`

वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ, ३ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिनुहुँदै उहाँले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उद्घाटित गरेको बताउनुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्त र समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गर्नुभएको छ । “यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ । यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलनविन्दु हो”, कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ ।

लामो र साझा सङ्घर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उहाँले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एकापसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

“सरकार यो संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ । यस अवसरमा संविधानले प्रत्याभूति गरेका साझा मौलिक हक–अधिकारको पूर्ण उपभोग गर्दै तथा संविधानले व्यवस्था गरेका नागरिकको दायित्व र कर्तव्यप्रति पूर्ण सजग रहँदै मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएको छु”, कार्यवाहक प्रधानमन्त्री खड्काले शुभकामना सन्देशमा भन्नुभएको छ ।

संविधान दिवसका अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । “यस अवसरमा मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलिका साथै विभिन्न समयमा भएका राजनीतिक आन्दोलनको नेतृत्व गर्नुहुने श्रद्धेय नेताहरूसहित समस्त राजनीतिकर्मी तथा सम्पूर्ण नेपाली जनताप्रति उच्च सम्मान प्रकट गर्दछु”, शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानअनुसार बन्न बाँकी कानूनको यथाशीघ्र तर्जुमा गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौँ, ३ असोज : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनको यथाशीघ्र तर्जुमा गरी कानूनी रिक्तता पूरा गर्दै संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

संविधान दिवस, २०८० का अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष तिमिल्सनाले लामो सङ्घर्ष, त्याग र बलिदानको फलस्वरुप नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत आफ्नो संविधान आफैँ लेख्ने अवसर पाएकाले संविधान राज्यको मूल कानून भएकाले यसको मर्म र भावनाबमोजिम राज्यको शासन व्यवस्था सञ्चालन गर्न, संविधानमा व्यवस्था गरिएका जनताका आधारभूत मौलिक हक तथा मानवअधिकारको कार्यान्वयन गर्दै लोकतन्त्रका लाभहरूको समतामूलक र समवन्यायिक वितरण गर्नतर्फ ध्यान जानु जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

“अहिले जनतामा बढ्दो निराशाको फाइदा उठाउँदै अराजकता मच्चाउने र धमिलो पानीमा माछा मार्न खोज्ने पक्षले यसलाई आफ्नो स्वार्थ पूरा गर्ने अवसरका रुपमा प्रयोग गर्ने कोशिस गरिरहेका छन् । संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता अहिले रहेको छ भने अबका दिनमा हाम्रा प्रयास शासन व्यवस्था सुदृढ र संस्थागत गर्दै सुशासन कायम गर्नतर्फ केन्द्रित हुनुपर्दछ”, अध्यक्ष तिमिल्सनाको सन्देशमा भनिएको छ ।

संविधान जारी भएको आठ वर्षको यस अवधिमा राजनीतिक परिवर्तन संस्थागत भए पनि जनताले तुरुन्त आर्थिक विकास, सामाजिक न्याय र सुशासनको अनुभूति गर्न नपाएकाले जनाउँदै सन्देशमा संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयन गर्नसकेमा मात्र सङ्घीयता र गणतन्त्र बलियो हुने भएकाले सरकार र सम्बद्ध सबै पक्षलाई संविधानको दिगो कार्यान्वयनमा ध्यानाकर्षण गराउनुभएको हो ।

“अहिले पनि संविधानअनुसार बन्नुपर्ने धेरै कानूनहरु बनाउन नसक्दा मुलुकले अङ्गीकार गरेको सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहयुक्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासकीय व्यवस्थाको कार्यान्वयनमा समेत कठिनाइ भइरहेका छन्”, उहाँले भन्नुभएको छ, “संविधानमा भएका व्यवस्थाको कार्यान्वयनमार्फत नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका साथै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुनेछ भन्ने विश्वास व्यक्त गर्दै पुनःहार्दिक शुभकामना व्यक्त गर्दछु ।”
–––

नेपालको संविधान राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज : प्रधानन्यायाधीश

काठमाडौँ, ३ असोज : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपालको संविधान संवैधानिक परिवर्तनको दस्तावेज मात्र नभई लामो समयदेखिको राज्यको संरचना, शासकीय स्वरूप र सामाजिक, सांस्कृतिक रूपान्तरणको दस्तावेज भएको बताउनुभएको छ ।

संविधान दिवस, २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानन्यायाधीश श्रेष्ठले संविधानले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका साथै सामाजिक न्याय सुनिश्चित गर्ने उद्देश्य लिएको बताउनुभयो । “संविधानवाद, न्याय र समानता प्रस्तुत संविधानको मूल आत्माको रूपमा रहेको छ”, शुभकामना सन्देशमा उल्लेख छ, “राज्यका सबै निकायको संविधानको मर्म र भावना अनुरूपको सोच, दृष्टिकोण र व्यवहारबाट नै संविधानको सहीरूपमा कार्यान्वयन हुनसक्छ ।”

आजको दिन नेपाली जनताले आफ्ना प्रतिनिधि रहेको संविधानसभामार्फत संविधान निर्माण गर्ने लामो समयदेखि राखेको चाहना पूरा भएको दिन भएको र त्यसैले संविधान निर्माणको प्रक्रिया तथा संविधानमा अन्तर्निहित विषयवस्तुका दृष्टिकोणबाट पनि नेपालको संविधानको विशिष्ट महत्व रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाइ छ ।

“संविधानका प्रावधान र अन्तर्निहित भावनालाई सामाजिक यथार्थतासँग जोड्ने वा सदृश्य बनाउने काम राज्यका निकायहरूको हो”, शुभकामना सन्देशमा भनिएको छ । प्रधानन्यायाधीश श्रेष्ठले नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो, सहज एवं प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका संवेदनशील रहेको बताउनुभएको छ ।

“यस विशेष अवसरमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्याय प्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा न्यायपालिका प्रतिबद्धता रहेको स्पष्ट गर्न चाहन्छु”, सन्देशमा उल्लेख छ । न्यायपालिकाले गरेको सुधारप्रति विश्वस्त हुन र सो कार्यमा आ–आफ्नो स्थानबाट सहयोग पुर्याउनसमेत सम्बद्ध सबैमा प्रधानन्यायाधीश श्रेष्ठले अपिल गर्नुभएको छ ।

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

न्यूयोर्क, ३ असोज : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

संविधानबाट समाज बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।संविधान दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रिय एकता र समाजवादोन्मुख अर्थव्यवस्थाका लागि संविधानले महत्त्वपूर्ण दिशा देखाएको बताउनुभएको हो ।

“हाम्रो संविधानले सबै प्रकारका सामाजिक विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “यसले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनालाई साकार बनाउन समाजवादोन्मुख अर्थतन्त्र निर्माणका लागि मार्गदर्शन गरेको छ ।”

समाजवादोन्मुख अर्थतन्त्रको लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा ऊर्जाशील युवाशक्तिसहित मानवीय संसाधनको दिगो सदुपयोग गर्नुपर्ने उहाँको भनाइ छ । संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

मुलुकको बृहत्तर हित र राष्ट्रिय विकासका लागि संविधान केबल साधनमात्र रहेको र त्यसको विवेकपूर्ण उपयोगमार्फत जनता र राष्ट्रको समग्र भलाई खोज्ने जिम्मेवारी राजनीतिक नेतृत्वको काँधमा रहेको भण्डारीको भनाइ छ ।

नेतृत्वले जनताको विश्वास आर्जन गर्न नसकेको अवस्थामा संविधानका सुन्दर अक्षरहरू निष्प्राण बन्न पुग्ने र जनताको विश्वाससमेत धर्मराउन थाल्ने उल्लेख गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले समाजमा देखिने आत्मकेन्द्रित प्रवृत्ति, भ्रष्टाचार, गलत आचरण र अनुचित कार्यहरूले जनताको बलिदानबाट निर्मित संविधान र राजनीतिक प्रणालीलाई कमजोर बनाउने बताउनुभएको छ ।

“सामाजिक सद्भाव र सहिष्णुता बिथोल्ने, नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने र राष्ट्रलाई कमजोर बनाउने अवाञ्छित प्रयाससमेत हुन सक्दछ । यस्ता संवेदनशील विषयमा गम्भीर चिन्तन र आत्मसमीक्षा गर्दै विगतका कमीकमजोरीमा सुधार गर्ने तथा आगामी दिनमा नयाँ कार्ययोजनासहित राष्ट्रलाई जनताको सपनासँग जोड्ने कार्यमा लाग्न हामी सबैलाई संविधान दिवसले अभिप्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु”, भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं बुधबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बांकी प्रदेशमा आंशिक बदली देखी सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको एक(दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

हेर्नुहोस् असोज ३ गते बुधवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – बाणीका कारण आफन्ंतंजंनंंंहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

बृष राशि – जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

मीथुन राशि – प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

कर्कट राशि – अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

सिंह राशि – पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

कन्या राशि – मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

तुला राशि – कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

बृश्चिक राशि – पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

धनु राशि – मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

मकर राशि – अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

कुम्भ राशि- मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

मिन राशि – सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।

कित्ताकाट खुलेपछि चम्कियो घरजग्गा कारोबार

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै धिमा हुनेगरी कित्ताकाट रोकिएपछि ठप्पजस्तै रहेको घरजग्गा कारोबार भदौ महिनामा चम्केको हो ।

