`

असोजका लागि औसत ब्याजदर घट्यो

काठमाडौं । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो ।

बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैंकर्स संघले बैंक आफैंले ब्याजदर तोक्न सक्नेगरी निर्णय गरेसँगै बैंकको ब्याजदर फरकफरक भएको छ भने असोजका लागि आठ बैंकले ब्याजदर बढाएका छन् भने आठ बैंकले घटाएका छन् । बाँकी चार बैंकले भने ब्याजदर यथावत् राखेका छन् ।

ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम बैंक, नबिल बैंक, स्टयान्डर्ड चार्टड बैंक, एनआईसी एसिया बैंक र नेपाल एसबीआई बैंक छन् । असोजका लागि ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक, एनएमबी बैंक, माछापुछ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

गत महिनामा अर्थात भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर १० दशमलव ३२५ प्रतिशत रहेकोमा असोजका लागि अधिकतम ब्याजदर १० दशमलव २६४ प्रतिशतमा झरेको छ ।

यद्यपि, आठवटा बैंकले भने अधिक तरलताका बाबजुद पनि ब्याजदर बढाएका छन् । यद्यपि, औसतमा ब्याजदर घटेको छ । केही बैंकले ब्याजदर बढाउँदैमा ब्याजदर बढ्यो भन्न मिल्दैन । नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको कार्टेलिङलाई साउनदेखि खारेज गरी निक्षेपको ब्याजदर तोक्ने जिम्मा सम्बन्धित बैंकलाई दिएको थियो । यो समाचार राजधानी दैनिकमा छ ।

बजेट अभावमा विद्याभूषण पदक वितरण रोकियो

काठमाडौँ । समयमा रकम उपलब्ध हुन नसक्दा नेपाल विद्याभूषण पदक यस पटकको राष्ट्रिय शिक्षा दिवसमा वितरण नहुने भएको छ। शिक्षा दिवसको नयाँ मिति छनोट गरेपछि मात्र विद्याभूषण वितरण गर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ सालबाट विद्याभूषण वितरण कार्य रोकेको थियो।

समयमा र पर्याप्त बजेट उपलब्ध हुन नसक्दा वितरण सम्भव नभएको मन्त्रालयको भनाइ छ। शिक्षा सचिव सुरेश अधिकारीले बजेट घोषणा गत साउनमा भएको र बजेट उपलब्ध भदौमा भएको भन्दै थपे, “भर्खरै बजेट उपलब्ध भएको छ। तयार गर्ने संस्थासँग सम्पर्क गर्दा कम्तीमा तीन महिनामा विद्याभूषणका पदक तयार गर्न सकिने जानकारी दिए। विद्याभूषण तयार हुन नसक्दा वितरण सम्भव नभएको हो।” विगतदेखि नै ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले विद्याभूषण पदक तयार गर्ने गरेको थियो।

यस पटक पदक वितरण गर्न आवेदन आह्वान गरिएको थियो। जम्मा एक हजार ७९ जनाले आवेदन दिएकामा छानबिनपछि ९६२ जनालाई प्रदान गर्न सिफारिस भएको थियो। पदक तयार हुन नसक्दा यस पटक राष्ट्रपतिको कार्यालय शीतल निवासमा औपचारिक कार्यक्रमको आयोजना नहुने भएको छ।

“पछि कुनै उपयुक्त दिन तय गरेर विद्याभूषण प्रदान गर्ने छौँ,” शिक्षा सचिव अधिकारीले भने । उनका अनुसार विद्याभूषण पदकका लागि चार करोड रुपियाँ प्राप्त भएको छ। त्यसमध्ये करिब ६० लाख रुपियाँ शिक्षा दिवसको औपचारिक कार्यक्रम र शिक्षण संस्थालाई पुरस्कृत गर्दा खर्च हुने भन्दै उनले विद्याभूषण तयार गर्न अझै एक करोड रुपियाँ अपुग हुने बताए ।

शिक्षा दिवसमा देशका सर्वोत्कृष्ट विद्यालय तथा क्याम्पसलाई पुरस्कृत गरिने भएको छ। सामुदायिक र निजी विद्यालयतर्फ सर्वोत्कृष्ट तीन÷तीन वटा विद्यालयलाई पुरस्कृत गरिने छ। पहिलो हुनेलाई तीन लाख रुपियाँ, दोस्रो हुनेलाई दुई लाख रुपियाँ र तेस्रो हुनेलाई एक लाख रुपियाँ तथा तीन वटैलाई सिल्ड, ध्वजा र प्रमाणपत्र प्रदान गरिने छ। त्यस्तै प्राविधिक शिक्षातर्फका चार वटा शिक्षण संस्था र सर्वोत्कृष्ट तीन वटा क्याम्पसलाई पुरस्कृत गरिने छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

तीजले माइती र चेलीको सम्बन्धलाई प्रगाढ बनाउँछ : उपराष्ट्रपति यादव

काठमाडौँ, १ असोज : उपराष्ट्रपति रामसहायप्रसाद यादवले आधुनिकीकरणको नाममा तीज पर्वलाई भड्किलो बनाउनबाट रोक्नुपर्ने बताउनुभएको छ । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाली मौलिकतालाई जीवन्त राख्न संस्कार र संस्कृतिको परिधिभित्रै रहेर मनाउनुपर्ने बताउनुभयो ।

उहाँले मौलिक संस्कृतिलाई ओझेलमा पार्ने, आर्थिक भार पर्ने गरी चाडबाड मनाउने विकृतिलाई हटाउँदै यो पर्वको सांस्कृतिक महत्त्वको जगेर्ना सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले हरितालिका तीज हिन्दू महिलाहरुले अत्यन्तै हर्षोल्लास र आनन्दका साथ मनाउने मौलिक र महान पर्व भएको उल्लेख गर्नुभयो ।

हरेक वर्षको भाद्र शुक्ल तृतीयामामा मनाउने यो वर्षको अघिल्लो रात (द्वितीया) दर खाएर तीजको दिन व्रत बस्ने चलन रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले चौथीका दिन स्नान गरी ब्रतको पारण गरी खाना खाने र तीजको तेस्रो दिन (ऋषिपञ्चमी) का दिन व्रतालुहरुले दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्ने परम्परा रहेको बताउनुभएको छ ।

तीजमा विवाह गरेर गइसकेकी छोरीचेलीलाई माइतीबाट बाबु वा दाजुभाइले भेट्ने र सकेसम्म माइती लिएर फर्कने प्रचलनले माइती र चेलीबीचको आपसी सम्बन्धलाई प्रगाढ र बलियो बनाउने उहाँको भनाइ छ । “यो अवसरमा दिदीबहिनीबीच हुने भेटघाटले चेलीहरुको मन हलुका पार्न र सुख–दुःखका कुराकानी गर्ने अवसर समेत जुटाइ दिन्छ”, उपराष्ट्रपतिले शुभकामनामा भन्नुभएको छ, “तर यो पर्वका अवसरमा सामाजिक सद्भाव र मेलमिलापलाई नै धुलमुल्याउने गलत संस्कृति र प्रवृतिलाई निस्तेज गर्नुपर्छ ।”

राष्ट्रपति पौडेलद्धारा सबै नेपाली दिदिबहिनीहरुमा हरितालिका तीज पर्वको शुभकामना

काठमाडौँ, १ असोज : राष्ट्रिपति रामचन्द्र पौडेलले हरितालिका (तीज) पर्व नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउने र यस पर्वले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभएको छ ।

उहाँले नेपाली महिलाहरूको महान् चाड तीजको सुखद् अवसरमा सबै नेपाली दिदिबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै समस्त नारी जाति प्रकृति र सृष्टिका दृष्टिले उच्च स्थानमा पर्ने उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैंगिक विभेद¸ जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्य गर्दै समतामूलकसमाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ । समाजमा भ्रातृत्व, सदाचार, एकता र सामाजिक सद्भाव कायम गर्न यस पर्वले महत्वपूर्ण भूमिका निभाएको उल्लेख गर्दै उहाँले परापूर्व कालदेखि चलिआएको रितिरिवाज, रहनसहन र धार्मिक सहिष्णुताको प्रतिविम्बको रुपमा यो चाड मनाउँदै आइरहेको आफूले महसुस गरेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले आदर्शमय सामाजिक वातावरण जीवन्त राख्न, सदाचारयुक्त जीवन शैली अपनाउन तथा देशको कला संस्कृतिलाई जगेर्ना गर्दै आगामी पुस्तालाई हस्तान्तरण गर्न यस्ता मौलिक चाडको गरिमालाई सम्मानजनक बनाई राख्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । साथै उहाँले हरितालिका तीजको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले तीजले सबैमा खुसी र मनोरञ्जन साटासाट गरेर देशका हरेक सार्वजनिक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउन सहयोग पुगोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौँ, १ असोज : प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चिजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिवबीच भेट

वाशिङ्टन डिसी, १ असोज -संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।

आइतबार सम्पन्न सो भेटको उहाँहरु बीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।

भेटघाटको अवसरमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी हुनुहुन्थ्यो ।

आज हरितालिका (तीज) व्रत

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

हेर्नुहोस् असोज १ गते सोमवारको राशिफल

ज्यो.प. सरोज घिमिरे/मेष राशि – नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।

बृष राशि – प्रतिश्पर्दा जन्यकार्यमा बिशेष सजग रहनु होला । सामान्य आर्थीक अभावको सम्भाबना रहेकोछ । परिवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ ।

मिथुन राशि – रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन ।स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ ।

कर्कट राशि – स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ ।

सिंह राशि – बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । गरीरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको बृद्धिहुनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

कन्या राशि – स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिहरुबाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ ।

तुला राशि – गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहनेछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ ।

बृश्चिक राशि – स्वास्थमा सामान्य तनाव उत्पन्नहुन सक्नेछ । तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्नेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

धनु राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतहरु फेला पर्नेछन । खानपानमा साबधानि उत्तम रहनेछ । मित्रजनह?को साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ ।

मकर राशि – सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – मित्र तथा दाजुभाईहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरीएको कार्य त्रुटिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

मीन राशि – खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

चाडबाडका बेला शान्तिसुरक्षाबारे चनाखो हुन सुरक्षा निकायलाई निर्देशन

काठमाडौँ, ३१ भदौ : कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्नुभएको छ । आज रक्षा मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, रक्षा सचिव, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाल प्रहरीका कार्यवाहक प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।

सुरक्षा निकाय प्रमुखसँगको छलफलमा कार्यवाहक प्रधानमन्त्री खड्का तथा गृहमन्त्री श्रेष्ठले देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिनुभएको छ । शान्तिसुरक्षाको अवस्था दुरुस्त राख्न तथा सामाजिक सद्भाव खल्बलिन नदिने गरी सुरक्षा प्रबन्ध मिलाउन पनि सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिइएको छ ।

चाडबाड नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य समान सहज उपलब्ध हुने व्यवस्था मिलाउन, कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन थप प्रभावकारी व्यवस्थापन गरी नियमित अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिनुभएको छ ।

चाडपर्व नजिकिँदै गरेका कारण आपूर्ति व्यवस्थाको नियमितता र अनुगमनलाइ समेत थप प्रभावकारी बनाउँदै कहीँकतै आम नागरिक ठगिएको, कृत्रिम अभाव सृजना गरिएको पाइए तुरुन्त कारबाही गर्न निर्देशन दिनुभएको छ ।सो अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न बहानामा द्वन्द्व बढाउने तथा समाजिक सद्भाव बिगार्ने प्रयास भइरहेकाले त्यसतर्फ सजक र सतर्क हुन सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

कार्यवाहक प्रधानमन्त्री खड्का र उपप्रधानमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँगको छलफलका क्रममा राजनीतिक र आपराधिक घटनाहरू समयमै पहिचान गर्न तथा राजनीतिक गतिविधिको आवरणमा आपराधिक गतिविधि हुन सक्नेमा ध्यान दिन निर्देशन दिनुभएको छ । छलफलमा मुख्य सचिव, गृह सचिव र रक्षा सचिवले समसामयिक विषयमा जानकारी गराउनुभएको थियो ।

त्यस्तै, आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री खड्काले भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर कार्यवाहक प्रधानमन्त्री खड्काले देशको समसामयिक विषयमा राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको हो ।

राजस्व चुहावटबारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ, ३१ भदौ : राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ । गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

