`

बाँकेको बालसुधार गृहमा झडप : एक जनाको मृत्यु, चार जनाको अवस्था गम्भीर

नेपालगन्ज, ५ असोज : बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।

संसद्मा महिला सहभागिता वृद्धि गरिनुपर्छ : सांसद कार्की

काठमाडौँ, ५ असोज : प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र हुनुहुन्छ । समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको सहभागिता गराउने प्रयास गरेको देखिन्छ ।

निर्वाचन आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभामा दुई सय ७५ निर्वाचित सांसदमध्ये पुरुषतर्फ एक सय ८४ (६६ दशमलव ९० प्रतिशत) र महिला ९१ जना (३३ दशमलव १० प्रतिशत) हुनुहुन्छ । प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ पुरुष दुई हजार एक ८६ उम्मेदवारी रहेकामा महिला दुई सय २५ मात्र उम्मेदवारी कायम रहेको आयोगको तथ्याङ्कमा उल्लेख छ । यसबाट सजिलै यो बुझ्न सकिन्छ कि महिलालाई टिकट कमदिएर उम्मेदवारीबाटै बञ्चित गरिएका कारण पनिसंसद्मा महिला सांसदको सार्थक सहभागिता हुनसकेको छैन ।संविधानले सार्थक सहभागिताको कल्पना गरेको छ तर अभ्यास भने जसरी पनि सङ्ख्या पुर्याउनेतर्फ उन्मुख रहेको देखिन्छ । पछिल्लो समय राष्ट्रिय महिला आयोग, सङ्घीय संसद्का केही महिला सांसदलगायतले संसद्मा सार्थक महिला सहभागिता गराउन जनसङ्ख्याअनुसार सिट छुट्याउनुपर्नेमा आवाज उठाउँदै आउनुभएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संस्थापक केन्द्रीय सदस्य सांसद रोशन कार्कीले महिला सहभागिताका संवैधानिक तथा कानुनी व्यवस्थाबमोजिम कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको बताउनुहुन्छ । “जनसङ्ख्याका आधारमा महिला ५१ प्रतिशतभन्दा बढी छन् । तर पनि ३३ प्रतिशत सार्थक महिला सहभागिता सुनिश्चित गर्न दल कञ्जुस्याइँ गर्छन् । व्यवस्थाबमोजिम महिला सांसदको सार्थक सहभागिता गराउनुपर्छ । सरकार, पार्टी, समाजले महिलालाई हेर्ने दृष्टिकोण सङ्कीर्ण भएका कारण यो अवस्था सिर्जना भएको हो”, उहाँले भन्नुभयो ।महिलाले पर्याप्त उम्मेदवारी नपाउने र भड्किलो चुनावी प्रसार–प्रचारका कारण प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचित महिला सांसद कम रहेको उहाँको ठहर छ । “पार्टीले महिलालाई पर्याप्त सिट दिँदैनन्, दिए पनि प्रायः जित्ने कम सम्भावना भएको ठाउँमा दिन्छ । उम्मेदवारी पाएका महिला सांसद केही निर्वाचित हुनुहुन्छ । केही भड्किलो चुनावी प्रचार–प्रसारको प्रवृत्तिका कारण आर्थिक अभावमा हार व्यहोर्नुपरेको छ”, उहाँले भन्नुभयो, “महिला–महिलाबीच मात्र प्रतिस्पर्धा गराएमा संसद्मा महिला सहभागिता अभिवृद्धि गर्न सकिन्छ ।”सांसद कार्कीले महिला सांसदले आफ्नो योग्यता र क्षमतालाई अभिवृद्धि गर्न जरुरी रहेको बताउनुहुन्छ । “दलभित्र महिलालाई त्यत्ति राम्रो स्थान त दिएको पाइँदैन । तैपनि महिलाले आफ्नो योग्यता र क्षमतालाई अभिवृद्धि गरेमा सार्थक सहभागिता पहल हुन्छ । महिलाले आफ्नो स्थान स्थापित गर्नचाहिँ सङ्र्घष गर्नुपर्छ”, उहाँले भन्नुभयो ।महिलाका विषयमा संसद्मा उठान गर्नुपर्ने विषय उठिरहेको तर कसैले गम्भीर भएर नलिएको उहाँले गुनासो गर्नुभयो । “महिलाका सवालमा न सरकार गम्भीर छ, न त दल, संसद्मा आवाज उठाउने काम हुन्छ तर सम्बोधन हुँदैन”, उहाँ भन्नुहुन्छ ।पछिल्लो संसदीय अभ्यासमा सांसदमा सहनशीलताको अभाव रहेको उहाँले जिकिर गर्नुभयो । “संसद्मा विचार नमिल्दा विरोध जनाउनु, घेर्नु, बन्द गर्नु स्वभाविक हो । एकअर्कालाई आरोप–प्रत्यारोपको जुहारीचाहिँ ठीक होइन । जनप्रतिनिधि आवेशमा आउनु हँुदैन । सफल संसदीय अभ्यासलाई प्रश्रय दिन सांसदमा सहनशीलता अभाव देखियो । सासंदले सहनशीलता कायम गर्नुपर्छ”, सांसद कार्कीले भन्नुभयो ।विसं २०१० जेठ ७ गते जन्मिनुभएकी कार्कीको स्थायी ठेगाना बागमती प्रदेश, ललितपुर जिल्ला रहेको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएकी कार्की हाल राप्रपाबाट समानुपातिकतर्फबाट प्रतिनिधिसभा सांसद हुनुहुन्छ ।तत्कालीन पञ्चायती व्यवस्थाबाट नै राजनीति सुरु गर्नुभएकी सांसद कार्की पूर्व स्थानीय विकास सहायकमन्त्री, राप्रपाको पूर्वउपाध्यक्ष, संसदीय समितिको सदस्य, पूर्व महिला विभागको अध्यक्ष, रेडक्रसको पूर्वसदस्य, परिवार नियोजन सङ्घको पूर्व सदस्य, पपुलेसन कन्सर्न सोसाइटीको पूर्वसदस्य, प्रकृति संरक्षण कोषको पूर्वसदस्य, हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्वाचित उपाध्यक्ष हुनुहुन्छ । 

सर्वोत्कृष्ट चलचित्र घोषणा गरिनुपर्छ : निर्देशक राउत

काठमाडौँ – चलचित्र विकास बोर्डले गत १२ भदौमा सम्पन्न गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान २०८०’ मा सर्वोत्कृष्ट चलचित्र घोषणा नगरेको विषय अदालतमा पुगेको छ । चलचित्र निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र मीनराज आचार्यले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गर्नुभएको छ ।

चलचित्र विकास बोर्डलाई प्रतिवादी बनाएर दायर गरिएको रिटमा राष्ट्रिय पुरस्कारमा निर्णायकले गर्नुभएको निर्णयको सक्कल प्रति झिकाउनुपर्ने र सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्न पर्ने कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ । रिट दायर गर्नुभएका निर्देशक राउतले सर्वोत्कृष्ट चलचित्र घोषणा नगरिनु दुःखद् रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सर्वोत्कृष्ट विधामा चलचित्र घोषणा नगरिएको विषयमा धेरै चलचित्रकर्मी रुष्ट हुनुहुन्छ । हामी प्रतिनिधि झैँ भएर कारण जान्न रिट दिएका हौँ । किनकि हामी चुप रहँदा गलत परम्परा विकसित हुन्छ । कोही न कोही अगाडि आउनुपथ्र्याे, हामी आयौँ ।”

उहाँ निर्देशित चलचित्र ‘प्रकाश’ राष्ट्रिय पुरस्कारका लागि सिफारिस भएको चर्चा निर्णायक समितिका एक सदस्यले गरेका थिए । यद्यपि निर्देशक राउतले रिट दायर गर्नुको कारण आफ्ना लागि नभई उक्त विधामा न्यायका लागि रहेको प्रस्ट्याउनुभयो । निवेदकतर्फका कानून व्यवसायी रौनकराज अर्यालले शुक्रबार बिहान ११ बजे अदालतमा छलफलमा बोलाएको जानकारी दिनुभयो ।

शिक्षकका यी माग सम्बोधन भए रोकिन सक्छ आन्दोलन

काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको ‘सार्वजनिक विद्यालयको शिक्षकको आचरण’ सम्बन्धी परिच्छेद–८ को दफा ७१ देखि ८३ सम्म संशोधन र केही अन्य व्यवस्थाले शिक्षकलाई हतोत्साही पार्ने भन्दै ती व्यवस्थाहरू खारेज गरे आन्दोलन रोकिन सक्ने जनाएको छ ।

संघका उपाध्यक्ष हेमचन्द्र महतोले नेपाल समाचारपत्रसँगको कुराकानीमा शिक्षकलाई हतोत्साही हुनेगरी ल्याइएका ती दफा र उपदफा खारेज वा महासंघको रायअनुसार संशोधन गरेपछि मात्र तत्कालका लागि आन्दोलन स्थगित हुन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘१७ बँुदे संसोधन प्रस्ताव सार्वजनिक गरेका थियौं, तीमध्ये शिक्षकको आचरणसँग जोडिएका बुँदा संशोधन गरे आन्दोलन स्थगित हुन सक्छ । शिक्षकको आचरणसम्बन्धी कतिपय विषय ठिक होला, तर कतिपय शिक्षकको मानमर्दन हुनेगरी लेखिएको छ ।’

त्यसबाहेक पनि महासंघले शिक्षकको पेशागत सुरक्षा र वृत्ति विकासको लागि जुन तहले शिक्षक नियुक्ति गरेको हो, सोही तहले बढुवा, घटुवा र कारबाही गर्ने व्यवस्था गर्नुपर्ने, प्रअ नियुक्ति प्रक्रिया शिक्षक सेवा आयोगले लिने परीक्षाबाट हुनुपर्ने, शिक्षक सरुवा जिल्ला शिक्षा कार्यालयबाट हुनुपर्ने, शिक्षकको बर्खास्ती स्थानीयले होइन, शिक्षक सेवा आयोगको परामर्शमा हुनुपर्ने, ट्रेड युनियनको अधिकार यथावत् हुनुपर्नेलगायतका बुँदा संशोधन गर्नुपर्ने माग अघि सार्नुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी

मलङ्गवा (सर्लाही)-सर्लाहीजिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा (कफ्र्यु) जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय मलङ्गवाले गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।

मूर्ति विर्सजन (सेलाउन) जाने क्रममा मलङ्गवा–३ मा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन गए राति १०ः०० बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका लागि कफ्र्यु आदेश गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

पुरानो मलङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोलपम्म) सीमा क्षेत्रभित्र कसैले आजवतजावत, भेला हुन, बाहिर हिँडडुल गर्न एवं अरु कुनै प्रकारको गतिविधि गर्न नपाइने कफ्र्यु आदेशमा भनिएको छ । कफ्र्यु आदेशपछि अहिले मलङ्गवाको स्थिति सामान्य रहेको सर्लाहीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

काठमाडौँ, ५ असोज- सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा १२ वर्षअघि सुरुआत गरिएको हो ।

गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गरिएको थियो । गत भदौ १७ गतेदेखि भने पुनः २४ घण्टा सञ्चालनमा ल्याइएको छ । हाल एक उपसचिवको नेतृत्वमा आठ जना आवश्यक जनशक्तिसहित तीन सिफ्टमा २४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हेलो सरकार सेवा सञ्चालन गरिरहेका छन् ।हेलो सेवाको टोल फ्री नं ११११ मा गत भदौ १७ गतेदेखि यही असोज ४ गतेसम्म जम्मा दुई हजार छ सय ५० टेलिफोन आएको छ । हेलो सरकारमा टेलिफोनमात्र दैनिक सरदर एक सय ५० को सङ्ख्यामा आउने गरेको प्रधानमन्त्री कार्यालयको शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव प्रधुम्नप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।त्यस्तै भाइबर, वाट्सएप, इमेल, सेलफोन, पोर्टल, फेसबुक, ट्वीटरमा आउने गुनासोको सङ्ख्यासमेत उल्लेख्य रहेको छ । साथै भौतिकरूपमा समेत उपस्थित भई गुनासो गर्ने सङ्ख्यासमेत उल्लेख्य रहेको छ भने हेलो सरकारको उक्त अवधिमा वेब पोर्टलमा इन्ट्री गरेका गुनासोको सङ्ख्या एक हजार आठ सय आठ रहेको छ । धेरै गुनासोहरू आपत्कालीन मुद्दाहरूमा टेलिफोनबाटै सम्बन्धित निकायसँग समन्वय गरी गुनासो सम्बोधन गर्ने गरिएको उहाँले बताउनुभयो ।कस्तो छ त गुनासो तथा सुझावको प्रकृतिहेलो सरकारमा रिचार्ज कसरी गर्ने, राहदानी फाराम कसरी भर्ने, बत्ती धेरै जाने आउने गरेको छ भन्नेसम्मका जिज्ञासा र गुनासोसमेत आउने गरेको छ । त्यस्तै तत्काल सम्बोधन गरी गुनासो सम्बोधन गर्नुपर्ने खालको आपत्कालीन मुद्दा, समय लाग्ने सम्बन्धित निकायले समाधान गर्नुपर्ने समय लाग्ने खालको वास्तविक गुनासो पनि आउने गरेका छन् ।सहसचिव उपाध्यायले भन्नुभयो, “आमनागरिकले आफ्ना गुनासो तथा सुझाव विभिन्न माध्यममार्फत राख्ने अवस्था रहेको र गुनासो विगतमा भन्दा तेब्बरको सङ्ख्यामा बढेको छ । केही आपत्कालीन मुद्दाहरू फोनमार्फत नै समाधान गर्ने गरिएको छ । साथै नागरिकहरूलाई गुनासो गर्नुपर्दछ भन्ने भावनाको विकास हुँदै गएको छ ।”यस्तै हेलो सरकार सेवामा केही समस्या र चुनौतीसमेत देखिएका छन् । कतिपय अवस्थामा सम्बन्धित निकाय संवेदनशील नहुँदा गुनासो सुनुवाइमा अपेक्षित प्रभावकारिता हासिल गर्न नसकिएको, क्षेत्राधिकारको समस्याका कारण गुनासो कसले सम्बोधन गर्ने स्पष्ट नहुने गरेको, निजी क्षेत्रका गुनासो सम्बन्धित निजी क्षेत्रलाई पठाउने कि सरकारी निकायलाई पठाउने हो स्पष्ट नभएको, धेरै निकायसँग सम्बन्धित गुनासो सम्बोधनमा समस्या देखिएको कार्यालयले जनाएको छ ।धेरै आएका गुनासोको प्रकृतित्रिभुवन विश्वविद्यालय तथा नेपाल परीक्षा बोर्डले प्रदान गर्ने समकक्षता प्राप्त गर्न कठिनाइबारे, धेरै ठाउँमा बत्ती आउने जाने गरेको सम्बन्धमा, ठगीसँग सम्बन्धित गुनासो, शिक्षा तथा निजामती विधेयकका विषयमा, न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको, स्वास्थ्य बीमा सरकारी अस्पतालमा मात्र भएको, अदालतको काम–कारबाहीमा ढिलासुस्ती भएको, नेपाल प्रहरीको कामकारबाही तथा आचरणसँग सम्बन्धित गुनासो, स्थानीय तहमा भएका विकास निर्माण तथा अन्य गतिविधिको उजुरी, नागरिकतासम्बन्धीलगायत गुनासोको सङ्ख्या उच्च रहेको उहाँले बताउनुभयो ।

डिजिटल बैङ्क खोल्न कानुन पुनरवलोकन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले डिजिटल बैङ्क स्थापनाका लागि प्रारम्भिक प्रव्रिmया सुरु गर्ने भएको छ । डिजिटल बैङ्क स्थापनाका लागि विद्यमान कानुनी व्यवस्था पुनरवलोकन गर्ने निर्णयमा सरकार पुगेको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा हालै सम्पन्न वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले डिजिटल बैङ्क स्थापनाको कानुनी आधार तयार गर्ने निर्णय गरेको हो ।

समितिले नेपाल राष्ट्र बैङ्क, बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन र नेपाल धितोपत्र बोर्डसम्बन्धी ऐनहरू संशोधनको प्रव्रिmयालाई शीघ्रता दिने निर्णय पनि गरेको छ । त्यस्तै वित्तीय मध्यस्थता लागत कम गर्ने सम्बन्धमा गर्नुपर्ने सुधारको विषयमा सम्बन्धित निकायले नीति एवं कार्यविधि तर्जुमा प्रव्रिmया तत्काल अगाडि बढाउने समितिको निर्णय छ ।वित्तीय क्षेत्र, पुँजी बजार र बिमा क्षेत्रको गतिविधि एवं नियमनलाई थप प्रभावकारी बनाउने र समन्वयात्मक तरिकाले काम गर्ने समितिले निर्णय गरेको छ । नियामक निकायको क्षमता अभिवृद्धि गर्ने कार्यलाई सम्बन्धित संस्थाले तदारुकताका साथ अगाडि बढाउनुपर्ने समितिको निर्देशन छ । यो समाचार गोरखात्र दैनिकमा छ ।सहुलियतपूर्ण कर्जा कार्यव्रmमको प्रभावकारिताका सम्बन्धमा अध्ययन प्रतिवेदनसमेतलाई मानेर पुनरवलोकन गर्ने निर्णय पनि समितिले गरेको छ । बैठकले विपे्रषणलाई औपचारिक माध्यमबाट भिœयाउन प्रोत्साहनमूलक कार्यव्रmम सञ्चालन गर्ने, रेमिट्यान्स बन्ड जारी गर्न कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।उत्पादनशील क्षेत्रमा वित्तीय साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गर्ने र लघुवित्त संस्थाबाट भइरहेको कर्जा व्यवस्थापन सम्बन्धमा प्रभावकारी नियमन गर्ने बैठकको निर्णय छ । यी सबै कार्यान्वयनका लागि सम्बन्धित निकायलाई दुई साताभित्र कार्ययोजना पेस गर्न पनि समितिले निर्देशन दिएको छ ।

१२ वर्षभित्र प्रतिव्यक्ति उर्जाखपत १५ सय युनिट

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा अर्थात् सन् २०३५ भित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट पुऱ्याउने लक्ष्य राखेको छ । मन्त्रालयले विगत सात वर्षको अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत मुस्किलले दोब्बर पुयाएको थियो तर आगामी १२ वर्षमा झण्डै चार गुणा विद्युत् खपत गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।

ऊर्जा मन्त्रालयका सहसचिव देवको संयोजकत्वमा गठित सन्दीपकुमार कार्यदलले गत भदौ ३१ गते मन्त्रालयमा बुझाएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८०’प्रतिवेदनमा आगामी १२ वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय मेगावाट पुऱ्याउने लक्ष्य राखिएको हो। अहिले प्रतिव्यक्ति ऊर्जा खपत ३८० युनिट रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष ९आव० २०७२र ७३ मा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत १५० युनिट थियो । आव २०७५र७६ मा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत २४५ युनिट रहेकोमा आव २०७९ र ०८० मा आइपुग्दा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३८० युनिट पुगेको छ ।

गत सात वर्षमा ऊर्जा खपत औसतमा झन्डै दोब्बर बढीले बढेको देखिन्छ । १२ वर्षमा प्रतिव्यक्ति १५ सय युनिट खपत गर्ने सरकारी योजना भने निकै महत्वाकांक्षी देखिन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पूर्व सचिव सुमन शर्माले सरकारले लक्ष्य अनुसारको कार्यसम्पादन गर्ने शैली पनि फेर्नुपर्ने बताउँछन्। यो समाचार नागरिक दैनिकमा छ ।

किर्ते कागजमा सयभन्दा बढी जापान पुगेको खुलासा

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् ।

गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा भएको हो ।

यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ ।

जानका अध्यक्ष डा. भुसालले कुरा गर्दै भने– ‘हामीले गत असारको पहिलो सातामा जानको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरू जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधेका थियौं । उक्त कम्पनीले ती व्यक्तिहरू जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो । जेठ २१ गतेको मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र मेरो हस्ताक्षर किर्ते गरिएको बनाइएको थियो । त्यसपछि हामीले असारको ८ गते वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेनपावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह ग¥यौं ।’

उनले त्रिभुवन विमानस्थलको अध्यागमनमा ती कामदारहरूको प्रमाणपत्रलाई जानको चिठ्ठीसँग जुधाएर हेरेको भए यस्तो गलत काम हुनै नसक्ने दाबी गरे । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

असोज १० गतेदेखि भृकुटीमण्डपमा फर्निचर एक्स्पो, पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

काठमाडौँ- यही असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु हुने भएको छ ।नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आज पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे जानकारी दिएको हो । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । प्रदर्शनीका लागि अधिकांश स्टल बुकिङ भइसकेको आयोजकले जनाएको छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको सङ्घका अध्यक्ष दिनेश अग्रवालले जानकारी दिनुभयो ।

“आर्थिक गतिविधि सुस्त भइरहेका बेला एक्स्पोले बजारमा आर्थिक क्रियाकलाप चलायमान बनाउन सघाउने विश्वास लिएका छौँ”, अध्यक्ष अग्रवालले भन्नुभयो ।फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसेरेनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायतका सयभन्दा बढी स्टल प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ ।

नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवर्द्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ ।

पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त ब्राण्डको सहभागिता रहनेछ । प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुने आयोजकले जनाएको छ ।

ताप्लेजुङ गोल्डकपमा ७३ लाख बढी आय, टिकट बिक्रीबाट मात्र १८ लाख

ताप्लेजुङ-ताप्लेजुङमा केही दिनअघि सम्पन्न ताप्लेजुङ गोल्डकप प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । गत भदौ १४ देखि २० गतेसम्म सदरमुकाम फुङलिङमा आयोजना भएको उक्त प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको हो ।

आय–व्यय प्रस्तुत कार्यक्रममा जनाइए अनुसार प्रतियोगितामा रु ७३ लाख २४ हजार सात सय ८५ आय देखिएको छ । टिकट बिक्री, प्रतियोगिताका लागि विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगबाट उक्त रकम सङ्कलन भएको हो । खेलको टिकट बिक्रीबाट मात्र रु १८ लाख ७६ हजार छ सय आम्दानी भएको लाखेजात्रा खेल सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब रु २३ लाख बढीको आम्दानी भएको छ । आयोजकका अनुसार केही रकम भने उठ्न बाँकी छ ।प्रतियोगिता सम्पन्न गर्न रु ४९ लाख ८७ हजार एक सय ३७ खर्च भएको जनाइएको छ । सबैभन्दा धेरै खर्च खेलमैदानको स्तरोन्नतिमा भएको छ । खेलमैदान स्तरोन्नतिमा रु आठ लाख बढी खर्च भएको छ । प्रतियोगिता सम्पन्न गर्न जिल्लाका विभिन्न स्थानीय तहले समेत सहयोग गरेका छन् ।प्रतियोगिता सम्पन्न गरेर बचत भएको रकम मुद्धतिमा राख्ने आयोजकले निर्णय गरेको छ । सबैको साथ र सहयोगले छोटो अवधिको तयारीमा सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सफल भएको भन्दै आयोजकका अध्यक्ष देवराज गुरुङले सहयोगी सबैप्रति आभारसहित धन्यवाद व्यक्त गर्नुभएको छ । यसपटकको प्रतियोगिता व्यवस्थित भएको जिल्लावासीले बताएका छन् ।

