`

बूढानीलकण्ठ बैठकमा माधव नेपाल सहभागी भएपछि सत्तापक्षमा हलचल, झलनाथसँग प्रचण्डको छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री खनाल बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको नेता खनालको सचिवालयले जनाएको छ ।

भेटमा सरकारलाई सुदृढ बनाउने विषयमा पनि छलफल भएको बताइएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी दलको बैठकमा सहभागी भएपछि प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो । बुधबार विपक्षी दलको बैठकमा सहभागी भएका अध्यक्ष नेपालले मधेस सरकार जोगाउन एकमत हुने विषयमा छलफल भएको थियो ।

बुधबार देउवा निवास बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको थियो । सरकारमा सहभागी एकीकृत समाजवादी विपक्षी दलको बैठकमा सहभागी भएपछि प्रधानमन्त्री सशंकित भएका छन् । एकीकृत समाजवादीभित्र सरकार छाड्नुपर्ने मत बलियो भएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले सरकार संचालनमा एकलौटी निर्णय गरी आफूहरुलाई वेवास्ता गरेको भन्दै एकीकृत समाजवादीका नेताहरु असन्तुष्ट देखिएका छन् ।

सुनको मूल्य एकैदिनमा दुई हजार तीन सयले बढ्यो

काठमाडौँ / स्थानीय बजारमा पहेँलो धातुको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा नै रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुन भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा रु एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु ७० ले वृद्धि भएको छ । बुधबार रु एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ

जुन ५ मा स्टारसिपको चौथो उडान परीक्षण सुरु गर्ने स्पेसएक्सको योजना

स्पेसएक्सले नियामक अनुमोदनको लागि बाँकी रहेको जुन ५ सम्ममा आफ्नो विशाल स्टारसिप रकेटको चौथो उडान परीक्षण गर्ने योजना बनाएको कम्पनीले जनाएको छ । उक्त योजना नियामक अनुमोदनका लागि ‘पेन्डिङ’ मा छ । 
   
स्पेसएक्सले मार्चमा स्टारसिपको तेस्रो उडान परीक्षण गरेको थियो, तर कम्पनीले हिन्द महासागरमा आफ्नो योजनाबद्ध स्प्लासडाउन स्थानमा पुग्नुअघि नै गाडीसँग सञ्चार गुमाएको थियो ।

    स्पेसएक्सले तेस्रो उडान परीक्षणले द्रुत रूपमा भरपर्दो पुनः प्रयोज्य रकेटहरूको भविष्यतर्फ ठूलो प्रगति गरेको जनाएको छ । परीक्षणले अन्तरिक्षबाट पहिलो स्टारसिप पुनःप्रवेश, अन्तरिक्षमा पहिलो पटक स्टारसिपको पेलोड ढोका खोल्ने र बन्द गर्ने तथा सफल प्रोपेलेन्ट स्थानान्तरण प्रदर्शनसहित धेरै रोमाञ्चक कार्यहरू पूरा गर्यो ।

    चौथो उडान परीक्षणले कक्षा प्राप्त गर्नेदेखि स्टारसिप र सुपर हेभीको पुनः प्रयोग गर्ने क्षमता प्रदर्शन गर्न केन्द्रित हुने स्पेसएक्सले बताएको छ । प्राथमिक उद्देश्यहरू सुपर हेभी बुस्टरका साथ मेक्सिकोको खाडीमा ल्यान्डिङ बर्न र सफ्ट स्प्ल्यासडाउन कार्यान्वयन गर्ने र स्टारसिपको नियन्त्रित प्रविष्टि प्राप्त गर्ने हो ।

    उडान–४ ले अघिल्लो उडान परीक्षण जस्तै समान ट्र्याजेक्टोरी उडान गर्नेछ । स्टारसिपलाई हिन्द महासागरमा स्प्लासडाउन गर्न लक्षित छ ।

    स्पेसएक्सको स्टारसिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा स्टारसिप भनेर चिनिन्छ । यसले एक पूर्ण पुनः प्रयोज्य यातायात प्रणाली प्रतिनिधित्व गर्दछ जुन चालक दल र कार्गो दुवैलाई पृथ्वीको कक्षा, चन्द्रमा, मङ्गल र त्यसभन्दा बाहिर लैजान डिजाइन गरिएको हो ।

नेपाल प्रहरीका २० जना एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रिस्तरीय निर्णयबाट २० जना एसएसपीको सरुवा गरेका हुन् ।

भिमफेदीमा कार दुर्घटनामा तीन जनाको मृत्यु

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा बुधबार अपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार अनियन्त्रित भएर सडकबाट दुई सय ५० मिटर तल खसेको थियो ।

कारमा रहेका पाँच जनामध्ये एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनका तीन महिने छोरी अर्जिता रहेका छन् । मृतक अर्काको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गृह मन्त्रालयद्वारा १६ जिल्लाका सिडिओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णय अनुसार सहसचिवहरुको सरुवा गरिएको हो । जसमा १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजिरी जमानीमा रिहा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार रिहा गरेको हो ।

अध्यक्ष सिरोहियाका कानुनी सल्लाहकार रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको जानकारी दिए । थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको उनले बताए ।

अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा ल्याएको थियो । अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।

मधेस सरकार जोगाउने विपक्षी दलको प्रस्तावमा माधव नेपाल सकारात्मक

काठमाडौं । मधेस प्रदेश जोगाउन विपक्षी दल एकमत हुने भएका छन् । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको विपक्षी दलको बैठले मधेस प्रदेश सरकार जोगाउन एकैठाउँमा उभिने निर्णय गरेका हुन् ।

छलफलमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताए । उनले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने बताए ।

उनले प्रतिपक्ष राजनीतिक दलहरू एक हुने सहमति भएको बताए । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले बैठकमा मधेस सरकारलगायतका विषयमा छलफल भएको जानकारी दिए ।

उनले मधेस सरकार मात्र नभई देश नै गन्जागोल भएको बेला कसरी निकास दिने भन्ने विषयमा छलफल भएको बताए । बैठकमा कांग्रेस सभापति देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर सहभागी थिए ।

मधेसमा केन्द्रकै गठबन्धन अनुसार सरकार बनाउन एमाले र माओवादी केन्द्रले गरेको प्रयास एकीकृत समाजवादीले साथ नदिएपछि सफल हुन सकिरहेको छैन । मुख्यमन्त्री यादवले २३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

नेपाल प्रहरी अस्पताल र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पतालबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा उपेन्द्र देवकोटा फाउन्डेसन बाँसबारीबीच न्यूरो सेवा आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी अस्पतालका मेडिकल निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंह र उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले समझदारीपत्रमा हस्ताक्षर गरे । त्यसअवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा मधु दिक्षित देवकोटाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले समझदारीबाट बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका परिवारलाई न्यूरोसम्बन्धी उपचारमा थप सहजता हुने विश्वास व्यक्त गरे ।

“समझदारीका लागि फाउन्डेसनलाई धन्यवाद छ, अब यसको कार्यान्वयनमा जोड दिनुपर्छ । त्यसका लागि दुवै निकायको समन्वय र सहकार्यमा दुवै पक्षलाई लाभ हुने गरी अगाडि बढाउनुपर्छ । साथै नेपाल प्रहरी भविष्यमा पनि यस्ता सेवामूखी काममा हातेमालो गर्न तयार छ”, महानिरक्षक कुँवरले भने ।

कार्यक्रममा फाउन्डेसनका कार्यकारी अध्यक्ष प्राडा देवकोटाले समझदारीबाट गुणस्तरीय सेवा, शिक्षा र अनुसन्धानका काममा सहयोग पुग्ने बताउनुभयो । उहाँले फाउण्डेसनसँग सहकार्यका लागि नेपाल प्रहरीको नेतृत्व र प्रहरी अस्पताल व्यवस्थापन पक्षलाई धन्यवाद दिइन् ।

फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत गुरूङले समझदारीलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालको न्यूरो क्षेत्रमा विकास र सम्बन्धित विषयमा तालिम दिन फाउन्डेसन तयार रहेको बताए ।

सम्झौताअनुसार अस्पतालको सेवा सुविधाअन्तर्गत विशेषज्ञ सेवाहरू आदानप्रदान गर्ने, आवश्यकताको आधारमा तालिम तथा सेमिनारमा सहभागी गराइने, बहालवाला प्रहरी कर्मचारी र पूर्वप्रहरी कर्मचारी तथा तिनका आश्रित परिवारलाई औषधि र बहिरङ्ग सेवा (ओपिडी), बेड भर्ना, शल्यक्रियालगायत सेवामा हाल लिइरहेको दरमा ७५ प्रतिशत शुल्क तथा नेपाल प्रहरी अस्पतालबाट रिफर हुने अन्य जोकोहीलाई ती सेवामा ९० प्रतिशत शुल्क मात्र न्यूरो अस्पतालले लिने उल्लेख गरिएको छ ।

