`

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

महेन्द्रनगर, ४ असोज : मध्यरातमा बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि कञ्चनपुरको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन् ।

मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले कुटपिट गरेका थिए । केन्द्रमा दुर्घटनामा परी घाइते भएका बेलौरीकै बाबुराम चौधरीको उपचारका खटिएका बेला खड्कासहितको समूहले कुटपिट गरेको भन्दै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीले बुधबार प्रेस विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

घटनाको यर्थात छानबिन गरी दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म बिहीबारबाट आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

त्यसैगरी नेपाल सिएमए सङ्घ कञ्चनपुरले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीलाई कुटपिटमा संलग्न व्यक्तिलाई कारबाहीको माग गरेको छ । सङ्घले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मी गैरेमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेको हो ।

आज विश्व शान्ति दिवस

काठमाडौँ – आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ ।

यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकारसम्बन्धी घोषणा जारी भएको पनि ७५ वर्ष पुगेको छ । अहिले अन्तर्राष्ट्रिय कानूनको अभिन्न अङ्गका रूपमा पनि शान्तिको अधिकार स्थापित भएको छ ।सेप्टेम्बर २१ लाई विश्व समुदायले ‘अल्जाइमर्स डे’ का रूपमा पनि मनाउँदै आएको छ ।

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

न्यूयोर्क, ४ असोज : परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा भेटघाट भएको छ ।

भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो । यसैगरी दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो । भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी हुनुहुन्थ्यो ।

१ खर्ब ५९ अर्ब राजस्व उठ्दा १ खर्ब ३६ अर्ब सरकारी खर्च

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारले लक्ष्यको ११ प्रतिशत राजस्व उठाएको छ ।सरकारले साउन रभदौमा कुल लक्ष्यको १० दशमलव ८१ प्रतिशत राजस्व उठाएको हो । यस अवधिमा १ खर्ब ५९ अर्ब ३१ करोड १० लाख ५९ हजार राजस्व उठाउन सरकार सफल भएको छ ।

दुई महिनामा खर्च भने ८ प्रतिशतको हाराहारीमा गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार कुल राजस्वमध्ये सरकारले चालू आवमा १ खर्ब ४५ अर्ब ८३ करोड २६ लाख राजस्व कर उठाएको हो । सरकारले यस आवमा कुल १४ खर्ब २२ अर्ब ५४ लाख १७ हजार राजस्व उठाउने लक्ष्य राखेको छ ।

अर्थ मन्त्रालयका अनुसार कुल उठेको राजस्वमध्ये कर राजस्वबाट १ खर्ब ३२ अर्ब ६० करोड २८ लाख उठेको हो भने गैरराजस्व करबाट १३ अर्ब २२ करोड ९८ लाख उठेको छ ।

यस अवधिमा सरकारले कुनै पनि अनुदान प्राप्त गर्न सकेको छैन । सरकारले बजेटमार्फत ४९ अर्ब ९४ करोड ३० लाख अनुदान प्राप्त गर्ने अपेक्षा गरेको थियो । तर, अपेक्षा नै नगरेको अन्य शीर्षकबाट १३ अर्ब २७ करोड ३३ लाख राजस्व उठेको छ ।

गत वर्षको दुई महिनामा १ दशमलव ६४ प्रतिशत पुँजीगत खर्च गरेको सरकारले चालू आवमा भने २ दशमलव ८१ प्रतिशत पुर्‍याएको छ । गत वर्ष ६ अर्ब २२ करोड ६६ लाख पुँजीगत खर्च गरेकामा यस वर्ष ८ अर्ब ४९ करोड ५२ लाख पुँजीगत खर्च गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

देउवामाथि दबाब बढाउने शेखर-गगनको रणनीति

काठमाडौं । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि रणनीतिक दबाब बढाउन शेखर–गगन समूह निरन्तर लागिपरेको छ ।

पार्टीका हरेक गतिविधिमा सभापतिबाट आफ्नो समूहलाई बाइपास गर्ने प्रवृत्तिको गति नरोकिएपछि संस्थापनइतर समूह एकढिक्का भएर पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवामाथि दबाब बढाउने रणनीति अपनाएका हुन् । देउवाको कार्यशैलीमाथि असन्तुष्टि जनाउँदै आएको शेखर–गगन समूहका केन्द्रीय नेताहरूले मंगलबार बैठक बसेर कसरी अघि बढ्ने भन्ने रणनीति तय गरेका छन् ।

उनीहरूले वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई समेत एकाकार गर्दै देशभर आफ्नो समूहलाई मजबुत बनाउँदै लैजाने अभियानमा छन् । मंगलबारको बैठकमा निमन्त्रणा गरे पनि प्राविधिक रूपमा बैठकमा उपस्थित हुन नसके पनि महामन्त्री शर्मा र नेता पौडेल आफूसँगै रहेको केन्द्रीय सदस्य मधु आचार्यले बताउनुभयो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

फरार अभियुक्तको आम माफी रोकियो, ६ सय ७० को कैद मिनाहा

काठमाडौं । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी रोकिएको छ ।

सरकारले संविधान दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति कार्यालयलाई सिफारिस गरेका ३४ का हकमा मिनाहाको आधार र उनीहरूको विवरण राष्ट्रपतिले माग गरे पनि गृहमन्त्रालयले त्यसको जवाफ नपठाएपछि उनीहरूको माफी मिनाहा रोकिएको हो ।त्यस्तै, राष्ट्रपतिको कार्यालयले ६ सय ७० कैदीकै भुक्तानी गर्न बाँकी कैद सजाय मिनाहा गरेको छ ।

सरकारले गरेको निर्णयअनुसार कानूनको अधीनमा रही जेष्ठ नागरिक, चरित्र सुधारलगायतका आधारमा ६ सय ७० कैदीहरूको असोज ३ देखि लागु हुनेगरी बाँकी कैद सजाय मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

न्यूयोर्क, ४ असोज ः नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आउनुभएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गर्नुभएको हो । अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०÷३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ । सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसङ्घले जनाएको छ ।

यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ । नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ ।

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

न्यूयोर्क, ४ असोज : परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।मन्त्री साउदले भन्नुभयो, “नेपालले क्षेत्रीय प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको छ, यसभित्र एसियाली सहकार्य संवादसमेत पर्दछ ।” बुधबार राष्ट्रसङ्घको मुख्यालयमा आयोजित एसियाली देशका मन्त्रीको सम्मेलनमा मन्त्री साउदले उक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, “हामीहरु सबै एसियाली क्षेत्रका सदस्यसँग यसको उद्देश्यअनुसार काम गर्न तयार छौँ, साथै यसले आत्मसात् गरेका मुख्य विषयलाई सफलतापूर्वक कार्यान्वयन गर्न सहमत छौँ ।”अठार देशका विदेशमन्त्री मिलेर सन् २००२ जुनमा स्थापना भएको ‘एसियाली सहकार्य संवाद’को सदस्यता नेपालले सन् २०१६ मार्चमा लिएको थियो ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

न्यूयोर्क, ४ असोज : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो । दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहनुभएको छ ।

महाधिवेशनमा परिवारका सदस्यले साथ दिएको भए सफलता मिल्ने थियो : नेता डा कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य सदस्यले सहयोग गरेको भए अहिलेको परिणाम नआउने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय कार्यालय बिपी नगरमा आयोजित बिपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रममा ‘परिवारले बुझेको बिपी’ विषयक अन्तरसंवादमा उहाँले पार्टीको नेतृत्व लिने कुरा सबै परिवारकै सदस्यमा मात्र भर नपर्ने भन्दै देशभरका कार्यकर्ताको भावना र सुझावबमोजिम नै आफूले पार्टीको १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गरेर सम्मान पाएको बताउनुभयो । नेता कोइरालाले बिपीले लिएको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।

नेता कोइरालाले आफूहरू कोइराला परिवारका सदस्यलाई सधँै साथमा लिएर हिँड्न चाहेको भन्दै आगामी दिनमा मिलेरै जाने भनेर डा शशाङ्क कोइराला र सुजाता कोइरालाले भनेको कुरामा आफू विश्वस्त भएको बताउनुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री तथा बिपी पुत्र डा शशाङ्क कोइरालाले पार्टीका कार्यकर्ताको सुझावबमोजिम आफू चल्ने गरेको बताउँदै १४ औँ महाधिवेशनमै आफू सभापतिमा उम्मेदवार बन्न खोजेको उल्लेख गर्नुभयो । आफू १५औँ महाधिवेशनमा समेत सभापतिको आकाङ्क्षी रहेको उहाँले जानकारी गराउनुभयो ।

आफू राजनीतिमा लागेसँगै २०६४ सालमा नवलपरासीबाट निर्वाचन लडेको प्रसङ्गमा डा शशाङ्कले भन्नुभयो, “मैले चार पटक जितेँ, मन्त्री भएको छैन । तर जितेँ ।” उहाँले कांग्रेसका लागि आफूहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो । नेता डा शशाङ्क कोइरालाले परिवार मिलाउन नसक्ने मान्छेले यत्रो पार्टी र सरकार कसरी मिलाउन सक्छ भनेर बिपीले आफूहरूलाई भन्ने गरेको घटना स्मरण गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेत्री सुजाता कोइरालाले कांग्रेसका केही जिल्लाका कार्यकर्ताले दलितसँग सँगै बसेर खाना नखाएको घटनाबाट आफू दुखित भएको बताउनुभयो । उहाँले आफ्नो परिवारमा त्यस्तो विभेद कहिल्यै गर्ने नगरेको भन्दै कार्यकर्तालाई केन्द्रविन्दुमा राखेर काम गर्न पार्टीका युवा महामन्त्रीसँग आह्वान गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्छ– अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता विषय नागरिकको मौलिक अधिकार भएकाले यसमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभएको छ ।

पार्टी निकट नेपाल रिटर्नी एसोसिएसन समाजवादीको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै उहाँले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका नेपालीले आर्जन गरेको पूँजी र सीपको उपयोग गरी मुलुकमा उत्पादन वृद्धि गर्नसकेमा रोजगारी वृद्धि भई सामाजिक रूपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेकाले यसमा गरिने लगानीले ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने, पूँजी परिचालन तथा अर्थतन्त्रलाई गतिशील बनाउने उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले पार्टीले अवलम्बन गरेको आदर्श नीतिले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्त्व रहेको बताउँदै मुलुकमा गरिबी निवारणका लागि औद्योगीकरण गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले देशभर गर्न लागिएको समाजवाद जागरण यात्रामा जनताको समस्यालाई प्राथमिकता दिएर उनीहरूको सेवालाई केन्द्रमा राख्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । अध्यक्ष नेपालले राष्ट्रियताको संरक्षण, जनजीविका, पूर्वाधारको निर्माण तथा विकास र समृद्धिका विषयमा सबैको साझा दृष्टिकोण हुनुपर्ने बताउनुभयो । दलहरूबीच हुनसक्ने ध्रुवीकरणले मुलुकको राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने बताउँदै उहाँले समान लक्ष्य र प्रष्ट वैचारिक दृष्टिकोण भएका शक्तिबीच एकता गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेपाल र भारतबीच प्रसारण लाइन सहप्रयोग गर्ने सहमति

काठमाडौं । नेपाल र भारतबिच विद्युत् आदान प्रदानका लागि उपलब्ध विभिन्न अन्तर्देशीय प्रसारण लाइनको प्रयोगका विषयमा दुई देशबिच सहमति भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत ऊर्जा अधिकारीहरू सम्मिलित प्राविधिक टोली (जेटिटी) को १४ औँ संयुक्त बैठकमा यस्तो सहमति जुटेको हो ।

यसअघि नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतले लाने सहमति भएको थियो । यो प्रारम्भिक सम्झौता कार्यान्वयनमा लान हाल जुटेको दुई देशीय प्राविधिक समितिको सहमति महìवपूर्ण साबित हुने छ ।

सहसचिवस्तरीय उक्त बैठकमा नेपाली पक्षको नेतृत्व नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले गर्नुभएको थियो भने भारतीय पक्षको नेतृत्व त्यहाँको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनियर राजेश गोयलले गरेका थिए ।

बैठकमा सहभागी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवका अनुसार विभिन्न प्रसारण लाइनहरूको सहप्रयोगसम्बन्धी आठ बुँदामा सहमति भएको छ । सहमति अनुसार नेपाल–भारत विद्युत् व्यापारको महत्वपूर्ण पूर्वाधार ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट अब आठ सय मेगावाटभन्दा धेरै विद्युत् निर्यात गर्न सकिने छ ।

दुई देशबिचको सहमति अनुसार हालसम्म आठ सय मेगावाट मात्रै विद्युत् निर्यात गर्न सकिने अवस्था थियो । अब निर्माण सम्पन्न हुनै लागेको हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन तयार भएपछि ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनबाट थप विद्युत् आदान प्रदान हुने छ ।

सतलज जलविद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाको बिजुली भारत लैजान बनाइरहेको ढल्केबर सीतामढी प्रसारण लाइनमा पनि नेपाल विद्युत् प्राधिकरणले थप विद्युत् निर्यात गर्न पाउने सहमति जुटेको छ ।

यसले भविष्यमा ढल्केबर मुजफ्फरपुर प्रसारण लाइन क्षमता पूर्ण भएका अवस्थामा पनि एसजेभिएनले बनाइरहेको ढल्केबर सीतामढी ४०० केभीसमेत निर्यात उपयोगमा लिन पाइने छ । यो प्रसारण लाइन अब आयात निर्यात दुवै उद्देश्यमा प्रयोग हुने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

शिक्षकको माग पूरा संविधान संशोधनबाट मात्रै सम्भव

काठमाडौं । सरकारले ल्याएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले गरेको व्यवस्थामाथि असन्तुष्ट जनाउँदै शिक्षकहरूले बुधबारदेखि आन्दोलन सुरु गरेका छन् । सरकारले सो विधेयकमा समेटिएको विषयमा छलफलका लागि बोलाएको वार्ता अस्वीकार गरेर शिक्षकहरू आन्दोलित भएका हुन् ।

संविधानअनुसार शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिकालाई अस्वीकार गर्दै उनीहरूले सो विषय संसद्बाट संशोधन हुनुपर्ने प्रमुख माग राखेका छन् ।

संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ । यस व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानका लागि भन्दै बुधबारदेखि आन्दोलन गरेका हुन् ।

तर, अहिलेकै अवस्थामा शिक्षकहरूको मागलाई सम्बोधन गर्नका लागि भने संविधान संशोधन गरेर मात्रै सम्भव हुने संविधानविद्हरूको भनाइ छ । अहिलेको अवस्थामा संविधान संशोधन गरेर शिक्षकहरूको माग सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषय पेचिलो बनेको छ । शिक्षकहरूको माग सम्बोधनका लागि संसद्बाट दुई तिहाइको मतबाट संविधान संशोधन भएमा मात्रै सम्भव देखिन्छ । शिक्षा मन्त्रालयका कर्मचारीहरू यस अवस्थामा शिक्षकहरूले राखेका माग पूरा गर्न संविधान नै संशोधन गर्नुपर्ने बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

रसुवा-: रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स, विद्युतीय मोटर कारसमेतका साना ठूला सवारी साधन, हाइड्रोपावरका सामग्री, मेसिनरी उपकरणका पार्टपुर्जा, थर्मस, स्याउ, ओखर, लसुन, अदुवालगायतका आयात सामग्रीको शुल्कबापतबाट राजस्व वृद्धि भएको हो ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार साउन तथा भदौ महिनामा केरुङ हुँदै रसुवागढी नाकाबाट नेपालमा आयात भएका चिनियाँ माल सामग्रीको नियमानुसार भन्सार शुल्कबापत रु पाँच अर्ब १३ करोड ९९ लाख ३० हजार असुली गरी सो रकम राजस्व खातामा दाखिला गरिएको हो ।

साउन भदौको असुली लक्ष्य रु एक अर्ब चार करोड ४१ लाख २१ हजार भएकोमा पछिल्लो समय व्यवसायीले आयात परिमाण बढाएको र निर्देशिकाको मर्मअनुसार मालवस्तुको गुणस्तरका आधारमा मूल्याङ्कन भएका कारण भन्सार शुल्कबापतको राजस्व वृद्धि भएको जनाइएको छ।

गत आव २०७९÷८० को साउन तथा भदौ महिनाको तुलना गर्दा यस चालु आवमा उल्लेखनीयरूपले राजस्व वृद्धि भएको हो । चालु आवको साउन र भदौ महिनामा लक्षित गरिएको अनुमानभन्दा दुई सय नौ प्रतिशतले असुलीमा वृद्धि भएको हो ।

व्यवसायीले मालसामग्री भन्सार हातामा भित्र्याए प्राथमिकताका आधारमा छिटोभन्दा छिटोजाँचपास गर्ने व्यवस्था मिलाइएको भन्सार अधिकारीले बताएका छन् ।यस्तै नेपाली व्यवसायीले झिकाएको करिब पाँच सय चिनियाँ विद्युतीय कार भने क्रमिकरूपमा भन्सार छुटाई काठमाडौँ लाने कार्य धमाधम अगाडि बढिरहेको बताइएको छ ।

हेर्नुहोस् असोज ४ गते विहिवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – खान पानमा बिशेष साबधानी अपनाउनु होला । आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहेकोछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । अरुको बिश्वासमा गरीएका कार्यहरुबाट सामान्य तनाबको सामना गर्नुपर्नेछ । नयाँ लगानीका क्षेत्रमा बिशेष साबधानि रहनु पर्नेछ ।

बृष राशि – ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । निर्णय गर्ने क्षामतामा बृद्यि हुनेछ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ । सामान्य यात्रा रहन सक्छ । प्रेमी प्रेमिकाको बिच सामान्य मनमुटाब रहन सक्छ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ ।

मीथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह
अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । अरुको सहयोग निम्ति धेरै समय ब्यतित हुन सक्छ । कुरा काट्रने ब्यक्ति हरुको बृद्यि हुनेछ । शत्रु सबल रहलान । स्वास्थ सम्बन्धि समस्या ले सताउला । आजको सामान्य खर्चले भोलिलाई फाईदा मुलक हुनेछ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । सामान्य आम्दानि हुनसक्ने सम्भाबना रहेको छ । नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ ।

