`

पिपरामा विद्युत प्रवाह चुहावट हुँदा एक दम्पतिको निधन

राजविराज (सप्तरी), १ भदौः सप्तरीको कञ्चनरुप नगरपालिका–५स्थित पिपरामा विद्युत प्रवाह चुहावट (करेन्ट) भएर आज विहान एक दम्पतिको निधन भएको छ । निधन हुनेमा ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया पत्नी विमलादेवी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार कञ्चनरुप–५ पिपराका महेन्द्र सरदारले हात्तीबाट धानबाली जोगाउन विद्युतीय तार खुला (करेन्ट) छाडेका थिए । सोही खुला बिछ्याइएको तारमा परेर सरदार दम्पतीको निधन भएको थियो । उनीहरु आफ्नो घरदेखि करिब एक सय ५० मिटर पूर्वमा रहेको खेतमा जाँदै गरेका जनाइएको थियो । खेतमा जानेक्रममा क्रममा सरदार दम्पतीलाई त्यहाँ बिछ्याइएको तारमा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

‘आर्ट अफ लिभिङ ह्याप्पिनेस कोर्ष’ : मस्तिष्क स्वस्थ राख्न ध्यान र योग जरुरी

काठमाडौँ, १ भदौ : अन्य पेसाका मानिसले भन्दा सञ्चारकर्मीले हरक्षण व्यस्ततापूर्ण समय बिताउनुपर्छ । हतारमा गरिने पेसाले तत्काल तनाव उत्पन्न भइरहनु स्वाभाविकै हो । यस्तो व्यस्त र तनावपूर्ण क्षण एवं अवस्थासँग जुध्ने सशक्त माध्यम ध्यान र योग नै रहेको र यसको साधनाबाट नै दैनिक जीवनलाई थप व्यवस्थित गर्न सामथ्र्यताको ऊर्जा मिल्ने जनाइएको छ ।

यसै सन्दर्भमा आध्यात्मिक गुरु श्री रविशङ्करद्वारा स्थापित ‘आर्ट अफ लिभिङ फाउन्डेसन’द्वारा तयार गरेको आधारभूत तहको ध्यान शिविर (ह्याप्पिनेश कोर्ष) कार्यक्रम स्वास्थ्य पत्रकारका लागि सञ्चालन गरिएको छ । शनिबार सम्पन्न तीनदिने ‘ह्याप्पीनेश कोर्ष’मा आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले संयोजन गर्नुभएको थियो भने आध्यात्मिक गुरु रीतिका लोहिया र शरद् भेषवाकरले मुख्य प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

यतीकेम डिस्ट्रिब्युटर्सका कार्यकारीसमेत रहनुभएका वैद्यले तालिम समापनका अवसरमा खासगरी शरीर स्वस्थ राख्न व्यायामको भूमिका रहेजस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान र योग जरुरी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको व्यस्ततापूर्ण समय र अझ सञ्चारकर्मीको दैनिक जीवन अझ व्यस्त र तनावपूर्ण हुने गर्छ । तनावपूर्ण जीवनलाई व्यवस्थित गर्नु पनि आवश्यक छ भनेर नै हामीले प्रथमपटक यसपटक स्वास्थ्य क्षेत्रमा क्रियाशील सञ्चारकर्मीका लागि यो आधारभूत तहको (ह्याप्पिनेस) कोर्ष उपलब्ध गराएका हौँ । यसबाट आफ्नो जीवनलाई थप ऊर्जावान गराउन, शारीरिकसँगै मानसिक रूपमा समेत स्फुर्ति बढाउन पनि सहयोग मिल्यो होला भन्ने आशा लिएको छु ।”

प्रमुख प्रशिक्षक लोहियाले गुरु रविशङ्करद्वारा प्रतिपादित यस तालिमले जीवनलाई नयाँ दिशा देखाउने जनाउँदै जीवनलाई सही अर्थबाट कसरी अघि बढाउने भन्नेबारेमा प्रशिक्षित गराउने जानकारी दिनुभयो ।

उहाँले ‘आर्ट अफ लिभिङ’का विभिन्न तालिमले मानिसको सोच परिवर्तन गरिदिन सक्छ, व्यवहार परिवर्तन गरिदिन सक्छ, हेर्ने दृष्टिकोण र बुझाई परिवर्तन गरिदिन सक्छ भन्नुभयो । उहाँले भन्नुभयो, “वर्तमानलाई हेर्ने, जुनसुकै परिस्थिति स्वीकार गर्न सक्ने, सबैको कुरा सुन्ने र निर्णय आफूले लिनेजस्तो व्यक्तित्व निर्माण गर्न सहयोग पुग्छ । यसमा रहेको सुदर्शन क्रिया गुरुद्वारा प्रतिपादित अझ विशिष्ट विधि हो । यसले शारीरिक र मानसिक रुपमा ऊर्जा प्रदान गर्छ । समग्रतामा भन्दा यो हरेक व्यक्तिको जीवनलाई रचनात्मक ढङ्गले अघि बढाउन सहयोग गर्छ । यसपटक हामीले स्वास्थ्यमा क्रियाशील सञ्चारकर्मीलाई यो तालिम प्रदान गरेको हौँ । यसलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास लिएकी छु ।”

नेपाली क्रिकेटमा वादसाह भेषवाकरले ‘आर्ट अफ लिभिङ’का विभिन्न तालिमले आफूलगायत क्रिकेटका खेलाडीलाई कायपलट गरेको अनुभव प्रस्तुत गर्दै ‘आर्ट अफ लिभिङ’ जीवन जिउने सही कला भएको बताउनुभयो ।

पत्रकार रामप्रसाद न्यौपानेले तीन दिनको तालिमले ‘आर्ट अफ लिभिङ’सम्बन्धी धेरै कुरा सिकाएको र परिवर्तन ल्याइदिएको जनाउँदै थप तालिमलाई निरन्तरता दिन माग गर्नुभयो । यस्तै पत्रकार भगवती तिमल्सिना, डिबी खड्का, सरोज ढुङ्गेल, बुद्धि कटेल, यसिमा महत, सञ्जीता खनाल, शरद् पोखरेल, बिना न्यौपाने, कृपाल गौतम, नमराज भट्टलगायतले तालिम लिइसकेपछि ध्यान र योगका बारेमा आफ्ना अनुभव सुनाउनुभएको थियो ।

