`

‘जेनजी आन्दोलन’ को असर : देशको अर्थतन्त्र ‘हल्लियो’, पाँचतारे हायात होटल अनिश्चित बन्द

काठमाडौं । ‘जेनजी आन्दोलन’ ले देशको राजनीतिकमा उलटफेर मात्रै होइन, आर्थिक मेरुदण्ड समेत हल्लाइ दिएको छ । ३६ घण्टामै सत्ता परिवर्तन गराएको यो ऐतिहासिक आन्दोलनले पुराना दलहरुका शक्ति–केन्द्रहरू भत्काउँदै देशका ठूला उद्योग र व्यवसायहरू समेत ध्वस्त बनाएको छ । भौतिक सम्पत्तिको क्षति, रोजगार गुमाउनेहरूको पीडा र पर्यटन क्षेत्रको ठप्प अवस्थाले मुलुकको अर्थतन्त्रलाई गहिरो संकटमा पारेको छ । आन्दोलनका क्रममा आगजनी, लुटपाट र तोडफोडमा परेका प्रमुख व्यवसायिक संस्थाहरू मध्ये देशकै प्रतिष्ठित होटल हायात रिजेन्सी पनि पर्‍यो, जसले अब अनिश्चितकालका लागि आफ्नो सेवा बन्द गर्ने घोषणा गरेको छ ।

आन्दोलनले ल्याएको विनाश
जेनजी आन्दोलनको पहिलो दिनमै १९ जना युवा र बालबालिकाको सडकमै हत्या भएपछि आन्दोलनले दोस्रो दिन नै हिंसात्मक रूप लिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई अपदस्थ गर्‍यो । राजनीतिक परिवर्तनसँगै देशको आर्थिक ढाँचा समेत हल्लियो–भाटभटेनी सुपरमार्केट, हिल्टन होटल, चन्द्रागिरी हिल्स र सिजी कम्पनी जस्ता ठूला करदाता संस्थामाथि प्रत्यक्ष प्रहार हुँदा हजारौं रोजगारी गुमे ।

हायातको ‘शटडाउन’ : अर्थतन्त्रमा अर्को झड्का
राजधानीको पाँचतारे हायात रिजेन्सी होटल, जुन नेपालको सबैभन्दा ठूलो पर्यटकीय होटलका रूपमा चिनिन्छ । आन्दोलनमा परेको क्षतिको बहानामा अहिले अनिश्चितकालका लागि बन्द गरिएको छ । होटलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा होटलका अतिथि कक्ष, कार्यकक्ष, लबी, बैंक्वेट र चैत्यसम्ममा तोडफोड, लुटपाट र आगजनी भएको छ । पुनर्निर्माणपछि मात्रै सेवा सञ्चालन सम्भव हुनेछ ।’ होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले पुनर्निर्माणका लागि करिब एक वर्ष लाग्ने बताएका छन् । तर होटल बन्दको निर्णयसँगै त्यहाँ कार्यरत आठ सय बढी कर्मचारी बेरोजगार बनेका छन् ।

युनियन र सरकारको आपत्ति
होटल बन्दको निर्णयलाई हायातमा क्रियाशील ट्रेड युनियनहरूले एकतर्फी र अन्यायपूर्ण बताएका छन् । उनीहरूले भनेका छन्, ‘सेवा सुविधाबारे वार्ता जारी रहँदा व्यवस्थापनले अचानक होटल बन्द गरेर श्रमिकमाथि चोट पुर्‍याएको छ ।’ यसै विषयमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले चासो देखाएका छन् । अर्थमन्त्री खनालले भनेका छन्, ‘सुरक्षाको पूर्ण प्रत्याभूति सरकार दिनेछ, सेवा सञ्चालनमा फर्कन डराउनु पर्दैन ।’ तर होटल व्यवस्थापन आफ्नो निर्णयबाट पछि हट्ने मनस्थितिमा छैन ।

पर्यटन र रोजगारीमा प्रत्यक्ष असर

हायात बन्द भएपछि काठमाडौंको पर्यटकीय गतिविधिमा समेत असर परेको छ । अन्तर्राष्ट्रिय सम्मेलन, विवाह समारोह र उच्चस्तरीय आगन्तुकहरूको प्रमुख जमघटस्थल बन्द हुँदा देशको पर्यटन आयमा गम्भीर गिरावट आउने अनुमान गरिएको छ ।

हायातको प्रतिबद्धता
हायात व्यवस्थापनले भने पुनर्निर्माणपछि अझ मजबुत रूपमा फर्कने दाबी गरेको छ । ‘हामी पुनर्निर्माणपछि नेपालको पर्यटन प्रतिष्ठा पुनः स्थापित गर्नेछौं र सरकारी राजस्व तथा राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान दिनेछौं ।’ जेनजी आन्दोलनले सत्ता मात्र बदलेको छैन, देशको आर्थिक मेरुदण्डमा गहिरो चोट पुर्‍याएको छ । हायात होटल बन्द त्यसको उदाहरण मात्र हो । जहाँ राजनीतिक आन्दोलनको प्रत्यक्ष असर उद्योग, रोजगार र पर्यटनमा देखिएको छ । अब प्रश्न एउटै छ–देश फेरि उठ्ने त हो, तर कहिले र कसरी ?

 

 

हायात होटल बन्द भएकोमा प्रधानमन्त्रीको चासो

काठमाडौं । हायात होटलले अनिश्चितकालीन सेवा बन्द गरेर कर्मचारी प्रवेश निषेध गरेको भन्ने खबर बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापनसँग कुरा गरेका छन् । अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गरेका छन् ।

सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेको छ । खनालले भने, ‘तपाईंहरू आत्तिनु भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं । सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । ककि पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता देनुहोस् ।’

प्रधानमन्त्रीको सचिवालयका अनुसार यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्ने र आवश्यक पहल गर्ने बताइएको छ । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि व्यवस्थापनले होटलको सेवा बन्द गरेको हो । शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख छ ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ । होटलका मानव संशाधन निर्देशक मोहम्मद यूसुफ चौधरीद्वारा जारी सूचनामा भनिएको छ, ‘होटल मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेतलाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’