नेपाल राष्ट्र बैंकले असोजदेखि नै लागू हुनेगरी २ करोडसम्म घर निर्माण कर्जा दिने र ब्याजदर पनि स्थिर हुने जनाएपछि अब उप्रान्त भने घरजग्गा कारोबार चम्किने लक्षण झनै बढेको छ । बैंकहरूले घरजग्गा कर्जामा कडाइ गरेपछि निर्माण व्यापारसमेत शिथिल रहेकामा अब भने घर निर्माण बढ्न गई समग्र अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न थालिएको छ ।भू–उपयोग नियमावली गत ३० साउनमा मन्त्रिपरिषद्ले पारित गरेसँगै कित्ताकाट नहुने समस्यामा कमी आएको, अंशबन्डा गर्दा न्यूनतम् यति जग्गा हुनैपर्छ भन्ने समस्या नभएको र मोही बाँडफाँटको पनि कित्ताकाट नरोकिएको हुँदा कित्ताकाट बढेर सरकारले राजस्वसमेत बढाएको छ ।गत वर्षको २३ मंसिरदेखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेपछि रोकिएको घरजग्गा कारोबार गत भदौबाट चलायमान हुन थालेको हो । यो समाचार राजधानी दैनिकमा छ ।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि फतिमाको भेट

न्यूयोर्क, ३ असोज : संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रसङ्घीय उच्च प्रतिनिधि रवाव फतिमाले भेट गर्नुभएको छ ।

मङ्गलबार राष्ट्रसङ्घका लागि अतिकम विकसित देशहरू तथा भुपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो ।न्यूयोर्कस्थित नेपालको स्थायी नियोगले दिएको जानकारीअनुसार भेटका अवसरमा दुबैबीच सामूहिक चासोका विभिन्न विषय र अल्पविकसित देशहरूको चासोलाई बहुपक्षीय फोरममा कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

बुबाका अधुरा सपना पूरा गर्न लाग्नेछु : स्व नेम्वाङका छोरा सुहाङ

मङ्गलबारे- स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफू लागि पर्ने बताउनुभएको छ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको आयोजना तथा एमाले इलामको संयोजनमा गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उहाँले बुबाका अधुरा सपना पूरा गर्न लागि पर्ने बताउनुभयो । बुबाको निधनले इलाम मात्र नभई सिङ्गो मुलुक नै शोकमा परेको उल्लेख गर्दै उहाँले सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गरेको, पार्टीले तीन दिनसम्म शोकसहित आधा झण्डा झुकाएर बुबाप्रति सम्मान व्यक्त गरेको उहाँको भनाइ छ ।

इलामेली जनताको मायाका कारण संसद्मा पुगेर जनताको आवाज बोलेका कारण पनि सधैँ इलामेलीको मस्तिष्कमा रही रहने उहाँको भनाइ थियो । आफ्ना बुबाले सधैँ निष्ठावान् राजनीति गर्नुभएको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत

धनुषा- राष्ट्रपति रामचन्द्र पौडेलको यही असोज ८ गतेका लागि तय भएको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दन कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै दल सहमत भएका छन् ।जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा  भएको सर्वदलीय सर्वपक्षीय बैठकले राष्ट्रपतिका रूपमा पहिलो पटक जनकपुरधाम आउन लाग्नुभएका पौडेलको भ्रमणलाई व्यवस्थित बनाउनुका साथै नागरिक अभिनन्दनलाई भव्यरूपमा सफल पार्न सबै दल सहमत भएको उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो ।

उहाँले सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यसहितको मूल समिति र अन्य उपसमितिहरू बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि नागरिक अभिनन्दनको तयारी गर्ने निर्णयसमेत गरिएको बताउनुभयो ।

“जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि कार्यक्रमस्थलसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आआफ्नो कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ”, नगरप्रमुख साहले भन्नुभयो ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लाग्नुभएका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताउनुभयो ।

बैठकमा प्रतिनिधिसभा सांसद निधि, जुलीकुमारी महतो (एमाले), सांसद रामकृष्ण यादवसहित जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललगायत राजनीतिक दलका प्रदेश तथा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

सभापति देउवाद्धारा संविधान दिवसको शुभकामना

काठमाडौँ, ३ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको उल्लेख गर्नुभएको छ ।

संविधान दिवसको शुभकामना व्यक्त गर्दै उहाँले संविधानसभामार्फत निर्माण भएको संविधानले लोकतन्त्रको जग बलियो बनाउँदै अमनचयन र शान्ति स्थापना गर्न सफलता हासिल गरेको बताउनुभएको छ । साथै उहाँले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा बाँधेको उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले ऐतिहासिक जननिर्वाचित संविधानसभामार्फत संविधान निर्माण भई जारी भएको आज आठ वर्ष पूरा भएर नौ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यो अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन सम्पन्न भई तीनै तहले दोस्रो कार्यकालका रुपमा काम गरिरहेका बताउनुभएको छ ।

“नयाँ संविधानअनुसार विभिन्न ऐन÷कानुन निर्माण सम्पन्न भई संविधान पूर्ण कार्यान्वयनतर्फ अघि बढेको छ । नयाँ संविधानअनुसारको स्थानीय, प्रदेश र केन्द्र तीनै तहका सरकार जनताको अपेक्षाअनुसारको काम गर्न अग्रसर देखिएका छन्”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नभएको छ ।

संवैधानिक अभ्यासमा भएका कमीकमजोरी सच्याउँदै संविधानको व्यावहारिक कार्यान्वयनमा विशेष ध्यान दिएर अघि बढ्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गर्दै सभापति देउवाले सबै राजनीतिक दल, नागरिक समाज, निजीक्षेत्र र विभिन्न पेशाकर्मीको सामूहिक प्रयत्नबाट अब मुलुकलाई समुन्नत देशका रुपमा अघि बढाउनुपर्ने दायित्व सबैको काँधमा आएको बताउनुभएको छ ।

विसं २००७ देखि सुरु भएको विभिन्न चरणका राजनीतिक सङ्घर्ष र प्रातः स्मरणीय सहिदको बलिदानको उपलब्धिका रुपमा संविधान सभामार्फत संविधान जारी भएको बताउँदै उहाँले संविधानको सफल कार्यान्वयन गरेर जनतालाई न्याय, सुशासन, समानता, सुख एवं समृद्धिसहितको समुन्नत मुलुक बनाउन सबैले एकआपसमा हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

सभापति देउवाले मुलुकलाई केही वर्षमा नै समुन्नत मुलुकका रुपमा अघि बढाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने भएको बताउँदै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा समुन्नत मुलुक बनाउने अभियानमा सबैलाई एकताबद्ध भएर सहभागी हुन अनुरोध गर्नुभएको छ ।

उहाँले संविधान दिवसका अवसरमा विगतका हरेक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाइ गरेका अग्रज नेता, विभिन्न आन्दोलनका क्रममा ज्यानको आहुति दिने सहिद, हरेक आन्दोलनमा साथ सहयोग गर्ने नागरिकलगायत सबैप्रति उच्च सम्मान प्रकट गर्दै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौँ, ३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताउनुभएको छ ।राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्नुहुने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गर्नुभएको छ ।“वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।उहाँले सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन सकेन भने जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उल्लेख गर्नुभएको छ । उक्त लक्ष्य हासिल गर्न प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै कृषिको आधुनिकीकरणसहित उद्यमशीलताको विकासमार्फत उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गर्नुभएको छ ।शुभकामना सन्देशमा भनिएको छ, “राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु ।”राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान गर्दै दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उहाँले वर्तमान सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको बताउनुभएको छ ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै लगेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा आवश्यक पर्ने कानून निर्माणदेखि भएका कानूनको परिपालनामार्फत जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने अभियानको थालनी गरिएको बताउनुभयो । “प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो”, उहाँले भन्नुभयो ।संविधानसभाबाट संविधान निर्माण हुनु नेपालमा ऐतिहासिक परिघटना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दशवर्षे जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम आन्दोलनको योगफलका रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको बताउनुभयो । “आफैँबाट निर्वाचित प्रतिनिधिबाट तर्जुमा भएको संविधानबाट मात्र शासित हुने नेपाली जनताको सात दशक लामो चाहना यसै संविधानमार्फत पूरा भएको छ”, उहाँले भन्नुभएको छ, “संविधानले नागरिक तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि सुनिश्चित गरेको छ ।”संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरूको जगमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय र समृद्धि प्राप्तिका लागि मार्गप्रशस्त गरेको उहाँको भनाइ छ ।राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले बेपत्ता, घाइते, अपाङ्गता भएका योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित आदिवासी जनजातिलगायत विभिन्न समुदायका सङ्घर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्नुभएको छ ।उहाँले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सहिदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा सहिदले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न सबैलाई प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ ।

आज संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, ३ असोज : संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ ।नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो ।सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।

संविधानको रक्षा र सार्थक कार्यान्वयनको पक्षमा काम गर्नुपर्छ : उपाध्यक्ष पौडेल

सुदूरपश्चिम, २ असोज : नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । संविधानसभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले स्व सुवासको नेतृत्वदायी भूमिकाकै कारण जारी हुन सफल भएको यो संविधानको रक्षा र सार्थक कार्यान्वयनको जिम्मेवारी पनि हाम्रै काँधमा आएको बताउनुभयो ।

 दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो संविधान निर्माणमा स्व नेम्वाङले खेल्नुभएको भूमिका अतुलनीय छ ।” 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभएका सुवास आफ्नो कर्मका कारण सुवास छर्नमा सफलता पाउनुभएको व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो ।  नेपाली कांग्रेसका नेतासमेत रहेका शाहले संविधानको मर्मलाई गाउँ बस्तीमा हामीले पु¥याउन सकेका छौँ÷छैनौँ भन्नेमा सबैले गम्भीर हुने बेला आएको बताउँदै यसको पूर्णपालनातर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता खगराज भट्टले संविधानसभाका अध्यक्ष नेम्वाङको निधनले नेपाली राजनीतिमा एकता, सहमति, मेलमिलाप र सहकार्य गर्न सक्ने नेता गुमाउनुपरेको बताउनुभयो ।  एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवाहक अध्यक्ष लोकराज अवस्थीलगायतका वक्ताले संविधान निर्माणका बेला स्व नेम्वाङले खेल्नुभएको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।

