`

राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण

भक्तपुर, २ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले आज भक्तपुर पुगेर एक हजार दुई किलो ढलोट प्रयोग गरी निर्माण गरिएको लौहपुरुष स्व गणेशमान सिंहको १२ फिट अग्लो पूर्णकदको शालिक अनावरण गर्नुभएको छ ।

गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिभा स्थापना संरक्षण समितिले सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित गणेशमान वाटिकास्थलमा निर्माण गरेको शालिकको उहाँले अनावरण गर्नुभएको हो । राष्ट्रपति पौडेलले गणेशमान सिंहले राजनीति सत्ता र स्वार्थका लागि नभई देश र जनताको लागि हो भन्ने मान्यता स्थापित गरेर गएको बताउनुभयो ।

सारा नेपालीले नेता मानेको एक मात्र व्यक्ति गणेशमान सिंह नै भएको बताउँदै उहाँले भन्नुभयो, “गणेशमानलाई म सधैँ सर्वमान्य नेता मान्छु, देशमा एकपटक सारा नेपालीले नेता मानेको व्यक्ति गणेशमान नै हो, को वामपन्थी, को दक्षिणपन्थी सबैले नेता मानेका र २०४६ सालको जनआन्दोलनमा फरक विचार भएका पार्टीलाई पनि आफ्नै नेतृत्वमा एकै ठाउँमा ल्याएर जनआन्दोलनको नेतृत्व गर्ने नेता उहाँ नै हो ।”

विसं २००७ बाटै प्रजातन्त्र उदयको युग सुरु भएको भन्दै राष्ट्रपति पौडेलले २०१७ सालसम्म देशलाई आधुनिक युगमा डो¥याउने कालखण्डको रूपमा लिइए पनि विसं २०१७ मा निरङ्कुश शासनपछि विसं २०४६ को जनआन्दोलन र उपलब्धिमा उहाँकै देन रहेको चर्चा गर्नुभयो ।

जहानियाँ राणा शासनदेखि एकतन्त्रीय पञ्चायती शासन विरुद्ध अधिकार स्थापित गर्न प्रजातन्त्र प्राप्तिका लागि कठिन योगदान दिने योद्धाको नाम गणेशमान हो भन्दै राष्ट्रपति पौडेलले २०४६ सालको जनआन्दोलन सफल भएपछि राजाले प्रधानमन्त्री पद दिँदा पनि नलिएर समकक्षी नेतालाई सुम्पेर त्याग, आदर्श र निष्ठाको राजनीति गरेर उहाँले सबै दलका नेतालाई प्रेरणा दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ठाउँमा गणेशमानजीको शालिक बन्यो, वाटिका बन्यो भनेर कसैले चित्त दुखाउनुपर्ने ठाउँ छैन, बरु खुसी हुनुहोस्, यो देशका अमूल्य निधिको ठाउँ बन्न पुगेको छ, यस क्षेत्रलाई आन्तरिक मात्रै नभई विदेशबाट आउने पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुहोस् ।”

राष्ट्रपति पौडेलले वाटिका एवं प्रतिमा निर्माणका परिकल्पनाकार एवं पूर्वसांसद स्व रामेश्वर ढुङ्गेललाई मरणोपरान्त सम्मान गर्नुभयो । स्व ढुङ्गेलका छोरा अनुप र नाति अक्षेप ढुङ्गेललाई उक्त सम्मानपत्र हस्तान्तरण गर्नुभयो । साथै गणेशमान सिंहको प्रतिमा निर्माण गर्ने कलाकार महेश तुलाधरलाई पनि उहाँले सम्मान गर्नुभयो । उहाँले समितिले प्रकाशन गरेको स्मारिक गणेशमान वाटिकाको विमोचन गर्नुभयो ।

अर्थमन्त्री डा प्रकाशशरण महतले सबैका लागि प्रेरणाको स्रोत बन्नुभएका गणेशमानले लोकतान्त्रिक अधिकार प्राप्तिका लागि गरेको अतुलनीय योगदान, कानूनी शासन स्थापनाका लागि गरेको त्यागका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुुपर्ने बताउनुभयो ।

नेता सिंह र उहाँ जस्ता अरु नेताको योगदानका कारण समावेशी लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको भन्दै उहाँले वाटिकामा अधुरा रहेका संरचना निर्माणलाई पूरा गर्न स्थानीय, प्रदेश सरकारसँगै केन्द्रीय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यस क्षेत्रलाई विशिष्ट पार्क, दर्शनीय व्यक्तित्वको स्मरण गर्ने स्थलका रूपमा विकास गर्न बाँकी रहेका काम पूरा गर्ने उहाँको भनाइ थियो । मन्त्री महतले देश आर्थिक सङ्कटमा गुज्रेका अवस्थामा स्वदेश र विदेशमा रहेका नेपालीलाई यहाँ लगानी गर्न, लगानी बढाउन अभिप्रेरित गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहले देशलाई स्वतन्त्र बनाउँदै जनाधिकार स्थापित गर्ने छ दशक लामो राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्ष निर्वासित जीवन बिताउनुभएका गणेशमानलाई कुनै पनि पुस्ताले बिर्सन नहुने बताउनुभयो । विसं २०४६ को जनआन्दोलनमा विभिन्न विचार बोकेका दललाई उहाँकै पहलमा एकै ठाउँमा ल्याएर आन्दोलनको नेतृत्व गर्दै प्रजातन्त्र प्राप्ति गरेको चर्चा गर्नुभयो ।

त्यसअवसरमा प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले गणेशमान वाटिका निर्माण सुरु भएपछि केही तत्व यसलाई पूरा हुन नदिन वाटिकाको नाममा आइसकेको जग्गा फिर्ता गर्ने षड्यन्त्रमा लागेको भन्दै त्यस्ता तत्व प्रजातन्त्रप्रेमी हुन नसक्ने बताउनुभयो । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, समितिका सचिव कृष्णमुरारी न्यौपानेले लौहपुरुष, सर्वोच्च नेता गणेशमानको योगदानलाई वाटिकाले सधैँ जीवित राख्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं समितिका अध्यक्ष माथवरसिंह बस्नेतले २०५४ सालमा स्थापना भएको समितिले तत्कालीन कटुञ्जे गाविसको सिफारिसमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको पालामा लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद् बैठकले पारित गरी कित्ता नं ४२१ को एक सय ४८ रोपनी ५ आना जग्गा वाटिका स्थापना गर्न समितिको नाममा नामसारी गरेपछि उक्तस्थलमा गणेशमानको शालिक एवं वाटिका निर्माण भएको बताउनुभयो ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले विसं २०५४ मा वाटिकाको शिलान्यास गर्नुभएपछि विसं २०७२ कात्तिक २४ गते वाटिकामा गणेशमान सिंहको प्रतिमा अनावरण गर्ने लक्ष्यका साथ सुरु भई २०५७ मै करिब रु एक करोडको लागतमा स्व सिंहको पूर्ण कदको शालिक निर्माण सम्पन्न भए पनि अनावरण गर्ने अवसर आज प्राप्त भएको उहाँले बताउनुभयो ।

समितिले त्यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको उद्यान, बहुउद्देश्यीय भवन, प्रजातान्त्रिक जनआन्दोलनका योद्धाको जीवनी झल्किने सङ्ग्रहालय, भ्यू टावर, वनभोजस्थल, आधुनिक बगैँचा, बालबालिका उद्यान, अतिथि गृह, चमेना गृह, रोपवे तथा पर्यटकीय गन्तव्य, स्वं सिंहले प्रजातान्त्रिक आन्दोलनमा गरेका सङ्घर्ष र त्यागका बारेमा विस्तृत विवरणका अतिरिक्त प्रजातान्त्रिक सहिदको जीवनी समेटेर राख्ने गरी सङ्ग्रहालय निर्माण, प्रजातान्त्रिक योद्धाहरूको सङ्घर्षका बारेमा अध्ययन, अनुसन्धान गर्ने/गराउने, प्रजातन्त्रका आदर्श, मूल्य र मान्यतामाथि विज्ञ, अनुभवीहरूबाट प्रवचन गराउने थलोको रूपमा विकास गर्ने गरी रु ३४ करोडको गुरुयोजना तयार पारेको छ ।

यद्यपि करिब रु चार करोडको लागतमा अहिलेसम्म शालिक प्रवेश गर्ने मूलद्वार निर्माण सम्पन्न भएको, सिँढी मर्मत गरिएको, समितिको आफ्नै कार्यालय भवन, केही वनभोजस्थल, सार्वजनिक शौचालय निर्माण भएको, वाटिकालाई सुन्दर बगैँचाका रूपमा परिणत गरेको र बजेट अभावले अन्य संरचना निर्माण भने पूरा हुन बाँकी रहेकोे समितिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडाँै, २ असोज : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको विधिपूर्वक पूजा आराधना गरी मनाएका छन् । महिलाले आज बिहानै उठेर नित्यकर्म समाप्त गरी हरितालिकाको व्रत समापन गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । वाग्मती, मनोहरा, रुद्रमतीलगायत नदी किनारको मुहान क्षेत्रमा स्नान गर्न सकिने गरी पानी स्वच्छ भएकाले प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन अपामार्गसहित विधिपूर्वक स्नान गर्न धेरै महिला जाने गरेका छन् ।

रजस्वलाका समयमा छोइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ । स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भरद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गरेका छन् । यसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भनिएको हो ।

रजस्वला भएका बेलामा अरूलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रही आएकाले यस पर्वलाई वैज्ञानिक मान्नुपर्ने धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । प्रत्येक वर्ष ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । ऋषिपञ्चमीसँगै तीज पर्व पनि आजैदेखि समापन भएको छ ।

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण

धनकुटा, २ असोज : धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजारको लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।

विसं २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको जनाएको छ । नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

काँक्रो खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आउनुभएको छ । मौसमी र बेमौसमी काँक्रो खेती गरी उहाँले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आउनुभएको छ । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उहाँले घर–व्यवहार सहजरूपमा चलाउनुभएको छ ।

“एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उहाँका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उहाँले बताउनुभयो ।

“अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्याइसक्छाँै”, उहाँले भन्नुभयो, “त्यही भएर मूल्य अधिक पाइन्छ, बिक्री गर्न पनि झन्झट हुँदैन, अन्य किसानले बजारमा काँक्रो बिक्री गरेर सिध्याएपछि पुनः काँक्रो बजारमा पुर्याई बेच्छौँ ।” बजारमा स्थानीय जातका काँक्रोको बढी माग हुने भएकाले यसकै खेतीलाई बढावा दिइँदै आएको उहाँले बताउनुभयो ।

उहाँ काँक्रोसँगै मौसमी बेमौसमी तरकारी खेती पनि गर्नुहुन्छ । काँक्रो र तरकारी खेती गरी वर्षमा रु १५ लाख बढीको बिक्री हुन्छ । जसबाट रु १२ लाख जति आम्दानी हुने गरेको छ । श्रीमान्–श्रीमतीसँगै घरका अन्य सदस्यले व्यावसायिक तरकारी खेती र काँक्रो खेतीमा गोडमेल, मल राख्ने, सिँचाइ गर्ने, टिप्ने र बजारमा लगेर बेच्नेसम्मका काममा सहयोग गर्नुहुन्छ । तरकारी खेतीबाटै गाउँमा पक्की घर, सिँचाइका लागि पम्पसेट, खेत जोत्नका लागि पावर टिलर उहाँले जोड्नुभएको छ ।

संयुक्त परिवारमा बस्दै आएका चौधरीले निजी विद्यालयमा पढ्दै आएका बालबालिकाको खर्च, घर खर्च काँक्रो र तरकारी खेतीबाटै धान्दै आउनुभएको छ । दुई बिघा जग्गामा उहाँले व्यावसायिकरूपमा काँक्रो र तरकारी खेती गर्दै आउनुभएको छ । “वर्षात् र चिसो मौसमका बेला प्लाष्टिक टनेलमा काँक्रो र तरकारी खेती हुन्छ”, भरतका दाजु लक्ष्मणले भन्नुभयो, “अरु बेला खेतमै टनेल बाहिरै खेती गर्छौँ ।”

व्यावसायिक खेतीका लागि घरमै तयार गरिएको प्राङ्गरिक र रासायनिक मलको प्रयोग गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो । वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भरत वडाकै उत्कृष्ट कृषकका रूपमा रहेको बताउनुभयो । “बाह्रै महिना तरकारी र काँक्रो खेती गरेर बढी कमाई गर्ने किसानमा उहाँको गणना हुन्छ”, उहाँले भन्नुभयो, “तरकारी खेती गर्ने वडामा तीन दर्जन बढी किसान भए पनि उहाँ एक नम्बरमा छन् ।”

आधुनिक तरिकाले कृषि गरी व्यावसायिकतामा लागेका किसानले सरकारी पक्षबाट उपलब्ध गराउने अनुदानका कार्यक्रम पाउनुपर्ने हो यसका लागि वकालत गरिने वडाध्यक्ष चौधरीले बताउनुभयो । “भरतजस्ता किसान युवाका लागि प्रेरणका स्रोत हुन्”, उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा जाने युवालाई उहाँले व्यावसायिक खेती गरेर गरेको प्रगति देखाएरै पनि रोक्न सकिन्छ, युवालाई व्यावसायिक कृषितर्फ डोर्याउन अनुदानका कार्यक्रम लागू गर्नुपर्छ, जुन वास्तविक किसानसम्म पुग्नुपर्छ ।”

क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौँ, २ असोज ः किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ ।

खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ लक्षित किशोरीलाई खोप लगाउनका बाँकी रहेकाले समय थप गरिएको हो ।”

गत भदौ २९ गते बाल दिवस, भदौ ३० गते शनिबार र आइतबार असोज १ गते हरितालिका तीज लगातार बिदा परेकाले विद्यालय बन्दले गर्दा किशोरी खोप लगाउन न्यून सङ्ख्यामा आएको उहाँको भनाइ छ । उहाँका अनुसार लक्षित किशोरीमध्ये ४० प्रतिशतले खोप लगाएको बताउनुभयो ।

सरकारले पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखिएको छ । गत भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रूपमा सञ्चालन गरिएको छ ।

मन्त्रालयले सवै किशोरीका अभिभावकलाई खोप लगाउनका लागि खोप केन्द्रमा लैजान आग्रह गरेको छ । खोप २०६५ भदौ ३० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई दिइने छ ।

शाखाका प्रमुख डा गौतमले महिलाका पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइएको बताउनुभयो । सरकारले गत भदौ २७ गतेबाट कोशी प्रदेशको कोशी अस्पताल, मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप उपलब्ध रहेको छ ।

खोप पहिलो मात्रा दिइने र छ महिनापछि दोस्रो मात्रा दिइने छ । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताइएको छ । यसअघि सरकारले सन् २०१६–१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । असुरक्षित यौन सम्पर्क, धुमपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने जनाइएको छ ।

के के छन् संविधान कार्यान्वयनका चुनौतीहरु

खिमलाल देवकोटा/काठमाडौँ – झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ । संविधानसभाबाट प्राप्त संविधान केवल संविधानको दर्जामा र सङ्ख्यामा गणना हुने सातौँ संविधानमात्र होइन, संविधानसभाबाट प्राप्त भएको पहिलो संविधान पनि हो । यो संविधानका आठ वर्षका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । यसका साथै यो आलेखमा संविधान निर्माणको ऐतिहासिक सन्दर्भ, संविधान निर्माणको प्रक्रिया र संविधानको अपेक्षाका बारेमा समेत संक्षेपमा चर्चा गरिनेछ ।

ऐतिहासिक सन्दर्भ

विसं २००४ को वैधानिक कानुनलाई पहिलो संविधान मान्ने हो भने २००७ सालमा अन्तरिम संविधान दोस्रो र तेस्रो संविधानका रूपमा २०१५ सालको अन्तरिम संविधान रह्यो । चौथो निर्दलीय पञ्चायतलाई संस्थागत गर्ने संविधान रह्यो भने पाँचाँै संविधानका रूपमा नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । जसले संवैधानिक राजतन्त्र, संसदीय बहुदललाई परिभाषित गर्यो । माओवादीे जनयुद्ध, राजनीतिक परिवर्तनको कोशेढुङ्गा सावित भयो । मदन भण्डारीको दासढुङ्गा रहस्यमय हत्यादेखि दरबार हत्याकाण्डसम्म यही अवधिमा घट्न पुग्यो । माओवादी, राजा र सात दल गरी राजनीति त्रिकोणात्मक शक्ति सङ्घर्षमा होमियो । राजा र सात दल माओवादीविरुद्ध खनिदा २०४७ सालको संविधान सुरक्षित थियो तर जब समीकरण बदलियो राजनीतिक माहोल अर्को बन्यो । परिणामस्वरुप अन्तरिम संविधान जारी भयो । राजतन्त्र संस्थागत गर्ने २०४७ सालको संविधान खारेज गर्यो ।

अन्तरिम संविधानले संविधानसभाको चुनावसँगै नयाँ संविधान जारी गर्ने आधार तयार गर्यो । संविधानसभाबाट जारी भएको नयाँ संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीतासहितको राज्यको प्रादुर्भाव संविधानमार्फत हुन पुग्यो । यही सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको आठौँ वर्ष मनाइरहेका छाँै ।

संविधानको अन्तरवस्तु

यो संविधानको अन्तरवस्तु माओवादी र सात दलका बीचमा सम्पन्न १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानसमेतले निर्धारण गरेका थिए । अढाइ सय वर्षदेखि कायम रहेको राजतन्त्रको अन्त्यका कारण यी दस्तावेजहरू बने । विस्तृत शान्ति सम्झौताले वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय समस्या नेपाली समाजका समस्या हुन् र तिनै समस्या नै द्वन्द्वका कारण थिए भन्यो । ती समस्या समाधानका लागि युद्धको घोषणा गरिएकामा द्वन्द्वरत पक्ष समस्याको समाधान वार्ताको माध्यमबाट गर्न सहमत भएका कारणले सम्झौता भएको थियो ।

द्वन्द्वका कारणहरूको सम्बोधन नयाँ संविधानको अन्तरवस्तु थियो । राज्यको अग्रगामी पुनःसंरचना गरी आर्थिक सामाजिक रुपान्तरण संविधानको लक्ष्य रहनुपर्छ भन्ने मान्यता थियो । एकात्मक र सामन्ती संरचनाले सिर्जना गरेका उत्पीडन, अन्याय र अत्याचारका समस्याको समाधान दिगो शान्तिको आधार बन्ने कुरा संविधानले स्वीकार गरेको थियो । द्वन्द्वका कारण र समाधानको सूत्र सम्झौताले गृहयुद्धको अन्त्य र शान्ति, लोकतन्त्र र समावेशी शासनतर्फको दिशा तय गर्यो । संयुक्त जनआन्दोलन, जसलाई ‘अप्रिल विद्रोह’ पनि भनिन्छ, राजतन्त्रलाई गद्दी र शक्ति त्याग्न दबाब दिन महत्त्वपूर्ण भूमिका खेल्यो ।

संविधान निर्माण प्रक्रिया

भण्डै पाँच दर्जन मुलुकले आफ्नै प्रकृतिका संविधानसभामार्फत संविधान जारी गरेका छन् । त्यो मध्ये नेपाल पनि एक हो । नेपालले संविधानसभाबाट संविधान जारी गरेपछि भने ट्युनिसिया, भेनेजुएला, आइल्याण्ड र अफगानिस्तानले मात्रै संविधानसभामार्फत नयाँ संविधान जारी गरेका छन् । संसारका संविधानसभामध्येकै उत्कृष्ट ठानिएको संविधानसभाको निर्वाचन सम्पन्न गरी जारी गरिएको संविधान जनमत सङ्कलनका आधारमा अवधारणापत्र र प्रारम्भिक मस्यौदा तयारी गरी संविधानसभाको अत्यधिक मतबाट जारी यो संविधान विश्वकै उत्कृष्ट लोकतान्त्रिक अभ्यासका माध्यमबाट जारी भएको संविधानका रूपमा लिने गरिन्छ ।

संविधानको यात्रा लामो र कठिन थियो । यसमा वार्ता संवाद र सहकार्यका पहलहरू भए । नेपालको विविधताको प्रतिनिधित्व गर्ने अभिलाषा पूरा गर्ने प्रयत्न पनि गर्यो । नेपाली समाजको अपेक्षाको प्रतिनिधित्व गर्ने संविधान निर्माण गर्ने साझा प्रतिबद्धता समावेश थियो । पहिलो संविधानसभा संविधान जारी नगरी अदालतको आदेशबमोजिम स्वतः अन्त्य भए पनि दोस्रो संविधानसभाको लागि मार्गप्रशस्त गर्यो । यसकै जगमा २० सेप्टेम्बर २०१५ मा सफलतापूर्वक मुलुकले नयाँ संविधान पारित गर्यो । यो संविधानको सबैभन्दा उल्लेखनीय पक्ष गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र सङ्घीयताप्रतिको प्रतिबद्धता हो ।

संविधानले समाजमा पारेका प्रभाव

यो संविधान द्वन्द्व रुपान्तरणको एक दस्तावेज हो । संविधानसभा, संविधानसभामार्फत संविधान र त्यो संविधान सङ्घीयता, गणतन्त्र समावेशी राजनीति र धर्मनिरपेक्षतासहितको हुने जस्ता शर्तहरू थिए । तिनै चिज यो संविधानले संस्थागत गरेको छ । संविधानले संस्थागत गरेका ती विषयहरूको इमानका साथ कार्यान्वयन हुने हो भने सुशासन र सबैखाले द्वन्द्व समाधानका उपाय पनि सुझाएको छ भन्न सकिन्छ । राजनीतिक परिवर्तनको आन्दोलन सकिएको घोषणा गर्ने ठाउँमा दलहरू पुगेका कारण देश राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको छ भन्न कर लाग्छ ।

विशेषगरी सङ्घीयताले प्रदेश र स्थानीय सरकारहरूलाई राज्य शक्तिको प्रयोग गर्ने अधिकार दिएको छ । राज्य शक्तिको प्रयोग गर्दा निर्णय गर्ने प्रक्रियालाई जनताको नजिक ल्याइदिएको छ । सीमान्तकृत समुदायलाई राजनीतिक प्रक्रियामा समावेश गर्ने कुराले फल दिन थालेको छ । राजनीतिक संस्थाहरूमा महिला, दलित र आदिवासी जनजातिले समुचित प्रतिनिधित्व पाएका छन् । शक्तिको यो विविधीकरण सामाजिक न्याय र समावेशिताप्रति संविधानको प्रतिबद्धताको प्रमाण हो ।

साथै संविधानले विभिन्न ३१ वटा मौलिक हकको सुनिश्चितता गर्दै आमाको नामबाट नागरिकता, जन्मसिद्ध नागरिकका सन्तानलाई पनि नागरिकता र गैरआवासीय नेपाली नागरिकलाई नागरिकतासमेतको व्यवस्था गरेको छ । आर्थिक समृद्धिका दिशामा निजी, सरकारी र सहकारी गरी तीनखम्बे नीतिका साथै विदेशी लगानी प्रवर्द्धन गरी आर्थिक विकासको जग खडा गर्ने काम पनि यो संविधानले गरेको छ । यसले सामाजिक कल्याण र वातावरण संरक्षणमा जोड दिँदै आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिकालाई पनि त्यत्तिकै मान्यता दिने काम गरेको छ ।

आगामी चुनौतीहरू

नेपालले आफ्नो लोकतान्त्रिक यात्रामा महत्त्वपूर्ण फड्को मारेको भए पनि यो चुनौतीरहित भने छैन । राज्यका सबै अङ्ग सङ्घीयकरण गर्दा पनि न्यायपालिका र राजनीतिक दल एकात्मक नै रहन पुगे । यसले सङ्घीयता कार्यान्वयनमा द्विविधा सिर्जना गरेको मात्रै छैन, बाधासमेत खडा गरेको छ । सङ्घीयता कार्यान्वयनमा स्रोतको बाँडफाँट, सङ्घीयकरणका लागि प्रशासनिक रुचि र सक्षमता एवं अन्तरसरकारी समन्वयसम्बन्धी अवरोधहरू आज पनि कायम छन् । तिनलाई फुकाउने चुनौती आजका र भोलिका समेत हुन् । यी चुनौतीका बाबजुद पनि सङ्घीयताको लाभ देशका कुना–कुनामा पुगेको छ । त्यसलाई अझै प्रवर्द्धन गर्न भने बाँकी नै छ ।

नयाँ संविधान, सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षतासहितका व्यवस्थाहरू प्रतिक्रियावादी र यथास्थितिवादीहरूका चिन्ताका विषय हिजो थिए, आज छन् र भोलि पनि रहनेछन् । ती तत्वहरू यो परिवर्तन र व्यवस्थालाई नै उल्टाउन कम्मर कसेरै लागेका छन् । यी चुनौतीहरूको सामना गर्दै परिवर्तनका उपलब्धिहरू जोगाउने आजको प्रमुख चुनौती हो । विभिन्न समूहको चासोलाई सम्बोधन गर्न संविधानका संशोधन गर्ने विषयमा पनि चलेको बहस सकारात्मक निष्कर्षमा पुर्याउने अर्को चुनौती हो ।

राष्ट्रिय एकता र राजनीतिक स्थायित्व समृद्धि र विकासको आवश्यकताको सम्बोधन आजको खाँचोको विषय हो । रोजगारी सिर्जना, पूर्वाधार विकास र गरिबी न्यूनीकरणलगायतका आर्थिक चुनौतीहरूको सामना समस्या अवश्य हुन् तर सोको समाधानको पनि यो संविधानले ‘रोडम्याप’ प्रदान गर्दछ, तर यी लक्ष्यहरू प्राप्त गर्न दिगो प्रयास र प्रभावकारी शासन आवश्यक छ ।

निष्कर्ष

नेपालले आफ्नो आठौँ संविधान दिवस मनाउँदै गर्दा यो देशलाई यस विन्दुमा ल्याएको राजनीतिक विकासको यात्रालाई प्रतिविम्बित गर्ने यसका लागि योगदान गर्नेहरूप्रति कृतज्ञ हुने समय हो । संविधानले न्यायपूर्ण, समावेशी र समृद्ध समाजका लागि नेपाली जनताको सामूहिक आकाङ्क्षाको प्रतिनिधित्व गरेको छ । तिनको प्रवर्द्धनको योजना बनाउने अवसर पनि हो ।

विविध चुनौतीहरूका बाबजुद संविधानले आशा जगाएको छ । त्याग समर्पण र सहकार्यले नेपालले यी चुनौतीहरूलाई पार गर्दै उज्ज्वल भविष्यतर्फ यात्रा जारी राख्न प्रेरणादायी दस्तावेज बनेको छ । यस संविधान दिवसका अवसरमा, हाम्रा प्रगतिमा उत्सव मनाआँैं, अगाडिका चुनौतीहरूलाई स्वीकार गरौँ गणतान्त्रिकरण, सङ्घीयकरण र समावेशीकरणको भावी यात्राका लागि प्रतिबद्धता व्यक्त गरौँ ।(लेखक संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता हुनुहुन्छ)

