`

आगामी निर्वाचनमा दुई तिहाई नजिक आए संविधान संशोधन गरेर पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको : प्रशासनमन्त्री मोदी

Nepal One HD २७ साउन २०८० १५:०९
राजनीति

काठमाडौँ / संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आगामी निर्वाचनमा दुई तिहाई नजिक आए संविधान संशोधन गरेर पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज)को २४ औं स्थापना दिवसका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मन्त्री मोदीले माओवादीले पहिचानसहितको संघीयताको आवाज उठाए पनि निर्णायक हुन नसकेकाले लागू गर्न नसकिएको भन्दै दुई तिहाई नजिकको मत आए पहिचान सहितको संघीयता लागू गर्न कुनै अप्ठेरो नरहेको बताउनुभएको हो ।

पहिचानसहितको अधिकारको माग गर्नेहरुले नै निर्वाचनका बेला अन्य पार्टीलाई मत दिदाँ समस्या भएको उहाको भनाइ छ । मन्त्री मोदीले प्रदेशको नामाकरणको अधिकार सम्बन्धीत प्रदेशसभालाई हुने भएपनि एक नंवर प्रदेशको नामकरण पहिचानका आधारमा हुनुपर्ने आफ्नो धारणा रहेको जिकिर गर्नुभयो ।

पहिचान सहितको संघीयता लागू गर्नका लागि माओवादीबाट भएका त्रुटीहरुको समिक्षा भइरहेको उहाले बताउनुभयो । त्यस्तै मन्त्री मोदीले बर्षौदेखि बन्न नसकेको संघीय निजामति ऐन आफु आएपनि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुग्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २०८० पत्रकार दिलीप थापा मगरलाई प्रदान गरिएको थियो । त्यस्तै फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८० काठमाडौँबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई प्रदान गरिएको छ । त्यसैगरी ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त), देव पचभैया पाल्पा, जीवन लामा दोलखा र उन्नति चौधरी कैलालीलाई प्रदान गरिएको छ ।


प्रतिक्रिया