`

गोसाइँकुण्ड नपुग्नेका लागि ‘गोसाइँस्थान’

Nepal One HD १४ भदौ २०८० १७:५२
समाज

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थानमा आज साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा/रक्षाबन्धनका अवसरमा भव्य मेला लागिरहेको छ । गोसाइँस्थानमा बनेपा तथा आसपासका विभिन्न क्षेत्रबाट आज बिहान २ बजेदेखिनै भक्तजनको ठूलो भीड लागेको हो ।

रसुवाको धार्मिकस्थल गोसाइँकुण्डसँग यहाँको गोसाइँस्थानको महत्व जोडिएका कारण पनि यसलाई धार्मिक दृष्टिकोणले महत्वपूर्णस्थलका रुपमा लिइन्छ । बनेपा–६ स्थित गोसाइँस्थानमा जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड देखिन्छ ।

यहाँका विशेषगरी हरेक वर्ष जनैपूर्णिमाको दिन ठूलो मेला लाग्ने गरेको हो । विभिन्न क्षेत्रबाट आउने भक्तजन पैदलयात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । गत वर्षभन्दा यसवर्ष गोसाइँस्थानमा बिहान सबेरैदेखि भक्तजनको उल्लेख्य वृद्धि भइरहेको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताउनुभयो ।

उहाँका अनुसार आज साँझसम्मनै भक्तजनको भीडा लाग्ने अनुमान गरिएको छ । बनेपाको बुडोलदेखिनै सडक दायाँबाँया व्यापारिक चहलपहल पनि निकै बढेको छ ।

उक्त स्थानमा हिन्दू र बोनधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्म–संस्कार अनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ । यस्तै तामाङ समुदायका मानिस तथा ‘झाँक्री’ ढ्याङ्ग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्नपात चढाउने, ब्राह्मण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन ९डोरो० बान्ने प्रचलन छ ।

जात्रामा महिला र पुरुषबीच तामाङ भाषामा दोहोरी गीत गाउने चलन पनि छ । धार्मिक आस्थाका हिसाबले निकै महत्वपूर्ण मानिएको उक्त मेलामा काभ्रेपलाञ्चोकलगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकका भक्तजन आउने गर्दछन् ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बुढापाका बताउँछन् । “गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गनाले मनोकाङ्क्ष्या पूरा हुन्छ भन्ने विश्वास छ”, स्थानीय भैरव केसीले भन्नुभयो, “समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र उक्त कुण्ड टाढा भएको र त्यहाँ जान सजिलो नभएकाले अधिकांश भक्तजन अघिल्लो दिनदेखिनै कुण्डस्थलमा बास बस्न पुग्ने गरेका छन् ।”

यस्तै केही भक्तजन बीचबाटोमा बासबसी पर्वका दिन तीर्थस्थल पुगेका हुन्छन् । गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना, कुण्डको जलाशयमा फूल, प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका कामना पूरा हुने विश्वास रहिआएको छ ।

काभ्रेपलाञ्चोकको पुरानो मानिने बजार बनेपाबाट उत्तर–पूर्वीतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनको दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । बनेपा र धुलिखेल बजारको बीचमा रहेको उक्त ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भका कारण यो डाँडा प्रसिद्ध छ ।

बढ्दो सहरिकरणको कोलाहलबाट नजिकै रहेको हरियाली वनजङ्गलको बीचको अग्लो मनमोहक स्थान भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रुपमा रहेको चर्चा कमाउँदै आएको छ ।

उक्त ठाउँमा पछिल्लो वर्षदेखि पर्यटकको आवागमनमासमेत वृद्धि हुँदै गएको पाइन्छ । पर्यटकीय पूर्वाधार तथा सडक सुविधा र थप भौतिक संरचना निर्माणले भने आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान पुग्न रुचाएका हुन् । उक्त स्थानमा हरेक शुक्रबार र शनिबार दृश्यावलोकन स्तम्भ (टावर) चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउँछन् । “गोसाइँस्थान र दृश्यावलोकनस्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या वृद्धि हुँदै गएको छ”, स्थानीय कार्की गाउँका दीपक कार्कीले भन्नुभयो ।

उहाँका अनुसार उक्त स्थानमा नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा पनि राखिएको छ । रामायण भजन गर्ने भवन, पक्की शौचालय निर्माण भइसकेको छन् भने उद्यान निर्माणको तयारी भइरहेको छ । गोसाइँस्थान मन्दिर परिसर क्षेत्रमा हाल नैमिषारण्य संस्कृत गुरुकूल स्थापना भएको छ । धुलिखेलस्थित अरनिको राजमार्गदेखि धुलिखेल–रविओपी–काँशिभञ्ज्याङसम्मको पक्की सडक निर्माण भइसकेको छ । यहाँबाट हाइकिङ गर्दै नगरकोट पुग्न सकिन्छ ।


प्रतिक्रिया