आज राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ, २ असोज : ‘समावेशी र सीपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय शिक्षा दिवस, २०८० मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । दिवसका अवसरमा मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाेत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिनेछ ।

समयमा बजेट निकासा नहुँदा पदक निर्माण हुन नभ्याइएकाले आज पुरस्कारमात्रै वितरण हुने र पदक वितरणको सूचना पछि आउने मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरूको नामावली मन्त्रालयले आज प्रकाशन गरेको छ । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत हुनेछन् ।

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

सङ्घीय संसद्को दुवै सदनबाट पारित सो विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ असोज २ गते प्रमाणीकरण गर्नुभएको थियो । विसं २०३१ देखि ‘शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ सुरु भएको राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८)कै दिन मनाउन थालिएकामा २०७६ सालदेखि दुई दिवसलाई अलग–अलगरूपमा मनाउने निर्णय भए पनि राष्ट्रिय दिवसको मिति निर्धारण हुन बाँकी रहेको थियो ।

बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइयो

म्याग्दी, २ असोज : म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो ।

बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।“लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न सङ्गमचोकमा बजारवासीको भीड लागेको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइएको थियो ।”बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवङ्गत भएका व्यक्तिहरूको सम्झनामा नागानागिनी नाच देखाइएको थियो ।मंका खलः अन्तर्गतको ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो । परम्परागतरूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ । यस वर्षको बर्खेनाचमा करिब दश वर्षपछि धानको बाला नाच देखाइएको हो ।मंका खलःले दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ । विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन् । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ । गत भदौ १८ गतेदेखि सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ । बर्खेनाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ ।–––

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

वाशिङ्टन डिसी, २ असोज : संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।

सोमबार सम्पन्न सो भेटका अवसरमा उहाँबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्नुहुने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । यसैगरी सोमबार परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोसँग भेट गर्नुभएको छ । उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

मन्त्री साउदले सोमबार नै ‘साइडलाइन’ बैठकमा सर्वियाका प्रथम उपप्रधानमन्त्री डा इभिका डासिसबीच भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा नेपाल र सर्वियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । यसैगरी परराष्ट्रमन्त्री साउदले रोमानियाकी परराष्ट्रमन्त्री लुमिनिटा टयुडोरा ओडवेस्क्युसँग भेट गर्नुभएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार देशका केही स्थानमा बर्षाको सम्भावना रहेको छ । मौसम विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग सहित बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू(भागमा आंशिक बदली रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र देशका बाँकी भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हेर्नुहोस् असोज २ गते मंगलवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि – मान्यजनको साथ सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरीएका कार्यहरुमा सामान्य झझट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि – पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । नयाँ कार्यको थालनिले आम्दानि सबल तुल्याउनेछ ।

कर्कट राशि – परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि- मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्य जनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि – बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दीर्घकालिन फाईदा मुलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि – साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीका बिच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आटँको कमि रहला । ब्यापार ब्यवसायका माध्यम बाट आम्दानीका श्रोत सुदृण बन्नेछ । साजेदारी काममा हात नहाले कै बेस रहने छ ।सभा सम्मेलन जन्य कार्य सहभागीता मिल्नेछ ।

बृश्चिक राशि – मित्रजनहरुको लागी साधारण खर्चहुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । ब्यापार ब्यवसायमा सामान्यतय हानि रहन सक्ने छ । कला कौशलको प्रयोगलमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

धनु राशि – हरकोहिको पुर्ण बिश्वास नर्गनु होला धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । मित्रजन को साथ सहयोय प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानि अपनाउनु होला ।

मकर राशि – मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि – दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि – शारीरिक अस्वस्थाका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मान्य जनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।

सहश्रब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ – प्रधानमन्त्री प्रचण्ड

वाशिङ्टन डिसी, २ असोज ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “सहश्राब्दी विकास लक्ष्य हासिल गर्न नेपालले उच्च प्राथमिकता दिएको छ । यसका लागि नेपालले आफ्ना योजना, नीति तथा कार्यक्रममा सहश्राव्दी लक्ष्यलाई एकीकृत ढङ्गले अगाडि वढाएको छ ।”

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाअन्तर्गतको ‘विश्व सहश्राब्दी समिट’लाई अतिकम विकसित देशहरूको तर्फबाट सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “आजको मितिमा हामीहरू विश्व सहश्राब्दी लक्ष्य २०३० को उद्देश्य हासिल गर्न आधा बाटोमा रहेका छौँ, यो हासिल गर्नका लागि हामीहरू गम्भीरतापूर्वक सही मार्गमा रहेका छौँ । ” उहाँले सन् २०३० सम्ममा गरिबीको अन्त्य र असमानता हटाउनका लागि दृढ रहेको उल्लेख गर्दै यही लक्ष्यअनुरुप कसैलाई पनि पछाडि नछाड्ने योजनामा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, “हामीहरू सन् २०२६ सम्ममा मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति हुन र दिगोरूपमा अगाडि बढ्ने योजनामा रहेका छौँ । साथै नेपाल पेरिस सम्झौतालाई हासिल गर्न र सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको छ । हाम्रो राष्ट्रिय कार्ययोजनालाई मूर्तरुप दिन विकास साझेदारहरूलाई निरन्तर सहकार्यको लागि अपिल पनि गर्दछौँ ।”

उहाँले विश्वव्यापीरूपमा कोभिड महामारी, जलवायु परिवर्तन र भूराजनीतिक गतिरोधले गर्दा प्रगतिमा केही पछाडि धकेलिएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “आधाभन्दा बढी विश्वका जनसङ्ख्या पछाडि परेका छन् र यसरी पछाडि पर्नेहरूमा अतिकम विकसित देशका मानिस रहेका छन् । तसर्थ यसका लागि व्यापकरूपमा उद्धार कार्ययोजना आवश्यक परेको छ ।”

प्रधानमन्त्री दाहालले अतिकम विकसित देशहरूमा सिधा वैदेशिक लगानी घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सन् २०२२ मा यस्तो लगानी सन् २०२१ को तुलनामा ३० प्रतिशतले घटेको र यसको असर पूर्वाधार र नवीकरणीय ऊर्जामा लगानी खानेपानी, सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा गम्भीररूपले परेको छ भन्नुभयो । उहाँले अतिकम विकसित देशहरूको बाह्य वित्तीय साधन परिचालनमा सन् २०२१ को तुलनामा सन् २२ मा ४१ प्रतिशतबाट ५४ प्रतिशतमा वृद्धि भएको जनाउनुभयो । उहाँले भन्नुभयो, “उच्च लागतको वित्तीय साधन परिचालनले यी देशहरूले समस्यामात्र भोगेका छैनन्, यसले वित्तीय सङ्कटको मारमा परेका छन् ।”

प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा भन्नुभयो, “हामीहरूले हाम्रो आशा टुटाएका छैनौँ, साथै हामीहरूको प्रतिबद्धतालाई पछाडि धकेलेका छैनौँ । हामीहरूले आन्तरिकरूपमा अधिकतम स्रोत र साधन परिचालन गरेर सहश्राव्दी लक्ष्य हासिलमा अगाडि बढिरहेका छौँ । हामीहरूको एक्लो प्रयासले मात्र यो सम्भव छैन । तसर्थ विकसित देशहरूले दोहा घोषणापत्रअनुसारको प्रतिबद्धता महत्तवपूर्ण छ । नागरिकहरूमा बढीभन्दा बढी लगानी र संरचनागत परिवर्तनको लागि सहयोग र महामारीपश्चातको पुनःउत्थानमा र दिगो विकासमा सहयोगी भूमिका निर्वाह गर्नेछ । ”

उहाँले अतिकम विकसित देशहरूको लागि अधिकतम वित्तीय साधनको परिचालन गरेर ‘एसडिजी प्याकेज’ नै महत्त्वपूर्ण कोसेढुङ्गा हुने उल्लेख गर्नुहुँदै सन् २०२५ सम्ममा उलब्ध गराइने वित्तीय साधन समयमा र उच्च महत्वका साथ उपलब्ध गराउनुपर्छ भन्ने हामीहरूको भनाइ रहेको छ भन्नुभयो ।

प्रधानमन्त्री दाहालले विकसित देशहरूले अल्पविकसित देशहरूलाई जलवायु परिर्वतनको पारेको असर न्यूनीकरण गर्न स्थापित कोषमा उपलब्ध गराउनुपर्ने कुल राष्ट्रिय उत्पादनको शून्य दशमलव सात प्रतिशतले रकमबाट शून्य दशमलव १५ प्रतिशत र शून्य दशमलव २० प्रतिशतमा पुर्याउनु अपरिहार्य भएकोे उल्लेख गर्नुभयो । वित्तीय साधनको परिचालनले अतिकम विकसित राष्ट्रहरूलाई सहश्राव्दी विकास लक्ष्य हासिल गर्न महत्त्वपूर्ण भूमिका खेल्नेसमेत उहाँले स्मरण गराउनुभयो ।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

वाशिङ्टन डिसी, २ असोज : संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ ।

सोमबार सम्पन्न सो भेटका अवसरमा उहाँबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्नुहुने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।

यसैगरी सोमबार परराष्ट्रमन्त्री साउदले फिनल्याण्डका वैदेशिक, व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोसँग भेट गर्नुभएको छ । उक्त भेटघाटमा पारस्परिक चासो, द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको थियो ।

मन्त्री साउदले सोमबार नै ‘साइडलाइन’ बैठकमा सर्वियाका प्रथम उपप्रधानमन्त्री डा इभिका डासिसबीच भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा नेपाल र सर्वियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ । यसैगरी परराष्ट्रमन्त्री साउदले रोमानियाकी परराष्ट्रमन्त्री लुमिनिटा टयुडोरा ओडवेस्क्युसँग भेट गर्नुभएको छ ।

अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै ऋषिपञ्चमी पर्व

काठमाडौँ, २ असोज स् ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका ९तीज० को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । महिलामा रजस्वलाका समयमा छाई छुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी, र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको उहाँले बताउनुभयो ।यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।ऋषि पञ्चमीको पृष्ठभूमिमहिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुप¥यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाउनुभयो । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिनुभयो ।यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसूदन सुवेदीले बताउनुभयो ।रजस्वला भएका बेलामा अरूलाई छोइछाइ गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने एवं जानी नजानी छोइछाइ भएमा आजको दिनमा अरुन्धतीसहित सप्त ऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।रज भनेको फोहर हो । जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत अध्ययन गरी सार्वजनिक गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजाआराधना गर्ने गरेका छन् । 

मुलुकको विकास लागि विज्ञान प्रविधिको प्रयोग आवश्यक : अध्यक्ष ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका विकास लागि विज्ञान प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा एमाले विज्ञान तथा प्रविधि विभागले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको वर्तमान अवस्था र चुनौतीहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले विज्ञान प्रविधिको प्रयोग नगरिकन मुलुकको विकास सम्भव नहुने बताउनुभयो । उहाँले विज्ञानलाई नेपालले बुझेको भन्दै विज्ञान प्रविधिको सही प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले विज्ञान अत्यन्तैै आवश्यक कुरा रहेको उल्लेख गर्दै विज्ञानको विकास गर्ने कि प्राप्त गर्ने भन्ने कुरा मात्र फरक रहेको बताउनुभयो । उहाँले विज्ञानले प्रकृतिमा रहेका नियमलाई सत्यतथ्यलाई बताउने बताउनुभयो ।

उहाँले ज्ञान र शिक्षाको पहिलो थलो हाम्रो मुलुक रहेको भन्दै ज्ञान प्राप्त गर्ने कुरामा बीचमा ‘ब्रेक’ लागेको र अहिले त्यो हटेको धारणा राख्नुभयो । उहाँले मुलुकको विकास गर्नका लागि कठिनाइ रहेको उल्लेख गर्दै भन्नुभयो, “कठिनाइ हामीसँग रहेका छन् । हामीले केही गरेका छौँ । तर जहाँसम्म गर्नुपर्ने हो त्यो मात्र नगरेका मात्र हौँ ।”

उहाँले अध्ययन अनुसन्धानतर्फ ध्यान नदिँदा विकास निर्माण अघि नबढेको भन्दै विज्ञान प्रविधि आवश्यक रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हामी ती पुर्खाका सन्तान हौँ जसको ‘जेनेटिक मेमोरी’ले काम गर्न सक्दछ । हाम्रो जीवनमा हाम्रा वैज्ञानिक पुर्खाको रगत रहेको छ । त्यसले गर्दा हामी छिट्टै जान्न र सिक्न सक्दछौँ ।”

उहाँले मासुमा आत्मनिर्भर भनिएको भए पनि विदेशबाट ट्रकका ट्रक खसी आउने गरेको बताउनुभयो । “आत्मनिर्भर त भन्छौँ । दशैँका लागि थुप्रै फर्मले खसीबोका हुर्काइरहेका होलान् । मेरा आँखा अगाडिबाट ट्रकका ट्रक खसी बोका आइरहेका छन् भने कसरी पत्याउने मासुमा आत्मनिर्भर छौँ भनेर ?”, उहाँले भन्नुभयो ।