सिंह राशि – भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला ।

कन्या राशि – कामको क्षेत्रमा भने साधारण झन्झट तथा अप्जस सहनु पर्ला । आय आम्दानि मा बृद्यिहुने योग रहेको छ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला ।

तुला राशि – मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मधुर बाणीका कारण बिग्रन लागेको काम बन्ने योग रहेको छ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । बिश्वासिला ब्यत्तित्वहरुबाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला ।सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झट ब्यहोनु पर्ला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि – बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।

कुम्भ राशि – कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । परीबारका कोहि सदस्य हरुको स्वास्थ क्षेत्रमा झमेला पर्न सक्छ । बौधिक बिकास तथा विद्या प्राप्ति योग रहेको । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ ।

मिन राशि – मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला सामान्य झन्झट रहन सक्छ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला ।

नेपथ्यको ‘मानवताका लागि सङ्गीत’ यात्रा अब क्यानाडामा

काठमाडौँ ३ असोज : साङ्गीतिक ब्याण्ड नेपथ्यले आउँदो अक्टोबरको १ तारिख (यही असोज १४ गते) मा पहिलो पटक क्यानाडामा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएको छ । सन् २०२३ लाई मानवता प्रवर्द्धनका लागि साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्दै आएको नेपथ्यले यसपालि पहिलोपटक क्यानाडाको क्यालगरी सहरमा साङ्गीतिक प्रस्तुति दिन लागेको हो ।

त्यसपछि अक्टोबर ४ (असोज १७) मा भ्यानकुभर सहरमा प्रस्तुति दिने र अन्तिम शो भने अक्टोबर ८ (असोज २१) मा क्यानाडाको टोरन्टोमा प्रस्तुत गर्ने नेपथ्यले जानकारी दिएको छ । सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । क्यानाडा नेपथ्यको १७ औँ गन्तव्य राष्ट्र हुनेछ ।

केही समययता नेपालीका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तव्य बन्दै आएको छ । त्यसमा पनि विशेषगरी अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीको सङ्ख्या बर्सेनि बढ्दो छ ।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि सङ्गीत’ को नारासहित मानवता प्रवर्द्धन अभियानको शृङ्खलाको रूपमा प्रस्तुत गर्ने विचारअनुरूप यसपालिको नेपथ्य क्यानाडा शृङ्खला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ ।

“क्यानाडामा हुने प्रायः नेपाली कार्यक्रम अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ”, व्यवस्थापन सम्हाल्दै आएको नेपालका किरणकृष्ण श्रेष्ठले भन्नुभयो, “नेपाली कलाकारले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपालि त्यो सम्भावनाको ढोका पनि उघार्ने अठोट लिएका छौँ ।”

अघिल्लो महिनाको शृङ्खला जापानमा भएको थियो । यात्रामा सम्मिलित आठ जना प्राविधिज्ञ एवं व्यवस्थापक र छ सङ्गीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेश हुनेछ ।

“हाम्रो लागि क्यानाडा नयाँ गन्तव्य भए तापनि त्यहाँ बसोबास गर्ने नेपालीले देखाउनुभएको उत्साहबाट असाध्यै हौसला मिलिरहेको छ”, ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङले भन्नुभयो, “दसैँको मुखमा स्वदेशको सम्झना र थुप्रै माया बोकेर मञ्चमा उभिनेछौँ ।”

क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गीतारमा नीरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनुहुने जनाइएको छ ।

प्रवासीको कथामा ‘परदेशी २’

काठमाडौँ – नारायण रायमाझीले निर्देशन गर्नुभएको चलचित्र ‘परदेशी–२’ को प्रदर्शन दसैँलाई लक्षित गर्दै असोज २६ गतेलाई घोषणा गरिएको छ ।

निर्माण पक्षले मितिसँगै चलचित्रमा समावेश ‘हिजो काम’ बोलको गीतसमेत सार्वजनिक गरेको छ । गीतमा परदेशमा बसिरहेका नेपालीको पिडालाई देखाइएको छ ।

चलचित्रमा परदेशीको जीवनमा देखाइएको निर्देशक रायमाझीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो समाजकै कथालाई पर्दामा ल्याएको छु । मेरा अघिल्ला चलचित्रझैँ यो पनि सामाजिक विषयवस्तुमै केन्द्रित छ ।”

चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोलालगायतका कलाकारले अभिनय गर्नुभएको छ । यसै चलचित्रबाट गायक प्रकाश सपूतले अभिनयको सुरुआत गर्नुभएको छ ।

चलचित्रमा रमेश बिजीले कथा लेखन, मानकृष्ण महर्जनले छायाङ्कन, अष्ट महर्जनले द्वन्द्व निर्देशन, दीर्घ खड्काले सम्पादन, रामजी लामिछाने र गोविन्द राईले नृत्य निर्देशन गर्नुभएको छ ।

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत

जाजरकोट, २ असोज : भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसङ्ख्यमा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार कर्णालीको तीन लाख ६६ हजार ३७ परिवारमध्ये ३५ दशमलव ६ प्रतिशत परिवारलाई बाहिर धारा जडान गरी घर परिसरभित्र पानी उपलब्ध हुँदै आएको छ । त्यस्तै ४४ दशमलव ४ जनसङ्ख्यालाई पाइपबाट घर परिसर बाहिर धाराको पानी उपलब्ध छ । चार प्रतिशत परिवारले ट्युबवेलको पानी पिउने गरेको समेत तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै २ दशमलव १ प्रतिशत नागरिकले टाँकिएको इनारबाट, शून्य १ प्रतिशतले जारको पानी, खुला इनार र कुवाको पानी प्रयोग गर्ने घरधुरी सङ्ख्या २ दशमलव ५ प्रतिशत र २ दशमलव १ प्रतिशत जनसङ्ख्याले खोलाको पानी प्रयोग गरिरहेको योजना महाशाखा सिडिइ गोपाल शर्माले जानकारी दिनुभयो । सन् २०१९ को तथ्याङ्कअनुसार कर्णालीमा ३ दशमलव ५ प्रतिशत जनसङ्ख्यलाई सुरक्षित खानेपानीको पहुँच पुगेको उल्लेख छ ।

सन्२०२१ को तथ्याङ्कअनुसार तीन लाख ६६ हजार ३७ घरधुरी रहेको कर्णालीमा धारा, पाइपमार्फत परिसरभित्र पानी पिउने घरधुरीको सङ्ख्या एक लाख ३० हजार चार सय ६५ परिवार रहेको छ । धारा, पाइपमार्फत परिसर बाहिर एक लाख ६२ हजार ६ सय १९ जनालाई पानी उपलब्ध हुँदै आएको छ । एक हजार ६ सय ३५ घरधुरीले ट्युबवेलमार्फत पानी उपभोग गरिरहेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

राम्रोसँग ढाकिएको कुवाबाट पानी पिउने परिवारको सङ्ख्यामा सात हजार पाँच सय ७३ रहेको छ । नौ हजार दुई सय १० परिवारले खुला रूपमा रहेको राम्रो कुवाको पानी पिउने गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै ४८ हजार ६ सय ९९ जनाले थोपा पानी प्रयोग गरिरहेको उल्लेख गरिएको छ । चार हजार दुई सय ७६ घरधुरीले नदी र खोलाको पानी पिउने गरेको उल्लेख छ । जार र बोतलमा पानी पिउनेको सङ्ख्या चार सय ८० घरधुरी रहेको छ । त्यस्तै अन्यमा एक हजार ८० घरधुरी रहेको छ ।

डोल्पामा नौ हजार तीन सय ८० घरधुरीमा तीन हजार एक सय १७ घरधुरीले घरभित्र धारा बनाएर पानी खाइरहेको पाइएको छ भने चार हजार दुई सय ५२ घरधुरीले घरबाहिर परिसरमा धारा बनाएर पानी पिउने गरेको तथ्याङ्कमा उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी १८ घर, राम्रो रहेको खुला कुवाको पानी एक सय ९२ घरधुरी, एक हजार चार सय १३ घरधुरीलाई थोपा पानी, तीन सय ६३ घरमा खोलाको पानी र अन्यबाट ११ घरधुरीले पानी डोल्पामा खाइरहेको मन्त्रालयले जनाएको छ ।

बाह्र हजार चार सय ३० घरधुरी रहेको मुगुमा दुई हजार एक सय चार घरधुरीले घरभित्र पानी पिउने गरेका छन् भने घर बाहिरको धारामा पाँच हजार ६ सय ७५ घरले पानी प्राप्त गर्दै आएको उल्लेख छ । राम्रोसँग ढाकिएको कुवाको पानी तीन परिवारका र खुला कुवाको पानी ४३ घरले, थोपा पानी चार हजार दुई सय ४३ घरधुरीले, तीन सय ५० घरले खोलाको पानी, जार बोतलको एक, अन्य ११ परिवारले पानी प्रयोग गरिरहेको पाइएको छ ।

हुम्लामा ११ हजार दुई सय चार घरधुरीमा दुई हजार दुई सय २३ घरधुरीले घरभित्र पाइपमार्फत पानी प्रयोग गर्दछन् भने सात हजार एक सय ५७ घरले खुला स्थानको पानी प्रयोग गरिरहेका छन् । त्यस्तै दुई घरले ट्युबवेल, ढाकिएको कुवाको पानी दुई घर, राम्रोसँग ढाकिएको कुवाको पानी तीन, खुला कुवाको पानी २०, थापाको पानी एक हजार पाँच सय ५५, नदी र खोलाको पानी ८५ परिवार, एक सय ५९ परिवारले अन्य स्रोतबाट पानी पिउँछन् ।

जुम्लामा २४ हजार चार सय २२ घरधुरीमा घरभित्र पानी प्रयोग गर्नेको सङ्ख्या नौ हजार आठ सय ८६ रहेको छ । १० हजार तीन सय ३९ घरले परिसर बाहिरको धाराको पानी पिउने गरेको पाइएको छ । ढाकिएको कुवाको पानी १५ परिवार र खुला कुवाको पानी ४४ घरले पिउने गरेका छन् । थोपाको पानी तीन हजार आठ सय ७४ घरधुरीले प्रयोग गर्दै आएका छन् । नदी खोलाको दुई सय १४ घरले पानी पिउँछन् । अन्य ६० परिवारले विभिन्न माध्यमबाट पानी पिउने गरेको जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विकले बताउनुभयो ।

कालीकोटमा २६ हजार सात सय २० घरधुरीमध्ये ६ हजार दुई सय ९३ घरधुरीले घरभित्र नै पानी पिउने गरेको छन् भने परिसर बाहिरका १३ हजार पाँच सय ९५ घरधुरीले पानी प्रयोग गर्दछन् । ट्युबवेलको पानी एक घरले, ४२ घरधुरीले ढाकिएको कुवाको पानी, खुला कुवाको पानी दुई सय ३७ घर, थोपाको पानी ६ हजार तीन सय ६० घरधुरी, दुई सय २५ घरले नदी खोलाको पानी, अन्य १६ र जारको पानी एक घरले पिउने गरेका पाइएको छ ।

त्यसैगरी ५४ हजार पाँच सय ९४ घर भएको दैलेखमा १८ हजार ६ सय ७९ धुरीले घरभित्रको पानी प्रयोग गरिरहेका छन् भने घरबाहिर परिसरमा २४ हजार आठ सय तीन घरधुरीले पानी प्रयोग गर्दछन् । पाँच सय ३१ घरधुरीले ढाकिएको कुवाको पानी र खुल्ला कुवाको पानी एक हजार दुई सय ५४ घरघुरीले पानी पिउँछन् । आठ हजार नौ सय ३१ घरधुरीले थोपाको पानी प्रयोग गरिरहेका छन् । नदी खोलाको पानी तीन सय घरधुरीले, अन्य माध्यमबाट ७५ र जार बोतलको २१ घरधुरी रहेका छन् ।

जाजरकोटमा ३७ हजार चार सय ५३ घरधुरीमध्ये १३ हजार एक सय ५४ घरधुरीले घरभित्र नै पानी प्रयोग गरिरहेका छन् भने घर परिसर बाहिर १८ हजार तीन सय १२ घर, बन्द कुवाको पानी ६४, खुल्ला कुवाको पानी तीन सय ८२, थोपा पानी पाँच हजार ४४, तीन सय ५३ परिवारले खोलाको, २१ परिवारले जार, एक सय २३ परिवारले विभिन्न स्रोतबाट पानी प्रयोग गरिरहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताउनुभयो ।

त्यसैगरी ३७ हजार दुई सय ९० घरधुरी रहेको रुकुम पश्चिममा १५ हजार एक सय ५७ घरघुरीले घरभित्र नै पानी प्रयोग गरिरहेकामा घरबाहिर परिसरमा १८ हजार नौ सय ८६ परिवार रहेका छन् । १९ ढाकिएको कुवामा र दुई सय ९९ परिवारले खुल्ला कुवाको पानी प्रयोग गरिरहेको पाइएको छ । त्यस्तै दुई हजार ६ सय आठ परिवारले थोपाको पानी र एक सय ९५ परिवारले खोलाको पानी, जारको पानी आठ परिवार र अन्य १८ परिवारले विभिन्न स्रोतबाट पानी पिउने गरेका छन् ।

त्यस्तै ५४ हजार ६ सय ७२ घरधुरी रहेको सल्यानमा घरभित्र पानी पिउनेको सङ्ख्या २० हजार २८ रहेकामा घरबाहिर परिसरबाट पानी ल्याउने परिवारको सङ्ख्या २६ हजार ५० रहेको छ । त्यस्तै ६ सय ९८ परिवारले ढाकिएको कुवाको पानी, खुल्ला कुवाको पानी एक हजार ६ सय ९७ परिवार, थोपा पानी पाँच हजार तीन सय ८८ परिवार रहेको छ । सात सय २३ परिवारले खोलाको, ६ परिवारले जार र अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या ८२ रहेको छ ।

प्रदेश राजधानी रहेको सुर्खेतमा ९७ हजार आठ सय २२ घरधुरी रहेकामा घरभित्र पानी पिउनेको सङ्ख्या ३९ हजार सात सय ७० रहेकामा घरबाहिर परिसरमा पानी प्रयोग गर्नेको सङ्ख्या ३३ हजार सात सय ६० रहेको छ । त्यस्तै एक हजार ६ सय ३२ परिवारले ट्युबवेलको पानी प्रयोग गर्दछन् । त्यस्तै ६ हजार एक सय ८० घरधुरीले ढाकिएको कुवाबाट, खुल्ला कुवाबाट पाँच हजार ८२ घर, नौ हजार दुई सय ८३ घरले थोपा पानी, नदी खोलाको पानी पिउनेको सङ्ख्या एक हजार चार सय ६८ परिवार, चार सय २२ परिवारले जार, अन्य स्रोतबाट पानी पिउनेको सङ्ख्या पाँच सय २५ रहेको छ ।

विमलेश अधिकारीको निर्देशनमा चलचित्र‘ह्याप्पी डिभोर्स’ निर्माण घोषणा

काठमाडौँ, ३ असोज : अभिनेता तथा मोडल विमलेश अधिकारीको निर्देशनमा ‘ह्याप्पी डिभोर्स’ चलचित्र बन्ने भएको छ । केही समय कलाकारिताबाट विश्राम लिएर निर्देशनको तयारी गरेर चलचित्र घोषणा गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ सुरुआत, स्वतन्त्रता र राम्रो भविष्यको कथा तयार गरेको छु । एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई देखाउन प्रयास रहनेछ । यो अहिले देखिएको एउटा समस्या पनि हो”, निर्देशक अधिकारीले निर्देशनसँगै अभिनय गर्नेसमेत जानकारी दिनुभयो ।

चलचित्रमा केकी अधिकारी र रिमा विश्वकर्मा मुख्य भूमिकामा रहनुहुनेछ । निर्देशक अधिकारीका अनुसार चलचित्रको कथा तीन पात्रसँग बढी जोडिएको छ । अभिनेत्री अधिकारीले आफ्नो थुप्रै साङ्गीतिक श्रव्यदृश्यमा मोडल बनिसक्नुभएका अभिनेता अधिकारी निर्देशक बन्न लागेको सुन्दा र सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

“हामी कलाकारले आफूलाई नयाँ तरिकाले प्रस्तुत गर्न चाहन्छौँ । विमलेश निर्देशक बनेर नयाँ यात्रा सुरू गर्नुभएको छ । उहाँको यात्रा सफल बनाउन हाम्रो कुनै सम्झौता हुने छैन”, अभिनेत्री अधिकारीले भन्नुभयो, “चलचित्रको शीर्षक केही अनौठो लागे तापनि यसले गलत सन्देश प्रवाह गर्दैन । डिभोर्स नै समाधान हो भन्ने हामीले चलचित्रमार्फत देखाउन लागेका छैनौँ तर, अहिले युवापुस्तामा देखिएको केही यथार्थलाई पर्दामा ल्याउने छौँ ।”

चलचित्रमा नवराज उप्रेतीले छायाङ्कन, पुष्करमणि राईले पटकथा लेखन, सोनी सिंजाली मगरले वेशभूषा, विशाल मोक्तानले शृङ्गार गर्नुहुनेछ ।

अधिकार बाँडफाँटमा सङ्कुचित हुनुहुँदैन : मुख्यमन्त्री चौधरी

लुम्बिनी, ३ असोज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा लेखिएका अधिकार कार्यान्वयन प्रमुख चुनौती रहेको बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयन अधिकार बाँडफाँट संविधानअनुसार हुनुपर्ने बताउनुभएको छ ।

संविधान दिवसका अवसरमा आज लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित कार्यक्रममा मुख्यमन्त्री चौधरीले अधिकार बाँडफाँटमा सङ्कुचित हुनुनहुने र संबिधानमा लेखिएको अनुसार काम गर्न पाउनुपर्ने बताउनुभयो ।

संविधानमा सबैको भावना समेटिएको भन्दै उहाँले सबै भाषा, धर्म, संस्कृतिको संरक्षण गर्ने, सबैखाले विभेदको अन्त्य गर्ने विषयमा संविधान उत्कृष्ट रहेको तर यसको कार्यान्वयन सहजरूपमा हुन नसकेको बताउनुभयो ।