साथै नेपाल प्रहरी अस्पतालबाट रिफर हुने बहालवाला र सेवा निवृत्त प्रहरी, तिनका परिवारको नेपाल प्रहरी अस्पतालबाट उपलब्ध रिपोर्टहरू न्यूरो अस्पतालले स्वीकारी उपचार गर्ने लगायतका सुविधा उपलब्ध हुनेछन् । सम्झौता पाँच वर्षसम्म लागू हुनेछ ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूलगायत उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल तथा फाउन्डेसनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

गण्डकीका नवनियुक्त मुख्यमन्त्री र दुईमन्त्रीले लिए शपथ

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार अपरान्ह मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री पाण्डेले दुई जना मन्त्री नियुक्त गरेका छन् । अर्थमन्त्रीमा टकराज गुरुङ र सामाजिक विकास मन्त्रीमा विन्दुकुमार थापा नियुक्त भएका छन् । उनीहरुले पनि शपथ लिएका छन् ।

लमजुङबाट प्रदेश सभामा निर्वाचित गुरुङ कांग्रेस लमजुङका सभापति हुन् भने थापा कास्कीबाट निर्वाचित हुन् । कांग्रेस गण्डकी संसदीय दलका नेता पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता खगराज अधिकारीले विश्वासको मत पाउन नसकेको ठहर गर्दै सर्वोच्चले पाण्डेलाई सोही धाराको उपधरा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

ठगहरूको प्रवेशले ठूला सहकारीहरू संकटग्रस्त बनेः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलत तत्वले सहकारीलाई माध्यम बनाएर ठगी गरेको बताएका छन् । बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गैरसहकारीवालाहरु, ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही ठूला सहकारी बदनाम भएको बताएका हुन् ।

उनले भने, ‘अहिले सहकारीमा गैरसहकारीवालाहरु, सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरू प्रवेश गरेको हुनाले केही सहकारी ठूला सहकारी बदनाम भएको छ । त्यहाँ समस्याग्रस्त भएको छ । ती संकटग्रस्त छन् । तर, साँच्चैको सहकारीहरू संकटग्रस्त हुँदैनन्, आफ्नो नियम पालना गरेर अगाडि बढ्नुपर्छ, कुनै समस्या हुँदैनन् ।’

उनले अहिलेको व्यवस्था परिवर्तन भएपनि अवस्था जहाँको त्यहीँ छ भन्ने गलत भाष्य निर्माण भइरहेको बताए । विगतमा भएका संघर्ष, लडाइँलाई अहिलेको पुस्ताले मूल्यांकन गर्न नसकेको उनको भनाई थियो ।

उनले भने, ‘अहिले अवस्था जहाँको त्यहीँ छ भन्ने होइन । एउटा गलत शब्दावलीको प्रयोग भइराखेको छ अहिले नेपालमा व्यवस्था परिवर्तन भयो, अवस्था जहाँको त्यहीँ छ भन्ने । भर्खर आएको केटाकेटीले के देख्नु के, अवस्था कहाँ थियो, कहाँबाट कहाँ आइपुगियो भनेर ? कति संघर्ष गरेर, कति लडाइँ गरेर कुन अवस्था पार गरेर यहाँसम्म कुन बलिदान दिएर यहाँ आइएको छ, अवस्था उस्ता उस्तै रे । कहाँ छ उस्ता उस्तै छ ? महिलाको उपस्थिति संसदमा ३३ प्रतिशत छ ।’

विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ

कालापत्थर (सोलुखुम्बु) । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा बुधबार पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन् ।

हास्य कलाकारको प्रस्तुतिसहित हास्य कलाकार शिव शङ्कर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए । मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए ।

अमेरिकाले सन्दीपलाई भिसा नदिएको भन्दै समर्थकहरुद्वारा प्रदर्शन

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–ट्वान्टी विश्व कप खेल्न जान अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा भेला भएर सन्दीपका समर्थकहरुले दूतावासलाई दवाव दिन विरोध प्रदर्शन गरेका हुन् ।
लामिछानेलाई भिसा नदिए नेपालस्थित अमेरिकी राजदूतावासमा धर्ना बस्ने समेत उनीहरुको चेतावनी थियो ।

उनीहरुले लामिछानेलाई टी–२० विश्वकपकपबाट बञ्चित गराउने सडयन्त्र भइरहेको उल्लेख गर्दै उनलाई अमेरिका पठाउन सरकारीस्तरबाट पहल हुनुपर्ने बताए ।

सन्दीप लामिछाने भिसाका कारण अमेरिका उड्न नसकेपनि नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी परिवारसहित आज अमेरिकातर्फ प्रस्थान गरेका छन् ।

नयाँ बजेट कार्यान्वयन भएसँगै आर्थिक सुधारले गति लिन्छः प्रधानमन्त्री

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा भएसँगै आर्थिक सुधारका कार्यक्रमले गति लिने बताएका छन् । 

बुधबार चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन गरेपछि प्रधानमन्त्रीले उत्पादन, उत्पादकत्व र रोजगारी प्रवद्र्धन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको बताए ।

“गणतन्त्र स्थापनापछि धेरै उपलब्धि हासिल गरेका छौँ, पूर्वाधारदेखि शिक्षा स्वास्थ्यलगायत सार्वजनिक क्षेत्रसम्म गुणात्मक परिवर्तन भएको छ,” प्रधानमन्त्रीले भने, “सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरेको छ ।”

उनले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई तल्लो तहका जनताले अनुभूत गर्ने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिए ।

“प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ । त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,” प्रधानमन्त्री दाहालले भने । उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए । 

देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गरे ।

“शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्र कतिपय देशहरू हरेक क्षेत्रमा फड्को मार्न सफल भएका छन्,” प्रधानमन्त्रीले भने, “यही वास्तविकतालाई मनन गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ र गणतन्त्र प्राप्तिको छोटो अवधिमा स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार भएको छ ।” 

विसं २०७२ को भूकम्पले धराशायी भएका भौतिक संरचना तथा चौतारा अस्पतालका संरचना पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले नयाँ भवन निर्माण भएसँगै अस्पतालको खुलाचौरमा त्रिपालभित्र उपचार गर्नुपर्ने बाध्यता अन्त्य भई सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे । 

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

काठमाडौँ / राष्ट्रदेव भगवान पशुपतिनाथका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

उनले भने, “ भक्तजनले चारवटै ढेकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यले आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका बिहान ४ बजे खोलिने छ ।” यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

उत्तर कोरियाले फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाएपछि..

उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको बुधबार संचारमाध्यमले जनाएका छन् । सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको छ ।

उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको व्यापक तस्बिरहरू दक्षिण कोरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए ।

“उत्तर कोरियाली प्रचारका लागि पठाइएका हुनसक्ने पर्चा र अज्ञात वस्तुहरू ग्योन्गी–गाङवोन सीमा क्षेत्रमा पहिचान गरिएको छ र सेनाले अनुसन्धान गरिरहेको छ,” सियोलका सेना प्रमुखले भने ।

“नागरिकहरू बाहिरी गतिविधिहरूबाट टाढा रहन, कुनै पनि अज्ञात वस्तुहरूको सम्पर्कमा नआउन र यस्ता घटनाबारे नजिकको सैन्य आधार वा प्रहरी कार्यालयलाई जानकारी दिन भनिएको दक्षिण कोरियाली अधिकारीबाट एएफपीले प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “उत्तर कोरियाको यसप्रकारका कार्यहरूले स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दछ र हाम्रा जनताको सुरक्षालाई गम्भीर खतरा पुर्याउँछ, केही बेलुनहरूमा फोहोरजस्तो देखिने वस्तु रहेको र सेनाले जाँच गरिरहेको छ । हामी उत्तर कोरियालाई आफ्नो अमानवीय र निम्न–वर्गका कार्यहरू तुरुन्तै रोक्न कडा चेतावनी दिन्छौं ।”

कहिलेकाहीँ दक्षिण कोरियालीहरूले पनि किम जोङ–उन शासन विरोधी प्रचारका लागि पर्चा र उत्तरी सिमानामा बस्ने मानिसहरूका लागि पैसा राखिएका बेलुनहरू उत्तरतर्फ छोड्ने गरेका थिए ।

प्योङयाङ सम्भवतः कडा रूपमा नियन्त्रित समाजमा बाहिरी जानकारीको आगमनले किम शासनका लागि खतरा निम्त्याउन सक्छ भन्ने चिन्ताको कारण लामो समयदेखि दक्षिणको यस्तो प्रचार अभियानहरूबाट क्रोधित भएको र केही समय पहिल बदला लिने चेतावनीे दिएको थियो ।

रक्षा उपमन्त्री किम काङ् इलले विज्ञप्तिमा भनेका छन्, “सीमा क्षेत्रहरू नजिकै आरओकेद्वारा बारम्बार पर्चाहरू र अन्य फोहोर छरेको बदलामा यस्तै कारबाही गरिनेछ । फोहोर चाँडै सीमा क्षेत्र र दक्षिण कोरियाको भित्री भागमा छरिनेछ र तिनीहरूलाई हटाउन कति मेहेनत आवश्यक छ भन्ने प्रत्यक्ष अनुभव हुनेछ ।”

सन् १९५०–५३ को कोरियाली युद्ध अन्त्यका लागि गरिएको युद्धविराम समाप्त भएदेखि दुवै राष्ट्रहरू प्राविधिक रूपमा युद्धमा छन् ।

पाकिस्तानमा बस दुर्घटना हँदा २८ जनाको मृत्यु, २० घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्लाको बिस्मिया क्षेत्रमा ५० जनाभन्दा बढी यात्रु बोकेको बस सडकदेखि केही फिट तल खोल्सामा खसेको थियो । दुर्घटनामा बसमा सवार महिला तथा बालबालिकासहित २८ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरी तथा उद्धार टोली घटनास्थलमा पुगी मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेको प्रहरीले जनाएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का चिकित्सकहरूले गरेका छन् ।

यसैगरी एक अर्को घटनामा, तुर्बत सहरबाट दक्षिणपश्चिम प्रान्तीय राजधानी क्वेटा जाँदै गरेको बस अत्यधिक गतिमा रहेको बसको टायर फुटी केही यात्रुहरू घाइते भएका प्रहरीले जनाएको छ ।

एमालेको राष्ट्रिय महिला भेला सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दुईदिने ‘राष्ट्रिय महिला भेला’ सुरु भएको छ । भेलाको बुधबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् । कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु उपस्थित छन् ।

भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता, पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुको तर्फबाट स्ववियुमा निर्वाचित महिला प्रतिनिधि गरी करिब पाँच हजारको सहभागिता रहेको छ ।

विसं २०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेद्कारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को सङ्कल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो । भेलाको संयोजन एमालेको जनसङ्गठन संयन्त्रले गरेको छ ।

बाहिर बजारमा हल्ला आएको भन्दा कम आकारको बजेट आयो : पूर्वगभर्नर क्षेत्री

काठमाडौँ / नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले बाहिर बजारमा हल्ला आएको भन्दा कम आकारको बजेट आएको बताएका छन् । अगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेटलाई लिएर रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अर्थविद्हरुसँग साक्षत्कार कार्यक्रममा क्षेत्रीले सो कुरा बताएका हुन् ।

उनले राजश्वको लक्ष्यसमेत चालु आर्थिक वर्षको भन्दा कम रहनु राम्रो पक्ष भएको भन्दै ऋण सही ठाउँमा उपयोग हुनुपर्ने बताए । सही ठाउँमा ऋण प्रयोग नभएको खण्डमा आगामी दिनमा अर्थतन्त्रमा असर देखिने उनको भनाइ छ । उनले सरकारले अहिले औषधी प्रयोजनको निमित्त गाँजा खेतीका बारेमा पनि बजेट समावेश गर्नु सकारात्मक भएको धारणा राखे । उनले सरकारले नेपाल वायु सेवा निगमलाई अभिभावकीय भूमिका प्रदान गर्नुपर्ने र भ्रष्टाचारलाई निर्ममता पूर्वक नियन्त्रण गर्नुपर्ने बताए ।

यस्तै पूर्व मुख्यसचिव डा.विमल कोइरालाले बजेट एकदमै राम्रो आओस् र प्रशंसा गर्न पाइयोस् भनेपनि सोचेजस्तो नआएको बताए । बजेट बनाउने हो भने साढे १७ देखि १८ खर्बभन्दा माथि जान नहुने उनको भनाइ छ । उनले अहिले आएको बजेटका आधारमा सार्वजनिक खर्च व्यवस्थापन गर्न नसकिने र वित्त सन्तुलनमा प्रतिकूल प्रभाव पर्ने आफ्नो आँकलन रहेको धारणा राखे ।

अर्थविद् डिल्लीराज खनालले निरन्तरता र नयाँपनको अन्तर्विरोधबाट बजेट आएको टिप्पणी गरे । बजेटले भरोसा र विश्वास जगाएर लक्ष्य पूरा गर्न नसक्ने भन्दै नेपालको अवस्था र स्थिति, सामथ्र्यका आधारमा अहिलेको बजेट यथार्थभन्दा टाढा रहेको बताए । राजश्व कम अनुमान गरे पनि स्रोत सुनिश्चिता नहुँदा उठ्छ कि उठ्दैन भन्ने प्रश्नचिन्ह कायमै रहेको उनको धारणा छ ।

कार्यक्रममा अर्थविद् डा.चन्द्रमणि अधिकारीले बजेटको उद्देश्य र प्राथमिकतामा हेर्दा विमति राख्नुपर्ने केही कुरा नरहेको बताए । उनले अर्थतन्त्रको सूचक, उत्पादन, उपभोग, खर्च र आयको स्तर सबै संकुचनमा रहेको भन्दै लक्ष्य अनुसारको राजश्व उठ्नसमेत गाह्रो रहेको बताए ।

सवारी प्रदूषण नियन्त्रणमा कडाइ गर्दै चन्द्रागिरि, निःशुल्क सवारी साधन परीक्षण शिविर सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सवारी प्रदूषण नियन्त्रण गर्न कडाइ गर्ने भएको छ । यसका लागि नगरपालिकाले यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरी घुम्ती सवारी प्रदूषण परीक्षणलाई उच्च प्राथमिता दिएको छ ।

यस्ता परीक्षणमा ‘फेल’ भएका सवारी साधनलाई नगर क्षेत्रमा प्रयोग गर्न नदिनेसम्मको सोच नगरपालिकाले बनाएको छ । साथै सवारी परीक्षण कार्यालय, ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा नगरपालिकाले पेट्रोल, ग्यास र डिजेलबाट चल्ने सवारी साधनमा ‘हरियो स्टिकर’ अनुगमनलाई तीव्रता बनाउने जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले वायु प्रदूषणलाई विश्वकै प्रमुख वातावरणीय जोखिमका रुपमा लिएको छ । स्टेट अफ ग्लोबल एयर २०२० ले सन् २०१९ मा नेपालमा वायू प्रदूषणका कारण ४२ हजार एक सयजनाको अकालमा मृत्यु भएको जनाएको थियो ।

तीमध्ये काठमाडौंमा मात्र पाँच हजार ८० जना रहेका थिए । कचौरा आकारको काठमाडौं उपत्यकाको द्रुत सहरीकरणले गर्दा वायु प्रदूषणको उच्च जोखिममा रहेको जनाइएको छ । वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारी साधनबाट निस्कने धुवाँलाई लिइन्छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आजदेखि सुरु भएको निःशुल्क सवारी साधन परीक्षण शिविरको शुभारम्भ गर्दै वायु प्रदूषणको प्रमुख कारक तत्वमा सवारी साधनबाट निस्कने धुवाँलाई नियन्त्रण गर्न नगरपालिकाले उच्च प्राथमिता दिँदै आएको जानकारी दिए ।

उनले भने, ‘कलङ्की नागढुङ्गा राजमार्गमा आवतजावत गर्ने मालवाहकलगायत अन्य सवारी साधनबाट निस्केको कालो धुवाँले नगरक्षेत्रमा वायु प्रदूषण बढायो । यसलाई नियन्त्रण गर्न आवश्यक छ । यसमा सङ्घीय सरकारको साथ र सहयोग आवश्यक हुन्छ । हामीले पहिलो चरणमा सवारी प्रदूषण परीक्षणलाई प्राथमिकता दिएका छौँ ।’

नगर क्षेत्रमा वातावरण स्वच्छ राख्न आवश्यक विभिन्न कार्यक्रम सञ्चालन भइराखेको र सवारी साधन परीक्षण शिविरलाई नियमिता दिइने जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ तथा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सवारी साधनबाट निस्केको धुवाँलाई नियन्त्रण गर्न सकिएमा मात्र वायु प्रदूषणको असर न्यूनीकरण गर्न सकिन्छ भनिन् ।

कार्यक्रममा वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले सवारी साधन परीक्षण शिविरलाई निरन्तरता दिइने जानकारी दिए। नगरपालिकाले गत वर्ष पनि सवारी साधन परीक्षण शिविरलाई सञ्चालन गरेको थियो ।