आज आज गणेश चतुर्थी पर्व , भगवान् गणेशको पूजा आराधना गरी मनाइदै

काठमाडौँ, २ असोज ः अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् ।

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल

काठमाडौँ, १ असोज : कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषद्का सदस्यहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । रक्षा मन्त्रालयमा आज सबै मन्त्रीहरूसँग छलफल गर्दै उहाँले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुने गरी कार्यसम्पादन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहनुभएका बेला पनि जनतासँग जोडिएका र सेवा प्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको कावा प्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

छलफलमा उहाँले देशको शान्तिसुरक्षामा खलल पु¥याउने र नागरिकमा वितृष्णा फैलाउने तत्वहरू सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरूमा शान्तिसुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महँगी नियन्त्रणमा नतिजा आउने गरी तथा आम नागरिकले राहत महसुस गर्ने गरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो । बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्वका साथ सरकारले लाग्नुपर्ने कावा प्रधानमन्त्री खड्काले जोड दिनुभयो ।

छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरूले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्तिसुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।

सम्झनामा पुरानो तीज

नारायणगढ (चितवन), १ असोज :

“सुन्तलीको हाँगा र बिगा टुप्पै बस्यो जुरेली,
तेइमा जुरेली मारीमा ल्याउँछु लेउ लेउ भाउजू गुलेली,
नी बरीलैै लेउ लेउ भाउजू गुलेली”

तीजका अवसरमा दिदीबहिनीहरूसँग दर खाँदै गर्दा प्रस्तुत गीत गाउँदै नाच्दैै गर्नुभएकी भरतपुर–२ की शान्ता अधिकारी एक छिन ३५÷४० वर्षअघि गोरखामा आमासँग माइतीको आँगनीमा नाच्दै गरेको अवस्थामा फर्कनुभयो ।

“माइती दिदीबहिनी भेट भएको बेलामा मलाई यो गीतले पुरानै बाल्य अवस्थामा फर्कायो”, आमाले माइती गाउँमा तीजको मेलामा यही गीतमा नाच्ने गरेको स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “यस्ता गीतले मलाई दिवङ्गत आमाको यादले झस्काउँछ । अब ती दिन फर्केर त आउँदैन तर माइती गाउँकै दिदी, बहिनी, भाउजू भेट हुँदा भने पुरानो यादले यो मन फेरि माइतीगाउँतिर लैजान्छ । ”

गाउँका माइतीहरू पनि गाउँ छाडेर सहर पसेको बताउने अधिकारी फेरि एकपटक पुरानै माइती गाउँमा गएर तीजमा कम्मर मर्काउने धोको रहेको बताउनुहुन्छ ।

रत्ननगरको टाँडी माइतीमा तीज मनाउँदै गर्नुभएकी राधिका अधिकारी तीजको स्मरण गर्दै भन्नुहुन्छ, “तीजको दिन छुट्टै रौनक हुन्थ्यो, राति दर खाएपछि दिनभर पानी पनि नखाई व्रत बसिन्थ्यो ।” उमेरले ६० वसन्त नाघ्नुभएकी उहाँँले जवानीमा चेलीबेटी जम्मा भई दिनभर नाचगान गर्दा भोक र थकाइको महसुस नहुने गरेको बताउनुभयो । माइतीको आँगनीमा बसेर गाइने तीजका गीतले चेलीको वेदना प्रस्तुत गर्ने भन्दै उहाँले एक टुक्का गाउनुभयो,

“बाबाले दिएको शिरै लाउने शिरफुल सुन्तला घारीमा खस्यो बरीलै,
घर जाऊ छोरी भन्नुहुन्छ बाबाले माइतमै दिल बस्यो बरिलै”

उमेरले ८४ वर्ष लाग्नुभएकी भरतपुर–११ की लीलादेवी दवाडी आजकाल तीज आएकै थाहा पाउनुहुन्न । पहिले पहिले उमेर छँदा तीज आउनुभन्दा दुई–तीन दिन अघिदेखि नै घरका गाईवस्तुलाई घाँसको व्यवस्था गरी घरको कामलाई छोट्याएर तीजका दिन माइत जाने गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ऊ बेलामा आजकाल जस्तो कसैलाई फुर्सद हुन्थेन । ढिकी, जाँतो र घरको काम गरेर दिन जान्थ्यो, तीज आउनुभन्दा पहिला रातभर नसुती माइत जानका लागि काम सक्नुपथ्र्यो ।”

नवलपुरको गैँडाकोट घर भएर भरतपुर माइत आउनुभएकी सम्झना अघिकारीले तीजमा हजुरआमाले पकाएको दरको याद गर्नुभयो । उहाँ भन्नुहुन्छ, “सानोमा तीजको दर खाँदा असाध्यै रमाइलो लाग्थ्यो । दर खाने रात हजुरआमा नसुती दर पकाउनुहुथ्यो । अनि हामीलाई राति दर खान उठाउनुहुन्थ्यो, हामी खुसी भएर दर खान्थेम ।”

घरका सबै जना राति उठेर हजुरआमाले पकाएको दर खाएको हिजो जस्तो लागेको तर हजुरआमा बितेको २० वर्ष पुगेछ भन्दै उहाँ एकछिन भक्कानिनुभयो । पहिले तीजको बेलामा आमाहरूले गाउने एउटा गीतको स्मरण गर्दै उहाँले गाउनुभयो,

“फररर फरर चौतारीको बरको पात,
को सँग भनौँ मैले यो मनको बात,
बाबासँग भनौँ भने बाबा बूढो हुनुभो,
आमासँग भनौँ भने पहिल्यै रुनुभो ।”

पहिल–पहिले चेलीको वेदना तथा विभिन्न घटनालाई कथेर तीजका गीतहरू गाइने गरिने तर आजकाल त्यस्ता गीतको मौलिकता हराउँदै गएकोे उहाँलाई लागेको छ ।

नाच्न गाउन भने त्यति नजान्ने बताउने उहाँले तीजका मेलामा गाइने एउटा टुक्का भने यसरी सम्झनुभयो,

“कोदो छरेँ मकै छरेँ धान छरेको छैन बरिलै,
सौतामाथि दियौ बाबा मन परेको छैन बरिलै”

तीजका अवसरमा महिलाहरू कर्मघरबाट माइतीघर आउने र मीठो मसिनो खाई माइतीसँग भलाकुसारी गर्ने गर्दछन् । परापूर्वकालदेखि मनाइँदै आएको तीज विशेषगरी महिलाहरूका लागि वर्षको एक दिन खुल्ला वातारणमा रम्ने पर्वका रूपमा लिइन्छ । जन्म घर छोडेर कर्र्मघरमा जीवन बिताउँदा माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा तीज पर्वलाई लिन सकिन्छ ।

तीज अपरिचित ठाउँको वर्षभरिको जिम्मेवारी, तनाव र जन्मघर र बालासखीप्रतिको सम्झनालाई पुनर्ताजगी गर्ने अवसर दवाडीको अनुभव छ । पछिल्लोे समयमा तीजका नाममा गाइने भड्किला गीत र महिनौँदेखि दरखाने चलन बढ्दै जाँदा मौलिक परम्परा मासिने चिन्ता भने पक्कै भएको उहाँले बताउनुभयो ।

म्याग्दीका श्रेष्ठलाई नानी–शुक स्मृति पुरस्कार

म्याग्दी, १ असोज : म्याग्दीका अगुवा ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठ रु २५ हजारभन्दा बढी पुरस्कार राशिको नानी–शुक स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

नानी–सुक स्मृति प्रतिष्ठानले १७ औँ वार्षिकोत्सवका अवसरमा आज पोखरामा बेनी नगरपालिका–७ निवासी ८१ वर्षीय श्रेष्ठलाई सम्मान गरेको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई नगद रु २५ हजार पाँच सय २५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मान गर्नुभयो ।

म्याग्दीको समग्र विकासमा उहाँले गरेको योगदानका आधारमा सम्मान गरिएको प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका संस्थापक र मानार्थ सदस्य श्रेष्ठले मङ्गला गाउँपालिकाको प्रभात आधारभूत विद्यालयलाई कक्षाकोठा भवन बनाउन निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।

ज्येष्ठ नागरिक समाजका अध्यक्षसमेत रहनु भएका सम्मानित व्यक्तित्व विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील रहँदै आउनुभएको छ । म्याग्दीमा यानीमाया गाउन होस् वा विभिन्न जात्रामा मौलिक नाच नाच्न उनी सधैँ अघि सर्नुुहुन्छ ।

गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया हिराचनको स्मृतिमा रु नौ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि मुस्ताङका भक्ति हिराचन, कास्कीका अनन्तनाथ पौडेल, कास्कीकै पद्मराज कोइराला, तनहुँका दिव्यरमण अर्याल, बागलुङका पद्मसिं विश्वकर्मा, अर्घाखाँचीका कृष्णप्रसाद पौडेल, लमजुङका पूर्णभद्र नेउपाने र पर्वतका लोकनाथ आचार्य पुरस्कृत हुनुभएको छ ।

पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक राति बन्द हुने

मलेखु (धादिङ), १ असोज : पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।

असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।

सोमबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय गरेको छ । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दनुभयो । उहाँले सम्बन्धित आयोजनाका तर्फबाट सबै पक्षलाई सूचित गर्न राष्ट्रिय दैनिक तथा अन्य सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न र छिमेकी जिल्लासँग पनि समन्वय गरी यात्रुले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु

वीरगञ्ज, १ असोज : बढ्दो डेङ्गी सङ्क्रमणलाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिकाले ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु गरेको छ । पछिल्लो समय वीरगञ्ज महानगर क्षेत्रमा डेङ्गी सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेङ्गी सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।

अभियानका क्रममा महानगरपालिकाले डेङ्गी सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुवाहक बसदेखि अन्य सवारी साधनमा स्प्रे गर्न थालेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँले जानकारी दिनुभयो ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न अहिलेसम्म एक सय २० भन्दा बढी सवारी साधन र पानी जमेको स्थानमा स्प्रे गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाइ शाखा र नगर प्रहरीको टोलीसमेत स्प्रे गर्न परिचालन गरिएको छ ।

यात्रुवाहक बसका साथै वीरगञ्जको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नरसिंह माविसम्म रहेका टायर पसलमा राखिएका पाँच सय ६३ वटा टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा नष्ट पनि गरिएको प्रमुख मियाँले जानकारी दिनुभयो । मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा षधी स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उहाँले बताउनुभयो ।

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौँ, १ असोज : नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहाद्र्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी, एकअर्काको आधारभूत चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताउनुभयो ।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताउनुभयो । उहाँले गत अगस्तमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको प्रशंसा गर्नुहुँदै युनानको कुनमिङ्गमा सातौँ चाइना–साउथ एसिया एक्स्पोजिसन र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकामा टोलीसमक्ष धन्यवाद व्यक्त गर्नुभयो ।

“नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेकामा यसलाई वृद्धि गर्न सकिने सम्भावनाहरु धेरै छन्”, उपराष्ट्रपति यादवले भन्नुभयो, “द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरुमा उत्पादक क्षमता बढाउनाका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुको निकासी गर्न अनुरोध गर्दछु ।”

उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरुमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकाले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो । चिनियाँ भ्रमण टोलीका नेतृत्व गरिरहनुभएकी जेङ यानले आफूहरुको यो भेटघाट उपलब्धिमूलक रहेको बताउनुहुँदै दुई देशको सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताउनुभयो ।

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

काठमाडौँ, १ असोज : एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ ।

नेपालस्थित छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज बसेको बैठकबाट ‘हल्कारा’ लाई सिफारिस गर्ने निर्णय गरिएको समितिका सदस्य सामीप्यराज तिमल्सेनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी ‘हल्कारा’लाई सिफारिस गर्ने निर्णय गरेका हौँ ।” उहाँका अनुसार सन् २०२४ मा अमेरिकास्थित लस एन्जल्समा हुने भनिएको सो अवार्डका लागि नेपालस्थित समितिमा चलचित्रहरु ‘डाकिनी’, ‘हल्कारा’, ‘नीरफूल’, ‘बुलाकी’ र ‘बगान’का तर्फबाट सहभागिताका लागि आवेदन परेको थियो । मापदण्डअनुसार विसं २०७९ असोज १५ गतेदेखि विसं २०८० भदौ २९ अघिसम्म प्रदर्शन भएका चलचित्रहरू प्रतिस्पर्धामा सहभागी भएका थिए ।

चलचित्र विकास बोर्ड सदस्य राजु केसीको संयोजकत्वमा पाँच सदस्यीय छनोट समितिमा मञ्जुकुमार श्रेष्ठ, गौतम धिमाल, सामीप्यराज तिमल्सेना सदस्य र रीतिका भट्टराई सचिव हुनुहुन्छ ।

मनाइयो वास्तु दिवस, गरियो विश्वकर्मा पूजा

काठमाडौँ, १ असोज : आश्विन सङ्क्रान्ति अर्थात् कन्या राशिमा सूर्य प्रवेश गरेका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाएका छन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाइएको हो । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराई यो दिवस मनाउने चलन छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती नदीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध जल भएको नदी किनारलगायत शुद्ध स्थलमा सेलाउने गरिन्छ ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान श्रीकृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा आजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताउनुहुन्छ ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै तयार पार्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउनुहुन्छ ।

यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्दछन् ।

वास्तु शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुकै विषय उल्लेख गरिएको छ । स्थापत्यलाई अथर्व वेदको उपवेद मानिन्छ ।

विमान उडान प्रतियोगितामा दुई चालकको मृत्यु

लस एन्जलस – संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्य नेभाडामा विमान उडान प्रतियोगितामा दुई जना चालकले ज्यान गुमाएका छन् ।

