संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन : राजेन्द्र श्रेष्ठ


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनर्स्थापनाको बाटोमा लाग्न नहुने बताएका छन् । निर्वाचन आयोगले बिहीवार दलहरुसंग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जेनजी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुनस्र्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिए । सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताए । वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख दलहरुको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उनको भनाई छ ।
उनले भने, ‘खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढंगले बनेको बनेको होइन तर यो चाहीँ आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नको लागि प्रमुख दलहरुको सहमतिमा बनेको सरकार भएको । स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदाखेरि अब यसमा चाहीँ दुविधा पाल्नुपर्ने कुनै आवश्यकता छैन भन्ने कुरा हाम्रो पार्टीलाई लागेको छ । यद्यपि अहिले फेरि पनि प्रतिनिधिसभा पुनस्र्थापनाको लागि मुद्दाहरु गएका छन् । अब मुद्दाले के गर्छ भन्नेकुरा पनि बहस त हुने नै भयो । तर अहिले जुन आन्दोलनको जनादेश छ, यो आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनस्र्थापनाको बाटोमा लाग्न हुँदैन । अब घोषित निर्वाचनलाई सफलताको साथ सम्पन्न गुर्नपर्छ ।’ उनले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निवार्चन पनि समयमै गर्नुपर्ने बताए । – न्युज एजेन्सी नेपाल