उपचार गर्न आएकी सासुको ज्वाईले गरे हत्या
विराटनगर । उपचार गराउन भोजपुरबाट इटहरी झरेकी पबीमाया बयलकोटीको आफ्नै ज्वाईंले हत्या गरेका छन् । मोरङ बाहुनी घर भएर इटहरीमा डेरा गरी बस्दै आएका गणेश साह गुप्ताले बयलकोटीको हत्या गरेका हुन् । बयलकोटी एक साताअघि उपचार गराउन भोजपुरको दिङ्लाबाट इटहरी आएकी थिइन् । श्रीमानसहित उपचारका लागि इटहरी आएकी बयलकोटी इटहरी जनता बस्तीमा घर भएकी अर्की छोरीको घरमा बस्दै आएकी थिइन् । सोमबार घर फर्किने तयारी भएकाले आइतबार साहको डेरामा पुगेकी थिइन् ।
घर फर्किने अघिल्लो राति नै ज्वाईंले पानी तान्ने ट्युबेलको हेण्डलले टाउकामा हानेर उनको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । छोरी र ज्वाईंका बीचमा दिनहुँ झगडा हुने गरेको र सासुले ज्वाईंलाई सम्झाउन खोज्दा सासुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सासुको हत्या गर्ने गणेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