संविधान कार्यान्वयन गर्न सबै निकायबीचमा समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै मुख्यमन्त्री चौधरीले संविधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेशले गरेको प्रतिबद्धता पूरा गर्न केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ छ ।

“संविधानमा भएका अधिकार चाँडै प्रदेशले प्राप्त गरोस् । संविधानमा लेखिएका कुराहरू दिनलाई कहाँ कन्जुस्याइँ भएको छ”, उहाँले भन्नुभयो, “जनतासँग नजिक हुनको लागि यो संविधानले महत्त्वपूर्ण योगदान दिएको छ ।”

सभामुख तुलाराम घर्तीमगरले राजनीतिक अस्थिरताका कारण सोचेका काम पूरा गर्न नसके पनि हाम्रो प्रदेशमा आवश्यक कानुन बनाउन सफल भएको बताउनुभयो । उहाँले प्रदेश सरकारप्रति आशा, भरोसा र विश्वास बढेको बताउँदै प्रदेश सरकार सबैको दिल, दिमागमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेले संविधान समावेशी र जनताको पक्षमा रहेको बताउनुभयो । उहाँले तीन तहको सरकारले काम गरेर संविधान कार्यान्वयनलाई पूर्णताः दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । त्यस अवसरमा संविधान दिवस मूल समारोह अघि विभिन्न किसिमका संस्कृति झल्कने झाँकीसहित प्रभातफेरी निकालिएको थियो ।

चार्ल्स तृतीय राजाको रूपमा पहिलो पटक फ्रान्स भ्रमणमा

पेरिस – फ्रान्सका राजा चाल्र्स तृतीयले बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमण सुरु गर्नुभएको छ । यूरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमनपछि राजनीतिक तनावका बावजुद क्रस च्यानल गठबन्धनका आधारभूत पक्षहरू बलियो रहेको देखाउने उद्देश्यका साथ पुनः निर्धारित भ्रमण हो ।

चाल्र्सले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयाको निधनमा राजा बनेपछि चाल्र्सको पहिलो विदेश भ्रमण हुने अनुमान गरिएको थियो । तर पेन्सन सुधारको विरोधमा फ्रान्समा व्यापक दङ्गा र हडतालका कारण यसलाई स्थगित गरिएको थियो ।

सन् १७८९ को क्रान्तिमा राजतन्त्रको अन्त्य गरी राजालाई मृत्युदण्ड दिएको देशमा राजधानी पेरिस र दक्षिणपश्चिमी शहर बोर्डोको मूल यात्रा कार्यक्रम धेरै हदसम्म परिवर्तन भएको छैन ।प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजा चाल्र्स र उहाँकी पत्नी (रानी) क्यामिलालाई पेरिसको ओर्ली विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम सम्पन्न : छ वटा सत्रमा अन्तरसंवाद तथा सम्भाषण

पाटन (ललितपुर), ३ असोज : भदौ २६ गतेका लागि तय भएको बिपी साहित्य महोत्सवको स्थगित कार्यक्रम आज सम्पन्न भएको छ । ११०औँ बिपी जयन्तीका अवसरमा यही भदौ २४, २५ र २६ गते हुने गरी तय भएको बिपी साहित्य महोत्सवको तेस्रो दिनको कार्यक्रम संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित भएको थियो ।

साहित्य महोत्सवको अन्तिम दिन आज ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’, ‘समावेशिता, सामाजिक रूपान्तरण र बिपी’, ‘समय र सवाल्र्टन’, ‘बिपीका आख्यानमा नारी’, ‘परिवारले बुझेका बिपी’ र ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ समेत गरी छ वटा विषयमा अन्तरसंवाद तथा सम्भाषण भएको छ ।

कार्यक्रमको पहिलो सत्रमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा करिब एक घण्टा लामो सम्भाषण प्रस्तुत गर्नुभएको थियो ।

सम्भाषणमा शिक्षाविद् माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजका क्षेत्रमा अतुलनीय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति थोमस जेफर्सनसँग बिपीको तुलना गर्नुभयो ।

“बिपीले परिकल्पना गरेको शिक्षा भनेको समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित थियो । शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाज अनूकुलको माध्यमका रूपमा लिने गर्छ । तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनका रूपमा लिन्छ । बिपी त्यही राजनेता हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

उहाँले शिक्षालाई राजनीतिक हस्तक्षेप र व्यापारीकरणबाट अलग गर्न सक्नुपर्ने बताउनुभयो । नेपालसहित दक्षिण एशियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै उहाँले नेपालमा सन्तानलाई शिक्षाका लागि अभिभावकले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको बताउनुभयो ।

कार्यक्रमको दोस्रो सत्रमा ‘समावेशिता, सामाजिक रूपान्तरण र बिपी’ विषयक अन्तरसंवादमा नेपाली कांग्रेसकी नेत्री तथा पूर्वउपसभामुख चित्रलेखा यादवले बिपी कोइरालाले ७० वर्षअघि परिकल्पना गरेको समावेशिता र सामाजिक रूपान्तरणको परिकल्पनालाई अहिले पनि व्यवहारमा उतार्न नसकिएको बताउनुभएको छ ।

“आज जो पहुँचवाला छैन, उसको जिल्ला वा निर्वाचन क्षेत्रमा केही हुँदैन, के यही हो त बिपीको समावेशिता ? यही हो राजनीतिक रूपान्तरण ?”, यादवले भन्नुभयो । उहाँले नेपाल आज युवा शक्ति निर्यात गर्ने देशका रूपमा चिनिएको भन्दै आफ्ना कमीकमजोरीलाई सुधार्न बिपीको महोत्सवमा सहभागीले दिएको सल्लाहलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरसंवादमा साहित्यकार तथा वामबुद्धिजीवी आहुतिले नेपाली समाज जात व्यवस्थामा आधारित भएको र नेपाली कांग्रेसले आफ्नो समाजवादी कार्यक्रम २००८ सालमा ल्याए पनि त्यसलाई अझै पनि पूर्णरूपमा कार्यान्वयन नगरेको बताउनुभयो ।

संविधानसभा सदस्यसमेत रहेका आहुतिले वर्ण व्यवस्था मान्ने कि नमान्ने भन्ने कुरा व्यक्तिलाई छोड्न पर्छ भनेर कांग्रेसको समाजवादी सिद्धान्तमा उल्लेख भएको बताउनुभयो । “कांग्रेसले उत्पीडितको व्याख्या गर्न सकेन । बिपीले राष्ट्र भनेको जनता भनेर पञ्चायतविरुद्ध आन्दोलन गर्नुभयो । तर हालको संविधान लेख्दा नेपाली समाजअनुरूप केही लेखियो ती सबै राज्यका निर्देशक सिद्धान्तमा समेटिएको छ । राज्यका निर्देशक सिद्धान्तमा भएका जनताका अधिकार कार्यान्वयन अनिवार्य छैन”, आहुतिले भन्नुभयो । डा लालबहादुर पुनले संविधानले समावेशीताको र सामाजिक रूपान्तरणको विषय उठान गरे पनि कार्यान्वयन हुन नसकेकामा जोड दिनुभयो ।

कार्यक्रम संयोजक वरिष्ठ पत्रकार हरिबहादुर थापाले नेपाली कांग्रेसले आफ्नो सङ्गठनको प्रारम्भमा २००९ सालमा धनमानसिंह परियारलाई पार्टी महामन्त्री, रामनारायण मिश्र, पर्शुराम चौधरी, प्रेमराज आङ्दम्बे, सूर्यनाथ दास यादव, जमानसिंह राइलाई आफ्नो मन्त्रिपरिषद्मा राखेर समावेशितालाई व्यवहारमा देखाएको बताउनुभयो ।

‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ विषय अन्तरसंवादमा भाग लिनुहुँदै नेपाली कांग्रेसका नेता तथा वर्तमान संविधानको मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान माओवादी पार्टीबाट प्रभावित भएर निर्माण नभएको दाबी गर्दै कांग्रेसबाटै माओवादी प्रभावित बनेको बताउनुभयो ।

“संविधान बनेपछि यसको कार्यान्वयनमा हामीले जोड दिन सकेनौँ, संविधान जारी भएपछि कार्यान्वयन गर्ने बेलामा २०७२ सालपछि कम्युनिष्टको सरकार बन्यो, केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले संविधान कार्यान्वयन गर्नभन्दा राज्यसत्ता कब्जा गर्ने नियत राखेको देखियो”, सिटौलाले भन्नुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि सङ्घीय संसद् र प्रदेशसभाका सांसदहरूको क्रियाशीलताको खाँचो औँल्याउँदै संविधान जारी भएपछिका आठ वर्षको मूल्याङ्कन गर्दा राज्य सञ्चालकको प्राथमिकता संविधान कार्यान्वयन गर्नेतर्फ नहुँदा समस्या आएको बताउनुभयो ।

पूर्वसभामुख दमननाथ ढुङ्गानाले वर्तमान संविधानमा मौलिक हक नै ३१ वटा राखिएको भन्दै यति धेरै मौलिक हक राखेर कार्यान्वयन गर्न नसक्नु वर्तमान सत्तारूढ दलकै कमजोरी भएको बताउनुभयो ।

“यो संविधान माओवादीबाट ‘डोमिनेटेड’ छ । नत्र उसलाई बारम्बार सत्ताको नेतृत्व गर्न किन दिनुप¥र्यो, यो संविधान ‘फङ्कसनेवल’ छैन । यसले मुलुकलाई निकास दिँदैन । बिपीले स्टालिनको पालाको रुसको संविधानलाई उत्तम भन्नुहुन्थ्यो”, ढुङ्गानाले भन्नुभयो ।

संविधानसभा सदस्य तथा पूर्वमन्त्री नीलाम्बर आचार्यले संविधान जारी भएको तीन वर्षभित्रमा बन्नुपर्ने कानूनहरू निर्माण नहुनु दुःखद् भएको बताउनुभयो । “बिपीले भने जस्तै प्रजातन्त्र बलियो बनाउन आर्थिक समुन्नति चाहिन्छ । तर अहिले युवा पलायन वर्तमान राजनीतिक नेतृत्वप्रतिको आक्रोशको सङ्केत हो । जनताको मागलाई सम्बोधन गर्न विमुख भएर दलसत्ता केन्द्रित हुँदा समस्या आएको छ”, आचार्यले भन्नुभयो ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरू संविधानसभामा चुप लागेर नबसेको भन्दै माओवादीले नमानेको बहुलवादलाई मान्न बाध्य बनाएको र अनेकौँ एजेण्डामा अडान लिएको प्रष्ट पार्नुभयो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सञ्चालन गर्नुभएको अन्तरसंवादमा सहभागीले सोधेका विभिन्न प्रश्नको जवाफ सिटौला, ढुङ्गाना र आचार्यले दिनुभएको थियो ।

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको अनुमान

काठमाडौँ, ३ असोज : एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो ।

त्यस्तै, नेपालमा सन् २०२३ मा मुद्रास्फीति सात दशमलव सात प्रतिशत रहने अनुमान एडिबीको छ । सन् २०२४ मा भने त्यो घटेर छ दशमलव दुई प्रतिशत कायम हुने प्रक्षेपण गरिएको छ । नेपालले वस्तु आयात गर्ने सबैभन्दा ठूलो मुलुक भारतमा सन् २०२४ मा मूल्यवृद्धि घट्ने अनुमान गरिएका कारण नेपालमा पनि त्यसको सकारात्मक प्रभाव देखिने अनुमान एडिबीको छ ।

अर्थतन्त्र सुधारोन्मुख देखिए पनि चुनौती भने कायमै रहेको जनाइएको छ । आर्थिक वृद्धिदर बढिरहेको र मूल्यवृद्धि सन्तुलनमा रहेको देखिए पनि नेपालमा जोखिम भने अझै बाँकी रहेको एडिबीका प्रमुख अर्थशास्त्री जान हनसेनले उल्लेख गर्नुभयो ।

“मूल्य र बाह्य क्षेत्रमा केही स्थायित्व देखिए पनि वित्तीय चुनौती कायमै छन् । सन् २०२४ मा नेपालले आफ्नो कूल गार्हस्थ्य उत्पादनको दुई दशमलव चार प्रतिशत बराबर वित्त घाटा व्यहोर्ने अनुमान गरिएको छ । यदि नेपालले लक्ष्यअनुसार राजस्व उठाउन सकेन भने यो अझ बढ्नसक्नेछ”, उहाँले भन्नुभयो ।

स्थिर मूल्यवृद्धि र पर्याप्त वैदेशिक मुद्रा सञ्चितिका कारण अहिले मुख्यगरी बाह्य क्षेत्र सन्तुलन र समग्र अर्थतन्त्रमा पनि सुधारका सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत सात प्रतिशतको नीतिगत दरलाई घटाएर साढे छ प्रतिशत बनाएको थियो । यसले ब्याजदर घटाउन सहयोग गर्ने र आर्थिक गतिविधिलाई चलायमान बनाउने देखिएको एडिबीले जनाएको छ ।

घरजग्गा, थोक तथा खुद्रा व्यापार र सेवा क्षेत्रमा विस्तार हुनसके अर्थतन्त्र थप सुदृढ हुँदै जाने ठानिएको छ । यस वर्ष समयमा पानी पर्न नसकेका कारण पूर्वी तराईका जिल्लामा धान रोपाइँ ढिलो भएको थियो । यसले कृषि उत्पादन घट्न सक्नेतर्फ एडिबीले सङ्केत गरेको छ । त्यस्तै, पशु चौपायामा देखिएको लम्पी स्किन रोगका कारण पनि अर्थतन्त्रमा केही नकारात्मक प्रभाव देखिने पनि प्रतिवेदनमा उल्लेख छ ।

अहिले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र जोखिम घट्दै गएको एडिबीको भनाइ छ । आयातमा केही कडाइ गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिमा केही व्यवस्था गरेपछि विदेशी मुद्रा सञ्चिति बढेर बाह्य क्षेत्र सन्तुलनमा आएको थियो । स्थिर विप्रेषण आप्रवाह र चर्को आयातका बीच सरकारको चालु खाता घाटा सन् २०२४ मा जिडिपीको एक दशमलव आठ प्रतिशत बराबर पुग्ने अनुमान एडिबीको छ ।

एशिया प्रशान्त क्षेत्रको आर्थिक वृद्धिदर सन् २०२३ मा चार दशमलव सात प्रतिशत र सन् २०२४ मा चार दशमलव आठ प्रतिशत रहने अनुमान एडिबीको छ । त्यस्तै यो क्षेत्रको मुद्रास्फीति सन् २०२२ मा चार दशमलव चार प्रतिशत रहेकोमा सन् २०२३ मा तीन दशमलव छ प्रतिशत र सन् २०२४ मा तीन दशमलव पाँच प्रतिशत अनुमान गरिएको छ ।

आन्तरिक माग बढ्दै गएको, पर्यटन क्षेत्र लयमा फर्किन थालेकोलगायतका कारण एसिया र प्रशान्त क्षेत्रमा अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको एडिबीले जनाएको छ । यद्यपि उच्च ब्याजदर र खाद्य सुरक्षाको चुनौती भने कायमै रहेको प्रतिवेदनमा उल्लेख छ ।

शासकीय कमजोरीलाई राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उहाँले लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “कतै हाम्रो कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? मलाई लाग्छ यसो हुनुमा निश्चय नै अनेक कारण छन् । तर हाम्रा कमजोरी पनि त्यसका कारण हुन् । अतःत्यसलाई हाम्रो राजनीतिक निष्ठाले जित्नुपर्छ ।”

राष्ट्रपति पौडेलले गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तन मात्र होइन, यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो, यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिकरुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ हामीले प्राप्त गरेका छौँ, तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छ जस्तो मलाई लाग्छ ।” राष्ट्रपति पौडेलले हामी सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेको र वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको हो, अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि नीति सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्र्तय हो ।”

राष्ट्रपति पौडेलले तर यहाँ व्यवस्था त परिवर्तन भयो हाम्रो देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “प्रशासनिकरूपमा राज्यको पुनःसंरचना गर्‍यौँ, तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको छ, तर राज्यको चरित्रको भने पुनःसंरचना हुन अझै बाँकी छ ।”

उहाँले सुखद भविष्य प्राप्त गर्न हामीले राजनीतिक उपलब्धिलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प छैन भन्नुभयो । “हिमाल पहाड तराईको अनुपम भौगोलिक संरचनाको हाम्रो बहुजाति, बहुभाषी, बहुसंस्कृति र विभिन्न सम्प्रदायलाई संविधानले समान संरक्षण प्रदान गरेको छ । यस्तो अवस्थामा नेपालीबीच रहेको आपसी सद्भाव र भ्रातृत्व र सहअस्तित्वमा आँच आउने काम कोही कसैबाट हुने छैन भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

संविधानको कार्यान्वनसँगै नेपाली जनताको सुखद भविष्यको सुरु भएको बताउँदै उहाँले भन्नुभयो, “लोकतान्त्रिक निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट भई अहिले संविधानतः तीनै तहका सरकारहरू बनेका छन् । यी निश्चय नै हाम्रा लागि धेरै ठूला र ऐतिहासिक उपलब्धि हुन् । यिनै उपलब्धिका जगमा हाम्रो भविष्यको सुखद यात्रा प्रारम्भ भएको छ भन्ने मैले विश्वास लिएको छु ।”

नेपाली मौलिकतासहितको एक विशिष्ट र विश्वको उन्नत राष्ट्र बनाउने प्रचुर सम्भावना रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “यो निकै महत्त्वपूर्ण अवसर हो तर हामीले आफ्नो आचरण, चरित्रमा व्यापक सुधार गरेर लोकतान्त्रिक संस्कारको जग बसालेर कुशलतापूर्वक मेहनत गरेमा मात्र त्यो सम्भव छ ।”

अहिले जनआन्दोलनका उपलब्धिमाथि फेरि कहीँकतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थालाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि हामी चनाखो हुनैपर्छ । यस्तो अवस्था किन र कसरी आउन सक्छ ? यो प्रश्नमा हामी सबै जिम्मेवार हुनु आवश्यक ठान्दछु ।”

