`

जेनजी विद्रोहबाट अर्थहिन निर्वाचन मात्रै पायौं : मिराज ढुंगाना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले जेनजी विद्रोहबाट अर्थहिन निर्वाचन मात्रै पाएको बताएका छन् । बिहीवार माइतीघरमा प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गरे ।

उनले अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताए । अहिले नेपालमा पात्र मात्र नभइ प्रणाली पनि गलत रहेको जिकिर गरे । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गरे ।

उनले भने, ‘पात्र मात्र गलत होइनन् यो सिस्टम पनि गलत छ । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको छ । यसलाई नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको छ । व्यक्ति र पात्रमा मात्र होइन, संविधानमा पनि समस्या छन् । अहिले आएका केही नयाँ पात्रहरुले के भन्नु हुन्छ भने संविधान मान्य छैन भन्नु हुन्थ्यो अलि पहिला भने अहिले निर्वाचन नजिँकिँदै गर्दा आफ्नो स्वार्थका लागि संविधान एकदम उत्कृट छ भन्नुहुन्छ । शब्द उहाँहरुको फेरिएको छ । तर हाम्रो शब्द पहिलाकै हो । यत्रो विद्रोहबाट हामीले अर्थहिन निर्वाचन पाएका छौँ । यसले के फेरबदल ल्याउँछ ? हाम्रो देशको स्थितिमा । निकास पाउन गाह्रो छ ।’ उनले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताए ।

सुशीला कार्की सरकारको औचित्य सकियो, भोलिबाट आन्दोलनमा उत्रिन्छौं : मिराज ढुंगाना

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन् । संयुक्त जेन–जी आन्दोलन घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताए । उनले जेन–जी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताए । तर सरकारले निर्वाचनको मात्रै रटान लगाइरहेको उनको आरोप छ । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि भएको उनले बताए । उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गरे । उनले निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे ।

उनले नेपालमा भएको समस्याको सही समाधान गर्न नसके देश बंगलादेशको स्थितिमा पुग्ने बताए । राज्यमा सुरक्षा, न्याय र भरोसा नभएको उनको भनाई छ । उनले सरकारले देशलाई राजनीतिक निकास दिने काम गर्न नसकेको पनि आरोप लगाए । उनले सुशासन जेन–जी आन्दोलनको मुख्य माग भए पनि भ्रष्टाचारको फाइल खोल्न नसकेको बताए । उनले प्रधानमन्त्रीले नै सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको पनि आरोप लगाए ।

उनले भने, ‘यो आन्दोलन निर्वाचनको लागि मात्रै थिएन । आन्दोलन व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रुपान्तरणको लागि थियो । यही अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउँछ की ? निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि नमानियोस् । आज बंगलादेशको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ, जहाँ एउटा व्यक्तिलाई मारेर चोकैमा झुण्ड्याएर जलाई दिएको छ । यदि नेपालमा पनि समस्याको सही र समयमा समाधान भएन भने देश अराजकताको दिशातर्फ धकेलिने खतरा स्पष्ट छ ।’

उनले भने, ‘आज राज्य भएको अनुभूति छैन । भरोसा छैन, सुरक्षा छैन, अपन्वत्व छैन । असुरक्षा बढ्दो छ, त्यसैले आजको आवश्यकता यस्तो राजनीतिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ । न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस् । यही माग आन्दोलनको सार हो । सर्वपक्षीय सरकार आजको आवश्यकता हो । हामीले १०० दिन देख्यौ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन ।’

उनले सोमवार माईतीघरबाट आन्दोलन थाल्ने पनि जानकारी दिए । आफूहरुको आन्दोलन शान्तिपूर्ण हुने उनले जानकारी दिए । देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरुपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन–जी आन्दोलनमा संलग्नलाई धरपकड गर्न नहुने लगायतका माग राखेर आन्दोलन गर्न लागिएको उनले जानकारी दिए । उनले रोजगारी सिर्जना गर्न जेन–जी आन्दोलन भएको भए पनि वर्तमान सरकार जेन–जीहरुलाई विदेश पठाउन तल्लिन रहेको आरोप पनि लगाए ।

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले गर्‍यो आन्दोलन घोषणा

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी संयुक्त आन्दोलनले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । वर्तमान सरकारलाई जेनजी आन्दोलनप्रतिको धोका भन्दै मिराज समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको हो । आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ढुंगाना समूहले वर्तमान सरकारको १०० दिनको कामले असफल भइसकेकाले सर्वपक्षीय सरकारको माग गर्दै भोलिदेखि आन्दोलन गर्ने घोषणा गरेको हो ।