सवारी परीक्षण कार्यालय टेकुका वरिष्ठ प्राविधिक योगनारायण महेताले सवारी परीक्षण कार्यालयले घुम्ती शिविरमार्फत कार्यक्रममा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, स्वच्छ हावा कार्यक्रमका प्रमुख भूषण तुलाधारले वायु प्रदूषणको प्रमुख कारक तत्वमा रहेको सवारी साधनबाट निस्केको धुवाँ प्रमुख रहेको जानकारी दिनुहुँदै यसलाई नियन्त्रण गर्न सवारी परीक्षणलाई तीव्रता दिनुपर्छ भने । उनले भने, ‘चन्द्रागिरि नगरपालिकाले स्वच्छ हावा कायम गर्न अपनाएको नीति अन्य नगरपालिकाले पनि सिक्न जरुरी हुन्छ ।’

मानव स्वास्थ्यका अवस्थाका बारेमा जाँच गर्न स्वास्थ्य शिविर आयोजना गरिएझैँ स्वच्छ हावा कायम गर्न सवारी साधन परीक्षण शिविर सञ्चालन गर्नुपर्ने उनले सुझाव दिए । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिमा स्वच्छ हावा परियोजना सञ्चालित छ । परियोजनाको मुख्य ध्येय काठमाडौं उपत्यकाको वायुको गुणस्तरमा सुधार गर्न टेवा पुर्याउने रहेको छ । 

बजेटले शेयर बजारमा निराशा, उच्च अंकको गिरावट

काठमाडौं । बजेट भाषणको भोलिपल्ट शेयर बजार उच्च अङ्कले घटेको छ । बुधबार शेयर बजार नेप्से २३ दशमलव ८१ अङ्कले घटेर दुई हजार ८९ दशमलव ४२ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, बैंकिङ समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर झन्डै साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन युनिलिभर नेपाल, कालिञ्चोक दर्शन, अपर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । आज बजार घटे पनि कारोबार रकम भने बढेको छ ।

आज तीन सय १४ वटा कम्पनीको एक करोड सात लाख कित्ता शेयर चार अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

छेन्दुस्थित नेपाली महावाणिज्यदूतावासमा मनाइयो गणतन्त्र दिवस

काठमाडौँ । १७ औं राष्ट्रिय गणतन्त्र दिवस मङ्गलबार चीनको सिचुवान प्रान्तको राजधानी छेन्दुस्थित नेपाली महावाणिज्यदूतावासमा विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ ।

नेपालको राष्ट्रिय झन्डा फहराउँदै राष्ट्रिय गान र ज्ञातअज्ञात सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर प्रारम्भ भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसका अवसरमा जारी गरेको बेग्लाबेग्लै शुभकामना मन्तव्य वाचन गरिएको थियो ।

त्यस अवसरमा महावाणिज्यदूत सुरेश राउतले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले गरेको लामो सङ्घर्ष, त्याग र उत्सर्गको स्मरण गर्दै गणतन्त्रका उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिनुभएको उक्त वाणिज्यदूतावासले आज जनाएको छ ।

उनले गणतन्त्रका उपलब्धिलाई रक्षा गर्दै त्यसलाई थप संस्थागत र समयानुकूल तुल्याउन स्वदेश र विदेशमा रहेका सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा महावाणिज्यदूतावासका कर्मचारी, महावाणिज्यदूतावासको क्षेत्राधिकार सिचुवान, छोङछिङ कुइचोमा बसोबास गर्ने नेपाली समुदाय र केही चिनियाँ नागरिकको पनि उपस्थिति थियो । सोही अवसरमा विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा तीन दिनसम्म साँझ दीपावली गरेर आजसम्म मनाइँदै छ ।

बजेटले आशाको सञ्चार गरेको छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताएका छन् ।

बुधबार रासस केन्द्रीय कार्यालयमा समसामयिक विषयमा संवाद गर्दै पूर्वप्रधानमन्त्री खनालले विगतमा बजेट जनताका आमूलपरिवर्तनका अपेक्षा र चाहनालाई सम्बोधन नगरी आउने गरेकामा यस पटक भूमिसुधार, कृषि क्रान्ति, सहकारीकरण, औद्योगिकीकरण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा प्राथमिकतासहित आएको प्रतिक्रिया दिए ।

सङ्घीय संसद्को संयुक्त बैठकमा मङ्गलबार अर्थमन्त्री वर्षामान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गरेका थिए । खनालले भने, “सरकारको नीति तथा कार्यक्रम र बजेटले गरिबी उन्मूलन, रोजगारी सिर्जना र युवाको विदेश बहिर्गमन रोक्ने कार्यक्रम ल्याएको छ । यसमा केही नवीनता छ । बजेटले सकारात्मक एवं आशा सञ्चार गरेको छ ।”

उनले आफूहरु राजनीतिक स्थिरता र समृद्धिका पक्षमा रहेको उल्लेख गर्दै बजेटमा भएका राम्रा कार्यक्रमको कार्यान्वयन पक्षको सफलतामा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

गुच्चाको गोली लागेपछि गाउँमा बाँदर देखिन छोडे

गण्डकी ।  कास्कीको मादी गाउँपालिका–१२ लिपेयानीमा यतिखेर बाँदर देखिएका छैनन् । स्थानीय गिरेन्द्र गुरुङले आविष्कार गरेको बन्दुक पड्काएपछि यस क्षेत्रमा बाँदर देखिन छाडेका हुन् ।

‘रूखमा आएको बाँदर नियन्त्रणका लागि बन्दुक पड्काउँदा लागेको गुच्चाको गोलीले एउटा बाँदर घाइते भएको थियो,’ गुरुङले भने, ‘घाइते बाँदरसहित सम्पूर्ण बथान कराउँदै भागे त्यसपछि यस क्षेत्रमै देखापरेका छैनन् ।’

लामो समयदेखि बाँदरले खेतबारी मात्र हैन घरभित्र पसेर भण्डारण गरेको अन्न समेत खाने, महिला एवं बालबालिकालाई आक्रमण गर्न थागेपछि विकल्पका रूपमा दुई महिनाअघि बन्दुक बनाएको उनले बताए ।

‘हाते पम्प, ग्यास लाइटको कक, काठ, युपिभिसी पाइपलगायत सामानबाट निर्माण भएको बन्दुकको नालमा एउटा गुच्चा राखेर बीच भागमा रहेको प्वालमा सेनिटाइजरको सहायताले आगो लगाएर बन्दुक पड्काउँदा ३० देखि ४० मिटरसम्म निसाना लाग्दछ’, गुरुङले भने ।

उनका अनुसार चलाउन सुरक्षित रहेको बन्दुकको मूल्य सात हजारदेखि आठ हजारसम्म पर्दछ । गुलेली र डेढ वर्षअघि बनाएको ठूलो आवाज आउने बन्दुकलाई बाँदरले नटेरेपछि युट्युबको सहायताले गुच्चाको गोली लाग्ने यन्त्र निर्माण गरेको बताउँदै ४५ वर्षीय गुरुङले भने, ‘अहिले त बाँदर मलाई र बन्दुक देखेपछि टाढैबाट भाग्दछ । यसअघि घर नजिकै रहेको बन्तरीको फल पाकेपछि रूखैभरि बाँदर हुन्थ्यो । अहिले फल पाकेर कुहिने अवस्थामा पुग्दा पनि बाँदर देखिएका छैनन् ।’

विदेश जान मन नलागेपछि परिवारसँगै बसेर कृषि कर्म गर्दै आएका गुरुङले बन्दुक मात्र हैन हाते ट्र्याक्टर, मोटरसाइकल मर्मतदेखि खिर्रोको काठको सारङ्गी समेत बनाउँदै आएका छन् ।

‘बारीमा लगाएको बाली लाखुले खाने र नोक्सानी गरेर दुःख दिएको थियो । यस वर्ष भने बन्दुक पड्काएपछि बारीमा लगाएको काँक्रो राम्रो उत्पादन दिएको छ’, स्थानीय रामकुमारी गुरुङले भनिन् । उत्पादित काँक्रो आफूले खाएर बचेको बिक्री गर्दा १६ हजार आम्दानी भएको उनले जानकारी दिइन् ।

रामकुमारीले भनिन्, ‘विगतमा काँक्रा किनेर खानुपर्ने अवस्था थियो, गिरेन्द्रले बनाएको बन्दुक पड्काएपछि बाँदर देखिएको छैन बन्दुकले राम्रो काम गरेको छ ।’

उनको बारीमा यतिखेर काँक्रासहित खुर्सानी, बोडी, घिरौँला, करेलालगायत लहरे बाली फस्टाएका छन् । मादी–१२ का वडासदस्य मिलन ढकालले बाँदरले किसानलाई निकै सास्ती दिएकाले गुरुङले आविष्कार गरेको बन्दुकको परीक्षण गरेर सफलताका आधारमा विस्तार गर्ने सोच बनाइएको बताए ।

