`

एक सातापछि बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने

चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौँ–भरतपुर उडान गर्ने भएको छ । धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो ।


बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । गत साता श्री एयरले काठमाण्डौँ–भरतपुर ८० सिटे जहाजको  परीक्षण उडान गरिसकेको छ । बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ ।


धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए । बस्नेतका अनुसार जहाजले काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ ।


अहिले बुद्धको एटिआर–४२ जहाज काठमाडौँ र पोखरा सञ्चालन हुँदै आएका छन् । काठमाडौँ–भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ । यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।


अब सञ्चालन गर्न लागिएको जहाज एटिआर–७२ हो । बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ । अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ ।


साना जहाज उडान हुँदा एकतर्फी भाडा  चार हजार सात सय भन्दा बढी छ । ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ ।

खानेपानी सुविधाले ल्याएको खुसी

फिक्कल (इलाम)  । इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपथ्र्यो । उनले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा माङसेबुङ बृहत् खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राईले बताए ।

फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका सुमन दियाली वर्षायाममा बाढी आउँदा धमिलो पानी पिउन बाध्य हुनुपरेको तीतो विगत सम्झन चाहनुहुन्न । अहिले घरघरमा स्वच्छ खानेपानीको पहुँच पुर्याइदिएको प्रदेश सरकारप्रति उनी आभारी छन् । खानेपानी आयोजनाले स्थानीयको दैनिकीमा नै सहज बनाइदिएको छ । “खानेपानी आयोजना सञ्चालन भएपछि सबैभन्दा बढी गृहिणी महिलालाई राहत मिलेको छ,” उनले सुनाए ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा इलाममा मात्र खानेपानीमा रु ११ करोड ८० लाख ४० हजार लगानी गरेको छ । प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापामार्फत इलाममा एक सय ३० वटा सानाठूला खानेपानी आयोजना सञ्चालन भइरहेको डिभिजन प्रमुख विकास काफ्लेले जानकारी दिए ।

कार्यालयका अनुसार ५७ वटा नयाँ योजना सुरु भएका छन्भने ७५ वटा पुराना योजनालाई मर्मतसम्भार तथा पुनःनिर्माण गरिएका छन् । यस वर्ष प्रदेश सरकारले रु चार करोड ७० लाखको लागतमा ५७ वटा नयाँ योजना अघि बढाएको छभने रु सात करोड १० लाख ४० हजारको लागतमा ७५ वटा पुराना योजना मर्मतसम्भार तथा पुनःनिर्माण गरिरहेको छ ।

डिभिजन प्रमुख काफ्लेका अनुसार प्रदेश सरकारको लगानीमा चालु रहेका आयोजना सम्पन्न भएपछि इलामको २१ हजार एक सय ७५ परिवारका एक लाख पाँच हजार आठ सय ५५ जना जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्नेछ ।

यसमध्ये नयाँ योजनाबाट छ हजार २८ घरधुरीका ३० हजार एक सय ४० जना र पुराना योजनाबाट १५ हजार एक सय ४७ घरधुरीका ७५ हजार सात सय १५ जना इलामवासी जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्ने डिभिजन कार्यालयले जनाएको छ । जिल्लाका शत्प्रतिशत जनतामा खानेपानी पुर्याउने गरी काम भइरहेको बताइएको छ ।

प्रदेश सरकारले एकै वर्षमा खानेपानी आयोजनामा करोडौँको लगानी गरेपछि इलामवासी हर्षित भएका छन् । प्रदेश सरकारले खानेपानी आयोजनाको क्षेत्रमा गरेको लगानीले वास्तविक सङ्घीयताको आभास दिलाएको माङसेबुङ गाउँपालिका–२ इभाङका सामाजिक अभियन्ता डम्बर लोरिन्देनको बुझाइ छ । “खानेपानी क्षेत्रमा प्रदेश सरकारको लगानी हेर्दा विगतमा बिसौँ वर्षसम्म खानेपानी नपाएका क्षेत्रका नागरिकसम्म प्रदेश सरकार पुग्न सफल भएको देखिन्छ”, लोरिन्देनले भने ।

माङसेबुङ गाउँपालिका–२ इभाङका सुमन खनाल प्रदेश सरकारले पछिल्लो समयमा खानेपानीको क्षेत्रमा गरेको लगानीले जिल्लावासी नागरिकलाई आशावादी बनाएको बताउँछन् । “पछिल्लो समय प्रादेशिक संरचनामाथि नै केहिले प्रश्न उठाउन थालेको समयमा प्रदेश सरकारको यो लगानी विश्लेषण गर्दा प्रंसशनीय छ,” खनालले भने ।

प्रदेश सरकारले पाँच लाखदेखि रु ३३ लाख ८० हजारसम्मका खानेपानी योजना सञ्चालन गरेको छ । तीमध्ये ६४ वटा योजना पाँच लाखका र ६६ वटा योजना पाँच लाखदेखि ३३ लाख ८० हजारसम्मको लगानीका छन् ।

प्रदेश सरकारले रोङ गाउँपालिका–२ बदामटारस्थित बदमटार खानेपानी योजनाबाट (सलकपुर खानेपानी योजना) दुई सय घरका एक हजारजना प्रत्यक्ष लाभान्वित हुँदैछन् । चुलाचुली गाउँपालिकास्थित शिखरकटेरी खानेपानी योजना, माई नगरपालिका–५ स्थित बगैँचे डङडङे खानेपानी योजना र इलाम नगरपालिकास्थित माईखोला खानेपानी तथा सरसफाइ योजनालाई पनि अगाडि बढाएको छ ।

प्रदेश सरकारले इलाममा २० लाखका नौ योजना सञ्चालन गरेको छ । जिल्लाको सन्दकपुर गाउँपालिकास्थित माईपोखरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित फिक्कल कन्याम खानेपानी आयोजना र खानीखोला सिम्ले सहकाले टोल खानेपानी आयोजना, माङसेबुङ गाउँपालिकास्थित खलङ्गे खानेपानी निर्माण उत्तरे माल्टेनी मुहान र भुतेखोला खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित अम्बके बहुवन खानेपानी आयोजना, इलाम नगरपालिकास्थित अँधेरी नारायणचोक छौडे सतुवाबेँसी खानेपानी योजना, माई नगरपालिकास्थित पाल्टार खानेपानी (भूमिगत) आयोजना र राँगापानी खानेपानी आयोजनालाई २०÷२० लाख लगानी गरेको छ ।

त्यसैगरी माङसेबङ गाउँपालिकास्थित चित्रेखोला लिफ्टिङ खानेपानी निर्माणमा १७ लाख ५० हजार र रोङ गाउँपालिकास्थित सिद्धि सलकपुर खानेपानी आयोजनामा १७ लाख विनियोजन भई काम भइरहरेका छन् । माईजोगमाई गाउँपालिकास्थित नयाँबजार बृहत् खानेपानी आयोजना, रातेखोला खानेपानी आयोजना र गङ्गडाँडा खानेपानी आयोजना, माई नगरपालिकास्थित रातमाटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित राई टोल र सिरानतला दुईवटा क्षेत्रमा खानेपानी आयोजना, माई नगरपालिकास्थित आरुपानी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित टुनीगौरी डाँडागाउँ खानेपानी आयोजना र सन्दकपुर गाउँपालिकास्थित भैरमबारी खानेपानी आयोजनाको पनि काम भइरहेको छ ।

त्यस्तै, रोङ गाउँपालिकास्थित टिमाई खोला छावा खोल्सी खानेपानी आयोजना, इलाम नगरपालिकास्थित माईखोला खानेपानी आयोजना, बरबोटे खानेपानी आयोजना र चुलाचुली गाउँपालिकास्थित सार्कीटार सुपारीबोटे र सिम्बले तीनवटै क्षेत्रमा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

भुतेखोला खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित कमेरे जरिङ्गे खाम्बाङ तल्लोबोहोरे गाउँ खानेपानी आयोजना, बुलुङखोला धावा खानेपानी आयोजना र चुलाचुली गाउँपालिकास्थित खावान खोला बृहत् खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित सिद्धिगाउँ तथा श्रीअन्तु खानेपानी आयोजना र जोगीधारा खानेपानी आयोजना, माई नगरपालिकास्थित आङबु बर्दुवा खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित सुलसुले खानेपानी आयोजनाको लागि पनि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, इलाम नगरपालिकास्थित सुन्दरबेँसी र लेबक खानेपानी आयोजना र खर्बन खानेपानी आयोजना निर्माण भइरहेको छ । नगरपालिकास्थित बरबोटे खानेपानी योजना, देवीथान मुहान भञ्ज्याङ न्युरेनी खानेपानी आयोजना, सुम्बेक चोक खानेपानी आयोजना, मलातेनी (सुलुबुङ सन्दकपुर) खानेपानी आयोजना र माईखोला नर्कटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित तोरीबारी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित भित्री लिफ्टिङ खानेपानी आयोजना र छिपछिपे खानेपानी आयोजना, फाकफोकथुम गाउँपालिकास्थित खत्रीगाउँ खानेपानी आयोजना, माईजोगमाई गाउँपालिकास्थित पधेँरी खानेपानी आयोजना र माई नगरपालिकास्थित कालीखोला खानेपानी आयोजना अघि बढाइएको छ ।

इलाम नगरपालिकास्थित तल्लो गोदक खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित पशुपतिनगर खानेपानी आयोजना र देउमाई नगरपालिकास्थित मगरगाउँ खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित साकफारा खानेपानी आयोजना, माईजोगमाई गाउँपालिकास्थित तुम्लिङ गुराँसे खानापानी आयोजना एवं माङसेबुङ गाउँपालिकास्थित माङसेबुङ खानेपानी आयोजना, सङलुमङ्गलु साँगुरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित तारगाउँ बोरिङ खानेपानी आयोजना, देउमाई नगरपालिकास्थित माथिल्लो डाँडा चाँपगैरी अजम्बरे चुली सिद्धिथुम्का खानेपानी आयोजना र रोङ गाउँपालिकास्थित गोरेनी खोल्सा खानेपानी आयोजना मर्मतसम्भार तथा पुनःनिर्माणको पनि काम भइरहेको छ ।

त्यसैगरी, सूर्योदय नगरपालिकास्थित पशुपतिनगर बजार रुङसुङ्ग बृहत् खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित सिस्ने बाघखोर कोल्बुङ खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा खानेपानी आयोजनामा रु सात÷सात लाख, सूर्योदय नगरपालिकास्थित पाख्रिनगाउँ खानेपानी आयोजना, धर्जे मकरजुङ खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित गोयाङखोला–भुत्तेखोला–एकराते खानेपानी आयोजना र माईजोगमाई गाउँपालिकास्थित प्रेमेजोङ बृहत् खानेपानी आयोजनाको मर्मतसम्भार भइरहेको छ ।

प्रदेश सरकारले इलामका विभिन्न पालिकामा ६४ वटा खानेपानी आयोजनामा पाँच लाखका दरले रकम विनियोजन गरी नयाँ निर्माण तथा मर्मतसम्भारको काम तीव्र बनाएको डिभिजन कार्यालयले जनाएको छ । तीमध्ये ३७ वटा खानेपानी आयोजनाहरु नयाँ निर्माण र २७ वटा पुराना खानेपानी आयोजनाको मर्मतसम्भार भएको डिभिजन कार्यालयले जनाएको छ । तीमध्ये कतिपयको सम्पन्न भइसकेका छन्भने कतिपय अन्तिम चरणमा पुगेको डिभिजन कार्यालय प्रमुख काफ्लेले बताए । 

