`

एमालेको समर्थनमा खुलेकी ज्योतिको ओलीसँग ‘फोटोसुट’

काठमाडौं । गायिका ज्योति मगर हाल नेपाली राजनीतिको चर्चित अनुहार बनिरहेकी छिन् । उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुझबुझपूर्ण राजनीतिक स्टाटस लेखेर आफ्ना विचार सार्वजनिक गर्दै आएका छन् । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सक्रिय राजनीतिक आवाज दिने उनले नेकपा एमालेको ११औं महाधिवेशनमा पनि आफ्नो उपस्थिति देखाएकी छन् ।

मंगलबारदेखि नै भृकुटीमण्डपमा विभिन्न उम्मेदवारका पक्षमा प्रचारमा जुटेकी ज्योति मगरले बुधबार अध्यक्षका उम्मेदवार पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भलाकुसारी गर्दै फोटोसुट गरेकी छन्। तस्बिरमा उनीहरु दुवै मुस्कुराउँदै देखिएका छन् । ज्योतिले आफू कुनै पार्टीको स्थायी कार्यकर्ता नभएको स्पष्ट गर्दै भनिन, ‘देश जलाउनेको विपक्ष र देश बनाउनेको पक्षमा रहेको छु ।’ तर महाधिवेशनको समयमा उनले खुलेर एमालेका उम्मेदवारको पक्षमा सक्रिय भई प्रचारमा भाग लिनु राजनीतिक चेतनाको संकेत भएको छ ।

एमाले महाधिवेशनको चौथो दिन मतदानसँगै प्रचार पनि जोडदार रुपमा जारी छ । अध्यक्षका उम्मेदवार ओली र ईश्वर पोखरेल दुवै सँगसँगै मत माग्दै हिँडिरहेका छन् भने ज्योति जस्ता कलाकारको सहभागिता पार्टीको प्रचार अभियानलाई थप रंगीन र चर्चा योग्य बनाएको छ । सामाजिक सञ्जाल र मिडियामा ज्योतिको सक्रियता र एमाले महाधिवेशनसँगको उनको सम्बन्धले युवापुस्तामा पनि राजनीतिक चेतना जगाउने एक उदाहरणको रुपमा देखिएको छ ।

 

 

ज्योति मगर आज पनि एमाले महाधिवेशनस्थलमा : प्रतिनिधि नभए पनि भोट माग्दै

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा चलिरहेको मतदानबीच मंगलबार एकाएक राजनीतिक माहोलभन्दा फरक दृश्य देखियो । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको कडा प्रतिष्पर्धाले तातेको वातावरणमा चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर भने प्रतिनिधिहरूको लामै लाइनमा पुगेर भोट माग्दै व्यस्त देखिइन् ।

मतदानस्थलमा कडाइका साथ सुरक्षा व्यवस्था गरिएको र पास बिनालाई प्रवेश निषेध गरिएको भनिए पनि एमाले महाधिवेशनकी प्रतिनिधि नै नभएकी मगर कसरी मतदानको संवेदनशील क्षेत्रसम्म पुगिन् भन्ने प्रश्नले सबैको ध्यान तान्यो । उनी कसको पक्षमा मत माग्दै थिइन् भन्ने प्रष्ट नभए पनि लाइनमा बसेका प्रतिनिधिहरूसँग हाँसी–ठट्टा, भलाकुसारी र आत्मीय संवादमा उनी खुलेरै रमाइरहेकी थिइन् ।

लामो प्राविधिक उल्झनपछि सुरु भएको मतदान प्रक्रियामा ८० वटा भोटिङ मेशिन र लामो लाइनका कारण प्रतिनिधिहरूले ३५ देखि ४० मिनेटसम्म पालो कुर्नुपरेको अवस्था थियो । त्यही बीचमा मगरको उपस्थितिले गम्भीर राजनीतिक वातावरणमा अनपेक्षित ‘स्टार टच’ थपिदियो । कतिपय प्रतिनिधिहरूले यसलाई अनौठो त कतिपयले रमाइलो दृश्यका रूपमा लिए ।

