`

बारामा आमा–छोराको हत्या : घरभित्र छिरेर अन्धाधुन्द खुकुरी प्रहार

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा अज्ञात व्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरी एकै परिवारका आमा–छोराको हत्या गरेका छन् । खुकुरी प्रहारबाट जागरुक मण्डलसहित तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका अनुसार बुधबार बिहानीपख तीन बजे अज्ञात व्यक्ति मण्डलको घरभित्र छिरेर परिवारका सदस्यलाई खुकुरी प्रहार गरेको अनुसन्धानबाट खुलेको छ । खुकुरी प्रहारबाट मण्डलकी श्रीमती सुमित्रा देवी र उनको छोरा रामेश्वरको मृत्यु भएको छ ।

घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जानकारी एसपी कुँवरले दिए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको उनले बताए । ‘किन र कसले हत्या ग¥यो भन्ने विषय अनुसन्धानमै छ, बाहिरको व्यक्ति छिरेर अन्धाधुन्द खुकुरी प्रहार गरेको भनिएको छ, हामी संकास्पद व्यक्तिको खोजतलास गरिरहेका छौँ,’ कुँवरले भने,‘ मण्डल परिवारको कुनै रिसइबीले हो वा अन्य कोणबाट अनुसन्धान गरिरहेका छौँ ।’

उपचार गर्न आएकी सासुको ज्वाईले गरे हत्या

विराटनगर । उपचार गराउन भोजपुरबाट इटहरी झरेकी पबीमाया बयलकोटीको आफ्नै ज्वाईंले हत्या गरेका छन् । मोरङ बाहुनी घर भएर इटहरीमा डेरा गरी बस्दै आएका गणेश साह गुप्ताले बयलकोटीको हत्या गरेका हुन् । बयलकोटी एक साताअघि उपचार गराउन भोजपुरको दिङ्लाबाट इटहरी आएकी थिइन् । श्रीमानसहित उपचारका लागि इटहरी आएकी बयलकोटी इटहरी जनता बस्तीमा घर भएकी अर्की छोरीको घरमा बस्दै आएकी थिइन् । सोमबार घर फर्किने तयारी भएकाले आइतबार साहको डेरामा पुगेकी थिइन् ।

घर फर्किने अघिल्लो राति नै ज्वाईंले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकामा हानेर उनको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । छोरी र ज्वाईंका बीचमा दिनहुँ झगडा हुने गरेको र सासुले ज्वाईंलाई सम्झाउन खोज्दा सासुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सासुको हत्या गर्ने गणेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

श्रीमान रोजगारीका लागि साउदीमा, परिवारकै सदस्यबाट महिलाको वीभत्स हत्या

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ भुसाहामा एक महिलाको परिवारकै सदस्यहरूको संलग्नतामा भएको विभत्स हत्या पछाडि लुकेको रहस्य बाहिर आएको छ । रोजगारीका लागि विदेशमा रहेका बेला परिवारका सदस्यहरूले योजनाबद्ध रूपमा हत्या गरी घरकै भुस राख्ने कोठाभित्र खाडल खनेर गाडेको अवस्थामा महिलाको शव भेटिएको हो ।

मृतक २५ वर्षीया तरीमा खातुन, भुसाहा निवासी शेख आदिलकी पत्नी हुन् । आदिल रोजगारीका सिलसिलामा साउदी अरबमा कार्यरत छन् । सोमबार राति हत्या गरिएपछि मंगलबार बिहान स्थानीयले शंका व्यक्त गरेपछि इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थल पुगेको थियो । त्यही क्रममा खातुनको शव भुस राख्ने स्थानको खाडलभित्र पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हत्या भएको रातदेखि नै खातुनका ससुरा शेख अली मोहम्मदसहित घरका सबै सदस्य फरार रहेका छन् । उनीहरूले मृतक खातुनका डेढ वर्षीय छोरा मोहम्मद आरिफलाई समेत लिएर भागेको प्रहरी उपरीक्षक रविन कार्कीले जानकारी दिए । फरार परिवारजनको खोजी तीव्र पारिएको प्रहरीले बताएको छ ।
घटनाको मूल कारण भने करिब एक महिनाअघि माइतीतर्फ भएको विवाह समारोहकै दिन देखिएको विवादलाई मानिएको छ । कात्तिक १८ गते, समारोहका बेला खातुन नातामा भतिजो पर्ने गुड्डु भनिने शेख अलाहुदिनसँग ‘अनैतिक सम्बन्ध’ राखिरहेको अवस्थामा भेटिएको दाबी परिवारजनले गरेका छन् । विवाद बढेपछि दुवैले विवाह गर्ने मौखिक सहमति गरेको र त्यसपछि खातुनलाई ससुरा अली मोहम्मदको जिम्मामा छाडिएको मृतकका बुबा ताज मोहम्मदले बताए ।

घटनाको रात खातुनका भाइ शेख आस मोहम्मद दिदीको घरमा भेटघाटका लागि पुगेका थिए । त्यही बेला उनले दिदीमाथि परिवारका सदस्यहरूले कुटपिट गर्दै हत्या गरिरहेको देखेको दाबी गरेका छन् । रोक्न प्रयास गर्दा ‘हल्ला गर्‍यौं भने तिमीलाई पनि मारिदिन्छौं’ भन्दै धम्की दिएपछि उनी घरबाट भागेर ज्यान जोगाउन सफल भएको परिवारजनले बताएका छन् । हत्या भएको प्रमाणका रूपमा आस मोहम्मदले दिदीको अवस्था देखिने तस्बिर माइतीतर्फ पठाएको पनि परिवारजनको भनाइ छ ।

प्रहरीका अनुसार खातुनका दाहिने खुट्टामा गहिरो चोट लागेको थियो भने टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एक चक्कु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । खातुनको शवलाई पोष्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । प्रहरीले फरार सबै परिवार सदस्यहरूको खोजीका लागि विशेष टोली परिचालन गरेको जनाएको छ ।

 

 

श्रीमानले गरे श्रीमतीको हत्या

नुवाकोट । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् ।

सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।