हाम्रो संस्कृति र प्रकृतिले हामीलाई देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको उहाँको भनाइ थियो । “सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनका माध्यमबाट हाम्रो जलस्रोत र ऊर्जा शक्तिको मात्र उचित व्यवस्थापन गर्नसके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना अगाडि देखापरेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले सुशासन नै हाम्रो अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सवलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न राष्ट्रपति पौडेलले सबैसँग आग्रह गर्नुभयो ।

जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपले विश्वलाई अत्यन्तै बढी प्रभावित पारिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको प्रभावन्यूनीकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्त्वपूर्ण आवश्यकता भएको औंल्याउनुभयो ।

राष्ट्रपति पौडेलले भन्नुभयो, “समयले हामीलाई जुन दायित्व दिएको छ, त्यो दायित्व पूरा गर्न तथा राज्य व्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकताबद्ध बनौँ र यसका लागि आजै ऐतिहासिक सङ्कल्प गरौँ ।”

आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने नेपाली जनताको सात दशकभन्दा बढी लामो आन्दोलन, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको राष्ट्रपति पौडेलले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “गौरवमय क्षणमा सबैभन्दा पहिले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।”

आन्दोलनका क्रममा जेल, नेल, निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनका पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धालाई उहाँले अपार सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्न गर्नुभयो ।

साथै राष्ट्रपति पौडेलले लोकतान्त्रिक आन्दोलनका अग्रज नेताहरूलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु भन्नुभयो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेपाल (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, पूर्वप्रधानमन्त्री सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीति नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिको पनि समारोहमा सहभागिता थियो ।

द्रुत बससेवा : अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क

भक्तपुर, ३ असोज : संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौँ उपत्यकामै पहिलो पटक ‘बस ¥यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ ।

आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि भने बिहीबारबाट सञ्चालनमा आउने भएको छ । भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्मको सडक खण्डमा चल्ने द्रुत बस सेवा सञ्चालन भएपछि यात्रुले ४५ मिनेटमै सूर्यविनायकबाट रत्नपार्क पुग्न सक्ने यातायात व्यवस्था विभागको दाबी छ ।

अरु सार्वजनिक बसलाई रत्नपार्क–सूर्यविनायक पुग्न डेढघण्टा समय लाग्ने गरेकामा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने गरी तयारी गरिएको छ । भक्तपुरको लोकन्थलीदेखि जडीबुटी, कोटेश्वर, बानेश्वर हुँदै माइतीघरसम्मको दैनिक हुने जामले भक्तपुरबाट रत्नपार्क पुग्न कार्यालय समयमा कम्तीमा पनि डेढघण्टा लाग्ने गरेकामा अब ४५ मिनेटमै यात्रुलाई भक्तपुर काठमाडौँ सेवा दिन सकिने यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिनुभयो ।

उहाँले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बस सेवाको उद्घाटन गरी दुई बसले सेवाको परीक्षण गरिने र सर्वसाधारणले बिहीबारदेखि सबै बस सञ्चालन गरी सेवा दिइने जानकारी दिनुभयो ।

सूर्यविनायक र रत्नपार्कबाट ३९ सिट क्षमता भएका २५ द्रुत बस सञ्चालन हुनेछन् । यी बस यात्रु कुरेर बस्न पाउदैनन् । विभागले निर्धारण गरेका १९ बसले बस बिसौनीमा यात्रु चढाउने र झार्ने बाहेक यात्रु कुरेर बस्न भने पाउने छैनन् ।

यसका लागि विभागले सूर्यविनायकबाट सल्लाघारी, राधेराधे, थिमिचोक, चारदोबाटो, गठ्ठाघर, कौशल्टार, लोकन्थली, जडीबुटी, कोटेश्वर, तीनकुने, शान्तिनगर, नयाँबानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली र अन्तिम रत्नपार्कमा बस बिसौनी तोकिएको छ ।

सडकमा रातो रङगले पोतिएको लेनमा मात्र यी बस सञ्चालन हुन पाउनेछन् । त्यो लेनमा यस अवधिमा द्रत बस र आपतकालीन सेवाका सवारी साधनबाहेक अरु कुनै सवारी साधन चल्न पाउने छैनन् । सूर्यविनायकबाट बिहान ८ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ६ बजेसम्म सञ्चालन हुने द्रुत सेवाका बस दुवैतर्फबाट पाँच÷पाँच मिनेटको फरकमा छुट्नेछन् ।

बिपीले व्यावहारिक शिक्षामा जोड दिनुभएको थियो : डा माथेमा

काठमाडौँ, ३ असोज : त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा केदारभक्त माथेमाले नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित रहेको बताउनुभएको छ ।

कांग्रेस संस्थापक बिपीको ११०औँ स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित बिपी साहित्य सम्मेलनको कार्यक्रम आज उहाँले भन्नुभयो, “शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गर्छन । तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ । बिपी त्यही राजनेता हुनुहुन्थ्यो ।”

कार्यक्रमको प्रारम्भमा पूर्वउपकूलपति डा माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण प्रस्तुत गर्नुभएको थियो । शिक्षाविद् डा माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति,साहित्य र समाजको क्षेत्रमा अतुलनिय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गर्नुभयो ।

उहाँले शिक्षा समान कहिल्यै हुँदैन र यसमा राजनीति हुने भन्दै राजनीतिकको हस्तक्षेप र व्यापारिकरणबाट शिक्षालाई अलग गर्नसक्नुपर्नेमा जोड दिनुभयो । नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा माथेमाले नेपालका सन्तानलाई शिक्षाका लागि अभिभावकले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको उल्लेख गर्नुभयो । शिक्षाविद् डा माथेमाले भन्नुभयो, “शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो । बपीले सिर्जनशीलता र नवीन शिक्षाको एवम् सबैका लागि शिक्षा, हस्तक्षेपरहित र स्वातन्त्र शिक्षा संस्थाको कल्पना गर्नुभएको थियो ।”

हाल नेपालका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप चरम रुपमा रहेको उल्लेख गर्दै उहाँले उपकूलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र बिग्रिएको बताउनुभयो । उहाँले परीक्षा दिएर उत्तीर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औंल्याउनुभयो ।

संविधान दिवस : सङ्घीयताको अनुभूति गर्दै नागरिक

फुङ्लिङ (ताप्लेजुङ), ३ असोज : फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेम्बा शेर्पा विगत नौ वर्षअगाडि योजना सम्झांता गर्न चार दिन हिँडेर सदरमुकाम पुग्नु हुन्थ्यो । उहाँलाई योजना सम्झौता गरेर गाउँ पुग्न करिब ११ दिन समय खर्च गर्नुपथ्र्याे । अहिले शेर्पाले कुनै योजना सम्झौता गर्न तीन दिनमा काम सकेर घर पुग्नुहुन्छ ।

सङ्घीय संरचनामा गएसँगै फक्ताङलुङ गाउँपालिकाको केन्द्र शेर्पाको गाउँ नजिकै स्थापना भएपछि प्रायःजसो उहाँलाई अहिले सदरमुकाम फुङ्लिङ थाउनु परेको छैन । अहिले पनि घुन्सा गाउँदेखि वडा कार्यालय पुग्न एक दिन पूरै लाग्छ । शेर्पाले भन्नुभयो, “गाउँपालिका आएपछि केही सहज भएको छ, अगाडि योजना सम्झौता गर्न दुई साता लाग्थ्यो, अहिले तिनमा दिन हुन्छ, तर कहिले काही कर्मचारीहरुले काम गरि दिँदैनन् अलिक दिन बस्नुपर्ने हुन्छ ।”

शेर्पाका अनुसार घुन्सा गाउँमा ५० घरपरिवार, फले टारमा ४० घर, ग्याप्लामा १२ घर र थाङकेम छ घरपरिवारका लागि छुट्टै वडा बनाएमा अझ सङ्घीयताको अनुभूति हुने शेर्पाले बताउनुभयो । फक्ताङलुङ–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूका अनुसार सात वडा मिलेर फक्ताङलुङ गाउँपालिका बनेको छ । घुन्सा क्षेत्रका गाउँहरु समेटेर छुट्टै वडा बनाउनका लागि कार्यपालिकामा पहिलो कार्यकालमै प्रस्ताव आएको थियो । अहिलेसम्म त्यो प्रस्ताव विचाराधीन छ ।

मेरिङदेन गाउँपालिकाका विपना लिम्बू सदरमुकाम नआएको वर्षदिन भयो । उहाँको घर नजिकै गाउँपालिका केन्द्र स्थापना भएको छ । आर्थिक कारोबार गर्नका लागि पनि गाउँपालिकामै बैंक खुलेपछि अझ सदरमुकाम जानुपर्ने खासै काम नभएको लिम्बूले बताउनुभयो । सिदिङवा गाउँपालिका–४ की फुलमाया लिम्बूले पढाइ सकेसँगै आफ्नै गाउँ नजिकै रहेको गाउँपालिकामा रोजगारीको अवसर पाउनुभयो । आफ्नो पढाइअनुसारको गाउँमा नै रोजगारी पाउँदा निकै खुसी लागेको लिम्बूले बताउनुभयो ।

गाउँमा पालिका केन्द्र स्थापना भएसँगै अहिले पालिका नजिक बजार विस्तार हँुदै गएका छन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि प्रत्येक पालिका केन्द्रसम्म यातायातका साधन (गाडी) चल्दै आएका छन् । गाउँपालिका स्थापना भएसँगै गाउँगाउँमा विकासले गति लिन थालेको सिरिजङ्घा गाउँपालिका–६ का हर्क लिम्बूले बताउनुभयो । ताप्लेजुङमा एक नगरपालिकासहित नौ स्थानीय तह रहेका छन् । जिल्लामा अहिले ६१ वडा कार्यालय रहेका छन् । सदरमुकामदेखि सबै वडासम्म यातायात सहजै पुगेकाले पनि नागरिकहरुलाई सङ्घीयताको अनुभूति गर्न पाएको लिम्बूले बताउनुभयो ।

विगतका वर्षहरुमा दुर्गम बस्तीहरुमा उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने हुन्थ्यो । धेरैको उपचार गर्न अस्पतालसम्म बोकेर लैजानुपर्ने हुन्थ्यो । अस्पताल लैजाँदा लैजाँदै धेरैले अस्पताल नपुगी बीच बाटो ज्यान गुमाउनुपर्ने बाध्यता थियो । स्थानीय सरकार आएसँगै प्रत्येक टोलमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

स्वास्थ्य चौकीबाट अन्य अस्पतालसम्म बिरामी लैजानका लागि प्रत्येक गाउँपालिकाहरुले आफ्नै स्वामित्वमा एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् । फक्ताङलुङ गाउँपालिकाले नागरिकहरुलाई जिल्लाभित्र निःशुल्क एम्बुलेन्स सेवा दिँदै आएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । अन्य गाउँपालिकाहरुले पनि महिला, विपन्न परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएका छन् ।

स्थानीय सरकार आएसँगै गाउँ–गाउँमा सञ्चालनमा रहेका समुदायिक विद्यालयहरुको शिक्षण सिकाइको गुणस्तरमा समेत सुधार हुँदै गएको मिक्वाखोला गाउँपालिका–५ का सुखबहादुर लिम्बूले बताउनुभयो । शिक्षाको गुणस्तरमा सुधार आएसँगै गाउँका विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गएको लिम्बूले बताउनुभयो । प्रत्येक पालिकाहरुले आफ्नै शिक्षा ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको छ ।

संविधानले परिकल्पना गरेअनरुप तीन सरकार सञ्चालनमा रहेका छन् । नागरिकहरुको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । हरेक नागरिकहरुका समस्यामा स्थानीय सरकार उपस्थित रहेको हुन्छ । सञ्चारकर्मी सीताराम गरागाइँका अनुसार संविधान बनेपछि खासगरी समावेशीकरणको मुद्दामा धेरै प्रगति भएको छ । राज्यको मूलधारमा आउन नसकेका वर्ग र समुदायलाई मूलधारमा ल्याउन हाम्रो संविधानमा प्रशस्त व्यवस्था गरेको उहाँको बुझाइ छ । यसबाट शासन प्रणालीका विभिन्न अङ्गमा महिला, आदिवासी, जनजाति, दलित, मधेसीलगायत पछाडि पारिएका समुदायका व्यक्तिको प्रतिनिधित्व बढेको गुरागाइँले बताउनुभयो ।

“संविधान नेपाली जनताले आफ्ना अधिकारका लागि आजसम्म गरेका सबै सङ्घर्षहरुको निष्कर्ष र एकमुष्ट उपलब्धि हो, यसमा उल्लिखित सबै धारा र उपधाराहरु बलिदानका स्वर्णिम अक्षरहरुले लेखिएका छन्, यसले नयाँ नेपालको मार्गचित्र तयार गरेको छ”, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले भन्नुभयो, “गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, शासन सञ्चालनमा समानुपातिक सहभागिता, स्वतन्त्र परराष्ट्र नीति तथा लोककल्याणकारी राज्यको चरित्र, स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त, विधिको शासन र मौलिक हकहरुको सुनिश्चिततालाई आधार मान्दै वर्तमान राज्य चरित्रलाई समाजवाद उन्मुख व्यवस्थामा रुपान्तरण गर्ने स्पष्ट रोडम्याप यो संविधानको मूलभूत विशेषता हुन् ।”

संविधान निर्माणका हिसाबले आठ वर्ष बिते पनि व्यवस्थित र पूर्ण कार्यान्वयनका हिसाबले यो संविधान अझै पनि प्रारम्भिक अवस्थामै रहेको वनेमले बताउनुभयो । उहाँका अनुसार संविधान देशको मूल कानुन भएकाले यसले परिकल्पना गरेअनुसार अन्य कानुन बनाउने, पुराना कानुनलाई संशोधन गर्ने, विस्थापन गरि नयाँ ऐनहरु जतिसक्दो चाँडो बनाएर लागू गर्नुपर्दछ ।

“संविधानले संस्थागत गरेको सङ्घीयताको मर्मअनुसार देश सञ्चालन गर्नुपर्दछ, सङ्घ, प्रदेश र स्थानीय सरकारहरुको बीचमा असन्तुलन आउने गरी कुनै पनि कानुन निर्माण गरिनुहुन्न”, उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयनमा ठूलाठूला चुनौती देखापर्न थाल्छन्, जसको सङ्केत देखिन थालेका छन्, यो संविधानको रक्षाका लागि यसका निम्ति लड्ने सबै नागरिकहरु स्वयं लाग्नुपर्ने अवस्था आएको छ ।”

युक्रेनले खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभए व्यापार प्रतिबन्ध लगाउने

कीएभ – युरोपेली सङ्घ (ईयू) का तीन सदस्य राष्ट्रले आफ्नो खाद्यान्न निर्यात विवादमा सम्झौता गर्न सहमत नभएमा उनीहरूमाथि व्यापार प्रतिबन्ध लगाउने विचार गरिरहेको युक्रेनका प्रधानमन्त्री डेनिस इश्मिहालले मङ्गलबार बताउनुभएको छ ।

“पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले युरोपेली आयोगसँग वार्ता गरेका उपायहरूमा सहमत नभएसम्म युक्रेनले पारस्परिक व्यापार प्रतिबन्धहरू लगाउनेछ,” इश्मिहाललाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले भनेको छ ।

युक्रेनबाट खाद्यान्न आपूर्तिमा प्रतिबन्ध लगाउने छिमेकी देशहरूको घोषणालाई युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षालाई असर पार्ने निर्णयका रूपमा उहाँले वर्णन गर्नुभयो ।

“यो युरोपेली आयोगको सिफारिसको विपरीत छ र यसले युक्रेनी अर्थव्यवस्था, ईयूको सिद्धान्त र विश्वव्यापी खाद्य सुरक्षाको कानुनलाई उल्लङ्घन गर्छ ।” युक्रेनले आफ्ना छिमेकी देशहरूलाई बजार विकृति रोक्न कृषि उत्पादनका चार समूहको निर्यातका लागि प्रभावकारी नियन्त्रणका उपायहरू लागू गर्ने बताएको छ ।

युरोपेली आयोगले गत साता बुल्गेरिया, रोमानिया, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियामा युक्रेनी कृषि उत्पादनमा लगाइएको प्रतिबन्ध नबढाउने निर्णय गरेको बताएको थियो । आयोगको निर्णयको बावजुद पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले प्रतिबन्ध हटाउन अस्वीकार गरेका छन् ।

नसकिएको सङ्क्रमणकालले कमजोर हुँदै समृद्धिका सपना

काठमाडौँ, ३ असोज : नेपालको संविधान, २०७२ कार्यान्वयनको आठ वर्ष पूरा भयो । समाजवाद उन्मुख अर्थव्यवस्था संविधानले निर्दिष्ट गरेको गन्तव्य हो । तर पछिल्लो आठ वर्ष अवधिलाई अर्थसामाजिक कोणबाट हेर्दा त्यति सन्तोषजनक अवस्था देखिँदैन ।

नागरिक आकाङ्क्षा पूरा नहुँदा वितृष्णा बढ्दो छ । अवसरका लागि देश छोड्नेको सङ्ख्या पनि बढेको देखिन्छ । देशभित्रै केही गर्छु भनेर लाग्नेहरू प्रायः निराश देखिएका छन् । व्यवस्था बदलिए पनि नबदलिएको अवस्थाबारे अर्थतन्त्रका जानकारहरू भन्छन्, “राजनीतिक अस्थिरता र कहिल्यै नसकिएको सङ्क्रमणकालले नागरिकको समृद्धि सपना पूरा हुन सकेका छैनन् ।”

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा पुष्पराज कँडेल संविधान जारी भएपछि पनि राजनीतिक अस्थिरता कायमै रहेकाले आर्थिक मुद्दा ओझेलमा परेको बताउनुहुन्छ । संविधानले सबै दललाई मिलेर जानका लागि समानुपातिक प्रणालीको व्यवस्था गरेको भए पनि दलहरुबीचकै आपसी लडाइँले आर्थिक समृद्धिका एजेन्डा सधैँ किनारामा परेको उहाँको बुझाइ छ । विसं २०४७ यता यही प्रवृत्ति र नियति नेपालले भोगिरहेको छ ।

