लिङ्देनको द्वैध चरित्र : आफू मन्त्री बन्दा ठीक, अरू बन्दा ‘बेचिए’
काठमाडाैं। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नै पार्टीका सांसदहरूमाथि एमालेको ओछ्यान तताउन गएको आरोप लगाए।
राप्रपा काठमाडौं जिल्लाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशका पार्टी सांसदहरूलाई एमालेले किनेको बताए। त्यसक्रममा उनले भनेका छन्, ‘एमाले अझै सुध्रिएन, हाम्रा सांसद किन्यो।’ लिङ्देनले भनेको ‘अझैँ’ शब्द बहुअर्थी शब्द हो। राजनीतिक सम्बोधनका क्रममा उनले ‘अझैँ’ प्रयोग गरेको अर्थ एमालेले यसभन्दा अघि पनि राप्रपाका सांसद किनेको थियो।
बागमती राप्रपा संसदीय दलका ५ जना सांसदहरुले एमाले नेतृत्वको नयाँ बन्न लागेको सरकारमा सहभागी हुने निर्णय गरेका थिए। लिङ्देन चाहन्थे, ‘बागमतीमा एमाले सरकारलाई असहयोग गर्ने।’ त्यही प्रयोजनका लागि उनले पार्टी केन्द्रबाट सांसदहरुलाई कारबाही गर्ने निर्णय समेत गराए।
तर, उनको निर्णय फोहोरको टोकरीमा पुगेजस्तो भयो। बागमती राप्रपाका सांसदहरुले उनको निर्णय अवज्ञा गर्दै सरकारमा सहभागी बने। एमाले नेता किरण थापामगरको नेतृत्वमा बागमती सरकार बन्यो।
यो घटनापछि लिङ्देन आक्रोशित थिए। आइतबार त्यही आक्रोश पार्टीको फोरममा पोखे।
लिङ्देनको नेतृत्वमा राप्रपाको सत्ताकेन्द्रित राजनीति २०७९ को प्रतिनिधिसभा निर्वाचनबाट सुरु भएको हो। तत्कालीन एमाले-माओवादी गठबन्धनको सरकारमा उनी उपप्रधान तथा ऊर्जामन्त्री बने। मन्त्री बनेको केही समयअघिसम्म सरकारमा सहभागिता नजनाउने वकालत गर्दै आएका उनी पार्टीलाई समेत जानकारी नगराएर मन्त्री बने।
यो बेला पार्टीभित्रै पनि सरकारमा सहभागी नहुने भन्ने आवाज बलियो थियो। तत्कालीन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्रीद्वय धवल शमशेर र शरद राज पाठक सरकारमा सहभागी नहुने पक्षमा थिए। ‘हामी राजसंस्थावादी पार्टीले गणतन्त्रको सरकारमा जानुहुँदैन,’ त्यतिबेला ती नेताहरूको भनाइ थियो।
तर, लिङ्देनले कसैको सुनेनन्। बरु कार्यक्रमका लागि झापामा रहेका उनी बिहान आएर दिउँसो प्रचण्ड क्याबिनेटमा सहभागी हुन कोट-पाइन्टमा सजिएर शीतलनिवास पुगे।
उनी आफू मात्रै सरकारमा गएनन्, तल्लो तहका राप्रपा प्रदेश संसदीय दललाई समेत सरकारमा सहभागी गराए। उनकै आह्वानमा भक्ति प्रसाद सिटौलाको नेतृत्वमा राप्रपा कोशी प्रदेश सरकारमा सहभागी भए। कतिसम्म भने गणतन्त्र र संघीयताको चर्को विरोध गर्ने लिङ्देनले यी दुवै संरचनाका सरकारमा सहभागी भएर राजनीतिक लाभ लिए। भनिन्छ- उनको यही जिद्दीका कारण राप्रपा विभाजनको स्थितिमा पुग्यो।
राप्रपाकै नेताहरू दाबी गर्छन्, ‘लिङ्देनको यही द्वैध चरित्रका कारण राप्रपामा विभाजन आयो। अहिले राप्रपा छिन्नभिन्न छ। पार्टीमा कोही मान्छे नै छैनन्। मिश्र, राणा र पाठक लगायतका नेताहरूले पार्टी छोडिसकेका छन्। केही समयअघि मात्रै राप्रपासँग एकता गर्ने भनेर भित्रिएको कमल थापा समूहसमेत राप्रपाबाट अलग हुने चरणमा छ। यो सबैको कारण लिङ्देन नै भएको राप्रपाकै नेताहरू दाबी गर्छन्।’
यी विभिन्न घटनाक्रमहरूबाट प्रश्न उठ्छ कि के २०७९ पुसमा सरकारमा सहभागी हुने बेलामा लिङ्देन पनि बिक्री भएका थिए? के राप्रपाका सांसदहरू बिक्रीमा हुन्छन्? नभए बिहान झापाबाट आएर सिधै बालकोट गएर दिउँसो लिङ्देन मन्त्री कसरी बने? के तत्कालीन कोशी सरकारमा पनि लिङ्देनले राप्रपालाई पैसामा बेचेका थिए? अब लिङ्देनले जवाफ दिने बेला भएको छ।
