`

‘एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन’:उपमहासचिव प्रदीप ज्ञवाली

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्य नभागेको र नभाग्ने पनि बताउनुभएको छ । भक्तपुर जिल्ला कमिटीद्वारा ११औँ राष्ट्रिय महाधिवशनको सन्दर्भमा आयोजित जिल्ला भेलामा उहाँले एमाले लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनसँग नभाग्ने बताउँदै भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, “एमाले निर्वाचनबाट कहिल्यै भागेन र आगामी दिनमा पनि भाग्दैन । कसले चुनाव गराउँछ भन्ने सरकोरभन्दा पनि निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्नेमा एमालेले जोड दिन्छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनताले निधक्क भएर मतदान गर्न सक्ने अवस्था र वातावरण तयार हुनुपर्छ ।”

महाधिवेशन सकिएपछि आगामी पुस १ गतेदेखि देशको राजनीतिक बाटोको खाका खुल्ने दाबी गर्दै उहाँले महाधिवेशनबाट आएको परिणामलाई स्विकार्दै एमाले एक ढिक्का र एकताबद्ध भएर पार्टी, देश, लोकतन्त्र, संविधान र राष्ट्रियता जोगाउन अग्रस्थानमा रहेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत, एमाले केन्द्रीय सदस्यहरू सोम मिश्र, निर्मल भट्टराई, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेश स्वास्थ्यमन्त्री किरण थापालगायतले महाधिवेशन भव्य र सव्य रूपमा सम्पन्न गर्नेगरी तयारी भइरहेको बताउनुभएको थियो ।

चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित ,धाराको पानीमा हिउँ जम्ने थाल्यो

मुस्ताङ, २० मङ्सिरः अत्यधिक चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो महशुस गरिए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासी तथा सुरक्षा निकाय र कर्मचारीको दैनिक जनजीवन कष्ठकर बन्न थालेको छ ।

माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण सिँचाइ कुलो, घरघरका धाराको पानी, शौचालयको सेफ्टी ट्याङ्की र शाखा नदीमा हिउँ जम्ने गरेको बताउनुभयो ।

वडाध्यक्ष गुरुङले भन्नुभयो, “धाराबाट पानी झर्न बन्द भयो, दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ ।” घाम नलागेको अवस्थामा सिँचाइ कुलोको पानी ग्यास वा आगोमा तताएर खानुपर्ने बाध्यता रहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वडाध्यक्ष गुरुङले छोसेरमा खानेपानीका तीन ट्याङकी एकसाथ चालु राखिने भए पनि चिसोका कारण खानेपानीमा समस्या आएकाले आलोपालो सञ्चालन गर्न थालिएका बताउनुभयो ।

यसपालि हिउँदयामको चिसो सुरु भएसँगै कात्तिक अगावै माथिल्लो मुस्ताङका अधिकाँश नागरिक बेसी झरेका वडाध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । गतवर्ष नाका पूर्ण रूपमा सञ्चालन नहुँदा यतिबेलासम्म गाउँका शतप्रतिशत नागरिक बेसी झर्ने गरेकामा यसपालि नाकाको व्यापारले करिव तीन सय बढी नागरिक यथास्थानमा बसेका वडाध्यक्ष गुरुङको भनाइइ छ ।

यसैगरी माथिल्लो मुस्ताङको लामान्थाङमा पनि चिसोले नागरिक धमाधम बेसी झर्न थालेका स्थानीय पर्यटन व्वयसायी राम गुरुङले जानकारी दिनुभयो । लोमान्थाङमा पर्यटक लक्षित करिव दुई दर्जन बढी होटल सञ्चालनमा रहेकामा दुइतिहाई बढी होटल बन्द गरी बेसी झरिसकेको पर्यटन व्यवसायी गुरुङको भनाइ छ । लोमान्थाङमा एक हप्ताभित्र सञ्चालनमा रहेका होटल पनि चिसोका कारण बन्द हुने बताउनुभयो ।

“माथिल्लो मुस्ताङमा न्यून पर्यटक आइरहेका छन्, तर चिसोले जाडो छल्न स्थानीय बेसी झरिसके र झर्ने क्रममा छन”, पर्यटन व्यवसायी गुरुङले भन्नुभयो, “स्थानीयवासी र पर्यटन व्यवसायी दुई महिनाका लागि धमाधम होटल बन्द गरेर बेसी झर्दैछन्, यहाँको जनजीवन पनि निकै कष्टकर भइरहेको छ ।”

माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण सिँचाइ कुलो जमेर घाम लाग्दा सिँचाइको पानी बाहिर बग्ने भएको र यसले विपद् निम्त्याउन सक्ने भएकाले सिँचाइको पानीको मुहान बन्द गरिएको लोमान्थाङका वडाध्यक्ष ढुक्के विष्टले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण विकास निर्माणलगायतका काम पुरै रोकिएका वडाध्यक्ष विष्टको भनाइ छ ।

माथिल्लो मुस्ताङमा अत्यधिक चिसो बढेपनि माथिल्लो मुस्ताङका प्रहरी एकाइ बेसीमा मर्ज नहुने जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कोरलानाका सञ्चालनमा रहेका र भन्सार कार्यालयसमेत सञ्चालनमा रहेकाले सुरक्षा निकायले यथास्थान छोडेर जिल्ला मर्ज गर्न योजना नरहेको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार लोमान्थाङ गाउँपालिका अन्तर्गतका लोमान्थाङ, छोसेर र छोनुप र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गत चराङ, घमी र सुर्खाङका प्रहरी एकाइहरु हिउँदयामसमेत सोही स्थानमा रहेर सुरक्षा प्रदान गर्ने प्रहरी निरीक्षक बस्यालले बताउनुभयो । “भारी हिमपात र कुनै त्यस्तो विषम अवस्था आए मात्रै हामीले त्यहाँका एकाइलाई तल झाछौँ, चिसोकै कारण भनेर त्यहाँका प्रहरी एकाइलाई तल झार्ने कुनै योजना छैन”, प्रहरी निरीक्षक बस्यालले भन्नुभयो ।

मर्मतका लागि कान्ति राजमार्ग आजदेखि २ महिनासम्म दिनभर बन्द

काठमाडौँ, २० मङ्सिरः आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म बन्द हुने छ ।

आगामी दुई महिनासम्म सवारी साधन सबै बन्द गरेर मर्मत एवम् विस्तारको काम अगाडि बढाउन लागिएको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । सो अवधिभर कान्ति राजमार्ग हुँदै यात्रा गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गर्न तथा गराउन आग्रह गरिएको छ ।

एनपिएलमा आज दुई खेल हुँदै, सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै

काठमाडौँ, २० मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् ।दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार÷चार अङ्क मात्रै रहेको छ ।

जुम्ला र कालीकोट सिमानामा निर्माण हुने तिला जलविद्युत्को लागत सात अर्ब

जुम्ला, २० मङ्सिरः जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माणहुने तिला जलविद्युत्को ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ ।

तिला गाउँपालिका–१ र ७ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदन उपर सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको तिला जलविद्युत् आयोजनाका परामर्शदाता तथा वातारणविद् सुरेन्द्रदेव भट्टले जानकारी दिनुभयो । तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चारवर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माणहुने प्रस्ताविक आयोजनाको डिजाइन डिस्चार्ज ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातारणविद् भट्टको भनाइ छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नाँप जाँच २०७८ सालमा स्वीकृत भएको हो । आयोजना सञ्चालनबाट प्राप्तहुने रोजगारी, रोयल्टी, शेयर, सामुदायिक सहयोग कार्यक्रम तथा स्थानीय जनताको व्यापार व्यवसायबाट आयआर्जन गर्न जस्ता अनुकूल प्रभावहुने भएकोले समग्रमा यस आयोजनाबाट स्थानीय स्तरदेखि राष्ट्रियस्तरसम्म लाभ पूग्ने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।

उत्पादन भएको विद्युत्लाई १३२ केभी सिङ्गल सर्किटको प्रशारण लाइनमार्फत जुम्ला बजारमाको सबस्टेशनमा लगेर जोडिने छ । विद्युत् गृहबाट निष्कासन भएको पानीलाई २५ मिटर लामो टेलरेस टनेलद्धारा पुनःतिला नदीमा छोडिने छ । आयोजनाका सम्पूर्ण संरचना तिला नदीको बायाँ किनारमा रहनेछन् । आयोजना कुल लागत नेपाल सरकारको रु सात अर्ब ५६ करोड ७४ लाख लाग्ने अनुमान गरिएको विद्युत् विकास विभागका उपसचिव गोपिप्रसाद शाहले जानकारी दिनुभयो ।

आयोजनाबाट उत्पादन भएको विद्युत्् ३० दशमलव २० किमि लामो र १३२ केभी सिङ्गल सर्किट प्रशारण लाइनमार्फत जुम्ला बजारमा जोडिने छ । आयोजना निर्माण गर्नका लागि कुल ७ दशमलव ५८५ हेक्टर जग्गा आवश्यक पर्ने छ । जसमा वन क्षेत्रको जग्गा ४ दशमलव ७७२ हेक्टर र नीजी जग्गा २ दशमलव ८१३ हेक्टर रहेको विभागको उपसचिव शाहको भनाइ छ । स्थानीयलाई रोजगारीमा विशेष प्रथामिकता दिइने छ । निर्माण अवधिभर स्थानीय जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा व्यपार व्यवसाय गर्न सक्नेछन् । जसले गर्दा यहाँका नागरिकको आयआर्जनमा वृद्धिहुने अपेक्षा राखिएको तिला गाउँपालिका–७ का वडाध्यक्ष खुम्बिलाल रोकायाले जानकारी दिनुभयो ।

आयोजना निर्माण तथा सञ्चालनबाट कुल ३४ घरधूरी प्रत्यक्ष रूपमा प्रभावितहुने देखिन्छ । प्रत्यक्ष प्रभावित घरधूरीको विवरण आयोजना प्रभावित सम्बन्धित वडा कार्यालयमा टाँस गरिएको तिला जलविद्युत् आयोजनाले जनाएको छ । तिला जलविद्युत् आयोजनाको अध्ययन अवधि पुरा भएपछि निर्माणको काम अगाडि बढ्ने आयोजनाले जनाएको छ ।

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताउनुभएको छ ।

निर्वाचनको दिन आउन अब ९० दिन बाँकी रहेको अवस्थामा आज राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले नेपाल सरकारले आयोगको मागबमोजिम आवश्यक सबै प्रबन्ध गरेको अवस्था र आयोगले कार्यतालिका तथा कार्यक्रम प्रकाशन गरी सोही अनुसार काम भइरहेकाले निर्वाचनको वातावरण थप सुनिश्चित भएको बताउनुभयो । उहाँले आजै प्रधानमन्त्री सुशीला कार्कीले डाक्नुभएको राजनीतिक दल, नेपाल सरकारका सम्बन्धित मन्त्री र सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलमा आयोगले निर्वाचनका लागि आयोग तत्पर रहेको स्पष्ट राखेको बताउनुभयो ।