‘टी सिक्स गोल्ड रेस’का क्रममा विमान अवतरण गर्दा दुई वटा विमान एक आपसमा ठोक्किदा उनीहरूको मृत्यु भएको आयोजकहरूले आइतबार बताएका हुन् । “हाम्रो रेसिङ परिवारका दुई सदस्य निक मेसी र क्रिस रशिङको अवतरण गर्दा दुर्घटनामा परी ज्यान गएको छ, दुवै जना दक्ष पाइलट थिए,” रेनो एयर रेसिङ एसोसिएसनले एक विज्ञप्ति निकालेर भनेको छ ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।सात रेसिङ क्लास समेटिएको उक्त कार्यक्रमले विगत १० वर्षमा १० लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको तथा त्यसबाट ७५ करोड डलर आम्दानी भएको एसोसिएसनले बताएको छ । विगत पाँच दशकदेखि हरे वर्ष आयोजना हुँदै आएको यो प्रतियोगितामा यसरी पाइलटको मृत्यु भएको यो पहिलो दुर्घटना होइन ।

गत वर्ष पनि जेट विमान दुर्घटना हुँदा चालकको मृत्यु भएको थियो । सन् २०११मा दर्शकहरूको भीडमा विमान खस्दा ११ जनाको मृत्यु भएको थियोभने अन्य ६० जना घाइते भएका थिए ।

राजमार्ग विस्तार : सहरी क्षेत्रमा दसैँ–तिहारपछि काम गर्न माग

काभ्रेपलाञ्चोक, १ असोज : अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ–तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम भइरहेको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५ दशमलव ५ किलोमिटर सडकखण्ड सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले हाल चार लेनमा विस्तार थालेको हो । अरनिको राजमार्ग विस्तारबाट व्यावसायिक प्रभावसम्बन्धी बनेपा नगरपालिकामा आयोजित अन्तरक्रियामा व्यवसायीले उक्त माग गरेका हुन् ।

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेंले दसैँ तिहारपछि मात्रै बनेपा बजार क्षेत्रमा काम सुरु गर्न सुझाव दिनुभयो । “तिहारपछि काम सुरु गरेर धेरै जनशक्ति परिचालन गरी छिटो काम सम्पन्न गर्न माग गदैछौँ”, उहाँले भन्नुभयो । चाडपर्वको मुखैमा राजमार्ग विस्तारकै कारण व्यवसायी पलायन हुन नदिन उहाँले आग्रह गर्नुभयो ।

यस्तै सङ्घका महासचिव रवीन्द्र वैदारले आर्थिक मन्दीका कारण यस वर्ष व्यवसायी मारमा परेकाले चाडपर्वको समयमा व्यवसायीलाई नलखेट्न सुझाव दिनुभयो । उहाँले देशकै व्यापारिक सहरको परिचय बनाएको बनेपालाई जोगाउन सरोकरवालाको ध्यान जानुपर्ने उहाँको भनाइ थियो । उहाँले राजमार्ग विस्तारसँगै ‘लोड–अनलोड’ को समस्या प्रमुख रुपमा देखिने भएकाले आवश्यक भौतिक पूर्वाधारसहित उचित विकल्पबारे सोच्न आवश्यक रहेको बताउनुभयो । राजमार्ग विस्तारका क्रममा ढलको उचित प्रबन्ध गर्न, आकाशेपुलको व्यवस्था गर्न, व्यवसायीमैत्री विकास निर्माणका काम गर्न उद्योगी व्यवसायीले सरोकारवालालाई आग्रह गरेका हुन् ।

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो । राजमार्गअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमि विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम सुरु गरिएको हो ।

बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले पटक–पटक भएका छलफलबाट आएको निष्कर्षलाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै कतिपय अवस्थामा व्यावहारिकतालाई पनि ध्यान दिन आयोजनासँग आग्रह गर्नुभयो । नगर उपप्रमुख विमला शर्माले नागरिकलाई आवतजावत, व्यापार–व्यवसाय गर्न असहज हुनेगरी काम गर्न नहुने तर्क राख्नुभयो । उहाँले करिडोर निर्माण कार्य सम्पन्न गर्न सके होलसेल बजारलाई व्यवस्थित गर्न सकिने बताउनुभयो ।

यसैगरी सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इञ्जिनीयर माधव पौडेलले आयोजनाबारे जानकारी गराउँदै विस्तारको काम १५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो । उहाँले रुख कटान कार्य सुरु भएको, विद्युत् पोल हटाउन प्राधिकरणसँग समन्वय भइरहेको उल्लेख गर्दै कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने बताउनुभयो ।

तीज पर्वको परम्परा जोगाउनै गाह्रो

काठमाडौँ, १ असोज ः आज व्रत बसेर तीज पर्व मनाइरहनुभएकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । “भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो”, उहाँले हाँस्दै सुनाउनुभयो “दर खाने दिनसम्म नै यो क्रम चल्यो ।”

भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्याल बताउनुहुन्छ । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने कार्यक्रम राख्नुलाई उहाँ राम्रो ठान्नुहुन्न । उहाँ भन्नुहुन्छ, “तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ । त्यसैले हाम्रो संस्कृति हामीले नै बचाउने हो, अरुलाई दोष दिएर हुँदैन ।”

अघिल्ला वर्षहरुमा आफू केही कार्यक्रममा गएको अनुभव सुनाउँदै उहाँ त्यस्ता दर खाने कार्यक्रमको ‘मेनु’ हेर्दा आफू चकित परेको बताउनुहुन्छ । मदिरा र मासुका परिकार खाँदै विदेशी गीतमा नाच्नुमा तीजको रौनक नआउने उहाँको अनुभव छ । उतिबेला आफूले गाउने गरेको तीज गीत सत्यालले यसरी सम्झँदै भन्नुहुन्छः

‘हे… बाबा लिन आउनुभयो वर्ष दिनको तीजलाई पठाइदिनुस् स्वामी राजा दुई दिनलाई’

“दरखाने अघिल्लो दिन माइतीबाट दाजुभाइ लिन जाने चलन थियो । घरबाट श्रीमान्, सासू, ससुराले बिदा दिए त माइत गइन्थ्यो, नदिए घरमै रुँदै बस्नुको विकल्प हुँदैनथ्यो”, ती दिन सम्झँदै मीनाले भन्नुभयो, “साथीसङ्गी र आफन्तसँग बसेर सबै पीडा, दुःख मेट्ने यो जत्तिको उपयुक्त चाड महिलाका लागि अरू छैन ।” उहाँको पुख्र्यौली घर अर्घाखाँची हो ।

तीजमा गाउने गीतको भाका र विशेषता अलग्गै भएको बताउने उहाँले उतिबेलाको तीज गीतलाई यसरी स्मरण गर्नुभयो ।

‘छोरी मान्छे भएर बस्नु घरै स्याहारी
दिदीबहिनी आउँछन् मेरा नजाउ पियारी’

‘दुई दिन माइत जान पाइन तीजका बेलामा
म चेलीको आँसु झ¥यो दैलो ठेलामा ।’

गोरखाको मैलुङमा बाल्यकाल बिताउनुभएका मध्यपुरथिमीकी राधिका देवकोटा पन्त २०४२ तिरको तीज सम्झँदै पुलकित हुनुहुन्छ । श्रीकृष्ण जन्माष्टमीको रातदेखि नै आमा दिदीबहिनी जम्मा भएर हरेक रात खानापछि हातले दाम्लो बाट्दै, मकै छोडाउँदै घन्टौँसम्म गीत गाएर बसेको स्मरण उहाँसँग छ । उहाँले बारीमै पाकेका काँक्राको अचार हाल्ने, घ्यू र मसलाको जोहो गर्ने मात्र होइन तीज भरिलाई पुग्ने दाउरा, घाँसको व्यवस्था गरेर महिला तीज मनाउन माइत जाने उहाँको अनुभव छ ।

“दर खाने दिन माइत पुगेपछि राति १२ बजे उठेर घ्यू, भात, तरकारी टन्न खाइन्थ्यो, तीजको दिन निराहार व्रत बसेर विभिन्न मठ, मन्दिरमा दर्शन गर्दै गीत गाउने र नाच्ने गरिन्थ्यो”, विगत सम्झँदै राधिकाले सम्झनुभयो, “भोलिपल्ट पञ्चमीको पूजा लगाएर बा, आमा, दाजुभाइ, साथीसङ्गी सबैलाई छोडेर माइतीबाट गह्रौँ मन बनाएर पुनःघर फर्किनुहुन्थ्यो आमाहरु ।”

राधिका, दुर्गा र मीनालाई अहिलेको तीज मनाउने प्रचलन पटक्कै मन परेको छैन । यो बीचमा आएका निकै उतारचढावले संस्कृतिमा पारेको प्रभावबारे जानकारहरु चिन्ता गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न, लाइक गर्न र कमेन्ट हेर्न रुचाउनेको भीडले संस्कृति जोगाउन नसकेको उहाँहरुको तर्क छ ।

वाल्मीकि क्याम्पसकी उपप्राध्यापक तनुजा दाहाल तीज मनाउने तरिका वा समय लामो देखिए पनि आफन्तको बीचमा हुने भेटघाट र मनोरञ्जन आदानप्रदानबाट मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गरेको बताउनुहुन्छ । तीज मनाउने प्रचलनमा देखिएको भिन्नताबारे उहाँ भन्नुहुन्छ, “परिवारको विस्तृतीकरण, आर्थिक सम्पन्नता, नारीहरुको कार्यव्यस्तता आदि कारणले तीज प्रचलनमा फरकपना देखिएको हो ।” धर्म र पर्वको सही प्रयोग गर्नसके संस्कार र संस्कृतिको वास्तविक सम्मान, संरक्षण र संवद्र्धन हुनसक्ने दाहालको भनाइ छ ।

तीज र यस्तै हाम्रा धार्मिक सांस्कृति पर्वहरुका आफ्नै मूल्य मान्यताहरु रहेका छन् । तिनको अनुसरण गर्न सक्यौँ भने मात्र हाम्रा परम्पराहरु पनि आगामी पुस्तामा पुस्तान्तरण हुँदै जानेछन् । अन्यथा खानपिन र रङ्ग रमाइलो मात्र गर्ने क्रम पुस्तान्तरण हुने तर खास परम्पार र संस्कार भने लोप हुने खतरा रहेन देखिन्छ ।

दोधारा चाँदनी सुक्खा बन्दरगाह : निर्माण प्रक्रियाले गति लिँदा पलाएको आशा

महेन्द्रनगर, १ असोज : कञ्चनपुरको दोधारा चादँनीमा सख्खा बन्दरगाह प्रस्ताव भएको करिब डेढ दशकपछि यसको निर्माण प्रक्रियाले गति पाएपछि सुदूरपीश्चमकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चादँनी नगरपालिका–१ मा निरीक्षण गरेयता उक्त आयोजनाले निर्माण प्रक्रियालाई गति दिएको छ ।

प्रधानमन्त्रीले स्थलगत निरीक्षणपछि गत जेठमा भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणले उच्च प्राथमिकता दिँदै भारतले आगामी तीन वर्षमा बनाइदिने सहमति पत्र (ओएमयू) मा हस्ताक्षर गरेपछि आर्थिक विकास हुने अपेक्षा हुँदै आएको होे ।

दुवै देशको प्रधानमन्त्री स्तरमा भएको उक्त सम्झौतापछि भारतीय पक्ष पनि सुक्खा बन्दरगाह निर्माणमा चासो दिएर स्थलगत अनुगमनमा जुट्न थालेको छ । सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा सुक्खा बन्दरगाह स्थलको अनुगमन गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशको आर्थिक स्मृद्धिमा भरपुर सहयोग पुग्ने सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको विषयले प्रक्रियागत रुपमा बढावा पाउन थालेपछि स्थानीयवासी हर्षित छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरले सुक्खा बन्दरगाह निर्माण स्थलमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि मन्त्रिपरिषद्को बैठकले जग्गा निर्धारण गरी सेकेको बताउनुभयो । “अब यहाँ छिट्टै सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्छ”, लेखकले भन्नुभयो, “सुक्खा बन्दरगाह कञ्चनपुरको मात्रै नभएर यसले देशको आर्थिक विकासमा जोड दिनेछ ।”

निर्वाचनका बेला नेता लेखकले सुक्खा बन्दरगाह निर्माणसँगै कञ्चनपुरलाई नेपाल–भारत र चीनको त्रिदेशीय नाका बनाउने विषय मुख्य चुनावी एजेन्डासमेत बनाएका थिए । त्यसैगरी राजदूत श्रीवास्तबले भारत सरकारले अनुदानमा निर्माण गरिने भएकाले सोको स्थलगतको अनुगमन गर्न दोधारा चाँदनी आएको बताउनुभयो । “डिपिआर स्वीकृत भएपश्चात् समयमै सुक्खा बन्दरगाह निर्माण हुनेछ”, उहाँले भन्नुभयो ।

दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रको दुई सय ८० बिघा जमिन अधिग्रहण गरी सुक्खा बन्दरगाह निर्माण हुनेछ । झन्डै रु ६ अर्ब लागतमा चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुनेछ । सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ ।

केही समयअघि चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको थियो । पहिलो चरणमा सडक सञ्जाल र दोस्रो चरणमा रेलवे कनेक्सन निर्माण गरिने योजना छ । वनको ४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुईवटा गोदाम भवन, भन्सार चेक जाँच, क्वारेन्टिन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार निर्माण हुनेछन् । जसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ । इआइए प्रतिवेदनअनुसार एक हजार नौ सय वटा रूख काट्नुपर्ने छ ।

