`

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली (तनहुँ), २८ पुसः तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।

उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ ।

घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताउनुभयो । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कांग्रेस विशेष महाधिवेशनः बन्दसत्र आजदेखि

काठमाडौँ – नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा आइतबार सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ८ बजेदेखि हुदैछ ।

कांग्रेस विशेष महाधिवेशन भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले बिहान ८ बजेदेखि सुरु हुने बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिने जानकारी दिए । बन्दसत्रका लागि प्रस्तुत कार्यविधिमाथि छलफल गरेर निष्कर्षमा पुगिने उनको भनाइ छ ।

बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने केन्द्रीय सदस्य गौतमले बताए । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर (रौतहट), २८ पुस : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ । आइतबारसम्ममा १५२ महिलासहित ९५२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिनुभएको छ ।

प्रनाउ बस्यालका अनुसार नेपाल प्रहरीतर्फ तीन हजार ४६६ र सशस्त्र प्रहरी बल नेपाल तर्फ ३८५ निर्वाचन प्रहरी भर्ना हुनेछन् । आवेदन दिएका आवेदकहरुका लागि आगामी माघ ४ गते सम्पर्क मिति तोकिएको छभने माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिने जनाइएको छ ।

छनोट भएका उम्मेदवारहरूको अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने र निर्वाचन प्रहरीले नियुक्ति भएको दिन देखि जम्मा ४० दिनको सेवा सुविधा प्राप्त गर्ने जनाइएको छ ।

आज तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो

काठमाडौँ, २८ पुस : नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

अल्पायुमै अस्ताए प्रशान्त…

काठमाडौँ – प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध हुनुहुन्थ्यो । भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उहाँको लोकप्रियता विश्वभर फैलियो । उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो ।

आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध बने । नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण बन्नुभएको थियो गायक तामाङ । उहाँ विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ ।

गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । सोही क्रममा गीतकार तथा चलचित्र निर्माता राजेश घतानी उहाँसँग जोडिनुभएको थियो । नेपालीभाषीले त्यो समयमा पाएको ठूलो सफलता रहेकाले पनि दार्जिलिङ पुगेर जिताउने अभियानमा आफूसहित केही साथीहरू जोडिएको निर्माता घतानीले बताउनुभयो । उहाँले ती दिन स्मरण गर्दै भन्नुभयो, “अन्तिम १० मा परेपछि मैले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम ग¥यौँ । हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उहाँलाई जिताउन खर्च गर्न थाल्यौँ ।”

उक्त समयमा नेपालबाट निर्माता घतानीसँगै ‘हेयर डिजाइनर’ निल डेभिड कटवाल, गायक बाबु बोगटी, पत्रकार विदुर खतिवडालगायत पुगेका थिए । निर्माता घतानीका अनुसार त्यहाँ हुने छुट्टाछुट्टै कार्यक्रममा गायिका प्रविशा अधिकारी, कलाकार विल्सन विक्रम राईलगायत पनि सहभागी थिए ।

तामाङ आइडलका विजेता भइसकेपछि नेपाली चलचित्र ‘हिम्मत–२’ मार्फत जोडिनुभएको थियो । दीपक श्रेष्ठले उक्त चलचित्रको सम्पूर्ण गीत गायक तामाङको स्वरमा रेकर्ड गराउनुभएको थियो । “विश्वभरका नेपालीले रुचाएको र माया गरेको आवाजले नेपाली चलचित्रमा स्थान पाउनु पर्छ भनेर मैले पहिलो पटक पाश्र्व गायनमा ल्याएँ । उहाँको सरलता देखेर म छक्क परेको थिएँ । विश्वभरका नेपालीका प्रिय पात्रले नेपाल र नेपाली गीतसङ्गीतलाई गर्ने माया अद्भुत थियो । उहाँमा इन्डियन आइडल विजेता भएको घमण्ड फिटिक्कै थिएँन”, निर्देशक श्रेष्ठले उहाँको स्मरण गर्दै भन्नुभयो ।

पछि तामाङ अभिनेताको रुपमा चलचित्र ‘गोर्खा पल्टन’ मा देखिनुभयो । उक्त चलचित्रमा लाहुरेको भूमिका निर्वाह गर्नुभएका गायक तामाङले गाउनुभएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ निकै लोकप्रिय भएको थियो । त्यसपछि उहाँले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता चलचित्रमा काम गर्नुभयो । गत ५ मङ्सिरमा प्रदर्शन भएको ‘पहिचानको लडाइँ’ उहाँले अभिनय गर्नुभएको अन्तिम नेपाली चलचित्र बन्न पुग्यो ।

अभिनय सुरुआत गरेदेखि उहाँले आफूलाई गायक भन्दा पनि अभिनेताको रुपमा अगाडि बढाउनुभयो । ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रुपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उहाँले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’ मा अभिनय गर्नुभयो । भारत र चीनबीच भूराजनीतिक तनाव निम्त्याउने ‘गलवान झडप’ को कथावस्तुमा बनेको उक्त चलचित्र आगामी वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त चलचित्रको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा हुनुहुन्थ्यो ।

सोही क्रममा दिल्लीमा रहनुभएको उहाँको निधन भयो । कोभिड १९ का कारण आमा गुमाएपछि उहाँले परिवारलाई धेरै समय दिन थाल्नुभएको थियो । निर्माता घतानीका अनुसार उहाँ श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्नुहुन्थ्यो । श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उहाँकै हुन्थ्यो ।

“आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्नुहुथ्यो । छोरीमा उहाँले आमाको प्रतिविम्व देख्ने गरेको बताउनुहुन्थ्यो”, निर्माता घतानीले भन्नुभयो ।

कोभिड १९ का कारण आमाको निधन हुँदा गायक तामाङ स्वयम् कोभिडको बिरामी हुनुहुन्थ्यो । आफ्नो आमाको अन्त्येष्टीमा सहभागी हुन नपाएको पिडा उहाँको मनमा सधैँ रहिरह्यो । त्यही भएर छोरीलाई सक्दो खुसी बनाउने र परिवारलाइ समय दिने उहाँको स्वभाव थियो । उहाँले सन् २०११ मा एयरहोस्टेस गीता थापासँग विवाह गर्नुभएको थियो । सन् २०२२ मा उहाँको छोरी जन्मिएको थियो ।

उहाँको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले आज नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उहाँको पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् ।

नेपाली भाषाको गीत सङ्गीत र अभिनयको माध्यमबाट संसारभरका नेपालीलाई जोड्न सफल हुनुभएका तामाङलाई हरेक नेपालीले सधैँ सम्झिरहने छन् ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ८० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ७६ पैसा , बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा , ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिनिधि सभा निर्वाचन ५२ दिन बाँकी :आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।

बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

धरान (सुनसरी), २८ पुसः ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा’ नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ ।

ऐतिहासिक गढीको सम्बन्ध र भुमिकालाई जोड्दै आयोजना गरिएको यस कार्यक्रम महत्वपूर्ण रहेको धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र बिक्रम बेघाले बताउनुभयो । “नेपाली सेनाले आयोजना गर्दै आएको यस कार्यक्रममा यस वर्ष धरान उपमहानगरपालिकाले पनि सहकार्य गर्न पाउँदा हामी खुसी छौँ”, उहाँले भन्नुभयो, “इतिहासमा हाम्रा अग्रजले कहाँ कसरी लडे, कसरी किल्ला खडा गरे र ती किल्लाको महत्व तथा भुमिका के थियो भन्ने कुरा पुनः स्मरण गर्ने अवसर यो कार्यक्रमले दिएको छ ।”

संक्षिप्त इतिहास
धरानस्थित विजयपुरगढी पूर्वी नेपालको रणनीतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण गढी मानिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गर्ने क्रममा विभिन्न स्थानमा गढी, किल्ला र पदमार्ग प्रयोगमा ल्याएका थिए । कोशी प्रदेशमा पनि यी मार्ग र किल्ला महत्वपूर्ण रणनीतिक केन्द्रका रूपमा प्रयोग भएको इतिहासमा उल्लेख छ ।

विशेषगरी पूर्वमा हतुवागढी–भोजपुर, साँगुरीगढी–धनकुटा, विजयपुरगढी–सुनसरी, हेदङ्गनागढी–संखुवासभा, चौदण्डिगढी–उदयपुर, चन्द्रगढी–झापा र गढीथुम्का–इलामजस्ता मुख्य गढी ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छन् ।

विजयपुरगढी क्षेत्र तत्कालीन मोरङ राज्यको राजधानी विजयपुरको रूपमा विसं १७२७ मा स्वतन्त्र भएको थियो । त्यसभन्दा पहिले यो क्षेत्र मकवानपुरको सेन राज्यको अधीनमा थियो । यहाँका पहिलो राजा इन्द्रसेन थिए र तत्कालिन समयमा लालकोट, माथिल्लोकोट, तल्लोकोट र साँगुरीगढीजस्ता बलिया किल्ला÷गढी यहाँ अवस्थित थिए । विजयपुर त्यतिबेला पूर्वीक्षेत्रको प्रशासन, व्यापार र सैनिक शक्ति केन्द्र थियो र यहाँबाट सिक्किमसम्मको प्रशासन सञ्चालन हुने गरेको थियो ।

