`

जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक: राष्ट्रपति पौडेल

काठमाडौँ ६ असोज- राष्ट्रपति रामचन्द्र पौडेलले जीवनलाई सुखमय बनाउन योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ । गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक योग ध्यानसम्बन्धी स्वजागरण अभियानको शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले योगले ‘स्वस्थ मन’ बनाउने छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता छ । ” चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गर्नुभयो ।उहाँले अलिकति योग, व्यायाम गर्दा पनि शरीरलाई स्वस्थ बनाउन सहयोग हुने छ भन्नुभयो । आफुले थोरै प्रणायाम गर्दा पनि त्यो महसुस गरेको उहाँको भनाइ थियो । धन दौलत कमाएर, लोभ गरेर, आशक्तिमा बस्दा हाम्रो जीवनलाई कमजोर र दुखि बनाएको जनाउँदै उहाँले योगकै बाटो अनुशरण गरेर सुख खोज्नुपर्नेमा जोड दिनुभयो । समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्रालयको योग र ध्यान गर्ने निर्णयअन्तर्गत यो कार्यक्रम शुरुआत गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमलाई प्रदेश र जिल्लामा समेत विस्तार गर्न लागिएको उहाँले बताउनुभयो ।उहाँले अपराध नियन्त्रण तथा सेवा दिने काम हुँदाहुँदै गृहअन्तरगतका निकायले आफ्नो कार्य क्षेत्रमा कामलाई सकारात्मक र प्रभावकारी बनाउनका लागि योगलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले प्रहरीको हकमा कुन बेला गर्ने भनेर योजना बनाउन बाँकी रहेको तर प्रशासनिक क्षेत्रमा अफिस समयको शुरुको १५ मिनेट योगाभ्यास गर्ने गरी योजना बनाइएको बताउनुभयो । सुशासन अभियानका लागि पनि योग र ध्यानको अभ्यास जरुरी रहेको उहाँले बताउनुभयो । उक्त अभियान अपराह्न ४ः३० सम्म योगाभ्यास, प्राणायम र उर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ ।

हराउँदै गएको पोषणयुक्त रैथानेबाली रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर, ६ असोज ः खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंकले रैथाने बालीको संरक्षण गर्नेभएको छ । पछिल्लो समयमा यहाँका पोषणयुक्त रैथानेबाली हराउँदै गएकाले यस्ता बालीको संरक्षण गरिने भएको हो ।

भोजपुरका सबै स्थानीय तह, कृषक, कृषि सहकारी लगायतसँगको सहकार्यमा रैथानेबालीको विकास तथा संरक्षण गरिने पत्रकार सम्मेलनमार्फत बैंकका अध्यक्ष शङ्खरनाथ उप्रेतीले बताउनुभयो । कृषिमा बाहिरबाट हुने आयत घटाएर प्राङ्गारिक उत्पादनमा जोड दिँदै रैथाने बालीको संरक्षण गरिने अध्यक्ष उप्रेतीको भनाइ छ ।‘‘हाम्रा मौलिक तथा परम्परागत रैथाने बाली लोप भइरहेका छन्’’, अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘‘यी बालीको संरक्षण गर्दै देशलाई खाद्यन्नमा आत्मनिर्भर बनाउने लक्ष्यले बैंकको स्थापना गरेका हौँ । रैथाने बालीको संरक्षण गरेर सबैको भान्सामा पु¥याउने गरी यो बैंकले काम गर्दै आएको छ ।’’खास गरेर कोदो, फापर, जौ, चिनो कागुनोसँगै धान, मकै, आलुलगायतको पनि रेथाने बालीको खोजी तथा संरक्षण गरिने उहाँको भनाइ छ । किसानले उत्पादन गरेको बालीको बजारीकरणको जिम्मा बैंकले लिनेसमेत उहाँको भनाइ छ । किसानलाई उत्पादन, श्रम र शेयरमा जोडेर यसलाई आफ्नै बैंकको अपनतो दिलाउने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । भोजपुरमा पनि कार्यालय स्थापना गरेर यसको संरक्षणमा जुटेको बैंकले जनाएको छ ।यहाँ नौ वटै स्थानीय तहका ८१ वटा वडामा कृषि लक्षित कार्यक्रम गरिने बंैकले जनाएको छ । ‘‘भोजपुरको सबै भुगोलको माटो परीक्षण पश्चात खेती विस्तारमा जुट्छौँ’’, अध्यक्ष उप्रेतीले भन्नुभयो, ‘‘यहाँको भूगोल र माटो सुहाउँदो बालीको उत्पादनमा जोड दिन्छौँ ।’’कृषिलाई सम्मानित र मर्यादित पेशा बनाएर कृषकको आर्थिक अवस्थामा परिवर्तन गर्दै समृद्धिको अभियानमा जुट्ने जनाइएको छ । कृषिको माध्यमबाट मुलुकमा रोजगार सिर्जना गर्ने, यस क्षेत्रमा लागेका वैज्ञानिक एवं प्राविधिकको सहयोगमा आधुनिक प्रविधिको प्रयोग गर्दै कृषिको आधुनिकीकरण गरिने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । उत्पादक र उपभोक्ता सिधैँ बैंकसँग जोडिने भएकाले कृषकहरुले बिचौलियाको मारबाट उन्मुक्ति पाउने उहाँको भनाइ छ ।बैंकले कृषि क्षेत्रमा जोडिएका कृषि कम्पनी, कृषि सहकारी, सरकारी एवं गैरसरकारी संघसंस्थालगायतसँग सहकार्य गरेर उत्पादनमा वृद्धि गर्ने जनाएको छ । बाँझो, खाली तथा प्रयोगविहीन जमिनको सदुपयोग गर्दै गुणस्तरयुक्त खाद्यान्न, तरकारी, जडीबुटी, चिया, कफी, अलैँची, माछामासुलगायतमा देशलाई आत्मनिर्भर बनाउने बैंकको भनाइ छ ।जनस्तरबाट रु दुई अर्ब लगानीमा स्थापना भएको बैंकले हालसम्म २२ वटा जिल्लामा कृषिको क्षेत्रमा काम गर्दै आएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । कोशी प्रदेशका भोजपुरसहित पाँच वटा जिल्लामा कृषिसम्बन्धी काम गर्ने जनाइएको छ ।

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा, ६ असोज ः घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर नगरपालिका–९ का डीएन्डडी बायोप्लान्टेक नामक कम्पनी सञ्चालक डिल्लीराम उप्रेतीले बताउनुभयो ।

विगत १० वर्षदेखि नर्सरी व्यवसायमा लाग्नुभएका उप्रेतीले तीन कठ्ठा जमिनमा यतिबेला सयपत्री फूल ढकमक्क फुलाउनुभएको छ ।उहाँले मेचीनगर नगरपालिका–९ मा तीन कठ्ठा र विर्तामोड नगरपालिका–६ बुट्टाबारीमा १५ कठ्ठा जमिनमा सयपत्री फूलको व्यावसायिक खेती गर्र्दै आउनुभएको छ । तीमध्ये मेचीनगरमा लगाइएको फूल ढकमक्क फुलेर धमाधम बिक्री भइरहेको छ । उहाँको बारीमा फुलेको सयपत्री फूल खरिदका लागि विर्तामोड, धुलाबारी र काँकरभिट्टाका सङ्घसंस्था धेरै आउने गरेका छन् । बाह्रै महिना सयपत्री फूलको उपलब्धता हुने भएपछि जिल्लामा हुने अधिकांश सभा समारोहमा त्यही प्रयोग हुन थालेको उहाँले बताउनुभयो । उहाँले अग्रिम फूलका अर्डर गर्ने संस्थासंस्थाको कार्यक्रमस्थलमै माला पु¥याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“सयपत्री फूल फुल्न सिजन चाहिँदैन”, उहाँले भन्नुभयो, “गर्दा बाह्रैमास हुन्छ । व्यावसायिक रुपमा गरिरहेको छु, आम्दानी पनि भइरहेको छ ।” उहाँले उत्पादन गर्न सके बजारको समस्या नहुने बताउनुभयो । उहाँको बारीमा फुलेको सयपत्री फूलप्रति माला रु ५० का दरले बिक्री हुने गरेको बताउनुभयो । सयपत्री फूलको खेतीबाट थोरै लगानीमा धेरै आम्दानी हुने उहाँको बुझाइ छ ।

जिल्लामा विगतका वर्षमा चाडपर्वलाई मात्रै लक्षित गरेर सयपत्रीको फूल उत्पादन गर्ने गरिएको थियो । चाडपर्वमा फूलको माग बढ्ने भएपछि त्यसैलाई लक्षित गरेर समूह तथा व्यक्तिगत रुपमा फूलको व्यावसायिक खेती हुने गरेको हो । मेचीनगर, विर्तामोड, कनकाई, दमक, गौरादह नगरपालिकालगायतका किसानले पाँच कठ्ठादेखि एक विगाह जमिनमा तिहारलाई लक्षित गरेर सयपत्री फूलको खेती लगाएका छन् । स्थानीय सरकारले किसानलाई प्रोत्साहन स्वरुप सुलभ कर्जा र अनुदानमा लगानी गर्ने हो भने फूलको परनिर्भरतालाई हटाउन सकिने उहाँको बुभाइ छ ।

जनताको जीवनस्तर उकास्नु र उत्पादन बढाउनु पहिलो दायित्व – सांसद थापा

काठमाडौँ, ६ असोज ः नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले आमनागरिकका समस्या र जनजीविकासँग जोडिएका विषयलाई प्रतिनिधिसभाको बैठकमा प्राथमिकता साथ उठान गर्दै आउनुभएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०७९ मा दैलेखबाट निर्वाचित हुनुभएका उहाँलाई संसदमार्फत् आमजनताका समस्या सम्बोधन हुन नसकेको र बजेट विनियोजन तथा विकास निर्माणका काममा राजनीतिक शक्ति र पहुँच हाबी हुने गरेको अनुभूति भएको छ । ‘सांसदसँग रासस’ संवादका क्रममा उहाँले नतिजामुखी संसद् र जिम्मेवार सरकारको प्रत्याभूति अझै हुन नसकेको बताउनुभयो । भूमिका र जिम्मेवारीका हिसाबले विभिन्न कानुन निर्माण र आमनागरिकका विकास आकांक्षा पूर्ति गर्ने गरी सांसदले काम गर्नुपर्ने उहाँको बुझाइ छ । सांसदले आफ्नो विधायिकी भूमिका निर्वाह गर्नका लागि सरकारले पनि ‘बिजनेस’ दिन नसकेको सांसद थापा बताउनुहुन्छ । सांसदहरु विधायिकी भूमिकालाई उपेक्षा गरेर विकास निर्माणका काम तथा विभिन्न योजनामा बजेट माग्नेतर्फ मात्रै बढी अल्झेको भन्ने आम बुझाइमा उहाँ असहमत हुनुहुन्छ ।

“विधायिकी भूमिका कमजोर भएको भन्ने कुरामा सत्यता छैन । विधायिकी भूमिका निर्वाह गर्नका लागि सरकारले पनि संसद्लाई बिजनेस दिन आवश्यक छ”, उहाँ भन्नुहुन्छ, “बजेट प्रक्रियामाथि काम गर्नु पनि विधायककै जिम्मेवारी हो । विधायिकी भूमिका र विकास निर्माणका दुवै काम सांसदले गर्नुपर्ने भएकाले यसलाई दुई फरक नजरले नभई एउटै नजरले हेर्नुपर्ने हुन्छ ।”

नागरिकका विकास आकांक्षा बुझेर आयोजना छनौट गर्ने, बजेट निर्माण गर्ने, पारित गर्ने र कार्यान्वयनको प्रगतिको अवस्थाबारे सोधखोज गर्ने काम पनि सांसदले गर्नुपर्ने उहाँको भनाइ छ । सांसदहरु आयोजना माग्ने र आफैँ विकासमा लाग्ने गरेको भन्ने गलत बुझाइ आम मानिसमा रहेकाले यस्तो भ्रम चिर्न आवश्यक रहेको थापा बताउनुहुन्छ ।

“सांसदलाई नागरिकको विकास आवश्यकता थाहा हुन्छ । सोहीअनुसार कानुन बनाउने र त्यसको कार्यान्वयन पनि गर्ने हो । विकासको काम व्यवस्थापिकाले गरेको भनेर त्यसलाई गैर जिम्मेवार भन्न मिल्दैन । त्यसो भए के व्यवस्थापिकाको काम अदालतले र अदालतको काम व्यवस्थापिकाले गर्ने भन्ने हुन्छ र ?”, प्रश्न गर्दै उहाँ भन्नुहुन्छ, “सबैले आआफ्नो कार्यक्षेत्रभित्र रहेर काम गर्नुपर्छ ।”
सरकारले वितरणमुखी बजेट बनाउँदा सांसदहरु उपेक्षामा पर्ने गरेको उहाँको बुझाइ छ । राजनीतिक पहुँच र शक्तिका आधारमा बजेट छुट्याइँदा जनताका प्रतिनिधिले त्यसमा अपनत्व लिन नसक्ने भएकाले संसदीय क्षेत्र पूर्वाधार विशेष कार्यक्रम ठिक रहेको पनि उहाँको दाबी छ ।

“एउटा सांसदले कुनै योजना लैजान्छ भने त्यसप्रति जिम्मेवार पनि बनाउँछ । हामीसँग जनताले आश, भरोशा गरेका हुन्छन् । जनतालाई सन्तोष गर्न नसक्ने, अनि सांसदले पैसा लियो भन्ने बुझाइ राख्नु गलत हो”, उहाँ भन्नुहुन्छ, “सांसदहरुले आफ्नो निर्वाचन क्षेत्र बनाउनेतर्फ लाग्नैपर्छ । लगेर आफ्नो खल्तीमा हाल्छन् भन्ने बुझाइ सरासर गलत हो ।” यस्ता कार्यक्रमभित्र पर्ने योजना छनौट सांसदले गर्ने भएपनि त्यसको कार्यान्वयन, अनुगमन, भुक्तानी, लेखापरीक्षणलगायतका काम सरकारी संयन्त्रले गर्ने उहाँको भनाइ छ ।

संसद्मा आरोप प्रत्यारोप हुने र धेरैपटक अवरुद्ध भइरहँदा जनजीविकाका कुरा त्यहाँ आउन नसकेको भनेर आलोचना हुने गरेको छ । यसलाई सांसद र सरकार दुवैको कमजोर मान्न सकिने उहाँ बताउनुहुन्छ । “असल कुराको प्रसंशा र समर्थन सबैले गर्ने हो । गलत कामको भण्डाफोर र विरोध नै गर्ने हो । प्रतिपक्षले पनि यसमा सशक्त भूमिका खेल्न सक्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “गलत काम गर्दा सबै मिलिजुली गर्ने गर्ने तर असल काम गर्नेहरुका विरुद्धमा लाग्ने प्रवृत्ति छ । असल कामलाई पनि गलत हो भनेर सावित गर्न खोज्ने आम चरित्र छ । यो चरित्र हटाउनुपर्छ ।”