अर्थ मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरू यो कार्यदलमा सदस्य रहेका छन् । दसैँ, तिहार, छठलगायत चाडबाडलाई दृष्टिगत गरी चोरी–पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबीच उच्चस्तरको समन्वय कायम गर्ने र संवेदनशील सीमा नाकाहरूमा आकस्मिक गस्ती बढाउने निर्णय पनि केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले गरेको छ ।

त्यसैगरी, राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने र राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । आयातको परिमाणमा अस्वाभाविक कमी देखिएका वस्तुहरूको बजार उपलब्धता अध्ययन गरी त्यस्ता वस्तुको चोरी पैठारी नियन्त्रण गर्ने गरी कार्ययोजना बनाउने र चोरी पैठारी हुनसक्ने संवेदनशील नाकामा विशेष निगरानी राख्ने निर्णयसमेत भएको छ ।

सङ्घीयता र समावेशी लोकतन्त्रलाई बलियो बनाउन सबै इमान्दार बनौँ : जसपा अध्यक्ष यादव

जनकपुरधाम, ३१ भदौ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताको सफल कार्यान्वयन र समावेशी लोकतन्त्रलाई बलियो बनाउन दलहरु इमान्दार बन्नुपर्ने बताउनुभएको छ । आइतबार जनकपुरधाममा आयोजित पार्टीे सङ्गठन विस्तार अभियान उद्घाटन तथा अभिमुखीकरण कार्यक्रममा उहाँले मूल राजनीतिक शक्ति इमान्दार नबन्दा संविधान आएको आठ वर्षमा पनि सङ्घीयता कार्यान्वयनका लागि अत्यावश्वक कानुनसमेत बनाउन नसकिएको बताउनुभयो ।

“देशमा सङ्घीयता छ । प्रदेशमा पनि सरकार छ तर कार्यसम्पादन एवं सेवा प्रवाहका लागि सरकारको मातहतमा पुलिस, प्रशासन, न्यायालय केही छैन अनि यो सरकार केका लागि बनाइएको हो ?”, यादवले प्रश्न गर्नुभयो, “आठ वर्ष हुँदा पनि सङ्घीयतालाई बलियो बनाउन ऐन कानुन बनाइएन । यसले सङ्घीयतालाई बलियो होइन, कमजोर बनाउने षड्यन्त्र भइरहेको प्रस्ट छ । त्यसैले म चनाखो रहन यहाँहरु सबैलाई आग्रह गर्दछु ।”

संविधान ल्याउन भूमिका खेलेका मूल राजनीतिक दलहरुले पटकपटक सरकारको नेतृत्व गर्दा पनि सङ्घीयतालाई बलियो बनाउन ठोस पहल नगरेको आरोप लगाउँदै अध्यक्ष यादवले आफ्नो पार्टीले समावेशी लोकतन्त्र, सङ्घीयता र परिवर्तनका मुद्दाहरुको रक्षाका लागि अभियान चलाइरहेको बताउनुभयो ।

कार्यक्रममा जसपा नेता मृग्रेन्द्र सिंहले पार्टीभित्रका मतभेद बिर्सेर परिवर्तनका मुद्दाहरुलाई बलियो बनाउन र पार्टी हितमा लाग्न आम नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेस प्रदेशका मुख्यमन्त्री एवं पार्टी संसदीय दलका नेता सरोजकुमार यादवले आफ्नो पार्टीलाई कमजोर बनाउने षड्यन्त्रलाई नेता, कार्यकता र सङ्गठनको बलमा परास्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले पार्टी सङ्गठनलाई बलियो बनाउँदै परिवर्तनका पक्षमा लड्न प्रदेश सरकार तयार रहेको समेत बताउनुभयो ।

त्यसैगरी निवर्तमान मुख्यमन्त्री एवं नेता लालबाबु राउतले संविधानमा रहेका कमीकमजोरी सच्याउँदै प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व जसपाकै काँधमा रहेकाले पार्टी सङ्गठनलाई बलियो बनाउँदै त्यो दायित्व पूरा गर्न लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय नेताहरु, मधेस प्रदेश सरकारका मन्त्रीहरु, सङ्घीय संसद् तथा प्रदेशसभा सदस्यहरु, पार्टीका जिल्ला अध्यक्षहरू, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरूलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सुन तस्करी प्रकरण : २९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, ३१ भदौँ : एकसट्ठी किलो सुन तस्करी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले आज २९ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अध्ययन प्रतिवेदनअनुुसार मुद्दा दायर गरेको जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवालीले जानकारी दिनुभयो । अभियोगपत्रमा २९ जनालाई प्रतिवादी बनाउन माग गरिएको छ । मुद्दामा रु तीन अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ ।

वरिष्ठ चिकित्सक डा गौरीशङ्कर ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित

काठमाडौँ, ३१ भदौ : वरिष्ठ चिकित्सक तथा समाजसेवी डा गौरीशङ्कर लाल दास ‘दिव्य शताब्दी पुरुष’ उपाधिबाट सम्मानित हुनुभएको छ ।

चिकित्सा सेवाका साथै प्रशासनिक र सामाजिक क्षेत्रमा उहाँको योगदानको कदर गर्दै नागरिकस्तरबाट उहाँलाई सम्मान गरिएको हो । सिरहा जिल्लामा जन्मिएर विसं २००९ देखि चिकित्सा पेशामा संलग्न डा लाल दास यही असोज ९ गते एक सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । डा दासको जन्मशताब्दी वर्ष मनाउने क्रममा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिबीच उक्त उपाधि घोषणा गरिएको ‘डा गौरीशङ्कर लाल दास जन्मशताब्दी वर्ष’ मूल समारोह समितिले जनाएको छ ।

समितिको संयोजकमा पूर्वअर्थमन्त्री तथा साहित्यकार शङ्करप्रसाद कोइराला, सहसंयोजकमा पूर्वमन्त्री विद्याधर मल्लिक र ई धु्रव थापा, सदस्य सचिवमा गणेशराज कार्की र कोषाध्यक्षमा मोहनमणि आचार्य हुनुहुन्छ । चावहिलमा आयोजित विशेष कार्यक्रममा जनस्तरबाट ‘दिव्य शताब्दी पुरुष’ घोषणाको समर्थन गर्दै पूर्वस्वास्थ्यमन्त्री गगन थापाले डा गौरीशङ्कर लाल दासको सामाजिक योगदान अविस्मरणीय रहेको बताउनुभयो ।

“राज्यले गरे पनि नगरे पनि, यो विशाल उपस्थितिले घोषणा गरेको ‘दिव्य शताब्दी पुरुष’ आफैँमा प्रभावशाली छ । सादा जीवन, उच्च विचार राख्नुहुने डा साहब हरेकका लागि प्रेरक व्यक्ति हुनुहुन्छ”, थापाको भनाइ थियो ।

सो अवसरमा दिव्य शताब्दी पुरुषबाट घोषित डा लाल दासले नागरिकस्तरबाट आफूलाई दिइएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै पूर्वउपराष्ट्रपति परमानन्द झाले डा लाल दासलाई राज्यस्तरबाट पनि दिव्य शताब्दी पुरुष घोषणा गरिनुपर्ने बताउनुभयो । पूर्वसभामुख दमननाथ ढुङ्गानाले डा लाल दास प्रेरणाको स्रोत भएको भन्दै उहाँ शताब्दी पुरुषको हकदार भएको जिकिर गर्नुभयो । जन्मशताब्दी मूल समारोह समितिका संयोजक तथा पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले समितिले वर्षभरि विभिन्न कार्यक्रमको आयोजना गर्दै जन्मशताब्दी वर्ष मनाउने जानकारी दिनुभयो ।

कर्मचारी सञ्चय कोषले वार्षिकोत्सवमा सार्वजनिक गर्‍यो दुई नयाँ योजना

काठमाडौँ, ३१ भदौ : आजदेखि स्थापनाको ६२औँ वर्षमा प्रवेश गरेको कर्मचारी सञ्चय कोषले दुई वटा नयाँ योजना सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा सुविधातर्फ सञ्चयकर्ता स्वास्थ्योपचार योजना लागू गरिरहेको कोषले अब यस्तो सुविधा योगदानकर्ताका दम्पत्तिलाई उपलब्ध गराउनेछ । त्यस्तै, काठमाडौँ उपत्यकामा मात्र केन्द्रित रहेको सञ्चयकर्ता सरल चक्र कर्जा सुविधा अब कोषका सबै कार्यालयबाट उपलब्ध हुनेछ ।

कोषले हाल सञ्चयकर्तालाई साधारण रोगका लागि उपचार गराएको हकमा प्रत्येक आर्थिक वर्ष रू एक लाखसम्मको र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रू १० लाखसम्मको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइरहेको थियो । अब यस्तो सुविधा दम्पत्तिका लागि पनि लागू हुने कोषले जनाएको छ । त्यस्तै, सामाजिक सुरक्षाका सुविधातर्फ कोषले सुत्केरी तथा शिशु स्याहार सुविधाका रुपमा दुई सन्ततिसम्मका लागि प्रति प्रसुति रू सात हजार पाँच सय, दुर्घटना क्षतिपूर्ति योजनाअन्तर्गत निज वा निजको हकवालालाई रू दुई लाख र काजक्रिया अनुदान योजनाअन्तर्गत हकवालालाई रू ४० हजारसम्म सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारी सञ्चय कोषले लगानीको क्षेत्र विस्तार गर्दै प्रतिफल सुनिश्चित गर्नुपर्ने बताउनुभयो । “कोषबाट कर्मचारीतन्त्रमा भरोसा र विश्वासको विकास भएको छ । यसमा थप रुपान्तरणका लागि कोषले लगानीको यथेष्ट विश्लेषणको आधारमा लगानी गर्नुपर्छ ।”, अर्थमन्त्री महतले भन्नुभयो । सञ्चय कोषले योगदानकर्ताको रकमलाई सदुपयोग गरेर बढीभन्दा बढी प्रतिफल सुनिश्चित गर्नुपर्ने र आगामी दिनमा थप मजबुद बनाउँदै लैजान विगतको समीक्षा गरेर आगामी कार्यदिशा तय गर्नुपर्ने महतको भनाइ छ ।

अहिले मुलुकको अर्थतन्त्र असहज अवस्थामा रहेका कारण बजेट विनियोजनमा प्राथमिकीकरण गर्नुपरेको र कर्मचारीको भत्ता कटौती गर्नुपरेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रमा सुधार भएपछि सेवा सुविधा वृद्धि गर्नेमा सरकार सकारात्मक रहेको बताउनुभयो । पछिल्लो समय अर्थतन्त्रमा सुधारका सङ्केत देखिँदै गएको डा महतको दाबी छ । “राजस्वमा अझै समस्या छ । तर वैदेशिक मुद्रा सञ्चिती राम्रो छ । पर्यटन आगमन बढेको छ । आर्थिक गतिविधि बढ्न थालेका छन् । आयात निर्यातको परिवेश बदलिँदो छ”, उहाँले भन्नुभयो ।

हाल कर्मचारी सञ्चय कोषमा २७ हजार छ सय कार्यालयका पाँच लाख ८२ हजार योगदानकर्ता रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० सम्ममा कोषको कूल रू पाँच खर्ब १२ अर्ब चार करोड बराबरको स्रोत रहेकोमा रू पाँच खर्ब तीन अर्ब ७४ करोड बराबर लगानी भएको प्रशासक जितेन्द्र धितालले बताउनुभयो । कोषले १२ वटा जलविद्युत् आयोजनामा करिब रू ६० अर्ब, १६ वटा बैंक तथा वित्तीय संस्थामा करिब रू १० अर्ब र पूर्वाधारका क्षेत्रमा २० भन्दा बढी आयोजनामा करिब रू २७ अर्ब बराबर लगानी गरेको धितालको भनाइ छ ।

कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको एकीकृत अवकाश कोषका रुपमा रुपान्तरण गरी सुरक्षा प्रदायक संस्थाको रुपमा काम गर्न आवश्यक रहेको पनि उहाँले बताउनुभयो । कर्मचारी सञ्चय कोष ऐन र निवृत्तभरण कोष ऐनको एकीकृत स्वरुप तयार पार्न खोजिएको उहाँको भनाइ छ । त्यस्तै, तीनवटै तहका सार्वजनिक निकायका कर्मचारीलाई योगदानमा आधारित निवृत्तभरण प्रणालीमा आबद्ध गर्न आवश्यक रहेको पनि धितालले उल्लेख गर्नुभयो । सार्वजनिक निकाय, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न तयार रहेको पनि उहाँको भनाइ छ ।