संविधान निर्माणमा नेम्वाङको भूमिका भुल्न सकिँदैन : एमाले उपाध्यक्ष शाक्य

लेखनाथ, २ असोज : नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालको संविधान निर्माणदेखि जारी गर्दासम्म सुवास नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्पष्ट अडान, सिष्ट र अन्य पार्टीका नेतालाई समेत सन्तुलनमा राख्नसक्ने नेम्वाङको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभयो ।

सङ्घीय लोकतन्त्रलाई बलियो बनाउन लोकतन्त्रवादी पार्टी एकजुट भएर अगाडि बढ्न जरुरी भएको बताउँदै उपाध्यक्ष शाक्यले निषेधको राजनीतिले समाजवादको लक्ष्य प्राप्त गर्न नसकिने बताउनुभयो । “देश बनाउनका लागि लोकतान्त्रिक पार्टी एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन, हामीले बनाउन सकेनौँ भने देशमा अस्थीरता पैदा हुन्छ,” उहाँले भन्नुभयो ।

प्रदेश कानुन र संविधान कार्यान्वयनका साझा मुद्दा समाधान गर्न निषेधको राजनीतिले अवरोध सिर्जना गर्ने भनाइ उहाँको छ । त्यस्तै एमाले सचिव गोकर्ण विष्टले धैर्यवान, सोचविचार गरेर बोेल्ने, शान्त स्वभाव र विद्वान सुवासचन्द्र नेम्वाङको निधनले पार्टीलाई अतुलनीय क्षति मात्र हैन, उहाँजस्तो नेता पाउन मुस्किल पर्ने बताउनुभयो ।

सबै पार्टीलाई मिलाएर अन्तिम अवस्थामा संविधान जारी गरेर नेपाली जनताको लोकतान्त्रिक आन्दोलनलाई सफल पार्ने नेम्वाङको बाटो एमालले अगाल्नुपर्नेमा उहाँको जोड थियो । एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको अवस्थामा लोकतान्त्रिक पार्टीहरु एकजुट भएर गणतन्त्रलाई बलियो बनाउनेपर्ने भनाइ राख्नुभयो । पछिल्लो समय राजावादीको नाउँमा राप्रपाले लोकतन्त्रमाथि आक्रमण गरेको आरोप पनि उहाँको थियो ।

एमालेका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले देशविदेशबाट दबाब सिर्जना भइरहँदासमेत अन्तिम घडीमा संविधान जारी गरेर नेपाली जनताको भविष्य उज्वल पार्ने नेता सुवासचन्द्र नेम्वाङलाई सधैँभरि सम्झनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

मनहरी, २ असोज : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक निकायमा हुने मनपरी शुल्क बन्द गर्ने बताउनुभएको छ । आज राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षा क्षेत्रमा मनपरी शुल्क भएकाले अब प्रदेश सरकार आफैँले शुल्क निर्धारण गर्न लागेको बताउनुभयो । पढेपछि ऋण तिर्न विदेश जानुपर्ने बाध्यता धेरै विद्यार्थीको समस्या रहेकाले अब शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि प्रदेश सरकार लागिपर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले शिक्षा व्यापार नभई सेवाको भावनाले सञ्चालन हुनुपर्ने आफूहरुको जोड रहेको बताउनुभयो । बागमती प्रदेश सरकार शिक्षा नीति ल्याउने तयारीमा रहेको भन्दै उहाँले यसका लागि नीतिगत सुझावको अपेक्षामा रहेको बताउनुभयो ।

बागमती प्रदेशमा शिक्षा क्षेत्रमा उल्लेख्य काम भए पनि धेरै कुराहरुको अभाव रहेको मुख्यमन्त्री जम्कट्टेलले स्वीकार्नुभयो । “मलाई थाहा छ शिक्षा क्षेत्रमा समस्या धेरै छन्, पाठयक्रमका समस्यादेखि शिक्षामा देखिएको अन्तरविरोध भनि साध्य छैन,” उहाँले भन्नुभयो । मुख्यमन्त्री जम्कट्टेलले विशेषतः स्वास्थ्य क्षेत्र र प्राविधिक क्षेत्रको शिक्षा निकै महँगो हुँदै गएकोप्रति आफूले नजिकबाट बुझेको र यसलाई छिटै समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा २०७९ सालमा बागमती प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा उच्च जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयलाई प्रोत्सान गर्न नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । जसअनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल मेघा मावि भक्तपुर नगरपालिकालाई नगद रु एक लाखसहित सम्मान गरिएको थियो । यस्तै दोस्रो हुन सफल पृथ्वी मावि विदुर नुवाकोटलाई नगद रु ८० हजार, तृतीय हुन सफल श्रम राष्ट्रिय मावि काठमाडौँलाई रु ६० हजार, चौथो हुन सफल पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौँलाई रु ४० हजार र पाँचौँ हुन सफल बलम्बु मावि चन्द्रगिरि नगरपालिका काठमाडौँलाई रु ३० हजारसहित सम्मान गरिएको थियो ।

यस्तै संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी, बूढानीलकण्ठ नगरपालिकालाई नगद रु एक लाख, द्वितीय हुन सफल हिज किड्स इन्टरनेशनल स्कुल, काठमाडौँ महानगरपालिकालाई रु ८० हजार र तृतीय हुन सफल फ्लोरोसेन्ट माध्यमिक विद्यालय, टोखा नगरपालिकालाई रु ६० हजारसहित सम्मान गरिएको थियो ।

विसं २०७९ को माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट एक हजार तीन सय ६२ सामुदायिक विद्यालय र एक हजार पाँच सय ४८ संस्थागत विद्यालय गरी जम्मा दुई हजार नौ सय १० विद्यालयको सहभागिता थियो । सामाजिक विकासमन्त्री कुमारी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव डा भीष्मकुमार भुसाल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिलगायतको सहभागिता थियो ।

मनाइयो सूर्यविनायक गणेश जन्मोत्सव जात्रा

भक्तपुर, २ असोज : गणेश जन्मोत्सवका अवसरमा सूर्यविनायक गणेश मन्दिरबाट आज गणेश जन्मोत्सव जात्रा एवं गणेश रथ यात्रा गरी टोलटोलमा गणेशको मूर्ति विराजमान खटलाई टोलटोलमा परिक्रामा गराई मनाइएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवका अवसरमा आज सूर्यविनायक नगरपालिका–६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई सुरु भएको गणेश जन्मोत्सव जात्रा साँझ सम्पन्न भएको हो ।

सूर्यविनायक क्षेत्र प्रबन्ध समिति र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात् इनरे गणेद्यो खट जात्रा बिहान गणेश मन्दिरबाट सुरु भई दिनभर टोलटोलमा परिक्रमा गराई साँझ सम्पन्न हुने सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पुर्खाले मनाउँदै आएको गणेश जन्मोत्सव जात्रा आर्थिक स्रोत नहुँदा वर्षौंदेखि रोकिएको थियो, विगत चार वर्षदेखि सुरु भएको यो जात्रा यस वर्ष पनि हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोल पुर्‍याएर हर्षोल्लासका साथ मनाइएको छ । यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौँ ।”

गत वर्ष जात्रा मनाउन नगरपालिकाको वडा नं ६ र ८ ले तीन तीन लाख गरी छ लाख रुपैयाँको बजेटको व्यवस्थापन गरेको छ । जात्रा दुईवटै वडाका केही भागको परिक्रमा गर्ने परम्परा रहेको छ भने जात्रा सञ्चालन र मन्दिरको संरक्षण गर्ने गुठी पनि दुईवटै वडाका क्षेत्रमा रहेको छ । त्यसैले पुरातात्विक, ऐतिहासिक र धार्मिक महत्त्वको सो मन्दिरको जात्रा व्यवस्थापनका लागि ती दुईवटै वडाले बजेट विनियोजन गरेको हो ।

गणेश चतुर्थीका दिन परापूर्वकालदेखि मनाउँदै आएको सूर्यविनायक गणेश (इनरे गणेद्यो) को लोपोन्मुख जात्रालाई बर्सेनि निरन्तरता दिइने सूर्यविनायक युवाक्लबका अध्यक्ष मनोज गिरीले बताउनुभयो ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहण गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनःमन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिने परम्परा छ ।

खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत् पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गीर टोलटोलमा परिक्रमा गराएको वडा नं ७ का वडाध्यक्ष एवं सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।

गणेशलाई रथारोहण गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनुभयो । जात्रामा यस वर्ष गत वर्षभन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएका छन् ।

काठमाडौँ उपत्यकाका चार प्रमुख विनायकमध्येको एक सूर्यविनायकलाई स्थानीयले इनरे गणेद्यो भनिन्छ । समितिअनुसार यस गणेशको मुख्य मूर्तिलाई वर्षको दुईपटक मात्र सार्वजनिक गरी पूजा गर्ने प्रचलन रहेको छ । गणेश चतुर्थीका दिन जात्राका लागि सार्वजनिक गरिने मूर्तिलाई बिस्काः (बिस्केट) जात्राको अवसरमा वैशाख ३ गते भक्तपुर नगरको तालक्वःमा लैजान र त्यहाँ वैशाख ४ गते हुने द्यो स्वंगः (सगुन) जात्राका क्रममा पूजा थाप्न सार्वजनिक गर्ने परम्परा रहेको छ ।

मनास्लु आरोहणमा सर्वाधिक आरोही

काठमाडौँ, २ असोज : यस वर्षको शरद ऋतुमा मनास्लु (आठ हजार १६३ मिटर) हिमाल आरोहणका लागि सर्वाधिक सङ्ख्यामा आरोही आएका छन् ।पर्यटन विभागका अनुसार यो याममा मनास्लु आरोहणका लागि २६ आरोही समूहका ६५ महिलासहित कूल तीन सय एक आरोहीले आरोहण अनुमति लिएका हुन् । यो याममा मनास्लु हिमालसहित विभिन्न १० वटा हिमाल तथा चुली आरोहणका लागि ३५ आरोही समूहका कूल तीन सयन ३९ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

