`

रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने

काठमाडौं । सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका उनलाई नक्खु कारागार ल्याउने निर्णय गरिएको हो ।

यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका रबी लामिछानेको सरुवा भने भएको थिएन । आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।,

रबी लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको उनले बताएका छन् ।

मधेस प्रदेशमा ‘आरटीडिएफ’ परियोजना आवश्यक : मन्त्री गुरुङ

काठमाडौँ, ३० साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तुलनात्मक रूपमा धेरै जनसङ्ख्या भएको मधेस प्रदेशमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडिएफ) परियोजना लागू गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आज यहाँ ग्रामीण दूरसञ्चार विकास कोषमार्फत गण्डकी र लुम्बिनी प्रदेशमा ‘अप्टिकल फाइबर नेटवर्क’ विस्तार परियोजनाको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा उहाँले मधेस प्रदेशका कतिपय दुर्गम ठाउँमा सो कोषको परियोजना आवश्यक रहेको बताउनुभएको हो ।

“मधेसमा जनसङ्ख्या धेरै छ, त्यहाँ नेपाल टेलिकमको टावर कम छ”, उहाँले भन्नुभयो, “हाम्रो आरटीडिएफको परियोजना दुर्गम क्षेत्रमा मात्र केन्द्रित भयो, अब अभाव र आवश्यकताका आधारमा परियोजना लागू गर्न नीति परिमार्जन जरुरी छ ।”

मुलुकमा सुशासन कायम, भ्रष्टाचार नियन्त्रण र सेवामा छरितोपन ल्याउन ‘डिजिटाइजेसन’ हुनुपर्ने बताउनुभयो । मन्त्री गुरुङले ‘एआई’को विकास गर्न आवश्यक संरचना अभाव भएकाले ‘डाटा सेन्टर’ प्रभावकारी बनाउन जनशक्तिको आवश्यकता औँल्याउनुभयो । “अबको लगानी आइटी पार्क बनाउन, एआइका इन्फ्रास्ट्रक्चर र डाटा सेन्टर निर्माणमा गर्नुपर्नेछ”, मन्त्री गुरुङले भन्नुभयो ।

विकासप्रतिको जनचाहना मर्न दिइन्न : प्रधानमन्त्री ओली

महोत्तरी, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको विकास चाहना मर्न नदिइने बताउनुभएको छ । आज महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुरमा रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर सडक शिलान्यास समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार आमजनताको विकास चाहनालाई मूर्तरूप दिन काम गरिरहेको उल्लेख गर्नुभयो ।

“सरकार विकास कार्यलाई द्रूत गतिमा बढाइ रहेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “मधेसमा यसको अनुभूति हुने गरी कामअघि बढेका छन् ।” मधेसका रौतहट, सर्लाही र महोत्तरी जिलाको सिँचाइ प्रबन्धका लागि सुनकोशी मरिन डाइभर्सनको कामअघि बढेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । यसैगरी पूर्वी मधेसका जिल्लाको थप सिँचाइ प्रबन्धका लागि सुनकोशी कमला डाइभर्सनको काम बढाइने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पूर्वपश्चिम हुलाकी राजमार्गको काम निकै अघि बढेको उल्लेख गर्नुभयो । “पूर्वपश्चिम हुलाकी सडकको काम त सकिएको हुन्थ्यो, तर केही ठाउँका पुलपुलेसा बन्न बाँकी रहेको र केही ठाउँमा आरक्ष क्षेत्र पर्दा केही अल्झेको छ”, प्रधानमन्त्रीले भन्नुभयो, “सरकार यसलाई चाँडै निक्र्योल गरेरअघि बढ्ने छ ।” यसैगरी पूर्वपश्चिम राजमार्ग एसियाली मापदण्डअनुसार छ लेनको बनाइन थालिएको उहाँले बताउनुभयो । यस्तै पूर्वपश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक चार लेनका बनेका उहाँले चर्चा गर्नुभयो ।

मधेश यसपालि खडेरीको चपेटामा परेकैबीच आपूm तीन साता पहिले महोत्तरी आएको सम्झना गर्दै त्यतिखेरै सिँचाइ प्रबन्धका लागि ५०० डिपबोरिङ्ग जडानको काम थालिने आपूmले बताएको स्मरण गर्नुभयो । “अब त्योअनुसार डिपबोरिङ्ग धमाधम जडानको चरणमा छन्,” उहाँले भन्नुभयो । कतिपय ठाउँमा डिपबोरिङ्ग जडानसमेत भइसकेका प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले अन्तराष्ट्रिय सम्बन्धहरूको विस्तार र आपसी समन्वयका विषयलाई महत्त्वका साथ अघि बढाएको चर्चा गर्नुभयो । नेपालले यस्ता अन्तरराष्ट्रिय मञ्चमा आफ्ना पक्षका विषयहरू महत्त्वका साथ उठाएको उहाँको भनाइ छ । छिमेकी मुलुकसँगको सम्बन्ध प्रगाढ र विश्वासिलो बनेको उहाँले बताउनुभयो ।

“छिमेकी मुलुकसँगका हाम्रा सम्बन्ध सुमधुर र आपसी हितमा केन्द्रित छन्,” प्रधानमन्त्रीले भन्नुभयो, “यसबीचमा हुने भ्रमणमा नेपालका लागि महत्त्वका विषयमा हामी छिमेकी मित्रराष्ट्रसँग विमर्श गर्छौँ ।” आफूले अबको एक महिनाभित्रै छिमेकी मित्रराष्ट्र चीन र भारतको भ्रमण तालिका बनी सकेको स्पष्ट पार्नुभयो ।

समारोहमा प्रधानमन्त्री ओलीले आम मधेसीलाई शिक्षामा जोड दिन अपिल गर्नुभयो । छोराछोरी सबै विद्यालय जाने र पढ्ने वातावरण निर्माणमा सबैको सहभागिता बढ्न आवश्यक रहेको उहाँको भनाइ छ । “विद्यालयलाई शिक्षा आर्जनको थलो बनाउन सबैले जिम्मेवारीबोध गर्नुप¥यो”, प्रधानमन्त्रीले भन्नुभयो, “यस कार्यमा सबैभन्दा बढी शिक्षकको सकारात्मक भूमिका आवश्यक छ ।” उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको असल अभ्यासले नै मुलुक अघि बढ्ने दृढता व्यक्त गर्दै इतिहास बनेको राजतन्त्र अब फर्कने कुरा कसैले सोच्नसम्म बेतुक हुने प्रधानमन्त्रीको भनाइ छ ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न समारोहमा प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मन्त्रीहरू, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूको उपस्थिति थियो ।

अदालतले आदेश दिए पनि अझै आएन एचआइभी सङ्क्रमितको अधिकार संरक्षणको कानुन

काठमाडौँ, ३० साउन : सर्वाेच्च अदालतले २०६६ सालमै एचआइभी/एड्स संक्रमितहरूको अधिकार संरक्षण हुने गरी कानुन निर्माण गर्न आदेश दिए पनि १५ वर्ष हुँदा पनि उक्त कानुन निर्माण गर्न सकिएको छैन ।

सोही आधारमा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले २०७९ सालमा तत्काल विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देशन दिएको थियो । तर अझै कानुन निर्माणको प्रक्रिया अघि नबढ्दा एचआइभी सङ्क्रमितहरूको अधिकार संरक्षण हुन नसकेको आज उक्त विषयमा विधेयक ल्याउन दबाब दिने उद्देश्यले यहाँ आयोजित एक कार्यक्रममा सांसद तथा सरोकारवाला प्रतिनिधिहरूले गुनासो गरेका छन् ।

एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालको आयोजनामा आज यहाँ मानवअधिकारमा आधारित स्वास्थ्य सुनिश्चित गर्न एचआइभीसम्बन्धी विधेयक अघि बढाउने विषयमा आयोजित राष्ट्रिय नीति कार्यशालामा प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले स्वास्थ्य मन्त्रालयलाई पटकपटक विधेयक ल्याउन अनुरोध गर्दा पनि अहिलेसम्म प्राप्त हुन नसकेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “एचआइभीजस्ता सङ्क्रमणलाई नसर्ने रोगमा रुपान्तरण गर्नका लागि राज्यले लगानी गर्नुपर्छ तर २०६७ सालदेखि अदालतले आदेश दिँदासमेत विधेयक आउन सकेको छैन, अहिले दबाब र आन्दोलनका आधारमा मात्र विधेयक बन्ने अवस्था भएको छ, यो महत्त्वपूर्ण विधेयक भने सम्बिन्धत मन्त्रालयबाट आउन सकेको छैन ।”

सभापति थापाले अहिलेसम्म आफ्नो टेबलमा चार मन्त्रालयका २१ वटा विधेयक टेबुल भएको तर यो विधेयक भने आउन नसकेको सुनाउनुभयो । उहाँले मन्त्रीहरू आफ्नो क्षेत्रमा मात्र बजेट हालेर क्षेत्रीय मन्त्री भएका र राष्ट्रिय मन्त्री हुन नसकेको आरोप लगाउँदै देशमा धेरै काम भएको तर जे हुनुपर्ने हो त्यो काम भने नभएको जिकिर गर्नुभयो । शिक्षा मन्त्रालय र सूचना प्रविधि मन्त्रालयले केही विधेयक ल्याए पनि स्वास्थ्यबाट खासै आउन नसकेको उहाँले दुखेसो गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कानुन शाखाका उपसचिव गोपीकृष्ण रेग्मीले अहिले उक्त विधेयक बनाउने विषयमा छलफल चलिरहेको जानकारी दिँदै अन्य सङ्क्रामक रोगसम्बन्धी कानुनमा जोडेर ल्याउने कि छुट्टै विधेयक ल्याउने भनेर छलफल भइरहेको बताउनुभयो । तर यो कानुन भने आवश्यक भएको उहाँले बताउनुभयो ।

यसका लागि राजनीतिक तह तथा कर्मचारी तहमा पनि नागरिक समाज तथा यस्ता सङ्घसंस्थाबाट घच्घच्याउन जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले उहाँलाई छिटो विधेयक मस्यौदा बनाएर अघि बढाउन अनुरोध गर्नुभएको थियो ।