पोखरामा मिटर प्रणालीमा नचल्ने ट्याक्सी कारबाही

गण्डकी, ३१ भदौ : पोखरामा मिटर प्रणालीमा नचल्ने ट्याक्सी कारबाहीमा परेका छन् । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । “मिटर प्रणाली लागू भएपछि ट्याक्सीको कडाइका साथ अनुगमन भइरहेको छ”, प्रवनानि पाठकले भन्नुभयो, “जरिवानाबाट रु ९८ हजार राजस्व उठेको छ, अझै ५१ ट्याक्सीको राजस्व जम्मा हुन बाँकी छ ।”मिटरमा नगुड्ने ट्याक्सीलाई सवारी ऐनअन्तर्गत कारबाही गर्ने गरिएको उहाँको भनाइ छ । मिटरमा हिँड्न अटेर गर्ने ट्याक्सी चालकले न्यूनतम रु दुई हजार एक सयदेखि बढीमा रु पाँच हजार पाँच सयसम्म जरिवाना तिरेका हुन् । “ट्याक्सी मिटरमा चले÷नचलेकाबारे मन्त्रीज्यू र मन्त्रालयका पदाधिकारीबाट पनि बेलाबेला अनुमगन हुने गरेको छ”, प्रवनानि पाठकले भन्नुभयो, “यात्रुबाट गुनासो आउनासाथ ट्राफिक प्रहरीले तत्काल कारबाही गर्छ ।”ट्याक्सीले मनपरी भाडा लिएर यात्रु ठग्ने गरेको जनगुनासो बढेपछि मन्त्रालयले मिटर प्रणाली लागू गर्न पहल लिएको थियो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसँग पटक–पटक भएको छलफलमा ट्याक्सी व्यवसायीहरू मिटर प्रणालीमा चल्न सहमत भएका थिए ।विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि पोखराका ट्याक्सी मिटरमा चलेका थिएनन् । दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार १५ किमीको यात्रामा चढ्ना साथ (फ्ल्याग डाउन) रु ८० र त्यसपछि प्रतिदुई सय मिटरको १० रूपैयाँ तोकिएको छ । १५ किमीभन्दा बढीको दूरीमा प्रतिकिमी रु ३७ रूपैयाँ ५० पैसा कायम गरिएको थियो ।मन्त्रालयको प्रशासन तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख टीकाराम पौडेलले विगतमा प्रतिबद्धता गरेको विषयलाई ट्याक्सी व्यवसायीले लागू गर्नुपर्ने बताउनुभयो । उहाँले ट्याक्सीले मनलाग्दी भाडा लिने प्रवृत्तिको अन्त्य गरिने उल्लेख गर्नुभयो । “ट्राफिक प्रहरीले यसको नियमित अनुगमन गर्छ, मन्त्रालयबाट पनि नियमन हुन्छ, मिटर प्रणालीमा नचल्ने ट्याक्सीलाई कानूनबमोजिम कारबाही हुन्छ”, उहाँले भन्नभयो, “प्रदेश सरकार र ट्याक्सी व्यवसायीबीच भाडा समायोजनलगायत विषयमा भएका समझदारी कार्यान्वयनमा दवै पक्ष जिम्मेवार हुनुपर्छ ।”

प्रधानमन्त्री दाहाल न्यूयोर्कमा

वाशिङ्टन डिसी – संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्क आइपुग्नुभएको छ ।प्रधानमन्त्री दाहाललाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गर्नुभयो । प्रधानमन्त्रीको स्वागतमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सरकारी अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ४ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यसपटकको महासभामा प्रधानमन्त्रीले ‘विश्व समुदायको विश्वास पुनः जागृत गर्ने तथा शान्ति, समृद्धि र सबै दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे’ सम्बोधन गर्नुहुनेछ ।

न्युयोर्कमा रहँदा उहाँले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।महासभाकै क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग ‘साइडलाइन’ भेटघाट गर्नु हुनेछ । राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनुहुनेछ ।

कर्णालीमा तीन वर्षमा ५५ वटा झोलुङ्गे र २२ वटा पक्की पुल निर्माण

भेरीगङ्गा (सुर्खेत), ३१ भदौ : कर्णाली प्रदेश सरकारले तीन वर्षमा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म प्रदेशका १० जिल्लामा ५५ वटा झोलुङ्गे पुल र २२ वटा पक्की पुल निर्माण गरिएको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी रमेश सुवेदीका अनुसार तीन आर्थिक वर्षमा जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार सात सय ८० घर निर्माण भएका छन् । सोअन्तर्गत सङ्घ सरकारबाट दुई हजार चार सय ८९ वटा घर निर्माण भएका छन् भने प्रदेशबाट जनता आवास कार्यक्रममार्फत दुई सय ९१ वटा घर निर्माण गरिएको छ ।

निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट प्रदेशभर एक सय ७९ भवन, ९९ सडक, सात विद्युतीय संरचना, ३९ तटबन्ध र बाँध, ६८ सिँचाइ आयोजना र ४१ खानेपानी योजना निर्माण भएको मन्त्रालयका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

तीन वर्षमा करिब ७९ किलोमिटर सडक कालोपत्र

तीन आर्थिक वर्षमा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले करिब ७९ किलोमिटर सडक कालोपत्र गरेको छ । तीन वर्षमा भएको सडक कालोपत्रको तथ्याङ्कलाई हेर्दा ७८ किलोमिटर ९५ मिटर सडक कालोपत्र भएको हो । आव २०७७/७८ मा ३३ दशमलव ०२ किलोमिटर, २०७८/७९ मा १५ दशमलव ९० किलोमिटर र २०७९/८० मा ३० दशमलव ०३ सडक कालोपत्र भएको सूचना अधिकारी सुवेदीको भनाइ छ ।

चालु आर्थिक वर्षमा मुगु, हुम्ला र डोल्पामा सडक कालोपत्र गरिएको छैन । सुर्खेतमा १५ दशमलव ९५ किलोमिटर सडक कालोपत्र भएको छ । दैलेखमा पाँच दशमलव ९९ किलोमिटर सडक कालोपत्र गरेको मन्त्रालयले जनाएको छ । जुम्लामा दुई किलोमिटर, सल्यानमा दुई किलोमिटर, रुकुम पश्चिममा तीन किलोमिटर सडक कालोपत्र गरिएको छ ।

त्यस्तै १० जिल्लामा मन्त्रालयले चार सय ३४ दशमलव ०१ किलोमिटर सडक ग्राभेल गरिएको जनाएको छ । त्यस्तै दुई हजार चार सय २४ दशमलव ११ किलोमिटर कच्ची सडक कटान गरिएको भन्दै सुवेदीले सडकको स्तरोन्नति र नाला निर्माणको कामसमेत भएको बताउनुभएको छ ।

‘शिक्षा विधेयक सुझावका आधारमा पास हुन्छ’

काठमाडौँ, ३१ भदौ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल गरेर प्राप्त सुझाव आधारमा पारित गरिने बताउनुभएको छ । सो विधेयक यही भदौ २७ गते सङ्घीय संसद्मा दर्ता भएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधानको मर्म र जनताको चाहना विपरीत विधेयक पारित हुन नसक्ने भएकाल दफाबार छलफलका क्रममा पर्याप्त गृहकार्य हुने स्पष्ट गर्नुभयो । विधेयकप्रति नेपाल शिक्षक महासङ्घलगायत संस्थाले विरोधका कार्यक्रम घोषणा गरेका छन् ।

कार्यक्रममा शिक्षाविद् डा प्रमोद भट्टले सार्वजनिक शिक्षाको सवलीकरण र संविधानको ममअुसार विधेयक आउनुपर्नेमा कतिपय बुँदामा अस्पष्ट र निजीकरण गरिएको जनाउनुभयो । शिक्षाविद् विमल फुयाँलले विधेयक प्रगतिशील नभएकाले व्यापक परिमार्जन गर्न आवश्यक रहेको टिप्पणी गर्नुभयो । एनसिइ नेपाला अध्यक्ष राजेन्द्र पहाडीले आफूहरुले दिएको सुझाव र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७६ को भावनालाई सम्मान नगरी विधेयक आएको बताउनुभयो ।

नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर’ प्रतियोगिता गर्दै

काठमाडौँ, ३१ भदौ : नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको प्रधान सेनापति अन्तर्राष्ट्रिय ‘ट्रि एडभेन्चर’ प्रतियोगिता ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर कम्पिटिसन–२०२३’ आयोजना गर्ने भएको छ ।यस वर्षको छैटौँ संस्करणको प्रतियोगिता आगामी कात्तिक ३ गते सञ्चालन गरिने सेनाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । साहसिक खेलको विकास गर्दै यसको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देेशनालयका महासेनानी विजय केसीले बताउनुभयो ।

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता रहनेछ । हालसम्म मित्रराष्ट्र भारतबाट दुई पुरुष टिम, संयुक्त राज्य अमेरिकाबाट एक पुरुष टिम र पाकिस्तान तथा चीनबाट पर्यवेक्षकका रूपमा सहभागी हुने सेनाले जनाएको छ । प्रत्येक टिममा चार जना खेलाडी र एक जना कोच÷म्यानेजर हुनु पर्ने र उमेर १८ वर्षभन्दा माथि हुनपर्दछ । यस इभेन्टमा रनिङ छ दशमलव सात किमी, साइक्लिङ २६ किमी र ¥याफ्टिङ ११ किमी गरी जम्मा दूरी ४३ दशमलव सात किमीको रहनेछ ।

नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका सहसेनानी पवित्रजङ्ग राणाले कार्यक्रमसम्बन्धी सार संक्षेप प्रस्तुत गर्नुभएको थियो । धादिङको बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाको मूल गेटबाट सुरु भई चरौँदीस्थित रेयल विज क्याम्पमा अन्त्य हुनेछ ।

प्रतियोगितामा विजयी हुने प्रथम पुरुषतर्फ रु एक लाख ५० हजार र द्वितीयलाई रु एक लाख र तृतीयलाई रु ७५ हजार तथा चौथोलाई रु २५ हजार र पाँचौँलाई रु १५ हजार प्रदान गरिनेछ । त्यसैगरी महिलातर्फ प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार पुरस्कार दिइनेछ । उक्त प्रतियोगिताको रजिष्ट्रेसन फारम भदौ १९ गतेदेखि असार १५ गतेसम्म रहेको छ । नेपाली सेनाले विसं २०७१ देखि धादिङको बैरेनीमा राष्ट्रियस्तरमा यो प्रतियोगित सञ्चालन गर्दै आएको छ । सन् २०१८ देखि अन्तर्राष्ट्रिय टिमहरू सहभागी हुँदै आएका छन् ।

उच्च अदालतका सात न्यायाधीशको सरुवा

काठमाडौँ, ३१ भदौ : उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो । बैठकले जिल्ला न्यायाधीशको २९ पदका लागि भएको परीक्षामा एक जनाले मात्र लिखित परीक्षा उत्तिर्ण गरेकोप्रति छलफल गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भन्नुभयो, “२९ जनाका लागि खुलाएको विज्ञापनमा जम्मा १ जना उत्तीर्ण भएको पाइयो, यसबारे पनि बैठकमा समीक्षा भएको छ ।” गत २६ जेठमा न्याय सेवा आयोगले २९ जिल्ला न्यायाधीश माग गर्दै गरेको विज्ञापनमा दुई सय ११ जनाले लिखित परीक्षा दिएका थिए । उनीहरूमध्ये पारसमणि पोखरेल मात्रै उत्तीर्ण हुनुभएको हो । उहाँको अन्तर्वार्ता सोमबार हुनेछ । उहाँले न्याय सेवामा उपसचिव हुनुहुन्थ्यो ।

मन्त्रिपरिषद् निर्णय : विश्व बैंकको ६० लाख अमेरिकी डलर ऋण स्वीकार

काठमाडौँ, ३१ भदौ : मन्त्रिपरिषद्को भदौ २९ गतेको बैठकले अपर अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिनुहुँदै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विमस्टेक) वडापत्र अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको बताउनुभयो ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले यस्तो समिति गठन गर्ने व्यवस्था राखेको थियो । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट दिनेसम्बन्धी सूचना प्रकाशन गर्न स्वीकृति दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको अध्यक्ष पदमा बाबुराम पन्तलाई नियुक्त गर्ने निर्णय पनि सरकारले गरेको छ ।

