुटबलतर्फ नेपालका समीर गुरूङ मकाउका खेलाडीसित २ १ अंकले पराजित भए। यसैगरी तेक्वान्दोको पुम्सेमा नेपालकी स्वस्तिका तामाङ सिंगापुरकी खेलाडीसित पराजित भइन् । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसित क्वाटरफाइनलमा पराजित भए। उनले प्रिक्वाटर फाइनलमा पाकिस्तानका खेलाडीलाई हराएका थिए।यस्तै जुडोमा नेपालका विकास विक तुर्किमिनिस्तानका खेलाडीसित १० ० अकले पराजित भए। यसअघि उनले कम्बोडियाका खेलाडीलाई १० ० अकले पराजित गरेका थिए। देवकी श्रेष्ठ मंगोलिया तथा इन्द्र श्रेष्ठ हङकङका खेलाडीसित पराजित भए।यसैगरी पौडीको एक सय मिटर फ्रिस्टाइलको हिट राउन्डमा एलेक्स शाह आठौँ स्थानमा रहे । रग्बी सेभेनमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)का खेलाडीसित पराजित भए ।यस्तै बक्सिङमा पनि नेपालकी संगीता सुनार ६० किलो तौल समुहमा तथा दिपक श्रेष्ठ पुरुष ८० किलो तौल समुहमा पराजित भए । सुनार भियतनामकी खेलाडीसित ५–० अंकले पराजित भइन् । श्रेष्ठ उज्वेकिस्तानका खेलाडीसित ५–० अंकले नै पराजित भए। महिला ५४ किलो तौल समुहमा नेपालकी मिनु गुरुङ जापानकी खेलाडीसित ५ ० अंकले पराजित भइन्।यस्तै टेनिसमा नेपालका प्रदीप खड्काले पुरूष सिंगल्समा इस्ट टिमोरका खेलाडीलाई ६–० र ६–० अकको सोझो सेटमा पराजित गरे। उनी अन्तिम ३२ मा प्रवेश गरेका छन्। तर नेपाली खेलाडी महिला सिंगल्स र पुरुष डबल्सतर्फ भने पराजित भए। महिला सिंगल्समा अभिलाषा विष्ट र माहिका राणाले पहिलो चरणमै बाइ पाएका थिए। दोस्रो चरणमा विष्ट थाइल्यान्डकी खेलाडीसित तथा राणा दक्षिण कोरियाली खेलाडीसित पराजित भइन् । पुरुष डबल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोलाको जोडी भारतीय खेलाडीसित ६–२ र ६–३ अकले पराजित भए । यस्तै तेक्वान्दोतर्फ नेपालका प्रेमबहादुर लिम्बू पनि पराजित भए । उनी फिलिपिन्सका खेलाडीसित पराजित भए । लिम्बू सेमिफाइनल सेमिफाइनल पुग्न असफल रहे ।

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ मा

गण्डकी, ८ असोज ः नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । सर्वसम्मत नभए मतदानको प्रक्रियाबाट प्रतिनिधि चुनिने उहाँले बताउनुभयो । “नौ सय बढी प्रतिनिधिले अधिवेशनमा भाग लिँदै हुनुहुन्छ, प्रतिनिधि चयनमा सर्वसम्मतको प्रयास भइरहेको छ”, सचिव दवाडीले भन्नुभयो, “प्रतिनिधि छनोटसँगै अरु व्यवस्थापकीय तयारीका काममा लागिरेहका छौँ ।”

प्रदेश अधिवेशनमा प्रतिनिधि बनेर आउनका लागि चार केन्द्रीय सदस्यले समेत मनोनयन दर्ता गराएको एमालेले जनाएको छ । केन्द्रीय सदस्य मायानाथ अधिकारी, राजीव पहारी, कृष्ण थापा र रामशरण बस्नेतले मनोनयन दर्ता गर्नुभएको हो ।

विभिन्न उपसमिति गठन र परिचालन गरेर अधिवेशनको तयारीलाई तीव्रता दिइएको एमालेले जनाएको छ । यही असोज १५ र १६ गते हुने अधिवेशनले आगामी कार्यकालका लागि प्रदेशको नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश अध्यक्षको आकङ्क्षीमा अहिलेका अध्यक्ष नवराज शर्मा, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्यलगायतको नाम चर्चामा छ । केन्द्रीय सदस्यले पनि प्रदेश कमिटीको नेतृत्वमा आउने चाहना राखेर प्रतिनिधि छनोटका लागि मनोनयन दिएको बुझिएको छ ।अधिवेशनको १५ गते अमरसिंह चौरमा उद्घाटन र बन्द सत्र असोज १६ गते पोखरा सभागृहमा हुने एमाले गण्डकी सचिव दवाडीले बताउनुभयो ।

ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य पुनः सुरु, नयाँ डिजाइन स्वीकृत

काठमाडौँ । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो ।

डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै निर्माण रोकिएको थियो । सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर राकेश महर्जनले फ्लाइओभरको काम पुनः सुरु भएको बताउँदै भने, ‘नयाँ डिजाइन अनुसारको उपकरण ल्याएसँगै साइटमा काम सुरु भएको छ । अब डिजाइन, उपकरण, जनशक्ति र आर्थिकलगायतको कुनै पनि समस्या छैन ।’ भारतबाट भाइभ्रो हेम्मर, पायल राख्ने क्रेन, पाइल रिग मेसिनलगायतका उपकरण ल्याइएको छ ।उनका अनुसार अहिले मुख्य रूपमा पाइल राख्ने काम भइरहेको छ । अहिलेसम्म तीन वटा पाइल जमिनमा गाडिसकिएको छ । करिब ५० जना जनशक्तिलाई काममा प्रयोग गरिएको छ । मेसिनमा आधारित काम बढी भएकाले अहिले जनशक्ति कम राखेर निर्माण सुरु गरिएको बताइएको छ । उनले सम्झौता अनुसारको निर्धारित समयमा नै निर्माण सम्पन्न हुने दाबी गरे । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने, नुनदेखि खसीसम्ममा छुट

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले तेस्रो सातादेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्ता ठगिन सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सुपथ मूल्य पसल सञ्चालन गरिने उनको भनाइ छ ।

मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरेर खाद्यान्नको मौज्दातको अवस्थाको बारेमा जानकारी लिएको छ । मन्त्रालयले आइतबार सुपथ मूल्य पसल राख्ने विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पाेरेसनका प्रतिनिधिलाई बोलाएर खाद्यान्न मौज्दातको अवस्थाको के छ भनेर जानकारी लिएको जनाएको छ । गत वर्षसरह यस वर्ष पनि खाद्यान्नमा छुट दिइने मन्त्रालयले जनाएको छ । नुन प्रतिकेजीमा दुई रुपियाँ, चिनी प्रतिकेजीमा पाँच रुपियाँ र चामल प्रतिकेजीमा पाँच देखि १० रुपियाँसम्म छुट दिने गरी तयारी गरिएको मन्त्रालयले जनाएको छ । यस्तै खसीबोका प्रतिकेजीमा १० रुपियाँ छुट दिइने भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

६१ किलो सुन काण्डमा मुछिएका कर्मचारीसँग बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका कर्मचारीलाई छिट्टै बयानमा बोलाउने भएको छ ।

तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालिरहेको अख्तियारले उनीहरूलाई छिट्र्टै बयानमा बोलाउने तयारी गरेको हो । अख्तियारले उनीहरूका बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ ।साथै, यसअघिको ९ किलो सुन तस्करीमा संलग्न रहेका र प्रहरी हिरासतमा रहेका कर्मचारीहरूको पनि कल डिटेल्सको बारेमा अख्तियारले छानबिन थालेको छ । ६१ किलो सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल, एक्सरेका कर्मचारी सन्तोष श्रेष्ठमाथि छानबिन जारी रहेको र उनीहरूलाई छिटै बयानमा बोलाइने अख्तियार स्रोतले जानकारी दिएको छ ।यसै गरी ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कामाथि समेत अख्तियारले छानबिन गर्दै आइरहेको छ । स्रोतका अनुसार अख्तियारले तत्कालीन महानिर्देशक अधिकारीले सुन तस्कर दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक कनेक्सनका बारेमा समेत गहिरो गरी छानबिन गरिरहेको छ ।दावा र अधिकारीबीच पटक पटक विच्याटमा कुराकानी हुने गरेको र सो क्रममा व्यापारिक डिलसमेत हुने गरेको प्रमाण सीआईबीले फेला पारे पनि अधिकारीमाथि राजनीतिक पहुँचका कारण मुद्दा दायर हुन सकेको थिएन ।अख्तियार स्रोतका अनुसार अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीको पोखराका विभिन्न होटलमा लगानी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अधिकारीको अन्य ठाउँमा भएका लगानीका बारेमा पनि खोजी गरिरहेका छांै, केही विषयहरू पहिचान भइसकेकाले अब छिट्टै बयानमा बोलाउने छौं’ –अख्तियार स्रोतले भन्यो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ।

पूर्वराजा ज्ञानेन्द्रद्वारा तलेजु र भैरवको पूजा

भक्तपुर- पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गर्नुभएको छ । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै आईतबार भक्तपुर पुग्नुभएको हो ।

गणतन्त्र घोषणापछि पूर्वराजा ज्ञानेन्द्रले आईतबार भक्तपुरको दरबारस्क्वायरमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरवको दर्शन एवं पूजा गर्नुभएको हो । उहाँको स्वागतका लागि ठूलो सङ्ख्यामा स्थानीयवासी दरबरस्क्वायर परिसरमा नेपालको राष्ट्रिय झन्डा बोकेर सहभागी भएका थिए । स्वागतमा झाँकी, विभिन्न सांस्कृतिक नाच एवं बाजाहरु बजाइएको थियो ।

स्थानीयवासी अनन्तप्रसाद धौभडेलको संयोजकत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद तथा केन्द्रीय सदस्य, नेपाली सेनाका पूर्वकर्णेल, जर्नेल एवं पूर्वमन्त्री एवं केन्द्रीय नेता टङ्क ढकाल, राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाह, केन्द्रीय सदस्य रामहरि थापा, जमुना थापा, कार्यक्रमका सदस्यसचिव रामेश्वर थापा, मुकुन्द कार्कीलगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले स्वागत गरेका थिए ।भक्तपुर दरबार क्षेत्रस्थित खौमा गेटमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गरिएको थियो ।

त्यहाँबाट पैदल हिँडेर उनी भक्तपुर तलेजु पुग्नुभएको थियो भने त्यहाँ दर्शनपछि फेरि पैदल नै हिँडेर टौमढीस्थित भैरवनाथ मन्दिर पुग्ने पूजा एवं दर्शन गर्नुभएको थियो ।तलेजु भवानी र भैरवानाथको दर्शनपछि पूर्वराजा ज्ञानेन्द्रले सल्लाघारीस्थित होटल ग्रिनल्यान्डमा जनतासँग भेट गर्नुभएको छ । त्यस क्रममा पत्रकारसँग उहाँले भक्तपुरको जनताको अपार माया पाएको प्रतिक्रिया दिँदै जनतासँग भेट्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले जनताको माया लागेको बताउँदै आफूप्रतिको विश्वास देखेर खुसी लागेको बताउनुभयो । 

रामेछापबाट लुक्लाको लागि उडान सुरु

मन्थली, ७ असोज : रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ । तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि आजदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन् ।

पर्यटकका लागि सिजन मानिने यस बेला काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन् ।

यसअघि विभिन्न कारण दुई वर्षदेखि थलिएर भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैदेखि उडान भर्न लागेका हुन् । यो पर्यटकहरूको सिजन भएकाले दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको कम्पनीहरूले बताएका छन् ।

काठमाडौँबाट नजिक रहेको यस एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धन सहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिएको छ । तर नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाडौँको नियमित उडान भने कुनै कम्पनीहरूले पनि गर्न सकेका छैनन्, स्थानीय प्रशासन र सङ्घीय तथा प्रदेश सांसदहरूको पहलमा ती कम्पनीहरूले नियमित उडान भर्ने सहमति गरी कार्य तालिका नै प्रकाशन गरे पनि यात्रु अभाव देखाउँदै उडान भरेका छैनन् ।

प्रधानमन्त्री दाहाल स्वागत समारोहमा सहभागी

बेइजिङ, ७ असोज : मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ यहाँस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोह एवं रात्रिभोजमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलमा सहभागी नेपाली प्रतिनिधिमण्डलको स्वागतमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आयोजना गर्नुभएको सो समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, खानेपानीमन्त्री महिन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सचिवहरू, नेपालका लागि चिनियाँ राजदूत चेन सङ, चीनमा रहेका नेपाली समुदायका व्यक्तिहरूका साथै चिनियाँ समुदायका नागरिकहरू पनि सहभागी हुनुभएको थियो ।

राजदूत श्रेष्ठले नेपाल–चीनबीचको ऐतिहासिक सम्बन्धको महत्त्वलाई बुझेर आफूले सो सम्बन्धलाई थप प्रगाढ बनाउने गरी काम गरिरहेको बताउनुभएको थियो । उहाँले चीनले पछिल्ला दशकहरूमा गरिरहेको अद्वितीय विकास र प्रगतिको मोडलबाट सिकेर उसको समृद्धिबाट नेपालले कसरी लाभ लिन सकिन्छ भन्ने बारेमा काम गर्नुपर्नेमा जोड दिनुभएको थियो । प्रधानमन्त्री दाहालले आइतबार आफ्ना चिनियाँ समकक्षी लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

दरबन्दी मिलान गर्दै काठमाडौँ महानगर

काठमाडौँ ७ असोज : काठमडौँ महानगरपालिकाले सबै सामुदायिक विद्यालयका शिक्षकहरूको दरबन्दी मिलानको काम अघि बढाउने भएको छ ।

कामपा शिक्षा विभागले कुनै विद्यालयमा विद्यार्थी सङ्ख्या बढी शिक्षक कम, कुनैमा शिक्षक बढी विद्यार्थी कम रहेकाले विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा दरबन्दी मिलान गर्न लागिएको जनाएको छ । विभागका प्रमुख सीताराम कोइरालाले दरबन्दी मिलानका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्यार्थी सङ्ख्या धेरै भएको विद्यालयले थप दरबन्दी माग गरेका छन् त्यस्ता विद्यालयलाई दरबन्दी मिलान गर्दा दिने प्रयास गरिने छ ।”

यदि वास्तवमै शिक्षक आवश्यक हो भने मिलानका क्रममा दरबन्दी दिन नसके पनि त्यो बराबरको अनुदान रकम दिएर भए पनि आवश्यकता पूरा गर्ने उहाँले जानकारी दिनुभयो । हाल कामपामा प्रचलित शिक्षा ऐन, २०२८ ले गरेको व्यवस्था र कामपाको शिक्षा ऐन, २०७५ तथा विद्यालय व्यवस्थापन नियमावली, २०७४ ले गरेका प्रावधानअनुरूप विद्यालय सञ्चालनमा छन् ।

अहिले कामपामा ८९ समुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये ५९ माध्यमिक विद्यालय छन् भने अन्य आधारभूत तहका विद्यालय रहेका छन् । त्यस्तै पाँच सय चार निजी विद्यालय सञ्चालनमा रहेको बताइएको छ । त्यस्तै कामपाले सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयको स्तरोन्नति गर्न लागेको जनाएको छ । पछिल्लो समय निजी छोडेर सामुदायिकमा आउने विद्यार्थी बढी रहेको पनि कामपाले जानकारी दिएको छ ।