“संविधानले लिएको भावना र सिद्धान्त बढी आदर्शमा आधारित छ भन्ने लाग्न थालेको छ । संविधानका लक्ष्य तथा उद्देश्य र वास्तवमा भइरहेका काम विरोधाभासपूर्ण देखिन्छन्”, कँडेल भन्नुहुन्छ, “लोक कल्याणकारी राज्य, समाजवादउन्मुख अर्थतन्त्र, आदर्श राज्यको परिकल्पना संविधानले गरेको छ । तर कार्यान्वयनको पाटोबाट हेर्दा अस्थिरता मात्रै सिर्जना भइरहेको देखियो । सङ्क्रमणकाल कहिल्यै नसिद्धिने अवस्था भयो ।”

विकास र समृद्धिका लागि सबै व्यक्ति र दल जिम्मेवार भएर लाग्नुपर्नेमा त्यसो हुन नसकेको उहाँको बुझाइ छ । “सबै जिम्मेवार छन्, तर कोही पनि जिम्मेवार छैनन्को स्थिति अहिले छ । बिग्रिँदा कसले जिम्मा लिने भन्ने पनि भएन । व्यक्ति पनि भएनन् र दलहरु पनि भएनन्”, कँडेल भन्नुहुन्छ, “पटक–पटक परिवर्तन भइरहने सरकारबाट विकास निर्माण र आर्थिक समृद्धिलाई तीव्रता दिनेभन्दा पनि प्रतिशोध साँध्ने शैलीमा काम भयो । आफू राम्रो काम गरेर अगाडि जानेभन्दा पनि अरूलाई कमजोर बनाएर माथि जाने शैली र नियतबाट काम भइरहेको छ ।”

राजनीतिक अस्थिरताका कारण पछिल्लो डेढ दशक खेर गएको र नेपालले समृद्धिका लागि गुमाएको यो अवधिलाई आउँदो पुस्ताले माफ गर्न नसक्ने उहाँको भनाइ छ । शासन व्यवस्थाप्रति नागरिक तहबाट अहिले देखिएको वितृष्णाको मुख्य कारण पनि यही रहेको कँडेल बताउनुहुन्छ ।

“अर्थतन्त्र कमजोर भएपछि सामाजिक मनोविज्ञान पनि राम्रो हुँदैन । छिटो–छिटो परिवर्तन चाहने हाम्रो समाज यही कारणले उद्वेलित छ । राम्रो काम गरेर अघि बढ्नेभन्दा पनि अरू नै हिसाबले कमाउने महत्वाकाङ्क्षा राखिरहेको देखिन्छ”, उहाँले भन्नुभयो, “हामीमा अन्तर्राष्ट्रिय क्षेत्रसँग तुलना गर्ने प्रवृत्ति छ । मानिसहरू आफ्नो कर्तव्य पालना गर्नेभन्दा पनि अरूका कर्तव्यका बारेमा बढी सचेत भएको देख्छु ।”

त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा सञ्जय आचार्य राज्य व्यवस्था परिवर्तन हुँदा जनजीविकाका मुद्दा परिवर्तन हुन्छन् भन्ने नागरिक आकाङ्क्षा पूरा हुन नसकेको बताउनुहुन्छ । “स्वास्थ्य, शिक्षा, रोजगारीका कुरामा सर्वसाधारणले महसुस गर्ने ढङ्गको परिवर्तन भइदिएको भए सबैलाई मुलुक सही बाटोमा गइरहेको छ भन्ने हुन्थ्यो”, आचार्य भन्नुहुन्छ, “अहिले लाखौ नेपाली श्रमको अवसर नपाएर विदेश गइरहेका छन् । मुलुकभित्र सम्भावना, अवसर छैनन् भन्ने खालको सन्देश गएको छ । यो डरलाग्दो छ ।”

नयाँ संविधान र शासन व्यवस्था आए पनि रोजगारी र जनजीविकाका सवालमा तात्विक परिवर्तन भएन । गत वर्षमात्र वैदेशिक रोजगारीका लागि ६ लाख र अध्ययनका लागि दुई लाख गरी आठ लाख व्यक्ति विदेसिएको उहाँको भनाइ छ । सँगसँगै पछिल्लो समय राष्ट्र, राष्ट्रियता र परराष्ट्र नीति सम्बन्धमा पनि कमजोरी देखिन थालेको आचार्य बताउनुहुन्छ ।

विद्यमान संविधानको एउटा महत्वपूर्ण पाटो सङ्घीयता हो । तर सङ्घीयताको वित्तीय पक्षप्रति पनि जनताका धेरै गुनासा छन् । आर्थिक पक्षबाट सङ्घीयताको विश्लेषण गर्दा सरकारी खर्च बढाउने गरी संरचना थपिएको र करको भार थपिएको प्राध्यापक आचार्य बताउनुहुन्छ । “पहिले स्थानीय, जिल्ला, अञ्चल, क्षेत्रीय र केन्द्र गरी पाँच संरचना रहेको थियो । त्यसलाई स्थानीय, प्रदेश र केन्द्र तीनवटा मात्रै हुँदा प्रशासन संरचना छरितो हुन्छ, कम खर्चिलो हुन्छ, नागरिकले सहज रुपमा सेवा पाउनेछन् भन्ने भएको थियो”, उहाँ भन्नुहुन्छ, “अञ्चलस्तरको र जिल्लास्तरको प्रशासन अहिले पनि कायमै देखिन्छ । हट्न पर्ने संरचना नहट्ने र अर्को संरचना थपिँदै गएपछि सङ्घीयता खर्चिलो भयो ।”

तीनवटै तहका सरकारले विभिन्न वस्तु तथा सेवा अनावश्यक करको भार थपिदिँदा सङ्घीय संरचना थप जटिल बन्दै गएको छ । राज्यबाट पाउनुपर्ने सुविधा नपाउने, तर थप कर तिर्नुपर्दाको बेखुसी नागरिक तहमा छ । समस्या यतिमै सकिन्नन् । हाम्रो संरचनामा वर्षौंदेखि जकडिएका र नयाँ थपिएका दर्जनौँ समस्या मुलुकले भोगिरहेको छ । सरकारको खर्च प्रणालीमा सुधार हुन नसक्नु, नियमित र चालु प्रकृतिको खर्च बढ्दै जानु तर पूँजीगत खर्च बढ्न नसक्नु, उत्पादन र निर्यात खस्किँदै जानु, विश्व बजारमा नेपाली वस्तु तथा सेवाको उपस्थिति घट्नु, मुद्राको क्रयशक्ति कम हुँदै जानुजस्ता पहिल्यैदेखिका समस्या सुल्झनुको साटो थप बल्झिरहेका छन् ।

सरकारले पूँजीगत खर्च कटौती गरेर नियमित खर्चमा राख्ने र विकास बजेट खर्च गर्न नसक्ने अवस्था छ । यो समस्या केन्द्र सरकारको मात्र नभएर प्रदेश र स्थानीय तहसम्मै छ । वर्षान्तमा मात्रै वार्षिक बजेटको एक तिहाइ बजेट खर्च हुन्छ । पूँजी सिर्जना गर्न नसक्ने नियमित खर्च बढेको छ भने उच्च पदस्थका सेवासुविधा र स्वास्थ्य उपचारमा ठूलो रकम खर्च भइरहेको छ ।

संविधानमा व्यवस्था भएबमोजिम राजस्व बाँडफाँट र वित्त हस्तान्तरण प्रभावकारी हुन सकेको छैन । प्रदेश र स्थानीय तहमा आयोजना बैंक र मध्यमकालीन खर्च संरचना सूचना प्रणाली लागू हुन सकेका छैनन् । आयोजना विकास तथा छनौट प्रक्रिया व्यवस्थित र पारदर्शी नभएको जनगुनासो छ । पहुँचका आधारमा बजेट छुट्याइएको भन्दै सत्तारूढ दलकै सांसदहरूले पनि संसद्मा प्रश्न उठाउनु त्यसको उदाहरण हो । सार्वजनिक वित्त व्यवथापनबारे प्रदेश र स्थानीय तहमा अझै क्षमता विकास हुन सकेको छैन । प्रदेश र स्थानीय तहमा सञ्चालित योजनाको अनुगमनलाई प्रभावकारी बनाउन सकिएको छैन । तीन तहका सरकारबीच समन्वय र सहजीकरणका लागि बनाइएका अन्तर प्रदेश परिषद्, प्रदेश समन्वय परिषद्, अन्तर सरकारी वित्त परिषद् लगायतका संयन्त्रहरू सक्रिय र प्रभावकारी हुन सकेका छैनन् । प्राकृतिक स्रोतको उपयोगमा तीन तहका सरकारबीच अधिकारको लडाइँ देखिएको छ । ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन र बिक्री वितरणलगायत आय ठेक्कासम्बन्धी प्रक्रिया र कार्यविधि स्पष्ट गर्ने गरी कानुन बन्न नसकेको गुनासो यथावत छ ।

यद्यपि, चालु आर्थिक वर्ष २०८०/८१ मा भएको बजेटमार्फत सरकारले वित्तीय सङ्घीयतालाई सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । बजेटको बुँदा चार सय २८ मा वित्तीय सङ्घीयता कार्यान्वयनको हालसम्मको अनुभवका आधारमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा आवश्यक परिमार्जन गरिने उल्लेख छ ।

सङ्कुचित सूचक

राजनीतिक अस्थिरतासँगै पछिल्लो एक दशक नेपालले भूकम्प, बाढी पहिरोजस्ता ठूला प्राकृतिक विपद्को पनि सामना गर्नुपर्‍यो । कोभिड–१९ महामारी, रुस–युक्रेन तनावलगायत कारणले विश्व अर्थतन्त्रमा देखिएका असरका बाछिटा नेपालमा समेत गहिरोसँग परे । आर्थिक सूचकहरूका सङ्कुचन सिलसिला अहिले पनि चलिरहेको छ । मुलुकको अर्थतन्त्रमा सुधारका गुन्जायस अझै स्पष्ट हुन सकेका छैनन् ।

आर्थिक वर्ष २०७०/७१ मा प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन अमेरिकी डलर आठ सय २४ थियो । गत आर्थिक वर्ष २०७९/८० मा यो अमेरिकी डलर एक हजार तीन सय ९९ पुगेको छ ।

त्यस्तै, आठ वर्षअघि प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर आठ सय ३६ बराबर रहेकामा गत आर्थिक वर्षमा अमेरिकी डलर एक हजार चार सय १० बराबर छ । जबकि, १५औँ पञ्चवर्षीय आवधिक योजनाले चालु आर्थिक वर्षको अन्त्यसम्मममा प्रतिव्यक्ति कूल राष्ट्रिय आय अमेरिकी डलर एक हजार पाँच सय ९५ पुर्‍याउने लक्ष्य राखेको छ । जुन लक्ष्य पूरा हुने देखिँदैन ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्लो दशकमा कूल गार्हस्थ्य उत्पादनको तुलनामा कूल गार्हस्थ्य बचतको अनुपात औसत आठ दशमलव सात प्रतिशत बराबर मात्रै छ । व्याजदरमा भएको वृद्धिका कारण कर्जा प्रवाहमा आएको कमी र उच्च मूल्यवृद्धिले आर्थिक गतिविधि सुस्ताएका छन् । पन्ध्रौँ आवधिक योजनाको लक्ष्यलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा सरकार दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गरिसक्नुपर्ने हुन्छ । तर पछिल्ला वर्षमा आर्थिक वृद्धिदर सन्तोषजनक देखिएको छैन ।

आर्थिक वर्ष २०७०/७१ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर आधारभूत मूल्यमा पाँच दशमलव ७४ प्रतिशत बराबर थियो । भूकम्प गएको वर्ष र त्योभन्दा पछिल्लो वर्ष लक्षित वृद्धिदर हासिल हुन सकेन । तर आर्थिक वर्ष २०७३/७४ मा आठ दशमलव पाँच सय ८९ प्रतिशत वृद्धिदर हासिल गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ जिडिपीमा दुई दशमलव ४२ प्रतिशतको नकारात्मक वृद्धिदर देखियो । अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः चार दशमलव ४९ र पाँच दशमलव २५ प्रतिशत बराबर देखिएको आर्थिक वृद्धिदर गत आर्थिक वर्षमा भने दुई प्रतिशत हाराहारीमा खुम्चिने देखिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षमा नेपालको सार्वजनिक ऋण दोब्बर भएको छ भने पछिल्लो एक दशकमा चार गुणाले बढेको छ । आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण रु पाँच खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो । गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रु २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख बराबर पुगेको छ । जसमध्ये रु ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख बराबर आन्तरिक र रु १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख बराबर बाह्य ऋण हो । अहिले जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४५ प्रतिशत हाराहारी पुगिसकेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा नेपालको वार्षिक राजस्व सङ्कलन रु चार खर्ब ८१ अर्ब ९६ करोड बराबर थियो । गत आर्थिक वर्ष सरकारले कूल रु नौ खर्ब ५८ अर्ब हाराहारी राजस्व उठाएको देखिन्छ । त्यस्तै, बजेट खर्चको प्रवृत्ति हेर्दा चालु शीर्षकको खर्च अत्यधिक बढिरहेको छ । आर्थिक वर्ष २०७१/७२ मा सरकारको कूल बजेट रु छ खर्ब १८ अर्बको हुँदा वार्षिक खर्च रु पाँच खर्ब ३१ अर्ब बराबर थियो । गत आर्थिक वर्षका लागि कूल रु १७ खर्ब ९३ अर्बको बजेट रहेकामा १४ खर्ब २९ अर्ब बराबर खर्च भएको छ । गत वर्ष कूल आयभन्दा बढी भएको व्यय अर्थात् बजेट घाटा रु तीन खर्ब ९७ अर्ब ८७ करोड १९ लाख बराबर देखिएको छ ।

नेपाली मुद्राको क्रयशक्ति घट्दो क्रममा छ । आर्थिक वर्ष २०७०/७१ मा विनिमयदर एक अमेरिकी डलर बराबर ९८ रुपैयाँ २१ पैसा बराबर थियो । तर अहिले नेपाली मुद्रा कमजोर र अमेरिकी डलरको भाउ अकासिएर नयाँ रेकर्ड बनेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदरअनुसार एक अमेरिकी डलर बराबर एक सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ ।

आर्थिक आधारको सबलीकरणका लागि प्राथमिक क्षेत्रको सबलीकरण, द्वितीय क्षेत्रको विकास तथा विस्तार र सेवा क्षेत्रको स्थायित्व अपरिहार्य हो । तर कृषियोग्य जमिन र उत्पादन घट्दो छ । अधिकांश उद्योगहरू बन्द हुने अवस्थामा पुगेको निजी क्षेत्रे बताउँदै आएको छ । कोभिड–१९ महामारीपछि पर्यटन र होटललगायत सेवा क्षेत्र लयमा फर्कन सकेको छैन ।

सुधारका अवसर

सबै राजनीतिक दलले आर्थिक एजेन्डालाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न सके अर्थतन्त्रमा सुधारका सङ्केत देखिँदै जाने आशा अझै बाँकी छ । अहिले विप्रेषण आप्रवाह राम्रो रहेकाले त्यसले राजस्वमा पर्याप्तता दिने र अलिकति मात्रै विश्वासको वातावरण बनाउन सके अर्थतन्त्र सुध्रिने योजना आयोगका पूर्वउपाध्यक्ष कँडेल बताउनुुहुन्छ । पूँजीगत खर्च बढाउने र अहिले निर्माणाधीन रहेका पूर्वाधार आयोजना तीव्र रुपमा अघि बढाउन सकियो भने त्यसले अर्थतन्त्रलाई गति दिने उहाँको बुझाइ छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दोस्रो चरणको आर्थिक सुधारको प्रयास थालिएको बताउँदै आएको छ । मौद्रिक नीति र वित्तीय नीतिको सामञ्जस्यता मिलाएर आर्थिक समृद्धि हासिल गर्नेगरी बजेटमा विभिन्न कार्यक्रम राखिएका छन् । त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेमा अपेक्षित नतिजा आउन सक्छ । आन्तरिक पूँजीले विकास र समृद्धिको माग पूरा गर्न नसकेपछि बाह्य लगानी खोज्नुपर्ने हुन्छ । बाह्य लगानी आकर्षित गर्नका लागि आन्तरिक निजी क्षेत्रको मनोबल बढाउनु र लगानीयोग्य वातावरण बनाउनु पहिलो सर्त हो ।

त्यसैगरी, सरकारले ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ को सोचसहित सोह्रौँ आवधिक योजनाको अवधारणापत्र तयार पारेको छ । यो आवधिक योजनालाई पनि कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन जरुरी छ । नयाँ आवधिक योजनाले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने उद्देश्य राखेको छ । त्यो पूरा गर्ने दृढ इच्छाशक्तिसहितको कार्ययोजना तयार पारिनुपर्दछ ।

त्यस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी, आवासलगायतका क्षेत्रमा सामाजिक न्याय स्थापित गर्नु, सामाजिक जीवन, आर्थिक विकास र राष्ट्रिय अर्थतन्त्रमा समृद्धि हासिल गर्नु पनि सोह्रौँ योजनाको उद्देश्यमा रहेको छ । नयाँ आवधिक योजनाले ‘विकासका काममा देखिएका संरचनात्मक अवरोधको पहिचान, सम्बोधन र निराकरण गर्दै संरचनात्मक रुपान्तरणमार्फत सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने’ रणनीति तय गरेको छ । तय भएका लक्ष्य, उद्देश्य प्राप्त गर्नका लागि तयार पारिएका रणनीति कार्यान्वयनमा विशेष जोड दिन आवश्यक छ ।

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, ३ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताउनुभएको छ । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उहाँले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गर्नुभयो ।