सरकार र संसद्ले अहिले मुख्यगरी दुई वटा कुरामा ध्यान दिन आवश्यक रहेको उहाँको बुझाइ छ । पहिलो, गरिबीको रेखामुनी रहेका नागरिकको जीवनस्तर उठाउने गरी योजना ल्याउने र दोस्रो, राज्यको स्रोत उत्पादनमुखी क्षेत्रमा लगाउने नीति लिनुपर्ने । “परिणाममुखी बनाउने गरी काम गर्ने हो भने गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउन सक्नुपथ्र्यो । सँगसँगै उत्पादनमुखी कार्यक्रम पनि चाहियो”, सांसद थापा भन्नुहुन्छ, “राज्यको ढुकुटीमा पैसा आएन भने वितरण मात्र गरेर भएन । आफ्नो उत्पादन भएन भने हामी सधैँ स्रोतमा परनिर्भर भइराख्छौँ । यसकारण उत्पादन पनि बढाउन आवश्यक छ ।”

आन्तरिक उत्पादन बढ्न नसकेर स्रोतमा चाप परेकै कारण सांसदले सरकारसँग माग्ने र सरकारले दातृ निकायसँग माग्ने चरित्र विकास हुँदै गएको उहाँ बताउनुहुन्छ । आफ्नो क्षमता विकास नगरेर सधैँ दाताको भर पर्दा त्यसले अर्थतन्त्रलाई थप असर गर्ने भएकाले उत्पादन बढाउनु नै अहिलेको मुख्य विकल्प रहेको थापा बताउनुहुन्छ ।

बजेटमा हस्तक्षेप हुँदा समन्यायिक वितरण हुन नसकेको र आर्थिक अनुशासन उल्लंघन बढिरहेको सांसद थापाले दाबी गर्नुभयो । “वितरणमुखी र बिचौलिया हावी हुनेगरी बजेट आउँदा त्यसले कसैको पनि हित गर्दैन । बजेट पास गर्ने सांसदहरुले बरु केही पाएका छैनन्, बिचौलिया र आसेपासेले शक्ति र पहुँचको आधारमा आफूखुसी बजेट पारेका छन्”, उहाँ भन्नुहुन्छ । यस विषयमा आफूलगायत धेरैजना सांसदले सदनमा बोलेका थापाको भनाइ छ ।

राजनीतिक पहुँच एवं शक्तिको आडमा बजेट लैजाने तर सांसदले आफ्नो निर्वाचन क्षेत्रका लागि केही पनि गर्न नसक्ने अवस्था अहिले रहेको उहाँको दाबी छ । यसकारण पनि संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम चाहिन्छ भन्नु सांसदको बाध्यता रहेको सांसद थापा बताउनुहुन्छ ।

सबै निकाय र पक्षले जिम्मेवार भएर काम गर्नसके अहिले देखिएका धेरै समस्या समाधान हुनेमा उहाँ आशावादी हुनुहुन्छ । त्यस्तै, कानून निर्माणका बेला पनि सांसदहरु स्वार्थ केन्द्रित हुन नहुनेमा उहाँले जोड दिनुभयो ।

“संसद्मा कुनै विधेयक आएपछि कसलाई मन पर्दैन, विरोध गरिहाल्छन् । जनताका पक्षमा हुनेगरी कानून नबनाउने, तर कुनै व्यक्ति र स्वार्थ समूहका लागि कानून बनाउने भन्ने हुँदैन । यसमा हामी होसियार भएर अघि बढ्नसक्नुपर्छ”, उहाँले भन्नुभयो, “सरकारले विजनेस दिन नसकेर केवल संसद मात्र चलाई राख्दा भत्ता लगायतका दायित्व बढ्ने भएकाले यसबारे पनि हामीले सोच्नुपर्छ ।”

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको उद्घाटन राष्ट्रपतिबाट

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा आज हुने ‘ध्यानद्वारा ऊर्जा जागरण’ एक दिवसीय कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ ।

गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा आज बिहानमा राष्ट्रपति पौडेलबाट उक्त कार्यशालाको समुद्घाटन हुनेछ ।

कार्यशालामा अपरान्ह ४ः३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुख र प्रधानसेनापति प्रभुराम शर्मासमेतलाई आमन्त्रण गरिएको छ ।

गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृत, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनुहुनेछ ।

गृह मन्त्रालयले ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पु¥याउने चरणबद्ध अभियान तय गरेको छ ।

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ – मन्त्री भुसाल

दमौली – कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले कृषि तथा पशुको स्वास्थ्यको विषयलाई प्राथमिकता दिएको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा नवनिर्मित शुक्लागण्डकी भेटेरेनरी अस्पतालको शुक्रबार उद्घाटन गर्दै मन्त्री भुसालले पशुको स्वास्थ्यको विषयलाई अहिलेको सरकारले महत्व दिएको बताउनुभयो । पशुको मासु र पशुजन्य उत्पादन मानिसले प्रयोग हुने भएकाले पशु स्वस्थ राख्नुपर्नेमा मन्त्री भुसालको जोड थियो ।

उहाँले भन्नुभयो, “हामी जति मानवको स्वास्थ्यको बारेमा सचेत छौँ, त्यसको एक प्रतिशत पनि पशुको स्वास्थ्यको बारेमा प्राथमिकता दिएको पाउदैनौँ । अहिलेको सरकार पशु स्वास्थ्यको क्षेत्रमा पनि काम गर्नुपर्छ भनेर लागि रहेको छ ।” मन्त्री भुसालले नेपालमा कृषि र पशुपालननै कृषिको मुख्य आम्दानीको स्रोत भएको बताउँदै वर्तमान सरकारले यसैलाई प्राथमिकता दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले किसानको हितमा काम गरेको छ । हामीले समयमै मल उपलब्ध गरायौँ । विद्यार्थीको हातमा समयमै पाठ्पुस्तक पु¥यायौँ ।”

गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सीमित स्रोत र साधनबाट प्रदेश सरकारले काम गरिरहेको बताउँदै किसानका समस्या पहिचान गरि समाधान गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले तीनै तहका सरकारले वास्तविक किसानलाई प्रोत्साहन गर्न नसके पलायन हुन सक्ने बताउनुभयो ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा मूल्य अभिवृद्धि कर बाहेक रु एक करोड २५ लाख १५ हजार लागतमा एक तले भवन निर्माण गरिएको हो । देशभर २८ वटा पालिकामा भवन निर्माण गरिएको आयोजनाका निर्देशक डा रामनन्दन तिवारीले जानकारी दिनुभयो । आयोजनाले पशु स्वास्थ्य, नश्ल सुधार, खोप आपूर्ति लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । तनहुँमा बन्दीपुर र शुक्लागण्डकीमा अस्पताल भवन निर्माण गरिएको छ । भवनबाट आधारभूत प्रयोगशाला सेवा, पशुचिकित्सक सेवा, सर्जरी तथा बन्ध्याकरण लगायतका सेवा प्रदान गरिने पशुसेवा शाखा शुक्लागण्डकीका प्रमुख मुक्तिराम पौडेलले जानकारी दिनुभयो ।

मुगुको गमगढीमा आगलागी, ८ वटा घर पुर्ण रुपमा जलेर नष्ट

मुगु, ६ असोज ः मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति आगलागी भएको छ । गमगढी बजारस्थित कालिका मालिका मन्दिरदेखि उत्तरतिर रहेको बजारमा आगलागी हुँदा छ घरमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

नेपाली सेना ,नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, नगर प्रहरी र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । उहाँका अनुसार गएराति काठले बनेको एकघरबाट आगो सल्किएको थियो । आगलागीबाट तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पञ्च सेजुवाल, पिआर मल्ल , प्रदीप रावल र पुतली शाहीको घर जलेर नष्ट भएका प्रनाउ थापाले जानकारी दिनुभयो ।

आगो नियन्त्रणका लागि गमगढी बजारमा वितरण गरेको खानेपानी पाइप लाइनबाट सुरक्षाकर्मीहरुले आगो नियन्त्रण गरेका थिए । विसं २०७८ कात्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा पनि आगलागी हँुदा १९ घर जलेर नष्ट भएका थिए ।

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलबमा मलेसिया पठाइदिन्छु भनी रु तीन लाख ठगी गर्ने डोटी शिखर नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–३२ सेतोपुल बस्ने ३२ वर्षीय धनबहादुर बोगटीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले पक्राउ धनबहादुरले डोटीकै कृष्णबहादुर बोगटीलाई मलेसियामा मासिक रु ६० हजार हुने प्रलोभन पारी रु तीन लाख ठगी गरेकाले पक्राउ गरिएको जानकारी दिनुभयो ।

तीन लाख ठगी गरेर फरार रहेका धनबहादुरलाई वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी गरेसँगै पक्राउ गरिएको प्रवक्ता रेग्मीले बताउनुभयो । पक्राउ धनबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको सो कार्यालयले जनाएको छ ।

भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बुवाको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संविधानमा उल्लेखित नागरिकता प्राप्तिको सवालमा बुवा पहिचान नभएको सन्दर्भमा व्याख्या गर्दै सर्वोच्चले पहिचानलाई भौतिक उपस्थिति, वात्सल्य प्रेम र हेरविचार तथा जिम्मेवारीसँग जोडेको छ ।

कुमारी आमाबाट जन्मिएकी कृष्टिना महर्जनलाई बुवाको ठेगानामा गएर जन्मदर्ता र नागरिकताको प्रक्रिया सुरु गर्न ललितपुरको महालक्ष्मी नगरपालिका–६ ले गरेको दरपिठविरुद्धको रिटमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले कसैले परिचय दिएकै आधारमा भौतिक र भावनात्मक सम्बन्ध नभएका व्यक्तिलाई बुवा स्वीकार गर्न लगाउनु न्यायसङ्गत नहुने व्याख्या गरेको हो ।

साउन २३ गते भएको आदेशको पूर्णपाठ अदालतले शुक्रबार सार्वजनिक गरेको छ । जन्मदर्ता र नागरिकता प्राप्तिको प्रक्रियामा ढिलाइ गर्नु उचित नहुने पनि आदेशमा उल्लेख गरेको छ ।

सर्वोच्चको पूर्णपाठमा भनिएको छ, “आमा र परिवारका अन्य सदस्यले जैविक बुवा भनी नाम वतनसम्म खुलाएको तर त्यस्ता बालबालिका त्यस्तो परिचयप्रति अनभिज्ञ रही आफू बालिग भएपछि ती विवरणलाई वस्तुनिष्ठ रूपमा पुष्टि गर्नसक्ने अवस्था विद्यमान छैन भने त्यस्ता बालबालिका वा निज बालिग भएपछि कसैले नाम वतनसम्म खुलाएकै आधारमा कहिल्यै भौतिक वा भावनात्मक रूपमा समेत सम्पर्क वा सम्बन्धमा नरहेका व्यक्तिलाई बुवाका रूपमा परिचय दिई दिलाई स्वीकार गर्न बाध्य गर्नु न्यायोचित एवं तर्कसङ्गत हुँदैन । राज्य संयन्त्रले पनि यसो गरेमा ती बालबालिकाप्रति न्याय हुँदैन ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

पशुपतिनाथ मन्दिरमा जलहरी विवाद

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भएको भ्रष्टाचार विषयमा अनुसन्धान प्रक्रियालाई तीव्र बनाएको छ । केही दिनयता आयोगले संलग्न पदाधिकारीलाई बोलाई बयान लिइरहेको र प्रमाण सङ्कलन गरी अनुसन्धानलाई तीव्र बनाएको हो । ‘अनुसन्धान भइरहेको छ, केही दिन लाग्छ, अहिले बयान अन्तिम चरणमा पुगेको छ,’ आयोग स्रोतले भन्यो ।

कार्यालयको महालेखापरीक्षक प्रतिवेदनअनुसार जलहरी बनाउँदा करिब ११ किलो सुन अपुग भएको उल्लेख गरेपछि विवादमा सतहमा आएको थियो । त्यसको त्यति बेलाको मूल्य ‘करिब आठ करोड रुपैयाँ हुन आउने भएपछि झन् विवाद बढेको थियो । यही मुद्दामा गत जेठमा संसद्मा हङ्गामा भएको थियो ।

२०७४ माघ १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथमा सङ्कल्प पूजा गरेर एक अर्बको जलहरी राख्ने घोषणापछि १०८ किलोको जलहरी राखिएको थियो । त्यसमा सरकारले ३० करोड रुपैयाँ दिने निर्णय गरेको थियो भने पशुपति क्षेत्र विकास कोषले ५० करोड रुपैयाँ थपेर सुनको जलहरी राख्ने निर्णय गरेपछि त्यहीँ शङ्का उत्पन्न भएको भन्दै अख्तियारमा उजुरी परेको थियो । यो निर्णयसँगै २०७७ फागुन ११ गते जलहरी राखिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

काठमाडौँमा घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै

काठमाडौँ । आर्थिक मन्दीका कारण काठमाडौँ महानगरपालिकाभित्र घर वा सटर खाली गराउन निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ महानगरमा विभिन्न व्यापार व्यवसाय गरेर बसेका व्यवसायी सम्पर्कविहीन भएपछि घरधनीले खाली गराउन निवेदन दिएका छन् ।

कतिपय व्यवसायी सम्पर्कमा भए पनि भाडा उठाउने विषयमा असहमति हुँदा पनि घर वा सटर खाली गराउन निवेदन पर्ने गरेको पाइएको छ । काठमाडौँ महानगरपालिकाका निर्देशक सुमित्रा लामिछानेले गत आर्थिक वर्ष २०७९/८० मा ६६ जना घरधनीले घर खाली गराउन निवेदन दिएको बताए । तीमध्ये ५० वटाको महानगर न्यायिक समितिबाट फैसला भइसकेको छ भने १६ वटा मुद्दाको किनारा लाग्न सकेको छैन ।

चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा २८ जना घरधनीले निवेदन दिएका छन् । जसमा घर खाली, निर्माण रोक्का, अंश, छलफल गराई पाऊँ, रकम फिर्ता, करार कार्यान्वयनलगायत मुद्दा छन् । उनले कोरोनाअघि काठमाडौँ महानरमा घर खाली वा सटर खाली गराउन १०/१५ वटा मुद्दा पर्ने गरेकोमा पछिल्लो समय बढ्दै गएको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शनिबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। साथै लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ

हेर्नुहोस् असोज ६ गते शनिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – बल तथा पराक्रममा बृद्धि हुनेछ । साथीभाईहरुको साथ सहयोगमा जटिलकार्यहरु सम्पादन हुनेछन । धार्मीक यात्राको सम्भाबना रहेकोछ । कार्य क्षेत्रको लापरवाहिले माल सामान हराउन सक्ने सम्भाबनाका कारण कार्य क्षेत्रमा सामान्य अपजसको सामना गर्नु पर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्नेछ ।

बृष राशि – वाणिका कारण आफन्तजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । स्वास्थमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । आम्दानिका श्रोत फेलापरेता पनि शारीरिक आलस्यताले भने सताउनेछ ।

मिथुन राशि – पारिवारिक साथ सहयोग द्वारा ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । गरीरहेका कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको अवसर जुट्नेछ । गरीरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सम्भाबना रहेकोछ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि – शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । स्वास्थमा सामान्य समस्या उत्पन्न हुनसक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । प्रतिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहने योग रहेकोछ ।