कम विद्यार्थी सङ्ख्या भएको विद्यालयमा कसरी बढाउने, भौतिक संरचना आकर्षण र राम्रो बनाउने, आवश्यकताअनुसार शिक्षक दिने र थप गुणस्तर बढाउने काम गर्नु तत्काल कामपाको लक्ष्य रहेको बताइएको छ । कोइरालाका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेकाले सञ्चालनमा रहेका विद्यालयलाई थप गुणस्तरीय बनाउन लागिएको बताइएको छ । सञ्चालनमा रहेका केही सामुदायिक विद्यालयमा अहिले नै विद्यार्थी थेगिनसक्नु छ । त्यहाँ नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि स्थान छैन ।

त्यस्तै कामपाले चालु आवदेखि नै एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयलाई सधैँ सुन्दर र हराभरा बनाइराख्न कामपाले रु पाँच करोड विनियोजन गरेको छ ।

नेपाल र चीनबीच सम्झौता गर्दा विशेष ध्यान दिन आग्रह

काठमाडौँ, ७ असोज : आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि अगाडि बढाउँदा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँहरूले परिवर्तन र प्रविधिको विकाससँगै राजनीतिक चेतनामा पनि विकास र परिवर्तन आएको भन्दै दुई देशबीच सम्झौता गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।

वक्ताहरूले नेपाल–चीन सहयात्रा, सहकार्य, विकास र समृद्धिलाई विशेष जोड दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा हुनुहुन्छ । तेस्रो पटक प्रधानमन्त्री बनेपछि उहाँ करिब १० महिनापछि छिमेकी मुलुक चीनको भ्रमणमा जानुभएको हो ।

अर्थविद डा चन्द्रमणि अधिकारीले दुई देशबीच कुनै पनि सम्झौता अगाडि बढाउँदा आर्थिक सम्बन्ध, सामाजिक सम्बन्ध, व्यापारिक सम्बन्ध, देशको सार्वभौमसत्ता, स्वाभिमान र राष्ट्रिय अखण्डतालाई विशेष ख्याल गर्नपर्नेमा जोड दिनुभयो । “हामीले पनि दुई देशबीचको सहयोग अगाडि बढाउँदा आर्थिक सम्बन्धलाई सुदृढ गर्ने, व्यापारिक सम्बन्धलाई सुदृढ गर्ने, विकाससम्बन्धी सम्बन्धलाई सुदृढ गर्ने कुरालाई हेर्नुपर्छ, अर्कातिर स्वाभिमान, राष्ट्रिय अखण्डताको विषयलाई पनि ख्याल गर्नपर्ने हुन्छ”, उहाँले भन्नुभयो । नेपाल दुई ठूला शक्ति राष्ट्रहरूको बीचमा रहेकाले शक्ति, राजनीति, स्रोत, बजार, सम्भाव र प्रविधिलाई मध्यनजर गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्यले हरेक सम्झौता आफ्नो देशको राष्ट्रिय स्वार्थ र हितमा हुनुपर्ने बताउनुभयो । कुनै पनि किसिमको सहयोग लिँदा देशको आर्थिक अवस्था, जनताको क्रयशक्ति, रोजगारी वृद्धि, जनतालाई सुख सुविधा पुग्ने र देशको आर्थिक अवस्था बलियो हुने रूपमा सहयोग केन्द्रित हुनुपर्ने उहाँको धारणा छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेलले प्रधानमन्त्री दाहालले चीन भ्रमणका क्रममा त्यहाँको बजारमा नेपाली उत्पादनको उपस्थिति हुने खालका सम्झौताहरू गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

मुस्लिमका लागि समानुपातिक आरक्षणको व्यवस्था सुनिश्चित गरेका छौँ : सभापति देउवा

काठमाडौँ, ७ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताउनुभएको छ ।

कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । सभापति देउवाले निर्वाचनमा जातका आधारमा मात्र भोट दिने चलन हटिसकेको र राम्रो उम्मेदवार हेरेर भोट हाल्ने गरेको सन्दर्भमा त्यसतर्फ समेत ध्यान दिन नेता कार्यकर्ताको ध्यानाकृष्ट गराउनुभयो ।

उहाँले मुस्लिम समुदायमा रहेको एकता र सौहार्दताको प्रशंसा गर्दै यसले अन्य समुदायलाई पनि प्रेरणा मिलेको विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सभापति देउवाले सङ्घले समयमै महाधिवेशन गरेको र यसले अन्य भ्रातृ संस्थालाई पनि प्रेरणा मिल्ने बताउँदै महाधिवेशनबाट एकताका साथ सफल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सबै जातजाति, धर्म र समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय चरित्रको पार्टी भएको उल्लेख गर्दै पार्टी र सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गर्ने विश्वास दिलाउनुभयो । उहाँले हाम्रो समाजमा परापूर्व कालदेखि नै साम्प्रदायिक सद्भाव रहेको उल्लेख गर्दै यसमा कहीँ कसैले खलबल्याउने नियोजित प्रयास गरे त्यसप्रति सबै एकजुट भएर सचेत हुनुपर्ने बताउनुभयो ।

साथै उहाँले सङ्घले महाधिवेशनमा छलफल गरी पारित गरेका मागका विषयले पार्टीको महासमिति बैठकमा प्रवेश पाउने विश्वास समेत दिलाउनुभयो । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानअनुसारको समानुपातिक प्रतिनिधित्व कार्यान्वयन गराउन माग गर्नुभयो ।

सङघका कार्यवाहक अध्यक्ष अताबुल मन्सुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, अब्दुल रज्जाक, अब्दुल सत्तारलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । महाधिवेशनमा देशभरका सङ्घका ४३ जिल्ला समितिबाट चार सय ७३ प्रतिनिधिको सहभागिता रहेको छ भने सोमबार ८६ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया हुने बताइएको छ ।
–––

‘प्रदूषण नियन्त्रणका निम्ति शक्तिशाली देश नै लाग्नुपर्छ’

जेनेभा – भारतीय जल प्रतिष्ठानका अध्यक्ष अरविन्द कुमारले जलवायु वित्तका निम्ति भारतले पर्याप्त लगानी गरेको तथा घातक वस्तुको उत्सर्जनलाई पूर्ण नियन्त्रण गर्ने नीति अवलम्बन गरेको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा भएको ५४औँ वार्षिक बैठकमा अध्यक्ष अरविन्द कुमारले युरोप, उत्तर अमेरिका र अष्ट्रेलियाजस्ता शक्तिशाली एवं समृद्धशाली देश प्रदूषण नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

इतिहासदेखि नै औद्योगिक क्षेत्रमा गरेको प्रगतिसँगै प्रदूषण पनि फैलाएका उत्तर अमेरिका, युरोपेली देश र अष्ट्रेलियाले हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।

विकासशील देशहरूले कोभिड महामारी,त्यसले निम्त्याएको आर्थिक सङ्कट, बढ्दो ऋणका बाबजुद खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्न निरन्तर आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष अरविन्द कुमारले कोरोना महामारीका बेला भारतले विकासशील र विकासोन्मुख राष्ट्रलाई कोरोनाविरुद्ध खोप निःशुल्क उपलव्ध गराएको बताउनुभयो ।

लागुऔषध विरूद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण छ : महानिरीक्षक कुँवर

काठमाडौँ ७ असोज : प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

काठमाडौँमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उहाँले कुलतमा फसेका व्यक्तिहरूलाई पुनःजीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै सामाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको उल्लेख गर्नुभयो ।

लागुऔषधको कारोबार तथा लागूऔषधमा सङ्लग्न व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उहाँले जानकारी गराउनुभयो ।

उहाँले संस्थाले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पु¥याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यलाई उक्त केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्त्वपूर्ण योगदान पु¥याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पु¥याउने केन्द्रका पूर्वअध्यक्षद्वय ज्ञानु ज्ञवाली र श्रीमती कुशुमलता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गर्नुभयो ।

समारोहमा केन्द्रकी अध्यक्ष कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिबन्धले लागुऔषधको दलदलमा फसेका लागुऔषध प्रयोगकर्तालाई कानूनी दण्डबाट दण्डित गरिनुभन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्धतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनःमिलनमा फर्काइनुपर्छ भन्ने लक्ष्यका साथ आसरा सुधार केन्द्र स्थापना भएको बताउनुभयो ।