आन्दोलनरत चुरेवासीको माग सम्बोधन गर्न सांसद पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणको माग राख्दै लामो समयदेखि आन्दोलनमा रहेका नागरिकको माग पूरा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद पौडेलले चुरे संरक्षण गर्न देशभर वृक्षारोपण अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले दिवसका अवसरमा गमलामा बिरुवा रोपेर चुरेको संरक्षण नहुने भन्दै सरकारले बृहत्त वृक्षारोपणको अभियान नै सञ्चालन गर्नेुपर्ने सुझाव दिए ।

उनले भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले रोष्ट्रममा आएर भन्नुभयो, ‘मेरो भारत भ्रमणका बारेमा जानकारी गराउन ढिलो भयो । किन कि म दशौं चुरे संरक्षण दिवसका अवसरमा सिराह गएको थिएँ। त्यो कार्यक्रम महत्वपूर्ण भएकाले म सदनमा आउन सकिन । म प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु। गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन । इलामदेखि कञ्चनपुरसम्म करोडौं बिरुवा रोप्न सक्यौं भने मात्रै चुरेको संरक्षण हुनसक्छ।’

पौडेले सरकारले चुरे संरक्षणको विषयलाई गम्भीररुपले लिनुपर्ने बताए।

तितुङ हत्याको निष्पक्ष छानबिन गर्न बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षणको मध्यवर्ती क्षेत्रमा यही असार ७ गते बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सो घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका हुन् ।

आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार विशेष चनाखो हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको सुझाव थियो । मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम हुन नसकेको, वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गरे ।

भनेको नटेर्ने मन्त्री फेर्न नसके डेरा सर्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूले भनेको मन्त्रीहरुले नेटेरे कि मन्त्री फेर्न सुझाव दिएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले आफूले भनेको नटेर्ने मन्त्री फेर्न नसके आफैं पद छाड्न सुझाव दिएका हुन् ।

उनले भने, ‘स्थानीय सरकारका प्रमुखहरुले समानीकरण अनुदान कटौतीको विषयमा प्रधानमन्त्रीसँग भेट्नुभएछ । त्यसक्रममा प्रधानमन्त्रीले भन्नुभएछ– मेरो त मन छ तर मन्त्रीले मानेनन् । यो संसदीय व्यवस्था हो । नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने ।’

उनले समानीकरण अनुदान स्थानीय सरकारको अधिकार र संघीय सरकारको दायित्व भएको भन्दै संघ सरकार स्रोत छैन भनेर पन्छिन खोजेको बताए ।

उनले भने, ‘वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर कटौती गर्ने ?’

इजरायलमा नयाँ चुनाव र बन्धकलाई फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन

इजरायलमा नयाँ चुनाव र गाजाका बन्धकलाई फिर्ता गर्न आह्वान गर्दै शनिबार राति हजारौं आन्दोलनकारीले इजरायलका विभिन्न भागमा सरकार विरोधी प्रदर्शन गरेको ’द टाइम्स अफ इजरायल’ ले जनाएको छ ।

सत्तारूढ लिकुड पार्टीको मुख्यालय रहेको बेइट जबोटिन्स्की बाहिर किङ जर्ज स्ट्रिटमा इजरायली नागरिकले विरोध प्रदर्शन गरेका हुन् । केही प्रदर्शनकारीले जतिसक्दो छिट्टै निर्बाचन गर्नुपर्ने र गाजामा लडाइँ अन्त्य गर्न आह्वान गर्दै प्रदर्शनमा भाग लिएका थिए ।

मुख्य र्याली समाप्त भएपछि प्रदर्शनकारीले टायर जलाएर सडक अवरुद्ध गरेका थिए । द टाइम्स अफ इजरायलले रिपोर्ट गरेअनुसार भीडलाई नियन्त्रण र सडक खाली गर्ने क्रममा तैनाथ प्रहरीले तीन जना प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।

यसैबीच, हजारौं व्यक्तिले आजजा स्ट्रिटमा रहेको इजरायली प्रधानमन्त्री नेतान्याहुको निवास बाहिर पनि विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले हमासद्वारा बन्धक बनाइएका परिवारका सदस्यको नेतृत्वमा तत्काल सम्झौता र चाँडै चुनावको माग गर्दै किङ जर्ज स्ट्रिटमा पदयात्रा गरे ।

प्रदर्शनकारीले नेतान्याहुको सरकारले हेजबुल्लाह गोलीकाण्डका कारण आठ महिनाभन्दा बढी समयदेखि विस्थापित भएका इजरायलको सङ्कटग्रस्त उत्तरी समुदायका करिब ६० हजार बासिन्दालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

‘होस्टेज एन्ड मिसिङ फेमिलीज फोरम’ले देशभरि र्याली आयोजना गरेको छ । उनीहरूले नोभेम्बरमा हमासले कैदबाट रिहा गरेका बन्धकहरूको सम्बोधन गर्न पनि आग्रह गरिएको छ ।

अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका ११६ जना गाजामा रहेका छन्, तिनीहरू सबै जीवित छैनन् भन्ने विश्वास गरिन्छ ।

युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने ढाँचाभित्र मात्र बन्धकहरूलाई रिहा गर्ने हमासको मागलाई इजरायलले अस्वीकार गर्दै आइरहेको छ ।

यसैबीच, बन्धक नामा लेवीको २० औँ जन्मदिन मनाउन तेल अबिबमा हजारौँ मानिसहरूले र्याली निकालेका छन् । नामा लेवीका बुबा, योनी लेवीले भने, “उनी यहाँ आफ्नो परिवारसँग, आफ्ना साथीहरूसँग हुनु आवश्यक छ ।”

नाहल ओज सैन्य आधारबाट नामालाई अपहरण गरेपछि उहाँ हमासको एउटा भिडियो टेलिग्राममा देखापरेका थिए ।
भिडियोमा उनको हात बाँधिएको र प्यान्ट रगत र मैलोले ढाकिएको थियो ।

हमास लडाकूले दक्षिणी इजरायलमा आक्रमण गरी करिब एक हजार २०० जनाको हत्या गरी २५१ जना बन्धक बनाएपछि अक्टोबर ७ मा सुरु भएको युद्धलाई सरकारले नियन्त्रण गरेको भन्दै विरोधमा प्रदर्शनकारीहरूले हरेक शनिबार राति महिनौँदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

अफगानस्तानमा शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्न भारत प्रतिबद्ध

भारतको उद्देश्य अफगानस्तानका जनताका लागि दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्नु रहेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का उपस्थायी प्रतिनिधि राजदूत आर रवीन्द्रले बताएका छन् ।

परिषद्को बैठकमा राजदूत आर रवीन्द्रले भने, “विशेष गरी हालैका घटनाक्रमका बारेमा एसआरएसजी मुथुन बायवाले अफगानिस्तानको अवस्थाबारे दिनुभएको जानकारीको हामी कदर गर्दछौँ । अफगानी मानव अधिकार सङ्गठन (होचा) र नागरिक समाजका प्रतिनिधिद्वारा प्रदान गरिएको अन्तर्दृष्टि पनि धेरै उपयोगी थियो । भारत अफगानिस्तानको नजिकको छिमेकी हो । अफगानिस्तानका जनतासँग भारतको ऐतिहासिक र सभ्यताको सम्बन्ध छ ।”

“हाम्रो उद्देश्य अफगानिस्तानको दीर्घकालीन शान्ति, सुरक्षा र स्थिरता स्थापना गर्नु हो,” उनले भने ।

यसबाहेक, राजदूत आर रवीन्द्रले अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानलाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । “अफगानिस्तानप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोणलाई मार्गनिर्देशन जारी राख्नुपर्छ । हाम्रो साझा प्राथमिकतामा आतङ्कवादको प्रतिरोध गर्ने, समावेशी शासन ल्याउने, महिला, बालबालिका र अल्पसङ्ख्यकको अधिकार र हितको रक्षा गर्ने, लागुऔषधको प्रतिरोध गर्ने र देशका जनताको हितका लागि मानवीय सहयोगलाई प्राथमिकता दिने समावेश छ,” ’राजदूत आर रवीन्द्रले भने ।

“विकास र मानवीय सहायतामा भारत धेरै वर्षदेखि अफगानिस्तानको भरपर्दो साझेदार रहिआएको छ,” उनले भने ।

अफगान जनताका लागि भारतको प्रयासलाई प्रकाश पार्दै आर रवीन्द्रले भने, “भारतले अफगानिस्तानमा ५० हजार मेट्रिक टन गहुँ, २५० टन चिकित्सा सहायता र २२५ टन भूकम्प राहत सहायता सहितको मानवीय सहायता प्रदान गरेको छ । साथै ६०० अफगान बालिकासहित चार हजारभन्दा बढी विद्यार्थीका लागि शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ ।”

राजदूत आर रवीन्द्रले ऊर्जा, पानी आपूर्ति, सडक सम्पर्क, स्वास्थ्य सेवा, शिक्षा, कृषि र क्षमता निर्माणमा केन्द्रित सबै ३४ प्रान्तमा ५०० भन्दा बढी विकास परियोजनालाई भारतले सहयोग गरेको बताए ।

राजदूत आर रवीन्द्रले इरानको चाबहार बन्दरगाहमार्फत भारत र अफगानिस्तानले आफ्नो व्यापार जारी राखेको उल्लेख गर्दै यो बन्दरगाह विकास गर्ने हालैको सम्झौताले अफगानिस्तानका लागि कनेक्टिभिटी हब बनाउने भारतको प्रतिबद्धतालाई देखाउँछ ।

दक्षिणी मेक्सिकोमा एक हप्ताभित्र दुई नगर प्रमुखको हत्या

दक्षिणी मेक्सिकोका एक नगरप्रमुखको हत्या भएको एक हप्ताभन्दा कम समयमा अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले बताएका छन् ।

गत जुन २ मा गुएरेरो राज्यका अर्का मेयर साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो ।

मालिनाल्टेपेकमा एक भ्यानको पछाडि टाउकोको पछाडिको भागमा गोली लागेको अवस्थामा फ्लोरेसको शव फेला परेको एक मानवअधिकार अभियानकर्मीले बताए ।

आदिवासी समुदायमा गएका समय बिहीबार पक्राउ परेपछि अधिकारकर्मी ती नेतालाई रिहा गर्न वार्तामा जुटेका थिए ।

गुरेरोका सरकारी अभियोजकले हत्याको अनुसन्धान सुरु गरिएको र सम्भावित जग्गाको स्वामित्व विवादलाई पनि अनुसन्धानको हिस्सा बनाइएको बताएका छन् ।

गत सेप्टेम्बरमा मेक्सिकोको चुनावी अभियान सुरु भएयता करिब ३० जना राजनीतिक उम्मेदवारको हत्या भइसकेको गैरसरकारी संस्था डाटा सिभिकाले जनाएको छ ।

मेक्सिकोको प्रशान्त महासागरीय तटमा रहेको लागुऔषध ओसारपसार र हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यमध्ये एक गुरेरोमा सन् २०२३ मा एक हजार ८९० जनाको हत्या भएको थियो ।

