`

साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने सङ्कल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

काठमाडौँ, २३ साउन : सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक सङ्कल्प गर्दै ‘साइबर भिजन–२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ ।

नेपालस्थित प्रविधि कम्पनी डाँफेलिङ्क र संयुक्त अरब इमिरेट्स (युएई) केन्द्र रहेको कम्पनी एरोनेक्सको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा साइबर सुरक्षाविज्ञ तथा सरोकार भएकाहरूले साइबर प्रतिरोध, डिजिटल फरेन्सिकलगायत विविध सुरक्षा प्रविधि प्रवर्द्धनका लागि साझा प्रयत्न गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा क्षेत्रीय पहललाई दक्षिणपूर्वी एसियासम्म विस्तार गर्ने योजनासहित आगामी नोभेम्बरमा ‘साइबर भिजन २०२५ बैङ्कक च्याप्टर’ आयोजना गर्ने र डाँफेलिङ्कले एरोनेक्ससँगको सहकार्यमा नेपालमा पहिलोपटक सुरक्षा सञ्चालन केन्द्र (एसओसी) र नेटवर्क सञ्चालन केन्द्र (एनओसी) स्थापना गर्ने घोषणा गरिएको छ ।

यो कदम नेपाललाई क्षेत्रीय साइबर ‘डिफेन्स हब’को रूपमा विकास गर्ने लक्ष्यमा कोशेढुङ्गा सावित हुने डाँफेलिङ्कका प्रमुख कार्यकारी अधिकृत सञ्जय बर्धनले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको भविष्य प्रविधिभन्दा अघि सोच्न सक्ने सामूहिक दृष्टिकोणमा छ, साइबर भिजन त्यसैको व्यावहारिक अभिव्यक्ति हो । हामी नेपालमा साइबर प्रतिरोधलाई अर्को ठूलो उपलब्धिका रूपमा स्थापित गर्न प्रतिबद्ध छौँ । त्यसका लागि सहकार्य विस्तार र नेपालमा आवश्यक सञ्जाल बनाउन अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।”

कार्यक्रममा एरोनेक्सका प्रमुख कार्यकारी अधिकृत सुजित कुमारले डिजिटल सीमाको सुरक्षाका लागि नवप्रवर्तन र सहकार्यको वातावरण बनाउन कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । गरुडा इनोभेसन एण्ड मिडियाका निर्देशक पङ्कज मल्लले नेपालमात्र नभई विश्वकै साइबर सुरक्षामा योगदान दिन र भविष्यप्रतिको साझा प्रतिबद्धता जाहेर गर्ने उद्देश्यले सम्बद्ध पक्ष एक ठाउँमा आएको बताउनुभयो ।

नेपाल प्रहरी साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले राष्ट्रिय साइबर सुरक्षाको अवस्थामाथि चर्चा गर्दै नवीन रणनीतिहरूको आवश्यकता औँल्याउनुभयो । त्यसमा आवश्यक सहकार्यका लागि नेपाल प्रहरी तयार रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा साइबर खतराहरूको न्यूनीकरण र डिजिटल पूर्वाधार सुदृढीकरणका लागि तयार गरिएका समाधानका उपायसहितका उपकरण तथा अनुभव प्रस्तुत गरिएका थिए । यस्तै, यस क्षेत्रका १५ जनाभन्दा बढी मुख्य वक्ताहरूले सूचना प्रविधि, साइबर सुरक्षा र यस क्षेत्रमा भइरहेका पहलबारे आफ्ना अनुभव साझा गरेका थिए । ्

कार्यक्रममा एनसेल, विथसेक्युअरलगायत संस्थाको सहकार्य रहेको कार्यक्रममा नेपाल, भारत र संयुक्त अरब इमिरेट्स (युएई)का साइबर सुरक्षाविज्ञ, नेपालस्थित युएई दूतावासका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ), २३ साउन : अविरल वर्षका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज दिउँसोदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

करिडोरको बागलुङ नगरपालिका–१२ कालाखोलामा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी जानकारी दिनुभयो । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधान ठप्प भएको उहाँको भनाइ छ । अहिले भारी वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने भन्दै वर्षा रोकिएपछि खुलाउने उहाँले बताउनुभयो ।

सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले करिडोर अवरुद्ध भएपछि मुस्ताङ जाने पर्यटक गाडी र बागलुङदेखि बुटवल, भैरहवा र सुनौली जाने सवारीसाधन ठप्प भएका प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिराले करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ, सवारीसाधन ओहोरदोहोर गर्ने अवस्था छैन, अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन सक्ने अवस्था छैन, वर्षा रोकियो भने बिहानसम्म मेसिन लगाएर खुलाउने छौँ ।”

मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने रास्वपाको निर्णय

काठमाडौँ, २३ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संस्थापक केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई केन्द्रीय सदस्यको जिम्मेवारी पुनः दिने निर्णय गरेको छ ।

रास्वपाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्षमा नियुक्ति हुँदा पार्टीको केन्द्रीय सदस्यबाट मियाँले राजीनामा दिनुभएको थियो ।

रास्वपाको केन्द्रीय समितिको बैठकले पार्टीको रिक्त विभिन्न विभाग तथा समितिहरूको जिम्मेवारीमा सदस्यलाई मनोनयन गर्ने निर्णय गरेको छ । केन्द्रीय श्रम तथा उपभोक्ता हित विभाग प्रमुख श्यामबाबु गौतम, केन्द्रीय सार्वजनिक लेखा समीक्षा विभाग प्रमुखमा गोकुल सापकोटा, मधेस प्रदेश समितिको सहमहामन्त्रीमा गणेश धिमाल, बारा र पुनम शाहलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।

केन्द्रीय श्रम तथा उपभोक्ता हित विभागका प्रमुखमा ललित श्रेष्ठलाई मनोनित गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता मनिष झाले पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीले रणनीतिक समूह गठन, सङ्गठन विस्तार र सशक्त बनाउन केन्द्रीय समितिका सबै सदस्यहरू तथा केन्द्रीय विभागका सबै सदस्यलाई जिल्लाजिल्लामा परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सो बैठकले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

कल्याणपुर नगरप्रमुख साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सिरहा, २३ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार साहविरुद्ध विशेष अदालत काठमाडौँमा आज भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नगरप्रमुख साहले नगरपालिका–६ अन्तर्गत नाला निर्माण योजनाको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु एक लाख घुस लिएको पुष्टि भएको छ । अख्तियारको बर्दिबासबाट खटिएको टोलीले साहलाई गत असार ३२ गते घुस रकमसहित रङ्गेहात पक्राउ गरेको थियो ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा सेवाग्राहीबाट भुक्तानी प्रयोजनका लागि लिएको भनिएको रु एक लाख घुसबापतको रकम कार्यालय परिसरमै लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको उल्लेख छ ।

आयोगले साहविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप मुद्दा दायर गर्दै रु एक लाख बिगो कायम गरी जरिवाना र कैद सजायको माग गरेको छ ।

न्यायाधीश नियुक्त स्वागत नगर्ने बारको अडान

काठमाडौँ, २३ साउनः नेपाल बार एशोसिएसनले संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषद्बाट हुने कुनै पनि नियुक्तिलाई स्वागत नगर्ने जनाएको छ ।

बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा बिहीबार न्याय परिषद्ले उच्च अदालतका लागि गरेको २७ जना न्यायाधीश नियुक्तिको सिफारिसप्रति ध्यानाकर्षण जनाउँदै उक्त नियुक्तिलाई स्वागत नगर्ने जनाएको छ ।

“न्याय परिषद्को संशोधित र विभेदलाई प्रश्रय दिने नियमावली तत्काल खारेज हुनुपर्ने, न्यायाधीश नियुक्तिका लागि पारदर्शी, वस्तुनिष्ठ र पूर्वानुमानयोग्य मापदण्ड निर्धारण गरिनुपर्ने र संविधानको मर्मबमोजिम समानुपातिक समावेशी सिद्धान्तलाई पूर्णतः कार्यान्वयन गरिनुपर्ने हाम्रो अविचलित माग हो”, विज्ञप्तिमा भनिएको छ, “यो माग पूरा नभएसम्म र उक्त संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषद्बाट हुने कुनै पनि नियुक्तिलाई नेपाल बार एशोसिएसनले स्वागत गर्दैन ।”

बारले न्याय प्रणालीको एक अभिन्न अङ्ग र सरोकारवालामात्र नभई न्याय परिषद्को एक महत्त्वपूर्ण साझेदार भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यति महत्त्वपूर्ण र दूरगामी असर पार्ने निर्णय गर्दा परिषद्ले बारको सरोकारलाई पूरै बेवास्ता गरेको छ, यो सहकार्य र पारदर्शिताको सिद्धान्तविपरीत छ, यस्ता अभ्यासले स्वेच्छाचारितालाई बढावा दिन्छ ।”

न्यायाधीशको पद सार्वजनिक विश्वासको धरोहर भएको हुनाले जुन योग्यता र क्षमताको आधारमा प्रदान गरिनुपर्ने बारले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “थुप्रै सुधारका प्रतिबद्धता व्यक्त गरिएको न्यायिक सुधारको प्रतिवेदनहरु केवल देखाउने आलङ्कारिक दस्तावेजमात्र भएका छन्, त्यसको कार्यान्वयनमा जिम्मेवार पक्ष उदासिन देखिन्छ ।”

बारले यो नियुक्तिले नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी राज्यको मर्म र भावनालाई पूर्णतः बेवास्ता गरेको दाबी गरेको छ । “न्यायपालिकाजस्तो महत्त्वपूर्ण अङ्गमा महिला, विभिन्न भौगोलिक क्षेत्र, वर्ग र समुदायको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा यो नियुक्तिले त्यसलाई अस्वीकार गरेको छ”, विज्ञप्तिमा भनिएको छ, “यस्तो असन्तुलित नियुक्तिले न्यायपालिकामाथि सबैको समान पहुँच र अपनत्वको भावनामा गम्भीर चोट पु¥याएको छ । न्याय प्रणालीप्रतिको विश्वासलाई कमजोर बनाएको छ ।”

आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील छः सभापति देउवा

काठमाडौँ, २३ साउनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि कांग्रेस संवेदनशील रहेको बताउनुभएको छ ।

एकतीसौँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आदिवासी जनजातिको आत्मसम्मानका लागि संविधानमै व्यवस्था गरिएको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक परिवर्तनका लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्तअनुरूप उपलब्धिहरू नयाँ संविधानमार्फत प्राप्त भएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले संविधानको प्रस्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको स्पष्ट पार्नुभयो । उहाँले आदिवासी जनजाति सङ्गठित रूपमा आफ्नो अधिकारका लागि अगाडि बढेको बताउनुभयो । सभापति देउवाले राजनीतिकसँगै सामाजिक र आर्थिक विकासमा एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गर्नुभयो । कांग्रेसले आदिवासी, जनजातिको परम्परा र वेशभूषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको उहाँको भनाइ थियो ।

