`

हर्क गुरुङ स्मृतिमा उद्यान बनाउन लमजुङ समाज युकेद्वारा १५ लाख सहयोग

Nepal One HD ९ असार २०८१ ११:२१
समाचार

लमजुङ । भूगोलविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. हर्क गुरुङ जन्मेको गाउँमा उद्यान निर्माण गर्न लमजुङ समाज यूकेले १५ लाख रुपैयाँ सहयोग गरेको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ मा डा. गुरुङको स्मृतिमा उद्यान निर्माण गर्न समाजले डा. हर्क गुरुङ प्रतिष्ठानलाई १५ लाख रुपैयाँ दिएको हो।

मर्स्याङ्दी गाउँपालिकाको ताङ्लीचोकस्थित डा. हर्कको समाधिस्थलमा शनिबार कार्यक्रम आयोजना गरी समाजका अध्यक्ष दलबहादुर गुरुङले प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङलाई १५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

चेक हस्तान्तरण गरेपछि समाजका अध्यक्ष गुरुङले प्रतिष्ठानका नाममा सन् २०२३ डिसेम्बर ११ मा बेलायतमा ‘च्यारिटी’ शो गरेर प्रतिष्ठानका लागि उक्त रकम सङ्कलन गरिएको जानकारी दिए।

प्रतिष्ठानका अध्यक्ष गुरुङले उद्यान निर्माणका लागि १५ देखि २५ रोपनी जग्गा आवश्यक परेको बताए। प्रतिष्ठानका अनुसार बेलायतमा रहेको उक्त संस्थासहित चारवटा संस्थाबाट हालसम्म २७ लाख ५० हजार रुपैयाँ प्राप्त भएको छ। स्वदेश र विदेशबाट गरी हालसम्म रु ४० लाख सहयोग प्राप्त भएको छ।

विश्व वन्यजन्तु कोषले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर काठमाडौँ फर्कने क्रममा २०६३ असोज ७ गते शनिबार ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटना हुँदा डा. गुरुङसहित २४ जनाको मृत्यु भएको थियो। 


प्रतिक्रिया