सिंह राशि – नयाँ लगानिका निम्ती समय उत्तम साबित रहनेछ । आयआर्जनका बिभीन्न श्रोतहरु फेला पर्नेछन । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेकोछ । अध्यन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्नेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहनेछ ।

कन्या राशि – भौतिक श्रोतसाधनका्े प्रयोगमा समय ब्यतित रहनेछ । स्थीर क्षेत्रमा गरिएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहनेछ । गरीरहेको कार्य श्रेत्र बाटँ मान सम्मान प्राप्तीको योग बन्नेछ ।

तुला राशि – बिश्वासिला मित्रजनहरुबाट धोका हुन सक्नेछ । गरीरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्नेछ । सबारी साधनको यात्रामा बिशेष सजग रहनुहोला । प्रतिश्पर्दा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । सामाजिक कार्यको बिशेष दायित्व हात लाग्ने सम्भाबना रहेकोछ ।

बृश्चिक राशि – स्थीर क्षेत्रमा लगाईएको आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि – तपाईको सरल मिजासले मित्रजनहरु आर्कशित हुने योग रहेको छ । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – मित्र जनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारीवारीक मेलमीलापमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसीक चन्चलताको सामना गर्नु पर्ने छ । परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च कारक दिन रहनेछ ।

कुम्भ राशि – आय आर्जनका निम्ती उत्तम समय रहेकोछ । साजेदारी तथा नयाँ कार्यको थालनि भने दीर्घकालिन नरहला । अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा बिशेष कार्यहरु सम्पादित रहनेछन । शिप मुलक कार्यका क्षेत्रबाट आम्दानी दिर्घकालिन रहनेछ ।

मीन राशि – कार्य सम्पादनमा दृणताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परीवारका सदस्यहरु सगँ क्षणीक बियोग को सम्भाबना रहेकोछ । प्रतिस्पर्दा जन्य कार्यमा सजग रहनु उत्तम रहनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

छिमेकीसँग माग्नुपर्ने अवस्थाको सिर्जना गर्न हुन्न : अध्यक्ष ओली

काठमाडौँ, ५ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकीसँग माग्नुपर्ने अवस्था सिर्जना गर्न नहुने बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा अर्थ योजना विभागले आज यहाँ आयोजना गरेको ‘नेपाल अतिकम विकासित देशबाट विकासशील देशमा स्तरोन्नति प्रस्तुत’ कार्यक्रममा उहाँले हामीले आफैँ उत्पादन गरे छिमेकीसँग माग्नु नपर्ने बताउनुभयो ।

“मुलुक अझै विकसित हुँदै जानुपर्दछ । अर्काले अनुदान दिन्छ कि दिँदैन । छिमेकीले पैचो दिन्छ कि दिँदैन । त्यो मतलब राख्नुहुँदैन । आफ्नै खेतमा टन्न खाद्यान्न फलाउनुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो खेतमा टन्न फलाएपछि छिमेकीबाट दाल, चामल सकिएछ भनेर भन्न जानुपर्दैन ।”

उहाँले नेपालले आश गर्ने नभई पौरख गर्ने तिर लाग्नुपर्ने भन्दै हामी परनिर्भरता नभई आत्मनिर्भरतातर्फको प्रवृत्ति हुुनुपर्ने भनाइ राख्नुभयो । उहाँले अल्पविकसित मुलुक विकासशील मुलुकमा बढोत्तरी हुनु सकारात्मक कुरा रहेको बताउनुभयो । “एउटा गरिबीको तहबाट माथिल्लो तहमा उक्लिनु हो । अल्पविकसितबाट विकसितमा पुग्नु प्रगति हो”, अध्यक्ष ओलीले भन्नुभयो ।

विकासशील देशमा बढोत्तरीले राष्ट्रको नैतिकतालाई उचो पु¥याउने उल्लेख गर्दै विकसित देशमा परिणत भयो भन्ने कुराको मनोबल उच्च राख्ने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आफैँ काम गर्नुपर्ने बताउनुभयो ।

“जबसम्म हामी आफ्नो राष्ट्रिय आवश्यकता, हित र प्राथमिकताअनुसार काम गर्न हिम्मत गर्दैनौँ । तबसम्म अर्थतन्त्र ओरालो लाग्ने गर्दछ”, अध्यक्ष ओलीले भन्नुभयो, “अर्थतन्त्र ओरालो लाग्यो भने अल्पविकसित मुलुकबाट बढोत्तरी कसरी हुने ?” उहाँले दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि के गर्न बाँकी छ अब कसरी पूरा गर्ने भन्नेमा अहिलेदेखि नै छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खन्न र निकासीमा रोक

वीरगञ्ज, ५ असोज – पर्साको सखुवाप्रसौनी गाउँपालिकाले जमुनिया खोलाबाट नदीजन्य पदार्थ उत्खन्न र निकासीमा रोक लगाएको छ ।

गाउँपालिकाको बोर्ड बैठकले सो खोलाबाट हुने नदीजन्य पदार्थको उत्खन्न र निकासीमा रोक लगाउने निर्णय भएको वडा नम्बर १ का वडाअध्यक्ष बासुदेव महतो थारुले जानकारी दिनुभयो ।

खोलामा रहेका बालुवा, गिट्टी र ढुङ्गा गाँउपालिकाको साझा सम्पति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तब्य भएकाले खोलाबाट कुनै पनि नदिजन्य पदार्थको उत्खनन् र निकासी पैठारीमा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष थारुले बताउनुभयो ।

कसैले खोलाबाट नदीजन्य पदार्थको उत्खन्न र निकासी पैठारी गरे ट्याक्टरलाई रु १० हजार र टिपरलाई रु ३० हजार जरिवाना तथा कानुन बमोजिम कार्वाही गरिने निर्णय भएको वडाअध्यक्ष थारुले बताउनुभयो ।

सरकारले उत्खनन् र निकासी पैठारी गर्न नभने पनि तस्करले नदी र खोलाबाट अवैधरुपमा उत्खनन् गरी चोरी तस्करी गर्ने गरेका छन् ।

कांग्रेस बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

काठमाडौँ, ५ असोज : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्यो ।बिहिबारदेखि सुरु भएको बैठकमा आज ४५ जना केन्द्रीय सदस्यहरुले पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीति विषयमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

आजको बैठकमा केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, जीपछिरिङ लामा, मानबहादुर विश्वकर्मा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, पुष्पा भुसाल, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, राजीव कोइरालाले बोल्नुभएको थियो ।

यसैगरी केन्द्रीय सदस्यहरु चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजङ्ग रायमाझी, जीतजङ्ग बस्नेत, गोविन्दबहादुर शाह, डा रणबहादुर रावल, दिलमान पाख्रिन, डा चन्द्रमोहन यादव, मुक्ताकुमारी यादव, गुरु बराल, जावेदा खातुन जागा, प्रा डा गोविन्दराज पोखरेल, नागिना यादव, नानु बाँस्तोला, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सीता थपलिया (उर्मिला), लक्ष्मी खतिवडा, सितादेवी देवकोटा र शारदा पौडेलले ले आआफ्नो धारणा राख्नुभएको थियो ।

कार्यसमितिको बैठक असोज ७ गते बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सशस्त्र मुख्यालयमा हुने योग कार्यशालाको राष्ट्रपतिबाट उद्घाटन हुने

काठमाडौँ ५ असोज : सशस्त्र प्रहरी बल नेपाल मुख्यालय हलचोक परिसरमा भोलि शनिबार हुने ‘ध्यानद्वारा ऊर्जा जागरण’ एक दिवसीय कार्यशालाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएको छ ।

गृह मन्त्रालय र जीवन विज्ञान संस्थाको संयुक्त सहकार्यमा भोलि बिहान ७ः३० मा राष्ट्रपति पौडेलबाट उक्त कार्यशालाको समुद्घाटन हुने मन्त्रालयले जानकारी दिएको छ ।

कार्यशालामा अपरान्ह ४ः३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यानलगायत कार्यक्रम जारी रहने जनाइएको छ । उद्घाटन समारोहमा राष्ट्रपति पौडेल र उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले योगाभ्यासको महत्वबारे मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

कार्यशालामा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित सबै संवैधानिक निकायका प्रमुख र प्रधानसेनापति प्रभुराम शर्मासमेतलाई आमन्त्रण गरिएको छ ।

गृह मन्त्रालयका सचिवसहित वरिष्ठ अधिकारी र अधिकृत, विभाग र प्रशासन कार्यालयका प्रमुख एवम् अधिकारीहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र वरिष्ठ उपरीक्षकसम्म गरी करिब तीनसय जनाको सहभागिता हुने कार्यशालामा ‘जीवन विज्ञान’का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिनुहुनेछ ।

गृह मन्त्रालयले ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पु¥याउने चरणबद्ध अभियान तय गरेको छ ।–––

१५ लाखभन्दा बढीको नक्कली नोटसहित दुई पक्राउ

इनरुवा, ५ असोज : सुनसरीको इटहरी उपमहानगरपालिकाबाट १५ लाख रुपैयाँभन्दा बढीको नक्कली नेपाली नोटसहित पक्राउ परेका दुई जनालाई शुक्रबार सार्वजनीक गरिएको छ ।पक्राउ पर्नेमा सङ्खुवासभा पाँचखपन नगरपालिका–५ का विवेक राई र सोही जिल्ला मकालु गाउँपालिका–६ का अजय राई रहेको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेकाको साथबाट प्रहरीले एक हजार दरका १५ लाख ८७ हजार रुपैयाँ नक्कली नोटसहित तीन थान मोबाइल बरामद गरेको उहाँले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई जनाले काठमाडौँबाट नक्कली नोट छपाई गरी पूर्वी बजारमा ल्याएको प्रहरीको भनाइ छ । पक्राउ परेको नक्कली नोट जाँचका लागि फरेन्सीक ल्याबमा पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

इटहरी बजारमा नक्कली नोटको कारोबार भएको गोप्य सूचनाको आधारमा इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । चाडपर्व नजिकिँदै गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय रहेको प्रहरीले जनाएको छ । गिरोहमा सङ्लग्न रहेका अन्य व्यक्तिको खोजी तथा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

पक्राउ परेकाको बयानको आधारमा प्रहरीले अर्का एक जनालाई शुक्रबार बिहान काठमाडौँबाट पक्राउ गरेको छ । यसअघि पनि भारतीय सीमावर्ती क्षेत्रका जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा पाँच सय र एक हजार रुपैयाँका नक्कली नोट फेला परेका थिए ।

मन्त्री ज्वालाद्वारा चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षीय कार्यदल गठन गर्नुभएको छ । यातायात क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई बोलाएर उहाँले आज छलफल गरेपछि यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गरिएको हो ।

बैठकमा राज्यमन्त्री नन्दा चपार्ईं, बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवसायी महासङ्घ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनका प्रतिनिधिहरू र काठमाडौँ महानगरपालिकाका प्रतिनिधिको सहभागिता थियो । दसैँ, तिहार र छठ पर्वमा राजधानी काठमाडौँबाट बर्सेनि १० लाख यात्रु बाहिरिने गरेका छन् ।

मन्त्री ज्वालाले दसैँको बुकिङ खुल्नुभन्दा अगाडि सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिनुभयो । काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सुरक्षित गन्तव्यस्थल पुर्याउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री ज्वालाले भन्नुभयो, ‘बर्षातका कारण सडकहरू बिग्रेका छन्, ती सडक तत्काल सुधार गर्नुहोस् ।” उहाँले राज्यका अन्य निकाय र मन्त्रालयसँग सहकार्य गरी निरीक्षण गर्ने बताउनुभयो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अवस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ट्राफिक महाशाखाका प्रतिनिधिले सडक व्यवस्थापनका लागि आफूले कुनै कसरत बाँकी नराख्ने बताउनुभयो । यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज चौलागाईंले गाडीको अभावमा टीका लगाउनबाट कसैलाई पनि वञ्चित हुन नदिने प्रतिबद्धता जनाउनुभयो । उपभोक्ता संरक्षण मञ्चका प्रतिनिधिहरूले सडक छेउका होटलले यात्रुहरूलाई दूषित खाना खुवाउने र त्यसको चर्काे मूल्य असुल गर्ने गरेको भन्दै त्यसको निरीक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गर्नुभयो ।

महालक्ष्मीको १६ दिने विशेष पूजा, आराधना सुरु

काठमाडौँ, ५ असोज : वैदिक सनातन धर्मावलम्बीले भाद्र शुक्ल सप्तमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् । धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा यस पर्वलाई लिइन्छ । आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यस वर्ष असोज १९ गते शुक्रबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटकमात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अघ्र्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।साक्षात् भगावन् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताउनुभएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उप प्राध्यापक चिन्तामणि भट्टराईले राससलाई जानकारी दिनुभयो । यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुनेछ ।देवराज इन्द्रले समेत महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गर्नुभएको महालक्ष्मी व्रत विधिमा उल्लेख गरिएको छ । बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रु समेत नाश हुने उहाँले बताउनुभयो ।प्रत्येक वर्ष भाद्र शुक्ल सप्तमीदेखि आश्विन कृष्ण सप्तमीसम्म १६ दिन, आश्विन शुक्ल पूर्णिमा र कार्तिक कृष्ण आमावास्या गरी तीन पटक विशेष रुपमा महालक्ष्मीको पूजा आराधना गर्ने वैदिक परम्परा छ । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्मको दुर्गा पक्षका क्रममा पनि महाकाली र महासरस्वतीसँगै महालक्ष्मीको पनि विशेष पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ५ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक पद्धति र देशभक्तिको सोच भएका कम्युनिष्टले देश विकासका लागि वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्ने गरेको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले मुलुकको स्वाभिमान रक्षाका लागि निरङ्कुश शासनको अन्त्य गर्ने सङ्कल्पका साथ कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभयो । पछिल्लो समय कम्युनिष्टमा सत्ता मोह देखिका कारण देश विकासको भावनामा कमी आएकाले त्यो कमजोरी सच्याउनपर्नेमा अध्यक्ष नेपालको जोड तियोे ।मुलुकमा विद्यमान गरिबी पछौटेपनको न्यूनीकरणका लागि औद्योगीकरणको खाँचो औँल्याउँदै उहाँले त्यसका लागि समाजवादी अर्थ व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निमार्णले ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताउनुभयो ।सुशासन, समृद्धि र सामाजिक न्यायको आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन राजनीतिक नेतृत्वमा दूरगामी दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।महासचिव घनश्याम भुसालले उद्यमीले गर्ने लगानीको प्रतिफल सुनिश्चित गर्न सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्ने बताउँदै त्यसले राष्ट्रिय उत्पादन र पूँजी सञ्चयमा सकारात्मक प्रभाव पार्ने विचार व्यक्त गर्नुभयो । बागमती प्रदेशका कृषि तथा पशुपन्क्षीमन्त्री राजेन्द्रमान श्रेष्ठले आयात न्यूनीकरण गर्न निर्यातमुखी उद्योगलाई भन्सार तथा अनुदानमा सहुलियत दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । महाधिवेशनले लंक केसीको नेतृत्वमा ७५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले दर्शन गरे