नेपाल एकीकरण अभियानका क्रममा राजा पृथ्वीनारायण शाहले किरात राज्यमाथि आक्रमण गर्न सरदार रामकृष्ण कुँवरलाई खटाएका थिए । सन् १७७२ मा रामकृष्ण कुँवरले दूधकोशी नदी पार गरी किरात क्षेत्रका राजा कर्ण सेनमाथि विजय हासिल गरेका थिए । त्यसपछि विजयपुर क्षेत्र नेपालमा समाहित भयो र पूर्वीसीमासम्म गोर्खाली विजय अभियान अघि बढेको बताइन्छ ।

विजयपुरगढी–साँगुरीगढी पदयात्रा सेनाले बर्सेनी आयोजना गर्दै आएको छ । साँगुरीगढीको ऐतिहासिक स्थलसँगै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताउनुभयो । “पुराना गढी र किल्लाको संरक्षण, पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली सेनासँग मिलेर हामीले यस कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, “यस वर्षको कार्यक्रम विशेषगरी धरान उपमहानगरपालिका–१४ मा रहेको विजयपुरगढी र साँगुरीगढीको ऐतिहासिक महत्वलाई जोडेर आयोजना गरिएको छ । गत वर्षसम्म साँगुरीगढी ‘रन’ कार्यक्रमको रूपमा मात्र सञ्चालन हुँदै आएको भए पनि यस वर्ष धरानको विजयपुरगढीदेखि साँगुरीगढीसम्मको पूर्ण दौड आयोजना गरिएको छ ।”

विजयपुरगढी र साँगुरीगढीबीचको ऐतिहासिक सम्बन्ध उजागर गर्दै, भविष्यमा यी स्थललाई पर्यटनका लागि प्रवद्र्धन गर्ने, गढी–किल्लाको संरक्षण सुनिश्चित गर्ने र स्थानीय ऐतिहासिक भूक्षेत्रको महत्व स्थापित गर्ने अवसर प्रदान हुने विश्वास लिइएको छ । पदयात्राले केवल ऐतिहासिकस्थलको स्मरण मात्र नभएर राष्ट्रिय एकता र देशप्रेम प्रवद्र्धन गर्ने काम गर्नुका साथै आगामी पुस्तामा इतिहासप्रतिको चेतना जगाउने सेनाको भनाइ छ ।

पदयात्राको अवसरमा विजयपुरगढी–साँगुरीगढी दौड आयोजना गरिएको थियो । जसमा पाँच किलोमिटर दौड (महिला र पुरुष ) र १० किलोमिटर दौड (पुरुष÷महिला) विधा समावेश गरिएको थियो । १० किलोमिटर खुल्ला दौडमा पुरुष २३६ जना र महिला ४० जना साथै पाँच किलोमिटर दौडमा छात्र ८० जना र छात्रा ३८ जनाको सहभागिता रहेको थियो ।

दस किलोमिटर दौडमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश रु २५ हजार रु १५ हजार र रु १० हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरियो भने पाँच किलोमिटर दौडमा प्रथम, दोस्रो र तेस्रो हुने महिला, पुरुषलाई क्रमशः रु १२ हजार, रु आठ हजार र रु पाँच हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । साथै उत्कृष्ट १० भित्र पर्ने अन्य सहभागीलाई पनि प्रमाणपत्र प्रदान गरिएको नेपाली सेनाले जनाएको छ ।

हरेक वर्ष सञ्चालन हुँदै आएको यस कार्यक्रममा नेपाली सेना, पूर्वीपृतना हेड क्वार्टर इटहरी, श्री नं २ वाहिनी अड्डा, श्री भीमदल गण, श्री भगवतीदल गण, विभिन्न गण, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका र साँगुरीगढी गाउँपालिकाको संयुक्त आयोजना हुने गरेको छ । ऐतिहासिक निशान पदयात्रा आगामी पुस ३० गते धनकुटाको पाख्रिबासमा पुगेर समापन गरिने सेनाले जनाएको छ ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका नगर प्रमुखहर्कराज साम्पाङ्ग राई, श्री पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी श्री गौरवकुमार केसी, श्री नं २ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी श्री दिवाकर विक्रम राणा, सुनसरी प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्का, सुनसरी श्री भगवतीदल गणका प्रमुख सेनानी श्री राजन भूजु, धनकुटास्थित श्री भीमदल गणका गणपति गणेश थापालगायतको उपस्थिति थियो ।

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत – “शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भन्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।”

समुद्री सतहदेखि चार हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गर्नुभएको छ । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिनुभएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बन्नुभएको छ ।

रासससँग आफ्नो आरोहण अनुभव सुनाउँदै उहाँले भन्नुभयो, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।”

बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताउनुभयो । युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उहाँले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताउनुभयो । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उहाँको बुझाइ छ । “यो एक अद्भुत अनुभूति हो । म बयान गर्नैै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ । तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु”, उहाँले भन्नुभयो, “हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शीर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।”

मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गर्नुभएको थियो । त्यसैगरी उहाँले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गर्नुभएको र गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गर्नुभएको हो । योसँगै उहाँले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ किर्तिमान बनाउनु भएको छ ।

सेभेन समिटको रूपमा रूसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेस गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उहाँले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गर्नु भएको थियो । यसलाई गिनिज वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको बताइएको छ ।

कृत्रिम खुट्टाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराउनु भएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्वसामु प्रस्तुत गर्नुभएको छ । माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उहाँले रासससँग भन्नुभयो, “आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चामत्कारिक र स्वर्गजस्तै लाग्थ्यो ।”

आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, “तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस÷हेर्नुहोस् ।” उहाँले आफ्नो यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिको जीवन परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितलाई साथमा लिएर उहाँले २४ घण्टानै उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविरतर्फ लाग्नु भएको थियो । उहाँको आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो ।

रोल्पाको थवाङ गाउँपालिकास्थित मिरुल गाउँमा जन्मिनुभएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धमा पैदल गस्ती जाने क्रममा एक भूमिगत बम विस्फोटबाट दुबै खुट्टा गुमाउनु भएको थियो । १५ वर्षसम्म उहाँले ब्रुनाइ, कोसोभो, फकल्याण्ड र अन्य ठाउँमा काम गर्दै पाँच महादेशमा गोर्खा सैनिकको रूपमा काम गर्नुभएको थियो । तीन सन्तानका पिता हरि, हाल परिवारसहित बेलायत क्यान्टबरी केन्टमा बस्दै आउनु भएको छ ।

गतवर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गर्नु भएका उहाँ ‘प्राइड अफ ब्रिटेन बेलायत’ गौरव अर्वाडका विजेता समेत हुनुहुन्छ । दुबै खुट्टा गुमाएपछि चरम निराशा र मदिरा सेवनले आत्महत्याको प्रयास सम्म गर्नुभएका उहाँले ती दिन स्मरण गर्दै आफूलाई स्काइ डाइभिङको मौकाले जीवनमा नयाँ परिर्वतन ल्याएको बताउनुभयो ।

उहाँले विश्वको सर्वोच्च शिखर सरगमाथाको देशका मानिस उच्च साहस र दृढ विश्वासी छन् भन्ने सन्देश दिन सफल भएको सुनाउनुभयो । उहाँले आफ्नो सफलता अपाङ्गता भएका समुदायलाई समर्पित गरेको बताउनुभयो । आफ्नो सफलताको खुसी बाँड्न उहाँ माघ १ गते काठमाडौँ ओर्लँदै हुनुहुन्छ । त्यसपछि बेलायत फर्केर बेलायतका प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचन : समानुपातिक उम्मेदवारले सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सक्ने

काठमाडौँ, २७ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले सोमबार साँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।

निर्वाचन आगोगले आज सूचना जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूवाट यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूलाई जानकारी गराएको छ ।

हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगमा सोमबा बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ । साथै बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।

कांग्रेस विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ प्रतिनिधि

काठमाडौँ – काठमाडौँको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराउनुभएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज आठ ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर) बाट १७८ र भातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ ।

‘आगामी चुनावमा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्नु हुँदैन’ – कांग्रेसका नेता रसाइली

काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले कांग्रेसलाई नातावादबाट टाढा राख्न सकेको खण्डमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत आउने बताउनुभएको छ । भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता रसाइलीले आगामी निर्वाचनका कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने उहाँको भनाइ थियो ।

यस्तै नेता बजरङ्ग नेपालीले आत्म समीक्षा, आत्मसम्मान र पुनर्जागरणका लागि विशेष महाधिवेशनमा उपस्थित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेस इतिहासले प्रमाणित गरेको पार्टी हो, राणाशासनसँग लडेको पार्टी हो, लोकतन्त्र स्थापना र राजतन्त्रको अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेको पार्टी हो ।” उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरबहादुर पुनले जेनजीको आकाङ्क्षा र पार्टी विधिसम्मत चलाउन पनि विशेष महाधिवेशन गर्नु परेको बताउनुभयो ।

नेता ओमकार श्रेष्ठले भन्नुभयो, “कांग्रेस ब्यूँझिएको छ, आगामी चुनावमा हामीले बहुमत ल्याउने गरी अगाडि बढौँ, कसैलाई निषेध होइन, सबैलाई समावेश गरेर अगाडि बढ्नुपर्छ ।”

अर्का नेता सुरेन्द्र चौधरीले कांग्रेसलाई नयाँ युग चेतनाका साथमा आधुनिकीकरण गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ, २७ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलस्थितमा आज लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको तयारीबारे छलफल गएिको हो ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आजदेखि प्रदेशगत रूपमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग निर्वाचनको रणनीतिबारे छलफल गरिएको बताउनुभयो । “पार्टीले सातैवटा प्रदेशका संयोजक, प्रदेशबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रीय सदस्यसहितको बैठक सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “सोमबार मधेस, बागमती, कोशी र सुदूरपश्चिम प्रदेशको बैठक डाकिएको छ ।”

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छः अध्यक्ष लिङ्देन

काठमाडौँ, २७ पुसः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासका लागि प्रेरित गर्ने बताउनुभएको छ ।

पार्टीद्वारा ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शाहले मुलुकको एकीकरणमा पु¥याएको योगदानलाई सम्झनुका साथै उहाँको आदर्शबाट पाठ सिकेर देशलाई सुदृढ राष्ट्रका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले सबै नेपालीहरूले आफ्नो इतिहासको सम्मान गर्दै राष्ट्रिय गौरवको भावना अभिवृद्धि गर्न पृथ्वी जयन्तीलाई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्नुभयो । “देशको इतिहास, सभ्यता र राष्ट्रिय एकताको पक्षलाई संरक्षण गर्दै मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ । शाहको दूरदर्शी सोच र अदम्य साहसबाट सिक्दै सामाजिक, आर्थिक रूपान्तरण, राष्ट्रिय अर्थतन्त्र र संस्कृतिलाई थप सुदृढ बनाउन लाग्नुपर्छ । ”

कार्यक्रमका अवसरमा आयोजित चियापानमा प्रधानमन्त्री, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको राप्रपाले जनाएको छ ।

भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित

भेनेजुएलामाथि हालै गरिएको अमेरिकी सैन्य कारबाही र त्यहाँका राष्ट्रपतिको नियन्त्रणलाई बोस्निया तथा हर्जगोभिनाका विज्ञहरूले गम्भीर रूपमा अध्ययन गर्नुपर्ने घटनाका रूपमा व्याख्या गरेका छन् । उहाँहरूका अनुसार यस प्रकारका कदमहरूले विशेषगरी साना तथा विकासोन्मुख देशहरूमा अन्तर्राष्ट्रिय स्थायित्व र सार्वभौमिकताको विषयमा चिन्ता उत्पन्न गरेको छ ।

बोस्नियाली राजनीतिक विश्लेषक तथा पूर्व कूटनीतिज्ञ फुआद दिदिचका अनुसार उक्त अमेरिकी कदमलाई एकल घटनाका रूपमा मात्र नभई व्यापक रणनीतिक नीतिको हिस्साका रूपमा बुझ्न आवश्यक छ । उहाँले हालै सार्वजनिक गरिएको अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा पश्चिमी गोलार्धमा अमेरिकी प्रभाव पुनःस्थापना गर्ने उद्देश्य उल्लेख गरिएको बताउँदै जनवरी ३ मा भएको भेनेजुएलासम्बन्धी कारबाही त्यस रणनीतिलाई कार्यान्वयन गर्ने ठोस प्रयासका रूपमा देखिएको बताउनुभयो । यसले अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ परिस्थितिको संकेत दिएको उहाँको भनाइ छ ।

दिदिचका अनुसार पछिल्ला घटनाक्रमले प्रमुख शक्तिहरूले अन्तर्राष्ट्रिय मामिलामा निर्णय गर्दा सहयोगी राष्ट्रहरूसँग पर्याप्त परामर्श नगर्ने र अन्तर्राष्ट्रिय कानुन तथा स्थापित मान्यताहरूलाई पूर्ण रूपमा ध्यान नदिने प्रवृत्तिलाई उजागर गरेको छ । यस्ता अभ्यासहरूले विश्व राजनीतिक संरचनामा दीर्घकालीन प्रभाव पार्न सक्ने र बाल्कन क्षेत्रसहित अन्य संवेदनशील क्षेत्रहरूमा समेत नीतिगत असर देखिन सक्ने उहाँको धारणा छ ।

उहाँले क्युबा, कोलम्बिया र मेक्सिकोसहित ल्याटिन अमेरिकाका विभिन्न देशहरूमा यस घटनाप्रति चासो र चिन्ता व्यक्त गरिएको उल्लेख गर्नुभयो । साथै, युरोपेली साझेदार राष्ट्रहरूसँग पर्याप्त परामर्शबिना गरिएको अमेरिकी कदमले ती देशहरूमा पनि असहजता सिर्जना गरेको उहाँको भनाइ छ ।

यसै क्रममा बोस्नियाली इतिहासकार तथा पूर्व कूटनीतिज्ञ स्लोबोदान सोजाले भेनेजुएला घटनाक्रमलाई अन्तर्राष्ट्रिय राजनीतिमा ठूला शक्तिहरूले अपनाउँदै आएको हस्तक्षेपकारी ढाँचासँग तुलना गर्नुभयो । उहाँले केही पश्चिमी सञ्चारमाध्यमहरूले उक्त घटनालाई ‘आक्रमण’ भनेर उल्लेख नगरेको र अन्तर्राष्ट्रिय कानुनका दृष्टिले यसको प्रभावलाई सीमित रूपमा मात्र प्रस्तुत गरेको टिप्पणी गर्नुभयो ।

सोजाका अनुसार उक्त अमेरिकी कदमको प्रमुख उद्देश्य भेनेजुएलाका ऊर्जा स्रोतहरूमाथि प्रभाव कायम गर्नु हुन सक्ने देखिन्छ । उहाँले यसअघि इराक र लिबियामा देखिएका यस्तै हस्तक्षेपका परिणामस्वरूप ती देशहरूको सार्वभौमिकता कमजोर भएको र लामो समयसम्म क्षेत्रीय अस्थिरता कायम भएको उदाहरण प्रस्तुत गर्नुभयो ।

विज्ञहरूको निष्कर्षमा, भेनेजुएलासम्बन्धी पछिल्ला घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्धमा एकपक्षीयताको प्रवृत्ति बढ्दै गएको संकेत दिएको छ । यसले विश्वभरका साना राष्ट्रहरूमा अन्तर्राष्ट्रिय व्यवस्थाको दिशा, स्थायित्व र भविष्यप्रति गम्भीर चासो उत्पन्न गराएको छ ।

गायक शान भुषालको ‘संगी’ मा रोमान्टिक पल र सजिना

गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानको नै संगीतमा तयार भएको गीतको गीतमा शानलाई फिमेल आवाजमा सलिना बिकेले साथ दिएकी छिन् । गीतको अडियो निकै कर्णप्रिय रहेको छ।

गीतको भिडियोमा पल शाह र सजिना श्रेष्ठ फिचर रहेका छन्। मनाङ्गको सुन्दर दृश्यमा खिचिएको भिडियोमा दुवैको जोडी निकै आकर्षक देखिएको छ। मनाङ्गमा ५ दिन लगाएर खिचेको भिडिओको मेकिङ्ग उच्च देखिएको छ। खराब मौसमको बीचमा टिमले गरेको मिहेनत भिडियोमा स्पष्ट देख्न सकिन्छ। पल र सजिनाको केमेष्ट्री जति आकर्षक देखिएको छ, मनाङ्गका दृश्यमा दुवैलाई सुन्दर देखाउन छायाँकारले गरेको मिहेनत पनि उत्तिकै देखिएको छ।

किरण थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् । पवनले नै सम्पादन गरेको भिडियोको सम्पादनमा उनलाई प्रवेश खत्रीले साथ दिएका छन्। भिडियोको प्रोजेक्ट म्यानेजरको रुपमा प्रवेश खत्रीले काम गरेका छन्। ५ दिनसम्म मनाङ्गमा यो टिमलाई लगेर व्यवस्थापन गरेर भिडियो तयार गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

‘कांग्रेसको नेतृत्वमा सुशासन र परिर्वतन होस् भन्ने जेनजीको माग सम्बोधन गर्नुपर्छ’ – नेता घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका नेता गुरु घिमिरेले विशेष महाधिवेशनमा हुने हरेक छलफलमा प्रत्यक्ष सहभागी भइ महाधिवेशनलाई उत्सवमार्फत ठीक दिशावोध गर्ने कार्यमा सक्रिय हुन आह्वान गर्नुभएको छ ।

भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता घिमिरेले भन्नुभयो, “नयाँ कार्यदिशा र नीति तय गरौँ, विधानमा संशोधन गरौँ, महाधिवेशन माग्दा राखेका विषय सम्बोधन गरौँ ।”

यस्तै कांग्रेस नेत्री पुष्पा भुसालले महाधिवेशनमार्फत तय हुने नीति र नेतृत्वले युवा पुस्ता विदेश पलायन तथा महिला हिंसामा पर्ने अवस्थाको अन्त्य गर्ने सन्देश दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “महाधिवेशनबाट विश्ेवश्वरप्रसाद कोइरालाको विचारबाट खडा भएको इतिहास र सङ्घर्षलाई ऊर्जाका साथ अघि बढ्दै लोकतान्त्रिक विचारका साथ अघि बढ्ने छ, वाम गठबन्धनबाट मुक्त गर्नेछ, नयाँ जोसका साथ कांग्रेस एकताबद्ध भएर अगाडि बढ्नेछ ।”

नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई नेताको पार्टी नभइ नीति र संस्थागत पार्टी बनाउन ठूलो शक्तिका रुपमा विशेष महाधिवेशन बोलाइएको बताउनुभयो । नेता प्रदीप पौडेलले जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई कांग्रेसको नेतृत्वमा परिवर्तन गर्न सन्देश दिएकाले त्यो पक्षलाई महाधिवेशनले प्राथमिक सूचिमा राखेर निर्णय गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “जेनजी आन्दोलनले कांग्रेसलाई खबरदारी गरेको छ, त्यसैले हामीले केही त्रुटि सुधार गरी अघि जानुपर्छ, लोकतन्त्र संस्थागत गर्ने र सुशासन कायम गर्ने सन्दर्भमा सशक्त भएर आउ भनेको छ ।”

नेता शुक्रराज शर्माले कांग्रेसलाई सुधार गरेर स्थापनाकालको जस्तो बनाउन आवश्यकता औँल्याउँदै त्यसबारेमा अहिले गम्भीर बहस र छलफल गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नीतिगत सुधार गरी कांग्रेसलाई बलियो बनाउन तथा नेतृत्व पक्षलाई सुधार गरी युवा पुस्तालाई नेतृत्व प्रदान गर्न जरुरी रहेको विचार प्रकट गर्नुभयो ।

नेता देवराज चालिसेले पार्टीको विशेष महाधिवेशन कांग्रेस पार्टीसँग मात्रै नभई जेनजी विद्रोह, देशको राजनीति, नवनिर्माण र परिर्वतनसँग जोडिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तासँग सिद्धान्त बेच्ने राजनीतिले भ्रष्टिकरणको सुरुआत भयो, चुनावमा हुने स्वार्थ प्रेरित गठबन्धनले हामीलाई कहाँ पु¥याउछ ?”

नेपाली कांग्रेस बेल्जियम जनसम्पर्क समितिका पूर्वअध्यक्ष सीता सापकोटाले विशेष अधिवेशनमार्फत पार्टी रुपान्तरण र नेतृत्व हस्तान्तरणले विदेशमा रहेका लाखौँ युवा जनशक्तिलाई स्वदेश फर्काउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

जनआक्रोसलाई सम्बोधन गर्न विशेष अधिवेशन बोलाइएको हो: महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताउनुभएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा कांग्रेसको सहभागिता रहेको सरकारसँग जनता रिसाएका हुन्, आक्रोश पोखेका हुन् । नवयुवा भ्रष्टाचार, कुशासन र बेतिथिसँग रिसाएका हुन् । राजा फालेर ल्याएको गणतन्त्रमा नेपाबेवीको राज देखेर रिसाएका हुन्, चित्त दुखाएका हुन्, असन्तोष व्यक्त गरेका हुन् । ती आवाज सुन्न विशेष अधिवेशन बोलाइएको हो ।”

पार्टीभित्रको सत्ता सङ्घर्षको कारणले हालको अवस्था सृजना भएको जस्तो देखिए पनि यो विचार र मान्यताको सङ्घर्ष भएको जनाउँदै महामन्त्री थापाले गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा हजारौँ नरनारी सडकमा आएर आक्रोश र असन्तुष्टि व्यक्त गरेको पक्षलाई मनन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले मुलुकमा त्यत्रो घटना भइसकेपछि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अनदेखा र सामान्य घटनाका रूपमा लिन नमिल्ल्ने बताउनुभयो । महामन्त्री थापाले यो विशेष महानिधवेशनलाई नाम जस्तै विशेष बनाएर टुङ्ग्याउनुपर्ने बताउँदै आफूहरूले अधिवेशनको उद्घाटन पार्टी सभापतिले गरेको र कार्यवाहक उपसभापति उपस्थित भएको हेर्न चाहे पनि त्यो हुन नसकेको बताउनुभयो ।

कांग्रेस राष्ट्रिय शक्ति भएकाले राष्ट्रिय समस्याको हल खोज्ने र समाधान गर्ने जिम्मेवारी पार्टीको भएको बताउँदै उहाँले कांग्रेसले विगतदेखि नै त्यही कार्य गर्दै आएको स्मरण गर्नुभयो । महामन्त्री थापाले पार्टीका लागि निर्वाचन मात्र ठूलो कुरा नभएकाले त्यसभन्दा फराकिलो सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकमा भरोसा जोगाउनु छ, कांग्रेसले नै २००७ सालदेखि नडगमगाइ जनतामा विश्वास जगाइरहन सफल भएको इतिहास छ । अहिलेको नवयुवामा आशा जगाइराख्न युवालाई मुलुकमै बसिराख्ने तथा कामका लागि विदेशिनुपर्ने बाध्यता हटाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । अब भरोसा दिलाउने काम हाम्रो हो । हामी दिलाउछौँ ।”

महामन्त्री थापाले महाधिवेशन प्रतिनिधिले गरेको निर्णय आफूले मन्ने बताउँदै विधानअनुसार महाधिवेशनभन्दा ठूलो कोही नभएको स्पष्ट पार्नुभयो ।

आइएसविरुद्ध अमेरिकाको नयाँ जवाफी हमला

सिरियामा गत महिना भएको घातक आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको ज्यान गएपछि संयुक्त राज्य अमेरिकाले इस्लामिक स्टेट (आइएस) विरुद्ध सिरियामा नयाँ चरणको जवाफी सैन्य हमला सुरु गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार शनिबार दिउँसो करिब १२ः३० बजे (पूर्वी समय) अमेरिकाको नेतृत्वमा साझेदार सेनासहित ठूलो स्तरका हवाई आक्रमणहरू गरिएका हुन् । ती आक्रमणहरू सिरियाका विभिन्न स्थानमा रहेका आइएसका बहुविध लक्ष्यहरूमा केन्द्रित थिए । जोर्डानको सेनाले पनि यस अपरेसनमा सहभागी भएको पुष्टि गरेको छ ।

यी कारबाहीहरू राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार गत महिना पाल्मिरा क्षेत्रमा भएको आइएस आक्रमणको प्रत्यक्ष जवाफका रूपमा गरिएका हुन् । उक्त आक्रमणमा आयोवा नेसनल गार्डका सार्जन्ट एडगर ब्रायन टोरेस–टोभर, सार्जन्ट विलियम नाथानियल हावर्ड र अमेरिकी नागरिक दोभाषे अयाद मन्सुर सकातको ज्यान गएको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डले विज्ञप्तिमार्फत चेतावनी दिँदै भनेको छ, “यदि कसैले हाम्रा सैनिकहरूलाई क्षति पुर्‍याउँछ भने, हामी उसलाई संसारको जुनसुकै कुनामा भए पनि खोजेर कारबाही गर्नेछौँ ।”

यस आक्रमणअघि सिरियाली अधिकारीहरूले लेभान्ट क्षेत्रमा आइएसका सैन्य अपरेसन हेर्ने एक उच्च नेताको पक्राउ गरिएको जानकारी दिएका थिए । शनिबारको कारबाही कुन–कुन साझेदार सेनाको सहभागितामा भएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

ट्रम्प प्रशासनले पाल्मिरा घटनापछिको सम्पूर्ण सैन्य प्रतिक्रियालाई ‘अपरेसन हक्की स्ट्राइक’ नाम दिएको छ । यसअघि डिसेम्बर १९ मा गरिएको आक्रमणमा मध्य सिरियामा रहेका आइएसका करिब ७० लक्ष्य ध्वस्त पारिएको थियो, जसमा सङ्गठनका पूर्वाधार र हतियार भण्डार समावेश थिए ।

कुर्दिश नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्स लामो समयदेखि सिरियामा आइएसविरुद्ध अमेरिकाको प्रमुख साझेदार रहँदै आएको छ । सन् २०२४ को डिसेम्बरमा पूर्वराष्ट्रपति बशर अल–असद हटेपछि भने वासिङ्टनले दमास्कसस्थित केन्द्रीय सरकारसँग पनि समन्वय बढाएको छ । हालै सिरिया औपचारिक रूपमा आइएसविरुद्धको अन्तर्राष्ट्रिय गठबन्धनमा सामेल भएको छ ।

पार्टी सभापतिलाई बन्द सत्रलाई सम्बोधन गर्न नेताहरुको आग्रह

काठमाडौँ – नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको भोलि हुने बन्द सत्रमा उपस्थित भई सम्बोधन गरी पार्टीलाई एकताबद्ध तुल्याउन पार्टी सभापतिलाई आग्रह गर्नुभयो ।

भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता सुरेन्द्र चौधरीले विशेष महाधिवेशनले पार्टीमा देखिएका सबैखाले समस्या समाधान हुने विश्वास गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य महेश आचार्यले विशेष महाधिवेशनले पार्टी विधानसम्मत ढङ्गले चल्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको बताउनुभयो । यस अधिवेशनले पार्टीभित्र अरूको कुरा सुन्न नचाहने प्रवृत्तिलाई परास्त गरेको उहाँको धारणा छ ।

नेता डा चन्द्र भण्डारीले पार्टीका नेताहरुले देश र जनताको सम्मान गर्दै युवा पुस्ताले उठाएको माग र मुद्दालाई सम्बोधन गर्नेतर्फ हाम्रा पाइला उन्मुख हुनुपर्ने बताउनुभयो ।

