एमाले अध्यक्ष ओलीले गरे नेपाली क्रिकेट टिमको प्रशंसा


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । सो खेलमा भारतसँग पराजित भए पनि अध्यक्ष ओलीले नेपाली टिमको प्रशंसा गरेका हुन् ।
उनले आज सामाजिक सञ्जालमा लेखेका छन् – ‘बधाई हामी सबैलाई, हिजो भारतसँगको खेल भावनात्मक रूपमा हामीले जितेका हौं। प्राविधिक रूपमा हाम्रो जित प्रमाणित हुन सकेन । हाम्रा खेलाडी ट्रफी नभए पनि आत्मविश्वास लिएर फर्किने छन् । ‘
सोमबार भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।