दसैँ, तिहारलगायत चाडवाडका लागि चिनी आपूर्तिलाई सहज बनाउन भन्सार छुटमा चिनी आयात गर्ने निर्णय पनि सरकारले गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट समान १० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको हो ।

विभूषण वितरण कार्य केही समयसम्मका लागि स्थगन गर्ने निर्णय पनि सरकारले गरेको छ । संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गर्ने तथा विभूषणको गरिमा बढाइ राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय सरकारले गरेको छ । उक्त कार्यदलले पेश गरेका सुझावका आधारमा विभुषण वितरणसम्बन्धी मापदण्ड बनाउने र त्यस्तो मापदण्ड नबनुन्जेलसम्मका लागि हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय भएको हो ।

सिँचाइ नीति, २०८० र नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने पनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले गरेको छ । त्यस्तै, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने निर्णय सरकारले गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडित जनताको न्यायिक समस्या स्थायी रुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकबाट भएको छ । जटामसी वनस्पतिको व्यवस्थापन निकायको रुपमा डिभिजन वन कार्यालयलाई तोक्ने निर्णय भएको छ । सुपर तल्लो बागमती जलविद्युत् आयोजनाको भौतिक पूर्वाधारहरु निर्माण गर्न मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नम्बर ५ र ललितपुर जिल्लाको महाँकाल गाउँपालिका वडा नम्बर ६ मा रहेको राष्ट्रिय वन क्षेत्रको नौ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृती दिने निर्णय सरकारले गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतका अध्यागमन विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा चालु आर्थिक वर्षका लागि राजपत्राङ्कित तृतीय श्रेणीका २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । तीन जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय पनि सरकारले गरेको छ ।

बाँके जिल्लाको नौवस्तास्थित कारागारको ब्लकमा बालसुधार गृह स्थापना तथा सञ्चालन गर्न स्वीकृत दिने निर्णय भएको छ । त्यस्तै, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मोरोक्कोको माराकेसमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)को संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डललाई स्वीकृति दिने र चीनको होङझाओ सहरमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगितमा सहभागी हुन युवा तथा खेलकुदमन्त्री र सचिवलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

काठमाडौँ, ३१ भदौ : चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ । त्यस्तै, काठमाडौँ उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ ।

गत साउन महिनामा आयात एक दशमलव छ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव आठ प्रतिशतले बढेर रू एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति रू ३२ अर्ब ९० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रू १५ खर्ब ७३ अर्ब १२ करोड बराबर रहेको छ ।साउन महिनामा सरकारको खर्च रू ३५ अर्ब चार करोड र राजस्व परिचालन रू ७८ अर्ब ८७ करोड रहेको छ ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय दुई दशमलव चार प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १० दशमलव आठ प्रतिशतले बढेको छ ।साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव तीन प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहेको छ ।

अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना

ललितपुर, ३१ भदौ : म्याद गुज्रेका सामग्री बिक्री गरेको भन्दै संयुक्त बजार अनुगमन ललितपुरको टोलीले पुल्चोकस्थित भाटभटेनी सुपरमार्केटलाई एक लाख जरिवाना गरेको छ । ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा भाटभटेनीले म्याद सकिएको घिउ, अण्डा बिक्री गरेको पाइएपछि न्यूनतम एक लाख जरिवाना गरिएको सहायक प्रजिअ सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार विग मार्टले बिक्री गर्ने हरियो तरकारीमा कम तौल पाइएपछि १० हजार जरिवाना गरिएको छ । यस्तै, म्याद सकिएको बियर बिक्री गरेको भेटिएपछि दश हजार जरिवाना गरेको सुनारले जानकारी दिनुभयो ।

“संयुक्त बजार अनुगमन ललितपुरको टोलीले आइतबारदेखि चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो । हामीले शिक्षा दिने गरी बजार अनुगमन थालेका छौँ, मानिसको स्वास्थ्यसँग खेलवाड गर्नेगरी खाद्यवस्तु बिक्रीवितरण नगर्न सचेत गराउँदा पनि पालना नगरेपछि जरिवाना गरिएको हो,” सहायक प्रजिअ सुनुवारले भन्नुभयो । घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका निरीक्षक अधिकृत सञ्जय थापाले उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिएर अखाद्य वस्तुको ‘डिस्पोज’ गरिएको बताउनुभयो ।

एमाले महासचिव नेतृत्वको टोलीको चीन भ्रमण उपलब्धिमूलक

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय टोलीको मित्रराष्ट्र चीनको भ्रमणबाट दुई पार्टी र दुई देशबीचको सम्बन्ध थप सृदृढ हुन सघाएको ठानिएको छ ।

पार्टीका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते असामयिक निधनका कारण भ्रमण टोलीका नेता पोखरेल र चार सदस्य यही भदौ २७ गते स्वदेश फर्कनुभएको थियो भने अन्य सदस्यहरू यही भदौ २९ गते स्वदेश फर्कनुभएको थियो ।चीनले पर्यावरणीय हिसाबले विश्वको नमूना सहरको रूपमा विकास गरिरहेको छिङ्हाइ प्रान्तको राजधानी सिनिङमा चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको ‘चिनियाँ आधुनिकीकरण ः मानवता र प्रकृतिबीचको सद्भाव’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा महासचिव पोखरेललाई प्रमुख वक्ता बनाइएको थियो । तीस देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओलगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो ।भ्रमणका अवसरमा चीनका मुख्य सहरबाट नेपालका नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानका लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ, पहल र समन्वयको पहल हुने आशा गरिएको एमालेको विदेश विभाग प्रमुख डा राजन भट्टराईले बताउनुभयो । उहाँले त्यस अर्थमा भ्रमण उपलब्धिमूलक रहेको जनाउनुभयो ।उहाँका अनुसार चीनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणका क्रममा भएका सम्झौता र सहमतिहरू तथा यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरू छिटो कार्यान्वयन होस् चाहना नेपाली प्रमण्डलसँग व्यक्त गरेको छ ।नेपाली टोलीले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपालको भूमिबाट हुने सबै खालका चीन विरोधी गतिविधिलाई अस्वीकार गर्दै असंग्लन परराष्ट्र नीति र पश्चशीलको सिद्धान्तमा दृढ रहेको स्पष्ट गरेको थियो ।भ्रमण दलमा विदेश विभाग प्रमुख डा राजन भट्टराई, एमालेका स्थायी कमिटी सदस्य एवं केन्द्रीय प्रचार विभागका प्रमुख कमिटी सदस्य राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला शाहा, केन्द्रीय सदस्यहरू राम राना, टुका हमाल, निरज आचार्य, रचना खड्का, सहदेव बोगटी, मञ्जु गुरुङ, मानवीर राई, अजय गुप्तालगायत रहनुभएको थियो । 

राष्ट्रपति पौडेलसँग लोसपाका नेता महतोको भेटवार्ता

काठमाडौँ, ३१ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

राष्ट्रपतिसँगको भेटका बारेमा राससलाई जानकारी दिँदै वरिष्ठ नेता महतोले राष्ट्रपति पौडेलसँग राष्ट्रपति भएपछि आफ्नो पहिलो भेट भएको र समसामयिक विषयमा छलफल भएको बताउनुभयो । भेटका अवसरमा आफूले राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरणलगायत कामकारबाहीका सम्बन्धमा धन्यवाद व्यक्त गरेको नेता महतोले बताउनुभयो । राष्ट्रपति पौडेलले छिट्टै जनकपुर भ्रमण गर्नुहुने कार्यक्रम रहेको र त्यसबारे पनि कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

बालबालिकाको सर्वाङ्गीण विकासको लागि अझै धेरै काम गर्न आवश्यक छ : राष्ट्रपति

काठमाडौँ, ३१ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सोख रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो बाल्यकालको अनुभव सुनाउँदै त्यस्तो बताउनुभएको हो ।

उहाँले पौडी र घोडचडीले मान्छेलाई स्वस्थ बनाउन सहयोग पुग्ने बताउनुभयो । “पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पु¥याएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन् । हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्दथ्यो । म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्दथेँ ।” उहाँले आफूहरूको पालामा बालबालिकाहरू नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताउनुभयो ।

बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात ‘शोक न सुर्ता भोक न भकारी’को रहने गरेको स्मरण उहाँले गर्नुभयो । राष्ट्रपति पौडेलले महाकवि देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न पाए हुन्थ्यो भन्नुभयो ।

उहाँले अहिलेको बालबालिकाभन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईवस्तु चराउने गरेको, भातपकाइ खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताउनुभयो ।

“हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिले जस्तो विद्यालय भवन, कुर्ची बेञ्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरेँ, घरनजिकैको वरपिपलको चौतारीका ढुङ्गाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातोमाटोको धुलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो”, उहाँले बाल्यकाल सम्झँदै भन्नुभयो ।

राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताउनुभयो । तर पनि अहिलेको आधुनिक समयमा बालबालिकाका लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उहाँले उनीहरूको सर्वाङ्गीण विकासका लागि सरकारले अझै धेरै काम गर्न आवश्यक छ भन्नुभयो ।

उहाँले बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिनुभयो ।

मन्त्री सुरेन्द्रराज आचार्यले बालबालिका भनेका भविष्यका कर्णधार हुन् भन्ने कुरा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने यस वर्षको बाल दिवसको नाराले नै पुष्टि गरेको छ भन्दै उनीहरूले उठाएका माग पूरा गर्न सरकार प्रतिबद्ध छ भन्नुभयो ।

मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिकलगायतका विविध समस्या रहे पनि बालबालिकाको संविधानप्रदत्त हक अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले काम गर्दै आएको बताउनुभयो ।

बालबालिकाका तर्फबाट बोल्दै कीर्तिपुरकी प्रेक्षा अधिकारीले बालबालिकामा लगानी भनेको मानव विकासको लागि हो र यसले जीवनभर सन्तोष दिन्छ भन्दै समृद्ध नेपाल तब हुन्छ जब बालबालिकाप्रति सचेत र सजग हुन्छौँ भन्नुभयो । उहाँले असीको दशकलाई बालबालिकामा लगानी दशक घोषणा गर्दै कार्यान्वयनमा ल्याउन माग गर्नुभयो ।

बाँकेका थारू समुदायले अटवारी पर्व मनाउँदै

राँझा (बाँके), ३१ भदौ : बाँकेका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अटवारी पर्वको रौनक छाएको छ । भदौ महिनाको कृष्णअष्टमीपछिको शुक्लपक्षको पहिलो आइतबारका दिन थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै आज अटवारी पर्व मनाउँदै छन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको बाँकेका थारू अगुवा चन्द्र थारूले बताउनुभयो ।

उहाँका अनुसार व्रतपछि गहुँको पीठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई एक भाग छुट्याई बाँकी भाग बर्तालुले खाने चलन रहेको छ ।

अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गर्छन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा बर्तालुले ग्रहण गर्छन् । यो पर्व थारू समुदायको दशैँपछिको ठूलो पर्वका रूपमा रहेको थारूको भनाइ छ ।

थारू समुदायको बसोबास रहेका बाँकेसहित बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत क्षेत्रमा अटवारी पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको थारू अगुवा कृष्ण चौधरीले बताउनुभयो ।

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लाका थारू समुदायलाई आइतबार (आज) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विगतमा थारू बाहुल्यता रहेका स्थानीय तहले स्थानीय बिदा दिने गरे पनि अहिले प्रदेश सरकारले नै पर्व मनाउन बिदा दिनु सकरात्मक रहेको बाँकेका थारू अगुवा एवं राप्ती सोनारी गाउँपालिका पूर्वअध्यक्ष लाहुराम थारूले बताउनुभयो ।

धान बालीमा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित

खोटाङ, ३१ भदौ : गाभा सरेर पोटाउन लागेको धान बालीमा गभारो नामको कीरा तथा ब्लाष्ट नामक रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका छन् । रावाबेँसी, दिप्रुङ चुइचुम्मा, साकेला, खोटेहाङ गाउँपालिका सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा कीरा तथा रोगको सङ्क्रमण फैलिएपछि किसान चिन्तित बनेका हुन् ।