विभागका निर्देशक राकेश गुरुङले मनास्लु आरोहणमा उल्लेख्य सङ्ख्यामा आरोही आएको र भदौ ३१ गते आइतबारदेखि धमाधम आरोहण भइरहेको जानकारी दिनुभयो । निर्देशक गुरुङका अनुसार यो यामको पहिलो आरोहणका रुपमा कीर्तिमानी आरोही निर्मल पुर्जाको टिमले आइतबार मनास्लु आरोहण गरेको थियो । योसहित अन्य तीन टिमले मनास्लु आरोहण गरेका छन् । अहिले धेरै आरोही आरोहणका क्रममा छन् । विभागले हिमाल आरोहण अनुमति दिने कार्य पनि जारी राखेको छ ।

मनास्लु हिमाल विश्वको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । शरद ऋतु मनास्लु आरोहणका लागि उपयुक्त मौसम भएकाले पनि प्रत्येक वर्ष यो सिजनमा आरोहण गर्न उल्लेख्य सङ्ख्यामा आरोही आउने गरेका छन् ।

सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लुको सफल आरोहण गर्नुभएको थियो । त्यसको दुई दिन अर्थात् मे ११ मा जापानिज नोर्बु हिगेता र किचिरो कातोले मनास्लु आरोहण गरेको रेकर्ड छ । सन् १९५६ मे १८ मा स्वीस नागरिक आन्स रेज र रिट्ज लुचिसिङ्गरले मनास्लु आरोहण गरेका थिए ।

तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ एक हजार एक सय मिटर लामो सुरुङ निर्माण

तनहुँ, २ असोज : जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहतर्फ एक हजार एक सय मिटर लामो सुरुङ निर्माण गरिएको छ । कूल एक हजार चार सय ५६ मिटर सुरुङमध्ये अब तीन सय ५६ मिटर दूरी खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । निर्माणाधीन आयोजनाको समग्र भौतिक प्रगतितर्फ ४३ प्रतिशत काम सम्पन्न भइसकेको तनहुँ जलविद्युत् लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध निर्माण कार्यको २५ प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा सम्झौता गरेको थियो । प्याकेज–२ अन्तर्गत १, २ र ३ को विद्युत् गृह जाने सुरुङको सबै कार्य सम्पन्न भइसकेको छ । यस प्याकेजअन्तर्गत ६९ वटा विद्युत् टावरको जग राख्ने कार्य भइरहेको छ । वन नीतिका कारण अहिले विद्युत् टावर निर्माणमा समस्या भएको छ । उक्त प्याकेजको ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो । 

कूल ३४ दशमलव सात किलोमिटर प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । हालसम्म करिब एक किलोमिटर प्रसारण लाइन जडान गरिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको सन् २०२२ मे सम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ भएका कारण सन २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । 

त्यसैगरी, आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।  विसं २०७५ असोज १५ गते रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा सम्झौता भएको थियो थियो । सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत् गृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । विद्युत् गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि सुरु भएको हो । 

त्यसैगरी प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण भइरहेको छ । उक्त प्याकेजको कामका लागि केइसीसँग सन् २०१८ डिसेम्बर २५ मा सम्झौता भएको थियो । उक्त प्याकेजको ६९ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।  

सेनाको लिगल सेमिनार–२०८० सम्पन्न

काठमाडौँ, २ असोज : नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को आज प्रधानसेनापति प्रभुराम शर्माले समापन गर्नुभएको छ । नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको सेमिनारको बलाध्यक्ष रथी सीताराम खड्काले शुभारम्भ गर्नुभएको थियो ।

तीन दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्वन्यायाधीश, सेना प्राड विवाकका पूर्वप्रमुखलगायतका विषय विज्ञहरुबाट सम्बद्ध विषयमा प्रस्तुतीकरण भएको थियो । आज आयोजित समापन समारोहमा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले कानुन अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिनुभएको थियो ।

समापनमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

छत्तीस न्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौँ, २ असोज : न्यायपरिषद्को आजको बैठकले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको होे । बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकाल्नुभएको थियो । साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो । –––

ऋषेश्वर महादेवमा सप्तऋषिको पूजाआराधनामा सहभागी भए महिला

काठमाडौँ, २ असोज : काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा हरितालिका तीजमा व्रत बसेका महिलाले विशेषगरी पञ्चमीको दिन विधिपूर्वक स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा आराधना गरेका छन् ।

विसं २००१ देखि सप्तऋषिको दिन औपचारिकरुपमा मेला सञ्चालनमा हुँदै आएकामा राणाशासन, पञ्चायतकालदेखि नै व्यवस्थितरुपमा सञ्चालन हुदै आएको छ । विगतका केही वर्ष अगाडि भक्तजनको लाइन बल्खु चोकसम्म पुग्ने गरेकामा यसपटक थप व्यवस्थित गरिएकाले धेरै समयसम्म लाममा बस्न नपरेको दर्शनार्थी बताएका छन् ।

महानगरपालिकाको संयोजकत्वमा पुजारी समिति, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतका सङ्घसंस्थाको प्रतिनिधित्वबाट ऋषेश्वर महादेव मन्दिर मेला व्यवस्थापन समितिबाट भक्तजनलाई खाना, स्वास्थ्य शिविरलगायतका सेवासुविधा प्रदान गर्दै आएको छ । महानगरपालिकाबाट परिचालित मेला लक्षित नाचगानलगायतका कार्यक्रमको खर्च महानरपालिकाले नै व्यवस्थापन गर्दै आएको छ ।

तीन सदस्य पुजारी समितिका मुख्य पुजारीका रुपमा रहनुभएका निरञ्जन पौडेलले महानगरपालिकाको सहयोगमा मेला व्यवस्थित गर्दै आएको बताउनुभयो । “ऋषेश्वर महादेव मन्दिर गुठीमा दर्ता छैन । त्यसकारण सरकारले खर्च व्यहोरेको छैन । पूजापर्व व्यवस्थापन गर्ने श्रीपञ्चमीको एक दिनको आम्दानी हो । अन्य व्यवस्थापन भने महानगरपालिकाको सहयोगमा व्यवस्थित गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

पुजारीको व्यवस्थापन कुनै सरकारी निकायबाट सहयोग भएको देखिँदैन । पुजारी, पूजास्थललगायतका सम्पूर्ण खर्च श्रीपञ्चमीको मेलाकोको अवसरबाट प्राप्त आम्दानीबाट सञ्चालन हुँदै आएको छ ।

मुख्य पुजारीका रुपमा रहनुभएका पौडेलले भक्तजन बढ्दै गए पनि व्यवस्थानमा कठिनाई नरहेको बताउनुभयो । “धार्मिक हिसाबले विगतका समयमाभन्दा भक्तजनको चाप बढ्दै गएको छ । व्यवस्थापनको हिसाबले महानगरपालिकाले विभिन्न स्वयंसेवक परिचालन गर्दा मेला व्यवस्थापन गर्न कठिनाइ छैन”, उहाँले बताउनुभयो, “मन्दिरका नाममा जग्गा छुट्याउनु यहाँको समस्या हो । परपम्परागतरुपमा चलिआएको पुजारीको हक, व्यवस्थापन सरकारले गर्न सक्नु राम्रो हो ।”

महानगरपालिकाले स्वंयंसेवक परिचालन गरी जुत्ताचप्पल व्यवस्थापन, माइकिङ, स्वास्थ्य शिविर, नाचगानलगायतका २२ भन्दा बढी कार्यक्रम सञ्चालन गरेको छ । आगामी कार्यदिशामा मन्दिर परिसर हरियाली बनाई नाचगान, पार्किङलगायतका मेला व्यवस्थापनलाई मजबुत बनाउने योजना रहेको मुख्य पुजारी पौडेलले बताउनुभयो ।

चिन्तामणि घाट सुधार समितिका अध्यक्ष ज्योति थापा मेलालाई व्यवस्थापन गर्न पूजारीको तर्फबाट सहयोग गर्दै आएको बताउनुभयो । भीड नियन्त्रण गरी भक्तजनलाई सहज वातावरण उपलब्ध गराउन स्वंयसेविकाको भूमिका निर्वाह गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

भैरव क्लबको अध्यक्ष राजु महर्जनले २०३४ सालदेखि नै ऋषेश्वर महादेव मन्दिर मेलालाई व्यवस्थित गराउन भक्तजनको जुत्ताचप्पलको व्यवस्थापनको गर्दै आएको बताउनुभयो । सानेपाबाट रश्मीरञ्जित बस्नेतले विगतका तुलनामा श्रीपञ्चमीको दिन मन्दिरको दर्शन गर्न सहज भएको बताउनुभयो । “विगतमा चार घण्टासम्म लाइनमा बस्नुपथ्र्यो । अहिले लामोसमयसम्म लाइनमा बस्नुपरेन । विगतमा भन्दा व्यवस्थित भएका कारण सहज भए”, उहाँले भन्नुभयो ।

न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध

काठमाडौँ, २ असोज : नेपाल बार एशोसिएसनले न्यायपरिषद् नियमावलीमा भएको संशोधनप्रति विरोध जनाएको छ ।बारले न्यायपरिषद् नियमावली, २०७४ को (पहिलो संशोधन, २०८०) ले न्यायाधीशको मर्यादाक्रम हेरफेर गर्ने यही असोज १ मा राजपत्रमा प्रकाशित न्यायपरिषद्को सूचनाप्रति विरोध जनाएको हो ।

बारको आकस्मिक बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त संशोधनले न्याय सेवाको मुख्य रजिष्ट्रारको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएको व्यक्तिको हकमा मुख्य न्यायाधीशपछिको रोल क्रममा राख्ने उल्लेख भएको विषय खारेज गर्न माग गरिएको छ ।

त्यस्तै, न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा कार्यरत रही उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्तिको हकमा विशिष्ट श्रेणीको पदमा नियुक्ति भएको मितिभन्दा पछि उच्च अदालतको न्यायाधीशको पदमा नियुक्ति भएका व्यक्तिभन्दा अगाडिको रोल क्रमका आधारमा वरिष्ठता कायम गरिने भनिएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले संशोधन गरिएको व्यवस्थाले व्यवस्थाले सँगै सिफारिस भए पनि उनीहरु बरियतामा माथि पर्ने र कानुन व्यवसायबाट गएकाहरु पछि पर्ने बताउनुभयो ।