यतिकेमका दिनेशराज पौडेलले समन्वय गर्नुभएको सो तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ स्वास्थ्य सञ्चारकर्मी सहभागी हुनुहुन्थ्यो ।

सुक्खा पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

चितवन, १ भदौः नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिनुभयो ।

जाजरकोटको रौलाखेत खोलाले सतर्कता तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जाजरकोटस्थित नलगाड रौलाखेत जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।

विभागले जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई सतर्क रहन अनुरोध समेत गरेको छ ।सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पनि आवश्यक पूर्वतयारी गर्न विभागको आग्रह छ ।

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

बनियानी (झापा), १ भदौ : झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखको लागतमा कन्काई नदीको पूर्वी तटमा विद्युतीय शवदाह गृहको निर्माण सम्पन्न भएको हो । विद्युतीय शवदाह गृहमा कोशी प्रदेश सरकारको रु दुई करोड, नगरपालिकाको रु २० लाख र विभिन्न दाताको रु १० लाख लगानी रहेको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्युतीय शवदाह गृह कनकाई नगरपालिकाले सञ्चालन गर्नेगरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिनुभयो । “शवदाह गृह सञ्चालनका लागि कार्यविधि नै बनाएका छौँ”, उहाँले भन्नुभयो, “एक साताभित्रै विधिवत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ ।”

कन्काई घाट व्यवस्थापन समितिका महासचिव एवं विद्युतीय शवदाह गृह पूर्वाधार निर्माण समितिका संयोजक गोपाल खरेलले भारतीय प्राविधिक टोलीले विद्युतीय शवदाह गृह निर्माणको काम सम्पन्न गरेर फर्किसकेको जानकारी दिनुभयो ।

गत साउन २७ गते परीक्षणका क्रममा झापा गाउँपालिका पन्थापाडाकी ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको उहाँले बताउनुभयो । विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने उहाँले बताउनुभयो । दाउराको प्रयोग गरेर शव दहन गर्दा तीनदेखि साढे तीन घण्टा लाग्ने उहाँले बताउनुभयो ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷८२ मा ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेको थियो ।

निर्माण सम्पन्न भएसँगै कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट उठेको माग सम्बोधन भएको छ । विसं २०६७ मा स्थापना भएको कनकाई घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाहसंस्कारमा प्रयोग गरिने दाउरा र समयको बचत हुने छभने वातावरण संरक्षणमा पनि मद्दत मिल्ने जनाइएको छ ।

भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदैछन् । शुक्रबार विदेश सचिव मिश्री नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको हो । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव मिश्री नेपाल आउन लागेको बताइएको छ ।

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

फिक्कल (इलाम)- इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् । सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका अनुसार सिमलगोलाई–तिल्केनी सडकअन्तर्गत माईजोगमाई गाउँपालिका–४ र इलाम नगरपालिका–१० जोड्ने जोगमाई खोला र केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत इलाम नगरपालिका–९ र ११ जोड्ने पुवाखोलामा बेलिब्रिज निर्माण भई सञ्चालनमा आएको हो ।

जोगमाई खोलामा रु एक करोड ९१ लाख २१ हजार ६३२ को लागतमा ४० मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो भने पुवाखोलाखमा रु एक करोड ४३ लाख ७६ हजार २९७ को लागतमा ४८ दशमलव ६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरिएको हो ।

सोही आर्थिक वर्षमा सक्नेगरी सम्झौता भएको कल्भर्ट निर्माणाधीन अवस्थामा छ । केचना–कञ्चनजङ्गा सडकअन्तर्गत ठाडे खोलामा रु एक करोड ८५ लाख आठ हजार ५३८ को लागतमा डबल सेल बक्स कल्भर्ट निर्माण भइरहेको छ । कृष्ण/डाइमन/अभ्युदय जेभीले निर्माणको जिम्मा पाएको कल्भर्ट सम्मझौता अवधिमा सम्पन्न नभएपछि एक पटक म्याद थप गरिएको घिमिरेले जानकारी दिनुभयो ।

राजस्व सङ्कलन वृद्धि

सडक डिभिजन कार्यालयले आव २०८१/८२ मा रु दुई करोड दुई हजार २३० राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०८०÷८१ मा रु ३३ लाख ५४ हजार ७९९ रुपैयाँ राजस्व सङ्कलन गरेको गरिएको थियो ।

कार्यालयले प्रशासनिक दण्ड, जरिवाना र जफतबाट रु ७३ लाख ५५ हजार ९७०, बेरुजु फछ्र्यौटबाट रु ८४ लाख ५० हजार २१३, अन्य राजस्वबाट रु २५ लाख ३६ हजार ४७ र अन्य प्रशासनिक सेवा शुल्कबाट रु १६ लाख ६० हजार राजस्व सङ्कलन गरिएको लेखा अधिकृत प्रेमकुमार लिम्बूले जानकारी दिनुभयो ।

कार्यालयले गत आवमा सम्झौता गरेर पनि काम नगर्ने चार वटा निर्माण कम्पनीसँग ठेक्का सम्झौता रद्द गरी धरौटी जफत गरेको थियो । मेची राजमार्गअन्तर्गत बिब्ल्याँटे–राँके सडक मर्मतको जिम्मा लिएको कपिलदेव कन्ट्रक्सन, राँके–फिदिम र बिब्ल्याँटे–माईपोखरी–सन्दकपुर सडक मर्मतको जिम्मा लिएको पिङ्की कन्ट्रक्सन र फिदिम– सुकेटार सडक मर्मतको जिम्मा लिएको तिम्सिना निर्माण सेवासँग ठेक्का सम्झौता रद्द गरी धरौटी जफत गरिएको हो ।

फेदीखोला हाइड्रोपावरले १७ करोड ५० लाख बराबरको साधारण सेयर बिक्री गर्ने

काठमाडौँ, १ भदौ : फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले रु १७ करोड ५० लाख बराबरको साधारण सेयर बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ ।

आयोजना निर्माण सम्पन्न गर्न रु ९४ करोड लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण रु चार करोड लागत वृद्धि भई रु ९८ करोड लाग्ने भएको छ । आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात् रु ४८ करोड स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् रु ५० करोड राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिनुभयो ।

साधारणसभाले कम्पनीको अधिकृत पुँजी रु ६० करोडमा रु १० करोड थप गरी रु ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् रु १७ करोड ५० लाखको सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ ।