धानको बाला लाग्ने ठाउँदेखि तल डाँठको वरिपरि तथा आँख्लामा खैरो रङ भएको दाग तथा गभारो नामको कीराको समस्या देखिएको किसानले बताएका छन् । थोप्ला जोडिँदै जाँदा पूरै पात डढेको देखिने र रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्ला देखिएको उनीहरुको भनाइ छ ।
गाभा सरेर पोटाउन लागेको धान बालीमा कीरा तथा राइस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको सङ्क्रमण देखापरेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामानन्द यादवले जानकारी दिनुभएको छ । “जिल्लाका कृषकले लगाएका धान बालीमा तीन किसिमको रोग र एक प्रकारका कीराको सङ्क्रमण फैलिएको पाइएको छ । कृषि ज्ञान केन्द्रले बजेट अभावका कारण विषादी उपलब्ध गराउन सकेको छैन”, उहाँले भन्नुभयो, “धान बालीमा फैलिएको रोग पहिचान गरेर नियन्त्रण गर्न जिल्लास्थित सबै स्थानीय तहका प्राविधिकलाई सुझाव दिएका छौँ । स्थानीय तहले चासो दिएको खण्डमा नियन्त्रणमा ल्याउन सकिन्छ ।”

धानको कलिलो अवस्थाको बोटमा गभारोको आक्रमण भएमा गावा मृत देखिने तथा फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुसमात्र भएको सेतो बाला देखिने जनाइएको छ । धान बालीमा रोग तथा कीराको सङ्क्रमण फैलिएपछि यस वर्ष जिल्लामा उत्पादनमा समेत गिरावट आउने सम्भावना बढेको कृषि विज्ञहरूले बताएका छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा कीराको प्रकोप देखिएको स्थानीय बासिन्दाले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा समेत रोग तथा कीराको सङ्क्रमण देखापरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो कीरा, ब्लाष्ट, खैरो थोप्ले रोग र व्याक्टेरियल लिफ ब्लाइटको सङ्क्रमण देखिएको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताउनुभयो । “नगरपालिकाको सबै वडाका किसानले लगाएका धान बालीमा रोग तथा कीराको प्रकोप देखिएको छ । सबैभन्दा बढी वडा नं ४ खाल्लेमा देखिएको छ”, उहाँले भन्नुभयो, “धान बालीमा लागेको रोगको प्रकोप तथा कीरा नियन्त्रणका लागि नगरपालिकाले ७५ प्रतिशत अनुदानमा किसानलाई कारटाप हाइड्रोक्लोराइड, कार्बेनडाजिम र एक्जाकोनाजोल नामको विषादी वितरणसमेत वितरण सुरु गरेको छ ।”

जिल्लाका अन्य स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा धान बालीमा फैलिएको रोग नियन्त्रणका लागि पहल थालेको बुझिएको छ । यद्यपि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहका कृषकले अहिलेसम्म रोग नियन्त्रणका लागि आवश्यक पर्ने विषादी पाएका छैनन् ।

दुई नगरपालिका र आठ गाउँँपालिका रहेको जिल्लामा कुल १२ हजार आठ सय ९८ हेक्टर खेतमा किसानले धानखेती गर्दै आएका छन् । देशभर गाई÷गोरुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नुलगायतका कारण यस वर्ष जिल्लामा धान रोपाइँमा समेत ढिलाइ भएको थियो ।

संविधान दिवस– निर्वाचन र शासकीय प्रणाली फेर्नैपर्छ : पूर्वसभामुख घर्ती

काठमाडौँ, ३० भदौ : सशस्त्र द्वन्द्वका बेला आन्दोलनरत तत्कालीन नेकपा (माओवादी)को बटालियन कमिसारदेखि पहिलो महिला सभामुख भएर ओनसरी घर्तीले मुलुकमा राजनीतिक रूपान्तरणका लागि प्राप्त जिम्मेवारी कुशलतापूर्वक सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो ।

अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएकी घर्ती माओवादी राज्य समिति सदस्य, केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्यसम्म हुनुभयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा समानुपातिक सदस्य र दोस्रो सविधासभा निर्वाचनमा रोल्पा–२ बाट निर्वाचित भएपछि उहाँ संविधानसभाका उपाध्यक्ष र केही समय सभामुख बन्नुभयो । उहाँले विसं २०६८ मा युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो भने विसं २०७४ को निर्वाचनमा समानुपातिकबाट फेरि प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभयो ।

पूर्वसभामुख घर्तीसँग नवौँ संविधान दिवस, २०८० का अवसरमा राससका उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

राससः नेपाली जनताको ठूलो बलिदानीपछि उपलब्धिका रूपमा प्राप्त संविधान र सङ्घीयता कार्यान्वयनमा अहिले भइरहेको अभ्यासलाई कसरी हेर्नुभएको छ ?

घर्तीः हामीले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाएपछि सुरुमा कानुन निर्माणमै धेरै समय खर्चनुपर्यो । नयाँ संविधानअनुसार कानुन बन्ने काम बाँकी नै छ । मुलुकमा हामीले नयाँ राजनीतिक व्यवस्था स्थापना गर्यौँ, यसको कार्यान्वयनका लागि लगातार सबै राजनीतिक दलका बीच एक प्रकारको सहकार्य गरेर अघि बढिरहेका छाँैँ । जनताको चाहनाका साथ संविधान निर्माण गरियो, त्यसबमोजिम नै कार्यान्वयनमा छौँ । यसको गति भने धिमा छ ।

राससः मुलुक सङ्घीयताको अभ्यासमा छ, प्रदेशको अधिकार र स्थानीय तहमा सुशासन सम्बन्धमा उठेका आवाजलाई कसरी हेर्नुभएको छ ?

घर्तीः प्रदेशलाई संविधानअनुरूप दिनुपर्ने अधिकार र बनाउनुपर्ने संरचनाका काम ढिलो भएको छ । कानुन बनाएर छिटो अधिकार सुम्पनुपथ्र्याे, अहिले उठिरहेको सुशासनका कुरा पनि कानुन नहुँदाकै परिणति हो । स्पष्ट कानुनी प्रबन्ध नहुँदा अलमलजस्तो देखिन्छ । अब छिटो कानुन बनाएर प्रदेशलाई अधिकार र जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ । संविधानमा लिखित अधिकारको सूचीका आधारमा कामको बाँडफाँट र अधिकारको उपयोग गर्नुपर्छ । राजनीतिक दल, सरकार र अरु निकाय मिलेर सुशासन कायम गर्ने र भ्रष्टाचारलाई शून्यमा झार्ने विषयमा स्पष्ट प्रतिबद्धता आउनुपर्छ ।

राससः तीन तहका सरकारबीच समन्वय र सहकार्यका सम्बन्धमा यहाँको बुझाइ के हो ?

घर्तीः सङ्घ, प्रदेश र स्थानीय तह आफूलाई चाहिने आवश्यक कानुन आफैँ निर्माण गर्न सक्छन् । हिजोको केन्द्रीकृत संरचना र मानसिकताले प्रदेश र स्थानीय तहमा अधिकार विकेन्द्रिकृत गर्न केही समय लाग्यो । स्थानीय तहमा केही संरचना भएकाले चाँडो काम भए पनि प्रदेशका हकमा भने केन्द्रले दिनुपर्ने अधिकार अझै दिइएको छैन । कतिपय कानुन नै बनेको छैन । तीन तहका सरकारबीच समन्वय नहुँदा अन्योल भएको हो । प्रदेशलाई अधिकार हस्तान्तरण नगरिएकाले यो अवस्था देखापरेको हो ।

राससः संविधानसभाबाट संविधान जारी गरिने समयमा केही विरोधका आवाज सुनिन्थ्यो, अहिले त्यो मत्थर भएको हो कि सम्बोधन गर्नुपर्ने केही पक्ष छ ?

घर्तीः गतिशील दस्तावेज संविधानको कार्यान्वयनमा भएको ढिलाइसँग जोडेर सकारात्मक र नकारात्मक दुवै कोणबाट प्रश्न र आवाज आइरहेका छन् । नकारात्मक धेरै ठूलो छैन । ती संविधानको छिटो पूर्ण कार्यान्वयनकै लागि आएका हुन् । संविधानको भावना र मर्मअनुरूप यताउता नगरी सरासर सङ्घीयता कार्यान्वयन गर्न सक्नु नै अहिले हाम्रो प्रमुख चुनौती हो । संसद्ले कानुन बनाउन र सरकारले अधिकार दिन गरेको ढिलाइबाट यावत् प्रश्न उठेका हुन् । त्यसमा इमान्दारी देखाउन सक्नुपर्छ ।

राससः मुलुकमा जाति, भाषा, धर्म र भूगोलका आधारमा विविधता भएकाले सबका माग, मुद्दा एकैसाथ सम्बोधन हुन सक्लान् र !

घर्तीः संविधानमा व्यवस्था गरिएका विषय हुबहु लागू भएमा विरोधको स्वर कम हुन्छ । संविधान सबै दलको साझा दस्तावेज हो । विविधतायुक्त देश छ । सबको भावना सकेसम्म देखियोस् भनेर सम्बोधन गर्न कोसिस गरिएको छ, तैपनि केही कमी भइहाल्छ । हामी सबै मिलेर संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि कोसिस गरिरहेकै छौँ । पूर्णता सापेक्ष हुन्छ, निरपेक्ष पूर्णता खोज्नुहुन्न, त्यो सम्भव पनि छैन ।

राससः संविधान जारीपछि पनि मुुलुकमा राजनीतिक स्थायित्व र विकासको लक्ष्य हासिल गर्न किन चुनौती भयो भन्ने लाग्छ यहाँलाई ?

घर्तीः मुलुकमा राजनीतिक स्थायित्वबारे संविधान निर्माणका क्रममा पनि छलफल भएकै हो । पहिलो, सहमति र सहकार्यका साथ अघि बढौँ भनी सहमतिको राजनीतिलाई अघि बढाएको भए छिटो फल प्राप्त गर्न सक्थ्यौँ । दोस्रो, संविधानमै शासकीय स्वरूप र निर्वाचन प्रणालीमै स्थायित्व खोज्नुपथ्र्याे । ती दुवै नहुँदा अस्थिरता देखियो । मौकाको फाइदा उठाउनुपर्छ भनेर केही पक्षबाट संविधानमाथि लगातार आक्रमण भइरहेको छ । राजनीतिक दलले अबका दिनमा केही न केही सोच्नुपर्छ । मिलेर जाने कि संविधानमै त्यो व्यवस्था गरेर जाने भन्नेमा बहस हुनुपर्छ ।

राससः सडकमा देखिएका असन्तुष्टिलाई कसरी सम्बोधन गर्न सकिएला ?

घर्तीः यो असन्तुष्टिले देश विकासमा बाधा पुगेको छ, हामीले सोचेको र संविधानले परिकल्पना गरेको काम भइरहेको छैन । बल्लतल्ल एउटा तयारी गर्यो फेरि अर्काे नयाँ मानिस, दृष्टिकोण र सोच आएपछि अलमलमा पर्ने स्थिति छ । एउटा राजनीतिक दल वा नेताले पाँच वर्ष ढुक्कसँग सरकार चलाउन पाए देश र जनताका काम सरासर अघि बढ्थ्यो । राजनीतिक अस्थिरताले सबै क्षेत्र ढुलमुल भयो । यस्तो अवस्थामा सबै राजनीतिक दलले गम्भीरतापूर्वक छलफल गरी अघि बढ्नुपर्छ ।

राससः संविधानमै स्थिर खाले व्यवस्था गरेर पनि जान सकिन्छ भन्ने दृष्टिकोण आयो, त्यो भनेको के हो ?

घर्तीः मेरो दल र हामीले संविधान निर्माणका बखत प्रत्यक्ष प्रधानमन्त्री वा कार्यकारी राष्ट्रपति प्रणालीमा जाऔँ भनेका थियौँ । यस प्रणालीले स्थायित्व प्रदान गर्छ, राम्रो हुन्छ । निर्वाचन प्रणाली पनि पूर्ण समानुपातिक भनेका थियौँ तर भएन । हालको मिश्रितभन्दा पनि प्रत्यक्षमा समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्था सोचाँै । त्यसबेला सबैले आ–आफ्नो अडान छाडेर सहमतिकै लागि जोड बल पुर्याएका थियौँ । अहिले पाइरहेको दुःख त्यसबेलाको उपज हो ।

राससः लोकतन्त्रमा हाम्रा होइन, राम्राको छनोट हुनुपर्छ, विषयविज्ञलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइन्छ भन्ने थियो तर त्यो देखिएन नि ?