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पदान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २३ साउन : गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उहाँले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने भन्दै उहाँले मानवअधिकारको संरक्षण एवं संवर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवं ज्येष्ठ नागरिकविरुद्ध हुने गतिविधिप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

“सडक दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध चुनौतीका रूपमा देखापरेकाले सोको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्नेछ”, उहाँले भन्नुभयो, “प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर छ ।” उहाँले गुण्डागर्दी र बिचोलियालाई निस्तेज पार्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

“प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउन शिष्ट आचरण÷व्यवहारका साथ सेवाग्राहीको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “शिष्टता देखाएर काम गर्दा कसैको कद घट्दैन ।”

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभयो । “उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “प्रहरीको कार्यसम्पादन सरकारसित जोडिएको विषय पनि हो ।”

त्यसैगरी प्रहरी महानिरीक्षक दीपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथै विपद् व्यवस्थापनमा समेत काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोत साधानका बीच पनि उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । उहाँले शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको बताउनुभयो ।

संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौँ, २३ साउनः कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

३१औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले आदिवासी जनजातिलाई धेरै अधिकार दिएकाले यसको संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंहले आदिवासी जनजाति समुदायको हकअधिकारका बारे कांग्रेसको घोषणापत्रमा भएको कुरा सरकारमा हुँदा कांग्रेसले कार्यान्वयनमा लगेको समेत बताउनुभयो ।

उहाँले मुलुकको नीति निर्माण गर्ने थलोमा आदिवासी जनजातिको उल्लेखनीय उपस्थिति रहेको भन्दै यसलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने बताउनुभयो । प्राप्त अधिकारको महत्व बुझेर संस्कार, संस्कृति र परम्परालाई नबिर्सिकन समयले मागअनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखकले आदिवासी जनजातिको हकअधिकारको सुनिश्चित र समग्र विकासका लागि आदिवासी दिवसले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान संविधानले देशमा रहेका सबै जातजाति, भाषा, धर्म, लिङ्गलाई समेटेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले नेपालमा भएका क्रान्ति र लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धन सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपालमा प्रजातन्त्र स्थापना गर्न आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुुभयो । संविधान रक्षाका लागि आदिवासी जनजातिहरु जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

महाङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले संविधान संशोधनमार्फत आदिवासी जनजातिको हकलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति महासङ्घले कांग्रेसमा पाँच लाख सदस्य थप्न आवश्यक रहेको उल्लेख गर्नुभयो । कांग्रेसले आदिवासी जनजातिसम्बन्धी दिएको अधिकारको रक्षा गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छः उपाध्यक्ष भुसाल

ललितपुर, २३ साउनः नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

पार्टीद्वारा आज आयोजित जिल्ला भेला एवं तीज विशेष कार्यक्रममा उहाँले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर समाजवादी आन्दोलनको खाका तयार गर्न माओवादी नेतृत्व लागेको बताउनुभयो ।

“सुदृढ र एकीकृत पार्टी निर्माण गरेर समाजवादको बाटो निर्माणका लागि हाम्रो पार्टी लागिपरेको छ”, उपाध्यक्ष भुसालले भन्नुभयो, “पार्टीको आगामी बैठक र महाधिवेशनले समाजवादी क्रान्तिको विस्तृत कार्यदिशा तयार गरेर अगाडि बढ्छ । उहाँले केन्द्रदेखि तल्लोतहसम्म पार्टी कार्यकर्ताले निर्णयलाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

“बिमति र फरक विचारहरू पार्टीमा राख्न पाइन्छ, आफ्ना समितिमा राख्ने छुट छ, तर छरपस्ट रुपमा सार्वजनिक गर्न पाइँदैन, सबै सदस्य एवं नेतृत्वले पार्टीको निर्णयलाई पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “पार्टीले गुट र उपगुट सबै खारेज भएको छ ।”

कार्यक्रममा पार्टीका महिला नेतृत्व एवं कार्यकर्ताहरूको उपस्थिति थियो ।

विधायन व्यवस्थापन समितिद्वारा बालबालिकासम्बन्धी ऐन संशोधन गर्न सुझाव सङ्कलन

भक्तपुर, २३ साउनः राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागितासम्बन्धी कानुनी प्रावधानको मापन तथा यसमा गर्नुपर्ने सुधारको सन्दर्भमा सुझाव सङ्कलन सुरु गरेको छ ।

समितिका सभापति तुलसाकुमारी दाहालको नेतृत्वमा राष्ट्रियसभा सदस्यहरू सम्मिलित टोलीले काभ्रेको नमोबुद्ध नगरपालिका पुगेर त्यहाँका जनप्रतिनिधि, कर्मचारी, बालसञ्जालका पदाधिकारी एवं सरोकारवालासँग छलफल गरी सुझाव सङ्कलन गरेको हो ।

समितिका सभापति दाहालले भन्नुभयो, “ऐनमा भएका कानुनी प्रावधान पर्याप्त छन् क छैनन् र यसमा सुधार गर्नुपर्ने पक्ष के के छन् ? भन्नेबारे जानकारी तथा सुझाव लिन स्थानीय तह र बालबालिकासम्म पुगेर सुझाव सङ्कलन गरिरहेका छाँै, यसै क्रममा आज संसदीय समिति यहाँ आएका हौँ ।”

समितिका सदस्यहरूले नमोबुद्ध नगरपालिकाका विभिन्न तह, संरचनामा बालसहभागिताको अवस्था, बालश्रमलगायत अन्य विभिन्न पक्षबारे जानकारी लिनुभयो । नगरप्रमुख कुनसाङ लामाले बालमैत्री स्थानीय तह घोषणालाई प्राथमिकतामा राखेर यसका मापदण्ड पूरा गर्न लागि परेको बताउनुभयो । सीमित स्रोतसाधनका कारण सोचे जस्तो काम गर्न नसकेको स्वीकार्दै उहाँले बजेटको समानुपातिक वितरण सुनिश्चित भए स्थानीय तहले आफ्नो अधिकार क्षेत्रमा पर्याप्त काम गर्न सक्ने बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले मागका आधारमा बजेट विनियोजन गर्नुपर्ने स्थानीय तहको बाध्यता रहेको बताउनुभयो । उहाँले गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछिको बाढीपहिराले ठूलो क्षति पु¥याएका संरचना र क्षेत्रमा बजेट केन्द्रित गर्नु पर्दा बालबालिकाको क्षेत्रमा यसवर्ष धेरै काम गर्न नसके बालबालिका लक्षित कार्यक्रमलाई अगाडि बढाइरहेको बताउनुभयो ।

नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले नगरपालिकामा भइरहेको बालमैत्री अभियानलगायत बालबालिकासँग सम्बन्धित विभिन्न तथ्याङ्कबारे जानकारी दिनुभयो । राष्ट्रियसभाका सदस्यहरु डा बेदुराम भुसाल, झक्कुप्रसाद सुवेदी, कृष्णबहादुर रोकाय, गोपाल भट्टराई, जयन्तीदेवी राई, तारामान स्वाँरलगायतले प्रत्येक पालिकास्तरमा बालबालिकाको अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सहसचिव मनोजकुमार गिरी, उपसचिव नुमराज खनाल शर्मा, शाखा अधिकृत प्रकाश ज्ञवाली, नगरपालिकाका वडाध्यक्षहरु, नगर बाल क्लब सञ्जालका बालबालिका लगायतले बाल अधिकारलाई तल्लो तहसम्म कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले बालबालिका आफ्ना अधिकारप्रति सचेत हुनु आवश्यक रहेको उल्लेख गर्दै बालबालिकाको सहभागिता र नेतृत्व अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।

विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐनमा भएका प्रावधानबारे प्रदेशगत रुपमा छलफल गर्ने क्रममा बागमती प्रदेशको नमोबुद्ध नगरपालिका छनोट गरी छलफल चलाएको र अन्य प्रदेशमा सुझाव सङ्कलनलाई जारी राखेको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

मकवानपुर, २३ साउन : नेपाली कांग्रेस बागमती पदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा निवासी प्रदेशसभाका सदस्य कञ्चनचन्द्र बादेलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक पदमा आज नियुक्त गर्नुभएको छ ।

यसैगरी मुख्यमन्त्री बानियाँले ललितपुरको मङ्गलबजार निवासी प्रदेशसभाका सदस्य मीनकृष्ण महर्जनलाई उक्त संसदीय दलको सदस्यसचिवमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव मिलन पुडासैनीले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सदस्यसचिवमा प्रदेशसभाका सदस्य कृष्णकुमार तामाङ अहिले मुख्यमन्त्री बानियाँको मन्त्रिपरिषद्मा साउन २० गते मन्त्रीमा नियुक्त हुनुभएपछि उक्त दलको सदस्यसचिवको पद रिक्त भएको थियो ।

समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य छ : अध्यक्ष नेपाल

काठमाडौँ, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवाद उन्मुख अर्थतन्त्रका निम्ति दिगो तथा आत्मनिर्भर अर्थतन्त्रको विकास अपरिहार्य रहेको बताउनुभएको छ ।

पार्टी निकट उद्योगी व्यवसायीहरूको अधिवेशनको शुभारम्भ गर्दै उहाँले मुलुकका निम्ति आवश्यक औद्योगिक उत्पादनले मात्र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने बताउनुभयो ।

समाजवादी नीति तथा कार्यक्रममार्फत आयात निर्यातमा सन्तुलन कायम गर्न उत्पादन बढाउनुपर्नेमा जोड दिँदै उहाँले योजनाबद्ध रूपमा आयात विस्थापित, निर्यात प्रवर्द्धन गरी नाफामा जाने उपाय अवलम्बन गर्नुपर्ने बताउनुभयो ।

समाजवाद कार्यान्वयनका लागि छरिएको पुँजीलाई एकीकृत गरी राज्यले औद्योगिक क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताउँदै अध्यक्ष नेपालले सरकारले उत्पादनमूलक तथा सेवामूलक क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

मुलुकमा विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलगायत समस्या समाधान गर्न समाजवादले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकजुट गरी समाजवाद कार्यान्वयन गर्न सकिने बताउनुभयो ।

सामाजिक तथा राजनीतिक समस्या समाधान गर्न समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणाका आधारमा सामाजिक सुरक्षाको प्रबन्ध, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले समाजवादको सुन्दर भविष्यका लागि क्रियाशील हुन सबैलाई आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देशमा रोजगारी सृजना गर्न कृषि, पूर्वाधार, औद्योगिक क्षेत्रमा लगानी वृद्धि तथा उत्पादन वृद्धि गर्न समाजवादको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सामाजिक न्याय, समानता, समावेशी अवधारणाका आधारमा जनताको आर्थिक तथा सामाजिक रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

दूरसञ्चारका संस्थागत ग्राहकको साइबर सुरक्षाका लागि पहल

काठमाडौँ, २३ साउनः दूरसञ्चार सेवाप्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ ।

एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स (इडिआर÷एक्सडिआर), क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ ।

आज यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताउनुभया । “एनसेल बिजनेसले आफ्ना इन्टरप्राइज सेवालाई थप सुरक्षित बनाउनका लागि विथसेक्योरसँग सहकार्य गरेको हो, यसले विश्वस्तरको साइबर सुरक्षा प्रदान गर्नेछ ।”

विथसक्योरका उपाध्यक्ष पाओलो पालुम्बोले विथसेक्योर एक साइबर सुरक्षा प्रदायक कम्पनी भएको उल्लेख गर्दै एनसेलसँग दीर्घकालीन साझेदारीले नेपाली इन्टरप्राइजेजको साइबर सुरक्षामा थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

कर्णाली, २३ साउन : माटो, वातावरण, जलवायु, खेती प्रणाली र उत्पादित कृषि उपजका दृष्टिले कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा अगाडि बढाएको छ । कर्णाली प्र्रदेश सरकारले २०७५ सालदेखि प्राङ्गारिक प्रदेश निर्माणका लागि लिएको अभियानअन्तर्गत प्राङ्गारिक खेती प्रवर्द्धनलाई विशेष जोड दिइएको हो ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला सात वर्षदेखि प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि अनुदानमा जैविक सामग्री वितरण, प्रयोगशालामा जैविक कीटनाशक उत्पादन र रासायनिक कीटनाशकका नकारात्मक असरबारे जनचेतना फैलाउने कामका साथै कृषक पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा प्राङ्गारिक खेतीमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको कृषिमन्त्री विनोदकुमार शाहले बताउनुभयो ।

उहाँका अनुसार प्रदेशको प्राङ्गारिक खेतीको उत्पादनमा वृद्धि, जनशक्ति उत्पादन, बजारीकरण र त्यसको दीगोपनसम्बन्धी पाँचदिने अन्तरराष्ट्रियस्तरको प्राङ्गारिक खेतीसम्बन्धी तालिम आज सम्पन्न भएको छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ)सँगको सहकार्यमा काठमाडौँस्थित रोयल थाई दूतावासद्वारा सुर्खेत वीरेन्द्रनगरमा साउन १८ गतेदेखि सञ्चालित तालिम उपलब्धिमूलक हुने उहाँको भनाइ थियो ।

तालिम समापन कार्यक्रममा थाइ मन्त्रीका सल्लाहकार एवं मिसनका निमित्त प्रमुख मनसुभी मनासाकुलले पहिलोपटक थाइ सरकार, एफएओ र नेपाल सरकारको सहकार्यमा नेपालमा प्राङ्गारिक खेतीसम्बन्धी गरिएको तालिमले नेपाल र थाइल्याण्डबीचको मित्रता र सहकार्य महत्त्वपूर्ण कडी बन्ने बताउनुभयो । उहाँले थाइ राजदूतावासको तर्फबाट कर्णाली प्रदेश, कृषि विशेषज्ञ तथा साझेदारहरूसँग सहकार्य गर्न पाउँदा सम्मानको अनुभव भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “अग्र्यानिक खेतीले दिगो भविष्यतर्फको बाटो देखाउँछ । यसले खाद्य सुरक्षा मजबुत पार्नुका साथै स्थानीय जीविकोपार्जनलाई सहयोग गर्छ । वातावरणसँगको सद्भावले दिगो अभ्यासलाई पनि प्रवर्द्धन गर्छ । हामी आशा गर्छौँ कि यो तालिमबाट प्राप्त ज्ञान, अभ्यास र प्राङ्गारिक उत्पादनमा प्राप्त उच्च अनुभवले यहाँहरूलाई थप सक्षम बनाउनेछ ।”

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शाहले तालिमबाट प्राप्त ज्ञान सीपले कर्णालीको प्राङ्गारिक कृषि प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । “नेपाल सरकार र थाइ सरकारको संयुक्त प्रयासमा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि भएको पहल मननयोग्य छ । थाइल्यान्डको कृषि र कृषि उपजको प्रशोधन र गुणस्तर कायम संसारमा अनुकरणीय भएको देखिन्छ”, उहाँले भन्नुभयो ।

मन्त्री शाहले कर्मचारीहरूलाई अन्तराष्ट्रियस्तरको तालिममा सहभागी गराउन कठिन भएकाले यस तालिमबाट सात जना विज्ञहरु नै कर्णालीमा आएर प्रशिक्षण गराउँदा एक उपलब्धिमूलक र सबैको ज्ञान सीपमा क्षमता अभिवृद्धि भएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार सैद्धान्तिक र व्यावहारिक ज्ञानको प्रयोग नै यो प्रशिक्षण कार्यको महत्त्वपूर्ण पाटो बन्यो ।

मन्त्री शाहले तालिमबाट प्राङ्गारिक प्रविधिमा थाइ सरकारले लिएको नीति तथा कार्यक्रमका बारेमा जानकारी, कृषि उपजमा गरिने प्रशोधन र बजारीकरणबारे जानकारी दिनु प्रसंशायोग्य भएको बताउँदै थाइ राजदूतावासका पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । तालिमले सहभागीहरूको क्षमता अभिवृद्धिमा योगदान पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि दुई देशबीच कृषि क्षेत्रको विकासका लागि सहयोग र समन्वय हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

प्राङ्गारिक प्रदेश निर्माणको अभियानलाई सहयोग पुगोस् भन्ने ध्येयका साथ मन्त्रालयले जैविक कृषि प्रवर्द्धनका लागि विशेष ऐन र नियमहरू ल्याएकाले थाइल्याण्डबाट सिकेको दिगो कृषि प्रणालीका उत्कृष्ट अभ्याससम्बन्धी सीप र ज्ञान अझ बढी लाभदायी हुने जनाइएको छ । उक्त पाँचदिने तालिममा कर्मचारी, कृषक, व्यापारी र एग्रोभेटका सञ्चालकहरूको सहभागिता रहेको थियो ।

जापानमा घरेलु खर्च १.३ प्रतिशतले वृद्धि

जापानमा घरेलु खर्च गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भएको छ, जुन लगातार दोस्रो महिना वृद्धि भएको देखिएको हो । गाडी किन्न र विद्युत् महसुलमा गरिएको खर्चले यो वृद्धि सम्भव भएको जापानी सरकारले जनाएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, दुई वा दुईभन्दा बढी सदस्य भएका परिवारले औसत दुई लाख ९५ हजार ४१९ येन (करीब दुई हजार अमेरिकी डलर) खर्च गरेका थिए । विभागका अनुसार, यातायात र सञ्चार क्षेत्रमा खर्च ८.६ प्रतिशतले बढेको छ भने ऊर्जा र पानीमा गरिएको खर्च ६.३ प्रतिशतले वृद्धि भएको छ । यो गर्मीको मौसममा एयर कन्डिसनरको बढी प्रयोगका कारण भएको बताइएको छ ।

तर, खाद्यान्नमा खर्च भने २.१ प्रतिशतले घटेको छ, जुन पछिल्ला तीन महिनामा पहिलो गिरावट हो। विशेष गरी चामलको खर्चमा १२.१ प्रतिशतको गिरावट आएको छ, जसको कारण सरकारले यसअघि आफ्ना भण्डारबाट चामल रिलिज गरेपछि उपभोक्ताहरूले सस्तो वा कम चामल किनेको मानिएको छ ।
घरेलु खर्च जापानको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधाभन्दा बढी हिस्सा ओगट्ने भएकाले, यसलाई देशको निजी उपभोगको प्रमुख सूचकको रूपमा लिइन्छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

गोरखा, २३ साउनः बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । साहस ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको कूल ३४१ मेगावाट क्षमताको आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन् ।

अनुमानित रु ७० अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि रु ५२ अर्ब ५० करोड लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीयओ) ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार एनआईएमबीले रु १० अर्ब, नबिल बैंकले रु आठ अर्ब, लक्ष्मी सनराइज बैंकले रु आठ अर्ब र ग्लोबल आइएमई बैंकले रु सात अर्ब ऋण लगानी गर्ने भएका छन् । साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले रु चार अर्ब, माछापुच्छ«े बैंकले रु चार अर्ब, सिटिजन्स बैंकले रु तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले रु तीन अर्ब, प्रभु बैंकले रु तीन अर्ब र कृषि विकास बैंकले रु दुई अर्ब ५० करोड ऋण लगानी गर्ने भएका छन् । सम्झौतापत्रमा पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने उल्लेख गरिएको छ ।

प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ । वर्षायामका लागि प्रतियुनिट चार रुपैयाँ ८० पैसा, सामान्य सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसा र मुख्य सुक्खायामका लागि १० रुपैयाँ ५५ पैसामा बिक्री गर्ने गरी सम्झौता गरिएको छ ।

कूल २५ प्रतिशत लगाानी अर्थात रु १७ अर्ब ५० करोड भने प्रवद्र्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ । टाइम्स इनर्र्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ ।

परियोजनामा प्रतिमेगावाट रु २० करोड ५३ लाख लगानी हुनेछ । परियोजनाबाट वर्षायाममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादनहुनेछ ।

लगानी सम्झौता समारोहमा प्रवद्र्धक कम्पनी टाइम्स इनर्जीले आउँदो भदौबाट बाँध तथा पावरहाउस निर्माणका लागि जग्गा तयार गर्ने काम सुरु हुने र चैतबाट निर्माण सुरु गर्ने जानकारी दिएको छ । आयोजनाले २०८७ साल पुस १५ गतेदेखि विद्यत्को व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । उत्पादित विद्युत् ४५ किलोमिटर पर रहेको नुवाकोटको रातामाटे सबस्टेशनमा लगेर जोडिनेछ । सो सवस्टेशन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माण भइरहेको छ ।

गोरखाको चुमनुब्री–३ सल्लेरीमा बाँध बनाएर ६.९ किलोमिटर सुरुङमार्फत पानी झारेर धार्चे गाउँपालिका–३ तातोपानीमा पावर हाउस निर्माण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि निजी क्षेत्रकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको र २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको अनुभव छ । यो आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना हो ।

नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

मन्थली (रामेछाप), २३ साउन : नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ ।

गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो ।

पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो ।

यातायातका साधनको चाप बढेसँगै बेलीब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्टहरु खुस्किएर बिछ्याइएका पाताहरु खुकुलो हुन थालेपछि जोखिम बढेको थियो । यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरको छ । दुई दिनभित्र बेलीब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले राससलाई बताउनुभयो ।

बडीमालिका दर्शन गरि फर्कदा भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा, २३ साउन : बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।

राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताउनुभयो । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिएपनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

ढोरपाटन (बागलुङ), २३ साउन : यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङदेखि पोखरा, काठमाडौँलगायतका स्थानमा जाने आउने सवारी साधन रोकिएका छन् । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको प्रहरी निरिक्षक थापाले बताउनुभयो ।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