त्यसैगरी, साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला नौ मेगावाट)मा रु पाँच करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै (इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाट)मा रु १५ करोड लगानी गर्ने भएको छ । कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा एक सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ ।

साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहनेमा अगामी चारवर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ ।

युएई सरकारद्वारा बिभिन्न जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौँ, १ भदौः संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर (चितवन), १ भदौ : सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार अहिले दुईव ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको खनालले जनाकारी दिनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

आजको मौसम : कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, १ भदौ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई र पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण

गण्डकी, १ भदौः गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो । मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन । प्रदेशभरमा पुष्टि भएका सङ्क्रमितमध्ये आधाभन्दा बढी बिरामी कास्कीको पोखरा महानगरपालिकाका हुन् । पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए ।

प्रदेशको राजधानी पोखरा गत वर्ष डेङ्गुको ‘हटस्पट’ बनेको थियो । उक्त वर्ष पोखरा महानगरपालिकामा मात्र आठ हजार छ सय जनाभन्दा बढीमा डेङ्गु सङ्क्रमण भएको थियो । डेङ्गु सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो । साउनदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर बढ्दै जाने अनुमान छ । डेङ्गु न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलगायत सम्बन्धित निकायले सक्रियता बढाएका छन् ।

स्थानीय तहले डेङ्गु रोग फैलन नदिन डेङ्गु सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेङ्गु फैलाउने लामखुट्टेको टोकाइबाट जोगिन घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने गरेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १ भदौ : नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना

काठमाडौँ, १ भदौ ः गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ । यस्तै पाँच सय ८५ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका दुई सय १६, पहिरोका तीन सय १७, भारी वर्षाका दुई सय २१, चट्याङका दुई सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।

त्यसैगरी, आगलागीका एक हजार ११४, डढेलोका एक सय ५८, हुरीबतासका दुई सय ७७, जनावर आक्रमणका एक सय ७२, लेक लागेको ४६, भूकम्पका पाँच, डुङ्गा पल्टेर दुई, असिना हुरी र अन्यका एक–एकवटा विपद्का घटना घटेका छन् ।

प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका सात, बाढी एक, पहिरोका आठ, अविरल वर्षा चार, जनावर आक्रमणका तीन घटना घटेका छन् । विपद्मा परेर एक जनाको ज्यान गएको छ । अनुमानित क्षति रु ३८ लाख ४० हजार बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि एक सय ४० प्रहरी परिचालन गरिएको छ ।

दुई संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ, १ भदौः सङ्घीय संसद् मातहतका दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यक्रमअनुसार आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुने कार्यसूची छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

‘युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्’ – विप्लव

कर्णाली, ३१ साउनः नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताउनुभएको छ ।
अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उहाँले युवा जनशक्तिमा भरिएको निराशाले विदेसिने क्रम बढ्दै गएको बताउनुभयो । महासचिव चन्दले भ्रष्टाचार ‘क्रोनिक’ रोगका रूपमा फैलिँदै जाँदा मुलकको समृद्धि र विकासको बाधक बनेको जिकिर गर्नुभयो ।

“जनताको पुँजी शोषण गर्ने व्यवस्थाका कारण लाखौँ नेपाली जनता ऋण बोकेर सडकमा छन्”, उहाँले भन्नुभयो,“जीवन व्यवहारमा लागू नगरिँदा पछिल्लो समय समाजवादको बहस पनि अरुचिको विषय बन्दै गएको छ । यो चिन्ताको विषय हो ।”

आफ्नो पार्टीले तीन वर्षयता कृषि क्रान्तिबाट आर्थिक समृद्धि ल्याउने र आत्मनिर्भर बनाउने अभियानलाई अगाडि बढाएको बताउँदै महासचिव चन्दले अब उद्योगको थालनी गर्ने योजना सुनाउनुभयो ।

महासचिव चन्दले आफ्नो पालाको युवा गरिबी, अशिक्षा, भोकमरी, सामाजिक असमानता र दमनविरुद्ध विद्रोह गरी आजको व्यवस्था ल्याउन सफल हुँदा आजका युवा पीडा, कुण्ठा पोख्ने, गुनासो गर्ने र पैसाका लागि पलायन हुने सोचबाट ग्रसित हुँदै गएको टिप्पणी गर्नुभयो । आशाको सन्देश प्रवाह गर्न आफ्नो पार्टीले आगामी ०८४ सालको चुनावमा भाग लिने उहाँको भनाइ थियो ।

‘तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ’

दमौली (तनहुँ), ३१ साउनः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताउनुभएको छ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उहाँले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजना निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि प्रदेश सरकारले सहजीकरण गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । उहाँले तनहुँ जलविद्युत् आयोजनाले देशको ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पाण्डेले तनहुँ जलविद्युत् आयोजनाको ‘प्याकेज–१’ अन्तर्गत बाँध निर्माणस्थल र ‘प्याकेज–२’ अन्तर्गत विद्युत् गृहको निरीक्षण गर्नुभएको थियो । उहाँलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराउनुभयो ।

प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ददा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगकोे ठेक्का सम्झौता विसं २०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो । यसको हालसम्मको प्रगति ४३ दशमलव पाँच प्रतिशत रहेको छ ।

भण्डारीका अनुसार प्याकेज–२ अन्तर्गतको विद्युत्भित्र संरचनागत कार्य सम्पन्न भई उपकरण जडान भइरहेको छ । यसअन्तर्गत भूमिगत विद्युत् गृहमा ६७ र ‘प्याकेज–३’ अन्तर्गत प्रसारणलाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत ५० करोड ५० लाख अमेरिकी डलरमध्ये एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार,नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

कैलाली कारागार घटनापछि माग गरेबमोजिम स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै

सुदूरपश्चिम, ३१ साउनः कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ । घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अस्पतालबाट उपचार गरी फर्किए पनि थप समय स्वास्थ्यलाभ गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि कैदीबन्दीले रोजेअनुसार अन्य कारागारमा पठाएर व्यवस्थापन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “डिस्चार्ज भए पनि उहाँहरूलाई स्वास्थ्यलाभ गर्न थप समय चाहिने भएकाले त्यस पक्षलाई ध्यान दिएर तत्कालका लागि रोजेको कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ, कतिपयलाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ ।”