अर्का नेता विनोद चौधरीले नेपाली जनता राजनीतिक स्थिरतासँगै आर्थिक क्रान्ति पर्खेर बसेकाले उनीहरुको मागलाई कांग्रेसले ध्यानपूर्वक सुनेर सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । नेता देवराज चालिसले पार्टीको विशेष अधिवेशन पार्टीको आन्तरिक जीवनसँग मात्र जोडिएको नभई जेनजी आन्दोलन र समग्र मुलुकको रुपान्तरणसँग सरोकार रहेको बताउनुभयो ।

नेता केदार कार्कीले लोकतन्त्रको फाइदा नेतृत्व वर्गले मात्रै पाएँ जनताको आवाज सुनेनन् भनेर जेनजी पुस्ताले गरेको विद्रोहको भावनालाई लोकतान्त्रिक पार्टी र अनुभवी नेताले सम्बोधन गर्न सक्नुपर्छ भन्नुभयो ।

कांग्रेसको अठोट सद्भाव, सुशासन र समुन्नति होः महामन्त्री शर्मा

काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको अबको अठोट सद्भाव, सुशासन र समुन्नतिको बाटो भएको बताउनुभएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले महाधिवेशन प्रतिनिधि अनुशासित भएकाले देशको र पार्टीको हितमा विवेकमा निर्णय गर्ने बताउनुभयो ।

महामन्त्री शर्माले महाधिवेशनले आवेगमा होइन विवेकमा निर्णय गर्ने बताउनुभयो । विशेष महाधिवशेनबाट पार्टी नफुट्ने विश्वास दिलाउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजित गर्ने होइन अझ सशक्त बनाउने हो । हामी सिङ्गो कांग्रेस र देशको नेतृत्व गर्ने दृढता व्यक्त गर्दछौँ ।”

महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता स्थापित गर्दा ‘ग्रेसफुल एक्जिट’ पनि अनिवार्य हुने बताउनुभयो । उहाँले हामीले आफूले गरेको कर्मको श्रेय पनि लिनुपर्ने र कमजोरी पनि सच्याउनुपर्नेमा जोड दिनुभयो ।

महामन्त्री शर्माले जेनजी आन्दोलनपछि बदलिएको अवस्थामा मनलाई जोड्न बदलिएर अघि बढ्न सङ्कल्प गर्नुपर्ने बताउनुभयो । अबको परिस्थितिमा कांग्रेस नवीन सन्देशका साथ अघि बढ्न र कांग्रेसले नै जेनजी आन्दोलनका क्रममा नवयुवाबाट मागिएको सुशासनलाई सम्बोधन गर्ने ल्याकत राख्ने उहाँको भनाइ थियो ।

जेनजी आन्दोलनका उपलब्धिलाई नजरअन्दाज गर्न नहुने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले उक्त आन्दोलन गत भदौ २३ गते गुमेका जीवनका बारेमा र भदौ २४ को घटनालाई पनि गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले पार्टीमा रुपान्तरणको विषय उठे पनि नेतृत्वले बेवास्ता गरेका कारण पनि आज कार्यकर्ता जागरुक भएको बताउनुभयो । सरकारमा बस्नेहरुले जनतालाई विश्वास जगाउन असफल भएको उल्लेख गर्र्र्दैै उहाँले सेवाग्राहीले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन नसक्दा जेनजी आन्दोलन भएको धारणा व्यक्त गर्नुभयो ।

विशेष महाधिवशेनमा जनजीविकाका त्यस्ता विषयलाई बन्द सत्रमा छलफल गर्ने बताउँदै उहाँले जनताको असन्तुष्टिका विषयमा छलफल गरी सङ्कल्प गरेर अघि बढ्ने अठोट व्यक्त गर्नुभयो । महामन्त्री शर्माले कांग्रेसको नीतिमार्फत निजी क्षेत्रमा भएका उपलब्धिबारे अवगत गराउँदै निजी क्षेत्रलाई प्रोत्साहनका लागि आगामी दिनमा थप गर्नुपर्ने बताउनुभयो ।

चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ – महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने छ ।”

महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताउनुभयो । “कसैले नबोल भनेर नबोल्ने होइन, जसले प्रश्न नसोध भन्छ, उसले जवाफ पनि दिन सक्दैन,” उहाँले भन्नुभयो । कांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनावभन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनुपर्ने बताउनुभयो ।

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँः महामन्त्री शर्मा

काठमाडौँ २७ पुसः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताउनुभएको छ ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कांग्रेसले जनअसन्तुष्टिलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने उल्लेख गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “आगामी फागुन २१ गते रूख चिह्नमा मतदान गर्नुअघि नागरिकका गुनासा टिपोट गरेर, पहिचान गरेर, आगामी दिनमा नदोहो¥याउने सङ्कल्पसहित विशेष महाधिवेशन गरेर हामी अघि बढ्दैछौँ ।”

उहाँले पछिल्लो ३४ वर्षमा ३० वटा सरकार गठन भए पनि नागरिकलाई सन्तुष्ट गर्न नसकिएको बताउनुभयो । सरकार परिवर्तनले सत्तामा पुगेकालाई सन्तुष्टि मिलेको भए पनि आमनागरिकले अनुभूति गर्न नसकेको महामन्त्री शर्माको भनाइ थियो ।

उहाँले विशेष महाधिवेशनलाई केवल सङ्गठनात्मक अभ्यास नभई जनअसन्तुष्टिको गहिरो समीक्षा र आत्मसमीक्षाको मञ्चका रूपमा स्थापित गर्ने बताउनुभयो ।

देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा अभिनेता हमालको जोड

बनियानी (झापा) – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताउनुभयो ।

“हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उहाँले भन्नुभयो, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।”

देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा दोर्याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उहाँले आग्रह गर्नुभयो ।

इष्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्छ ।”

इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पुँजीलाई एकीकृत गरेर दिगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताउनुभयो । कम्पनीले जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन, प्रविधि, पूर्वाधारलगायतका क्षेत्रमा क्रमशः लगानी गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।

कम्पनीका प्रबन्धक कृष्ण रानाभाटले कम्पनीको अधिकृत पुँजी रु एक अर्ब ५० करोड, जारी पुँजी रु एक अर्ब ३७ करोड ५० लाख र चुक्ता पुँजी रु एक अर्ब १० करोड रहेको जानकारी दिनुभयो । कार्यक्रममा साहस ऊर्जाका कम्पनी सचिव दिनेश रोक्का, कम्पनीकी सञ्चालक कल्पना विक, कम्पनीका सेयर सदस्य एकराज गिरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विशेष महाधिवेशन कार्यकर्ताको चाहना र विधानसम्मत छ – कांग्रेस नेताहरू

काठमाडौँ – नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले मुलुकको वर्तमान अवस्था संवेदनशील रहेको उल्लेख गर्दैै पार्टीभन्दा माथि उठेर राष्ट्रिय हितका पक्षमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि यहाँ सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता श्रेष्ठले पार्टी विधानले चल्नुपर्ने र कसैले हठ गर्न नहुने बताउनुभयो । साथै उहाँले विशेष महाधिवेशन पार्टीको विधानअनुसार भएको दाबी गर्दै मुलुकको वर्तमान राजनीतिको भावनाअनुसार पार्टीको नेतृत्व युवाको काँधमा आएको उल्लेख गर्नुभयो ।

काठमाडौँ कांग्रेसका सभापति कृष्ण (सबुज) बानियाँको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन सत्रमा कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा तथा कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, बैतडीका सभापति चतुरबहादुर चन्द र ललितपुरका सभापति जितेन्द्र श्रेष्ठलगायतका नेताले जेनजी आन्दोलनपछि विकसित राजनीतिक सन्दर्भ र पार्टीभित्रको परिवर्तित चाहनाअनुरुप विधानसम्मत विशेष महाधिवेशन भएको स्पष्ट गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाको रु दुई अर्ब ४६ करोड ८९ लाखको संशोधित बजेट

जनकपुरधाम, २७ पुसः जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु दुई अर्ब ४६ करोड ८९ लाख १६ हजार ८९४ वार्षिक संशोधित बजेट विनियोजन गरेको छ ।

आज यहाँ आयोजित चौधौँ नगरसभा (हिउँदे) बैठकले वार्षिक संशोधित बजेट विनियोजन गरेको हो ।

उपप्रमुख किशोरी साहले बजेट प्रतिवेदन प्रस्तुत गर्दै सङ्घीय सरकार तथा प्रदेश सरकार तर्फको समानीकरण, ससर्त, समपूरक, विशेष, राजस्व बाँडफाँट, आन्तरिक राजस्व तथा गत आर्थिक वर्षको समेत गरी उक्त बजेट पेस गरिएको बताउनुभयो ।

उपमहानगरपालिकाले चालु आवको हालसम्म रु ९९ करोड ४१ लाख २५ हजार ४५७ आम्दानी गरेको छभने रु ४१ करोड सात हजार ८०८ कुल खर्च गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यसअघि चालु आवका लागि १३औँ नगरसभाबाट स्वीकृत भएका अनुमानित आय तथा व्ययका विवरण कार्यान्वयनमा रहेका छन् ।

आजको नगरसभा बैठकले नगरपालिकाअन्तर्गत दरबन्दीमा कार्यरत सम्पूर्ण करार सेवाका कर्मचारीलाई यही माघ १ गतेदेखि लागू हुनेगरी स्थायी कर्मचारीसरह मासिक रु पाँच हजार महँगी भत्ता दिने तथा जग्गा वर्गीकरणका लागि रकम विनियोजन गरेको छ ।

उपमहानगर प्रमुख मनोज साहको अध्यक्षतामा भएको बैठकमा स्थानीय जनप्रतिनिधि तथा उपमहानगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दाे वातावरण छ – निर्वाचन आयोग

काठमाडौँ, २७ पुस : निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दाे वातावरण हुने बताउनुभएको छ ।

निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभएको हो । उहाँले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गर्नुभयो ।

“राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरुले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ । सुरक्षाकै कारण मतदातासमक्ष उहाँहरु जान नसक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “यसका लागि सुरक्षा निकायले चनाखो भएर काम गरिरहेका छन् । सरकारले स्रोत, साधन उपलब्ध गराएकै छ ।”

पृथ्वी जयन्तीमा सेनाद्वारा चन्द्रगढ किल्लाको सरसफाइ

झापा, २७ पुस : राष्ट्रिय एकीकरण दिवस एवं ३०४औँ पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले शनिबार भद्रपुर–१० स्थित ऐतिहासिक चन्द्रगढमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ ।

नेपाली सेनाको चारआलीमा रहेको अरिदमन गणले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली सेनाका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय सेवा दल, पत्रकार र सर्वसाधारणको सहभागिता रहेको थियो । राणाकालका प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा सैनिक किल्ला भएको कारण सो स्थानको नामकरण चन्द्रगढ रहन गएको तत्कालीन चन्द्रगढी गाउँ विकास समितिका अध्यक्ष दुर्गाप्रसाद भट्टराई बताउनुहुन्छ ।

भद्रपुर नगरपालिकाको पहलमा उक्त स्थानलाई ऐतिहासिक पर्यटकीयस्थलका रूपमा विकसित गर्न विभिन्न प्रयास भइरहेका छन् । पुरानो गढी (सैनिक किल्ला)को निशानीस्वरुप चन्द्रगढमा माटोका थुम्काथुम्की उक्त स्थानमा पाइएका छन् ।

कतिपय अन्वेषकहरू उक्त स्थानलाई पौराणिक महाभारतकालीन कथासँग पनि जोड्ने गर्छन् । पर्याप्त खोज र उत्खनन नभएका कारण चन्द्रगढको पुरातात्विक महत्व अझै पनि रहस्यमै छ । अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापाले सरसफाइ कार्यक्रममा १८५ जनाको उपस्थिति रहेको जनाउँदै ऐतिहासिक गढी रहेको स्थान भएकाले चन्द्रगढको संरक्षण र उचित हेरचाह आवश्यक रहेको बताउनुभयो ।

दोस्रो विश्वयुद्धको समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर चन्द्रगढमा पूर्वी सीमाको सुरक्षाका लागि सेनाको टुकडी चन्द्रगढमा राखेको शासनकालमा सेनाको एक टुकडी तैनाथ गर्न गढी निर्माण भएको भन्ने स्थानीयको भनाइ छ । त्यसैगरी, १८औँ शताब्दीमा किरात धर्मावलम्बीहरूले निर्माण गरेको यस ऐतिहासिक चन्द्रगढबाट चन्द्रगढी सहरको नाम रहन गएको बुझिएको छ । यस बृहत् सरसफाइ कार्यक्रमले झापा जिल्लाको एकमात्र यस ऐतिहासिक चन्द्रगढीका तत्कालीन अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण

काठमाडौँ, २७ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गर्नुभयो ।

मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभयो ।

हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

इथियोपियामा अफ्रिकाकै ठूलो विमानस्थल निर्माण सुरु

इथियोपियाले अफ्रिकाको सबैभन्दा ठूलो विमानस्थल बन्ने लक्ष्यसहित शनिबार राजधानी आदिस अबाबाको दक्षिणपूर्वमा पर्ने बिशोफ्टु सहरमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण औपचारिक रूपमा सुरु गरेको छ । निर्माण सम्पन्न भएपछि यो विमानस्थल महादेशकै सबैभन्दा विशाल हवाई यातायात केन्द्र हुने सरकारको दाबी छ ।

यस महत्त्वाकांक्षी परियोजनाको कुल लागत करिब १२ अर्ब ७० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । पूर्ण क्षमतामा सञ्चालनमा आएपछि यस विमानस्थलले वार्षिक ११ करोड यात्रुलाई सेवा दिन सक्नेछ । परियोजना सम्पन्न गर्न करिब पाँच वर्ष लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय ध्वजावाहक इथियोपियन एयरलाइन्सको आंशिक लगानीमा निर्माण हुन लागेको बिशोफ्टु हबले हाल राजधानीमा सञ्चालनमा रहेको बोले अन्तर्राष्ट्रिय विमानस्थललाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ । बोले विमानस्थलले अहिले वार्षिक करिब दुई करोड ५० लाख यात्रुलाई मात्र सेवा दिन सक्ने क्षमता राख्दछ ।

प्रधानमन्त्री अबी अहमदले शनिबार यस परियोजनालाई ‘अफ्रिकाको उड्डयन इतिहासकै सबैभन्दा ठूलो पूर्वाधार परियोजना’ का रूपमा उल्लेख गर्दै यसको निर्माण सुरु भएको औपचारिक घोषणा गर्नुभएको हो । उहाँले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गर्नुभएको सन्देशमा बहु–विमानस्थल रणनीतिले इथियोपियालाई भविष्यमा पनि अफ्रिकाको अग्रणी हवाई यातायात प्रवेशद्वारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभएको छ ।

उहाँका अनुसार यस परियोजनाले इथियोपियन एयरलाइन्सको विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता अझ सुदृढ बनाउनेछ । साथै यसले अफ्रिकी मुलुकहरूबीचको हवाई सम्पर्क विस्तार गर्नुका साथै व्यापार र पर्यटनका मार्गहरूलाई थप मजबुत बनाउनेछ । दीर्घकालीन रूपमा इथियोपियालाई प्रमुख अन्तरमहाद्वीपीय हबको रूपमा उभ्याउने सरकारको विश्वास छ ।

यस विशाल विमानस्थल परियोजनाअन्तर्गत नयाँ हवाई अड्डालाई राजधानीसँग जोड्ने बहु–लेन मोटरवे निर्माण गरिनेछ भने ३८ किलोमिटर लामो उच्च–गतिको रेलमार्ग पनि समावेश गरिएको छ । प्रधानमन्त्री अहमदले उक्त रेलमार्गले प्रतिघण्टा २०० किलोमिटर (१२४ माइल) को गतिसम्म पुग्न सक्ने जानकारी दिनुभएको छ ।

परियोजनाको वित्तीय पक्षमा अफ्रिकी विकास बैंकले ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराइसकेको छ । साथै इथियोपियाली अधिकारीहरू एसियाली विकास बैंक, युरोपेली लगानी बैंक र अमेरिकी विकास वित्त निगमसँग थप लगानी जुटाउने विषयमा छलफलमा रहेको बताइएको छ ।

अम्हारा र ओरोमिया क्षेत्रहरूमा जारी सशस्त्र द्वन्द्वका बाबजुद पनि इथियोपियाले यस परियोजनामार्फत विदेशी पर्यटन आकर्षित गर्ने अपेक्षा राखेको छ । बिशोफ्टु क्षेत्रमा निर्माण हुन लागेको भविष्यको विमानस्थल ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिनेछ ।

इथियोपियन एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत मेसफिन तासेव बेकेलेले गत नोभेम्बरमा बताउनुभए अनुसार यस परियोजनाका कारण करिब दुई हजार ५०० किसान विस्थापित भएका छन्, जसलाई सरकारले गत वर्ष करिब ३५ करोड अमेरिकी डलर खर्च गरेर पुनःस्थापना गरेको थियो ।

करिब १३ करोड जनसङ्ख्या भएको इथियोपिया अफ्रिकाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको देश हो । पछिल्ला वर्षहरूमा यस मुलुकले ठूला–ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइरहेको छ । गत वर्ष इथियोपियाले महादेशकै सबैभन्दा ठूलो बाँधको औपचारिक उद्घाटन गरेको थियो भने आदिस अबाबा लगायत अन्य प्रमुख सहरहरूमा व्यापक सहरी नवीकरण परियोजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् ।

जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न हामिहरु कटिबद्ध छौं : महामन्त्रीद्वय

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान ११ः०० बजे काठमाडौँको सुन्धारा, रत्नपार्क, शङ्करदेव क्याम्पस, कमलपोखरी, कुपण्डोललगायत क्षेत्रमा नेता, कार्यकर्ता भेला भई र्यालीका साथ भृकुटीमण्डप प्रस्थान गरिने विशेष महाधिवेशन जनपरिचालन तथा जुलुस परिचालन व्यवस्थापन समितिका संयोजक जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभयो ।

उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउनेगरी मञ्च निर्माण गरिएको छ । त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीहरूको व्यवस्थापन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिनुभयो । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ ।

विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुहुने तय भएको छ । विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई भने आमन्त्रण गरिएको छैन । मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसक्नुभएको आयोजक समितिले जनाएको छ । सहभागी प्रतिनिधिको नाम दर्ता अहिले बिहान ८ः०० बजेदेखि कार्यक्रमस्थल भृकुटीमण्डप मूल ढोकासँगैको प्रदर्शनकक्षहरूबाट हुने व्यस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यले जानकारी दिनुभयो ।

त्यसैगरी, महाधिवेशन प्रतिनिधिहरूका लागि आयोजनास्थमै खाना र नास्ताको व्यवस्था गरिएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको छ ।

विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेको छैन ।

विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ

महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गर्नुभएको छ । उहाँहरूले संयुक्त विज्ञप्तिमार्फत विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको छ ।

महाधिवेशन प्रतिनिधिहरूले ‘बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावनाअनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको’ भनी विशेष कारणसहित निवेदन दर्ता गरेको विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय भएको उहाँहको भनाइ छ ।

महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरु कटिबद्ध एवं प्रतिबद्ध रहेकोसमेत उल्लेख गर्नुभएको छ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । महाधिवेशनलाई पार्टीको संस्थापन पक्षले असहमति जनाएको बताइएको छ ।

पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सबैलाई शुभकामना दिएका छन् ।आइतबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जाल मार्फत शुभकामना दिदैँ आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, ध्वंश, आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य गर्दै रचना, निर्माण, विकास र संरक्षणको मनोवल बढाऔं !सबैलाई राष्ट्रिय एकता दिवसको शुभकामना !’