उनले भने, ‘बन्दुक बाँदर धपाउन प्रभावकारी हुने विश्वास छ ।’ मुलुकभरि बाँदर आतङ्क बढेर किसानलाई सास्ती दिइरहेको वर्तमान अवस्थामा गुच्चाको गोलीसहितको बन्दुकले बाँदर नियन्त्रण भएपछि सो क्षेत्रका स्थानीय बासिन्दालाई खेती सुरक्षामा सहज भएको छ ।

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

सोलुखुम्बु । सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन्  । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीका शेर्पाले उपाधि जितेका हुन् ।

सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्दै पहिलो भएका हुन् ।

महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गरिन् । पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै सुमन कुलुङ दोस्रो र चार घण्टा सात मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रामकुमार राजभण्डारी तेस्रो भए। महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रिया राई दोस्रो भइन्। प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ ।

सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।

बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको छ : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारको प्रयास थालेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सन्दर्भमा बुधबार अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालको वास्तविक अवस्था विश्लेषण गरेर सुधारको बाटो समात्ने गरी बजेट आएको दाबी गरे ।

“आगामी आर्थिक वर्षको बजेटले नयाँ चरणको आर्थिक सुधारको प्रयास गरेको छ । हाम्रो भौगोलिक अवस्थिति सुहाउँदो अर्थतन्त्र निर्माणका लागि कोसिस गर्ने र नयाँ चरणको आर्थिक सुधारका लागि सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने नीति लिइएको छ”, अर्थमन्त्री पुनले भने । आगामी आर्थिक वर्षको बजेटले आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने उल्लेख गरेको छ ।

नागरिकलाई केन्द्रमा राखेर बजेट ल्याएको दाबी पनि अर्थमन्त्री पुनले गरे । निजी क्षेत्र, प्रमुख प्रतिपक्षलेसमेत आशा जगाउने बजेट आएको भनेर प्रतिक्रिया दिएको उनको भनाइ छ ।

‘आम जनतामा आशा जगाउने गरी बजेट आएको छ । बजेटले उद्यमी व्यवसायी आशा जगाउने अपेक्षा गरेका छौँ । अर्थमन्त्री पुनले भने,“देशभित्र अवसर हुँदाहुँदै पनि देश बाहिर जाने प्रवृति बढेको छ । सजिलै विदेशको बाटो रोज्ने भन्दा पनि मुलुकभित्रै केही काम गर्ने गरी युवामा आशा जगाउने गरी बजेट आएको छ ।”

करका दर परिवर्तनका गर्दा पनि आवश्यकता र औचित्यका आधारमा गरिएको अर्थमन्त्री पुनको भनाइ छ । ‘कुनैपनि व्यक्तिगत आग्रह, पूर्वाग्रह, भावनामा बगेर काम गर्दैनौं भन्ने प्रतिबद्धताका साथ करका दरमा हेरफेर भएका छन् ।’उनले भने । बजेटका प्राथमिकता र उद्देश्य धेरै तर्फ छर्ने भन्दा पनि कृषि, ऊर्जा, सूचनाप्रविधिलगायत क्षेत्रलाई प्राथमिकतामा राखेर आन्तरिक उत्पादन बढाउने नीति बजेटले अवलम्बन गरेको अर्थमन्त्री पुनले बताए ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत अबको १० वर्षमा ३० खर्बको निर्यात पुर्याउने महत्वाकांक्षी योजना अघि सारेको र स्वदेशी उद्योग तथा उत्पादनलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ छ ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले नै तयारी र कच्चा पदार्थमा दुई तहको भन्सार लगाउने नीति लिइएको पुनले बताए । हरित करको नयाँ विषय आर्थिक ऐनमा राखेको पनि पुनले बताए ।

गण्डकीमा कांग्रेसका पाण्डे मुख्यमन्त्रीमा नियुक्त

कास्की । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले सोमबार पाण्डेलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सवोच्चले दिएको समय अनुसार नै पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार पाण्डे संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बनेका छन् । गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संविधानसम्मत विश्वासको मत नपाएको ठहर गर्दै सोमबार सर्वोच्चले उनको विश्वासको मत बदर गरिदिए पछि पाण्डेका लागि बाटो खुलेको थियो ।

मुख्यमन्त्री अधिकारीले बैशाख २३ गते विश्वासको मत लिँदा ३० सदस्यको समर्थन प्रस्ताव बहुमतबाट पास भएको भनी सभामुखले घोषणा गरेका थिए । यसविरूद्ध कांग्रेसका नेता पाण्डे सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गण्डकी प्रदेशसभामा बहुमतको लागि न्यूनतम ३१ सदस्यको आवश्यकता पर्नेमा ३० सदस्यको समर्थन प्रस्ताव बहुमतबाट पास भएको भनी प्रदेश सभाका सभामुखबाट भएको घोषणा नेपालको संविधान विपरित भएको ठहर्दै बदर गरिदिएको थियो ।

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गर्‍यो : मन्त्री चौधरी

काठमाडौँ / महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको छैटौँ राष्ट्रिय महिला अधिकार दिवसलाई सम्बोधन गर्दै मन्त्री चौधरीले आर्थिक रूपले महिलालाई सशक्तिकरण बनाउने उद्देश्यले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको बताएकी हुन् ।

उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि सरकारले कम बजेट विनियोजन गरेको भन्दै असन्तुष्टि जनाइन् । बजेट निर्माण प्रक्रियामा आफू पटकपटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहेपनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो थियो । उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई सबै महिलाहरूको नाराका रूपमा अघि बढाउनुपर्ने बताइन् । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि १० करोड रुपियाँको बजेट विनियोजन गरेको छ ।

मन्त्री चौधरीले समतामूलक समाज निर्माणका लागि महिला तथा बालबालिकाको विकास हुनुपर्ने भएपनि राज्यका तर्फबाट आफ्नो मन्त्रालयलाई निकै न्यून बजेट दिने गरिएको गुनासो गरिन् । यद्यमी महिला, बालबालिकाको क्षेत्रमा केही नहुनुभन्दा केही राम्रा कामहरू पनि भएको मन्त्री चौधरीले बताइन् । उनले महिलाहरू आर्थिक रूपले सशक्त नभईकन देश समृद्ध बन्न नसक्ने बताइन् ।
मन्त्री चौधरीले महिला अधिकारलाई संस्थागत गरेको दिनको रूपमा जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउने गरेको भन्दै दिवसले महिला अधिकारको सुनिश्चितता गर्दै लैङ्गिक समानता कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। त्यस अवसरमा पाँच जना महिला उद्यमीहरूलाई जनही नगद एक लाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

बजेट सन्तुलित रुपमा आएको छः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सन्तुलित रुपमा आएको दाबी गरेका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले जनतामा आशा जगाउने किसिमको बजेट आएको दाबी गरेका हुन् ।

यसअघिका बजेटको प्रक्षेपण नमिलेका भन्दै यसवर्ष बजेट भने जनता र निजी क्षेत्रको आशा जगाउने खालको भएको बताए । उनले भने, ‘चालु आर्थिक वर्षको बजेटको प्रक्षेपण सबै मिलिरहेका थिएनन् । तर हामीले यसपाली जनता र निजी क्षेत्रलाई आशा जगाउने बजेट ल्याएका छौ ।’

उनले नयाँ चरणको आर्थिक सुधारको आवश्यकता भएकाले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्न लागिएको बताए। उनले कसैको दबाबमा करका दर हेरफेर नगरेको बताए ।

उनले तथ्य केलाएर करका दर हेरफेर गरिएको बताए । उनले भने, ‘करका दर हेरफेर गर्दा हामीले तथ्य केलाएर गरेका छौँ । कसैको दबाबमा दर हेरफेर गरेका छैनौँ ।’

अर्थमन्त्री पुनले अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्नुपर्ने भन्दै युवाहरूमा देखिएका समग्र अर्थतन्त्र सुधारमा जोड दिनुपर्ने बताए । उनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने बताए ।

उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भएपनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । उनले यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने बताए ।

समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए । उनले नेपाली उत्पादन र लगानी प्रवर्द्धन गर्न आलु,प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज गरेको बताए । उनले भने, ‘आलु, प्याज र स्याउमा गत वर्ष भ्याट लगाउँदा धेरै विरोध भएको थियो। हाम्रो आन्तरिक उत्पादनमाथि संरक्षण गरेन। यसपटक हटायौं। यसको राम्रो म्यासेज देखेका छौं।’