घर्तीः अवसर र जिम्मेवारी दिने मामिलामा विकृति देखिएको छ, पवित्र उद्देश्य र विचार राखेर त्यतिबेला संविधानमा जे व्यवस्था गरियो, ठीकै थियो । यसमै खेलेर व्यवस्थाप्रति नकारात्मक सोच राख्न चाहने शक्ति विकृत बनाउन लागिपरे । समानुपातिकमा नातागोता ल्याएपछि उत्पीडनमा परेका वर्ग, समुदायले अवसर पाएनन् । समाजमा अवैज्ञानिक देखिएका विषय कानुन संशोधन गरेर हटाउनुपर्छ । राज्यमा पहुँच नभएका र पछि पारेका तथा प्रतिस्पर्धामा आउन नसक्नेलाई अवसर दिनुपर्नेमा छनोटमै उल्टापाल्टा भइरहेको छ । व्यवस्था र संविधानमा राखिएको प्रावधान नराम्रो होइन, तर कार्यान्वयनमा गडबडी भएको छ । चुनौतीलाई सम्बोधन गर्न बनेका कानुनको पुनरावलोकन गर्दै बाँकी छिटो बनाउनुपर्छ ।

राससः मुलुकका केही भागमा पछिल्ला दिनमा उठेका प्रश्न र सम्बोधन गर्ने बाटो के हुनसक्छ ?

घर्तीः सरकारको स्थायित्व नहुनु र कानुन निर्माणमा उल्झन भएकै कारण धर्मनिरपेक्षताका विषयलाई लिएर केही घटनाको प्रयास भयो । नेपाली धर्मविशेषको अडान लिएर बस्ने जाति होइन, हामी सबै जातिका संस्कार, पर्व र संस्कृतिमा रमाउने मानिस हौँ । त्यस्ता गतिविधि रोक्न धर्मनिरपेक्षतासम्बन्धी कानुन छिटो बनाइदिए हुन्थ्यो । संविधानमा लेखिएको छ, व्यवहारमा हामीले सबैलाई मानेकै छौँ । नयाँ कानुन बनेको छैन, कर्मचारीले भएको कानुन पालना गर्न लगाउँछ । यस्ता गम्भीर विषयलाई कानुन बनाएर छिटो सम्बोधन गर्नुपर्छ ।

राससः राजनीतिक परिवर्तनका लागि लामो योगदान पुर्याएका दललाई चुनौती दिँदै भर्खरै जन्मिएकाहरू अघि आएका छन् नि ?

घर्तीः समयले कसैलाई पर्खँदैन । जनता आफ्ना चाहना र आवश्यकताका लागि विकल्प खोजिरहेका छन् । त्यो सम्बोधन राजनीतिक दलले नै गर्ने हो । लामो समयदेखि विभिन्न बलिदान र तपस्या गरेर आएका दललाई छाडेर मिडियाका भरमा तथा प्रचारका आधारमा आएका राजनीतिक दल विकल्प हुन सक्दैनन् । विकल्प प्रमुख राजनीतिक दलले दिन सक्नुपर्छ ।

राससः निर्वाचनमा हारेका व्यक्तिलाई त्यही कार्यकालमा अर्काे तरिकाबाट ल्याउने कार्य जनादेश विपरीत भएन र ?

घर्तीः यो गलत अभ्यास हो, चुनावमा हारे पनि जनताको सेवा अरु ठाउँबाट गर्न सकिन्छ । पराजितलाई उत्तिखेरै पदमा ल्याउँदा जनताको अपमान हुन्छ ।

राससः अन्तर्राष्ट्रिय जगत्मा पछिल्लो समय नेपालको छवि कस्तो पाउनुभएको छ ?

घर्ती ः नेपालले कुन शासन प्रणाली अवलम्बन गर्यो भन्ने हाम्रो आन्तरिक कुरा भयो । अन्तर्राष्ट्रिय समुदायबाट यसमा हस्तक्षेप हुनुहुँदैन तर भइरहेको छ । हामी आफैँले पनि अन्तर्राष्ट्रियस्तरमा एउटै आवाज र साझा धारणा राख्नुपर्छ । देश र जनहितलाई केन्द्रित गरी साझा परराष्ट्र नीति बनाएर अघि जाने वातावरण बनाउनुपर्छ । वीर गोर्खाली स्वाभिमानी भन्ने सन्देश दिनुपर्छ । नयाँ पुस्तामा देशप्रेमको भावना कमजोर छ । छिमेकमै पनि राष्ट्रियताका लागि एउटै आवाज प्रस्तुत गरेको देखिन्छ । आन्तरिक मामिला हामी आफँै समाधान गर्छाैँ भनेर एक स्वरले भन्नुपर्छ । अन्तर्राष्ट्रिय जगत्मा बेलाबखत सरकार र दलबाटै पनि कमजोरी भएको देखिएको छ । नालापानीमा २२ दिनसम्म पानी नखाई बच्चालाई पिँठ्युमा बोकी लडेर जोगाएको देश हो, कसैलाई पनि हल्का रूपले बोल्ने छुट छैन । राष्ट्रियता र स्वाभिमानका विषयमा कडा कानुन बनाऔँ ।

राससः सुशासनसँग जोडेर निर्वाचन खर्चिलो भयो, निष्ठाको राजनीति गर्ने बाहिरिए, निर्वाचन ठेकेदारका कब्जामा गयो भन्ने भनाइप्रति यहाँको मत ?

घर्तीः सबैभन्दा पहिला हामीले निर्वाचन प्रणाली नै बदल्नुपर्छ । राजनीतिक दलले आफ्ना कार्यकर्ताको मूल्याङ्कन गर्नुपर्छ, चुनाव जित्नेमात्रै सही कुरा होइन । एउटा ठेकेदारले रु ५० करोड खर्च गरेर चुनाव जित्ला रे, किन जित्यो, के का लागि जित्यो, कुरा त बुझिन्छ नि । पैसाका आधारमा फ्याट्ट समानुपातिकमा लाने प्रवृत्ति गलत छ, कानुन पुनरावलोकन गरेर अघि बढाउनुपर्छ । दुःख गरेकासँग मात्रै जनताको आवाज आउँछ । अहिले समुदाय विशेषका पहुँचवालामात्रै समानुपातिकमा आएका छन् । गरिबको बस्तीमा नपुग्नेले राजनीतिलाई धुमिल पारेका छन् ।

राससः संविधान दिवसका अवसरमा देशवासीलाई यहाँको केही सन्देश छ ?

घर्तीः यस दिवसका अवसरमा नेपाली दाजुभाइ, दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । संविधानले नेपाली विविधतालाई सम्बोधन गरेको छ । हामीले सधैँ एकता, सहकार्य र सहमतिका साथ सहिष्णु भएर देशको हितका लागि साझा ‘एजेन्डा’ लिई अघि बढ्न यस दिवसले प्रेरित गरोस् भन्ने शुभकामना दिन चाहन्छु ।

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणमा ढिलाइ

दमौली (तनहुँ), ३१ भदौ : तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाकोे प्रसारण लाइन निर्माण नीतिगत समस्याका कारण ढिलाइ भएको छ । वनमन्त्रालयसँग देखिएको समस्या कारण सो आयोजनाको प्याकेज–३ अन्तर्गतको काममा ढिलाइ भएको हो । प्रसारण लाइन निर्माणका लागि विसं २०७७ असोजदेखि काम सुरु भएको थियो । यो प्याकेजको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो प्याकेजको हालसम्म ६९ प्रतिशत काम सम्पन्न भएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “वन मन्त्रालयसँग सम्बन्धित केही समस्या अझै समाधान भएका छैनन्, ऊर्जा मन्त्रालयमार्फत वन मन्त्रालयमा समस्या समाधानका लागि पठाएका छौँ ।” बिनाअवरोध काम गर्न पाएको भए यो खण्डमा हालसम्म ८५ प्रतिशत काम भइसक्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार प्रसारण लाइन निर्माणका लागि ६९ टावरको जग हाल्ने कार्य सकिएको छ । त्यस्तै ३३ टावर जडान सकिएको छ भने १२ टावरको जग संरक्षण सम्पन्न भएको छ । त्यस्तै हालसम्म शून्य दशमलव ९८८३ किलोमिटर तार तान्ने काम सकिएको छ । उहाँका अनुसार एक स्थानमा जग हाल्ने काम भइरहेको छ । उहाँले भन्नुभयो, “प्याकेज–१ र २ सँगै प्याकेज–३ को प्रसारण लाइन निर्माणले तीव्रता पाएको छ ।”

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल भारतले दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको ३६ किलोमिटर ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण गरिरहेको छ ।

प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । प्रसारण लाइन निर्माणका लागि कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । तनहुँतर्फ व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने जग्गा अधिग्रहण गरिनेछ ।

निर्माण सुरु भएको चार वर्षको अवधिमा आयोजनाले तीनवटा प्याकेजमा ४३ प्रतिशत प्रगति हासिल गरेको छ । तनहुँ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार प्याकेज–१ अन्तर्गत बाँध निर्माणमा २५ प्रतिशत, प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ४५ प्रतिशत र प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङहरू, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।

आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम कालिका कन्स्ट्रक्सन प्रालि नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।

यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

बाँधको माथिल्लो भागको स्लोप खन्ने कामअन्तर्गत हालसम्म इलिभेसन तह पाँच सय ४४ मिटरबाट चार सय ८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माणकार्य सुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह चार सय ७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।

आयोजनाको प्याकेज–२ को निर्माणकार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर एक अर्ब १४ करोड एक लाख ८८ हजार नौ सय ५८ र नेपाली रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार तीन सय ६१ मा खरिद सम्झौता भएको थियो । खरिद सम्झौताबमोजिम निर्माण सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण जारी राखेको छ ।

यो प्याकेजअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको आयोजना प्रमुख शिल्पकारको भनाइ छ ।

आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने काम सकिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

बाइडेनसँगको समस्या उमेरको नभई क्षमताको रहेको ट्रम्पको भनाइ

वासिङ्टन – अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई आफ्नो उमेरभन्दा बढी अनपेक्षित सहयोगीको समर्थन प्राप्त भएको छ । डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेता दोस्रो कार्यकालका लागि ‘धेरै बूढो’ नभएको बताउनुभएको छ ।

सन् २०२४ को चुनावअघि बाइडेन ८२ र ट्रम्प स्वयं ७८ वर्ष पुग्नुहुनेछ । राष्ट्रपतिका सम्भावित उम्मेदवारबारे एनबीसीको ‘मीट द प्रेस’लाई दिएको अन्तर्वार्तामा पूर्व राष्ट्रपति ट्रम्पले ‘समस्या उमेरको नभई क्षमता’को रहेको टिप्पणी गर्नुभएको छ ।

सर्वेक्षणले देखाएअनुसार दुई नेताबीचको उमेरको अन्तर सानो भए पनि अमेरिकीहरू बाइडेनको उमेरको बारेमा बढी चिन्तित छन्, एक सर्वेक्षणले सहभागी चारमध्ये तीन जनाले बाइडेनको दोस्रो कार्यकाल टिक्न सक्ने क्षमतामा शङ्का गरेको देखाएको छ ।

ट्रम्पले दोस्रो सबैभन्दा वृद्ध राष्ट्रपतिको रूपमा आफ्नो कार्यकाल समाप्त गर्नुभएको थियो । अमेरिकी इतिहासमा सफल राष्ट्रपति रोनाल्ड रेगन आफ्नो कार्यकालको अन्त्यमा ७७ वर्षको हुनुहुन्थ्यो । तथापि, बाइडेनलाई काम गर्न धेरै ‘थकित’ पात्रको रूपमा ट्रम्पले चित्रित गर्नुभयो ।

तर दोस्रो कार्यकालको अन्त्यमा ८२ वर्ष पुग्ने रिपब्लिकन नेता ट्रम्पलाई मार्ग प्रशस्त हुने सम्भावना छ । उहाँले एनबीसीसँग भन्नुभयो, “विश्वका केही महान् नेता ८० वर्ष नाघेका छन् म ८० वर्षको हाराहारीमा पुग्दैछु ।” ट्रम्पले भन्नुभयो, “बाइडेन धेरै बूढो भइसकेका छैनन् । तर मलाई लाग्छ कि उनी ‘अक्षम’ छन्, र यो एक ठूलो समस्या हो ।”