चन्द्रागिरिबाट सर्जकहरुले यसरी सम्झिए पृथ्वीनारायण शाहलाई

काठमाडौँ, २७ पुस : आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ ।

यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह तथा नेपालको राष्ट्रियतासम्बन्धी रचनाहरू प्रस्तुत गरेर उनलाई स्मरण गरे । सर्जकहरूले पृथ्वीनाराण शाहले सुरु गरेको नेपाल एकीकरण अभियानको इतिहाससँगै जोडिएर आउने काठमाडौँको चन्द्रागिरि डाँडामा पुगेर त्यहाँस्थित पृथ्वीनारायणको सालिकसामु उनको योगदान तथा नेपालको राष्ट्रियतासम्बन्धी सृजना तथा रचनाहरू प्रस्तुत गरेर श्रद्धाभाव प्रकट गरे ।

शनिबार थर्डपोल ग्रुपद्वारा चन्द्रागिरिस्थित पृथ्वीनारायण शाहको सालिक परिसरमा आयोजित कार्यक्रममा इतिहासकार प्रा डा दिनेशराज पन्तले पृथ्वीनारायण शाहले यही डाँडाबाट काठमाडौँ उपत्यकाको सुन्दरता देखेपछि कीर्तिपुरसहित काठमाडौँ खाल्डोलाई गोरखा राज्यअन्तर्गत एकीकरण गर्ने योजना बनाएको इतिहास सुनाउनुभयो ।

चन्द्रागिरि डाँडा नेपाल एकीकरणको अभियानसँगै जोडिएर आउने एक ऐतिहासिक स्थल रहेको बताउँदै उहाँले हामी सबैलाई नेपाल र नेपालीको पहिचान दिलाउने एक वीर योद्धा तथा राष्ट्र निर्माताका रूपमा पृथ्वीनारायण शाहको स्मरण गर्नुभयो ।

वरिष्ठ कवि एवं गीतकार एसपी कोइराला ‘चिरेर हेर यो मेरो छाती’ शीर्षकको कवितामा लेख्नुहुन्छः

चिरेर हेर यो मेरो छाती झण्डाले बनेको ।
उठेर हेर अलिक माथि माटोले भनेको ।।

उहाँले नेपालका पुर्खाले यो देशका लागि गरेको योगदानको स्मरण गर्दै वर्तमान पुस्ताले पनि भोलिका लागि केही गरेर नाम राख्नुपर्ने धारणा राख्नुभयो । नेपालीपन राष्ट्र र राष्ट्रियताका लागि अब केही गर्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

अर्का वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी आफ्नो कवितामा लेख्नुहुन्छः

तराई हो अन्नबाली पहाड हो पानी ।
अन्न पानीजस्तै मिली बाँच्नुपर्छ हामी ।।

पृथ्वीनारायण शाहले नेपाली भूभागको एकीकरण गरी सबै नेपालीलाई भावनात्मक एकताको सूत्रमा बाँधेको प्रसङ्ग उहाँले कवितामा प्रस्तुत गर्नुभएको छ । आफ्नो देशप्रेमलाई उहाँ यसरी व्यक्त गर्नुहुन्छः

सक्छौ त माया गर यो देशलाई ।
सक्दैनौ बिन्ती गाली नगरिदेऊ ।।
शिरमा छ देशको असङ्ख्य पीडा ।
रिसले जीउमा काँडा नकोरिदेऊ ।।

यसैगरी अर्का वरिष्ठ कवि डा राजुबाबु श्रेष्ठ आफ्नो कवितामार्फत पृथ्वीनारायण शाहको स्मरण गर्दै लेख्नुहुन्छः

उसैले कोरेको हो खुकुरीले बैरीहरूको गर्धन छप्काएर
यो देशको गाढा सीमा रेखा
उसैले सिर्जेको हो
टुक्राटुक्रा जोडेर
एउटा सिङ्गो सार्वभौम यो देश
उसैले बनाएको हो
गुमनाम यो देशको सुकिलो पहिचान ।

यो राष्ट्रको निर्माण पृथ्वीनारायण शाहले गरेको इतिहासको व्याख्या गर्दै कवि श्रेष्ठले तर उनैको सालिक ढाल्न उद्धत रहेकोप्रति दुःख पोख्नुहुन्छ ।

‘मानचित्रमा उभिएर’ शीर्षकको कवितामा कवि मणि लोहनीले हामी सबै नेपालीले पुज्ने मन्दिर, हामीले बुद्ध भेटेको गुम्बा, हामीले भाक्ने देउराली होस् या हामीले प्रार्थना गर्ने मस्जिद या चर्च एउटै भएको राष्ट्रिय एकताको भाव प्रस्तुत गर्नुहुन्छ । वर्तमान नेपाल पृथ्वीनारायण शाहले भनेकै चार जात छत्तीस वर्णको फूलबारीजस्तै रहेको उहाँको काव्य भाव थियो ।

यस्तै राष्ट्रप्रेमका भावनाहरू कवि हेम प्रभासको ‘अब म पनि घर जान्छु’, नारायण निराशीको ‘आफ्नो सुरक्षा गर’ र एलिसा ढुङ्गानाको ‘रिसको विपक्षमा’ शीर्षकका कविताहरूमा पोखिएका छन् ।

त्यसैगरी, प्रभाती किरणको ‘स्वाभिमान’, प्रधुम्न जोशीको ‘कस्तो होला भगवान्को घर’, कृष्ण बञ्जाडेको ‘मेरो अपूरो रहर’, दिनेश परियारको ‘बिषे नगर्चीको सम्झना’ र अनिता कोइरालाको ‘मानवताको मलामी बन्न सक्दिन’ शीर्षकका कवितामा पनि राष्ट्र र राष्ट्रियताको महत्वका साथै मुलुकको वर्तमान विषम परिस्थिति र राजनीतिक विसङ्गतिका बारेमा प्रशस्त मात्रामा उल्लेख गरिएको छ ।

सर्जकहरूले चार किल्ला तोडेर सुनौला सपना देख्ने र सयौँ फूल जोडेर राष्ट्रिय एकताको माला उन्ने वीर पुरुषका रूपमा पृथ्वीनारायण शाहलाई स्मरण गर्दै नेपाललाई धर्तीकै स्वर्गको एक देशका रूपमा तुलना गर्नुभएको छ ।

चन्द्रागिरि डाँडामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिकमा बर्सेनि राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना हुने गर्दछ । कार्यक्रममा चन्द्रागिरि हिल्सका कम्पनी सचिव झलक शर्मा पौडेलले देशका विभिन्न स्थानमा सालिक ढालिरहेको अवस्थामा नेपाल एकीकरणको इतिहाससँग जोडिएको ऐतिहासिक चन्द्रागिरि डाँडामा पृथ्वीनारायण शाहको सालिक निर्माण गरिएको स्मरण गराउनुभयो ।

आजको मौसम : तराईका केही स्थानमा हुस्सु, बाँकी क्षेत्रमा मौसम सफा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।जसकारण तराईका केही स्थानमा हुस्सु लागेको छ भने गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका अधिकांश स्थानमा मध्यान्हसम्म हुस्सु–कुहिरो रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति पनि तराईका केही स्थानमा हुस्सु कायम रहनेछ भने देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
हुस्सु–कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई–सडक यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति पौडेल

काठमाडौँ २७ पुस ः राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिनुभएकोे शुभकामना सन्देशमा उहाँले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पार्नुभएको छ ।

राष्ट्रपति पौडेलले भन्नुभएको छ, “पृथ्वीनारायण शाहलाई सम्झँदा उहाँले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखिन्छ । उहाँको दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।”

राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण र राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि उहाँका दिव्योपदेश मार्गदर्शन लिन सकिने बताउनुभएको छ ।

उहाँले राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले यही आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रमा आधारित समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

अमरगढी (डडेल्धुरा) – डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित कुयापानीमा शनिबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक परशुराम–१२ का २७ वर्षीय नवीन साउद र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३५ वर्षीय मान जाग्रीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

“दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से२त १४७४ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको म१प ९९७३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका प्रहरी प्रमुख सिंहले बताउनुभयो ।

परशुराम नगरपालिका नै घर भएका ३२ वर्षीय ट्र्याक्टर चालक सुरेश भट्ट फरार रहनुभएको छ । उहाँको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै

नेपालगञ्ज – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा दुई हजार ४९१ जना निर्वाचन प्रहरी (म्यादी) भर्ना गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गरी बाँकेका तीन निर्वाचन क्षेत्रका लागि दुई हजार ४९१ जना निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।

निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति बाँकेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका लागि एकीकृत सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ ।

समितिले जारी गरेको सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म दरखास्त दिनसक्ने उल्लेख छ । भर्ना हुन चाहनेले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय (कोहलपुर), इलाका प्रहरी कार्यालय (भगवानपुर), सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वाटर (भवनियापुर) र सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गण हेडक्वाटर (शमशेरगञ्ज)मा दरखास्त दिन सक्ने प्रहरीले जनाएको छ ।

निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति मितिदेखि ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम रहनेछ । सेवा सुविधाअन्तर्गत प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि रु ३४ हजार ७७६ पारिश्रमिक प्रदान गरिने समितिले जनाएको छ ।

सम्बन्धित जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउने दररेटअनुसार खाद्यान्न खर्चसमेत उपलब्ध गराइने सूचनामा उल्लेख छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचनाअनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन पर्याप्त सङ्ख्यामा निर्वाचन प्रहरी परिचालन गरिने छ ।

बाँकेमा यस पटक तीन लाख ५१ हजार ४३९ जना मतदाता कायम भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा १३९ मतदानस्थल र ४०० मतदान केन्द्र रहेका छन् ।

निर्वाचन अधिकारी शाहीले जिल्लामा ५० प्रतिशत अस्थायी मतदाताको नामावली विवरण प्राप्त भएको जानकारी दिँदै त्यसलाई अद्यावधिक गर्ने कार्य जारी रहेको बताउनुभयो । “अहिले समावेश भएन भने पछि मतदान प्रक्रियामा सहभागी हुन पाइँदैन”, उहाँले भन्नुभयो ।

जिल्लाका सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका ज्यष्ठ नागरिकको नामावली विवरण प्राप्त भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बाँकेमा छ हजार हाराहारीमा अस्थायी मतदाता रहेका छन् ।

पूर्वी रुकुमबाट म चुनाब लड्ने निश्चित भएको छ – प्रचण्ड

त्रिवेणी (रुकुमपश्चिम) – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेकपा जिल्ला समिति रुकुम पश्चिमले मुसिकोट नगरपालिका–१ बराहाटाकुरमा आयोजना गरेको एकता सन्देशसभामा उहाँले आफू रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने करिब निश्चित भएको बताउनुभयो ।

“पूर्वी रुकुममा म आउने करिब निश्चित भएको छ, पूर्वी रुकुम आउने भनेको पश्चिम रुकुममा पनि आउनु जस्तै हो, जिल्ला फरक भए पनि यहाँको धेरै विषयमा समानता र एकता छ, यसअघि रुकुम थियो । यहाँबाट हामीले जनयुद्धको तयारी गरेका थियौँ । अहिले पनि रुकुमका जनता, नेताकार्यकर्ता हाम्रो साथमा छन् भन्ने विश्वास छ”, संयोजक दाहालले भन्नुभयो । यहाँको विकास निर्माण गर्न तथा जनताका समस्या समाधान गर्न आफू केन्द्रित हुने उहाँले बताउनुभयो ।

सहसंयोजक माधव नेपालले १७ वटा पार्टीबीचको सहमतिमा एकता गरी नेपाली कम्युनिष्ट पार्टी बनेको बताउँदै यसबाट नयाँ इतिहासको रचना भएको धारणा राख्नुभयो । नेकपाले समाजवादको यात्रा सुरु गर्दै देशभरि स्थापित हुँदै गएको उहाँको भनाइ छ ।

आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन , दिउँसो १ बजे उद्घाटन हुने

काठमाडौँ – नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच पुस २७ गते आजदेखि विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आज दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ ।

त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको विशेष महाधिवेशनका लागि गठन गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले जानकारी दिनुभयो । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको उहाँले बताउनुभयो ।

पुडासैनीका अनुसार उद्घाटनका दिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने ¥यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराउने गरी तयारी थालिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नुहुने तय भएको जनाउँदै उहाँले विशेष महाधिवेशनमा अन्य राजनीतिक दलका नेतालाई भने आमन्त्रण नगरिएको बताउनुभयो ।

मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउनुहुने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसक्नुभएको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ । साथै थप दुई–दुई सय प्रतिनिधिका लागि तत्काल व्यवस्थापन हुनेगरी प्रबन्ध मिलाइएको उहाँले जानकारी दिनुभयो ।

महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुले रु एक हजार शुल्क तिरेपछि एउटा झोलासहित खानाको कुपन पाउने व्यवस्था गरिएको छ । विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपको सभाहलमा हुनेछ । बन्दसत्रमा छलफल हुने नीतिगत दस्तावेजका बारेमा भने हालसम्म धेरै विषय सार्वजनिक भइसकेका छैनन् ।

नियमित महाधिवेशन तोकिसकेकाले विशेष महाधिवेशनको औचित्य छैन्ः संस्थापन पक्ष

कांग्रेस संस्थापन पक्षले भने विशेष महाधिवेशन माग भएको अवधिभित्रै यसअघि १५औँ नियमित महाधिवेशनको मिति तोकिसकिएकाले यसको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।

साथै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उक्त विषयमा स्पष्ट पार्दै १५औँ महाधिवेशनको नयाँ मिति आगामी वैशाख २८ देखि ३१ गतेसम्म निर्धारण गरिसकेको जनाएको छ । यद्यपि उक्त विषयमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताहरूले असहमति जनाउनुभएको थियो ।

कांग्रेस संस्थापन पक्षले एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरणसम्बन्धी कार्य सम्पन्न हुन नसकेको र अर्कोतिर आगामी फागुन २१ गते आमनिर्वाचन तोकिएकाले आमनिर्वाचनपछि पार्टीको महाधिवेशन गर्दा उचित हुने तर्क गर्दै आएको छ । संस्थापन पक्षले पार्टीको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्देशानुसार भन्दै विज्ञप्तिमार्फत पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।

माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनु कानुनी बाध्यताः महामन्त्रीद्वय

यसैबीच, महमन्त्रीद्वय थापा र शर्माले कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि भन्दै विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई आह्वान गर्नुभएको छ । उहाँहरूले संयुक्त विज्ञप्तिमार्फत कांग्रेस विधानको धारा १७ ९२० अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गर्नुभएको छ ।

गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो । त्यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक पृष्ठभूमिका विषयमा कांग्रेसमा समेत नेतृत्व परिवर्तनको आवाज उठेको थियो ।

अबको निर्वाचनमा सक्षम व्यक्तिलाई जिताउनुस् : मन्त्री खरेल

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमार्फत योग्य र सक्षम व्यक्ति चयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सांस्कृतिक समाजद्वारा काठमाडौँमा आयोजित स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री खरेलले परिवर्तनलाई आत्मसात गर्दै दलको दबाब र प्रभावमा नपरी सक्षम र योग्य व्यक्तिलाई जिताउन आग्रह गर्नुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “विभिन्न दबाब र प्रभावमा परेर मत दिएर पाँच वर्ष आशा र निराशाबीच बाँच्नुपरेको छ, त्यसैले फागुन २१ गते निर्वाचन हँुदैछ, आफ्नो विवेक प्रयोग गर्नुपर्छ, किनकि अबको भोट परिवर्तनका लागि हो ।”

मन्त्री खरेलले विभिन्न राजनीतिक परिवर्तन तथा भाषा, संस्कृतिको उत्थान र प्रवर्द्धनमा सुदूरपश्चिम र कर्णालीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, “सुदूरपश्चिम र कर्णाली हुनुको पहिचान हाम्रो भाषा, संस्कृति र जीवनशैलीमा छ, गीतसङ्गीतमा तरङ्गित भएका देउडालगायत भाकाले सिङ्गो देशलाई एकताबद्ध बनाएको छ ।”

सुदूरपश्चिम र कर्णालीको योगदानलाई काठमाडौँले भुल्न नहुने मन्त्री खरेलको भनाइ थियो । “नेपाली भाषाको उत्पत्ति कर्णालीको सिञ्जा उपत्यकाबाट भएको हो, संस्कृति, सभ्यता, भाषा र वेशभूषा पनि त्यहीँबाट आएको हो । तर काठमाडौँले सुदूरपश्चिम र कर्णालीलाई हेरेन । म राजनीति गर्ने नेताहरुलाई भन्न चाहन्छु, “अब त्यो क्षेत्रलाई अन्याय गर्न पाइँदैन”, उहाँले भन्नुभयो ।

विगतका सबै किसिमका राजनीतिक परिवर्तनदेखि जेनजी आन्दोलनमा समेत सुदूरपश्चिम र कर्णाली प्रदेशले ठूलो बलिदान र सङ्घर्ष गरेको उहाँले उल्लेख गर्नुभयो । “देश जब सङ्कटमा पर्छ, सुदूरपश्चिम र कर्णाली प्रदेशको योगदान रहेको छ, त्यसैले यो योगदानको अवमूल्यन नगरियोस्”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नेपाली संस्कृति र सम्पदाको जगेर्नामा सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले अथाह सम्भावना बोकेको सुदूरपश्चिम हरेक हिसाबले पछि परेको गुनासो गर्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।