उहाँले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताउनुभयो । उहाँले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिनुभयो । “अहिले अधिकांश डाक्टर गाउँ गइसक्नुभएको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर योबीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ ।”उहाँले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौँमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताउनुभयो । उहाँले मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न निर्देशन दिएको बताउनुभयो ।मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई निःशुल्क उपचारकोे व्यवस्था गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता गर्नुभयो । उहाँले भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न बताउनुभयो ।उहाँले भन्नुभयो, “तपाईहरुले मिर्गौला दिने व्यवस्था गर्नुहोस् । निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।” मन्त्री बस्नेतले उपचारका लागि सङ्कलन गरिएको रु १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गर्नुभएको हो । स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घमा आयोजना गरिएको भेलामा उहाँले अमेरिका, कोरिया, जापानलगायतका देशमा कार्यरत सिन्धुपाल्चोकवासीबाट सङ्कलन गरिएको रु ११ लाख ८६ हजार र स्थानीयवासीबाट सङ्कलित ४० हजार गरी जम्मा १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गर्नुभयो । उहाँले डायलासिस गराइरहनुभन्दा जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै उहाँले प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताउनुभयो ।भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्वास्थ्य आपत्कालीन कोष खडा गरेर स्थानीयको उपचारमा सहयोग पु¥याउने जानकारी दिनुभयो ।–

आजको दिन ऐतिहासिक महत्वको : उपसभामुख

काठमाडौँ, ३ असोज : उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले संविधानसभाबाट जनताका प्रतिनिधिले संविधान जारी गरेको आजको यस ऐतिहासिक दिनमा परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका गौरवपूर्ण जनक्रान्ति र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति उच्च सम्मानसहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

“जनआन्दोलनका क्रममा घाइते भई अपाङ्गता हुनुभएका सबै योद्धाको स्वास्थ्यलाभको कामना गर्दै उहाँहरूको योगदानको उच्च सम्मान गर्दछु । नेपालको संविधान निर्माणमा विशिष्ट भूमिका खेल्नुहुने राजनीतिक नेतृत्व, संविधानसभा सदस्य, नागरिक अगुवा, सञ्चार जगत्लगायत आमनागरिक सबैमा हार्दिक आभार व्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

आजको दिन ऐतिहासिक जनक्रान्ति, जनआन्दोलन र जनसङ्घर्षबाट प्राप्त उपलब्धि नेपालको संविधानको दस्तावेजका रूपमा संस्थागत भएको दिन हो । नेपालीलाई एउटै सूत्रमा एकताबद्ध गर्ने देशको मूल कानुन संविधान जारी गरिएको यस दिनले सबैलाई संविधान कार्यान्वयन र यसको पूर्ण पालनाका लागि प्रेरणा दिने विश्वास लिएको उहाँले बताउनुभएको छ ।

विभिन्न ऐतिहासिक जनसङ्घर्षबाट प्राप्त गणतन्त्र, सङ्घीयता, सामाजिक न्यायसहितको समावेशी, समानुपातिक प्रणाली, धर्मनिरपेक्षतालगायतका उपलब्धिलाई संविधानमा लिपिबद्ध गरी संस्थागत गरिएको उल्लेख गर्दै उपसभामुख रानाले नागरिकका मौलिक हक, अधिकार र स्वतन्त्रता पनि संविधानले सुनिश्चित गरेको बताउनुभएको छ ।

“संविधान जारी भएको आठ वर्षको अवधिमा सङ्घीय संसद्ले थुप्रै ऐन, कानुन निर्माण गरी संविधान कार्यान्वयनमा विशेष जिम्मेवारी पूरा गर्दै आएको छ । सङ्घीयता कार्यान्वयनका लागि आवश्यक केही कानुन बन्ने क्रममै छन् । संविधान कार्यान्वयनको जिम्मेवारी पूरा गर्न सङ्घीय संसद् सदैव सक्रिय भइरहने छ”, उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, ३ असोज : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेका उल्लेख गर्नुभयो ।

“कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।”

अध्यक्ष ओलीले देशको उन्नति तथा जनताको एकताका लागि विभाजनकारी प्रवृत्ति र जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्टिय एकतामा खलल पुर्याउने प्रवृत्ति कुनै राजनीतिक मतभावको हिसाबले गरिने त्यस्ता खालका क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको उल्लेख गर्दै एकतालाई कमजोर पार्न नहुने विचार व्यक्त गर्नुभयो । नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताउनुभयो ।

“राष्ट्रिय एकताका साथ सिङ्गो देश एकजुट भएर राष्ट्रका लागि सही बाटोमा अगाडि बढाँै भन्ने दिवसले आग्रह गर्दछ”, उहाँले भन्नुभयो । संविधान दिवस एउटा पार्टी, जाति विशेषको नभई सम्पूर्ण जनताको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस भएको उहाँले बताउनुभयो ।कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेतासमेत सहभागी हुनुहुन्थ्यो ।

अध्यक्ष नेपालद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक उपलब्धिलाई रक्षा गर्दै समाजवादी अर्थव्यवस्था कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवस, २०८० का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका साथै सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण गर्नुपर्ने बताउनुभएको हो । जनताको चाहनाअनुसार उनीहरूको व्यापक सहभागितामा गठित संविधानसभाबाट निर्मित संविधानअनुसार तीन तहको निर्वाचन दोस्रोपटक सम्पन्न गरिएको उल्लेख गर्दै सन्देशमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधानको कार्यान्वयनसँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको तथा सुशासन, समृद्धि र सामाजिक न्यायका आधारमा जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन आवश्यकता उक्त सन्देशमा औँल्याइएको छ । अध्यक्ष नेपालले लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउन परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबीच एकता र समन्वयको खाँचो रहेको उल्लेख गर्दै सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले अग्रगामी शक्तिबीच सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन परिवर्तनकारी शक्तिहरूलाई आग्रह गर्दै अध्यक्ष नेपालले उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

संविधानले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ : सभामुख घिमिरे

काठमाडौँ, ३ असोज : सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालको विद्यमान संविधानले नागरिकका मौलिक हक र लोकतान्त्रिक राज्यव्यवस्थाको प्रत्याभूति गरेकाले परिवर्तनका लागि अब अर्को कुनै क्रान्तिको आवश्यकता नरहेको बताउनुभएको छ ।

संविधान दिवसको शुभकामना सन्देशमार्फत सभामुख घिमिरेले संविधानको मर्म र भावनाअनुसार राजनीतिक नेतृत्व चल्नुपर्ने आवश्यकता पनि औँल्याउनुभएको छ ।

“संविधानले राज्यका अङ्गको निर्धारण, अधिकारको विभाजन र सन्तुलन (शक्ति पृथकीकरण) को बलियो प्रबन्ध गरेकाले पुनःक्रान्तिको आवश्यकता अन्त्य गरेको छ । तर, संविधानको भावनाअनुरूप हिँड्दै नेतृत्वको चरित्र प्रजातान्त्रिक र लोकतान्त्रिक हुन जरुरी छ”, सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ ।

संविधान मुलुकको सर्वोच्च कानून हो । संविधान जारी भएको पछिल्लो आठ वर्षमा संविधान कार्यान्वयनका धेरै काम सम्पन्न भएको र संविधानबमोजिम नै आवधिक निर्वाचनबाट निर्वाचित सरकार तीनवटै तहमा क्रियाशील रहेको उहाँको भनाइ छ ।

नयाँ संविधानको निर्माणसँगै गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषय संस्थागत भएको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले समाजमा विद्यमान विभेद र असमानता अन्त्य गर्दै समृद्धि र सामाजिक न्यायको गन्तव्य संविधानमार्फत सुनिश्चित भएको बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा संसद्ले विशेष ध्यान र सक्रियता दिएको उहाँको भनाइ छ । “संसद्ले एकाधबाहेकका कानूनहरू निर्माण गरिसकेको छ । तर, दीर्घकालीन असर गर्ने केही कानूनबारे छलफल र बहस भइरहेका छन् । आशा छ, जसरी सहमतिको जगमा संविधान निर्माण गरेका छौँ, संविधान कार्यान्वयन गर्न आवश्यक ऐनहरू राजनीतिक सहमतिबाटै टुङ्गोमा पु¥याउनेछौँ”, शुभकामना सन्देशमार्फत उहाँले भन्नुभएको छ, “संविधानले विकास गरेका प्रणालीको सही सञ्चालन, व्यवस्थापन र कार्यान्वयन गर्न सकेमात्रै जनतालाई अनुभूत गराउन सक्दछौँ ।”

संविधान निर्माण गर्न भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरू, घाइते, अपाङ्ग तथा शान्तिपूर्ण आन्दोलन गर्ने अगुवाहरूको योगदानलाई पनि सभामुख घिमिरेले स्मरण गर्नुभएको छ ।
–––

गणतान्त्रिक संविधान र ‘सार्वभौमसत्ता सम्पन्न’ जनता

काठमाडौँं, ३ असोज : संविधान यस्तो लिपि जहाँ जनताले आफूहरूले इच्छाएको सामूहिक नियतिलाई अक्षरमा कोर्दछन् । उनीहरूले आफू को हुन्, के बन्न चाहन्छन् र त्यो बाटोमा हिँड्दा वा अन्तक्र्रिया गर्दा उनीहरूलाई दिशानिर्देश गर्ने सिद्धान्तहरू उल्लेख गर्दछन् । नेपालमा ३ असोज २०८० मा गणतान्त्रिक संविधान जारी भएको आठ वर्ष पूरा हुँदैछ । नेपालको संविधान विकास क्रम, संविधानको अन्तरवस्तु र संविधानको कार्यान्वयनको अनुभवमा केन्द्रित भएर यो आलेखमा गणतान्त्रिक संविधानबारे केही कुरा राख्ने कोसिस गर्नेछु । दुनियाँमा सबैभन्दा धेरै संविधान बनाउने देशको सूचीमा नेपाल पर्दछ । यो अनौठो सत्यबाट यो लेख सुरू गर्नु सान्दर्भिक हुन्छ ।

अमेरिकाले १७८७ मा लेखेको संविधानले अहिलेसम्म चलेको छ । भारतमा १९५० मा जारी भएको संविधानले चलेको छ । बेलायत त झन् अलिखित संविधानले चलेको देश मानिन्छ । नेपालले अहिलेसम्म २००४ साल, २००७ साल, २०१५साल, २०१९ साल, २०४७ साल, २०६३ साल र २०७२ साल गरी सातवटा संविधानको अभ्यास गरेको छ । कुनै पनि संविधान प्रस्तावनाबाट सुरु हुन्छ । नेपालको संविधान पनि त्यो कुराबाट अछुतो छैन । नेपाली संविधानको प्रस्तावना मौलिक छ । जस्तो अमेरिकाले आफ्नो संविधानमा ‘हामी अमेरिकाका जनता’ वा भारतले पनि ‘हामी भारतका जनता’ बाट प्रस्तावना सुरु गरेको देखिन्छ । तर नेपालको संविधान २०७२ मा ‘हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता’ भन्ने चार शब्दबाट सुरु भएको छ । सार्वभौमसत्ता सम्पन्न भने शब्दले प्रस्तावनामा बलपूर्वक प्रवेश पाएको छ । नेपाली जनतालाई सार्वभौमसत्ता शब्दसँग हुन गएको भ्रम र भयका कारण यस्तो हुन गएको हो । विसं २०४७ को संविधानको प्रस्तावनामा राजा वीरेन्द्रले हामी अर्थात् राजसंस्थासँग रहेको राजकीय सत्ताको आधारलाई जनताको सार्वभौम अधिकारभन्दा माथि राखेको भएर पनि होला संविधान निर्माताहरूले प्रस्तावनाको प्रारम्भमै सार्वभौमसत्ताबारे जनतालाई आश्वस्त र प्रत्याभूत गराउन खोजेको ।

संविधान जारी गर्ने बेला राजकीय सत्ता भन्ने शब्द राजा वीरेन्द्रले मन्त्रिपरिषदको सिफारिसभन्दा पनि आफ्नो कोटको खल्तीबाट निक्लेको कागजातबाट पढेका थिए भन्ने मत पनि नभएको होइन । नेपाली जनता असली अर्थमा सार्वभौमसत्ता सम्पन्न हुन कति समय लाग्ला यसै भन्न सकिन्न तर प्रस्तावनाले हामी नेपाली जनतालाई सार्वभौमसत्ताको अवस्थितिबारे विश्वस्त बनाउने कोशिस गरेको कुरालाई सकरात्मक रूपमा ग्रहण गर्नु पर्दछ । विसं २०७२ को संविधान विगत सात दशकदेखिको नेपाली जनताको नेपालको स्वत्वको खोजीको दस्तावेज हो । कामकाजी संविधानको खोजमा नेपालले आधुनिक समयमा जति समय व्यतीत ग¥यो, त्यो हाम्रा छिमेकी पाकिस्तान, श्रीलङ्का, बर्मा वा बङ्गलादेशले समेत गरेका छैनन् । लोकतान्त्रिक वा तानाशाही, सैनिक वा संवैधानिक राजतन्त्र जुन ढाँचाको शासकीय स्वरुप भएता पनि ती देशहरूले संविधानको धाराहरू संशोधन वा निलम्बनबाट काम चलाएको देखिन्छ । हाम्रो जस्तो मौजुदा संविधानलाई पूर्णतया निष्क्रिय बनाउँदै वा खारेज गर्दै प्रत्येक पटक छलाङको आशामा नयाँ संविधान जारी गरेको देखिन्न । तीन चौथाई शताब्दीमा सातवटा संविधानको अभ्यासले संविधानवादको मर्यादा कति राखेको छ या छैन्, संविधानवादको अभ्यास कुन तहमा पुगेको छ आजको अहं सवाल त्यो हुनु पर्दछ ।

त्यो कसीबाट हेर्दा एउटा साझा प्रवृत्ति देखा पर्दछ । नेपालमा संविधान दिने वा जारी गर्ने गर्ने पक्षले कहिले पनि संविधानको अक्षरशः पालन गरेको छैन । संविधान जारी गर्ने पक्षले आफूलाई हमेशा कानुनभन्दा माथि राखेकाले विद्यमान द्वन्द्व घट्नेभन्दा थप द्वन्द्वका लागि ठाउँ मिलिरहेको देखिन्छ । चाहे त्यो राणा प्रधानमन्त्री पद्मशमशेर हुन् वा राजा त्रिभुवन या राजा महेन्द्र नै । बिपी कोइरालाले यो कुराको आत्मवृत्तान्तमा वर्णन गर्नु भएको छ । राजा महेन्द्रले बिपीको मूड बुझ्न चारवटा प्रश्न खाम्बन्दी गरेर पठाएका थिए, त्यसमध्यको चौथो प्रश्न थियो, ‘प्रजातन्त्रका लागि केही पूर्वाधार चाहिन्छ, त्यसका सम्बन्धमा, ती पूर्वाधारहरू कस्ता हुन्, त्यसका सम्बन्धमा तपाइँको भनाइ के छ ?’ बिपीको जवाफ उस्तो थियो, ‘प्रजातन्त्रको लागि कुनै पूर्वाधार चाहिँदैन । तर प्रजातन्त्रलाई समाप्त गर्ने जसको शक्ति छ, त्यसमा भने प्रजातन्त्रप्रति आस्था हुनु पर्दछ । त्यो मात्र एउटा पूर्वाधार छ (पृ. २८०, आत्मवृत्तान्त) ।’ हालै प्रकशित जेल डायरी (१९६२–१९६८) मा बिपी कोइराला भन्नुहुन्छ, ‘देशको सबैभन्दा शक्तिशाली कार्यकारी पनि त संविधानप्रति जवाफदेही हुनुपर्दछ (पृ. ३४५) ।’ राजालाई आफ्नो बाचा पूरा गर्न लगाउने कुनै लगाम नै छैन । नेपालको राजनीतिमा सबैभन्दा दुर्भाग्यपूर्ण भनेको राज्यको सबैभन्दा शक्तिशाली व्यक्ति भनिएका राजाले आफ्नै शब्दहरूको वजन र सम्मान नराख्नु हो’ (पृ . ३७८) । बिपीका यी तीन उद्दरणबाट के बुझ्न सकिन्छ भने अहिले हामी राजाविहीन युगमा प्रवेश गर्दा पनि बिपीले सङ्केत गरेको प्रजातन्त्र वा संविधानमाथिको खतरा जस्ताको तस्तै छ ।

कारण सबैभन्दा शक्तिशाली केही शीर्ष दलका नेताहरू र संविधानले निर्दिष्ट गरेबमोजिम उच्च पदमा बस्नेहरू नै संविधानप्रति जवाफदेही नभएको र उनीहरूले आफ्नै शब्दको वजन र सम्मान नराख्नु नै हो । अर्कातर्फ हाम्रो अभ्यास हेर्दा कार्यपालिकाले व्यवस्थापिका र न्यायपालिकालाई ज्यादा दबाएर राख्न खोजेको देखिन्छ । कार्यपालिका ज्यादा हाबी भएको देखिन्छ । न्याय क्षेत्र त निरन्तरको मनोवैज्ञानिक दबाबमा परेको छ कारण न्यायाधीश नियुक्तिदेखि महाभियोगसम्मका प्रकरणहरूले उनीहरूको मनोबल र उत्साह धर्मराएको देखिन्छ । त्यो सबैका बाबजुद न्यायपालिकाले संविधानको व्याख्या गर्दा देखिएको विधि शास्त्रीय पद्धतिको अनुशिलनले कार्यपालिकालाई आवश्यक सन्देश दिन सफल भएको देखिन्छ । कोशी प्रदेशमा सभमुखले अनधिकृत मतदान गरेको बारेमा सर्वोच्चले गरेको फैसला एउटा प्रमाणिक साक्षी बनेको छ । व्यवस्थापिकाको प्रभावकारिता सत्ता पक्ष र प्रतिपक्ष दुवैको कारणले सन्तोषजनक छैन् । कार्यपालिका ज्यादा हाबी हुने समयमा व्यवस्थापिका र न्यायपालिकाको स्वतन्त्र रूप ओझेल पर्दछ । यो कुरा संविधानको लागि खतराको सङ्केत हो । अन्तरिम संविधान २०६३ माथि नेताहरूको अरहन– खटनको छायाँ धेरै हाबी भएको थियो । अब नेताहरूले त्यो गर्न सक्ने अवस्था त छैन, तर उनीहरू त्यस्तो कार्य गर्ने मनोवृत्तिबाट बाहिर पनि आएका छैनन् । सातवटा संविधानका अन्तरवस्तु हेर्दा ती कुनैले पनि शासकीय स्वरूप वा राजनीतिक स्थापनामा बाहेक आर्थिक उपार्जनका बारेमा जोड दिएर खास उपलब्धि हासिल गर्न सकेको छैन् ।

