`

आन्दोलनका उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत रहनुपर्ने राष्ट्रपति पौडेलको भनाइ

Nepal One HD ३ असोज २०८० १८:१४
प्रमुख खबर

काठमाडौ– राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनबाट प्राप्त उपलव्धीलाई कमजोर पार्नेबिरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को उपलक्ष्यमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले जनआन्दोलनका उपलव्धिहरुलाई कमजोर पार्ने काम हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताउनुभएको हो । जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा चनाखो हुनुपर्ने उहाँको भनाइ छ । उहाले शासकीय कमजोरीलाई अब राजनीतिक निष्ठा र लोकतन्त्रको पवित्रताले जित्नैपर्ने धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले सबैले मिलेर लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेकाले आफैँले बनाएको संविधान मुलुकमा रहेको जिकिर गर्नुभयो । उहाले व्यवस्था परिवर्तन भएपनि देश समाज र जनसामान्यको अवस्थामा भने अझै परिवर्तन हुन नसकेकाले राज्यको चरित्रको पुनः संरचना आवश्यक रहेको बताउनुभयो । मुलुकको सुखद भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँंदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको उहाँको भनाइ छ ।

उहाँले सुशासन नै मुलुकको अमनचयन, विकास र समृद्धिको आधार भएकाले उल्लेखित सबै क्षेत्रमा सुधारको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो । यसका लागि सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तराष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सृजना गर्न उहाले आग्रह गर्नुभयो ।


प्रतिक्रिया