‘जेनजी आन्दोलन कुनै व्यक्तिको ब्राण्ड र नेताको सिँढी होइन । आन्दोलनमाथि टेकेर कोही अग्लो हुने प्रयास नहोस्,’ उनले भने, ‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्दैन, हाम्रो नेतृत्व गर्दैन । त्यसैले सर्वपक्षीय सरकार गठन होस् ।’ ढुंगानाले जेनजी आन्दोलनका एजेन्डा अलपत्र पारेर गरिने चुनावले निकास नदिने दावी गरे ।

‘आजको आवश्यकता त्यस्तो राजनीतिक नेतृत्व हो, जसले सबै पक्षलाई विश्वासमा लिन सक्छ र देशलाई निकास दिन सक्छ । सर्वपक्षीय सरकार आजको आवश्यकता हो ।’ सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आन्दोलनको मर्म बोक्न नसक्ने उनले बताए । ‘०८४ को चुनाव ०८२ मा सार्न आन्दोलन भएको थिएन । यो सरकारले निकास दिने काम गरेको देखिँदैन । सुशीला किन चुनावको रट लगाउनु हुन्छ ?’ ढुंगानाले भने ।

मिराज ढुंगानाले मागे प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् । जेन–जी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताए । पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे । ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे । अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेन–जी युवाहरुको माग सम्बोधन नभएको ढुङ्गानाले बताए ।

उनले भने, ‘आगामी कार्यक्रम भनेको चाहीँ हामीले देश विकास होस्, आन्दोलन पछिको सरकारले नगरे अब आउनेवाला निर्वाचित सरकारले गर्छ, ती पुराना शक्तिहरु अथवा पात्रहरुले गर्छन् भन्ने त आश नै गर्न सकिँदैन । किनभने हामीले त बारम्बार विश्वास गरिरहेको हो । आन्दोलनको सरकारले पनि यदि विकास गर्न सक्दैन भने केहीले गर्न सक्दैन त्यही भएर आन्दोलनको बेइज्जत नगरिदिनुहोस् प्रधानमन्त्री ज्यु, तपाईं बरु सक्नु हुन्न भने राजीनामा दिनुहोस् । बाँकी काम हामी सबै मिलेर गोलमेच भनौं न एउटा चाहीँ अन्तरक्रिया गरेर त्यसपछि गरौँला तपाई सक्नुहुदैन भने छाडिदिनुहोस् ।’

जेन–जी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए । उनले शनिवार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेन–जी आन्दोलनको आधारमा बनेको भए पनि आफूहरुको माग सम्बोधन नगरेको बताए । भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरुलाई मात्र प्रहरीले पक्राउ गरेको उनले बताए ।

 

सिंहदरबार गेटबाटै निकालिएका मिराज समूहले कालोपट्टी बाँधेर थाल्यो प्रदर्शन

काठमाडौं । ‘गरिखान देऊ’ नामक आन्दोलनको नेतृत्व गर्दै आएका मिराज ढुंगाना र उनका सहयात्रीहरूले मंगलबार बिहान सिंहदरबार परिसरमै प्रदर्शन थालेका छन् । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर मागपत्र बुझाउने योजना बनाउँदै सिंहदरबार पुगेको समूहलाई प्रहरीले प्रवेशद्वारमै रोकिदिएपछि उनीहरूले कालोपट्टी बाँधेर विरोध सुरु गरेका हुन् ।

सिंहदरबार छिर्न खोज्दा केहीबेर आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । प्रवेशमा कडा रोक लगाएपछि प्रहरी टोलीले मिराज समूहलाई धकेल्दै अनामनगरस्थित पुर्वेली भान्छाघर आसपासको क्षेत्रतर्फ हटाएका छ । त्यही स्थानमा उनीहरूले पुनः कालोपट्टी बाँधेर विरोध जारी राखे, तर त्यहाँबाट अन्यत्र जान नमिल्ने प्रहरी निर्देशनलाई वेवास्ता गर्दै केही आन्दोलनकारी फेरि सिंहदरबारतर्फ फर्कने प्रयास गरिरहेको बताइएको छ ।

