लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन


काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका लागि गरेका कार्यहरुका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले लम्पी स्किन रोग रोकथामका लागि सरकारको ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यस बिषयमा सदनमा जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो । लम्पी स्किनको बारेमा सदनमा पटक पटक आवाज उठेको अवस्थामा यस सम्बन्धमा स्पष्ट पार्न र सरकारले रोग रोकथामका लागि गरेका कामकारवाहीका बारेमा जानकारी गराउन सम्बन्धीत मन्त्रीहरुलाई उहाले निर्देश गर्नुभयो ।
त्यसअघि बैठकमा सांसदहरुले लम्पी स्किनले महामारीको रुप लिएर धेरै क्षति हुदा पनि सरकार गम्भीर नभएको बताएका थिए । बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले लम्पी स्किन रोगका कारण किसनाहरु पीडाको आहालमा डुबेर बस्न बाध्य भएपनि सरकार जिम्मेवरबिहीन भएको बताउनुभयो । उहाले रकम अभाव नभएर उपचार गर्न नसकेको हो भने निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबाट रकमान्तर गरेर भए पनि किसानलाई राहत, औषधि र खोप उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै सांसद रामहरि खतिवडा, रोशन कार्की लगाएतले पनि किसानको समस्यमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका थिए ।