हालसम्म अस्पतालबाट उपचार गरेर फर्किएकामध्ये छ जनालाई अन्य जिल्लामा पठाइसकिएको जोशीले जानकारी दिनुभयो ।
यही साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपका एक जनाको मृत्यु र ४९ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररतमध्ये नौ जनाबाहेक सबै फर्किइसकेका छन् ।

घटनाको छानबिन गर्न गठित समितिका सदस्यसचिव जोशीले घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले घटनामा मृत्यु भएका चौधरीका परिवारलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरिसकेको छ । घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता गरेर कृष्णप्रसाद लम्साललाई जिम्मेवारी तोकेको छ ।

नेपाल बङ्गलादेश ‘ए’सँग पराजित

काठमाडौँ, ३१ साउनः अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एन्ड टी–२०’ सिरिजमा नेपाल बङ्गलादेश ‘ए’ टोलीसँग पराजित भएको छ । नेपालको यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २९ रनले पराजित भएको हो । बङ्गलादेशले जितका लागि दिएको १८४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ५९ रनको योगदान दिए । उनले ४७ बलमा छ चौका र एक छक्काको सहयोगमा अविजित ५९ रनको योगदान गरेका हुन् । आसिफ शेखले २४ बलमा २८ रन बनाउँदा लोकेश बमले १० बलमा तीन चौका प्रहार गर्दै १५ रन बनाए भने कप्तान रोहित पौडेलले १० रन जोडे ।

बलिङतर्फ राकिबुल हसनले तीन विकेट लिए भने सेफ हसन, रिपोन मण्डल र मृत्युन्जय चौधरीले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १८३ रनको योगफल बनाएको थियो ।

बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक÷एक विकेट लिए ।

जनताको जीवनस्तर उठाउन कृषि र पर्यटनलाई जोडेर अगाडि बढ्न आवश्यकः महासचिव पोखरेल

काठमाडौँ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको जीवनस्तर उठाउन कृषिको रूपान्तरण र पर्यटनको विकास आवश्यक रहेको बताउनुभएको छ । नेपाल बौद्धिक परिषद्द्वारा आज यहाँ आयोजित ‘सांस्कृतिक कूटनीतिः नेपालको विश्व पहिचान प्रवर्द्धन’ विषयक अन्तरक्रियामा उहाँले नेपाललाई समृद्ध बनाउन व्यावसायिक कृषि र त्यसलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “विकासको जग र मूलध्येय भनेको जनताको जीवनस्तर उठाउने नै हो, अभाव र गरिबीमा रहेका जनताका बीचमा रहेका सम्पदा क्षेत्रहरूको आकर्षण वृद्धि गर्ने कुरा गरेर मात्रै हुँदैन । सम्पदालाई जीवनस्तर उठाउनका लागि जोड्न आवश्यक छ ।”

उहाँले कुनै पनि ठाउँको विकास सोही क्षेत्र बुझेका मानिस र तिनकै सक्रियताबाट मात्र सम्भव हुने भन्दै यसमा गम्भीर बन्न सबैलाई आग्रह गर्नुभयो । महासचिव पोखरेलले पर्यटकलाई घुम्ने र रमाउने वातावरण बनाउन, पर्यटकको बसाइँ लम्ब्याउन सके मात्र पर्यटन र अर्थतन्त्रको विकास हुने भएकाले सोहीअनुसार नीति आवश्यक रहेकामा जोड दिनुभयो ।

राष्ट्रिय हित र सुरक्षाका प्रश्नमा पनि कूटनीतिलाई पर्यटनसँग जोड्न सक्नुपर्ने उहाँको धारणा छ । महासचिव पोखरेलले धर्म र संस्कृतिका ज्ञातालाई दोस्रो तहको कूटनीतिमा जोड्न सक्ने हो भने त्यसले राष्ट्रिय हितको काम गर्न सक्ने बताउनुभयो । “सांस्कृतिक कूटनीतिको कुरा गर्दा हामीले बुद्ध दर्शनलाई उपयोग गर्ने विषयबारे पनि सोच्नुपर्छ । यसलाई संसारले शान्तिको प्रतीकका रूपमा लिने गरेकाले हामीले लाभ लिनसक्नुपर्छ”, उहाँले भन्नुभयो“प्राकृतिक, धार्मिक र सांस्कृतिक पर्यटनका हिसाबले पश्चिम नेपाल आकर्षक गन्तव्यको क्षेत्र बन्नसक्छ ।

अब यसमा पनि ध्यान पुर्‍याउनुपर्छ ।” नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले सांस्कृतिक माध्यमबाट नेपालले विश्वमा कूटनीतिक क्षेत्रमा आफ्नो पहलकदमी लिनुपर्ने बताउनुभयो ।

गोरेटो एजुकेशन कन्सल्टेन्सीको आयोजनामा सम्पन्न शैक्षिक मेलामा ३ सय बढी बिद्यार्थी सहभागी

काठमाडौँ  -अष्ट्रेलियन एजुकेशन फेयर २०२५ को समापन भएको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सल्टेन्सीले अगस्ट १२ देखि सुरु गरेको एजुकेशन फेयरको समापन शनिबार भएको हो ।

फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजहरूका प्रतिनिधीहरूकै उपस्थितिमा कुन सहर वा कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी दिनुका साथै अप्ठ्यारा परिस्थितीहरूको सामना कसरी गर्ने भन्ने विषयको जानकारी दिनका लागि फेयरको आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै गोरेटो कन्सल्टेन्सीका प्रबन्धक गोविन्द भण्डारीले पछिल्लो समय नेपाली विद्यार्थीहरूमा अष्ट्रेलियाप्रति आकर्षण बढेकाले एजुकेशन फेयर गरेको बताए । उनले फेयरमा तीनसय भन्दा बढी विद्यार्थीले भिजिट गरेको समेत जानकारी दिए ।

“पछिल्लो समय विद्यार्थीहरू अष्ट्रेलियाप्रति बढी आकर्षित छन् । त्यो बढ्दोक्रममा छ । त्यसैलाई लक्षित गर्दै फेयर गरिएको हो । पाँच दिनको फेयर आज शनिबार समापन हुँदैछ । फेयरमा तीन सय भन्दा बढी विद्यार्थीले भिजिट गरेका थिए”, उनले भने ।