ढुंगाना नेतृत्वको समूहले आइतबार आन्तरिक बैठक गर्दै सोमबारदेखि निरन्तर आन्दोलनमा उत्रने निर्णय गरेका थिए । सोमबार पनि उनीहरूले सिंहदरबार छिर्न खोजे पनि सफल हुन सकेनन् र असन्तुष्ट हुँदै मागपत्र गेटमै टाँसेर फर्किएका थिए । मंगलबार भने ‘गिफ्तारी दिन तयार’ भन्दै पुगेको टोलीलाई प्रहरी रोक्न बाध्य भयो । अभियानका अगुवा हरिष भट्टका अनुसार मंगलबारको प्रदर्शन केवल मागपत्र बुझाउने उद्देश्य नभई सिंहदरबार गेटमै धरपकड स्वीकार गर्ने योजनाअनुसार गरिएको थियो । ‘माग पूरा नहुँदासम्म आन्दोलन निरन्तर हुन्छ’, भट्टले भने ।
८ बुँदे संयुक्त माग
मिराज समूहसहित अन्य जेनजी अभियान अगुवाले सिंहदरबार गेटमा टाँसेको संयुक्त मागपत्रमा यी प्रमुख मुद्दाहरू समेटिएका छन् :-
–तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसहित भदौ २३–२४ को घटनामा संलग्न सबै जिम्मेवार व्यक्ति पक्राउ गर्न ।
–संविधान संशोधनका लागि सर्वपक्षीय सरकार गठन गर्न ।
–घोषणा गरिएका निर्वाचन कार्यतालिका स्थगित गर्न ।
–सबै राजनीतिक दलका नेता, पूर्वसांसद तथा पूर्वमन्त्रीहरूको सम्पत्ति रोक्का गर्न ।
–शक्तिशाली भ्रष्टाचार निर्मूल आयोग तत्काल गठन गर्न ।
–सरकारी सेवामा दलीय कर्मचारी संगठन स्थायी रूपमा प्रतिबन्ध गर्न ।
–जेनजी निगरानी आयोग गठन गर्न ।
–शहीद तथा घाइते परिवारका सदस्यलाई तत्काल रोजगारी उपलब्ध गराउन ।

प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले आफन्तलाई सचिवालयमा नियुक्त गरेको आरोप सार्वजनिक भएपछि समूह थप आक्रोशित बनेको बताइएको छ । यही आक्रोश, विगतका राजनीतिक घटनाका दुःखद सम्झना र वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि मिसिँदै समूहको आन्दोलन दिनानु दिन उग्र बन्दै गएको छ। यसबीच, सिंहदरबार परिसरमा प्रहरीको बाक्लो उपस्थिति कायम छ । आन्दोलनकारीलाई रोकेर अनामनगरतर्फ पथप्रदर्शन गरिए पनि उनीहरूमध्ये केही फेरि मुख्य गेटतिरै फर्किन खोजिरहेका कारण स्थिति कुनै बेला पनि तनावग्रस्त बन्न सक्ने आकलन गरिएको छ।

 

 

जेन–जीहरुलाई मिराज ढुंगानाको आग्रह : अहिले निर्वाचनको कुरा नगरौं

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने प्रस्ताव गरेका छन्। नागरिक समूहले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान समेत राखे ।

अभियन्ता ढुंंगानाले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । उनले यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरुलाई आग्रह समेत गरे । अभियन्ता ढुंगानाले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गरेर यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिए ।

उनले भने, ‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो फेयर हुँदैन, नेपाली जनतालाई फेयर हुँदैन । जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ । त्यसको लागि न्याय होइन यो । सिंहदरवार जल्नु भनेको देश रुनु हो । न्यायालय जल्नु एकदम दुःखद कुरा हो । यो सबै हुँदा निर्वाचनमा सोझै जाने भन्ने कुरा हुँदैन । हामीले एउटा सोलुशन खोज्नुपर्छ ।’

उनले भने, ‘जो पनि जेन–जी साथीहरु हुनुहुन्छ । तपाईहरुले सोझै निर्वाचन नभनि दिनुहोला । देश रोएको छ । सोझै निर्वाचनमा जाने, यो वैधानिक, त्यो बैधानिक, वैधानिकता त हामी पनि बुझदछौ । धेरैले बुझनु हुन्छ । यहाँ धेरै बुद्धिजीविहरु हुनुहुन्छ । बैधानिकता त अल्टिमेटली चाहियो । तर आन्दोलनको के अर्थ भयो ? केही न केही त चाहियो नि त । सो मेरो निष्कर्षको कुरा के हो भन्दाखेरी हामी बरु सर्वपक्षीय वार्ता गरौ । तर देशलाई निकास दिउँ ।’