१४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरे उद्योगको कारोबार तीन महिना निलम्बन

काठमाडौँ-नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा एलपी ग्यास भरी बिक्री गरेको समाचार सार्वजनिक भएपछि निमगले त्यस्तो कार्य तुरुन्त बन्द गर्न निर्देशन दिएको छ ।

निर्धारित तौलभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री गरेको पाइएमा एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) बमोजिमको कारबाही गरिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो । विनियमावलीको विनियम २९ मा निर्धारित तौल (१४ दशमलव २) अनुसार ग्यास बिक्री नगरेमा तथा निमगको निर्देशन पालना नगरेमा उद्योगसँगको कारोबार तीन महिनासम्मका लागि निलम्बन गर्न सक्ने व्यवस्था ।

केही ग्यास उद्योगले बढी क्षमताका सिलिण्डरमा ग्यास भरी बिक्री वितरण गर्न अनुमति माग गरेका थिए । मौजुदा विनियमावलीअनुसार १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा ग्यास भर्न अनुमति दिन नसकिने भनी निगमले ती उद्योगलाई जानकारी गराएको थियो । निगमले १४ दशमलव २ किलोभन्दा अतिरिक्त क्षमताका सिलिण्डरको प्रयोग गर्नु गैरकानुनी भएको जनाएको छ । त्यस्ता सिलिण्डरको प्रयोग नगर्न निमगले उपभोक्तालाई अनुरोधसमेत गरेको छ ।

अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद

न्यूयोर्क- परराष्ट्रमन्त्री एनपी साउदले अतिकम विकसित देशहरूको पूर्वाधारका लागि वित्तीय साधनको परिचालन महत्त्वपूर्ण पक्ष भएको बताउनुभएको छ ।संयुक्त राष्ट्रसङ्घको जारी ७८औँ महासभामा ‘द समिट फर फ्युचर’ विषयक मन्त्रीहरूको सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्दै मन्त्री साउदले यस्तो धारणा राख्नु भएको हो ।

उहाँले भन्नुभयो, “अतिकम विकसित देशहरूको व्यापार समस्यालाई समाधान गर्न व्यापार सेवामा सुधार गर्दै सुविधा प्रदान गर्नु अपरिहार्य छ ।” उहाँले अतिकम विकसित देशहरूको आर्थिक, सामाजिक, व्यापारिक रणनीतिमा सुधार गर्न अन्र्तराष्ट्रिय सहयोग महत्त्वपूर्ण रहेको बताउनुभयो ।

आन्दोलनरत शिक्षकको मागको विषयमा गृह मन्त्रालयमा वार्ता जारी

काठमाडौँ, ४ असोज : आन्दोलनरत शिक्षकको मागको विषयमा अहिले गृह मन्त्रालयमा वार्ता भइरहेको छ । वार्तामा सरकारका तर्फबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ ।

त्यस्तै शिक्षकको तर्फबाट शिक्षक महासङ्घका पदाधिकारीहरू रहेका छन् । सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका हुन् ।

शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधबारदेखि काठमाडौँमा आन्दोलन गर्दै आएको छ । शिक्षकले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।

शिक्षा विधेयक फिर्ता लिन एमाले सांसदद्वारा सुझाव

यसैबीच संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका नेकपा (एमाले) का सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएका छन् ।

नेकपा (एमाले) का तर्फबाट संसद्मा प्रतिनिधित्व गर्ने र संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका सांसदहरूले शिक्षामन्त्री राईसँग भेट गरी शिक्षा विधेयक फिर्ता लिन सुझाव दिएको भेटपछि एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।

“सामुदायिक र सरकारी शिक्षालाई अझ व्यवस्थित ढङ्गले अघि बढाउने कुरामा सरकारले पछिल्लो समय ल्याएको शिक्षा विधेयकले सरकारको नियतमाथि नै आशङ्का पैदा गरिदिएको छ”, बर्तौलाले भन्नुभयो । तीन तहको सरकारको दायित्वलाई व्यवस्थित ढङ्गले संविधानले दिएको सीमाभित्र रहेर अघि बढ्ने गरी सङ्घीय शिक्षा ऐन आउनुपर्ने सांसदहरूको भनाइ छ ।

तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउँछौँ : मुख्यमन्त्री शाह

गोदावरी (कैलाली), ४ असोज : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सेती प्रादेशिक अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभावलाई चाँडै पूर्ति गर्न प्रदेश सरकार लागिपरेको बताउनुभएको छ ।

आज सेती प्रादेशिक अस्पतालको अनुगमन गर्दै उहाँले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहलाई तीन महिनाभित्र देखिने गरी परिवर्तन ल्याउने बताउनुभयो । मुख्यमन्त्री शाहले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाह र व्यवस्थापकीय समस्या देखिएकाले तीन महिनाभित्र आवश्यक जनशक्तिसहित भौतिक पूर्वाधारमा सुधार ल्याउन प्रदेश सरकार अघि बढेको बताउनुभयो ।

उहाँले बजेट अभावमा धेरै सेवा सुविधा थप्न नसकिने अवस्था भए पनि अस्पतालको स्तरोन्नति गरिने बताउनुभयो । मुख्यमन्त्री शाहले अस्पतालले प्रदान गर्दै आएको सेवा प्रवाहका बारेमा जनगुनासाहरू बाहिर आइरहेकाले ती गुनासा सम्बोधन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मी पनि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहले कर्मचारीको समस्यालाई सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर समाधान गर्ने बताउनुभयो । अनुगमनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, सामाजिक विकासमन्त्री झपटबहादुर साउद पनि सहभागी हुनुहुन्थ्यो ।

अनुगमनमा पुग्नुभएका मुख्यमन्त्रीसहित मन्त्रीलाई अस्पताल सञ्चालक समितिका अध्यक्ष निर्मल शाहले अस्पतालमा चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी र भौतिक संरचनाको अभाव रहेको जानकारी दिनुभएको थियो ।

निजी क्षेत्रलाई निराश नहुन उद्योगमन्त्री रिजालको आग्रह

नेपालगन्ज, ४ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी तथा व्यवसायीलाई निराश नहुन आग्रह गर्नुभएको छ ।बाँकेको कोहलपुरमा आज आयोजना भएको नेपाल इँटा उद्योग महासङ्घको १५औँ वार्षिक साधारणसभामा उहाँले राष्ट्रका सामु देखिएका समस्या मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले इँटा उद्योगको समस्यालाई वार्ता र संवादमार्फत टुङ्गो लगाउने उल्लेख गर्दै अहिलेको प्रणाली ठूलो त्याग र बलिदानबाट आएको परिवर्तन भएको बताउनुभयो ।

नेपाल इँटा उद्योग महासङ्घका केन्द्रीय अध्यक्ष शङ्करबहादुर चन्दले इँटा उद्योगी पलायन हुने अवस्थामा रहेको उल्लेख गर्दै इँटाको विकल्पमा अन्य वस्तुको प्रयोगपछि यसको माग घटेको जानकारी दिनुभयो । “स्वदेशको माग धानिरहेको इँटा उद्योग एकाएक पलायन हुने अवस्थाबाट रोक्न राज्यलाई घच्घच्याउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष चन्द इँटा उद्योगीले चुनौती झेलिरहेको भन्दै माग घट्दा बजारीकरणको समस्या थपिएको र सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर निर्माणमा परेकाले निर्माणकार्य घट्दा इँटाको खपत हुन नसकेको बताउनुभयो ।

करिब आठ प्रतिशत ब्याज लिएर कारोबार गरेका उद्योगीले अहिले १५ प्रतिशत ब्याज तिर्नुपरेको गुनासो गर्दै उहाँले साँवा र ब्याज तिर्न समय पाए उद्योगी तथा व्यवसायीलाई राहत हुने बताउनुभयो ।

नेपाल इँटा व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वली क्षेत्रीले इँटा व्यवसायीले चुनौती भोगिरहनुपरेको बताउनुभयो । बाँकेमा ५० भन्दा बढी इँटा उद्योग दर्ता भएका छन् ।

जिल्लामा मात्रै वार्षिक २५ करोड इँटा उत्पादन हुने गरेको अनुमान छ । गत वर्ष १० देखि १२ करोडमात्रै इँटा उत्पादन भएको थियो । देशभर करिब एक हजार दुई सयको हाराहारीमा रहेका इँटा उद्योगबाट दुई सय ५० प्रतिनिधि साधरणसभामा सहभागी भएका थिए ।

बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न आग्रह

काठमाडौँ, ४ असोज : राष्ट्रिय मानवअधिकार आयोगले शिक्षक समुदायले उठाएका न्यायोचित मागहरूको सम्बोधन गरी बालबालिकाको पठनपाठन अधिकारप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

“आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारप्रति सचेत हुन, मानवअधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना माग राख्न, आफ्ना माग पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्नुपर्छ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ ।”

साथै कानुन निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षासम्बन्धी कानुनलाई समयसापेक्ष बनाउन एवं नेपाल शिक्षक महासङ्घलगायतलाई आग्रह गरिएको छ । विद्यालय बन्द हुँदा बालबालिकाको यी अधिकारको सुनिश्चितामा समेत बाधा उत्पन्न हुने देखिएको छ ।

विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा शिक्षकहरूको सरुवा, बढुवा, नियुक्ति, सेवा सुविधा, नियमनलगायत विषयमा असन्तुष्टि व्यक्त गर्दै विभिन्न माग राखी नेपाल शिक्षक महासङ्घद्वारा २०८० असोज ३ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गरी काठमाडौँमा जारी राखेको आन्दोलन तथा प्रदर्शनप्रति ध्यानाकर्षण भएको जनाएको छ । आयोगले यस सम्बन्धमा स्थलगत अनुगमन गरिरहेको
छ ।

विद्यालयका शिक्षक–शिक्षिकाले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानवअधिकारको मूल्य, मान्यता अनुकूल नै हुन्छ । तर आफ्ना माग सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीनरूपमा बन्द गरी पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लङ्घन भएको देखिन्छ । यसबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर परेको आयोगको बुझाइ छ ।

नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ, ४ असोज : दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१९ च्याम्पियनसीपअन्तर्गत आज भएको खेलमा घरेलु टोली नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई १–० गोलअन्तरले पराजित गरेको हो । पाकिस्तानको जितमा अली जफरले गोल गरे । उनले खेलको ७६औँ मिनेटमा गरेको एक गोल नै पाकिस्तानको लागि निर्णायक गोल सावित भयो । जफरले करिब ३० यार्डबाट गरेको प्रहारले सिधै जाली चुमेको थियो ।

खेल अवधिभर नेपालको प्रदर्शन भने फिलतो रहेको थियो । अब पाकिस्तानले शनिबार माल्दिभ्ससँग खेल्नेछ । त्यस्तै नेपालले भने सोमबार माल्दिभ्सको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स रहेको छ । त्यस्तै समूह ‘बी’मा भारत, बङ्गलादेश र भुटान रहेको छ । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् ।

प्रधान सेनापति आइतबार नयाँ दिल्ली जाँदै

काठमाडौँ, ४ असोज : प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जान लाग्नुभएको छ ।नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्राँै संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लाग्नुभएको हो ।

सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो–प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुनुहुने छ । भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापामगर पनि संलग्न रहनुहुने निर्देशनालयले जनाएको छ ।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ ।

नियमितरूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रका सैन्य सङ्गठनहरूका बीच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ । साथै मानवीय सुरक्षाका साझा चासोका विषयमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने जनाएको छ ।

शिक्षकहरूको आन्दोलनमा दुवै पक्ष गम्भीर हुनुपर्छ : अध्यक्ष ओली

दमक (झापा) ४ असोज : नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको आन्दोलनको समस्यालाई वार्ताबाट समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय युवासङ्घ दमक नगर कमिटीले आज यहाँ आयोजना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक वक्तृत्वकला प्रतियोगिता तथा साक्षात्कार कार्यक्रममा उहाँले आन्दोलनरत शिक्षकलाई नधम्क्याउन तथा दुवै पक्ष लचक भई वार्ताबाट नै समस्याको समाधान खोज्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका छन्, अविलम्ब वार्ताबाट नै निकास खोजिनुपर्छ, यसलाई लम्ब्याउन हुँदैन ।”

एक दिन स्कुल नपढाउँदैमा केही नहुने बताउँदै ओलीले शिक्षा क्षेत्रको समस्या समाधानमा सरकार प्रतिबद्ध हुनुपर्ने बताउनुभयो । शिक्षाको विकास भएमात्र देशको मुहार फेरिने भएको चर्चा गर्नुहँुदै उहाँले अब शैक्षिक विकासबाट नै देशको भविष्य निर्माण गर्न लाग्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “विकास भनेको पैसाले मात्रै हुने होइन, सोच चाहिन्छ, भिजन चाहिन्छ, प्रतिबद्धता चाहिन्छ ।” सरकारले राम्ररी काम पनि नगर्ने र राज्यलाई गर्न नदिने परिपाटीको विकास भइरहेको उहाँले आरोप लगाउनुभयो ।

ओलीले आफू प्रधानमन्त्री हुँदा नारामात्रै दिएको नभई एउटा निश्चित गन्तव्यमा पुग्ने नीति, कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले एमालेको नेतृत्वमा स्थायी सरकार बनाउने प्रयास भए पनि त्यसलाई विभिन्न तत्वले रोकेको आरोप लगाउनुभयो ।

एक अर्को प्रसङ्गमा अध्यक्ष ओलीले सांस्कृतिक समृद्धिका हिसाबले नेपाल विश्वमै नमूना रहेको पनि बताउनुभयो । कृषि उद्योग, उत्पादनको विकास, निर्यातजन्य वस्तुको विकास गरिनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

युवाहरू विदेश जानुका पछाडि सामाजिक मनोविज्ञान पनि एउटा कारण भएको बताउँदै उहाँले खेत बाँझो राखेर काम पाइनँ भनेर बाहिर जाने, क्याम्पस खाली हुने र विद्यार्थी पढ्न पाइनँ भनेर विदेश जाने परिपाटी हुन नहुने बताउनुभयो । ओलीले भन्नुभयो, “युवा पुस्ताले जागिर होइन, उद्यमशीलताको विकास गर्नुपर्ने भयो । अरुले रोजगारी दिन्छ कि भनेर कुद्नु हुँदैन ।”

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ ३ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले राष्ट्रिय हित तथा सुरक्षामा चुनौती आउन सक्ने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय हित तथा सुरक्षा विभागले आज आयोजना गरेको राष्ट्रिय हित तथा सुरक्षा विषयक अन्तक्र्रियामा उहाँले देशको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो ।

कुनै पनि मुलुकको दबाब र प्रभाव स्वीकार्य नहुने भन्दै उहाँले हस्तक्षेप न्यूनीकरण गर्न असंलग्न पञ्चशीलका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले एमसिसीमार्फत अमेरिकाले नेपाललाई इन्डोप्यासिक अङ्गको रूपमा विकास गर्न केही पार्टीलाई प्रभावित गर्न खोजेको बताउँदै अनुगमन गर्दा व्याख्यात्मक टिप्पणी कार्यान्वयन नभए आफूहरूले सशक्त विरोध गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पृथ्वीनारायण शाहले राष्ट्रिय सुरक्षाका नीति बनाएर नेपाललाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा स्थापित गरेको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले पृथ्वीनारायण शाहको राष्ट्रिय स्वार्थ र वैदेशिक नीतिलाई अवलम्बन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेपालको भूमि कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने उहाँको भनाइ थियो ।

पार्टीका उपाध्यक्ष प्रमेश हमालले हस्तक्षेप न्यूनीकरण गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गरी विदेशबाट स्वार्थबिनाको सहयोग लिनुपर्नेमा जोड दिँदै देश र जनताका हितमा राष्ट्रिय नीति तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

विभागका प्रमुख पुष्पा कर्णले राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा संवेदनशील हुनुपर्ने भन्दै सैन्य गठबन्धन तथा सहयोग लिन नहुने बताउनुभयो ।

सुशासन कायम गर्ने सरकारको मूल नीति छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, ४ असोज – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने सरकारको मूल नीति रहेको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी सङ्गठनले आज आयोजना गरेको ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यक्रममा उहाँले सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मूल नीति भएको बताउनुभएको हो ।

संविधान, कानूनअनुसार काम गरेमा आफैँ सुशासन कायम हुने उहाँको भनाइ थियो । मुलुकको विकासका लागि सत्तापक्ष वा प्रतिपक्ष सबै मिल्नुपर्ने उल्लेख गर्दै उहाँले देशको विकास गर्नका लागि एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

“मुलुकमा सुशासन कायम गर्नका लागि कानून र प्रमाणका आधारमा दोषी देखिएमा कसैलाई छाडिँदैन”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “जुनसुकै पार्टीमा आबद्ध व्यक्ति भए पनि छाडिँदैन ।”

विकासको मोडल जनमुखी हुनपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योगधन्दा खोल्ने खालको वातारण हुनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बुद्धिजीवी फ्र्याक्सन इन्चार्ज खिमलाल देवकोटाले ‘भ्रष्टाचारविरुद्ध सुशासन प्रवर्द्धनका चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त सेवा सुविधामा जनताको समान पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गनुपर्नेलगायत रहेको छ ।

पार्टीका नाममा चलाइएका नक्कली सामाजिक सञ्जाललाई एमालेले कारबाही गराउने

काठमाडौँ, ४ असोज : नेकपा (एमाले)ले सो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेकाले यसले पार्टीपङ्क्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको जनाउनुभएको छ । “सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ”, उहाँले भन्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा यस्ता फेक एकाउन्ट सञ्चालकका बारेमा आवश्यक कानूनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ ।”

पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु

नेपालगन्ज, ४ असोज : बाँकेको नरैनापुर गाउँपालिका वडा नं ४ पण्डितपुरवास्थित हुलाकी सडकखण्डको छेउमा रहको पानी जमेको खाल्डोमा डुबेर एक बालिकाको आज मृत्यु भएको छ ।

स्थानीय नौ वर्षीया खुसनुमा सल्मानीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पार्टीको आन्तरिक विवादलाई छलफलबाट समाधान गरिन्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ४ असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताउनुभएको छ ।केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा आज आयोजित शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले अपानिमा भएका मतभेद तथा केही प्रश्न आएको भन्दै पार्टीभित्रैबाट समस्या हल गरिने बताउनुभयो ।

पार्टीभित्रको विषय सडकमा लाने काम पार्टीको अनुशासन बुझेको जिम्मेवार नेता तथा कार्यकर्ताले गर्न नहुनेमा जोड दिँदै उहाँले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाउँदा केही अग्रज नेता छुटेकाले उनीहरूलाई अन्य जिम्मेवारी प्रदान गरिने बताउनुभयो ।

उहाँले केही असन्तुष्ट नेताहरूले कार्यविभाजन सच्याउन माग गरेकाले सक्षमता र योगदानका आधारमा उनीहरूको जिम्मेवारी हेरफेर हुनसक्ने बताउनुभयो ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले राम्रो काम गरिरहेको भन्दै अझै राम्रो काम गरेर जनताको विश्वास जित्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले अहिले शिक्षकहरूको आन्दोलनप्रति सरकार गम्भीर हुनुपर्ने र वार्ता तथा छलफलबाट निकास निकाल्नुपर्ने उल्लेख गर्नुभयो ।

पार्टीले विभिन्न प्रदेश, जिल्ला, क्षेत्रको सन्तुलित प्रतिनिधित्व गराउन नयाँ सदस्य थप गरी केन्द्रीय समिति विस्तार गरेको थियो । केन्द्रीय सदस्यमा अजबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौँ), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा), दीपक केसी, (काठमाडौँ), धनबहादुर कार्की (दोलखा) र धर्म शाही (मुगु) मनोनित गरिएको छ ।

पार्टीले हालै जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा नन्द बञ्जाडे (काठमाडौँ), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुङ्गाना (काठमाडौँ), लङ्क हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासीपूर्व), शिवकुमारी खनाल (काठमाडौँ), शैलेन्द्र उपाध्याय (रूपन्देही) र सुदेश पराजुली (काठमाडौँ) केन्दीय सदस्यमा मनोनित गरिएको उल्लेख छ ।

त्यसैगरी पार्टीले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । सो पार्टीले धेरैजसो जिल्लाको इन्चार्ज केन्द्रीय कमिटी सदस्यलाई बनाएको छ भने केहीमा पोलिटब्यूरो सदस्यलाई पनि जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरेको छ । पार्टीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको स्वास्थ्यमन्त्री बस्नेतद्वारा प्रशंसा

काठमाडौँ, ४ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालन गरिरहेको कार्यक्रमको प्रशंसा गर्नुभएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज वीर अस्पतालमा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्तान्तरण कार्यक्रममा उहाँले केन्द्रीय मन्त्रालयले गरे जस्तै विपन्न र गरिबको सहज स्वास्थ्योपचारका क्षेत्रमा गरिरहेका काम प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफ्ना सबै अस्पताल र प्रतिष्ठानमा जनरल शय्या निःशुल्क गर्ने निर्णय गरेपछि बागमती प्रदेशलाई पनि विपन्नका लागि प्रदेश मातहतका अस्पतालका शय्या निःशुल्क गर्न सल्लाह दियौँ । बागमती प्रदेशका स्वास्थ्यमन्त्रीज्यूले निर्णय गरेर साथ दिनुभयो ।”

केन्द्रीय स्वास्थ्य मन्त्रालयले आफू मातहतका अस्पताल र प्रतिष्ठानका तीन हजार पाँच सय ६५ जनरल शय्या निःशुल्क गरेपछि बागमती प्रदेशले आफू मातहतका प्रादेशिक अस्पतालहरूका आठ सय शय्या निःशुल्क गरेको थियो ।

विपन्न जनतालाई सहज उपचार उपलब्ध गराउने अभियानमा बागमती प्रदेशले क्यान्सरका बिरामीलाई केन्द्र सरकारले दिने प्रतिव्यक्ति रु एक लाख सहुलियतमा थप रु ५० हजार उपलब्ध गराइरहेको, हृदयरोगका बिरामीलाई रु एक लाखमा थप गरेर रु एक लाख १० हजार उपलब्ध गराउने काम प्रशंसनीय रहेको स्वास्थ्यमन्त्री बस्नेतले बताउनुभयो ।

बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले विपन्नको उपचारका लागि विभिन्न कार्यक्रम अगाडि बढाएको भए पनि व्यापक प्रचार–प्रसारको कमीले जनमानसमा पुग्न नसकेको बताउनुभयो । उहाँले हरेक अस्पतालले प्रदान गर्ने सेवा र सुविधाका बारेमा सूचनापाटीमा लेखेर सबैलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ, सोना परियारलगायतले बागमती प्रदेशले स्वास्थ्योपचारमा उल्लेखनीय काम गरिरहेको बताउनुभयो ।