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन सुरु

मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आइतबारदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो ।

उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन गर्न नसकिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको उनको भनाइ छ ।

उद्योगमा अहिले पटकपटक गरी करिब चार हजार पाँच सय मेट्रिकटन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूूर्ति गरिरहेकाले अब नियमित उत्पादन भइरहने सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले जानकारी दिए ।

उनका अनुसार केही महिनाअघि आर्थिक सङ्कटले कोइला खरिद गर्न कठिनाइ हुँदा पटकपटक उत्पादनमा रोक लगाउनुपरेको थियो ।

स्थापनाकालदेखि केही वर्षअघिसम्म उक्त उद्योगमा कार्यरत विभिन्न तहका २९ जना कर्मचारीले अवकाश पाएपछि उनीहरुले नियमअनुसार पाउनुपर्ने उपदान, औषधि उपचार खर्चसमेत गरी करिब १७ करोड पाँच लाख रकम दिनुपर्नेमा आर्थिक सङ्कटले भुक्तानी दिनुपर्ने रकम नभएकाले समस्या आएको उद्योगका लेखा प्रमुख हरेराम कोइरालाले बताए ।

उद्योगका महाप्रबन्धक पाण्डेले उद्योगलाई अब नयाँ प्रक्रियाबाट सञ्चालनमा ल्याई सिमेन्ट उत्पादन नियमित गर्ने योजना बनाइएको बताए ।

“अवकाश लिएका कर्मचारीलाई दिनुपर्ने रकम हाल उद्योगमा मौज्दात नरहेकाले नवनियुक्त अध्यक्षलगायत पदाधिकार र प्रतिनिधिसभाका सदस्यद्वय दिपकबहादुर सिंह र महेशकुमार बर्तौलासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री, अर्थमन्त्री र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई भेटी उद्योगमा आइपरेको आर्थिक सङ्कटबारे जानकारी गराएका छौँ”, उनले भने, “सरोकार भएका निकायको पहलमा समस्या समाधान गर्नेछौँ ।”

उद्योग मन्त्रालयले सरकारकोतर्फबाट  सिमेन्ट उद्योगलाई उपलब्ध गराइदिने रकमका लागि आवश्यकीय कागजपत्र अर्थमन्त्रालयमा पठाइसकेको जनाउँदै महाप्रबन्धक पाण्डेले केही हप्ताभित्रै अनुदान रकम प्राप्त हुने भएकाले अवकाश प्राप्त कर्मचारीलाई दिइने बताए ।

तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडाको लामसुरेमा हेटौंडा  सिमेन्ट उद्योगको स्थापना गरेको थियो । तत्कालीन समयमा उद्योग निर्माणका लागि एक अर्ब ५० करोड रकम सरकारले उपलब्ध गराएको थियो ।

विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा आपूर्ति गर्दै आएको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगको साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा भए पनि अहिले १० हजार बोरा मात्र उत्पादन भइरहेको छ । उद्योगमा अहिले प्रशासन, लेखा, प्रविधिक, चुनढुङ्गाखानी एवं कामदार मजदुर गरी करिब दुई सयले प्रत्यक्ष रोजगार पाइरहेका छन् ।

उद्योगमा अहिले पटकपटक गरी एक लाख ५० हजार बोरा सिमेन्ट मौज्दात रहेको उद्योगको व्यवस्थापनले जनाएको छ ।

गृहमन्त्रीले जीबी राईलाई पक्राउ गर्नुको साटो स्टन्टबाजी मात्र गर्नुभयोः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्नुको साटो गृहमन्त्री रवि लामिछानेले भगाउन खोजेको आशंका गरेको छ ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जीबी राईको लोकेशन कन्फर्म भयो भनेर भन्ने तर उनलाई पक्राउ नगर्नुले गृहमन्त्रीको नियतमाथि शंका उत्पन्न भएको बताएका हुन् । अनुसन्धानको विषय बाहिर कसैले नखोल्ने भन्दै उनले गृहमन्त्रीले स्टन्वाजी गर्न यस्तो अभिव्यक्ति दिएको बताए ।

उनले भने, ‘एउटा देशको फरार अभियुक्त कहाँ छन् भनेर खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भन्छ । सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन् । तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गरिनुबाहेक मिडियामा बिस्कुन सुकाउनुहुन्छ ।’

महामन्त्री शर्माले नेपाललाई लोकेसन नभई जीबी राई चाहिएको बताए । उनले भने, ‘सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरा रहेका गृहमन्त्रीले गिरफ्तार गर्न सक्नु हुन्न । जीबी राई मलेसियामा रहेको लोकेसन पत्ता लागिसकेको बताउनु भएको छ। त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर अभियुक्त भगाउने नियत हो या पक्राउ गर्ने कि स्टन्टबाजी हो ?.

उनले गृहमन्त्रीले लोकेशन पत्ता लगाइसक्दा पनि चार दिनसम्म पक्राउ किन नगरेको भन्दै प्रश्न गरेका छन् । मलेसियासँग सुपुर्दगी सन्धि नभएकाले जीबी राईलाई पक्राउ गरेर ल्याउन नसकिएको भनेर गृहमन्त्री लामिछानेले दिएको अभिव्यक्तिको उनले खण्डन गरे ।

उनले मलेसियाबाट कुनै पनि अभियुक्त पक्रेर ल्याउन सुपुर्दगी सन्धि आवश्यक नहुने बताए । उनले मलेसियासँग सुपर्दगी सन्धि नहुँदा पनि यसअघि मलेसियाबाट अभियुक्तहरू नेपाल ल्याउने गरिएको बताए ।

तयार भयो बाह्रबिसे सबस्टेसन, मध्यभोटेकोशीको १०२ मेगावाट विद्युत जोडिने

काठमाडौँ । सिन्धुपाल्चोक र आसपासका जिल्लाको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्नका लागि महत्वपूर्ण मानिएको बाह्रबिसे सबस्टेशन निर्माण सम्पन्न भएको छ । कूल २२०/१३२ केभी क्षमताको सबस्टेसनमा एक सय ६० एमभिए, एक सय ३२÷११ केभी र पाँच एमभिएका पावर ट्रान्सफर्मर रहेका छन् । 

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणको परीक्षण सम्पन्न भइसकेको छ । बाह्रबिसेमा चार सय केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन अवस्थामा छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माण गरिएको एक सय दुई मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडिनेछ । मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी बाह्रबिसे सबस्टेसनलाई चार्ज गरिने विद्युत् प्राधिकरणले जनाएको छ ।

निर्माण सम्पन्न भएको मध्यभोटेकोसीबाट विद्युत् उत्पादन सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षण गर्ने क्रममा सुरुङबाट पानी चुहिएपछि हाल सुरुङको मर्मत भइरहेको छ । सुरुङ मर्मत आगामी भदौ दोस्रो साताभित्र (अगस्ट) सक्ने लक्ष्य राखी काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

घिसिङसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार सबस्टेसन, प्रसारण लाइन र मध्यभोटेकोसीको सुरुङ मर्मत कार्यको अनुगमन गरी तोकिएको समयभन्दा अघि सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेकाले मध्यकोटेकोसीबाट उत्पादित विद्युत् प्रवाहका लागि समस्या नरहेको उल्लेख गरे ।

“सबस्टेसन तयार गर्न नसक्दा मध्यभोटेकोसीको विद्युत् जोड्न नसकिने हो कि भन्ने अवस्था थियो, अब २२० केभीे सबस्टेसन निर्माण सम्पन्न भइसकेपछि आयोजनाको विद्युत् जोड्न विभिन्न विकल्प तयार भएका छन्, चुहिएको सुरुङ मर्मतका लागि पनि केही समय लाग्ने देखिएको छ, त्यसैले अब प्रसारण लाइन तथा सबस्टेसन अभावमा आयोजनाको विद्युत् खेरजाने अवस्था छैन”, उनले भने ।

मध्यभोटेकोसीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत्गृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावर निर्माण गरिसकेको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्रसारण लाइनको करिब दुई किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीयको अवरोधका कारण आयोजनाले दुई किलोमिटर तार तान्न नसकेको उनको भनाइ छ ।

मध्यभोटेसीको विद्युत् प्रवाहका लागि अस्थायीरूपमा वैकल्पिक व्यवस्था गरिएको छ । कूल दुई सय २० केभी क्षमताको प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्लाई सोही सबस्टेसनमार्फत एक सय ३२ केभीमा झारेर प्रवाह गरिने प्राधिकरणले जनाएको छ ।

यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाएर बाह्रबिसे सबस्टेसनमा लगिनेछ । 

सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । अस्थायी वैकल्पिक व्यवस्था खिम्ती–बाह्रबिसे वा बाह्रबिसे–काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ । उहाँका अनुसार उक्त लाइन सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुनेछ । 

तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने एक सय १८ वटा टावरमध्ये दुई वटाको मात्र निर्माण बाँकी छ । नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण एउटा टावर निर्माण हुन सकिरहेको छैन । 

सोही क्षेत्रमा प्रसारण लाइनको मार्गधिकारमा पर्ने जग्गाधनीले जग्गाको सतप्रतिशत क्षतिपूर्तिको माग गरेपछि करिब एक दशमलव तीन किलोमिटर तार तान्न समस्या भएको घिसिङको भनाइ छ । उनका अनुसार कूल ४३ किलोमिटर प्रसारण लाइनमध्ये ३४ किलोमिटर तार तानिएको छ । 

बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किमी ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । उक्त प्रसारण लाइनमा पर्ने एक सय २२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण पाँच वटा टावर निर्माण बाँकी छ ।

अहिले स्थानीयको अवरोध हटिसकेकाले टावर प्याड निर्माणका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारणको प्रक्रियामा रहेको आयोजना प्रमुख नितेश पौडेलले बताए । “उक्त प्रसारण लाइनमध्ये ४२ किमी तार तानिसकिएको छ । अवरोध भएको ठाउँको मात्र काम बाँकी छ”, उनले भने ।

तामाकोसी तथा सुनकोसी नदी र ती नदीका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण गरिएको हो । आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋण रहेको छ ।

पदयात्राका लागि प्रसिद्ध मनाङ मनसुनमा सुनसान

गण्डकी । पदयात्राका लागि प्रसिद्ध गन्तव्य मनाङ हिजोआज सुनसान छ । जेठदेखि भदौसम्म पदयात्रा पर्यटनका लागि ‘अफसिजन’ मानिन्छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मनाङमा अहिले फाट्टफुट्ट मात्र विदेशी पर्यटक भित्रने गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलले केही दिनयता मनाङ मनसुन भएको बताए ।

“वर्षातको याममा मनाङमा आन्तरिक पर्यटक कम आउँछन्”, उनले भने,“असोजदेखि मङ्सिर र फागुनदेखि वैशाख मुख्य पर्यटकीय याममा यहाँ पर्यटकको सङ्ख्या बाक्लो हुन्छ ।”

चामेका पर्यटन व्यवसायी फुर्वा लामाले मनाङवासीको मुख्य आयआर्जनको स्रोत पर्यटन व्यवसाय रहेको बताए । “अहिले ‘अफसिजन’ भएकाले पर्यटकीय गतिविधि कम छ, व्यवसायीहरू फुर्सदिला छन्”, उनले भने,“जाडो याममा व्यवसायीहरू होटल बन्द गरेर काठमाडौँ, पोखरालगायतका ठाउँमा जाने गर्छन् ।” सडक विस्तारले पदमार्ग छोटिँदा अन्नपूर्ण चक्रीय पदमार्गको साख गुम्दै गएको लामाको अनुभव छ ।