तुर्कमेनिस्तान, २३ साउन : तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८.३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गर्नुभयो । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ः५ बजे नेपाल आइपुग्नुहुने कार्यक्रम रहेकोे छ ।

सुनसरीमा पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

धरान (सुनसरी), २३ साउन : तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् ।

राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पु-याएको छ । भोटेले भन्नुभयोे, “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो । बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो । हेर्दाहेर्दै घरको माथिल्लो भाग पुरियो र घर पूर्ण रूपमा क्षति भयो ।”

स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताउनुभयो । घटनापछि तत्कालै घटनास्थल पुग्नुभएका धरान उपमहानगरपालिका–३ का वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहकार्यमा पर्खाल निर्माणलगायतका काम गरिने बताउनुभयो ।

उहाँका अनुसार सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा छन् । वडा कार्यालयले हाल क्षतिको विवरण सङ्कलन गरिरहेको उहाँले बताउनुभयो । गत वर्ष धरान–३ को सोही क्षेत्रमा पहिरो जाँदा बस्ती जोखिममा परेको थियो ।

त्यसबेला वडाबाट रु पाँच लाख र नगरपालिकाबाट रु १४ लाख बजेट विनियोजन गरी पहिरो रोकथाम गरिएको थियो ।

भारतको उत्तराखण्डको बाढीमा १७ नेपाली बेपत्ता, प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले क्षति पु¥याएको दुःखद् खबरप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले आफू चिन्तित भएको व्यक्त गर्नुभएको हो । “छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद् खबरले चिन्तित छु ।

बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको समेत जानकारी दिनुभएको छ ।

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ।बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही-३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुने छ।

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।शुक्रबार बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।

साथै, बैठकमा सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।

विद्यार्थीका ९९ प्रश्नको कठघरामा प्रचण्ड : शिक्षामा सुधार गर्न खोज्दा ठूला पार्टीले अवरोध गरेको आरोप

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो फरक विषयको सामना गर्नुपर्यो । उहाँलाई काठमाडौँमा विद्यार्थीहरूका ९९ प्रश्नको कठघरामा उभ्याइएको थियो ।

देशभरका क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीका सङ्कलित प्रश्न अध्यक्ष दाहाललाई पालैपालो सोधिएको थियो । बिहिबार माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले आयोजना गरेको ‘विद्यार्थीसँग कमरेड प्रचण्ड, शैक्षिक संवाद’ कार्यक्रममा अध्यक्ष दाहाललाई उक्त ९९ प्रश्नको कठघरामा उभ्याइएको हो ।

विद्यार्थीका अधिकांश प्रश्नहरू शैक्षिक विकृति, विसङ्गति, शिक्षा प्रणालीका कमजोरी, व्यावहारिक, रोजगार सीपमूलक र उद्यममूलक शिक्षा विकास हुन नसकेकामा आक्रोश थियो । ती प्रश्नहरूको अध्यक्ष दाहालले पालैपालो उत्तर दिनुभयो । चार सय ५० भन्दा बढी प्रश्नबाट छानेर उहाँलाई ९९ वटा प्रश्न सोधिएको हो ।

विद्यार्थीसँगका प्रश्नोत्तरको सहजीकरण भने पत्रकार रुपेश श्रेष्ठले गर्नुभएको थियो । विद्यार्थीका लिखित प्रश्नलाई श्रेष्ठले प्रस्तुत गर्ने र अध्यक्ष दाहालले जवाफ दिनेक्रम रह्यो । राष्ट्रियसभागृहको प्रेक्षालय भरिभराउ विद्यार्थी चोटिला प्रश्नमा गडगडाहट तालीसहित हुटिङ गर्थे । अध्यक्ष दाहालको सोहीअनुसारका जवाफमा पनि विद्यार्थीहरू ताली पड्काउँथे ।

शिक्षा निजीकरणको दलदलमा पुग्दा किन ध्यान पुगेन ? विद्यार्थी सुवास गौतमको प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, “उच्च शिक्षा आयोग र विद्यालय शिक्षा विधेयकमा यही कुरालाई गुणात्मक सुधार गर्ने प्रयास गरिएको छ, तर ठूला पार्टी त्यतातर्फ नदेखिनु विडम्बना हो । ठूला पार्टी शिक्षाको गुणस्तर वृद्धि र मेरिटोक्रेसी बढाउनेमा छैनन् ।”

सोही क्रममा पत्रकार श्रेष्ठले विद्यार्थी श्याम साह र अजय शर्माका जीवनोपयोगी शिक्षा खै ? र गुणस्तर शिक्षा किन छैन ? भन्ने प्रश्न अध्यक्ष दाहालसामु राखे । जवाफमा उहाँले भन्नुभयो, “शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्छ, मूल कुरा शिक्षालाई राज्यले नै जिम्मेवारी लिनुपर्छ । निजी शिक्षा निरुत्साहित गर्नुपर्छ ।”

श्रेष्ठले थप प्रश्न राखे– के नेपालको शिक्षा प्रणाली त्यसरी अघि बढेको छ ? अध्यक्ष दाहालले थप्नुभयो, “दुर्भाग्य अहिलेसम्म त्यसअनुसार शिक्षा नीति कार्यान्वयन हुनसकेको छैन, आफ्नो सरकारका बेलामा उच्च शिक्षा आयोग गठन गरी शिक्षालाई रोजगारको प्रत्याभूति हुनेगरी प्रतिवेदन बनेको थियो, त्यो प्रतिवेदन नै गायब पारिएपछि अघि बढेन, तेस्रोपटक प्रधानमन्त्री हुँदा कार्यान्वयनको चरणमा जाँदैथियो सरकार ढल्यो ।”

विद्यार्थीहरूले अध्यक्ष दाहालसामु सीपमूलक शिक्षाको अभावमा बेरोजगारी बढेको, युवा विदेशिएका, अन्तरराष्ट्रिय रूपमा प्रतिष्पर्धा हुन नसकेका, उद्यमी बन्न नसकेको किन, शिक्षा प्रणाली किन सुधार भएन ?, के समस्या भयो ? कसले रोक्यो ? लगायतका प्रश्नहरू राखेका थिए ।

सो क्रममा अध्यक्ष दाहालले सार्वजनिक शिक्षामा आफूले सुधार गर्न खोजेको तर नदिएको भनेर जवाफ दिनुभएको थियो । त्यसमा कसको दोष रह्यो भन्ने प्रश्नमा उहाँले अहिलेका ठूला पार्टीले अवरोध गरेको जवाफ दिनुभयो । विद्यालय शिक्षा विधेयक पनि सरकारले नै रोकेको दाबी गर्दै उहाँले यो विधेयक पारित भए शिक्षाका धेरै समस्या हल हुने पनि बताउनुभयो ।

अध्यक्ष दाहालले थप्नुभयो, “शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो, शिक्षामा सुधार नगरी अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन, त्यसकारण अब अर्काे क्रान्ति चाहिएको छ भनेर मैले भनेको हो, त्यो क्रान्ति सशस्त्र क्रान्ति भनेको होइन, फेरि सडकबाट क्रान्ति नगरेसम्म उनीहरूको दिमागमा छिर्ने छैन ।”

परम्पराको साङ्लोहरू अझै बाँकी रहेको र अहिलेका ठूला दल परम्परागत शिक्षालाई नै अघि बढाउन उद्यत रहेको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यही कारण क्रान्तिको खाँचो रहेको आफूले बताएको उल्लेख गर्नुभयो । उहाँले शिक्षामा आमूल परिवर्तनका लागि सामूहिक सङ्कल्प र प्रतिबद्धताको खाँचो रहेको औँल्याउँदै भन्नुभयो, “त्यसका लागि म सबैसामु अपिल पनि गर्दछु ।”

शिक्षालाई सीपयुक्त र रोजगारीमा जोड्नुपर्नेमा जोड दिँदै उहाँले शिक्षालाई राज्यले जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उक्त शैक्षिक संवाद अघि भने जनवादी गायक जीवन शर्माले सिमली छायाँमा लगायत गीत प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष तथा पार्टीका विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्मा, अखिल क्रान्तिकारीका अध्यक्ष विजय सापकोटा, उपाध्यक्ष मदन ढकाललगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थी नेता स्वर्गीय विनोद अधिकारीकी आमा हरिमायालाई दोसल्ला ओढाएर अध्यक्ष दाहालले सम्मान गर्नुभएको थियो ।

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण, एक दर्जन गाउँबस्ती खतरामुक्त

जानकी (बाँके), २३ साउनः “वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको । उमेरले छ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देख्नुभएको छ ।

विगत सम्झँदै उहाँले भन्नुभयो, “बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ । मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ”, विगत सम्झँदै उहाँले भन्नुभयो, “बुढेसकालमै भएपनि नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेको देख्दा खुसी लागेको छ ।”

सोही गाउँका रामप्यारी यादवले पनि यस वर्ष आफूहरुलाई बाढीले क्षति नपु¥याउनेमा ढुक्क भएको बताउनुभयो । “प्रत्येक वर्ष हामीलाई नदीकै चिन्ता हुन्थ्यो । कतिबेला नदीको बहाव ह्वात्तै बढ्छ र हामीलाई विचल्ली बनाउँछ भनेर । तर यो वर्ष आपत्कालीन तटबन्ध निर्माण भएपछि खासै चिन्ता लागेको छैन”, उहाँले भन्नुभयो ।

रामप्यारीका अनुसार बाढीले सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई प्रभावित बनाउँथ्यो ।

राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यस वर्ष आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् ।

आपत्कालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ । दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन । जसले गर्दा वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए ।

‘जनताको तटबन्ध कार्यक्रम’ लमही दाङले कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४०० मिटर लामो आपत्कालीन तटबन्ध निर्माण गरेको हो ।

आयोजना प्रमुख डा नारायण सुवेदीले दिनरात काम गरेर छोटो समयमै काम सकिएको बताउनुभयो । दुई वर्षदेखि माग गर्दै आए पनि सुनुवाइ नभएको तर हाल जनताको तटबन्ध कार्यक्रमले दुई महिनामा अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको उहाँको भनाइ छ ।

उक्त गाउँपालिकाको खल्ला झगडिया गाउँमा खल्लाझगडियामा आपत्कालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिने स्थानीयहरुको विश्वास छ । राप्तीसोनारी–७ का स्थानीय दीपनारायण बर्माले यस वर्ष कटान रोकिने विश्वास व्यक्त गर्नुभयो । राप्तीसोनारी वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले निकै राम्रो काम भएकाले राहत मिलेको बताउनुभयो ।

खल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । खल्लाझगडियाको क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले रु छ करोड पाँच लाखमा ठेक्का लिएर काम सुरु गरेको छ ।