सभामुख भन्नुहुन्छः “शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु”

काठमाडौँ, ७ असोज ः सभामुख देवराज घिमिरे सात दिने आयरल्याण्ड भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । आइरिस संसद्को तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणमा आयरल्याण्डको राजधानीबाट डब्लिन पुगेको उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सभामुख घिमिरेले भ्रमणका क्रममा दुई देशबीचको संसदीय गतिविधिआदानप्रदानलगायत विषयमा व्यापक छलफल भएको जानकारी दिनुभयो ।

“दुवै मुलुकका संसदबीचको सम्बन्ध गाढा बनाउने विषयमा मैले आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेल र माथिल्लो सदन सिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग छलफल गरेको छु” उहाँले भन्नुभयो, “संसद्का कर्मचारीको दक्षता अभिवृद्धि गर्नेबारे पनि हामीले छलफल गरेका छौँ ।”

सभामुख घिमिरेले राष्ट्रपति तथा मन्त्रीहरुरूसँगको भेटले शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले लाभ लिन सक्ने वातावरण निर्माण भएको जानकारी दिनुभयो । उहाँले नेपाली विद्यार्थीलाई दिनसक्ने सहुलियत, भिसाको प्रबन्ध, प्राविधिक दक्षतासहित नेपाली जनशक्तिको रोजगारलगायत विषयमा पनि छलफल भएको उहाँको भनाइ थियो । स्वास्थ्य र कृषिमा आयरल्याण्डले विकास गरेका प्रविधि र लगानी नेपाल भित्र्याउनेबारे पनि छलफल भएको सभामुख घिमिरेले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा उहाँले आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्स, संसद्को दुवै सदनका सभामुख र अध्यक्ष, सरकारका वरिष्ठ मन्त्री, नेपाली समुदायलगायतसँग पछि छलफल र भेटघाट गर्नुभएको थियो । उक्त भ्रमण टोलीमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई सहभागी हुनुहुन्थ्यो ।

पत्रकारले शिक्षा विधेयकका सम्बन्धमा भएका विरोध र आन्दोलनबारे सोधेको प्रश्नमा सभामुख घिमिरेले आफूले विधेयकलाई अगाडि बढाउन ‘सभामुखीय भूमिका’ निर्वाह गर्ने बताउनुभयो । “विधेयकलाई अगाडि बढाउन सभामुखको भूमिका जे हुनुपर्छ, त्यही गर्छु,” उहाँले भन्नुभयो, “विधेयक सदनमा लैजाने, छलफल गर्ने, सहमति गर्ने, सहमति भएन भने प्रक्रियाबाट टुग््याउने काम हुन्छ ।”

चिलिमे-त्रिशूली प्रसारणलाइन पुसभित्र सक्न समयसीमा

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सवस्टेशनको निर्माण आगामी पुसभित्र सक्नैपर्ने गरी समयसीमा तय गरिएको छ ।

उक्त नदी करिडोरमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका लागि चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण लाइन आयोजना निर्माणाधीन छ । आयोजना अन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँंसीमा २२०/१३२/३३ केभीको क्रमश: चिलिमे हव र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माणाधीन छन् ।

साथै, चिलिमे –त्रिशूली थ्री बी हब २८ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ सम्मिलित उच्चस्तरीय टोलीले शनिबार र आज निर्माणाधीन सबस्टेसन तथा प्रसारण लाइनको स्थलगत अनुगमन गरी आगामी पुसभित्र काम सक्ने समयसीमा तय गरेको छ ।

आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माणमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन दिँदै टोलीले बाँकी रहेका हरेक काम सम्पन्न गर्ने तालिका तय गरी सोहीअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ । टोलीले निर्माण प्रगतिको नियमित अनुमगन गर्ने छ ।

कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन अभावमा चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन एक सय ११ मेगावाटको रसुवागढी र ४२ दशमलव पाँच मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् खेर जाने अवस्था आउन नदिन सबै गम्भीर भएर बाँकी रहेका काम सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो । दुवै आयोजनाबाट आगामी पुसभित्रमा विद्युत् उत्पादनको लक्ष्य राखी अन्तिम चरणका काम भइरहेका छन् ।

“यस वर्षको हिउँदको विद्युत् माग व्यवस्थापनका लागि दुई आयोजनाबाट उत्पादित विद्युत्ले धेरै सहयोग गर्छ, प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसक्ने अवस्था आएमा राज्यलाई नै ठूलो घाटा हुन्छ, यसतर्फ सबै गम्भीर र संवेदनशील बनौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

उहाँका अनुसार धेरै गाह्रो ठाउँमा टावर निर्माण गर्नुपर्ने छ भने टावरको जग हाल्ने, खडा गर्ने, तार तान्ने, सवस्टेसनका उपकरण जडान गर्ने लगायतका सबै काम समानान्तर रुपमा जनशक्ति थपेर अगाडि बढाउनुपर्नेछ । ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाह, सामाजिक समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आफूहरु तयार रहेको उहाँको भनाइ छ ।

भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनुपर्ने, भीरैभीर रहेको र सडक पहुँच पनि नभएकाले ढुङ्गा गिट्टी, बालुवा, टावरका सामान, पानीलगायतका निर्माण सामग्री मानिस वा खच्चडबाट बोकाएर लैजानुपर्ने, बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारण आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ ।

पछिल्ला दुई वर्षमा आयोजनाको ठेकेदार चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजले कार्यसम्पादनमा केही सुधार गरेको छ । कम्पनीले पुसभित्र निर्माण सक्ने प्रतिबद्धता जनाएको छ । दुवै सबस्टेसन उपकरण राख्ने सिभिल संरचनाको निर्माण अन्तिम चरणमा छ ।

सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जिआइएसलगायतका मुख्य उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ । यता प्रसारण लाइनका टावर, कन्डक्टरलगायतका सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।

कूल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७६ वटा टावरमध्ये ५६ वटाको जग हालिएको छ । बाँकी टावरको जग हाल्ने काम भइरहेको छ । ४८ वटा टावर खडा गरिएको छ । १० किलोमिटर तार तानिएको छ । खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति ९० प्रतिशत छ ।

चिलिमे–त्रिशूली थ्री बी हब प्रसारण लाइनअन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट निर्माण गर्नेछ । दक्षिण कोरियाको कम्पनीको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो ।

माथिल्लो त्रिशूली–१ ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ । प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि पिङगाओसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।अनुमानित लागत अमेरिकी डलर तीन करोड ९० लाख रहेको आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र जर्मन विकास बैंक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋण रहेको छ ।

पूर्वाधार विकास समितिको कार्ययोजनाको खाका तयार

काठमाडौँ, ७ असोज : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भावी कार्ययोजनाको खाका तयार पारेको छ । समितिको आज बसेको बैठकले समितिको भावी कार्ययोजनाको खाका तयार पारेको हो । समितिको कार्ययोजना अनुसार कार्यक्षेत्रमा पर्ने १७ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये एउटाको विस्तृत अध्ययन गरी त्यसका आधारमा अन्य १६ वटा आयोजनाको अनुगमन गरिने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरी तत्काल सञ्चालनका लागि निर्देशन दिने निर्णय पनि आजको बैठकले गरेको छ । समितिले ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाइओभर, टेकुको पक्की पुल, सिंहदरबाभित्र निर्माणाधिन संसद् भवन, काठमाडौँ उपत्यकामा दोस्रो चरणमा विस्तार भएका सडक आयोजना, मुग्लिन–नारायणघाट सडकखण्डलगायत आयोजनाको पनि अनुगमन गरी सरोकार भएका निकायलाई निर्देशन दिने सभापति दीपकबहादुर सिंहले बताउनुभयो ।

बैठकमा सांसदहरु प्रदीप पौडेल, माधव सापकोटा, निशा डाँगी, प्रेमबहादुर महर्जन, प्रतिमा गौतम, उर्मिला माझीलगायतले समितिको कार्यक्षेत्रमा पर्ने विषयमा अब नियमित छलफल गरी सरकारी निकायलाई निर्देशन दिनुपर्ने बताउनुभएको थियो । —