त्यस्तै विद्यार्थीले अहिले अस्ट्रेलिया छान्नुको गर्नुको कारण त्यहाँको हावापानी, उच्च स्तरको पढाइ साथै सिड्नी सहरलाई नेपालको आठौँ प्रदेश मान्ने गरिएकाले सहज हुने विश्वासका साथ अष्ट्रेलिया नेपालीको रोजाइमा परेको उनले बताए ।

“अष्ट्रेलिया छान्नुको गर्नुको कारण भनेको त्यहाँको मौसम पनि हो । त्यहाँ चाहि न धेरै चिसो हुने न धेरै गर्मी हुने त्यो भयो । अर्को भनेको उच्च स्तरिय लेभलको पढाई भयो । नेपालीहरूलाई जहाँ धेरै नेपालीहरू छन् त्यहाँ गएर बस्दा चाँहि सहज हुने भएकाले र सिड्नी सहरलाई नेपालको आठौँ प्रदेश पनि भनिन्छ । त्यसैले अहिले रोजाइमा परेको छ” उनले भने ।

त्यस्तै, उनले अष्ट्रेलियामा नेपाली विद्यार्थीले आइटी क्षेत्रमा बढी चासो देखाएको बताए । उनले नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई एक बर्षको पढाई खर्च २२ लाखसम्म लाग्ने बताए ।

अष्ट्रेलिया सरकारले विद्यार्थीलाई सिमित समय तोकेको हुँदा सीमित समय मात्र काम गर्न पाइन उनले बताए । नेपालबाट अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरूले धेरैजसो सिड्नी सहर रोज्ने गरेको उनको भनाइ छ ।

“त्यहाँको सरकारले विद्यार्थीहरूका लागि काम गर्ने समय तोकिदिएको छ । फुल टाइम भने काम गर्न पाइँदैन । अध्ययनका कोर्षहरू भने विद्यार्थीको रोजाइमा आइटी क्षेत्र नै हो । पछिल्लो समयमा एआई सम्बन्धी कोर्षहरू एड्भान्स भएको देखिएको छ । नेपालमा पनि एआईको तिब्र रूपमा विकास भइरहेको छ । पढाईको खर्चको कुरा गर्दा एक बर्षको पढाई खर्च न्यूनतम १५ देखि २०–२२ लाख नेपाली रुपैयाँसम्म हुने गरेको छ । त्यसमध्ये पनि मेलवर्न, सिड्नी नेपालीको रोजाइमा छ,” उनले भने ।

नेपालीहरूका लागि गोरेटो कन्सल्टेन्सीले सबै हिसाबबाट सहजीकरण गरिरहेको उनले बताए । त्यस्तै, उनले त्यहाँको सरकारले तोकेको समय अनुुसार काम सकेर विद्यार्थीले जुन विषय लिएर पढेका छन् त्यसमै दक्षता हासिल गर्न सक्यो भने नेपालमा आएर काम गर्न सहज हुने बताएका छन् ।

“हुन त विदेशमा पढेर स्वदेशमै आएर काम गर्न सकिने प्रशस्त आधारहरू छन् । पढाइमै फोकस गरेर पढ्ने अनि दक्षता हासिल गरियो भने पक्कै पनि नेपाल आएर केही गर्न सकिन्छ । धेरैले नेपालमा आएर आइटी क्षेत्रमा नै केही नयाँ गरेको देखिन्छ,” उनले भने ।

त्यस्तै, उनले अहिले नेपाल सरकारले विद्यार्थीहरू विदेश गएर नफसोस् भन्ने हिसाबले कडाई गर्नुका साथै एनओसी ल्याएको समेत दाबी गरे ।

“हामीले सिक्नुपर्ने कुरा धेरै छन् । सरकारले पनि अलिकति कडाई गर्नुको कारण विद्यार्थीहरू नफसुन भनेर हो । पहिला पहिला कस्तो कलेजमा आवेदन दिइरहेको छु भन्ने थाहा नभएर धेरै फस्ने गरेका थिए तर अहिले धेरै सचेतना आइसकेको छ । अहिले एनओसी आएको छ । त्यसले धेरै भेरिफाइ गर्छ र सहजीकरण गर्छ,” उनले भने ।

फेयरमा अष्ट्रेलियामा रहेका विश्वविद्यालयहरूको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्सिलरहरूबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आइएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइएको छ ।

उपनिर्वाचनका कारण सरकार डराएर रविलाई नख्खु कारागार सारियो : दिपक बोहोरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रिय नेता दिपक बोहोराले उपनिर्वाचनका कारण रवि लामिछानेलाई सारिएको बताएका छन् । शनिबार नख्खु कारागार परिषद्मा पत्रकारहरुसँग कुरा गर्दै उनले उपनिर्वाचनका कारण सरकार डराएर अहिले रविलाई नख्खु कारागार सारिएको बताएका हुन् ।

उनले भने, ‘सरकार डरायो, भैरहवा राखेर चुनाव जित्छ जस्तो लागेर हो । उपनिर्वाचनका कारण जस्तो देखिन्छ । किनकी जेठ १७ गते आदेश भएको थियो किन त्यसबेला दिएन,’ नेता बोहोराले थप भने, ‘जतिबेला हामीले रवि लामिछानेलाई सारिनुपर्छ, सुरक्षित ठाउँमा, त्यहाँ अप्ठ्यारो छ भनेका थियौँ । मानव अधिकार आयोगले नै किन भन्नुपर्र्यो त ?’उनले रविलाई जुनसुकै कारागार राखेपनि सुरक्षित हुनुपर्ने बताए ।

‘नख्खु राख्दा समस्या भएन, सुरक्षा हुनुपर्यो । पछिल्ला कैलालीका कारागारहरुमा जुन घटनाहरु भईरहेका छन् त्यसले के देखाउछ ? रवि दाई जहाँ भए नि सुरक्षित हुनुपर्र्यो त्यो उनीहरुको जिम्मेवारी हो,’ उनले भने ।

‘सहकारी ऐन, २०७४ मा नमिलेका विषय संशोधनबाट मिलाइने’ :मन्त्री अधिकारी

काठमाडौँ, ३१ साउनः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन, २०७४ मा नमिलेका विषय मिलाउन ऐन संशोधन गरिनुपर्ने बताउनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सहकारी ऐनमा नमिलेका विषयले यो क्षेत्रलाई व्यवस्थापन गर्न समस्या भएकाले ऐन संशोधनको आवश्यकता औँल्याउनुभयो ।