आज भएको स्थलगत निरीक्षणमा कांग्रेस प्रमुख सचेतक लेखक, भारतीय राजदूत श्रीवास्तव, सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर रानामगर, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायत स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

काठमाडौँ, १ असोज : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।

सरकारले चालु आवका लागि कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सोमध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् रू ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ । यो शीर्षकमा रू तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्याइएकोमा भदौ मसान्तसम्ममा रू आठ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ । मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि रू तीन खर्ब सात अर्ब ४५ करोड बराबर छ । पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट रू ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ ।

यहि अवधिको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको १० दशमलव ४७ प्रतिशत बराबर छ । चालु आवका लागि सरकारले कूल रू १४ खर्ब ७२ अर्ब ४८ लाख बराबर बजेट छुट्याउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा रू एक खर्ब ५४ अर्ब २३ करोड ५९ लाख बराबर राजस्व उठेको छ ।

कर राजस्व वार्षिक लक्ष्यको नौ दशमलव आठ प्रतिशत अर्थात रू एक खर्ब २७ अर्ब ९५ करोड ६७ लाख र गैरकर राजस्व लक्ष्यको ११ दशमलव २१ प्रतिशत अर्थात् रू १३ अर्ब १२ करोड बराबर उठेको छ । यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन ।

चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट

भरतपुर (चितवन), १ असोज : चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।

पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरका प्रमुख शिरिष गौतमले नष्ट गरिएको माछा भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्ने जानकारी दिनुभयो । “बिलमा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) प्रतापपुरको सुजु एण्ड समीक्षा सप्लायर्सबाट आएको भन्ने छ । त्यहाँ उल्लेख गरेअनुसार त्यो प्रजातिको माछा त्यस क्षेत्रमा पालिएको छैन”, उहाँले भन्नुभयो, “भारतबाट अवैधरूपमा भित्रिएको हुनसक्छ ।” अवैधरूपमा ल्याइएका माछा विगेड कार्भ, सिल्भर कार्भ र रुपचन जातका छन् ।लु३च १७९४ नम्बर गाडीमार्फत ‘आइस’मा राखेको माछा काठमाडौँतर्फ लैजान लागिएको थियो । जाँचको क्रममा प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रमुख गौतमले जानकारी दिनुभयो । सो माछा खान नमिल्ने अवस्थामा रहेको समेत उहाँले बताउनुभयो । “भौतिकरूपमा हेर्दा माछामा गन्ध आएको छ”, उहाँले भन्नुभयो, “अवैध र गन्ध आएपछि नष्ट गरेका हौँ ।” अहिलेसम्म व्यवसायी सम्पर्कमा नआएको उहाँले बताउनुभयो । नष्ट गरेको माछाको बजार मूल्य रु तीन लाख २० हजारसम्म रहेको गौतमले जानकारी दिनुभयो । तर बिलमा रु एक लाख ६० हजारमात्र लेखिएको छ ।मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्ष अर्जुन लामिछानेले अवैधरूपमा माछा नेपाल भित्रने क्रम नरोकिएको बताउनुभयो । उहाँले १० महिनाको अवधिमा चितवनमा मात्रै चारपटक अवैधरूपमा भित्र्याइएको माछा नष्ट गरिएको जानकारी दिनुभयो ।बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम २ (ख) अनुसार नियमानुसार विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ । चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ । माछामा आत्मनिर्भर चितवनबाट विभिन्न जिल्लामा माछा निर्यातसमेत हुने गरेको छ । यहाँ करिब पन्ध्र सय किसानले माछा पाल्ने गरेको मत्स्य व्यवसायी सङ्घले जनाएको छ ।

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने जानकारी दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन अमेरिकामा रहनुभएका उहाँले त्यहाँस्थित नेपाली सञ्चारकर्मीसँग आइतबार भएको भेटमा नेपाली नागरिकलाई मतादानको अधिकारबाट बञ्चित हुन नदिइने बताउनुभयो ।

उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताउनुभयो । सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको उहाँको भनाइ थियो ।

सन्दर्भ संविधान दिवस : संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख देवराज घिमिरे

काठमाडौँ, १ असोज : ताप्लेजुङको सिँकैचामा जन्मनुभएका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे नेपालको वाम–लोकतान्त्रिक आन्दोलामा लामो समयदेखि संलग्न व्यक्तित्व हुनुहुन्छ । विसं २०७९ को निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट झापा क्षेत्र नं २ बाट निर्वाचित घिमिरे नेपालको संविधान कार्यान्वयनका क्रममा अघि बढेकाले यसको प्रभावकारी कार्यान्वयनबाट नै आम जनताको जीवनमा परिवर्तन आउने धारणा राख्नुहुन्छ ।

संविधान दिवस, २०८० को पूर्वसन्ध्यामा सभामुख घिमिरेसँग राससका समाचारदाताद्वय प्रकाश सिलवाल र कालिका खड्काले गरेको कुराकानीको सम्पादित विवरण :नेपालको संविधान जारी भएको आठ वर्ष व्यतित भएको छ । संविधानको कार्यान्वयनको हालसम्मको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?हामीले २०७२ सालमा नेपालको संविधान जुन जारी गरेको छौँ, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान वस्तुगतरूपमा जनताका चाहना र भावना बोकेर आएको छ । हामीले संविधानलाई यस अवधिमा कार्यान्वयन गरिरहेका छौँ । कार्यान्वयनका सकारात्मक र नकारात्मक असर देखापरिरहेका छन् । संविधानले जनताको जीवनमा प्रभाव पारिरहेका छन् ।संविधानका कारण जनताले अधिकार पाए भन्नेमा त विवाद भएन तर जनताको जीवनमा प्रभावको कुरा गर्दा, उसको व्यक्तिगत जीवनमा प्रत्यक्षतः यो लाभ पायो ठोसरूपमा भन्नुपर्दा के भन्न सकिन्छ ?मेरो विचारमा जनताले तुलनात्मक ढङ्गबाट सबै कुराहरू पाएका छन् । सबै भन्नाले आधारभूत कुरामा राज्यले दायित्व निर्वाह गरेको हुनुपर्छ भन्ने कुरा संविधानमा स्पष्ट व्यवस्था गरिएको छ । नागरिकको घर नजिकै स्थानीय सरकार छ । त्यहाँबाट कति मात्रामा जनताले पायो ? कति पाइरहेको छ भन्ने बेग्लै कुरा हो तर उसले जनताले अधिकार पाएको छ । तीन तहका सरकारले दायित्व पाएको छ । जस्तो शिक्षाको कुरा गरौँ, स्थानीय तहले कहाँ–कस्तो विद्यालय बनाउने, जीवनोपयोगी शिक्षा नीति कस्तो बनाउने ? पाठ्यक्रम कस्तो बनाउने भन्ने सवालमा उसले आफ्ना नीति र योजना लागू गर्न सक्छ । अधिकार प्रत्यायोजन र व्यवस्थापनका कुराहरू भएको छ । आफ्नो गाउँ वा नगरलाई कसरी विकास गर्ने भन्ने सवालमा स्थानीय सरकार स्वायत्त र जिम्मेवार भएको छ । जनतालाई महसुस दिलाउने काम स्थानीय तहको हो । आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले जनताको जीवनमा परिवर्तन गराउने काम डेलिभरी गराउने निकायको काम हो । बजेट बनाउने, खर्चको बाँडफाँट र सेवा वितरणमा हरेक स्थानीय सरकारले आफ्नो मौलिकता प्रदर्शन गर्न सक्छ । यो संविधानको देन हो भन्ने मलाई लाग्छ ।सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा जति हुनुपर्ने हो, त्यति प्रभावकारिता नआएको पनि देखिन्छ नि ?हामीले संविधान जारी गरेर कार्यान्वयनमा लगेको धेरै लामो भएको छैन । एक कार्य अवधिको निर्वाचन सकेर अर्काे कार्य अवधिको निर्वाचन भर्खरै भएको छ । ऐन, कानुन र नियमावाली बनाउने सवालमा सुरुमा काम हुँदै आयो । पहिलो कार्यकालका पाँच वर्ष कानुन निर्माण र प्रदेशका संरचना निर्माणमा बित्यो । अब विकास निर्माण र प्रभावकारिता वृद्धि गर्दै जनताको जीवन र व्यवहारमा परिवर्तन गराउने क्रममा काम गर्नुपर्नेछ । खासगरी समन्वय भएन भन्ने कुरा आधारभूत तहका जनताले भन्दा पनि बौद्धिक तहका मानिसबाट आएको छ । केही काम तदर्थका रूपमा सञ्चालन भएका पनि छन् । यसलाई केही हदसम्म स्वीकारेर प्रभावकारिता बढाउनुपर्छ ।संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा विगतमा र अहिलेको सदनमा पनि ढिलाइ भइरहेको छ, यसको कारण के होला ?सङ्घीय कानुन बनाउने सङ्घीय संसद्ले हो । गत कार्यकालको संसद् पूर्णतः सञ्चालन हुन सकेन । त्यहाँ तानातान र हानाहानको स्थिति भयो । विरोध र बहिष्कारको स्थिति भयो । जरुरी कानुन बनाउने र बहस छलफल गर्ने काममा सोचेजस्तो सफलता हासिल भएन । राजनीतिक अस्थिरता भयो । कानुन बनाउने थलो कहिले विघटन भयो, कहिले पुनःस्थापित भयो । यसले गर्दा केही अलमल र ढिलाइ भयो । अब अहिलेको सदनमा आवश्यक कानुन ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ । संसद्, समितिहरू र संसद् सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ ।सदनमा अवरोध र आरोप–प्रत्यारोपका घटना बढेको देखिन्छ । यसलाई न्यूनीकरण गर्न सभामुखको थप भूमिका कसरी प्रदर्शन हुनसक्छ ?राजनीतिक दलहरूबीचको जिम्मेवारी बोध र उनीहरूले देशप्रतिको समझदारी कसरी बढाउँछन् भन्नेमा यो कुरा भर पर्छ । संसदीय प्रणालीमा सदनलाई प्रभावकारी बनाउन राजनीतिक दलहरूकै भूमिका हुन्छ । सभामुखको पनि भूमिका हुन्छ । सभामुखले निष्पक्ष र तटस्थ भएर समन्वय र सहयोगी भूमिका खेल्ने हो । संसद्ले बनाएका कानुनको कार्यान्वयन र अनुगमन गर्ने काममा सांसद् र सम्बन्धित समितिहरू लाग्नुपर्ने हुन्छ ।दलीय प्रणालीमा संसद्लाई प्रभावकारी तरिकाले लैजानका लागि राजनीतिक पार्टीहरूबीचको समझदारी महत्त्वपूर्ण हुन्छ । त्यो जिम्मेवारी पूरा गर्न सकेमा सरकार र संसद् जिम्मेवार ढङ्गबाट चल्छ । संसद्लाई ऐन, कानुन बनाउन दिएको जिम्मेवारी पूरा गर्नुपर्ने जरुरी हुन्छ । संसद्ले बनाएका कानुनको कार्यान्वयनका लागि समय लाग्छ । त्यसका लागि संसद् र सांसदले भूमिका खेल्नुपर्छ ।अन्तर्राष्ट्रिय अभ्यासका आधारमा हेर्दा पनि विधायकले विधि निर्माण गर्ने हो तर यहाँ सांसदहरू मन्त्रालयका मन्त्री र कर्मचारीका कार्यकक्षमा योजना र बजेटका फाइल बोकेर धाइरहेका हुन्छन् । के यो सही भूमिका हो र ?यसलाई नेपालको परिप्रेक्ष्यमा हेर्नुपर्छ जस्तो लाग्छ मलाई । लामो समयसम्म राणाहरूको हुकुमी शासन र त्यसपछि पञ्चायती शासन व्यहोरेर आएको मुलुक हो हाम्रो । प्रजातन्त्र आइसकेपछि पनि राजाको निरङ्कुशता भोगेर आएका हौँ । बहुदलीय व्यवस्था आएपछि पनि राजालाई शिरमा राखेर बहुदलीय प्रणालीलाई मानेर अघि बढेको अवधि हो । एउटा अवधिलाई हामीले निकै ठूलो अन्योल, आतङ्क र अस्थिरता भोगेर आएका छौँ । अहिले पछिल्लो आठ वर्ष सङ्घीयता कार्यान्वयन गर्ने चरणमा छौँ । प्रणाली क्रमशः विकास हुँदैछ । कार्यान्वयन गर्ने एकाइहरू विस्तार अघि बढ्दै छन् । वास्तवमा सांसदको भूमिका कानुन बनाउने नै हो तर उसका प्रति जनताका अपेक्षा स्वभाविकरूपमा हुने भएकाले सरकारका योजना र बजेटमा पनि चासो दिनुपर्ने स्थिति छ । तर बजेट बनाउने र कार्यान्वयन गर्ने काम सरकारका सम्बन्धित निकायकै हो । काम प्रभावकारी भएन भने घच्घच्याउने त राजनीतिक दल र सांसदले पनि गर्न सक्छन् ।न्यायपालिका र व्यवस्थापिकाको सम्बन्ध शक्ति सन्तुलनको सिद्धान्तअनुरुप हुनुपर्ने हो । पछिल्ला केही घटना हेर्दा असन्तुलन भएको जस्तो देखिन्छ नि ?संविधानले स्पष्टरूपमा राज्यका तीन अङ्गलाई स्वायत्तता दिएको छ । कसले कहाँ–कहाँ के–के गर्ने भन्ने तोकिएको छ । त्यसमा मिलेन भने हस्तक्षेप दिने वा न्याय निरुपण गर्नुपर्ने कुरा हुन्छन् । त्यसमा व्यवहारमा केही समस्या देखापरेका छन् । राजनीतिकमा अस्थिरता, अन्योल र अराजकता बढेपछि यस्ता कुरामा चलखेल हुने गरेको छ तर यो सुरुआती चरणमा देखिएको सवालका रूपमा लिनुपर्छ । कार्यान्वयनका क्रममा संविधानको व्यवस्थाअनुरुप स्पष्टता हुँदै जान्छ भन्ने मलाई लाग्छ ।संविधानको प्रभावकारी कार्यान्वयनमा त यहाँले जोड दिनुभयो । संविधान निर्माणका समयमा असन्तुष्ट रहेका पक्षका सवाल र अहिले कार्यान्वयनमा देखिएका अनुभवका आधारमा संविधान संशोधनको गृहकार्य गर्न जरुरी ठान्नुहुन्छ ?अन्य मुलुकको अनुभवका आधारमा हेर्दा जनताको जीवनमा प्रगति ल्याउन कुरामा भन्दा काममा लाग्नुपर्ने हो । हामीले कामबाट परिणाम निकाल्ने हो । परिणामले जुन गति दियो, त्यसको आधारमा नीतिगत निर्णय र समीक्षा गरेर अघि बढ्नुपर्ने हो । यहाँ सोचाइ र व्यवहारमा केही समस्या देखिन्छ । हाम्रोमा काममा जाने भन्दा नि कुरै–कुरामा जाने जस्तो देखिएको छ । संविधान आएपछि कति कार्यान्वयनमा गयो ? कस्तो जनशक्ति प्रयोग गरियो ? यथार्थमा गरेर हेर्ने कुरामा कमजोरी छ । मेरो विचारमा यसलाई प्रभावकारी कार्यान्वयनमै जोड दिनुपर्छ । सुरुमा सङ्घीयतामा जान हुँदैन, एकात्मक व्यवस्था नै ठीक छ भनेर आवाज उठाउने पनि देखिएको हो । हिजो संविधान निर्माणको समयमा पनि अनेक कुरा उठेको थियो । अहिले सात प्रदेश पाल्न कठिनाइ भयो भनेर राजनीतिकरूपमा आइरहेको छ । तर व्यवहारमा कार्यान्वयन प्रभावकारी हुनसकेको छैन । प्रभावकारी कार्यान्वयनमा ध्यान दिने हो भने अझै पनि समस्या छैन । त्यसकारण अहिले संविधान संशोधन गर्नुपर्ने कुरा मनोगत छ, वस्तुगत छैन ।निर्वाचन प्रणाली खर्चिलो भएको र कुनै पनि दलले बहुमत ल्याउन नसक्ने मिश्रित प्रकारको हुँदा राजनीतिक अस्थिरताका समस्या देखिएको छ । निर्वाचन प्रणालीबारे पुनः विचार गर्ने समय भएन र ?मुलुकमा पछाडि परेका जातजाति, समुदाय, वर्ग, क्षेत्र, लिङ्गलाई अहिलेकै निर्वाचन प्रणालीले समेटेको छ । यो हिसाबले पनि सोच्न जरुरी छ । तर यो निर्वाचन प्रणालीले सरकार बनाउन असहज पनि भएको छ । यसलाई मिलाएर सहज के हुनसक्छ भनेर सोच्न जरुरी छ । यथार्थमा ती वर्ग र समुदायलाई समानुपातिक निर्वाचन प्रणालीले सहयोग गरेको छ । त्यसकारण म फेरि पनि भन्छु, अहिले संविधानको प्रभावकारी कार्यान्वयन गरेर नै जानुपर्छ । हतारमा निर्णय गरेर संशोधनमा लाग्नु आवश्यक हुँदैन ।अन्यत्यमा, संविधान दिवसमा अवसरमा नेपाली जनतालाई के सन्देश दिन चाहानुहुन्छ ?नेपाली जनताले यो संविधान बनाउनका लागि ठूलो त्याग, तपस्या र बलिदान गरेका छन् । संविधान जारी भएपछि राष्ट्रका सामु जुन जिम्मेवारी आएका छन् । त्यो पूरा गर्ने अभिभारा हामीमा छ । खासगरी, कार्यान्वयन गर्ने निकाय थप जिम्मेवार हुनु जरुरी छ । यो संविधानलाई कार्यान्वयनमा लगेर जनताको जीवनमा रुपान्तरण गर्न जरुरी छ ।जनताले समामाजिक न्याय र आर्थिक रुपान्तरण खोजेका छन् । जनताको दैनिक जीवनका हरेक क्षेत्रमा यो संविधानमार्फत केही पाउँदैछौँ भन्ने बुझाउनका लागि संविधानलाई कार्यान्वयन गर्नुपर्छ । राष्ट्रियता र भौगोलिक अखण्डतालाई बलियो बनाउन लाग्नुपर्छ । अहिले विभिन्न ढङ्गबाट फैलाउन खोजेको साम्प्रदायिक सो र विचारलाई निस्तेज गर्नुपर्छ । राष्ट्रिय एकता, राष्ट्रिय भावना र सामाजिक सद्भावलाई संरक्षण गर्दै यसको विकास गर्न जननिर्वाचित पदाधिकारी र राजनीतिक दलले जिम्मेवारी निर्वाह गर्नुपर्छ । त्यो नै संविधानको दिवसको सार्थकता हो । म यस दिवसका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तीजपर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १ असोज : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउने बताउनुभएको छ ।

