कर्णालीको बहुआयमिक गरिबीविरुद्ध लड्न बलियो खजाना आवश्यक : मुख्यमन्त्री शर्मा


कर्णाली-कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको बहुआयामिक गरिबीविरुद्ध लड्न बलियो खजना आवश्यक भएको बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आईतबार बसेको ३५औँ बैठकमा मुख्यमन्त्री शर्माले अन्तर्राष्ट्रिय मानव अधिकार आयोग अन्तरसरकारी संस्था स्विटजरल्यान्डको जुरिचमा भएको वित्तीय, सामाजिक, मानवता, निजी, सहकारी समुदाय र हरितसम्बन्धी कार्यक्रममा कर्णालीको बहुआयमिक गरिबीविरुद्ध लड्न बलियो खजानाको आवश्यकताबारे विशेष मुद्दा उठाइएको बताउनुभयो ।
सदनलाई जानकारी गराउँदै उहाँले भन्नुभयो, “मानव अधिकारको कुरा गर्दै गर्दा गरिबीका कारण कर्णालीको मानव अधिकार हनन भएको कुरा हामीले जुरिचको छलफलनमा राखेका छौँ । गरिबीविरुद्ध लड्न राम्रो खजना आवश्यक भएको औँल्याएका छौँ ।” मानव अधिकार सुनिश्चित गर्नेबारे संस्थाका सेक्रेटरी प्रोफेसर राखेलसँग लामो छलफल हुनाका साथै फलदायी पनि भएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।कर्णालीमा मानव अधिकार स्थापित गर्न सोचेभन्दा माथिको छलफल भएको बताउनुभएका यहाँले स्विट्जरल्यान्ड सरकारले नेपाल सरकारलाई सहयोग गर्दै आएको विषयमा समेत कुरा भएको र अब पनि यहाँको विकासका लागि स्विट्जरल्यान्ड सरकार सहकार्य गर्न आतुर रहेको बताउनुभयो ।कार्यक्रममा भएको छलफलको रिपोर्ट प्रधानमन्त्री दिएको बताउँदै मुख्यमन्त्री शर्माले वैदेशिक सहयोग सिधै प्रदेश सरकारले लिन नपाउने प्रावधान भएकाले सङ्घीय सरकारमार्फत कर्णालीको विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु हुने गर्न अनुरोध गरिएको जनाउनुभयो । सरकार जहाँ रहे पनि जनताका काम नरोकिएको दाबी गर्दै उहाँले स्विट्जरल्यान्ड सरकार कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा लगानी गर्न उत्साहित रहेको सदनलाई जानकारी दिनुभयो ।