स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत


काठमाडौँ, ३ असोज : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताउनुभएको छ । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उहाँले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गर्नुभयो ।
उहाँले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको बताउनुभयो । उहाँले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागि परेकोसमेत जानकारी दिनुभयो । “अहिले अधिकांश डाक्टर गाउँ गइसक्नुभएको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर योबीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ ।”उहाँले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौँमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताउनुभयो । उहाँले मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न निर्देशन दिएको बताउनुभयो ।मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई निःशुल्क उपचारकोे व्यवस्था गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता गर्नुभयो । उहाँले भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न बताउनुभयो ।उहाँले भन्नुभयो, “तपाईहरुले मिर्गौला दिने व्यवस्था गर्नुहोस् । निःशुल्क उपचारको व्यवस्था सरकारले गर्नेछ ।” मन्त्री बस्नेतले उपचारका लागि सङ्कलन गरिएको रु १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गर्नुभएको हो । स्वयम्भूस्थित नेपाल बुद्ध धर्म सेवा सङ्घमा आयोजना गरिएको भेलामा उहाँले अमेरिका, कोरिया, जापानलगायतका देशमा कार्यरत सिन्धुपाल्चोकवासीबाट सङ्कलन गरिएको रु ११ लाख ८६ हजार र स्थानीयवासीबाट सङ्कलित ४० हजार गरी जम्मा १२ लाख २६ हजार बिरामीलाई हस्तान्तरण गर्नुभयो । उहाँले डायलासिस गराइरहनुभन्दा जति सक्दो चाँडो मिर्गौला प्रत्यारोपण गराउने राम्रो विकल्प भएको बताउँदै उहाँले प्रत्यारोपण गरेपछि सरल तरिकाको जीवन जिउन सकिने बताउनुभयो ।भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्वास्थ्य आपत्कालीन कोष खडा गरेर स्थानीयको उपचारमा सहयोग पु¥याउने जानकारी दिनुभयो ।–