हुप्सेकोटको घाँगी भीरमा ६ महिनादेखि निस्किरहेछ धुवाँको मुस्लो
पूर्वी नवलपरासी । हुप्सेकोट गाउँपालिका–६ स्थित घाँगी भीरमा करिब ६ महिनादेखि जमिनमुनिबाट निरन्तर धुवाँ निस्किरहेको छ । धुवाँको कारण पत्ता नलाग्दा स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाडमा करिब दुई वर्षअघि पहिरो गएको थियो । त्यही पहिरो गएको क्षेत्रमा गत चैतदेखि जमिनमुनिबाट निरन्तर धुवाँ निस्किरहेको स्थानीय दानबहादुर राना मगरले बताए ।
उनका अनुसार धुवाँमा अमिलो तथा बारुदजस्तो गन्ध आउने गरेको छ । धुवाँका कारण नजिकैका बस्तीमा बस्ने मानिसलाई श्वास फेर्नसमेत समस्या हुने गरेको स्थानीयको भनाइ छ ।
धुवाँ निस्किरहेको क्षेत्रमा सुकेको घाँस वा दाउरा राख्दा आफैँ आगो बल्ने गरेको स्थानीयले बताएका छन् । पानी परेको समयमा समेत धुवाँ नरोकिने र कहिलेकाहीँ झन् फैलिने गरेको उनीहरूको भनाइ छ ।
स्थानीयका अनुसार करिब १८ वर्षअघि पनि यही क्षेत्रको दक्षिणी भेगबाट यस्तै धुवाँ निस्किएको थियो । केही समयपछि आफैँ धुवाँ निस्कन बन्द भएको भए पनि अहिले अर्को स्थानबाट त्यस्तै गतिविधि देखिएको हो ।
हुप्सेकोट–६ फलाम खानीका लागि चिनिने क्षेत्र हो । अहिले धुवाँ निस्किरहेको स्थानको तल्लो भागमा रहेको खोलाको किनार पहेँलो देखिने गरेको छ भने पानीमा फिटकिरीजस्तो स्वाद आउने स्थानीय बताउँछन् । स्थानीय ७० वर्षीय गमबहादुर सुनारी मगरका अनुसार पहिले बाजेको पालामा यही क्षेत्रमा फलाम निकालेर खुकुरीलगायतका सामग्री बनाउने गरिन्थ्यो ।
धुवाँ निस्किएको स्थानबाट करिब ५ सय मिटरको दूरीमा रहेको पेलेगा गाउँमा ४४ घरधुरी छन् । पहिरो गएको क्षेत्रबाट लामो समयदेखि धुवाँ निस्किरहेकाले बस्तीसमेत जोखिममा पर्न सक्ने भन्दै स्थानीयले तत्काल अध्ययन र अनुसन्धान गर्न माग गरेका छन् ।
स्थानीय दानबहादुरका अनुसार पेलेगा क्षेत्रमा करिब ५ सय मानिस बसोबास गर्छन् । ‘रातभरि कतै आगो लागेर बस्ती नै जोखिममा पर्ने हो कि भन्ने डर हुन्छ,’ उनले भने ।
धैवादी फलाम खानीसमेत नजिक रहेको उक्त क्षेत्रमा ग्यास वा अन्य खनिज पदार्थको सम्भावना हुनसक्ने स्थानीयको अनुमान छ । त्यसैले जमिनमुनिबाट धुवाँ निस्कनुको वैज्ञानिक कारण तत्काल पत्ता लगाउनुपर्ने उनीहरूको माग छ ।
लामो समयदेखि स्थानीयले धुवाँ निस्किरहेको जानकारी गराएपछि विस्तृत अध्ययनका लागि केन्द्र सरकारसँग समन्वय भइरहेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।
उनका अनुसार स्थलगत अनुगमनका क्रममा भासिएको जमिनबाट धुवाँ निस्किरहेको तथा आसपासका बोटबिरुवा पोलिएको भेटिएको थियो । ‘जमिनबाट लामो समयसम्म धुवाँ निस्कनु सामान्य विषय होइन । यसको कारण पत्ता लगाएर समाधानतर्फ अघि बढ्छौँ,’ उनले भनिन् ।
घाँगी भीरमा देखिएको असामान्य गतिविधिबारे नवलपुर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजन गौतमले पनि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले संसद्मा आकस्मिक समय लिएर घटनाबारे अध्ययन र आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
यस विषयमा खानी तथा भूगर्भ विभागले समेत अध्ययन गर्ने तयारी गरेको बताइएको छ ।