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

भोजपुर, २३ साउन : भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन् ।

नेवार समुदायको संस्कृतिका रूपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउँदै परम्परागत रीतिरिवाजलाई नयाँ पुस्तासम्म पुर्याउने काम भइरहेको स्थानीयवासी चन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा लाखेजात्रा, गाईजात्रा, बुबाआमाको मुख हेर्ने दिन, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको उहाँले बताउनुभयो ।

यस्ता जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतीकका रूपमा लिइने स्थानीयको भनाइ छ । स्थानीय कला, संस्कार, संस्कृति तथा रहनसहनको संरक्षणमा जुटेको स्थानीयवासी कमल प्रधानले बताउनुभयो ।

“हाम्रो पराम्परागत संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “कतिपय प्रचलन लोप हुने अवस्थामा पुगेकाले हामी युवाहरू संस्कृतिको संरक्षणमा जुटेका हौँ ।” नागपञ्चमीका दिन भीमसेन मन्दिरमा पूजा गरी सुरू भएको लाखे नाच हरेक दिन प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवत रूपमा अन्त्य हुने उहाँको भनाइ छ ।

आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले नयाँ पुस्तासम्म पुर्याउन संरक्षणमा जोड दिएको नेवाः देय दवू भोजपुरका अध्यक्ष बद्री श्रेष्ठले बताउनुभयो । यस्ता मौलिक परम्पराको संरक्षण गर्न जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

नेवार समुदायको बाहुल्यता रहेको भोजपुर सरदमुकाम, टक्सार, दावाँ बजार, दिङला बजारलगायत स्थानमा नागपञ्चमीदेखि लाखे नाचको सुरूआत गरिएको छ । नेवार समुदायको लाखे नाचका क्रममा स्थानीय वेशभूषा, रहनसहनको प्रदर्शनीसँगै गाईजात्रा, घोडेजात्रा, वैरागी जात्रा, रोपाइँ जात्रालगायतका माध्यमबाट समाजका विकृति, विसङ्गतिप्रति व्याङ्ग्य गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने चलन रहेको छ ।

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर, २३ साउन : ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म रिक्तो धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए ।

त्यतिमात्र होइन, महानगरको वडा नं २२ र २१ अर्थात् बुङ्गमती क्षेत्रका जनताका धारामा पनि लामो समयसम्म पानी आएन । त्यहाँका जनता खानेपानीका लागि घण्टौँ यात्रा गरेर पानीको मूल धाउन बाध्य भए । उनीहरू डोकोमा गाग्री र पानीका बोतल बोकेर खानीपानीको मुहान खोज्न भौतारिए । गत वर्षको असोजमा गएको बाढीले सो क्षेत्रको खानेपानी पाइपलाइन विच्छेद गरिदिएको थियो । त्यसबेलादेखि सरकारले खानेपानी समस्यामा ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गयो र अन्ततः उपभोक्ताले दुःख भोग्नुपरेको हो ।

उल्लेखित क्षेत्रका हुनेखाने उपभोक्ताले ट्याङ्करको पानी किनेर ल्याएर दैनिकी चलाए । त्यतिमात्र होइन पहुँचवाला र विशिष्ट व्यक्तिका घरमा उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का ट्याङ्करमार्फत पानी पुर्याइयो । तर, सर्वसाधारणका भान्सामा न चर्को मूल्यका ट्याङ्करको पानी पुग्न सक्यो न त केयुकेलकै । हजारौँ सर्वसाधारण खानेपानीको प्राकृतिक मुहान खोज्दै हिड्न बाध्य भए । उनीहरू पानी बोक्ने जार, गाग्री र बोतल लिएर सार्वजनिक कुवा र धारामा लाइन बस्न बाध्य भए । यस्ता समस्या उल्लेखित वडाको मात्र होइन, ललितपुर जिल्लाकै हो ।

घरमा जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका स्थानीय गुनासो बोकेर दर्जनौँपटक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ललितपुर शाखा कार्यालयमा धाउँदै आए, अझै धाइरहेका छन् । केही स्थानमा तत्कालका लागि समस्या समाधान भए पनि अधिकांश स्थानका समस्या जिउँको तिउँ छ ।

ललितपुर महानगर–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले दुई साताअघि आफ्नो वडामा खानीपानीको हाहाकार हुँदा ठूलो समस्या भएको बताउनुभयो । दैनिकजसो उपभोक्ता वडा कार्यालयमा गुनासो लिएर ‘डेलिगेसन’ आउने गरेको उहाँले सुनाउनुभयो । निरन्तर सम्बन्धित निकायमा झकझक्याउँदा पनि समस्या समाधान नहुँदा हैरान भएको उल्लेख गर्दै अध्यक्ष खत्रीले ठूलो परिश्रमपछि २१ दिनपछि जनताका घरका धारामा पानी आएको बताउनुभयो ।

त्यसैगरी, ललितपुर महानगर–२५ का अध्यक्ष रवीन्द्र महर्जन भन्नुहुन्छ, “गत वर्षको असोजमा गएको बाढीले खानीपानी संरचना भत्काएको र ती संरचनालाई अस्थायी रूपमा टालटुल गरिए पनि समस्या समाधान नभएकाले खानीपानीको समस्या भएको हो, फर्पिङबाट ल्याएको पानी वाग्मती नदीमा आएको बाढीले विच्छेद गरिदिँदा बुङ्मतीलगायत भैँसेपाटी क्षेत्रमा खानेपानी ठप्प भयो । निरन्तर खानीपानी मन्त्रालय, कार्यालय धाउँदाधाउँदा बल्ल २१ दिनपछि जनताका घरमा पानी पुर्याउन सकियो ।”

अध्यक्ष महर्जन आफैँ खानीपानीको पाइप जडान गर्नका लागि वडाका साथीहरूसँगै निरन्तर दुई सातासम्म खटिनुभएको थियो । निरन्तरको प्रयासले तत्कालका लागि यस क्षेत्रमा खानेपानीको समस्या समाधान भएको उहाँले बताउनुभयो ।

त्यसैगरी, समाजसेवी एवं महानगरको वडा २५ का स्थानीय देवेन्द्रकुमार गौतम भन्नुहुन्छ, “खानेपानीजस्तो संवेदनशील विषयमा राज्य गम्भीर भएर नलाग्दा जनता प्रताडित हुनुपरिरहेको छ, खानेपानीमा पनि राजनीति हुने गरेको र समस्या समाधानमा आलटाल गर्दा जनताले दुःख भोग्नु परेको छ ।” सम्बन्धित निकायले बेवास्ता गर्दा गत वर्षदेखिको समस्या समाधान गर्न ढिलाइ भएको उहाँको भनाइ छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखा कार्यालयका अनुसार ललितपुर जिल्लामा करिब ५० हजार बढी धारा जडान गरिएको छ । ती धारामा मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी तथा फर्पिङ स्टिम प्रणालीबाट पानी निरन्तर पठाउन सकिएमा ललितपुरमा खानेपानीको समस्या समाधान हुनसक्ने कार्यालयको भनाइ छ ।

गत वर्ष असोज १२ गते गएको बाढीका कारण ललितपुरका विभिन्न ठाउँमा पाइपहरू टुटफुट भएका थिए र हालसम्म ती समस्याको समाधान नभएकै कारण स्थानीयले पानीको समस्या भोग्नुपरेको उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका कार्यालय प्रमुख विजय विश्वकर्माले स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “गत वर्षको बाढीका कारण धेरै पाइपहरूमा क्षति पुगेको छ । चापागाउँ र फर्पिङ स्टिमबाट पानी पर्याप्त मात्रामा आउन सकेको छैन । फर्पिङ स्टिमबाट प्रतिदिन दुई करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल पाइपमा आएको समस्याका कारण एक करोड २० लाख लिटरमात्र पानी ल्याएका छौँ । मेलम्चीको पानी पनि बन्द भएको छ । स्थानीयलाई पानी पुगेको छैन र गुनासो आएको छ ।”

यता ललितपुर महानगरपालिका–१३ कुसुन्तीका धनराज घिमिरेको घरमा हप्ताको एक घण्टाजति मात्र पानी आउँछ । पानी वितरण तालिकाअनुसार पर्याप्त पानी नआएर सुकिहाल्ने गरेको उहाँ बताउनुहुन्छ । “महिनामा दुई ट्याङ्कर पानी किन्छौँ । पर्याप्त पानी प्रयोग गर्न नपाएर महसुल भने तिरिरहेका छौँ । केही समयअघि हप्तामा तीन दिन पानी आउँथ्यो, अलि सहज हुन्थ्यो । अहिले त कहिलेकाहीँ हप्तामा एकपटक पनि पानी आउँदैन,” उहाँको भनाइ छ ।

ललितपुर कुसन्तीका स्थानीयले जडान गरेका पुराना पाइपलाई गत वर्षको बाढीले क्षति पुर्याएपछि नयाँ पाइप जडान गर्नुपर्ने भएकाले कतिपय स्थानीयको घरमा केही समय पानी बन्द भएको ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना पाइप टुटफुट भएका छन् । नयाँ पाइप जडानको काम चलिरहेको छ । पाइप जडानको काम पूर्ण रूपमा सम्पन्न भएमा धारामा पानी आउँछ ।”

भैँसीपाटी क्षेत्रमा फर्पिङ स्टिम प्रणालीबाट पानी वितरण भए पनि अहिले पानीको चरम समस्या रहेको स्थानीयको गुनासो छ । मन्त्री आवासमा पानी आउने तर जनताको घरमा नआउने भन्दै उनीहरूले आक्रोश पोखेका छन् । ललितपुर–१८ भैँसीपाटीका रामहरि थापाले ट्याङ्करको पानी प्रयोग गर्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “खानेपानीको तालिकाअनुसार हप्तामा एक दिन पानी आउँछ, तर त्यसको भर हुँदैन । कहिलेकाहीँ पानी कुर्दाकुर्दा पानी आउँदैन । अहिले त पानी कहिले आउँछ भन्ने थाहा नै हुँदैन, तर पानीको महसुल भने तिरिरहेको छु ।”

फर्पिङ स्टिमबाट दुई करोड लिटर पानी ल्याउन सकिएमा चक्रपथबाहिरका क्षेत्रमा हप्तामा दुई दिन पानी पठाउन सकिने उपत्यका खानेपानी लिमिटेड ललितपुर वितरण शाखाको भनाइ छ । कार्यालय प्रमुख विजय विश्वकर्मा भन्नुहुन्छ, “ललितपुरमा रहेका सबै मुहानलाई व्यवस्थित गरेर स्थानीयलाई पानी वितरण गर्न सकिने हो भने ललितपुरवासीले पानीको समस्या खेप्नु पर्दैन । नल्लु खोला, वासुदु, गोदावरी नगरपालिकाको चारघरे मुहानलगायतका स्रोतलाई व्यवस्थित गर्न सकेमा पानीको समस्या हुँदैन । आगामी दिनमा समस्याको समाधान गर्न यतातिर पनि सोच्नुपर्छ ।”

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २३ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३३ पैसा र बिक्रीदर चार रुपैयाँ ३५ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३३ रुपैयाँ २१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८७ पैसा र बिक्रीदर २१ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुयैयाँ ७० पैसा र बिक्रीदर ३६५ रुपैयाँ २६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

आजको मौसम : देशका यी स्थानमा भारी बर्षाको सम्भावना

काठमाडौँ, २३ साउन : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागमा धेरै र देशका बाँकी पहाडी भू–भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयद्वारा पत्राचार

कर्णाली, २३ साउन : कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि पत्राचार गरेको छ । मुख्यमन्त्री यायमलाल कँडेलको अध्यक्षतामा २०८२ असार २५ गते बसेर चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनसम्बन्धी बैठकबाट भएका निर्णयहरू सबै मन्त्रालय तथा निकायलाई कार्यान्वयन गर्न बिहीबार पत्राचार गरिएको हो ।

आयोजनाको छनोट तथा प्रस्तावसम्बन्धी कार्यविधि, २०८१ को दफा ५ को उपदफा (१) मा सडक र भवन पूर्वाधारतर्फका आयोजनाका हकमा रु ३० लाख र सोबाहेक अन्य आयोजनाका हकमा रु १५ लाखभन्दा कम लागत भएका आयोजना प्रदेश सरकारबाट कार्यान्वयन नगर्न र त्यस्ता आयोजनाको विवरण २०८२ साउन १५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लिखित रूपमा उपलब्ध गराउन पत्राचार गरिएको मुख्यमन्त्री कँडेलले जानकारी दिनुभयो ।

त्यस्तै, कर्णाली प्रदेश सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम मन्त्रालय र अन्तर्गतका निकायको कार्यक्षेत्रसँग नमिल्ने गरी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक बजेटमा कुनै आयोजना स्वीकृत भएको भए ती आयोजना कार्यान्वयनका लागि मिल्दो कार्यक्षेत्र भएको मन्त्रालय वा अन्तर्गतबाट कार्यान्वयन गराउने गरी व्यवस्था मिलाउन र सोको जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराउन पत्राचार गरिएको उहाँले बताउनुभयो ।

आव २०८२/८३ को स्वीकृत वार्षिक विकास कार्यक्रमअन्तर्गत प्रदेश तथा मातहतका निकायबाट कार्यान्वयन गरिने आयोजनाको नाम र विनियोजित रकमसहितको विवरण सम्बन्धित मन्त्रालयले आफ्नो मातहतको कार्यालयबाट जानकारी एवं कार्यान्वयनमा सहजीकरणका लागि सम्बन्धित स्थानीय तहलाई छुट्टाछुट्टै रूपमा २०८२ साउन १५ गतेभित्र पत्राचार गरिसक्ने निर्देशन दिइएको मुख्यमन्त्री कँडेलको भनाइ छ ।

उहाँका अनुसार समपूरक र विशेष अनुदानवाट सञ्चालित हुने आयोजनाको बोलपत्रको सूचना साउन मसान्तभित्र आह्वान गर्न, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका रु एक करोडभन्दा माथिका आयोजना र अन्य मन्त्रालयका रु ५० लाखभन्दा माथिका आयोजनाको भदौ मसान्तभित्र बोलपत्रको सूचना आह्वान गरिसक्न र चालु आवको वार्षिक बजेट कार्यान्वयन गर्दा बहुवर्षीय र स्रोत सुनिश्चितता गर्नुपर्ने आयोजना भए साउन मसान्तभित्र ती आयोजनाको विवरण कर्णाली प्रदेश योजना आयोगमा पठाउनसमेत निर्देशन दिइएको छ ।

विगतमा ठेक्का भई हाल कार्यान्वयनमा रहेका आयोजनाको कार्यारम्भ साउनबाट नै गर्नेगरी कार्यान्वयनमा लैजान, योजना छनोट तथा प्रस्तावसम्बन्धी कार्यविधि र आयोजना बैंकसम्बन्धी कार्यविधि परिस्कृत रूपमा परिमार्जनका लागि साउन मसान्तभित्र कर्णाली प्रदेश योजना आयोगले तयार गर्न, समपूरक, विशेष र सशर्त अनुदानसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा परिमार्जनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले साउन मसान्तभित्र मस्यौदा तर्जुमा गर्नसमेत निर्देशन दिइएको छ ।

त्यस्तै, स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि आवश्यक पर्ने कार्यविधि भदौ मसान्तभित्र तर्जुमा गरी कार्यान्वयन प्रक्रिया अघि बढाउन, मन्त्रालयले रकम बाँडफाँट नगरी अवण्डामा बजेट राख्न नहुने कानुनी व्यवस्था एवं नियमनकारी निकायको निर्देशनसमेतलाई ध्यानमा राखी कुनै मन्त्रालयमा अवण्डामा रकम रहेको भए भदौ मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गरी कार्यान्वयनमा लैजान पनि मुख्यमन्त्री कार्यालयले पत्राचार गरेको जनाइएको छ ।

भूकम्पको दश वर्ष : अझै पाल र टेकोको भरमा कुमारी घर

काठमाडौँ, २३ साउन : विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको जीवित देवी कुमारी घर पाल र टेकोको भरमा अड्याइएको छ ।

यस वर्षको वर्षात् सुरू हुन लागेसँगै कुमारी घरभित्र पानी छिर्न थालेपछि पुरातत्व विभागले नै पालले कुमारी घरमा ओत लगाएको हो । पानी चुहिन थालेपछि त्रिपालको ओत लगाइएको विभागका प्रवक्ता रामबहादुर कुँवरले राससलाई जानकारी दिनुभयो । गत आर्थिक वर्षमै कुमारी घरमा पानी चुहिन थाले पनि यो आर्थिक वर्षमा पनि बजेट नभएकाले अर्को वर्ष बजेट राखेर मर्मत गरिने उहाँले बताउनुभयो । इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारी र वसन्तपुर दरबार क्षेत्रका स्थानीयवासी भने एक दशकअघिको भूकम्पदेखि नै कुमारी घर टेकोका भरमा राखिए पनि सरोकार भएका निकायले ध्यान नदिएको गुनासो गर्छन् ।

कुमारी घरमा दश वर्षअघिको भूकम्पले क्षति पुर्यायो । भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गर्नुभयो । पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उहाँले कुमारी घरलाई पुनर्निर्माणको सूचीमा राख्न निर्देशन दिनुभएको अहिले पनि इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको स्मरणमा ताजै छ । देशका कार्यकारी प्रमुखले दिएको निर्देशन पनि कार्यान्यवयन नहुँदा अहिले कुमारी घर पालको ओतमा जोगाउनुपर्ने अवस्थामा पुगेको हो ।

कुमारी घरमा भूकम्पले गरेको क्षतिका बारेमा गुठी संस्थान, पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले छुट्टाछुट्टै प्राविधिक अध्ययन गरे । तीनवटै निकायले एक–एक महिना लगाएर भवनको प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ । कुनै पनि निकायले पुननिर्माणमा चासो देखाएका छैनन् ।

सनातनदेखि चलिआएको इन्द्रजात्रामा जीवित देवी कुमारीको पनि रथयात्रा गराउने चलनको सुरूआत मल्लकालमा भयो । कुमारीको रथयात्रा चलाउन कुमारी राख्ने घर जयप्रकाश मल्लका पालामा बनेको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष शाक्य बताउनुहुन्छ । त्यसपछि बेलाबेलामा भवनको मर्मतसम्भार गरिए पनि पुनर्निर्माण भएको छैन । करिब तीन दशकअघि चार इञ्चको चिल्लो इँटाको गारो बाहिरबाट थपिएकाले भवन नयाँ नै हो कि भन्ने लाग्छ । मल्लकालीन भवन भएकाले भूकम्पले भित्रभित्र जीर्ण बनेको छ । जीर्ण भवनको छानोमा पनि समस्या भएकाले पानी भित्र छिर्न थालेकाले विभागलगायत निकायलाई खबर गरेपछि पालको ओत हालिएको उहाँले सुनाउनुभयो ।

भित्री गारो जीर्ण भएकाले भवन जोखिममा परेको समितिले जनाएको छ । कुमारी घरको पश्चिमी भागमा भित्रबाट टेको लगाएर राखिएको छ । इन्द्रजात्रामा गुठी संस्थानले प्रयोग गर्ने कोठासमेत रहेको पश्चिमी भाग धेरै जीर्ण भएकाले नै तालाबन्दी गरी राखिएको छ । वसन्तपुर डबलीको भागमा भने बाहिरपट्टिबाटै टेकोका भरमा कुमारी घरलाई अड्याइएको छ ।

“भवनको भित्री भाग चर्किएको छ, दलिन कुहिएको छ, वरिपरि टेकोका भरमा भवन अडिएको छ, भित्री चोकको टेको भने तीन वर्षअघि इन्द्रजात्राका बेला निकालियो, भर्याङ जीर्ण भएर हनुमानढोका दरबार हेरचाह अड्डाले बनाइदिएको छ, मूल भवन भने अझै बनाउने अत्तोपत्तो छैन”, उहाँले भन्नुभयो ।

जीवित देवीका रूपमा पुजिने कुमारी घर बनाउन तीन वर्षअघि नै काठमाडौँ महानगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरे पनि काम भने सुरू गरेन । त्यसबेला महानगरपालिका–२३ का अध्यक्षको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर काम अघि बढाउन खोजे पनि बजेट अपुग भएर काम सुरू हुन नसकेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।

महानगरपालिकाले दुई वर्षअघि कुमारी घर पुनर्निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । पुनर्निर्माणका लागि रु तीन करोड बजेट लाग्ने अनुमानित लागत यसअघि नै तयार गरिएको भन्दै त्यसबेला पनि काम सुरू हुन सकेन । पुनर्निर्माणको लागत एकैपटक जुटाउन नसक्दा काम हुन नसकेको दरबार संरक्षण कार्यक्रमले जनाएको छ । दरबार क्षेत्रका सम्पदा हेर्न महानगर र पुरातत्व विभागले फरकफरक निकायको स्थापना गरे पनि संरक्षणमा ध्यान नदिएको स्थानीयवासी सन्तबहादुर श्रेष्ठ बताउनुहुन्छ ।

घरबाट वर्षमा १३ पटक निकालिन्छ कुमारीलाई

कुमारी घरबाट वर्षमा १३ पटक विभिन्न सांस्कृतिक गतिविधिका लागि कुमारीलाई निकाल्ने गरिन्छ । इन्द्रजात्राकै क्रममा तीनपटक कुमारीलाई घरबाट बाहिर निकालिन्छ । बडादसैँमा हनुमानढोका दरबारमा कुमारीको पूजाआजा गरिन्छ । रामनवमीका दिन कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिन्छ ।

