`

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

Nepal One HD २४ असार २०८० ८:१७
प्रशासन

भरतपुर – पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । नौ घण्टापछि आज बिहानदेखि सडक खण्ड सञ्चालनमा आएको हो । 

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिवार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । तीन एक्स्काभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो । 

अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले  इच्छाकामना गाउँपालिका –५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि  सवारीसाधनलाई एकतर्फी  गरिएको पनि  बताउनुभयो । उहाँले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडक खण्डको यात्रा गर्न अनुरोध गर्नुभयो ।

यस सडक खण्डमा असार महिना लागेपछि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यस सडक हुँदै दैनिक हजारौँ सवारी साधन आउजाउ गर्ने गर्दछन् । 

पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।


प्रतिक्रिया