“पहिले २८ दिनको पदयात्रा अहिले एक हप्तामै छोटिएको छ, यसले गर्दा विदेशी पदयात्रीको आकर्षण घट्दै गएको छ”, उनले भने, “सडक आएपछि पदमार्गमा पर्ने होटल व्यवसायी विस्थापित भएका छन् ।”

विकट भूगोल र जोखिमपूर्ण सडकका कारण मनसुनका बेला मनाङमा पर्यटकीय चहलपहल घट्ने गरेको हो । चट्टानी पहराको खोँच र मस्र्याङ्दी नदीको किनारैकिनार मनाङ पुग्ने सडक यात्रा गर्नुपर्छ । यहाँको पदमार्ग पनि उत्तिकै जोखिमपूर्ण छ ।

‘एक्याप’ मनाङका प्रमुख भुजेलले गत वर्ष २१ हजार चार ९५ विदेशी पर्यटकले मनाङ घुमफिर गरेको जानकारी दिए । बढीजसो युरोपियन मुलुकका पर्यटकको रोजाइमा मनाङ पर्ने गरेको छ ।

हमास–इजरायल युद्धका कारण इजरायलका पर्यटक पछिल्लो समय कम आएको उनको भनाइ छ । आन्तरिक पर्यटकको तथ्याङ्क ‘एक्याप’सँग छैन । भारतीय र नेपाली पर्यटक ‘बाइक राइडिङ’ गरेर पनि मनाङ आइपुग्छन् ।

हिमालपारिको जिल्ला मनाङ हुँदै पाँच हजार चार सय मिटरको उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ निस्कने पर्यटक अधिक हुने गरेको ‘एक्याप’ मनाङका प्रमुख भुजेलले बताए । कतिपय पर्यटक लार्के भञ्ज्याङ काटेर गोरखाको मनास्लु क्षेत्र पुग्ने गरेको उनको भनाइ छ ।

आन्तरिक पर्यटक बढीजसो तिलिचो ताल घुम्न आउने गरेका छन् । ङिस्याङ गाउँपालिका–२ मा पर्ने तिलिचो ताल समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले सडकको पहुँच विस्तारसँगै पदयात्रामा आधारित मनाङको पर्यटन सङ्कटमा परिरहेको बताए । “यहाँ आउने पदयात्री पर्यटक हुन्, सडकले पदमात्र छोटिएका र भत्किएका छन्, अब वैकल्पिक पदमार्ग बनाउनुपर्छ, सङ्घ र प्रदेश सरकारले यस विषयमा सोचोस्”, उनले भने ।

टी-२० विश्वकपमा अफगानिस्तानसँग अस्ट्रेलिया २१ रनले पराजित

काठमाडौँ । आईसीसी टी २० विश्वकपको सुपर–८ मा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ ।
आइतबार बिहान अफगानिस्तानले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया १९.२ ओभरमा १२७ रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रनको योगदान दिए। उनले ४१ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। यस्तै, कप्तान मिचेल मार्सले १२ र मार्कस इस्टोइनिसले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अफगानिस्तानका गुलबदिन नाइबले ४ तथा नवीन उल हकले ३ विकेट लिए। मोहम्मद नाबी, कप्तान राशिद खान र अजमतुल्लाह उमरजईका नाममा समान १–१ विकेट रह्यो।

त्यसअघि किंसटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।

अफगानिस्तानका रहमानुल्लाह गुर्बाजले ४९ बलमा ६० रनको योगदान दिए। इब्राहिम जद्रानले ४८ बलमा ५१ रन बनाए। करिम जनतले १३ र मोहम्मद नाबीले १० रन जोडे।

अस्ट्रेलियाका प्याट कमिन्सले ३, एडम जाम्पाले २ तथा मार्कस स्टोइनिसले १ विकेट लिए।

तोलामा २७ सय रुपैयाँले घट्यो सुनको मूल्य 

काठमाडौँ ।  आइतबार सुनको मूल्य प्रतितोला  दुई हजार सात सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला  एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि एक लाख ४२ हजार निर्धारण भएको छ ।


यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला  एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएकामा आजका लागि  एक लाख ४१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।


चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ निर्धारण भएको छ ।

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

नुवाकोट ।  गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो। घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो। भिरबाट लडिने डरले मानिस गोठालो–घाँस–दाउरा र पानी लगाउन जाँदा एक्लै हिँड्दैनथे।

अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ। साथै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ।

काठमाडौं, विदुर वा अन्य सहरका उकुसमुकुसलाई मेटाउने नजिकको सुन्दर प्राकृतिक गन्तव्यस्थलमा पूर्वाधार विकास भएपछि आक्कलझुक्कल गाउँ बस्ने र अरु बेला सहर बस्ने स्थानीयवासी पनि झरनाको सौन्दर्य र विकासको नयाँ उपक्रमलाई नजिकबाट नियाल्न शिवपुरीकाे लाैके झरनामा पुग्न थालेका छन्।

गाउँलेहरूको त्यो उत्साह शनिबारको पदमार्ग उद्घाटनको कार्यक्रममा देखिएको थियो। खेतीपातीका काम छाडेर स्थानीयवासी आफ्नै जीवनकालमा त्यो भिरपाखामा देखिएको आधुनिक विकासको निर्माता र साक्षी हुन पाएका छन्। त्यसैले होला, उनीहरू असारे पानीको पर्वाह नगरी झरना क्षेत्रमा जम्मा भएका देखिन्थे। नव प्रशिक्षित महिला बाजा समूहको पञ्चेबाजाको प्रस्तुतिले वारिपारि डाँडाकाँडा गुञ्जयमन त भएकै थियो। झरना र दहमा पुग्नेहरुले सुसेलीका भाका पनि हाल्न भ्याएका थिए।

‘त्यस्तो भिरमा के लगानी गरेका होलान्?’ शिवपुरी गाउँपालिका–८ को माथिल्लो ढोडिनीबाट सानो छहरे र ठूलो छहरे (लौके) झरनासम्मको पदमार्ग निर्माणका लागि बजेट विनियोजन गर्दा नुवाकोटको जनप्रतिनिधिमाथि यस्ता प्रश्न नआएका होइनन्। गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढीहरू निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल पनि बनेपछि त्यस्ता प्रश्न आफै फिक्का सावित भएका छन्।

शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा पर्ने ठूलो छहरे (लौके) झरना जान अहिले काठमाडौं–टोखा छहरे सडकबाट निकै सहज भएको छ। काठमाडौं–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौं–विदुर र अन्य स्थानबाट उक्त सडक प्रयोगको क्रम बढेको छ।

यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने ठानिएको छ। वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ संघबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो। अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ।

नवनिर्मित पदमार्ग र विश्रामस्थलको गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शनिबार उद्घाटन गरिरहँदा स्थानीय र आन्तरिक पर्यटकको एक प्रकारले लर्काे लागेको थियो। सोही क्रममा ‘छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्था’को पनि उद्घाटन भएकाले यसप्रति स्थानीयवासीको चासो बढेको छ।

काठमाडौंबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ भने टोखा छहरे सडकबाट घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ। अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ। ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो।

‘शिवपुरी विकास र समृद्धिको आधार: शिक्षा,, कृति, पर्यटन र पूर्वाधार’को नाराका साथ कार्यरत गाउँपालिकाका अध्यक्ष थपलिया कृषि पर्यटनको विकास कसरी गर्ने भन्ने विषयमा आफूहरूले योजनाबद्ध रूपमा काम गरिरहेकाले छहरे झरना क्षेत्रमा थालनी भएको पूर्वाधार विकासलाई त्यही रूपमा बुझ्न आग्रह गरे।

उनले झरनामा पर्यटक आउन थालेपछि स्थानीय रूपमा घरबासलगायत अन्य व्यवसाय सञ्चालन आउने र स्थानीय उत्पादनले बजार पनि पाउने भएकाले अनेक दुःखकष्ट सहेर पनि स्थानीयवासीको समृद्धिको चाहनालाई पूरा गर्न लागि पर्ने अठोट व्यक्त गरे।

सोही गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले शिवपुरीको समृद्धिको एउटा आधार पर्यटन हो भन्ने पहिचान गरेर आफूहरूले पूर्वाधार विकासको काम आरम्भ गरेको बताए। गाउँपालिकाका वडा नं ८ का अध्यक्ष केशव रिजालले आगामी दिनमा ठूलो छहरे झरनामा ककनी जोड्ने झोलुङ््गे पुल निर्माण गर्ने, सो स्थानमा सेल्फी खिच्न मिल्ने ‘स्ट्याण्ड’ बनाउनेलगायत योजना रहेको सुनाए।

उनका अनुसार पदमार्ग र विश्रामस्थल निर्माणका लागि गाउँपालिकाको रु पाँच लाख, वडाको रु दुई लाख, नेपाल पर्यटन बोर्डको रु १७ लाख र प्रधानमन्त्री स्वरोजगार कोषको रु आठ लाख गरी करिब रु ३० लाख लागत रहेको छ।

छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष गोपाल सिलवाल गाउँपालिकाको नेतृत्व र स्थानीयवासीको श्रमदानबाट झरनासम्मका लागि पदमार्ग र विश्रामस्थल बनेकाले अब आन्तरिक र बाह्य पर्यटक नियमित भित्र्याउन घरबास र रिसोर्ट सञ्चालनको योजना अघि बढाइने बताउँछन्।

स्थानीय राजनीतिकर्मी राजेन्द्र वलीले पर्यटन पूर्वाधारको विकासमा सबैको साथ रहने बताउँदै लौके झरनामा स्वदेशी र विदेशी पर्यटक ल्याउन लागिपर्ने जनाए। उक्त झरनामा क्यानोनिङको थालनीमा भूमिका निर्वाह गर्ने स्थानीयवासी हरि सिलवालले क्यानेनिङ महोत्सवलाई निरन्तरता दिन सकिए आन्तरिक र बाह्य पर्यटक स्वतः बढ्ने उनी बताउँछन्।

नुवाकोटको दक्षिण पूर्वी भागमा अवस्थित शिवपुरी गाउँपालिका साविकका तलाखु, छाप, लिखु, सिक्रे महाकाली, समुन्द्रादेवी, सुनखानी र थानापती गाविस समावेश गरी बनेको हो। समुद्री सतहको छ सय २९ मिटरदेखि दुई हजार पाँच सय २० मिटरको उचाइमा रहेको गाउँपालिकाको केन्द्र सेराबगर जिल्ला सदरमुकाम विदुरबाट ३० किलोमिटर र संघीय राजधानी काठमाडौंबाट ४० किलोमिटर सडकको दूरीमा रहेको छ। विदुर र काठमाडौंको करिब मध्यदूरीमा पर्ने भएकाले पनि छहरे (लौके) झरना पर्यटकीय प्रचुर सम्भावनाको बोकेको स्थल हुन पुगेको छ।