नुवाकोटमा जग्गासम्बन्धी विवादमा खुकुरी प्रहारगरी दाजुको हत्या, आरोपित भाइ पक्राउ

त्रिशूली (नुवाकोट) / जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ । ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार जग्गासम्बन्धी लामो समयदेखि कायम विवाद, घटनास्थलको प्रारम्भिक प्रतिवेदन र घटनाका सम्बन्धमा अभियुक्तबाट स्वीकार गरेको बयानका आधारमा दाजुको हत्या अभियोगमा भाइलाई कारबाहीका लागि नियन्त्रणमा लिइएको हो । उनी यसअघि पनि हत्या मुद्दामा दोषी ठहर भएर कैद भुक्तानपश्चात् छुटेका व्यक्ति भएकाले पटके भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहबहादुरलाई कर्तव्य ज्यान मुद्दामा कारबाहीका लागि न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्नलाई अनुमति लिन आज जिल्ला अदालतमा उपस्थित गराउने नुवाकोट प्रहरीले जनाएको छ ।

सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी

मनाङ । हिमाली जिल्ला मनाङमा अहिले औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन भइरहेको छ । यहाँ वैशाख १० गतेदेखि यार्सागुम्बा सङ्कलनको कार्य पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु भएको हो । दोस्रो गन्तव्यका रुपमा रहेको फु गाउँमा जेठ १४ बाट यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।


जेठ १३ गतेदेखि पुर्जी काटेर मनाङवासीले मात्रै यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिए । उनका अनुसार अनुमति पाएका मनाङवासीले फु गाउँको लेकमा एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्नेछन् । विगतको घटनाबाट पाठ सिक्दै यार्सागुम्बा सङ्कलनलाई सुरक्षित र व्यवस्थित बनाउन लागिपरेको उनले बताए । 


अध्यक्ष लामाले भने, “नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था नआओस् भनी मनाङवासीलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने गर्छौं, हाललाई फु गाउँका लेकमा मात्र यार्सागुम्बा सङ्कलन गर्न पाइन्छ ।”


यार्सागुम्बा सङ्कलनका लागि ३५ हजार शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क तिरी सकेपछि मात्र सङ्कलनका लागि पुर्जी दिइन्छ । फु गाउँको लेकमा यार्सागुम्बा सङ्कलकबाट उठेको रकमको ६० प्रतिशत संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ भने बाँकी ४० प्रतिशत गाउँपालिकाले राख्ने गरी पुर्जी काटिएको अध्यक्ष लामाले जानकारी दिए । 


यसैगरी सङ्कलन भएको यार्सागुम्बाको प्रतिकिलो १० प्रतिशत निकासी कर लाग्ने उनले बताए । यार्सागुम्बा सङ्कलनलाई सहज र सुरक्षित बनाउन प्रशासनले सुरक्षा टोलीसमेत खटाएको उनले बताए । सङ्कलकलाई समस्या भएको खण्डमा पनि सुरक्षा टोलीले जानकारी प्रदान गर्ने र उद्धारका काम गर्ने गर्दछन् । 


सुरक्षा व्यवस्थापन कडा
लेकका खर्कमा यार्सागुम्बा सङ्कलनको समयमा झैझगडा नहोस् भनी शान्ति सुरक्षा मजबुत पारिएको छ । नार्पाभूमि गाउँपालिकाको संयोजकत्वमा फू गाउँको यार्सागुम्बा सङ्कलनको समयमा शान्ति सुरक्षाको प्रयोजनार्थ च्याँखु र मेताका प्रहरी टोलीलाई त्यसतर्फ खटाइएको छ । च्याँखु प्रहरी पोष्टबाट एक महिनासम्म पाँच जनाको प्रहरी टोलीले यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिनेछ ।


फुमा प्रहरीको दरबन्दी नभएकाले सो टोलीले एक महिनासम्म त्यहाँ बसेर यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिने अध्यक्ष लामाले बताए । उनका अनुसार प्रहरी टोली बसोबासका लागि बन्दोबस्तीका सामानसहित रासनपानीको व्यवस्था गरी परिचालन गरिएको छ ।


यार्सागुम्बा टिप्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङका साविकको नार र फु गाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइएको छैन ।


प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सङ्कलनको रकममध्ये केही पालिकामा नै रहने भएकाले त्यस क्षेत्रको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) सक्रिय हुनुपर्नेमा जोड दिए । उनका अनुसार जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । उनले भने, “हुन त पाँच जनाको टोलीले के नै सुरक्षा गर्न सकिन्छ र, तैपनि सुरक्षाकर्मी पनि छन् है ढुक्कसँग यार्सागुम्बा सङ्कलन गर्नुहोस् भनी आश्वत पार्न प्रहरी खटाएका छौँ ।”


विगतको जस्तो अप्रिय घटना नहोस् भनी प्रहरी परिचालन गरिएको जनाउँदै उनले भने,“यसपाली मनाङवासीलाई मात्रै फुमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको छ, त्यस्तो अप्रिय केही नहोस् भन्ने हाम्रो कामना हो, यदि केही भइहाल्यो भने पनि पहिलो कारबाही भनेको संरक्षण क्षेत्र व्यवस्थापनलाई नै हुनेछ ।” यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ । 


प्रजिअ लामिछानेले भने, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने हरेक क्षेत्र सुरक्षित हुन्छ, तर सुरक्षित बनाउन केही मात्रमा मात्रै हाम्रा सुरक्षाकर्मी खटाइएमा पनि त्यस क्षेत्रको सुरक्षा हुन्छ, सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलनका लागि खर्कतर्फ प्रवेश दिइने गरिन्छ । 


एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताए । उनका अनुसार जिल्लाका तीन खर्कमा यार्सागुम्बा सङ्कलनमा बाहिरी जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । नार्पाभूमिका अध्यक्ष लामाले सुरक्षा चुनौतीकै कारण बाहिरी जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएको बताए । उनले भने, “विगतमा भएको जस्तो घटना दोहोरिन दिनुहुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।”


फस्टाएन यार्सा
गत वैशाख १४ गतेदेखि मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन भइरहेको छ । यसपालि विगतको तुलनामा थोरै मात्र सङ्कलन गरिएको छ । नासों–८ का वडाध्यक्ष एवं ताचै बगरछाप संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले मलजल नमिल्दा यार्सागुम्बा साना मसिना भेटिएको बताए । उनले भने, “जलवायु परिवर्तनका कारण समयमा हिउँ परेन, यार्साका लागि मल तथा जल भनेकै हिउँ हो, यसपालि बल्ल थाहा भयो समयमा हिउँ नपर्दा यार्सागुम्बा पनि कम सङ्कलन भएको छ, सङ्कलन गरिएका पनि साना, मसिना मात्रै छन् ।”


वैशाख १० गतेदेखि दुई सय जनाको टोली औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलनको अनुमति लिएर नाम्के खर्कतर्फ गएको थियो । ताचैको टोली वैशाख २८ गते सङ्कलनका लागि गएको भए पनि जेठ ४ गते फर्कियो । घलेले भने, “सिङ्गो गाउँ नै खर्कतिर लाग्दा मृत्यु संस्कार चलाउनसमेत गाह्रो भयो, गाउँमा ५ गते अर्घौं परेको थियो, अर्घौं सकेर फेरि टोली लेक बसेका छन् ।” नाम्के खर्कमा मनाङवासीका अलावा अन्य गोरखा, लमजुङलगायतका जिल्लाका सङ्कलकलाई पनि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।


नाम्के र हुलाकी ओडारका खर्कमा यार्सागुम्बा सङ्कलन कार्य सकिने क्रममा रहेको छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलनले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।


मनाङमा १३ वटा सिएमसीमध्ये हाल धारापानी, थोंचे र चामेले काम गर्न सकेको छैन । दश वटा सिएमसीले भने काम गरिरहेको छ । जिल्लाका नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, मनाङ, पिसाङ, खाङ्सार, भ्राका, नाम्के, हुलाकी, नार र फुका खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन गरिन्छ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ ।

सिड्स कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा नेपालको जोड

काठमाडौँ ।  नेपालले विकासशील साना टापु राष्ट्रका निम्ति तयार गरिएको बरबुडा कार्ययोजनाप्रति ऐक्यबद्धता जनाउँदै  त्यसको प्रभावकारी कार्यान्वयनका निम्ति अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा एन्टिगुवा र बरबुडाको राजधानी सेन्ट जोन्समा जारी विकासशील साना टापु राष्ट्र (सिड्स) को चौथो सम्मेलनमा सम्मेलनका  क्रममा अल्पविकसित देशहरूको समूहका लागि वैश्विक समन्वय ब्युरोको अध्यक्षका  हैसियतमा परराष्ट्र सचिव सेवा लम्सालले कार्ययोजना कार्यान्वयनमा जोड दिएकी हुन् । सम्मेलनमा दिगो विकासका लक्ष्य प्राप्तिमा विकासशील साना टापु राष्ट्रको प्रगति समीक्षा भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