सो अवसरमा बागमती प्रदेशले नेपाल रेडक्रससँग निःशुल्क रगत उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान गरेको छ । सहिद गङ्गालाल हृदयरोग प्रतिष्ठानसँग मुटुरोगको उपचार उपलब्ध गराउन, भक्तपुर क्यान्सर अस्पतालसँग क्यान्सर रोगको उपचार उपलब्ध गराउनेसम्बन्धी सम्झौता आदान–प्रदान गरेको छ ।

यस्तै बागमती प्रदेशको चिकित्सा शाखा प्रमुख डा खगेश्वर गेलालले बागमती प्रदेशले सीमान्तकृत विपन्न जनताका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम र महिला स्वास्थ्य स्वयंसेविकाका लागि स्वास्थ्य बीमामा ५० प्रतिशत सहुलियत दिने कार्यक्रम पनि सुरु गरेको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरका शिक्षक र कर्मचारीले सडकमै हाजिर गरे

काठमाडौँ, ४ असोज : नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा नजान र गयल भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएपछि शिक्षक–कर्मचारीले कानुनीरूपमा बच्ने र आन्दोलनलाई पनि साथ दिने बाटो रोजेका हुन् । महासङ्घको काठमाडौँ महानगपालिका समितिका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले महानगरका प्रधानाध्यापकहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुने र सडकै हाजिर गर्ने निर्णय गरेको जनाउनुभयो

। उहाँहरूले आन्दोलनका कारण क्षति भएको पढाइ अतिरिक्त कक्षाहरूबाट पूर्ति गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन थालनी गरेको हो ।महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै

काठमाडौँ, ४ असोज : नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच वर्ष अवधिको विकास ऋणपत्र खुलाउने भएको छ । पाँच वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ञ’ बोलकबोल प्रक्रियाबाट निष्कासन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले यो विकास ऋणपत्र खरिद गर्न पाउनेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाइनेछ ।

यही असोज ५ गते मध्याह्न साढे १२ बजेसम्म बोलकबोल हुने ऋणपत्र असोज ७ गते निष्कासन हुनेछ । पाँच वर्ष अवधिको यो ऋणपत्रको साँवा भुक्तानी २०८५ असोज ७ गते हुनेछ ।बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट–अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।घटीमा रु पचास हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई रु ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु आठ अर्ब ५० करोड र रु एक अर्ब ५० करोड छु्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत मात्र हुने जनाइएको छ ।

कर्जा सुरक्षण कार्यक्रमलाई विविधीकरण गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री डा महत

काठमाडौँ, ४ असोज : साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी वित्तीय सुरक्षा र स्थायित्व प्रदान गर्ने निक्षेप तथा कर्जा सुरक्षण कोष ५० वर्षमा प्रवेश गरेको छ ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ कोषको स्वर्णमहोत्वसवको समुद्घाटन गर्दै साना तथा मझौला उद्योग–व्यवसायलाई उत्प्रेरित गरी मुलुकको आर्थिक गतिविधिलाई थप चलायमान बनाउन महत्त्वपूर्ण भूमिका रहेको कोषले कर्जा सुरक्षण कार्यक्रम समयानुकूल विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले विशेष न्यून तथा विपन्न वर्गले सञ्चालन गर्ने साना तथा मझौला उद्योगको प्रवर्द्धनसहित रोजगारीको वातावरण सिर्जना गरी देशव्यापीरूपमा वित्तीय पहुँच अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रम सफल बनाउने गरी कार्यक्रम सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

पछिल्लो समयमा मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, “अर्थतन्त्रमा देखिएका समस्या समाधानउन्मुख छ, आर्थिक परिसूचकहरू सन्तोषजक देखिएका छन्, विप्रेषणको स्थिति राम्रो छ, मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशमै लगानीमैत्री वातावरण निर्माणका पक्षमा अहोेरात्र क्रियाशील सरकारलाई साथ दिन सबैसँग अनुरोध गर्दछु ।”

कोषका अध्यक्ष राजस्व सचिव डा रामप्रसाद घिमिरेले पशुधन सुरक्षण, वैदेशिक रोजगार, सहुलियतपूर्ण कर्जा, गरिबी निवारण र उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा गरिने कर्जा लगानीलाई संरक्षणमुखी कार्यक्रमसहित प्रोत्साहित गर्दै आएको जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वित्तीय पहुँच अभिवृद्धिमा उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको कोषलाई अझ सवल, सक्षम र अधिकारसम्पन्न तुल्याउनुपर्ने धाराणा व्यक्त गर्नुभयो ।

कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले वित्तीय स्थायित्व, गरिबी निवारण, स्वरोजगार सिर्जना र उद्यमशीलताको विकासमा प्रत्यक्ष भूमिका निर्वाह गरी देशको आर्थिक विकासमा योगदान दिँदै आएको अर्धनियामक र रक्षाकवच निकायका रूपमा त्रियाशील कोषले नेपाली बजारको माग र आवश्यकताका आधारमा स्टार्टअप कर्जा, सूचना प्रविधि कर्जा, हरित कर्जालगायतका नयाँ क्षेत्रलाई समेत प्रोत्साहित गर्न लागेको जानकारी दिनुभयो ।

राजस्व सचिव अध्यक्ष हुने सो कोषमा अर्थ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका कम्तीमा प्रथम श्रेणीका अधिकृत सञ्चालक सदस्य रहने व्यवस्था छ । विसंं २०३१ मा स्थापना भएको सो कोषको प्रमुख कार्यकारी अधिकृत नेपाल सरकारले नियुक्त गर्ने प्रावधान छ ।

समारोहमा कोषमा २५ वर्ष सेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक, उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई प्रशंशापत्र र खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विजयी कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी कोषद्वारा प्रकाशित सञ्जीवनी नामक स्मारिका पनि सार्वजनिक भएको थियो ।
–––

साउन र भदौमा पाँच अर्ब ४३ करोडको विद्युत् निर्यात

काठमाडौँ, ४ असोज : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको दुई महिनामा रु पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको बिजुली भारत निर्यात गरेको छ ।प्राधिकरणले गत साउनमा रु एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा निर्यात गरेको हो । दुई महिनामा तीन अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँ बराबर (रु पाँच अर्ब ४३ करोड ३१ लाख) विद्युत् निर्यात भएको हो ।

साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्रीदर क्रमशः आठ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । दुई महिनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ ।प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही अघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब एक सय १० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेडलाई बिक्री गरिरहेको छ ।भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभीएनलाई एक सय १० मेगावाट गरी कुल छ सय ३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर एक सय ३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताउनुभयो ।“देशभित्र उत्पादित विद्युत् यहीँ खपत गर्न पूर्वाधार संरचनाको सुधार तथा सुदृढीकरण गरिरहेका छौँ, विद्युत् नपुगेका ठाउँमा विद्युत् पुर्याउनका लागि विद्युतीकरणको कार्य पनि चलिरहेको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “खपत गरी बचत भएको विद्युत् निर्यात गर्न दुई देशबीचका अन्तरदेशीय प्रसारण सञ्जाललाई थप विस्तार तथा पूर्णरूपमा प्रयोगमा ल्याउन पहल गरिरहेका छौँ ।”–––

संविधान दिवस सन्दर्भ : अझै सङ्घीयता कार्यान्वयनमै उल्झन

जनकपुरधाम, ४ असोज : राज्यको मूल संरचनालाई सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गर्दै राज्यशक्तिको प्रयोग पनि तीनै तहबाट हुने व्यवस्थासहित संविधान जारी भएको पनि आठ वर्ष भयो । सोही व्यवस्थामा टेकेर पहिलोपटक २०७४ सालमा आम निर्वाचन भएयता सात सय ६१ स्थानबाट शासकीय अभ्यास हुन थालेको पनि साढे छ वर्ष भइसकेको छ तर यति छोटै समयमा सङ्घीयतालाई परिणाममुखी बनाउन नसकेको भनेर नेतृत्वकर्ता आलोचित हुन थालेका छन् ।

पूर्वन्यायाधीश गिरिशचन्द लाल जनताको दृष्टिबाट हेर्दा संविधान कार्यान्वयनले अपेक्षाकृत गति लिन नसकेको र तीन तहका सरकारबीच अधिकार प्रयोगका हिसाबले भइरहेको उल्झनले निरासालाई थप प्रश्रय दिइरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “संविधानको भावनानुसार जनतालाई न्यायको अनुभूति गराउने कुरामा तीन तहका सरकार र मूल राजनीतिक नेतृत्वको शासकीय गतिविधि ठीक बाटोमा गइरहेको छैन ।

लोकतन्त्र र सङ्घीयताले आवधिक निर्वाचन र बहुदलको शासन मात्रै कल्पना गर्दैन भन्ने हेक्का नराखेको जस्तो देखिन्छ ।” नागरिक अगुवा डा विजय सिंहले पनि एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जाँदा परिणाम देखिन केही समय लागे पनि शासकीय अभ्यासकर्ताले प्रवाह गरिरहेको सन्देश भने सकारात्मक हुनुपर्ने बताउनुभयो । “जनविद्रोह, बलिदानी र सडक सङ्घर्षको बलमा स्थापित यो व्यवस्थासँग नागरिकको अगाध आस्था छ । हिजोको बलिदानी र सङ्घर्ष एकथान संविधान ल्याउनका लागि मात्रै थिएन । यो संविधान शासनसत्तालाई जनताको जीवनसँग जोड्दै अवस्था बदल्नुपर्छ भन्ने भावनाको निष्कर्ष पनि हो तर सोअनुसार परिणाम दिन सकिएको छैन”, डा विजय सिंहले भन्नुभयो ।

पूर्वन्यायाधीश लालले नेपालमा व्यवस्था बदल्नका लागि सङ्घर्ष हुने तर जुन उद्देश्यका साथ व्यवस्था बदलिएको हो सोअनुसार अवस्था बदल्न चुक्ने प्रवृत्ति अहिले पनि कायम रहनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । “अहिले जति पनि निरासा, वितृष्णा र गुनासा छन्, त्यसको कारण लोकतन्त्र वा सङ्घीयता होइन । शासकीय शक्तिको अभ्यास गर्ने व्यक्ति, निकाय र तहका गतिविधिले त्यस्तो हुनजान्छ”, लालले भन्नुभयो, “त्यसैले पछिल्लो परिवर्तनको औचित्य स्थापित गर्न ढिलाइ गर्नुहुन्न । समय छँदै सबै सचेत बनौँ ।”

पूर्वमुख्यसचिव डा सोमलाल सुवेदी पनि सङ्घीयता कार्यान्वयनका लागि आधारभूत अङ्गको रुपमा रहेका तीन निकायबीचको सहकार्य र समन्वयले अपेक्षाकृत गतिलिन नसकिएको बताउनुहुन्छ । संविधान घोषणापछि बनेको उच्चस्तरीय सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनः संरचना निर्देशक समितिका सदस्य सचिव तथा सङ्घीयता कार्यान्वयन तथा प्रशासन पुनः संरचना समन्वय समितिका संयोजकसमेत रहिसक्नुभएका डा सुवेदी राजनीतिक सङ्घीयता र वित्तीय सङ्घीयता कार्यान्वयनमा केही राम्रो प्रयास भए पनि सङ्घीयताको प्राविधिक पक्ष र कार्यसम्पादनकर्ताको रुपमा रहेको प्रशासनिक सङ्घीयता व्यवस्थापन प्रभावकारी हुन नसकेको धारणा राख्नुहुन्छ ।