नेपालको संविधानको धारा १४१ (३) र प्रचलित कानुनसँग प्रत्यक्षरुपमा बाझिन गएको बारको ठहर छ । उक्त संशोधनले न्यायाधीश नियुक्तिसम्बन्धी रोल क्रमको संशोधित व्यवस्था संविधान, कानुन र न्यायका मान्य सिद्धान्तविपरीत भएकोले सच्याउन माग गरेको छ ।

“यो संशोधन नेपाल बार एशोसिएसनलाई किमार्थ स्वीकार्य छैन, यसका अतिरिक्त यो संशोधन पश्चागामी, विभेदपूर्ण, पूर्वाग्रही रहेको यस एशोसिएसनको ठम्याइ छ”, बारका अध्यक्ष घिमिरे र महासचिव अन्जिता खनालले संयुक्तरुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उक्त संशोधन अविलम्ब खारेज गर्न र सो संशोधनका आधारमा साविकका न्यायाधीशहरुको मर्यादाको रोलक्रमको प्रावधानमा कुनै कुरा फेरबदल नगर्न पनि बारले माग गरेको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ, २ असोज : कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।

आज रक्षा मन्त्रालयमा भएको भेटवार्ताका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले नेपाल र चीनबीच सदियौँ पुरानो दुईपक्षीय सुमधुर सम्बन्ध रहेको उल्लेख गनुहुँदै एक चीन नीतिप्रति नेपाल सधैँ प्रतिबद्ध रहेको र नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

नेपालको आर्थिक एवं पूर्वाधार विकासमा चीनले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । साथै, उहाँले प्रधानमन्त्रीको आगामी साता हुने चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा राजदूत छेन सोङले प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभयो । साथै दुई देशबीच उच्चस्तरीय भ्रमण निरन्तर हुनुपर्ने कुरामा जोड दिँदै चीनको लिन्ज्ही सहरमा आगामी अक्टोबरमा आयोजना हुने ‘द थर्ड ट्रान्स हिमालयन फोरम फर इन्टरनेशनल कोअपरेसन’ कार्यक्रममा रक्षामन्त्रीको सहभागिताका लागि चिनियाँ परराष्ट्र मन्त्रालयको तर्फबाट पठाएको निमन्त्रणासमेत हस्तान्तरण गर्नुभयो ।

सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, २ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री शर्मासँग नेपाल भ्रमणमा रहेको सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यान नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको हो ।

भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा महत्त्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रका रूपमा विकास हुँदै गएको पनि बताउनुभयो । राज्यस्तर र जनस्तर दुवै क्षेत्रमा नेपाल र चीनबीचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उहाँले बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने मन्त्री शर्माले स्पष्ट गर्नुभयो ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप उचाइमा उठेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदानप्रदान अझ बढेर जाने विश्वास व्यक्त गर्नुभयो । चीनले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उहाँले चिनियाँ कम्पनीले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको समेत बताउनुभयो ।

सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबीच सहायता आदानप्रदान बढाउनुपर्ने मन्त्री शर्माले बताउनुभयो । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उहाँले बताउनुभयो ।

नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरूले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्द्धनको काम गरिरहेको बताउनुभयो । अहिले केही पुराना कानूनको संशोधन र नयाँ कानून निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उहाँले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सवलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताउनुभयो ।

सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यानले नेपाल र चीनबीचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबीच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताउनुभयो । उहाँले आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण सम्भावना रहेको बताउनुभयो ।

जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउनसके विकासमा योगदान पुग्ने उहाँले बताउनुभयो । प्रचार विकासको राम्रो माध्यम भएको औँल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरू इच्छुक रहेको बताउनुभयो ।

युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वव्यापीरूपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उहाँले बताउनुभयो । भेटमा दुवैपक्षका अधिकारीहरूको सहभागिता थियो ।

युक्रेनी नागरिकलाई सन् २०२५ सम्म शरण दिने ईयूको प्रस्ताव

ब्रसेल्स – युरोपेली सङ्घ (ईयू) को कार्यकारी निकायले युक्रेनबाट आएका शरणार्थीको युरोपेली सङ्घमा रहन पाउने अधिकारलाई एक वर्ष बढाएर सन् २०२५ को मार्चसम्म लम्ब्याउने प्रस्ताव गरेको छ ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा युद्ध सुरू भएको केही दिनपछि युरोपेली सङ्घले आफ्नो अस्थायी सुरक्षा निर्देशन जारी गरेको थियो ।युरोपेली आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसले ४० लाखभन्दा बढी व्यक्तिलाई सुरक्षा प्रदान गर्ने निश्चितता र समर्थन प्रदान गर्नेछ ।”

मस्कोले युक्रेनमा नागरिक पूर्वाधारमा आक्रमण सुरु गरेसँगै रूसले आफ्नो पश्चिमा समर्थक छिमेकीविरुद्धको युद्ध करिब १९ महिनादेखि कम हुने कुनै सङ्केत देखेको छैन । प्रारम्भिक उपाय मार्च २०२४ सम्म चल्ने तय गरिएको थियो ।

आयोगले शरणार्थीहरूको सुरक्षित र दिगो फिर्तीका लागि अझै अनुकूल नभएको वर्तमान, अस्थिर परिस्थितिको आवश्यक र उपयुक्त प्रतिक्रियाको रूपमा यसलाई लम्ब्याउनुपर्ने बताएको छ ।

यो उपायले ईयूमा रहेका युक्रेनीहरूलाई रोजगार बजार, चिकित्सा हेरचाह र शिक्षामा पहुँच प्रदान गर्दछ । यो प्रस्तावलाई अब इयूका सबै २७ देशले अनुमोदन गर्नुपर्नेछ । त्यहाँ कुनै ठूलो विरोध हुने अपेक्षा गरिएको छैन ।

गत वर्ष लाखौं युक्रेनी नागरिकको अचानक विस्थापनले दोस्रो विश्वयुद्धपछि युरोपले सामना गरिरहेको सबैभन्दा तीव्र गतिमा बढिरहेको शरणार्थी सङ्कटको प्रतिनिधित्व गरेको थियो ।

गणेश चतुर्थीको साइत पारेर भारतीय सांसदहरू नयाँ संसद् भवनमा

नयाँदिल्ली – गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसद्बाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् ।

बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन् । नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्नसक्नेछ । उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको थियो । विपक्षी दलका सांसदले उक्त समारोह वहिष्कार गरेका थिए ।

सभामुखले आजका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । यसै मेसोमा नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन् । आज भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेश गरिएको थियो ।

निश्चित आवश्यकताबिना एमालेलाई संविधान संशोधन स्वीकार्य हुँदैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

जनकपुर, २ असोज : नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान निर्माणमा कमरेड सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीमा उपाध्यक्ष पोखरेलले संविधान संशोधनको आवश्यकता पुष्टि भए एमालेले त्यसमा सहयोग गर्ने स्पष्ट पार्नुभयो । “संविधान संशोधन हुन्छ तर त्यसको आवश्यकता पहिचान र औचित्य पुष्टि हुनुप¥यो”, पोखरेलले भन्नुभयो, “तर आवश्यकता र आधारबिना देशलाई क्षति हुने संविधान संशोधनको कुरा नेकपा एमालेलाई स्वीकार्य हुँदैन । त्यसको पक्षमा पार्टी छैन ।”

त्यसैगरी उहाँले प्रदेश र स्थानीय तहको अधिकारका सवालमा नमिलेका कुरा मिलाउन भने संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनुभयो । संविधानसभा अध्यक्ष स्व नेम्वाङले नेपाली राजनीति र संविधान निर्माणमा खेलेको भूमिकाबारे जति चर्चा गरे पनि अपूरो हुने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा छ सय एक जनप्रतिनिधि र भिन्न पृष्ठभूमिका राजनीतिक दललाई मिलाएर संविधान जारी गर्न नेम्वाङको अतुलनीय योगदान रहेको स्मरण गर्नुभयो ।

“देशलाई अनिश्चितताको भूमरीबाट जोगाउन स्व नेम्वाङले खेलेको भूमिकाकै कारण नेपालमा गणतान्त्रिक नेपालको संविधान जारी भएको हो । नब्बे प्रतिशतभन्दा बढी संविधानसभा सदस्यलाई सहमतिमा ल्याएर संविधान निर्माणलाई अन्तिम रूप दिनुभएका नेम्वाङको निधनले नेपाली राजनीति र हाम्रो पार्टीलाई अपुरणीय क्षति भएको छ”, पोखरेलले भन्नुभयो ।

कार्यक्रममा पार्टी सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले स्व नेता नेम्वाङले विभिन्न पृष्ठभूमिका राजनीतिक दललाई सहमतिमा ल्याउन र संविधान जारी गर्न नदिने षड्यन्त्र परास्त गर्न खेलेको भूमिका सधैँ स्मरणीय रहेको बताउनुभयो ।

घोषणामै सीमित क्रिकेट रङ्गशाला

गण्डकी, २ असोज : एसिया कप खेलेर स्वदेश फर्कने क्रममा हालै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भन्नुभएको थियो, “अब ‘हाई टाइम’ भइसक्यो, सरकारले क्रिकेटको इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ ।” खेलाडीका बलमा नेपाली क्रिकेट जति अगाडि छ, पूर्वाधारमा उति नै पछाडि ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले मान्यता दिएको त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’समेत नहुनुले नेपालको खेल पूर्वाधार कतिसम्म कमजोर छ भन्ने देखाउँछ । क्रिकेटमा राज्यको लगानी र प्राथमिकताबारे बहस उठिरहँदा गण्डकी प्रदेश सरकारको क्रिकेट रङ्गशाला बनाउने योजना पनि घोषणामै सीमित बन्न पुगेको छ ।