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

गण्डकी, ७ असोज : पोखरा–मुग्लिन राजमार्गअन्तर्गत पोखराको सेती नदीमा आकर्षक डिजाइनको ‘सिग्नेचर’ पुल निर्माण सुरु भएको छ ।

‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा जगको काम भइरहेको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले जनाएको छ । गत वर्ष ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेकाले ढिलो गरी पुल निर्माण सुरु गरिएको हो । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको कम्पनीले जनाएको छ ।

“काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ, वर्षायाम पनि सकिन लाग्यो, अब कामले गति लिन्छ”, निर्माण कम्पनीका इञ्जिनीयर सुदर्शन देवकोटाले भन्नुभयो, “उपकरण र कामदार कार्यस्थलमा आइसकेका छन्, निर्माण सामग्री पनि ल्याउन सुरु गरिएको छ ।”

एसियाली विकास बैंकको आर्थिक सहयोगमा सडक विभागमार्फत उक्त पुल बन्न लागेको हो । भ्याटबाहेक रु ९४ करोडको ठेक्कामा पुल निर्माण हुन लागेको पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले बताउनुभयो । “निर्माण कम्पनीले जगको काम थालेको छ, दसैँअघि संरचना निर्माणको काम सुरु हुन्छ”, उहाँले भन्नुभयो, “अहिले रहेको चाइना पुलको तलमाथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बनेपछि छ लेनको सडक हुन्छ ।”

गण्डकी प्रदेशको राजधानी पोखरा छिर्ने मुख्य राजमार्गको उक्त पुल साँघुरो हुँदा सवारी जामको समस्या छ । सिग्नेचर पुल बनेपछि पर्यटकीय नगरी पोखराको आकर्षण पनि बढ्ने आयोजना प्रमुख पौडेलले बताउनुभयो । “पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले पनि आकर्षक छ, यसले पोखरा घुम्ने आउने पर्यटकलाई पनि आकर्षित गर्नेछ”, उहाँले भन्नुभयो, “दुई वर्षभित्रमै काम सक्ने लक्ष्य लिइएको छ, निर्माणमा कुनै बाधा अफ्टेरो परे आयोजना कार्यालयले सहजीकरण गर्छ ।”

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने इञ्जिनीयर मनोज जिसीले बताउनुभयो । उहाँले निर्माण सामग्रीको गुणस्तर परीक्षणको काम पनि अन्तिम चरणमा पुगेकाले अब पूर्वाधारको काम अगाडि बढाइने बताउनुभयो । “विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको हो, देख्दा पनि यो पुल आकर्षक देखिन्छ, नेपालमा पछिल्लो समय बन्ने पुलमा बढीजसो यही प्रविधिको प्रयोग हुन थालेको छ”, इञ्जिनीयर जिसीले भन्नुभयो ।

एसियाली विकास बैंकको सहयोगमा पोखरा–मुग्लिन सडकलाई चार लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । सोही आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल बनाउन लागिएको हो । कूल ८१ किमि दूरीको सो सडकलाई दुई खण्डमा बाँडेर विस्तारको काम भइरहेको हो ।

पश्चिम खण्डमा पोखरा–जामुने र पूर्वी खण्डमा जामुनेदेखि मुग्लिनसम्मको सडक पर्छ । विसं २०७८ वैशाखदेखि सडक विस्तार थालिए पनि कामको गति भने सुस्त छ । पूर्वी खण्डको निर्माण ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सन र पश्चिम खण्डको यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले लिएको छ ।

सौराहमा घटे पर्यटक

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को महिना हो । अर्थात् पर्यटकको चहलपहल र आर्थिक गतिविधि बढ्ने समय हो । विगतका वर्षमा पर्यटकलाई सेवा दिन भ्याइनभ्याइ हुने यहाँका पर्यटन व्यवसायीहरु यस वर्ष भने असोज लागेदेखि पर्यटकको पर्खाइमा छन् ।

पर्यटकीय गन्तव्य सौराहसम्म आइपुग्ने सडक मार्ग सहज नहुनु तथा हवाई भाडा महङ्गो भएकाले पर्यटकको सङ्ख्यामा यस वर्ष कमी आएको व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नारायणगढ-मुग्लिन, मुग्लिन-नौबीसे र नारायणगढ-बुटवल सडक खण्डमा मर्मत तथा बिस्तारले यातायात असहज बनेको छ । पोखराबाट आउनेका लागि मुग्लिन-पोखरा खण्ड पनि बिस्तारले अवरुद्ध भइरहेको छ

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहाका होटलमा यतिबेला जम्मा पाँच प्रतिशत हाराहारी बुकिङ छ । जबकी विगतका वर्षमा यतिबेला ३५ प्रतिशतभन्दा बढी बुकिङ हुने गरेको थियो । सडकको दयनीय अवस्था, महङ्गो हवाई भाडालगायतले पर्यटकको सङ्ख्या कम भएको उहाँको बुझाइ छ ।

उहाँका अनुसार एउटा विदेशी पर्यटक काठमाडौँबाट भरतपुर आउँदा एक सय ३५ डलर हवाई भाडा लाग्छ । आवतजावत भाडा मात्रै दुई सय ७० डलर खर्च हुन्छ । निकुञ्जमा जीप तथा हात्ती सफारी, पैदल यात्रा गर्दा खर्च स्वभाविक रुपमा बढ्छ । विदेशका लागि निकुञ्ज प्रवेशमा रु दुई हजार खर्च हुन्छ भने हात्ती सफारीका लागि दुई हजार पाँच सय, जीप सफारीका लागि रु दुई हजार खर्च लाग्छ ।

सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराईले पर्यटक आकर्षित गर्नका लागि सङ्घले चितवन पर्यटन महोत्सव गर्ने तयारी गरिरहेको बताउनुभयो । विगतका वर्षमा हुने हात्ती महोत्सवलाई पर्यटन महोत्सवका रुपमा गर्न लागिएको उहाँको भनाइ छ ।

सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे पर्यटकीय मौसम पछाडि सरेको बताउनुहुन्छ । विगतका वर्षमा सेप्टेम्बरको मध्य अर्थात् असोज पहिलो साताबाटै पर्यटक आगमन हुने भएपनि यसवर्ष अझै पर्यटक नआएको बताउनुहुन्छ ।

युनाइटेड हात्ती सहकारी संस्था लिमेटेडका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार यसपटक हात्ती सफारीका बुकिङ खासै नभएको बताउनुहुन्छ । उहाँको सहकारीमा हाल ३० वटा हात्तीले दैनिक एउटा ‘ट्रिप’ समेत पाउन नसकेको अवस्था छ । “दैनिक १२ देखि १५ वटा मात्रै ट्रिप आउने गरेको छ, चाडपर्व सुरु भएपछि ट्रिप बढ्नेमा विश्वास छ”, उहाँले भन्नुभयो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र वर्षामा सफारी बन्द गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनका अनुसार अब पानी नपरेमा असोज १० गतेदेखि निकुञ्ज खुल्ला गरिने छ । बाटो र पुलहरु धेरै बिग्रिएका ठाउँ बाहेक अन्यत्र खुल्ला गर्न लागिएको उहाँको भनाइ छ ।

सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

झापा, ७ असोज : झापाको मेचीनगर–१० धुलाबारीकी ८० वर्षीया पन्नादेवी साह हरेक बिहान बगैँचामा फूल टिप्ने गर्नुहुन्थ्यो । पूजापाठका लागि आफ्नो र छिमेकीका आँगनमा फूल टिप्ने आम चलनै छ तराईतिर । गत असार १८ गते बिहान ५ बजेको घटना हो, फुल टिप्दाटिप्दै ऐया पनि भन्न नपाई उहाँलाई जङ्गली हात्तीले लपेटेर किच्यो । जङ्गली हात्तीको आक्रमणमा परेर पन्नादेवीको घटनास्थलमै ज्यान गयो ।