“हामीलाई बजेटको केही अपर्याप्तता थियो । अर्थ मन्त्रालयले माग वा खर्च हुने आधारमा थप रकम पनि निकासा दिने प्रतिबद्धता दिइसकेको छ”, कार्यबाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “अब हामी नियमित कार्यक्रम अघि बढाउँछौँ । यो कुरा हामीले सरकार, राजनीतिक दल र सुरक्षा निकायलाई स्पष्ट भनेका छौँ ।”

निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत यसअघि सुनिश्चित गरिसकेको छ । आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आव्हान गरेको छ । यसअघि यही मङ्सिर १४ गते सम्ममा निर्वाचनमा भाग लिने १२० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् ।

यसैबीच राससले आफ्ना नियमित बुलेटिनमा निर्वाचनको दिनगणना (काउण्टडाउन) सहित समाचार र सामग्रीहरु महत्व दिन थालेकामा आभार व्यक्त गर्दै कार्यबाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण सृजनाका लागि राससजस्ता सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २० मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७९ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९१ पैसा र बिक्रीदर १११ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३२ पैसा र बिक्रीदर २० रुपैयाँ ४१ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७५ पैसा र बिक्रीदर नौ रुपैयाँ ७९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ २६ पैसा र बिक्रीदर १५ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली

काठमाडौँ, २० मङ्सिरः नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा बिद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान आठबजेदेखि मध्यान्न १२ बजेसम्म सो क्षेत्रमा बिजुली कटौतीका लागि आग्रह गरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ ।
मित्रपार्क पशुपति कलेज क्षेत्र, विमानस्थल फिडर अन्तर्गत गर्ने ढल किवास आयोजना, विमानस्थल आर्मी व्यारेकसम्म र बत्तीसपुतली फिडर अन्तर्गत चाबहिल दिर्घायु हस्पिटलदेखि जयवागेश्वरी हुँदै पशुपतिनाथ मन्दिरसम्म विद्युत् आपूर्ति बन्द रहने प्राधिकरणले जनाएको छ ।

यस्तै नयाँ चाबहिल नयाँबस्ती फिडर अन्तर्गत पर्ने मित्रपार्क अगाडि विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले बिहान ७ बजेदेखि आठबजेसम्म चाबहिलचोक र गौरीघाट चोकदेखि नयाँबस्ती पूरै क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

बिजुली आपूर्ति नहुँदा ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति नियमित हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशको हिमाली हल्का वर्षा/हिमपातको सम्भावन

काठमाडौँ, २० मङ्सिर : हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।आज राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौँ, २० मङ्सिरः निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । आयोगले आगामी पुस ११ गते राष्ट्रियसभाको निर्वाचनको मिति तय गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्दै आयोगले निर्देशन दिएको छ ।

निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता भएका राजनीतिक दललाई आवश्यक निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिनुभयो ।

निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवम लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पुर्याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनका लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नुपर्नेछ ।

यस्तै, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि गर्न पाइनेछैन ।

मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्ने, राजनीतिक दलको घोषणा पत्र लगायतका दस्तावेजमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्नुपर्नेछ ।

महिला, दलित वा अल्पसङ्ख्यक समुदायका लागि आरक्षण गरिएका पद बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तिमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्वित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्नुपर्नेछ । राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चितता गर्नुपर्नेछ ।

निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवम कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य नपाइने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवम् प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार गर्न पाइने छैन ।

राजनीतिक दलले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ । राजनीतिक दलले निर्वाचनको प्रचारप्रसार गर्दा निर्वाचनमा लैङ्गिक तथा समावेशीता, निर्वाचनको महत्व र मतदान गर्ने तरीकालगायतका विषयमा मतदातालाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ ।

राजनीतिक पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्ने आचारसंहिता बनाई लागु गर्नुपर्ने र त्यस्तो आचारसंहिता सम्बन्धित दल, दलका पदाधिकारी, सदस्य र कार्यकर्ताले पालना गर्नुपर्नेछ । त्यस्तो आचारसंहिता पालना नगर्ने दलका पदाधिकारी, सदस्य तथा कार्यकर्तालाई दललको विधान बमोजिम कारवाही गर्नुपर्ने भन्ने कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेछ ।

राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गरेपछि त्यसरी पेश गरेको वन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्नुपर्नेछ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवम् जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा बिभिन्न जात,जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिँसात्मककार्य गर्न बन्देज गरिएको छ । सरकारी, सार्वजनिक, सामुदायिक वा नीजि सम्पतिको तोडफोड हानि नोक्सानी वा क्षति पुर्याउने वा पुर्याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने र नगराउने व्यवस्था मिलाउनुपर्नेछ ।

राजनीतिक दलले निर्वाचन घोषणापत्र बनाइ आयोगमा पेश गर्ने र सो घोषणापत्रको आधारमा निर्वाचन प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । राजनीतिक दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउनुपर्नेछ । यस्तै, दलले राजनीतिक वा निर्वाचनसँग सम्बन्धित गतिविधि गर्दा एक दलले अर्को दललाई वाधा अरोध गर्ने, थुनछेक गर्ने वा गराउने, निषेध गर्ने वा गर्न लगाउने जस्ता अलोकतान्त्रिक कार्य गर्न पाइनेछैन ।

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

कास्की, १९ मङ्सिरः पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वल्र्ड टेनिस टुर जुनियर्स जे–३० प्रतियोगिता सञ्चालन भइरहेको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा पुरुष एकलतर्फ कोरियाका युल हो जुङ र श्रीलङ्काका गानुका फर्नान्डो फाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी, महिलातर्फ नेपालकी शिवाली गुरुङ र चाइनिज ताइपेइकी केचि सु उपाधि नजिक पुगेका छन् । पुरुषतर्फ कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेइका टिङ हो याङलाई ३–६, ६–३, ७–६ (१) ले पराजित गरी जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, आजै भएको सेमिफाइनल खेलमा श्रीलङ्काका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेका छन् ।

महिला एकलतर्फ चाइनिज ताइपेइकी सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउकी छिन् भने अर्काे सेमिफाइनलमा नेपालकी गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिकालाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।

प्रतियोगितामा ‘पुरुष डबल्स’तर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्न सफल भएका छन् । महिला डबल्सतर्फ शिवाली गुरुङ र केचि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जितेका छन् ।

जारी प्रतियोगिताको सर्किट–१ अन्तर्गतको फाइनल खेल शनिबार हुने आयोजक कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । यही दुई सातासम्म सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट–१ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना रहेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, बङ्गलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा हुनेछ ।

प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल

काठमाडौँ, १९ मङ्सिरः राजधानीमा जारी एनपिएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा सुरक्षित भएको छ । आज सम्पन्न जनकपुर बोल्ट्सविरुद्धको खेलमा चार विकेटको जित निकाल्दै लुम्बिनी प्लेअफ पुग्ने अन्तिम टोलीसमेत बनेको छ । चार खेलबाट आठ अङ्क जोड्दै लुम्बिनी प्लेअफ पुग्दा जनकपुरसहित पोखरा र चितवन लिग चरणको अन्तिम खेल्न बाँकी छँदै बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम, काठमाडौँ र विराटनगर प्लेअफमा सुरक्षित भइसकेका छन् ।

आजको जितमा लुम्बिनीका कप्तान रोहित पौडेलले म्याच विनर पारी खेले । उनी प्लेयर अफ दी म्याचसमेत चुनिए । जितसँगै प्लेअफमा पुगेपछि कप्तान रोहित पौडेलले सञ्चारकर्मीसँग उत्साहित भएको प्रतिक्रिया दिए ।

उनले भने, “प्लेअफ पुग्दा एकदमै खुसी छौँ । अबका खेलमा राम्रो गरेर उपाधि जित्छौँ भन्ने लागेको छ ।” आफ्ना लागि कुनै पनि टिम बलियो नरहेको बताउँदै उनले सहज जित निकाल्नेमा विश्वास व्यक्त गरे । उनले भने, “अबका खेलहरू भनेका नकआउट जस्तै हुन् । कुनै पनि टोलीसँग खेल्न हामीलाई गाह्रो हुँदैन ।”जनकपुर बोल्ट्स कप्तान जान निकोल लफ्टि इटनले अन्तिम खेल प्रतिष्ठा, समर्थक र व्यवस्थापनका लागि खेल्ने बताउनुभयो ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ, १९ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी पनि शान्तिपूर्ण, भयरहित वातावणमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । प्रधानमन्त्रीले आज बालुवाटारमा आह्वान गर्नुभएको सर्वदलीय बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग, सुरक्षा निकायका सबै अङ्गलगायत निर्वाचनसँग प्रत्यक्ष जोडिएका राज्यका निकायहरू निर्वाचनका लागि तयार रहेको जनाउँदै प्रतिनिधिसभाको निर्वाचन फागुन २१ भन्दा पछाडि नजाने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, “चुनाव हुन्छ कि हुँदैन भन्ने अब नसोचौँ, कसरी चुनाव सफल पार्ने भनेर सोचौँ, सबैले एकचित्तले सोचेमा चुनाव नहुने कुरै छैन, एक सय २६ वटै दलले चुनाव हुनुपर्छ भन्ने धारणा राख्नुपर्छ । हामी एकमत भयौँ भने निर्वाचनमा कसैले खलल पार्न सक्दैन, खराब तत्वले आक्रमण गर्न सक्दैन ।” उहाँले सुरक्षाको पहिलो कडी जनता नै भएको उल्लेख गर्दै त्यसपछि मात्र प्रहरी, सशस्त्र, भूतपूर्व सुरक्षाकर्मी भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटैमात्र बाटो निर्वाचन हो, यसबाहेक अर्को विकल्प छैन, हामी जेनजी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ, राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरूले बुझ्नुपर्छ”, उहाँले भन्नुभयो, “निर्वाचन आयोगले तत्कालै सक्रिय भएर निर्वाचनको तयारी अघि बढाएको छ, सुरक्षा निकायको प्रस्तुतिले हामी सक्रिय र सक्षम छौँ भनेको छ, सेनाले पनि आफ्नो काम सुरु गरिसकेको छ, प्रहरीले निरन्तर कानुनीराज स्थापनाका लागि काम गरिरहेको छ ।”

प्रधानमन्त्री कार्कीले आज भएको सर्वदलीय बैठकले दलहरू पनि निर्वाचनका लागि तयार रहेको जनाएको उल्लेख गर्नुभयो । “आज जुन भेला भयो, अहिलेसम्मकै महत्त्वपूर्ण हो भन्ने लागेको छ, समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै यहाँ सबैको रह्यो, कहीँकतै आशङ्काका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन् ।”