काठमाडौँ, ५ असोज : शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण कागेश्वरी महादेव मन्दिरमा लाखौँ भक्तजनले पूजा, आराधना एवं दर्शन गरेका छन् ।कागेश्वरी महादेव मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । कागे अष्टमीसमेत भनिने यस मेलामा देशका विभिन्न भागबाट भक्तजन कागेश्वरी मनोहरा नगरपालिका–१ मा पर्ने कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गर्छन् ।

भाद्र शुक्ल अष्टमीका दिन कागेश्वरी पुगेर पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास रहेको छ ।श्रावण शुक्ल पूर्णिमा अथवा गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ भन्ने विधिसमेत रहेको छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा आई आजका दिन जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनधारणा रहेको छ ।मन्दिर परिसरमा हाल दुई सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रुपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यहीँको लोकतान्त्रिक शहीद उद्यानमा एक हजार किलोको विश्वकै ठूलो कागको मूर्ति निर्माण भएको छ ।एक हजार किलोको अष्टधातुको कागको मूर्ति बनाउन स्थानीयवासीले धातु दान गरी सहयोग गरेका छन् । यसै मन्दिरसमेतको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको हो । यस पर्वका अवसरमा नगरपालिकाले प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो ।नामकरण भएदेखि नै महोत्सवको आयोजना नगरपालिकाले गर्दै आएको छ । आजदेखि सुरु भएको तीन दिने महोत्सव आइतबारसम्म चल्ने उहाँले बताउनुभयो । कागेश्वरी मन्दिर क्षेत्रमा फागुन महिनामा पनि महोत्सव आयोजना हुन्छ । फागुन र भाद्र शुक्ल अष्टमीमा हुने महोत्सवका अवसरमा यहाँको तामाङ एवं नेवार समुदायका सांस्कृतिक झाँकी प्रदर्शन गरिनुका साथै स्थानीय उत्पादनसमेतको प्रदर्शन गरिन्छ ।कागेश्वरीमा लाग्ने मेला भर्न काठमाडौँ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भीड लाग्ने गरेको छ । देशका विभिन्न जिल्लाबाट आई काठमाडौँ उपत्यकामा बसोवास गर्ने मानिस पनि कागको स्पर्शबाट बच्न आजका दिन कागेश्वरी जाने गर्छन् ।कागे अष्टमीका अवसरमा कागेश्वरी महादेव मन्दिर जान नसक्ने भक्तजले हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्ने गरेका छन् । यस अवसरमा आज हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि पूजा, आराधनाका लागि भक्तजनको भीड लागेको थियो ।

प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका १७ जनालाई छाडियो

काठमाडौँ, ५ असोज : सिंहदरबार अगाडि प्रदर्शनमा क्रममा प्रहरीले नियन्त्रणमा लिएका महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले अहिले छोडेको छ ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबार अगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरुलाई निएन्त्रणमा लिइएको र अहिले भरखरै सबैलाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार नियन्त्रणमा लिएकामा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरु सबैलाई अहिले सिंहदरबार वृत्तबाट छाडिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुन नउडाउन आग्रह

काठमाडौँ, ५ असोज : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन, बेलुनलगायत नउडाउन आग्रह गरेको छ । विमानस्थल क्षेत्रमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएकाले सो कार्य नगर्न सबैमा आग्रह गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थल क्षेत्र आसपासमा पहिलेदेखि नै चङ्गा, ड्रोन, बेलुन उडाउन निषेध गरिएको छ, दसैँ तिहार लगायतका चाडपर्व नजिकिदै गएकाले उक्त समयमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य नहोस् भन्नका लागि आग्रह गरिएको हो ।”

प्राधिकरणले आज विमानस्थल क्षेत्र आसपासमा उडान तथा अवतरणको समयमा पटक–पटक चङ्गा, ड्रोन, बेलुन उडाउने गरेको पाइएको र यसबाट उडान सुरक्षामा गम्भीर असर पर्न सक्नेतर्फ सचेत रहन अनुरोध सहितको एक सूचना प्रकासित गरेको छ ।

चङ्गा, ड्रोन, बेलुन, लेजर लाइटले उडान सुरक्षामा पार्ने जोखिमतर्फ ध्यान दिएर यस्ता गतिविधि नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचनामार्फत सूचित गरिएको छ । यसैगरी प्राधिकरण आग्रहलाई अटेर गरी यस्ता काम गरेमा कानुनअनुसार कडा कारबाही गरिने प्रवक्ता तथा उपमहानिर्देशक निरौलाले बताउनुभयो ।

उपराष्ट्रपति यादवसँग राजदूत पार्कको शिष्टाचार भेट

काठमाडौँ, ५ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाईयोङले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

भेटमा दुई देशबीचका द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध र सहयोगका विविध आयामबारे छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७४ मा नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भए पनि दुई देशबीच घनिष्ट एवं मैत्रीपूर्ण सम्बन्ध निकै पुरानो रहेको बताउनुभयो ।“हाम्रा द्विपक्षीयसम्बन्ध आपसी विश्वास, समझदारी एवं सहयोगमा आधारित छन्”, उहाँले भन्नुभयो, “दुई देश र जनता जनताबीच राम्रो मित्रता, समझदारी र आपसी सहयोगका निरन्तर अभिवृद्धि भइरहेको छ ।”उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि कोरिया एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको बताउनुभयो । “कोरिया सरकारले नेपाललाई विकास सहयोगको क्षेत्रमा प्राथमिकता साझेदार मुलुकका रूपमा मान्यता दिई सहयोगलाई निरन्तरता दिएकोमा धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो, “हामीले सहयोग कार्य गर्ने आर्थिक क्षेत्रका प्राथमिकता निर्धारण गर्ने दिशामा छलफल अघि बढेको छ भन्ने विश्वास लिएको छु ।”उहाँले नेपालमा पछिल्लो समयमा लगानीमैत्री वातावरण बन्दै गएकाले नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासलगायत उत्पादनमूलक र अन्य क्षेत्रमा खुलेर सहयोग एवं लगानी गर्न कोरिया सरकारलाई राजदूतमार्फत आग्रह गर्नुभयो ।उपराष्ट्रपतिले औद्योगिक विकास, कृषि, जलविद्युत् विकासको लागि कोरियाको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको बताउनुभयो । उहाँले दुई देशबीचको जनस्तरको सम्बन्ध प्रगाढ भएको भन्दै नेपाल मन पराउने बौद्धमार्गी कोरियालीमा उल्लेख्य रहेको जनाउनुभयो । भेटमा राजदूत पार्कले आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता गर्नुभयो । 

वामपन्थीबीचको एकताका लागि प्रगतिशील लेखकले सिर्जना गर्नुपर्छ : मन्त्री किराती

काठमाडौँ, ५ असोज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सुदन किरातीले जनता र सहिदका सपना पूरा गराउन वामपन्थीलाई एकताबद्ध बनाउन लेखकले सशक्त सिर्जना गर्नुपर्ने बताउनुभएको छ ।

प्रगतिशील लेखक सङ्घ (प्रलेस) को ७२औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा मन्त्री किरातीले विश्वमै कम्युनिष्ट रक्षात्मक स्थितिमा रहेका बेला नेपालमा कम्यनिष्ट एक हुन नसकेको तर विसं २००९ देखि प्रलेसमा सबै वामविचारमा लेखक सङ्गठित भएको सन्दर्भ उल्लेख गर्दै सङ्घले एकताका लागि पहल गर्ने ताकत राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो उचाइ अग्लो बनाउन अरुलाई खुट्टा तान्ने प्रवृत्ति कम्युनिष्टमा देखिन्छ । यो प्रवृत्तिले समाजवादको सपना पूरा हुँदैन । लेखकले सशक्त रचनाका माध्यमबाट यस्ता गलत संस्कृतिको चिरफार गर्नुपर्छ ।”उहाँले समाजवादी संस्कृतिको उजागर गर्दै वैचारिक अभियानलाई निरन्तर अघि बढाउन प्रलेसलाई आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री किरातीले रु २५ हजार एक सय राशिको प्रलेस श्यामप्रसाद स्मृति पुरस्कार कवि कुन्ता शर्मालाई प्रदान गर्नुभयो । यस्तै रु २० हजार एक सय राशिको प्रलेस प्रतिभा पुरस्कार नरेश भण्डारीलाई, रु ११ हजार राशिको बालसाहित्य पुरस्कार प्रा डा कपिल लामिछानेलाई र १० हजार एक सय राशिको प्रलेस साहित्य पुरस्कार गुरुप्रसाद कुमाल ‘बुलबुल’ लाई दिइयो । सो अवसरमा प्रलेसको २८औँ विशेष अङ्कको विमोचन गरिएको थियो । सङ्घका अध्यक्ष डा मदुसूधन गिरीले साम्राज्यवाद र विस्तारवादको विपक्षमा रही समाजवादीधारका लेखकलाई थप एकताबद्ध बनाउन पहल गरिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्नुभएको सम्बोधनको पूर्णपाठ

काठमाडौँ, ५ असोज :

“विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःजागरण- समग्र शान्ति, समृद्धि, प्रगति र दिगोपनातर्फ २०३० कार्यादेश र दिगो विकासको द्रुत कार्य”

श्रीमान् अध्यक्षज्यू,
महामहिमज्यूहरु,
विशिष्ट प्रतिनिधिज्यूहरु

सर्वप्रथम म यहाँहरुलाई ब्युरोका अध्यक्ष र सदस्य पदमा निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्न चाहन्छु ।

त्यसैगरी, संयुक्त राष्ट्रसङ्घको सवलीकरण र बहुपक्षीयताको प्रवद्र्धनमा अथक प्रयास गर्नुहुने संयुक्त राष्ट्रसङ्घका महासचिव श्री एन्टोनियो गुटरेसप्रति गहिरो प्रशंसा व्यक्त गर्दछु ।

विशेषगरी विश्वास र सहकार्यको प्रवाहमा खडेरी परेको र विश्वासको सङ्कटले संसारभरि प्रभुत्व स्थापित गरिरहेको आजको सन्दर्भमा ‘विश्वासको पुनर्निर्माण र वैश्विक ऐक्यबद्धताको पुनःप्रकाश’ विषयमा आफ्ना विचार राख्ने योभन्दा उपयुक्त समय सायद अर्को हुने छैन ।

आज भूराजनीतिक प्रतिस्पर्धाको पुनरुत्थान, शक्ति ध्रुवीकरण र आर्थिक राष्ट्रवाद, विश्वशान्ति र सुरक्षा कायम गर्नुपर्ने कारणले पनि संयुक्त राष्ट्रसङ्घ बडापत्रको प्रारम्भिक उद्देश्य प्राप्ति नै गम्भीर दबाबमा परेको छ्र । हातहतियारमा खर्च बढेको छ तर रुपान्तरणको २०३० कार्यसूची वा दिगो विकास लक्ष्य प्राप्तिका प्रयासमा स्रोत अपुग भएको छ ।

हामीले यसलाई सच्याउनै पर्छ र शान्ति, समृद्धि र प्रगतिको साझा उद्देश्य प्राप्तिमा प्रयासहरु केन्द्रित गर्नुपर्छ ।

विश्वले नै अभूतपूर्व प्रकृतिका चुनौतीहरुको सामना गरिरहेको आजको सन्दर्भमा आपसी विश्वास आर्जन गर्दै साझेदारी र सहकार्य प्रवद्र्धन गर्ने र ऐक्यबद्ध भई काम गर्नु समयको पदचाप हो ।

अध्यक्षज्यू,

यस सन्दर्भमा मैले नेपालको प्रधानमन्त्रीका रुपमा सन् २००८ मा भएको संयुक्त राष्ट्रसङ्घको विशाल महासभालाई सम्बोधन गरेको स्मरण ताजै छ । नेपालले त्यतिखेर ऐतिहासिक रूपान्तरणको यात्रा तय गरेको थियो । सशस्त्र द्वन्द्वबाट समावेशी र राज्यले नै अपनत्व ग्रहण गरेको शान्ति प्रक्रिया, सदियौँ लामो सामन्ती राजसंस्थाको शासनबाट लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाजका सबै वर्ग र तप्काको सहभागिता सुनिश्चित भएको बहुदलीय प्रजातान्त्रिक राजनीतितर्फको रुपान्तरण ।

हामीले रुपान्तरणको लामो यात्रा तय गरेको पनि पन्ध्र वर्ष भयो । हामीले यो दौरानमा शान्ति प्रक्रियाको सङ्क्रमणकाल सफलतापूर्वक सम्पन्न गरेका छौँ । त्यसैगरी, हामीले निर्वाचित संविधान–सभामार्फत सन् २०१५ मा लोकतान्त्रिक संविधान जारी ग¥यौँ । यो संविधानले मानव अधिकारका विश्वव्यापी मूल्यमान्यता, सहभागितामूलक लोकतन्त्र, आवधिक निर्वाचन, समावेशी समानुपातिक प्रतिनिधित्व, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र विधिको शासनजस्ता विषयलाई सुनिश्चित गरेको छ ।

त्यसैगरी, नेपालमा लगातार दुईपटक सफलरुपमा सम्पन्न भएको सङ्घीय, प्रादेशिक र स्थानीय निर्वाचनले शासन प्रक्रियाको सबै तहमा महिला, दलित, युवा र न्यून प्रतिनिधित्व भएको समुदायको सहभागिता अभिवृद्धि भएको छ । हामीहरु स्थानीय सभाहरुमा महिलाको ४१ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न सफल भएका छौँ । प्रादेशिक र सङ्घीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व संविधानमा नै सुनिश्चित गरिएको छ ।

हामीले सम्प्रभुता नेपाली जनतामा नीहित हुने र नागरिक स्वयं राज्यशक्तिका शाश्वत स्रोत रहने विषय दह्रोरुपमा स्थापित गरेका छौँ । अहिले हामी विशिष्ट, राष्ट्रिय अपनत्व रहेको र मौलिक प्रकृतिको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कामको अन्तिम चरणमा छौँ । मेरो राजनीतिक कार्यसूचीको प्रमुख प्राथमिकता नै सङ्क्रमणकालीन न्यायका बाँकी काम टुङ्गो लगाउनु रहेको छ । देशको प्रधानमन्त्री र बृहत् शान्ति प्रक्रियाको सह–हस्ताक्षरकर्ताका रुपमा मैले प्रमुख सरोकारवालाबीच दूरी कम गरी सहमति निर्माण गर्न गम्भीर प्रयत्न गर्दै आएको छु ।

द्वन्द्वपीडितका सरोकारलाई सम्बोधन गर्न, शान्ति, न्याय र पुनःलाभबीच सही सन्तुलन कायम गर्न र सङ्क्रमणकालीन न्याय प्रक्रियामा समाजको बृहत्तर अपनत्व ग्रहण गराउने उद्देश्यले सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधित विधेयक सङ्घीय संसद्मा पेस गरिएको छ । बृहत् परामर्शको प्रक्रियाबाट निर्माण भएको यो प्रस्तावित विधेयकले पीडित–केन्द्रित अवधारणालाई अवलम्बन गरेको छ र पुनःलाभ पाउने पीडितको अधिकारलाई सम्मान गरेको छ ।

