हायात होटल बन्द भएकोमा प्रधानमन्त्रीको चासो
काठमाडौं । हायात होटलले अनिश्चितकालीन सेवा बन्द गरेर कर्मचारी प्रवेश निषेध गरेको भन्ने खबर बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन् । प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको व्यवस्थापनसँग कुरा गरेका छन् । अर्थमन्त्री खनालले होटल व्यवस्थापनलाई नआत्तिन र उच्च मनोबलका साथ सेवा सुचारु गर्न आग्रह गरेका छन् ।
सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति दिँदै विचलित नभई सेवा सुचारु गर्न आग्रह गरेको छ । खनालले भने, ‘तपाईंहरू आत्तिनु भएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौं । सुरक्षाको व्यवस्था हामी मिलाउँछौं । ककि पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता देनुहोस् ।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार यसबारे आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गर्ने र आवश्यक पहल गर्ने बताइएको छ । गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का नाममा होटल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि व्यवस्थापनले होटलको सेवा बन्द गरेको हो । शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख छ ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ । होटलका मानव संशाधन निर्देशक मोहम्मद यूसुफ चौधरीद्वारा जारी सूचनामा भनिएको छ, ‘होटल मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशीलता समेतलाई मध्यनजर गर्दै होटलबाट प्रवाह हुँदै आएको व्यावसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनसँग छलफल भई प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म होटल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’