परापूर्वकालमा भगवान् शिवले क्रिडा गर्नुभएको मानिएको यस भूमिमा शिवको आराधना र तपस्याका लागि ऋषि, महर्षि र तपस्वी आउने गरेका जनविश्वास छ। शिवको बसोबास ठानिएको यो धार्मिक महत्वको क्षेत्रलाई शिवपुरी भनिने गरिएको छ। यो गाउँपालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ। 

हर्क गुरुङ स्मृतिमा उद्यान बनाउन लमजुङ समाज युकेद्वारा १५ लाख सहयोग

लमजुङ । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न लमजुङ समाज यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ मा डा. गुरुङको स्मृतिमा उद्यान निर्माण गर्न समाजले डा. हर्क गुरुङ प्रतिष्ठानलाई १५ लाख रुपैयाँ दिएको हो।

मर्स्याङ्दी गाउँपालिकाको ताङ्लीचोकस्थित डा. हर्कको समाधिस्थलमा शनिबार कार्यक्रम आयोजना गरी समाजका अध्यक्ष दलबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण गरेपछि समाजका अध्यक्ष गुरुङले प्रतिष्ठानका नाममा सन् २०२३ डिसेम्बर ११ मा बेलायतमा ‘च्यारिटी’ शो गरेर प्रतिष्ठानका लागि उक्त रकम सङ्कलन गरिएको जानकारी दिए।

प्रतिष्ठानका अध्यक्ष गुरुङले उद्यान निर्माणका लागि १५ देखि २५ रोपनी जग्गा आवश्यक परेको बताए। प्रतिष्ठानका अनुसार बेलायतमा रहेको उक्त संस्थासहित चारवटा संस्थाबाट हालसम्म २७ लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ। स्वदेश र विदेशबाट गरी हालसम्म रु ४० लाख सहयोग प्राप्त भएको छ।

विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ असोज ७ गते शनिबार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा. गुरुङसहित २४ जनाको मृत्यु भएको थियो। 

संसद सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि सहजीकरण गर्न समिति गठन

काठमाडौँ । सरकारले संसद सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि सहजीकरण गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा सहजीकरण समिति गठन गरेको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री र प्रमुख दलका शीर्ष नेतासहित बसेको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गरेको हो ।

समितिमा अर्थ मन्त्रालयका सचिव र सङ्घीय संसद्का महासचिव सदस्य रहेका छन् । अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए ।

लुम्बिनीमा जसपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले विज्ञप्ति जारी गरी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्ष दलको भूमिकामा बस्ने निर्णय भएको जानकारी गराएकी हुन् ।

यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर महरालाई एमालेका २९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ४ जसपाका २, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद गरी ४७ जनाको समर्थन कायम छ । तर जसपा सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि सरकारलाई भने कुनै असर गर्ने छैन ।

सूर्य नेपालद्वारा दमौली अस्पताललाई दुई वटा हेमोडायलाइसिस मेसिन प्रदान

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।


कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् ।

अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् । अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा.बरालले बताए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।

सागसब्जी बेचेर पर्वतको शालिजावासी भित्र्याउँछन् वार्षिक पाँच करोड

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक  पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् ।

जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् । कृषि ज्ञान केन्द्रमार्फत सागसब्जी उत्पादनको पकेट क्षेत्रका रूपमा विकास गरिएको शालिजामा मौसमीभन्दा बेमौसमी सागसब्जी बढी उत्पादन हुने भएकाले किसानको आम्दानी बढेको हो ।

व्यावसायिक सागसब्जी उत्पादन गर्न थालेपछि यहाँका किसानको जीवनस्तरमा परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभी, बोडी, सिमी, लौका, डल्ले खुर्सानी, काँक्रोलगायत ताजा सागसब्जी छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुश्मा, बागलुङ बजार र पोखरासम्म बिक्री हुने गरेको स्थानीय किसान बुद्धि सुवेदीले जानकारी दिए ।

माथिल्लो शालिजा, तारे, पातलखर्क, ओख्रेनी र तल्लो शालिजाको भोटेडाँडा, दीप, स्वारा, गामलगायत स्थानमा आलु र ताजा सागसब्जी उत्पादन गरिँदै आएको छ । शालिजाका अधिकांश किसानले अन्नबाली छाडेर ताजा सागसब्जी उत्पादन गर्दै आएका छन् । उनीहरूको खेतबारी कहिल्यै बाँझो रहँदैन । हरेक मौसममा विभिन्न सागसब्जीले हरियाली छाएको देखिन्छ ।

मगर समुदायको बाहुल्य रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि व्यावसायिक सागसब्जी खेतीमा लाग्ने किसानको आकर्षण बढेको सुवेदीले बताए । उच्च भाग, चिसो हावापानी र खेतीयोग्य जमिन भएकाले यहाँ आलु र मौसमी तथा बेमौसमी सागसब्जी उत्पादन हुँदै आएको छ ।

शालिजाका आठ सय परिवार व्यावसायिक सागसब्जीखेतीमा संलग्न भएका जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । सागसब्जीखेती गरेर यहाँका किसानले वार्षिक रूपमा न्यूनतम रु दुई लाखदेखि रु १० लाखसम्म आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय जलजला गाउँपालिकाले आलुको बीउको स्रोत केन्द्रका रूपमा यो ठाउँलाई विकास गरेपछि स्थानीय किसानको आलुलगायतका सागसब्जी उत्पादनमा झनै आकर्षण बढेको हो ।

आलु बिक्री गरेर मात्र गाउँमा करिब रु एक करोड भित्रिने गरेको स्थानीय किसान तथा शालिजाका पूर्ववडाध्यक्ष होमबहादुर पुनले जानकारी दिए । पुस, माघमा लगाएको आलुखेतीले यतिखेर गाउँ नै भरिएको छ । अहिले आलु खनेर बजार पुर्याउन स्थानीयलाई भ्याइनभ्याई भएको उनले बताए ।

यहाँका अधिकांश किसानले व्यावसायिक सागसब्जीखेती गरेर राम्रो आम्दानी लिएको जलजला गाउँपालिका–६ शालिजाका पूर्ववडाध्यक्ष पुनले बताए । राम्रो सिँचाइ र उत्पादित कृषि उपजको बजारीकरणमा सरकारी निकायले सहयोग गरे अझै ताजा सागसब्जी उत्पादन वृद्धि हुने पुनले बताए ।

शालिजा गाउँमा एउटै किसानले २५ मुरीदेखि ५० मुरीसम्म आलु फलाउने गरेको अर्का किसान वीरबहादुर पुनले जानकारी दिए । उनका अनुसार शालिजामा आलुमात्रै बिक्री गरेर  दुई लाखदेखि छ लाखसम्म कमाउने गर्दछन् । विगत १४ वर्षदेखि निरन्तर आलुखेती गर्दै आएका पुनले उत्पादन भएको आलु बिक्रीका लागि कुनै समस्या नभएको र पोखरा, काठमाडौँ, कुश्मा, बागलुङबाट माग आउने बताए । ​

घरबाटै बीउ आलुलाई रु दुई सयदेखि दुई सय ५० पाथीमा बिक्री गर्न सकिने उनले भने । “शालिजामा उत्पादन भएको आलुको मुख्य बजार पोखरा हो, त्यसपछि बागलुङ, कुश्मा र बेनी जान्छ”, उनले भने । मिलनचोक–शालिजा सडक स्तोरन्नति भए आलु ढुवानीमा सहज हुने उनले बताए ।

जलजला गाउँपालिकाले आलुको बीउमा आत्मनिर्भर बनाउन बीउ उत्पादनलाई जोड दिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । उनले गाउँपालिकाले व्यावसायिक रूपमा सागसब्जी लगाउने किसानलाई प्रोत्साहनस्वरुप तालिम, उपकरण र बीउमा अनुदान दिँदै आएको बताए ।

बेलायतस्थित कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीद्वारा राजनीतिक स्थायित्वमा जोड

काठमाडौँ । नेपाली कांग्रेसको बेलायतस्थित जनसम्पर्क समितिले नेपालमा राजनीतिक स्थायित्व नहुँदा बेलायतबाट वैदेशिक लगानी प्रवाह हुन नसकेकामा चिन्ता व्यक्त गरेको छ ।

शनिबार लण्डनमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष महेश दाहालले बेलायती उद्यमी–व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका भए पनि पटकपटक भइरहने नीति परिवर्तनले लगानी गर्न समस्या भएको बताए ।

उनले प्रवासी नेपाली मात्र नभई आफूहरूले विदेशी लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको तर, नेपालको राजनीतिलाई देखाउँदै उनीहरू लगानी गर्न डराएका बताए । उनले राजनीतिक स्थायित्वका निम्ति राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले समितिका समस्यालगायत विषयमा कांग्रेस नेतृत्वलाई जानकारी दिने बताए । समितिका अध्यक्ष दाहाल, प्रेस युनियन युकेका अध्यक्ष विपिन निरौला, राजनीतिक विश्लेषक आरेक त्रिपाठी (राजकुमार) लगायत उपस्थित थिए ।

इरानी र्यापर सालेहीको मृत्युदण्डको सजायमाथि पुनरावलोकन गर्न निर्देशन

इरानको सर्वोच्च अदालतले महसा अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा जेल परेका चर्चित र्यापर तूमाज सालेहीको मृत्युदण्डको सजाय उल्ट्याएको छ ।

“सालेहीको मृत्युदण्डको सजाय उल्टाइएको छ,” सालेहीका वकिल अमिर रायसियनले एक्समा लेखेका छन् । सर्वोच्च अदालतले पुनः सुनुवाइको आदेश दिएको उनले बताए ।

“सर्वोच्च अदालतले अपूरणीय न्यायिक त्रुटिलाई रोकेको छ,” रायसियनले भने ।

अदालतले सालेहीको अघिल्लो सजाय (६ वर्ष र तीन महिना) पनि अपराधको बहुलताको नियमको पालना बिना नै भएको फैसला सुनाएको थियो ।

गत अप्रिलमा इरानी अदालतले सालेहीलाई ‘राष्ट्रिय सामाजिक र राजनीतिक सुव्यवस्थालाई खलल पार्ने आचरण’ गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

उनलाई राजद्रोह, भेला र मिलेमतोमा सहयोग गरेको, राज्यविरुद्ध सङ्गठित प्रचार गरेको र दङ्गा निम्त्याएको आरोप पनि लगाइएको वकिल रायसियनले बताए ।

प्रहरी हिरासतमा सन् २०२२ अक्टोबरमा अमिनीको मृत्युपछि सुरु भएको प्रदर्शनको सार्वजनिक समर्थन गरेपछि ३३ वर्षीय सालेहीलाई पक्राउ गरिएको थियो ।

इरानी अधिकारकर्मी अमिनीलाई महिलाका लागि तोकिएको पोशाक नियम उल्लङ्घन गरेको आरोपमा तेहरानबाट प्रहरीले पक्राउ गरेको थियो ।

सुपर–८ मा भारतको लगातार दोस्रो जित

काठमाडौँ । आइसिसी टि–२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत गए राति सम्पन्न खेलमा भारतले बङ्गलादेश माथि ५० रनको जित हासिल गरेको छ ।

एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले २४ रन जोडे ।

भारतका लागि कुलदीप यादवले तीन तथा अर्शदीप सिंह र जसपृत बुम्राहले समान दुई–दुई विकेट लिए । हार्दिक पान्ड्यले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ९६ रनको योगफल बनाएको थियो । भारतका लागि हार्दिक पान्ड्यले २७ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ५० रन बनाए । त्यसैगरी विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ तथा कप्तान रोहित शर्माले २३ रन जोडे ।