यो प्रक्रियामा मानव अधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका घटनामा आममाफी हुने छैन । यसको मुख्य उद्देश्य देशमा दिगो शान्ति बहाली गर्नु र शान्ति, न्याय र मेलमिलापमार्फत समाजमा अमनचैन कायम गर्नु रहेको छ ।

म अन्तर्राष्ट्रिय समुदायलाई शान्ति–प्रक्रियालाई टुङ्गोमा पु¥याउने हाम्रो अन्तिम प्रयासमा सहयोग र शुभेच्छा प्रकट गर्नुहुन र द्वन्द्व रूपान्तरणको सफल र दुर्लभ उदाहरणको उचित मूल्याङ्कन गरिदिनुहुन पनि अपिल गर्छु ।

अध्यक्षज्यू,

नेपालको राजनीतिक यात्राले स्थिर स्वरुप लिएका सन्दर्भमा अब हाम्रो प्राथमिकता आर्थिक रूपान्तरणको कार्यसूचीमा केन्द्रित रहेको छ । हामी सामाजिक–आर्थिक वृद्धि र विकासले मात्र राजनीतिक उपलब्धिहरुको संरक्षण हुनसक्छ भन्नेमा विश्वस्त छौँ ।

यही विषयको आलोकमा सङ्घीय सरकारको मुख्य चासो विकास–निर्माणको गति बढाउन सबै ऊर्जा र स्रोत परिचालन गर्ने र सुशासन सुनिश्चित गर्ने रहेको छ ।

हामी सन् २०२६ भित्र अतिकम विकसित देशको अवस्थाबाट स्तरोन्नति हुनेछौँ र यो विकासक्रमलाई उपयुक्त, दिगो र अपरिवर्तनीय बनाउन हामी प्रतिबद्ध छौँ । यतिखेर हामी स्तरोन्नतिसम्बन्धी प्रभावकारी सङ्क्रमणकालीन रणनीतिलाई अन्तिम रुप दिने प्रक्रियामा छौँ ।

हामीले दिगो विकास लक्ष्यलाई विकास परिदृश्यको केन्द्र र प्राथमिकतामा राखेका छौँ । यद्यपि, कोभिड–१९, जलवायु परिवर्तन र बढ्दो भूराजनीतिक प्रतिस्पर्धाले दिगो विकासका प्रगतिमा चुनौती प्रस्तुत गरेका छन् । तसर्थ, हामी विकास सहयोग, वैदेशिक प्रत्यक्ष लगानी, निर्यात प्रवद्र्धन र एसडिआर विनियोजन, प्रविधि हस्तान्तरण र प्राविधिक सहयोगको स्वरुपमा अन्तरराष्ट्रिय सहायता उन्नत तहमा उपलब्ध गराउन आह्वान गर्दछौँ ।

दिगो विकास लक्ष्यका लागि प्रत्येक वर्ष पाँच सय अमेरिकी डलर वृद्धि गर्न संयुक्त राष्ट्र सङ्घका महासचिवले गर्नुभएको आह्वानलाई नेपाल स्वागत गर्छ ।

अल्पविकसित राष्ट्र (एलडिसी)हरूका अध्यक्षको हैसियतमा भन्नुपर्दा, हामी मुख्यतः एलडसीहरूसँग र राष्ट्रसङ्घीय मञ्चहरूमा सान्दर्भिक विषयमा सहकार्यका लागि सहभागी हुन्छाँै, जसले गर्दा हाम्रो सामूहिक हित संरक्षण र प्रवद्र्धन ह्ुन्छ ।

राष्ट्र सङ्घका महत्वपूर्ण प्रक्रिया, विकास प्रणाली र हाम्रा साझेदारहरुको विकास सहयोग ढाँचामा दोहा कार्ययोजनाको मूलप्रवाहीकरण होस् भन्नेमा हाम्रो जोड छ । एलडिसीको फाइदाका लागि स्वच्छ र समतामूलक अन्तर्राष्ट्रिय व्यापारका लागि हामी आह्वान गर्दछौँ ।

दोहा कार्ययोजना (डिपिओए)ले अघि सारेका ऋण राहत, ऋण पुनसंरचना र ऋण विनिमय जस्ता अवधारणाका समन्वित नीति व्यवहारमा कार्यान्वयन हुनैपर्छ ।

अध्यक्षज्यू,

जलवायु परिवर्तन विश्वव्यापी सङ्कटका रूपमा देखिएको छ र यसका असर नियन्त्रणका लागि समय घर्कंदै छ । यससम्बन्धी हाम्रा निष्क्रियता वा न्यून पहलका कारण मानवताविरोधी प्रलयकारी परिणाम निम्तने निश्चित छ । अतःहामीले स्पष्टरूपमा समय कार्यतालिकासहितको योजना र प्रतिबद्धता जनाउनैपर्छ । जलवायु परिवर्तनका कारण नेपालजस्ता सङ्कटापन्न हिमाली देशले धेरै मार खेपिरहेका छन् ।

हिमाल दुई अर्बभन्दा बढी मानिसका लागि सफा र स्वच्छ पानीको स्रोत हो । विश्व उष्णताका कारण तीव्ररूपमा हाम्रा हिमालमा हिउँ पग्लिरहेको छ । यसले पहाडमा बस्ने मानिसहरूको स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ र सोभन्दा तल रहेको विभिन्न जीवजस्तु र लाखौँ मानसिको जीवनमा असर परिरहेको छ । त्यसैगरी बाढी, पहिरो र अन्य अतिशय जलावायु घटनाहरूले निम्त्याउने मानवीय र आर्थिक क्षति त्यत्तिकै चिन्ताजनक विषय हुन् ।

हाम्रातर्फबाट, हामी पेरिस सम्झौताको प्रभावकारी कार्यान्वयन र यसको लक्ष्य प्राप्तिका लागि पूर्ण प्रतिबद्ध छौँ । नेपालले पनि सन् २०४५ सम्ममा नेट–जिरो (कार्बन उत्सर्जन शून्यमा झार्ने) को महत्त्वकाङ्क्षी लक्ष्य निर्धारण गरेको छ । हामीले पछिल्लो राष्ट्रिय निर्धारित प्रतिबद्धता (एनडिसी) पेस गरिसकेका छौँ र त्यसलाई हाम्रा राष्ट्रिय नीति र योजनासँग तादात्म्य गरिएको छ ।

प्रभावकारी अनुकूलन र न्यूनीकरणका उपाय र हरित तथा उत्थानशील अर्थतन्त्रको प्रवद्र्धनसहित जमिन, जङ्गल र जलस्रोतको संरक्षण एवं दिगो व्यवस्थापन हाम्रो प्राथमिकता हो । यस सम्बन्धमा, स्वच्छ ऊर्जामा सबै नागरिकको पहुँच सुनिश्चितताका लागि हामी काम गरिरहेका छौँ ।

जलवायु वित्तमा सहज पहुँचले न्यून कार्बन र जलवायु उत्थानशील विकासका लागि मार्गप्रशस्त गर्छ । त्यत्तिकै महत्त्वपूर्ण छन्–हानि तथा नोक्सान कोष, एक सय अमेरिकी डलर करको प्रतिबद्धता पूर्ति तथा अनुकूलन र जलवायु वित्तको दोब्बर वृद्धि ।

विडम्बना त यो छ, मेरो देश नेपाल जहाँ ४५ प्रतिशतको जङ्गलसहितको सघन जैविक विविधता छ, क्षेत्रफलको १५ प्रति उच्च पहाडी भाग छ, साथै हरितगृह ग्यास उत्सर्जन अत्यन्त न्यून छ र पर्यावरणीय संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउँछ, तर पनि जलवायु परिवर्तनको सङ्कटको अग्रपङ्क्तिमा छ । यस्तो खालको अमिल्दो अवस्थाको सम्बोधनका लागि क्षतिपूर्ति संयन्त्रको अत्यन्त आवश्यकता छ जसले गर्दा यस्ता देशले यस धर्तीलाई हरित बनाइराख्न सकारात्मकरूपमा भूमिका खेल्छन् ।

महामहिमज्यूहरू,

कतिपय देशभित्रै र एकापसमा द्वन्द्व हुनु सुखद होइन । नेपाल कुनै पनि देशको भौगोलिक अखण्डता, राजनीतिक स्वतन्त्रता र देशको सार्वभौमिकताविरुद्ध हुने कुनै पनि प्रकारका धम्की र यसको प्रयोगविरुद्ध छ । लिबिया, सिरिया र यमन देशका नागरिक लम्बिँदो सङ्कटका मारमा छन् । उनीहरूको दुःखको अन्त्य हुनैपर्छ । यमनमा राष्ट्र सङ्घको मध्यस्थतामा हुने युद्धविरामलाई दिगो शान्तितर्फउन्मुख गराउनुपर्छ । लिबियाको गतिरोध हटेर शान्ति र मेलमिलापको मार्गमा जानुपर्छ ।

त्यसैगरी प्यालेस्टाइनका जनता लामो समयदेखि जारी द्वन्द्वको अन्त्य र शान्तिका लागि हकदार छन् । नेपाल इजराइल र प्यालेस्टाइनसँगको द्विदेशीय समाधानका लागि आफ्नो समर्थन दोहो¥याउँछ । यसका लागि उनीहरू राष्ट्रसङ्घीय प्रस्तावहरूका आधारमा मान्यताप्राप्त अन्तर्राष्ट्रिय सीमामा शान्तिपूर्णरूपमा एकापसमा बस्न सक्छन् ।

विश्वमा जारी द्वन्द्वको राष्ट्रिय अपनत्वसहितको शान्तिपूर्ण न्यायिक र दिगो समाधानका लागि हाम्रो समर्थन जारी छ । समावेशिता, सशक्तीकरण, आर्थिक समृद्धि र न्यायमा आधारित शान्ति नै दिगो हुने गर्छ ।

अध्यक्षज्यू,

सामूहिक विनाशको हतियारको प्रसारले विश्वशान्ति र सुरक्षामा खतरा उत्पन्न गरेको छ । आणविक हतियारको भण्डार, हतियारको बढ्दो प्रतिस्पर्धा र सैन्य खर्चमा पनि बढोत्तरी उत्तिकै चिन्ताजनक छ ।

नेपाल आफ्नो आह्वानलाई पुनःजोड दिन चाहन्छ– आमविनाशकारी जैविक, रासायनिक, आणविक र रेडियोधर्मीलगायत सबै हतियारको पूर्णरूपमा र समय निर्धारित निःशस्त्रीकरण ।

एशिया र प्रशान्त क्षेत्रमा शान्ति र निःशस्त्रीकरणका लागि राष्ट्रसङ्घीय क्षेत्रीय केन्द्रको मुकाम रहेको राष्ट्रको हैसियतमा, काठमाडौँ प्रक्रियालगायत क्षेत्रीय प्रक्रियाले विश्व निःशस्त्रीकरणलाई सबल बनाउनेमा नेपालको विश्वास छ ।

साइबर स्पेसमा र कृत्रिम बौद्धिकता (एआई) को अन्तर्राष्ट्रिय नियमनका अभावमा बहुपक्षीय नियमनको खाँचो छ । एआईको दाहोरो प्रयोगले सुसूचित बहसको खाँचो आँैल्याएको छ, जसले गर्दा यसको सम्भाव्य दुरुपयोग नियन्त्रण होस् र अन्तर्राष्ट्रिय सहकार्य सबल बनोस् ।

नेपाल आतङ्कवादका सम्पूर्ण रूप र अभिव्यक्तिको भत्र्सना गर्छ । हामी आतङ्कवादविरुद्ध बृहत् वैश्विक सन्धिको चाँडो निष्कर्षका लागि आह्वान गर्छाैँ ।

अध्यक्षज्यू,

मानवाधिकारको रक्षा र प्रवद्र्धनका लागि नेपालको प्रतिबद्धता अक्षुण्ण र अटल छ । हामी प्रजातन्त्र, विकास र मानवाधिकारका लागि एकीकृत प्रयासमा विश्वास गर्छौँ ।

त्यसैगरी, आप्रवासी कामदारको सुरक्षा, सम्मान र भलाइका लागि नेपालले उच्च महत्त्व दिएको छ । हामी सबैका लागि आप्रवासन सुनिश्चित गर्न सुरक्षित, व्यवस्थित र नियमित बसाइँसराइसम्बन्धी वैश्विक सहमतिको प्रभावकारी कार्यान्वयनका लागि आह्वान गर्छाैँ ।

महामहिमज्यूहरू,

पञ्चशीलको सिद्धान्त, असंलग्नता, राष्ट्रसङ्घीय बडापत्र, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको मान्यताले नेपालको पराराष्ट्र नीतिलाई निर्देशन गर्छन् । सद्भाव, सौहार्द र भ्रातृत्व नै हाम्रा अन्तर्राष्ट्रिय संलग्नताका मूलभूत मान्यता हुन् ।

हामी सार्वभौमिक समानता, अहस्तक्षेप र आपसी सम्मानमा आधारित भएर हाम्रा छिमेकी र अन्य मित्रराष्ट्रसँग सम्बन्ध प्रवद्र्धन गर्न चाहन्छौँ । हामी संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेर बहुपक्षीयताप्रति दृढरूपमा प्रतिबद्ध छौँ । साँच्चै आफ्नो प्रतिबद्धतामा रहेर नेपालले राष्ट्र सङ्घअन्तर्गतको शान्ति कायम राख्ने कार्यमा अटलरूपमा ६५ वर्षदेखि संलग्न भई अन्तर्राष्ट्रिय शान्ति र स्थायित्व कायम राख्न निरन्तर योगदान गरेको छ ।

शान्ति सेनामा विश्वको दोस्रो ठूलो सैनिक तथा प्रहरी रहेको नेपालले आह्वान गरिएका समयमा आफ्ना शान्ति सैनिकलाई अति चुनौतीपूर्ण अवस्थामा पनि विनासर्त परिचालन गरेको छ । हाम्रा शान्ति सैनिक–प्रहरीले समर्पण, व्यावसायिकता र क्षमताको विशिष्ट प्रतिष्ठा कमाएका छन् जुन राष्ट्र सङ्घ, सम्बन्धित देश र समाजले पनि स्वीकारेका छन् । शान्ति सैनिक प्रधान कार्यालय र खटिएका सम्बन्धित देशमा ती सैनिक र प्रहरीहरूलाई न्यायोचित नेतृत्वको हिस्सा दिन हामी दोहो¥याएर माग गर्दछौँ ।

हामीलाई थाहा छ अहिलेको विश्वव्यापी शासन प्रणालीले हिजोको संसारलाई धेरै प्रतिविम्बन गरेको हुन्छ । बहुपक्षीय संस्थाहरूलाई सान्दर्भिक राख्न र आजको यथार्थ प्रतिविम्बन गर्न सामयिक सुधार आवश्यक हुन्छ । नेपाल राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई व्यापक प्रतिनिधिमूलक, प्रजातान्त्रिक, पारदर्शी र जिम्मेवार बनाउन यसको सुधारका लागि समर्थन गर्छ । नेपाल राष्ट्रसङ्घीय महासभा र आर्थिक तथा सामाजिक परिषद्जस्ता महत्त्वपूर्ण अङ्गलाई अझ बढी भूमिका प्रदान गर्न तिनको सुदृढीकरणका लागि पनि आग्रह गर्छ ।