उहाँले भदौ २३ र २४ गते भएको आन्दोलनको स्मरण गर्दै एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउन दलहरूलाई आग्रह पनि गर्नुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ जुन घटना भयो, त्यसको विश्लेषण, व्याख्या समयक्रममा होला र निचोड पनि आउला, तर यस घटनाले राष्ट्रको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । भइरहेको निर्वाचित र बलियो सरकार परिस्थितिलाई वशमा लिन विफल भयो ।” युवा विद्रोहपछि विकल्पका रूपमा वर्तमान सरकार अन्तरिमकालको व्यवस्थापनका लागि आएको प्रष्ट पार्दै सरकारको विरुद्धमा अदालतबाट अन्तरिम आदेश भएको परिस्थिति फरक हुनसक्ने बताउनुभयो ।

जेनजीदेखि सबै दल, निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाज सबै पक्षसँग निरन्तर र कयौँपटक छलफल गर्दै आएको र आशङ्काहरू निवारण गर्दै आएको उहाँको भनाइ छ । “मुलुकप्रति हामी सबैको दायित्व छ । मुलुकले एउटा बाटो पाओस्, जेनजी आन्दोलनको मागअनुसार मुलुकले गति र दिशा लेओस्, तर २३ गते निहत्था युवा मारिए, भोलिपल्ट आगजनी भयो । यो कसले किन गरेको, अध्ययनले बताउने नै छ”, उहाँले भन्नुभयो ।

तर, उहाँले आगजनी गर्ने बानी भयो भने भोलि जोकोहीले जोकसैलाई जलाउन सक्ने चिन्ता व्यक्त गर्दै हिंस्रक र हृदयविदारक अवस्थाको सामना गर्नु नपरोस् भनेर सबैले सोच्नुपर्नेमा जोड दिनुभयो । “काठमाडौँमा धेरै क्षति भयो, ललितपुरमा कम भयो । ललितपुरमा किन कम भयो भनेर पनि हेर्नुपर्छ, ललितपुरका जनताले धेरै ठाउँमा विध्वंशको प्रतिकार गरेको देखियो । यसरी खराब तत्वलाई रोक्ने सामथ्र्य पनि समाजमा हुनुपर्छ, हामीले आफ्नै छिमेकी, साथीभाइको घर किन जलाउनबाट जोगाउन सकेनौँ, यो चिन्ताको विषय हो । यसमा हामीले क्षमायाचना पनि गरौँ ।” उहाँले सरकारको कुनै पनि निजी स्वार्थ र आकाङ्क्षा नभएको प्रस्ट पार्दै केही अतिरिक्त प्राप्तिका लागि सरकारले कुनै पनि नगरेको बताउनुभयो ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौँ, १९ मङ्सिर : उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा आज ज्ञापनपत्र बुझाएको छ ।

सो पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा सुरक्षित, गोप्य र सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाउन आयोगसमक्ष माग गरेको हो ।

सो पार्टीले विभिन्न कारण नेपाल बाहिर रहेका मतदातालाई मताधिकार सुनिश्चित गर्न लाखौँ नेपाली र देशभित्रै आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपालीले संविधानको धारा ८४ (५) तथा २०७४ साल चैत ७ गते सर्वोच्च अदालतबाट जारी भएको परमादेशअन्तर्गत प्राप्त मतदान अधिकार व्यवहारमा प्रयोग गर्नुपर्ने माग गरेको प्रवक्ता डा राजु थापाले जानकारी दिनुभयो ।

पार्टीले भनेको छ, “रोजगार, अध्ययन तथा बसोबासको कारण देश बाहिर रहेका लाखौँ नेपाली नागरिक र देशभित्रै मतअधिकारबाट वञ्चित भएका छ्न, उहाँहरुको मतअधिकारको सुनिश्चित गरिनुपर्छ ।” सरकार र राज्यका सरोकारवाला निकायले आगामी फागुन २१ गते हुने निर्वाचन गतिविधिलाई तीव्रता दिएका छन् ।

कृषि क्षेत्रको विकासका लागि सरकारले कृषियोग्य जमिन छुट्याउने

काठमाडौँ, १९ मङ्सिर : सरकारले कृषि क्षेत्रको विकासका लागि कृषियोग्य जमिन छुट्याउने भएको छ । कृषियोग्य जमिनको संरक्षणका लागि कृषि र गैरकृषि जग्गा वर्गीकरण गर्न लागिएको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको हो ।

सबै स्थानीय तहले जग्गाको कित्तागत विवरण सहितको भूउपयोग क्षेत्र वर्गीकरण गरी मन्त्रालयमा विवरण पठाउन परिपत्र गरिएको छ । मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले कृषि र गैरकृषि जग्गाको वर्गीकरण छिट्टै भएमा त्यसको आधारमा कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि र खाद्य सुरक्षाको प्रत्याभूति गर्न सहज हुने जानकारी दिनुभयो ।

सरकारले हालै गरेको भूउपयोग नियमावली तेस्रो संशोधनमा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार दिइएको छ । स्थानीय तहको हरेक कित्ता जग्गा कृषियोग्य भए÷नभएको छुट्याएर वर्गीकरण गरिने छ ।

जमिनलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन तथा जङ्गल, सांस्कृतिक तथा पुरातात्विकलगायतको आधारमा वर्गीकरण गरिने जनाइएको छ । व्यवस्थित सहरीकरण र सुरक्षित आवासको व्यवस्थापन तथा पूर्वाधार विकास, प्राकृतिक स्रोतसाधनको संरक्षणका लागि आवश्यक योजना निर्माण गर्न सकिने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल

काठमाडौँ, १९ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले स्वास्थ्य बिमा सुधार गर्नका लागि गर्नुपर्ने पहलबारे सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज उहाँले सामाजिक सुरक्षा कोष र स्वास्थ्य बिमा बोर्डका पदाधिकारीसँग स्वास्थ्य बिमा सुधारका लागि गर्नुपर्ने पहलका सम्बन्धमा छलफल गर्नुभएको हो ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले छलफलमा सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित कार्यक्रमको असल अभ्यास र समस्याबारे छलफल भएको जानकारी दिनुभयो । “नेपालमा स्वास्थ्य बिमाको पहुँच र गुणस्तर बढाउन मन्त्रालय, कोष र बोर्डबीच सहकार्यका विषयमा गहन छलफल भएको छ । जसले स्वास्थ्य बिमामा थप सुधारका लागि मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ”, उहाँले भन्नुभयो ।

छलफलमा मन्त्रालयका सचिवद्वय डिल्लीराम शर्मा र डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागबाट महानिर्देशक डा केशरबहादुर ढकाल, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेलगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थिति थियो ।

संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, १९ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार, प्रमुख राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूको संयुक्त बैठकले निर्वाचनको वातावरण थप बलियो बनेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सर्वपक्षीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले संयुक्त बैठक उपलब्धिपूर्ण रहेको र यसले निर्वाचनको माहोल तयार गरेको उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “संयुक्त बैठकपछि निर्वाचनमा जाने बाटो अझ बलियो बनेको छ । निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरणको सुनिश्चित भएको छ ।”

यसअघिका बैठकहरू द्विपक्षीय र त्रिपक्षीय हुँदै आएकामा निर्वाचनसँग सरोकार भएका सबै सरोकारवालासँग एकै थलोमा भएको बैठक र छलफलले निर्वाचनको माहोल बनेको उहाँको भनाइ छ ।

मन्त्री खरेलले सरकारका तर्फबाट खासगरी संयुक्त सुरक्षाको कार्ययोजना र रणनीति तयार गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिँदै यसैमा केन्द्रित रहेर सम्भावित सुरक्षा चुनौती र व्यवस्थापकीय सरोकारबारे गहन ढङ्गले छलफल भएको बताउनुभयो ।

“विगतका निर्वाचनहरूमा जेजस्ता चुनौतीहरू देखिएका थिए, ‘फेक न्यूज’, ‘मिस इन्फरमेसन’, ‘डिसइन्फरमेसन’बारे खुलेर कुराकानी भएको छ”, उहाँले भन्नुभयो, “यी सवालमा सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा चुनौतीको सामना गर्ने तयारी तथा निर्वाचनको सुरक्षाको सम्पूर्ण वातावरण बनाउन सरकारको प्रतिबद्धता पनि आएको छ । केही दलले सुरक्षालगायतको वातावरण बनाउन चासो देखाएका छन्, सरकार त्यसप्रति सचेत छ ।”

मन्त्री खरेलले पछिल्लो समय सरकारले निर्वाचनको वातावरणका लागि संवादलाई निरन्तरता दिएको, जनता उत्साहित भएको र राजनीतिक दलहरू पनि निर्वाचनको माहोल बनाउन केन्द्रित रहेको बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले जेनजी सहिद र घाइते परिवारको सरोकारका विषयलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो । फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको सन्दर्भमा आज सरकार, प्रमुख राजनीतिक दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूबीच संयुक्त बैठक भएको हो ।

छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ

घोराही (दाङ), १९ मङ्सिरः जिल्ला प्रहरी कार्यालय दाङले अदालतबाट फैसला भएका तर पक्राउ नपरेका फरार प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तीव्र बनाएको छ । पछिल्लो छ दिनमा जिल्ला प्रहरी कार्यालयले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

यही मङ्सिर १४ देखि १९ गतेसम्म जिल्लाका विभिन्न स्थानबाट १२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका १२ जनाबाट ११ वर्ष १० महिना १० दिन कैद सजाय भुक्तान हुन बाँकी छ भने रु २३ हजार ५२ जरिवाना असुलउपर गर्नुपर्ने छ । सोही कारणले निजहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न खोला तथा नदीहरूबाट अवैध नदीजन्य वस्तु उत्खनन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिने तथा जरिवाना तिराउने कार्यक्रमलाई पनि तीव्रता दिएको छ । मङ्सिर १ देखि मङ्सिर १९ गतेसम्म जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा ढुङ्गा, बालुवा उत्खनन गर्ने १८ वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ वटा ट्याक्टर कारबाहीमा पर्दा रु दुई लाख २० हजार, तीनवटा टिपटरबाट रु एक लाख २७ हजार ५४०, दुईवटा जेसिबीबाट रु ९० हजार जरिवाना सङ्कलन गरिएको छ । कारबाहीमा परेका १८ सवारीसाधनका धनीबाट जरिवाना लिएपश्चात् सम्बन्धित व्यक्तिको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