असार १९ गते अर्जुनधारा–३ की १३ वर्षीया इक्सा लिम्बु छिमेकी भाउजुको घरमा साथी बस्न गएकी थिइन् । राति ३ बजेतिर आहार खोज्दै आएको जङ्गली हात्तीले घर भत्काउन थाल्यो । एक्साकी भाउजु जसोतसो भागेर अर्को घरमा पुग्नुभयो तर उनी भने हात्तीको सुँढमा बेरिइन् । हात्तीको दाह्राले घोचिँदा उनको पेटमा ठूलो प्वाल नै प¥यो । चन्दा उठाएर घाइते इक्साको बल्लतल्ल उपचार भएको छ । गत वर्ष बुद्धशान्ति–५ की सम्झना श्रेष्ठलाई स्कुटर चढेर सडकमा हिँडिरहेका बेला हात्तीले आक्रमण गरेको थियो । आक्रामक हात्तीले श्रेष्ठको ज्यान नै लियो ।

जङ्गलमा विचरण गर्ने हात्तीहरु पहिले पहिले गाउँवस्तीमा कहिलेकाहिँ मात्र आउँथे । सहरतिर पसेको त बिरलै सुनिन्थ्यो । अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन् । झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ । झापाको उत्तरी भाग बाहुनडाँगीबाट प्रवेश गरेका सयौं हात्तीको हुल केही अवधि डुलेपछि भारततिरै फर्किने गरेका छन् तर रैथाने हात्ती भने जिल्लाका हरेक पालिकाका बस्तीसम्मै देखिने गर्छन् ।

आहार खोज्दै बजारतिर

गत महिना पूर्वपश्चिम राजमार्गको कनकाई खण्डमा पर्ने सुरुङ्गामा हात्तीले रातभर बजार डुलेको भिडियो भाइरल भएको थियो । एक्लै पुगेको हात्तीले पसलमा राखिएको स्वादिष्ट खानेकुरा र नून छानीछानी खाएको थियो । सुरुङ्गा बजारमा जङ्गली हात्ती डुल्दा जनधनको सुरक्षाका लागि रातभर प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरीले हात्तीलाई अनेक प्रयास गरेर सुरक्षित रुपमा जङ्गलतिर धपाएका थिए ।

भद्रपुर नगरपालिका–९ का वडाध्यक्ष राम दाहालका अनुसार जङ्गली हात्ती भद्रपुरको सहरिया बस्तीमा बारम्बार आउने गरेको छ । भद्रपुर–९ को पारिजात चोक, प्रणामी टोल र पुहातुबारीमा नजिकैको निचाझोडा जङ्गलबाट हात्ती आउने गरेको छ । बाहुनडाँगी, खुदुनाबारी, चारआली, बुधबारे, पुहातुबारी, जलथल, घेराबारी, धुलाबारी, ज्यामिरगढी लगायतका मानव बस्ती रहेको क्षेत्रमा हात्ती रातैपिच्छे आउने, बाली खाने, घरगोठ भत्काउने, मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ ।

हात्ती संरक्षण अभियानमा लाग्नु भएको शङ्कर लुइँटेलका अनुसार झापामा भारतको सुकुना जङ्गलबाट प्रवेश गर्ने र स्थानीय जङ्गलमा डुलिरहने गरी दुई खाले जङ्गली हात्ती पाइन्छन् । उहाँका अनुसार गत वर्ष एकैखेपमा ३० वटा हात्ती भारतबाट पसेका थिए । ती अहिलेसम्म फर्केका छैनन् । झापा, मोरङ र सुनसरीको सामुदायिक वनहरुमा ती हात्ती बाँडिएर डुलिरहेको लुइँटेलको भनाइ छ ।

यसबाहेक झापाका सामुदायिक बनहरुमा वर्षौंदेखि आश्रय लिदै आएका १३ वटा रैथाने हात्ती छन् । रैथाने हात्ती एक्लै बस्छन् र एक्लै सहरतिर पस्छन् । एक्ले हात्ती धेरै अटेरी र क्षतिदायक हुने गरेको छ । भारतबाट गत वर्ष आएका हात्ती झुण्ड झुण्डमा जंगलभित्रै बसेका छन् । “जङ्गलमा आहार पाइँदैन, बस्ती नपसेर कहाँ जाउन्,” संरक्षण अभियन्ता लुइँटेल भन्नुहुन्छ–“हात्तीले खाने आहार जङ्गलभित्र पाउन छाडेकाले तिनीहरु खानेकुरा खोज्न गाउँ र सहरतिर निस्किन बाध्य भएका छन् ।” वनभोज स्थलमा मानिसले फ्याँक्ने प्लास्टिकका थैलीमा रहेका नुनिला र स्वादिला खानेकुरा चाट्न पल्किएका रैथाने हात्तीले सहर पसेर त्यस्तै आहारको खोजी गरिरहेको उहाँको भनाइ छ ।

मेचीनगर–४ का वडाध्यक्ष एवम् हात्ती संरक्षण अभियन्ता अर्जुन कार्की जङ्गली हात्तीलाई आहार हुने विभिन्न फलफूलका बिरुवा जङ्गलभित्र हुर्काउन सके हात्ती सहर र बस्ती पस्ने क्रम रोकिने धारणा व्यक्त गर्नुहुन्छ । उहाँले एक दशकदेखि सीमावर्ती मेची नदीको बगर र सामुदायिक बनहरुमा हात्तीका लागि प्रिय केरा, कटहरलगायतका फलफूलका विरुवा लगाउनु पर्ने वकालत गर्दै आउनु भएको छ । हात्तीलाई पल्काउने फलफूल जङ्गलमा हुर्काउँदा हात्तीले स्थानीय वन क्षेत्रलाई स्थायी वासस्थान बनाउँलान् भनेर कतिपय स्थानीयवासी कार्कीको योजनासँग सहमत छैनन् ।

गोबरमा चाउचाउको खोल

जङ्गली हात्ती पछिल्ला वर्षहरुमा नुनिला र गुलिया तयारी खानेकुरा (जंक फुड)को स्वादमा पल्किएको हुनसक्ने प्रमाणहरु भेटिएका छन् । हात्ती छिर्ने नेपाल–भारतको गौंडाहरु रहेको मेचीनगर–४ को बाहुनडाँगी क्षेत्रमा हात्तीले त्याग गरेको मलमा चाउचाउ, बिस्कुट र कुरमुरेका प्याकेटका खोल बारम्बार भेटिएको वडाध्यक्ष कार्की बताउनुहुन्छ । “जङ्गलको वनभोज स्थलहरुमा फ्याँकिएका खानेकुरा चाटेर खोलसँगै हात्तीले निल्ने गरेका छन्,” कार्की भन्नुहुन्छ–“त्यहीकारण मेची खोलाका बगर र बनमा हात्तीको गोबरमा चाउचाउ, बिस्कुट र प्लास्टिकका खोल भेटिन थालेको हो ।”

चाउचाउलगायतका नूनिला तयारी खानेकुरामा पल्किएको हात्ती त्यही खानेकुराको खोजीमा सहर पस्ने गरेको र जम्काभेटमा मानवीय क्षति समेत हुने गरेको उहाँ बताउनुहुन्छ । हरेक दिन २०० केजी आहार हात्तीले खाने गरेका छन् । जङ्गलमा आहारको गुञ्जाइस नभएपछि हात्तीले गाउँका भान्साकोठा र सहरका पसल तोडफोड गर्दै आएका छन् ।

गत वर्ष झापामा आठ जनाको मृत्यु र सात घाइते भएका थिए । मानिसको आक्रमणबाट दुई हात्ती मरेका थिए । यसरी मानव–हात्तीबीचको द्वन्द्व वर्षौंदेखि चल्दै आएको छ । मानिस र हात्तीले एउटै स्थानलाई आफ्नो बासस्थान बनाउँदै आउँदा द्वन्द्व चर्किएको हो । झापामा पाँच अघिदेखि जङ्गली हात्तीका कारण स्थानीयबासीले जनधनको क्षति व्यहोर्दै आएका छन् । झापामा विगत १२ वर्र्षमा हात्तीले ६२ जनाको ज्यान लिएको र करोडौंको धनमाल क्षति गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