हाम्रो राजनीतिक व्यवस्थालाई आर्थिक संरचनाले थेग्न सकिरहेको छैन । जनतामा देखिएको आम नैराश्यलाई संविधानको घेराभित्रबाट सम्बोधन गर्न आर्थिक रुग्नता र जर्जरताले गर्दा कठिनाई भइरहेको छ । अधिकांश गणतान्त्रिक संविधानका निर्माताहरू जीवित नै हुनुहुन्छ । तर कहाँनिर ¥याङ्कोठ्याङ मिल्न सकेन चित्त बुझ्दो जवाफ पनि छैन् । अमेरिकी संविधान बनाउँदा नै सङ्घले भन्दा ज्यादा अधिकार प्रदेशले राखेका थिए । नागरिकको मतदानको अधिकारदेखि दास प्रथा राख्न पाउने नपाउनेसम्म त्यो निर्णय गर्न राज्यहरूलाई छुट थियो । हाम्रोमा सङ्घीयता ढिला आयो र केन्द्रीकृत मानसिकताले गर्दा प्रदेश र पालिकाहरूको अधिकार निक्षेपण पनि अपेक्षाकृत हुन सकिरहेको छैन । संविधान सङ्घीय गणतान्त्रिक तर नेतृत्वको दिमागी चेतना भने एकात्मक पञ्चायती । जतिसक्दो छिटो यो मानसिकता बदल्न सकिन्छ, त्यति नै यो संविधानप्रति जनविश्वास र अपनत्व थप फैलिएर जान्छ । वर्तमान संविधान कुनै पनि देशको संविधानको नक्कल हो भन्न मिल्ने खालको छैन । यो मौलिक नेपाली चरित्रको छ । कार्यान्वयनमा आएका पछिल्ला पाँचवटा संविधान चीनको जस्तो हुने वा भारतको जस्तो हुने भन्ने सवालमा घरेलु र भूराजनीतिको द्वन्दमा ती निर्माणदेखि लागू हुँदाका बखतसम्म अन्तरद्वन्द्वमा परिरहे । वर्तमान संविधान पनि त्यही खिचातानीमा अल्झिने खतरा बढेको छ । गणतान्त्रिक संविधानअन्तर्गतको पहिलो संसदको कार्यकाल खास उपलब्धिमूलक रहेन । अहिले दोस्रो संसदको पहिलो वर्ष सकिन लाग्दा पनि सोचें जस्तो उत्साह दिन सकिरहेको छैन ।

विधेयक निर्माण गर्ने तौरतरिका बदल्नु पर्ने देखिएको छ । खोटपूर्ण विधयेक लगेर बहुमतको आडमा सुसूचित छलफल बिना जबरजस्ती पास गर्ने प्रवृत्ति कायमै छ । गणतान्त्रिक संविधानले हाम्रो विगत र आगतलाई कसरी जोड्यो वा जोड्न सकेन, त्यो कोशिस गरेको भए कति सफलता मिल्यो त त्यसको पनि सम्यक मूल्याङ्कन गर्दै जानुपर्दछ । यो संविधान लेखिदा देश विभाजित मनोदशामा थियो । तराई मधेसले आफ्नो विमति मुखर रूपमा राखेको थियो । तर पहिले देश रहनु पर्दछ अनि मात्र त्यसको एउटा अङ्ग मधेसले न्याय पाउँछ भन्ने सोचले गर्दा मधेसको आवाज पहिलो र दोस्रो संशोधनमार्फत क्रमशः सम्बोधन हुँदै गई रहेको देखिन्छ । यो संविधानमा आफ्नो विमति राखेर हस्ताक्षर नगर्ने नेता प्रदीप गिरी थिए । उनले समेत अघिल्लो सरकारबाट निरन्तर संविधान माथि प्रहार भएको महसुस गरे तब पहिलो गणतान्त्रिक संसदबाट यो संविधानको रक्षाका लागि बोले । कारण यो संविधान यति धेरै प्रगतिशील छ, सदियौंदेखि दासताको जाँतोमा थिचिएर बहिस्करणमा परेका कर्णाली, मधेस, दलित, महिला, आदिवासी÷जातजाति, अल्पसङ्ख्यक सबै तह र तप्काले न्यायको अनुभूत गर्न पाएका छन् । यसमा टेकेर थप अधिकार पाइन्छ, सामयिक संशोधन गर्दै भन्नेमा विश्वस्त छन् । यो संविधानको विशिष्ट सामथ्र्य नै त्यही हो । यो २०४७ को संविधान जस्तो लचक नभएर चुँडिएको जड संविधान होइन । यो संविधान लचकदार छ । बन्द कोठामा बसेर विगतको संविधान जस्तै यो संविधानलाई पनि कोमामा लग्न उद्धत कुनै तत्व छन् भने तिनीहरूले बुझ्दा हुन्छ, यो विगतका छ वटा संविधान जस्तो कमजोर छैन, यो २१औं शताब्दीमा नेपाली जनताले परिकल्पना गरेको सामाजिक सम्झौताको दस्तावेज हो । यसको जगेर्ना जुनसुकै सङ्कटमा पनि यसका असली निर्माता जनताले गर्नेछन्, यो जनताका प्रतिनिधिले लेखेको संविधान हो ।

जनताले आवश्यक परे उनीहरूको प्रतिनिधित्व गरेर संयोगले संविधानका निर्माता बनेर राजकाजका क्रममा निर्माताको चेतनाबाट विमुख बनेका नेताहरूलाई संवैधानिक संरचनाभित्रबाट सबक सिकाउन तयार छन् तर आफ्नो अधिकार खोसिएको, सुशासन र सेवा प्रवाहमा ढिलासुस्ती गरेको सहन तयार छैनन् । जाँदाजाँदै नेपाली राजनीतिमा झण्डै तीन दशकदेखि रजगज गरिरहेको वर्तमान पुस्ताले गणतान्त्रिक संविधानको आत्मा पक्रेर कार्य गर्न नसकेको सत्यलाई हृदयंगम गर्दै उनीहरूसँगै अघि बढेको नयाँ पुस्तालाई जतिसक्दो मार्गप्रशस्त गर्नु उचित हुन्छ । शीर्ष नेताहरूको अनुहारमा कान्ति छैन, कार्यप्रणालीमा नवीन सोच छैन् । तीब्र गतिमा बदलिएको जनसङ्ख्याको आयामले नेपाल अर्को ठूलो उथलपुथलको संघारमा उभिएको आभास दिएको छ । एक दसकमा नै १२ प्रतिशतबाट बढेर ३३ प्रतिशत महिला घरमुली भएका छन् ।

देश छाड्नेहरूको हतार रोकिने छाँटकाँट छैन । कृषि गणनाले यस्ता धेरै आयाम उजागर गरेको छ । क्रान्तिले आफ्ना सन्तान आफैं खानु अगाडि उनीहरूले ती स्वप्नविहिन पुस्ताबाट राजनीतिक नेतृत्व खोसेर लिनु पर्दछ । त्यो नै गणतान्त्रिक संविधानको जगेर्नामा आवश्यक पहिलो खुड्किलो हुनेछ । संविधानको अक्षरमा प्राण भर्ने काम नेतृत्वको हो, जनताको जिउ धन सुरक्षा गरिदिएर, गास, बास, कपास, शिक्षा र स्वास्थ्यको यथोचित प्रबन्ध गरेर, समुन्नतिको आभास दिलाएर, उनीहरूको स्वाभिमान र आत्मविश्वासलाई उँचो बनाएर । गणतान्त्रिक संविधानले प्रस्तावनामा उल्लेख गरेको ‘सार्वभौमसत्ता सम्पन्न’ जनताले नेताहरू र संस्थाहरूको प्रत्येक गतिविधिलाई हेरिरहेका छन् । त्यो जाग्रत सार्वभौम तत्वलाई सुसुप्त ठान्ने गल्ती कसैले नगरोस् । गणतान्त्रिक संविधानको जय होस् ।

नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा छ : परराष्ट्रमन्त्री साउद

न्यूयोर्क, ३ असोज : परराष्ट्रमन्त्री एनपी साउदले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको बताउनुभएको छ । मङ्गलबार आणविक परीक्षण प्रतिबन्ध सन्धिका (सिटीबिटीओ) कार्यकारी सचिव रोवर्ट फलोइडसँगको भेटघाटका अवसरमा उहाँले नेपाल आणविक परीक्षण प्रतिबन्धको पक्षमा रहेको स्पष्ट पार्नुभएको हो ।

राष्ट्रमन्त्री साउदले आणविक परीक्षण प्रतिबन्ध लगाउने विषयमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराउनुभएको छ । ७८औँ राष्ट्रसङ्घीय महासभामा न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदले भेटघाटलाई तीव्रता दिनुभएको छ ।

नेपाल–अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्णः अमेरिकी विदेशमन्त्री

न्यूयोर्क, ३ असोज : अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक–नागरिकबीचको सम्बन्ध महत्वपूर्ण भएको बताउनुभएको छ । नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री व्लिङ्केनले शुभकामना दिनुहुँदै दुवै देशको सम्बन्ध विस्तारले दुई देशबीच एकअर्कामा बुझ्न, सद्भाव र विश्वास विस्तारमा कोशेढुङ्गाको काम गरेको बताउनुभयो । विदेशमन्त्री व्लिङ्केनले सन्देशमा भन्नुभएको छ, “अमेरिकी जनताको तर्फबाट म नेपाली जनतालाई संविधान दिवसका अवसरमा हार्दिक बधाई ज्ञापन गर्दछु ।

आज हामी यस्तो विशेष दिन मनाउँदैछौँ, जसले हामीहरूबीचको सम्बन्ध र प्रतिबद्धताको नवीकरणमा अतुलनीय भूमिका निर्वाह गर्दै दुई देशबीच शान्ति, सहकार्य र पारस्परिक समृद्धिको विस्तार गर्नेछ ।” “नेपालले हासिल गरेको उपलब्धि र दुई देशबीचको लामो मैत्रीपूर्ण सम्बन्धलाई यो क्षणमा म स्मरण गर्न चाहन्छु । अमेरिकी सरकार र नागरिकको तर्फबाट म तपाईँहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, विदेशमन्त्री व्लिङ्केनद्वारा जारी सन्देशमा उल्लेख छ ।

संविधानले सम्झिएका सुशील र सुवास

काठमाडौँ, ३ असोज : नेपाल अधिराज्यको संविधान, २०४७ जारी गर्दा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई कति गाह्रो पर्यो होला ? नेपालमा दुई–दुईपटक संविधानसभाको निर्वाचन गरेर बल्लतल्ल संविधान जारी भएको घटनाका प्रत्यक्षदर्शी भएकाले भट्टराईको त्यो अप्ठेरोको अनुमान सहजै लगाउन सक्छौँ । सहज होस् पनि कसरी ? तीस वर्षको अभ्यासमा संविधानमाथि रहेका राजालाई संविधानमुनि राख्नुपरेको थियो र देशको शासनसत्ताको बागडोर राजनीतिक दलमा ल्याउनुपरेको थियो ।

त्यसैले विसं २०४६ को जनआन्दोलनले प्रजातन्त्रको पुनःस्थापना गरेपछि बनेको अन्तरिम सरकारका सामु संवैधानिक राजतन्त्रात्मक संविधान निर्माण पहिलो र जटिल काम थियो । राजा वीरेन्द्रको राजनीतिक उदारताबाट चाँडै बहुदलीय व्यवस्थाको घोषणा हुन पुग्यो भनिरहेका पञ्चायतका शक्तिहरूले राजालाई संविधानको तल राख्न मानिरहेका थिएनन् । तर सरकारका सामु प्रजातान्त्रिक संविधान निर्माण गरी लागू गर्नुपर्ने गहन दायित्व थियो ।

त्यो जिम्मेवारीलाई तत्कालीन प्रधानमन्त्री भट्टराईले कुशलतापूर्वक बहन गर्नुभयो । बहुदलवादी सबै राजनीतिक दलहरूको सहमतिबाट संविधान निर्माण गरी जारी पनि गर्नुभयो । उहाँको यो कार्यकुशलताको स्मरण वर्तमान संविधान निर्माणका क्रममा खुबै भएको हो । छ सयभन्दा बढी सदस्य रहेको संविधानसभाको निर्वाचन दुई–दुई पटकसम्म हुँदा पनि संविधान निर्माण गर्न नसकेपछि राजनीतिक विश्लेषकहरूले ‘किसुनजी’ लाई सम्झिएका थिए ।

हो, नेपालमा लोकतान्त्रिक संविधानको जग उहाँको नेतृत्वमा जारी भएको सो संविधानबाट नै बसेको हो । नेपाल अधिराज्यको संविधान २०४७ लाई विश्वले नै लोकतान्त्रिक संविधानका रूपमा सम्मान गरेको थियो । प्रेस स्वतन्त्रता र सूचनाको हकजस्ता विषय सो संविधानमा पनि विश्वका अरु लोकतान्त्रिक संविधानभन्दा कम थिएनन् । सो संविधानले सूचनाको हकका विषयमा गरेको व्यवस्था दक्षिण एसियाकै पहिलो तथा उत्कृष्ट थियो ।

नेपालमा विसं २००७ मा घोषणा गरिएको संविधानसभाको निर्वाचन त्यसको करिब सात दशकपछि भयो । पहिलो संविधानसभाले समयमै संविधान निर्माण गर्न नसकेर दुई–दुई पटक निर्वाचन भयो । त्यस समयमा नेपाली जनता र राजनीतिक बृत्तमा कृष्णप्रसाद भट्टराईको नाम खुबै लिइएको हो । उहाँले तोकिएकै समयमा प्रजातान्त्रिक संविधान कसरी जारी गर्न सक्नुभयो होला भनेर उहाँको उदाहरण खुबै लिइयो ।

यहाँ उठान गर्न खोजिएको प्रसङ्ग भने वर्तमान संविधानको हो । यो संविधान निर्माण र घोषणाको इतिहास पनि कम्ती जटिल र संवेदनशील थिएन । नेपालको लोकतान्त्रिक शासन व्यवस्थालाई हातमा लिएर एकातर्फ राजाले आफैँ मुलुकको कार्यकारी प्रमुख भएको घोषणा गरेका थिए भने अर्कातर्फ देशमा १० वर्षदेखि सशस्त्र द्वन्द्व जारी थियो । यता द्वन्द्वरत पक्षले देशमा संविधानसभामार्फत गणतन्त्रको स्थापना चाहन्थ्यो । तर कांग्रेस संविधानसभाको पक्षमा अझै उभिएको अवस्था थिएन । न त यो मानसिकतामा अरु कम्युनिष्ट शक्तिहरू नै तयार भइसकेका थिए । द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याउने, राजसंस्थाको अन्त्य गरी मुलुकमा गणतन्त्रको स्थापना गर्नेजस्ता विषयको बहस भर्खरै सुरु भएको थियो । त्यो परिस्थितिको मुकाबिला गर्नका लागि किसुनजीजस्तै अर्का सादगी नेता थिए– सुशील कोइराला । वर्तमान संविधान जारी गर्नका लागि त्यस समयका राजनीतिक दलहरूसँगको सहकार्यमा उहाँले निर्वाह गर्नुभएको भूमिका ऐतिहासिक थियो ।

सुरुमा संविधान लेख्नै गाह्रो र संविधान बनेपछि फेरि जारी गर्न समस्या । विसं २०७२ को असोज ३ गते अर्थात् आजकै दिन संविधान जारी गर्ने काममा कोइरालाले व्यहोर्नुपरेको ठक्कर र टक्करको विगत अझै ताजै छ । उहाँले यो संविधान जारी गर्ने बेलाको अवस्था यस्तो सुनिएको थियो कि उहाँ नभएर अरु कोही भएको भए त्यसबेला संविधान आउन निकै कठिन थियो । यो वास्तविकता धेरैलाई थाहा भए पनि धेरै प्रचारमा भने आएन ।

मुलुकका कार्यकारी प्रमुखका रूपमा सुशील कोइरालाले कसैको कुरा सुन्नुभएन । उहाँले यतिमात्र भन्नुहुन्थ्यो, “अहिले तत्कालै जारी भएन भने यो स्वरुपको संविधान नै नेपालमा आउँदैन । तत्कालै जारी भएन भने हामीले चाहेको जस्तो संविधान नै नेपालमा आउँदैन ।” उहाँको यो अडानमा सबै राष्ट्रिय राजनीतिक दलका नेताहरूको पनि समर्थन रह्यो र संविधान जारी गर्ने काम सम्भव भयो ।

देश सरकार परिवर्तनको मात्र अवस्थामा नभएर शासकीय स्वरुप नै परिवर्तनको सङ्घारमा थियो । अझ स्पष्टरूपमा भन्नुपर्दा देश सङ्क्रमणकालीन अवस्थामा थियो । सङ्क्रमण पनि यस्तो थियो कि एक पार्टीको सरकार गएर अर्काे अर्थात् एउटा सत्ता गएर अर्को प्राप्तिको अवस्था थिएन । संसद् पुनःस्थापनापछि २०६३ साल जेठ ४ गतेको प्रतिनिधिसभाको घोषणाबाट अघि बढेको मुलुकका अघि धेरै संवैधानिक प्रश्नहरू विभिन्न कोणबाट आइरहेका थिए । यो ऐतिहासिक घोषणाले संवैधानिक राजतन्त्रको भूमिका कटौती गरेर अब गणतन्त्र उन्मुख अवस्थामा लग्यो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट तत्कालीन पुनःस्थापित संसद्मा ‘प्रतिनिधिसभाको घोषणा–२०६३’ प्रस्ताव प्रस्तुत भयो र सर्वसम्मत अनुमोदन पनि भयो ।