कार्यशालामा राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि लोकनाथ बाँस्तोलाले आयोगमा एचआइभीसम्बन्धी कार्य गर्न फोकल व्यक्ति नै तोकेर काम भइरहेको र कानुन निर्माणका लागि विगतमै आयोगले सरकारलाई निर्देश गरिरहेको बताउनुभयो । विभिन्न जिल्लामा अध्ययन गरेर सङ्क्रमितहरूलाई कानुनी रूपमै सम्बोधन गर्न जरुरी छ भनेर सिफारिस गरिएको उहाँले बताउनुभयो ।

क्यानडाको एक विश्वविद्यालयकी उपप्राध्यापक रीता ढुङ्गेलले खाद्य सुरक्षालाई ध्यानमा राखेर ऐन तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो । यस्तै एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालका पूर्वअध्यक्ष यो विधेयक कानुन बनेर आएमा एचआइभी सङ्क्रमित अधिकार रक्षाका लागि कोसेढुङ्गा सावित हुने र छिटो ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कानुन व्यवसायी रुपनारायण श्रेष्ठले एआइभी सङ्क्रमितहरूको अधिकार संरक्षण हुनेगरी नमूनाका रूपमा तयार पारिएको ‘एचआइभी/एड्स (नियन्त्रण रोकथाम, उपचार, पुनःस्थापन तथा अधिकार संरक्षण गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको प्रस्तावित विधेयक’ प्रस्तुत गर्नुभएको थियो ।

एड्सविरुद्ध राष्ट्रिय नेटवर्क समूह नेपालका कार्यक्रम संयोजक डा रङ्गराज ढुङ्गानाले एचआइभी सङ्क्रमितहरूको अधिकार संरक्षणसम्बन्धी विधेयक समयमै निर्माणका लागि उच्चस्तरीय राजनीतिक प्रतिबद्धता र सहमति सुनिश्चित गर्दै अधिकारमा आधारित संरक्षण, एकीकृत सेवा र एचआइभी जोखिमहरूका लागि कानुनी सुरक्षा अवस्था सुनिश्चित गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौँ, ३० साउन : ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाका लागि नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी)बीच लिखित सम्झौता भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको उपस्थितिमा उक्त सम्झौता भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निमित्त प्रबन्ध निर्देशक सविना मास्के प्रधानले हस्ताक्षर गरी सम्झौतापत्र आदानप्रदान गर्नुभयो ।

सञ्चारसचिव अर्यालले परियोजना सुरु गर्नुमात्रै सार्थक नभएकाले यसलाई तोकिएको समयमै पूरा गर्न निर्देशन दिनुभयो ।

प्राधिकरणका अध्यक्ष भण्डारीका अनुसार विगतमा आरटिडीएफ कोषबाट दुर्गम क्षेत्रमा नेटवर्क विस्तारका लागि युटिएल र स्मार्ट टेलिकम कम्पनीलाई जिम्मेवारी दिइएकामा दुवै कम्पनीले परियोजना सुरु गर्न सकेनन् । ग्रामीण क्षेत्रमा सञ्चार सुविधा पुर्याउने उद्देश्यले २०७३ सालमा सरकारले कोशी, मधेस र बागमती प्रदेशबाट आरटीडिएफ परियोजना सुरु गरेको थियो ।

सो परियोजनालाई पुनः सञ्चालन गर्ने उद्देश्यका साथ एनटिसीसँग सम्झौता गरिएको भण्डारीले बताउनुभयो । सम्झौताअनुसार तीन वर्षभित्र एनटिसीले लुम्बिनी र गण्डकी प्रदेशमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्नुपर्ने छ । परियोजनाका लागि करिब रु दुई अर्ब एक करोड लाग्ने अनुमान गरिएको छ ।

प्राधिकरणका अध्यक्ष भण्डारीले आरटीडिएफ परियोजना पूर्ण रूपमा लागू गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ उद्देश्य पूरा गर्न उक्त परियोजना महत्त्वपूर्ण आधार हुने उहाँको धारणा छ ।

त्यसैगरी एनटिसीका निमित्त प्रबन्ध निर्देशक प्रधानले ब्रोडबैंक अप्टिकल फाइबर नौ वर्षदेखि निरन्तर विस्तार हुँदै आएको बताउनुभयो । लुम्बिनी र गण्डकी प्रदेशका २३ जिल्लामा फाइबर विस्तार हुने उहाँले जानकारी दिनुभयो । कुल एक सय ९४ स्थानीय तहका केन्द्रहरूमा करिब एक हजार ९०० किलोमिटर अप्टिकल फाइबर पुर्याउने परियोजनाको उद्देश्य रहेको प्रधानले जानकारी दिनुभयो ।

एकीकृत समाजवादीद्वारा पूर्णप्रेस स्वतन्त्रता कायम गर्न माग

काठमाडौँ, ३० साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले मिडिया काउन्सिल विधेयकमा पूर्णप्रेस स्वतन्त्रताका साथै मौलिक हकहितको अभिव्यक्ति स्वतन्त्रतालाई कायम राख्न माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले संविधानप्रदत्त अधिकार कुण्ठित गर्न खोजिएकाले उक्त विधेयक संशोधन गर्नुपर्ने माग गरेको हो ।

बैठकले निकुञ्ज र वन क्षेत्रको जग्गा पहिला आफ्नो नाममा लिने, वन क्षेत्रबाट छुटाउने, जथाभावी वितरण गर्नेगरी सरकारले अगाडि बढाएको भूमि विधेयक तत्काल खारेज गरी सुकुम्बासी, भूमिहीनहरूले जग्गा पाउनुपर्ने गरी ल्याउन आग्रह गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिक्षकसँग गरिएको सहमति कार्यान्वयन गर्नेगरी सामुदायिक विद्यालय शिक्षा विधेयक ल्याउन माग गर्दै बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन तथा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग पनि गरेको छ ।

पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीका कार्यप्रगतिको समीक्षा गरेको बैठकले वरिष्ठ नेता वामदेव गौतमलाई तेस्रो वरियताक्रमको जिम्मेवारी प्रदान गरेको, तीन जना पोलिटब्यूरो तथा नौ जना केन्द्रीय सदस्य मनोनित गरेको अर्यालले जानकारी दिनुभयो ।

समाजवादी मोर्चाले गरेका कामको प्रभावकारिताको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानलगायत विषयमा आजको बैठकमा छलफल भएको बताउँदै उहाँले पार्टीको आगामी रणनीतिका विषयमा समीक्षा भएको उल्लेख गर्नुभयो ।

जापानको जीडीपीमा निरन्तर सुधार, अप्रिल–जुन त्रैमासिकमा सकारात्मक संकेत

जापानको अर्थतन्त्रले सन् २०२५ को दोस्रो त्रैमासिक अर्थात् अप्रिलदेखि जुन महिनासम्मको अवधिमा वार्षिक १.० प्रतिशतले आर्थिक बिस्तार गरेको छ । जापानको क्याबिनेट कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कअनुसार यो लगातार पाँचौं पटक त्रैमासिक रूपमा आर्थिक वृद्धि देखिएको हो ।

जनवरी–मार्च अवधिको प्रारम्भिक तथ्याङ्कमा ०.२ प्रतिशतको गिरावट देखाइएको थियो, तर त्यसलाई संशोधन गरी ०.६ प्रतिशतको वृद्धि गरिएको छ ।

महँगी समायोजनपछि, अप्रिल–जुन त्रैमासिकमा जापानको वास्तविक सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको तुलनामा ०.३ प्रतिशतले बढेको कार्यालयको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।

यो जीडीपी वृद्धिको मुख्य कारण निर्यातमा देखिएको दृढता हो । निर्यात अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढ्दा आयात ०.६ प्रतिशतले वृद्धि भएको थियो । निर्यात र आयातबीचको अन्तरले त्रैमासिक वृद्धिमा ०.३ प्रतिशत बिन्दुको योगदान दिएको छ, जुन सबैभन्दा ठूलो योगदान हो । त्यसपछि निजी लगानी दोस्रो ठूलो योगदानकर्ता रहेको छ ।

घरेलु मागको प्रमुख सूचक मानिने पुँजी लगानी (क्यापिटल इनभेष्टमेन्ट) पहिलो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढेको छ, जुन पाँचौं पटक लगातार वृद्धिमा रहेको देखिन्छ ।

अन्य प्रमुख घटकहरूमध्ये, कुल आर्थिक उत्पादनको आधाभन्दा बढी हिस्सा ओगट्ने निजी खपत (प्राइभेट कन्जम्प्सन) ०.२ प्रतिशतले मात्र वृद्धि भएको छ ।

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पासहित टिमको उम्मेदवारी घोषणा

काठमाडौँ, ३० साउन : नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि फुर गेल्जे शेर्पाले आफ्नो पूर्ण टिमसहित उम्मेदवारी घोषणा गर्नुभएको छ ।

आज यहाँ लाजिम्पाटमा रहेको होटल शङ्करमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष पदका उम्मेदवार शेर्पाले आफ्नो समूहको परिचय गराउनुभयो । उहाँले भन्नुभयो, “मैले हिमाललाई नजिकबाट चिनेको छु, पर्यटनको विकास र पर्यावरणको परिवर्तनलाई मैले नजिकबाट देखेको छु । त्यसकारण मैले यस क्षेत्रको समृद्धिमा गर्न सक्ने धेरै काम छन्, जसलाई हाम्रो समूहले पूर्णता दिनेछ । प्रत्येक वर्ष सुनिने हिमपहिराको घटना न्यूनीकरण गर्नुका साथै हामीले हाम्रो पर्यटकीयस्थलाई प्रवर्द्धन गर्नु दायित्व छ । हाम्रो पेसागत हकहितका लागि गर्नुपर्ने काम धेरै छन्, जसलाई क्रमबद्ध रूपमा पूरा गर्नुपर्ने छ ।”

अध्यक्ष पदका उम्मेदवार शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बर्द्धनका लागि उम्मेदवारी’ भन्ने मूल नारासहित कार्ययोजना सार्वजनिक गर्नुभयो । अध्यक्षका उम्मेदवार शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा काजी शेर्पा (स्पिडकाजी), द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी, महासचिवमा राजेन्द्रबहादुर लामा, सचिवमा चन्दन थापा र कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा हुनहुन्छ । यसैगरी, सदस्य पदमा केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, माधवकुमार धमला, देण्डी शेर्पा, विक्रम कार्की, रिन्जे शेर्पा, देवेन्द्र डङ्गोल, डोल्मा लामा र निशा भोटेले उम्मेदवारी दिनुभएको छ ।

उक्त समूहले नेपालको पर्वतीय पर्यटन र आरोहीहरूको हितलाई मुख्य प्राथमिकतामा राख्दै नेपालमै ‘माउन्टेन टुरिजम युनिभर्सिटी’ स्थापना गर्ने, आरोहीहरूको सुरक्षाका लागि आपतकालीन उद्धार कोष व्यवस्थित गर्ने र अन्तरराष्ट्रियस्तरको आरोहण तालिम केन्द्र विकास गर्ने जस्ता महत्त्वपूर्ण योजनाहरू अगाडि सारेका छन् ।

यी योजनाहरूले पोखरामा पर्यटकको बसाइ अवधि बढ्ने अपेक्षा गरिएको छ । नेपाल पर्वतारोहण सङ्घको निर्वाचन आगामी भदौ ७ गते प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ ।

वार्षिक कार्यक्रम कार्यान्वयन गर्न कर्णाली सरकारका दश बुँदे प्रतिबद्धता

कर्णाली, ३० साउनः चालु आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश सरकारले दश बुँदे प्रतिबद्धता गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा अयाोजित गत आव २०८१/८२ को वार्षिक समीक्षा तथा चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना गोष्ठीमा प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले १० बुँदे प्रतिबद्धता गरिएको जानकारी दिनुभयो ।

उहाँले चालु आवको बजेट तथा कार्यक्रम सङ्घीय समपूरक, विशेष र सशर्त अनुदान स्रोतबाट सञ्चालन हुने आयोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने, मन्त्री, प्रदेश सचिव तथा आयोजना कार्यालय प्रमुखसँग भएको कार्यसम्पादन सम्झौताअनुसार वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको मासिक कार्ययोजना बनाइ पूर्ण रूपमा कार्यान्वयन गर्दै समग्र मन्त्रालयको लक्ष्य हासिल गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कँडेलका अनुसार ‘कर्णाली प्रदेश आर्थिक ऐन, २०८२’ कार्यान्वयन गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयबाट तोकिएको लक्ष्य बमोजिम राजस्व सङ्कलन गर्ने, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक नयाँ कार्यविधि, निर्देशिका तथा मापदण्ड तर्जुमा गर्ने, विद्यमान कानुनमा संशोधन गर्नुका साथै आगामी भदौ मसान्तभित्र मस्यौदा तर्जुमा गरी स्वीकृतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिनेछ ।

त्यसैगरी चालु आवको बजेट भदौ मसान्तभित्र बाँडफाँट गर्ने, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमअन्तर्गत सालबसाली आयोजना आगामी असोज मसान्तभित्र खरिद प्रक्रिया अगाडि बढाउनुका साथै बहुवर्षीय तथा क्रमागत आयोजनाको कार्यान्वयनलाई तीव्रता दिइनेछ ।

महालेखापरीक्षकको प्रतिवेदनमा कायम भएको बेरुजु फछ्र्यौटको भदौ मसान्तभित्र कार्ययोजना बनाई तदारुकताका साथ कार्यान्वयन गर्ने, पदाधिकारी तथा कर्मचारीको नाममा कायम भएको असुल उपर गर्नुपर्ने बेरुजु शतप्रतिशत असुल उपर गर्ने, बजेट तथा कार्यक्रम कार्यान्वयनको अनुगमन कार्ययोजना बनाई प्रभावकारी र नतिजामूलक अनुगमन गर्ने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।

उपलब्ध स्रोतसाधनको मितव्ययी, दक्षतापूर्ण र प्रभावकारी प्रयोग गर्दै आफ्नो निकायबाट प्रवाह गरिने सेवालाई गुणस्तरीय, नतिजामूलक र नागरिकमैत्री बनाउने, आयोजना बैंक र आयोजना छनोट तथा प्रस्तावसम्बन्धी कार्यविधिको कार्यान्वयन गरी समयबद्ध रूपमा योजना तर्जुमाको कार्यसम्पादन गर्ने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

पेस्तोल, म्यग्जिन र सात राउण्ड गोलीसहित एकजना पक्राउ

काठमाडौँ, ३० साउन : प्रहरीले काठमाडौँ महानगरपालिका–१६ चमतीबाट अटोकेटिक पेस्तोल, दुई थान म्याग्जिन र सात राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई हाल काठमाडौँ महागरपालिका–१६ चमती डेरा गरी बस्ने २९ वर्षीय शिवराज दराई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज दिउँसो निज दराईको कोठा शङ्का लागि जाँच तथा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान, सो पेस्तोलमा लाग्ने म्याग्जिन दुई थान र ७.६५ एमएमको गोली सात राउण्डसहित निजलाई टोखा नगरपालिका–९ स्थित होटलको कोठाबाट पक्राउ गरिएको हो ।”

दराईलाई हातहतियार खरखजानासम्बन्धी मुद्दामा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको तथा निजविरुद्ध प्रहरी वृत्त कीर्तिपुरबाट २०७८ साल असोज १८ गते अभद्र मुद्दा र २०८० कात्तिक १९ गते लागुऔषध मुद्दासमेत चलेको देखिएको प्रवक्ता बोहराले बताउनुभयो ।

जाजरकोट भूकम्प : तीन हजार बढी घर प्रवलीकरण गर्न सकिने

काठमाडौँ, ३० साउन : जाजरकोट भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा विस्तृत क्षति आकलन गरिएको छ । आकलन गरिएका ७७ हजार ८५२ घरमध्ये चार प्रतिशत अर्थात् तीन हजार ३३९ घर प्रवलीकरण गर्न सकिने वर्गमा परेका छन् ।

भूकम्पबाट क्षतिग्रस्त निजी आवासहरूको प्रवलीकरण सम्बन्धमा जाजरकोट र रुकुमपश्चिमका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, विषय विज्ञहरूसहित सरोकारवालासँग आज काठमाडौँमा छलफल भएको थियो ।

निजी आवासका विस्तृत क्षति आकलनबाट प्राप्त तथ्याङ्कका आधारमा प्रवलीकरणको प्राविधिक पक्षका बारेमा छलफल गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा विज्ञहरू प्रा जीवराज पोखरेल, डा प्रेमनाथ मास्के, डा रमेश गुरागाईँ, डा हरिराम पराजुली, पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक क्षितिजचरण श्रेष्ठले ढुङ्गा माटोका घरहरूको प्रवलीकरण गर्ने विधि एवं नेपालमा प्रवलीकरणको अनुभवबारे प्रस्तुतीकरण दिनुभएको थियो ।

सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (आवास तथा भवन)का उपनिर्देशक अविनाश श्रीवास्तवले प्रवलीकरणका विद्यमान नीति तथा कार्यविधिबारे जानकारी दिनुभयो ।

त्यसैगरी, जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती, रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, प्रभावित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले विस्तृत क्षति आकलनमा छुटेकाहरूलाई पनि समावेश गर्नुपर्ने सुझाव दिनुभएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव ई अर्जुनकुमार बमले विस्तृत क्षति आकलनका नतिजाका बारेमा जानकारी दिनुभएको थियो ।

खानेपानीमन्त्री यादव र भारत सरकारका विज्ञ टोलीबीच छलफल

काठमाडौँ, ३० साउनः खानेपानीमन्त्री प्रदीप यादव र भारत सरकारका विज्ञ टोलीबीच तराई-मधेसको खानेपानीसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने विषयमा छलफल भएको छ ।

मधेस प्रदेशमा देखिएको खानेपानी सङ्कटको समाधानका लागि स्थलगत अनुगमन तथा निरीक्षण गरी काठमाडौँ फर्किनुभएका भारत सरकारका विज्ञ टोलीसँग आज मन्त्रालयमा गहन छलफल भएको हो ।

उक्त टोलीले तराई-मधेस क्षेत्रमा खानेपानीको वर्तमान अवस्था, विद्यमान समस्य, तत्कालीन र दीर्घकालीन समाधानका लागि भइरहेका कार्यलगायत पक्ष समेटेर तयार पारिएको प्रतिवेदनबारे जानकारी गराउनुभएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “टोली यहीँ साउन २७ गतेदेखि तराई-मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर स्थलगत अनुगमन गरी फर्किएको छ । टोलीले प्रतिवेदन तयार गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजना निर्माणमा खटिनेछ ।”

विज्ञ टोलीसँग आज पनि मधेस प्रदेशको खानेपानी सङ्कट र त्यसको स्थायी समाधानका विषयमा गहन र सार्थक छलफल भएका बताउँदै छलफलबाट प्राप्त निष्कर्ष र विज्ञ टोलीको सुझावका आधारमा सरकारले आवश्यक कार्य अघि बढाउने मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “खानेपानीको सङ्कट समाधानका लागि पुर्‍याइएको सहयोगका लागि भारत सरकारप्रति विशेष आभारसहित विज्ञ टोलीको महत्त्वपूर्ण प्रयासका लागि हार्दिक धन्यवाद व्यक्त गदछौँ ।” प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको क्रममा तराई-मधेसमा दीर्घकालीन खानेपानी समाधानका लागि ठोस योजना र सहमति होस् भन्ने दृढ अपेक्षा रहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री यादवले केही महिनाअघि भारत सरकारको जलशक्ति मन्त्रालयसँग समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको स्मरण गर्दै उक्त सहकार्यले नेपाल-भारत सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मधेस प्रदेशका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले नेपाल–भारत सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले जानकारी गराउनुभयो ।

छलफलका क्रममा भारतीय विज्ञ टोलीका प्रतिनिधि एवं देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राईले तराई–मधेसका सङ्कटग्रस्त जिल्लाहरूमा पुगेर आफूहरूले स्थलगत रूपमा अनुगमन गरी समस्या समाधानका लागि आवश्यक कार्ययोजनासहित प्रतिवेदन तयार गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोली तराई–मधेसका सङ्कटग्रस्त क्षेत्रमा पुगेर फर्किएको छ । खानेपानीसम्बन्धी समस्या र समाधानका विषयमा हामी प्रतिवेदन तयार गर्दैछौँ ।”