अभियन्ता ढुंगानाले थपे, ‘यही तरिकामा निर्वाचनमा जाने कुनै कुरा नगरुम । देशको ठूल्ठूला जो स्केटहोल्डरहरु हुनुहुन्छ । सबै जना एक चोटी वार्तामा आउ । कुरा गरौं । सामान्य नेपाली जनतालाई न्याय दिउँ । यो देश रोएको अवस्था छ । हाम्रा युथहरु यति विदेश जानु भएको छ । अलिक टाईममा दोस्रो जेनेरेशन अफ नेपाली चाँही कोही पनि हुनु हुन्न होला । हामी सबै जना विदेश जाने, उतै सेटल हुने । अनि, दोस्रो पुस्तालाई कहिले दिन्छ नेपालमा । त्यो गर्दा त हाम्रो देश नै हराउने अवस्थामा छ नि त । पपुलेसन चाहियो आखिरमा देश हुनलाई । यी कुराहरु छन् । यी केही नगरी हामी निर्वाचनमा गयौं भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधिन रहला भन्ने कुरा पनि प्रश्नको घेरामा हुन्छ । सो त्यही कुरा भन्दै म सबै स्टेकहोल्डर्सलाई वार्तामा आउ, निर्णय गरौ । त्यसपछि मात्रै निर्वाचनमा जाने र देशलाई बैधानिकता दिने । यी कुराहरु गरौ ।’ अभियन्ता ढुंगानाले युवाहरु विदेश पलायन हुने क्रम बढिरहेकाले त्यसलाई रोक्नका लागि पनि आवश्यक निर्णय लिनुपर्ने बेला आएको बताएका छन् ।

 

 

प्रधानमन्त्री कार्कीलाई मिराजको आग्रह : यो चुनावी सरकार होइन, भ्रममा नबस्नु होला

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारको म्याण्डेट केबल चुनाव गराउनु मात्रै नभएको बताएका छन् । आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा पत्रकार सम्मेलन गर्दै ढुंगानाले त्यस बाहेक अरू थुप्रै म्याण्डेटहरू रहेकाले त्यसलाई पूरा गर्नतर्फ सरकार लाग्नुपर्ने बताएका छन् ।

‘प्रधानमन्त्री ज्यूलाई यहींबाट भन्छु यो चुनावी सरकार होइन । भ्रममा नबस्नु होला । हामी जनताले दिएको म्याण्डेट लिएर जान्छौं । यसलाई छाड्नेवाला छैन,’ उनले भने । जेनजीको मुख्य एजेण्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएकाले त्यसका लागि पनि सरकार तयार हुनुपर्ने बताएका छन् ।

यद्यपि अन्तरिम सरकार र संसद भंग भएको अवस्थामा वैधानिक तवरले त्यो एजेण्डा कार्यान्वयन गर्न नसकिने भनेर उपस्थित पत्रकारले बुझाएका थिए । जबाफमा ढुंगानाले संविधानसम्मत ढंगले गर्न नसकिने बताए ।

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विषयमा अहिले संविधानसम्मत हिसाबबाट जान मिल्दैन,’ उनले भने, ‘हाम्रो सरकार पनि संविधानसम्मत त होइन । जनताको म्याण्डेट त त्यही हो नी । त्यसलाई छाड्न मिल्ने कुरै भएन ।’ उनले संशोधनका लागि जे गर्नुपर्छ त्यो गर्ने बताएका छन् । ‘संशोधन गरौंला । के गरौंला, गर्नेबेला गरौंला । गर्न चाहिँ गर्छौं । नगरी जाँदैनौं,’ उनले भने ।

पार्टी खोल्नुको अर्थ चुनाव लड्नलाई होइन्ः मिराज ढुंगाना (भिडियोसहित)

काठमाडौँ । जेन-जी अभियान्ता मिराज ढुंगानाले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् ।

शनिवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी ढुंगानाले राजनितिक दल खोल्न लागेको घोषणा गरेका हुन् । उनले निर्वाचनमा भाग लिनको लागि मात्रै भने दल खोल्न नलागेको दाबी गरे । आफूहरुको बटमलाईन सरकारले पूरा नगरेसम्म निर्वाचनमा भाग नलिने उनले बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी आफूहरुको प्रमुख मुद्दा भएको उनको भनाई छ ।

