`

इस्तियाकको आरोप : बहुमत पुर्‍याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गए

काठमाडौं । जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बहुमत पुर्‍याउन नसकेपछि राजेन्द्र श्रेष्ठहरू पार्टी छोडेर गएको आरोप लगाएका छन् ।

‘बहुमत जुटाउन खोज्नु भएको थियो, बहुमत नपुगेपछि पदीय जिम्मेवारी परित्याग गरेको भन्ने पत्र बुझाएर जानु भएको छ.’ राईले भने । जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका नेताहरू नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । यसका लागि सहमति भएपछि नेता इस्तियाकले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘कसैले डिभोर्स लिन्छु भन्यो भने रोकेर राख्न मिल्छ ?’ राईको प्रश्न छ । नेताहरू एक अर्को पार्टीमा जानेक्रम चलिरहेको र यही क्रममा कतिपय नेताले पार्टी छोडेको पनि उनले बताए । उनले भने, ‘उहाँहरू कुनै नयाँ पार्टीमा त जानु भएको छैन । तथापि, निर्णय गर्ने उहाँहरूको कुरा हो ।’ राईका अनुसार उनीहरू पनि ध्रुवीकरणको प्रयासमा छन् । उनकाअनुसार संघीय लोकतान्त्रिक मोर्चामा रहेका दलहरूको छलफल चलिरहेको छ ।

संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन : राजेन्द्र श्रेष्ठ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनर्स्थापनाको बाटोमा लाग्न नहुने बताएका छन् । निर्वाचन आयोगले बिहीवार दलहरुसंग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनस्र्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिए । सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताए । वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख दलहरुको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उनको भनाई छ ।

उनले भने, ‘खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढंगले बनेको बनेको होइन तर यो चाहीँ आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नको लागि प्रमुख दलहरुको सहमतिमा बनेको सरकार भएको । स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदाखेरि अब यसमा चाहीँ दुविधा पाल्नुपर्ने कुनै आवश्यकता छैन भन्ने कुरा हाम्रो पार्टीलाई लागेको छ । यद्यपि अहिले फेरि पनि प्रतिनिधिसभा पुनस्र्थापनाको लागि मुद्दाहरु गएका छन् । अब मुद्दाले के गर्छ भन्नेकुरा पनि बहस त हुने नै भयो । तर अहिले जुन आन्दोलनको जनादेश छ, यो आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनस्र्थापनाको बाटोमा लाग्न हुँदैन । अब घोषित निर्वाचनलाई सफलताको साथ सम्पन्न गुर्नपर्छ ।’ उनले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निवार्चन पनि समयमै गर्नुपर्ने बताए । – न्युज एजेन्सी नेपाल

तत्काल जेनजीका माग सम्बोधन गर्न सम्भव छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखन नगरी जेनजीका माग सम्बोधन गर्न नसकिने बताएको छ । असोज ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको निर्णय सोमबार सार्वजनिक गर्दै केवल झूटा आश्वासनको भरमा मात्र जेनजीले उठाएका माग र मुद्दाहरूलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारेको हो । त्यसको लागि प्रतिनिधि सभा संसदलाई कायमै राखिनु पर्ने जसपाको मान्यता छ । प्रतिनिधि सभाको विघटन पनि संविधान अनुकूल नदेखिएको जसपाले बताएको छ ।

‘मुलुकको वर्तमान संविधानलाई संशोधन, परिमार्जन तथा पुनर्लेखन नगरी क्रान्तिकारी परिवर्तन र रुपान्तरण नै नगरी केवल झूटा आश्वासनको भरमा मात्र जेनजीले उठाएका माग र मुद्दाहरूलाई सम्बोधन गर्न सक्ने अवस्था नै छैन । शासकीय स्वरूप, निर्वाचन प्रणाली, न्याय प्रणाली, संवैधानिक अंगहरू, प्रादेशिक संरचना, पहिचान, समावेशिता र सामाजिक न्यायसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्न संविधान संशोधन वा पुनर्लेखन नगरी हुन्न । त्यसको लागि प्रतिनिधि सभा संसदलाई कायमै राखिनु पर्दथ्यो । प्रतिनिधि सभाको विघटन पनि संविधान अनुकूल गरिएको देखिँदैन । यथास्थितिमा गरिने निर्वाचनले परिवर्तनकारी शक्तिहरूले उठाउँदै आएका मुद्दाहरु पूर्णरूपले हल हुन सक्दैन तर पनि नयाँ प्रतिनिधि सभाले स्थान ओगट्नेछ । मुलुक पुनः यथास्थितिमा फर्किनेछ। प्रतिगमनकारी शक्तिहरु परास्त हुने छन्,’ जसपाले भनेको छ ।

भदौ २३ गतेअगावै सरकारले जेन–जीहरूको न्यायोचित माग र मुद्दाहरूलाई सम्बोधन गरी तत्काल समस्या समाधान गर्नुपर्ने पनि जसपाले बताएको छ । तर सरकारले सत्ता र शक्तिको दम्भमा दमनकारी नीति लिई राज्य आतंक फैलाई विद्रोहमा लागेकाहरूमाथि दमन गर्ने कार्य गरेको जसपाको ठहर छ ।

‘दर्जनौं युवाहरूको हत्या र हजारौं युवाहरूलाई घाइते बनायो । जसले गर्दा परिस्थिति झन् बिग्रन गई भदौ २४ गते सम्ममा ठूलो संख्यामा मुलुकले धन–जनको क्षति बेहोर्नु पर्‍यो,’ जसपाले भनेको छ । सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्ने जसपाको बुझाइ छ ।

‘तर जोगाउने प्रयाससम्म किन गरिएन ? रहस्यमय रहेको छ । नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेका छन् । मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूको छानबिन गरी कानुन बमोजिम कारबाही गरी पीडिततलाई क्षतिपूर्ति सरकारले दिने व्यवस्था गर्नु पर्छ,’ जसपाले भनेको छ ।

 

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय सकारात्मक : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय सकारात्मक भएको बताएका छन् । आज (शुक्रबार) उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अन्तरिम सरकारको नेतृत्वमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ ।’

राष्ट्रपतिको कार्यालय शीतल निवासमा बिहीबार रातभर भएको जेनजीसहितको वार्तामा अन्तरिम सरकार प्रमुख पूर्व प्रधान्यायाधीश कार्कीलाई बनाउने सहमति भए पनि निष्कर्षमा पुग्न भने बाँकी छ । संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेल छलफलमै छन् । वार्ता आज पनि बस्ने भएको छ ।