परराष्ट्र सचिव लम्सालले सिड्स सम्मेलनको उद्घाटन सत्रमा भाग लिनाका साथै अल्पविकसित तथा भूपरिवेष्टित विकासशील मुलुक र साना टापु राष्ट्रका लागि राष्ट्रसङ्घका उपमहासचिव रबाब फतिमासँग भेटवार्ता गरेकी थिइन् ।

त्यस अवसरम उनीहरुबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको साझेदारीका साथै दोहा कार्ययोजना कार्यान्वयनबारे छलफल भएको थियो । नेपालको अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति, सहज सङ्क्रमण र अल्प विकसित राष्ट्रहरुको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनबारे पनि छलफल भएको नियोगले जनाएको छ ।

सम्मेलनका क्रममा परराष्ट्र सचिव लम्सालले युक्रेनका राष्ट्रपतिको कार्यालयका उपप्रमुख इगोर झोभ्केभासँग भेटवार्ता गरेकी थिइन् । उनीहरुबीच अन्तर्राष्ट्रिय मञ्चमा नेपाल–युक्रेन साझेदारीबारे पनि छलफल भएको थियो । साथै उनले स्टोनियाको प्रतिनिधिमण्डलकी नेत्री मिन्ना–लिना लिन्डलाई भेटेर राष्ट्रसङ्घीय सहायता प्रारुपमा रहेर नेपाल–स्टोनिया सम्बन्ध विस्तारबारे विचार–विमर्श गरेकी थिइन् ।

जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण

जापानी अनुसन्धानकर्ताहरूले विश्वको पहिलो काठको उपग्रह बनाएका छन् । क्योटो विश्वविद्यालय र लगिङ कम्पनी सुमितोमो वन विज्ञान विभागका वैज्ञानिकहरूले बनाएको प्रयोगात्मक उपग्रहको प्रत्येक भाग मात्र दश सेन्टिमिटर रहेको छ ।

विकासकर्ताहरूले म्याग्नोलिया काठबाट बनेको लिग्नोस्याट नामक उपग्रह अर्को हप्ता अन्तरिक्ष एजेन्सी जाक्सालाई हस्तान्तरण गर्ने योजना बनाएका छन् । यसलाई सेप्टेम्बरमा केनेडी स्पेस सेन्टरबाट स्पेसएक्स रकेटद्वारा अन्तरिक्षमा पठाइनेछ । त्यहाँबाट उपग्रहलाई यसको शक्ति र स्थायित्व परीक्षण गर्न जापानी आईएसएस प्रयोग मोड्युलबाट प्रक्षेपण गरिनेछ ।

“उपग्रहले अनुसन्धानकर्तालाई तथ्याङ्क पठाउनेछ जसले दबाबका सङ्केत र उपग्रहले कतिसम्मको तापक्रम थेग्न सक्छ भनेर जाँच गर्न सक्छन्, सुमितोमो वन विज्ञान विभागका प्रवक्ताले बताए ।

“धातुबाट नबनेका उपग्रहहरू मुख्यधारमा रहनुपर्छ, अन्तरिक्ष यात्री र क्योटो विश्वविद्यालयका विशेष प्राध्यापक ताकाओ डोईले पत्रकार सम्मेलनमा भने ।

सिर्जनाकर्ताहरुले उपकरण वायुमण्डलमा पुनःप्रवेश गर्दा काठको सामग्री पूर्ण रूपमा जलेको हुने र यसका कारण उपग्रह पृथ्वीमा फर्कँदा हानिकारक धातुका कणहरु उत्पादन नहुने बताएका छन् । यी धातुका कणले वातावरण र दूरसञ्चारमा नकारात्मक प्रभाव पार्न सक्छ । विकासकर्ताहरूले मङ्गलबार काठको उपग्रहको निर्माँण पूरा भएको घोषणा गर्ने क्रममा बताए ।

म्याग्दीको दग्नाममा सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

म्याग्दी (बेनी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा दुई गाउँबीचमा ‘लिङ्गो जुधाउने’ अनौँठो संस्कृतिले निरन्तरता पाएको छ । भूमे पूजाको अवसरमा यस गाउँमा सयौँ वर्ष पुरानो इतिहास बोकेको ‘लिङ्गोजुधाउने’ अनौठो प्रतिस्पर्धा गरिन्छ ।

मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गोजुधाइमा गैरी गाउँ विजयी भएको छ । प्रकृति पूजाको रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबीचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए । ‘‘यो संस्कृति पूर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’’–उनले भने ।

दग्नाममा गैरी गाउँ, कान्छी गाउँ, माझिगाउँ र डाँडागाउँ गरी चार वटा टोल रहे पनि यस प्रतियोगितामा भने हरेक वर्ष गैरी र कान्छी गाउँले मात्रै सहभागिता जनाउने गरेका छन् । मङ्गलवार दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजापतकाले सिगारिएका अग्ला बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेका स्थानीयले एकैसाथ लिङ्गो ठडाएर प्रतिस्पर्धा गराएका थिए ।

पुख्र्याैलीनाच, सोरठी भाका र पञ्चेबाजासहितको उत्सवकाबीच मङ्गलबार बिहान भूमे देवताको पूजागरेपछि दिउँसो भूमे देवतालाई खुसी बनाउनका लागि स्थानीयले लिङ्गो जुधाएका हुन् । प्रतियोगितामा अग्ला–अग्ला सिगारिएका लिङ्गालाई प्रतिस्पर्धामा उतार्ने गरिन्छ ।

दग्नामको भूमे पूजालाई लिङ्गो जुधाइले सांस्कृतिक उत्सव बनाउने गरेको वडाअध्यक्ष पबिन गर्बुजाले बताए ।‘‘भूमे पूजालाई हामीले मौलिकता र परम्परालाई जोगाउने गरी मनाउँदै आएका छाँै, यसमा लिङ्गो जुधाइ सबैको लागि रुचि र चासोको विषय बन्ने गरेको छ, दुई गाउँबीचको प्रतिस्पर्धा देवतालाई खुसी बनाउने र आपसी सद्भाव बढाउन सहयोगी बन्ने गरेको छ’’– उनले भने ।

दुई गाउँले लिङ्गो जुधाइलाई प्रतिष्ठाको विषय बनाउने गर्छन् । बाँसको लिङ्गो स्थानीय दग्नाम वरपरसँगै छिमेकीगाउँ राखुबाटसमेत लैजाने गरिन्छ । स्थानीयले लिङ्गो जुधाइलाई करिब चार सय वर्ष पुरानो संस्कृतिमा गन्ने गरेका छन् । भूमे पूजामा लिङ्गो जुधाइ हेर्न देश तथा विदेशमा छरिएर रहेका दग्नामवासी गृहगाउँ फर्कने गर्छन् भने छिमेकी गाउँबाटसमेत उल्लेख्य मात्रामा सर्वसाधारण मेला भर्न पुग्ने गर्छन् । यस पटकको लिङ्गो जुधाइको अवलोकनमा तीन सय बढी सहभागी भएका थिए ।

जेठा भूमेको रुपमा चिनिने भएकाले दग्नामवासीले हरेक वर्षको जेठ महिनाको पहिलो वा दोस्रो साताको मङ्गलबारको दिन पूजा गर्ने चलन छ । खासगरी खेतीबाली राम्रो होस्, बाढीपहिरो, भूक्षय जस्ता प्राकृतिक प्रकोपको सिर्जना नहोस् भन्ने कामना गर्दै भूमे देवताको पूजा गरिन्छ ।

भूमे पूजाको अवसरमा स्थानीय एकता युवा क्लबले सांस्कृति तथा खेलकुद मेलासमेत आयोजना गर्दै आएको छ । यसवर्ष दग्नाममा पूख्र्यौली नृत्यसहित विविध खेलकुद र सांस्कृतिक मेलाको आयोजना गरिएको क्लबले जनाएको छ ।

कैलालीमा दश महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता

गोदावरी(कैलाली) / कैलालीमा चालु आर्थिक वर्षको १० महिनामा छ सय ६१ घरेलु तथा साना उद्योग नयाँ दर्ता भएका छन् । एक सय ३० उत्पादनमूलक, दुई सय ९६ कृषि र दुई सय ३५ सेवामूलक गरी छ सय ६१ घरेलु तथा साना उद्योग दर्ता भएका कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले बताए ।

पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्यरूपमा बढ्दै गएको पाइएको छ । महिलाको नाममा निजी फर्म दर्तामा छुटको व्यवस्था भएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढ्दै गएको कार्यालयले जनाएको छ ।