रुस भारतका लागि ऊर्जाको भरपर्दो आपूर्तिकर्ता हुनेछ : राष्ट्रपति पुटिन

भारतको द्रुत बृद्धि भइरहेको अर्थतन्त्रका लागि रूस एक स्थिर र निर्बाध आपूर्तिकर्ता रहने घोषणा भारत भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताउनुभएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त प्रेस सम्बोधनका क्रममा उहाँले भन्नुभयो, “रुसले ऊर्जाको क्षेत्रमा भारतसँग सफल साझेदारीको सम्भावना देखिरहेको छ । भारतको ऊर्जाको विकासका लागि आवश्यक तेल, ग्यास, कोइला र सबै चीजको भरपर्दो आपूर्ति रूसले गर्नेछ । हामी द्रुत बृद्धि भइरहेको भारतीय अर्थव्यवस्थाको लागि इन्धनको निर्बाध ढुवानी जारी राख्न तयार छौँ।

परम्परागत इन्धन सहयोगभन्दा धेरै क्षेत्रमा सहयोग विस्तार भइरहेको छ । पहिले नै भइरहेको प्रमुख संयुक्त आणविक ऊर्जा पहलको प्रकाश पार्दै उहाँले भन्नुभयो, “रूसले ‘भारतमा सबैभन्दा ठूलो आणविक ऊर्जा प्लान्ट निर्माण गर्न एक प्रमुख परियोजना’ सञ्चालन गरिरहेको छ।”

उहाँले थप्नुभयो, “दुबै देशहरूले ‘साना ‘मोड्युलर रिएक्टर’हरू र तैरिरहेका आणविक ऊर्जा प्लान्टहरूको निर्माण, र आणविक प्रविधिहरूको गैर–ऊर्जा अनुप्रयोगका लागि चिकित्सा वा कृषिमा पनि अन्वेषण गर्न सक्ने सम्भावनाको उद्घोष गर्नुभयो ।”

उहाँले ‘उद्योग, मेशिन निर्माण, डिजिटल प्रविधि, अन्तरिक्ष अन्वेषण र अन्य विज्ञानको क्षेत्रमा गहन सम्भावनाबारे’ पहल गर्दै उच्च प्रविधि र औद्योगिक क्षेत्र’हरूमा बढ्दो सहयोगमा पनि लगानी भइरहेको र यसलाई विकास गरिने बताउनुभयो ।

उहाँले थप्नुभयो,“रूसले भारतको घरेलु उत्पादन ढाँचामा आफ्नो भूमिका विस्तार गर्नेछ । “रूसले मेक इन इन्डिया कार्यक्रमको ढाँचामा औद्योगिक उत्पादनहरूको उत्पादन पनि स्थापित गर्नेछ, जुन प्रधानमन्त्री मोदीको पहिचानको प्रतिष्ठित परियोजना हो।

रणनीतिक र आर्थिक सम्बन्धबाहेक दुई देशबीचको सांस्कृतिक र मानवीय सम्बन्धको गहिराइलाई प्रकाश पार्दै पुटिनले भन्नुभयो, “सहयोग ‘बहुआयामी’ छ र भारतीय र रूसी जनता ‘शताब्दीयौँदेखि एक अर्काको परम्परा, इतिहास र आध्यात्मिक मूल्यहरूमा इमानदारीपूर्वक चासो राख्छन्।”उहाँले युवा र जनताबीच वैज्ञानिक र शैक्षिक सम्पर्क र आदानप्रदान पनि सक्रिय रूपमा विकसित भइरहेको बताउनुभएको छ।

युक्रेनी शान्तिको लागि आफ्नो योगदानका लागि भारत तत्परः प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन मुद्दामा शान्तिका लागि भारतले गरेको वकालत दोहो¥याउनुभएको छ । यस मुद्दाको शान्तिपूर्ण समाधानका लागि गरिएका सबै प्रयासको भारतले स्वागत गरेको उहाँले बताउनुभएको छ।

रूसी राष्ट्रपति पुटिनको भारत भ्रमणपछि जारी संयुक्त प्रेस वक्तव्यमा उहाँले भन्नुभयो, “भारतले सुरुदेखि नै युक्रेनको मुद्दामा शान्तिको वकालत गर्दै आएको छ । हामी यस मामिलाको शान्तिपूर्ण र स्थायी समाधानको लागि गरिएका सबै प्रयासहरूको स्वागत गर्दछाँैं। भारत आफ्नो योगदान दिन सधैँ तयार छ र भविष्यमा पनि रहनेछ।”

उहाँले भन्नुभयो, “भारत र रुस आतङ्कवादविरुद्धको लडाइँमा लामो समयदेखि काँधमा काँध मिलाएर उभिएका छन् । पहलगाममा भएको आतंकवादी आक्रमण होस् वा क्रोकस सिटी हलमा कायरतापूर्ण आक्रमण होस्, यी सबै घटनाको जड एउटै हो । भारतको अटल विश्वास यो छ कि आतङ्कवाद मानवताको मूल्यहरूमाथिको प्रत्यक्ष आक्रमण हो र यसको विरुद्ध विश्वव्यापी एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो।”

प्रधानमन्त्री मोदीले भन्नुभयो, “मलाई पूर्ण विश्वास छ आगामी दिनमा हाम्रो मित्रताले हामीलाई विश्वव्यापी चुनौतीहरूको सामना गर्न शक्ति दिनेछ र यही विश्वासले हाम्रो साझा भविष्यलाई समृद्ध बनाउनेछ।”

यसअघि राष्ट्रपति पुटिनसँगको द्विपक्षीय भेटका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रिय राजधानीमा रूसी राष्ट्रपति पुटिनसँग द्विपक्षीय शिखर सम्मेलनमा आफ्नो उद्घाटन मन्तव्यमा भारत युक्रेनी शान्तिको पक्षमा उभिएको साथै युद्धबारे भारतको मत तटस्थ नरहेको बताउनुभएको थियो ।

उहाँले भन्नुभयो, “हालैका दिनहरूमा मैले विश्व समुदायका नेताहरूसँग युक्रेनबारे व्यापक छलफल गरेको छु, मैले सधैं भनेको छु कि भारत युद्धबारे तटस्थ छैन। भारतको स्पष्ट अडान छ र त्यो अडान शान्तिको पक्षमा छ । हामी शान्तिको लागि हरेक प्रयासको समर्थन गर्दछौँ। भारत शान्तिको पक्षमा छ र विश्व शान्तिमा फर्कनु पर्छ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको संयुक्त वक्तव्यमा प्रधान मन्त्री नरेन्द्र मोदीले भारत–रुस सम्बन्धलाई गहिरो बनाउनमा पुटिनको दूरदर्शी नेतृत्वको प्रशंसा गर्नुभयो र विश्वव्यापी चुनौतीहरूको बाबजुद मित्रता दृढ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशहरूले सन् २०३० सम्म ‘आर्थिक सहयोग कार्यक्रम’ को बारेमा छलफल गरेका छन् र ‘यूरेसियन इकोनोमिक युनियन’ सँग स्वतन्त्र व्यापार सम्झौतालाई छिटो निष्कर्षमा पुर्याउने दिशामा काम गरिरहेका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि पुटिन चार वर्षपछि पहिलो पटक भारत भ्रमणमा आउन लाग्नुभएको हो ।”

कांग्रेस सुधारका लागि ४० वर्ष मुनिका युवाले तोके ७७ जिल्ला संयोजक

काठमाडौँ, १९ मङ्सिरः नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले ७७ वटै जिल्लामा जिल्ला संयोजक चयन गरेको छ । कांग्रेस सुधार अभियानले ४० वर्ष मुनिका नवयुवालाई पार्टीभित्र आकर्षण गराउनका लागि आज ७७ वटै जिल्लामा संयोजक तोकेको हो ।

अभियानका संयोजक शिव रिमालले पार्टीभित्रका हरेक तहमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताउनुभयो । “पार्टीको तर्फबाट केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अभियानको मुख्य माग र उद्देश्य हो”, उहाँले भन्नुभयो ।

अभियानमार्फत भ्रष्टाचारका विरुद्धमा खबरदारी गर्दै सुशासन कायम गर्ने, पार्टीको तर्फबाट हरेक निकायको निर्वाचनमा उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था गराउने भएको छ । यसैगरी, लोकतन्त्रको संरक्षण र संवर्द्घनका लागि खबरदारी, नयाँ बहस र पैरवी गर्न सबै जिल्लाका संयोजक तोकिएको रिमालले जानकारी दिनुभयो ।

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार

काठमाडौँ, १९ मङ्सिरः कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँकोजस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान भएकाले त्यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताउनुभएको छ । बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले माटो कृषि उत्पादनको प्रमुख साधन हुनुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनको महत्त्वपूर्ण अवयव भएकाले यसको संरक्षणसँगै गुणस्तर अभिवृद्धि गर्नु जरुरी रहेकामा जोड दिनुभयो । “खेती हुने गाउँको माटोजस्तै सहरको माटो पनि मूल्यवान छ । त्यसैले यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि गर्नतर्फ सबै केन्द्रित हुनुपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

मन्त्री परियारले व्यावसायिक र सघन खेती प्रणाली अवलम्बन गरिँदा नेपालको अधिकांश माटो अम्लीय हुन गएको उल्लेख गर्दै विशेषगरी पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको जानकारी दिनुभयो । अम्लीय माटोको उर्वराशक्ति घट्न गई उत्पाकत्वमा ह्रास आउने उहाँको भनाइ छ ।

उत्पादन बढाउन र माटोको संरक्षणका लागि उर्वराशक्ति बढाउनुपर्नेमा जोड दिँदै माटोको सही उपयोगमार्फत दिगो कृषि उत्पादन वृद्धि गर्नुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलन गर्नका लागि माटो स्वास्थ बनाउन, सुधार गर्न र संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल तथा अत्यधिक विषादीको प्रयोग, अव्यवस्थित खेती गरिनु तथा सहरमा अत्यधिक प्लाष्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहर चुनौतीका रूपमा रहेका मन्त्री परियारले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसबाहेक बढ्दो सहरीकरणले खुला क्षेत्र माटो, कङ्क्रिट र सडकले ढाकिँदैछ, जसले माटोको पानी सोस्नुका साथै बिरुवा उमार्ने क्षमता कम हुँदै जान्छ । यही कारणले हाम्रो माटोको गुणस्तरमा ह्रास आएको हो ।”

मन्त्री परियारले नक्सालाई अद्यावधिक गर्ने कार्य भइरहेको बताउँदै त्यसबाट किसानले आफ्नो जमिन र माटोको खाद्यतत्वको अवस्था जानकारी लिइ सोबमोजिम सन्तुलित मलखाद प्रयोग गर्नसक्ने बताउनुभयो । मन्त्रालयले सरोकार भएका निकायसँगको समन्वयमा माटो परीक्षण, सन्तुलित मलखाद प्रयोगलगायत विषयमा प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि गर्ने, रासायनिक र प्राङ्गारिक मलको सही प्रयोग एवं नियमनसम्बन्धी कार्यहरू नियमित गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

