`

ज्योति मगर आज पनि एमाले महाधिवेशनस्थलमा : प्रतिनिधि नभए पनि भोट माग्दै

Nepal One HD २ पुष २०८२ १०:३६
प्रमुख खबर

काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा चलिरहेको मतदानबीच मंगलबार एकाएक राजनीतिक माहोलभन्दा फरक दृश्य देखियो । अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलबीचको कडा प्रतिष्पर्धाले तातेको वातावरणमा चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर भने प्रतिनिधिहरूको लामै लाइनमा पुगेर भोट माग्दै व्यस्त देखिइन् ।

मतदानस्थलमा कडाइका साथ सुरक्षा व्यवस्था गरिएको र पास बिनालाई प्रवेश निषेध गरिएको भनिए पनि एमाले महाधिवेशनकी प्रतिनिधि नै नभएकी मगर कसरी मतदानको संवेदनशील क्षेत्रसम्म पुगिन् भन्ने प्रश्नले सबैको ध्यान तान्यो । उनी कसको पक्षमा मत माग्दै थिइन् भन्ने प्रष्ट नभए पनि लाइनमा बसेका प्रतिनिधिहरूसँग हाँसी–ठट्टा, भलाकुसारी र आत्मीय संवादमा उनी खुलेरै रमाइरहेकी थिइन् ।

लामो प्राविधिक उल्झनपछि सुरु भएको मतदान प्रक्रियामा ८० वटा भोटिङ मेशिन र लामो लाइनका कारण प्रतिनिधिहरूले ३५ देखि ४० मिनेटसम्म पालो कुर्नुपरेको अवस्था थियो । त्यही बीचमा मगरको उपस्थितिले गम्भीर राजनीतिक वातावरणमा अनपेक्षित ‘स्टार टच’ थपिदियो । कतिपय प्रतिनिधिहरूले यसलाई अनौठो त कतिपयले रमाइलो दृश्यका रूपमा लिए ।

ज्योति मगरको भृकुटीमण्डप उपस्थिती नयाँ भने होइन । उनी हिजो पनि महाधिवेशनस्थल वरपर देखिएकी थिइन् । तर आजको दृश्य फरक थियो—बाहिर सीमित नरही उनी सिधै मतदानका लागि पालो कुरिरहेका प्रतिनिधिहरूकै लाइनमा पुगिन् । यही कारण उनको उपस्थिती चर्चा र कौतुहलको विषय बन्यो । राजनीतिक रस्साकस्सी, सुरक्षा घेराबन्दी र मतदानको चापबीच गायिका मगरको यो ‘लाइन क्याम्पेन’ ले महाधिवेशनको दृश्यलाई केही क्षणका लागि भए पनि हलुका, रंगीन र चर्चित बनाइदियो । भृकुटीमण्डपमा आज राजनीति मात्र होइन, चासो र चर्चाको केन्द्र पनि उनै बनिन् । उनी हिजो पनि एमाले महाधिवेशनस्थल पुगेकी थिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *