`

सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता : उपप्रधानमन्त्री खड्का

Nepal One HD २७ साउन २०८० २१:१९
प्रमुख खबर

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारको स्थायित्वका विषयमा शङ्का गर्ने कुनै ठाउँ नरहेको बताउनुभएको छ ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घको आज यहाँ आयोजित राष्ट्रिय महाधिवेशनमा उहाँले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा जनताको पूर्ण समर्थन पाइरहेकाले स्थायित्वमा कुनै शङ्का नगर्न सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको स्पष्ट पार्नुभयो ।

नेपालमा उद्यमदेखि रोजगारी सृजना गर्नमा समेत साना व्यवसायी तथा टेलरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले टेलरिङ व्यवसायलाई थप सुधार गर्न सरकार सधैँ तयार रहेको पनि बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले नेपालमा टेलरिङ व्यवसाय प्राचीनकालदेखि नै मर्यादित र विशिष्ट व्यवसायका रुपमा परिचित रहेको उल्लेख गर्नुभयो ।

उपप्रधानमन्त्री खड्काले टेलरिङ व्यवसायमा संलग्न व्यक्तिलाई मौलिक व्यावसायिकता र विश्वास कायम राखेर सङ्गठन विस्तारमा ध्यान पुर्‍याउन सुझाव दिनुभयो ।

उप्रप्रधानमन्त्री खड्काले भन्नुभयो, “व्यवसायीले कर, राजस्व, ब्याज, ऋण र लगानीबारे उठाएका प्रश्नबारे निजी क्षेत्रसँग छलफल भइरहेको छ, मुलुकको पहिचन र मौलिक संस्कृतिका रुपमा रहेको टेलरिङ व्यवसायको विकास र विस्ताका लागि सरकारको साथ र सहयोग रहन्छ ।”

भ्रष्टाचार, बेथितिलगायत मुलुकको अप्ठेरो परिस्थितिलाई सुधार गर्दै सरकार अघि बढिरहेको बताउँदै उहाँले सुशासन कायम गरी आर्थिक स्थितिमा सुधार ल्याउन सरकार दृढ रहेको धारणा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको पहिचान बोकेको तथा परम्परालाई जोगाउन योगदान पु¥याउँदै आएको टेलरिङ व्यवसायले व्यक्ति विशेषको व्यक्तित्व झल्काउने र  पहिचान दिलाउन मद्दत पुर्‍याएको बताउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य नानिराज घिमिरेले मुलुकमा रोजगारी सिर्जना गर्न र व्यापार घाटा कम गर्न टेलरिङ व्यवसायले ठूलो योगदान दिने भएकाले यस क्षेत्रमा संलग्न हुनेलाई व्यावहारिक तालिम प्रदान गर्न आवश्यक विचार प्रकट गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले सेवा क्षेत्रको सम्मानित पेसाका रुपमा टेलरिङ व्यवसाय रहेकाले राज्यलाई स्वरोजगार तुल्याउन र राजस्व सङ्कलनमा महत्त्वपूर्ण सहयोग पुर्‍याइरहेको धारणा राख्नुभयो ।

नेपाल टेलरिङ व्यवसायी महासङ्घका अध्यक्ष गोपाल परियारले आर्थिक सङ्कट, चर्काे ब्याजका बीचमा पनि मुलुकको सम्पदा र संस्कृति जोगाउन टेलरिङ व्यवसायले महत्त्वपूर्ण योगदान दिइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राज्यका सबै कर्मचारीलाई पोसाकका लागि प्राप्त गरेको रकम अनिवार्य रुपमा  पोसाकमै खर्च गर्ने व्यवस्था मिलाउन आवश्यक छ । त्यसो भएको खण्डमा व्यवसायीलाई केहीहदसम्म राहत हुनेछ ।”

सो अवसरमा अरू वक्ताहरुले देशमा टेलरिङ क्षेत्रमा अर्बाैंका लगानी रहेको, पाँच लाखभन्दा व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेको तथा नयाँ वर्ष, दसैँतिहार र विवाह व्रतबन्धलगायतका औपचारिक कार्यक्रममा राष्ट्रिय तथा औपचारिक पोसाक लगाउने चलनले व्यवसायलाई अघि बढाउन उत्प्रेरित गरिरहेको धारणा राख्नुभयो ।

समारोहमा मुलुकमा व्यावसायिक रुपमा टेलरिङ स्थापना गर्दै   विभिन्न शाखा खोलेर ठूलो सङ्ख्यामा रोजगारीसमेत प्रदान गर्ने अग्रज एवं बागबजारस्थित श्रेष्ठ टेलरिङका संस्थापक बाबुकाजी श्रेष्ठलाई सम्मान गरियो ।


प्रतिक्रिया