पोखरा महानगरपालिका–३३ पशुपतिघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माणको पहल विसं २०७१ देखि नै सुरु भएको थियो । प्रदेश सरकार बनेपछि त्यसलाई प्रदेश गौरवको आयोजनाका रुपमा समेटियो । लाखौँ खर्चेर रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारियो ।

तर, रङ्गशाला निर्माणको काम सुरु हुन सकेन । रेखदेख र संरक्षण नहुँदा रङ्गशालाको जग्गा नदी कटानको जोखिममा परेको छ । पशुपतिघाटमा रङ्गशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार नयाँ जग्गाको खोजीमा लागेको छ ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले पशुपतिघाटमा रङ्गशालाको योजना दिगो हुने नदेखिएपछि निर्माणको काम अगाडि नबढेको बताउनुभयो । “सेती नदीले जग्गा कटान गरिरहेको छ, अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला बनाउने ठाउँ जोखिमपूर्ण देखियो”, उहाँले भन्नुभयो, “अन्यत्र ठाउँमा जग्गाको खोजी भइरहेको छ ।”

चालु आवमा सो ठाउँमा रङ्गशाला निर्माणका लागि बजेट नछुट्टिएको उहाँले जानकारी दिनुभयो । गत आवमा जम्मा रु २० लाख विनियोजन भएकामा कामै नभई बजेट फिर्ता भएको थियो । नयाँ जग्गा प्राप्तिका लागि चालु आवमा रु ५० लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले पशुपतिघाटमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने योजनाबाट प्रदेश सरकार पछि हट्न खोजेको बताउनुभयो ।

“प्रदेश सरकारको लगानीमा क्रिकेट रङ्गशाला बनाउने घोषणा भएको हो, नीति, कार्यक्रमा पनि आयो, डिपिआर पनि बन्यो, तर अहिलेसम्म निर्माणको काम अगाडि बढ्न सकेन”, उहाँले भन्नुभयो, “रङ्गशालाका लागि स्थानीयवासीले दिएको जग्गा यत्तिकै बेवारिसे जस्तो बनेको छ, संरक्षण नहुँदा नदीले कटान गरिरहेको छ ।”

रङ्गशालाका लागि एक सय ७४ रोपनी जग्गा प्रदेश सरकारका नाममा भोगाधिकार आइसकेको अध्यक्ष सिग्देलले बताउनुभयो । “तटबन्धसहित जग्गा संरक्षण गर्ने हो भने पशुपतिघाटमै क्रिकेट मैदान बनाउन सम्भव छ, अन्यन्त्र निर्माण गर्ने भए पनि लगानीका लागि प्रदेश सरकार तयार रहनुपर्छ”, उहाँले भन्नुभयो, “पोखरा उपत्यकाभित्रै अर्को जग्गा व्यवस्थापन गर्न सकिन्छ ।”

क्रिकेटको गन्तव्य सहरका रुपमा विकास गर्न पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला चाहिने अध्यक्ष सिग्देलले बताउनुभयो । “पोखरा रङ्गशालामा भएको क्रिकेट मैदानलाई पनि स्तरोन्नति गर्नुपर्छ, अर्को वैकल्पिक रङ्गशाला पनि निर्माण भयो भने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “काठमाडौँले मात्र अब नेपालको क्रिकेटलाई धान्दैन, पोखरालगायत सम्भावना बोकेका सहरलाई क्रिकेट गन्तव्यका रुपमा विकास गर्नु जरुरी छ, सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्छ ।”

पशुपतिघाटमा निर्माण घोषणा गरिएको क्रिकेट रङ्गशालामा रु एक अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको थियो । विस्तृत परियोजना प्रतिवदेनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टि–२०, एक दिवसीय र टेस्ट म्याच खेल मिल्ने गरी पूर्वाधार तयार पारिने उल्लेख छ ।

रङ्गशालामा एक सय ३० भिभिआइपी सिट, एक हजार दुई भिआइपी र स्पेशल, नौ सय सिट क्षमताको खेलाडी कक्ष, एक सय क्षमताको मिडिया कक्ष बन्ने जनाइएको थियो । स्रोत जुटाएर तीन÷चार वर्षभित्रमै रङ्गशाला निर्माण गर्ने प्रदेश सरकारको योजना थियो । प्रदेश खेलकुद परिषद्का सूचना अधिकारी तोपलाल भुसालले रङ्गशालाका लागि नयाँ जग्गा खोजी र पहिचान गर्न समिति गठन गरिएको बताउनुभयो ।

“परिषद्ले जिल्ला तहमा सम्भावित जग्गाको खोजी गरिरहेको छ, जग्गा व्यवस्थापन भएपछि रङ्गशाला निर्माणको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “यसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रदेश नीति तथा योजना आयोगले पनि चासो लिएको छ ।”

रिजालको निधनले कांग्रेस र राष्ट्रलाई अपूरणीय क्षति : सभापति देउवा

काठमाडौँ, २ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।

स्व रिजालको १३औँ दिनको पुण्य तिथिमा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उहाँले स्व रिजालले वडाध्यक्षका रुपमा भए पनि राम्रो काम गर्नुभएको र ती कामको सधैँ स्मरण रहिरहने उल्लेख गर्नुभयो ।

सभापति देउवाले विद्यार्थी आन्दोलनबाट राजनीतिमा स्थापित जुझारु नेताका रुपमा परिचित स्व रिजालको वडाध्यक्षका रुपमा काम गर्दागर्दै असामयिक निधन भएको बताउनुभयो । सभापति देउवाले स्व रिजालले गर्न बाँकी रहेका काम कांग्रेस र सबै मिलेर पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।

रिजालका परिवारजनलाई पार्टीका तर्फबाट आवश्यक साथ र सहयोग रहने बताउँदै सभापति देउवाले परिवारजनमा समवेदना प्रकट गर्नुभयो । सभामा सहभागी कांग्रेसका नेताहरूले स्व रिजाललाई स्मरण गर्दै उहाँका अपूरा काम सम्पन्न गर्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गर्नुभयो । वडाध्यक्ष रिजालको उपचारका क्रममा गत भदौ २१ गते निधन भएको हो । विसं २०२७ कात्तिकमा जन्मनुभएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उहाँ प्रहरीको हिरासतमा रहनुभएको थियो । सरस्वती क्याम्पसमा अध्ययनरत रहँदा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका स्व रिजालले मानव अधिकारवादी सङ्घसंस्थामा समेत आबद्ध भएर कार्य गर्दै आउनुभएको थियो ।

संविधान संशोधन गर्न हतार गर्न हुन्न : अध्यक्ष ओली

काठमाडौँ, २ असोज : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत्काल संविधान संशोधन गरिहाल्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।

“गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित कुरा कुराबाट दबाब दिने प्रवृत्ति र अनेक खालका बेठीक उद्देश्य देखिएकाले तत्काल समुचित ढङ्गले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न फेरि गम्भीर रहेको छ । त्यसकारण यसका कुनै हतारो नै गरिहाल्नुपर्ने अवस्था आएको छैन”, उहाँले भन्नुभयो ।

उहाँले बडो दुःखले बलिदानपूर्ण लामो सङ्घर्षपछि हामीले आफैँले निर्माण गरेको संविधान सबैले मान्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले संविधान सर्व स्वीकार्य बनोस् भनेर दुई पटक संशोधन गरिसकेको भन्दै अहिले पनि व्यावहारिक बनाउनका लागि आवश्यकअनुसार संशोधन गर्न सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनका क्रममा देखापरेका, नमिल्दा खालका, व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषय परिवर्तन गर्दै लैजानुपर्दछ ।” संविधानको विरोध गर्ने र संविधानको समर्थन गरेपछि संशोधन हुन सक्दैन भन्ने दुवै कुरा ठीक नभएको उहाँले बताउनुभयो ।

आधारभूत गुणमा कतै खोट नभएको व्यक्ति सुवास नेम्वाङ रहेको भन्दै उहाँले अवसर र जिम्मेवारी पाउँदा सफलतापूर्वक काम गरेको उल्लेख गर्नुभयो । नेम्वाङले पुनःस्थापित प्रतिनिधिसभाको सभामुखको भूमिका असाधारण खेलेको भन्दै सोही संसद्ले थुपै्र युगान्तकारी निर्णय गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले संविधानमा निर्माणमा नेम्वाङको पदचिह्न, योगदान, दिशानिर्देशबारे पार्टीमा छलफल गर्ने बताउनुभयो । अध्यक्ष ओलीले सबै पार्टी मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने बताउनुभयो । “आज सबै पार्टी र पक्ष मिलेर देशको समस्या समाधान गर्न एकजुट हुनुपर्ने परिस्थिति आएको छ । नत्र भने धेरै प्रकारका खतराबाट हामी जेलिने छौँ”, उहाँले भन्नुभयो, “त्यसमा पनि प्रमुख राजनीतिक दलको कर्तव्य हो । साँच्चै देशप्रति प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्दछ ।”

प्रमुख राजनीतिक दलहरू जमानी बसेर धेरै आन्दोलन र बलिदान भएको उल्लेख गर्दै बलिदान प्राप्त उपलब्धिलाई गुम्न दिन नहुने उहाँको भनाइ छ । उहाँले आन्दोलन र बलिदानबाट प्राप्त भएको उपलब्धिको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभयो । देशको भूमि, सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा गर्न पनि एमाले प्रतिबद्ध रहेको बताउनुभयो ।

“देशको राष्ट्रिय हित खलबलिदिन नदिने भन्दै भावनात्मक रूपमा अरुको स्वार्थका लागि हाम्रा देशमा जनतालाई पारस्परिक घृणा फैलाउन, मारकाट मच्चाउन र हिंसा भडकाउने खालका क्रियाकलाप एमालेलाई स्वीकार्य छैन । यस्तो कार्य रोक्न एमाले अघि बढ्ने छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रिय एकताबाट मात्र देशमा शान्ति सुव्यवस्था, सुशासन र विकास हुने बताउनुभयो । उहाँले राष्ट्रिय राजनीति कसैलाई सिध्याउने प्रतिशोधमा भइरहेको भन्दै अहिलेको आवश्यकता त्यसो नभई प्राप्त गरेको उपलब्धिको रक्षा रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