“हामी राजनीतिक सङ्घीयता कार्यान्वयनको हिसाबले धेरै अगाडि बढिसकेका छौँ । वित्तीय सङ्घीयताबारे केही गुनासा सुनिए पनि वडा तहसम्म राज्यको स्रोत, राजस्व बाँडफाँट वा बजेट तथा कार्यक्रम पुगेकै छ तर प्रशासनिक सङ्घीयताको महत्वपूर्ण पक्ष कर्मचारी व्यवस्थापन, सुरक्षा बन्दोबस्तको विकेन्द्रीकरणका सवालमा ऐन, कानुन निर्माणको कुरा अहिले पनि बहसमै छ । यो ढिला भयो, जसको प्रभाव तपाइँले देखिरहनुभएकै छ”, डा सुवेदी भन्नुहुन्छ ।

‘अपजस जति प्रदेशमा’

शासनका लाभहरुको समन्यायिक र समानुपातिक वितरण गर्न चाहने इच्छाशक्ति (नीति र नेतृत्व), कानुन (अधिकार) को समुचित बन्दोबस्त र कार्यसम्पादन (प्रशासन) कर्ताबीचको सन्तुलन नमिल्दा सङ्घीयताको सबलीकरणमा समस्या भइरहेको भन्नेहरु धेरै छन् । स्वयं प्रदेश सरकारको नेतृत्वकर्ता सबैभन्दा बढी असन्तुष्ट छन् ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव शासनाधिकार दिने तर त्यसको कार्यान्वयनका लागि आवश्यक ‘प्रशासन’ नदिएर प्रदेश संरचनालाई नै निकम्मा सावित गर्न खोजिएको भन्दै पटकपटक सङ्घीय सरकारमाथि खनिनुहुन्छ । उहाँ सङ्घीय सरकारको नेतत्वकर्ताको अनिच्छाले अधिकार फुकुवा र संयोजन नगरिदिँदा कार्यसम्पादनमा जटिलता उत्पन्न भएको तर प्रदेशले काम गरेन भनेर चौतर्फी आक्रमण भइरहेको धारणा राख्नुहुन्छ ।

“मधेस प्रदेशले सङ्घीयताको संस्थागत विकासका लागि अरुभन्दा एक कदम अगाडि बढेर कानुन बनाएको जगजाहेरै छ । व्यवस्थालाई नागरिकको जीवनसँग जोड्न दलित, महिला, बालबालिका, युवाको सशक्तीकरण तथा सुशासनका लागि कानुन तर्जुमा ग¥यौँ तर त्यसको कार्यान्वयन गर्न केन्द्रकै मुख ताक्नुपर्छ, अनि कसरी काम गर्ने ?”, मुख्यमन्त्री यादव प्रश्न गर्नुहुन्छ ।

शासन गर भन्ने तर शक्ति र अधिकारको विकेन्द्रीकरण नचाहने, कर्मचारी, प्रहरी प्रशासन नदिने, स्रोतसाधनको न्यायोचित वितरण गर्न नसक्नेजस्ता सङ्घीय सरकारको व्यवहारले प्रदेश सरकारको अनुभूति गराउन अनेकन चुनौतिको सामना गर्नुपरिरहेको मुख्मन्त्री यादवको भोगाइ छ ।

मधेस प्रदेशका पहिलो मुख्यमन्त्री लालबाबु राउतले संविधानको मर्मअनुसार सङ्घीय सरकारबाट सहयोगभन्दा बढी असहयोग हुने गरेको गुनासो गर्नुभयो । त्यसै कारण आफू नेतृत्वमा हुँदा अधिकार र क्षेत्राधिकारका सम्बन्धमा विवाद भएपछि नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा विभिन्न छ वटा मुद्दा÷रिट दायर गर्नुपरेको राउतले स्मरण गर्नुभयो ।

“प्रहरी, प्रशासन (कर्मचारी) कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, वन व्यवस्थापन र अन्य क्षेत्राधिकारमा केन्द्र सरकारको हस्तक्षेपविरुद्ध छ वटा मुद्दा सर्वोच्च अदालतमा हाल्यौँ तर अहिलेसम्म त्यसको सुनुवाइ गरिएन”, राउतले रासससँग भन्नुभयो, “सङ्घीयताको संस्थागत विकासका लागि ढिलासुस्ती सबैभन्दा बाधक हो किनकी जनताले अब धैर्यता गर्नेवाला छैनन् । अधिकार प्रत्यायोजन र त्यसको कार्यान्वयनमा जति ढिलाइ ग¥यो, त्यति नै यो व्यवस्थामाथि आक्रमण हुन थाल्छ । अहिले त्यही त भइरहेको छ !”, उहाँले आक्रोस पोख्नुभयो ।

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले संविधानले राजनीतिक, प्रशासनिक र वित्तीय सङ्घीयता सँगसँगै अगाडि बढउनुपर्ने परिकल्पना गरे पनि सोअनुसार हुन नसकेको बताउनुभयो । “विधायिकी र कार्यकारी अधिकारसहितको तीन तह भन्नुको अर्थ संविधानअनुसार हरेक तहले आफूलाई आवश्यक कानुन बनाई त्यसैको अधिनमा रही शासन गर्ने भन्ने हो”, ठाकुरको भनाइ छ, “तर शासकीय अभ्यास गर्दा तीनै तहबीच तालमेल नमिल्दा संविधान आएको आठ वर्ष र जनप्रतिनिधिबाट शासन हुन थालेको साढे छ वर्ष हुँदा पनि सेवाप्रवाहमा जटिलता छ । यसमा सबै गम्भीर बन्नुपर्ने बेला आयो ।”

मधेस विद्रोहलगायत धेरै आन्दोलनलाई नजिकबाट देख्नु र भोग्नुभएका डा.सिंह सत्ताभोगको उल्झनमा लागेर संविधानको मूलकार्य ओझेलमा पर्दै गएको बताउनुहुन्छ । “कानुनमा सङ्घीयता आए पनि व्यवहारद्वारा औचित्य पुष्टि गर्न सकिएको छैन तर दोषजति प्रदेशलाई थोपर्न खोजिँदै छ । कुन उद्देश्यका साथ प्रदेश बनाइयो र अहिले किन प्रभावकारिता बढेको छैन भन्ने कुराको समीक्षा गर्ने कि नगर्ने ? मलाई लाग्छ संविधान ल्याउने मूलशक्ति नै अहिले सत्ताको मूल अंशियार भएकाले उनीहरुले जवाफ दिनसक्नुपर्छ” डा.सिंहले आग्रह गर्नुभयो ।

‘शासन छ तर शक्ति छैन’

मधेस प्रदेशमा ११ वटा मन्त्रालय र मातहतमा एक सय ५२ निकाय छन् तर तीमध्ये शान्ति सुव्यवस्था कायम गर्ने प्रहरी प्रशासनमा प्रदेशको पहुँच छैन । वन, पशु, शिक्षा, भूमिलगायत कर्मचारी प्रशासन प्रदेशमा छ तर धेरै अधिकार सङ्घमै ।

मुख्यमन्त्री कार्यालयका सचिव रामकृष्ण पुडाशैनीले सङ्घीय निजामती ऐन नआउँदाको प्रभाव सबै तहका निकायमा परेको बताउनुभयो । उहाँले एकातर्फ कर्मचारीको अभाव र अर्कोतर्फ भएकै कर्मचारीमा पनि कानुनी, कार्य वातावरण र वृत्ती विकासको अन्योलताले उच्च मनोबलका साथ काम गर्नसक्ने अवस्था नरहेको बताउनुभयो ।

“हो, प्रशासनिक सङ्घीयताको मुख्य ‘पिलर’ का रुपमा रहेको कर्मचारी प्रशासन उत्साहित छैन । सङ्घीय निजामती सेवा ऐन नआउँदा कर्मचारी निराश छन् । समायोजनमा आएका कर्मचारीको बढुवा, व्यवस्थापन, भविष्य सुरक्षाको अन्योलताले व्यावसायिकरुपमा ‘फ्रस्टेड’ हुने अवस्था छ ।

तत्कालीन जिल्ला विकास समिति, विभिन्न समिति र आयोजनाका कर्मचारी अवकाशपछिको सेवा सुविधा, स्थानीय तहका कर्मचारीको अन्तिम गन्तव्य के हुने ? जस्ता प्रश्नले कार्यसम्पादनमा असर परिरहेको छ । यसलाई सम्बोधन गर्न सक्नुपर्छ”, पुडासैनीले भन्नुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव राजेशकुमार मिश्रले २०७५ सालमा कायम दरबन्दीमध्ये हालसम्म ३५ प्रतिशतभन्दा बढी कर्मचारी रिक्त रहेकाले सोचेअनुरुपको कार्यसम्पादन गर्न नसकिएको बताउनुभयो ।

उहाँका अनुसार प्रदेशका ११ मन्त्रालयमध्ये पाँच मन्त्रालय अहिले पनि निमित्त सचिवको भरमा चलिरहेका र मन्त्रालयका लागि स्वीकृत चार सय ४१ कर्मचारीमध्ये करिब ६० प्रतिशत मात्रै पूर्ति गरिएको छ । प्रदेश लोकसेवा आयोगबाट झिनो सङ्ख्यामा कर्मचारी पूर्ति गरिएका छन् ।

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिको सिफारिसमा सरकारले २०७५ चैतमा कर्मचारी समायोजन गर्दा सङ्घमा ४८ हजार चार सय नौ (३५ प्रतिशत), प्रदेशहरूमा २२ हजार दुई सय ९७ (१६ प्रतिशत) र स्थानीय सरकारमा ६६ हजार नौ सय आठ (४९ प्रतिशत) दरबन्दी स्वीकृत गरेको थियो । सोअनुसार मधेस प्रदेशको भागमा परेका तीन हजार ५२ कूल दरबन्दीमध्ये करिब दुई हजार एक सय कर्मचारी मात्रै समायोजन भएर आएका थिए । कर्मचारीको अभावमा भएकै अधिकार र बजेट खर्च गर्न हम्मेहम्मे छ । खर्च क्षमतालाई देखाएर सङ्घीय सरकारले चालु आर्थिक वर्षमा पहिलेको भन्दा रु पाँच अर्ब अनुदान कटौती गरेर पठाएको यहाँको बुझाई छ ।

“प्रशासनिक सङ्घीयता कार्यान्वनको हिसाबले त २०७५ को कर्मचारी समायोजनभन्दा अगाडि बढ्न सकेको छैन । प्रदेशले कायम गरेन, सुशासन दिएन, जनअपेक्षा सम्बोधन भएनजस्ता आरोप छन् तर शासन भएर मात्रै के गर्नु ? अधिकार र दक्ष जनशक्ति छैन भने”, मुख्यमन्त्री यादवले भन्नुभयो, “सङ्घ सरकारका नेतृत्वले सङ्घीयता कार्यान्वयनका लागि कुरा गर्ने तर का नगर्ने कारण के हो ? कतिसम्म अल्झाउने हामीलाई ? अब अरु प्रदेशले के गर्छन् थाहा छैन तर मधेसको जनता र यहाँको सरकारले थप धैर्य गर्नेवाला छैन । चाडपर्व सकिएलगत्तै नयाँ ढंगले अगाडि बढ्छौँ ।”

‘गम्भीर समीक्षा जरुरी’