कैलालीमा हालसम्म १५ हजार चार सय ९६ उद्योग दर्ता भएका छन् । कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा उत्पादनमूलक तीन हजार दुई सय १५, कृषिमूलक छ हजार पाँच सय १७, निर्माणका दुई, पर्यटनमूलक ६५, सूचना प्रविधि १२, सेवामूलक पाँच हजार छ सय ८५ उद्योग दर्ता भएका छन् । दर्ता उद्योगमध्ये एक सय ३७ उद्योगको दर्ता खारेज भएको जनाइएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योग सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द भएका हुन् । कार्यालयमा गएर आधिकारिक रुपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका ती उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत जोशीको भनाइ छ ।

साना उद्योग कार्यालयमा दर्ता भएका १५ हजार चार सय ९६ उद्योगमा रु २५ अर्ब लगानी प्रस्ताव गरिएको छ । यसैगरी चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा घरेलु तथा साना उद्योग कार्यालयले रु एक करोड ४४ लाख ९७ हजार राजस्व सङ्कलन गरेको उनले बताए।

गत आर्थिक वर्ष २०७९÷८० मा सो कार्यालयले रु ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो । वाणिज्य तथा आपूर्ति कार्यालयले तीन हजार छ सय ७६ व्यावसायिक फर्म घरेलु तथा साना उद्योग कार्यालयलाई हस्तान्तरण गरेका कारण गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा राजस्व सङ्कलनमा वृद्धि भएको जनाइएको छ ।

तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार नेपाली श्रमिकको मृत्यु

काठमाडौँ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ । 

सो अवधिमा त्यस्तै आठ सय ७० जना अङ्गभङ्ग तथा बिरामी भएको तथ्याङ्क छ । गत तीन वर्षको श्रमिकको मृत्यु दर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८÷७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ । 

त्यस्ते अङ्गभङ्ग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ । मृत्यु हुने श्रमिकको सङ्ख्यामा कमी आए तापनि अङ्गभङ्ग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदार सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारवीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निस्सासियर, डुबेरलगायतका कारणले मृत्यु, अङ्गभङ्ग तथा बिरामी परेको अवस्था छ ।

यस वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको छ । स्वदेशबाट मेडिकल जाँच गरी श्रमको लागि गन्तव्य गएको नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न सकिँदैन ।

यसरी स्वभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकोले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्मह दुरुत्साहन गर्न मनोचिकित्सालगायतका कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम संस्कारको लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ । यो वर्ष शव व्यवस्थापनमा दुई करोड ८५ लाख ८० हजार खर्च भएको प्रतिवेदनमा जनाईएको छ ।

बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनको लागि रकम निकासा हुने गरेकोले गैरकानुनी रूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन् । वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी, गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिकहरू गैरकानूनी आप्रवासन हुने अवस्था देखिएको छ ।

अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवासगृहमा राखी उद्धारसमेत गरेको स्थिति छ । अवैधानिक रूपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगरिनु व्यावहारिक देखिँदैन । श्रमिक गैरकानुनी आप्रवासनको कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्दछ ।

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा  तीन लाख र २०७४ साउन १६ गतेदेखि  सात लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ ।

वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकतर्फ तीन अर्ब तीन करोड ९८ लाख र १५ अङ्गभङ्ग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार आर्थिक सहायता उपलब्ध गराएको छ ।

धनियाँ बेचेरै वार्षिक आठ लाख आम्दानी

दाङ । खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिए घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उनले दुई कठ्ठा जमिनमा धनियाँखेती गरेका छन् । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्ैमहिना खेती गर्ने गरेको उनले बताए । उनका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्थे । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उनले बताए । दुई कठ्ठाखेतमा चार किलो धनियाको बीउ दुई हजार चार सय रुपैयाँमा खरिद गरि खेती गरेको उनले बताए ।

त्यो धनियाँ बिक्री गरेर दुई लाख रुपैयाँ आम्दानी गरेको उनले बताए । बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उनले बताए । सिजनमा मुठाका पाँच रुपैयाँको दरमा बिक्री हुन्छ भने बेमौसममा १० रुपैयाँ मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उनले बताए ।

धेरै उखेल्न सक्यो भने दैनिक तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म आम्दानी हुने गरेको अमितले बताए । उखेल्न नसकेको समयमा एक हजारदेखि एक हजार पाँच सयसम्मको बिक्री हुने गरेको उनको भनाइ छ । धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उनले बताए । “वैशाख, जेठ र असारमा धनियाँ १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ”, उनले भने ।

गत वर्ष यी तीन महिनामा दुई लाख आम्दानी गरेको उनले बताए । सरदर वर्षको आठ लाख रुपैयाँ धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उनले जानकारी दिए । “धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ”, उनले भने, “लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।”

उनीसंग बाह्ैमहिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्ैमहिना गर्ने गरेको उनले बताए । “इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ”, उनले भने ।

माथिल्लो मुस्ताङमा नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना

मुस्ताङ ।  व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ । नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजारभन्दा बढी च्याङ्ग्रापालन गर्न मिल्ने क्षमता रहेको छ ।

स्थानीय च्याङ्ग्रा किसान र नेपाल पस्मिना उद्योग सङ्घको संयुक्त पहलमा स्थापना भएको उक्त फार्मले आधुनिक च्याङ्ग्रापालनको अभ्यासलाई दिगो कृषि पर्यटनसँग एकीकृत गर्नका लागि नयाँ आयाम प्रदान गर्ने विश्वास गरिएको छ ।

यो फार्म यस व्यवसायसम्बन्धी ज्ञान आर्जन र आदानप्रदान गर्ने केन्द्रका रूपमा रहनाका साथै च्याङ्ग्रा प्रजनन र पालनमा विशेषज्ञता र उत्कृष्ट अभ्यासहरूलाई बढावा दिनका लागि उपयोगी हुने सङ्घले जनाएको छ ।

नेपालका लागि युरोपियन युनियन (इयु) की राजदूत भेरोनिक लोरेन्जोले आज सो फार्मको उद्घाटन गर्दै उच्च गुणस्तरको च्याङ्ग्रा फाइबरको भरपर्दो स्रोत सिर्जना गरी पस्मिना मूल्य शृङ्खलालाई बलियो बनाउने बताइन् ।

राजदूत लोरेन्जोले च्याङ्ग्रापालनमा युवा र महिलाको महत्वलाई ध्यानमा राखी स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र ग्रामीण बसाइँसराइको समस्या समाधान गर्न उनीहरूलाई यस व्यवसायमा अझ बढी प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन् ।

सो अवसरमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीय सरकारले च्याङ्ग्रा किसानका लागि अनुदान मिलाउने जस्ता कार्यक्रम आफ्नो वार्षिक योजनामा समावेश गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय च्याङ्ग्रा विज्ञ डा. सरफराज बानीले दिगो अभ्यासलाई प्रवर्द्धन गर्दै व्यावसायिक च्याङ्ग्रा खेतीमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भाव्यताबारे चर्चा गर्दै फार्मको प्राविधिक डिजाइन प्रस्तुत गरेका थिए ।

राजदूत लोरेन्जोले इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा स्थापना भएको पस्मिना फाइबर सङ्कलन केन्द्रको अवलोकन गरे । नेपालको पस्मिना क्षेत्रको मूल्य शृङ्खला मजबुत बनाउन युरोपियन युनियनले निरन्तर सहयोग गर्दै आएको छ ।

प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौँ ।  नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका बुधबार सार्वजनिक भएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् । 

महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपिएफ क्लब, चन्द्रागिरि न्युडायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बूढानीलकण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ खेल हुनेछन् ।

साथै पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्ट्स, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच खेल हुनेछ । यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

प्रधानमन्त्री कप भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौँ / नेपाल भलिबल सङ्घको आयोजनामा हुने आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगको खेल तालिका आज सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा यही जेठ १९ देखि २६ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबका साथै कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब रहेका छन् । महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटवल, नेपाल पुलिस क्लब, एपिएफ क्लब, चन्द्रागिरि न्युडायमण्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यही जेठ १९ गते हुने प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल र बूढानीलकण्ड क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन पुरुषतर्फ चार र महिलातर्फ दुई गरी छ खेल हुनेछन् ।

साथै पुरुषतर्फ नेपाल पुलिस र सुदूरपश्चिम स्पोर्ट्स, एपिएफ र गण्डकी प्रदेश तथा त्रिभुवन आर्मी क्लब र कोसी प्रदेशबीच खेल हुनेछ । यसैगरी उद्घाटन खेलको महिलातर्फ एपिएफ र चन्द्रागिरि न्युडायमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।