`

महासचिव गुटेरेसको भ्रमण लगत्तै कतारका राजा नेपाल आउने

Nepal One HD ११ कार्तिक २०८० १६:१६
प्रमुख खबर

काठमाडौ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । बडादशैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले नेपाली जनताको आवश्यकता सम्बोधन गर्न उक्त भ्रमणबाट महत्वपूर्ण सहयोग मिल्ने बताए ।

प्रधानमन्त्री दाहालले राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा जलवायु परिवर्तन, शान्ति प्रक्रिया र नेपालको आर्थिक विकासको लक्ष्यबारे सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए । महासचिवको भ्रमणलगत्तै कतारका राजा पनि नेपाल भ्रमणमा आउन लागेको जानकारी दिँदै उनले नेपालको कूटनीतिक सफलताको परिणामस्वरुप उच्चस्तरीय भ्रमण हुन लागेको दावी गरे ।

“यसबीचमा मैले भारत, अमेरिका र चीनको भ्रमणको सन्दर्भमा जुन कूटनीतिक पहल भए त्यसैको परिणामस्वरुप संयुक्त राष्ट्र सङ्घका महासचिव र कतारका राजा नेपाल आउँदै हुनुहुन्छ”, प्रधानमन्त्री दाहालले भने । उनले चाडपर्वमा हुने चियापान कार्यक्रमले आपसी एकता अभिवृद्धि गर्न मात्रै नभई देशको राष्ट्रिय राजनीतिलाई पनि स्थिरतातर्फ लैजान सघाउ पु¥याउने विश्वास व्यक्त गरे ।

“मुलुकलाई सहमति र समझदारीको बाटोमा लैजाने तथा जनताको अपेक्षाअनुसार विकासनिर्माण र समृद्धिलाई अघि बढाउन चियापानले कुनै न कुनैरुपले सहयोग गर्दै आएको छ”, उनले भने । आफूँले प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरेदेखि नै राजनीतिक दलहरुका बीचमा समझदारी बनाउन प्रयास गर्दै आएको उनको भनाइ छ । मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दै उनले सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताए ।


प्रतिक्रिया