हरितालिका तीजको शुभकामना दिँदै उहाँले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्स व्यक्त गर्नुभएको छ ।

नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीजको रहेको भन्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी–बहिनीहरूमा सुख, शान्ति र सौभाग्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

“सामाजिक वातावरण जीवन्त राख्, सदाचारयुक्त जीवनशैली अपनाउन तथा देशको कला–संस्कृति जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न हाम्रा मौलिक चाडपर्वको गरिमालाई सदा उच्च राख्नु पर्दछ”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “तीजजस्ता पर्वहरू मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनले हाम्रा चाडपर्वको मौलिक सौन्दर्यलाई नै फिका बनाउन सक्दछ ।”

उहाँले हाम्रा चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङ्गतिहरू न्यून गर्दै लैजाने कार्यमा हामी सबै क्रियाशील रहन आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच न्यूयोर्कस्थित मुख्यालयमा आइतबार भेटवार्ता भएको छ । भेटमा उहाँहरु बीचमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्ने, जलवायु परिवर्तन, शान्ति स्थापना, आपसी सहकार्य र साझेदारीलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुग्नुभएको छ । उहाँले यही असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चाडपर्वमा उपभोक्तालाई सजकता अपनाउन आग्रह गर्नुएको छ । ललितपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा पार्टीको उपभोक्ता हित तथा सुशासन विभागले बढ्दो महँगी र उपभोक्ता हितको सवाल विषयक विचार गोष्ठीमा उहाँले चाडपर्वको बेला उपभोक्ता ठगिने गरेको भन्दै सरकारले सजकता अपनाउनुपर्ने बताउनुभयो ।

“चाडपर्वमा बेला उपभोक्ता मर्का परेर, महँगीको मारले कृत्रिम अभाव सिर्जना भएर, ठगीमा परेर, गुणस्तरीय समान नभएर, उचित मूल्य नभएर अझ बढी पीडामा सर्वसाधारण नपरुन् भनेर सरकारले सजकता अपनाउनुपर्दछ”, उहाँले भन्नुभयो, “चाडवाडका बेला सर्वसाधारण ठगिनु हुँदैन ।”

अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट फर्किसकेपछि उपभोक्ता हित संरक्षणबारे आफूले कुरा गर्ने बताउनुभयो । उहाँले सरकारलाई उपभोक्ता हित संरक्षण गर्नका लागि बाध्य पार्नुपर्ने बताउनुभयो । उहाँले जनता आफैँ ठगिएको थाहा नपाउने भन्दै ठगिएको कुरा जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले उपभोक्त हित संरक्षणबारे पार्टीले जागरण अभियान र संसद्मा कुरा उठाउने भन्दै स्थानीय जनप्रतिनिधिलाई पनि उपभोक्ता हित संरक्षणमा सजकता अपनाउन आग्रह गर्नुपर्ने भनाइ राख्नुभयो ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले बजारलाई सुसूचित गर्ने प्रणाली नभएकाले उपभोक्ता ठगीमा पर्ने गरेको बताउनुभयो । उहाँले बजार अनुगमन गर्ने संयन्त्र नभएको कतिपय सामग्रीको चार वर्षमा भएको मूल्यवृद्धि अहिले दुई वर्षमा भएको बताउनुभयो ।

“एकातिर आर्थिक मन्दी भनिरहेका छौँ । अर्कोतिर मूल्य वृद्धि भइरहेको छ । बजारमा कृत्रिम अभाव र एकाधिकार पनि छ, । बजारमा मूल्य वृद्धि रोक्ने अनुगमन पनि भएको छैन । अनि मूल्य बढिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले सरकारले आपूर्ति गर्ने वस्तु नियमित नगर्दा पनि विवाद आउने गरेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री डा खतिवडाले उपभोक्ताका लागि चाहिने वस्तुको पहिचान नगरिकन वस्तुमा नियन्त्रण गरिएको बताउनुभयो । अनुत्पादक क्षेत्रमा खर्च हुँदा उपभोक्तालाई मार पर्ने भन्दै उहाँले सरकारले अनुत्पादक खर्च घटाउनुपर्ने बताउनुभयो ।

सरकार र चिकित्सक सङ्घबीच छबुँदे सहमति

काठमाडौँ- सरकारी पक्ष र आन्दोलरत नेपाल चिकित्सक सङ्घ पक्षबीच छ बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुवै पक्षका टोलीबीच भएको वार्तामा छ बुँदे सहमति गर्दै आन्दोलरत चिकित्सकको सबै कार्यक्रम फिर्ता भएको छ । सहमति पत्रमा सरकारी वार्ताटोलीका संयोजक एवं मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटा र आन्दोलनरत पक्षबाट चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिअनुसार यही भदौ २७ गते सञ्चो अस्पताल हेटाँैडामा कार्यरत रहेका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीमाथि आक्रमणमा संलग्न भएका दोषीहरूलाई तत्काल पक्राउ गर्ने र पक्राउ परेका चारजना, पक्राउ पुर्जी जारी भएका पाँचजनासहित दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन, २०७९) अनुसार कारबाही गरिने भएको छ ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन ऐन, २०७९) को प्रभावकारी कार्यान्वयन गर्न सरकारका सरोकारवाला निकायहरू प्रतिबद्ध रहने, सोही ऐन (पहिलो संशोधन ऐन, २०७९) को दफा ५ बमोजिमको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई स्वास्थ्य मन्त्रालयले सक्रिय बनाउन मासिकरूपमा बैठक बस्ने व्यवस्था गर्ने सहमति भएको छ ।

यसैगरी ऐनको कार्यान्वयनका लागि सरोकारवालालाई स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मनन गरी सोहीअनुरूप सचेतनामूलक कार्यक्रम मन्त्रालय र सङ्घले यसै आर्थिक वर्षदेखि सुरु गर्ने, चिकित्सकको सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्नेलगायतका समस्या समाधान गर्ने गरी तीन महिनाभित्र चिकित्सक सेवासम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको छ ।

सरकारी वार्ता समितिमा गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव निर्मला अधिकारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव सङ्गीता ओझा र स्वास्थ्य मन्त्रालयका सहसचिव रमेशकुमार केसी रहनुभएको थियो ।

आन्दोलनरत चिकित्सक सङ्घबाट अध्यक्ष डा कार्कीसहित उपाध्यक्षद्वय डा नन्दा गुरुङ, डा प्रकाश बुढाथोकी, डा प्रशान्त भट्ट र महासचिव डा सञ्जीव तिवारी रहनुभएको थियो ।आज अपराह्न १२ बजेदेखि सुरु भएको वार्ता सात घण्टासम्म चलेको थियो । चिकित्सकमाथिको आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आज देशभरिका स्वास्थ्य संस्था आकस्मिक सेवा बाहेकका सबै सेवा सङ्घले बन्द गराएका थिए ।

आज मिथिलाञ्चलमा चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै

धनुषा, १ असोज-मिथिलाञ्चलमा प्रसिद्ध चौठचन्द्र अर्थात् चौरचन पर्व आज मनाइँदैछ । हरेक वर्ष भदौ शुक्लपक्ष चतुर्थीका दिन यो पर्व मनाइने गरिन्छ ।मैथिली साहित्यका जानकार प्राज्ञ एवं वरिष्ठ पत्रकार रामभरोस कापडीले जनकपुरधामसहित मिथिलाञ्चलवासीले चौठचन्द धुमधाम साथ मनाइरहेका जानकारी दिनुभयो ।