तीन खम्बे अर्थतन्त्रको सहकारी महत्त्वपूर्ण खम्बा भएकाले यसलाई सक्षम र सशक्त बनाइनुपर्ने मन्त्री अधिकारीले धारणा राख्नुभयो । वडा, पालिका र जिल्लामा कति सहकारी आवश्यक हो, त्यो पहिचान गरेर दर्ता गरिनुपर्ने बताउँदै उहाँले तरलताको व्यवस्थापनमा सहकारी क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

सहकारी नियमन प्राधिकरण, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले काम गरिरहेको बताउँदै बदनाम भएका सहकारीको अभिलेख तयार पार्न सरोकार भएका निकायलाई मन्त्री अधिकारीले निर्देशन दिनुभयो ।

समितिका अध्यक्ष श्रीमनकुमार गौतमले सरकारले घोषणा गरेका समस्याग्रस्त २३ सहकारीमध्ये तीन वटाको हिसाबकिताब राफसाफ गरी बचतकर्ताको सबै बचत रकम फिर्ता गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहकारी महासङ्घका अध्यक्ष ओमदेवी मल्ल, नेफ्स्कुनका अध्यक्ष चन्द्र ढकाललगायत वक्ताले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक छलफल र पहल भइरहेको बताउनुभएको थियो ।

विचित्रा खोलामा आएको बाढी बस्तीमा पस्दा १० घर डुबानमा

सिन्धुली, ३१ साउनः यहाँको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन् । त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते हुनुभएको छ ।आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो । अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा घाइते हुनुभएकी दनुवारलाई उद्धार गरी उपचारको लागि दुधौली नगर अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

डुबानले दनुवारको घर, गाईगोठ, ध्यानवतीकुमारी दनुवार, बुद्धलाल कुमार, आशा अधिकारी दनुवार, लक्ष्मीकुमारी दनुवार, सङ्गीता थापा, शिवनाथ दनुवार, निसा दनुवार, बृर्जलालकुमार दनुवार र केदार गिरीको एक तले घरमा बाढी पसेको उहाँले जानकारी दिनुभयो । बस्तीमा बाढी पसे पनि मानवीय क्षति भने नभएको र पीडितहरूका लागि अस्थायी आवासको व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले जिल्लामा मनसुन सक्रिय रहेकाले वर्षातका कारण विपद्को अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिपी राजमार्गको सिन्धुली खुर्कोट सडक खण्डमा सञ्चालन हुने सवारीसाधनलाई भदौ १ गते देखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा पुनः रोक लगाइएको जानकारी दिनुभयो ।स्थानीय प्रशासनले गत साउन १ गतेदेखि रातिको समयमा सवारी सञ्चालन गर्न रोक लगाउँदै आएको छ ।

विजयोत्सवका अवसरमा प्रदेश सरकारले दियो सार्वजनिक बिदा

तानसेन (पाल्पा), ३१ साउन: नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा पाल्पामा निकालिने ऐतिहासिक भगवतीको रथसहितको सिन्दुरजात्राको तयारी पूरा भएको छ । यसवर्ष आइतबार २०६औँ भगवती खट यात्राका रूपमा विजयोत्सव निकाल्न लागिएको हो ।

प्रत्येक वर्ष यहाँ श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिले विजयोत्सवस्वरुप ऐतिहासिक भगवती जात्रा (रथयात्रा) निकाल्ने गरेको छ । यस वर्षको भगवती जात्राको तयारी पूरा भएको समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिनुभयो । रथयात्राले भगवतीको महिमाको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पु¥याउने विश्वास गरिएको उहाँले बताउनुभयो ।

तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्ध जितेमा तीनतले मन्दिर बनाइ भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेको किंवदन्ती छ । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेको र सोही परम्परा हालसम्म चल्दै आएको समितिका अध्यक्ष महर्जनले बताउनुभयो ।

जात्राका अवसरमा आइतबार प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ । विसं २०८१ चैत १४ गते प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लापरबाही, समिति गठन

मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत डिकेशनाथ योगीको शनिबार निधन भएको छ । परिवारजनले डाक्टरको लापरबाहीपूर्ण उपचारका कारण मृत्यु भएको दाबी गर्दै स्वास्थ्य प्रतिष्ठानको समग्र उपचार व्यवस्थापनमा गम्भीर प्रश्न उठाएका छन् ।

शनिबार प्रतिष्ठान परिसरमा विभिन्न दलका नेता, जनप्रतिनिधि, स्थानीय समाजसेवी र योगी परिवारका सदस्यहरूको उपस्थितिमा छलफल गरी निर्णय गरिएको छ ।

योगीको मृत्यु प्रकरण छानबिन गर्न जिल्ला स्तरीय समिति गठन गरिएको छ । सो समितिको संयोजकमा जिल्ला समन्वय समितिका प्रमुख गौरिनन्द आचार्य रहेका छन् भने सदस्यहरूमा बद्रिनाथ योगी, रतननाथ योगी, विष्णुबहादुर महत र मीन बहादुर रावल लगायतका सात सदस्य रहेका छन्।

समितिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समग्र उपचार व्यवस्थापनको सम्बन्धमा अध्ययन–छानबिन गरी प्रतिवेदन पेश गर्नेछ । प्रतिष्ठानले पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने विषयमा पहल गर्ने र तीन दिनभित्र स्पष्ट व्यवस्था मिलाउने निर्णय गरिएको छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, नेकपा एमालेका केन्द्रीय सदस्य रतन नाथ योगी माओवादी केन्द्रका बिष्णु बहादुर महत, स्थानीय जनप्रतिनिधि, चिकित्सक तथा योगी परिवारका आफन्तहरूको उपस्थिति रहेको थियो।

बङ्गलादेशले नेपाललाई दियो एक सय ८४ रनको लक्ष्य

काठमाडौँ, ३१ साउनः स्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी ‘टप एण्ड टी-२०’ सिरिजअन्तर्गत आज भएको खेलमा बङ्गलादेशको ‘ए’ टोलीले नेपाललाई जितका लागि एक सय ८४ रनको लक्ष्य दिएको छ ।

अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बङ्गलादेश ‘ए’ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८३ रनको योगफल बनाएको हो ।