जङ्गलै फर्काउन फलफूल रोपौँ

जङ्गली हात्तीको उपद्रो उत्कर्षमा रहे तापनि मानव वस्ती, बाली र भौतिक सम्पत्ति जोगाउन हालसम्म गरिएका प्रयासहरु शत प्रतिशत भरपर्दो साबित हुन सकेका छैनन् । पटाका पड्काउने, फक्स लाइट बाल्ने र हवाई फायर गर्नेदेखि सीमा क्षेत्रमा सात किलोमिटर लामो सुरुङ खन्ने परियोजनाहरु विगतमा प्रयोग गरिए । अहिलेसम्मका प्रयासमध्ये सौर्य विद्युतीय घेरबार सबैभन्दा लाभदायक देखिएको छ ।

सङ्घीय र प्रदेश सरकारले विभिन्न कालखण्डमा विद्युतीय घेराबेराका लागि करोडौं बजेट बिनियोजन गरिसकेका छन् । तर, जङ्गलको हात्तीलाई जङ्गलमै फर्काउन उसका लागि मनपर्ने फलफूलका विरुवा जङ्गलमा रोप्ने योजनामा भने कसैले पनि बजेट हालेका छैनन् । “घेराबाराले मानववस्तीसँगै अन्नबाली समेत जोगाउने भएकाले यो प्रोेजेक्टमा सरकारले लगानी बढाउँदै आएको हो”, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती भन्नुहुन्छ, “हात्ती आफ्नो बाटो हिँडोस्, जङ्गलभित्रै डुलफिर गरोस्, तर बस्ती पसेर मानिसमाथि आक्रमण गर्ने र बालीनाली खाएर विनास गरिदिने कार्य बन्द होस् भनेर विद्युतीय घेराबेराका लागि हामीले केन्द्रसम्मै पहल गर्दै आएका छौँ ।”

झापाको प्राकृतिक जङ्गलको रुपमा निचाझोडा र जलथल चारकोसे झाडी रहेका छन् भने दर्जनौं सामुदायिक बन जिल्लाभर फैलिएका छन् । दक्षिणको कचनकबलदेखि उत्तरको बाहुनडाँगीसम्मको १२० किलोमिटर लामो सौर्य विद्युतीय घेराबेराको कार्य अन्तिम चरणमा पुगिसकेको छ । निचाझोडा, जलथल, पाँचपोखरी, जुकेखाडी, तेलपानी र रतुवामाई वृक्षारोपण आयोजनाको जंगलभित्र रैथाने हात्तीले बासस्थान बनाएका छन् । ती जङ्गलभित्र हात्तीका लागि खाने आहारको अभाव भएको हुँदा भोकाएका हात्तीहरु साँझ पर्नासाथ मानव वस्तीतिर पस्ने गरेको जानकारहरु बताउँछन् ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेल मानिसले आफ्नो मात्र नभएर यो धर्तीकै सबैभन्दा ठूलो प्राणी हात्तीको सुरक्षित बासस्थान र आहारका पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । “हात्तीको सबैभन्दा ठूलो सकट नै आहारको खोजी हो,” खरेल भन्नुहुन्छ–“दैनिक २०० केजी आहार नभए उसको पेट भरिन्न । अहिलेको जङ्गलमा बाँदर र चराले खाने आहार नै छैन । हात्तीहरु बाँच्नका लागि आहारको खोजी गर्दै मानव वस्तीमा पस्ने गरेका छन् । जङ्गलमा हात्तीले रुचाउने फलफूलका बिरुवा हुर्काउने हो भने यसबाट हात्ती आफ्नै बासस्थानमा फर्किने सम्भावना छ ।”

सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : बिजुक्छे

दमक (झापा) ७ असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सबै जातजाति भाषाभाषीहरूको मागलाई सम्बोधन गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ ।

कोशी प्रदेशको नामकरणमा असहमति जनाउँदै पहिचानवादी समूहले आन्दोलन चलाइरहेको बेला आज झापाको दमक आइपुग्नुभएका अध्यक्ष विजुक्छेले देशका सबै भाषाहरूको संरक्षण गरी भाषिक, सांस्कृतिक रूपमा बलियो देश निर्माण गर्न जरुरी भएको बताउनुभयो । सोभियत सङ्घले त्यहाँका सबै भाषाभाषीको विकास गरेर देशलाई बलियो बनाए झैँ यो देशलाई पनि त्यसरी नै समृद्ध बनाउन सकिने उहाँको भनाइ छ । 

उहाँले नागरिकले आफ्ना हक, अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था आउनु ठीक नभएको धारणा राख्नुभयो । अध्यक्ष बिजुक्छेले देशभक्त समाजवादी मोर्चाको अभियानमा केन्द्रित हुन नागरिकलाई आह्वान गर्नुभयो । आफूद्वा रा लिखित ‘समाज विकासको एक झलक’ र ‘युक्रेनमा नवनाजीवाद’ पुस्तकबारे अन्तरक्रियामा सहभागी हुन प्रमुख वक्ताका रूपमा प्रस्तुत हुनुभएका उहाँले सहभागीसँग राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक परिवेशका विषयमा अन्तरक्रिया गर्नुभयो ।

सो अवसरमा देशभक्त समाजवादी मोर्चाका अध्यक्ष एवं पूर्वमन्त्री गोपाल किरातीले पूर्वमा चलिरहेको पहिचानको आन्दोलनप्रति समर्थन जनाउँदै यसलाई ठूला दल र सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । सो पुस्तकमाथि डा कमल तिगेलासहित नेमकिपाकी सङ्घीय सांसद् सदस्य सिर्जना सैजु, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङवा, जयराम संयोकलगायतले पनि चर्चा गर्नुभएको थियो ।

राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्ड

बेइजिङ, ७ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार (हिजो) भएको भेट र छलफलले आफू उत्साहित भएको बताउनुभएको छ ।चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज साँझ बेइजिङस्थित नेपाली दूतावासमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त वार्ता निकै सौहार्द्रपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास आफूले लिएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस पटकको चीन भ्रमणको यो फरक र विशिष्ट उपलब्धि भएको भएको छ र राष्ट्रलाई चीनसँगको कुराकानीबाट विश्वासको थप वातावरण सिर्जना भएको महसुस मैले गरेको छु ।” नेपाल/चीन बीचको सदियौँ पुरानो सम्बन्धलाई यो भ्रमणले नयाँ आयाम थपेको भन्दै उहाँले सीसँगको वार्ताका क्रममा नेपालको विकासका लागि सहयोगका साथै नयाँ क्षेत्रहरूमा लगानीका विषयमा समेत कुराकानी भएको बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि सरकारको एकल प्रयासमात्र सम्भव नहुने भन्दै वर्तमान सरकारले निजी क्षेत्रसँगको सहकार्यबाट अघि बढ्ने नीति लिएको बताउनुभयो । यस पटक आफूले संयुक्त राष्ट्रसङ्घीय महासभामा नयाँ तथा फरक मुद्दा उठाएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

उहाँले नेपालको शान्ति प्रक्रिया नयाँ र फरक प्रकृतिको रहेको र यससम्बन्धी सङ्क्रमणकालीन न्यायका कतिपय काम टुङ्ग्याउनुपर्ने कुरा आफूले अन्तरराष्ट्रिय समुदायलाई भनेको बताउनुभयो । त्यसैगरी जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको असरका साथै अति कम विकसित राष्ट्रहरूका मुद्दा पनि आफूले एलडिसीको अध्यक्ष देशका हैसियतमा उठाएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले यसपटकको भ्रमण नेपाल–चीनसम्बन्धका विविध आयामहरूलाई थप प्रगाढ बनाउने कार्यमा केन्द्रित रहेको भन्दै आगामी दिनमा सहयोग र समझदारीका क्षेत्रहरू बढ्ने तथा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा आदि विषयमा सहयोग आदानप्रदान थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । यो पटक आर्थिक विकास र समृद्धितर्फ देशलाई अगाडि लैजाने बाचासहित आफू प्रधानमन्त्री भएको प्रसङ्ग उल्लेख गर्दै सोहीबमोजिम वर्तमान सरकारले काम अगाडि बढाएको र परिणाम पनि देखा परिरहेको प्रधानमन्त्री दाहालको भनाइ छ ।

