नेपाली कांग्रेसको शुभकामना र चियापान शनिबार
काठमाडौ– दशै, तिहार, छठ लगायतका चाडपर्वको अवसर पारेर नेपाली कांग्रेसले भोलि चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रम राखेको छ । दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखिएको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भने, “बिपीले तत्कालीन अवस्थामा राजनीतिक संवाद र भेटघाटको आवश्यकता महसुस गरी थालनी गर्नुभएको चियापान कार्यक्रमले अहिले पनि मुलुकमा राजनीतिक सौहार्दता र एकता कायम गर्न योगदान पु-याउनेछ ।”
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन् । पार्टी नेता अर्जुननरसिंह केसीले बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडा दशैँ लगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए ।
कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ ।
बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो । विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए । त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन् । कांग्रेसले बडा दशैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