बङ्गलादेशका लागि ओपनर जिशाद आलमले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले अविजित ४८ रन बनाए । नेपालका लागि रिजन ढकालले दुई विकेट लिए भने नन्दन यादव, करण केसी र सन्दीप लामिछानेले समान एक/एक विकेट लिए । नेपाल आज पहिलो जितको खोजीमा छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।

पार्टी महाधिवेदनका लागि सबैले दबाब दिनुपर्ने आवश्यकता छः नेता डा कोइराला

काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशनका लागि पार्टी नेता तथा कार्यकर्ताले दबाब दिनुपर्ने अवस्था आएको बताउनुभएको छ । उहाँले महाधिवेशनका लागि दैनिक सामाजिक सञ्जालमार्फत सभापति शेरबहादुर देउवालाई दबाब दिन र आवाज उठाउन आग्रह गर्नुभएको हो ।

कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुले आज यहाँ आयोजना गरेको नेपाली ‘कांग्रेसभित्र अपरिहार्यता, सहमति, सहकार्य र एकता आजको आवश्यकता’ विषयक अन्तरक्रियामा नेता कोइरालाले कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र त्यसको प्रत्यक्ष असर देशमा पर्ने भएकाले महाधिवेशन ढिलो गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अधिवेशनको सङ्घारमा छौँ । छिटोभन्दा छिटो महाधिवेशन नभए कांग्रेस कमजोर हुँदै जान्छ । त्यसैले सबैले हरेक दिन सामाजिक सञ्जालमा समयमै महाधिवेशन हुनुपर्छ भनेर लेख्न थाल्नुस्, दबाब बढाउनुस् ।”

नेता डा कोइरालाले विसं २०८४ पछि मात्रै महाधिवेशन गर्ने भन्ने चर्चा पार्टीभित्र सुनिन थालेकामा आपत्ति जनाउँदै त्यसरी पार्टी चल्न नसक्ने स्पष्ट पार्नुभयो । साथै, पार्टीको अनुशासन समिति नै गुटगत प्रभावमा परेको र ‘नोट अफ डिसेन्ट’लाई समेत मान्यता नदिएको उहाँको आरोप थियो ।

डा कोइरालाले पार्टीभित्र सहमति, सहकार्य र सङ्गठनात्मक एकता अनिवार्य रहेको उल्लेख गर्दै त्यसको सुरुआत सभापतिबाटै हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेसलाई एकढिक्का बनाएर अगाडि बढाउन १५औँ महाधिवेशन समयमै हुनुपर्ने उहाँको भनाइ थियो ।

बिपी राजमार्ग : थप १५ दिन राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक, ३१ साउन : बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको शुक्रबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ ।

कार्यालयले उक्त निर्णय गर्दै सूचनामार्फत मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अनुरोधसमेत गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले मनसुनको समयमा बिपी राजमार्गमा उच्च जोखिमका कारण रातको समयमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न स्थानमा जोखिम भएकाले यातायात सञ्चालनमा रोक लगाइएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने छ ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभे्रपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ः०० बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म र साउन महिनाभर साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म सडक सञ्चालनमा रोक लगाइएको थियो ।

गतसाल असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्षेखोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कूल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो ।

कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।

सर्लाहीमा गोली प्रहारबाट एक जनाको मृत्यु

मलङ्गवा (सर्लाही), ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।

मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए ।

गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाईतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिनुभयो । घटनामा संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।

मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्नुहुन्थ्यो । उहाँले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ । ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ३१ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४२, आलु रातो प्रतिकिलो रु ५१, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु १२०, गाजर (तराई) प्रतिकिलो रु १००, काउली (लोकल) प्रतिकिलो रु २५, बन्दा (तराई) प्रतिकिलो रु २०, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (ज्यापु) प्रतिकिलो रु १३०, काउली (तराई) प्रतिकिलो रु ११०, रातो मूला प्रतिकेजी रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु २५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ९० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ९०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ५०, घिरौला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ८०, भिण्डी प्रतिकिलो रु ७० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ४००, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २५०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २००, रातो बन्दा प्रतिकिलो रु ३८०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु १६०, पुदिना प्रतिकिलो रु ४००, गान्टेमुला प्रतिकिलो रु ९०, इमली प्रतिकिलो रु १९०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ४००, आँप (चोसा) प्रतिकिलो रु २२०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु १००, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५० र लप्सी प्रतिकिलो रु ६०, किबी प्रतिकिलो रु ४०० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ५०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु १२०, लसुन हरियो प्रतिकिलो रु १२०, हरियो धनियाँ प्रतिकिलो रु ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १३०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

भाद्रकृष्ण अष्टमी : देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, ३१ साउन : प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको लाम लागेको छ ।

यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा रहेको नवतनधाममा पनि भक्तजनको भीड लागेको छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

राजधानीका मुख्य तीर्थस्थल पशुपति क्षेत्रमा रहेका कृष्णमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । वसन्तपुर दरबार क्षेत्रमा रहेको कृष्णमन्दिरमा पनि भक्तजनको भीड लागेको छ । काठमाडौँ उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्छन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । अन्याय, अत्याचार बढेपछि मानव अवतारका रूपमा पृथ्वीमा आएर साधुको संरक्षण र दुष्टको नाश गर्ने श्रीकृष्णले श्रीमद्भगवतगीतामा अर्जुनका माध्यमबाट आम मानिसलाई शिक्षा दिनुभएको छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । गीतामै टीका (भाष्य) लेख्ने पनि धेरै छन् ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

कति ठाउँमा आजै त कति ठाउँमा भोलि रथयात्रा निकालिन्छ । अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म हुने भएकाले खुशियालीमा भाद्रकृष्ण नवमीका दिन रथयात्रा गर्ने गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट नेपाली बिरामी

काठमाडौँ – कुवेतमा केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण ३५ नेपाली नागरिक बिरामी भइ अस्पतालमा उपचाररत रहेका छन् ।

केवतस्थित नेपाली दूनावासले उक्त दुःखद् घटनामा ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको जनाएको छ । निजमध्ये केहीको मृत्यु भएको जानकारी पनि राजदूतावासमा प्राप्त भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । केही बिरामी विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेका दूतावासले आज विज्ञप्तिमामार्फत जानकारी गराएको छ ।

उक्त विषयमा जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूतलगायत अन्य कर्मचारीले विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीको अवस्थाका बारेमा जानकारी लिएको थियो । यस सम्बन्धमा दूतावासले सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको जनाएको छ ।