एनपिएलः लुम्बिनी प्लेअफ पुग्यो, जनकपुर, पोखरा र चितवन बाहिरिए

काठमाडौँ, १९ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स प्लेअफमा पुग्ने अन्तिम टोली बनेको छ । आजको खेलमा लुम्बिनीले जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्लेअफमा पुगेको हो ।

लुम्बिनी प्लेअफ पुग्दा जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज एक खेल अगावै खेलबाट बाहिरिएका छन् । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित भइसकेका छन् ।

आजको खेलमा जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९ दशमलव पाँच ओभरमा छ विकेटको क्षतिमा भेट्टाएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन हिर्काएका छन् । बलिङमा जनकपुरका सङ्गीथ कुरेले तीन विकेट लिए ।

यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेकामा जनकपुरले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३२ रन बनाएको थियो । जनकपुरका लागि सङ्गीथ कुरेले सर्वाधिक ४५, मयन यादवले २७, आशिफ शेखले २० रनको योगदान गरेका छन् । लुम्बिनीका कप्तान पौडेल र शेर मल्लले समान दुई/दुई विकेट झारे ।

उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट

काठमाडौँ, १९ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा शुभकामना आदानप्रदानपश्चात सार्क मुलुकहरूमा पछिल्लो राजनीतिक विकासक्रम र क्षेत्रीय सहयोगलगायत बहुआयामिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र तथा सार्क सचिवालय नेपालमा रहेको सन्दर्भमा महासचिवको जिम्मेवारी निर्वाह गर्ने कार्यमा नेपाल सरकारको पूर्ण सहयोग रहने बताउनुभयो । उहाँले यस वर्ष सार्क चार्टर हस्ताक्षर भएको ४०औँ वार्षिकोत्सवको विशेष अवसरमा महासचिवलाई बधाई दिँदै विगतको लामो यात्रामा सार्कले धेरै चुनौती पार गर्दै आजको अवस्थामा आइपुगेको र यस संस्थाप्रति दक्षिण एसियाका जनमानसको ठूलो अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

उपराष्ट्रपति यादवले पछिल्लो राजनीतिक विकासक्रमबारे उल्लेख गर्दै उपराष्ट्रपति यादवले नेपालमा गत सेप्टेम्बरमा भएको ‘जेनजी’ आन्दोलनपश्चात देश आमनिर्वाचनतर्फ अग्रसर रहेको र सरकारको मुख्य प्राथमिकता आगामी मार्चमा हुने निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरी जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरणमा केन्द्रित रहेको बताउनुभयो ।

क्षेत्रीय सहयोगका विषयमा उपराष्ट्रपति यादवले सन् १९८५ मा स्थापना भएको सार्कले विगत ३७ वर्षमा आपसी सहयोगका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको र सङ्गठनात्मक तथा कानुनी संरचना विकास भएको बताउनुभयो । नेपाल सार्क बडापत्रमा अन्तरनिहित सिद्धान्त र लक्ष्यप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले दक्षिण एसियाली क्षेत्रको आर्थिक वृद्धि, सामाजिक प्रगति तथा सांस्कृतिक विकासलाई तीव्रता दिन सार्क प्रभावकारी माध्यम हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले एक अर्ब ७० करोडभन्दा बढी जनताको आशा सार्कको प्रभावकारितामा रहेको भन्दै सदस्य राष्ट्रहरूले यसलाई गतिशील र परिणाममुखी बनाउन प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले १९औँ सार्क शिखर सम्मेलन आयोजना गर्नमा भएको ढिलाइले सार्कको कार्यमा असर परेको उल्लेख गर्दै सदस्य राष्ट्रहरूले अवरुद्ध सम्मेलन छिट्टै आयोजना गर्न सहमति जुट्नेमा आफू आशावादी रहेको बताउनुभयो ।

उपराष्ट्रपति यादवले नेपाल सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा सदस्य राष्ट्रबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्णरूपमा प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले सार्कका उच्च बैठकहरू नभए पनि सार्कका क्रियाशील संयन्त्र तथा विभिन्न केन्द्रहरूलाई सार्कको मर्मअनुरूप क्षेत्रीय सहयोग अभिवृद्धिमा उपयोग गर्न महासचिवको विशेष ध्यान जाने अपेक्षा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले सार्क प्रक्रियालाई अगाडि बढाउने सम्बन्धमा आफ्ना विचार र योजनाहरू व्यक्त गर्नुभएकोमा महासचिवलाई धन्यवाद दिँदै उहाँको सक्षम नेतृत्वले सार्कलाई थप सक्रिय बनाउन र क्षेत्रीय चुनौतीको सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । महासचिव सरवरले उपराष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्दै सार्क प्रक्रियालाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको सहकार्य अपरिहार्य रहेको र नेपाल सरकारको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

निर्वाचन आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ, १९ मङ्सिर : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै सुशासन कायम गर्न राजनीतिक दललाई आज निर्देशन दिएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम दर्ता कायम रहेका राजनीतिक दललाई आज निर्देशन दिएको हो । नेपालको संविधानको मौलिक हकको कार्यान्वयनसम्बन्धी व्यवस्थालाई स्मरण गरी निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचनमा प्रत्येक दलले प्रत्यक्षतर्फ उम्मेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्ने एवं लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवार मनोनयनको व्यवस्था गर्नलगायत विषयमा आयोगले दिएको सहायक प्रवक्ता प्रकाश न्यौपानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रत्येक राजनीतिक दलले दिगो विकासको लक्ष्यलाई ध्यानमा राखी सन् २०३० सम्म संसद्मा ४० प्रतिशत महिला प्रतिनिधित्व पु¥याउने नीति अख्तियार गर्ने विषयको प्रभावकारी कार्यान्वयनको लागि लैङ्गिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनेगरी उम्मेदवार मनोनयनको व्यवस्था गर्न, राजनीतिक दलले निर्वाचनसँग सम्बन्धित क्रियाकलाप सञ्चालन गर्दा नेपालको संविधानप्रति निष्ठावान रही विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिन आयोगले भनेको छ ।

निर्वाचनमा प्रयोग हुने मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्न, राजनीतिक दलको घोषणापत्रलगायत दस्तावेजहरूमा लैङ्गिक तथा समावेशीसम्बन्धी व्यवस्थालाई उचित सम्बोधन गर्न, महिला, दलित वा अल्पसङ्ख्यक समुदायको लागि आरक्षण गरिएका पदहरू बाहेकका पदमा उम्मेदवार मनोनयन गर्दा कम्तीमा एक तिहाई महिला र नेपालको सामाजिक विविधता प्रतिविम्बित हुने गरी समानुपातिक समावेशी सिद्धान्तका आधारमा उम्मेदवार मनोनयन गर्न आयोगले निर्देशन दिएको छ ।

राजनीतिक दलले आफ्ना सदस्यहरूलाई लैङ्गिक तथा समावेशिताका सवालहरूमा संवेदनशील बनाउन आवश्यक सहजीकरण तथा प्रशिक्षणको व्यवस्था गर्ने।साथै तालिम तथा प्रशिक्षणका पाठ्यक्रम, पाठ्यसामग्री, निर्वाचनसम्बन्धी स्रोत सामग्री तयार गर्दा तथा कार्यक्रमस्थल छनोट गर्दा लैङ्गिक तथा अपाङ्गमैत्री र समावेशी बनाउन आग्रह गरिएको छ ।

राजनीतिक दलबाट सञ्चालन गरिने प्रशिक्षण, गोष्ठी, तालिम, सेमिनार, छलफल तथा अन्तरक्रिया आदि कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्गको सहभागितालाई सुनिश्चित गर्न, कुनै कार्यक्रममा महिला, समावेशी समूह तथा लक्षित वर्ग, क्षेत्र र समुदायको सहभागिता र प्रतिनिधित्व हुनेगरी कार्यक्रम सञ्चालन गर्न, निर्वाचन प्रचारप्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवं समावेशी समूह वा अन्य कुनै पनि उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्र हत्याका प्रयास गर्ने एवं कमजोरी देखाउने जस्ता विभेदजन्य कार्य हुन नदिन सम्पूर्ण सतर्कता अपनाउन आयोगले निर्देशन दिएको छ ।

ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा अपाङ्गता भएका व्यक्तिहरूको भावना, इज्जत, चरित्र एवं प्रतिष्ठामा आँच आउन सक्ने, आत्मसम्मानमा चोट पुग्ने प्रकारले कुनै किसिमको प्रचारप्रसार नहुने कुराको सुनिश्चितता प्रदान गर्न, सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषामा महिला तथा समावेशी समूहका व्यक्तिको भावनामा नकारात्मक असर पर्ने गरी गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नहुने कुराको सुनिश्चितता गर्न, निर्वाचनमा लैङ्गिक तथा समावेशिता, निर्वाचनको महत्व र मतदान गर्ने तरिकालगायत विषयमा मतदाताहरूलाई सुसूचित गर्ने गरी आवश्यक व्यवस्था मिलाउन आयोगले स्मरण गराएको छ ।

यसैगरी निर्वाचन आचारसंहिताको पालना गर्न, समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रममा उल्लिखित समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गरेपछि त्यसरी पेस गरेको बन्दसूची सम्बन्धित दलले सार्वजनिक गर्ने व्यवस्था मिलाउने भनिएको छ । राजनीतिक दलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पार्ने एवं जातीय वा साम्प्रदायिक विद्धेष फैलाउने वा विभिन्न जात, जाति, धर्म र सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पार्ने जस्ता हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने, सरकारी, सार्वजनिक, सामुदायिक वा निजी सम्पतिको तोडफोड हानी नोक्सानी वा क्षति पु¥याउने वा पु¥याउन लगाउने तथा सार्वजनिक नैतिकताको प्रतिकूल हुने कार्य गर्नेलगायत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २१ मा उल्लेख भएका निषेधित कुनै पनि कार्य नगर्ने र नगराउने व्यवस्था गर्न आयोगले भनेको छ ।

मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ, १९ मङ्सिर : यहाँको नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ–२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु चार अर्ब ४१ करोड राजस्व सङ्कलन गरेको छ । बाढीपहिरो र नदी कटानका कारण गत असार र भदौमा रसुवागढी नाका र तातोपानी नाका अवरुद्ध भएपछि कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएसँगै यहाँको भन्सार कार्यालयको राजस्व सङ्कलनमा नयाँ उभार आएको हो ।