भक्तपुर, २ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्नुभएको छ ।

गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उहाँले अनावरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताउनुभयो ।

सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंह नै भएको बताउँदै उहाँले भन्नुभयो, “गणेशमानलाई म सधैँ सर्वमान्य नेता मान्छु, देशमा एकपटक सारा नेपालीले नेता मानेको व्यक्ति गणेशमान नै हो, को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँ नै हो ।”

विसं २००७ बाटै प्रजातन्त्र उदयको युग सुरु भएको भन्दै राष्ट्रपति पौडेलले २०१७ सालसम्म देशलाई आधुनिक युगमा डो¥याउने कालखण्डको रूपमा लिइए पनि विसं २०१७ मा निरङ्कुश शासनपछि विसं २०४६ को जनआन्दोलन र उपलब्धिमा उहाँकै देन रहेको चर्चा गर्नुभयो ।

जहानियाँ राणा शासनदेखि एकतन्त्रीय पञ्चायती शासन विरुद्ध अधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान हो भन्दै राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदा पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्याग, आदर्श र निष्ठाको राजनीति गरेर उहाँले सबै दलका नेतालाई प्रेरणा दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ठाउँमा गणेशमानजीको शालिक बन्यो, वाटिका बन्यो भनेर कसैले चित्त दुखाउनुपर्ने ठाउँ छैन, बरु खुसी हुनुहोस्, यो देशका अमूल्य निधिको ठाउँ बन्न पुगेको छ, यस क्षेत्रलाई आन्तरिक मात्रै नभई विदेशबाट आउने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुहोस् ।”

राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नुभयो । स्व ढुङ्गेलका छोरा अनुप र नाति अक्षेप ढुङ्गेललाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नुभयो । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि उहाँले सम्मान गर्नुभयो । उहाँले समितिले प्रकाशन गरेको स्मारिक गणेशमान वाटिकाको विमोचन गर्नुभयो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सबैका लागि प्रेरणाको स्रोत बन्नुभएका गणेशमानले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनीय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुुपर्ने बताउनुभयो ।

नेता सिंह र उहाँ जस्ता अरु नेताको योगदानका कारण समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको भन्दै उहाँले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पूरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस क्षेत्रलाई विशिष्ट पार्क, दर्शनीय व्यक्तित्वको स्मरण गर्ने स्थलका रूपमा विकास गर्न बाँकी रहेका काम पूरा गर्ने उहाँको भनाइ थियो । मन्त्री महतले देश आर्थिक सङ्कटमा गुज्रेका अवस्थामा स्वदेश र विदेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउँदै जनाधिकार स्थापित गर्ने छ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनुभएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताउनुभयो । विसं २०४६ को जनआन्दोलनमा विभिन्न विचार बोकेका दललाई उहाँकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गर्नुभयो ।

त्यसअवसरमा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले गणेशमान वाटिका निर्माण सुरु भएपछि केही तत्व यसलाई पूरा हुन नदिन वाटिकाको नाममा आइसकेको जग्गा फिर्ता गर्ने षड्यन्त्रमा लागेको भन्दै त्यस्ता तत्व प्रजातन्त्रप्रेमी हुन नसक्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, समितिका सचिव कृष्णमुरारी न्यौपानेले लौहपुरुष, सर्वोच्च नेता गणेशमानको योगदानलाई वाटिकाले सधैँ जीवित राख्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष माथवरसिंह बस्नेतले २०५४ सालमा स्थापना भएको समितिले तत्कालीन कटुञ्जे गाविसको सिफारिसमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले पारित गरी कित्ता नं ४२१ को एक सय ४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरेपछि उक्तस्थलमा गणेशमानको शालिक एवं वाटिका निर्माण भएको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५४ मा वाटिकाको शिलान्यास गर्नुभएपछि विसं २०७२ कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु एक करोडको लागतमा स्व सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भए पनि अनावरण गर्ने अवसर आज प्राप्त भएको उहाँले बताउनुभयो ।

समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाको जीवनी झल्किने सङ्ग्रहालय, भ्यू टावर, वनभोजस्थल, आधुनिक बगैँचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य, स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका सङ्घर्ष र त्यागका बारेमा विस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक सहिदको जीवनी समेटेर राख्ने गरी सङ्ग्रहालय निर्माण, प्रजातान्त्रिक योद्धाहरूको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने/गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने थलोको रूपमा विकास गर्ने गरी रु ३४ करोडको गुरुयोजना तयार पारेको छ ।

यद्यपि करिब रु चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्वार निर्माण सम्पन्न भएको, सिँढी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोजस्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैँचाका रूपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पूरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडाँै, २ असोज : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

रजस्वला भएका बेलामा अरूलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा, २ असोज : धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।

विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ । नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

काँक्रो खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उहाँले घर–व्यवहार सहजरूपमा चलाउनुभएको छ ।

“एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उहाँका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उहाँले बताउनुभयो ।

“अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्याइसक्छाँै”, उहाँले भन्नुभयो, “त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्याई बेच्छौँ ।” बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उहाँले बताउनुभयो ।

उहाँ काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्नुहुन्छ । काँक्रो र तरकारी खेती गरी वर्षमा रु १५ लाख बढीको बिक्री हुन्छ । जसबाट रु १२ लाख जति आम्दानी हुने गरेको छ । श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्नुहुन्छ । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर उहाँले जोड्नुभएको छ ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आउनुभएको छ । दुई बिघा जग्गामा उहाँले व्यावसायिकरूपमा काँक्रो र तरकारी खेती गर्दै आउनुभएको छ । “वर्षात् र चिसो मौसमका बेला प्लाष्टिक टनेलमा काँक्रो र तरकारी खेती हुन्छ”, भरतका दाजु लक्ष्मणले भन्नुभयो, “अरु बेला खेतमै टनेल बाहिरै खेती गर्छौँ ।”

व्यावसायिक खेतीका लागि घरमै तयार गरिएको प्राङ्गरिक र रासायनिक मलको प्रयोग गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भरत वडाकै उत्कृष्ट कृषकका रूपमा रहेको बताउनुभयो । “बाह्रै महिना तरकारी र काँक्रो खेती गरेर बढी कमाई गर्ने किसानमा उहाँको गणना हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी खेती गर्ने वडामा तीन दर्जन बढी किसान भए पनि उहाँ एक नम्बरमा छन् ।”

आधुनिक तरिकाले कृषि गरी व्यावसायिकतामा लागेका किसानले सरकारी पक्षबाट उपलब्ध गराउने अनुदानका कार्यक्रम पाउनुपर्ने हो यसका लागि वकालत गरिने वडाध्यक्ष चौधरीले बताउनुभयो । “भरतजस्ता किसान युवाका लागि प्रेरणका स्रोत हुन्”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवालाई उहाँले व्यावसायिक खेती गरेर गरेको प्रगति देखाएरै पनि रोक्न सकिन्छ, युवालाई व्यावसायिक कृषितर्फ डोर्याउन अनुदानका कार्यक्रम लागू गर्नुपर्छ, जुन वास्तविक किसानसम्म पुग्नुपर्छ ।”

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौँ, २ असोज ः किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ ।

खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।”

गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उहाँको भनाइ छ । उहाँका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको बताउनुभयो ।

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।

मन्त्रालयले सवै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।

शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताउनुभयो । सरकारले गत भदौ २७ गतेबाट कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ ।

के के छन् संविधान कार्यान्वयनका चुनौतीहरु

खिमलाल देवकोटा/काठमाडौँ – झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ । संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना हुने सातौँ संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो । यो संविधानका आठ वर्षका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । यसका साथै यो आलेखमा संविधान निर्माणको ऐतिहासिक सन्दर्भ, संविधान निर्माणको प्रक्रिया र संविधानको अपेक्षाका बारेमा समेत संक्षेपमा चर्चा गरिनेछ ।

ऐतिहासिक सन्दर्भ

विसं २००४ को वैधानिक कानुनलाई पहिलो संविधान मान्ने हो भने २००७ सालमा अन्तरिम संविधान दोस्रो र तेस्रो संविधानका रूपमा २०१५ सालको अन्तरिम संविधान रह्यो । चौथो निर्दलीय पञ्चायतलाई संस्थागत गर्ने संविधान रह्यो भने पाँचाँै संविधानका रूपमा नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । जसले संवैधानिक राजतन्त्र, संसदीय बहुदललाई परिभाषित गर्यो । माओवादीे जनयुद्ध, राजनीतिक परिवर्तनको कोशेढुङ्गा सावित भयो । मदन भण्डारीको दासढुङ्गा रहस्यमय हत्यादेखि दरबार हत्याकाण्डसम्म यही अवधिमा घट्न पुग्यो । माओवादी, राजा र सात दल गरी राजनीति त्रिकोणात्मक शक्ति सङ्घर्षमा होमियो । राजा र सात दल माओवादीविरुद्ध खनिदा २०४७ सालको संविधान सुरक्षित थियो तर जब समीकरण बदलियो राजनीतिक माहोल अर्को बन्यो । परिणामस्वरुप अन्तरिम संविधान जारी भयो । राजतन्त्र संस्थागत गर्ने २०४७ सालको संविधान खारेज गर्यो ।

अन्तरिम संविधानले संविधानसभाको चुनावसँगै नयाँ संविधान जारी गर्ने आधार तयार गर्यो । संविधानसभाबाट जारी भएको नयाँ संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीतासहितको राज्यको प्रादुर्भाव संविधानमार्फत हुन पुग्यो । यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको आठौँ वर्ष मनाइरहेका छाँै ।