मुख्य न्यायाधिवक्ता ठाकुरको शब्दमा नेपालको सङ्घीयता ‘शिशु’ अवस्थामा छ । त्यसैकारण अहिले नै ‘शिशु सङ्घीयता’ दगुरेन भन्नु हतारो हुनेछ तर यो व्यवस्थाले ल्याएका अभूतपूर्व उपलब्धिहरुको रक्षा गर्ने बाटोमा हामी छौँ कि छैनाँै भन्ने समीक्षा भने अपरिहार्य रहेको ठाकुरको मत छ । पूर्व न्यायाधीश लालले पनि अहिलेका अन्यौलता चिर्ने मूल दायित्व परिवर्तन पक्षधर मूल राजनीतिक शक्तिहरुको नै भएकाले संवैधानिक, सैद्धान्तिक र व्यवहारिक विरोधाभाषलाई चिर्दै नागरिक हित रक्षाका लागि अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “देशका समग्र व्यवस्थालाई राजनीतिले नै नेतृत्व प्रदान गर्ने हो । राजनीतिक नेतृत्व सुध्रने, बदल्ने र सम्हालिएर तात्कालीन अभिभारा पूरा गर्न केन्द्रीत हुनुपर्छ । जनताको आक्रोस्, निराशा र जटिलतालाई सम्बोधन गर्न सुझबुझका साथ अगाडि बढ्न मेरो आग्रह छ ।”

डा सिंहले पनि संविधानको भावनाअनुसार हालसम्म भएका राम्रा र नराम्रा दुबै पक्षहरुको गम्भीर समीक्षा गरी अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । “अहिलेसम्मको उपलब्धि, संविधान कार्यान्वयनको गति ठीक ‘लिक’ मा छ वा छैन भन्ने विषयमा स्वतन्त्र समीक्षा गर्ने निकाय बनाएर मूल्याङ्कन गरौ”, सिंहले भन्नुभयो,“सदन र सडक (नागरिक आन्दोलन) बाट एकखालको दबाब, समीक्षा र मूल्याङ्कन गरेर जानसकेमा मात्रै हामीले परिवर्तनको अभिभारा ठीक ढङ्गले पूरा गर्ने देख्छु ।”

पूर्वमुख्यमन्त्री राउत संविधान घोषणा गर्ने मूल शक्तिहरु नै अहिले पनि संविधान कार्यान्वयनको मुख्य जिम्मेवारीमा रहेकाले ती शक्तिहरु इमान्दार भएमा समस्या समाधानको बाटो जटिल नरहेको देख्नुहुन्छ । “संविधानले धेरै कुरा लिपिवद्ध गरेको छ । नसमेटिएका विषय र मधेसका सरोकारहरु संविधान संशोधनमार्फत सम्बोधन गरौँ भनिरहेकै छौँ । संविधानले दिएको अधिकार सहजरुपमा प्रयोग गर्ने र बाँकी सवाल संशोधन गर्दै जानु नै वर्तमान समस्याको निकास हो”, राउतले भन्नुभयो ।

मुख्यमन्त्री यादवले पनि संविधान निर्माणपछिको पहिलो निर्वाचनको पहिलो वर्षभित्र भएका केही कामबाहेक सङ्घीयताको संस्थागत विकासमा ‘हलो अड्काउने’ काम भएकाले अब तत्काल प्रदेश र स्थानीय सरकारलाई विश्वासमा लिएर जनतालाई न्याय दिनुपर्ने बताउनुभयो ।

बाँके कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै

राँझा (बाँके), ४ असोज : नेपालगञ्जस्थित बाँके जिल्ला कारागारको भवन पुनःनिर्माण नहुँदा जीर्ण बन्दै गएको छ । विसं २०२० मा स्थापना गरिएको कारागारमा कैदीबन्दी बस्ने भौतिक पूर्वाधार जीर्ण बन्दै गएकाले सुरक्षाको जोखिम बढेको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिनुभयो ।

“कारागारको संरचना जीर्ण छन् । स्थापना हुँदा बनेका दुई भवन र पर्खाल पुराना भइसकेका छन्”, उहाँले भन्नुभयो, “जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले सुरक्षाको जोखिम बढेको छ ।”

नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । बस्तीको मध्यभागमा कारागार रहेकाले उक्त क्षेत्रका नागरिकमा सुरक्षा चुनौती बढेको छ । ढल निकासको व्यवस्था नभएकोले कारागार वरिपरिको वातावरण दुर्गन्धित छ ।

तीन सय ५० जना अट्ने क्षमता भए पनि हाल नौ सय ४६ कैदीबन्दी रहेको जेलर शाहले बताउनुभयो । संविधान दिवसका अवसरमा बुधबार बाँके कारागारबाट १६ कैदीको बाँकी कैद माफी मिनाहा भएसँगै अब नौ सय ३० कैदीबन्दी कारागारमा छन् । संविधान दिवसका अवसरमा जिल्ला कारागार बाँकेमा रहेका १६ पुरुष कैदी र जयन्दु बालसुधार गृहमा रहेका सात नाबालकको बाँकी कैद माफी मिनाहा भएको जेलर शाहले जानकारी दिनुभयो ।

कैद मिनाहा भएका कैदी चोरी, कर्तव्य ज्यान तथा सवारी ज्यानसम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेको उहाँले बताउनुभयो । मुद्दा फैसला नभएका, मुद्दा सुनुवाइका लागि अदालत लैजानुपर्ने थुनुवा, उपचार गराउनुपर्ने बिरामी, र ज्येष्ठ नागरिक कैदीबन्दीका कारण नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा बढी सङ्ख्यामा राख्नुपर्ने बाध्यता रहेको जेलर शाहको भनाइ छ ।

घाटा खाएर आलु बिक्री गर्दै भोजपुरका किसान,प्रतिकिलो २५ मा बिक्री

भोजपुर, ४ असोज : भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ ।

विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताउनुभयो । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उहाँको भनाइ छ ।

चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । “यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ”, विष्टले भन्नुभयो, “मूल्यमा भारी गिरावट आएपछि किसानलाई लागत उठाउन समस्या परेको छ ।”

यहाँका किसानले घरबाट नै आलु बिक्री गर्दै आएका छन् । यस वर्ष आलुको उत्पादन बढे पनि मूल्यमा गिरावट आएको छ । लामो समयसम्म भण्डारण गर्दा कुहिने समस्या हुने भएकाले दुई हजार पाँच सय किलो आलु बाध्य भएर कम मूल्यमा बिक्री गरेको उहाँको भनाइ छ । आलुबाट मेहनतअनुसारको प्रतिफल नपाएपछि निरासा थपिएको विष्ट बताउनुहुन्छ ।

“आलुको उचित मूल्य नपाए पनि कुहिने बिग्रने डरले बिक्री गरे”, उहाँले भन्नुभयो, “लामो समयसम्म भण्डारण गर्न पाएको भए मूल्य राम्रै पाइने थियो । आलु उत्पादक किसानका लागि भण्डारण केन्द्रको व्यवस्था भए उचित मूल्यमा बेच्न सकिन्थ्यो । राज्यले यसमा ध्यान दिनसके किसानलाई राहत हुने थियो ।”

ठेकेदारले किसानले बोकेर सडकमा ल्याएको आलुलाई रु २८ तथा घरमा पुगेर रु २५ मा खरिद गर्ने गरेका छन् । यहाँको चोलन्ती र मझौले गाउँलाई आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । चोलन्ती गाउँबाट मात्र यस वर्ष करिव १५ मेट्रिक टन आलु खाँदबारी, धरान, इटहरी विराटनगर, काठमाडौँलगायत शहरमा बिक्री भएको स्थानीय व्यापारी लालबहादुर किसानले बताउनुभयो ।

“यस वर्ष तराई क्षेत्रका बजारमा पनि आलुको राम्रो मुल्य छैन”, उहाँले भन्नुभयो, “यहाँका किसानको घरबाट प्रतिकिलो रु २५ देखि रु २८ मा खरिद गरेर लैजाँदै आएका छौँ । विगतका वर्षमा आलुको मूल्य निकै राम्रो थियो । तर यस वर्ष बाह्य बजारमा पनि आलुको उचित मूल्य छैन ।”

मझौलेका किसानको भने हालसम्म आलु बिक्री नभएको स्थानीय हीरालाल लुइँटेलले बताउनुभयो । मूल्यको कारण यहाँका अधिकांश किसानको आलु बिक्री नभएको उहाँको भनाइ छ । “हाम्रो मझौले र चोलन्ती गाउँमा आलुको धेरै उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “आलुले यस वर्ष राम्रो म्ूल्य पाउन सकेन । मझौले गाउँका धेरै किसानको आलु हालसम्म बिक्री भएको छैन । किसान मूल्यको पर्खाइमा बसेको अवस्था छ ।”

उत्पादित आलुको बजारीकरणमा राज्यले सहयोग गरे किसान मारमा नपर्ने किसान लुइँटेलको भनाइ छ । बजारको पर्खाइमा बस्दा किसानको आलु कुहिएर नष्ट हुने अवस्था आएको उहाँले बताउनुभयो । “उत्पादन भएको आलुको उचित मूल्य लिएर बिक्री गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “भण्डारण गरेको ठाउँमा आलु कुहिन थालेको अवस्था छ । राज्यले उत्पादित आलुलाई बजारीकरणमा सहयोग गरे हामीलाई राहत पुग्ने थियो ।”

मझौले गाउँका एउटा किसानले पाँच सय किलोदेखि तीन हजार किलोसम्म आलु उत्पादन गर्दै आएको स्थानीय सन्तोष विष्टले बताउनुभयो । यहाँका ८५ बढी घरपरिवारले व्यावसायिक रुपमा आलुको खेती गर्दै आएका उहाँको भनाइ छ । “यहाँको मुख्य उत्पादन नै आलु र मकै हो”, विष्टले भन्नुभयो । यस क्षेत्रमा बढी मात्रामा भोटाङ्गे पंखदले, धराने, सैलुङगेलगायत जातका आलु उत्पादन हुने गरेको छ ।

आज विश्व अल्जाइमर्स दिवस

काठमाडौँ, ४ असोज : विश्व अल्जाइमर्स दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर २१ का दिन मनाइँदै आएको अल्जाइमर्स (बिर्सिने रोग) विस्मृति दिवसको यस वर्षको नारा ‘कहिल्यै धेरै चाँडो पनि हुँदैन, कहिल्यै ढिलो पनि हुँदैन’ रहेको छ ।

रोगको पहिचान समयमै गर्ने र यो रोग हुन बढावा दिने मुख्य कारकतत्वलाई समयमै पहिचान गरेर बिर्सिने रोगबाट बच्नका लागि आह्वान गरिएको छ । उक्त दिवस सन् १९९४ देखि मनाउन थालिएको हो । अल्जाइमर्स जसलाई बिर्सिने रोगका रुपमा बुझ्ने गरिन्छ । नेपालमा हाल बिर्सिने रोगबाट एक लाख ११ हजार व्यक्ति पीडित छन् ।

नेपाल पक्षघात सङ्घका अध्यक्ष एवं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट डा राजु पौडेल नेपालमा ६५ वर्ष माथि उमेरका ६ दशमलव ५ प्रतिशत व्यक्तिमा विर्सिने रोग लागेको बताउनुहुन्छ । “जति मानिसको उमेर बढ्दै जान्छ, त्यति नै बिर्सिने रोगसमेत बढ्छ”, उहाँ भन्नुहुन्छ । विर्सिने रोगीमध्ये ८० प्रतिशतभन्दा बढीमा अल्जाइमर्स हुने उहाँको भनाइ छ ।

विश्वमा हरेक वर्ष एक करोड व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ । डा पौडेल विश्वभर हाल छ करोडभन्दा बढी व्यक्तिलाई अल्जाइमर्सको समस्या रहेको बताउनुहुन्छ । विश्वमा हरेक तीन सेकेण्डमा एक व्यक्तिलाई अल्जाइमर्स हुने गरेको छ ।