उनले जेन-जी अभियन्ताहरुलाई एकजुट बनाउन नयाँ दल खोल्न लागिएको जानकारी दिए। उनले भने, ‘बटमलाईन पूरा नभई हामी चुनावमा जान तयारी छैनौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा भनेको हाम्रो वान अफ द बटमलाईन हो यसलाई सुन्नैपर्छ । यो विना कतै पनि जानेवाला छैनौँ । पार्टी खोल्नुको अर्थ चुनाव लड्न होईन । संगठित भएर अगाडी बढ्नलाई छरिएर नबसौँ, हुलमुलमा नबसौँ, कसको कुरा सुन्ने त, निर्देशन कसले दिने त्यसको लागी मात्रै हो ।

हामीले राजनितिक पार्टी खोल्नुको अर्थ निर्वाचनमा जानु कदापी होईन । यो प्रष्ट होस् । आधिकारिक हुनलाई भीड भएर मात्रै त देश विकास हुँदैन । आधिकारिक त हामी हुनुपर्यो । कि त मैले एनजीओ खोल्नुपर्यो देश विकासका लागी कि त राजनितिक दल खोल्नुपर्यो । त्यो बाहेक त हुलमुल मात्रै हुन्छ ।’

उनले नयाँ दलको नाम भने सबैसँगको छलफलपछि टुंग्याउने बताए ।

दल घोषणाको तयारीमा मिराज ढुंगाना

काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले राजनीतिक दल घोषणाको तयारी गरेका छन् । शनिबार काठमाडौँस्थित होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टी घोषणा गर्न लागेको उनले जनाएका छन् । टिकटकमा एक भिडिओ सार्वजनिक गर्दै उनले पार्टी खोल्नै पर्ने अवस्था आएको र त्यसका लागि वार्ता समितिले काम गरिरहेको बताएका हुन् ।

‘राजनीतिक दल खोल्नुको अर्थ यो हैन कि हामी देशको अहिले भएकै अवस्थामा चाहिँ निर्वाचनमा जान्छौँ,’ उनले भनेका छन्, ‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन तबसम्म हामी निर्वाचनमा जाने छैनौं ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई परिवर्तन भन्दै आफूहरू अझै डटेर शान्तिपूर्ण रुपमा लड्ने बताएका छन् । यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको र यो फर्किएर धेरै समयसम्म नआउने भन्दै उनले देशको विकास होस् भन्ने चाहना हुनेहरूलाई आफूसँग जोडिन आह्वान पनि गरेका छन् । ‘देश गम्भीर अवस्थामा छ, ७८ जना नेपालीले ज्यान गुमाउनु परेको छ । अहिले देशले निकाश खोजिरहेको छ र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ र निकास दिलाएरै छोड्छौँ’ उनको थप भनाइ छ ।

 

 

अक्टोबर ९ मा जेनजीको कुनै प्रदर्शन छैन, शान्ति बिथोल्न चाहँदैनौं : मिराज ढुंगाना

काठमाडौं । जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले अक्टोबर ९ मा जेनजीतर्फबाट कुनै प्रदर्शनको कार्यक्रम नरहेको स्पष्ट पारेका छन् । अक्टोबर ९ मा जेनजीको प्रदर्शन भन्दै सामाजिक सञ्जालहरुमा विभिन्न प्रचार भएपछि उनले यसबारे स्पष्टीकरण दिएका हुन् ।

‘अक्टोबर ९ मा कुनै पनि खालको हिंसा हुने काम, तोडफोड हुने काम यस्तो काममा हाम्रो संलग्नता हुने छैन, जेनजीहरूको संलग्नता हुने छैन । मुसो मार्न गएको हामीले बाघ मारेर ल्यायौं । अब बाघ उचाल्न सकिँदैन जंगलबाट,’ उनले भिडिओ सन्देश जारी गर्दै भनेका छन्, ‘एजेण्डा बिना, के गर्ने त्यसपछि भन्ने त्यो थाहा नपाइकन हामी कुनै खालको प्रदर्शनमा सहभागिता जनाउँदैनौं,’ ढुंगानाले भनेका छन्, ‘परेको खण्डमा शान्तिपूर्ण प्रदर्शन गरौंला । तर, हिंसा हुने खालको प्रदर्शनमा हाम्रो संलग्नता हुने छैन ।’

मिराज ढुंगानाले प्रधामन्त्रीलाई भने–तपाईंको नियुक्ति पनि संविधानअनुसार भएको होइन

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा विशेष भेट गरेका छन्। सो भेटमा ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीदेखि विदेशस्थित नेपालीको मताधिकारसम्म पाँच महत्वपूर्ण एजेण्डा उठाएका थिए ।