बङ्गलादेशका तान्जिम हसन सकिब र ऋषाद हुसेनले समान दुई–दुई विकेट लिए भने शाकिब अल हसनले एक विकेट लिएका थिए ।

जाजरकोटमा बाढीले बगाएर एक शिक्षकको मृत्यु, ६ जना घाइते

काँक्रेविहार (सुर्खेत) । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेको उद्धार पनि भएको छ ।

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको कुशे गाउँपालिकाका उपाध्यक्ष देवीका सिंहले जानकारी दिइन् । मृतक रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए ।

बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे –१ तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका उपाध्यक्ष सिंहले जानकारी दिइन् ।

‘नेपाल आइडल–५’ को उपाधि करणलाई

काठमाडौँ । प्रतिस्पर्धात्मक गायन कार्यक्रम ‘नेपाल आइडल’ पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।

शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बनेका हुन् ।

विजेता परियारले नगद  २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद रु १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भएर नगद रु पाँच लाख र दार्जिलिङकै मोहित भुजेलले चौथो स्थान हासिल गरेर पुरस्कारमा स्कुटर प्राप्त गरे ।

विगत चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिनुभएको मतका आधारमा विजेता चयन गरिएको हो । ‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए ।

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गरेका थिए । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।

राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताए । उनले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताए ।

राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराए ।

प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गरे । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उनको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका थिए । ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित थिए ।

थाइल्याण्डमा कार्यभार समालेका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उनको कार्यकालको सफलताको कामना गरे ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको चेतावनी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज बिहान ६ः०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा जनाएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले विभागले सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

बङ्गलादेशमा पुल भत्किँदा नौ जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकाबाट करिब १८० किलोमिटर दक्षिणमा रहेको बरगुना जिल्लाको जीर्ण पुल भत्किँदा विवाह भोजका पाहुनाहरू बोकेको एउटा माइक्रोबस र अटोरिक्सा नहरमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।

दुर्घटना शनिबार दिउँसो २ बजेतिर भएको हो । स्थानीय समय अनुसार पुल भत्किँदा दुबै सवारी साधनलाई नहर खसेको बरगुनाको स्थानीय अमतली प्रहरी चौकीका अधिकृत काजी सखावत हुसेन टोपुले बताए । उद्धारकर्ताहरूले नहरबाट नौ शव निकालेका छन् भने १० जना घाइते भएका छन् ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी

काठमाडौं । संघीय संसदको दुवै सदनको बैठक आज बस्दै छ। सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ ।

आज बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्य उपस्थित हुन् कांग्रेसले गत शुक्रबार नै ह्विप जारी गरेको छ ।
बजेट पास गर्ने कार्यसूची सँगै आजको बैठकमा ‘आर्थिक विधेयक २०८१ माथि विचार गरियोस्’, ‘राष्ट्र ऋण उठाउने विधेयक २०८१ माथि विचार गरियोस्’ र ‘भन्सार महशुल सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने तीन ओटा विधेयक बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयका महासचिव पद्य प्रसाद पाण्डेयले जानकारी दिए ।

त्यसअघि आजै विनियोजन विधयेकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची समेत छ।

यस्तै, आजको राष्ट्रियसभा बैठकमा भने उत्पति भएको सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सुनिल र मनिषको जोडीलाई

किमाथाङ्का । संखुवासभाको खाँदबारीमा शनिबार कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मेन्स डबलतर्फको उपाधि सङ्खुवासभाका सुनिल कार्की र मोरङका मनिष खड्काको जोडीले हात पारेको छ । 

खाँदबारी नगरपालिका–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इण्डो स्टेडियममा आज भएको फाइनलमा उक्त जोडीले भोजपुरका निश्चल खत्री र सङ्खुवासभाका प्रविन लिङ्थेपलाई सोझो सेटमा पराजित गरेको हो । 

प्रतियोगितामा प्रथम भएको सुनिल र मनिषको जोडीले नगद  ६०  हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भोजपुरका निश्चल र सङ्खुवासभाका प्रविनले  ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

साथै तेस्रो भएका सङ्खुवासभाका प्रमिस श्रेष्ठ र झापाका प्रमिससिंह ठकुरी तथा भोजपुरका विवेक श्रेष्ठ र विशाल तामाङको दुई जोडीले  १०/१० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 

भेट्रान्सतर्फ विराटनगरका जीवनकुमार बोगटी र सुनसरीका श्रवन चौधरीको जोडी प्रथम भएको छ । पाँचथरका रामराज आङ्दामे र काठमाडौँका सञ्जय कपालीको जोडी दास्रो भएको छ । साथै नेपालगञ्जका हरि खत्री र अनिल लाखे तथा काठमाडौँका इन्द्र महत र सुनसरीका देव तामाङको दुवै टोली तेस्रो भयो ।

भेट्रान्सतर्फ प्रथम हुनेलाई रु ५०  हजार, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार, मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय, मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लास्तरीय मेन्स डबलतर्फ तुम्लिङटारका अनमोल बुर्जा र सफल श्रेष्ठ प्रथम भएका छन् । खाँदबारीका लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङ दोस्रो भएका छन् । मानेञ्याङका साहिद श्रेष्ठ र सन्दीपभगत श्रेष्ठ र खाँदबारीका सुमन गौतम सविन तामाङको दुई जोडी तेस्रो भएका छन् । 

प्रतियोतिामा भारतको कोलकोत्ता, ग्यानटोक, सिक्किम, दार्जिलिङसहित नेपालका ९२ टिमको सहभागिता थियो । सङ्खुवासभामा पहिलोपटक प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता भएको हो ।

कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ ।
खाद्य नियमावली, २०२७ को नियम १९ (घ) बमोजिम कार्वाइड (एसिटिलिन ग्यास) को प्रयोग गरी कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरिएको भन्दै विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको विभागकी महानिर्देशक डा मतिना जोशी वैद्यले जानकारी दिइन् ।

यसैगरी आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा कार्वाइड केमिकल राखिएको देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा मातहतका कार्यालयमा जानकारी गराउन विभागले अनुरोधसमेत गरेको छ ।

देशभरका कार्यालयहरुबाट अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ । विभिन्न जिल्लास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरूले तरकारी तथा फलफूलजन्य पदार्थहरूको चेकजाँचमा सक्रियता जनाएका महानिर्देशक डा मतिना जोशी वैद्यले बताइन् ।

उनले भनिन्, “डिभिजन कार्यालय झापा, पोखरा, उदयपुर, हेटौँडा, सप्तरीलगायत ठाउँमा अहिले नियमित तालिका नै बनाएर अनुगमन भइरहेको छ ।”

खाद्य तथा पेयपदार्थ एवं होटेल रेष्टुरेन्टको अनुगमन तथा चेकजाँच वर्षभरि नै भइरहने भए पनि मौसमी फलफूलहरूको सिजनमा कृत्रिम रुपमा फलफूल पकाउन तथा बिक्रीवितरण निषेध गरिएको कार्वाइडको प्रयोग रोक्न अनुगमनलाई तीव्रता दिइएको महानिर्देशक डा जोशी वैद्यको भनाइ छ ।

नेता कार्यकर्तालाई कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न देउवाको निर्देशन

लुम्बिनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रतिपक्षको भूमिका थप प्रभावकारी बनाउने बताएका छन् । उनले संसदमा नेपाली कांग्रेसको भूमिका प्रभावकारी हुन नसकेको सन्देश गएकाले अब थप प्रभावकारी ढङ्गले प्रस्तुत हुने बताएका हुन् ।

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाको महेशपुरमा स्वर्गीय पृथ्वीराज कँडेलको अर्धकदको सालिक अनावरण र बसपार्कको शनिबार उद्घाटन गर्दै सभापति देउवाले जनजीविकाका सवालमा प्रतिपक्षले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले नवलपरासीमा महेशपुर मूलभन्सार भएर पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकाले यसको भौतिक एवं प्रशासनिक सुधारका लागि पहल गर्ने आश्वासन पनि दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेलका पिता पृथ्वीराज कँडेलको स्मृतिमा बसपार्कको नामकरण गरिएको र अर्धकदको सालिक निर्माण गरिएको हो । स्व कँडेल २०१५ सालमा पाल्हिमाझ खण्ड पूर्वीनिर्वाचन क्षेत्र नं ५७ बाट निर्वाचित सांसद थिए ।

कार्यक्रममा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेयश त्रिपाठीले निजामती कर्मचारी सेवा ऐन तत्काल पारित गर्नुपर्ने बताए । उनले नेपाल–भारत सीमा क्षेत्रमा हुने कुनै पनि क्रियाकलाप मधेसको सहमतिमा हुनुपर्नेसमेत बताए ।

नवलपरासी क्षेत्र नम्बर १ का सांसद विनोद चौधरीले राजनीतिक दल फरक–फरक भए पनि जिल्लाको विकासमा सबै दल एकजुट हुनुपर्ने बताए ।

सङ्घीय सरकारको एक करोड, पाल्हीनन्दन गाउँपालिकाको १३ लाख गरी कुल रु एक करोड १३ लाख लागतमा बसपार्क निर्माण भएको बसपार्कका संरक्षक देवेन्द्रराज कँडेलले जानकारी दिए ।

यस्तै सभापति देउवाले आजै नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँग अन्तरक्रिया गरेका छन् ।

कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसलाई कसैले पनि हराउन नसक्ने गरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले पार्टीमा दण्ड र पुरस्कारको नीति कडाइका साथ लागू गर्ने भएकाले नेता, कार्यकर्तालाई ढुक्क भएर काम आग्रह गरे ।

‘कांग्रेसको विचार, यसले राष्ट्रिय राजनीतिमा खेल्ने भूमिका, देश र जनताका पक्षमा हाम्रो पार्टीले गरेका कामका बारेमा आम जनतामाझ पुर्याउने गरी प्रचार गर्नुपर्ने आवश्यकता छ । एकढिक्का भएर जनस्तरमा खटेमा पार्टीलाई कसैले हराउन सक्दैन’, सभापति देउवाले भने ।

उनले चुनावमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गरेर जनतामाझ पुग्नसमेत सुझाव दिए ।

क्रियाशील सदस्यता वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्नुपर्छः सांसद पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँको सङ्गठन बलियो हुँदा देशभरको पार्टी सङ्गठन बलियो हुने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१)ले शनिबार आयोजना गरेको ‘दोस्रो प्रदेशसभा क्षेत्रीय सम्मेलन पौडेलले संगठनलाई बलियो बनाएर अघि बढ्नुपर्ने बताएका हुन् । ‘काठमाडौँको सङ्गठनले देशभरलाई दिशानिर्देश गर्न सके पार्टी मजबुद बन्छ’, उनले भने । भ्रष्टाचारविरुद्ध कांग्रेस शशक्त भएर उभिनुपर्ने उनको भनाइ छ ।

पौडेलले जनताका विषयलाई एजेण्डा बनाएर कांग्रेस अगाडि बढ्नुपर्ने बताए । ‘एजेण्डामा धनी पार्टी नै लोकप्रिय हुन्छ, हामीले कांग्रेसलाई लोकप्रिय पार्टी बनाउनुपर्छ’, नेता पौडेलले भने ।