युवावस्थामा हडबडाउने समस्याबाट पार पाएका बाइडेनलाई अक्सर मौखिक समस्याका कारण खिल्ली उडाइएको छ । तर उहाँ सफा, शारीरिक रूपमा सक्रिय हुनुहुन्छ, रक्सी पिउँनुहुन्न र प्रायः आफ्नो डेलावेयर घरमा सप्ताहान्तमा साइकल चढेर हिड्नुहुन्छ ।

डेमाक्र्याटहरूले बाइडेनलाई योग्यताको लागि पनि राम्रो मान्छन् । उहाँको प्रशासनले विवादहीन प्रदर्शन गर्नुलाई बाइडेनको सक्षमता मान्छन् । एक विशाल पूर्वाधार विधेयक, दशकौंमा सबैभन्दा ठूलो बन्दूक–सुरक्षा बिल, र बिल्ड ब्याक बेटर सामाजिक खर्च कार्यक्रमसहित प्रमुख कानूनहरू पारित गर्न उहाँले कानूनहको अध्ययन गरिरहेको बताइएको छ ।

बाइडेन विश्व मञ्चमा पनि सक्रिय रहँदै आएका छन् । वास्तवमा भियतनामको हालै सम्पन्न भ्रमणका क्रममा त्यहाँका ७९ वर्षीय कम्युनिस्ट नेताले मुस्कुराउँदै बाइडेनको सापेक्षिक युवावस्थाको प्रशंसा गरेका थिए ।

ट्रम्पले आफ्नो भागको लागि, वार्षिक शारीरिक प्रसङ्गमा ज्यादातर सकारात्मक अङ्क प्राप्त गर्नुभएको छ । यद्यपि उहाँलाई अधिक वजन भएको व्यक्तिको रूपमा वर्गीकृत गरिएको छ र गल्फ खेल्नेबाहेक अन्य कुनै व्यायाम नगर्ने गरेको देखाएको छ । बाइडेनले जस्तै ट्रम्पले पनि रक्सी पिउँनुहुन्न ।

एनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो उमेरले आफूलाई कुनै सरोकार नराख्ने बताउँदै आफ्ना आमाबाबुको आयु लामो रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो “त्यसैले आनुवंशिक रूपमा मेरो उमेर दीर्घ हुनु स्वभाविक कुरा हो ।”

सन् २०२० को राष्ट्रपतीय चुनावअभियानका क्रममा ट्रम्पले आफूले मानसिक तीक्ष्णताको परीक्षण गरेको भन्दै ‘आश्चर्यजनक’ नतिजा निकालेको बताएपछि उहाँको आफ्नै योग्यतामाथिको जोडको खिल्ली उडाइएको थियो ।

उहाँले भन्नुभयो, “मैले व्यक्ति, स्त्री, पुरुष, क्यामेरा, टिभी भन्ने शब्दहरू आफूले सम्झनु पथ्र्याे ।” उहाँले ती पाँच शब्दहरूको गर्व र बारम्बार उच्चारण गर्दा राजनीतिक प्रतिद्वन्द्वीहरूले खिल्ली उडाए र सामाजिक सञ्जालमा भाइरल भए । तैपनि, एनबीसीको साक्षात्कारमा गरिएको त्यो परीक्षणको एक स्पष्ट सन्दर्भमा ट्रम्पले भन्नुभयो, “मैले सबैलाई सहज बनाएँ । सबै ठीक गरेँ ।”

सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ

काठमाडौँ, ३१ भदौ : कानुन निर्माणमा केन्द्रित हुनुपर्ने जनप्रतिनिधि खुद्रे विकासका आयोजनाका लागि बजेट खोज्दै मन्त्रालय धाएको भन्दै जनस्तरमा आलोचना भइरहेको छ ।निर्वाचनपश्चात विधायकको भूमिका सक्रिय हुनुपर्ने सांसद टुक्रेटाक्री योजना लिएर वडाध्यक्षसँग प्रतिस्पर्धामा उत्रिएको भन्दै व्यङ्ग्यसमेत हुने गरेको छ । संविधान जारी भएको आठ वर्ष बिते पनि सङ्घीयता कार्यान्वयनसँग सिधै सरोकार राख्ने अझै केही महत्त्वपूर्ण कानुन बन्न सकेको छैन । सङ्घीय निजामती ऐन, विद्यालय शिक्षासम्बन्धी विधेयक, सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारको सूचीमा रहेका तथा विकास निर्माणकार्यसँग सम्बन्धित कतिपय कानुन निर्माण हुन नसक्दा सङ्घीयता कार्यान्वयनमा चुनौती खडा भइरहेको छ ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद सूर्यमान तामाङ (दोङ)ले विधायक मुलुक सञ्चालन गर्ने नीति, नियम बनाउन केन्द्रित हुनुपर्नेमा त्यसो हुन नसकेको स्वीकार्दै समाजको अन्तरविरोधले सांसदलाई विकास निर्माणमा जबर्जस्त धकेलेको बताउनुभयो । “कसको क्षेत्रमा कति बजेट लग्छ, उही सफल सांसद हुने जनताको बुझाइ छ”, उहाँले भन्नुभयो, “यसले गर्दा कानुन निर्माणमा सांसदको भूमिका ओझेलमा परेको हुनसक्छ ।”

कतिपय मुलुकका विधायकका रूपमा निर्वाचित जनप्रतिनिधि सरकारमा पनि सहभागी नभई कानुन निर्माणमा मात्र संलग्न हुने गरेको दृष्टान्त दिँदै पूर्वराज्यमन्त्री दोङले नेपालको सन्दर्भमा निर्वाचित सांसद सरकारमा सहभागी हुन पाउँदैन भनेमा सांसदको उम्मेदवार नै नपाउने अवस्था रहेको बताउनुभयो । “निर्वाचित भइसकेपछि मन्त्री हुनैपर्ने, त्यो पनि आकर्षक मन्त्रालय हुनुपर्ने बुझाइले कानुन निर्माणमा केन्द्रित हुनुपर्ने सांसदको भूमिका कमजोर भइरहेको छ”, उहाँले भन्नुभयो ।

जनप्रतिनिध कानुन निर्माण गर्ने र व्यवस्थालाई सुव्यवस्थित पार्ने भूमिकामा केन्द्रित हुनुपर्नेमा सांसद तामाङको जोड छ । सांसदसँग रासस संवादमा उहाँले भन्नुभयो, “सांसदको काम मुलुक चलाउने विधि–विधान निर्माण गर्ने नै हो । सरकारमा विज्ञ व्यक्ति सहभागी हुनुपर्छ । सांसदले कानुन बनाउने हो, सरकारमा सहभागी हुनेले त्यसलाई कार्यान्वयन गर्ने हो ।”

विसं २०४५ मा नेकपा (मशाल)को साधारण सदस्यका रूपमा आबद्ध दोङ विसं २०६१ मा नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य हुँदै पोलिट्ब्यूरो सदस्य हुनुहुन्छ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने उहाँसँग विसं २०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य, विसं २०६४ मा संविधानसभा सदस्य र विसं २०६८ ऊर्जा राज्यमन्त्री भई काम गरेको अनुभव छ ।

कानुन निर्माणभन्दा पनि बजेट निर्माणका क्रममा सांसदको सक्रियता बढेको कुरा साँचो रहेको उल्लेख गर्दै नेता दोङले भन्नुभयो, “त्यो बेला लाग्नै पथ्र्यो । सांसद पनि जनप्रतिनिधि हुन्, जनताको आवश्यकता नजिकबाट बुझेका हुन्छन्, जनताले भोग्दै आएको समस्या समाधानका लागि बजेट निर्माण प्रक्रिया चल्दै गर्दा सांसदको सक्रियता बढ्नु स्वभाविक हो । यसलाई अन्यथा लिनु हुँदैन ।”

यससँगसँगै सांसदहरूले कानुन निर्माणमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको उहाँको ठम्याइ छ । “अहिले सदनमा केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयक पेस भएको छ । उक्त विधेयक समितिमा पठाइएको छ । सदनमा छलफल भएर समितिमा पठाउने निर्णय केही दिनअगाडि मात्रै भएको छ”, सांसद तामाङले भन्नुभयो, “सङ्घीय शिक्षा ऐनसम्बन्धी छलफल पनि प्रारम्भ भएको छ । सदनमा ऐन, कानुनका सम्बन्धमा बृहत् छलफल हुन्छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐनका सम्बन्धमा संसद्को कानुन समितिमा छलफल भइरहेको छ ।”

चालु आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पारित भइसकेपछिको संसद् कानुन निर्माणमा केन्द्रित रहेको उहाँको भनाइ छ । “आगामी असोज १४ गतेसम्म संसद्को बैठक स्थगन भएको छ, संसद् बैठक स्थगन भए पनि ‘मिनी पार्लियामेन्ट’का रूपमा रहेका समितिका बैठक निरन्तर चल्छन्”, उहाँले भन्नुभयो ।

निर्वाचनपछि संसद् सुरु भएको नौ महिना प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपति चयन र बजेट पारितमै बित्यो । कानुन निर्माणमा केही सुस्तता देखिए पनि संसद्ले केही महत्त्वपूर्ण कानुन पनि निर्माण गरेको सांसद तामाङले बताउनुभयो । “यद्यपि केही राजनीतिक अन्तरविरोधका कारणले सदन केही समय अवरोध भयो । समग्रमा हेर्दा कानुन निर्माणमा संसद्को गति कम भयो कि भन्ने साँचो हो । यो तथ्यलाई हामी सबैले स्वीकार गर्नुपर्छ । तर कामै भएको छैन भन्ने होइन”, उहाँले भन्नुभयो ।

बारम्बार संसद् अवरुद्ध हुँदै गर्दा असल संसदीय अभ्यासमा प्रश्न उठेको स्वीकार गर्दै उहाँले सदन कतिखेर के विषयमा अवरोध गर्ने भन्नेमा राजनीतिक दलहरू प्रष्ट हुनुपर्छ भन्नुभयो । “अहिले सदन अवरोध गर्नुपर्छ भन्ने मलाई लाग्दैन । महत्त्वपूर्ण विषयवस्तु उठ्यो, राष्ट्रियताको विरुद्धमा काम भयो भने न संसद् अवरुद्ध गर्नुपर्ने थियो”, सांसद तामाङले भन्नुभयो, “सरकारले सामाजिक न्यायसहितको सुशासनका कदमलाई कार्यान्वयनमा लैजाने तयारी गरिरहेको अवस्थामा गरिएको संसद् अवरोध राजनीतिक स्वार्थबाट प्रेरित रहेको छ ।”

सामान्य विषयलाई लिएर सदन अवरुद्ध गर्नुलाई उहाँ संसदीय अभ्यासमा अपरिपक्व भएको ठान्नुहुन्छ । “राष्ट्रघात हुने खालको, राष्ट्रमा जोखिम स्थिति आउने खालको मुद्दामा सबै राजनीतिक दल एक ठाउँमा उभिएर त्यसको प्रतिवाद गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “तर अहिले सरकारले चालेको कदम भनेको सामाजिक न्यायसहितको सुशासनको विषय हो, यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दलबीच एकता हुनुपथ्र्यो, त्यो हुन नसकेको अनुभूति भएको छ ।”

एक प्रसङ्गमा उहाँले भन्नुभयो “सदनमा संविधान प्रतिकूलका अभिव्यक्ति पनि आउने गरेको छ । सदनमा ठूला स्वरमा कराउँदा कतिपय जनताले पनि ठीक गर्यो भन्ने छ, नीति, विधि, कानुन र मर्यादा पालना गरेर सदनमा प्रस्तुत हुनेचाहिँ ओझेलमा परेको छ ।”

नेपाली जहाजको युरोप यात्रा

काठमाडौँ । पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएको नेपाली जहाजको युरोप यात्राको भविष्य आउँदो कात्तिकमा टुङ्गो लाग्ने भएको छ । सन् २०१३ देखि युरोपेली सङ्घ ९इयू० को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर शुक्रबार फर्किएको इयूको प्राविधिक सहयोग टोलीले आगामी कात्तिकमा प्रतिवेदन बुझाउने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार गत आइतबार नेपाल आइपुगेको चार सदस्यीय इयूको प्राविधिक टोलीले नागरिक उड्डयन प्राधिकरणसँगै वायुसेवा कम्पनीको अडिटको काम गरेर शुक्रबार फर्किसकेको छ । उनले भने, “नेपालले हवाई सुरक्षामा गरेको प्रगतिबारे पुनः अध्ययन गर्न नेपाल आएको उक्त टोली स्थलगत अध्ययनको काम सकेर फर्केको छ । प्रारम्भिक प्रतिवेदन केही अगाडि आउने विश्वाससहित कात्तिकसम्म पूर्ण प्रतिवेदन प्राप्त हुने छ ।”