यहाँस्थित नेपाल–चीन मुस्ताङ भन्सार कार्यालयमार्फत रु नौ अर्ब ४८ करोड ३४ लाख बराबरको आर्थिक कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिनुभयो । गत ३० भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएका यहाँको कोरला नाकाबाट बिहीबारसम्ममा चीनतर्फबाट रु नौ अर्ब ३४ करोड बढीको मालसामान आयात भएका कार्यालयका सूचना अधिकारी सिंहले बताउनुभयो । उहाँका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारबाट जाँचपास भई आएका विद्युतीय सवारीसाधन र मालबस्तु कन्टेनर ढुवानीका साधन भित्रिएका र तीनको यहाँको भन्सारमा जाँचपास गरेर गन्तव्यतर्फ पठाइने गरिएको बताउनुभयो ।

यसैगरी नेपालबाट हस्तकलालगायत मालवस्तुको चीनतर्फ निर्यात प्रयोजनका लागि भन्सार जाँचपास गर्दा रु १४ करोड ३४ लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकारी सिंहको भनाइ छ । यहाँको कोरला नाका पूर्णरूपमा सञ्चालनमा आएपछि गएको साँढे दुई महिनाको अवधिमा यहाँको भन्सार कार्यालयमा एक हजार ७६१ वटा विद्युतीय सवारीसाधनको जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेका मुस्ताङ भन्सारले जनाएको छ । हालसम्म एक हजार बढी ढुवानीका साधनको भन्सार जाँचपास भइसकेका छन् ।

यहाँको मुस्ताङ भन्सार कार्यालयमा अझै १०० भन्दा बढी मालबाहक ढुवानीका साधन भन्सार जाँचपासको क्रममा रहेका सूचना अधिकारी सिंहले बताउनुभयो । उहाँका अनुसार कोरला नाकास्थित चिनियाँ भन्सारमा मालसामान ढुवानीका लागि करिब एक दर्जन बढी ढुवानीका साधन पुगेका र आंशिक रूपमा कोरला सडक हुँदै ढुवानीका साधन माथि आउने क्रममा रहेका सूचना अधिकारी सिंहले जानकारी दिनुभयो ।

यहाँको भन्सार कार्यालयमा १८ जनाको कर्मचारी दरबन्दी सृजना गरेको जनाइएको छ । यसअघि एक जना शाखा अधिकृत कार्यालय प्रमुख रहनेगरी सात जना दरबन्दी कायम रहेकामा उपसचिवस्तरको कार्यालय प्रमुख रहनेगरी १८ जनाको कर्मचारी दरबन्दी सृजना भएको मुस्ताङ भन्सारका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिनुभयो ।

भन्सार विभागले यहाँको भन्सारका लागि उपसचिवस्तरको एक जना कार्यालय प्रमुखसहित दुई जना शाखा अधिकृत, छ जना राजस्व हेर्ने नायब सुब्बा, एक/एक जना लेखपाल र कम्प्युटर अपरेटर, एक जना सवारी चालक र छ जना कार्यालय सहयोगीको दरबन्दी सृजना गरेको हो ।

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ, १९ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २७ गतेबाट सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभएको छ ।

उहाँले एक सार्वजनिक अपिलमार्फत राष्ट्रियता, लोकतान्त्रिक प्रणाली र सुशासनको पक्षमा एमालेलाई ७७ वर्षको जनयात्रामा सदैव जनताको साथमा उभिएको शक्तिका रूपमा एमाले रहेको उल्लेख गर्नुभएको छ । त्यसैले यस महाधिवेशनमा व्यापक उपस्थितिका लागि उहाँले आह्वान गर्नुभएको छ ।

अध्यक्ष ओलीले हालै प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरिनु, जनादेश प्राप्त सरकार विस्थापित गरिनु, विधिको शासन कमजोर बनाइनु र अराजक समूहहरूको सक्रियता बढ्नु देशको स्थायित्वविरुद्धको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ ।

निर्वाचन घोषणा भए पनि त्यसका पूर्वशर्तका रूपमा आवश्यक निर्भयताको वातावरण निर्माण नभएको उहाँको आरोप छ । “हामीले लोकतन्त्र फर्काउनु छ, राष्ट्रियता तथा संविधानविरुद्धका षड्यन्त्र परास्त गर्नु छ, यस्तो विशेष परिस्थितिमा हुन गइरहेको महाधिवेशनको ऐतिहासिक महत्व छ”, ओलीको अपिलमा उल्लेख छ ।

हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश

बागमती, १९ मङ्सिर : सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।सडक डिभिजन कार्यालय हेटौँडाले मुख्य सडक विस्तारका लागि १५ दिने सूचना जारी गर्दै मङ्सिर २० गतेदेखि सडक सीमाभित्र पर्ने संरचना भत्काउने सूचनाविरुद्ध विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा सर्वाेच्च अदालतले आज अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडाका नाममा आदेश दिएको छ । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सोसमेत खुलाइ यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनिभत्र प्रत्यर्थी नं १, ३, ४, ५ र ६ को हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत र प्रत्यर्थी नं २ को हकमा आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी अदालतले आदेश दिएको छ ।

अदालतले अन्तरिम आदेश माग भएको सन्दर्भमा विचार गर्दा निवेदकहरूको बसोबास र सम्पत्तिको हकको विषय निवेदनमा उठाइ आएकाले विषयवस्तुको प्रकृति हेर्दा अन्तरिम आदेश जारी हुने वा नहुने के हो, दुवै पक्षहरु राखी छलफल गरी निष्कर्षमा पुग्नु मनासिव देखिएको अदालतको आदेशमा उल्लेख छ । छलफलका लागि मङ्सिर २६ गतेको पेशी तोकिएको छभने छलफल भई अन्तरिम आदेश जारी हुने÷नहुने विषय टुङ्गो नलागेसम्म प्रत्यर्थी सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र सडक डिभिजन कार्यालय मकवानपुर हेटौँडाको मिति २०८१ मङ्सिर ५ को सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भनी अदालतको आदेशमा उल्लेख छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्यभागबाट दायाँबायाँ २५–२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।

तोकिएको समयसीमाभित्र धनीले त्यस्तो संरचना नहटाए सडक डिभिजन कार्यालयले भत्काएर हटाउने र त्यसमा लाग्ने सम्पूर्ण लागत खर्च सम्बन्धित व्यक्तिबाटै धनीबाटै असुलउपर गर्ने जनाएको थियो ।

विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ, १९ मङ्सिरः आइसिसी महिला टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । मूलपानीस्थित खेल मैदानमा आजदेखि टोलीको बन्द प्रशिक्षण सुरु भएको हो ।

यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । उक्त टोलीमा इन्दु बर्मा, राजमति ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवी पोदार, पूजा महतो, कविता कुँवर, रुविना क्षेत्री, साना प्रविन, अलिशा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, विन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सिमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी छन् ।

बन्द प्रशिक्षणपछि नेपालको अन्तिम टोली घोषणा हुने क्यानले जनाएको छ । आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देश सहभागी हुँदैछन् । तीमध्ये शीर्ष चार देश सन् २०२६ को जुनमा इङ्ल्याण्डमा हुने महिला टि–२० विश्वकपमा छनोट हुनेछन् ।

ग्लोबल क्वालिफायरमा समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्वाबे छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।

प्रदेशस्तरीय यु–१६ फुटबल : तालवेसी र नेपाल पुलिस सेमिफाइनलमा

दमौली (तनहुँ), १९ मङ्सिर : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय यु–१६ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलबाट तालवेसी मावि र आयोजक नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

मीन माविलाई हराउँदै तालवेसी सेमिफाइनल पुगेको छ । तालवेसीले मीन माविलाई ३–१ गोलले पराजित गरेको छ । तालवेसीका कृष्ण थापाले तीन र मीनका निशान शाहीले एक गोल गरे ।

यस्तै नेपाल आदर्श माविलाई ३–२ गोलले हराउँदै आयोजक नेपाल पुलिस सेमिफाइनल प्रवेश गरेको छ । नेपाल पुलिसका राम क्षेत्रीले दुई र सुजल पराजुलीले एक गोल गरे । नेपाल आदर्शका विधान थापा र अमर गुरुङले एक–एक गोल गरे ।

यस्तै आजै भएको खेलमा ज्ञान बगैँचा बोर्डिङ स्कुलले बाल विद्या सेकेण्डरीलाई ३–१ ले पराजि गरेको छ । यस्तै कञ्चनजङ्घा सेकेण्डरी स्कुलले लिटल गार्डेन बोर्डिङ स्कुललाई २–० ले पराजित गर्यो । ज्ञान बगैँचा र कञ्चनजङ्गा क्वाटरफाइनल प्रवेश गरेको छ ।

विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यसहित मङ्सिर २१ गतेसम्म आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १६ विद्यालयको सहभागिता रहेको छ । खेलभावना विकास, अनुशासन र नेतृत्व क्षमता वृद्धि, प्रदेशका विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउन, उत्कृष्ट खेलाडी पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य रामचन्द्र शाहीले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले नगद रु चार हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही रु दुई हजारका दरले पुरस्कार प्रदान गरिने छ ।

हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौँ, १९ मङ्सिरः स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार अर्जुनचौपारी गाउँपालिकामा एक हजार ९०० मिटर (हाइअल्टिच्यूड) को उचाइमा क्रिकेट रङ्गशालासहित विविध पर्यटन, सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन, सामाजिक सेवामा साझा पहल र अनुभव आदानप्रदान, युवा, महिला तथा पिछडिएको समुदायलाई सशक्त बनाउनेलगायत विषयमा सम्झौता भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

निर्माणाधीन क्रिकेट रङ्गशाला सोही पालिका जन्मथलो भएका चर्चित क्रिक्रेटर सन्दिप लामिछानेको सम्मानमा निर्माण भइरहेको जनाउँदै अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारी उक्त क्रिक्रेट मैदानमा प्रतियोगिता सञ्चालन गरी विश्वमाझ अर्जुनचौपारी चिनाउने तयारी थालिएको बताउनुभयो ।

आर्थिक विकास, कृषि उत्पादन, व्यापार र स्थानीय रोजगारी सिर्जना, दीर्घकालीन सांस्कृतिक, सामाजिक र मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाउने सम्झौतामा उल्लेख छन् । सहकार्यका लागि दुवै पालिकाबाट संयोजकसहित भगिनी सम्बन्ध समन्वय समिति गठन गर्ने, वेबसाइट, सूचना प्रणाली, रिपोर्टमार्फत नियमित जानकारी आदानप्रदान र स्रोत, साधनको परिचालनका साथै प्राविधिक सहयोग गरिने अपिहिमाल गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिनुभयो ।