विश्वको तथ्याङ्कअनुसार ६५ वर्षदेखि ७५ वर्षसम्मका पाँच प्रतिशत जनसङ्ख्या, ७५ वर्षदेखि ८५ वर्षसम्मका १३ प्रतिशत र ८५ वर्ष पार गरेका एक तिहाइ व्यक्तिमा अल्जाइमर्स हुने गरेको छ । विश्वको तथ्याङ्कलाई हेर्दा विकसित मुलुकभन्दा अल्पविकसित र अविकसित मुलुकमा बढी अल्जाइमर्सका रोगी देखिएको डा पौडेल बताउनुहुन्छ ।

बिर्सिने रोगीमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् । डा पौडेल अल्जाइमर्सका बिरामी वार्षिक नेपालका प्रत्येक अस्पतालमा एक सयभन्दा बढी जाने गरेको बताउनुहुन्छ । सम्झना शक्तिमा विस्तारै ह्रास आउने र सामान हराउने वा बिर्सने, आफू परिचित ठाउँमा पनि हराउने र बाटो बिर्सने÷बिराउने, कुनै पनि कामको योजना गर्ने शक्तिमा असक्षमता, पहिले राम्रोसँग गर्नसक्ने कामजस्तै, बोल्ने, लेख्ने, पढ्ने काममा समस्या र व्यक्तित्वमा परिवर्तन विस्मृति अर्थात् बिर्सिने रोगका लक्षण हुन् ।

विश्वभर अल्जाइमर्स रोगको पूर्णरुपमा उपचार नभए पनि यसबाट आउने सम्बन्धित समस्याजस्तै, बैचैनी, डिप्रेसन, शङ्का गर्ने प्रवृत्तिलाई उपचार गरेर बिरामीको जीवनलाई गुणस्तरीय बनाउन सकिने डा पौडेल बताउनुहुन्छ । त्यसैगरी प्रारम्भिक चरणमा यो रोग पहिचान भएमा स्मरणशक्ति सुधार गर्ने, विभिन्न औषधि प्रयोग गरेर बिरामीको स्मरणशक्ति सुधार्न सकिने चिकित्सक बताउँछन् । बिरामीको हेरचाह गर्न परिवारको व्यक्तिलाई विभिन्न व्यवहारिक ज्ञान प्रदान गरी सहयोग गर्न सकिन्छ । यो रोगबाट पीडितलाई परिवार, समाज तथा मुलुकले नै चासो दिएर ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप बाँच्ने अधिकारको प्रत्याभूति गराउन आवश्यक देखिन्छ ।

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर

काठमाडौँ, ४ असोज : रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला मात्रै होइन, युद्ध, क्रान्ति र पर्यटनका नामबाट परिचितस्थल पनि हो । नेपाल एकीकरणपूर्व बाइसे र चौबिसे राज्य हुँदा सेन राजाहरु र काजीहरुको गुप्त सल्लाह तथा बसोबास हुने जिल्ला रोल्पा–रुकुम, प्युठान, दाङ, सल्यान र बागलुङजस्ता जिल्लासँग सीमाना जोडिएको जिल्ला हो । यही रोल्पा नेकपा (माओवादी)ले चलाएको सशस्त्र द्वन्द्वकालको एक उद्गमस्थल पनि हो, जहाँ माओवादी पार्टीका नेता कार्यकर्ता मात्रै सात सय ४२ सहिद भए । विसं २०५८ असार २७ गते भएको होलेरी आक्रमणमा सरकार र विद्रोही पक्षका गरी ३९ जना मारिएका थिए ।

लोकतान्त्रिक आन्दोलनको सफलतापछिका राजनीतिक गतिविधि र निर्वाचनमा माओवादीको प्रभाव नरहने कुरै भएन । यही जिल्लाका जनताबाट निर्वाचित भएका प्रतिनिधि मुलुकको सभामुख, अर्थमन्त्री र प्रदेशका मुख्यमन्त्री भइसकेका छन् । अरु जिल्लाको जस्तै रोल्पाको विकास पनि क्रमशः हुँदैछ तर जति हुनुपर्ने हो त्यति नभएको देखिन्छ ।

रोल्पालीका धेरै सपना पूरा हुन बाँकी नै छ, ती सपना माओवादीले मात्रै पूरा गर्न सक्दैन । यहाँको विकासका लागि अरु राजनीतिक दलको भूमिका पनि आवश्यक छ भनेर विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएकी ईश्वरी घर्तीमगर अहिले नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।

नुवागाउँको अरनिको माविमा पढ्दै गर्दा विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेकी सांसद घर्तीमगर पछि अखिल नेपाल महिला सङ्घको जिल्ला अध्यक्ष हुनुभयो । केही समय पत्रकारितामा पनि आफूलाई सक्रिय बनाउनुभएकी उहाँ प्रेस चौतारी नेपालको पनि जिल्ला अध्यक्ष हुनुभयो । भूगोल र पार्टीको राजनीतिक भूमिकाबाट पहिलोपटक सिंहदरबारको संसदीय भूमिकामा आउँदा प्रारम्भमा उहाँको समय संसदीय अभ्यास, यसका नियमावली र आचारसंहिता आदिबारे सिकाइमै बित्यो । सरकार निर्माण, राष्ट्रपति–उपराष्ट्रपतिका निर्वाचन आदि घटनाक्रमले पनि विधि निर्माणको संसदीय भूमिकाको भेउ पाउन सांसद घर्तीमगरलाई केही समय लाग्यो ।

पार्टीको राजनीतिमा जस्तो एकोहोरो जिम्मेवारी पूरा गरेर पनि सांसदले सुख पाउँदैन । सांसद घर्तीमगरलाई अहिले यो कुरा स्पष्ट भइसक्यो कि सांसद भनेको पार्टीप्रति मात्रै उत्तरदायी हुने पद होइन, देश र जनताप्रति समर्पित भएर कानुन बनाउने विधायक हो । हुन त जनताले सानातिना (नागरिकता, राहदानी) देखि ठूला आयोजनासम्ममा सांसदलाई सम्झने गर्दछन् । जनताले आफ्ना कुरा सदनमा पुगोस् भन्ने चाहन्छन् । शून्य समय, आकस्मिक समय र विशेष समयमा समय पाएर हरेक विषयलाई न्याय गरेर बोल्न सांसदलाई पनि सहज छैन ।

जनताका आँखामा जुन सांसदले बढी बजेट र विकास ल्याउन सक्यो, त्यही ठूलो नेता कहलिन्छन् । ईश्वरीले हालसम्म धेरै पटक सदनमा उठाएको विषय–सहिदमार्गको निर्माण र स्तरोन्ततिबारे सरकारले पर्याप्त ध्यान दिएको छैन । द्वन्द्वकालमा लाइफलाइनका रुपमा लिइने २२० किलोमिटरको यो सडक दाङ–रोल्पा हुँदै पूर्वी रुकुमको हुकाममैकोटसम्म पुग्छ । घोराही–होलेरी सडकको अवस्था पनि बिजोग छ ।

“दयनीय अवस्थामा रहेको यो सडक बनाउन कनिका छरेजस्तो बजेट हालेर पुग्दैन । सांसद घर्तीमगर प्रश्न गर्नुहुन्छ, “बजेट र योजना पार्न सत्ता पक्षका सांसद हुनुपर्ने तथा मन्त्री र कर्मचारीलाई ढोग्न जानुपर्ने अवस्थाबाट देश बन्छ ? अहिले पनि रोल्पालीका सपना र चाहना पूरा गर्ने खालका योजना किन परेका छैनन् ?” रोल्पालीका शिक्षा, कृष र पर्यटन आदिका सपना पूरा गर्दै उनीहरुका जनजीवनमा परिवर्तन गराउन सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले विशेष पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिकी सदस्य घर्तीमगर सरकारले विधेयक बनाउँदा सम्बन्धित संसदीय समितिका निर्देशनको पालना र सरोकार भएका पक्षसँग पर्याप्त छलफल नगरेको टिप्पणी गर्नुहुन्छ । विद्यालय शिक्षासम्बन्धी विधेयकको विरोधमा अहिले भइरहेको शिक्षक–कर्मचारीको आन्दोलन त्यसैको उपज रहेको उहाँको बुझाइ छ । उक्त विधेयकलाई जस्ताको तस्तै पारित नगर्ने स्पष्ट गर्दै सांसद घर्तीमगरले यसमा सबै दलका सांसदबीचको छलफल र सहमतिका आधारमा अघि बढ्ने गरी पहल भएको स्पष्ट गर्नुभयो । “सरकारले समितिका निर्देशन पालना गरिरहेको हुँदैन । विधेयक बनाउँदा पनि हामीसँग परामर्श हुन्न । औपचारिक निर्वाह गर्ने हिसाबले गरिने कामले जनता र सरोकारवालामा परिणाम दिन सकिन्न”, सांसद घर्तीमगरले भन्नुभयो ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – बिहीबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पश्चिम भागमा न्यून चापीय क्षेत्र अवस्थित छ।

हाल देशका सुदूर पश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू-भागहरुमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चटयाङ हल्का वर्षा भैरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशहरुको एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

महेन्द्रनगर, ४ असोज : मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले कुटपिट गरेका थिए । केन्द्रमा दुर्घटनामा परी घाइते भएका बेलौरीकै बाबुराम चौधरीको उपचारका खटिएका बेला खड्कासहितको समूहले कुटपिट गरेको भन्दै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बुधबार प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाको यर्थात छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

त्यसैगरी नेपाल सिएमए सङ्घ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ । सङ्घले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी गैरेमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेको हो ।

आज विश्व शान्ति दिवस

काठमाडौँ – आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ ।

यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ । अहिले अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ ।सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

न्यूयोर्क, ४ असोज : परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।

भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी हुनुहुन्थ्यो ।

१ खर्ब ५९ अर्ब राजस्व उठ्दा १ खर्ब ३६ अर्ब सरकारी खर्च

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले लक्ष्यको ११ प्रतिशत राजस्व उठाएको छ ।सरकारले साउन रभदौमा कुल लक्ष्यको १० दशमलव ८१ प्रतिशत राजस्व उठाएको हो । यस अवधिमा १ खर्ब ५९ अर्ब ३१ करोड १० लाख ५९ हजार राजस्व उठाउन सरकार सफल भएको छ ।

दुई महिनामा खर्च भने ८ प्रतिशतको हाराहारीमा गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार कुल राजस्वमध्ये सरकारले चालू आवमा १ खर्ब ४५ अर्ब ८३ करोड २६ लाख राजस्व कर उठाएको हो । सरकारले यस आवमा कुल १४ खर्ब २२ अर्ब ५४ लाख १७ हजार राजस्व उठाउने लक्ष्य राखेको छ ।

अर्थ मन्त्रालयका अनुसार कुल उठेको राजस्वमध्ये कर राजस्वबाट १ खर्ब ३२ अर्ब ६० करोड २८ लाख उठेको हो भने गैरराजस्व करबाट १३ अर्ब २२ करोड ९८ लाख उठेको छ ।

यस अवधिमा सरकारले कुनै पनि अनुदान प्राप्त गर्न सकेको छैन । सरकारले बजेटमार्फत ४९ अर्ब ९४ करोड ३० लाख अनुदान प्राप्त गर्ने अपेक्षा गरेको थियो । तर, अपेक्षा नै नगरेको अन्य शीर्षकबाट १३ अर्ब २७ करोड ३३ लाख राजस्व उठेको छ ।

गत वर्षको दुई महिनामा १ दशमलव ६४ प्रतिशत पुँजीगत खर्च गरेको सरकारले चालू आवमा भने २ दशमलव ८१ प्रतिशत पुर्‍याएको छ । गत वर्ष ६ अर्ब २२ करोड ६६ लाख पुँजीगत खर्च गरेकामा यस वर्ष ८ अर्ब ४९ करोड ५२ लाख पुँजीगत खर्च गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।