आजको बैठकमा मन्त्रालयका सचिव एवं इञ्जिनीयर प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव एवं इञ्जिनीयर मीना श्रेष्ठ, इञ्जिनीयर कमलराज श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक उपमहानिर्देशक नारायणप्रसाद आचार्यलगायत सहभागी हुनुहुन्थ्यो ।

भारतीय टोलीमा देहरादूनका क्षेत्रीय निर्देशक प्रशान्त राई, जगदम्बा प्रसाद, लखनउ खानेपानी विभाग र सरसफाइ सल्लाहकार आशिष पाण्डेलगायतको सहभागिता थियो ।

नेपाल–भारतबीचको सम्बन्ध धार्मिक, सांस्कृतिक र राजनीतिक : उपप्रधानमन्त्री सिंह

पाटन (ललितपुर), ३० साउन : उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल भारत सम्बन्ध रोटी बेटीको मात्र नभई धार्मिक, सांस्कृतिक र राजनीतिक रहेको बताउनुभएको छ ।

भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूतावास काठमाडौँद्वारा ललितपुरको पाटन दरबार क्षेत्रमा आज आयोजित कार्यक्रममा मन्तव्य राख्दै उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपाल भारत सम्बन्ध आगामी दिनमा थप दिगो र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

“नेपाल भारत सम्बन्ध विशेष प्रकारको छ, हाम्रो खुला सीमा खुला छ, मिल्दोजुल्दो सभ्यता र संस्कृति रहेको छ, हाम्रो आपसी समन्वय र सहकार्यले अझै परिस्कृत र विकसित हुने मेरो विश्वास छ”, उहाँले भन्नुभयो ।

गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जना पक्राउ

नेपालगञ्ज, ३० साउन : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बसपार्कमा आज प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषध कारोवारमा संलग्न रहेका दुई जनालाई सुरूमा पक्राउ गरेको र दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोज्दा उनीहरूमाथि दुई राउड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तिले जानकारी दिनुभयो ।

“लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा दुई जनालाई पिछा गरिरहेका थियौँ । तर त्यहाँ चार जना रहेछन्”, उहाँले भन्नुभयो । दुई जनालाई प्रहरीले पक्राउ गरेपछि दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गरेर भाग्न खोजेपछि बाध्य भएर प्रहरीले गोली चलाएको प्रहरी उपरीक्षक घर्तीले बताउनुभयो ।

प्रहरीले नेपागञ्ज उपमहानगरपालिका–५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी, भारतको बहराइज रूपैडियाका २० वर्षीय अजयकुमार र २० वर्षीय कात्तिक कुमारलाई पक्राउ गरिएको छ । उनीहरूमध्ये कात्तिक कुमारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागुऔषध कारोबारीले प्रहार गरेको इट्टा लागेर एक जना प्रहरीसमेत घाइते भएका छन् ।

उहाँलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनीहरूसँगबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।

कर्णाली प्रदेश सरकारद्वारा आर्थिक ऐन सार्वजनिक

काँक्रेविहार (सुर्खेत), ३० साउनः कर्णाली प्रदेश सरकारले आर्थिक रूपमा सवल हुनका लागि चालु आर्थिक वर्षमा प्रदेशको अर्थसम्बन्धी ऐन बनाएर सार्वजनिक गरेको छ । सरकारलाई आर्थिक रूपमा बलियो बनाउने उद्देश्यले प्रदेश सरकारले आर्थिक ऐन ल्याएर राजपत्रमा प्रकाशित गरेको हो ।

तेह्रवटा अनुसूची रहेको उक्त ऐनमा २१ वटा शीर्षक रहेका छन् । राजस्व प्रणाली मजबुत नभई प्रदेश सरकारको अर्थतन्त्र सफल नहुने भएपछि आर्थिक ऐन सार्वजनिक गरी कार्यान्वयनमा ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय तहदेखि प्रदेश तथा सङ्घ सरकारका साझा अधिकारसँग सम्बन्धित भएर उक्त ऐन आएको हो ।

ऐनमा घरजग्गा रजिष्ट्रेशन शुल्क, सवारीसाधन कर, सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब दस्तुर, ट्राफिक जरिवानालगायत अन्य दस्तुर समावेश गरिएका छन् । त्यस्तै मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयकर, कृषि सेवा शुल्क, पर्यटन शुल्क, प्राकृतिक स्रोत सङ्कलन तथा बिक्री शुल्क, वन पैदावार तथा वन क्षेत्रको नदीजन्य पदार्थको शुल्क बाँडफाँटसम्बन्धी विशेष व्यवस्था, वातावरण शुल्क लिनेलगायत व्यवस्था गरिएको सचिव शर्माले बताउनुभयो ।

उहाँका अनुसार ऐनमा निर्माण सामग्री प्रयोगशाला शुल्क, खानेपानी गुणस्तर परीक्षण सेवा, जनस्वास्थ्य प्रयोगशाला, आवेदन तथा सेवा शुल्क, बिक्री वितरण शुल्क, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम, राजस्वसम्बन्धी अन्य व्यवस्थाहरू, करको दर घटाउन, बढाउन वा छुट दिन नसकिने र विविध शीर्षक राखिएका छन् ।

आर्थिक ऐनले जथाभावी खर्च हुँदै आएको रकमलाई पारदर्शी बनाउनुका साथै हरेक क्षेत्रलाई व्यवस्थित बनाउने सरकारको अपेक्षा रहेको छ । कर असुलीलाई सुधार गरी आर्थिक अनुशासन कायम गर्न सरकारले ल्याएको आर्थिक ऐन प्रभावकारी भएमा राजस्व वृद्धि हुनुका साथै आत्मनिर्भर प्रदेश बनाउने अभियानलाई सहयोग पुग्ने मन्त्रालयका सचिव शर्माले विश्वास व्यक्त गर्नुभयो ।

उक्त ऐन खर्च र आम्दानीको दुवै अवस्था विश्लेषण गरेर बनाइएको जनाउँदै उहाँले प्रदेशलाई आर्थिक रूपमा सक्षम र समृद्ध बनाउन यो कदम चालिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सरकार भएपछि आफ्ना अधिकार क्षेत्रबारे जानकार हुनुपर्छ । आम्दानी र वितरण प्रणालीलाई सही ढङ्गले अगाडि बढाएमात्र प्रदेश समृद्ध बन्दै जान्छ । सबै मन्त्रालयसँगको छलफलपछि विभिन्न शीर्षकमा करको दायरा सिफारिस भएको हो ।”

तीन सय ६१ स्वस्थ्य संस्थालाई ‘डिएचआइएस टु’को युजरनेम र पासवर्ड लिन काठमाडौँ महानगरको आग्रह

काठमाडौँ, ३० साउन : काठमाडौँ महानगरपालिले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (डिएचआइएस टु) प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ ।

कामपा स्वास्थ्य विभागले महानगर क्षेत्रमा रहेका तीन सय ६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थालाई युजरनेम र पासवर्ड लिन आग्रह गरको विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कामपाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)मार्फत सङ्कलन हुँदै आएकामा अब यो प्रक्रियालाई अनलाइन प्रणाली (डिएचआइएस टु)मा रूपान्तरण गर्न लागिएको छ । यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजतपत्रको प्रतिलिपि जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपिसहित यथाशीघ्र कामपा स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो ।

उक्त प्रणलीले सामुदायिक र निजी दुवै स्वास्थ्य संस्थाको प्रतिवेदन समयमै प्राप्त गर्न सहयोग गर्छ । विशेषगरी निजी स्वास्थ्य संस्थाको तथ्याङ्क सङ्कलनमा कमी देखिएको छ, जसले गर्दा कामपाको समग्र स्वास्थ्य प्रतिवेदन प्रभावित भएको छ ।

निरीक्षक श्रेष्ठका अनुसार उक्त प्रणालीको सहायताले पछिल्लो समय कस्ता रोगहरू बढ्दैछन्, कुन पोलिक्लिनिकमा कस्ता बिरामीको उपचार भइरहेको छ, रोगको प्रवृत्ति कस्तो छ भन्ने कुरा पत्ता लगाउन सहयोग गर्छ । “पहिले सङ्क्रामक रोगको जोखिम बढी थियो, अहिले नसर्ने तथा दीर्घ रोगहरू उच्च रक्तचाप, मुटुरोग, मधुमेहजस्ता रोग बढ्दैछन् । यसले स्वास्थ्य क्षेत्रमा कस्तो लगानी आवश्यक छ, कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने कुरा निर्धारण गर्छ,” उहाँले भन्नुभयो ।

कामपामा ३३ वटा सरकारी स्वास्थ्य संस्थाले नियमित रूपमा प्रतिवेदन बुझाइरहेका छन् । ठूलो सङ्ख्यामा रहेका निजी स्वास्थ्य संस्थाको तथ्याङ्क समयमै नआउँदा समग्र स्वास्थ्य अवस्थाको विश्लेषण गर्न कठिनाइ भएको छ । यदि सबै संस्थाले समयमै प्रतिवेदन बुझाए भने हामीले रोग पहिचान गर्न, स्वास्थ्य लगानीलाई प्राथमिकीकरण गर्न सजिलो हुने कामपाले उल्लेख गरेको छ ।

कामपाले सबै स्वास्थ्य संस्थालाई भदौ १५ गतेभित्र आफ्नो ‘युजरनेम’ र ‘पासवर्ड’ लिई उक्त प्रणालीमा नियमित प्रतिवेदन बुझाउन आह्वान गरेको छ । यसले स्वास्थ्य तथ्याङ्कलाई व्यवस्थित, पारदर्शी र समयसापेक्ष बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै स्वास्थ्य संस्थालाई कागजातसहित छिटो सम्पर्कमा आउन र यो प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको छ ।

नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेको छ : परराष्ट्रमन्त्री

काठमाडौँ, ३० साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले भारत नेपालको एक असल छिमेकी राष्ट्रका रूपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गर्नुभयो ।

भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री डा राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षाहरूमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताउनुभयो । नेपाल–भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुइ देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको उहाँले बताउनुभयो ।

मन्त्री डा राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबीचको सहकार्य आगामी दिनहरूमा अझ आवश्यक रहेका उल्लेख गर्नुभयो । यसअघि आजै मन्त्री डा राणाले भारतीय विदेशमन्त्री डा एस जयशंकरमार्फत् भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्याङ्कन गरेको बताउनुभएको थियो ।

शासक नभई जनताको सेवक भएर काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

जनकपुरधाम, ३० साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ । उहाँले आज जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोेजित समारोहलाई सम्बोधन गर्नुहँदै सो निर्देशन दिनुभएको हो ।

मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस् न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्ने उल्लेख गर्दै उहाँले राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नहोस् भन्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस समयमा शासनसत्ता जोगाउनका लागि झुटो आरोप लगाउने कार्य हुन्थ्यो । अहिले मुलुकमा केही तत्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने तथा देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ ।”

समाजमा अराजक फैलाउने तत्वहरूको मुलुकमा लोकतन्त्र ल्याउनका लागि कुनै योगदान नरहेको समेत विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले झुटो बोल्ने तत्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट मुलुकमा लोकतन्त्र आएकाले लोकतन्त्रको सुरक्षा तथा दिगो बनाउन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको छ, त्यस्तै नेपाल प्रहरीले आफ्नो योग्यता तथा दक्षताको माध्यमबाट जनतालाई इमान्दारीपूर्वक जनताको सुरक्षा तथा सेवा गर्नुपर्छ ।” देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी र डकैती, लागुऔषधको प्रयोग तथा सीमा क्षेत्रमा हुने विभिन्न चोरी, तस्करी, अवैध रूपमा हुने मानव ओसारपसार रोक्न तथा राजस्व चुहावट नियन्त्रण गर्न चुनौती भएकाले त्यसलाई रोक्नका लागि प्रहरी सङ्गठन इमान्दारीकासाथ गम्भीरतापूर्वक लाग्नुपर्नेमा उहाँको जोड थियो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संयुक्त प्रयासबाट निर्माण भएको वर्तमान सरकारले देशमा स्थिरता तथा शान्ति सुरक्षा एवं सुशासन दिने उल्लेख गर्दै भष्टाचार नियन्त्रण गर्ने र जनतालाई छिटोछरितो रूपमा सेवा दिनेतर्फ प्रहरीले जोड हुनुपर्नेबताउनुभयो । उहाँले नेपाल प्रहरीलाई समयसापेक्ष भौतिक सुविधाले सम्पन्न गराउनेतर्फ मधेस प्रदेश सरकारले यो भवन निर्माण गरेकामा खुसी व्यक्त गर्नुभयो ।

सोही अवसरमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोज नहुँदा प्रदेशको शान्ति, सुरक्षालगायतका कार्य गर्न समस्या भएको गुनासो गर्नुभयो । मधेस प्रदेश सरकार स्थापना भएको विगत सात वर्षपछि धेरै राजस्व सङ्कलन गरेर पछिल्लो सरकार प्रदेशको विकासमा लागेको उल्लेख गर्दै उहाँले चुरेको समस्या समाधानका लागि ठोस योजना ल्याउन प्रधानमन्त्रीसँग माग गर्नुभयो ।

नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक दीपक थापाले मुलुकमा शान्ति, सुरक्षा कायम गर्न तथा जनताको जिउधनको सुरक्षा गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ कार्य गरिरहेको बताउनुभयो ।

त्यस्तै सोही अवसरमा मधेस प्रदेश प्रहरी प्रमुख एवं प्रहरी महानायव महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले मधेस प्रदेशको शान्ति सरक्षाको अवस्थाबारे जानकारी दिँदै प्रदेशमा प्रहरी जनशक्ति कम रहेको बताउनुभयो । उहाँले १० हजार प्रहरी दरबन्दी रहेको मधेस प्रदेशमा करिब नौ हजार प्रहरी कर्मचारी रहेको जानकारी दिनुभयो ।

मधेस प्रदेशमा ६२ लाख कुल जनसङ्ख्या रहेको तर त्यसका लागि करिब ३७ हजार ४०० प्रहरीको आवश्यकता रहेको उहाँको भनाइ थयो । सो अवसरमा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको प्रदेश प्रहरी भवनको निरीक्षणसमेत गर्नुभएको थियो ।

आद्रीका थापा र सन्जय बडालको स्वरमा आयो ‘के तरिका हो’को भिडियो

काठमाडौं । आद्रीका थापाको स्वरमा के तरिका हो बोल रहेको गीत सार्बजनिक भएको छ । जसमा गायिकालाई सन्जय बडालले साथ दिएका छन । बरिष्ठ गीताकार बि ।बि। थापाको शब्द रचना, मनोज चौलागाइको संगीत र एरेन्ज रहेको गीतलाई किशोर थापाले मिक्सिङ मास्टरिङ्ग गरेका हुन ।

गायिका स्वयमको अभिनय रहेको गीतलाई नितीन चन्दले निर्देशन गरेका हुन गीतलाई बि।बि। थापा युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

कार्यप्रगति देखिनेगरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ ३० साउन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यप्रगति देखिनेगरी ठूला विद्युत् र सिँचाइका ठूला आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।ऊर्जा मन्त्रालयमा आज सम्पन्न वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले बलियो सरकार भएका बेलामा कार्यप्रगति देखिनेगरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

“विगतको सिकाइलाई आधार मानेर जिम्मेवारीका साथ काम ग¥यौँ भने प्रगति हासिल गर्न सकिन्छ, यसको बाटोमा सबै लाग्नुपर्छ,” मन्त्री खड्काले भन्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रको प्रमुख आधार ऊर्जा यस मन्त्रालयसँग जोडिएकाले अन्तरनिकायसँगको समन्वयमा यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

ऊर्जामन्त्री खड्काले बैँकमा थुप्रिएर बसेको पुँजीलाई ऊर्जा विकासको क्षेत्रमा लगाउनसके देश चाँडो विकास हुने विश्वास व्यक्त गर्नुभयो । “एकातिर बैँकमा पैसा थुप्रिएर बसेको छ, अर्कोतर्फ विदेशीहरू लगानी गर्न आतुर छन्, तर हामीले किन यसलाई अगाडि बढाउन सकेनौँ,” उहाँले भन्नुभयो ।

मन्त्री खड्काले हिँउदमा हुने विद्युत् अभावलाई परिपूर्ति गर्नका लागि सरकारले जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता दिएर अगाडि बढाउन खोजेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले विगतमा भएका कमी कमजोरीलाई औँल्याउँदै आगामी दिनमा ऊर्जा र सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले ऊर्जा र सिँचाइ क्षेत्रको विकासका लागि १६ औँ पञ्चवर्षीय योजनासँग सम्बन्धी वार्षिक नीति र कार्यक्रम बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडीले आयोजनालाई अगाडि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबाट राम्रो सहयोग पाए पनि वन र जग्गा प्राप्तीको समस्याले आयोजना निर्माणमा ढिलाइ भएको बताउनुभयो ।

जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनानाथ मिश्रले तयारी बिना नै बजेट राख्दा वजेट खर्च हुन नसकेको र प्रगती कम देखिएको बताउनुभयो । अर्थ मन्त्रालयका प्रतिनिधीले ऊर्जा र जलस्रोत क्षेत्रको विकासका लागि अर्थ मन्त्रालय आवश्यक बजेट विनियोजन गर्न सँधै सकारात्मक रहेको बताउनुभयो ।

कार्यक्रममा विद्युत विकास विभागका महानिर्देशक जीवछ मण्डल, जलस्रोत तथा सिचाइ विभागका महानिर्देशक मित्र बराल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आयोजना निर्माणका क्रममा भोग्नुपरेका समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।

पहिरोले कोदारी राजमार्ग अवरुद्धः छ सय ‘कन्टेनर’ सीमापारि

चौतारा, ३० साउनः पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् ।

भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो । पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले राससलाई बताउनुभयो । करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ ।

कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उहाँले पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको गुनासो गर्नुभयो ।

यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

परराष्ट्रमन्त्रीद्वारा भारतको ७९ औँ स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ, ३० साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा एस जयशङ्करलाई उल्लेख गर्दै उहाँले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताउनुभएको छ ।

“भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्”, परराष्ट्रमन्त्रीले एक्समा लेख्नु भएको छ ।

सुडानका १७ क्षेत्र गम्भीर भोकमरीको जोखिममाः संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले सुडानका १७ वटा क्षेत्रहरू हाल गम्भीर खाद्य अभावको सम्भावित जोखिममा रहेको गम्भीर चिन्ता व्यक्त गरेको छ । ती क्षेत्रहरूमा दार्फुर, नुबा पहाड, खार्तुम तथा गेजीरा क्षेत्रहरू मुख्यरूपमा उल्लेख गरिएका छन् ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफान डुजारिकका अनुसार, एक वर्षअगाडि उत्तर दार्फुर राज्यको जमजम विस्थापित शिविरमा भोकमरीको पुष्टि भएको थियो । त्यसयता उक्त अवस्था दार्फुर र कोर्डोफानका अन्य भागहरूमा समेत फैलिएको छ ।

सबैभन्दा संकटग्रस्त क्षेत्र अहिले उत्तर दार्फुरको राजधानी एल फाशेर रहेको छ । संयुक्त राष्ट्रसंघको खाद्य कार्यक्रमले सो क्षेत्रमा मानवीय सहायता पु¥याउन अनुमति दिन आग्रह गरेको छ, किनभने स्थानीय बासिन्दाहरू कष्टकर भोकको अवस्थामा छन् ।

प्रवक्ताका अनुसार, केही मानिसहरू पशुचारा र कुहिएको खाना खाएर जीवित रहन बाध्य भएका छन् ।खाद्य कार्यक्रममार्फत करिब दुई लाख ५० हजार मानिसलाई नगद सहायता दिइएको छ, जसबाट उनीहरूले बजारमा सीमित मात्रामा पाइने खाद्यान्न खरिद गर्न सक्छन् । तर आवश्यकताको स्तर अत्यन्तै बढ्दो छ ।