उक्त घटनाका मृतकप्रति दूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । साथै दूतावासले उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहनु हुनसमेत दूतावासले विशेष अनुरोध गर्दै त्यस सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको वाट्सएप नं +९६५६१००८९५६ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी, ३१ साउनः यहाँका महिलाका घरजग्गामा स्वामित्व बढ्न थालेको छ । सरकारको अनुकूल नीति, सामाजिक संरचनामा आएको परिवर्तन र शसक्तिकरणसँगै घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको हो ।

सरकारले महिला, दलित तथा जनजाती, सहिद परिवार र अपाङ्गको नाममा घरजग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुरमा २५ प्रतिशत राजस्व छुट दिने गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा जिल्ला मालपोत कार्यालय म्याग्दीबाट आठ सय ८१ लिखत पारित भएकोमा १८० महिलाको नाममा छ ।

घरजग्गा खरिद गरेका महिलाले गत वर्ष रजिष्ट्रेशन शूल्कमा रु २४ लाख ४८ हजार ५३० छुट पाएका कार्यालयका प्रमुख साधनाकुमारी श्रेष्ठले जानकारीदिनुभयो । आर्थिक वर्ष २०८०/८१ मा २४३ महिलाले घरजग्गा आफ्नो स्वामित्वमा बनाएका थिए ।

महिलाको आर्थिक स्रोतमा पहुँच बढ्नु, चेतनाको विकास, शसक्तिकरण, पुरुष विदेश गएकाले घरको नेतृत्व महिलाले गर्नु र सरकारले दिने छुट सुविधाका कारण महिलाको नाममा घरजग्गाको स्वामित्व बढेको मालपोत अधिकृत श्रेष्ठले बताउनुभयो ।

गत वर्ष ४१ जना दलित तथा जनजाती, एक जना अपाङ्ग र १२ जना अन्य वर्गकाले घरजग्गा खरिदका लागि छुट पाएका थिए । सबै लक्षित समुदायका ३३४ जनाले रजिष्ट्रेशन शूल्कमा रु. ३१ लाख ६० हजार ८८६ छुट पाएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार कूल एक लाख सात हजार जनसङ्ख्या रहेको जिल्लामा महिला जग्गाधनी नौ दशमलब सात प्रतिशत छन् । ११ दशमलब आठ प्रतिशत महिलाको नाममा घरजग्गा दुवै र दुई दशमलब तीन प्रतिशतको नाममा घर मात्रै छ । कूल जनसङ्ख्यामध्य ५१ दशमलब तीन प्रतिशत महिला र ४८ दशमलब सात प्रतिशत पुरुष छन् ।

यसैगरी घरजग्गा दृष्टिबन्धक राखेर बैङ्क, वित्तीय र सहकारी संस्थाबाट ऋण लिनेको सङ्ख्या पनि उल्लेख्य रहेको मालपोत कार्यालय म्याग्दीका नायव सुब्बा कमलप्रसाद मरासिनीले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२मा ९१६ जनाले घरजग्गा रोक्का र एक हजार ४१५ वटा फुकुवा गरेका छन् ।

आर्थिक वर्ष २०८०/८१मा ८५७ जनाले घरजग्गा धितो राखेर बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएका र एक हजार १६९ जनाले रोक्का राखेको घरजग्गा फुकुवा गरेका थिए । बैङ्क, वित्तीय र सहकारी संस्थामा घरजग्गा धितो राखेर ब्यापार ब्यवसाय, वैदेशिक रोजगारी, शिक्षा, पशुपालन, कृषिमा लगानी गर्नेलाई सजिलो भएको छ ।

राजस्व सङ्कलन उच्च

आर्थिक वर्ष २०८१/८२मा मालपोत कार्यालय म्याग्दीले पछिल्लो सात वर्षयताकै धेरै रु पाँच करोड ८१ लाख पाँच हजार ९११ राजस्व सङ्कलन राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८०/८१मा रु चार करोड ११ लाख १३ हजार ७३२, २०७९/८०मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको थियो । कोरोना कालमा घटेको घरजग्गा किनबेच विस्तारै लयमा फर्किन थालेपछि राजस्व सङ्कलनमा सुधार भएको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९मा रु पाँच करोड चार लाख ८४ हजार ९१०, २०७७/७८ रु पाँच करोड ११ लाख तीन हजार ६०० र २०७६÷७७मा रु तीन करोड २९ लाख ४३ हजार ८० राजस्व सङ्कलन भएको थियो ।

गत आर्थिक वर्षमा रजिष्ट्रेशन शूल्क वापत रु दुई करोड आठ लाख ८६ हजार २७२, पुजिँगत लाभकर शिर्षकमा रु दुई करोड ३१ लाख ५५ हजार ४४०, न्यायिक दस्तर, दण्ड जरिवाना, रोक्कावापत रु एक करोड ३९ लाख ८३ हजार ७५६ र सेवाशूल्क र प्रशासनिक दस्तुर शीर्षकमा रु ८० हजार ४४३ राजस्व सङ्कलन भएको छ ।म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, ३१ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३१ पैसा र बिक्रीदर चार रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४ रुपैयाँ ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८९ पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ०९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ६४ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ, ३१ साउनः प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।

आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । समितिको बैठक १०ः३० बजे समितिको बैठक कक्षमा बस्ने सम्भावित कार्यक्रम छ ।

१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकत्ता बन्दरगाहबाट धमाधम नेपाल भित्रिँदै

काठमाडौँ, ३१ साउन : साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पाेरेशनका गोदममा ल्याउनेक्रम जारी रहेको जनाएको छ ।

कर्पाेरेशनले हालै मात्र चारलाख ४० हजार बोरा युरिया र दशलाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पाेरेशनलाई प्राप्त भएको पनि सस्थाले स्पष्ट पारेको छ ।

रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पाेरेशनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, “कर्पाेरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पाेरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटाअनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।”

हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्चालमा समाचार तथा पोष्ट भइरहेकामा कर्पाेरेशनले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ ।

आजको मौसम : मनसुनको अवस्था कमजोर, यी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, ३१ साउन : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशलागायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागलगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौँ, ३१ साउनः ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको हो भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ५८ रुपैयाँ ५० पैसा, एक सय ६० रुपैयाँ र एक सय ६१ रुपैयाँ तोकिएको छ । यस्तै डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ कायम भएको छ ।