नेपाल महासचिवको ‘हाम्रो साझा कार्यसूची’ र ‘शान्तिका लागि कार्यभार’ भन्ने दूरदृष्टिको पनि स्वागत र समर्थन गर्छ । पृथ्वीवासी एवं धर्तीको आवश्यकताको अझ बढी सम्बोधन गर्न र सेवा प्रदान गर्न हामीलाई समावेशी र प्रभावकारी बहुपक्षीयता आवश्यक छ । अन्तर्राष्ट्रिय वित्तीय ढाँचामा संरचनात्मक सुधार गर्न धेरै ढिलो भइसकेको छ । विशेष अवस्थामा अल्पविकसित, अतिकम विकसित र साना विकासोन्मुख टापु राष्ट्रलगायतको आवाज सुनिनु नै पर्छ । तिनीहरुको अर्थपूर्ण प्रतिनिधित्वको सुनिश्चितता हुनैपर्छ ।

गहिरोसँग जरा गाडेको असमानता र खाडल पुर्ने उपचार प्रजातान्त्रिक, समावेशी, न्यायोचित र प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय वित्तीय प्रणाली नै हुनसक्छ । अन्त्यमा, महासभाका अध्यक्षज्यू, सबैका लागि र सर्वत्र शान्ति एवं समृद्धि तथा कोही पनि पछाडि नपरून् भन्ने सुनिश्चिता गर्नु हामी सबैको सामूहिक उत्तरदायित्व हो ।

तीन हजार पाँच सय प्रतिष्ठानमा मात्रै श्रम अडिट

काठमाडौँ, ५ असोज : मुलुकभरका करिब नौ हजारभन्दा बढी प्रतिष्ठानमध्ये तीन हजार पाँच सयले मात्र श्रम अडिट गरेको पाइएको छ ।स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको सेवा, सुविधा, दक्षता अभिवृद्धि गर्न रिफ्रेसमेन्ट तालिमका लागि व्यवसायीले ध्यान दिएमा उक्त सङ्ख्यामा वृद्धि हुने बताउनुभयो ।

उहाँले श्रम अडिट मापदण्डको कार्यान्वयनले श्रमिकको सही तथ्याङ्क प्राप्त हुने तथा स्वदेशमै रोजगारीको सिर्जना भएर विदेश जानुपर्ने बाध्यता कम हुने बताउनुभयो ।

अधिवक्ता घनेन्द्रबहादुर श्रेष्ठले श्रम अडिट मापदण्डका प्रावधान र कार्यान्वयनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अडिट मापदण्ड, २०७५ जारी भएको पाँच वर्षको अवधिमा श्रम अडिट गराउने प्रतिष्ठानको सङ्ख्या ज्यादै कम हुनुमा यसबारे जनचेतनाको अभाव पनि प्रमुख कारण हुन् भन्नुभयो ।

अधिवक्ता श्रेष्ठले यस मापदण्ड श्रम क्षेत्रलाई मर्यादित बनाउन व्यवसायी र श्रमिकबीचको सौहार्दपूर्ण वातावरणमा स्वदेशमै रोजगार सिर्जनाका लागि सहयोगसिद्ध हुने विचार व्यक्त गर्नुभयो ।

टे«किङ एशोसिएशन नेपाल(टान) का महासचिव विनोद सापकोटाले ट्रेकिङ क्षेत्रका प्रशासनिक क्षेत्रमा काम गर्ने श्रमिकलाई मात्र तलबमा राखिने र अन्यले महिनाभर काम गर्ने सिजन कमै हुने उल्लेख गर्दै भन्नुभयो, “एक हप्तादेखि सोभन्दा कम र बढी समय काम गर्नुपर्ने हुन्छ, उहाँहरूको सन्दर्भमा श्रम अडिट कार्यान्वयनबारे स्पष्टता छैन ।”

उहाँले यस क्षेत्रका श्रमिकलार्ई सामाजिक सुरक्षा कोषसँग जोड्न, श्रम ऐनअनुसार तलब, सुविधा दिनेलगायतका विषयमा टानसँग माग राख्ने गरेको सन्दर्भमा यसबारे व्यापक छलफल गरेर स्पष्ट खाका आउनुपर्ने बताउनुभयो ।

होटल एशोसियशन अफ नेपाल (हान) का महासचिव साजन शाक्यले श्रमिक र श्रमसम्बन्धी बनेका ऐन, नीति, मापदण्डहरू श्रमिक र रोजगारदाता दुवैको हितका लागि सहकार्य र समन्वय गर्न सकिने गरी बन्नुपर्ने र यसबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।

स्वतन्त्रता अभियानका अध्यक्ष ऋतु भट्टराईले दक्ष र युवा जनशक्ति सबै वैदेशिक रोजगारीका लागि गइरहेको सन्दर्भमा श्रम क्षेत्रमा बालबालिका प्रयोग हुन सक्नेतर्फ पनि चनाखो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । चन्द्रागिरि हिल्सका मानव स्रोत विभाग प्रमुख दीपेन्द्र जोशीले नियामक निकायले नीति, मापदण्डका कार्यान्वयन सम्बन्धमा अनुगमनको खाँचो रहेको बताउनुभयो ।

सरकार र शिक्षक महासङ्घबीच सात बुँदामा सहमति

काठमाडौँ, ५ असोज : नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्ता सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै सात बुँदामा सहमति भएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले सहजीकण गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

मन्त्री शर्माले सहमतिसँगै विभिन्न जिल्लाबाट आन्दोलनका लागि काठमाडौँ आएका समुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु घर फर्कने स्पष्ट गर्दै संविधानमो भएको व्यवस्थाबमोजिम स्थानीत तहको सञ्चालनअन्तर्गत विद्यालय रहने विषयमा कानुनले केही गर्न नसक्ने बताउनुभयो । सार्वभौम संसद्मा दर्ता भइसकेको विधेयक फिर्ता नहुने जनाउँदै उहाँले कार्यान्वयनका क्रममा कसरी व्यवस्थित र सहजीकरण गर्न सकिन्छ भन्ने सवालमा सरकार सकारात्मक रहने पनि बताउनुभयो । आज बिहान कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वार्तालाई आजै टुङ्गोमा पुर्‍याउने गरी लाग्न सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिनुभएको थियो ।

सङ्घीय संसद्मा गत भदौ २७ गते दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन जारी राखेको छ । महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तीभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

बङ्गलादेशी विश्वविद्यालयको सुधारका लागि १० करोड अमेरिकी डलर स्वीकृत

ढाका – एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशका तीन विश्वविद्यालयमा कम्प्युटर विज्ञान, सफ्टवेयर इञ्जिनीयरिङ र सूचना प्रविधि (आइटी) कार्यक्रमको सुधारका लागि १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

एडीबीका सामाजिक क्षेत्रका अर्थशास्त्री रयोतारो हयाशीलाई उद्धृत गर्दै शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “चौथो औद्योगिक क्रान्तिको प्रविधि अवलम्बनलाई गति दिन र डिजिटल बङ्गलादेशको परिकल्पनालाई साकार पार्न उच्च शिक्षामा सफ्टवेयर इन्जिनियरिङ कार्यक्रमलाई माथि उकास्नु समयको माग हो ।”

“यो परियोजनाले बङ्गलादेशको आईटी उद्योगलाई अगाडि बढाउन मद्दत गर्न सक्ने अधिक सक्षम र प्रबिधि–प्रेमी स्नातक र उद्यमीहरू उत्पादन गर्न मद्दत गर्नेछ ।

परियोजनाले बङ्गलादेशको अग्रणी सरकारी विश्वविद्यालयहरू, बङ्गलादेश युनिभर्सिटी अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी, ढाका विश्वविद्यालय र जशोर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, सफ्टवेयर इञ्जिनियरिङ र सूचना प्रबिधि कार्यक्रमको उन्नयन गर्नेछ ।

यी कार्यक्रमहरूले मिश्रित शिक्षण प्रविधिहरू अपनाउनेछन् र कृतिम बौद्धिकता, यान्त्रिकता र इन्टरनेटबाट जोडिएका सबै ज्ञानजस्ता नवीनतम प्रविधिहरू एकीकृत गर्नेछन् । यी कार्यक्रमले विद्यार्थीले अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्ने अद्यावधिक पाठ्यक्रमहरू प्राप्त गर्न सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछन् ।

एडिबीले तीनै विश्वविद्यालयमा आधुनिक कक्षाकोठा र प्रयोगशाला स्थापना, सहकार्य र स्टार्ट–अप स्पेस र सहायक सुविधाको स्थापनामा सहयोग गर्ने जनाएको छ ।यी सुविधाहरूमा जलवायु र प्रकोप प्रतिरोधी नमूनाहरू, ऊर्जा र पानी बचत सुविधाहरू समावेश हुनेछन् र महिला–मैत्री सुविधा र सेवाहरू समावेश हुनेछन् ।

नेपाल माइक्रो इकोनोमिक अपडेट : अर्को वर्ष आर्थिक सूचक सुध्रने एडिबीको अनुमान

काठमाडौँ, ५ असोज : एसियाली विकास बैंक (एडिबी) ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ ।

 एडिबीले यही बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आगामी वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ ।

 आज सार्वजनिक भएको ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ अनुसार नेपालको कृषि क्षेत्रमा सन् २०२२ मा दुई दशमलव दुई प्रतिशतको वृद्धिदर देखिएकोमा सन् २०२३ मा दुई दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

 त्यस्तै, यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर शून्य दशमलव छ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । जबकि, सन् २०२२ मा यो क्षेत्रको वृद्धिदर १० दशमलव आठ प्रतिशत रहेको थियो । उच्च ब्याजदर र आयातमा प्रतिबन्ध लगाइनुलाई यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर घट्नुको मुख्य कारण ठानिएको छ ।

 सेवा क्षेत्रको विस्तार सन् २०२२ मा पाँच दशमलव तीन प्रतिशत रहेकोमा यसवर्ष आधा बराबर मात्रै रहने अनुमान एडिबीको छ । सन् २०२३ मा सेवा क्षेत्रमा दुई दशमलव तीन प्रतिशतको वृद्धि देखिने अनुमान गरिएको छ । यस वर्ष सेवा क्षेत्रको वृद्धिदर घट्नुमा खुद्रा तथा होलसेल व्यापार र यातायात क्षेत्रमा कमी आएको कारण देखाइएको छ । उपभोगमा हुने खर्च गत वर्ष छ दशमलव आठ प्रतिशतको वृद्धि रहेकोमा यस वर्ष खुम्चिएर चार दशमलव एक प्रतिशतको मात्रै वृद्धि देखिने अनुमान एडिबीको रहेको छ ।

एडिबीका अनुसार यस वर्ष नेपालको स्थिर लगानी १० दशमलव नौ प्रतिशतले घटेको छ । जबकि, गत वर्ष तीन दशमलव आठ प्रतिशतले विस्तार भएको थियो । निजी लगानी सात दशमलव छ प्रतिशत र सार्वजनिक लगानी २० दशमलव दुई प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । जसकारण, कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा तीन दशमलव नौ प्रतिशत विन्दुको गिरावट देखिएको एडिबीले जनाएको छ ।

 त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहने अनुमान एडिबीको छ । सन् २०२४ मा भने त्यो घटेर छ दशमलव दुई प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । नेपालले वस्तु आयात गर्ने सबैभन्दा ठूलो मुलुक भारतमा सन् २०२४ मा मूल्यवृद्धि घट्ने अनुमान गरिएका कारण नेपालमा पनि त्यसको सकारात्मक प्रभाव देखिने अनुमान एडिबीको छ । 

यस वर्ष मुद्रास्फिती बढ्नुमा विश्व बजारमा भएको पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र अमेरिकी डलरको भाउ बढ्नुलाई कारण मानिएको छ । नेपालमा सन् २०२३ मा खाद्य क्षेत्रको वार्षिक औसत मुद्रास्फीति छ दशमलव छ प्रतिशत रहने अनुमान गरिएको छ । यातायात, स्वास्थ्य, शिक्षा, घरजग्गालगायतका गैरखाद्य वस्तु र सेवाको मुद्रास्फीति आठ दशमलव छ प्रतिशत रहने अनुमान गरिएको छ ।

न्यून खर्च र राजस्व सङ्कलनले समग्र बैकिङ प्रणालीको तरलतामा असर गरेको एडिबीले जनाएको छ । न्यून राजस्व सङ्कलन भएका कारण सन् २०२२ मा जिडिपीको तीन दशमलव दुई प्रतिशत रहेको सरकारी वित्त घाटा सन् २०२३ मा जिडिपीको छ दशमलव एक प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

विप्रेषण आप्रवाह सन् २०२२ मा दुई दशमलव दुई प्रतिशतले बढेकोमा यस वर्ष १२ दशमलव एक प्रतिशतले बढ्ने अनुमान गरिएको छ । त्यस्तै, विदेशी मुद्रा सञ्चिति अमेरिकी डलर ११ दशमलव सात अर्ब पुग्ने र १० महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने जनाइएको छ । सन् २०२२ मा अमेरिकी डलर नौ दशमलव पाँच अर्ब बराबर रहेकोमा यसले छ दशमलव नौ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने अवस्था थियो ।

सन् २०२४ को अन्तसम्ममा नौ सय मेगावाट बराबर विद्युत् उत्पादन थपिने अनुमान गरिएकाले यसले पनि आर्थिक विकासमा केही सहयोग गर्ने अनुमान एडिबीको छ । जसकारण औद्योगिक क्षेत्रमा सन् २०२४ मा छ दशमलव तीन प्रतिशतको वृद्धि देखिने अनुमान गरिएको छ । घरजग्गा, खुद्रा तथा होलसेल बजारमा राम्रो सुधार हुने ठानिएको छ । चालु पूँजी कर्जा मार्गदर्शन संशोधन गर्ने प्रतिबद्धता नेपाल राष्ट्र बैंकले जनाएकाले निजी क्षेत्रलाई सहयोग पुग्ने जनाइएको छ ।

नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती भने कायमै रहेको एडिबीले जनाएको छ । स्थिर मूल्यवृद्धि र पर्याप्त वैदेशिक मुद्रा सञ्चितिका कारण अहिले मुख्यगरी बाह्य क्षेत्र सन्तुलन र समग्र अर्थतन्त्रमा पनि सुधारका सङ्केत देखिन थालेको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई घटाएर साढे छ प्रतिशत बनाएको थियो । यसले ब्याजदर घटाउन सहयोग गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने देखिएको एडिबीले जनाएको छ । घरजग्गा, थोक तथा खुद्रा व्यापार र सेवा क्षेत्रमा विस्तार हुनसके अर्थतन्त्र थप सुदृढ हुँदै जाने ठानिएको छ । अहिले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र जोखिम घट्दै गएको एडिबीको भनाइ छ ।