यसअघि प्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीको संस्था सिसिपिआइटीद्वारा नेपाल–चीन विजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीका प्रचुर सम्भावना रहेकाले लगानी गरी लाभ लिन चिनियाँ उद्योगीलाई आग्रह गर्नुभएको थियो । त्यस अवसरमा उहाँले भन्नुभयो, “कुनै पनि देशको विकास सरकार आफैँले मात्र गर्न सक्दैन, देशको आर्थिक समृद्धिको ‘इन्जिन’ निजी क्षेत्र भएकाले सहयोग र सहकार्यका साथ अगाडि बढ्न चाहेको कुरा मैले बारम्बार गरेको छु, आज पनि यहाँ दोहोर्‍याउन चाहन्छु ।”

ऊर्जामन्त्री बस्नेत र वनमन्त्री महतोबीच छलफल

काठमाडौँ ७ असोज : वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानका विषयमा देखिएका समस्या समाधान गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोबीच छलफल भएको छ ।

वन तथा वातावरण मन्त्रालयमा आज भएको छलफलमा वन क्षेत्रको जग्गा प्रयोगका सन्दर्भमा सहमति प्राप्त हुन नसक्दा जलविद्युत् र सिँचाइ आयोजनाको काम लामो समयदेखि अगाडि बढ्न नसकेको पाइएकाले तत्काल समस्या समाधान गरिदिन ऊर्जामन्त्री बस्नेतले आग्रह गर्नुभयो । अधिकांश प्रसारण लाइनका आयोजनामा समस्या देखिएको र वन क्षेत्रको जग्गा प्रयोगको अनुमति पाउन नसक्दा आयोजनाको लागत बढेको तथा समय बढ्न जाँदा राष्ट्रिय रुपमा नै जटिलता पैदा भएको मन्त्री बस्नेतको भनाइ थियो ।

मन्त्री बस्नेतले समस्या मात्रै देखाउने र समाधानको उपाय नखोज्ने प्रवृत्ति मौलाएको भन्दै तत्काल निरुपणको उपाय खोजिदिन वन मन्त्रालय र सम्वद्ध अधिकारीलाई आग्रह गर्नुभयो । “यो ऊर्जा जलस्रोत र सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको मात्रै समस्या होइन, राष्ट्रिय समस्या हो । कानुनी रुपमा नै समाधान गर्नुपर्ने भए कानुनमा सुधार गरौँ, मन्त्रिपरिषद्बाट समाधान हुने भए मन्त्रिपरिषद्मा लैजाऔँ”, मन्त्री बस्नेतले भन्नुभयो, “व्यावहारिक रुपमा मिलाउन सकिने अवस्था भए तल नै मिलाऔँ । तर लामो समयसम्म आयोजना अल्झाएर राख्दा मुलुकले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । यसलाई विशेष ख्याल गराँै ।”

आफूले पनि विगतमा वन तथा वातावरण मन्त्रालय सम्हालेको दृष्टान्त पेश गर्दै मन्त्री बस्नेतले हरित ऊर्जा उत्पादनमा बढावा दिनका लागि पनि यस मन्त्रालयले ऊर्जा मन्त्रालयलाई केही सहजीकरण गरिनुपर्ने बताउनुभयो । वन क्षेत्रको जग्गा प्रयोग, रुख कटानको अनुमति नपाउने हो भने काठमाडौँ उपत्यकामा नै थप बिजुली ल्याउन नसकिने अवस्थाको सिर्जना भएको उल्लेख गर्दै मन्त्री बस्नेतले यस विषयलाई गम्भीरताका साथ लिइदिन आग्रह गर्नुभयो । मन्त्री बस्नेतले कानुनको दफा मात्रै समात्ने प्रवृत्ति बढेको, कर्मचारीतन्त्रले फुकाउन सक्ने कतिपय विषयमा समेत निर्णय हुन नसक्दा पूर्वाधारका आयोजनामा समस्या पैदा भएको स्पष्ट पार्नुभयो ।

अधिकांश प्रसारण लाइनमा समस्या देखिएको र अब त्यस्ता आयोजना अगाडि बढाउनै नसकिने अवस्थामा पुगेको उल्लेख गर्दै मन्त्री बस्नेतले यसलाई राष्ट्रिय दायित्व ठानेर समाधानको प्रयास गर्न वन मन्त्रालयलाई आग्रह गर्नुभयो । मन्त्री बस्नेतले समस्या लामो समयसम्म राख्न सकिने अवस्था नरहेको उल्लेख गर्दै कोहलपुर–सुर्खेत प्रसारण लाइनका कारण समग्र कर्णाली प्रदेश नै अध्यारो हुने अवस्था आएकाले तत्काल अगाडि बढाइदिन अनुरोध गर्नुभयो । राष्ट्रिय निकुञ्जभित्र काम गर्न नपाएका कारण एक सय ३२ केभी क्षमताको सो प्रसारण लाइन लामो समयदेखि अगाडि बढ्न सकेको छैन ।

यस्तै, कोशी करिडोर, मस्र्याङदी करिडारेलगायतका आयोजनामा पनि वनकै कारण समस्या पैदा भएको छ । यसैगरी, तनहुँ सेती जलविद्युत् आयोजनाको बाँधस्थल र प्रसारण लाइन निर्माणमा पनि जटिलता पैदा भएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनामा पनि वन क्षेत्रको जग्गा प्रयोग र रुख कटानमा समस्या देखिएको छ ।

सो अवसरमा वन तथा वातावरणमन्त्री महतोले स्वच्छ ऊर्जा उत्पादनमा सरकारकोतर्फबाट अन्तर्राष्ट्रिय मञ्चमा गरिएको प्रतिबद्धतालाई कार्यान्वयन गर्न पनि जलविद्युत् आयोजना निर्माणमा सहजीकरण गर्नुैपर्ने बताउनुभयो । उहाँले भौतिक पूर्वाधार निर्माणको काम राष्ट्रिय आवश्यकता र महत्वका भएकाले असाध्यै रुढीवादी तरिकाले सोच्न नहुने उल्लेख गर्नुभयो ।

ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक विकासको आधार स्तम्भका रुपमा लिइएकाले पनि यसमा सहजीकरण गर्नु हामी सबैको दायित्व भएकाले सोहीअनुसार व्यवहार गर्न मातहतका सबै अधिकारीलाई मन्त्री महतोले निर्देशन दिनुभयो । वातावरण संरक्षणका दृष्टिले पनि जलविद्युत् आयोजनालाई सहजीकरण गर्नैपर्ने दायित्वलाई आत्मसात गर्न मन्त्री महत्तोले आग्रह गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर आयोजनाहरुलाई अगाडि बढाउन सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव दीपकुमार खरालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मातहतका आयोजना वन मन्त्रालयको समेत आयोजना भएकाले आवश्यक सहयोग, समन्वय हुने बताउनुभयो । उहाँले विदेशी स्टिलका पोल छाडेर स्वदेशी वनको पोल प्रयोग गरिदिन नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमा निर्णय हुन नसक्दा अधिकांश आयोजना चपेटामा परेकाले समय र लागत दुवै बढेको बताउनुभयो । उहाँले समस्या समाधानमा तदारुकता देखाइदिन र आफ्नै समस्या हो भन्ने ठानेर सहजीकरण गरिदिन आग्रह गर्नुभयो । छलफलमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरषण विभागका महानिर्देशक डासिन्धुप्रसाद ढुङ्गाना, वन तथा भुःसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेलगायतको उपस्थिति थियो ।