भेटवार्तामा उनले प्रधानमन्त्री कार्कीलाई देशमा स्थायित्व र जवाफदेही नेतृत्व सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने स्पष्ट रुपमा सुझाएका थिए ।

तपाईंको नियुक्ति पनि संविधानअनुसार होइन : प्रत्यक्ष निर्वाचित कार्यकारीको माग
ढुंगानाले प्रधानमन्त्रीसँगको छलफलमा प्रमुख एजेण्डाको रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गरे । तर, प्रधानमन्त्री कार्कीले संविधानले अनुमति नदिने बताइन्।

जवाफमा ढुंगानाले भने, ‘तपाईंको नियुक्ति पनि त संविधानअनुसार होइन । आवश्यकताको सिद्धान्तअनुसार बन्नु भएको हो भने, प्रत्यक्ष निर्वाचित प्रणालीका लागि पनि त्यही आवश्यकताको सिद्धान्त लागू गर्न सकिन्छ ।’ उनले भने, ‘यो हाम्रो मुख्य एजेण्डा हो र हामी यसलाई लिएर नै लडिरहन्छौं ।’

जेन–जीको सरकारमा सहभागिता : प्रधानमन्त्रीको सकारात्मक संकेत
ढुंगानाले प्रधानमन्त्रीसँग जेन–जी प्रतिनिधित्वबारे पनि कुराकानी गरेका थिए । प्रधानमन्त्री कार्कीले यसमा सकारात्मक संकेत दिँदै भनिन्, ‘मन्त्री बन्ने ठाउँ अझै खाली छ । तपाईंहरूले योग्य र डेलिभरी गर्न सक्ने प्रतिनिधि ल्याउनु भयो भने सोच्न सकिन्छ ।’

भ्रष्टाचार नियन्त्रणमा फास्ट ट्रयाक प्रक्रिया
ढुंगानाले भ्रष्टाचार नियन्त्रणबारे सोध्दा, प्रधानमन्त्री कार्कीले दशैंपछि केही फाइलहरू खुलिसकेको भन्दै मुद्दा दर्ताको प्रक्रिया अगाडि बढ्ने जानकारी दिइन् ।
एनले भनिन्, ‘ढिलो होला तर कानून टेकेरै जानुपर्छ । फास्ट ट्रयाकमै काम अघि बढ्छ ।’

प्रधानमन्त्रीको आश्वासन : ‘टाइमली चुनाव हुन्छ’
ढुंगानाले आगामी संघीय निर्वाचन समयमै हुने सम्भावनाबारे पनि जिज्ञासा राखेका थिए । जसमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘९७ वस्तुमध्ये ८१ वटा निर्वाचन सामग्री भइसकेको छ । टाइमली चुनाव गरिन्छ ।’ यससँगै ढुंगानाले प्रधानमन्त्रीबाट ६ महिनाभित्र चुनाव सम्भव हुने स्पष्ट जवाफ पाएको बताए ।

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गरिनु पर्ने माग
भेटको अन्तिम एजेण्डा थियो–प्रवासी नेपालीको भोट अधिकार ।
ढुंगानाले प्रधानमन्त्रीलाई भने, ‘देशमा बेरोजगारीले गर्दा लाखौं नेपाली विदेश छन् । उनीहरूलाई राज्यले मताधिकार दिनुपर्छ । फिजिकल भोट नपाए अनलाइनमार्फत भए पनि ।’ प्रधानमन्त्रीले यसबारे केही देशहरूसँग संवाद जारी रहेको जानकारी दिइन् । उनले ढुंगानालाई भनिन्, ‘तपाईंहरू प्लानसहित आउनुहोस्, हामी काम अघि बढाउँछौं ।’

दशैंपछि फेरि भेट्ने तयारीमा ढुंगाना
ढुंगानाले प्रधानमन्त्रीसँगको छलफललाई सकारात्मक र आशालाग्दो बताउँदै भने, ‘दशैं सकिएपछि प्रधानमन्त्रीको कार्यालय खुल्ने बित्तिकै फेरि एजेण्डा लिएर जान्छु ।’

निष्कर्ष–जेन–जी आन्दोलनको उर्जालाई राजनीतिक एजेण्डामा रूपान्तरण गर्ने प्रयासस्वरूप ढुंगानाको यो भेट संविधान, लोकतन्त्र र समावेशी प्रतिनिधित्वको गहिरो बहसमा रूपान्तरण भइरहेको छ । अब प्रश्न उठ्छ–यी एजेण्डा कति कार्यान्वयनमा पुग्छन् ।?