संविधानको अन्तरवस्तु

यो संविधानको अन्तरवस्तु माओवादी र सात दलका बीचमा सम्पन्न १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानसमेतले निर्धारण गरेका थिए । अढाइ सय वर्षदेखि कायम रहेको राजतन्त्रको अन्त्यका कारण यी दस्तावेजहरू बने । विस्तृत शान्ति सम्झौताले वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्या नेपाली समाजका समस्या हुन् र तिनै समस्या नै द्वन्द्वका कारण थिए भन्यो । ती समस्या समाधानका लागि युद्धको घोषणा गरिएकामा द्वन्द्वरत पक्ष समस्याको समाधान वार्ताको माध्यमबाट गर्न सहमत भएका कारणले सम्झौता भएको थियो ।

द्वन्द्वका कारणहरूको सम्बोधन नयाँ संविधानको अन्तरवस्तु थियो । राज्यको अग्रगामी पुनःसंरचना गरी आर्थिक सामाजिक रुपान्तरण संविधानको लक्ष्य रहनुपर्छ भन्ने मान्यता थियो । एकात्मक र सामन्ती संरचनाले सिर्जना गरेका उत्पीडन, अन्याय र अत्याचारका समस्याको समाधान दिगो शान्तिको आधार बन्ने कुरा संविधानले स्वीकार गरेको थियो । द्वन्द्वका कारण र समाधानको सूत्र सम्झौताले गृहयुद्धको अन्त्य र शान्ति, लोकतन्त्र र समावेशी शासनतर्फको दिशा तय गर्यो । संयुक्त जनआन्दोलन, जसलाई ‘अप्रिल विद्रोह’ पनि भनिन्छ, राजतन्त्रलाई गद्दी र शक्ति त्याग्न दबाब दिन महत्त्वपूर्ण भूमिका खेल्यो ।

संविधान निर्माण प्रक्रिया

भण्डै पाँच दर्जन मुलुकले आफ्नै प्रकृतिका संविधानसभामार्फत संविधान जारी गरेका छन् । त्यो मध्ये नेपाल पनि एक हो । नेपालले संविधानसभाबाट संविधान जारी गरेपछि भने ट्युनिसिया, भेनेजुएला, आइल्याण्ड र अफगानिस्तानले मात्रै संविधानसभामार्फत नयाँ संविधान जारी गरेका छन् । संसारका संविधानसभामध्येकै उत्कृष्ट ठानिएको संविधानसभाको निर्वाचन सम्पन्न गरी जारी गरिएको संविधान जनमत सङ्कलनका आधारमा अवधारणापत्र र प्रारम्भिक मस्यौदा तयारी गरी संविधानसभाको अत्यधिक मतबाट जारी यो संविधान विश्वकै उत्कृष्ट लोकतान्त्रिक अभ्यासका माध्यमबाट जारी भएको संविधानका रूपमा लिने गरिन्छ ।

संविधानको यात्रा लामो र कठिन थियो । यसमा वार्ता संवाद र सहकार्यका पहलहरू भए । नेपालको विविधताको प्रतिनिधित्व गर्ने अभिलाषा पूरा गर्ने प्रयत्न पनि गर्यो । नेपाली समाजको अपेक्षाको प्रतिनिधित्व गर्ने संविधान निर्माण गर्ने साझा प्रतिबद्धता समावेश थियो । पहिलो संविधानसभा संविधान जारी नगरी अदालतको आदेशबमोजिम स्वतः अन्त्य भए पनि दोस्रो संविधानसभाको लागि मार्गप्रशस्त गर्यो । यसकै जगमा २० सेप्टेम्बर २०१५ मा सफलतापूर्वक मुलुकले नयाँ संविधान पारित गर्यो । यो संविधानको सबैभन्दा उल्लेखनीय पक्ष गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र सङ्घीयताप्रतिको प्रतिबद्धता हो ।

संविधानले समाजमा पारेका प्रभाव

यो संविधान द्वन्द्व रुपान्तरणको एक दस्तावेज हो । संविधानसभा, संविधानसभामार्फत संविधान र त्यो संविधान सङ्घीयता, गणतन्त्र समावेशी राजनीति र धर्मनिरपेक्षतासहितको हुने जस्ता शर्तहरू थिए । तिनै चिज यो संविधानले संस्थागत गरेको छ । संविधानले संस्थागत गरेका ती विषयहरूको इमानका साथ कार्यान्वयन हुने हो भने सुशासन र सबैखाले द्वन्द्व समाधानका उपाय पनि सुझाएको छ भन्न सकिन्छ । राजनीतिक परिवर्तनको आन्दोलन सकिएको घोषणा गर्ने ठाउँमा दलहरू पुगेका कारण देश राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको छ भन्न कर लाग्छ ।

विशेषगरी सङ्घीयताले प्रदेश र स्थानीय सरकारहरूलाई राज्य शक्तिको प्रयोग गर्ने अधिकार दिएको छ । राज्य शक्तिको प्रयोग गर्दा निर्णय गर्ने प्रक्रियालाई जनताको नजिक ल्याइदिएको छ । सीमान्तकृत समुदायलाई राजनीतिक प्रक्रियामा समावेश गर्ने कुराले फल दिन थालेको छ । राजनीतिक संस्थाहरूमा महिला, दलित र आदिवासी जनजातिले समुचित प्रतिनिधित्व पाएका छन् । शक्तिको यो विविधीकरण सामाजिक न्याय र समावेशिताप्रति संविधानको प्रतिबद्धताको प्रमाण हो ।

साथै संविधानले विभिन्न ३१ वटा मौलिक हकको सुनिश्चितता गर्दै आमाको नामबाट नागरिकता, जन्मसिद्ध नागरिकका सन्तानलाई पनि नागरिकता र गैरआवासीय नेपाली नागरिकलाई नागरिकतासमेतको व्यवस्था गरेको छ । आर्थिक समृद्धिका दिशामा निजी, सरकारी र सहकारी गरी तीनखम्बे नीतिका साथै विदेशी लगानी प्रवर्द्धन गरी आर्थिक विकासको जग खडा गर्ने काम पनि यो संविधानले गरेको छ । यसले सामाजिक कल्याण र वातावरण संरक्षणमा जोड दिँदै आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकालाई पनि त्यत्तिकै मान्यता दिने काम गरेको छ ।

आगामी चुनौतीहरू

नेपालले आफ्नो लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण फड्को मारेको भए पनि यो चुनौतीरहित भने छैन । राज्यका सबै अङ्ग सङ्घीयकरण गर्दा पनि न्यायपालिका र राजनीतिक दल एकात्मक नै रहन पुगे । यसले सङ्घीयता कार्यान्वयनमा द्विविधा सिर्जना गरेको मात्रै छैन, बाधासमेत खडा गरेको छ । सङ्घीयता कार्यान्वयनमा स्रोतको बाँडफाँट, सङ्घीयकरणका लागि प्रशासनिक रुचि र सक्षमता एवं अन्तरसरकारी समन्वयसम्बन्धी अवरोधहरू आज पनि कायम छन् । तिनलाई फुकाउने चुनौती आजका र भोलिका समेत हुन् । यी चुनौतीका बाबजुद पनि सङ्घीयताको लाभ देशका कुना–कुनामा पुगेको छ । त्यसलाई अझै प्रवर्द्धन गर्न भने बाँकी नै छ ।

नयाँ संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतासहितका व्यवस्थाहरू प्रतिक्रियावादी र यथास्थितिवादीहरूका चिन्ताका विषय हिजो थिए, आज छन् र भोलि पनि रहनेछन् । ती तत्वहरू यो परिवर्तन र व्यवस्थालाई नै उल्टाउन कम्मर कसेरै लागेका छन् । यी चुनौतीहरूको सामना गर्दै परिवर्तनका उपलब्धिहरू जोगाउने आजको प्रमुख चुनौती हो । विभिन्न समूहको चासोलाई सम्बोधन गर्न संविधानका संशोधन गर्ने विषयमा पनि चलेको बहस सकारात्मक निष्कर्षमा पुर्याउने अर्को चुनौती हो ।

राष्ट्रिय एकता र राजनीतिक स्थायित्व समृद्धि र विकासको आवश्यकताको सम्बोधन आजको खाँचोको विषय हो । रोजगारी सिर्जना, पूर्वाधार विकास र गरिबी न्यूनीकरणलगायतका आर्थिक चुनौतीहरूको सामना समस्या अवश्य हुन् तर सोको समाधानको पनि यो संविधानले ‘रोडम्याप’ प्रदान गर्दछ, तर यी लक्ष्यहरू प्राप्त गर्न दिगो प्रयास र प्रभावकारी शासन आवश्यक छ ।

निष्कर्ष

नेपालले आफ्नो आठौँ संविधान दिवस मनाउँदै गर्दा यो देशलाई यस विन्दुमा ल्याएको राजनीतिक विकासको यात्रालाई प्रतिविम्बित गर्ने यसका लागि योगदान गर्नेहरूप्रति कृतज्ञ हुने समय हो । संविधानले न्यायपूर्ण, समावेशी र समृद्ध समाजका लागि नेपाली जनताको सामूहिक आकाङ्क्षाको प्रतिनिधित्व गरेको छ । तिनको प्रवर्द्धनको योजना बनाउने अवसर पनि हो ।

विविध चुनौतीहरूका बाबजुद संविधानले आशा जगाएको छ । त्याग समर्पण र सहकार्यले नेपालले यी चुनौतीहरूलाई पार गर्दै उज्ज्वल भविष्यतर्फ यात्रा जारी राख्न प्रेरणादायी दस्तावेज बनेको छ । यस संविधान दिवसका अवसरमा, हाम्रा प्रगतिमा उत्सव मनाआँैं, अगाडिका चुनौतीहरूलाई स्वीकार गरौँ गणतान्त्रिकरण, सङ्घीयकरण र समावेशीकरणको भावी यात्राका लागि प्रतिबद्धता व्यक्त गरौँ ।(लेखक संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता हुनुहुन्छ)

आज राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ, २ असोज : ‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।

समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गर्नुभएको थियो । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८)कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन बाँकी रहेको थियो ।