त्यो घोषणा यस्तो म्याग्नाकार्टा थियो जसले राजाका सबै विशेषाधिकार खारेज गरेको थियो र कार्यवाहक राष्ट्राध्यक्षको अधिकार पनि अब प्रधानमन्त्रीबाट हुने व्यवस्था भएको थियो । संसद्ले सर्वसम्मतिले मुलुकको सम्पूर्ण राजकीय र सम्प्रभु अधिकार प्रयोग गर्ने अधिकार आफैँले लिएको थियो । यसरी साढे दुई सय वर्ष पुरानो नेपालको राजसंस्थाको अधिकार संसद्को बैठकको एउटै घोषणाले कटौती गर्दा यस घोषणाको दिगोपनाका बारेमा अनेक प्रश्न उठेका थिए । राजनीतिक बजारमा अनेकन आशङ्काहरू जन्मिएका थिए । राजाबाट प्रयोग भइआएका सबै अधिकारहरू प्रधानमन्त्री र सभामुखमा आउँदाको समय पक्कै पनि संवेदनशील नै थियो ।

यस्तो परिस्थितिमा सबैले मान्ने खालको संविधान निर्माण र जारी गर्ने काम पक्कै पनि सजिलो थिएन । राजनीतिक दलका फरक–फरक सोच र उद्देश्य थिए नै । राजनीतिक दलहरूको मूलभूत उद्देश्य संविधानभन्दा ‘सत्ता’ भएपछि त्यसैका निम्ति झगडा फस्न पुगे । राजनीतिक दलहरूबीच सत्ताकै निम्ति गठबन्धन बन्ने र भत्कने क्रम मुलुकमा भित्रियो । पहिलो संविधानसभाकालमा त प्रधानमन्त्रीका निम्ति १७ पटकसम्म निरन्तर चुनाव भएको दृश्यले नागरिकमा बढ्दो राजनीतिक वितृष्णालाई थप मलजल गरेको थियो ।

राजनीति दलबीचको यस्तो तिक्ततापूर्ण सम्बन्ध र राजनीतिक परिस्थिति हुँदाहुँदै पनि संविधानसभाबाट संविधान निर्माण समिति गठन गरी मस्यौदा कोर्ने क्रम भने सुरु भयो । समितिहरूले प्रतिवेदनका ठेलीहरू बनाए । तर दलहरूबीच मतान्तरकै कारण २०६८ जेठ १४ मा संविधान जारी भएन । त्यही दिन दलहरूले संविधानसभाको आयु तीन महिना बढाउँदै पाँच बुँदे सम्झौता गरे । जसमा ‘तीन महिनाभित्र संविधानसभाबाट संविधानको पहिलो मस्यौदा तयार गर्ने’ उल्लेख थियो । तर सहमतिअनुरुप तीन महिनाभित्र मस्यौदा तयार भएन । त्यसपछि म्याद थप्दै अघि बढ्ने क्रम निरन्तर रह्यो । अन्ततः दोस्रो संविधानसभाकालमा अनेक सङ्कट र विवाद चिर्दैै संविधानको मस्यौदा तयार भयो र मुलुकले २०७२ असोज ३ ऐतिहासिक दिनका रूपमा जननिर्मित संविधान पायो । देशमा देखिएको राजनीतिक सहमति, एकता र सहकार्यको प्रतिफलबाट देशले संविधान पायो ।

संविधानसभाबाट अत्यधिक मतले संविधान पारित भएको घोषणा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभयो । उहाँले त्यस समयमा राजनीतिक दलहरूलाई संविधान निर्माणको एजेण्डामा एक ठाउँमा ल्याउने र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई सारथि बनेर सघाउने काम गर्नुभयो । नेम्वाङबाटै भएको थियो संसद्बाट यो संविधानको घोषणा र पछि प्रमाणीकरण पनि । राष्ट्रपति डा रामवरण यादवले संविधान उचाल्नुभयो, त्यसअघि प्रधानमन्त्रीले संविधान पेस गर्नुभयो र अध्यक्ष नेम्वाङले संविधानसभाबाट संविधान जारी भएको घोषणा गर्नुभयो । त्यसपछि संविधानसभा सदस्यहरूले लगातार दुई मिनेटसम्म टेबल ठोकेका थिए । उनीहरूको हाँसो र खुसीको सीमा नै थिएन । हात मिलाउने र गला मिलाउने दृश्य संविधानसभाभित्र देखियो । राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री कोइराला र सभाध्यक्षको कुर्सीमा आसिन नेम्वाङ सबै भावुक हुनुभयो । संविधानसभाभित्र टेबल ठोक्न सुरु गरेपछि बाहिर नागरिकले दीपावली सुरु गरे । मुलुकले संविधान पाएको खबर देशभर सञ्चार भयो ।

भनिन्छ, युद्ध जित्न सशक्त सारिथ चाहिन्छ । त्यस समयका प्रधानमन्त्री कोइरालाका सारथि हुनुहुन्थ्यो नेम्वाङ । कोइरालाले नेम्वाङजस्ता सारथि पाउनुभयो र त संविधान जारी गरीछाड्ने युद्ध जित्नुभयो । उता सुवासको सुवास झन् संविधानसँगै जोडिएको र फैलिएको थियो । प्रधानमन्त्री कोइरालाले आफ्ना सबै समस्या अध्यक्ष नेम्वाङसँग राख्नुहुन्थ्यो र अब कसरी अघि बढ्ने भन्ने सल्लाह लिनुहुन्थ्यो । कार्यकारी प्रमुखका रूपमा कोइरालाले खेल्नुपर्ने भूमिका त छँदै थियो यता विधायिकाको प्रमुखका रूपमा नेम्वाङले निर्वाह गर्नुभएको भूमिकाले पनि यो संविधान जारी गर्ने कामका लागि एउटा दरिलो टेको प्रदान गर्न सकेको थियो ।

कुनै पनि भवन या भौतिक संरचनालाई बाहिरबाट हेर्दा देखिएको सुन्दरताले त्यसको सबै पक्ष र पृष्ठभूमि बोल्दैन, देखाउँदैन । कुनै सुन्दर संरचना यसै ठडिँदैन र यसका लागि त्यसको पछाडि पृष्ठभूमि हुन्छ । त्यसको जिम्मेवारी र जगमा कसै न कसैले कुनै न कुनै रूप या स्वरूपमा योगदान पुर्याएको हुन्छ । अथवा त्यो भवनको जगको ढुङ्गा (शिलान्यासको शिला)को धेरै ठूलो महत्व हुन्छ । जगको ढुङ्गाले नै त्यस भवनको पूरै भारबहन गरेको हुन्छ, सिङ्गो भवनलाई थेगेको हुन्छ ।

हो, वर्तमान संविधानको जगको ढुङ्गाका रूपमा सुशील र सुवास हुन् भन्दा गल्ती हुँदैन । जगको शिलालाई अढ्याउन त्यस वरपरका अरु शिलाका रूपमा राजनीतिक दलका नेताहरू छँदै थिए । जनप्रतिनिधिहरूको संस्था संविधानसभाले तयार पारेको स्वरूपमा यो संविधान जारी गर्न त्यस समय सुशील र सुवासले बहन गरेको भार आज संविधान दिवसका दिन स्मरण गर्नु जरुरी छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय दबाबका बाबजुद उहाँहरूको त्यस कठिन समयको अर्जुनदृष्टिलाई आजका दिन स्मरण गर्न सकेनौँ भने न्याय नहुन सक्छ । “दुई–दुई पटक देशमा संविधानसभाको निर्वाचन भयो । अझै पनि संविधान आएन भने हामी त असफल हुन्छौँ नै, हाम्रो समग्र राज्य प्रणाली नै असफल हुनेछ । त्यसैले जनपक्षीय संविधान जारी गर्नुको अर्को विकल्प छैन”, भन्ने उहाँहरूको साझा अठोट स्तुत्य छ ।

यही अठोटबाट नै मुलुकमा एक जुगमा आउने एक दिन आएको हो । उहाँहरू शिला भई अडिएको त्यही जगमा आज यो मुलुकको संविधान अडिएको छ र हामी त्यही संविधानको जगमा उभिएर लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास गरिरहेका छौँ । तर दुःखद् आज मुलुकले नवौँ दिवस मनाइरहेका बेला उहाँहरू हामीबीच हुनुहुन्न । आजका दिन देशको वर्तमान संविधानले झल्झली सम्झिएका सुशील र सुवासलाई हाम्रो पनि हार्दिक श्रद्धाञ्जली ।

सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउनु वर्तमान सरकार र संसद्को मूल जिम्मेवारी : सांसद बराली

काठमाडौँ, ३ असोज : विस्तृत शान्ति सम्झौतामार्फत मुलुकमा चलेको दशवर्षे जनयुद्ध समाप्त भए पनि शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम बाँकी नै छन् । तत्कालीन राज्य र विद्रोही पक्षबीच शान्ति सम्झौता भएको डेढ दशक बितिसकेको छ । तर सङ्क्रमणकालीन न्यायको विषय अझै टुङ्गिन सकेको छैन ।

पीडकलाई कारबाही गर्ने, पीडितलाई न्याय र परिपुरण दिने विषयमा राजनीतिक दलबीच पटक–पटक सहमति भएको छ । तर कानुन नबन्दा त्यसले मूर्तरुप पाउन भने सकेको छैन । त्यसयता गठन भएका सबै सरकारले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । शान्ति सम्झौताको एक पक्ष नेकपा (माओवादी केन्द्र)ले चार पटक सरकारको नेतृत्व गरिसकेको छ । जनयुद्धको नेतृत्व गर्नुभएका तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक सरकारको नेतृत्व गर्नुभएको छ । वर्तमान सरकार गठन भएको पनि करिब नौ महिना बितिसकेको छ । अझै पनि शान्ति प्रक्रियाको बाँकी काम निष्कर्षमा पुग्न सकेको छैन ।

दाहालले पछिल्लोपटक प्रधानमन्त्री भएसँगै सङ्क्रमणकालीन न्यायको विषयलाई सबैको सहमतिमा टुङ्ग्याउने पहल गर्दै आउनुभएको छ । उहाँले सत्ता साझेदार र प्रमुखपक्षीसँग पटक–पटक छलफल गरिरहनुभएको छ । उहाँले शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने अहिलेको सरकार र संसद्को मूल जिम्मेवारी भएको दोहोर्याउँदै आउनुभएको छ ।

माओवादी केन्द्रका सांसद रणेन्द्र बराली सङ्क्रमणकालीन न्यायका विषयलाई संसद्को चालु अधिवेशनबाट निष्कर्षमा पुर्याएर भविष्यमा हुनसक्ने द्वन्द्वको खतरालाई अहिले नै निराकरण गर्नुपर्ने बताउनुहुन्छ । “शान्ति सम्झौता भएको डेढ दशक नाघिसक्यो, अझै समस्या समाधान भएको छैन, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न सबै राजनीतिक दलको सहमति पनि छ, तर विधिवतरूपले यसलाई टुङ्ग्याउन सकिएको छैन”, उहाँले भन्नुभयो ।

सांसद बरालीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी विधेयकलाई चालु अधिवेशनबाट टुङ्ग्याउनुपर्नेमा जोड दिँदै सङ्क्रमणकालीन न्यायका विषयलाई टुङ्गोमा पुर्याउन सरकार, संसद् र सांसदले सक्रियता देखाउनुपर्ने बताउनुभयो ।

विकास निर्माण र समृद्धतामा सांसद्को भूमिकालाई लिएर धेरै आलोचना गर्न नहुने उहाँको भनाइ छ । “बजेट निर्माण प्रक्रियामा सांसदको भूमिका निरपेक्ष हुन्छ भन्ने त होइन । फेरि पनि मूल दायित्व भनेको संसद्ले पारित गर्नुपर्ने विधि–विधानकै कुरा हो, विधेयकको कुरा हो, समसामयिक विषयमा छलफलका कुरा नै हुन्”, सांसद बरालीले भन्नुभयो, “सरकारले जनताका हितमा गर्नुपर्ने कामहरू नीति–नियम बनाएर, ऐन निर्माणलाई प्राथमिकता दिएर जानुपर्छ ।”

उहाँसँग विसं २०२४ मा नेपाल राष्ट्रिय दलित जन विकास परिषद् जिल्ला सचिव, विसं २०२६ मा नेकपा पार्टी सदस्य, विसं २०३० मा नेपाल मजदुर पार्टीका जिल्ला अध्यक्ष तथा विसं २०३८ देखि २०४७ सम्म सर्वहारा श्रमिक सङ्गठनमा रही काम गरेको अनुभव छ ।

सांसद बरालीले प्रतिपक्षले राष्ट्र र जनताको हितमा हुने कामलाई बिनाअवरोध सहयोग गर्नुपर्नेमा त्यस्तो नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो बिडम्बना हो, प्रतिपक्षको रचनात्मक भूमिकाको अभाव खड्किएको छ । साना–तिना विषयलाई लिएर सदन अवरुद्ध गर्ने काम भइरहेको छ ।” सदनको मुख्य जिम्मेवारीलाई ध्यान दिएर सबै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

संविधान जारी भएपछि बनाउनुपर्ने कानुन तत्काल निर्माण गर्नुपर्छ भन्दै सांसद बरालीले संविधानअनुसार कानुन परिमार्जन गर्न ल्याइएको नेपाल ऐन संशोधन विधेयक पारित हुने क्रममा नै नियोजित ढङ्गले गणपूरक सङ्ख्या नपुग्ने अवस्था सिर्जना गरेर महत्त्वपूर्ण काम निष्कर्षमा पुग्न नसकेको अवस्था रहेको बताउनुभयो । “महत्त्वपूर्ण विधेयकमाथिको छलफल पुनः सुरु भएको छ, छिट्टै नै आवश्यक ऐनसम्बन्धी विषय निष्कर्षमा पुग्नेछ”, उहाँले भन्नुभयो, “निजामती, शिक्षासम्बन्धी विधेयक हिजोदेखि नै सरकारको प्राथमिकतामा रहेका छन् । जनताको हितमा संसद्को भूमिका देखिनुपर्छ, जुन विधेयक पास नहुँदा महत्त्वपूर्ण काम रोकिएको छ । ती विधेयक पारित गर्न मूलरूपमा सांसदले भूमिका खेल्नुपर्छ ।”

विसं २०४८ नेकपा एकता केन्द्रमा संलग्न सांसद बरालीले विसं २०५८ देखि लमजुङ इन्चार्ज, पोलिटब्यूरो सदस्य, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार र केन्द्रीय सदस्य भएर काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो । जनसङ्घर्ष, जनआन्दोलन, साहित्य, लोक संस्कृति र रुपान्तरण अभियानमा योगदान पुर्याउनुभएका उहाँका नाटक, कविता र अनुसन्धानपत्रसमेत दर्जनौँ कृति प्रकाशित छन् ।

सङ्घीयतालाई बलियो बनाउन आवश्यक पर्ने कानुन निर्माणमा माओवादी पार्टीले सुरुदेखि नै जोड गरिरहेको सांसद बरालीको भनाइ छ । “विषयवस्तुअनुसार सांसदले सदनमा धारणा राख्ने हो । नेपालको संसद्मा आवेग र उत्तेजनामा आएर धारणा राख्ने तथा देखाउने गतिविधिलाई समयमै निदान गर्नुपर्छ”, सांसद बरालीले भन्नुभयो, “यस्ता गतिविधिमा समय खेर फाल्नुभन्दा आफ्नो मूल जिम्मेवारी पूरा गर्न सांसद प्रतिबद्ध हुनुपर्छ । सदनमा मर्यादित ढङ्गबाट प्रस्तुत हुन सांसद स्वयं सजग र सचेत हुनुपर्छ ।”

विषयवस्तुको गम्भीरतालाई ध्यान दिएर सांसद प्रस्तुत हुनुपर्छ भन्दै उहाँले जनतालाई प्रत्यक्ष अनुभूत हुने खालका कानुन निर्माणमा सांसदले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । सरकारले चालेका सुशासनका अभियानलाई सांसदले समर्थन गरेर सरकारलाई हौसला दिनुपर्ने उहाँको भनाइ छ । सांसद बरालीले भ्रष्टाचार, अनियमतालगायतका विषयलाई सांसदले गम्भीरताका साथ उठाएर कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

जनता र देशको हितका सवाललाई संसद् र सांसदले प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । “दोस्रो अधिवेशनको अन्तिम अवस्था आइसकेको छ । यस अधिवेशनले सन्तोषजनक काम गर्न सकेन कि भन्ने हामीलाई लागिरहेको छ”, उहाँले भन्नुभयो, “जे गर्न भनेर संसद्मा गइएको थियो, त्यो काम गर्ने वातावरण नबन्दा कता–कता अकर्मण्यतामा फसियो कि भन्ने भएको छ ।”

सांसद आफ्नो पक्षमा बजेट पार्न मात्रै केन्द्रित रहेको भन्ने विषयमा निरपेक्षता नरहेको उल्लेख गर्दै सांसद बरालीले जनताको सरोकारलाई जनप्रतिनिधिले ध्यान नदिए कसले दिने ? भन्ने प्रश्न उब्जने बताउनुभयो ।

“जनताको सवाललाई चटक्कै माया मार्नुपर्छ भन्ने होइन, मतदाताको अपेक्षालाई ध्यान त दिनै पर्छ, तर त्यतिमात्रै होइन, प्रमुख कुरा कानुन निर्माणलाई नै प्राथमिकता दिनुपर्छ”, सांसद बरालीले भन्नुभयो ।

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ, ३ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उद्घाटित गरेको बताउनुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गर्नुभएको छ । “यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो”, कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

लामो र साझा सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एकापसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

“सरकार यो संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ । यस अवसरमा संविधानले प्रत्याभूति गरेका साझा मौलिक हक–अधिकारको पूर्ण उपभोग गर्दै तथा संविधानले व्यवस्था गरेका नागरिकको दायित्व र कर्तव्यप्रति पूर्ण सजग रहँदै मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु”, कार्यवाहक प्रधानमन्त्री खड्काले शुभकामना सन्देशमा भन्नुभएको छ ।

संविधान दिवसका अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । “यस अवसरमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथै विभिन्न समयमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने श्रद्धेय नेताहरूसहित समस्त राजनीतिकर्मी तथा सम्पूर्ण नेपाली जनताप्रति उच्च सम्मान प्रकट गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।