ज्योति मगरको भृकुटीमण्डप उपस्थिती नयाँ भने होइन । उनी हिजो पनि महाधिवेशनस्थल वरपर देखिएकी थिइन् । तर आजको दृश्य फरक थियो—बाहिर सीमित नरही उनी सिधै मतदानका लागि पालो कुरिरहेका प्रतिनिधिहरूकै लाइनमा पुगिन् । यही कारण उनको उपस्थिती चर्चा र कौतुहलको विषय बन्यो । राजनीतिक रस्साकस्सी, सुरक्षा घेराबन्दी र मतदानको चापबीच गायिका मगरको यो ‘लाइन क्याम्पेन’ ले महाधिवेशनको दृश्यलाई केही क्षणका लागि भए पनि हलुका, रंगीन र चर्चित बनाइदियो । भृकुटीमण्डपमा आज राजनीति मात्र होइन, चासो र चर्चाको केन्द्र पनि उनै बनिन् । उनी हिजो पनि एमाले महाधिवेशनस्थल पुगेकी थिइन् ।

 

मेयर बालेन र उनका समर्थकलाई ज्योति मगरका सात प्रश्न

काठमाडौं । लोक गायिका ज्योति मगरले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह र उनका समर्थकलाई लक्षित गर्दै सात प्रश्न तेर्स्याएकी छन् । ज्योतिले आज सामाजिक सञ्जालमार्फत प्रश्न तेर्स्याएकी हुन् । उनले १० दिनको लामो तिहार बिदा सक्यो कि सकेन भन्दै प्रश्न गरेकी छिन् ।

यस्तै, उनले महानगरपालिकाको भवनको सुरुआत भयो कि भएन, काठमाडौंको फोहोरले कति बिजुली उत्पादन भयो, अचेल महानगरको मिटिङ पाँच मिनेटमै सकिन्छ कि सकिँदैन, मेयर बालेनले पार्टी गर्दा, डोजर चलाउँदा झ्याप भएर ¥याप ब्याटलको शो मा अतिथि भएर जाँदादेखि महानगरको गोप्य मिटिङ गर्दासम्म अगाडि पछाडि क्यामरा तेस्र्याउने भाइहरू अचेल कता गए, मेयरका ‘हनुमान’ नगर प्रहरी प्रमुख राजु पाण्डेजीको बहुविवाह काण्ड के भयो भन्दै प्रश्न गरिन् ।

केहि समयअघि मात्रै गायिका ज्योति मगरले पछिल्लो समय नेपालमा क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको टिप्पणी गरेकी थिइन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आज जे भइरहेको छ, यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो ।’ नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको हकहितका लागि नै भएको पनि उनले बताएकी छन् । तर, परिवर्तनपछि नेताहरूले जनताको अपेक्षा पूरा नगरेको ज्योतिको भनाइ छ ।

उनले जेन–जी आन्दोलनपछिको परिस्थितिलाई ‘केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको नास’ समेत भनेकी छन् । अन्तिममा भनेकी छन्, ‘ल अब गाली बर्साउनुस् देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू ।’ गायिका मगरले केहि दिनअघि मात्र वर्तमान सरकारको मन्त्री नियुक्ति प्रक्रियाप्रति व्यङ्ग्य गरेकी थिइन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले सहजै मन्त्री पद पाइरहेको भन्दै कटाक्ष गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘पहिले ः एउटा साबुन किन्नुहोस्, सलाई सित्तैमा पाउनुहोस् । अहिले : केपी ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तैमा बन्नुहोस् ।’

उनैको यो पोस्टमा एक प्रयोगकर्ताले अब केपी ओलीको सत्ता फर्केको दिन, ज्योतिलाई संस्कृति मन्त्री पक्का ! भनी प्रतिक्रिया दिएका थिए । उक्त कमेन्टको जवाफमा मगरले चाणक्य नीतिको उदाहरण दिँदै आफूलाई अबोध र अन्जान नागरिक भएको बताएकी थिइन् । उनले जवाफमा लेखेकी छिन्, ‘चाणक्य नीति भन्छ, सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने बुझ्नुहोस्, त्यो शासक सत्यको बाटोमा छ । म बिचरा अबोध, अन्जान नागरिक, जे देख्छु त्यही बोल्छु ।’ उनले आफूलाई संस्कृति मन्त्री नचाहिने तर दर्शक तथा शुभचिन्तकको ‘दिलको मन्त्री’ बनाइ दिए पुग्ने भन्दै रमाइलो जवाफ फर्काएकी छिन् । देशका विभिन्न घटनाहरुमा सामाजिक सञ्जालहरुबाट बाक्लै प्रतिक्रिया दिंदै आएकी मगरले राजनीतिक घटनाबारे मात्र होइन कला क्षेत्रका व्यक्तिहरुलाई समेत निशाना बनाउने गरेकी छन् ।

किन भयो जेनजी आन्दोलन ? ज्योति मगरको व्यङ्ग्यात्मक ११ बुँदे विश्लेषण

काठमाडौं । हालै देशभर चर्चामा रहेको ‘जेनजी आन्दोलन’ लाई लिएर गायिका ज्योति मगरले सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक टिप्पणी गरेकी छन् । उनले फेसबुकमार्फत एक विस्तृत पोस्ट गर्दै युवाहरूको आन्दोलनका विविध कारणहरूको सूची सार्वजनिक गरेकी छन् ।ज्योतिले लेखेकी छन्, ‘देशको चिन्ता गर्ने, बेथितिविरुद्ध बोल्ने, शान्तिपूर्ण रूपमा खबरदारी गर्ने युवाहरू अपवाद हुन्, तर बाँकी धेरैजसोको आफ्नो स्वार्थ छ ।’ उनले आफ्नो पोस्टमा ‘जेनजी’ आन्दोलनलाई ११ विभिन्न कोणबाट व्यङ्ग्य गर्दै कारणहरूको सूची प्रस्तुत गरेकी छन्।

ज्योति मगरका ११ बुँदामा ‘जेनजी आन्दोलन’ का कारण :-
टिकटकर जेनजी– मोबाइलमा हल्ला मच्चाएर पैसा कमाउने आकांक्षा ।
कलाकार जेनजी–युट्युबबाट डलर कमाउने प्रयोजन ।
रास्वपाका जेनजी–रवि लामिछानेलाई जेलबाट मुक्त गराउने अभियान ।
बालेनका जेनजी– प्रत्यक्ष कार्यकारी प्रणाली ल्याएर बालेनलाई प्रधानमन्त्री बनाउने र ‘चीलमा बस्ने, स्वागवाला एटिट्युड’ प्रदर्शन गर्ने चाहना ।
माओवादीका जेनजी–केपी ओलीलाई हटाएर प्रचण्डलाई सत्ताको बागडोर सुम्पने लक्ष्य ।
कांग्रेसका जेनजी–देउवा हटाएर गगन थापालाई सभापति बनाउने उद्देश्य ।
बारबरा फाउन्डेसनका जेनजी–सन्दुक रुइतको देवत्वको आडमा चीनविरुद्ध गतिविधि चलाई तिब्बत आजादीको समर्थन र अमेरिकाको फेभर गर्ने प्रयास ।
मधेस वारिपारिका जेनजी–नागरिकता पाएपछि ‘जय नेपाल’ भन्दा ‘जय हिन्द’ भन्न सजिलो भएकाले ।
हुने खाने वर्गका जेनजी–नेताका सन्तानको हातको रोलेक्स घडी र लक्जरी जीवन शैलीको लोभमा ।
एनजिओ/आईएनजिओका जेनजी–देश अस्थिर बनाइ डलर आर्जन गर्ने प्रयोजन ।
राजावादी जेनजी–राजसंस्था फर्काई ‘हुकुम बक्स्यो, कृपा बक्स्यो’ संस्कृति पुनःस्थापना गर्ने र हिन्दु राज्य घोषणा गर्ने अभिलाषा ।
देशप्रेमी युवाप्रति सम्मान, तर ‘दुर्भाग्य’ पनि प्रकट ।

ज्योतिले भने केही युवाहरू साँच्चै देशको माया राख्ने र बेथितिविरुद्ध आवाज उठाउने श्रेणीका रहेको उल्लेख गरेकी छन् । ‘तर दुर्भाग्य, उनीहरूकै अगाडि निर्दोषहरू ढले, उनीहरूकै अगाडि देश जल्यो’, भन्दै उनले दुःख व्यक्त गरेकी छन् । पोस्टको अन्त्यमा उनले लेखेकी छन्, ‘डरै डरमा लेखेको यो पोस्ट हो, कमेन्ट पढ्नेछु । जसलाई गाली गर्नु छ, जति गाली गरे पनि गर्नु ।’ ज्योति मगरको यो व्यङ्ग्यात्मक विश्लेषण सामाजिक सञ्जालमा अहिले चर्चाको केन्द्र बनेको छ- कतिपयले उनको विश्लेषणलाई तीखो व्यङ्ग्य भनेका छन्, भने कतिपयले यसलाई वर्तमान राजनीतिक–सामाजिक परिवेशको यथार्थ चित्रणको रूपमा पनि व्याख्या गरेका छन्।