डुजारिकले भन्नुभयो,“हामी सबै लडाकु पक्षहरूलाई हिंसा अन्त्य गर्न, वार्तामा बस्न, र जनताको हितलाई प्राथमिकतामा राख्न आग्रह गर्दछौं ।”सन् २०२३ को चैतदेखि सुडानमा सुरु भएको सशस्त्र द्वन्द्वले दशौं हजार नागरिकको ज्यान लिएको छ र लाखौं मानिसहरू विस्थापित भएका छन् । देश अहिले गहिरो मानवीय संकटमा फसेको छ ।

रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने

रौतहट । रौतहटका कृषकलाई समयमा सहज तरिकाले रासायनिक मल उपलव्ध गराउन किसान कार्डको व्यवस्था लागू हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा बसेको सो बैठकले सो निर्णय गरेको हो ।

मल वितरण र कृषि कार्यको सहजीकरणका लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रजिअ खड्काले बताए ।उनका अनुसार बैठकले मलको कालोबजारी, जम्माखोरी र कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।

रासायनिक मलको अभाव र कालोबजारीका कारण किसानहरूले समयमै मल प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएको पछि बैठक बसेको हो ।

रासायनिक मलको माग र आपूर्तिको विस्तृत विवरण १५ दिनभित्र तयार गर्ने, मलको कृत्रिम अभाव रोक्न संयुक्त अनुगमनलाई तीव्रता दिने , रासायनिक मलको तोकिएको मूल्यभन्दा बढीमा बिक्री र सहकारी संस्थाबाहेक अन्य निकायबाट हुने वितरणलाई पूर्णरूपमा निरुत्साहित गर्ने र किसान कार्ड लागु गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासन फाँट प्रमुख रामनरेश साहले जानकारी दिए ।

बैठकमा सुरक्षा निकायका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला कृषि ज्ञान केन्द्रका प्रतिनिधि र किसान अगुवा सहित सम्बन्धित सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालमा गौतम बुद्धको विशाल प्रतिमा निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । थाङ्पाल गाउँपालिका ७ भोटेनाम्लाङस्थित युङ्बा दोङ (ठूलो ढुंगा) मा निर्माणाधीन बुद्धको प्रतिमा तीव्रता पाएको हो ।गाउँपालिका अध्यक्ष टाशी लामाले पालिकाको गौरवको योजनाका रूपमा रहेको यो परियोजना चार वर्षदेखि सुरु गरिएको जानकारी दिए ।

धार्मिक, साँस्कृतिक र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको बुद्धको प्रतिमालाई एउटै ठूला ढुंगामा बनाइएको उनले बताए । ८४ फिट अग्लो बुद्धको शिरको निर्माण कार्य पूरा भइसकेको र अन्य भागहरूको निर्माण तीव्र रूपमा भइरहेको जानकारी अध्यक्ष लामाले दिए ।

अध्यक्ष लामाका अनुसार एशियाकै अग्लो ढुंगामा कुँदिएको एकै टुक्राको बुद्ध प्रतिमा बन्ने लक्ष्यका साथ काम भइरहेको छ। परियोजनाको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको र आगामी वर्षसम्म निर्माण सम्पन्न हुने लक्ष्य रहेको छ ।

पाँचपोखरी गाउँपालिका, बागमती प्रदेशको समन्वय र राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्राविधिक पक्षको सहयोगमा बुद्धको प्रतिमा बनाउने काम भइरहेको छ।
‘विश्वका धेरै ठूला बुद्धका प्रतिमा टुक्रा–टुक्रा ढुंगा जोडेर बनाइएका छन् । हामी भने एउटै ढुंगा प्रयोग गरेर इतिहासमै पहिलो पटक यस्तो काम गर्दैछौं,’ उनले भने ।

उनले धार्मिक पर्यटन प्रवद्र्धन गर्न, स्थानीयको आर्थिक समृद्धिमा टेवा पु¥याउन र पाँचपोखरी थाङ्पाललाई अध्यात्मिक भूमि र अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा चिनाउन यो योजना अघि सारेको बताए ।

‘बुद्ध जन्मेको देशमा, बुद्धकै सन्देश फैलाउने हाम्रो अभियान हो,’ अध्यक्ष लामाले भन्छन,’यो काम युगौ युगसम्म इतिहासमा कायम रहने छ ।’ अध्यक्ष लामाले देश तथा विदेशमा रहेका नेपाली तथा श्रद्धालुहरूलाई आर्थिक सहयोग गर्न आग्रह गरे । उनले सहयोगीहरूको नाम शिलालेखमा राखिने उल्लेख गरे ।

विश्वभरका बौद्ध अनुयायीहरूलाई यस प्रतिमाले आकर्षण गर्ने उनले विश्वास व्यक्त गरे । गाउँपालिकाले प्रतिमा निर्माणपछि यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको अध्यक्ष लामाले दाबी गरे ।

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

काठमाडौं । बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन् । यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

गेम चेन्जर काम गर्न सबै मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रमबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

उहाँले आगामी मङ्सिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्ने गरी सबै किसानलाई व्यावसायिक भैँसी पालन गराउन, खेतीमा अग्र्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवनहरु बनाउन, दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना गर्न, कीर्तिपुर क्रिकेट रंगशाला छिटो निर्माण सक्न, भक्तपुरमा ठुलो रंगशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहरुलाई ध्यानाकर्षण गराए ।

उनले अन्तरिक्षमा नेपालको आफ््नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेलवे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौँ/तराई मधेस दू्रत मार्गजस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न पनि मन्त्रीहरुलाई आग्रह गरे ।

‘मेरा यी कुराहरु प्रतिनिधिमूलक मात्रै हुन्, एवं रितले सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘मौलिक ढंगले हामी अघि बढ्नुपर्छ । साँच्चै माइस्टोन हुने खालका काम गरौँ ।’

कार्यक्रममा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता भएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

ढोरपाटन (बागलुङ), ३० साउनः छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ ।

रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाउनुभयो । जातका स्याउको बिरुवा लिएर लगाउनुभएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उहाँको बगान चार रोपनीमा फैलिएको छ । उहाँ छ रोपनीमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । अध्यक्ष रोकाले भन्नुभयो, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ”

स्याउखेतीका निम्ति उहाँले रु एक लाख ५० हजार लगानी गरेको बताउनुभयो । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउनुहुन्छ । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उहाँले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताउनुभयो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३० साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४४, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (ज्यापु) प्रतिकिलो रु १३०, काउली (तराई) प्रतिकिलो रु ११०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु १०० र मकै बोडी प्रतिकिलो रु ९० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १००, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ८०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ६०, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ९०, पालुङ्गो साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४१०, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३८०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु गान्टेमुला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ४००, आँप (चोसा) प्रतिकिलो रु २२०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ९०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ५५, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २५०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर, ३० साउन : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर बढ्दै गएको छ । पुनःस्थापन गरिएको एक दशकमा कृष्णसारको सङ्ख्या बढेर तीन सय १० पुगेको छ । जसमा कृष्णसारका भाले एक सय १७, पोथी एक सय ४३ र पाठापाठी ५० रहेका छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् ।

निकुञ्जको हीरापुर फाँटामा ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टरमा मात्र तारबार गरिएको भए पनि क्रमशः सन् २०१३ मा चार दशमलव पाँच हेक्टर, सन् २०१५ मा पाँच हेक्टर, सन् २०१७ मा १७ हेक्टर र सन् २०१९ मा सात दशमलव आठ हेक्टर थप गर्दै हालको क्षेत्रफलसम्म विस्तार गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार कृष्णसारको सङ्ख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कृष्णसारलाई निकुञ्जकै अन्य फाँटमा प्राकृतिक रूपमा खुला छाड्ने वा अन्य सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नेबारे अध्ययन भइरहेको उहाँले बताउनुभयो । “मन्त्रालय र विभागमा कृष्णसार व्यवस्थापनबारे कुरा राखेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार वर्निखेडालगायत क्षेत्रमा प्राकृतिक वातावरणमा छाड्नेबारे सम्भाव्यता अध्ययनको कार्य भइरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा पुनःस्थापना गर्ने प्रस्ताव पनि आएको उहाँले बताउनुभयो ।

निकुञ्जको तथ्याङ्कानुसार सन् २०१३ मा ३१ रहेको कृष्णसारको सङ्ख्या सन् २०१४ मा ३६, सन् २०१५ मा ३५, सन् २०१६ मा ४४, सन् २०१७ मा ५९, सन् २०१८ मा ६६, सन् २०१९ मा ८८, सन् २०२० मा एक सय १५, सन् २०२१ मा एक सय ४१, सन् २०२२ मा दुई सय चार, सन् २०२३ मा दुई सय ६१ र सन् २०२४ मा दुई सय ८७ पुगेको देखिन्छ । यसरी गत एक दशकमा कृष्णसारको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।

शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज र ललितपुरको सदर चिडियाखाना तथा २०७२ साल वैशाखमा बर्दियाको खैरापुरबाट कृष्णसार ल्याएर संरक्षण थालिएको थियो । पहिलो चरणमा २८ र दोस्रो चरणमा १४ गरी जम्मा ४२ कृष्णसार स्थानान्तरण गरेर ल्याइएका थिए ।

कृष्णसारको स्वास्थ्य र पोषणका लागि दिनमा एकपटक दाना, ढुटो, चोकर, मकै, चना आदि खुवाइन्छ । पशु चिकित्सक आभाष श्रेष्ठका अनुसार कृष्णसारमा जुका, किर्नाजस्ता परजीवीको सङ्क्रमण देखिने भएकाले समय–समयमा दानामा औषधि मिसाएर खुवाउने कार्य हुँदै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार संरक्षित वन्यजन्तुको सूचीमा पर्छ । एन्टिलोप प्रजातिको यो जनावर नेपालगञ्ज, काठमाडौँको मृगस्थली, बर्दियाको खैरापुर र शुक्लाफाँटाको हीरापुर फाँटामा संरक्षित रहेको छ । घाँसका फाँटमा बस्न रुचाउने कृष्णसारमा भाले कालो र पोथी खैरो रङ्गका हुन्छन् । कृष्णसारले छ–छ महिनामा बच्चा जन्माउँछन् । वयस्क नभएसम्म दुवै भाले पोथीको रङ्ग खैरो नै हुन्छ । कृष्णसार संरक्षित क्षेत्रमा आन्तरिक पर्यटकको आवागमनमा भने वृद्धि हुँदै गएको छ । कृष्णसार अवलोकनका लागि आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन् ।