क्रियाशील सदस्य वितरण शैलीमा कांग्रेसले परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो । पौडेलले कलङ्की–चावहिल चक्रपथ क्षेत्रलाई चाँडो निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराए ।

कोशी प्रदेशको बजेट बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८१ बहुमतले पारित भएको छ ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८१/८२ को सेवा र कार्यको लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कोशी प्रदेश विनियोजन विधेयक, २०८१ र कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न वनेको विधेयक, २०८१ पेस गरेका थिए ।

नेपाली कांग्रेसका गोपाल तामाङ र  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की  सविना बजगाईंले प्रस्तुत गरेको खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसअघि विशेष समयमा नेपाली कांग्रेसका भूपेन्द्र राईले प्रदेश संरचनामा प्रश्न खडा हुननदिन प्रदेशसभा सचेत हुनुपर्नेमा जोड दिँदै प्रदेशका  धेरै ऐनमा त्रुटि भएकाले कार्यान्वयनमा समस्या हुने बताए । “निजामती सेवा ऐन, यातायात सेवा ऐन, र प्रदेश प्रहरी ऐनमा  गम्भीर त्रुटि छन्,” उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का इन्द्रबहादुर आङबोले सार्वजनिक गरेको बजेट सन्तुलित भएको बताए ।
अर्को सूचना जारी नभएसम्म प्रदेशसभाको बैठक स्थगन भएको छ ।

५ हजारबाट व्यवसाय थालेकी मीनाकुमारीलाई माग पुर्‍याउन हम्मे

 पाँचथर । याङवरक गाउँपालिका–३ ओयामको देवीस्थानकी मीनाकुमारी गुरुङले भेडाको ऊनका सामग्री उत्पादन गर्न थालेको ३० वर्ष पूरा भयो । तत्कालीन घरेलु तथा साना उद्योग कार्यालय पाँचथरले तालिम दिएपछि नियमित रुपमा ऊनका सामग्री निर्माण गर्दै आएकी उनलाई अहिले माग पूरा गर्न कठिन परेको छ ।

गुरुङले स्थापना गरेको लेकाली राडीपाखी उद्योगले उनको परिवारलाई मात्रै फाइदा भएको छैन, छिमेकका ऊनको काम गर्न चाहने महिलाका लागि रोजगारी र आम्दानीको बाटो पनि बनेको छ । विसं २०५१ मा यहाँको चरिभञ्ज्याङमा घरेलु तथा साना उद्योग कार्यालयबाट तालिम लिएपछि मीनाकुमारीले ऊनका सामग्री निर्माण गर्न थालेकी थिइन् ।

‘पहिले मैले केही पनि जानेको थिइनँ । म त भारत मै जन्मे हुर्केको हुँ । विवाह गरेर यहाँ आएपछि के चाहिँ गरौं भनेर खोज्दा यहाँ बावु बाजेले गरिराखेको काम गर्नु ठीक लाग्यो’, उनले भनिन्, ‘तर मलाई सीप केही नआउने । तालिम लिने अवसर पाएपछि मैले नियमित रुपमा सामग्री उत्पादन गर्दै आएकी छु ।’

विवाह गरेर घरमा आउँदा उनको २८ जनाको परिवार थियो । घरमा भेडापालन पनि भएकाले यो व्यवसाय गर्न उनलाई सबैतिरबाट सहज भयो । तालिम लिएपछि नै उनले आफ्नो कामलाई व्यवसायको रुप दिन सोही कार्यालयबाट पाँच हजार रुपैयाँ ऋण पाएकी थिइन् । ‘त्यही ऋणबाट व्यवसाय सुरुआत गरेँ । ऋणबाट व्यवसाय थाल्दाको चिनो मसँग अझै छ तिनपाटे राडी’, उद्यमी गुरुङले भनिन्, ‘त्यसयता यही व्यवसायले घर परिवार चलाउँदै आएका छौँ ।’

घरेलुको ऋण चुक्ता गरेपछि उनले कृषि विकास बैंकबाट २० हजार ऋण लिएर किस्ता तिर्न थालेकी थिइन् । तत्कालीन सशस्त्र द्वन्द्वको समयमा उक्त ऋण पनि तिर्न जान बन्देज भयो । उनको व्यवसाय पनि धराशायी भयो । उत्पादित सामग्री सहजै बजार पुग्न कठिन भयो । सङ्कटकालमा रोकिएको उनको ब्यवसाय पुनः पुरानै स्थितिमा पुग्यो ।

उनको व्यवसायले उचाइ लिन घरेलु कार्यालयबाट आएको एउटा फोन निकै महत्वपूर्ण भयो । ‘गाउँघरको घरपाला (गाउँकै भेडाको) ऊनबाट सामग्री निर्माण गरिरहेकी थिएँ । पछि घरेलु कार्यालयबाट मलाई फोन आयो’, उनले भनिन्,’परम्परागत पेशालाई ब्यवसाय बनाउनेहरुलाई तालिम दिने कार्यक्रम रहेछ । त्यसपछि मैले व्यवसायिक रुपमा काम गर्ने तालिम लिने अवसर पाएँ ।’

उनले आफ्नो व्यवसायलाई बढाएपछि भेडाको ऊनको खाँचो पनि भएन । भेडापालकले घरमै ऊन पठाइदिन थाले । ‘पहिले त २० जनासम्म दिदीबहिनीले मेरोमा काम गर्नुहुन्थ्यो । अहिले चाहिँ उनीहरुले ऊन जोखेर आफ्नै घरमा खोसलेर धागो बनाएर ल्याइदिनु हुन्छ’, उद्यमी गुरुङले भने, ‘धेरै माग आउँदा दिदीबहिनीहरुलाई भेला पारेर बुन्छौँ । माग आएपछि सबैलाई बोलाउँछु । अहिले गाउँका धेरै जना ऊनका सामग्री बुन्न सक्षम भइसकेका छन् ।’

गुरुङको उद्योगमा अहिले चेयर म्याट, सोफा सेट, बुर्कासन, दुई र तीन पाटे राडी, लुकुनी, स्टकोट, कोट, झोला, पर्स, गमलामा राख्ने फूललगायत सामग्री निर्माण हुने गरेका छन् ।

उनका अनुसार ऊनका २०८ प्रकारका सामग्री निर्माण गर्न सकिन्छ । यद्यपि यहाँ ती सबै सामग्री उत्पादन हुँदैनन् । उद्योगमा प्रयोग हुने ऊन भने जिल्लाकै फालेलुङमा रहेको भेडी गोठसहित ताप्लेजुङका विभिन्न स्थानबाट आपूर्ति गर्ने गरिएको छ । गुरुङले सामग्री निर्माणका लागि विभिन्न प्रकारका ऊन काठमाडौँबाट ल्याउने गरेकी छन् ।

विदेश बिक्री गरिन्छन् अधिकांश सामग्री

उद्यमी गुरुङका अनुसार उत्पादित सामग्रीका आधारमा फाइदा हुने गर्छ । ‘सानो सामग्रीमा रु सय हाराहारी नाफा हुने गरेको छ, ठूलो सामग्रीमा रु दुई हजारसम्म फाइदा राखेर बिक्री गर्छौँ’, उनले भनिन्, ‘धेरै मूल्य राखौँ बिक्री हुन गाह्रो हुन्छ, कम मूल्य राख्दा फाइदा हुँदैन ।’ यद्यपि आफैँ बजार गएर बिक्री गर्दा भने आकर्षक मूल्य प्राप्त गर्न सकिने गुरुङ बताउँछिन् ।

यहाँ उत्पादित ऊनका सामग्री देशका विभिन्न स्थान सहित छिमेकी मुलुक भारत र अन्य देशमा समेत विक्री हुने गरेको छ । अमेरिका, अष्ट्रेलिया, जापानलगायत देशमा बस्ने नेपालीले घरमा सजावटका लागि यहाँका सामग्री माग गर्ने गर्दछन् । पछिल्ला दिनमा लुकुनी मृत्यु कार्यमा प्रयोग गर्न थालिएको छ । जसकारण यसको माग क्रमश बढिरहेको मीनाकुमारीको भनाइ छ ।

उनको उद्योगमा केन्द्रित भई अहिले ऊन खोस्रिने, धागो तान्ने, तान बुन्नेलगायत काममा औषत १० महिला सम्लग्न भइ रोजगारी प्राप्त गरिरहेका छन् । तर कठिन ठानेर ऊनको काम गर्नेको सङ्ख्या घटिरहेको छ । अब प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाउन मीनाकुमारीसहितका महिलाले चासो राखिरहेका छन् । आफूहरुले गरी आएको परम्परागत पेशाको सम्वद्र्धनका लागि अहिलेसम्म कुनै पनि सहयोग प्राप्त नभएको उनीहरुको गुनासो छ ।

‘अहिले हामीलाई ऊन फड्किने सामग्री चाहिएको छ । ऊन फड्कार्न धेरै गाह्रो छ । त्यही कारण आउने माग समयमा पूरा गर्न सकिरहेका छैनौं’, उनले भनिन्, ‘तान जसले पनि बुन्छ । ठूलो समस्या भनेको पिउरी बनाउन गाह्रो छ । त्यही गर्न मेसिन पाए हुन्थ्यो भन्ने आशा छ ।’

केही समयअघि घरेलु तथा साना उद्योग कार्यालय पाँचथरबाट मीनाकुमारीको उद्योगमा प्रविधि विस्तार गर्न बजेट विनियोजन पनि भएको थियो । तर कार्यालयबाट विनियोजित रु एक लाख बजेटमा मेसिन नआउने भएपछि बजेट प्रयोग नै हुन सकेन । भेडाको ऊनबाट धागो कात्न उनमा रहेको लट्टा फुटाउनुपर्छ । लट्टा फुटाउन प्रयोग हुने कोर्‍यासो भाँचिएर डालोभरि रहेको मीनाकुमारीको गुनासो छ ।

‘अहिले युट्युबमा के–के नयाँ सामग्री पाइन्छ भनेर बुझ्न थालेका छौँ’, उनले भनिन्, ‘हामीलाई चाहिएको ऊन फड्किने नै हो । हामीले काठमाडौँमा प्रदर्शनीका क्रममा धान कात्ने, ऊन फड्कार्नेलगायत सामग्री देखेका थियौँ । मेसिनबाट सामग्री बनाउँदा अलि नरम पनि हुने रहेछ ।’

यहाँ उत्पादन हुने सामग्री कतिपय घरबाटै बिक्री हुन्छ भने कतिपय गाडीमा हालेर पठाउने गरिएको छ । सामग्री बिक्रीका आधारमा आम्दानी हुने गरेको तर उपभोक्ताको माग पूरा गर्न नसकिरहेको मीनाकुमारीको भनाइ छ ।

राष्ट्रिय औद्योगिक प्रदर्शनीलगायत स्थानसम्म पुग्नुभएका मीनाकुमारी गुरुङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित विभिन्न सरकारी निकायले उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृत गरिसकेका छन् । यहाँ उत्पादन भएको राडीपाखी याङ्वरक गाउँपालिका तथा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा उपहारका रुपमा वितरण हुँदै आएको छ । सामग्रीले पहिचान बनाए पनि प्रविधिलाई प्रयोगमा ल्याउन नसक्दा सामग्री उत्पादन कठिन बन्दै गएको मीनाकुमारीकी छोरी युनुसा गुरुङको भनाइ छ ।

