`

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

Nepal One HD १४ असार २०८३ १९:१७
समाचार

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरेर सञ्चालन गरिएका ५७ वटा सवारीसाधनमाथि कारबाहीसहित जरिबाना गरेको छ । आइतबार उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष ट्राफिक जाँचका क्रममा कालोसिसा प्रयोग गरेका ती सवारीसाधन चालकलाई जरिबानासहित कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

कार्यालयका प्रमुख काफ्लेका अनुसार कानुनविपरीत सवारीसाधनमा कालोसिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेकाले नियम उल्लङ्घन गर्ने सवारीमाथि निगरानी बढाइएको हो । “कानुनविपरीत गाडीमा कालोसिसा प्रयोग गर्न पाइँदैन । आज मात्र ५७ वटा सवारीसाधनलाई कारबाहीसहित जरिबाना गरेका छौँ”, एसएसपी काफ्लेले भ ।पछिल्लो समय निजी तथा सार्वजनिक सवारीसाधन, विशेषगरी माइक्रोबस र ट्याक्सीमा कालोसिसाको प्रयोग बढ्दै गएपछि ट्राफिक प्रहरीले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गरेको जनाएको छ ।

प्रहरीका अनुसार कालोसिसाको प्रयोगले सवारीभित्र हुने गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले साना हतियार, लागुऔषध, सुन तथा अवैध मुद्राको ओसारपसार, फरार अपराधीको आवतजावत तथा विभिन्न आपराधिक गतिविधि लुकाउन सहज हुने गरेको पाइएको छ ।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार सम्बन्धित निकायको स्वीकृतिबिना सवारीसाधनको रङ, सिट सङ्ख्या, स्वरूप, इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी कुनै पनि प्रकारको हेरफेर गर्न नपाइने व्यवस्था रहेको जनाएको छ । ट्राफिक प्रहरीले कानुनविपरीत कालोसिसा प्रयोग गर्ने सवारीसाधनमाथि आगामी दिनमा पनि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *