यसपालि भएको क्रान्ति होइन, अराजकता र भाँडभैलो हो : ज्योति मगर
काठमाडौं । गायिका ज्योति मगरले पछिल्लो समय नेपालमा क्रान्तिको नाममा अराजकता र भाँडभैलो मच्चिएको टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘आज जे भइरहेको छ, यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो ।’ नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको हकहितका लागि नै भएको पनि उनले बताएकी छन् । तर, परिवर्तनपछि नेताहरूले जनताको अपेक्षा पूरा नगरेको ज्योतिको भनाइ छ ।
उनले जेन–जी आन्दोलनपछिको परिस्थितिलाई ‘केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको नास’ समेत भनेकी छन् । अन्तिममा भनेकी छन्, ‘ल अब गाली बर्साउनुस् देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू ।’ गायिका मगरले केहि दिनअघि मात्र वर्तमान सरकारको मन्त्री नियुक्ति प्रक्रियाप्रति व्यङ्ग्य गरेकी थिइन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूले सहजै मन्त्री पद पाइरहेको भन्दै कटाक्ष गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘पहिले : एउटा साबुन किन्नुहोस्, सलाई सित्तैमा पाउनुहोस् । अहिले : केपी ओलीलाई गाली गर्नुहोस्, मन्त्री सित्तैमा बन्नुहोस् ।’
उनैको यो पोस्टमा एक प्रयोगकर्ताले अब केपी ओलीको सत्ता फर्केको दिन, ज्योतिलाई संस्कृति मन्त्री पक्का ! भनी प्रतिक्रिया दिएका थिए । उक्त कमेन्टको जवाफमा मगरले चाणक्य नीतिको उदाहरण दिँदै आफूलाई अबोध र अन्जान नागरिक भएको बताएकी थिइन् । उनले जवाफमा लेखेकी छिन्, ‘चाणक्य नीति भन्छ, सबैले एउटै नेतामाथि प्रहार गर्छन् भने बुझ्नुहोस्, त्यो शासक सत्यको बाटोमा छ । म बिचरा अबोध, अन्जान नागरिक, जे देख्छु त्यही बोल्छु ।’ उनले आफूलाई संस्कृति मन्त्री नचाहिने तर दर्शक तथा शुभचिन्तकको ‘दिलको मन्त्री’ बनाइ दिए पुग्ने भन्दै रमाइलो जवाफ फर्काएकी छिन् ।