प्रविधिको प्रयोगमार्फत व्यवसायलाई सरल बनाइ दीर्घकालीन आम्दानीको स्रोत बनाउने अभिलाषा मीनाकुमारीजस्तै यहाँका अधिकांश महिलाले राखेका छन् । यसका लागि सरकारी निकायले प्रविधि र उपकरण हस्तान्तरण गर्नुपर्ने उनीहरुको माग छ ।

शिक्षकसमेत रहेका मीनाकुमारीका श्रीमान पूर्णकुमार गुरुङ पनि प्रविधि हस्तान्तरण गरी सरकारले मद्दत गर्नुपर्ने बताउँछन् । राडीपाखी बुन्ने चलन क्रमश घट्दै गएकाले उत्पादन हुने उद्योगी व्यवसायीलाई सहयोग भए मात्रै परम्परागत पेशा जीवन्त रहने उनको भनाइ छ ।

यो ठाउँमा मीनाकुमारीले मात्रै उद्योग दर्ता गरेकी छन् । तर ऊनका सामग्री बनाउने काम गुरुङ समुदायका अधिकांश महिला र अन्य समुदायका केही महिलाले गर्दै आएका छन् । यहाँकी माया गुरुङ कहिले आफ्नै घरमा त कहिले मीनाकुमारीको उद्योगमा गएर ऊनका सामग्री बनाउने काम गर्दै आएकी छन् । ‘घरमा फुर्सदको समयमा ऊनकै काम गरिरहन्छौँ । अलिअलि आम्दानी हुन्छ । नानीहरुलाई खर्च पुर्‍याउन सकिन्छ’, आफ्नो अनुभव सुनाउँदै मायाले भनिन् ।

वर्षमा ३० धार्नीसम्म ऊनबाट सामग्री बनाउन सके अलिअलि बचत गर्न सकिने उनको अनुभव छ । ऊनका सामग्री निर्माण गर्ने काम सहज भने पक्कै छैन । ‘नगर्ने मानिसले जीउभरि ऊन लाग्छ के गरेको भन्नुहुन्छ ? त्यही आम्दानी हुने भएरै हामी यो काम गरिरहेका छौँ । हामीलाई राम्रै लाग्छ’, मायाले भनिन् ।

६५ वर्षकी मैना गुरुङ पनि यही व्यवसायबाट घरको खर्च जुटाउने गरेको बताउँछन् । ‘६५ वर्षको भएँ । उनको काम गरेर ठीकै आम्दानी गरिरहेकी छु । भ्याएको बेला काम गरौँ–गरौँ लाग्छ’, मैनाले भनिन्, ‘बिक्री पनि भइरहेकै छ । म अरुले जस्तो सबै सामग्री बनाउन त जान्दिनँ । आफूले जानेअनुसारका राडीसहितका सामग्री बनाइरहेकी छु ।’

यो पेशालाई छोरी बुहारीले अङ्गाल्ने अपेक्षा मैनालाई छ । ‘हामीले त उमेरका कारण काम गर्न सक्न छाड्यौँ । हाम्रो छोरी बुहारीहरुले सीप सिकेर कहिलेकाहीँ बुन्ने गरेका छन्’, उनले भनिन्, ‘बाबुबाजेको पेशालाई निरन्तरता दिन्छन् भन्ने आशा छ ।’

सरकारले  बूढीगण्डकी आयोजना अघि बढाउन नचाहेको भट्टराईको आरोप

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेपाल (समाजवादी पार्टी)का अध्यक्ष डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकैरुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।  

शनिबार गोरखामा आयोजित पत्रकार भेटघाटमा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्नसक्ने खतरा रहेको बताए ।

उनले भने, “नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बूढीगण्डकी बहुउद्देश्यीय आयोजनाका रुपमा बन्नै सक्दैन । प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले कल्पना जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन । यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ ।”

बूढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाउन बूढीगण्डकी विकास प्राधिकरण गठन गरेको निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

“बूढीगण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकियो मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाकारुपमा बन्छ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने, “नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन ।”

उनले वर्तमान सरकारले पनि बूढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेकोसमेत बताए । “मुख्य परियोजना बूढीगण्डकी परियोजना नै अलपत्र बन्दैछ”, पूर्वप्रधानमन्त्री भट्टराईले भने, “प्रधानमन्त्री पुष्पकमल दाहाल नै कुनै न कुनैरुपमा नौ वर्षदेखि सत्तामा हुनुहुन्छ, चाहे आफ्नो नेतृत्वमा होस् वा अरुको नेतृत्वमा तर आयोजना पटक्कै अगाडि बढाएको देखिएन ।”

गोरखालाई विकास र समृद्धिको मोडलकारुपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहाना रहेको भए पनि आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारले बिनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको बताए ।

हामीलाई हटाउन सजिलो छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने बताएका छन् । शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको ७ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले इतिहास, मुद्दा, आन्दोलन र जादुमय गतिविधिका कारण आफूले पूरै कार्यकाल सरकार चलाउने परिस्थिति देखिएको बताएका हुन् ।

उनले सानो संख्या छ भनेर चिन्ता गर्नुनपर्ने बताए । उनले भने, ‘हामीलाई हटाउन सजिलो छैन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ । थोरै छ भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन । जादुले अनेक गरेर मिलाइहाल्छ ।’ प्रधानमन्त्रीले तरिका मिले पूरै अवधि आफू प्रधानमन्त्री हुने बताए ।

उनले भने, ‘ढुक्कसँग काम गरे हुन्छ । मैले जे देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ ।’ उनले केही दिनपछि सरकार जाँदैछ भनेर पूरै कन्फ्युजन बनाउने कोसिस भएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताए ।

उनले आफू प्रधानमन्त्री भएदेखि नै यसप्रकारको हल्ला चलेको बताए । प्रधानमन्त्रीले भने, ‘जति दिन बसिन्छ, भ्रष्टाचारविरुद्धका गतिविधि गरेर, सामाजिक न्याय र जनताको सेवा गरेर डेढ वर्ष भयो बसेकै छु ।’

इटालीमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको सङ्ख्या ३४ पुगेको पुष्टि गरेको छ।

“यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुङ्गा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए“, तटरक्षकले विज्ञप्तिमा भनेका छन् ।

बेपत्ता व्यक्तिहरूको लागि हवाई एवम् समुद्री खोजी जारी रहेको बताएको छ ।

तटरक्षकले बिहीबार महिला र बालबालिका सहित १२ जनाको शव फेला परेको जानकारी गराएको हो ।

यस हप्ताको सुरुमा मेडिकल च्यारिटी डक्टरस विदाउट बोर्डर्स (एमएसएफ) ले कम्तीमा २६ जना बालबालिका सहित ६६ जना बेपत्ता भएको जानकारी दिएको थियो।

जर्मन सहायता समूह ’रेस्क्युशिप’का अनुसार सोमबार इटालीको लम्पेडुसा टापुमा डुबेको आप्रवासी डुङ्गामा १० जनाको शव फेला परेको थियो।

संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनका अनुसार गत वर्ष भूमध्यसागरमा करिब ३ हजार १५५ आप्रवासीको मृत्यु र बेपत्ता भएका थिए । यस वर्ष अहिलेसम्म एक हजार भन्दा बढीको मृत्यु र बेपत्ता भएका छन्।

उत्तरी अफ्रिका र इटाली र माल्टा बीचको क्षेत्र भूमध्यसागर विश्वको सबैभन्दा घातक आप्रवासन मार्ग हो ।

कांग्रेसमाथि संविधान संरक्षण गर्नुपर्ने जिम्मेवारी छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् । शनिबार नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशका बारेमा चिन्ता र चिन्तन गर्ने भएका कारण आजको दिनमा नेपाली कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका हुन् ।

देशको ठूलो पार्टी भएकै कारण नेपाली कांग्रेसमाथि संविधानको संरक्षण गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।
उनले भने, ‘आजको दिनमा कांग्रेस मात्रै नेपालको राष्ट्रिय पार्टी हो । देशको बारेमा चिन्तन गर्ने कांग्रेस बाहेक अरु कुनै पार्टी छैनन् । देशको एक राष्ट्रवादी पार्टी भएको कारण कांग्रेसको जिम्मेवारी पनि अरुभन्दा बढी छ । संविधानलाई जोगाउनुपर्ने बाध्यता छ । संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन् । यसलाई संशोधन गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा छन् ।’

प्रदेश सरकारलाई राजनीतिक दलहरुले हलुका रुपमा लिएकै कारण प्रदेशहरुमा अस्थिरता भएको उनले बताए । उनले संविधानको अभ्यास गर्दैजाँदा देशको निर्वाचन प्रणाली पनि कमजोर भइसकेको उल्लेख गरे ।

युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण

रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात “ठूलो“ आक्रमण गरेको युक्रेनले बताएको छ ।
जापोरिझिया र लिभिभ क्षेत्रका (अपरेटर) युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यसले विगत तीन महिनामा ‘ऊर्जा पूर्वाधार सुविधाहरूमा आठौँ ठुलो, संयुक्त आक्रमण’ भएको बताएको छ । रूसी आक्रमणको दुई वर्ष भन्दा बढी, लक्षित मिसाइल र ड्रोन आक्रमणहरूले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाई किभलाई युरोपियन युनियनबाट उर्जा आयात गरी आपूर्ति गर्न बाध्य पारेको छ ।

युक्रेनी अधिकारीहरूले बिहीबार राति भएको ठूलो आक्रमणमा पावर स्टेसनसहित ऊर्जा पूर्वाधार क्षतिग्रस्त हुनुका साथै सात जना कर्मचारी घाइते भएको बताएका छन् ।

युक्रेनको सबैभन्दा ठुलो निजी ऊर्जा कम्पनी डिटिइकेले आक्रमणले यसको एउटा कारखानामा “गम्भीर क्षति“ भएको बताएको छ ।

रुसी आक्रमणले युक्रेनको आधा ऊर्जा क्षमता नष्ट गरेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । जेलेन्स्कीले यस हप्ता युक्रेनका सबै अस्पताल र विद्यालयहरूमा “सकेसम्म चाँडो“ सौर्य प्यानलहरू जडान गर्नुपर्ने बताए ।

गर्मीको समयमा बिजुलीमा प्रवाव पार्ने रुसी प्रयासहरू असफल गर्न अवाश्यक प्रयास गरिरहेको उनले बताएका छन् ।

डिटेकका प्रमुख कार्यकारी म्याक्सिम टिमचेन्कोले युक्रेनका पश्चिमी सहयोगीले ऊर्जा सञ्जालको रक्षा गर्न सैन्य सहायता प्रदान नगरे यो जाडोमा गम्भीर सङ्कटको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

जेलेन्स्कीले युक्रेनका सहयोगीलाई देशको महत्त्वपूर्ण पूर्वाधारको रक्षा गर्न थप हवाई रक्षा प्रणाली पठाउन बारम्बार आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले वासिङ्टनले किभमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिने तथा अन्य देशहरूले अर्डर दिएको जानकारी दिए ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा अमेरिकाको कदमका लागि आभार व्यक्त गरेका छन् । यसका अतिरिक्त उनले हवाई रक्षा क्षमताले युक्रेनी सहरहरू र नागरिकको सुरक्षा गर्ने उल्लेख गरेका छन् ।