प्रारम्भिक प्रतिवेदनमाथि प्राधिकरणले आफ्नो धारणा राखेपछि पूर्ण प्रतिवेदन आउने र उक्त प्रतिवेदन इयूमा पेस गरेपछि मात्रै नेपाल कालो सूचीबाट हट्ने वा नहट्नेबारे निश्चित हुने छ । उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गत वर्ष गरेको मूल्याङ्कन र हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा औसतभन्दा उच्च अवस्था देखिएकाले त्यसपछि पनि नेपाल हवाई सुधारका लागि नीतिगत सुधार गरिसकेको बताए ।

प्राधिकरणका प्रवक्ता निरौलाले नेपालले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी नियमावलीको मस्यौदा र हवाई सुरक्षासँग जोडिएका नियमसमेत संशोधन गरिसकेकाले यस पटक इयूले प्रतिबन्धबारेको निर्णय पुनर्विचार गर्ने आशा गरिएको बताए ।

स्थलगत अध्ययनमा आएको टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेसन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एन्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रको अध्ययन गरेर फर्किएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

‘सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ’

मङ्गलबारे (इलाम), ३१ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताउनुुभएको छ ।

प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै उहाँले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ भन्नुभयो । उहाँले गणतन्त्रलाई सस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता रहेको थियो ।

चितवनमा मार्न गएका महतोको गोहीको आक्रमणबाट मृत्यु

भरतपुर (चितवन), ३१ भदौ : चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताउनुभयो ।

बीआरआई कार्यान्वयनमा ‘ब्रेक’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण औपचारिकतामा सीमित हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको चीन भ्रमणका क्रममा सहमति, समझदारी र केही हस्ताक्षरपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनको विषयमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा कुनै प्रस्ताव पेस नगरे पनि अन्य समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने विषयमा निर्णय भएको छ ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा असोजको पहिलो साता दाहाल अमेरिकाबाट चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल हाङ्जाओ, बेइजिङ र चोङ्किङको भ्रमण गरी तिब्बत हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

बीआरआईको कार्यान्वयन योजनामा हस्ताक्षरको विषयलाई गौण बनाएर दाहालले बीआरआई आयोजनालाई अनुदानका रूपमा चीनसँग लिने विषयमा पहल गर्ने बताइएको छ ।

बीआरआईअन्तर्गत बन्ने आयोजना ऋणका रूपमा नलिने बरू अनुदानमा दिए स्वीकार गर्ने विषयमा चीनसँग प्रधानमन्त्रीले पहल गर्ने विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल भएको एक मन्त्रीले राजधानीसँग बताए ।

ती मन्त्रीका अनुसार हाल सीमापार ऊर्जा सहयोगलगायतको महŒवपूर्ण योजनाको विषयमा चीनसँग छलफल गर्ने कार्यसूची छैन । बरू चीनले नेपालमा बनाएको परियोजनाको विषयमा ऋण मिनाहका लागि चीनसँग आग्रह गर्ने विषयमा मन्त्रिपरिषद्मा कुरा उठेको छ ।

साथै, चीनबाट ल्याइएका विमानको ऋण मिनाहको विषयमा प्रधानमन्त्रीले चिनियाँ पक्षसँग छलफल गर्नेछन् । चीनबाट खरिद गरिएका पाँचवटा विमान नेपालमा ग्राउन्डेड छन् । कुनै पनि आम्दानी गर्न असफल भएपछि ग्राउन्ड गरिएका चिनियाँ विमानलाई के गर्ने भन्नेमा सरकार अन्योलमा छ ।

सो विमान खरिद गर्दा करिब ३० अर्ब रुपैयाँ ऋणमा दुईवटा विमानको ऋण मिनाह गर्न आग्रह गर्नेछन् । यद्यपि, चिनियाँ पक्ष सो ऋण मिनाहका लागि तयार नभए पनि एकपटक प्रधानमन्त्रीले चीनसँग छलफल गर्ने ती मन्त्रीको भनाइ छ । यो समाचार राजधानी दैनिकमा छ ।

सात सय ३८ कर्मचारीको जागिर चट

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो ।

महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ ।

महानगरपालिकाको प्रशासन महाशाखाका अनुसार नियुक्ति पाएकामध्ये सरसफाइमा १९२, कम्प्युटर अपरेटर ११५, कार्यालय सहयोगीमा ७४, नगर प्रहरी ६६, हलुका सवारीचालक ५३, ट्याक्टरचालक ५३, फायरम्यान ४०, सुपरभाइजर ३३, कुली २०, बिजुली मिस्त्री १९, सबइन्जिनियर १४, गार्ड १२, नाइके आठ, अमिन सात, हेभी सवारीचालक पाँच, माली चार, चेनम्यान दुई र स्टाफ नर्स एक गरी ७१८ छन् भने २० जनाको हाजिरी आउन बाँकी रहेको छ ।

लेखा शाखाका स्रोतका अनुसार ७३८ कर्मचारीलाई हटाएपछि मासिक लगभग दुई करोडभन्दा बढी आर्थिक व्ययभारबाट महानगरपालिकाले उन्मुक्ति पाएको छ । दैनिक ज्यालादारीका कर्मचारी २०७९ साल असोज र केहीले कात्तिकमा नियुक्ति पाएका थिए । लगभग ११ महिनाको अवधिमा महानगरपालिकाले २० करोड रुपियाँको हाराहारीमा तलबमा खर्च गरिसकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका शाखा अधिकृत राजन रायले वीरगन्ज महानगरपालिकामा ठुलो सङ्ख्यामा आवश्यकताभन्दा बढी दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरी आर्थिक व्ययभार थपिएको उजुरी परेपछि प्रक्रियागत रूपमा नियुक्ति भएको नभएको छानबिन गरिरहेकाले सबै कुरा छानबिनकै क्रममा रहेकोले थप बताउन नसकिने बताए । यस विषयमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

नगर प्रमुखमा निर्वाचित भएर आएका प्रमुख राजेशमान सिंहले निवर्तमान नगर प्रमुख विजयकुमार सरावगीको कार्यकालमा नियुक्ति पाएका लगभग चार सय कर्मचारीलाई एकै पटक हटाएका थिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै

काठमाडौं । दैनिक उपभोग्य वस्तुको मूल्य दिनानुदिन आकासिँदै जाँदा आमउपभोक्ता अत्याधिक पीडित बनेका छन् । अस्वाभाविक मूल्य वृद्धिका कारण कमजोर आम्दानी भएका सर्वसाधारणलाई बिहानबेलुकीको दुई छाक जोहो गर्न नै कठिन हुन थालेको छ ।

सरकारको नियमन गर्ने निकायले नियमित अनुगन गर्न नसक्दा व्यवसायीले मनपर्दी मूल्यवृद्धि गर्दै आइरहेका हुन् । सरकारी निकायले चाडपर्वमा मात्र बजार अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदै आएको हो । केही निश्चित व्यापरीको कब्जामा बजार भएको हुनाले मूल्य वृद्धि र कालोबजारीको क्रम बढेको र सरकारी निकाय त्यसलाई रोक्न असफल भएको उपभोक्तावादी संघसस्थाले दाबी गरेका छन् ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका सहासचिव विष्णुप्रसाद तिमिल्सिनाले केही समय अघिसम्म २५ किलोको १७ सय प्रतिबोरामा पाइने चामल अहिले २२ सयभन्दा बढी पुगेको छ । यस्तै रहरको दाल प्रतिकिलो १ सय ६० बाट २ सय २० पुगेको छ । मसुरोको दाल प्रतिकिलो १ सय ४० बाट १ सय ७० पुगेको छ भने चिनी ९० रुपियाँबाट १ सय १५ पुगेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

देशैभर विद्यालय अनिश्चितकालीन बन्द गर्ने चेतावनी

काठमाडौं । विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित सामुदायिक विद्यालयका शिक्षक भोलि सोमबारबाट विद्यालय बन्द गरेर राजधानी आउने भएका छन् । देशभरका ३० हजार विद्यालयका ६० लाख विद्यार्थीको पढाइमा गम्भीर असर पर्ने गरी शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको अगुवाइमा असोज ३ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका शिक्षकहरूले राजधानीमा दैनिक बानेश्वरदेखि माइतीघरसम्म आन्दोलन गर्ने भएका छन् ।

महासंघले विधेयक संशोधन नभएसम्म राजधानी नछाड्न सबै शिक्षकलाई अपिल गरिसकेको छ । महासंघको आन्दोलनलाई सबै राजनीतिक दलको शिक्षक संघ–संगठनका साथै निजी विद्यालयका शिक्षकको संस्था निजी विद्यालय शिक्षक युनियन (इस्टु) समेत समर्थन गर्ने भएको छ ।

महासंघका अध्यक्ष कमला तुलाधरले असहमतिका १८ हुँदा संशोधन नभएसम्म विद्यालय बन्द फिर्ता नहुने चेतावनी दिँदै भन्नुभयो– ‘संसद् शुरु भएको ७२ घण्टासम्म संशोधन प्रस्ताव दर्ता गरेर शिक्षकको माग संशोधन गरेपछि मात्र आन्दोलन फिर्ता हुनेछ । नभए देशैभरका सबै विद्यालय बन्द हुनेछन् ।’

तीन दिनअघि व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको विरुद्धमा महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेको थियो । इस्टु नेपालका अध्यक्ष होमकुमार थापाले निजी विद्यायलको शिक्षकको समेत समस्या रहेको जिकिर गर्दै भने– ‘निजी विद्यालयमा अध्यापनरत शिक्षकको तथ्यांक राख्नुपर्ने, सामाजिक सुरक्षा कोष उपलब्ध गराउनुपर्ने, सरकारले तोकेअनुसार पारिश्रमिक दिनुपर्ने र स्थानीय तहले तयार गरेको नियमावलीअनुसार विद्यालय अनुगमन गर्दा इस्टुको प्रतिनिधित्व हुनुपर्ने विषय मस्यौदामा उल्लेख हुनुपर्छ ।’

महासंघले शिक्षकको व्यवस्थापन संघीय सरकारले गर्नुपर्ने मुख्य माग अघि सार्दै १८ बुँदे असहमति जनाएको हो । यसअघि संविधानतः मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय तह मातहतमा रहने व्यवस्था थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

पैसा नभएकै कारण उपचारको अभाव हुने छैन : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताउनुभएको छ ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले शनिवार बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिनुहुँदै मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी पर्दा गरिबीका कारण पैसा नभएर उपचार गर्न पाउनुभएको छैन भने हाम्रो सम्पर्कमा आउनुस् म निःशुल्क उपचार गराउँछु, उपचार गर्न नपाएर अकालमै कसैको ज्यान जान दिइने छैन, त्यसको जिम्मा म लिन्छु ।”

मन्त्री बस्नेतले गरिब परिवारमा जन्मिएका कारण वा आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश दिदी–बहिनीहरूले उपचार गर्न नसक्नुभएको बताउनुहुँदै अब उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुने बताउनुभयो ।

“केन्द्रमा बसेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा उपचार गर्नका लागि पठाएका छौँ, सिन्धुपाल्चोकसहित देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री तथा उपकरण पठाउन थालेका छौँ, अब चाँडै चिकित्सकहरूको दरबन्दी थपेर छ महिनाभित्र देशमा स्वास्थ्यको रोजगारी सिर्जना गरी नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि काम हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य नागरिकका नैसर्गिक अधिकार र मौलिक हक भएकाले स्वास्थ्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराउनमा आफू लागिपरेको बताउनुभयो । धादिङको एक जना बच्चाले कक्षा १२ को परीक्षाशुल्क रु दुई हजार दुई सय तिर्न नसक्दा आत्महत्या गर्नुपरेको जस्तो घटना अब दोहोरिन नदिइनेमा मन्त्री बस्नेतले प्रतिबद्धता जनाउनुभयो ।

आफूले विगतदेखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ भन्दै लागिपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अब मुलुकमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गराएरै छाड्छौँ, उपचार नपाएर र औषधि नपाएर कोही मर्ने छैनन् ।”

सो अवसरमा बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री मसिना खड्का, पूर्वगृह राज्यमन्त्री विष्णुविक्रम थापा, बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतका साथै राष्ट्रिय कलाकारको समेत सहभागिता थियो ।