यसपालि भएको क्रान्ति होइन, अराजकता र भाँडभैलो हो : ज्योति मगर

काठमाडौं । गायिका ज्योति मगरले पछिल्लो समय नेपालमा क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आज जे भइरहेको छ, यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो ।’ नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको हकहितका लागि नै भएको पनि उनले बताएकी छन् । तर, परिवर्तनपछि नेताहरूले जनताको अपेक्षा पूरा नगरेको ज्योतिको भनाइ छ ।

उनले जेन–जी आन्दोलनपछिको परिस्थितिलाई ‘केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको नास’ समेत भनेकी छन् । अन्तिममा भनेकी छन्, ‘ल अब गाली बर्साउनुस् देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू ।’ गायिका मगरले केहि दिनअघि मात्र वर्तमान सरकारको मन्त्री नियुक्ति प्रक्रियाप्रति व्यङ्ग्य गरेकी थिइन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले सहजै मन्त्री पद पाइरहेको भन्दै कटाक्ष गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘पहिले : एउटा साबुन किन्नुहोस्, सलाई सित्तैमा पाउनुहोस् । अहिले : केपी ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तैमा बन्नुहोस् ।’

उनैको यो पोस्टमा एक प्रयोगकर्ताले अब केपी ओलीको सत्ता फर्केको दिन, ज्योतिलाई संस्कृति मन्त्री पक्का ! भनी प्रतिक्रिया दिएका थिए । उक्त कमेन्टको जवाफमा मगरले चाणक्य नीतिको उदाहरण दिँदै आफूलाई अबोध र अन्जान नागरिक भएको बताएकी थिइन् । उनले जवाफमा लेखेकी छिन्, ‘चाणक्य नीति भन्छ, सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने बुझ्नुहोस्, त्यो शासक सत्यको बाटोमा छ । म बिचरा अबोध, अन्जान नागरिक, जे देख्छु त्यही बोल्छु ।’ उनले आफूलाई संस्कृति मन्त्री नचाहिने तर दर्शक तथा शुभचिन्तकको ‘दिलको मन्त्री’ बनाइ दिए पुग्ने भन्दै रमाइलो जवाफ फर्काएकी छिन् ।

ज्योति मगरको प्रश्न : ‘मनमौजी’ खर्च गर्नेलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन ?

काठमाडौं । गायिका ज्योति मगरले कलाकारको सम्पत्ति पनि शुद्धीकरण हुनुपर्ने धारणा राखेकी छन् । उनले नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौं बजेट लिने र २, ४ लाखको भिडियो बनाउनेहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्ने बताएकी छन् ।

‘नेपाल सरकारको कोषबाट जनचेतनामूलक कार्यक्रमका लागि करोडौं बजेट लिएर यसो २, ४ लाखको फिल्म भिडियो बनाएर बाँकी रकम सबै कुम्ल्याएर आफ्नो ठूलो–ठूलो प्राइभेट कम्पनी खोल्ने कलाकार महानुभावहरूको सम्पत्ति शुद्धीकरण हुन्छ कि हुँदैन होला ?, सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अनि उहाँहरूलाई भ्रष्टाचारी भन्न मिल्छ कि मिल्दैन होला ? ।’

जेनजी आन्दोलनपछि विभिन्न दलका शीर्ष नेता र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानविन गर्नुपर्ने चर्को आवाज उठिरहेको बेला मनोरञ्जन वृत्तमा पनि प्रभाव देखिन थालेको हो । यहि बेला लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरले कलाकारको सम्पत्ति छानबिनको माग गरेकी हुन् । कलाकारको पारिश्रमिकसम्बन्धी ठोस नीति नहुँदा सरकारी बजेटमा मनमौजी गर्ने कलाकारहरुले उन्मुक्ति पाउँदै आएको चलचित्र समीक्षकहरुको विश्लेषण छ ।