युट्युबमा तीज गीतको लहर, ‘म त नराउरी…’ चर्चामा

गण्डकी, ३० साउन : लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ सार्वजनिक भएको दुई दिनमा नै युट्युबमा २० लाखभन्दा बढीपटक हेरिएको छ । तीज पर्वको छेको पारेर बुधबार सार्वजनिक भएको उक्त गीतमा १२ हजार बढीले प्रशंसायुक्त टिप्पणी गरेका छन् ।

तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण गायिका माझीको गीतलाई दर्शकस्रोताले रुचाएका हुन् । गत वर्ष पनि उहाँको तीज गीत ‘आइन आमा यो तीजमा…’ ले सार्वजनिक भएको दुई दिन नबित्दै युट्युबमा ३० लाख बढी ‘भ्यूज’ बटुलेको थियो ।

माझीले विगत दुई दशकयता बर्सेनि तीज गीत सार्वजनिक गर्दै आउनुभएको छ । कतिपयले त विष्णु माझीको गीत आएपछि बल्ल तीज आएको आभास दिने गरेको टिप्पणीसमेत गर्छन् । तीजमात्र नभएर उहाँका हरेक लोकदोहोरी गीत सफल छन् ।

सुन्दरमणि अधिकारीको रचना र सङ्गीत रहेको गीत ‘म त नराउरी…’ मा लैङ्गिक असमानताले निम्ताएको नारी बेदनालाई उठान गरिएको छ । गीतमा कुनै बेला नेपाली समाजमा व्याप्त छोरा र छोरीबीचको विभेदको मर्मस्पर्शी कथा छ । गीतले भन्छ–

‘दाइ र भाइले पिपलगेडी खाको
मैले छाम्दा गोजी रित्तै भाको…’

गीतको म्युजिक भिडियोमा ललिता पौडेललगायत कलाकारको अभिनय रहेको छ । विगत केही वर्षदेखि कतिपय तीज गीत विवादमा तानिँदै आएकामा गायिका माझीको गीतले भने तीज गीतको मूल मर्मलाई पक्डेको छ । महिलाको संवेदना र मनोविज्ञान गीतमा मुखरित भएको छ । गीतमा मौलिकताको झझल्को छ ।

चर्चित गायक प्रकाश सपुतको रचना र सङ्गीतमा केही दिनअघि युट्युबमा सार्वजनिक तीज गीत ‘नाइँ भनेसी नाइँ…’लाई पनि हालसम्म झण्डै दश लाख पटक हेरिएको छ । गायिका समीक्षा अधिकारी र एलिना चौहानद्वारा स्वरबद्ध उक्त गीतमा पनि महिला अधिकार र सशक्तीकरणको मुद्दा उठाइएको छ । महिलामाथि हुने हिंसा र अत्याचारविरुद्ध सपुतले आफ्नो सृजनालाई केन्द्रित गर्नुभएको छ । गायक सपुतले यसअघि ल्याएको तीज गीत ‘बदला बरिलै…’ र ‘कुरा बुझ्न पर्छ…’ ले पनि चर्चा पाएको थियो ।

गायक पशुपति शर्मा र टीका पुनले गाएको तीज गीत ‘लाइटै बालेर हेर मायाले…’ लाई पनि दर्शक÷स्रोताले साथ दिएका छन् । चार साताअघि ‘पशुपति शर्मा’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीतलाई हालसम्म १२ लाखभन्दा बढीपटक हेरिएको छ । गायक शर्माकै शब्द र सङ्गीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा पनि शर्मा र कलाकार कुञ्जना घिमिरेको अभिनय रहेको छ । गीतमा मायाप्रेमको विषय छ ।

तीज पर्व नजिकिँदै जाँदा यसरी नै युट्युबबाट तीज गीत सार्वजनिक भइरहेका छन् । बर्सेनि तीज आउँदा यस्ता गीत निकाल्ने लहरै चल्छ । तीजको याम सुरू भएपछि कलाकारले अरु विधाका गीतलाई थाँती राख्छन् । तीज गीतले सधैँ चलिरहने लोकदोहोरीलाई पनि ओझेलमा पारिदिन्छ । तीज आउन अब दुई सातामात्र बाँकी छ । तीज गीतले युट्युबमा प्रवेश पाएको भने गत असारदेखि नै हो ।

अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन् । अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ । कतै श्रीमान्श्रीमती त कहीँ प्रेमीप्रेमिका बीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ । कतै महिला अधिकार र मुक्तिको आवाज मुखरित भइरहेको छभने कतै नारी बेदनाका स्वर गुञ्जिइरहेका छन् । मनछुने भाका, शब्द र सुरिलो गायकीले कतिपय तीज गीतलाई सरल र श्रुतिमय बनाएको छ । कतिपय गीत सृजनशीलता र मौलिकताको कसीमा औसत स्थानमा छन् ।

पर्व गीतको उपमा पाएको तीज गीतलाई कतिपय कलाकारले त्यसको मूल प्रवृत्तिबाट विमुख पारेको भन्दै चिन्ता पनि व्यक्त हुँदै आएको छ । पहिलेका तीज गीत घटनाप्रद, युग सुहाउँदो, चेतना जागृत गर्ने र समसामयिक विषयवस्तुमा केन्द्रित हुन्थे । खासगरी महिलाले तीज गीतलाई वर्षभरिका दुःख, पीरवेदना र चोट सार्वजनिक गर्ने माध्यम बनाउँथे । महिला मुक्तिको आवाज पनि तीज गीतमा उठ्थ्यो ।

अहिलेका तीज गीतमा भने मायाप्रेमको मुद्दा बढी मुखरित भएको पाइन्छ । कलाकार भने आधुनिक समाज विकाससँगै मानवीय अभिरुचि र प्रविधिमा आएको फड्कोलाई स्वीकारेर अगाडि बढ्नुको विकल्प नभएको टिप्पणी गर्छन् । केही वर्षअघि तीज गीतलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले केही गायकगायिकालाई प्रतिबन्ध लगाउनेसम्मको अवस्था सृजना भएको थियो । गत वर्ष पनि दर्जन बढी तीज गीत विवादमा मुछिएका थिए । केही गायकगायिकाले त्यस किसिमका गीत गाएकामा क्षमासमेत माग्नुपरेको थियो ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्नुहुन्छ । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्नुपर्ने उहाँको बुझाइ छ । पौराणिककालदेखि नै तीज पर्व र गीतको बयान हुँदै आएको भन्दै गायिका कोइरालाले तीज गीतले विशेषगरी महिला अधिकार र मुक्तिको आवाज मुखरित गर्नुपर्ने धारणा राख्नुहुन्छ ।

आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्च १५ खर्ब आठ अर्ब

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारको रु १५ खर्ब आठ अर्ब २३ अर्ब ११ करोड बराबर कुल खर्च भएको छ । आव २०८०/८१ मा कुल रु १४ खर्ब आठ अर्ब ७६ करोड बराबर खर्च भएको थियो ।

त्यसैगरी, चालुतर्फ ८५ दशमलव ९५ प्रतिशत अर्थात् रु नौ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३ दशमलव दुई प्रतिशत अर्थात् रु दुई खर्ब २२ अर्ब ६८ करोड खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा गरिएको प्रस्तुतिअनुसार वित्तीय व्यवस्थातर्फ ८७ दशमलव ८७ अर्थात् रु तीन खर्ब २० अर्ब चार करोड बराबर खर्च भएको छ । विसं २०८१ को असार मसान्तको तुलनामा २०८२ असार मसान्तसम्म चालुतर्फ दुई दशमलव ९४ प्रतिशत बढी खर्च भएको हो ।

यस्तै, पुँजीगततर्फ २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा १६ दशमलव १५ प्रतिशत बढी खर्च भएको छ । आव २०८१/८२ मा वित्तीय व्यवस्थातर्फ ८७ दशमलव १४ प्रतिशत खर्च भएको छ । वार्षिक लक्ष्यको कुल ८१ दशमलव ८७ प्रतिशत खर्च भएको देखिएको छ ।

आव २०८१/८२ मा कर राजस्व वार्षिक लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत र गैरकर राजस्व ९५ दशमलव ४५ प्रतिशत सङ्कलन भई कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको ८३ दशमलव शून्य छ प्रतिशत पुगेको छ । आव २०८०/८१ मा कुल राजस्व रु १० खर्ब ३० अर्ब ३४ करोड सङ्कलन भएकामा आव २०८१/८२ मा रु ११ खर्ब ७८ अर्ब ८२ करोड सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४ दशमलव ४१ प्रतिशत बढी हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार अघिल्लो वर्षको तुलनामा कर राजस्व १३ दशमलव २५ प्रतिशत र गैरकर राजस्व २८ दशमलव आठ प्रतिशतले वृद्धि भएको हो ।

आव २०८१/८२ मा कुल आयात रु १८ खर्ब चार अर्ब १२ करोड, निर्यात रु दुई खर्ब ७७ अर्ब तीन करोड बराबर भएको छ । कुल व्यापारघाटा रु १५ खर्ब २७ अर्ब नौ करोड बराबर भएको छ । अघिल्लो वर्षको तुलनामा आयात १३ दशमलव तीन प्रतिशत र निर्यात ८१ दशमलव आठ प्रतिशतले वृद्धि भएको छ ।

मनसुन क्रमशः कमजोर हुँदै, केही स्थानमा मात्र वर्षा

काठमाडौँ, ३० साउनः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको बताएको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र अन्य भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध पनि गरेको छ ।

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ : उद्योगमन्त्री भण्डारी

काठमाडौँ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिएर सरकारले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको बताउनुभएको छ ।