सम्झौतामा पर्यटन, संस्कृति र धार्मिक सम्पदा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्वनका लागि सहकार्य गरिने छ । अर्जुनचौपारीमा रहेको नेपालको पहिलो नवग्रह मन्दिर र अपिहिमाल पालिकामा रहेको अपिहिमालसहित अन्य पर्यटकीय गन्तव्य, उच्च हिमाली पर्यटन, साहसिक र ट्रेकिङ मार्गको विकास र सुरक्षा, सांस्कृतिक कार्यक्रम, जात्रा तथा उत्सव, मौलिक परम्पराको संरक्षण, प्रवर्द्धन र पर्यटक सुरक्षाका लागि प्राविधिक तालिम, मार्ग र सुविधा विकासमा सहकार्य गरिने सम्झौतापत्रमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरूबीच सहकार्य, समन्वय र साझेदारीलाई प्रोत्साहन गर्ने व्यवस्थाअनुरुप आफूहरूले यस्तो सम्झौता गरेको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष तिवारीले बताउनुभयो ।

जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जानकी (बाँके), १९ मङ्सिरः “सुलभ हाम्रो सन्तानको आँखाको नानी थिए । उनी सानैदेखि जति आज्ञाकारी थिए, त्यति नै इमान्दार पनि थिए ।” यो भनाइ हो सुलभका ठूलो बुबा राजन श्रेष्ठको । गत भदौ २३ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा सुलभ श्रेष्ठले ज्यान गुमाउनुभएको थियो । ‘भ्रष्टाचार अन्त्य हुनुपर्छ’ भन्ने मूल नारालाई एजेन्डा बनाएर जेनजीहरूले गरेको आन्दोलनमा सुलभलाई गुमाउँदाको पीडालाई राजनले गहिरो भावमा व्यक्त गर्दै भन्नुहुन्छ, “उनी सधैँ आफ्नो परिवार र साथीको हेरचाहमा तत्पर रहन्थे । पढाइमा अब्बल, खेलकुदमा सक्रिय र मिलनसार थियो ।”

अमेरिका पढ्न जाने तयारी गरेका सुलभले नेपालमै केही गर्ने सपना बोकेको बताउनुहुन्छ सुलभको ठूलोबुबा राजन श्रेष्ठ । “बाँकीको पढाइ पूरा गर्नका लागि उनी अमेरिका जाने तयारी गरेको थियो । र अमेरिका पढाइ सकेर नेपालमै फर्कने उनको योजना हामीलाई सुनाएका थिए ।” नेपालमै केही गर्नुपर्छ भन्ने सोच बोकेका सुलभको सपना अन्ततः आन्दोलनमा लागेको गोलीले चकनाचुर पारिदियो । ठूलोबुबा राजनका अनुसार गोलीले सुलभको सपना मात्रै होइन, घरको भविष्य र देशको सम्भावना दुवै तोडिदियो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोजीका सुलभ एक साधारण परिवारमा जन्मिनुभएका २३ वर्षीय युवा हुनुहुन्थ्यो । एउटा शिक्षित परिवारमा जन्मिएका सुलभको हुर्काइबढाई असाधारण सम्भावनासहित अघि बढ्दै थियो तर आन्दोलनमा रोपिएको गोलीले केबल एक युवा जीवनको अन्त्य मात्र गरेन, एउटा परिवार, एउटा सहर, अनि देशको भविष्यमा गहिरो घाउ कोरिदियो ।

सुलभका कुरा गर्दैगर्दा ठूलोबुबा राजनको आवाज अझै काँपिरहेको थियो । सुलभ बाबुआमाका एकमात्र सन्तान हुनुहुन्थ्यो । नर्सरीदेखि १० कक्षासम्म भेरी इङ्लिस मिडियम बोर्डिङ स्कुल नेपालगञ्जमा नै पढ्नु भएको थियो । त्यसपछि काठमाडौँ इञ्जिनियरिङ कलेजबाट इञ्जिनियरिङ गर्नुभयो । “सुलभले नेपालमै केही गर्छु भन्थ्यो”, नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरमा बस्दै आएका आर्यन श्रेष्ठ सुलभका साथी हुनुहुन्छ भने नातामा भाइ पर्नुहुन्छ ।

लुम्बिनी विश्वविद्यालयमा स्नातक तहमा इञ्जिनियरिङ पढ्दै गर्नुभएका आर्यन भन्नुहुन्छ, “हामी दुई नातामा दाजु भाइ भए पनि हामीबीच साथीको सम्बन्ध बढी थियो । आर्यन भन्नुहुन्छ, “सुलभ सहयोगी, नम्र, असाधारण अनुशासनमा हुर्किएका मान्छे थिए । उनी विदेश पलायनमा होइन, नेपालमै केही गर्छु भन्ने सपना बोकेका थिए । देशकै भविष्य बनाउने योजना थियो तर अब त्यो देश–बनाउने हात अस्तायो ।” आर्यनले गम्भीर स्वरमा थप्नुभयो, “सुलभको मृत्युले नेपालगञ्जको एक परिवार मात्रै रोएको छैन, सिङ्गो नेपालले आफ्नो सम्भावना गुमाएको छ । कुनै देशका सपना बन्दुकको आवाजले मर्नु हुँदैन ।”

सुलभका भाइ आर्यनका अनुसार सुलभ सधैँ आफ्नो परिवार र साथीप्रति सहयोगी भावनाको हुनुहुन्थ्यो । उहाँ भन्नुहुन्छ, “दाजु पढाइमा अब्बल थिए । सबैलाई सहयोग गर्न अघि सर्नुहुन्थ्यो । उहाँ खेलकुदमा सक्रिय र मिलनसार हुनुहुन्थ्यो ।” आफ्नो उमेरमा नेतृत्व देखाउने यस्तो क्षमता भएको युवक गुमाएको पीडा जीवनभरि भइरहने आर्यन बताउनुहुन्छ । सुलभको भावि योजनाका विषयमा आर्यन भन्नुहुन्छ, “उहाँमा केबल सफल हुने लक्ष्य मात्र थिएन, सधैँ आफ्नै देशमै केही परिवर्तन गर्नुपर्छ भनेर हामीसँग भनिरहनुहुन्थ्यो ।” सुलभको अमेरिका पढ्न जाने योजना थियो, तयारी पनि थियो तर त्यहाँ नबस्ने योजना रहेको उहाँले सुनाउनुभयो । आर्यन भन्नुहुन्छ, “उहाँ हाम्रो आशा, हाम्रो भविष्य, हाम्रो देशको सम्भावना हुनुहुन्थ्यो । तर आन्दोलनमा लागेका ती केही सेकेन्डका गोलीले उहाँको सपना र सम्भावना दुवै च्यातिदियो ।”

आर्यनले जस्तै सोही वडाका वडाध्यक्ष प्रमोद रिजालले पनि सुलभ वडाकै गर्व गर्न लायक युवा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो क्षतिले हाम्रो मात्रै होइन, देशकै सम्भावनामा क्षति पुगेको छ ।” सुलभको निधनले हामीलाई बाँचुन्जेल मर्माहित बनाइरहनेछ । मेहनती, अनुशासित र भावी नेतृत्व देखिने जस्ता युवामध्ये एक थिए । यस्तो सम्भावना बोकेको युवा हामीबाट हिंसात्मक घटनामा खोसिनु हाम्रो वडामात्र होइन, सिङ्गो देशकै क्षति हो ।”

जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका सुलभलाई सम्झँदै नेपालगञ्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापामगर भन्नुहुन्छ, “भगवान्ले नै राम्रो मान्छे छान्नुहुदो रहेछ । ” एउटै टोलवासीको नाताले पूर्वउपमेयर थापाले सुलाभलाई एउटा इमान्दार विद्यार्थी मात्र नभई इमान्दार युवकका रूपमा चिन्ने गरेको बताउनुभयो । उहाँले राज्यले सुलभ मात्र होइन, सबै सहिद परिवारलाई पैसा दिएर पीडा पखाल्न नसकिने पनि बताउनुभयो । “वास्तविक मल्हम त न्याय हो, पीडाको गहिराइ बुझेर दिएको न्यायले नै सम्पूर्ण सहिद परिवारको घाउमा मलम लाग्नेछ”, उहाँले भन्नुभयो ।

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा स्थगित गरेपछि शुक्रबार देशका प्रमुख विमानस्थलहरूमा गम्भीर अव्यवस्था देखिएको छ । नयाँ कार्यघण्टा नियम लागू भएपछि उत्पन्न व्यवधानले यात्रुहरू उडान रद्द, ढिलाइ र जानकारी अभावका कारण ठूलो कठिनाइमा परेका छन् ।

विमानस्थलहरूमा यात्रुहरू भुइँमा सुतिरहेको, लगातार घण्टौँ लाइनमा उभिएको र एयरलाइनबाट स्पष्ट जानकारी नपाएको दृश्यहरू देखिएका छन् । यो अव्यवस्था लगातार चौथो दिन कायम रहेको छ ।
सरकारले थकान र सुरक्षासम्बन्धी चिन्तालाई ध्यानमा राखेर चालकदल तथा पाइलटहरूको विश्राम अवधि बढाउने र राति उडान सीमित गर्ने नयाँ नियम ल्याएको थियो । यसको दोस्रो चरणका नियमहरू नोभेम्बरदेखि लागू भएको र इन्डिगोले समयमै आफ्नो रोस्टर प्रणाली अनुकूल गर्न नसकेको स्वीकार गरेको छ ।

बिहीबार मात्र ३०० भन्दा बढी उडान रद्द भएका थिए र सयौँ ढिलाइ भए । नयाँदिल्ली विमानस्थलले शुक्रबार मध्यरातिसम्म सबै घरेलु इन्डिगो उडान रद्द हुने विज्ञप्ति जारी गरेको छ । अन्य प्रमुख एयरलाइन्स जस्तै एयर इन्डियामा यस्ता समस्या देखिएका छैनन् ।इन्डिगोले भारतभित्र दैनिक दुई हजार ३०० भन्दा बढी उडान सञ्चालन गर्छ र ६५ प्रतिशत घरेलु बजार नियन्त्रण गर्छ ।

कोलकाताका ज्येष्ठ नागरिक सजल बोस आफ्नी श्रीमतीसँग दिल्ली जानका लागि तयारीमा हुनुहुन्थ्यो तर उडान उडानसमयभन्दा एक घण्टा अघि नै रद्द गरिएको थियो । उहाँले अहिले नौ घण्टाको रेल यात्रा गरेर बागडोगरा पुगेर अर्को एयरलाइनमार्फत दिल्ली जाने योजना बनाउनु परेको बताउनुभयो । “यो अत्यन्तै गैरजिम्मेवारपूर्ण र सम्पूर्ण लापरबाही हो । हामीजस्ता वृद्ध व्यक्तिका लागि झनै कठिन”, उहाँले भन्नुभयो ।

इन्डिगोका प्रमुख कार्यकारी अधिकृत पिटर एल्बर्सले यस हप्ताको एक आन्तरिक इमेलमा क्षमायाचना गर्दै प्राविधिक समस्या, तालिका परिवर्तन, खराब मौसम, भीडभाड र नयाँ नियमको प्रभावका कारण उडान अव्यवस्था भएको स्वीकार गर्नुभएको छ ।