चैते दसैँकै बेला हुने सेतो मच्छेन्द्रनाथको रथयात्राका क्रममा कुमारीलाई लगनटोल लगिन्छ । माघ महिनामा हुने सेतो मच्छेन्द्रनाथको स्नानका क्रममा पनि कुमारीलाई मच्छेन्द्रबहाल लैजाने परम्परा छ । गाईजात्राको भोलिपल्ट ठमेलस्थित भगवानबहालमा लगिन्छ । गाईजात्राको भोलिपल्ट ठमेलमा बौद्धमार्गीका बहिल देवताको प्रदर्शनी गरिएको हुन्छ ।

माघमै चाँगुनारायणलाई हनुमानढोका दरबार ल्याउने क्रममा पनि कुमारीलाई घरबाट निकालेर दर्शनका लागि लगिन्छ । गाईजात्राको चार दिनअघि पनि चाँगुनारायणलाई हनुमानढोका दरबारमा ल्याउँदासमेत कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ ।

आश्विन शुक्ल पञ्चमीमा पचलीभैरव जात्रा हनुमानढोका दरबार लैजाँदा पनि कुमारीलाई घरबाट निकालेर लैजाने गरिएको छ । यसैगरी घोडेजात्राका क्रममा कुमारीलाई नेपाल वायु सेवा निगम भवनको तेस्रो तलामा लगेर राखी जात्रा देखाउने परम्परा रहिआएको छ । विसं २०६५ मा कुमारी परम्परा सुरू भएको दुई सय ५० वर्षको विशेष कार्यक्रम गरी मनाइएको थियो ।

थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौता विस्तार गर्ने सहमति

थाइल्याण्ड र कम्बोडियाबीच गत महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको घातक युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउन बिहीबार सहमति भएको छ।

सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो।साउन १३ गते मङ्गलबार अस्थायी शान्ति सम्झौता गर्नुअघि पाँच दिनसम्म चलेको युद्धमा कम्तीमा ४३ जनाको मृत्यु भएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको एक टोलीको आग्रहपछि आसियान अध्यक्ष मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविरामको मध्यस्थता गर्नुभएको थियो।

उक्त सम्झौतामा अस्थायी युद्धविरामको लागि सहमति भएको थियो । प्रतिद्वन्द्वी क्षेत्रीय कमान्डरहरूको तीन दिनको वार्ता र छलफलपछि बैठकमा दुबै देशका रक्षा अधिकारीहरूले बिहीबार एक संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका एक विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “दुवै पक्ष सबै प्रकारका हतियारसहित युद्धविराम गर्न सहमत भएका छन्, जसमा नागरिक र गैर–सैनिक वस्तुमाथि आक्रमण नगर्ने सबै अवस्थामा र क्षेत्रमा दुवै पक्षको सैन्य उद्देश्य रहने छ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “यो सम्झौता कुनै पनि हालतमा उल्लङ्घन हुनुहुँदैन।”

थाइल्याण्ड र कम्बोडिया दुवैले युद्धविरामको पहिलो दिनमा एकअर्कालाई सम्झौता उल्लङ्घन गरेको आरोप लगाएका थिए । उनीहरूको साझा ८०० किलोमिटर (५०० माइल) सीमामा भएका झडपहरू चाँडै नै कम भएका थिए।

थाइल्याण्डका उपरक्षामन्त्री नाट्टाफोन नार्कफानित र कम्बोडियाका रक्षामन्त्री टि सेइहाद्वारा हस्ताक्षरित संयुक्त वक्तव्यमा सीमामा सैनिकको आवागमन र गस्तीमा रोक लगाउने सहमति भएको उल्लेख छ ।

“हामी रक्तपात रोक्न विस्तृत युद्धविरामको व्यवस्थाका लागि यहाँ छौँ र दुवै पक्षका सैनिक र सर्वसाधारणले भोग्नुपरेको पीडालाई रोक्न चाहन्छौँ,” पत्रकार सम्मेलनमा टि सेइहाले भन्नुभयो।

उहाँले भन्नुभयो, “यी कदमहरू जीवन रक्षाका उपायहरु हुन् जसले हाम्रा दुई देशबीच विश्वास, भरोसा र सामान्य स्थिति बहालीका लागि आधार तयार पार्ने छन्।”

वक्तव्यमा एक महिनाभित्र अर्को बैठक बस्ने र दुवै पक्ष तनाव कम गर्न गलत सूचना (फेक न्यूज) सम्प्रेषण नगर्न पनि सहमत भएको बताइएको छ ।

“आजको हाम्रो छलफलले ठोस परिणाम हासिल गर्न दुवै पक्षले सहयोग र इमान्दारिता देखाउनु आवश्यक छ,” थाई उपरक्षामन्त्री नाथाफोनले भन्नुभयो ।

– उच्च तनाव –

पर्यवेक्षकका रुपमा सहभागी हुँदै यो सम्झौता दिगो शान्तिका लागि एक कदम मात्र भएको मलेसियाका लागि अमेरिकी राजदूत एडगार्ड कागनले बिहीबारको बैठकपछि भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामी इमानदार हुनुपर्छ र भन्नुपर्छ कि त्यहाँ अझै पनि धेरै उच्च स्तरको अविश्वास र तनाव छ।

कागनले भन्नुभयो, “हामीलाई लाग्छ, दुवै पक्षले उच्च स्तरमा दृढ प्रतिबद्धता देखाउनु महत्वपूर्ण हुनेछ र सीमामा रहेका सैनिक र प्रहरीहरूलाई स्पष्ट रूपमा यो सन्देश दिइएको छ।”

सन् १९०७ मा कम्बोडियाका फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण यी मन्दिरहरूमा दुवै राष्ट्रहरूले दाबी गर्दै आएका छन्।

गत महिना भएको झडप यस क्षेत्रमा एक दशकयताकै सबैभन्दा घातक थियो र तीन लाखभन्दा बढी मानिस सीमाका दुवैतर्फका लडाकू इलाका छाड्न बाध्य भएका थिए ।

आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदै

काठमाडौँ, २३ साउन : श्रावण शुक्ल चतुर्दशीका अवसरमा आज पशुपतिनाथ मन्दिरमा पवित्रारोहण गरिँदैछ ।

आराध्यदेव भगवान् पशुपतिनाथलाई जनै (यज्ञोपवीत) फेर्ने कर्मलाई पवित्रारोहण भनिन्छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले पशुपतिनाथलाई नव यज्ञोपवीत धारण गराउने गर्छ । कोषले प्रत्येक वर्ष पशुपतिनाथलाई जनै फेराएर पवित्रारोहण पर्व मनाउने गरेको अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा सञ्चालन हुने सबै जात्रा, पर्वको सञ्चालन गर्ने काम पनि अमालकोट कचहरीले नै गर्ने गरेको छ ।

भगवान् पशुपतिनाथलाई आज नयाँ जनै फेरेपछि उहाँ गोसाइँकुण्डमा जानुहुने विश्वास पनि पशुपति क्षेत्रका ज्येष्ठ नागरिकले सुनाउने गरेका छन् । आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर रक्षाबन्धन गर्ने सनातनी परम्परा रहे पनि पशुपतिनाथलाई भने त्यसको एक दिनअघि नै नयाँ जनै फेराउने गरिएको हो ।

बेरुजु फछ्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री दाहालको निर्देशन

काठमाडौँ, २२ साउनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फछ्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ ।

सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा कार्यक्रमको आज समापनसत्रमा उहाँले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिनुभएको हो । गुणस्तरीय निर्माणलाई अघि बढाउन विभागअन्तर्गत रहेका प्रयोगशालाको क्षमता विकास गरी पूर्ण रुपमा सञ्चालनको वातावरण बनाउन उहाँले निर्देशन दिनुभएको मन्त्री दाहालको सचिवालयले जनाएको छ ।

पुल निर्माणका क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भीर रुपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पुलको निर्माण अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय महत्वका योजना, रुपान्तरणकारी कार्यक्रमजस्ता विशेष महत्वका क्षेत्रमा स्रोतसाधनको अभाव हुन नदिनेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजस्व सङ्कलनमा सहयोग पुग्ने संरचना, कृषिउपजको बजारीकरणलगायतमा सहयोग पुग्ने आयोजना, योजनामा विशेष ध्यान दिइने उहाँको भनाइ थियो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँअघि नै देशभरिका सडक खाल्डारहित बनाउने काम अघि बढाउन निर्देशन दिनुभयो । गत आर्थिक वर्षको पुँजीगत खर्चको नतिजाबाट उत्साही मात्र नभई थप नतिजा आउनेगरी काम गर्न उहाँको निर्देशन थियो ।

त्यस अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कार्यालय, कार्यालय प्रमुख तथा निर्माण व्यवसायीलाई पुरस्कृत गरिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सडक विभागअन्तर्गतका देशभरिका कार्यालय प्रमुख, दातृनिकायका प्रतिनिधि तथा सरोकार राख्ने अन्य कार्यालयका प्रतिनिधिको सहभागिता रहेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिनुभयो ।

पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्ः गृहमन्त्री लेखक

भक्तपुर, २२ साउनः गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्ने स्थितिको सुनिश्चितता गरिने बताउनुभएको छ ।

आज नगरकोटमा आयोजना गरिएको सबैका लागि पूर्वसूचना राष्ट्रिय कार्याशालामा उहाँले अबको पाँच वर्षभित्रमा नेपालको प्रत्येक नागरिकले पूर्वसूचना पाउने सुनिश्चितता गरिने बताउनुभएको हो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “जुन ठाउँमा हामीले पूर्वसूचना दिनसक्यौँ त्यस ठाउँमा भारी वर्षा भएर पनि मानवीय क्षति भएको छैन । जुन ठाउँमा पूर्वसूचना दिन सकेनाँै तुलनात्मक रुपमा कम वर्षा हुँदा पनि त्यस क्षेत्रमा मानवीय क्षति भएको छ ।”

हालै रसुवामा आएको बाढीबारे पूर्वजानकारी नहुँदा जनधनको क्षति भएको बताउँदै गृहमन्त्री लेखकले गत वर्ष कञ्चनपुरमा ७७ वर्षयताकै सबैभन्दा ठूलो वर्षा हुँदा पनि पूर्वसूचनाका कारण मानवीय क्षति नभएको उल्लेख गर्नुभयो ।

नेपालमा पनि एकतिहाइ जनसङ्ख्या प्रकृतिजन्य र जलवायुजन्य जोखिमको पूर्वसूचना बाहिर रहेको चर्चा गर्दै उहाँले पूर्वसूचना प्रणालीले मानवीय क्षति न्यूनीकरणमा सहयोग पुगेको बताउनुभयो । उहाँले विश्वमा मनसुनजन्य जोखिममा रहेका एक तिहाइ जनसङ्ख्या अझै पनि पूर्वसूचनाको पहुँचमा नरहेको तथ्याङ्क रहेको बताउँदै त्यसमा नेपाल पनि रहेको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२२ मा घोषणा गरेर २०२७ भित्र एक तिहाइ मानिसले पनि सूचना प्राप्त गर्नुपर्छ भनेको चर्चा गर्दै गृहमन्त्री लेखकले पूर्वसूचनाले सुरक्षा निकायलाई काम गर्न सहज भएको बताउनुभयोे ।

कार्यक्रममा सहभागीहरुले मनसुनजन्य विपद् रोक्न पूर्वसूचनाका साथै तीनतहका सरकारले चनाखो भएर लाग्नुपर्ने आवश्यकता औँल्याएका थिए । जोखिममा रहेका क्षेत्रको पहिचान गर्ने र सम्भावित जोखिम न्यूनीकरणका उपायलाई तीव्र बनाउनुपर्ने सहभागीहरुको भनाइ थियो ।

उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त

काठमाडौँ, २२ साउनः न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको छ ।

परिषद्को बैठकले न्याय परिषद्का सचिव यमबहादुर बुढामगरलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलास, धादिङ जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलालाई उच्च अदालत पाटन, ओलखढुङ्गाका जिल्ला न्यायाधीश गिरीराज गौतमलाई उच्च अदालत दीपायल, महेन्द्रनगर इजलासमा नियुक्त गरी पदस्थापन गरेको हो ।

गुल्मीका जिल्ला न्यायाधीश युवराज गौतमलाई उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुङ्गा, दाङका जिल्ला न्यायाधीश तेजनारायण पौडेललाई उच्च अदालत तुलसीपुरको बुटवल इजलास, पर्वतका जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानालाई उच्च अदालत पाटन, उदयपुरका जिल्ला न्यायाधीश दीपककुमार खरेललाई उच्च अदालत पाटनमा नियुक्त गरी पदस्थापना गरिएको हो ।

गोरखाका जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटलाई उच्च अदालत पाटन, काठमाडौँका जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेललाई उच्च अदालत जनकपुर, भक्तपुरका जिल्ला न्यायाधीश वासुदेव न्यौपानेलाई उच्च अदालत पाटन, पाल्पाका जिल्ला न्यायाधीश दलबहादुर केसीलाई उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास, कपिलबस्तुका जिल्ला न्यायाधीश प्रकाशचन्द्र अधिकारीलाई उच्च अदालत दीपायल, चितवनका जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीलाई उच्च अदालत पाटनमा नियुक्ति गरिएको छ

त्यस्तै, मोरङका जिल्ला न्यायाधीश उदयप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगर (धनकुटा इजलास), मकवानपुरका जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईलाई उच्च अदालत पाटन, उच्च अदालत पोखराका रजिष्ट्रार खड्गराज अधिकारीलाई उच्च अदालत दीपायल, उच्च सरकारी वकील कार्यालयका, पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीलाई उच्च अदालत जनकपुर (अस्थायी इजलास वीरगञ्ज), सर्वोच्च अदालतका रजिष्ट्रार अच्युत कुइँकेललाई उच्च अदालत पाटन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव कोमलबहादुर खत्रीलाई उच्च अदालत सुर्खेतमा नियुक्त गरिएको छ ।

न्याय परिषद्ले कानुन व्यवसायीबाट शर्मिला थापा विष्टलाई उच्च अदालत पाटन (हेटौँडा इजलास), प्रतापसिंह ठकुराठीलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास), बालकृष्ण गैरेलाई उच्च अदालत पोखरा (बाग्लुङ इजलास), निशा बानियाँलाई उच्च अदालत तुलसीपुर (बुटवल इजलास), श्यामकुमार विश्वकर्मालाई उच्च अदालत दिपायल र अरुणकुमार पंजियारलाई उच्च अदालत विराटनगर (अस्थायी इजलास ओखलढुङ्गा) मा नियुक्ति गरिएको छ ।

इन्दिरा घिमिरेलाई मिसेस ग्लोवल नेपाल-२०२५ को ताज

काठमाडौं। यो वर्षको मिसेस ग्लोवल नेपालको ताज इन्दिरा घिमिरेले पहिरिन सफल भएकी छन्। बिहीबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा घिमिरेले निर्णायकको प्रश्नको सटिक उत्तर दिँदै ताज पहिरिएकी हुन्। ताजसँगै उनले एन.एफ.इ.ए. लण्डन २०२६ मा सहभागी हुन इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन्।

कार्यक्रमकाे फर्स्ट रनर अप सन्ध्या नेपाल तथा सेकेण्ड रनर अप सृजना घिमिरे शिवाकोटी हुन सफल भएका छन्। हिमालयन मुभिजको आयोजनामा सम्पन्न कार्यक्रम मिसेस ग्लोवल श्रृंखला अन्तर्गत आठौं संस्करण हो।

करिव एक दर्जन बढी प्रतियोगीहरुले प्रस्तुती दिएको सो कार्यक्रममा सबै प्रतियोगीहरुले परिचय, वेस्ट ड्रेस, प्रश्नोत्तर, क्राउनिङ चरण पार गर्दै उपाधि नजिक पुगेका थिए। महिलाहरुको सौन्दर्य प्रतियोगीतामा अग्रणी रहेकी चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा तीन सातासम्म प्रतियोगीहरुले व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, फोटोसुट, क्याटवाक, वौद्धिकताको विकास, क्षमता अभिवृद्धि, सामाजिक प्रस्तुतिकरणलगायतका विषयमा ज्ञान हासिल गरेका थिए। आकर्षक ओपनिङ नृत्यबाट सुरु भएको कार्यक्रम ब्युटी विथ नेचर थिम रहेको वेस्ट ड्रेस, प्रश्नोत्तर, टप फाइभ हुँदै क्राउनिङ चरणमा सकिएको थियो।
कार्यक्रमको बीचमा कलाकारहरुको प्रस्तुतीले दर्शकहरु आनन्द मानिरहेका थिए भने कोरियोग्राफर सुब्बाको विशेष क्याटवाकमा हुटिङ नै चलेको थियो।

विविध सबटाइटल अवार्डसमेत बाँडिएको सो कार्यक्रममा मोस्ट एट्राक्टिभ इन्दिरा घिमिरे, मोस्ट डाइनामिक आशा घर्ती क्षेत्री, मोस्ट स्मार्ट लक्ष्मी खड्का राई, मोस्ट चार्मिङ कल्याणी देवी थापा, मोस्ट कन्फिडेन्ट सृजना घिमिरे शिवाकोटी, मोस्ट प्यासोनेट दिया बर्देबा, मोस्ट याक्टिभ रीता चौधरी, मोस्ट डिसेन्ट उमाकुमारी तामाङ, वेस्ट पर्सनालिटी मिना श्रेष्ठ, वेस्ट ट्यालेन्ट सन्ध्या नेपाल, वेस्ट फोटोजेनिक तारा तण्डुकार, मोस्ट डिलाइटफुल कविता अधिकारी, मोस्ट डिलिजेन्ट बिमला अधिकारी, मोस्ट डेडिकेटेड मञ्जु राई एवं मोस्ट पपुलर तारा तण्डुकार, पब्लिक च्वाइस भिडियो रीता चौधरी, वेस्ट मल्टिमिडिया सन्ध्या नेपाल र वेस्ट ड्रेस रीता चौधरीले जित्न सफल भएका हुन्।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता तथा इभेन्टकर्मी एसराज गराच, नायक तथा निर्देशक मनिष राउत, क्यापिटल क्विन नेपाल २०२५ एवं फेसन डिजाइनर करुणा भुजेल, मिसेस मंगोल नेपाल २०२३ सरिता गुरुङ र कस्मेटोलाेजिस्ट युनिषा शाही रहेका थिए। विवाहित महिलाहरुको प्रतिभा उजागरणका लागि सो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ।

उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता,खोजी गरिदिन परराष्ट्र मन्त्रालयसँग अनुरोध

काँक्रेविहार (सुर्खेत)-भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशीको हर्सिल क्षेत्रमा मङ्गलबार दिउँसो आएको बाढीमा परेर जाजरकोटका १३ जना बेपत्ता भएका छन् । उक्त बाढीमा परेर कुशे गाउँपालिका–२ का १३ जना बेपत्ता भएका हुन् ।

कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आज एक विज्ञप्ति जारी गर्दै भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो, “बाढीपछि बेपत्ता भएकाहरु हालसम्म सम्पर्कमा आएका छैनन्, उहाँहरुसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।”

बेपत्ताको खोजी गरिदिन गाउँपालिकाका अध्यक्ष बस्नेतले परराष्ट्र मन्त्रालयसँग अनुरोध गर्नुभयो । सोही क्षेत्रमा मजदुरी गर्दै आएका कुशे गाउँपालिकाका अन्य वडाका बासिन्दा पनि सम्पर्कमा नरहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले बाढीमा परेर स्थानीय केही व्यक्ति बेपत्ता भएको कुशे गाउँपालिकाले जानकारी दिएको बताउनुभयो ।

“जिल्लाका सबै स्थानीय तह र त्यहाँ रहेका प्रहरी चौकीलाई पत्राचार गरेर हर्सिल क्षेत्रमा काम गर्न गएका जाजरकोटबासीको नाम सङ्कलन गर्न निर्देशन दिएको छु । गृहमन्त्रालयमा समेत सोही अनुसारको जानकारी गराएको छु”, उहाँले भन्नुभयो ।

दूधकोशी जलविद्युत् आयोजनाको मुआब्जा वितरण थाल्न मन्त्री खड्काको आग्रह

काठमाडौँ, २२ साउनः दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावितलाई मुआब्जा वितरण चाँडो थाल्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आग्रह गरिएको छ ।

उक्त आयोजनाबाट प्रभावित खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बूका जनप्रतिनिधिले आज मन्त्री खड्कालाई भेटेर प्रभावित क्षेत्रका नागरिकले पाउने मुआब्जा वितरण गरी आयोजनाको कामलाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।

रक्षामन्त्री मानवीर राई, नेपाली कांग्रेसका नेता सरस्वती बजिमय, एमाले नेता विशाल भट्टराई, जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख टेकराज भट्टराईलगायतको टोलीले मुआब्जा वितरणलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको ध्यानाकर्षण गराउनुभएको हो ।

कूल ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त आयोजना निर्माण गर्दा ६० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । जसमा ३० हजार रोपनी सरकारी र बाँकी ३० हजार रोपनी व्यक्तिको पर्ने आयोजनाका लेखा प्रमुख हरिओम अर्यालले जानकारी दिनुभयो । तीस हजार रोपनीमध्ये खोटाङमा २१ हजार, ओखलढुङ्गामा सात हजार र सोलुखुम्बूमा आठ सय मेगावाट विद्युत् अधिग्रहण गरिनेछ । उक्त जग्गामध्ये सोलुखुम्बूको आठ सय रोपनीबाहेक मुआब्जा दिनुपर्ने सबै जमिन रोक्का गरिसकिएको छ ।

भेटमा उर्जामन्त्री खड्काले सरकारले उक्त आयोजनालाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले लामो समयदेखि समस्याको रूपमा रहेको वनसँग सम्बन्धीत वातावरणीय अध्ययनको समस्या समाधानको क्रममा रहेको बताउनुभएको थियो ।