यस क्षेत्रमा छठपछिको दोस्रो ठूलो पर्वका रूपमा चौठचन्द्र पर्व मनाइन्छ । यस पर्वका दिन महिला दिनभरि उपवास बसेर साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । साँझ सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा द्वीप प्रज्ज्वलन गर्दै उपवास बसेकाहरूले फलफूल र मिष्ठान्नको परिकारलाई प्रसादका रूपमा चन्द्रमालाई देखाएर पर्व समापन हुने परम्परा रहेको उहाँले बताउनुभयो ।उहाँका अनुसार खासगरी आँगनमा पूजा हुने भएकाले चामलको पीठोको कलात्मक अरिपन बनाई, त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ । त्यसक्रममा नयाँ माटोका भाँडाको दही, केरा, मिठाई, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवी–देवतालाई चढाइने गरिन्छ ।दिनभरि निराहार व्रत वा उपासना बसेका महिलाले साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई माटोका भाँडामा सजाएर राख्दछन् । चन्द्रमा उदय भएपछि बर्तालु महिलाले हातमा कुनै फल लिएर चन्द्रमाको दर्शन गर्ने र त्यसपछि परिवारका अन्य सदस्यले पनि त्यसैगरी दर्शन गर्ने प्रचलन छ ।क्षीरेश्वरनाथ–४ की चन्द्रादेवी साहले नयाँ माटोका भाँडामा जमाइएको दही, मिठाई, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमालाई पूजा गर्ने परम्परा रहेको बताउनुभयो । प्रसादका रूपमा बर्तालुहरूका घर–घरमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर बनाउने चलन छ ।चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठचन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काक्रा, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने यहाँको परम्परा रहेको उहाँले बताउनुभयो ।दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले आज बिहानैदेखि घर–घरमा प्रसाद तयार गर्न महिला व्यस्त छन् । पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार ज्योतिष हेमाङ्ग ठाकुरले यो तिथिमा शुभफल प्राप्त गरेकाले उहाँकै अग्रसरतामा मिथिलाञ्चलमा यो पर्वको सुरुआत भएको किंवदन्ती छ ।चौठचन्द्र पर्वको महत्वपछिल्लो समय चाडपर्व मनाउँदा तडकभडक र देखासिकी गर्ने चलन बढिरहेको छ । तर यस पर्वमा आफ्नो घरमा उपलब्ध सामग्री र माटाको प्रयोग हुने हुँदा यस पर्वलाई लोकपर्व भन्ने गरिएको संस्कृतिविद् रमापति चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पर्वमा कुनै तामझाम र देखावटीपन हुँदैन । माटोका भाँडा, फलफूल, पीठोबाट बनेको परिकार, दहीलगायतका आफ्नै घरआँगनका उत्पादनको प्रयोग हुन्छ । यसमा कुनै प्रकारको भेद्भाव वा तडकभडक पनि हुँदैन ।”क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका पण्डित लालबाबु झाका अनुसार मानिसले अरु सबै देवी–देवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिने भए पनि सूर्य र चन्द्रमालाई मात्र साक्षात् अनुभव गरेर दर्शन पूजा गर्ने हुँदा यो पर्वको महत्व अझ बढी महसुस गर्न सकिन्छ ।चौठचन्द्र पर्वको आयोजना भाद्रशुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइने र यो तिथिमा चन्द्रमालाई नाङ्गो आँखाले हेर्दा कलङ्क (अपयश) लाग्ने हुनाले पूजा गरी अर्थात् खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो अपयशबाट बच्न सकिने जनविश्वास रहेको पनि उहाँले जानकारी दिनुभयो ।तराई–मधेसमा लोकभाषामा ‘ढेला चौथ’समेत भनिने यो व्रत गर्नाले झुटो कलङ्कको दोष निवारण हुने गरेका धार्मिक विश्वास पनि रहेको सुन्दर सदन धनुषाका बाबा नबल किशोरको भनाइ छ ।मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठचन्द्रबारे विभिन्न प्रसङ्ग, कथा र मान्यता रहेका छन् । इतिहासका ज्ञाता नबल किशोरका अनुसार श्रीकृष्णलाई आजैका दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक एवं आध्यात्मिक महत्व पनि छ । मणिको प्रसङ्ग एउटा गरिब नागरिकले सूर्यको उपासना गरी प्राप्त मणिको प्रयोगबाट धनी बनेको र त्यो राजाले मन पराएको तर ती नागरिकले दिन नचाहेपछि श्रीकृष्णले गर्नुपरेको सङ्घर्षसँग जोडिएको छ ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइचो

काठमाडौँ, १ असोज- हरितालिक तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भुइँचो लागेको छ । तीज पर्वमा पशुपतिनाथ मन्दिरआउने भक्तजनका लागि बिहान ३ः०० बजे नै मन्दिरकोे चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको छ पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ः०० बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ः०० बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।

राजनीतिक दलद्वारा सांसदको भूमिका ‘प्यारालाइज’ भइरहेको छ : सांसद सन्तोष परियार

काठमाडौँ, १ असोज : “ जिम्मेवार सांसद आउने अवस्था कहिले बन्ला ? दलले पनि सांसदलाई त्यस प्रकारले स्वतन्त्रत र जनताको पक्षमा काम गर्ने विश्वासको वातावरण कसरी बनाउने होला ?”, राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्घीय समानुपातिक सांसद सन्तोष परियारसँग राससले संसदीय अभ्यासबारे जिज्ञासा राख्ने क्रममा उहाँ स्वयंले आफ्नो जिज्ञासा प्रकट गर्नुभयो ।

सांसद शक्तिशाली छ । संसद्ले नै सरकारको निर्माण गर्छ, सरकारको निगरानी गर्छ ।. दलहरू संसद्मा हुन्छन तर सोही सांसदहरू दलको सीमितताभित्र हुने सांसद परियारको भनाइ छ । जसका कारण सांसद आफैँले मात्र गर्न सक्ने काम भने थोरै हुन्छ ।

“यो मिलाउन बडा कठिन छ”, पार्टीका प्रमुख सचेतक परियारले भन्नुभयो, “यो दलीय व्यवस्थामा कुनै व्यक्ति सांसद दलको निगरानीमा हुन्छ र दलले धेरै राजनीतिक कुरा नटुङ्ग्याएसम्म सांसद आफँैले धेरै कुरा केही गर्न सक्ने अवस्था रहँदैन ।”

उहाँले पार्टीभित्र पनि राजनीतिक दलले गर्दा सांसदको सीमितताले सांसदहरूलाई ‘प्यारालाइज’ गर्ने समस्याबारे पटक–पटक कुरा उठाउँदै आएको बताउनुभयो । “यस विषयमा बहस छलफल आवश्यक छ, त्यसबाट नयाँ भाष्य निर्माण गर्न सक्यौँ वा एउटा बुझाइमा पुर्याउन सक्यौँ भने संसद् धेरै प्रभावकारी हुन्छ ।”

सांसदको मुख्य भूमिका कानुन बनाउने भएता पनि पछिल्लो समय विधायकको भूमिकाबारे प्रश्न उठ्ने गरेको छ । बृहत् नागरिक आन्दोलन र नागरिक अधिकारका विषयमा लेख्ने, पढने र आन्दोलनमा सहभागी हुँदै सङ्घीय सांसद् बन्नुभएका परियारलाई सांसदको प्रष्ट भूमिका देख्न नसकिएको हो कि भन्ने महसुस हुने गरेको छ ।

सांसद आफ्नो क्षेत्रको विकास र आम मानिसको समस्यासँग प्रत्यक्ष जोडिने भएकाले विधायिकाको भूमिकाबाहेक अन्य भूमिकामा अलमल्लिने आरोप सत्य भएको उहाँ स्वीर्कानुहुन्छ । सांसद परियारका अनुसार सांसदको दोहोरो भूमिकाका कारण कानुन निर्माणको प्रक्रिया प्रभावकारी हुनसकेको छैन ।

“हाम्रो संविधान कानुन सबैले सांसदको विधायिकी मुख्य भूमिका हो भनेको छ । तर हाम्रो राजनीतिक व्यवहारमा विधायिकाको भूमिका अन्य विकास निर्माणको काम गर्नेसँग पनि जोडिन्छ”, उहाँले बताउनुभयो, “यो हाम्रो धेरै ठूलो राजनीतिक समस्या हो । यसलाई हामीले कहीँ न कहीँ छुट्याउनु पर्दथ्यो, राजनीतिक अभ्यासका क्रममा त्यो हामीले छुट्याउन पनि सकेनाँै । त्यो अभ्यासका कारण जनताले दोहोरो भूमिकाको अपेक्षा गर्नुहुन्छ ।”

नौ महिनामासम्म संसद्बाट दुईवटामात्र विधेयक पारित भएको छ । सरकारको कार्यक्षमता कमजोर हुँदा सांसदहरूको क्षमतामा प्रश्नचिह्न खडा भएको छ । उहाँले भन्नुभयो, “सांसदले त संसद्मा टेबल भएका कुरामा छलफल गर्ने, संशोधन गर्ने र समितिमा भाग लिने गरिनैरहनुभएको छ । सांसदको हैसियतले मेरो भागमा परेको जिम्मेवारी लिनुपर्दछ तर मुख्य जिम्मेवारी सरकारको र सरकार चलाउने सत्ता गठबन्धन दलहरूको हो ।”

सदनमा आरोप–प्रत्यारोप गर्ने तथा आवेगमा अभिव्यक्ति दिने, पछि रेकर्डबाट हटाउने अभ्यासबारे राससको जिज्ञासामा उहाँले सदनमा हुने आरोप–प्रत्यारोपलाई नकरात्मकरूपमा हेर्न नहुने राय व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो “संसद् भनेको सरकारको निगरानी गर्ने हो, देशको जल्दोबल्दो समस्याको उठान गर्ने हो । त्यसो गर्दा कुनै घटना विशेषमा फरकमत आउन सक्छन्, सत्तापक्ष र प्रमुख प्रतिपक्षको अर्को मत हुनसक्छ । त्यस हिसाबमा बहस, छलफल हुनु त स्वभाविक संसदीय अभ्यास भयो, तर त्यो राजनीतिक संस्कारभन्दा बाहिर जानुभएन ।” तर संसदीय हैसियत र मर्यादा बिर्सेर गरिने व्यवहारले समाजलाई ‘इन्टरटेन्ट’ नगर्ने उहाँले बताउनुभयो । यस्तो अभ्यास आफूलाई व्यक्तिगतरूपमा मन नपर्ने भन्दै संसद्मा फरक तरिकाले संसदीय लवज, प्रणाली र आफ्नै संस्कृति हुने मान्यतामा उहाँको विश्वास छ ।

“म आफूचाहिँ जहिल्यै पनि संसद्को गरिमालाई आँच नपुर्याउने कुरामा सचेत भएर आफूलाई प्रस्तुत गर्छु । तर बोल्ने नाममा जे पनि बोल्ने र जस्तो भाषा पनि प्रयोग गर्ने अभ्यास नभएका हैनन्, यसले चाहिँ राम्रो गर्दैन”, सांसद परियारले भन्नुभयो, “एकछिन सुन्दा खेरी यसले गजब कुरा गर्यो भने पनि प्रकारान्तरमा त्यसले राम्रो गर्दैन ।”

रासससँगको कुराकानीका क्रममा उहाँले सरकारले नबोकेका मुद्दामा सांसदहरूले गैरसरकारी विधेयकमार्फत लग्न तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार जनताको मुद्दा संसद्मा लगेर स्थापित गर्ने, जानकारी गराउने र त्यतातिर ध्यान खिच्न सक्नु नै सफल विधायिका हुनु हो । समाज रुपान्तरणमा अलि पछाडिसम्म काम गर्नका लागि चाहिने विधेयकसमेत गैरसरकारी विधेयकमार्फत ल्याउने अभ्यास गर्न आवश्यक भएको उहाँको भनाइ छ ।

जिल्ला न्यायाधीशमा २११ परीक्षार्थी मध्ये एक जना मात्र पास

काठमाडौँ । जम्मा २९ पदका लागि भएको जिल्ला न्यायाधीशको लिखित परीक्षामा एक जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी २११ जनामध्ये पारसमणि पोखरेल मात्र अन्तर्वार्ताका लागि सिफारिस हुनुभएको हो । पोखरेल न्याय सेवाको कर्मचारी छन्।

न्याय, कानुन, सरकारी वकिल समूहका कर्मचारी तथा कानुन व्यवसायीसमेत गरी परीक्षामा २११ जना सहभागी थिए। न्याय सेवा आयोगले आइतबार सार्वजनिक गरेको नजिता अनुसार पोखरेल मात्र अन्तर्वार्ता चरणका लागि सिफारिस हुनुभएको हो। पोखरेलको अन्तर्वार्ता असोज १ गते हुने छ।

आयोगले जेठ २६ गतेको विज्ञापनबाट २९ जनाको पदपूर्ति प्रक्रिया अघि बढाएको थियो। संविधानको धारा १४९ (२) को खण्ड (ख) र (ग) बमोजिम कुल रिक्त पदमध्ये ४० प्रतिशत पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्ये खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ।

यस्तै ४० प्रतिशत पदपूर्ति कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताका रूपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेको, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेको वा कानुनको अध्यापन, अन्वेषण गर्ने व्यक्तिको प्रतिस्पर्धाबाट पदपूर्ति हुने व्यवस्था छ। संविधान लागु भएपछि रिक्त दरबन्दीको ८० प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुँदै आएको छ तर अधिकांश पदपूर्तिमा माग सङ्ख्याभन्दा कम मात्र उम्मेदवारले लिखित परीक्षा पास गर्ने गरेका छन्।

आयोगले यो पटकको विज्ञापनमा आन्तरिक खुलामा १५, खुलामा सात, महिला दुई, आदिवासी जनजाति दुई, मधेशी दुई र दलित समूहबाट एक गरी २९ जनाको पदपूर्तिको प्रक्रिया अघि बढाएको थियो। संवैधानिक व्यवस्था अनसार कुल रिक्त दरबन्दीको २० प्रतिशत भने न्याय सेवामा राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष वा सोभन्दा बढी अनुभव भएकामध्येबाट ज्येष्ठता, कार्यक्षमता र मूल्याङ्कनका आधारमा नियुक्त हुने व्यवस्था छ। यो समाचा गोरखापत्र दैनिकमा छ ।