भारतको नागरिक उड्डयन मन्त्रालयले जारी गरेको वक्तव्यमा समस्याको मुख्य कारण एयरलाइनको योजना निर्माणमा भएको त्रुटि र गलत मूल्याङ्कन रहेको बताइएको छ । एअरलाइनले पनि दोस्रो चरणका नियम लागू गर्दा चालकदल व्यवस्थापनमा परेको असर आफूहरूको अनुमानभन्दा धेरै ठूलो भएको स्वीकार गरेको छ ।

इन्डिगोले नयाँ नियम लागू गर्न अस्थायी छूट मागेको छ र सुधारात्मक कदम चालिरहेको सरकारलाई जानकारी गराएको छ । कम्पनीले फेब्रुअरी १० सम्म पूर्ण सञ्चालन पुनःस्थापना हुने दाबी गरेको छ ।आगामी केही हप्तामा थप रद्द तथा ढिलाइ हुने सम्भावना रहेको बताउँदै इन्डिगोले डिसेम्बर ८ देखि उडान सङ्ख्या घटाएर अव्यवस्था न्यून गर्ने निर्णय गरेको छ ।

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली, १९ मङ्सिरः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारजगत्को महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’ लोकतान्त्रिक व्यवस्थालाई थप संस्थागत गर्न पनि पत्रकारबाट सोहीअनुसारको भूमिका अपेक्षा गरिएको बताउनुभयो ।

मुख्यमन्त्री शाहले भन्नुभयो, “जनतालाई स्वतन्त्र र अधिकारसम्पन्न बनाउन मिडियाकर्मीको ठूलो भूूमिका छ । यस भूमिकालाई थप सशक्त बनाउँदै लैजानुपर्छ । यसले समग्र क्षेत्रको सम्मान बढ्नेछ ।”

उहाँले समग्र व्यवस्था र लोकतान्त्रिक पद्धतिलाई विकास गर्ने सन्दर्भमा सरकार मिडियालाई साथमै लिएर अगाडि बढ्ने भन्दै यस क्षेत्रको विकासका लागि पनि सरकार साथमा रहेको बताउनुभयो ।मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले गरेका कामको आलोचनात्मक समीक्षा गर्दै राम्रो कामका लागि झक्झक्याइरहन आग्रह गर्नुभयो ।

विश्व सुरक्षा मुद्दामा रूसको भूमिका मजबुत : पुटिन

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत भ्रमणका क्रममा युक्रेनमा भइरहेको सैन्य कारबाही युद्धको अन्त्य र रूसको सुरक्षाका लागि आवश्यक कदम भएको बताउनुभएको छ ।उहाँका अनुसार पश्चिमी राष्ट्रहरूको विरोध र हस्तक्षेपकै कारण द्वन्द्व झनै चर्किएको छ ।

पुटिनले भन्नुभयो,“लडाइँ जारी रहनुको प्रमुख कारण किएभको कठोर अडान हो, र हाम्रो लक्ष्य रूसका राष्ट्रिय हित तथा जनताको सुरक्षित भविष्य सुनिश्चित गर्नु हो ।”

मध्यपूर्वतर्फ सङ्केत गर्दै उहाँले प्यालेस्टिनी मुद्दा समाधानका लागि संयुक्त राष्ट्रसङ्घभित्र रूसको प्रतिबद्धता दोहोर्याउनुभयो । गाजा सङ्कट समाधानका लागि स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापना अपरिहार्य रहेको बताउँदै, गाजा प्रशासन सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गरेको प्रस्तावलाई रूस समर्थन गर्न तयार रहेको समेत उल्लेख गर्नुभयो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी

काठमाडौँ, १९ मङ्सिर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९० दिन बाँकी रहेको छ । नेपाल सरकार र निर्वाचन आयोग र सम्बद्ध निकायले निर्वाचनका लागि आवश्यक तयारीलाई जारी राखेका छन् । आजैमात्र प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल, आयोगसहितसँग सर्वपक्षीय छलफल आयोजना गर्नुभएको छभने आयोगले आजै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विकसित घटनाक्रममा भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिक सरकार गठन भई प्रतिनिधिसभाको विघटन भएको थियो । सरकारले निर्वाचन सम्पन्न गर्ने कामलाई एक मुख्य कार्यभारका रूपमा लिएको छ ।

यसअघि गत मङ्सिर १४ गतेसम्ममा निर्वाचनमा भाग लिने एक सय २० राजनीतिक दलले आयोगमा निवेदन दिइसकेका छन् । यही मङ्सिर १ गतेदेखि १० गतेसम्मका लागि निवेदन दिने समय दिइएकामा नयाँ दल सरोकारवालाको सुझावका आधारमा चार दिन समय थप गरी उक्त सङ्ख्याका दलले निर्वाचन प्रयोजनाका लागि निवेदन दिएका हुन् ।

निर्वाचनको वातावरण तयार भइनसकेको र संसद् पुनःस्थापनाको माग गर्दै आएको दल नेकपा (एमाले) लगायत प्रमुख दल र नयाँ दलले आयोगमा निवेदन दिएका छन् । आयोगले सो अघि खुला गरेको मतदाना नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा आठ लाख नयाँ मतदाता थपिएका छन् । ती नयाँ मतदाताको आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ ।

निर्वाचनका लागि आयोगले करिब रु सात अर्ब बजेट माग गरेकामा अर्थ मन्त्रालयले रु पाँच अर्ब ९६ करोड स्रोत सुनिश्चित गरिसकेको छभने सरकार र आयोगको परामर्शमा एकीकृत निर्वाचन सुरक्षा योजना लागू भइसकेको छ । आयोगले निर्वाचनका लागि आवश्यक सामग्री र उपकरण खरिद प्रारम्भ गरिसकेको छभने राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यवेक्षण गर्ने संस्थाहरूलाई आवेदन माग गरेको छ । निर्वाचनमा विदेशमा रहेका मतदाताको मताधिकार र अन्तरजिल्ला मतदानबारे अध्यादेशबाट कानुन संशोधनको कार्य निर्णय हुन बाँकी रहेको छ ।

आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरु हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको छ ।

आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस प्रणालीका लागि आयोगका सचिव माहादेव पन्थलाई निर्वाचन अधिकृत तोकिएको छ ।

पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी माघ ७ गते विरोधमा उजुरी दिने समय निर्धारण गरिएको छ ।

आगामी माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभाको निर्वाचनको तयारी पनि गरिरहेको छ ।

आयोगले निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताको प्रारम्भिक मस्यौदा तयारी गरी सुझाव मागेको छभने सुझाव समेटेर आगामी माघको पहिलो साता जारी गर्ने तयारी गरेको छ । आयोग र सरकारबीच मतदानस्थल र केन्द्रका पुनः मूल्याङ्कनपछि म्यादी प्रहरी (निर्वाचन सुरक्षा प्रहरी)को भर्ना प्रक्रिया सुरु गर्ने तयारी भएको छ । यी तयारीसँगै आयोगले मतदाता शिक्षा, सूचना सम्प्रेषण, प्रेस अफिस तथा मल सेन्टरको सञ्चालनलगायतका काम गर्नेछ ।

सप्तरीमा खेतमा धान हेर्न गएका नारायणको हात्तीको आक्रमणबाट मृत्यु

राजविराज (सप्तरी)- कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उहाँलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो ।

यस्तै, कोशीटप्पु वन्यजन्त आरक्षबाट निस्कने जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि दुई÷तीन जनाको ज्यान जाने गरेको स्थानीयले बताएका छन् ।हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ ।

मेची भन्सार कार्यालयबाट अलैँचीको निर्यात बढ्यो

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव २० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजार बराबरको अलैँची निर्यात भएको हो ।

चार महिनामा एक हजार ८२३ दशमलव ९० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागार्इंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु एक अर्ब ९० करोड दुई लाख बराबरको अलँैची निर्यात भएको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको चार महिनामा चियाको निर्यात ३७ दशमलव ७० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा रु दुई अर्ब २० करोड ४८ लाख ४० हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागार्इंले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य बस्तुहरुमा भेनियर सिट १३४ दशमलव ८० प्रतिशत, छुर्पी ३३ प्रतिशत, अदुवा, सुठो तीन दशमलव २० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी प्लाउड ५२ दशमलव ७० प्रतिशत, अम्रिसो २३ दशमलव ९० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ३० प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चार महिनामा रु सात अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।

नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुँदै

काठमाडौं । नेपालमै पहिलोपटक खुल्ला राष्ट्रिय ईनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुदैछ ।नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र द स्केटल्याण्ड स्केट पार्कको संयुक्त आयोजनामा यहि मंसिर २० गते    शनिबार खुल्ला राष्ट्रिय इनलाइन स्केट मिनी म्याराथुन प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिरबाट समेत सयौंको संख्यामा स्केटर (खेलाडी) को प्रतिस्प्रर्धा रहन आयोजकले जनाएको छ ।

नेपालमै पहिलो पटक हुन लागेको यो खेल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका सुन्दरीजल, आलापोट चोकदेखि गोकर्णेश्वर नगरपालिकाको तालिन्चोकस्थित द स्केटल्याण्डको पार्कसम्म करिब ५ किलोमिटर बराबरको दुरीमा चल्ने द स्केटल्याण्डका संचालक अब्राहम राईले जानकारी दिए ।

प्रतियोगिता नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिबार बिहान ८ बजेबाट शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपालभित्र र नेपाल बाहिर बिदेशबाट समेत सयौंको संख्यामा स्केटररखेलाडीहरुले बाग्लो सहभागिता जनाउने आयोजकले जनाएको छ ।

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौँ, १९ मङ्सिरः नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको छ ।

अल्पविकसित, भूपरिवेष्टित विकासशील तथा साना टापु राष्ट्रहरूका लागि राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय र कतार कोषले दोहामा आयोजना गरेको अल्पविकसित देशहरूको दिगो विकासका लागि विश्वव्यापी साझेदारी निर्माणसम्बन्धी बैठकअन्तर्गत बिहीबार भएको उच्चस्तरीय छलफलमा एलडिसी समूह अध्यक्षका रुपमा ःपरराष्ट्रसचिव अमृतबहादुर राईले ती विषयमा जोड दिनुभएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार बैठकका क्रममा परराष्ट्रसचिवले संयुक्त राष्ट्रसङ्घको प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजलाई भेटेर अल्पविकसित मुलुकबाट विकासशील देशमा रूपान्तरण हुने नेपालको यात्रालाई सहज बनाउन बैंकको सहयोगको अपेक्षा नेपालले गरेको बताउनुभयो ।त्यस अवसरमा उहाँहरूबीच बैंकको भूमिका र सहकार्यका अवसरहरूबारे पनि छलफल भएको थियो ।