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

काठमाडौँ, ५ असोज- सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ ।मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो । सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारेको छ । बदलिँदो अवस्थालाई सम्बोधन गर्ने लक्ष्यका साथ कार्ययोजना तयार पारिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वको कार्यदलले तयार पारेको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८० मा जलविद्युत् आयोजना, प्रसारण वितरण तथा सबस्टेशनका लागि आवश्यक पर्ने लगानीको विस्तृत विवरणसमेत समेटिएको छ । कार्यदलमा विद्युत् विकास विभागका उपमहानिर्देशक सञ्जय ढुङ्गेल, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्राधिकरणकै निर्देशक प्रबल अधिकारी, ऊर्जा मन्त्रालयका सिडिई बाबुराज अधिकारीलगायतका सदस्य हुनुहुन्थ्यो । ऊर्जामन्त्री बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै गत असार २६ गते सो कार्यदल गठन गर्नुभएको थियो ।सो कार्ययोजनासहितको प्रतिवेदन केही दिनअघि मात्रै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई बुझाएको छ । सो प्रतिवेदन सम्बद्ध सरोकार भएका निकायबीच थप विस्तृत छलफल गराएर मन्त्रिपरिषद्बाट पारित गर्ने तयारी गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत भ्रमणका क्रममा आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातको सम्झौता भएको तथा बङ्गलादेशले पनि सन् २०४० सम्म नेपाललगायतका देशबाट नौ हजार मेगावाट बिजुली लैजाने बताइरहेको बेला सरकारले विस्तृत कार्ययोजना तयार पारेको हो ।सन् २०३५ सम्ममा मुलुकको कुल जडित क्षमता नै २८ हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य राखिएको छ । हाल मुलुकको कुल जडित क्षमता दुई हजार आठ सय ६० मेगावाट बराबर रहेको छ ।सरकारले आन्तरिक एवं छिमेकी देशमा हुने निर्यातलाई समेत केन्द्रमा राखेर बिजुलीको माग २८ हजार पाँच सय मेगावाट बराबर हुने प्रक्षेपण गरेर सोहीअनुसार लगानीको मोडालिटीसमेत तय गरेको ऊर्जामन्त्री बस्नेतको भनाइ छ । त्यसमा १५ हजार मेगावाट बिजुली अन्य मुलुकमा निर्यात गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि कुल ४६ अर्ब अमेरिकी डलरबराबरको लगानी यस क्षेत्रमा हुनुपर्ने देखिएको छ ।मन्त्रालयका अनुसार हालसम्म आठ अर्ब अमेरिकी डलर बराबरको स्रोत सुनिश्चित भएको छ । ऊर्जा क्षेत्रमा हुने लगानीमा सरकारी, निजी क्षेत्र एवं आम सर्वसाधारणको समेत हिस्सा रहनेछ । लगानीको व्यवस्था नै गर्दा सरकारको प्रमुख दायित्व रहनेछ । यस्तै निजी क्षेत्र, सर्वसाधारण र वैदेशिक लगानीका अलावा गैरआवासीय नेपाली र वैदेशिक रोजगारीमा रहेका नेपालीको पुँजीलाई पनि उत्तिकै महत्व दिएर समावेश गरिनेछ ।मुलुकको ऊर्जा क्षेत्रमा हालसम्म दुई दशमलव छ अर्ब अमेरिकी डलर लगानी भइसकेको सो कार्यदलको प्रतिवेदनमा उल्लेख छ । थप ३९ अर्ब अमेरिकी डलरबराबरको स्रोतको भने खोजी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सन् २०३५ सम्ममा नेपाल विद्युत् प्राधिकरणको आठ अर्ब अमेरिकी डलरबराबरको आम्दानी पनि ऊर्जा क्षेत्रको विकासमा परिचालन गरिने उल्लेख गरिएको छ ।ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सरकारको बजेटको वार्षिक वृद्धिदरलाई ऊर्जा क्षेत्रमा गर्ने लगानीलाई आधार बनाएको बताउनुभयो । उहाँले पछिल्लो कार्ययोजना तथ्यमा आधारित भएर निर्माण गरिएको बताउनुभयो । त्यसो त यसअघि पनि सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको थियो । सरकारले ९९ बुँदे कार्ययोजना, ऊर्जा सङ्कटकालीन कार्ययोजना, लोडसेडिङ अन्त्यको कार्ययोजना बनाएर लागू गरेको थियो । सरकारको जोडकै कारण मुलुकले ऊर्जा क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गरेको छ ।मन्त्री बस्नेतका अनुसार आयोजना तथा प्रसारण र वितरण लाइन निर्माणका लागि जलवायु लगानीमार्फत दुई अर्ब डलर प्राप्त हुनेछ । जलवायु परिवर्तनमा नेपालको भूमिका कम भए पनि त्यसको प्रभावबाट नकारात्मक जोखिममा परेका केही देशमध्ये हाम्रो देश अग्रस्थानमा छ । सोही कारण पनि जलवायु लगानीबाट नेपालले विश्वव्यापीरूपमा समन्वय गर्न सकेको खण्डमा ठूलो रकम प्राप्त हुन सक्छ । प्रधानमन्त्री प्रचण्डले अमेरिकामा जारी संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालजस्ता देशले भोगेको समस्याका बारेमा जानकारी गराउँदै ठूला र विकसित देशलाई आफ्नो प्रतिबद्धता पूरा गर्न आग्रह गर्नुभएको छ ।यस्तै सरकारले ऊर्जा क्षेत्रको विकासका लागि बजेटरी प्रणालीमार्फत सन् २०३५ सम्म थप ५० करोड डलर लगानी गर्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै वैदेशिक रोजगारीमा गएकाहरु र नेपाल इन्फ्रास्ट्रक्चर बैंक र ऋणपत्रमार्फत थप १२ अर्ब डलर जुट्ने जनाइएको छ । त्यस्तै आन्तरिक खपत बढाउन प्रतिव्यक्ति विद्युत् खपत १५ सय युनिट पुर्याउने लक्ष्य राखेको छ ।उक्त कार्ययोजना पूर्णरूपमा लागू भएको खण्डमा मुलुकको जलस्रोतको अधिकतम् उपयोग भई गुणस्तरीय र भरपर्दोरूपमा विद्युत्मा आत्मनिर्भर हुनेछ । यस्तै आन्तरिक विद्युत् मागको आपूर्तिका लागि विद्युत् आयात गर्नु नपर्ने तथा आन्तरिक खपत पूर्ति भएपछि बाँकी हुने विद्युत् निर्यातसमेत गर्न सकिने हुँदा राज्यको व्यापार घाटाको स्थितिमा सुधार आउनेछ । ऊर्जा विकाससम्बन्धी आयोजनाको कार्यान्वयनका क्रममा रोजगारीका अवसरमा वृद्धि भई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्नेछ ।सोही प्रतिवेदनअनुसार एक हजार मेगावाट बिजुली उत्पादनका लागि मात्रै व्यवस्थापक तहमा न्यूनतम ५० जनाले रोजगारी पाउनेछन् । यस्तै इज्जिनियरतर्फ झण्डै छ सय जनाले रोजगारी पाउनेछन् । सुपरीवेक्षक, फोरमेनजस्ता कार्यस्थलमा नेतृत्व गर्ने जनशक्तितर्फ झण्डै दुई हजार जनाले रोजगारी पाउनेछन् । विभिन्न सीप र दक्षता भएका कामदारतर्फ झण्डै छ हजार जना र सामान्य कामदारतर्फ २५ हजार बराबरले रोजगारी पाउने भएकाले रोजगारीको खोजीमा विदेशिने नागरिकलाई समेत स्वदेशमा नै रोजगारी उपलब्ध हुनेछ । यसै आधारमा २८ हजार मेगावाट बराबरको बिजुली उत्पादन गर्दा सोहीअनुसारको रोजगारीकोे समेत सिर्जना हुनेछ ।विद्युत् उत्पादनबाट राज्यको अर्थतन्त्रमा उल्लेखनीय सुधारमात्रै नभई बेरोजगारीको अवस्थाबाट समेत नागरिकले मुक्ति पाउनेछन् । बिजुली अर्थतन्त्रको प्रमुख आधारस्तम्भ भएकाले यसको प्रभाव चौतर्फी पर्ने सरकारको विश्लेषण छ ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क, ५ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिरहेको छ । प्रधानमन्त्री र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको छु ।”

सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि सङ्घीय संसद्मा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले पीडित सरोकारवाला पक्ष र समाजले ग्रहण गर्ने गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पीडितहरूको चासोलाई सम्बोधन गर्न उनीहरूसँग गम्भीर छलफल र अन्तक्र्रियापश्चात विधयेक संशोधनको लागि संसद्मा प्रस्तुत गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले द्वन्द्वका समयमा भएका गम्भीर अपराधलाई आममाफी नदिने गरी स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यसको मुख्य उद्देश्यले देशमा शान्ति, सद्भाव कायम गर्दै समाजमा न्याय, शान्ति स्थापना गर्नु हो ।”

द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने नेपालको दुर्लभ उचित समर्थन र मान्यता दिन विश्व समुदायलाई अपिल गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म अन्तरराष्ट्रिय समुदायलाई शान्ति प्रक्रियालाई अन्तिम रूप दिनका लागि सद्भाव र समर्थन गर्न अपिल गर्दछु ।”

भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक राष्ट्रवाद, शक्तिको उन्मादले गर्दा विश्वमा शान्ति र सुरक्षा कायम गर्न चुनौती थपिएको बताउँदै उहाँले संयुक्त राष्ट्रसङ्घको वडापत्रमाथि नै गम्भीर समस्या उत्पन्न भएको देखिएको टिप्पणी गर्नुभयो । उहाँले विश्व समुदायलाई विद्यमान ‘कोर्ष’ परिवर्तन गरेर सबैको साझा लक्ष्य शान्ति, समृद्धि र प्रगति बनाएर अघि बढ्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “नेपालको शान्ति प्रक्रियाको रुपान्तरण सदिऔँदेखि चल्दै आएको राजतन्त्रबाट गणतान्त्रिक प्रजातन्त्रको अङ्गीकार गरेको छ । यो रुपान्तरण बहुदलीय प्रजातान्त्रिक परिपाटी हो जसले समाजका हरेक क्षेत्र र तप्काका नागरिकलाई सहभागिताका लागि सुनिश्चित गराएको छ ।”

दाहालले शान्ति प्रक्रियामा नेपालले हासिल गरेको विषयमा विश्व समुदायलाई जानकारी गराउँदै भन्नुभयो, “हामीहरूले यो १५ वर्षमा धेरै काम गर्न सफल भएका छौँ । जननिर्वाचित प्रतिनिधिहरूमार्फत हामीहरूले प्रजातान्त्रिक संविधान लागू गर्न सफल भएका छौँ । यो संविधान विश्वव्यापीरूपमा आत्मसात गरिएको मानवअधिकार, स्वतन्त्र न्याय, प्रजातान्त्रिक सहभागिता, आवधिक निर्वाचन, समावेशी–समानुपातिक प्रतिनिधित्व, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र कानुनी राजको अवधारणा अङ्गीकार गरिएको छ ।”

उहाँले नेपालले दुई चरणको स्थानीय, प्रादेशिक, सङ्घीय संरचनाको निर्वाचन सम्पन्न भएर महिला, युवा, दलित र अल्पसङ्ख्यकहरूको सहभागितालाई सरकारी निकायमा सामेल गराउन सफल भएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिले स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधिहरूले काम गरिरहनुभएको छ र न्यूनतम ३३ प्रतिशत महिलाको प्रदेश र सङ्घमा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था संविधानमा नै गरिएको छ ।”

नेपालले नागरिकको सार्वभौम अधिकार निश्चित गरी स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नागरिक नै वास्तविकरूपमा राज्यका लागि शक्तिका स्रोत हुन् भन्ने स्पष्ट पारेका छौँ, देशमा लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ ।”

राजनीतिक परिवर्तनले स्थायित्व लिएकाले नेपालको अबको मुद्दा आर्थिक विकास भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तन त्यो बेलामात्र दिगो हुन्छ, जुन बेला हामीहरूले सामाजिक, आर्थिक वृद्धि, विकासलाई सँगै लिएर जान सक्छौँ । आर्थिक विकासका लागि अहिलेको सरकारले सम्पूर्ण सामथ्र्य र स्रोत लगाएको छ ।”

नेपालले दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताउँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीहरूले सन् २०२६ मा मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुने तयारी गरेका छौँ, यसमा हामी प्रतिबद्ध भएर लागिपरेका छौँ । हामीहरूले अहिले सुव्यवस्थित तरिकाले स्तरोन्नतिको रणनीतिलाई अन्तिम रूप दिइरहेका छौँ । हामीहरूले दिगो विकासलाई हामीहरूको विकासको केन्द्र र प्राथमिकतामा राखेका छौँ । तर महामारी, जलवायु परिवर्तन, भूराजनीतिक टकरावले हामीहरूको दिगो विकासको रणनीतिलाई गम्भीर चुनौती दिएको छ ।”

राष्ट्रसङ्घका महासचिवले प्रस्ताव गर्नुभएको दिगो विकास वित्तीय परिचालन हरेक वर्ष पाँच सय विलियन वृद्धि गर्ने प्रस्तावलाई नेपाल स्वागत गर्दै उहाँले भन्नुभयो, “अन्तरराष्ट्रिय सहयोगको आह्वान गरिरहेका छौँ, हामीहरूलाई प्रत्यक्ष वैदेशिक लगानी, निर्यातको वृद्धि, प्रविधिको रुपान्तरण, प्राविधिक सहयोगजस्ता विषय आवश्यक छ भनेर भनिरहेका छौँ ।”

राष्ट्रसङ्घमा अतिकम विकसित देशहरूको प्रतिनिधित्व गर्दै अध्यक्षको हैसियतले प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीहरू सहभागी देशहरूसँग सक्रियतापूर्वक सहकार्य गर्दै हामीहरूका सामूहिक चासो र स्वार्थलाई सम्बोधन गर्न सदैव तयार रहेका छौँ । हामी सदस्य राष्ट्रहरूलाई राष्ट्रसङ्घीय प्रणालीमा ‘दोहा प्रोग्राम अफ एक्सन’ अनुसार कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्दछौँ । हामीहरू आह्वान गर्छौँ, स्वच्छ र समानताका आधारमा व्यापार गरेर अतिकम विकसित देशहरूलाई लाभ दिन सकोस् ।” उहाँले समन्वयकारी नीति र वित्तीय घाटा, सङ्कटलाई सामना गर्न दोहा प्रोग्रामलाई व्यवहारिकरूपमा लागू गर्न अनुरोध गर्नुभयो ।

विश्वभर जलवायु परिवर्तनले सङ्कटको घडी आइरहेको बताउँदै उहाँले मानवताका लागि ठूलो दुर्घटना निम्त्याइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले विश्व समुदायलाई भन्नुभयो, “अहिले हाम्रोजस्तो हिमाल भएका देशहरूले गम्भीर सङ्कटको सामना गर्नुपरेको छ, करिब दुई अर्ब जनसङ्ख्याको पानीको स्रोतका रूपमा रहेको हिमालयहरू जलवायु परिवर्तनले हिउँ पग्लिएर जाने प्रवृत्ति दिएको छ । यसले हामीहरूको हिमाललाई मात्र सङ्कट उत्पन्न गराएको छैन, लाखौँ मानिसहरूको जीवनलाई सङ्कटमा पारेको छ, यो एउटा गम्भीर अवस्था हो ।”

उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्नका लागि पेरिस सम्झौताअनुसार काम गर्न सकियोस् भन्ने कामना गर्दै भन्नुभयो, “नेपालले २०४५ मा शून्य कार्वन उत्सर्जनमा लैजान महत्वाकाङ्क्षी योजना अगाडि सारेको छ । भूमि, वनजङ्गलको संरक्षण र पानीको स्रोत कायम गर्दै हरित अर्थव्यवस्थालाई कायम राख्न हामी प्रयत्नशील छौँ । हामीहरू स्वच्छ ऊर्जा हरेक नागरिकलाई प्रदान गर्न प्रतिबद्ध रहेका छौँ ।” उहाँले जलवायु कोषको रकमलाई बढोत्तरी गर्ने विकसित देशहरूले प्रदान गर्ने विषयलाई पूर्णरूपमा कार्यान्वयन गर्न अनुरोध गर्नुभयो ।

“हामीहरूको ४५ प्रतिशत भू–भाग जङ्गल छ, १५ प्रतिशत भू–भाग उच्च हिमश्रृङ्खला रहेको छ । पर्यावरणीय संरक्षणका लागि महत्त्वपूर्ण योगदान दिएको छ तर अन्यायपूर्वक तरिकाले जलवायु परिवर्तनको असरको सामना गर्नुपरेको छ । यस प्रकारको मिसम्याचलाई कुनै प्रकारको राहतले सम्बोधन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ”, प्रधानमन्त्री दाहालले आफ्नो सम्बोधनको अन्त्यमा भन्नुभयो, “अहिले देशबीचमा भू–भागको विषयलाई लिएर तनाव वृद्धि हुनु नेपाल कुनै प्रकारको भूस्वामित्वमा अस्त्रशस्त्रको उपयोग हुनुलाई आत्मसात गर्न सक्दैन । कुनै पनि प्रकारको धम्की, शस्त्रअस्त्रको प्रयोग गरेर भू–भाग स्वामित्व, राजनीतिक स्वतन्त्रता, सार्वभौममा तनाव हुनु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ ।”

कुनै पनि प्रकारको आणविक, सैन्य खर्चमा नियन्त्रण गर्नुपर्छ भन्नेमा नेपालको स्पष्ट धारणा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेपाल दोहोर्याएर भन्न चाहन्छ, कुनै पनि मानव जीवनलाई जोखिम पार्ने बायोलोजिकल, केमिकल हतियार प्रयोगको निन्दा गर्दछ ।” प्रधानमन्त्री दाहालले सूचना प्रविधिको बढ्दो अवस्थालाई मध्यनजर गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अनुगमनका लागि बहुराष्ट्रिय रणनीतिको खाँचो औँल्याउनुभयो ।

पाकिस्तानमा आगामी जनवरीमा आम निर्वाचन हुने

इस्लामावाद – पाकिस्तानको निर्वाचन आयोगले सन् २०२४ को जनवरीको अन्तिम साता आम निर्वाचन हुने बिहीबार घोषणा गरेको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै निर्वाचन क्षेत्रको सीमाङ्कन प्रक्रियाको समीक्षा गर्दै निर्वाचन क्षेत्रको सीमाङ्कनका लागि प्रारम्भिक सूची सेप्टेम्बर २७ मा प्रकाशित गर्ने निर्णय गरेको छ भने अन्तिम सूची यसै वर्षको नोभेम्बर ३० मा जारी गरिने जनाएको छ ।

सन् २०२३ अगष्ट ९ मा पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले तत्कालीन प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा नयाँ निर्वाचनका लागि संसदको तल्लो सदन ‘नेशनल एसेम्बली’ विघटन गर्नुभएको थियो ।

यो विघटनले सरिफ नेतृत्वको केन्द्रीय सरकारको संसदको पाँच वर्षे कार्यकाल पूरा हुनुभन्दा तीन दिनअगावै संसद् पनि विघटन गरेको छ ।

पाकिस्तानको संविधानअनुसार त्यस्तो अवस्थामा संसद् विघटन भएको ९० दिनभित्र आम निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।यद्यपि, निर्वाचन आयोगले संवैधानिक आवश्यकता पूरा गर्न यस वर्षको सुरुमा भएको नयाँ जनगणनाका आधारमा नयाँ निर्वाचन क्षेत्रको निर्धारण गर्ने जनाएको छ ।

हल्दिबारी गाउँपालिकाले शुरु गर्‍यो विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

झापा, ५ असोज ः हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो ।

ज्येष्ठ नागरिक बिरामीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका अस्पतालमा लैजानुपरेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानुपरेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ ।

पालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उहाँले बताउनुभयो । यसैगरी मिर्गौला रोगको कारण डायलायसिस गरिरहेका विपन्न नागरिकका लागि महिनामा एकपटक र क्यान्सर रोगको उपचाररत विपन्न नागरिकलाई वर्षमा दुईपटक जिल्लाभित्रका अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।

दुई महिनाअघि मात्र काठमाडौँस्थित भारतीय राजदूतावासले गाउँपालिकालाई उपहारस्वरुप सो एम्बुलेन्स प्रदान गरेको हो ।

म्यान्माले नेपालसहित चार देशका पर्यटकलाई बिनाभिषा प्रवेश दिने

याङ्गुन – म्यानमाले नेपालसहित थप चार मुलुकका कूटनीतिक तथा विशेष राहदानी भएका पर्यटकका लागि बिनाभिषा प्रवेशको व्यवस्था गरेकोे छ ।बिनाभिषा प्रवेशको व्यवस्था पाउने थप चार मुलुकमा नेपाल,बेलारुस, मोरक्को र जापान रहेका सरकारी अधिकारीलाई उद्धृत गरी ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ ।

यो कदमको उद्देश्य म्यान्मा र यी देशहरूबीच बलियो कूटनीतिक सम्बन्धलाई बढावा दिनु र पर्यटनलाई प्रोत्साहित गर्नु हो ।म्यान्मार र यी देशहरूबीच पारस्परिक भिसा सम्झौताको एक भागको रूपमा यो निर्णय आएको छ, जसले कूटनीतिज्ञहरू र विशेष पासपोर्ट धारकहरूलाई ३० देखि ९० दिनसम्म देशमा बस्न अनुमति दिन्छ ।

नयाँ थपिएका चार मुलुकबाहेक बङ्गलादेश, ब्राजिल, चीन, कोलम्बिया, भारत, दक्षिण कोरिया, उत्तर कोरिया, मङ्गोलिया, रूस, सर्बिया, श्रीलङ्का र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (सार्क) का सदस्य राष्ट्रहरू म्यानमाबाट भिसा छुटका लागि योग्य छन् ।

होटल तथा पर्यटन मन्त्रालयका उपस्थायी सचिव यु ह्ला मिन्तले भिसारहित प्रवेश र आगमनमा भिसालगायतका कदमले देशमा पर्यटकको आगमन बढाउन मद्दत पुग्ने बताउनुभयो । पर्यटन मन्त्रालयका अनुसार सन् २०२३ को पहिलो आठ महिनामा म्यानमामा सात लाख ५१ हजार २१६ विदेशी पर्यटक भित्रिएका बताइएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – शुक्रबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहमा मेघ गर्जन/चट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

जङ्गली जनावरको आक्रमणबाट दुई महिनामा चार जनाको मृत्यु

चितवन, ५ असोज ः चालु आर्थिक वर्षको दुई महिनामा जङ्गली जनावरको आक्रमणबाट चार जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको आक्रमणबाट दुई जना, गैँडाको आक्रमणबाट एक जना र गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा र केराघारीमा जाँदा दुई जनाको बाघको आक्रमणमा परी मृत्यु भएको हो । भरतपुर महानगरपालिका–२८ का आशबहादुर बोटे र खैरहनी नगरपालिका–१२ का अनिल तामाङको बाघको आक्रमणबाट मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

सूचना अधिकारी तिवारीका अनुसार मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएका रत्ननगर नगरपालिका–६ का नवराज अधिकारी गैँडाको आक्रमणमा परी मृत्यु भएको थियो । यस्तै रत्ननगर नगरपालिका–५ का फगुन्ना महतोलाई गोहीले आक्रमण गरी मृत्यु भएको उहाँले बताउनुभयो ।

सूचना अधिकारी तिवारीले सोही समयमा निकुञ्जभित्र चारवटा गैँडा मृत भेटिएका जानकारी दिनुभयो । यसमध्ये एउटा चोरी सिकारीले मारेका हुन् भने दुईवटा आपसमा जुधेर र एउटा बाघ र गोहीको आक्रमणबाट मरेका हुन् । मृत भेटिएका गैँडामध्ये दुईवटा भाले रहेका छन् भने दुईवटाको पहिचान हुन नसकेको उहाँले बताउनुभयो ।

निकुञ्जका अनुसार आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म निकुञ्जमा २०४ वटा गैँडा मरेका छन् । तीमध्ये १०२ वटा भाले, ७८ वटा पोथी र ४७ वटाको पहिचान हुनसकेको छैन । अहिलेसम्म मरेका गैँडामध्ये बूढो भएर र भिरबाट लडेर ६८ , दलदलमा परेर र बाढीले बगाएर १९ , आपसमा जुधेर ५४, बाघ र गोहीको आक्रमणबाट १६ रहेका छन् । यस्तै सम्भावित चोरी सिकारीले सातवटा, विद्युतीय करेन्ट लागेर सातवटा, बिरामी भएर ११ , खाडलमा परी तीनवटा, विष सेवनबाट पाँचवटा र कारण नखुलेको २८ वटा गैँडा मरेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।

बाँकेको बालसुधार गृहमा झडप : एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर

नेपालगन्ज, ५ असोज : बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।

संसद्मा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की

काठमाडौँ, ५ असोज : प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र हुनुहुन्छ । समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको सहभागिता गराउने प्रयास गरेको देखिन्छ ।

निर्वाचन आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभामा दुई सय ७५ निर्वाचित सांसदमध्ये पुरुषतर्फ एक सय ८४ (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) हुनुहुन्छ । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष दुई हजार एक ८६ उम्मेदवारी रहेकामा महिला दुई सय २५ मात्र उम्मेदवारी कायम रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ । यसबाट सजिलै यो बुझ्न सकिन्छ कि महिलालाई टिकट कमदिएर उम्मेदवारीबाटै बञ्चित गरिएका कारण पनिसंसद्मा महिला सांसदको सार्थक सहभागिता हुनसकेको छैन ।संविधानले सार्थक सहभागिताको कल्पना गरेको छ तर अभ्यास भने जसरी पनि सङ्ख्या पुर्याउनेतर्फ उन्मुख रहेको देखिन्छ । पछिल्लो समय राष्ट्रिय महिला आयोग, सङ्घीय संसद्का केही महिला सांसदलगायतले संसद्मा सार्थक महिला सहभागिता गराउन जनसङ्ख्याअनुसार सिट छुट्याउनुपर्नेमा आवाज उठाउँदै आउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संस्थापक केन्द्रीय सदस्य सांसद रोशन कार्कीले महिला सहभागिताका संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको बताउनुहुन्छ । “जनसङ्ख्याका आधारमा महिला ५१ प्रतिशतभन्दा बढी छन् । तर पनि ३३ प्रतिशत सार्थक महिला सहभागिता सुनिश्चित गर्न दल कञ्जुस्याइँ गर्छन् । व्यवस्थाबमोजिम महिला सांसदको सार्थक सहभागिता गराउनुपर्छ । सरकार, पार्टी, समाजले महिलालाई हेर्ने दृष्टिकोण सङ्कीर्ण भएका कारण यो अवस्था सिर्जना भएको हो”, उहाँले भन्नुभयो ।महिलाले पर्याप्त उम्मेदवारी नपाउने र भड्किलो चुनावी प्रसार–प्रचारका कारण प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचित महिला सांसद कम रहेको उहाँको ठहर छ । “पार्टीले महिलालाई पर्याप्त सिट दिँदैनन्, दिए पनि प्रायः जित्ने कम सम्भावना भएको ठाउँमा दिन्छ । उम्मेदवारी पाएका महिला सांसद केही निर्वाचित हुनुहुन्छ । केही भड्किलो चुनावी प्रचार–प्रसारको प्रवृत्तिका कारण आर्थिक अभावमा हार व्यहोर्नुपरेको छ”, उहाँले भन्नुभयो, “महिला–महिलाबीच मात्र प्रतिस्पर्धा गराएमा संसद्मा महिला सहभागिता अभिवृद्धि गर्न सकिन्छ ।”सांसद कार्कीले महिला सांसदले आफ्नो योग्यता र क्षमतालाई अभिवृद्धि गर्न जरुरी रहेको बताउनुहुन्छ । “दलभित्र महिलालाई त्यत्ति राम्रो स्थान त दिएको पाइँदैन । तैपनि महिलाले आफ्नो योग्यता र क्षमतालाई अभिवृद्धि गरेमा सार्थक सहभागिता पहल हुन्छ । महिलाले आफ्नो स्थान स्थापित गर्नचाहिँ सङ्र्घष गर्नुपर्छ”, उहाँले भन्नुभयो ।महिलाका विषयमा संसद्मा उठान गर्नुपर्ने विषय उठिरहेको तर कसैले गम्भीर भएर नलिएको उहाँले गुनासो गर्नुभयो । “महिलाका सवालमा न सरकार गम्भीर छ, न त दल, संसद्मा आवाज उठाउने काम हुन्छ तर सम्बोधन हुँदैन”, उहाँ भन्नुहुन्छ ।पछिल्लो संसदीय अभ्यासमा सांसदमा सहनशीलताको अभाव रहेको उहाँले जिकिर गर्नुभयो । “संसद्मा विचार नमिल्दा विरोध जनाउनु, घेर्नु, बन्द गर्नु स्वभाविक हो । एकअर्कालाई आरोप–प्रत्यारोपको जुहारीचाहिँ ठीक होइन । जनप्रतिनिधि आवेशमा आउनु हँुदैन । सफल संसदीय अभ्यासलाई प्रश्रय दिन सांसदमा सहनशीलता अभाव देखियो । सासंदले सहनशीलता कायम गर्नुपर्छ”, सांसद कार्कीले भन्नुभयो ।विसं २०१० जेठ ७ गते जन्मिनुभएकी कार्कीको स्थायी ठेगाना बागमती प्रदेश, ललितपुर जिल्ला रहेको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकी कार्की हाल राप्रपाबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।तत्कालीन पञ्चायती व्यवस्थाबाट नै राजनीति सुरु गर्नुभएकी सांसद कार्की पूर्व स्थानीय विकास सहायकमन्त्री, राप्रपाको पूर्वउपाध्यक्ष, संसदीय समितिको सदस्य, पूर्व महिला विभागको अध्यक्ष, रेडक्रसको पूर्वसदस्य, परिवार नियोजन सङ्घको पूर्व सदस्य, पपुलेसन कन्सर्न सोसाइटीको पूर्वसदस्य, प्रकृति संरक्षण कोषको पूर्वसदस्य, हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित उपाध्यक्ष हुनुहुन्छ ।