`

नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ता गर्न सरकारले पहल थालिसकेको छ : उपमहासचिव पुन

Nepal One HD २४ असोज २०८० १८:३६
प्रमुख खबर

काठमाडौँ, २४ असोज : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले इजरायलमा रहेका नेपाली नागरिकलाई सहजरुपमा स्वदेश फिर्ताका लागि सरकारले पहल थालिसकेको बताउनुभएको छ ।

पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को केन्द्रीय बैठकमा उपमहासचिव पुनले इजरायल सरकारसँगको समन्वयमा युद्धग्रस्त क्षेत्र गाजामा बङ्करभित्र रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको उल्लेख गर्दै देशमा सरकार भएको अनुभूति दिलाएको उल्लेख गर्नुभयो । सरकारले इराकसँग समन्वय गरी स्वदेश फर्कन इच्छुक नेपाली लिन आज चार्टर्ड जहाज पठाउन लागेको उहाँले बताउनुभयो ।

देशका विभिन्न स्थानमा धार्मिक र सामाजिक सद्भाव भड्काएर राजनीतिक स्वार्थसिद्ध गर्ने प्रयास भएकामा उपमहासचिव पुनले आपत्ती व्यक्त गर्नुभयो । सुनसरीको धरान, सर्लाहीको मलङ्गवा र बाँकेको नेपालगञ्जमा भएका सामाजिक सद्भाव विरोधी घटनामा प्रतिगामी र व्यवस्था विरोधी तत्वको प्रत्यक्ष तथा अप्रत्यक्ष संलग्नता रहेको उहाँले दाबी गर्नुभयो ।

गणतन्त्र, सङ्घीयता र धार्मिक सद्भावका पक्षमा रहेका जनताले एकताको भावनामार्फत प्रतिगामी षड्यन्त्र विफल पारेको उपमहासचिव पुनले बताउनुभयो ।


प्रतिक्रिया