महिला उद्यमी सङ्घ बागमतीको नवनिर्वाचित समितिसँगको अन्तक्र्रियामा उहाँले छिमेकी मुलुकहरूले नेपाली बजारको मागअनुसार वस्तु उत्पादन गर्न सक्ने तर नेपालमा त्यसको कमी देखिएको बताउनुभयो । खुला बजारका कारण आयात रोक्न नसकिए पनि यहाँ उत्पादन गर्न सकिने वस्तु माग धान्न सक्नेगरी उत्पादन गर्नुपर्नेमा उहाँको जोड थियो ।

मन्त्री भण्डारीले भन्नुभयो, “हाम्रा चाडपर्वमा चाहिने अधिकांश वस्तु छिमेकी मुलुकले उत्पादन गर्छन्, त्यसरी नै हामीले पनि उत्पादन बढाउनुपर्छ । रोजगारीका अवसर नेपालमै प्रशस्त छन्, केवल त्यसलाई चिन्नु र उपयोग गर्नुपर्छ ।”

महिला उद्यमीका लागि सरकारले सहुलियतपूर्ण योजनाहरू ल्याएको उल्लेख गर्दै उहाँले कम्पनी वा फर्म दर्ता गर्दा महिलाले शुल्क तिर्न नपर्ने व्यवस्था, स्टार्टअप कर्जा कार्यक्रम र बजेटमा समावेश विभिन्न प्रोत्साहन योजनाहरू जानकारी दिनुभयो । “सबै मन्त्रालयका रेडबुक हेरेर आफ्ना क्षेत्रसँग मिल्ने कार्यक्रम पहिचान गर्नुहोस् र लाभ लिनुहोस्”, उहाँले भन्नुभयो ।

महिला उद्यमी सङ्घका अध्यक्ष शोभा ज्ञवालीले सबै प्रदेशमा सङ्गठन विस्तार गरी उद्यमीहरूलाई एकताबद्ध बनाउने अभियान चलाइरहेको बताउनुभयो । साना तथा मझौला उद्यमीलाई तालिम र प्रविधि प्रदान गरी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३० साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ११ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २१ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८० पैसा र बिक्रीदर ४५९ रुपैयाँ ७७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा यादवविरुद्ध मुद्दा दायर

काठमाडौँ, ३० साउन : अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले यादव सरकारी सेवामा नियुक्त भएको २०६६ जेठ २४ देखि २०७९ साउन २९ गतेसम्मको परीक्षण गरेको थियो ।

यादवले सो अवधिमा कुल रु दुई करोड ६८ लाख १८ हजार ९०० बराबरको वैध आयआर्जन गरेको देखिन्छ । सो अवधिमा यादवले रु तीन करोड ६५ लाख चार हजार ४५३ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयोगले परीक्षण गर्दा रु ९६ लाख ८५ हजार ५५३ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएको छ ।

पदीय हैसियत दुरुपयोग गरेर गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको आयोगको आरोप छ । आयोगका अनुसार गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा राखेको समेत पाइएको छ ।

आयोगले आरोपी यादव र उहाँका पत्नी आशाकुमारीलाई प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ, ३० साउन : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नुहुनेछ ।त्यसैगरी, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ ।

उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल गर्ने कार्यसूची छ ।कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।
राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, ३० साउन : सङ्घीय संसद् राष्ट्रियसभाको बैठक बिहान ११ः४५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०/८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची छ ।

राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्नुहुनेछ ।

त्यसैगरी, आज पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ ।

उद्योग वाणिज्य समितिमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषयविज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

वीरगञ्ज (पर्सा), २९ साउनः पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कृषि सामग्री कम्पनी, साल्टटेडिङ कर्पाेरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा सरकारी अनुदानको रासायनिक मल जम्माखोरी गरी राखेको र बजार मूल्यभन्दा धेरैमा बिक्री गरेको गुनासोका आधारमा अनुगमन गर्दा दुई स्थानबाट १९१ बोरा मल बरामद भएको हो ।

साल्ट्रटे«डिङ कर्पाेरेसन प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले अनुगमनका क्रममा सरकारी अनुदानको मल गलत ढङ्गले बिक्रीवितरण गर्दै आइरहेको अनुगमनका क्रममा सो मल बरामद् भएको जानकारी दिनुभयो ।

“मल बिक्री गर्ने अनुमति नभएकाले मलको मूल्यभन्दा अत्यधिक धेरै मूल्य राखेर बिक्रीवितरण गर्दै आइरहेको भेटियो”, उहाँले भन्नुभयो, “मल बरामद भए पनि सो मल कारोबारमा संलग्न हुने व्यक्ति भने फरार छन् ।” सो अनुगमन समितिले सखुवाप्रसौनी गाउँपालिका– ३ कटैयाका ढाँडी अन्सारी भनिने युनिस अन्सारीको घरबाट सञ्चित अवस्थामा राखेको डिएपी २७ बोरा र पोटास २३ बोरा मल बरामद गरेको छ ।

टोलीले सोही ठाउँका शाह महमद मलखाद भण्डारका सञ्चालक शाह महमद अन्सारीले आफ्नो घरमा लुकाइराखेको १४१ बोरा रासायनिक मल बरामद गरेको छ । जसमा डिएपी मल नौ बोरा, पोटास मल १८ बोरा र सिङ्गल सुपर फस्फेट मल ११४ बोरा बरामद गरेको जनाएको छ ।

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्नेः महामन्त्री थापा

पाटन (ललितपुर), २९ साउनः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग रोक्ने सन्दर्भमा नागरिकलाई नियन्त्रण गर्ने भन्दा सचेत बनाउन जरुरी रहेको बताउनुभएको छ ।

पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रियात्मक तालिमको समापनमा महामन्त्री थापाले गलत र मिथ्या सूचना र डिजिटल मञ्चहरुको दुरुपयोग रोक्ने सन्दर्भमा कांग्रेसले गलत राजनीतिक संस्कारलाई पराजित गर्न सुसूचित गर्नेमा ध्यान दिने बताउनुभयो ।

“जिम्मेवार र बुझ्न सक्ने जमात तयार ग¥यौँ भने राम्रो समाज बन्छ, हामी नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ भन्नेमा विश्वास गर्छौँ, आजको कार्यक्रमले हामी सबैलाई प्रेरित गरेको छ, डिजिटल माध्यमको सदुपयोगका विषयमा हुने यस्ता गहन छलफलले तल्लो तहसम्म सकारात्मक सन्देश प्रवाह गर्ने जमात तयार हुनेछ”, उहाँले भन्नुभयो । उहाँले जबसम्म नागरिकले कुन सूचना कसले मलाई किन दियो भन्ने छुट्याउन सक्दैनन्, तबसम्म समस्या आइरहने बताउनुभयो ।

संविधानसभा सदस्य एवं विभागका सदस्य दीपकप्रसाद कुइँकेलले डिजिटल माध्यम मानिसको जीवन पद्धतिसँग जोडिएको भन्दै यसको प्रयोगमा सचेत र सजग हुनुपर्नेमा जोड दिनुभयो ।

मधेसमा भूमि वितरण अविलम्ब रोक्न अध्यक्ष अनिलकुमार झाको माग

काठमाडौँ, २९ साउनः नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सुकुम्बासी समस्यालगायत कुनै पनि समस्याको बहानामा भइरहेको मधेसको भूमि वितरण अविलम्ब रोक्न माग गर्नु भएको छ ।

आज सो पार्टीले यहाँ आयोजना गरेको पत्रकार उहाँले भन्नुभयो, “महिला, युवालाई रोजगारमूलक शिक्षा एवं देशको रोजगारमुखी विकास आजको आवश्यकता रहेको हाम्रो पार्टीले प्रस्ट पारेको छ । पनि समस्याको बहानामा भइरहेको मधेसको भूमि वितरण कार्य अविलम्ब रोक्नु पर्छ ।”

त्यस अवसरमा अध्यक्ष झाले सद्भावना पार्टीका चार वटा सैद्धान्तिक र आठ वटा व्यावहारिक प्रतिबद्धता सार्वजनिक गर्नुभयो । सैद्धान्तिक प्रतिबद्धता मधेस आन्दोलनका सहिदलाई अन्य आन्दोलनका सहिदसरह सम्मान स्थापित गराउने उल्लेख गरिएको छ ।

महिला, दलित, मुस्लिम, पिछडावर्ग सहित पहाड तथा तराईका अल्पसङ्ख्यक आफ्नै देशभित्र सदियौँदेखि दमन, उत्पीडन, अन्याय, अत्याचारमा परेको भन्दै उनीहरूको सम्मानपूर्ण नागरिक हक, पहिचान, पहुँच, प्रतिनिधित्व, प्राकृतिक स्रोत एवं राजस्वको बाँडफाँटमा समान अधिकारका लागि संघर्षरत रहने प्रतिबद्धता पनि नेपाल सद्भावना पार्टीले व्यक्त गरेको छ ।

‘एकीकृत नेपालभित्र समृद्ध मधेस र अधिकार सम्पन्न मधेसी समुदाय’ भन्ने पार्टीको स्थापित सैद्धान्तिक मान्यताका लागि संघर्षरत रहने प्रतिबद्धता पनि सो पार्टीले जनाएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीको माध्यमबाट राजनीतिक, आर्थिक, सामाजिक, भाषिक सांस्कृतिक, लैङ्गिक, क्षेत्रीय, जातीय एवं सामुदायिक विभेद अन्त्य एवं प्रत्येक नागरिकको वैयक्तिक स्वतन्त्रताको प्रत्याभूतिका लागि संघर्षरत रहने पार्टीको भनाइ छ ।

सो पार्टीले व्यावहारिक प्रतिबद्धताअन्तर्गत मधेसमा खानेपानी सङ्कटको दीर्घकालीन समाधान, मधेसको उर्वर माटोको क्षयीकरण रोक्ने, उन्नत कृषि प्रणालीे स्थापना, स्वरोजगार प्रवद्र्धनका समाधानमुखी प्रयासमा ध्यानाकर्षण गराएको छ । यस्तै सङ्घीयता कार्यान्वयनमा प्रदेश सरकारहरूले देखाइरहेको उदासीनता र केन्द्र सरकारको उपेक्षाभावप्रति सो पार्टीले चिन्ता प्रकट गरेको छ ।